आइपीएल : ‘सुपर ओभर’मा पञ्जाबलाई हराउँदै दिल्लीको विजयी सुरुवात

काठमाडौं  : यूएईमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत किंग्स इलावेन पञ्जाबविरुद्ध दिल्ली क्यापिटल्स सुपर ओभरमा विजयी भएको छ ।

सुपर ओभरमा पञ्जाबले दिएको ३ रनको लक्ष्य दिल्लीले दोस्रो बलमै पूरा गर्‍यो । उसका लागि ऋषभ पन्तले ३ रन बनाए ।

खेल सुपर ओभरमा धकेलिएपछि ब्याटिङ गर्न आएका पञ्जाबका कप्तान केएल राहुलले २ र निकोल पूरनले शून्यमै आउट भए । बलिङमा कागिसो रबाडाले २ विकेट लिए ।

अन्तिम ओभरमा पञ्जाबलाई जितका लागि १३ रन चाहिएको थियो । तर, उसले १२ रन मात्र बनाउन सक्यो ।

दिल्लीले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनायो ।

उसका लागि ओपनर मयंक अग्रवालले शानदार ब्याटिङ गरे । उनले ६० बलमा ४ छक्का र ७ चौकासहित ८९ रन बनाए । पञ्चाबका अन्य ब्याट्सम्यानले भने सन्तोषजनक प्रदर्शन गर्न सकेनन् ।

बलिङमा दिल्लीका रविचन्द्रन आश्विन, कागिसो रबाडा, मार्कस स्टोइनिसले २/२, मोहित शर्मा र अक्षर पटेलले एक/एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनायो ।

उसका लागि मार्कस स्टोइनिसले शानदार ब्याटिङ गरे । उनले २१ बलमा २ छक्का र ७ चौकासहित ५३ रन बनाए ।

त्यस्तै, कप्तान श्रेयस अय्यर ३९, ऋषभ पन्त ३१, शिमरन हेटमायर ७, रविचन्द्रन आश्विन ४, अक्षर पटेल , पृथ्वी शा ५ र शिखर धवन शून्य रनमा आउट भए ।

बलिङमा पञ्जाब टिमका मोहम्मद शामीले ३, सेल्डन कोट्रेलले २ र रबि बिश्नोई एक विकेट लिए ।

नेप्सेमा झिनो सुधार

काठमाडौंः धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्सेमा ३ अङ्कले वृद्धि भई १ हजार ५७५.१८ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.१२ ले वृद्धि भई ३१३.६२ मा पुगेको छ । कूल १८८ कम्पनीको ९२ लाख २३ हजार ७१२ कित्ता शेयर रु २ अर्ब ७४ करोड २७ लाख ९५ हजार ६९२ मूल्यमा खरिद बिक्री भए । आज कारोबार भएका कूल १२ उपसमूहमध्ये तीन उपसमूहको शेयर उकालो लाग्दा नौ उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ १९.४१, विकास बैंक २५.८८ र वित्त २८.६६ बिन्दुले बढेको छ । यस्तै होटल ९६.६५, जलविद्युत् ५२.३७, निर्जीवन बीमा ७०.११, उत्पादन २.१७, अन्य १०.३६, लघुवित्त १३.८१, जीवन बीमा ५६.२६ र सामूहिक लगानी कोष ०.१ बिन्दुले ओरालो लागेको छ । कारोबारका आधारमा आज रिलायन्स लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १९ करोड ४७ लाख ६४ हजार ५१६ बराबरको कारोबार भयो । यस्तै नेपाल पुनरबीमा कम्पनी रु १६ करोड २९ लाख ४० हजार १९७, नेपाल बैंक लिमिटेड रु १४ करोड २० लाख ६५ हजार ९२५, सिभिल बैंक लिमिटेड रु सात करोड ५० लाख ५० हजार ३३४, अरुण काबेली पावर रु सात करोड ३६ लाख ५० हजार ५९९, नबिल बैंक रु छ करोड ४१ लाख आठ जार ४६ र कुमारी बैंक लिमिटेड रु छ करोड १६ लाख ९८ हजार बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ । कारोबारका आधारमा आज खानी खोला हाइड्रोपावर १०, रिलायन्स फाइनान्स ९.६६, सप्तकोशी डेभलपमेन्ट बैंक ९.६३, घलेम्दी हाइड्रो ९.३८, सेन्ट्रल फाइनान्स ९.५ र गुह्यश्वरी मर्चेन्ट बैंकका लगानीकर्ताले ८.९७ प्रतिशतले कमाएका छन् । त्यस्तै, आजदेखि कारोबार शुरु भएको लिवर्टी इनर्जी र हिमला दोलखा हाइड्रो पावरका लगानीकर्ताले समान १० प्रतिशतले गुमाउँदा हिमालयन ऊर्जा ९.९३, पाँचथर पावर कम्पनी ९.८२, जोशी हाइड्रोपावर ९.७३ र पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले ९.५७ प्रतिशतले गुमाएका छन् । उता नेपाल स्टक एक्सचेञ्जले शेयर बजारमा प्रभाव पार्ने सूचना प्रवाह गरेको भन्दै सोमबार बिहानसम्म स्पष्टिकरण पेश गर्न सिभिल बैंक लिमिटेडलाई पत्र काटेको छ ।

राप्रपालाई बलियो शक्तिका रूपमा स्थापित गर्छौँ : कमल थापा

काठमाडाैं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीलाई बलियो शक्तिका रूपमा स्थापित गरी छाड्ने दृढता व्यक्त गरेका छन् । आज पार्टीसम्बद्ध जनवर्गीय सङ्गठनका पदाधिकारी, सदस्यसँग भर्चुअल बैठक गर्दै अध्यक्ष थापाले नेपालको भू–राजनैतिक अवस्थाका कारण राप्रपाले बोकेको विचारले मात्र मुलुकलाई सवल, समुन्नत र स्वाधिन बनाउन सक्ने दावी गरे । पार्टीका विषयमा रहेका भ्रमलाई चिर्न निर्देशन दिँदै थापाले युवा पुस्ताको बलमा राप्रपालाई उठाउनुपर्ने र मुलुकलाई सही दिशा दिनुपर्नेमा जोड दिए । राप्रपाको एकतालाई चाँडोभन्दा चाँडो टुङ्गो लगाई मुलुकले खोजेको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने कार्यलाई उच्च प्रथमिकताका साथ अगाडि बढाउने र राप्रपालाई वैकल्पिक शक्तिको रूपमा भरोशायोग्य शक्ति बनाउने अध्यक्ष थापाले बैठकमा सहभागीलाई विश्वास दिलाए । पार्टी एकतालाई जोगाउँदै सिद्धान्त र विचारलाई बलियो बनाउन आफू इमानदारीपूर्वक लाग्ने थापाले बताए । गलत र त्रुटिपूर्ण मार्गचित्रका कारण देश दिनप्रतिदिन समस्याको दलदलमा फस्दै गएको चर्चा गर्दै अध्यक्ष थापाले धर्म, संस्कृति, पहिचान र स्वभिमान रक्षाको निमित्त नयाँ पुस्ता बढी सचेत हुनुपर्ने बताए । मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, कोरोना सङ्कट, पार्टी एकता र भावी कार्ययोजनाबारे उनले निरन्तर बैठक गरिरहेका छन् । जनवर्गीय सङ्गठनका नेताहरुले पार्टीको सिद्धान्त र विचारलाई स्थापित गर्ने गरी साङ्गठानिक गतिविधीलाई तिव्रता दिने प्रतिवद्धता व्यक्त गरेका थिए । बैठकमा २१ जनवर्गीय सङ्गठनका प्रमुख र पदाधिकारीहरुको सहभागिता रहेको पार्टी सचिवालय सदस्य राजाराम वर्तौलाले जानकारी दिए ।

मदन पुरस्कार ‘महारानी’लाई, जगदम्बाश्री ठटाललाई

काठमाडौंः मदन पुरस्कार २०७६ चन्द्रप्रकाश बानियाँले लेख्नुभएको ‘महारानी’ उपन्यासलाई प्रदान गरिने भएको छ । मदन पुरस्कार गुठीको आज बसेको साधारणसभाले २०७६ सालमा प्रकाशित कृतिमध्ये ऐतिहासिक उपन्यास ‘महारानी’ लाई प्रदान गर्ने निर्णय गरेको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए । विसं २०७५ को मदन पुरस्कार पनि योगेश राजको ऐतिहासिक उपन्यास ‘रणहार’ लाई प्रदान गरिएको थियो । मदन पुरस्कारका लागि १५१ पुस्तक प्राप्त भए पनि सात पुस्तक छनोटमा परेका थिए । तिनमा विमल निभाको जोकरको बन्दुक, तीर्थ श्रेष्ठको धर्सैधर्साको चक्रव्यूह, भुवन ढुङ्गानाको परित्यक्ता, योगी धर्ममहारसको महारसनिघण्टु (खण्ड १–३), ललित विष्टको मोहपथ र शारदा शर्माको यात्रामा कृति पनि मदन पुरस्कार सूची २०७६ मा छनोटमा परेका थिए । यसैगरी सभाले गत छ दशकदेखि नेपाली गीत–सङ्गीत क्षेत्रमा समर्पित रही विशिष्ट योगदान पुर्याएवापत गायिका तथा सङ्गीतकार शान्ति ठटाललाई २०७६ सालको जगदम्बा–श्री पुरस्कार दिने निर्णय गरेको छ । विसं २०७५ को जगदम्बाश्री पुरस्कार वैरागी काइँलालाई प्रदान गरिएको थियो । विसं २०१२ मा स्थापित मदन पुरस्कार गुठीले पहिलो पल्ट २०१३ सालदेखि मदन पुरस्कार दिन थालेको हो । विसं २०१३ मा गद्यविधामा सत्यमोहन जोशीको ‘हाम्रो लोकसंस्कृति’, चितरञ्जन नेपालीको ‘ जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ तथा बलराम जोशीको ‘अधिकविभक स्थिरविद्युत् उत्पादक’ लाई पुरस्कार प्रदान गरेको थियो । यस्तै २०४५ सालदेखि गुठीले जगदम्बाश्री पुरस्कार दिन थालेको हो । सो पुरस्कार पहिलो पटक गायक तथा सङ्गीतकार नारायणगोपाललाई प्रदान गरिएको थियो ।

चितवनमा २ कोरोना सङ्क्रमितको मृत्यु

चितवनः चितवन मेडिकल कलेजमा उपचारका क्रममा २ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कलेजका अनुसार मृत्यु हुनेमा कालिका नगरपालिकाका पुरुष र हेटौंडा उपमहानगरपालिकाकी महिला रहेका छन् । कलेजमा उपचार क्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० की १७ वर्षीया युवती रहेको कलेजका निर्देशक प्राडा दयाराम लम्सालले जानकारी दिए । उनका अनुसार गत भदौ २२ गते ज्वरो र स्वाशप्रस्वासमा समस्या आएर अस्पताल भर्ना भएकी उनमा भदौ २४ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज मृत्यु भएको अस्पतालले जनाएको छ । यस्तै सोही कलेजमा उपचारका क्रममा चितवनका एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका वडा नम्बर ५ का ५५ वर्षीय पुरुष रहेका छन् । निर्देशक लम्सालका अनुसार गत भदौ २६ गते स्वासप्रश्वास तथा निमोनियाको समस्या भई अस्पताल भर्ना भएका उनको असोज ३ गते कोरोना पुष्टि भएको थियो । उनको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा आज मृत्यु भएको अस्पतालले जनाएको छ । उक्त अस्पतालमा हालसम्म १४ जना सङ्क्रमितको मृत्यु भईसकेको छ । जिल्लामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ । जसमध्ये १८ चितवनका हुन् ।

११ करोडमा टोखा नगरपालिकाको भवन बन्दै

काठमाडौंः टोखा नगरपालिकाको भवन रु ११ करोड नौ लाख लागतमा निर्माण हुने भएको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखाले सो लागतमा वडा नं ६ स्थित मैजुहिटीमा नगरपालिका नयाँ भवन निर्माण गर्न लागेको हो । भवन निर्माणका लागि टोखाले नगरपालिका हाताभित्र रहेको अस्थायी टहरा भत्काएको छ । भवन निर्माणका लागि निर्माण सेवा नुवाकोटसँग सम्झौतासमेत गरिसकेको छ । नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले नगरपालिका तथा जिल्ला समन्वय केन्द्र काठमाडौँको आर्थिक लागतमा नगरपालिका भवन निर्माण गर्न लागिएको जानकारी दिए । अन्डरग्राउन्ड पार्किङसहित बन्न लागेको भवन साढे ६ तलाको हुनेछ । उक्त भवनमा लिफ्टसमेत जडान हुने उनले बताए । सम्झौतासँगै विसं २०७८ माघ २१ गतेसम्म भवन निर्माण गरेर हस्तान्तरण गर्नुपर्नेछ । हाल टोखा नगरपालिकाले आफ्नै भवन नहुँदा विभिन्न स्थानमा विभिन्न शाखा स्थापना गरेर सेवा प्रदान गर्दै आइरहेको छ ।

काठमाडौं उपत्यकामा ह्वात्तै बढ्यो कोरोना

काठमाडौंः काठमाडौं उपत्यकामा कोरोना संक्रमण ह्वात्तै बढेको छ । पछिल्लो एकसाता बढी समयदेखि उपत्यकामा दैनिक ५ सय बढी संक्रमित फेला परिरहेका छन् । आइतबार पनि उपत्यकामा ७६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर १० जनाको मुत्यु हुँदा उपत्यकामा मात्रै ६ जना छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार आइतबार उपत्यकाको काठमाडौंमा मात्रै ६०२ जना संक्रमित थपिएका छन् । त्यस्तै, भक्तपुरमा १०१ जना र ललितपुरमा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै काठमाडौं उपत्यकामा थप ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मन्त्रालयका अनुसार काठमाडौंका ४०, ६० र ६३ वर्षीया महिला तथा ८२ वर्षका पुरुषको मृत्यु भएको छ । ललितपुरकी ७५ वर्षीया महिला र भक्तपुरकी ७२ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । उपत्यकामा असोज २ गते हालसम्मकै बढी ८५९ जना संक्रमित फेला परेका थिए । उपत्यकामा कोरोनाको अवस्था खराब बन्दै गएको भन्दे मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता गौतमले घनाबस्ती भएका शहरी क्षेत्रमा भिडभाड, नारा जुलुस नगर्न चेतावनी दिए । उनले घनाबस्ती भएका शहरी क्षेत्रमा भिडभाड, नारा जुलसु गर्न नरोकिए ठूलो क्षति हुने चेतावनी दिए । गौतमले ६० वर्ष पुगेका, श्वासप्रश्वास, क्यान्सर, फोक्साका बिरामी, नियमित डायलासिस गराइरहेका अन्य रोगबाट गस्रित नागरिकलाई घरबाहिर ननिस्कन आग्रह गरेका छन् । उनले सुझाव दिँदै भने, ‘अत्यन्त जरुरी काम नपरी ननिस्कनुहोस् । निस्केनै परे मास्क लगाउनुस् । दुई मिटरको दुरी कायम राख्नुस् । जनस्वास्थ्यका मापदण्ड पालना गर्नुस् । साबुन पानी हात धुनुस् वा सेनिटाइजर प्रयोग गर्नुस् ।’ नेपालमा आइतबार थप १३२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा ९६६ जना निको भएका छन् भने १० जनाको मृत्यु भएको छ । नेपालमा आज ४७ जिल्लामा संक्रमित थपिए ।

आज कुन जिल्लामा कति संक्रमित थपिए ? (सूचीसहित)

काठमाडौंः नेपालमा आइतबार थप १३२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ९६६ जना निको हुँदा १० जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार आइतबार ४७ जिल्लामा संक्रमित थपिएका छन् ।  

बोक्सीको आरोपमा महिलामाथि कुटपिट

सिरहाः बोक्सीको आरोपमा नवराजपुर गाउँपालिकामा एक महिलामाथि कुटपिट भएको छ । स्थानीयवासीको कुटपिटबाट घाइते नवराजपुर–५ कसुन्डी निवासी ४५ वर्षीया मूर्तिदेवी यादवको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको आफन्तजनले जनाएका छन् । गाउँका एक बच्चा बिरामी भएको र अर्का एक जनाको चट्याङ लागेर मृत्यु भएको विषयमा मूर्तिदेवीले टुनामुना गरी बोक्सी लगाएको आरोप लगाउँदै स्थानीयवासी धर्मनाथ यादव, उनका छोरा सन्तोष र सोही ठाउँका देवनाथ यादव, कृष्ण यादव, ब्रह्म यादवलगायतले मूर्तिदेवीलाई निर्घात कुटपिट गरेका मूर्तिदेवीका छोरा गणेश यादवले जानकारी दिए । ‘गत भदौ २९ गते राति आमा घरमा सुतिरहनुभएको थियो’, उनले भने, ‘स्थानीयवासीले तथानाम गाली गर्दै आमालाई घरबाट बाहिर निकालेर सडकमा लगि निर्घात कुटपिट गरे, पछि खेतमा लगेर फालिदिए ।’ कुटपिट गर्नेहरुले प्रहरीमा उजुरी गरे चोरीको आरोपमा फसाई दिने धम्की दिँदै आएको उनको गुनासो छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिकराम शर्माले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

अब दुई घण्टामै पिसिआरको नतिजा

भरतपुरः चितवन मेडिकल कलेजले दुई घण्टामा नै कोरोनाको पिसिआर परीक्षणको नतिजा दिन थालेको छ । अस्पतालले र्यापिड एन्टिजेन टेष्टमार्फत छिटो नतिजा दिन आजदेखि सो सेवा शुरुआत गरेको हो । यसका लागि तीन हजार तिर्नुपर्ने हुन्छ । कलेजको प्रयोगशालामा गएको एक महिनामा पाँच हजार २९२ जनाको कोरोनाको पिसिआर परीक्षण गरेको छ । तीमध्ये ९५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कलेजले गत भदौ ३ गतेबाट पिसिआर परीक्षण थालेको हो । कलेजका सञ्चार संयोजक डा किशोर अधिकारीका अनुसार सङ्क्रमितमध्ये ५५६ जना पुरुष र ३९७ जना महिला रहेका छन् । कूल सङ्ख्यालाई हेर्दा परीक्षण गरिएकामध्ये १८ प्रतिशतमा कोरोना सङ्क्रमण देखिएको हो । सङ्क्रमण भई अस्पतालमा उपचाररतमध्ये हालसम्म १३ जनाको मृत्यु भएको छ । अस्पतालले २२१ जना सङ्क्रमितको उपचार गरिसकेको जनाएको छ । हाल अस्पतालमा ९७ जना उपचाररत रहेका छन् । उनका अनुसार तीनजना भेन्टिलेटर र ४३ जनाको कोभिड सघन उपचार कक्षमा उपचार भइरहेको छ । अन्यको अवस्था सामान्य छ । अस्पतालमा उपचारका क्रममा रहेकामध्ये ४५ पुरुष र ५२ महिला रहेका छन् । कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिशचन्द्र न्यौपानेले रु चार करोडभन्दा बढी खर्च गरेर प्रयोगशाला स्थापना गरिएको जानकारी दिए । नेपालमा नै निजी क्षेत्रबाट कोरोना रोगको परीक्षण र उपचारमा आफ्नो मेडिकल कलेजको भूमिका नेतृत्वदायी भएको उनको भनाइ छ । सरकारको निजी क्षेत्र प्रतिको धारणा सकारात्मक हुन सकेमा रोग नियन्त्रण र उपचारमा निजी क्षेत्रले थप योगदान गर्न सक्ने उनले जानकारी दिए । कलेजले हाल रु दुई हजारमात्र लिएर पिसिआर परीक्षण गर्दै आएको छ । भरतपुर अस्पतालको प्रयोगशालामा परीक्षण गर्न ढिला भएका नमूनाहरुको परीक्षण पनि कलेजले गर्दै आएको छ । स्वास्थ्य बीमा पिसिआर परीक्षणमा लागू भएमा सहज हुने निर्देशक डा न्यौपाने भनाइ छ । जिल्लामा भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशाला र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्रयोगशालामा नमूना परीक्षणको काम भइरहेको छ ।

बाँकेमा ४१ जना संक्रमित निकाे भएर घर फर्किए

नेपालगञ्जः बाँकेमा संक्रमणमुक्त भएर घर फर्किनेहरु बढ्दै गएका छन् । सो क्रममा आइतबार पनि जिल्लामा एक दुई वर्षिय बालिका र ७० वर्षय पुरुषसहित ४१ जना संक्रमितहरु संक्रमण मुक्त भएर घर फर्किएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । भदौ २१ गते कोरोना संक्रमण पुष्टि भएपछि विभिन्न आइसोलेसन सेन्टर र अस्पतालमा रहेका ८ महिला र ३३ पुरुष गरेर ४१ जनालाई आइतबार डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले बताए । १४ दिनसम्म आइसोलेसनमा रहँदा उनीहरुलाई कुनै पनि लक्षण नदेखिएको र स्वास्थ्य समस्या नभएपछि स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार डिस्चार्ज गरेर घर पठाइएको हो । संक्रमणमुक्त भएर फर्किएका ४१ जनासँगैै बाँकेमा कोरोनामुक्त भएर घर फर्किनेको सँख्या १ हजार २४४ पुगेको छ । जिल्लामा हालसम्म १ हजार ५९० जनामा संक्रमण पुष्टि भएको र ती मध्ये १ हजार २४४ जना निको भएर घर फर्किसकेको तथा १० जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार अझैपनि ३३६ जना संक्रमितहरु विभिन्न आइसोलेसन सेन्टर र अस्पतालहरुमा उपचाररत भर्ना रहेका छन् । ती मध्ये भेरी अस्पतालको बिशेष कोरोना वार्डमा भर्ना रहेका २ जना संक्रमितको अवस्था निकै गम्भीर रहेको अस्पतालले जनाएको छ ।

पेरिसडाँडाबाट बालिका खड्का पक्राउ

काठमाडौंः पेरिसडाँडाबाट बालिका खड्का पक्राउ परेकी छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बसिरहेका बेला पेरिसडाँडामा प्रवेश गर्न खोजेपछि उनी पक्राउ परेकी हुन् । उनी नेताहरुलाई भेट्नुपर्ने बताउँदै कार्यालयमा छिर्न खोजेकी थिइन् । उनलाई हाल महानगरीय प्रहरी प्रभाग, कोटेश्वरमा राखिएको काठमाडौं प्रहरीका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए । उनी आफूलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकी श्रीमती दाबी गरेर चर्चामा आएकी थिइन् । तर, उनले भदौ ३१ गते मुद्दा फिर्ता लिइसकेकी छन् । नेकपा सचिवालय बैठक पेरिसडाँडामा शुरू

कोरोनाबाट एक सैनिकको मृत्यु

काठमाडौंः नेपाली सेनामा कार्यरत एक सैनिकको कोरानाबाट मृत्यु भएको छ । काठमाडौंमा सेवारत रामेछाप घर भएका ती ३४ वर्षीय सैनिकको गत भदौ २९ गते मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार मृतक सैनिकको यही असोज १ गते कोरोना परीक्षणको नतिजा आएको थियो । यसैबीच नेपाली सेनामा हालसम्म कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको सङ्ख्या दुई हजार ५६ पुगेको छ । तीमध्ये ४०१ जनालाई निको भइसकेको भने एक हजार ६५४ सक्रिय सङ्क्रमित भएको सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए ।

महिला कर्मचारीलाई बलात्कार गरेको आरोपमा गाउँपालिकाका अधिकृत पक्राउ

कैलालीः महिला कर्मचारीलाई बलात्कार गरेको आरोपमा जोशीपुर गाउँपालिकाका अधिकृत पक्राउ परेका छन् । गाउँपालिका कार्यालयमै कार्यरत २४ वर्षीया महिला कर्मचारीलाई बलात्कार गरेको आरोपमा प्रशासन योजना तथा अनुगमन शाखाका प्रमुख भानुभक्त उपाध्याय पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले महिला कर्मचारीले दर्ता गरेको जाहेरीका आधारमा उपाध्यायलाई पक्राउ गरिएको जानकारी दिए ।

गण्डकीमा १५ जना सङ्क्रमित थप

पोखराः गण्डकी प्रदेशमा १५ जना कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ३५१ जना पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए । प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ३२ जनाको मृत्यु भएको छ । थपिनेमा नवलपरासी (बर्दाघाट सुस्तापूर्व) का ११, पर्वतका दुई तथा स्याङ्जा र लमजुङका एकएक जना छन् । पछिल्लो २४ घण्टामा ९२६ जनाको पिसिआर परीक्षण गरिएकामा ५६ जनाको कोरोना पुष्टि भएको तथा ७८५ जनाको रिपोर्ट नेगेटिभ आएको छ । सो अवधिमा एकको मृत्यु, चार जना निको भएको तथा ८५ जनामा पुनः पोजेटिभ देखिएको निर्देशनालयले जनाएको छ ।

समाजवाद उन्मुख र न्यायसहितको नयाँ समाज निर्माणको संकल्प गर्न प्रचण्डको आव्हान

काठमाडौं । नेकपा अध्यक्ष प्रचण्डले पाँचौ संविधान दिवसका अवसरमा भिडियो सन्देश जारी गरेका छन् । सन्देशमा अध्यक्ष प्रचण्डले संविधान दिवसको पाँचौ वर्षको उपलक्ष्यमा आउने दिनमा सरकारले जनअपेक्षा अनुरुप काम गर्ने बताएका छन् । हाम्रो पार्टी नेतृत्वको सरकारको अढाई वर्ष बाँकी रहेको अवधिमा जनताको अपेक्षा अनुरुप विकासका योजना अघि बढने, राष्ट्रिय एकता र स्वाधिनता सुदृढ हुँदै जाने अपेक्षा गरेका छन् । विकास, एकता, स्वाधिनता, स्वाभिमानको संकल्प लिने दिनका रुपाम संविधान दिवसलाई मनाउन समेत उनले आव्हान गरेका छन् । लामो संघर्षको प्रतिफलस्वरुप जनताका कतिपय मुद्दा समेटेर संविधान जारी गर्न सफल भएको उनले बताए । समाजवाद उन्मुख राज्य बनाउन र सुशासनका लागि संकल्प गर्ने दिनका रुपमा यो दिवस मनाउन अपील गरेका छन् । उनले सबैलाई एक हुन समेत आव्हान गरेका छन् । सुन्नुस् भिडियो