४० नम्बरका लागि कक्षा १२ काे अनलाइन परीक्षा हुने
काठमाडौंः लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कूल पूर्णाङ्कको ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको जोखिम बढ्दो स्थितिमा प्रत्यक्षरुपमा देशभर परीक्षा लिनसक्ने स्थिति नभएको निष्कर्षसहित कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा, २० नम्बरको प्रयोगात्मक र कक्षा ११ को कूल प्राप्ताङ्कलाई बाँकी ४० नम्बरमा गणना गरी परीक्षा सम्पन्न गर्न सरकारलाई सिफारिस गरेको छ ।
विषम स्थितिमा हुने यो मिश्रित ढाँचाको परीक्षाबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पठाइ स्वीकृत गराएपछि निर्णय कार्यान्वयन हुनेछ । मन्त्रालयका एक अधिकारीका अनुुसार बोर्डको सिफारिसअनुसार सरकारले चाँडै निर्णय गर्नेछ । अनलाइनमा पहुँच नहुनेले सूचना प्रविधिका अन्य माध्यमलाई पनि प्रयोग गर्न सक्ने गरी सरकारले विद्यार्थी सिकाइ सहजीकरण निर्देशका–२०७७ जारी गरिसकेको छ ।
बोर्डका कक्षा ११ र १२ तहका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले अन्य विकल्प सम्भव नभएमा यस विकल्पबारे सरकारबाट निर्णय भएपछि आवश्यक कार्यविधि र प्रश्नपत्र बनाई ४० नम्बरका लागि अनलाइन परीक्षाको तालिका प्रकाशन गरिने जनाए । अनलाइनबाट परीक्षा हुँदा विद्यार्थीले आफू रहेको स्थानबाट निश्चित समयमा उत्तर तयार गर्नुपर्ने भए पनि पाठ्यसामग्री र स्रोतको उपयोग गर्न पाउने सुविधा प्राप्त गर्नेछन् । परीक्षा केन्द्र, गार्ड र सुरक्षाकर्मी नहुने भएकाले यो एक प्रकारले खुला परीक्षा हुनेछ ।
गत वैशाख ८ गतेदेखि तोकिएको सो परीक्षा गत चैत ११ गतेदेखिको बन्दाबन्दीका कारण स्थगन भएको थियो । परीक्षामा कूल चार लाख ३२ हजार विद्यार्थीले आवेदन दिएका थिए । बोर्डले यही भदौ २६ गते सूचना प्रकाशन गरी कक्षा १२ मा परीक्षाका लागि आवेदन दिएका विद्यार्थी कोरोना महामारी वा अन्य कारणले अन्य जिल्लामा बसाइँसराइ भएको भए सात दिनभित्र विवरण उपलब्ध गराउन आग्रह गरिसकेको छ ।
नियन्त्रक शर्माले हालको स्थितिमा परीक्षा दशैँ अगाडि हुने सम्भावना कम रहेको पनि बताए । यसअघि माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को परीक्षा सरकारकै निर्णयका आधारमा विद्यालयबाट आन्तरिक मूल्याङ्कन गराई बोर्डले प्रमाणीकरण गरिसकेको छ भने कक्षा ११ को पनि सोही प्रक्रियाबाट प्रमाणीकरण हुने तय भइसकेको छ । माध्यमिक तहको अन्तिम परीक्षा भएको र यसको अन्तर्राष्ट्रिय मान्यता पनि हुनुपर्ने भएकाले मिश्रित ढाँचाबाट भए पनि बोर्डले परीक्षा गराउने विकल्प सुझाएको हो । मन्त्रालयले परीक्षाबारे सुझाव दिन मन्त्रालयका अधिकारी र बोर्डका पदाधिकारी रहेको अलग–अलग कार्यदल गठन गरेको थियो ।
शिक्षा ऐन (२०२८) को (आठौँ संशोधन) २०७३ कार्यान्वयनमा आएपछि तत्कालीन उच्चमाध्यमिक शिक्षा परिषद्को खारेज भई राष्ट्रिय परीक्षा बोर्डमा रुपान्तरण भएको थियो । साविकको परिषद्बाट सम्पादन हुँदै आएका सम्बन्धन विद्यालय अनुमति, छात्रवृत्ति, विद्यालय सञ्चालनसम्बन्धी कार्य स्थानीय तहबाट व्यवस्थापन गरिने र पाठ्यक्रम निर्माण, विकास एवं समकक्षता निर्धारणसम्बन्धी कार्य पाठ्यक्रम विकास केन्द्रबाट सम्पादन हुँदै आएका छन् ।
कक्षा १० र ११ को परीक्षालाई कानूनी संरचना तयार गरी प्रदेश र स्थानीय तहबाट सञ्चालन गराउने तयारी भइरहेका बेला यस वर्षको कोरोना महामारीका कारण स्वतः आन्तरिक मूल्याङ्कनमा गएको छ भने आगामी वर्षदेखिको व्यवस्थापनका लागि नीतिगत र कानूनी प्रबन्ध हुने तयारी छ । संविधानतः माध्यमिक शिक्षाको सञ्चालन र व्यवस्थापन स्थानीय तहको कार्यक्षेत्रमा छ भने त्यसअनुसारको परीक्षा संयन्त्र स्थापनाका ढिलाइ हुँदै आएको छ । रासस
टेलिकमको फोर जी इन्टरनेट सेवा विस्तार
गोदावरीः नेपाल टेलिकमले सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा फोर जी इन्टरनेट सेवा विस्तार गरेको छ । यो प्रदेशका नौ वटै जिल्लामा २ सय१७ वटा टावरमार्फत फोर जी इन्टरनेट सेवा विस्तार गरिएको नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियाले जनाएको छ । ‘प्रदेशभर फोर जी सेवाको पहुँच पुर्याउन ३८४ टावर निर्माण गरी विस्तार गर्ने योजना छ’, सो कार्यालयका निर्देशक नामाकर न्यौपानेले भने, ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको लकडाउन र निषेधाज्ञाका कारण गत चैतदेखि निर्माण कार्य बन्द भएकाले टावर विस्तारमा केही ढिलाइ भएको छ ।’ टावर निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिएकाले लकडाउन र निषेधाज्ञाका कारण कम्पनीका प्राविधिक आउन नसक्दा टावर निर्माण कार्य प्रभावित भएको उनको भनाइ छ । बाँकी टावरको निर्माण यसै आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएको पनि उनले बताए । निर्देशक न्यौपानेका अनुसार गत वर्ष सुदूरपश्चिम प्रदेशका धनगढी, चटकपुर, चौमाला, टीकापुर, मसुरिया, लम्की, सुखड, पच्चीसघर, बुढीतोला, अत्तरिया, झलारी र महेन्द्रनगर गरी १२ ठाउँमा फोर जी इन्टरनेट सेवा शुरू गरिएको थियो । हाल टेलिकमको फोर जी सेवा कैलाली कञ्चनपुरसहित पहाडी जिल्लाका बजार क्षेत्रमा विस्तार भएको जनाइएको छ ।
काठमाडौंमा ह्वात्तै बढ्यो कोरोना, फेरि नयाँ रेकर्ड
काठमाडौंः काठमाडौं उपत्यकामा बुधबार ७३७ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार बुधबार उपत्यकाको काठमाडौंमा ६५२ जना, ललितपुरमा ६० जना र भक्तपुरमा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै उपत्यकामा कोराना संक्रमितको संख्या १३ हजार ६ सय ६१ पुगेको छ । काठमाडौंमा ११ हजार २ सय ३५ ललितपुरमा १ हजार २ सय ८६ र भक्तपुरमा १ हजार १ सय ४० संक्रमित पुगेका छन् । बुधबार उपत्यकामा थपिएका संक्रमितको संख्यामा हालसम्मकै उच्च हो । यसअघि उपत्यकामा ६९६ जना संक्रमित एकैदिन थपिएको रेकर्ड थियो । देशभर पनि आज हालसम्मकै बढी १५३९ जना संक्रमित थपिँदा ८ जनाको मृत्यु भएको छ । आज कुन जिल्लामा कति संक्रमित थपिए ? (सूचीसहित)
असोजदेखि विद्यालय खुलाउने तयारी
खलङ्गाः जुम्लाको चन्दननाथ नगरपालिकाले कोरोेना भाइरस सङ्क्रमणका कारण गत चैत महिनादेखि बन्द रहेको विद्यालय खुलाउने तयारी गरेको छ । आउँदो असोज ४ गतेदेखि आधारभूत तहको पठनपाठन शुरु गर्ने तयारी थालेको नगरपालिकाले जनाएको छ । नगरपालिकाभित्रका कक्षा १ देखि ५ सम्मका विद्यार्थीले पढ्न पाउने गरि विद्यालय सञ्चालन गर्न लागिएको नगरपालिकाका प्रमुख कान्तिका सेजुवालले बताए । उनले भने, ‘लामो समयदेखि पठनपाठन नहुँदा विद्यार्थीको पढाइ बिग्रिन थाल्यो । त्यसैले विद्यालय सरसफाइमा ध्यान दिँदै सामाजिक दूरी कायम गरेर कक्षा सञ्चालन गर्ने तयारी गरिएको छ ।’ नगरक्षेत्रका सबै विद्यालयको प्रअको बैठकबाट आउँदो असोज ४ गतेदेखि उच्च सतर्कताका साथ विद्यालय खुलाउने तयारी थाल्न निर्देशन दिएको शिक्षा समितिका अध्यक्ष समेत रहनुभएका नगरप्रमुख सेजुवालले बताए । विद्यालयबाटै सचेतनाका क्रियाकलाप अघि बढाउने भएकाले आधारभूत तहको कक्षा सञ्चालन गर्ने निर्णय गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत खडानन्द चौलागाईले बताए। उनले भने, ‘आधारभूत कक्षमा विद्यार्थी सङ्ख्या पनि कम छ । सामाजिक दूरी कायम गरेर पनि पढाउन सकिने अवस्था छ । यो अवस्थालाई मध्यनजर गर्दै विद्यालय खुलाउने निर्णय भएको हो ।’ आउँदो असोज ४ गतेदेखि आ-आफ्ना बालबालिकालाई विद्यालय पठाउने तयारी गर्न अभिभावकलाई समेत आग्रह गरिएको नगरपालिकाले जनाएको छ । यसअघि नगरपालिकाले रेडियो कक्षा सञ्चालन गरिएको थियो ।
आज कुन जिल्लामा कति संक्रमित थपिए ? (सूचीसहित)
काठमाडौंः नेपालमा थप १५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १०६८ जना निको हुँदा ८ जनाको मृत्यु भएको छ । नेपालमा ह्वात्तै बढ्यो कोरोना, फेरि नयाँ रेकर्ड कुन जिल्लामा कति संक्रमित थपिए ?
नेकपाले बोलायो सचिवालय बैठक, पेरिसडाँडामा बस्ने
फाइल फोटो । काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक शुक्रबार बस्ने भएको छ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सचिवालय बैठक शुक्रबार ११ बजे बोलाउने सहमति भएको हो । यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरेको बैठक शुक्रबार पेरिसडाँडामा बस्नेछ । पेरिसडाँडामा पूर्वमाओवादीको पार्टी कार्यालय थियो । एकतापछि पेरिसडाँडामा जनवर्गीय संगठनका कार्यालय तथा बैठक हुने गरेका भए पनि पार्टीको तहमा यो नै पहिलो बैठक हो । प्रचण्ड कार्यकारी अध्यक्ष भएपछि बैठकस्थल बालुवाटारबाट पेरिसडाँडामा बस्नुलाई अर्थपुर्णरुपमा हेरिएको छ ।
दासढुङ्गाको एकीकृत विकासका लागि डिपिआर बनाइँदै
भरतपुरः २७ वर्षअघि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय दुर्घटनामा मृत्यु भएको स्थल दासढुङ्गाको एकीकृत विकास गरिने भएको छ । त्यसका लागि डिपिआर निर्माण प्रक्रिया अघि बढेको छ । पर्यटन मन्त्रालयअन्तर्गतको पर्यटन विभागले डिपिआर निर्माणका लागि परामर्शदाता छनोट प्रक्रिया अघि बढाएको हो । परामर्शदाता कम्पनीद्वारा प्रस्तावपत्र पेश भइसकेको र आन्तरिक मूल्याङ्कनको चरणमा रहेको विभागका इञ्जिनियर सचिन्द्र यादवले जानकारी दिए । उनले एक महिनाभित्र डिपिआर निर्माण गर्ने कम्पनी छानोट हुने र साढे चार महिनाभित्र डिपिआर निर्माण हुने बताए । मदन–आश्रित स्मृति पार्कसहित राजनीतिक अध्ययन केन्द्र र सङ्ग्रालयका रूपमा दासढुङ्गाको विकास गर्ने योजना अघि बढाइएको छ । रु ५० लाखको लागतमा निर्माण हुन लागेको डिपिआरका लागि सांसद र प्राविधिकसहितको टोलीले स्थलगत निरीक्षण गरेको छ । मदन–आश्रितको दुर्घटना हुँदा नेकपा (एमाले) चितवनका पार्टी प्रमुख (सचिव) रहेका हालका प्रदेशसभा सदस्य विजय सुवेदीले संरचना निर्माण गर्दा प्रतिफल आउने गरी काम गरिने बताए । उनले भने, ‘मदन–आश्रितको झल्को दिने गरी संरचना निर्माण हुनेछन्, यसले उहाँहरुलाई जीवन्त राख्नेछ ।’ उनले देश–विदेशबाट आउनेहरु जसले उनीहरुलाई बुझ्न चाहन्छन्, त्यो सबै दासढुङ्गामा प्राप्त गर्ने बताए । उनले अब दासढुङ्गाको विकासका लागि निरन्तर काम गरिने जनाए । विसं २०५० जेठ ३ गते हालको भरतपुर महानगरपालिका वडा नं २९ दासढुङ्गामा उनीहरू चढेको जिप दुर्घटना हुँदा दुवै जनाको मृत्यु भएको थियो । दासढुङ्गामा यसअघि नै नेपाल सरकारले ३६ कठ्ठा जग्गा खरिद गरिसकेको छ । जहाँबाट रमणीय त्रिशूली नदी, देवघाटलगायत क्षेत्र देख्न सकिन्छ । थप नम्बरी ३३ कठ्ठा र ऐलानी १८० कठ्ठा खरिद गरी आवश्यक संरचना निर्माण गरिने योजना अघि बढाइएको सुवेदीले जानकारी दिए । सो ठाउँमा सङ्ग्रहालय, रानीतिगत अनुसन्धान केन्द्र, तालिम केन्द्र, आवास भवन, कार्यालय भवन, चमेनागृहलगायत संरचनासँगै भिरालो सो क्षेत्रमा आकर्षक पार्क बनाइने योजना रहेको उनले बताए । भरतपुर–२९ का वडाध्यक्ष मानबहादुर थापाले ढासढुङ्गाको विकासका लागि वडाले निरन्तर पहल गरिरहेको बताए । उनले भने, ‘नारायणगढ–मुग्लिन सडकखण्डमा यात्रा गर्ने यात्रुको ध्यान केन्द्रित गर्ने संरचना बनाउने गरी डिपिआर निर्माण गरिनेछ ।’ स्थानीयस्तरबाट संरक्षणका काम भए पनि पर्याप्त हुन नसकेको उनको भनाइ छ । रासस
नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा
चितवनः नारायणगढ–मुग्लिन सडकखण्डको चार किलो र पाँचकिलोमा आज बिहान खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको छ । सडकका चार ठाउँमा एकतर्फी सञ्चालनमा रहेका छन् भने अन्य ठाउँ सफा गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख दयाकृष्ण भट्टकाअनुसार बिहान ५ः४५ बजेको समयमा ती दुवै ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो । पहिरो पन्छाएसँगै सवारी आवागमन शुरु भएको उनले जानकारी दिए । भट्टका अनुसार सो सडकको सत्रकिलो, सिमलताल, रिग्दीखोला र भालुढुङ्गामा एकतर्फी सडक खुलेको छ । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीका अनुसार एकतर्फी सडक खुलेका ठाउँमा दुईतर्फी खुलाउने काम शुरु भएको छ । सो सडकखण्डमा सोमबार राति ठाउँठाउँमा पहिरो खसेको थियो । पाँच वर्षयताको सबैभन्दा बढी पहिरो खसेको कार्यालयले जनाएको छ । मङ्गलबार दिनभर १६ उपकरण प्रयोग गरेर पहिरो पन्छाइएको थियो ।
मोटरसाइकल दुर्घटनामा नेपाली सेनाका जमदारको मृत्यु
लहानः पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–१ मेदनी पुलमा बुधबार बिहान मोटरसाइकल दुर्घटना हुँदा नेपाली सेनाका एक जमदारको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को२२प २९४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक नेपाली सेनाको श्री बक्स गुल्म अठुङ्गे ब्यारेक म्याग्दीमा कार्यरत जमदार पेशल पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते खोटाङको हौचुरे गाउँपालिका–५ घर भई सुनसरीको इटहरी उपमहानगरपालिका–४ निवासी पाण्डेलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
४८ रुपैयाँमा किनेको प्याज १२० मा बेच्ने व्यापारी पक्राउ
काठमाडौंः ४८ रुपैयाँमा किनेको प्याज १२० मा बेच्ने व्यापारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बल्खु तरकारी बजार होलसेलको एसके सप्लायर्स र चुली सगरमाथा इन्टरप्राइजेजका सञ्चालक सुनिल केसी रेहका छन् । काठमाडौं महानगरपालिकाले गरेको अनुगमनका क्रममा प्याज मंहगोमा बेचेको भेटिएपछि महानगरीय प्रहरी वृत्त कालिमाटीले केसीलाई पक्राउ गरेको हो । अनुमगनको क्रममा प्याजको थोक मूल्य प्रतिकिलो ५७ देखि ९० र खुद्रा मूल्य एक सयदेखि १ सय १० सम्म लिएको उजुरीपछि ६ जना प्याज व्यापारीलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा आउन भनिएको छ । सो क्रममा दुई सय १९ बोरा प्याज सिल गरिएको छ ।
श्राद्धमा खाना खाएका एकै टोलका १५ जना बिरामी, १ को मृत्यु
कैलालीः श्राद्धमा खाना खाएका गोदावरी नगरपालिका–१० खमौराका १५ जना बिरामी परेका छन् । स्थानीय सुरेश बोहरा मंगलबार साँझ सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । बिरामी १५ जनामध्ये तीन जनाको नवजीवन अस्पताल, दुई जनाको माया मेट्रो अस्पताल र बाँकी सबैको सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ । सेती प्रादेशिक अस्पतालका आकस्मिक वार्ड प्रमुख कृष्ण बोहराले फुड प्वाइजनिङ अर्थात् खाद्य विषाक्तताका कारण उनीहरू बिरामी परेको बताए । गोदावरी नगरपालिका–१० का अध्यक्ष रविन्द्र शाहीका अनुसार उनीहरूले भदौ २७ गते श्राद्धमा खाना खाएका थिए ।
पर्यटक बस सञ्चालन गर्ने तयारी
काठमाडौंः पर्यटक बस व्यवसायीहरुले उच्च स्वास्थ्य सुरक्षा सावधानी अपनाएर पर्यटक बस सेवा सञ्चालन गर्ने तयारी थालेका छन् । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको असर नेपालमा समेत पर्दै गएपछि गत चैत १० गतेदेखि बन्द रहेको पर्यटक बससेवा (भोलि) असोज १ गतेदेखि सञ्चालन गर्न पाउने सरकारको निर्णयसँगै व्यवसायीले उच्च स्वास्थ्य सुरक्षा अपनाएर बस सञ्चालनको तयारी थालेका हुन् । टुरिष्ट बस एशोसिएशन अफ नेपाल (टिवान) का अध्यक्ष ईश्वर शर्माले पूर्णरूपमा पर्यटकीय बस सुरक्षित भएको महसुस गराएर सेवा सञ्चालनको तयारी गरिएको जानकारी दिए । झण्डै छ महिनादेखि ग्यारेजमा थन्किएर बसेका पर्यटक बसलाई मर्मत सम्भार गरेर सेवा प्रदान गर्न लागिएको हो । ‘पर्यटक बस चढ्नुअगाडि यात्रुको शरीरको तापक्रम मापन गर्ने, चालक, सहचालक र यात्रुले मास्क र पञ्जा अनिवार्यरूपमा लगाउनुपर्ने, बसभित्र सेनिटाइज गर्ने जस्ता व्यवस्था गरेर मात्र बस सञ्चालन गर्न लागेका छौँ’, उनले भने । सरकारले भनेअनुसार भाडा वृद्धि गरेर प्रत्येक सिटमा एकजना मात्र यात्रु राखेर सेवा प्रदान गर्न लागेको उनको भनाइ छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेर तयारी थाले पनि कोभिड–१९ का कारण स्थगित भएको थियो । कोभिड–१९ का कारण बाह्य पर्यटक तत्काल आउन नसके पनि आन्तरिक पर्यटकलाई लक्षित गरेर बससेवा सञ्चालन गर्न लागेको अध्यक्ष शर्माले बताए । हाल काठमाडौंबाट पोखरा, चितवन, लुम्बिनी र जनकपुरमा झण्डै १०० पर्यटक बसले सेवा प्रदान गर्दै आएका छन् । पर्यटक बसका लागि छुट्टै बसपार्क नहुँदा समस्यासमेत परेको व्यवसायी बताउँछन् । व्यवसायीले हाल बिहान ५ देखि ७ बजेसम्म सोह्रखुट्टेको सडकमा पर्यटकीय बस पार्किङ गरेर यात्रु बोक्दै आएका छन् भने रातको समयमा विभिन्न ग्यारेजमा शुल्क तिर्न बाध्य छन् । टिवानका महासचिव दीपेन्द्र अधिकारीले सरकारले पर्यटक बससेवालाई प्राथमिकता दिन नसकेको बताए । ‘मुलुकको आर्थिक मेरुदण्डका रूपमा रहेको पर्यटक क्षेत्रको बसका लागि सरकारले छुट्टै बसपार्क निर्माण गर्नुपर्छ, जसका कारण आन्तरिक तथा बाह्य पर्यटकहरु पर्यटक बसपार्कमा गएर बस चढेर गन्तव्यस्थलसम्म पुग्न सक्छन’, उनले भने । केही दिनपहिला नेपाल पर्वतारोहण सङ्घ (एनएमए)ले गरेको भर्चुअल कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पर्यटक बसपार्क निर्माण गर्ने कुरामा सरकार सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए । मन्त्री भट्टराईले पर्यटक बसपार्क निर्माणका लागि सम्बन्धित निकायसँग छलफल भइरहेको बताए । कोभिड–१९ को सङ्क्रमणभन्दा पहिला पर्यटक बसले दैनिक झण्डै तीन हजारदेखि चार हजारको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटकलाई गन्तव्यस्थलमा पुर्याउँदै आएका थिए ।
कलङ्की–नागढुङ्गा सडकमा मर्मत शुरु
फाइल फोटो । काठमाडौंः गत वर्ष निर्माण सम्पन्न भएको कलङ्की–त्रिपुरेश्वर–नागढुङ्गा सडकमा मर्मतको काम भइरहहेको छ । निर्माण सम्पन्न भएको १३ महिनासम्म निर्माण कम्पनीले नै मर्मत गर्नुपर्ने भएकाले सोहीअनुसार मर्मत भइरहेको हो । त्रिपुरेश्वरदेखि कलङ्कीसम्मको मर्मत भइसकेकाले कलङ्कीदेखि नागढुङ्गा खण्डमा मर्मत भइरहेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । आयोजना प्रमुख गुरु अधिकारीका अनुसार निर्माण सम्पन्न भएपछिको १३ महिनासम्ममा जुनजुन कम्पनीले सडक निर्माण गरेको हो, समस्या आउँदा उसैले मर्मत गर्नुपर्छ । यस खण्डमा देखिएको त्रुटि सच्याउने काम भइरहेको छ । प्रमुख अधिकारीले भने, ‘यो खण्डमा काम भएपछि नै डिभिजन सडक कार्यालयलाई हस्तान्तरण गरिनेछ ।’ यो सडक उपत्यकाको विस्तारित सडकमध्ये सबैभन्दा पहिले निर्माण सकिएको सडक हो । पाँच वर्षपहिले नै सडक विस्तारका लागि ठेक्का सम्झौता भए पनि सडकसँगै घर भएका स्थानीयवासीको अवरोधका कारण दुई वर्षसम्म निर्माण ठप्प थियो । स्थानीयवासीले घर भत्काउन नमानेपछि सरकारले उपलब्ध चौडाइमा कालोपत्र गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा चावहिल–साँखु सडकसँगै यो सडकको निर्माण भएको थियो । उपलब्ध चौडाइमा मात्रै सडक निर्माण गर्दा झण्डै आधा लम्बाइमा मापण्डानुसार चौडाई कायम भएको छ । मापदण्डानुसार २२ मिटर चौडाई कायम भएका स्थानमा मात्रै आयोजनाले दुबैतर्फ हिमपाइप र पैदलयात्रु मार्ग निर्माण गरेको छ । चौडाई कम भएका स्थानमा सडक उपलब्ध भएपछि नै पैदलयात्रु मार्ग निर्माण गरिनेछ ।
धरानमा कोरोना संक्रमितको मृत्यु
धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सप्तरी खडक नगरपालिका–३ का ३५ वर्षीय पुरुषको धरानमा बुधबार बिहान उपचारका क्रममा मृत्यु भएको हो । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार २८ भदौमा कोरोना पोजेटिभ देखिएका उनलाई ३० भदौमा प्रतिष्ठानमा भर्ना गरिएको थियो । प्रवक्ता डा. सापकोटाका अनुसार एक वर्षयता मृगौलामा समस्या भएका कारण उनी नियमित डाइलसिस गराइरहेका थिए । हप्तामा दुई पटक डाइलसिस गर्ने युवकमा उच्च रक्तचापको पनि समस्या थियो । यसअघि मंगलबार दिउँसो धरान उपमहानगरपालिका १७ का ७३ वर्षीय पुरुषको मृत्यु भएको थियो । योसँगै प्रदेश १ मा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या ५१ पुगेको छ । ती मध्ये १४ जना प्रदेश २ र ३६ जना प्रदेश १ का छन् ।
रुप्से झरनामा लेदोसहितको बाढी आएपछि बग्याे सडक, यातायात ठप्प
अन्नपूर्ण गाउँपालिका–३ दानाको अन्ध गल्छीस्थित रुप्से झरनामा आएको बाढीले सडक बगाएपछि बेनी–जोमसोम खण्डमा फेरि यातायात अवरुद्ध भएको छ । मुस्ताङबाट आलु–स्याउ बोकेर झरेका र बेनी हुँदै खाद्यान्न बोकेर उक्लँदै गरेका गाडी बाटैमा रोकिएका छन् । सडक बगेपछि त्यहाँबाट पैदलयात्रा गर्नसमेत नमिल्ने भएको छ । रुप्से झरनामा लेदोसहितको बाढी आएपछि फेदीको सडक कटानमा परेको हो । मंगलबार बिहानैदेखि रुप्सेमा पानीको सतह बढेपछि यातायात अवरुद्ध भएकामा सडक नै बगेपछि बुधबारदेखि पूरै ठप्प भएको हो । बाढीले दुवैतर्फको पूरै भित्तो बगाएकाले तत्काल नयाँ ट्र्याक खोल्नसमेत समस्या देखिएको छ ।
मनास्लु हिमाल चढ्न बहराइनका राजकुमारसहित १८ जना नेपाल पुग्दै
काठमाडौं : बहराइनका राजकुमारसहितको टोली हिमाल चढ्नका लागि नेपाल आउने भएको छ । बहराइनस्थित नेपाली राजदूतावासका अनुसार राजपरिवारका एक सदस्यसहित १८ जनाको टोली लोबुचे र मनास्लु हिमाल आरोहणको उदेश्यसहित गएराति करिब १२ः३० बजे नेपाल प्रस्थान गरेको हो । भदौ १५ बसेको मन्त्रिपरिषदको बैठकले निर्णय स्वास्थ्य मन्त्रालयले स्वीकृत गरेको स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्ने गरी चार्टर फ्लाइटबाट नेपाल आउन दिने निर्णय गरेको थियो । बहराइन डिफेन्स फोर्समा कार्यरत १५ जना बहराइनी तथा ३ जना बेलायती नागरिक रहेको सो टोली शेख ईशा एयरबेसको विशेष विमानबाट नेपाल प्रस्थान गरेको राजदूतावासले जनाएको छ । दूतावासका अनुसार लगभग २ महिना समयावधिको कार्यक्रमसहित नेपाल प्रस्थान गरेको सो टोलीले लोबुचे र मनास्लु हिमाल आरोहणलाई पूर्वतयारीको रूपमा लिंदै सन् २०२१ मा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने अभिलाषा लिएको छ।

