सिन्धुपाल्चोकमा फेरि भूकम्पको धक्का
काठमाडौं : सिन्धुपाल्चोक केन्द्रविन्दु भएर बुधबार बिहान पुनः अर्को भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको राम्चेलाई नै केन्द्रविन्दु बनाएको अर्को सानो भूकम्प गएको हो ।
बुधबार बिहान ६ बजेर १० मिनेट जाँदा ३.८ म्याग्निच्यूडको अर्को भ्रकम्प गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
बुधबार बिहान ५ः१९ बजे सोही केन्द्रविन्दु भएर ६ म्याग्निच्यूडको गएको थियो ।
पीसीआर ल्याबका स्वास्थ्यकर्मीले पाएनन् डेरा, होटेल सञ्चालकले दिए निःशुल्क कोठा
झापा : एकका लागि एक अभियानमार्फत झापाको कनकाई नगरपालिका- ४ कोटीहोममा सञ्चालनमा आएको पीसीआर ल्याबका डाक्टर र प्राविधिकले सुरुङ्गा क्षेत्रमा डेरा नपाएपछि यहाँस्थित होटल क्वीन प्यालेशले डाक्टर र प्राविधिकलाई तीन वटा कोठा निःशुल्क उपलब्ध गराएको छ । स्थानीय व्यवसायी बिजय गजुरेलले कोटीहोममा संचालित पीसीआर ल्याबका स्वास्थ्यकर्मीका लागि कसैले पनि डेरा नदिएको सुनेपछि आफूले होटलका तीन वटा कोठा निःशुल्क प्रदान गरेको बताए । ‘समाजमा अझैपनि कोरोना सचेतना छैन । दिनरात स्वाब परीक्षणा गर्ने डाक्टर र प्राविधिक बस्ने भने पनि यहाँका अन्य होटल र घरवालाहरु कसैलेपनि डेरा कोठा दिन मानेनन धन्न एकजना मनकारी व्याक्तित्व भेटिए र हामीले राख्न सक्यौँ,’ एकका लागि एक अभियानका सदस्य समेत रहेका लीला चिमरियाले बताइन् । यता होटल क्वीन प्यालेसका सञ्चालक बिजय गजुरेलले भने आफूले कम्तिमा डेढ महिनाका लागि उक्त कोठा निःशुल्क उपलब्ध गराएको बताउँदै आफूले यसअघि पनि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेललाई आवश्यक परेको खण्डमा आफ्नो पुरै होटल नगरवाशीका लागि आइसोलेशन बनाउनका लागि निशुल्क दिने वचन दिइसकेको बताए । हाल होटल क्वीन प्यालेशका ३ कोठामा ५ जना डाक्टर र प्राविधिक रहँदै आएका छन् । प्रतिकोठा २ हजारका दरले पनि ३ कोठाको हरेक दिनकै ६ हजार पीसीआर ल्याबको वचत भएको चिमरियाले बताइन् ।
भीमसेन थापाका भाइको घर नभत्काउन आदेश
काठमाडौं : सर्वोच्च अदालतले मुख्तियार भीमसेन थापाका भाई रणवीरसिंह थापा (स्वामी अभयानन्द) को काठमाडौंको लगनस्थित पुरातात्विक महत्वको घर नभत्काउन आदेश जारी गरेको छ । न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले २ सय वर्ष पुरानो शिलखाना नभत्काउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । आदेशमा विपक्षीलाई बाटाको म्यादबाहेक १५ दिनभित्र प्रमाण भए प्रमाणसहित उपस्थित हुन भनिएको छ । जनहित संरक्षण मञ्चका तर्फबाट वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा र राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानका कोषाध्यक्ष सुशीलविक्रम थापाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, काठमाडौं महानगरपालिका, प्रधान सेनापतिको कार्यालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र काठमाडौं महानगरपालिका २१ नम्बर वडा कार्यालयलाई विपक्षी बनाएर रिट दर्ता गरेका थिए । सर्वोच्चको आदेशमा ‘पेशी तोकिएको अवधिसम्मका लागि निवेदनमा सिलखाना क्षेत्रमा कुनै किसिमको निर्माणकार्य लगायत स्वरुप बिगार्ने, भग्नावशेष हटाउने कार्यसमेत नगरी सुरक्षित राख्नु/राख्न लगाउनू’ भनिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्मार्ट टेलिकमको काउन्टर
काठमाडौं : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्मार्ट टेलिकमले पनि काउन्टर राखेको छ । कम्पनीले विदेशबाट आउनेका लागि बिमानस्थलको आगमन क्षेत्रमा नयाँ स्मार्ट टेलिकम एयरपोर्ट काउन्टर सुरु गरेको हो । कम्पनीले आफ्ना ग्राहकहरु लगायत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आउनेहरुलाई थप सेवा सुविधा प्रदान गराउनका लागि मंगलबारदेखि विमानस्थलको आगमन क्षेत्रमा नयाँ काउन्टर सुचारु गरेको हो । नयाँ काउन्टर मार्फत् विदेशबाट आउने ग्राहकले स्मार्टको सिम कार्ड तथा रिचार्ज कार्ड पाउने कम्पनीका मार्केटिङ प्रमुख तर्क भट्टले जानकारी दिए । उनका अनुसार अन्य स्मार्ट टेलिकमका सेवा तथा प्रोडक्टको उपभोग समेत गर्न सक्नेछन् । नयाँ काउन्टर सुचारु भएसँगै ग्राहकसँग जोडिन र गुणस्तरीय सेवा लिन ग्राहकहरुलाई सहज हुने विश्वास कम्पनीले लिएको छ । स्मार्ट सेल नेपालको तेस्रो ठुलो निजी मोबाइल दूरसञ्चार कम्पनी हो । यसको स्थापना १ जुलाई २००८ मा भएको थियो । यसले नेपालका ४५ जिल्लाहरूमा सेवा प्रदान गर्दछ । यसले सम्पूर्ण नेपालमा सेवा दिने उद्देश्यसँग आफ्नो सञ्जालको विस्तार गरिरहेको छ । २८ अक्टोबर, २०१७ मा कम्पनीले काठमाडौँ, ललितपुर, भक्तपुर, पोखरामा आफ्नो फोरजी सेवा सञ्चालनमा ल्याएको थियो । यो सेवा देशका अन्य शहरहरुमा पनि विस्तारको तयारी भईरहेको कम्पनीले जनाएको छ ।
कुलमान गएपछि प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा कोइराला
काठमाडौं : नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी लेखनाथ कोइरालाले पाएका छन् । ऊर्जा मन्त्री वर्षमान पुन ‘अनन्त’ले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि कोइरालालाई निमित्तको जिम्मेवारी दिएका हुन् । ऊर्जामन्त्रीका प्रेस संयोजक दयानिधि भट्टका अनुसार प्राधिकरणमा उपकार्यकारी निर्देशकको भूमिकामा रहेका कोइरालालाई वरिष्ठताको आधारमा सो जिम्मेवारी दिइएको हो । गत आइतबार कार्यकाल सकिएका कार्यकारी निर्देशक कुलमान घिसिङको आज विद्युत प्राधिकरणबाट बिदाइ गरिएको थियो । उनको पुनर्नियुक्ति हुनुपर्ने भन्दै चौतर्फी आवाज उठेपछि मन्त्रिपरिषद्बाट निर्णय हुन सकेको छैन ।
चीनले भन्यो- कोरोनाविरुद्ध गर्न केके चाहिन्छ, लिष्ट पठाउ, हामी सामान दिन्छौं
बेइजिङ : चीनले नेपालमा देखिएको कोरोना संक्रमण नियन्त्रण गर्नका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्रीको सूची पठाउन आग्रह गरेको छ । आज बेइजिङस्थित नेपाली राजदूत महेन्द्रबहादुर पाण्डे र चीनको परराष्ट्र मन्त्रालय अन्तर्गत एसियाली विभाग हेर्ने उपमन्त्री लुओ चौहुईसँग भएको भेटवार्तामा नेपालमा देखिएको कोरोना महामारी नियन्त्रण गर्न चीनले यस्तो आग्रह गरेको हो । यसअघि चीनले नेपाल, पाकिस्तान, अफगानिस्तानसँगको भिडियो कन्फ्रेन्समा १० मिलियन अमेरिकी डलर बराबरको सहयोगको प्रतिबद्धता जनाएको थियो । ‘महामारीले नेपालको अवस्थामा गम्भीर असर परिरहेका बेला चीनले ढाडस दिएको छ, आवश्यक स्वास्थ्य सामग्रीको सूचि पनि मागेको छ,’ राजदूत पाण्डेसँगै भेटवार्तामा सहभागी दूतावासका मिनिस्टर सुशील लम्सालले जानकारी दिए । नेपालमा महामारी फैलिएदेखि नै चीनले सहयोग गर्दै आएको छ भने नेपालले पनि आफ्नो तर्फबाट सहयोग गरिरहेकोमा दुवै देशले आभार प्रकट गर्दै यसबीचमा आपसी सहयोगलाई अझै द्रूत बनाउने प्रतिबद्धता चीनले दोहोर्याएको छ ।
यी हुन् मन्त्रिपरिषद् बैठकका १० महत्वपूर्ण निर्णय (सूचीसहित)
काठमाडौंः सरकारले असोज १ गतेदेखि सार्वजनिक यातायात, आन्तरिक हवाई उडान, होटल रेष्टुरेन्टहरु खुला गर्ने निर्णय गरेको छ । सोमबार बसेको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । यी हुन् मुख्य निर्णयः – असोज १ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने । – असोज १ गतेदेखि आन्तरिक हवाई उडान सञ्चालन गर्ने । – असोज १ गतेदेखि होटल रेष्टुरेन्टहरु खुला गर्ने । – पूर्व अर्थमन्त्री युवराज खतिवडालाई प्रधानमन्त्रन्त्रीको प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त गर्ने र मन्त्री सरह सेवा सुविधा उपलब्ध गराउने । – एसिड आक्रमणमा परी घाइते भएका सबैको जीवनभरको सबै उपचार सरकारले गर्ने । एसिड आक्रमणमा परी घाइते भएकाहरूका लागि निःशुल्क शिक्षा उपलब्ध गराउने । एसिड पीडितहरूको क्षमता विकास तथा सिप विकासका लागि तालिमका अवसर मिलाउने र योग्यता अनुसारका रोजगारी उपलब्ध गराउने । पेसा व्यवसाय तथा स्वरोजगार हुन चाहनेका लागि सहुलियत पूर्ण ऋण उपलब्ध गराउने । एसिड आक्रमणमा परी घाइते भएकाहरूलाई अस्पतालसम्म पु¥याउने बेलासम्म सफा पानी खन्याउँदै लैजानुपर्छ भन्ने जनचेतनाका कार्यक्रम संचालन गर्ने । – सरकारको प्रवक्तामा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई नियुक्त गर्ने । – नेपालमा सञ्चालित विभिन्न परियोजनाका लागि आवश्यक पर्ने जनशक्ति विदेशबाट ल्याउन खुला गर्ने । उनीहरूले ७२ घण्टाभित्रको पीसीआर, आडीटी नेगेटिभ भएको प्रमाण पेस गर्नुपर्ने । आयोजनाले व्यवस्थापन गरेको क्वारेन्टिनमा उनीहरू बस्ने प्रतिबद्धता भएमा मात्र कामदार, जनशक्तिलाई नेपाल आउन अनुमति दिइने । – हिमाल आरोहण तथा पदयात्रामा आउने विदेशी पर्यटकको लागि कार्तिक १ देखि नेपाल आउन अनुमति दिने । नेपाल आउने हरेक विदेशी नागरिकले ७२ घण्टाभित्रको पिसिआर नेगेटिभ रिपोर्ट ल्याएर आउनुपर्ने । – अन्तर्राष्ट्रिय सीमा नाका असोज ३० गतेसम्म बन्द राख्ने निर्णय । नेपाल प्रवेश गर्ने सबै नाका र खुला सीमाबाट हुने सबै प्रकार गतिविधि समेत यस अवधिमा बन्द रहनेछन् । तर, समस्यामा परेका नागरिकलाई भने निश्चित विन्दुबाट प्रवेश भने खुला रहनेछन् । इलामको पशुपतिनगर र दार्चुलाको खलंगा नाका पनि खुला गर्ने निर्णय । चीनतर्फ रसुवाको नाका खुला । – शैक्षिक संस्था, ट्युसन सेन्टर, परीक्षा सञ्चालन, सबै प्रकारका गोष्ठी, तालिम आदि अर्को सूचना नआएसम्म बन्द नै राख्ने । सबै प्रकारका प्रदर्शन भेला, सिनेमा हल, डान्सबार, सार्वजनिक स्थल, सैलुनहरू, व्युटी पार्लर, मसाज तथा स्पा सेन्टर, स्विमिङ पुल, जिमखाना, समूहमा खेलिने खेल, मैदानमा हुने प्रशिक्षण, अन्तर्राष्ट्रिय खेलकुद प्रशिक्षण, प्रारम्भीक चरणका खेलहरू, सबै प्रकारका धार्मिक क्षेत्र, चिडियाखाना, पुस्तकालय अर्को निर्णय भएपछि मात्रै सञ्चालन हुने ।
खुले होटल रेष्टुरेन्ट पनि
काठमाडौंः सरकारले असोज १ गतेदेखि होटल रेष्टुरेन्टहरु खुला गर्ने निर्णय गरेको छ । सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो । मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले सो जानकारी दिएका हुन् । होटल रेष्टुरेन्टहरु खुला गर्दा स्वास्थ्यसम्बन्धि मापदण्ड तोकिएका छन् ।
सामूहिक बलात्कार आरोपमा ३ जना पक्राउ
ओखलढुङ्गा: ओखलढुङ्गामा चम्पादेवी गाउँपालिकाकी एक १६ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । पीडित पक्षले प्रहरीमा दिएको जाहेरीका आधारमा १४ र १६ वर्षका २ बालकसहित १८ वर्षका युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक मिलन बस्नेतले बताए । आरोपितलाई जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा ल्याइएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको र तीनमध्ये एक जनाले बलात्कार गर्न सहयोग गरेको तथा अन्य २ ले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरी निरिक्षक बस्नेतको भनाइ छ । बालिकाको स्वास्थ्य परीक्षण पछि उपचार भइरहेको प्रहरीले जनाएको छ ।
पहिरोबाट विस्थापितलाई एकद्वार प्रणालीबाट राहत
चौताराः सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुमथाङको भिमखर्क र नाकबुच्चेमा शनिबार राति गएको पहिरोबाट विस्थापित परिवारलाई नगरपालिकाले आजदेखि एकद्वार प्रणालीबाट राहत वितरण गर्न शुरु गरेको छ । कोभिड-१९ महामारीलाई ध्यानमा राखी विभिन्न संघसंस्था तथा व्यक्तिबाट प्राप्त राहत स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी एकद्वार प्रणालीबाट वितरण गरिएको नगरप्रमुख निमफुञ्जो शेर्पाले बताए । पहिरोमा घाइते ३ जनालाई पनि नगरपालिकाले निःशुल्क उपचार गराई रहेको छ । जिल्ला विपद् व्यवस्थापन समितिबाट बिस्थापित परिवारलाई त्रिपाल, टेन्ट, कम्बल, किट तथा भाँडाकुँडा पठाइसकेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए। पहिरोबाट २२ घर पूर्णरुपमा क्षति भएको छ भने ५८ परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । पहिरोमा बेपत्ता मध्ये हालसम्म १४ जनाको शव भेटिएको छ । भेटिएकामा २२ वर्षीय कुमार बिक, २१ वर्षीया सोनीका बिक र ५३ वर्षीय सिंहबहादुर प्रधान भएको प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले बताए । पहिरोमा अझै १७ जना बेपत्ता छन् । भिमखर्कबाट झरेको करिब डेढ किलोमिटर लामो पहिरो नाकबुच्चेलाई लछार्दै भोटेकोशी नदीमा गएर टुङ्गिएको छ । २ वटा शवलाई नदीले बगाएको अवस्थामा फेला परेको हुँदा नदी छेउमा रहेको नाकबुच्चेका बेपत्तालाई पनि नदीले बगाएको आशङ्का गरिएको प्रहरी नायब उपरीक्षक सापकोटाले बताए । बेपत्ताको नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको तीन टोली बनाई बिहानैदेखि घरेलु औजारबाट खोजी भईरहेको ईलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए । मानिसबाट खोजी कार्य सम्भव नदेखिएपछि बिग्रेका सडक मर्मत गर्दै आजसम्ममा स्काभेटर लाने नगरपालिकाको जनाएको छ ।
हवाई उडान र सार्वजनिक यातायात पर्सिदेखि शुरू हुने
काठमाडौंः सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असोज १ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले सो जानकारी दिएका हुन् । त्यसका लागि केही मापदण्ड तोकिएका छन् । स्वास्थ्य मापदण्ड अपनाएर सार्वजनिक यातायात सुरू गर्ने निर्णय भएको हो । भाडादर ५० प्रतिशत बढाइएको छ । यात्रु राख्दा क्षमताको ५० प्रतिशतमात्र राख्नुपर्नेछ । एउटा लहरमा एउटामात्र यात्रु बस्नु पर्नेछ । यात्रुहरूले अनिवार्य मास्क लगाउनु पर्नेछ । ढोका र गाडीभित्र पनि स्यानिटाइजरको व्यवस्था गरेको हुनुपर्नेछ । बैठकले आन्तरिक हवाई उडान पनि असोज १ गतेदेखि नै सञ्चालन गर्ने निर्णय गरेको छ । असोज १ गतेदेखि नै होटल पनि खुल्नेछन् ।
रजिष्टर्डदेखि उपकूलपतिसम्मको यात्राः २६ वर्षमा वैध भन्दा अवैध सम्पति बढी !
काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदीय दुरुपयोग गरी अकूत सम्पत्ति कमाएको अभियोगमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकूलपति डा बलभद्रप्रसाद दासविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार २०५० असार २७ गते जुनियर रजिष्टर्ड पदबाट सार्वजनिक सेवामा प्रवेश गरेका दासले २०७६ असार ३० गतेसम्मको अवधिमा ७ करोड ७१ लाख ९२ हजार ८६० रुपैयाँ बराबरको गैरकानूनी आर्जन गरेको पाइएको छ । आयोगका अनुसार दासको वैध आय रु सात करोड ६० लाख १० हजार ४८९ आर्जन गरेको देखिएको छ । तर, सो अवधिमा १५ करोड ३२ लाख तीन हजार ३५० रुपैयाँ खर्च तथा लगानी भएको छ । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार आरोपी दासविरुद्ध हदै सम्मको कारबाहीको माग गर्दै अवैध सम्पत्ति जफतको मागसहित आज विशेष अदालतमा मुद्दा दायर गरिएको छ । खर्च तथा लगानीको स्रोत खुल्न नआएको हुँदा त्यो पद र हैसियत अमिल्दो र अस्वभाविक देखिई उच्च जीवनयापनसमेत गरेको देखिएकोले दासले भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।
राजश्व परामर्श समितिले काम थाल्यो
काठमाडौंः सरकारले राजश्व परिचालन तथा व्यवस्थापन सम्बन्धमा आवश्यक सुझाव दिन तथा सिफारिस गर्न नेपाल हालै गठन गरेको राजश्व परामर्श समितिले कार्यारम्भ गरेको छ । त्रिपुरेश्वरस्थित भन्सार विभागको परिसरमा कार्यालय स्थापना गरेर काम थालेको समितिको पहिलो बैठकले समितिको नियमावलीको मस्यौदा तयारी, वाार्षिक बजेट तथा कार्ययोजना तथा सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको लागि आवश्यक कार्यदल गठन गर्ने निर्णय गरेको छ । समितिले राजस्व नीति, कर संरचना र कार्यप्रकृयाको मूल्याङ्कन गर्ने, लगानी मैत्री वातावरण र कर प्रणालीको विकास गर्न सुझाव दिने, अन्तर्राष्ट्रिय कर, कर छुट तथा दोहोरो करमुक्ति सम्झौताको अध्ययन एवं विश्लेषण गरी सुझाव दिने, नयाँ कर लागू गर्ने, कुनै कर खारेज गर्ने, करका दरहरुमा गर्नुपर्ने परिवर्तनसम्बन्धी विषयमा र वर्तमान राजश्वसम्बन्धी ऐन कानूनको प्रभावकारी कार्यान्वयन भएनभएको सम्बन्धमा अध्ययन-विश्लेषण गरी उचित राय पेश गर्ने जिम्मेवारी पाएको छ । यसैगरी तीन तहका सरकारहरुले लगाएका करहरुको अध्ययन गरी दोहोरोपना आउँन नदिन सुझाव दिने, राजश्व सम्बन्धमा भएका अध्ययन अनुसन्धानको विश्लेषण गरी सुझाव पेश गर्ने, नेपाल सरकारको राजस्व सम्बन्धी वौद्धिक केन्द्रको रुपमा कामगर्ने कार्यादेश दिइएको छ । सरकारले विकास समिति ऐनअनुसार उक्त समिति गठन गरेको हो । समिति गठनको सूचना गत माघ २० गते नेपाल राजपत्रमा प्रकाशन भएको थियो ।
भारतद्वारा २ हजार थान रेमेडिसिभर प्रदान
काठमाडौंः भारत सरकारले नेपाल सरकारलाई गम्भीर अवस्थाका कोभिड-१९ का सङ्क्रमितको उपचारका निम्ति आवश्यक पर्ने ‘रेमेडिसिभर’ प्रदान गरेको छ । नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले भारत सरकारका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई आज २ हजार थान रेमेडिसिभर उपहारस्वरुप हस्तान्तरण गरे । कोभिड-१९ को विश्वव्यापी महामारीले निम्त्याएको चुनौती सामान गर्न भारत सरकारले रेमेडिसिभर उपलब्ध गराएकामा भारत सरकारप्रति कृतज्ञता व्यक्त गर्दै मन्त्री ज्ञवालीले उक्त महामारीबाट भारत स्वयं प्रभावित भएको अवस्थामा सहयोग प्राप्त हुनु २ देशबीच भरपर्दो मैत्रीको प्रतीक भएको बताए । विश्वका वैज्ञानिकहरू कोभिड-१९ विरुद्धको खोप विकास गर्न लागिपरेका तर त्यसले कहिले मूर्तरुप लिन्छ भन्ने यकिन भइनसकको वर्तमान परिप्रेक्ष्यमा प्राप्त रेमेडिसिभर अमूल्य जीवन जोगाउन सहयोगी हुने विश्वास उनले व्यक्त गरे । उनले नेपालको सामाजिक(आर्थिक विकासमा भारतबाट निरन्तररुपमा प्राप्त सहयोगको सराहना गरे । कोभिड-१९ विरुद्ध दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्रमाझ सुदृढ एकता र सहकार्यलाई जोड दिँदै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गत चैतमा गरेको अप्रत्यक्ष सम्मेलनको स्मरण गर्दै मन्त्री ज्ञवालीले भारतसँग सहकार्य र साझेदारी गर्न नेपाल सधैं तत्पर रहेको बताए । राजदूत क्वात्राले कोभिड-१९ विरुद्धको लडाइँमा भारत सरकारले आफ्नो क्षमताले भ्याएसम्म हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफ्नो देशको ‘छिमेक पहिले’ नीतिअनुरुप थोरै भए पनि नेपाललाई स्वास्थ्य सामग्री उपलब्ध गराइएको बताए । महामारीका कारण भारतको मात्र नभई संसारभरका राष्ट्रहरूको अर्थतन्त्र नराम्ररी प्रभावित भएको असहज अवस्थामा पनि भारत–नेपाल सहयोगका परियोजना निर्वाध सञ्चालन भइरहेका बताउँदै उनले आपूर्तिको चक्र पनिमा कुनै किसिमको अवरोध नरहेको जानकारी दिए । नेपालबाट भारत प्रस्थान गर्नेहरूलाई पनि सहजरुपमा आउजाउको व्यवस्था मिलाइएको बताउँदै राजदूत क्वात्राले भने, ‘दुवै देशका जनता आपसमा हातेमालो गरेर अघि बढिरहेका छन् ।’ चिकित्सा क्षेत्रका जानकारहरूका अनुसार ‘अक्सिजन थेरापी’मा रहेका सङ्क्रमितको उपचारमा रेमेडिसिभर प्रयोग गरिन्छ । यसको उपयोगबाट बिरामीलाई शीघ्र स्वास्थ्यलाभ गर्न मद्दत पुग्छ । रासस
नवलपुरमा थपिँदै साना उद्योग
कावासोती: नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा गत वर्ष ५ सय ४६ साना उद्योग थपिएका छन् । घरेलु तथा साना उद्योग कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरका कार्यालय प्रमुख बिक्रम सुवेदीका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ५ सय ४६ साना उद्योग थपिएका छन् । गत वर्ष सबैभन्दा धेरै भदौ महिनामा मात्रै ९० वटा साना उद्योग थपिएका छन् । कोभिड-१९ को प्रभावका कारण वैशाख र जेठ महिनामा एउटा पनि उद्योग दर्ता नभएको प्रमुख सुवेदीले बताए । असारमा भने ३६ वटा उद्योग थप भएका छन् । जिल्लामा थपिएका उद्योगमध्ये धेरै जसो कृषि तथा पशुपालनसँग सम्बन्धित रहेका छन् । त्यसपछि पर्यटनसँग सम्बन्धित साना उद्योग दर्ता भएको कार्यालय प्रमुख सुवेदीले बताए । उनले भने, ‘कृषि तथा पशुपालनमा विभिन्न खालका अनुदान सरकारले प्रदान गरिरहेको छ, त्यसैले योसँग सम्बन्धित उद्योग खोल्नेको सङ्ख्या बढेको हुन सक्छ ।’ कार्यालयका अनुुसार गत आर्थिक वर्षमा ४४ वटा साना उद्योग बन्द भएका छन् । वाणिज्यतर्फ गत वर्ष ४ सय ९९ वटा पसल व्यवसाय थप भएका छन् । गत आर्थिक वर्षमा १ सय ८ वटा पसल व्यवसाय बन्द भएका छन् । कोभिड-१९ को महामारीले गर्दा भएको बन्दाबन्दीले वाणिज्यतर्फ पनि २ महिनामा एउटा पनि पसल व्यवसाय थपिएका छैनन् । वैशाख र जेठ महिनामा एउटा पनि पसल व्यवसाय नथपिएको कार्यालय प्रमुख सुवेदीले बताए। गत आर्थिक वर्षमा थपिएका उद्योगहरुमा सात सय ४६ उद्यमीसहित कूल २ हजार ६ सय ३८ जनाका लागि रोजगारी सिर्जना भएको उनको भनाइ छ । जिल्लामा साना उद्योग थपिने क्रम अहिले झन बढेको कार्यालय प्रमुख सुवेदीले बताए । बन्दाबन्दीसँगै चालु आर्थिक वर्षको पहिलो महिनामा साना उद्योग दर्ता गर्नेको सङ्ख्या बढेको छ । कार्यालय प्रमुख सुवेदीका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा मात्रै ६४ वटा साना उद्योग दर्ता भएका छन् ।
नेपालमा कोरोनाको फेरि रेकर्ड
काठमाडौंः नेपालमा कोरोनाले फेरि नयाँ रेकर्ड राखेको छ । आज हालसम्मकै बढी संक्रमित थपिँदै कोरोनाले रेकर्ड राखेको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १४५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रतिको संख्या ५६ हजार ७८८ पुगेको छ । यसअघि २६ गते शुक्रबार सबैभन्दा बढी १४५४ जना संक्रमित थपिएका थिए । मंगलबार १०३७५ पीसीआर गरिएको छ । पछिल्लो २४ घण्टामा १९६२ जना निको भएसँगै हालसम्म निको हुनेको संख्या ४० हजार ६३८ पुगेको छ । हाल नेपालमा १५ हजार ७७८ सक्रिय संक्रमित संख्या छ । पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेको संख्या ३७१ पुगेको छ ।

