संविधानको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न राष्ट्रपतिको आव्हान

राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल र सुखी नेपालीको नारा चरितार्थ गर्न आर्थिक क्रान्तिको दिशामा अघि बढनुपर्ने बताएकी छिन् ।

सविधान दिवसका अवसरमा शुभकामना दिँदै राष्ट्रपति भण्डारीले संविधानको मर्म र भावनाका लागि इमान्दार प्रयास हुनुपर्नेमा समेत जोड दिएकी हुन ।

पढ्नु सन्देशको पूर्ण पाठ

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७७ को शुभकामना सन्देश

नेपाली जनताको लामो संघर्ष र बलिदानपछि पाँच वर्षअघि आजकै दिन जननिर्वाचित संविधानसभाद्वारा नेपालको संविधान जारी भएको ऐतिहासिक क्षणको सम्झना र सम्मान गर्न हामीले संविधान दिवसलाई राष्ट्रिय दिवसको रूपमा समेत मनाइरहेका छौं । संविधान दिवस तथा राष्ट्रिय दिवसको यस सुखद् अवसरमा देशभित्र र बाहिर रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । यस अवसरमा म संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि भएका विभिन्न आन्दोलनको क्रममा अमूल्य जीवन गुमाउनु हुने ज्ञात अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दछु । साथै मुलुकमा लोकतान्त्रिक शासन प्रणाली स्थापना गर्नका लागि भएका आन्दोलनलाई पथ प्रदर्शन गर्नुहुने अग्रजहरूप्रति सम्मान एवम् श्रद्धा व्यक्त गर्दछु ।

वर्तमान संविधानले सामन्ती, निरङ्कुश र केन्द्रीकृत राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ । यस संविधान अन्तर्गत नेपालको राष्ट्रिय सार्वभौमसत्ता नेपाली जनतामा निहित भएको छ र जनता राज्यशक्तिको स्रोत भएका छन् । जनताको राजनीतिक अधिकार प्राप्तिका लागि गरिने संघर्षको चरण सम्पन्न भएपछि अब मुलुकलाई सामाजिक न्याय सहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने महान् दायित्व हाम्रो काँधमा आएको छ ।

संविधानद्वारा प्रत्याभूत गरिएका मौलिक अधिकारहरूलाई सुनिश्चित गर्न विगत दुई वर्षमा तीनसयभन्दा बढी कानुनहरूको निर्माण भएको छ । संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख आर्थिक–सामाजिक प्रणाली विकास गर्न नयाँ कानुनहरूको कार्यान्वयनका लागि नेपाल सरकार अग्रसर रहेको छ । संघ, प्रदेश र स्थानीय तहलाई शक्ति र स्रोतको बाँडफाँट गर्दै संघीय प्रणालीलाई संस्थागत गर्न जारी प्रयासको म सराहना गर्दछु ।

आजको यस दिनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा राष्ट्रिय संकल्प हासिल गर्न सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल तथा राज्यका सबै अङ्गलाई संवैधानिक मूल्य एवम् मान्यताहरू कार्यान्वयन गर्न प्रेरणा दिने अपेक्षा लिएको छु । यस अवसरमा संविधानको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न मन, वचन र कर्मले समर्पित भई आ–आफ्नो तर्फबाट इमान्दार प्रयास जारी राख्न म सबैमा आह्‍वान गर्दछु । विश्वव्यापी महामारीको रूपमा फैलिएको नोवल कोरोनाभाइरस ९कोभिड–१९० को रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल सरकारले चालिरहेका कदमको सराहना गर्दै त्यसमा चाँडो सफलता मिल्ने अपेक्षा गर्दछु ।

अन्तमा, संविधानको कार्यान्वयनमार्फत नागरिकको हित र मुलुकको समृद्धि हासिल गर्न सकौं भनी संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७७ को हार्दिक शुभकामना व्यक्त
गर्दछु ।
धन्यवाद ।
मिति २०७७ असोज ३ गते शनिबार ।

 

संविधान दिवसको अवसरमा २८९ कैदीबन्दीको कैद माफी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर २८९ कैदीबन्दीको कैद माफी मिनाहा गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले २८९ कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरेकी हुन् । नेपालको संविधानको धारा २७६ , फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम यही असोज ४ गतेदेखि लागू हुने गरी कैद माफी दिइएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालबाट विज्ञप्तिमा उल्लेख छ । यस्तै राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा रामदयाल मण्डल खत्वेलाई अदालतबाट भएको फैसलाबमोजिम लागेको कैद सजाय र जरिवानासमेत माफी गरेको प्रवक्ता दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नीजि कम्पनीको दबाबपछि पछि हट्यो पर्यटन मन्त्रालय, अब सबै सीटमा यात्रु राखिने

काठमाडौँ, सरकारले कोरोना संक्रमणलाई ध्यानमा राखेर जहाजमा ५० ५० प्रतिशतमात्रै यात्रु राख्नुपर्ने नियम खारेज गरेको छ । पर्यटनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा बसेको बैठकले बुधबार तोकिएको ‘आन्तरिक उडानमा सिट क्षमताको ५० प्रतिशतमात्रै यात्रु राखेर उड्नुपर्ने नियम’ हटाउने निर्णय गरेको थियो । तर शुक्रबारका दिन यो निर्णय हटाइएको हो । यसअघिको निर्णयको बिरोध गर्दै निजी वायुसेवा कम्पनीहरुले असोज १ गतेदेखि उडान गर्न मानेका थिएनन । कम्पनीको दबाबपछि मन्त्रालयले आफ्नो निर्णय खारेज गरेको हो । अब आन्तरिक उडान गर्ने वायुसेवाले सोमबारदेखि जहाजको यात्रु क्षमताअनुसार पुरै सिट भर्न पाउने भएका छन् मन्त्रालयले प्राधिकरणलाई लकडाउनअघिको बजार हिस्साका आधारमा वायुसेवाहरुलाई २५ प्रतिशत उडान हुने गरी उडान तालिका स्वीकृत गर्न निर्देशन दिएको छ । आन्तरिक उडानबाट यात्रा गर्ने यात्रुले आफू स्वस्थ रहेको हेल्थ डिक्लेरेसन फाराम अनिवार्य भर्नु पर्ने छ । मन्त्रालयले आन्तरिक उडानको माग र औचित्य हेरि अक्टोबर १ ९असोज १५ गते० तारिखपछि उडान तालिका थप गर्न निर्देशन दिएको छ । यसैबीच संघका अध्यक्ष रामेश्वर थापाले शुक्रबार विज्ञप्ति जारी गर्दै सरकारले तोकेका स्वास्थ्यसम्बन्धी नियमपूर्ण परिपालना गर्दै ६ महिनादेखि बन्द आन्तरिक नियमित उडान सोमबारदेखि उडान सुचारु गर्ने जनाएका छन् ।

विश्वकै अग्लो भवनमा नेपालको राष्ट्रिय झण्डा फहराइने

काठमाडौं : संविधान दिवसको अवसरमा भोलि युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईस्थित संसारकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा झलमलाउने भएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ को सुखद अवसरमा भोलि साँझ ८ बजे दुबईस्थित संसारकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफा र अबुधाबीस्थित एडीएनओसी भवनमा नेपालको राष्ट्रिय झण्डा झलमलाउने कार्यक्रम रहेको युएईका लागि नेपाली राजदूतले जनाएको छ । युएईस्थित नेपाली दूतावासको अनुरोधमा गत वर्षझैं यस वर्ष पनि बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा झलमलाउन लागिएको हो । बुर्ज खलिफाको उचाई ८२९.८ मिटर रहेको छ। बुर्ज खलिफामा गत वर्ष संविधान दिवसको दिनमा पनि नेपालको राष्ट्रिय झण्डा झलमालाइएको थियो ।

प्रधानमन्त्रीले देशवासीका नाममा विशेष सम्बोधन गर्ने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ का अवसरमा देशवासीका नाममा विशेष सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले दिवसका अवसरमा शनिबार बिहान ९ बजे सैनिक मञ्च टुँडिखेलमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । सम्बोधनमार्फत उनले स्वदेश र विदेशमा रहेका नेपालीलाई शुभकामना दिने भएकाले विगतमा अघिल्लो दिन प्रधानमन्त्रीले लिखित शुभकामना दिने क्रमभन्दा पृथक रहने जनाइएको छ ।

मृत फेला परेकी निर्मलाको अन्तिम पोष्ट : ‘म मरेको दिन कस्तो होला?’

धनगढी : कैलाली एफएममा कार्यरत २३ वर्षीया पत्रकार निर्मला पहाराइ मृत फेला परेकी छिन् । घोडाघोडी नगरपालिका- ४ की पहाराइ भदौ ३१ ग्तेदेखि बेपत्ता थिइन् भने आज वडा नम्वर ५ को सामुदायिक वनमा भुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्। उनले १६ दियता सामाजिक सञ्जाल फेसबुकमा कुनै पोष्ट गरेकी छैनन् भने अन्तिम पोष्ट सेप्टेम्वर २ मा गरेकी छिन् । उनले सेटोपाटीमा प्रकाशन भएको ‘म मरेको दिन कस्तो होला?’ शिर्षकको लेख उनले पोष्ट गरेकी छिन् । यो पोष्ट नै सामाजिक सञ्जालमा उनको अन्तिम पोष्ट हो। सेतोपाटी डटकममा नवराज पराजुलीले राष्ट्रकवी माधवप्रसाद घिमिरेलाई स्मरण गर्दै लेखेको उक्त लेख मृतक पहराइले पोष्ट गरेकी थिइन्। ईलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख तथा प्रहरी नायव उपरिक्षक सागर बोहराले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।  

नारायणी नदीले बगाउँदा बाबुछोरी बेपत्ता

कावासोती : नारायणी नदीले बगाएको ल्याएको दाउरा टिप्ने क्रममा शुक्रबार बाबुछोरी बगाएर बेपत्ता भएका छन् । नवलपरासी पूर्व (नवलपुर) मध्यबिन्दु नगरपालिका १२ र १५ को सिमाना नारायणी नदी र अरुणखोलाको दोभानमा नारायणी नदीले बगाएर ल्याएको दाउरा टिप्नेक्रममा मध्यविन्दु नगरपालिका १५ तल्लो भिउरान बस्ने ४५ वर्षका भूपलाल क्षेत्री र उनकी १४ वर्षकी छोरी सुजिता क्षेत्रीलाई नदीले बगाएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए । ४३ वर्षकी श्रीमती सानी क्षेत्रीलाई समेत नदीले बगाएकोमा उनलाई स्थानीयले उद्धार गरेका थिए । बेपत्ता बाबुछोरीको प्रहरी र स्थानीयले खोजी गरिरहेको खाँणले जानकारी दिए ।

सुरक्षागार्डलाई कोरोना देखिएपछि ऊर्जामन्त्री पुन क्वारेन्टाइनमा

काठमाडौं : निजी सुरक्षागार्डलाई कोरोना संक्रमण देखिएपछि ऊर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ ५ दिन क्वारेन्टाइनमा बस्ने भएका छन् । मन्त्री पुनका प्रेस संयोजक दयानिधि भट्टका अनुसार उनी आफ्नै निवासमा क्वारेन्टाइनमा बस्ने तयारीमा रहेका छन् । केही दिनअघि उनका सुरक्षागार्डको कोरोना भाइरस परीक्षणका लागि स्बाब संकलन गरिएको थियो । सो स्वाबको रिपोर्ट शुक्रबार आएको हो ।

राष्ट्रपति भण्डारीद्वारा २८९ कैदीबन्दीको कैद माफी मिनाहा

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर २८९ कैदीबन्दीको कैद माफीमिनाहा गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले हेमराज तुम्बाहाम्फेसमेतका कैदीको कैद भुक्तान हुन बाँकी कैद माफीमिनाहा गरेकी हुन् । नेपालको संविधानको धारा २७६ , फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम यही असोज ४ गतेदेखि लागू हुने गरी कैद माफी दिइएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तै राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा रामदयाल मण्डल खत्वेलाई अदालतबाट भएको फैसलाबमोजिम लागेको कैद सजाय र जरिवानासमेत माफी गर्नुभएको प्रवक्ता दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रिय कर्मचारी संगठन र स्वतन्त्र कर्मचारी मिलन केन्द्रबीच एकता

काठमाडौं : नेपाल राष्ट्रिय कर्मचारी संगठन र स्वतन्त्र कर्मचारी मिलन केन्द्र पर्साबीच एकता भएको छ । आज बसेको भेलाले दुबै संगठन एकता गरेर १७ सदस्यीय नेपाल राष्ट्रिय कर्मचारी संगठनसमेत गठन गरेको छ । संगठनको अध्यक्षमा सुनीलकुमार कुर्मी, उपाध्यक्षमा ज्ञानकिशोर चौधरी, भोला महतो, सचिवमा श्रवणकुमार चौधरी, सहसचिवमा धीरेन्द्र जैसवाल र कोषाध्यक्षमा सोमलाल श्रेष्ठलाई चयन गरिएको हो । त्यस्तै, संगठनको सदस्यहरूमा दिलिपखङ्ग खत्वे, सुलतानमिया धोवी, अनिल श्रीवास्तव, साधुप्रसाद चौरसीया, जोखन रावत कुर्मी, गुलजार राउत लगायत छन् । भेलाले आसन्न आधिकारीक ट्रेड युनियनको चुनावको प्रचारप्रसारका लागि १५ सदस्यीय प्रचारप्रसार तथा परिचालन समितिसमेत गठन गरेको छ । समितिको संयोजकमा श्रवणकुमार चौधरीलाई चयन गरिएको छ ।    

कोरोना ह्वात्तै बढेपछि स्वास्थ्य मन्त्रालयले दियो यस्तो चेतावनी

काठमाडौंः स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोनाको अवस्था खराब भएको बताएको छ । शुक्रबार नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कोरोनाको अवस्था खराब भएको र सतर्कता अपनाउन आग्रह गरे । नेपालमा एकैदिन हालसम्मकै बढी २ हजार २० जना संक्रमित थपिएकै दिन प्रवक्ता गौतमले घनाबस्ती भएका शहरी क्षेत्रमा भिडभाड, नारा जुलुस नगर्न चेतावनी दिएका छन् । आज काठमाडौं उपत्यकामा मात्रै ८५९ संक्रमित थपिएका थिए । ‘मैले दुई महिनाअघि भनेको थिए, भिडभाड, नारा जुलुस नगर्नुस् । त्यसले तपाईलाई खास्सै केही हुँदैछ घरमा अरुलाई सार्नुहुन्छ भने । जुन कुरा गलत होस् भन्ने सोचेको थियो, त्यो कुरा अहिले आएर सही ठहरियो’, उनले चेतावनी दिँदै भने, ‘अब पनि फेरि काठमाडौंलगायतका घनाबस्ती भएका शहरी क्षेत्रमा भिडभाड, नाराजुलसु गर्न थालिएको छ । त्यो तुरुन्तै बन्द गर्नुस् ।’ उनले घनाबस्ती भएका शहरी क्षेत्रमा भिडभाड, नारा जुलसु गर्न नरोकिए ठूलो क्षति हुने चेतावनी दिए । गौतमले ६० वर्ष पुगेका, श्वासप्रश्वास, क्यान्सर, फोक्साका बिरामी, नियमित डायलासिस गराइरहेका अन्य रोगबाट गस्रित नागरिकलाई घरबाहिर ननिस्कन आग्रह गरे । उनले सुझाव दिँदै भने, ‘अत्यन्त जरुरी काम नपरी ननिस्कनुहोस् । निस्केनै परे मास्क लगाउनुस् । दुई मिटरको दुरी कायम राख्नुस् । जनस्वास्थ्यका मापदण्ड पालना गर्नुस् । साबुन पानी हात धुनुस् वा सेनिटाइजर प्रयोग गर्नुस् ।’

ड्युटीमा रहेका प्रहरी हवल्दारलाई ढुंगाले हान्‍ने युवक पक्राउ

भोजपुरः ड्युटीमा रहेका प्रहरी हवल्दारमाथि ढुङ्गा प्रहार गर्ने एक युवक पक्राउ परेका छन्। भोजपुरको पौवादुङमा-५ स्थित अँधेरीघाटमा ड्युटीमा खटिएका प्रहरी हवल्दार कुमार कट्वाललाई ढुङ्गा प्रहार गरेको आरोपमा सोही गाउँपालिका-५ लुगुवा बस्ने २६ वर्षीय संगीन राईलाई प्रहरीले पक्राउ गरेको हो। घाइते प्रहरी हवल्दारको विराट मेडिकल कलेज विराटनगर मोरङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। ढुंगा प्रहारबाट घाइते हवल्दारको टाउकोमा ६ टाँका लगाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए। मादक पदार्थ सेवन गरी धरानबाट स्कुटर लिई आउँदै गरेका राईले रातको समयमा नाकाबाट प्रवेश गर्ने विषयलाई लिएर प्रहरी हवल्दारलाई ढुंगा प्रहार गरेको प्रहरी भनाइ छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रदेश-५ सरकारले ६ स्थानीय तहलाई शव वाहन किन्न ९० लाख दिने

बुटवल : प्रदेश ५ सरकारले कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषबाट प्रदेशका ६ स्थानीय तहलाई शव वाहन खरिदका लागि १५ लाख रुपैयाँका दरले ९० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्युठान नगरपालिका, सन्धिखर्क नगरपालिका, गुलरिया नगरपालिका, रोल्पा नगरपालिका, सिस्ने गाउँपालिका, रामग्राम नगरपालिकालाई उक्त रकम दिर्ने निर्णय गरेको हो। त्यस्तै, बैठकले जिल्लास्तरीय ६ वटा अस्पतालहरूलाई ५० शैय्‍यामा स्तरोन्नति गर्ने निर्णय पनि गरेको छ। रुकुमपूर्व, रोल्पा, कपिलवस्तु, अर्घाखाँची, पाल्पा र भीम अस्पताल भैरहवा रहेका छन्। तीमध्ये भीम अस्पताल भैरहवा र कपिलवस्तु जिल्ला अस्पतालमा ७१ जना र अर्घाखाँची, रुकुमपूर्व, रोल्पा, अर्घाखाँची र पाल्पा जिल्ला अस्पतालका लागि ६० जनाको दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको हो। नेपाल स्वास्थ्य सेवाअन्तर्गत ११औँ तहका डेण्टल सर्जन डा. वर्षा थापालाई लुम्बिनी प्रादेशिक अस्पतालमा कामकाजमा खटाउने निर्णय भएको छ। असोज ३ गते (भोलि) संविधान दिवसका दिन घोषणा गरिने पदक सिफारिस स्वीकृत गर्ने, पदक प्राप्त गर्नेहरुको नाम असोज ३ गते आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गर्नेछ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा अस्थायी दरबन्दी स्वीकृत गर्ने, प्रदेश मामिला सूचना केन्द्रका लागि मन्त्रालय र जिल्लास्थित कार्यालयका लागि १९ जनाको दरबन्दी स्वीकृत गरिएको हो। मन्त्रिपरिषद् बैठकमा भएका निर्णयहरु सार्वजनिक गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रेस सल्लाहकार शेरबहादुर केसीले गुल्मीको रेसुंगा नगरपालिका र हाकिञ्ज परिषद, बेलायतबीच भगिनी सम्बन्ध कायम गर्न नेपाल सरकारमा सिफारिश पठाउने निर्णय भएको पनि बताए। त्यस्तै, त्रिवेणी गाउँपालिकाको वडा संख्या र सिमाना हेरफेर गरी क्रम मिलान गर्ने सम्बन्धमा सम्बन्धित गाउँपालिकाबाट प्राप्त प्रस्ताव नेपाल सरकारसमक्ष पठाउन स्वीकृति प्रदान गर्ने पनि निर्णय भएको बताए।

पहिरोका कारण ८८ घरपरिवार उच्च जोखिममा

सिन्धुपाल्चोकः वर्षाका कारण जुगल गाउँपालिका-१ सेलाङमा स्थानीयवासीका घरगोठ क्षति हुुनुका साथै दर्जनौ घर परिवार जोखिममा परेका छन् । पहिराको क्षति मुल्याङ्कनका क्रममा वडाभर निरीक्षण गर्दा ८८ भन्दाबढी परिवार पहिराको जोखिममा परेका वडा नं १ का वडाध्यक्ष कमल थापाले जानकारी दिए । उनका अनुसार सेलाङको बाँधसिम्ले, काल्चे, देउराली, चेपे, खसै, सेपगाउँ र कुनेगाउँ ठाडोपाखामा पहिराले घरगोठमा क्षति तथा स्थानीयवासीलाई जोखिममा पारेको छ । बाँधसिम्ले गोठ पुरिँदा कमलबहादुर थापाको भैँसीसमेत पुरिएको छ । कतै घर बग्न लागेका छन् भने कतै गोठ र शौचालय क्षति भएका छन् । बाँधसिम्लेमा पोखबहादुर थापाको गोठ र शौचालय क्षतिग्रस्त हुनाका साथै घर नै जोखिममा परेको छ । काल्चेका ४ घर क्षतिग्रस्त भएका छन् । चेपेमा १३ घर बस्न अयोग्य भएका छन् भने आहालमा छ घर उच्च जोखिममा छन् । ३० भन्दाबढी घर परिवार बस्ने सेपगाउँ नै पहिराको कारण उच्च जोखिममा छ । कुनेगाउँ ठाडोपाखामा १५ घर उच्च जोखिममा छन् भने खस्रेमा पनि दुई घर जोखिममा रहेको वडाध्यक्ष थापाले बताए । सेलाङ डाँडागाउँका थप १८ घर पनि पहिराका कारण उच्च जोखिममा परेका छन् । पहिराबाट जनताको ज्यान जोगाउनु नै पहिलो प्राथमिकता रहेकाले उनीहरुलाई तत्कालका लागि गाउँपालिकाबाट टेण्ट र त्रिपाल उपलब्ध गराएर सुरक्षित स्थानमा बस्न भनिएको छ । सङ्कटको अवस्थामा वडाभित्रका सरकारी भवन संरचनामा बस्न स्थानीयवासीलाई अनुरोध गरिएको थापाले बताए ।

थप २ विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन

देउखुरी: दाङको गढवा गाँउपालिकाले प्राविधिक शिक्षातर्फ जोड दिएको छ । गाउँपालिकाको स्वीकृतिपछि गढवाका २ विद्यालयमा यस वर्षदेखि प्राविधिक विषयको पढाइका लागि सिटिइभिटिबाट सम्वन्धन प्राप्त भइसकेको गाउँपालिका अध्यक्ष सहजराम यादवले जानकारी दिए । वडा नं ५ चैनपुर माध्यमिक विद्यालयमा १८ महिने पशु विज्ञानको पढाइ हुने भएको छ । वडा. न १ को जनता माध्यमिक विद्यालय कालाकाटेमा १८ महिने प्रि डिप्लोमा सिभिल इञ्जिनियरिङ विषयको पढाइ हुने भएको छ । यसअघि गढवाको वडा न ३ सरस्वती माध्यमिक विद्यालयमा २०७० सालदेखि नै कृषि प्राविधिक धारको बाली विज्ञानको पढाइ हुँदै आएको थियो । ‘वैज्ञानिक र व्यवहारिक शिक्षा आजको आवश्यकता’ भन्ने मर्मलाई आत्मसात गर्दै यस वर्षदेखि जनता माध्यमिक विद्यालय कालाकाटेमा प्रि डिप्लोमा इन सिभिल इञ्जिनियरिङ (१८महिने) विषय पढाउने तयारी भइरहेको प्रअ मुक्तिप्रसाद शर्माले बताए। गाउँपालिकाबाट स्वीकृति लिई सिटिइभिटिबाट सम्बन्धन प्राप्त भइसकेको छ । सामुदायिक विद्यालयमध्ये देउखुरी क्षेत्रमै पहिलो पशु विज्ञान पढाइ शुरु हुन थालेको विद्यालयका प्रअ विष्णु कुमाल चौधरीले जानकारी दिए । यी सबै विद्यालयले प्राविधिक विषय पढ्न चाहने विद्यार्थीका लागि आवेदन खुला गरेको जानकारी गराएका छन् ।

गोकर्णेश्वर मन्दिरमा स्वर्णलेपन, हालसम्म ६ करोड १५ लाख खर्च

काठमाडौंः गोकर्णेश्वर महादेव मन्दिरको छाना ताम्रपत्रमा स्वर्णलेपनको काममा अहिलेसम्म ६ करोड १५ लाख २९ हजार ६ सय खर्च भएको छ। गोकर्णेश्वर महादेव मन्दिर छाना निर्माण तथा सर्वांगीण विकास समन्वय समितिले उक्त रकम खर्च भएको विवरण सार्वजनिक गरेको हो। समितिले प्राचीन गोकर्णेश्वर महादेव मन्दिर पशुपतिनाथ मन्दिरमा जस्तै पानी नचुहिने र लेपनबाट खिया नलाग्ने भएकाले छाना ताम्रपत्रमा स्वर्णलेपन पुनर्निर्माण औपचारिक रूपले २०७६ मंसिरबाट काम थालेको थियो। मन्दिरको छाना ताम्रपत्रमा स्वर्णलेपन र बाहिरी पूर्वाधारको काम गरी कुल १५ करोड खर्च लाग्ने समितिका महासचिव दीपक रिसालले जानकारी दिए। ‘यो नेपालकै एक प्राचीन र महत्वपूर्ण मन्दिर हो,’उनले भने,‘मन्दिरलाई आकर्षक बनाउन छाना ताम्रपत्रमा स्वर्णलेपन गरेका हौँ। अहिलेसम्म मन्दिरको छाना निर्माणमा ६ करोडभन्दा बढी खर्च भएको सर्वसाधारणलाई जानकारी गराएका छौँ।’ उनका अनुसार मन्दिरको दुई तलाको छानामा स्वर्णलेपन सकिएको छ। भने अर्को तलाको आधा काम सकिएको छ। मन्दिरबाहिर अत्याधुनिक पूर्वाधार बनाइने महासचिव रिसालका अनुसार मन्दर वरिपरिको २२ रोपनी जग्गामा अत्याधुनिक नृत्य पूजास्थल, पार्किङस्थल, पार्कलगायत पूर्वाधारको काम अहिले निर्माण भइरहेको छ। उनले भने, ‘कुशे औँशीमा यहाँ धेरै भिडभाड हुन्छ। त्यसैले मन्दिर व्यवस्थित ढंगले बनाउन लागि परेका छौँ।’ कोरोना महामारीका कारण समयमा काम सम्पन्न गर्न नसकेको बताउँदै उनले अबको सबै बाँकी काम ढिलोमा एक वर्षभित्र सम्ममा सम्पन्न गर्ने उनले बताए। गोकर्णेश्वर नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा तीन करोड बजेट दिएको थियो। चालु आर्थिक वर्ष ०७७/०७८ मा पनि नगरपालिकाले ३ करोड बजेट विनियोजन गरेको छ। स्थानीय भक्तजनबाट ३ करोड उठेको छ भने बाँकी रकम जुटाउन आवश्यक रहेको उनले सुनाए। प्रत्येक वर्षको कुशे औँशीका दिन मन्दिर र गोकर्ण जङ्गलमा ठूलो मेला लाग्ने गर्दछ। त्यसदिन मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको भीड लाग्ने गर्छ। सत्ययुगमा ब्रह्माले नै गोकर्णेश्वरको स्थापना गरेकाले यस ठाउँमा आई पितृलाई तर्पण, सिदा दान र पीण्ड दान गर्नाले अगति परेका पितृ पनि तर्छन् भन्ने धार्मिक विश्वास छ। धार्मिक विश्वास छ।