कोरोनाका कारण मलेसियामा ७ सय नेपाली कामबाट निकालिए

काठमाण्डौंः विश्वव्यापी फैलिएको कोरोनाको असरका कारण मलेसियामा रहेका ७ सय नेपाली श्रमिकहरु कामबाट निकालिएका छन् ।

प्रवासी नेपाली समन्वय समिति पीएनसीसीका अनुसार यो ५ महिनाको अवधिमा मलेसियामा ७ सय नेपाली कामबाट निकालिएका छन् भने झण्डै ५ हजार जनाले न्युनतम तलब पनि पाएका छैनन् । २ हजार नेपाली श्रमिकले भने न्यून तलब पाएका छन् ।

यस्तै मलेसियामा १० हजार नेपाली श्रमिकको भिसाको म्याद सकिएको छ । विभिन्न कारण त्यहाँ समस्यामा परेका १९ हजार नेपाली स्वदेश फर्किने पर्खाइमा भए पनि अहिलेसम्म ३ हजार ५ सय जना मात्र फर्किएको पीएनसीसीले जनाएको छ ।

मलेसियामा रहेको नेपली दूतावासको तथ्याँंक अनुसार मलेसियामा तीन लाख २५ हजार नेपाली श्रमिक कार्यरत छन् । तीमध्ये २५ हजार नेपाली विभिन्न कारणले अवैधानिक भएको पीएनसीसीले जनाएको छ । मलेसियामा धेरै नेपाली म्यानुफ्याक्चरिङमा क्षेत्रमा कार्यरत छन् ।

 

लाखौं ज्यालादारी गरिब मजदूरलाई प्रत्यक्ष राहत वितरण गर्न प्रचण्डको अपील

काठमाडौंः नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले लाखौं ज्यालादारी गरिब मजदूरलाई प्रत्यक्ष राहत वितरण गर्न सरकारसँग अपील गरेका छन् । एक अनलाइनलाई अन्तर्वार्ता दिँदै पूर्व प्रधानमन्त्री समेत रहेको अध्यक्ष प्रचण्डले शहर वजारमा मजदुरी गरेर, दैनिक ज्यालादारी गरेर गुजारा गर्ने मजदुरहरुलाई प्याकेजमा राहत दिनैपर्ने बताए । उनले खुलामञ्चमा केही दाताले भात खुवाएजस्तो गरेर मात्रै राज्यको दायित्व पूरा नहुने स्पष्ट पारे । ‘खुलामञ्चमा केहीकोही दाताले यसो भात खुवाएजस्तो गरेर मात्रै राज्यको दायित्व पूरा हुँदैन ।’ ‘कोरोनाका सन्दर्भमा मैले सरकारसँग कुरा गर्न गरिराखेको छु, गर्छु पनि । स्थायी नोकरी भएकाहरुलाई उनीहरुलाई ५० प्रतिशत के दिने भन्ने प्रावधान छ । तर शहर वजारमा मजदुरी गरेर, दैनिक ज्यालादारी गरेर गुजारा गर्ने मजदुरहरुलाई प्याकेजमा राहत त दिनैपर्छ’, प्रचण्डले भने, ‘अव झन दशैं तिहार पनि आउँदैछ यस्तो वेलामा गरिव, सवभन्दा तल बसेका केही लाखको संख्यामा रहेका जनतालाई यो बेला राज्यले प्रत्यक्ष नै राहतको व्यवस्था गर्नैपर्छ भन्ने लाग्छ । खुलामञ्चमा केहीकोही दाताले यसो भात खुवाएजस्तो गरेर मात्रै राज्यको दायित्व पूरा हुँदैन ।’ उनले मुख्यत शहरबजारमा निक्कै ठूलो क्राइसिस भएको आफूले पाएको भन्दै देशभरिका सबै साना ठुला शहरहरुमा मजदुरी गरेर वाँच्नेहरुलाई जताबाट व्यवस्था गरेर भए पनि राहत दिइनुपर्नेमा जोड दिएका छन् । अध्यष प्रचण्डले अहिले कोरोन रोकथाम, नियन्त्रण र उपचारलाई अझ प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने कुरामा सरकार र पार्टीहरुले अझ बढि ध्यान केन्द्रीत गर्नुपर्ने तथा मातहतको फोर्सलाई परिचालन गर्नुपर्ने बताए । कोरोनाबारे थप स्पष्ट पार्दे प्रचण्डले भनेका छन्, ‘यसको खोप निकालिँदैछ भनिएको छ । चीन, रुस र अन्त पनि पनि प्रयोग हुँदैछ भनेपछि त्यस्तोमा सरकारले, राज्यले छिटोभन्दा छिटो खोप ल्याउने र उपचारमा अर्को उचाईतिर लानेमा पनि ध्यान दिनुपर्यो । त्यतातिर हामीले छलफल पनि गरिरहेका छौं र दुईवटा अध्यक्ष बस्दा पनि त्यतापट्टि नै बढी कुराकानी भएका छन् ।’ बाढीपहिरो पीडितलाई तत्काल पुनस्थापना र राहतमा सरकारले ध्यान दिनुपर्ने प्रचण्डको भनाई थियो । प्रचण्डले अगाडि थपे, ‘इमान्दारिताका साथ सरकार र पार्टी आयो है भन्ने सन्देश गम्भीर रुपमा हामीले दुईचार महिनाभित्रै दिन सकिन्छ । त्यसका लागि दुई वर्ष पर्खनै पर्दैन ।’

औचित्यका आधारमा संविधान संशोधन: प्रधानमन्त्री ओली

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधान कार्यान्वयनका क्रममा आवश्यक देखिएका विषयमा खुल्ला दिमागले विना बहकाउ संशोधनका लागि सरकार तयार रहेको बताएका छन् । संविधान दिवसको पूर्वसन्ध्यामा काठमाडू स्कुल अफ ल र साउथ एसिया ट्रष्टद्वारा प्रकाशित ‘अ ट्रिटिज अन दि कन्स्टिच्युसन अफ नेपाल’ पुस्तकको आज प्रधानमन्त्री निवास बालुवाटारमा लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले विश्वकै तुलनामा सम्भवतः बढी मौलिक हकहरुको प्रबन्ध गरिएको नेपालको संविधान एक गतिशील दस्तावेज भएको उल्लेख गरे । उनले भने, ‘नयाँ संविधानलाई नेपाली जनताको चाहनाबमोजिम पारित हुन नदिने चलखेल पनि शुरुमा नभएका होइनन् तर जनताले त्यसलाई पराजित गरिदिए । अब यसको सही कार्यान्वयन गर्दै जाँदा व्यवहारका क्रममा देखिएका विषयमा औचित्यका आधारमा संशोधन गर्न सकिन्छ । यसका लागि सरकार तयार छ ।’ उनँले कसैको बहकाउमा लागेर संविधान संशोधनको कार्यसूची ल्याउन नहुनेमा जोड दिँदै राष्ट्रियताका सवालमा सबै एक भएर नेपालको नयाँ राजनीतिक नक्सालाई दोस्रो संशोधनमार्फत सर्वसम्मतरुपमा समेटिएको घटनाले राष्ट्रिय एकता गराउने देन र तागत संविधानमा रहेको पुष्टि भएको उल्लेख गरे । प्रधानमन्त्री ओलीले जनताको लामो समयको बदिलदानपूर्ण सङ्घर्षपछि जननिर्वाचित संविधानसभाले जनताको स्वामित्व निर्माण गरी संविधान जारी गरेकाले यसले अवसरको समान उपलब्धता सिर्जना गरी जन्मसिद्ध श्रेष्ठता (कोही शासक, केही शासित) को अवैज्ञानिक मान्यतालाई तोडिदिएको उल्लेख गरे । मानवीय सुरक्षा, सभ्यता र विकालाई प्राथमिकतामा राखेको संविधानले समृद्धिका साथै मानवोचित र विकसित वैज्ञानिक समाजवादको लक्ष्य प्रतिविम्बित समेत स्पष्ट गरेको उनले बताए । प्रधानमन्त्री ओलीले समाजवादलाई सामाजिक न्याय, समानता र उपलब्धिमा सबैको हिस्सेदारीसहितको प्रणालीका रुपमा बुझ्न आग्रह गर्दै त्यस्तो समाजमा खुल्लापन, शान्तिसुरक्षा, विधिको शासन र न्यायका सुप्रबन्धहरु हुने स्पष्ट गरे ।

पूर्वी नवलपरासीका संक्रमितको मृत्यु

कावासोतीः पूर्वी नवलपरासीका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। । देवचुली नगरपालिका–११ का ३१ बर्षीय पुरुषको उपचारका क्रममा उनको चितवन मेडिकल कलेज भरतपुरमा गएराति मृत्यु भएको हो । अस्पतालका निर्देशक डा.दयाराम लम्सालका अनुसार श्वासप्रश्वास र निमोनियााको समस्या भए पछि भदौ २५ गते अस्पताल भर्ना भएका उनमा २६ गते कोरोना पुष्टि भएको थियो । उनको सघन उपचार कक्षमा उपचार भइरहेको थियो । पूर्वी नवलपरासीमा कोरोनाका कारण हालसम्म ६ जनाको मृत्यु भइसकेको छ ।

नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवनः नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको छ । इच्छाकामना गाउँपालिका–६ मा पर्ने सो स्थानमा आज बिहान ४ः३० बजे पहिरो खसेको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाइएसँगै सडक दुईतर्फी सञ्चालमा ल्याइएको हो । सडक सञ्चालनमा आएसँगै रोकिएका सवारी साधनह गन्तव्यतर्फ लागेका छन् । सो सडकमा सोमबार रातिदेखि पटकपटक पहिरो खस्दै आएको छ ।

आजबाट लामो दूरीका गाडी सञ्चालन, कस्ता छन् नियम?

काठमाडौं : झण्डै ६ महिनादेखि बन्द लामो दूरीका सवारीसाधन आजबाट खुला भएका छन् । यातायात व्यवसायी र चालक महासंघको संयुक्त कार्यदलले बुधबार विज्ञप्ति जारी सबैलाई आजदेखि लामो दूरीका गाडी चलाउन अनुरोध गरिसकेको छ । साथै सबै चालक, सहचालक र यात्रुलाई सवारीसाधनमा आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन पनि आग्रह गरेको छ। चालक, सहचालकले मास्क, पञ्जा, सेनिटाइजर र सहचालकले फेस भाइजर अनिवार्य रूपमा प्रयोग गर्न भनिएको छ। यस्तै यात्रुलाई यात्रा अवधिभर मास्क लगाउनुपर्ने र सवारीसाधनमा चढ्दा, ओर्लिंदा तथा खाजा खाँदा भीड नगर्न अनुरोध गरिएको छ।  

प्रधानमन्त्री ओलीले दिए मोदीलाई जन्मदिनको शुभकामना

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन् । जन्मदिनको शुभकामनाका साथै ओलीले दुई देशबीचको सम्बन्ध थप बलियो बनाउनका लागि निरन्तर काम गर्ने उल्लेख गरेका छन् । प्रधानमन्त्रीले शुभकामना सन्देशमा सुस्वास्थ्य र खुसीको कामना गरेका छन् । सन् १९५० को सेप्टेम्बर १७ मा जन्मिएका मोदी ७० वर्ष पुगेका छन् । १३ वर्ष गुजरातको मुख्यमन्त्री भएका उनी हाल भारतको प्रधानमन्त्रीको रूपमा दोस्रो कार्यकालमा रहेका छन् ।

उपत्यकामा निषेधाज्ञा यथावत

काठमाडौं :  कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी साबिकको निषेधाज्ञा असोज १ गतेबाट अर्को आदेश नभएसम्म निरन्तरता दिने निर्णय गरिएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरू तथा सम्बद्ध जनस्वास्थ्य एवं सुरक्षा अधिकारीहरूको बुधबार साँझ बसेको संयुक्त बैठकले निषेधाज्ञालाई अहिलेकै अवस्थामा निरन्तरता दिने निर्णय गरेको हो । भदौ ३ गते बुधबार रातिबाट हप्ता दिनका लागि जारी निषेधाज्ञा भदौ २९ दिनको अवधिमा क्रमशः भदौ १०, १७, २४ र ३१ गते गरी चारपटक थप गरिएको हो । सो अवधिमा निषेधाज्ञा थप खुकुलो बन्दै गएको छ । काठमाडौँका प्रजिअ जनकराज दाहालले कोरोना सङ्क्रमण बढ्दै गइरहेको सन्दर्भमा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकाले असोज १ गतेबाट लागू हुने गरी अर्को आदेश नभएसम्म साबिकको निषेधाज्ञा जारी रहेको स्पष्ट पारे । यो समाचार आजको गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले लेखेका छन् ।

आजदेखि लाइसेन्स वितरण हुने

काठमाडौं : सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण आजबाट वितरण हुने भएको छ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र ठूलो भर्याङले सूचना निकालेर लाइसेन्स वितरण थाल्ने जानकारी गराएको छ । लाइसेन्स प्रिन्ट भए नभएको एकिन गरेर लिन आउन भनेको छ । लाइसेन्स वितरण बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मात्रै हुनेछ। यातायात व्यवस्था विभागले माग भएर आएका सबै लाइसेन्स प्रिन्ट गरेर सम्बन्धित कार्यालयहरुमा पठाइसकेको छ। निषेधाज्ञा खुकुलो भएसँगै असोज १ गतेबाट धेरैजसो कामकारबाहीहरु सुचारु हुने भएका छन् ।

भाेलिबाट लामो दूरीका गाडी सञ्चालन, कस्ता छन् नियम?

काठमाडौं : झण्डै ६ महिनादेखि थन्किएका मध्यम र लामो रूटका बस सञ्चालनका लागि तयारी भइसकेको यातायात व्यवसायीले बताएका छन् । यातायात व्यवसायी र चालक महासङ्घ सम्मिलित संयुक्त कार्यदलले भोलिबाट बस सञ्चालनका लागि सबैलाई अनुरोध गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै कार्यदलले सबै चालक, सहचालक र यात्रुलाई सवारीसाधनमा आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन अनुरोध गरेको छ । चालक, सहचालकले मास्क, पञ्जा, सेनेटाइजर र सहचालकले फेस भाइजरको प्रयोग अनिवार्य रुपमा गर्न भनिएको छ । यात्रुले यात्रा अवधिभर मास्क लगाउन र सवारीसाधनमा चढ्दा, ओर्लदा र खाजा खाँदा भीड नगर्न भनिएको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले असोज १ देखि लामो रुटको बस सञ्चालनको निर्णय गरेको थियो । यी सवारीसाधनले सिट क्षमताको आधा यात्रु राखेर साविक भाडादरमा ५० प्रतिशत बढी भाडा लिएर यात्रा गराउनु पर्नेछ ।

डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडाैं : डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक/एक रुपैयाँ घटेको छ । बुधबार राति १२ बजेबाट लागू हुने गरी मूल्य घटाइएको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । उनका अनुसार पेट्रोलको मूल्य भने यथावत राखिएको छ । इण्डियन आयल कर्पोरेशनबाट आएको नयाँ मूल्य सूचीअनुसार समायोजन गरिएको निगमले जनाएको छ । नयाँ मूल्य सूचीअनुसार डिजेल र मट्टितेलको बिक्री मूल्य निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरभित्र प्रतिलिटर ९० रुपैयाँ तोकिएको छ । हवाई ईन्धन तथा एलपी ग्यासको मूल्य भने यथावत राखेको छ । यसअघि भदौ १६ मा निगमले पेट्रोल दुई रुपैयाँ मूल्यवृद्धि गरिएको थियो ।

कांग्रेस महामन्त्री कोइरालाको आइसीयूमा उपचार हुँदै

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाको चावहिलस्थित ओम अस्पतालमा उपचार भइरहेको छ । कोेभिड­-१९ को सङ्क्रमण देखिएपछि घरमै होमआइसोलेसनमा रहेका उनलाई मङ्गलबार साँझ ज्वरो आएपछि अस्पतालमा भर्ना गरेर उपचार भइरहेको अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले जानकारी दिए । उनका अनुसार महामन्त्री डा. कोइरालाको अहिले सघन उपचार कक्ष (आइसीयू)मा राखेर उपचार भइरहेको छ । ‘अस्पताल आएदेखि नै हामीले आइसियुमा राखेर उपचार गरिरहेका छौँ”, उनले भने, ‘अहिले उहाँको ज्वरो घटेर स्वास्थ्यमा सुधार भइरहेको छ ।’ उनका अनुसार महामन्त्री डा. कोइरालालाई निमोनिया भएको छ । महामन्त्री कोइरालाको उपचारमा अस्पतालमा निर्देशक डा. विश्वनाथ कोइरालाको नेतृत्वमा डा सुवोधसागर ढकाल र डा. प्रमेशसुन्दर श्रेष्ठलगायतको टिम रहेको छ । उनको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालका प्रबन्ध निर्देशक कार्कीले जानकारी दिए । केही दिनअघि महामन्त्री डा. कोइरालालाई कोरोना सङ्क्रमण देखिएको थियो ।

राष्ट्र बैंकले भन्यो : व्यक्तिगत आवधिक कर्जामा स्थिर ब्याजदर राख

काठमाडौं : नेपाल राष्ट्र बैंकले व्यक्तिगत आवधिक कर्जामा स्थिर ब्याजदर कायम गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । केन्द्रीय बैंकले आज एक परिपत्र जारी गर्दै आगामी असोज मसान्तभित्रै स्थिर ब्याजदर कायम गर्न निर्देशन दिएको हो । राष्ट्र बैंकले केही समय पहिले जारी गरेको ‘एकीकृत निर्देशिका २०७७’ मा उल्लेख भएको स्थिर ब्याजदरसम्बन्धी व्यवस्थाबमोजिम सोही समयभित्र कार्यान्वयन गर्न भनेको हो । आज जारी गरिएको परिपत्रमा भनिएको छ, ‘असोज मसान्तभित्रै एकीकृत निर्देशिका २०७७ मा गरिएको व्यवस्थाअनुसार कर्जा अवधिभर परिवर्तन नहुने गरी तोकिने स्थिर ब्याजदर निर्धारण तथा प्रकाशन गर्नु पर्नेछ ।’ राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयन गर्न जारी गरेको एकीकृत निर्देशिकामा समेत सो कुरा उल्लेख छ । सोही अनुसार असोज मसान्तभित्रै पुराना ऋणीको समेत ब्याजदर स्थिर हुनुका साथै व्यक्तिगत कर्जा लिनेले पनि सोही सुविधा पाउने व्यवस्था छ ।

सिरहा कारागारमा एकैदिन २५९ जनामा कोरोना संक्रमण

सिरहा : कोरोनाको हटस्पट बनेको सिरहा कारागारमा बुधबार २ सय ५९ जना कोरोना सङ्क्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय सिरहाका कोभिड स्रोत व्यक्ति अम्देश्वर चौधरीका अनुसार प्रादेशिक प्रयोगशाला जनकपुरमा भएको स्वाब परीक्षणको नतिजामा सिरहा कारागारका २ सय ५९ जना कोरोना सङ्क्रमित भएको हो । कारागारमा रहेका २ सय ६९ कैदीबन्दीको स्वाब परीक्षण गर्दा बुधबार २५९ जनामा सङ्क्रमण पुष्टि भएको बताइएको छ । दुई आश्रितसहित ५ सय ९७ कैदीबन्दी रहेको सिरहा कारागारमा यो सङ्ख्यासहित ५०७ जनामा कोरोना सङ्क्रमण भइसकेको छ । सङ्क्रमितमध्ये सात जना कैदीबन्दी निको भएको कारागार प्रमुख बबिता महतोले जानकारी दिए । सुरक्षाका सम्पूर्ण उपाय अपनाउँदा समेत कारागारमा अधिकांश कैदीबन्दी सङ्क्रमित भएको उनको भनाइ छ । ‘

आज नेप्से ५.३६ अङ्कले बढ्यो

काठमाण्डौंः शेयर बजार परिसूचक नेप्से बुधबार बढेको छ । नेप्से ५.३६ अङ्कले बढेर १५ सय ४१ दशमलव ४० अङ्कमा पुगेको छ । बुधबार बैंक बाहेक अरु सबैजसो समूहको शेयर बढेको छ । होटल समूहको शेयर एक सय ४२ अङ्कले, जीवन बीमाको ७२ अङ्कले, जलविद्युतको ५४ अङ्कले र निर्जीवन बीमा कम्पनीको शेयर ४२ अङ्कले बढेको छ । बुधबार एक सय ९४ कम्पनीका ६३ लाख ९० हजार कित्ता शेयर एक अर्ब ८४ करोड ५६ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको नौ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बुधबार सबैभन्दा धेरै तीन वटा कम्पनीका शेयरधनीले १० प्रतिशत कमाएका छन् । तर समग्र शेयर बजार बढे पनि एनआईसी ब्यालेन्स फन्ड र लक्ष्मी इक्युटी फन्डका लगानीकर्ताले झण्डै ४ प्रतिशतका दरले गुमाएका छन् ।

बिहीबार सबै अदालत बन्द

काठमाडौंः सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनमा बिहीबार एक दिन देशभरका अदालतमा बिदा दिने निर्णय गरेको छ । सर्वोच्च अदालतको आज बसेको आकस्मिक पूर्ण बैठकले सिंहको निधनप्रति दुःख व्यक्त गर्दै सर्वोच्च अदालतसहित देशभरका अदालतमा बिहीबार शोक बिदा दिने निर्णय गरेको हो । सिंहको निधनबाट राष्ट्रले एउटा सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्व गुमाएको उल्लेख गर्दै उनको आत्माको चीर शान्तिको कामनासहित शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले आज जारी दिए । सप्तरी जिल्लामा १९७६ सालमा जन्मनुभएका सिंहले २०१३ साल जेठ ८ गते प्रधानन्यायाधीश नियुक्त भई २०१६ असार १५ गतेसम्म काम गर्नुभएको थियो । विसं २००३ देखि सरकारी सेवामा बडाहाकिम पदबाट सिंहले सेवा प्रारम्भ गरेका थिए ।