मेलम्चीको ‘हेडबक्स’ निर्माण झण्डै ७० प्रतिशत सकियो
काठमाडौंः मेलम्ची खानेपानी आयोजनाको ‘हेडबक्स’ निर्माण झण्डै ७० प्रतिशत सकिएको छ । हेडबक्स निर्माण सम्पन्न गर्ने अवधि झण्डै आठ महिना बाँकी हुँदा निर्माण अघि बढीरहेको हो ।
आयोजनाको बाँकी काम सम्पन्न गर्ने गरी गत वर्ष सरकारले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग ठेक्का सम्झौता गरेको थियो । सोही सम्झौताका आधारमा कम्पनीले ‘हेडबक्स’ निर्माणसमेत अघि बढिरहेको छ ।
निर्धारित अवधि आगामी वैशाखसम्ममा निर्माण सम्पन्न भइसक्ने खानेपानी मन्त्रालयका प्रवक्ता रितेश शाक्यले बताए । उनले भने, ‘यही गतिमा काम भइरहँदा समयमै सकिने देखिन्छ ।’ सुरुङ निर्माण सकिएर परीक्षणका क्रममा दुर्घटना भएपछि अहिले यसको गेटमा रहेको त्रुटि सच्याउने काम भइरहेको छ । आगामी मङ्सिर, पुससम्ममा त्रुटि सच्याउने काम सकिएर पुनः सुरुङको परीक्षण हुने उनले बताए ।
सो समयमा पनि ‘हेडबक्स’ निर्माण नसकिने हुँदा अस्थायी बाँधबाट नै पानी पठाइनेछ । परीक्षणका लागि र नियमित पानी पठाउन केही समयसम्म अस्थायी बाँधबाटै पथान्तरण हुने बताइएको छ । उनले भने, ‘हेडबक्स सकिएपछि मात्रै त्यसबाट पठाइनेछ ।’
दुई दशक पहिले निर्माण शुरु भएको सो आयोजनाका अन्तिम काम भइरहेको छ । आयोजनामा यसअघि काम गरेको इटालियन निर्माण कम्पनी सिएमसिले आयोजना अलपत्र छाडेर गएपछि सरकारले गत वर्ष असोजमा बाँकी काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । आयोजनामा यसअघि नै सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न भइसकेको छ ।
गण्डकीमा थपिए ४७ सङ्क्रमित
पोखराः गण्डकी प्रदेशमा ४७ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ११२ जना पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए । थपिनेमा नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) का २०, स्याङ्जा १२, तनहुँ नौ, कास्की तीन, गोरखा, लम्जुङ र मनाङका एक÷एकजना रहेको निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा ७१८ जनाको पिसिआर परीक्षण गरिएकामा ४७ जनामा कोरोना पुष्टि भएको छ । परीक्षण गरिएकामध्ये ६२६ जनाको नेगेटिभ रिपोर्ट आएको छ भने एकको मृत्यु एवम् ४४ जनाको पुनः पोजेटिभ देखिएको छ ।
सिन्धुपाल्चोकमा मात्रै पहिरोबाट ७४ को मृत्यु, ४१ अझै बेपत्ता
सिन्धुपाल्चोकः निरन्तर प्राकृतिक विपत्ति खेप्दै आएको सिन्धुपाल्चोकमा बाढीपहिरोले मात्र ठूलो धनजनको क्षति पुर्याएको छ । यो वर्षको दुई महिनायता मात्रै सिन्धुपाल्चोकमा बाढीपहिरोबाट ७४ जनाले ज्यान गुमाएका छन् भने हालसम्म ४१ बेपत्ता छन् । आइतबार बाह्रबिसे नगरपालिका–७ मा गएको पहिरोमा मात्रै १४ जनाको मृत्यु भएको छ भने १७ हालसम्म पनि बेपत्ता नै छन् । असार २२ गते चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १२ र ९ मा गएको बाढीपहिरोले दुई जनालाई बगाएको थियो भने एक जना अहिलेसम्म बेपत्ता छन् । यस्तै असार २४ गतेको पहिरोले बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकामा ठूलो क्षति पुर्यायो । बाह्रबिसे नगरपालिका–५ जम्बुमा बजार नै बगाउने गरी गएको पहिरोले दुई जनाको मृत्यु भयो भने १७ हालसम्म पनि हराइरहेका छन् । त्यस्तै सोही दिन भोटेकोशी गाउँपालिका–४ बुलकुटेमा एक जनाको बाढीले बगाएर ज्यान गयो । यसैगरी साउन १ गते भोटेकोशी गाउँपालिका–४ फूल्पिङमा पहिरोले पाँच जनालाई पुर्यो । लामो प्रयासपछि मात्र शव फेला परेको थियो । गत साउन १९ गते राति परेको अविरल वर्षाका कारण मेलम्ची नगरपालिका–११ को कभर्डहल निर्माण गर्ने कामदार सुतेको टहरो नै पुर्दा नौ कामदारले ज्यान गुमाउनपर्यो । यस्तै मेलम्ची खानेपानीको गेट फुटलाखोलाको बेगले दुई जनालाई बगाएको थियो । तीमध्ये एक जना हालसम्म पनि हराइरेहका छन् । एक जनाको तत्काल उद्धार गरिएको थियो । यस्तै सोही दिन पाँचपोखरी थाङ्पाल गाउँपालिका–२ बरुवामा एक दम्पतीले पहिरोमा परी ज्यान गुमाए । साउन ३० गते सिङ्गो गाउँ नै पुरिने गरी गएको लिदी पहिरोमा परी ३६ जनाले ज्यान गुमाएका छन् । सो पहिरोमा हालसम्म पनि दुई जना हराइरहेका छन् । सिन्धुपाल्चोकमा यो वर्षको वर्षायाम शुरु भएयता ७४ जनाले ज्यान गुमाएका छन् । पहिरोमा हालसम्म ४१ जना हराइरहेको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क छ । पहिरोमा परी जिल्लाभर १३० घर पूर्णरूपमा क्षति भएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । बाह्रबिसे नगरपालिकामा ७७, भोटेकोशी गाउँपालिकामा २०, जुगल गाउँपालिकामा २९ र सुनकोशी गाउँपालिकामा चार घर पहिरोले पूर्णरूपमा क्षति भएका हुन् । यस्तै बाढीपहिरोले सयौँ परिवार विस्थापित भएका छन् । पहिरोका कारण सबैभन्दा बढी बाह्रबिसे नगरपालिकाको एक हजार ४४१ घरधुरीलाई स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको प्रमुख ढकालले बताए । यस्तै भोटेकोशीमा ८७५, जुगल गाउँपालिकामा ४०८, मेलम्ची नगरपालिकामा १४३, पाँचपोखरी थाङ्पाल गाउँपालिकामा ६६, हेलम्बुमा ६७, चौतारा साँगाचोकगढी नगरपालिकामा २८, सुनकोशी गाउँपालिकामा ८४, लिसङ्खुपाखर गाउँपालिकामा ४८, बलेफी गाउँपालिकामा ७४ र त्रिपुरासुन्दरी गाउँपालिकामा १७ घर स्थानान्तरण गर्नुपर्ने प्रमुख ढकालले बताए । जिल्लामा हालसम्म पहिरोका कारण मृतक परिवारलाई एकमुष्ट रु १० लाख, पहिरोले आवासविहीन बनाएका परिवारलाई रु ११ लाख ८५ हजार र पहिरोपीडितलाई रु १० लाख नौ हजार राहत वितरणसमेत गरिसकिएको प्रमुख ढकालले जानकारी दिए । रासस
अजयमेरुले ५ शय्याको अस्पताल सञ्चालन गर्दै, खोल्यो डाक्टर र नर्सको विज्ञापन
डडेल्धुराः अजयमेरु गाउँपालिकाले अस्थायी रुपमा ५ शय्याको अस्पताल सञ्चालन गर्ने भएको छ । स्वास्थ्य मन्त्रालयको निर्देशनबमोजिम गाउँपालिकाले ५ शय्याको अस्थायी अस्पताल सञ्चालन गर्न लागेको हो । अस्पताल सञ्चालनका लागि गाउँपालिकाले मेडिकल अधिकृत र स्टाफ नर्सको विज्ञापन खोलेको छ । गाउँपालिकाले सूचना जारी गर्दै एकजना मेडिकल अधिकृत र २ जना स्टाफ नर्सका लागि विज्ञापन खोलेको हो । हेर्नुहोस् विज्ञापन:
कुलमान भाेलि पुनः प्राधिकरण प्रमुखमा नियुक्त हुने सम्भावना
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङलाई सरकारले पुनः नियुक्ति गर्ने सम्भावना बढेको छ । सिइओ नियुक्तिका लागि उर्जा मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लैजानु पर्ने कानुनी व्यवस्था छ । उक्त प्रावधानअनुसार बिहीबार बस्ने मन्त्रिपरिषदको बैठकमा पुनःनियुक्तिका लागि मन्त्रालयले प्रस्ताव लैजाने तयारी भएको मन्त्रालय स्रोतले जनाएको छ । घिसिङको चार वर्षे कार्यकाल यही भदौ २९ गते सकिँदै छ र उनलाई प्राधिकरणमा पुनः नियुक्ति गर्नुपर्ने चर्को दबाब सर्वसधारणबाट आइरहेको छ । चार वर्षअघि १८ घण्टासम्म हुँदै आएको लोडसेडिङ घिसिङ सिइओका रूपमा आएपछि अन्त्य भएको थियो ।
जोडियो छिनिएको हत्केला
काठमाडौं : राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकले छिनिएको हत्केला जोड्न सफल भएका छन् । सेन्टरका प्रा. डा. पियूष दाहालको नेतृत्वकाे १० चिकित्सककाे टाेलीले सर्लाही जिल्ला पर्सा गाउँपालिकाका- २ का १८ वर्षीय रवि सिंहको पूरै छिनिएको दाहिने हत्केलाको शल्यक्रिया गरी जोड्न सफल भएकाे हाे । सेन्टरका निमित्त प्रमुख मेडिकल सुपरिण्डेन्डेट डा. सन्तोष पौडेलले चिकित्सकले १० घण्टा लगाएर ती बिरामीको छिनिएको दाहिने हत्केला शल्यक्रियामार्फत जोड्न सफल भएको बताए । सेन्टरले बिरामीका औँलाले पूर्ण रुपमा काम गर्न थालेपछि मात्र शल्यक्रियाबारे जानकारी गराएको उनले जानकार दिए । दक्षिणकालीको एक कारखानामा काम गरिरहेका बेला सिंहको हत्केला छिनिएको थियो । ‘हात छिनिएको एक घण्टामा ती बिरामी हाम्रो अस्पतालमा आए,’ उनले भने, ‘त्यसपछि हाम्रो शल्यक्रिया गर्ने समूहले उक्त हात जोड्ने काम गरेको हो । १० घण्टाको अथक प्रयासपछि हात जोड्न सफल भयौँ ।’ ती व्यक्तिको दक्षिणकालीको कारखानामा काम गर्ने सिलसिलामा फ्लेक्स पाइप मेसिनबाट गत असार २९ गते साँझ ५ बजे दाहिने हत्केला पूरै छिनेर दुई टुक्रा भएको थियो । चिकित्सकको समूहले अस्पतालमा बिरामी आएपछि साँझ ७ बजेदेखि अर्को दिन बिहान ५ बजेसम्म शल्यक्रिया गरी हात जोड्न सफल भएको थियो । सेन्टरका निमित्त प्रमुख मेडिकल सुपरिण्डेन्डेट डा पौडेलका अनुसार यसअघि औँला जोड्ने गरिएकामा हत्केला भने पहिलो पटक जोडिएको हो । ती बिरामीको हत्केला जोड्नका लागि १८ चलाउने नशा, पाँच नशा, तीन आर्टरी र चार हड्डी जोड्नु परेको थियो । शल्यक्रियामा प्रा. डा. दाहालसहित डा. कृष्ण मानन्धर (प्लाष्टिक सर्जन) डा. अपार लामिछाने (प्लाष्टिक सर्जन), डा. कमलराज पाठक (प्लाष्टिक सर्जन रेजिडेन्ट) तथा एनेस्थेसियाका डा. रुपेश यादव, डा. छिरिङ शेर्पा र नर्सिङ टिमका पिङ्की लागेजु र अनुपमा फुयाँल रहेका थिए । ती व्यक्तिले गत साउन २२ गते डिस्चार्ज भई स्वास्थ्यलाभ गर्दै अहिले फिजियोथेरापीमा फिजियो गराइरहेको जनाइएको छ ।
उपत्यकामा कुन बार कुन पसल खोल्न पाइने?
काठमाडौं : उपत्यकाभित्र बारअनुसार व्यापार/व्यवसाय सञ्चालन गर्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाउँदै सपिङमल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक लगायतका पसलहरू साताको सोमबार, बुधबार र शनिबार मात्र खोल्न पाइने भएको हो । यसैगरी भाँडा र भान्साजन्य साथै सोही प्रकृतिका अन्य पसलहरू साताको आइतबार, मंगलबार र शुक्रबार मात्र खोल्न पाइने छ । यसैगरी फर्निचर र अटो मोबाइल सम्बन्धी पसल साताको सोमबार र बुधबार मात्र खोल्न पाइने छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको सूचना अनुसार बिहीबारदेखि भदौ ३१ गतेसम्म लागू हुने गरी स्वास्थय तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्ड अपनाइ यसअघि निषेधित अधिकांश विषयहरुलाई सहजीकरण गर्दै व्यापार तथा व्यवसाय सञ्चालन गर्न पाइने छ ।
प्रदेश-२ मा एकैदिन थपिए १६९ कोरोना संक्रमित
जनकपुरधाम : प्रदेश-२ मा बुधबार मात्रै १ सय २१ जना नयाँ कोरोनाका संक्रमित थपिएका छन । योसँगै प्रदेश २ मा सक्रिय कोरोना संक्रमित पाँच हजार ४९२ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर र नारायणी उपक्षेत्रिय अस्पताल र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा ३१ महिला र १ सय ३८ जना पुरुष गरी १ सय ६९ जनामा कोरोनाको संक्रमण भएको सामाजिक विकास मन्त्रालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिए । यो सँगै प्रदेश-२ मा कोरोना भाइरस वाट संक्रमित हुनेको संख्या एगारह हजार ५ सय ३९ पुगेको उनले बताए ।
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति छिट्टै हुन्छ : मन्त्री पुन
रोल्पा : ऊर्जा जलस्रोेत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशकको नियुक्ति छिट्टै हुने बताएका छन् । प्रेस सङ्गठन जिल्ला शाखाले आज लिवाङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले बहालवाला कार्यकारी निर्देशक कुलमान घिसिङको पदावधि यही भदौ २९ गतेसम्म रहेकाले त्यसअघि नै सरकारले नियुक्तिको प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने बताए । कुलमानको पुनःनियुक्तिका विषयमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री पुनले कसलाई नियुक्ति गर्ने भन्ने विषयको अझै टुङ्गो नलागेको स्पष्ट पारे । ‘कुलमान घिसिङको विषयमा कोही सकारात्मक र कोही नकारात्मक रहेको भन्दै चलाइएको हल्लामा सत्यता छैन,’ मन्त्री पुनले भने । यसअघि मन्त्री पुन जिल्लामा आयोजित विभिन्न कार्यक्रममा सहभागी भएका थिए । उनले सुरक्षित जनता आवास कार्यक्रमअन्तर्गत फुसको छाना विस्थापन कार्यक्रम, निर्वाचन क्षेत्र विकास कार्यक्रमलगायतका विषयमा सरोकारवालासँग परामर्श गरेका थिए ।
जहाज खरिद प्रक्रियाअघि बढाउन पर्यटनमन्त्रीको निर्देशन
काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हिमाली पहाडी तथा दुर्गम क्षेत्रका नागरिकहरुलाई सेवा उपलब्ध गराउन आन्तरिक उडानका लागि हवाई जहाज खरिद योजना तत्काल अघि बढाउन नेपाल बायु सेवा निगमलाई निर्देशन दिएका छन् । आज मन्त्रालमा नेपाल बायुसेवा निगमका कार्यकारी अध्यक्ष र विभागिय प्रमुखसँग संयुक्त बैठकमा मन्त्रालयमा बोलाई मन्त्री भट्टराईले सो निर्देशन दिएका हुन् । आन्तरिक तर्फ दुईबटा मात्र टुईनटर जहाज भएको र त्यसले माग धान्न नसेको साथै दुर्गम क्षेत्रमा सेवा प्रदान गर्न नसक्ने भएको बताउँदै उनले तत्काल खरिद योजना अघि बढाउन निर्देशन दिएका हुन् । मन्त्री भट्टराईले नेपाल एयरलाईन्सलाई पब्लिक मोडलमा लैजानको लागि कुन समय उपयुक्त हुन्छ त्यसको खाका लगानी कोष,संचय कोष,पर्यटन मन्त्रालय र अर्थ मन्त्रालयसँग छलफल गरी तयार गर्न निर्देशन दिए । उनले नेपाल एयरलाईन्स ऐतिहासिक नेपाली ध्वजाबाहक एयरलाईन्स भएकोले यसको साख जोगाउने गरी काम गर्न निर्देशन दिए । उनले एयरलाईन्सको स्थिति सुधारको लागि आ–आफनो विभागबाट तत्कालिन र दिर्घकालिन योजना बनाएर अघि बढन आग्रह गरेका हुन् । नेपाल एयरलाईन्स ठूलो आर्थिक ऋणमा रहेकोले देशका विभिन्न २३ ठाँउमा रहेका अचल सम्पती (जग्गा) व्यवसायीक उपयोग गरी निगमको आर्थिक अवस्था सुधार गर्न समेत आग्रह गरिन् । मन्त्री भट्टराईले निगमलाई आर्थिक नोक्सान हुने कुनै पनि क्रियाकलापमा संलग्न कर्मचारीलाई कारवाही गर्न अध्यक्ष सुशिल घिमिरलेलाई निर्देशन दिए । खर्च कटौती तथा मित ब्ययीता अपनाउन विदेशमा रहेका कर्मचारी कटौती गर्न बैठक भत्ता घटाउन साथै कर्मचारी,बोर्डका पदाधिकारी र अवकाश पाएका कर्मचारीले पाउने सुविधा बापतको टिकट ५० प्रतिशत कटौती गर्न समेत अनुरोध गरे । मन्त्री भट्टराईले जिएसए तोक्दा प्रतिस्पर्धी, क्षमतावान एजेन्सी छनौट गर्न तथा आवश्यक मापदण्ड बनाएर मात्र जिएसए तोक्नु पर्नेमा जोड दिए ।
काठमाडौंमा भूकम्पको धक्का महसुस
काठमाडौंः धादिङको नीलकण्ठ नगरपालिका केन्द्रविन्दु भएर बुधबार दिउँसो भूकम्प गएको छ । बुधबार दिउँसो ३ बजेर ४८ मिनेटमा ४ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकी प्रमुख मोनिका झाले जानकारी दिइन् । यो नयाँ भूकम्प नभएर २०७२ सालकै भूकम्पको पराकम्प भएको केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौं आसपासका जिल्लाहरुमा महसुस गरिएको थियो ।
आज कहाँ कति संक्रमित थपिए ? (सूचीसहित)
काठमाडौंः आज नेपालमा थप १०८१ जनामा कोरोना पुष्टि हुँदा ६ जनाको मृत्यु भएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा ९१८ जना निको भएका छन् । कहाँ कति थपिए ?
थप १०८१ जनामा कोरोना पुष्टि, ६ को मृत्यु
काठमाडौंः नेपालमा थप १०८१ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ । पछिल्लो २४ घण्टामा ९१८ जना निको भएका छन् । योसँगै निको हुनेको संख्या ३३ हजार ८८२ पुगेको छ । निको हुनेको दर ६८.१० प्रतिशत हो । अहिले नेपालमा १५,०२५ जना सक्रिय सङ्क्रमित छन् जसमध्ये ७,०३७ घरमै छन् भने बाँकी संस्थागत आइसोलेशनमा छन् । सङ्क्रमितहरूमध्ये १६२ जना सघन उपचार कक्षमा र २२ जना भेन्टिलेटरमा उपचाररत छन् । क्वारन्टीनमा ५,४८० जना रहेका छन् । आज ६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट ३१२ जनाको मृत्यु भएको छ । बुधवार मृत्यु पुष्टि भएका मध्ये काठमाण्डूमा ८३ वर्षीया महिला र ६७ वर्षीय पुरुष रहेका छन् । त्यस्तै कास्कीकी ७३ वर्षीया र बाँकेको ८० वर्षीया महिलाको मृत्यु भएको छ भने अर्घाखाँचीका ४२ वर्षीय र नवलपरासीमा ६४ वर्षीय पुरुष रहेका छन् । आज ११ हजार १६७ जनाको परीक्षण गरिएको छ ।
सहकारीबाट ५ करोड ६७ लाख ठगी गर्ने पक्राउ
काठमाडौंः प्रहरीले सहकारीबाट रु पाँच करोड ६७ लाख ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौं महानगरपालिका–२१ न्यूरोडस्थित नौलो परिवेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रु पाँच करोड ६७ लाख ठगी गर्ने काठमाडौंका ४४ वर्षीय रामकाजी खड्गीलाई मङ्गलबार ललितपुर महानगरपालिका–२३ धापाखेलबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । उक्त सहकारीको सात वर्षसम्म प्रबन्धक पदमा कार्यरत रहँदा हिसाब तथा सहकारीको बैंक खाता सञ्चालनसमेतको सम्पूर्ण जिम्मा लिई हिसाब विवरण नदेखाइ पक्राउ परेका खड्गी ठगी गरेर फरार रहेका थिए । पक्राउ परेका उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ ।
६४९ स्थानीय तहलाई तत्काल अस्पताल बनाउन निर्देशन
काठमाडौंः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल नभएका ६४९ स्थानीय तहलाई पाँच श्ययाका अस्पताल बनाउन निर्देशन दिएको छ । सरकारले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार गर्नका लागि ती स्थानीय तहमा अस्पताल बनाउन निर्देशन दिइएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए । कोभिड–१९ सङ्क्रमणका बिरामी राख्न श्ययाको अभाव भएकाले अस्थायीरूपमा अस्पताल तत्काल बनाउन मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ती स्थानीय तहलाई निर्देशन दिएको हो । पाँच श्ययाका दरले ती स्थानीय तहमा तीन हजार २४५ श्ययाका अस्पताल बन्नेछन् । अहिले नेपालमा ४८ हजार १३८ जना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । यस्तै ३२ हजार ९६४ निको र ३०६ जनाको सङ्क्रमणबाट मृत्यु भएको छ । यही भदौ १३ गते मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले अस्पताल नभएका स्थानीय तहमा पाँच श्ययाको अस्पताल बनाउने निर्णय गरेका थिए । अस्पतालको व्यवस्थापन र कहाँ सञ्चालन गर्ने भन्ने निर्णय स्थानीय तहले गर्नेछन् । ती अस्पतालमा एक चिकित्सक, दुई नर्स र एक कार्यालय सहयोगी हुनेछन् । मन्त्रालयले ती अस्पतालको कार्यप्रगतिका आधारमा बजेट थप गर्ने मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले बताए । मन्त्रालयले प्रतिश्यया रु दुई लाखका दरले बजेटसमेत कोष तथा लेखा नियन्त्रण कार्यालयबाट निकासा गरिरहेको छ । अस्पतालका लागि तीन महिनाको श्ययाका लागि रु पाँच लाख, औषधि रु ५० हजार र चिकित्सक, स्वास्थ्यकर्मीका लागि रु चार लाख ५० हजार बजेट विनियोजन गरी पठाइसकेको छ । ती स्थानीय तहले आधारभूत स्वास्थ्य सेवा केन्द्र, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्रका भवन, सामुयायिक भवन वा अस्थायी टहरामा तत्काल कोभिड–१९ का बिरामीको उपचारको व्यवस्थापन गर्न अस्पताल निर्माण गर्न भनिएको हो ।
गाई काटेर खान खोज्नेविरुद्ध मुद्दा
नुवाकोटः जिल्ला प्रहरी कार्यालय नुवाकोटले गाई काटेका अभियोगमा पक्राउ परेका एक जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । तादी गाउँपालिका–३ स्थित टुटुङमा गाई काटी भाग लगाइरहेका अवस्थामा सोही गाउँपालिका–१ उर्लेनी घर भएका ३० वर्षीय सुरेश लामा भनिने सन्चा तामाङ दोङलाई सोमबार पक्राउ गरी पशुपक्षीसम्बन्धी कसुरअनुसार मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले जानकारी दिए । प्रनि फुयाँँलका अनुसार सोही घटनामा संलग्न भएका ९ प्रतिवादी हालसम्म फरार छन् । गाई काट्न प्रयोग गरिएको धारिलो घरेलु हतियारसमेत घटनास्थलबाट प्रहरीले बरामद गर्नाका साथै प्रतिवादी तामाङलाई जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी घटनाको अनुसन्धान गरिएको उनले जानकारी दिए ।

