कुन-कुन जिल्लामा थपिए आज कोरोना संक्रमित? (सूचीसहित)

काठमाडौं : नेपालमा आज हिजोका तुलानामा बढी कोरोना संक्रमित भेटिएका छन् । आज नेपालमा ८ सय १८ जनामा कोरोना पुष्टि भएको छ । हिजो ६ सय ३४ जनामा कोरोना देखिएको थियो ।

आज पुष्टि भएका ८१८ संक्रमितमध्ये २२० महिला र ५९८ पुरुष रहेका छन् ।

योसँगै संक्रमितको कूल संख्या ३१ हजार ९ सय ३५ पुगेको छ । जसमध्ये अहिले विभिन्न जिल्लामा १३ हजार १ सय ५५ जना संक्रिय संक्रमित छन् ।

आज सबैभन्दा बढी बारामा संक्रमित भेटिएका छन् । त्यहाँ एकैदिन बारामा १३९ जनाको पीसीआर पोजिटिभ देखिएको छ ।

त्यस्तै, काठमाडौं उपत्यकामा १ सय ६६ संक्रमित थपिएका छन् । गत २४ घण्टामा झापामा १०, मोरङमा ५०, सुनसरीमा ९, सप्तरीमा ४, सिरहामा १४, धनुषामा ६० र महोत्तरीमा ३४ जना संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, सर्लाहीका ९१, पर्साका ३९, रौतहटमा ९, सिन्धुलीका १, रामेछापका २, दोलखाका ६, भक्तपुरका २८, धादिङका १, काठमाडौंका १२६, काभ्रेका २७, ललितपुरका १२ जनामा पनि कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले जानकारी दिए ।

त्यस्तै, नुवाकोट, मकवानपुरमा १/१, गोरखामा २, कास्कीमा ५, पूर्वी नवलपरासीमा ६ जना संक्रमित थपिएका छन् ।

कपिलवस्तुमा ११, पश्चिम नवलपरासीमा ३० र रूपन्देहीमा २८ जना थपिएका छन् । अर्घाखाँचीमा १२ जना संक्रमित थपिएका छन् ।

यस्तै पाल्पा, प्यूठान, रोल्पा र पूर्वी रुकुममा एकएक जना संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बाँकेमा ११ जना थपिएका छन् भने बर्दियामा थप २ जनामा कोरोना संक्रमित थपिएका छन् । पश्चिम रुकुममा आइतबार ६ जना संक्रमित थपिए ।

यस्तै जुम्लामा २, अछाममा २३, बझाङमा ३, डडेल्धुरामा २, बैतडी र दार्चुलामा १/१ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २ सय ८१ डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको संख्या १८ हजार ६ सय ३१ पुगेको छ । अहिले देशभर ११ हजार ४ सय १४ जना क्वारेन्टाइनमा रहेका छन् । आज उपत्यकामा १ सय २६ जनामा कोरोना पुष्टि भएको छ ।

जसमध्ये काठमाडौंका १ सय २६, ललितपुरका १२ र भक्तपुरका २८ जना रहेका छन् । आज देशभर ८ हजार २६ जनाको पीसीआर गरिएको छ ।

विप्लव नेकपाका तत्कालीन सैन्य कमाण्डरसहित ८८ जना जसपामा प्रवेश

काठमाडौं : नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाका मध्य केन्द्रिय कमाण्डका तत्कालिन सैन्य कमाण्डर जीवन लामा (जिमी) सहितका ८८ जना नेताकार्यकर्ता जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् । जसपामा प्रवेश गर्नेमा कमाण्डर लामासहित ब्यूरो सदस्य प्रह्‍लाद फुयाल (जीवन), रौतहट जिल्ला पूर्व सेक्रेटरी गोपाल जिम्बालगायत विभिन्न तह र जिल्लाका ८८ जना नेता रहेका छन् । पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवद्वारा जारी विज्ञप्तिका अनुसार उनीहरू विप्वलको पार्टीमा रहँदा ललितपुर, मकवानपुर, काभ्रे, चितवन, रौतहट, बारा, पर्सा, काठमाडौं, दोलखा, धादिङ, नुवाकोट र सिन्धुली जिल्लाका विभिन्‍न तहगत जिम्मेवारीमा रहेका नेताहरू हुन् ।

सुदूरपश्चिममा थप ३३ जनामा कोरोना संक्रमण

कैलाली : सुदूरपश्चिममा थप ३३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा ४ सय २० जनाको कोरोना परीक्षण भएकोमा ३३ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा अछामको मंगलसेन नगरपालिकाका १७, पञ्चदेवल विनायक नगरपालिकाका ६ गरी २३, डडेल्धुराको गन्यापधुरा, अजगमेरु गाउँपालिकाका १/१, बझाङको केदारस्यूँ गाउँपालिकाका २, बझाङकै बुंगल गाउँपालिकाका १, दार्चुलाको मालिकार्जुन गाउँपालिकाका १, बैतडीको पाटन नगरपालिकाका २, बैतडीकै सुर्नया गाउँपालिकाका १ र जिल्ला अस्पताल बैतडीका १ जना रहेका छन् । योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ६४ पुगेको छ ।

काठमाडौंको काँडाघारीमा सैलुन चलाउनेलाई कोरोना पुष्टि, कपाल काट्नेको खोजी सुरु

काठमाडौं : काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-९ काँडाघारीमा सैलुन चलाउँदै आएका व्यक्तिमा कोरोना पुष्टि भएको छ । ती व्यक्तिलाई कोरोना देखिएपछि सो क्षेत्र अहिले सिल गरिएको छ । समुदायस्तरमै कोरोना संक्रमण भएको हुन सक्ने भन्दै नगरपालिकाले सैलुनमा दाह्री/कपाल काटेकाहरूको खोजी गर्दै उनीहरूबाट स्वाब संकलन गरिरहेको छ । स्वाब परीक्षणका लागि प्रयोगशाला पठाइएको हो । सरकारले सैलुन सञ्चालन खुला नगरे पनि लुकिछिपी ठाउँठाउँमा सैलुन सञ्चालन भइरहेका छन्। कागेश्वरी मनोहराका मेयर कृष्णहरि थापाकाअनुसार वडा नम्बर ७ मा पनि कोरोना संक्रमितको संख्या वृद्धि भइरहेको छ।

बाँकेमा ४६ जना कोरोना संक्रमित निको भए

फाइल फोटो । नेपालगञ्जः बाँकेमा ४६ जना कोरोना संक्रमित निको भएका छन् । वडा प्रहरी कार्यालय, नेपालगञ्जका इन्चार्जसहित ४६ जना संक्रमित निको भएका हुन् । निको हुनेमा अधिकांश प्रहरी छन् । वडा प्रहरी कार्यालय, नेपालगञ्जका इन्चाजसहित २९ जना प्रहरीलाई एकैदिन पोजिटिभ देखिएपछि सील गरेर उनीहरूलाई त्यहीँ राखिएको थियो । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार आइतबारसम्ममा ६ सय १४ जना डिस्चार्ज भएका छन् भने २ सय ३ जना उपचारका क्रममा रहेका छन् ।

वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७ पुग्यो

वीरगञ्जः वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका–११ बस्ने ५६ वर्षीया महिला रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । नारायणी अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा उनको शनिबार साँझ मृत्यु भएको हो । थाइराइडकी बिरामी ती महिलामा ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या थियो । उनको साउन २४ गतेदेखि नै आईसीयूमा राखेर उपचार भइरहेको थियो । योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ । चितवनमा कोरोनाबाट थप १ जनाको मृत्यु

खाद्यान्न भनेर मदिरा ओसार्ने पक्राउ

तनहुँः निषेधाज्ञाका समयमा तनहुँमा अत्यावश्यक वस्तुका नाममा मदिराको कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बन्दिपुर–१ डुम्रेस्थित भट्ट किराना पसलका सञ्चालक नन्दलाल भट्ट छन् । डुम्रेबाट मदिरा लैजाने क्रममा उनलाई भानु नगरपालिका–१३ चन्द्रावतीबाट प्रहरीले पक्राउ गरेको हो । खाद्यान्न भन्दै मदिराको कारोबार गरेको खुलेपछि सवारी साधनसहित उनलाई पक्राउ गरिएको चन्द्रवती प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक रामबहादुर गुरुङले जानकारी दिए । आवश्यक कानूनी कारवाहीका लागि सवारी साधनसहित भट्टलाई इलाका प्रहरी कार्यालय डुम्रेमा पठाइएको छ । भानु नगरपालिकामा कोरोनाको सङ्क्रमण समुदायस्तरमा फैलिएको र अझै पनि जोखिम कायमै रहेको भन्दै यही भदौ १ गतेदेखि निषेधाज्ञा गरेको छ ।

आज ऋषिपञ्चमीः कोरोना कारण नदी किनारमा स्नान गर्न प्रतिबन्ध

काठमाडौंः भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् । हरितालिका (तीज) को व्रत एवं पूजा आराधना महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहेपनि ऋषि पञ्चमी कर्म भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको छ । रजस्वलाका समयमा छाई छुई लगायत कुनै त्रुटी भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्त ऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ । नारी रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी, र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । यसैकारण आजको दिन दत्तिउन,गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछुतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको छ । यसरी स्नान गरेपछि अरुन्धती सहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । जसलाई ऋषि पञ्चमीको पूजा लगाउने पनि भनिन्छ । सप्त ऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो । वाग्मतीलगायत नदीमा स्नान नगर्न आह्वान ऋषिपञ्चमी पर्वमा महिलाले नदी, ताल, तलाउ, पोखरी जस्ता स्थानमा स्नान गर्ने गरेकामा यस वर्ष कोरोना भाइरसको महामारीका कारण घर घरमै स्नान गर्न महानगरीय प्रहरी वृत्त बौद्धले आह्वान गरेको छ । तुलनात्मक रुपमा वाग्मती सफा रहेको गोकर्ण ब्यारेजभन्दा माथिको भागमा ऋषिपञ्चमीका अवसरमा गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिका क्षेत्रका महिलाको समूहले स्नान गर्ने गरेका थिए । गोकर्णबाट सुन्दरीजलसम्मको करिब सात किमी नदी किनारको दायाँ बायाँ दुई नगरपालिकाका हजारौँ महिलाले ऋषिपञ्चमीमा स्नान गर्ने गरेका थिए । गोकर्णे औँशीका दिन गोकर्णेश्वर महादेव मन्दिर भीड हुन नदिए जस्तै ऋषिपञ्चमीका अवसरमा आइतबार वाग्मती किनारमा स्नानका लागि पनि निषेध गरिएको वृत्तका प्रहरी प्रमुख नवीन कार्कीले जानकारी दिए ।

चीनले अनुमति नदिँदा उपल्लो डोल्पामा पुगेन चामल

जाजरकोट: छिमेकी मुलुक चीनले अनुमति नदिँदा उपल्लो डोल्पामा चामल ढुवानी नभई आर्थिक वर्ष सकिएको छ । खाद्यान्न उत्पादनका हिसाबले अत्यन्तै कमजोर मानिएको उपल्लो डोल्पामा चीनको सिमाना हुँदै खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यता छ । तीन हजार क्विन्टल चामलको कोटा तोकिए पनि चामल ढुवानी हुन नसक्दा शहरतारा र तेन्जे बिक्री केन्द्रमा अहिलेसम्म एक गेडा चामल नपुगेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड डोल्पाले जनाएको छ । उपल्लो डोल्पामा खाद्यान्न ढुवानी गर्नका लागि चीनमा दुई नाका प्रयोग गर्नुपर्दछ । कोरोना भाइरसका कारण सबै उपल्लो डोल्पाका नागरिक घरमै रहेको समयमा खाद्यान्न नहुँदा समस्या भएको बताएका छन् । सदरमुकामस्थित डिपोमा चामल भरिभराउ भए पनि उपल्लो डोल्पामा चामलको गेडो नभएको हो । सदरमुकामबाट उपल्लो डोल्पामा ढुवानी गर्न सकिने भए पनि राज्यले ध्यान नदिएको उपल्लो डोल्पाका स्थानीयवासीको गुनासो रहेको छ । सदरमुकाम दुनैमा एक हजार २८०, जुफालमा एक हजार २००, सर्मीमा २९९ र काइगाउँमा एक हजार क्विन्टल चामल मौज्दात रहेको कार्यालय प्रमुख कमलराज पाण्डेले जानकारी दिए । विगतका वर्षमा उपल्लो डोल्पा जाने र आउने काम निरन्तर भइरहेकाले खासै समस्या नपर्ने भए पनि आर्थिक वर्ष २०७६/७७ मा एक गेडा चामल नगएको हो । यो आर्थिक वर्षमा पनि अहिलेसम्म ठेक्का भएको छैन । कोरोनाका कारण सर्वसाधारण दुनै, जाजरकोट र रुकुमपश्चिमका बजारसम्म पुग्न सकेका छैनन् । स्थानीय उत्पादनले तीन महिना पनि खान नपुग्ने उपल्लो डोल्पामा निकै समस्या भएको शे–फोक्सुण्डो गाउँपालिका अध्यक्ष टासीतुन्डुप गुरुङले जानकारी दिए । हवाईमार्गबाट खाद्यान्न ढुवानी गरेर भए पनि उपल्लो डोल्पामा खाद्यान्न आपूर्ति भएमा जनताको माग पूरा हुने उनको भनाइ छ । असोजसम्म नयाँ ढुवानी नभए हिमपातले गर्दा समस्या हुने प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए । अहिले व्यापारीहरुसँग मिलेर भए पनि स्थानीय तहको सहकार्यमा केही खाद्यान्न आपूर्तिको व्यवस्था मिलाइएको उनको भनाइ छ । रासस

काठमाडौं उपत्यकामा कोरोनाको नयाँ रेकर्ड, ‘हट स्पट’ बन्दै

काठमाडौंः काठमाडौं उपत्यकामा कोरोना भाइरसले नयाँ रेकर्ड राखेको छ । शनिबार अहिलेसम्मकै उच्च २१६ जना नयाँ सङ्क्रमितको पुष्टि भएसँगै कोरोनाले उपत्यकामा नयाँ रेकर्ड राखेको हो । काठमाडौं उपत्यकाको काठमाडौँमा १६०, ललितपुरमा छ र भक्तपुरमा ५० जना सङ्क्रमित पुष्टि भएको हो । भक्तपुरमा थपिएका सङ्क्रमित अहिलेसम्मकै २४ घण्टाको सबैभन्दा बढी हो । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीव्र गतिमा बढिरहेको छ । लकडाउन खुकुलो भएलगत्तै उपत्यका भित्रिनेहरूको बढ्नु, सार्वजनिक यातायातको संचालनलगायतका कारणले उपत्यकामा संक्रमितको संख्या तीव्र रुपमा वृद्धि भइरहेको छ । काठमाडौं उपत्यका कोरोना भाइरसको उच्च जोखिम अर्थात् ‘रेडजोन’मा परेको छ । चिकित्सकहरूले पनि उपत्यका कोरोनाको ‘हट स्पट’ बन्दै गएको बताएका छन् । काठमाडौं उपत्यकामा संक्रमण अझै बढ्दै गयो भने उपत्यकामा कुनै पनि बेला भयावह स्थिति आउने विज्ञहरूले चेतावनी दिएका छन् । संक्रमण बढेको भन्दै उपत्यकामा तीन वटै जिल्ला निषेधाज्ञा जारी गरिएको छ । काठमाडौं उपत्यकाका लगभग सबैजसो ठाउँमा छिटफुट कोरोना संक्रमित भएको स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा(ईडीसीडी) जनाएको छ । संक्रमितको ठेगाना, सम्पर्क नम्बरसहितको सुचना नआउँदा पूर्ण विवरण राख्न समस्या पर्ने ग।रेको छ । काठमाडौंमा पाँच बढी स्थानमा ५० जनाभन्दा बढी संक्रमित भेटिएका छन् । बढी जोखिम क्षेत्र कोटेश्वर, कुलेश्वर–बल्खु क्षेत्र, बालाजु क्षेत्र, असन, महाबौद्ध क्षेत्र, महाराजगञ्ज, हात्तिगौडा, पेप्सीखोला, चन्द्रागिरि, रातोपुल, दक्षिणकाली, किर्तिपुर, बुढानिलकण्ठ, बत्तिसपुतली, प्रयागमार्ग, कागेश्वरी, मैतीदेवी, घट्टेकुलो आदी ।  

चितवनमा कोरोनाबाट थप १ जनाको मृत्यु

चितवनः चितवनमा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ । मृतक मकवानपुरको हेटौडा–३ की ६५ वर्षीया महिला रहेकी छन् । भरतपुर मेडिकल कलेज चितवनमा उपचार गराएकी ६५ वर्षीय महिला साउन ३२ गते अस्पताल भर्ना भएकी थिइन् । कलेजो सम्बन्धि समस्या रहेकी ती महिलाको शनिबार साँझ साढे ७ बजे मृत्यु भएको हो । भरतपुर मेडिकल कलेजमा बिहीबार पनि हेटौडा–४ का ५६ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको थियो ।  

काठमाडौंमा आज कहाँ–कहाँ जाँदैछ बत्ती (सूचीसहित)

काठमाडौंः नयाँ फिडर लाइन तान्ने कार्य गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले आइतबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म काठमाडौंका केही स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लिलाकुमारी अर्यालयका अनुसार पुल्चोक वितरण केन्द्रको टेकु फिडरबाट वितरित ११ केभी लाइनमा नयाँ फिडर तान्न लागिएको विद्युत् कटौती गर्न लागिएको हो । प्राधिकरणले बागडोल क्षेत्र आसपास, सनराइज टावर आसपास तथा सानेपाम चक्रपथ क्षेत्र, खाद्य गोदामलगायतका क्षेत्रमा विद्युत् कटौती गर्न लागिएको हो । प्राधिकरणले ती क्षेत्रका ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति क्षमा याचना गरेको छ । तोकिएको कार्य समय अगावै सम्पन्न भएको खण्डमा प्राधिकरणले उक्त समय अगावै विद्युत् आपूर्ति हुने प्राधिकरणले जनाएको छ ।  

भारतमा कोरोनाको फेरि नयाँ रेकर्ड

नयाँ दिल्लीः विश्वभरि नै सबैभन्दा बढी दैनिक संक्रमण उच्च हुने देश भारत हुन पुगेको छ । अगस्तको पहिलो सातादेखि नै भारतमा प्रतिदिन ६० हजार भन्दा संक्रमित देखा परेका हुन् । भारतमा कोरोनाको तीब्रता जसरी फैलिरहेको छ, यो नियन्त्रण भएन भने केही दिनमा नै संसारकै सबैभन्दा संक्रमित हुन देशको नाम भारत हुने निश्चित देखिन्छ । कोरोनाले समुदायस्तरमा संक्रमण हुँदा समेत भारतीय सरकारको ध्यान भने कोरानो भन्दा बढी भारतीय जनता पार्टीको हिन्दुवादी एजेण्डातर्फ बढी रहेको छ । देशमा कोरोनाले आक्रान्त भएर रोग र भोकसँग लाखौं जनता जुधिरहँदा प्रधानमन्त्री नरेन्द्र मोदीले हालैमात्र करोडौं खर्च गरेर राम मन्दिरको शिलान्यास गरेका छन् । संसारकै सबैभन्दा ठूलो लोकतन्त्रको दावी गर्ने भारतमा कोरोनाले समाजको गरिब र शोषित तप्कामा सबैभन्दा ठूलो असर गरेको छ । पछिल्लो तथ्यांक हेर्दा भारतमा शनिबार मात्रै ६० हजार २९ जना नयाँ संक्रमित देखा परेका छन् । यो हालसम्मकै बढी दैनिक संक्रमित संख्या हो । योसँगै भारतमा यो समाचार तयार पार्दासम्म कुल संक्रमितको संख्या ३० लाख ४३ हजार ४३६ पुगेको छ । शनिबार ९१८ जनाको मृत्यु भएपछि मृतक संख ५६ हजार ८४६ पुग्दा २२ लाख ७९ हजार नौं सय जना निको भएका छन् । अचम्म त के छ भने भारतमा संक्रमण दर विश्वमा नै उच्च देखिन पुगेको छ । शुरूको दिनमा २० देखि ३० लाख संक्रमित हुन ब्राजिलमा २३ र अमेरिकामा २८ दिन लाखेको बेला भारतमा भने १० लाख संक्रमित पत्ता लाग्न १ सय ३८ दिन लागेको थियो । तर सरकारको गैर जिम्मेवारीपनाका कारण मईदेखि भने भारतमा संक्रमणमा उल्लेख्य बृद्धि हुन पुग्यो । पछिल्लो १६ दिनको तथ्यांक हेर्दा भारतमा १० लाख बढी संक्रमित बनेका छन् । प्रतिदिन ६५ हजार भन्दा बढी संक्रमित भइरहेका छन् । भारतमा सबैभन्दा धेरै संक्रमण महाराष्ट्रमा देखिएको छ । योसँगै दिल्ली, राजस्थानलगायतका राज्यहरु पनि उच्च संक्रमणको निशाना बनेका छन् । संक्रमण रोक्न कैयन चरणमा लकडाउनको घोषणा गरे पनि यसले संक्रमण रोक्न सकेको छैन । संक्रमणका कारण सबैभन्दा बढी मारमा मजदूरहरू परेका छन् ।

खरिपाटीकाे आइसोलेसन ५ सय शय्या पुर्‍याउन मन्त्रीकाे निर्देशन

काठमाडौं  : भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा कोरोना सङ्क्रमित राख्न बनाइएको आइसोलेसन कक्षको वाग्मती प्रदेश सरकारका सामाजिक विकासमन्त्री युवराज दुलालले अनुगमन गरेका छन्। सरकारले खरिपाटीमा बनाएको क्वारेन्टिनलाई ५ सय श्ययाको आइसोलेसन कक्ष बनाउन निर्देशन दिएपछि भक्तपुर अस्पतालको नेतृत्वमा हाललाई २ सय श्ययाको आइसोलेसन बनाएपछि शनिबार मन्त्री दुलालले अनुगमन गरेका हुन्। सो अवसरमा उनलाई अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवाल र मेडिकल सुपरिटेण्डेण्ट डा सुमित्रा गौतमले आइसोलेसनको बारेमा जानकारी गराए। त्यसैगरी मन्त्री दुलालले भक्तपुर अस्पतालमा निर्माण भएको सघन उपचारकक्ष (आइसीयू) र आइसोलेसन सेन्टरको अनुगमन गरे। अनुगमनका क्रममा अस्पतालका अध्यक्ष सुवाल र मेसु डा गौतमले सरकारको निर्देशनानुसार भक्तपुर अस्पतालमा ३० श्यया आइसीयू र आइसोलेसन तथा खरिपाटीस्थित २०८ श्यया गरी २३८ श्यया तयार गरिएको जानकारी गराए। खरिपाटीस्थित आइसोलेसनमा शनिबार १० र भक्तपुर अस्पतालमा चार बिरामी आइसोलेसनमा राखिएको उनीहरुले जानकारी दिए। मन्त्री दुलालले भक्तपुर अस्पतालले खरिपाटीको आइसोलेसनलाई २ सयबाट बढाएर ५ सय श्यया पुर्‍याउन निर्देशन दिए। उपचारबाट कोही पनि बञ्चित हुन नहुने भन्दै उनले भक्तपुर अस्पतालमा थप २ वटा भेन्टिलेटर भोलि नै प्रदेश सरकारको तर्फबाट पठाइदिने बताए।

काठमाडौंका यी स्थानमा भोलि बत्ति जाने

काठमाडौं : नयाँ फिडर लाइन तान्ने कार्य गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले आइतबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म काठमाडौँका केही स्थानमा विद्युत् कटौती हुने भएको छ । प्राधिकरणका सूचना अधिकारी लिलाकुमारी अर्यालयका अनुसार पुल्चोक वितरण केन्द्रको टेकु फिडरबाट वितरित ११ केभी लाइनमा नयाँ फिडर तान्न लागिएको विद्युत् कटौती गर्न लागिएको हो । प्राधिकरणले बागडोल क्षेत्र आसपास, सनराइज टावर आसपास तथा सानेपाम चक्रपथ क्षेत्र, खाद्य गोदामलगायतका क्षेत्रमा विद्युत् कटौती गर्न लागिएको हो । प्राधिकरणले ती क्षेत्रका ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति क्षमा याचना गरेको छ । तोकिएको कार्य समय अगावै सम्पन्न भएको खण्डमा प्राधिकरणले उक्त समय अगावै विद्युत् आपूर्ति हुने प्राधिकरणले जनाएको छ ।  

कर्मचारीमा कोरोना पुष्टि भएपछि डोटी दिपायलका सबै बैंक बन्द

डोटी : राष्ट्रिय वाणिज्य बैंक दिपायल शाखामा कार्यरत २३ वर्षीया १ महिला कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि यहाँका निजी तथा सरकारी बैंक पाँच दिनका लागि बन्द गरिएका छन् । यहाँका निजी तथा सरकारी बैंकले सूचना टाँस गरी ५ दिनका लागि बैंकमा कुनै पनि कारोवार नगर्ने जनाएका छन् । क्यासियर पदमा कार्यरत महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि अन्य व्यक्तिमा सङ्क्रमण नफैलियोस् भन्दै पाँच दिनका लागि बैंक कारोवार पूर्णरूपमा बन्द गरिएको वाणिज्य बैंक दिपायल शाखाका प्रमुख गणेशबहादुर विष्टले बताए । जिल्लामा अहिलेसम्म ८०० जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला अस्पतालको पिसीआर ल्याबमा गरिएको कोरोना परीक्षणमा निज महिला कर्मचारीसहित १८ अन्य व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले जानकारी दिए । उनका अनुसार पीसीआर परीक्षणमा जिल्ला प्रहरी कार्यालयका २ पुरुष तथा १ महिलामा समेत कोरोना सङ्क्रमण पुष्टि भएको छ ।