किशोर श्रेष्ठलाई प्रेस काउन्सिलको कार्यवहाक अध्यक्षबाट नहटाउन सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं : किशोर श्रेष्ठलाई प्रेस काउन्सिलको कार्यवहाक अध्यक्षबाट नहटाउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
सर्वोच्चले श्रेष्ठलाई कार्यवहाक अध्यक्षका रूपमा काम गर्न नरोक्न आदेश जारी गरेको छ ।
साउन ३१ गते काउन्सिल सदस्यमा नियुक्त गरिएकी भण्डारीलाई त्यसपछि मन्त्रिपरिषद् बैठकले कार्यवहाक अध्यक्षमा नियुक्त गरेको थियो ।
निषेधाज्ञामा पनि बैंक खुला रहने
काठमाडौं : काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा जारी भए पनि निश्चित बैंकका शाखाहरू भने खुला हुने भएका छन् । नेपाल राष्ट्र बैंकले आधारभूत बैंकिङ सेवालाई निरन्तरता दिन निर्देशन जारी गरेपछि बैंकहरूले शाखा खोल्ने मोडालिटी बनाएका हुन् । एउटा बैंकले काठमाडौं उपत्यकाभित्र ८ वटामात्रै शाखाहरू सञ्चालन गर्न पाउने भएका छन् । बैंकहरूले काठमाडौं जिल्लामा ५ वटा शाखा, भक्तपुरमा एक र ललितपुरमा २ वटा शाखा कार्यालय खुला हुने नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले जानकारी दिए । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार शाखा कार्यालय तथा बैंकिङ सेवा प्रदान गर्ने दाहालले जानकारी दिए । नेपाल राष्ट्र बैंकले बुधबार सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई डिजिटल प्रणालीमार्फत बैंकिङ सेवा प्रदान गर्न निर्देशन जारी गरेको छ।
बिहानै थपिए ७५ संक्रमित
वीरगञ्जः थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका डाक्टर निरज सिंहले जानकारी दिए । संक्रमित हुनेहरूमा ३७ जना पुरूष र १० जना महिला रहेका छन् । उनीहरू ८ वर्षको बालक देखि ७० वर्षकी वृद्घ महिला रहेका छन् । त्यसमा बाराका २ जना र बाँकी ४५ जना पर्साका हुन् । यस्तै, चितवनमा एकैदिन २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुरस्थित कोभिड–१९ परीक्षण प्रयोगशालामा शनिबार राति गरिएको परीक्षणमा चितवनका २७ र सर्लाहीका एक जना गरी २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् र संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै २१ जना छन् । नयाँ संक्रमित २२ दखि ५३ वर्ष उमेर समूहका रहेका छन् ।
रौतहटका सबै पालिकामा १ सय क्वारेन्टिन निर्माण गरिने
रौतहटः पछिल्लो केही दिनदेखि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि रौतहटको प्रत्येक स्थानीय तहमा कम्तीमा १ सय श्ययाको क्वारेन्टिन बनाइने भएको छ । जिल्लाबाट सङ्कलन हुने स्वाब परीक्षणका लागि प्रमुख जिल्ला अधिकारी इन्द्रद्रेव यादवको पहलमा जिल्ला अस्पताल गौरमै पिसीआर मेशिन सञ्चालन हुने भएको छ । प्रमुख जिल्ला अधिकारी यादवको पहलमा प्रदेश नं २ सरकारको सामाजिक मन्त्रालयबाट पिसीआर मेशिन उपलब्ध गराउने भएको छ । शुक्रबार प्रजिअ यादवको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समिति तथा जिल्लास्तरीय कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रको संयुक्त बैठकले पिसीआर मेशिन व्यवस्थित गर्न तथा आइसोलेसन निर्माणसम्बन्धी विभिन्न महत्वपूर्ण निर्णयसमेत गरेको छ । अठार वटै स्थानीय तहले कम्तीमा १ सय श्यया क्षमताको क्वारेन्टिन तत्काल सञ्चालनमा ल्याउने, भारत तथा विदेशबाट आउने नागरिकलाई सशस्त्र प्रहरी बलको समन्वयमा सम्बन्धित स्थानीय तहले अनिवार्य क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउने निर्णय बैठकले गरेको छ । जिल्ला अस्पताल गौरमा पिसीआर मेशिन व्यवस्थापन तथा जिल्लाभित्र आइसोलेसन कक्ष सञ्चालनका लागि प्रत्येक स्थानीय तहले रु. ५ लाखका दरले अस्पताल विकास समितिको खातामा रकम उपलब्ध गराउने निर्णय गरिएको प्रजिअ यादवले जानकारी दिए। कोरोना भाइरसको लक्षण देखा परी शङ्कास्पद व्यक्तिको मृत्यु भएमा मृतकको अनिवार्य कोभिड-१९ परीक्षण गरी रिपोर्ट प्राप्त भएपछि मात्र शव व्यवस्थापन गर्ने निर्णय भएको छ । जिल्ला विपद् व्यवस्थापन कोषमा हाल मौज्दात रहेको रु १७ करोडमध्येबाट कोभिड-१९ रोकथाम, नियन्त्रण तथा समग्र व्यवस्थापनमा खर्च गर्ने अनुमतिका लागि गृह मन्त्रालयसँग अनुरोध गर्नेसमेत बैठकले निर्णय गरेको छ । जिल्लामा कृषकको मागअनुसार मलखाद आपूर्ति गर्न सम्बन्धित निकायमा अनुरोध गर्ने, लालबकैया तथा वाग्मती नदी नियन्त्रण आयोजनाको कार्यालय बारा परवानीपुरबाट गौरमा स्थानान्तरण गर्न सम्बन्धित निकायमा अनुरोध गर्नेसमेत सुरक्षा समितिको बैठकले निर्णय गरेको छ । त्यस्तै आइसोलेसन सेन्टरको व्यवस्थापनका लागि पीसीआर मेशिन व्यवस्थापनका लागि कटहरिया नगरपालिकाका नगरप्रमुख सियाराम कुशवाहा, बौधीमाईका नगरप्रमुख राजीवरञ्जन यादव, राजदेवीका नगरप्रमुख धीरेन्द्रकुमार सिंह, गौर अस्पताल विकास समितिको अध्यक्ष शेख जमसैद, जिल्ला अस्पतालका प्रमुख डा कृष्णा साह रहने गरी समिति गठन भएको छ । यस्तै देवाहीगोनाही नगरपालिकाका नगरप्रमुख धर्मेन्द्र पटेल, दुर्गाभगवती गाउँपालिकाका अध्यक्ष अरुणकुमार साह, वृन्दावनका नगरप्रमुख रामस्नेही राय यादव, डा. कृष्णा साह, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मुकेशकुमार चौरसियाको सहभागिता रहने गरी समिति गठन भएको छ । बैठकमा प्रमुख जिल्ला अधिकारी यादव, प्रहरी उपरीक्षक रविराज खड्का, सशस्त्र प्रहरी उपरीक्षक सूर्यसेन ओली, राष्ट्रिय अनुुसन्धान प्रमुख अभिनयकुुमार सिंह, नेपाली सेनाका कर्णेल सामन्तध्वज खाँडका साथै जिल्लाका १८ स्थानीय तहका प्रमुखको सहभागिता रहेको थियो ।
स्वास्थ्यकर्मीको मनोबल नगिराउनूः मुख्यमन्त्री पौडेल
वाग्मतीः वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले स्वास्थ्योपचारमा अहोरात्र खटिने स्वास्थ्यकर्मीको मनोबल गिराउने खालका क्रियाकलाप नगर्न अनुरोध गर्नुभएको छ । कोरोना संक्रमित चिकित्सक तथा स्वास्थ्यकर्मी एवं नागरिकमाथि दुव्र्यवहार हुने गरेको सन्दर्भमा आज सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले कोरोना महामारीसंँग जुधिरहेको हाम्रो देशमा महामारीविरुद्धको युद्धमा अग्रमोर्चामा लडिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि बेलाबेलामा दुव्र्यवहार हुनेगरेकामा दुःख व्यक्त गर्नुभएको छ । ‘घरबेटीले नर्सलाई कोरोना सार्न सक्ने भन्दै कोठा छोड्न दवाव दिएको, स्वास्थ्यकर्मीहरुको सवारी साधन रोकेर दु्रव्यवहार गरेको, विभिन्न बहानामा हातपात गरेको तथा अपशब्दहरु प्रयोग गर्ने गरेको एवं संक्रमित चिकित्सकको मनोबल गिर्नेगरी बहीष्करण गरेका घटनाहरु बाहिरिरहेको छ, स्वास्थ्योपचारमा अहोरात्र खटिने आम स्वास्थ्यकर्मीहरुको मनोबल गिराउनुका साथै संक्रमित नागरिकहरुको मनोविज्ञानमा गम्भीर असर पर्न सक्नेतर्फ अलिकति पनि नसोची विवेकशून्य भएर गरिएका त्यस्ता क्रियाकलापको जति निन्दा गरे पनि कम हुन्छ, आपराधिक क्रियाकलाप गर्नेहरु कार्वाहीका भागीदार हुनुपर्छ र हुने नै छन्’, मुख्यमन्त्रीले सन्देशमार्फत भनेका छ । पौडेलले सन्देशमा संक्रमितलाई दुव्र्यवहार नगरी माया, प्रेम र सद्भाव व्यक्त गरी हौसला प्रदान गर्न सम्पूर्ण दिदीबहिनी एवं दाजुभाइमा अनुरोध पनि गरेका छन् ।
सिन्धुपाल्चोकमा भदौ १ गतेदेखि लकडाउन गरिने
सिन्धुपाल्चोकः छिमेकी जिल्लामा कोरोना सङ्क्रमण बढेको र जिल्लामा पनि सङ्क्रमण बढ्न सक्ने देखिएकाले जनाई भदौ १ गतेदेखि लकडाउन गर्ने निर्णय भएको छ । शनिबार बसेको जिल्ला कोभिड -१९ सङ्कट व्यवस्थापन समितिको बैठकले १ सातासम्मका लागि जिल्लामा बन्दाबन्दी गर्ने निर्णय गरेको हो । कोरोना नियन्त्रणका लागि तत्काल थप सतर्कता अपनाउनाका साथै नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गराइने निर्णय पनि भएको छ । जिल्लाका केही स्थानीय तहमा समेत कोभिड -१९ का सङ्क्रमित देखिएकाले सङ्क्रमण फैलिन नदिन र नियन्त्रणलाई प्रभावकारी बनाउनका लागि जिल्लाभर लकडाउन गर्ने निर्णय भएको हो । यस निर्णयसँगै भदौ १ देखि कुनै पनि व्यक्ति अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पाउने छैनन् । त्यस्तै सार्वजनिक सवारी साधन बन्द हुने छ । सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र अत्यावश्यक सेवाका कर्मचारी मात्र हिँडडुल गर्न पाउनेछन् । होटल तथा रेष्टुरेण्ट, विद्यालय, सभा, गोष्ठी, तालिम, सेमिनार, प्रदर्शन, शैलुन, खेलकूद गतिविधि सञ्चालन गर्न पाइने छैन । त्यस्तै बैंक र गैरसरकारी कार्यालय आवश्यक सेवा प्रदान गर्न बिहान ११ देखि अपराह्न २ बजेसम्म सञ्चालन गर्न दिइनेसमेत निर्णय भएको छ । लकडाउनका समयमा सबै नागरिकलाई सामाजिक दूरी कायम गर्दै घरभित्रै बसिदिन प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले अनुरोध गर्नुभएको छ । अत्यावश्यक परेका अवस्थामा जिल्ला प्रशासन कार्यालयले सवारी पास उपलब्ध गराएपछि मात्रै सवारी चलाउन पाइने प्रजिअ ढकालले जानकारी दिए ।
वीरगन्जमा थप १ कोरोना संक्रमितको मृत्यु
वीरगन्ज : वीरगन्जस्थित रहेको नारायणी अस्पतालमा मृत्यु भएका १ पुरुषमा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । नारायणी अस्पतालमा उपचारका क्रममा वीरगन्ज महानगरपालिका अठराहा सुगौलीका ४५ वर्षिय पुरुषको शनिबार बिहान करिब ७ बजे मृत्यु भएको थियो । मृत्युपछि उनको स्वाब संकलन गरि पीसीआर परिक्षणका लागि नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको थियो । प्रयोशगशालाबाट शनिबार दिउँसो प्राप्त रिपोर्टमा ती मृतक पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ देखिएको अस्पतालका चिकित्सक निरज सिंहले जानकारी दिए । योसँगै वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २७ पुगेको छ ।
आज कुन जिल्लामा कति कोरोना संक्रमित थप? (विवरणसहित)
काठमाडौं : गत २४ घण्टामा नेपालमा थप ४ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । आज चितवनका ९, बाँकेका ११, बर्दियाका १४, काठमाडौंका ८०, ललितपुरका ९, भक्तपुरका ९, धनुषाका २७, काभ्रेपलाञ्चोकका ९, रामेछापका ३, मोरङका ६५, सप्तरीका २, सिरहका ५, सुनसरीका १९, तेह्रथुमका १, बझाङका १ र डडेल्धुराका १ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार दोलखाका ५, उदयपुरका २, कपिलवस्तुका ३२, नवलपरासी पूर्वका २, बाराका २, पर्साका २४, खोटाङका ६, रसुवाका १, सर्लाही ५४, कास्कीका ११, दैलेखका ३, सुर्खेतका ५, गुल्मीका १, रुपन्देहीका २, महोत्तरीका ९, बाग्लुङका २, गोरखाका १, स्याङ्जाका १, तनहुँका २, दाङका ११, सिन्धुलीका १, मकवानपुरका २१ र रौतहटका ४ जनामा कोरोना पोजिटिभ देखिएको हो । त्यस्तै गत २४ घण्टामा १ सय २४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेहरूको संख्या १७ हजार २ सय १ पुगेको छ । क्षिरेश्वरनाथ नगरपालिकाका मेयरलाई कोरोना संक्रमण भारतमा एकैदिन ५७ हजार संक्रमित उपचारपछि डिस्चार्ज
क्षिरेश्वरनाथ नगरपालिकाका मेयरलाई कोरोना संक्रमण
जनकपुरधाम : धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाका मेयरलाई कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । नगरप्रमुख योगेन्द्र पजियारले आफूलाई कोरोना पोजिटिभ देखिएको जानकारी दिए । जनकपुरधामस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनको रिपोर्ट पोजिटिभ आएको हो । प्रमुख पजियारले शुक्रबार पीसीआर जाँच गराएका थिए । संक्रमण पुष्टि भएका प्रमुख पजियार अहिले होम आइसोलेसनमा रहेका छन् । कोरोनाको संक्रमण पुष्टि भएपनि लक्षण भने नदेखिएको उनले बताए ।
बैतडीमा जिप दुर्घटना हुँदा २ जना घाइते
बैतडी : बैतडीमा जिप दुर्घटना हुँदा २ जना घाइते भएका छन् । महाकाली राजमार्गअन्तर्गत सिल्लेगडा नजिक भएको दुर्घटनामा २ जना घाइते भएका हुन् । घाइते हुनेहरूमा दोगडाकेदार ३ श्रीकोट सिल्लका जिपधनी ४२ वर्षीय दशरथचन्द र श्रीकोटकै उस्कला भन्ने ठाउँका ४० वर्षीय करन ऐरी छन् । घाइते दुवैको अवस्था खासै चिन्ताजनक नरहेको खोचलेक प्रहरी चौकीका इन्चार्ज सई मोती बमले जानकारी दिए। उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ । सिल्लेगडाबाट खोचलेक गइरहेको से१ज ३२८ नम्बरको जिप अपराह्न ४ बजे सिल्लेगडा नजिकैको मोडमा दुर्घटनामा परेको हो । जिप सडकबाट २ सय मिटर तल खसेको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।
लिदी पहिरो : मृतकको संख्या १३ पुग्यो, बेपत्ता २६ को खोजी जारी
सिन्धुपाल्चोक : जिल्लाको जुगल गाउँपालिका-२ लिदी पहिरामा परी मर्नेको सङ्ख्या १३ पुगेको छ । शुक्रबार बिहान गएको पहिरामा ११ शव भेटिएको र आज बिहान थप दुई शव भेटिएपछि मृतकको सङ्ख्या १३ पुगेको हो । अझै २६ जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा ३६ वर्षीया टिकमाया दोङ, १४ वर्षीय छिरिङ दोङ, ८० वर्षीय जीते झाँक्री, ८ वर्षीय मिलन दोङ, पाँच वर्षीय सानु दोङ, ७० वर्षीय जयबहादुर दोङ, ३० वर्षीय सानुकान्छी दोङ, पाँच वर्षीय प्रीति दोङ, पाँच महिनाकी कान्छी दोङ, ३४ वर्षीय धनमाया तामाङ दोङ र चार महिनाको रेमी दोङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । अन्य २ जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । पहिरामा बेपत्ता २६ जनाको आज बिहानदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीद्वारा खोजी भइरहेको बताइएको छ । मृतक ११ जनाको आज सामूहिक रुपमा दाहसंस्कार गरिएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताए ।
कोरोना संक्रमण रोक्न काठमाडौं-१४ सिल
काठमाडौं : काठमाडौं महानगरपालिका-१४ ले कोभिड-१९ को सङ्कमण फैलिन नदिन वडालाई सिल गरेको छ । वडा कार्यालयले आफू र त्यस वरपर क्षेत्रमा सङ्कमण देखिएपछि सम्भावित जोखिम न्यूनीकरण गर्न वडाले आफ्नो क्षेत्रभित्र सञ्चालित सरकारी तथा गैरसरकारी कार्यालय, होटल, रेष्टुरेण्ट, थोक पसललगायत बन्द गर्न निर्देशन दिएको छ । वडा कार्यालयले हाल सञ्चालन गर्दै आएका दैनिक प्रशासनिक कार्य आगामी भदौ १० गतेपछि अवस्था हेरी पुनःसञ्चालन गर्न सकिने जनाएको छ । भीडभाड कम गर्न बैंक तथा वित्तीय क्षेत्रका केही कार्यालयलाई बन्द तथा केही शाखालाई आंशिक सञ्चालन गर्न निर्देशन दिइएको छ । अत्यावश्यकीय सेवाभित्र पर्ने वस्तु आपूर्ति गर्न बिहान ५ देखि ९ बजेसम्म सेवाप्रदायक संस्थालाई समय तोकिएको छ । स्थानीयवासीको सुरक्षालाई दृष्टिगत गर्दै टोलमा सरसफाइ, औषधि छर्काइ तथा सचेतना अभिवृद्धिका लागि माइकिङ गर्नेलगायत कार्यसमेत भइरहेको छ । वडा कार्यालयले स्थानीय उपभोक्ता समिति, विभिन्न क्लब, सामाजिक सङ्घसंस्था, समूहका साथै विभिन्न राजनीतिक दलका प्रतिनिधिलाई समावेश गरी सम्बन्धित क्षेत्रमा अनुगमन गर्ने तथा अनावश्यक भीड गर्ने र पसल खोल्ने व्यवसायीलाई कारवाही गरिने व्यवस्था गरेको वडाध्यक्ष शोभा सापकोटाले जानकारी दिए । वडामा अहिलेसम्म ४२ कोरोना सङ्क्रमित फेला परेका छन् । कामपा कार्यालयसँग समन्वय गरी वडा कार्यालयले बल्खु, टेकुसीलगायत स्थानमा निःशुल्क पिसिआर परीक्षण गराएको तथा अन्य स्थानमा समेत परीक्षण बढाउन प्रयास गरेको वडाअध्यक्ष सापकोटाले बताए । वडा कार्यालयले आफ्ना वडावासीलाई सामन्यावस्थामा घरदेखि बाहिर ननिस्कन, मास्क प्रयोग गर्न र अति नै आवश्यक कार्यमा निस्कँदा दूरी कायम गरी सुरक्षाका उपाय अपनाउन आग्रहसमेत गरेको छ ।
प्रधानमन्त्री ओलीले गरे मोदीलाई फोन, के भयो कुराकानी?
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार भारतको ७४ औँ स्वतन्त्रता दिवसको अवसरमा ओली र मोदीबीच फोनवार्ता भएको हो । ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको छ’, थापाले भने, ‘कुराकानीको थप जानकारी परराष्ट्र मन्त्रालयबाट आउने छ ।’ भारतले अगष्ट १५ मा स्वतन्त्रता दिवस मनाउने गर्छ। यसै क्रममा शनिबार बिहान ७ः१५ बजे मोदी भारतको लालकिल्लामा पुगेर भारतीय स्वतन्त्रता दिवसको सामान्य समारोहलाई सम्बोधन गरेका छन् । भारत सन् १९४७ को अगष्ट १५ मा बृटिश साम्राज्यबाट मुक्त भएको थियो । भारतमा शासन गरिरहेको बेलायती सरकार सन् १९४७ मा आजकै दिन भारत छोडेर भागेपछि भारत बेलायती साम्राज्यबाट मुक्त भएको थियो । सोही मुक्तिको स्मरणमा भारतीय नागरिकले स्वतन्त्रता दिवस मनाउने गरेका छन् ।
नवलपरासीमा आज रातिदेखि निषेधाज्ञा जारी
नवलपरासीः कोरोना सङ्क्रमणको सम्भावित रोकथाम र नियन्त्रणका लागि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा आज रातिदेखि निषेधाज्ञा जारी गरिएको छ । राति १२ बजेदेखि आगामी भदौ ६ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । निषेधाज्ञा अवधिभर भेला, गोष्ठी, सेमिनार र सामूहिक जमघट गर्न पाइने छैन । जिल्लामा कोरोना सङ्क्रमण क्रमशः बढ्दै गएको र थप सङ्क्रमित बढ्न सक्ने भएकाले जोखिमलाई दृष्टिगत गर्दै निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए । निषेधाज्ञाको अवधिभर सरकारी एवं बैंक तथा वित्तीय संस्थामा विद्युतीय सेवाबाहेक सर्वसाधारणको उपस्थितिमा गरिने सबै सेवा बन्द गरिएको जनाइएको छ । अनावश्यक रुपमा हिँड्डुल गर्नसमेत रोक लगाइएको छ । धार्मिक स्थलमा दैनिक पूजाबाहेक अन्य गतिविधि गर्न रोक लगाइएको छ । यता एउटा स्थानीय तहबाट अर्को स्थानीयमा अत्यावश्यक कामबाहेक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । जिल्लास्थित बढी भीडभाड हुने सरकारी कार्यालयमा बढीभन्दा बढी अनलाइनमार्फत काम गर्ने र कमभन्दा कम जनशक्ति राखेर मात्रै काम गर्न कार्यालयलाई परामर्श गरिएको छ । यस जिल्लामा पछिल्लोपटक समुदायमा कोरोना सङ्क्रमण फैलिँदै गएपछि जोखिम ह्वात्तै बढेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या १ सय ३० पुगेको छ ।
थप ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि
वीरगञ्जः पर्सामा थप २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको शुक्रबार राति अबेर आएको परीक्षण रिपोर्टअनुसार पर्साका २१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले शुक्रबारमा आएको परीक्षण रिपोर्टअनुसार पर्साका २१ जना सङ्क्रमिता देखिएको र जसमा वीरगञ्जस्थित उच्च अदालत जनकपुर अस्थायी इजलासको सरकारी वकिल कार्यालयका २८ वर्षका एक जना खरिदार, वीरगञ्ज बसर्पाकको होटल हिमाल एण्ड भान्सा घरमा कार्यरत ३५ वर्षीय एक जना कर्मचारीसमेत रहेको जानकारी दिए । योसँगै पर्सामा सङ्क्रमितको सङ्ख्या एक हजार १८९ पुगेको छ । यस्तै, पोखरा महानगरपालिकामा शनिबार ११ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पोखरा महानगरपालिकाको वडा नं १, ५, ८, १४, १०, २७,१७ गरी सात वटा वडामा ११ सङ्क्रमित भेटिएका हुन् । स्वास्थ्य निर्देशनालय गण्डकीले शनिबार बिहान दिएको जानकारी अनुसार सबै सङ्क्रमित पुरुष रहेका छन् । स्वास्थ्य निर्देशनालयका अनुसार शनिबार गणडकी प्रदेशमा योसहित १८ जना थपिएका छन् । तनहुँका दुई जना, बागलुङका दुई जना, गोरखा, स्याङजा र नवलपुरका एकरएक जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । सङ्क्रमणलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार सात सय पुगेको छ ।
नेकपा कार्यदलको बैठक बस्दै
काठमाडौंः नेकपाभित्र देखा परेको विवाद हल गर्न गठित ६ सदस्यीय कार्यदलको बैठक आज बस्दैछ । शुक्रबार नेकपा अध्यक्षद्वय केपी ओली र प्रचण्डबीच भएको छलफलमा शंकर पोखरेल, विष्णु पौडेल, भीम रावल, सुरेन्द्र पाण्डे, पम्फा भुसाल र जनार्दन शर्मा रहेको कार्यदल गठन भएको थियो । उक्त कार्यदलले स्थायी समितिको बैठकमा प्रस्तुत एजेण्डा तथा अन्य विवादित विषयमा निष्कर्शमा पुग्ने विषयमा सहमतिको प्रस्ताव तयार गर्नेछ । कार्यदलको बैठकले पार्टीको आन्तरिक जीवनमा देखा परेका समस्याहरू के हुन् ? आन्तरिक पार्टी एकता बलियो बनाउन के गर्नुपर्छ ? भन्ने विषयमा केन्द्रित भएर कार्यदलले छलफल गर्ने नेकपा महासचिव एवम् कार्यदलका संयोजक विष्णु पौडेलले जानकारी दिए । कार्यदलले दुई अध्यक्षको कार्यविभाजन, अधिकार बाँडफाँडदेखि एकता महाधिवेशनको कार्यतालिकाबारे सिफारिस गर्नेछ । कार्यदलले पार्टीको वैचारिक राजनीतिक बहस, आलोचना, आत्मआलोचना, मन्त्रिपरिषद् हेरफेर, विवादित नियुक्ति बदर, राजनीतिक नियुक्तिमा संस्थागत निर्णय, मुख्यमन्त्री हेरफेरलगायत समग्र विषयमा केन्द्रित रहेर छलफल गर्नेछ । १४ असार मदनजयन्तीका अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा ओलीले आफूलाई हटाउन भारत र पार्टी नेताहरूले षड्यन्त्र गरिरहेको अभिव्यक्ति दिएपछि १६ असारमा बसेको स्थायी कमिटी बैठकमा उनको राजीनामा नै मुख्य एजेन्डा बनेको थियो । प्रधानमन्त्रीको अभिव्यक्तिले स्थायी समितिका नियमित एजेण्डामाथिको छलफल प्रभावित भएपछि नेकपा एकता नै संकटमा परेको थियो । त्यसपछि दर्जनौपटक दुबै अध्यक्षबीच छलफल भएपनि सहमति जुटन सकेको थिएन । बिहीबार र शुक्रबार भएको छलफलपछि सहमति खोज्ने दिशामा प्रगति देखिएको हो ।

