भारतमा कोरोनाको नयाँ रेकर्ड

काठमाडौंः भारतमा कोरोनाले नयाँ रेकर्ड कायम गरेको छ ।

पछिल्लो २४ घण्टाको तथ्यांकअनुसार भारतमा विश्वमै सबैभन्दा बढी संक्रमित र मृतक संख्या थपिएसँगै नयाँ रेकर्ड बनेको हो ।

सोमबार भारतमा ५३ हजार १६ जना नयाँ संक्रमित थपिँदा कोरोनाबाट विश्वकै सबैभन्दा बढी प्रभावित अमेरिकामा ४९ हजार ५४६ तथा ब्राजिलमा २१ हजार ८८८ जना संक्रमित थपिएका छन् ।

त्यस्तै, भारतमा सोमबार ८८७ जनाको मृत्यु हुँदा ब्राजिलमा ७२१ तथा अमेरिकामा ५६५ जनाको ज्यान गएको छ ।

योसँगै भारतमा कोरोना संक्रमितको संख्या २२ लाख ६७ हजार १५३ पुगेको छ भने ४५ हजार ३५३ जनाको ज्यान गइसकेको छ । १५ लाख ८१ हजार ६४० जना निको हुँदा संक्रमित संक्रमित संख्या ६ लाख ३९ हजार ६९३ रहेको छ । पछिल्ला २४ घण्टामा मात्रै भारतमा ४७ हजार बढी निको भएका छन् ।

अमेरिकामा संक्रमित ५२ लाख ५१ हजार १९२ पुगेका छन् । मृतक १ लाख ६६ हजार १८८ पुगेका छन् ।

ब्राजिलमा ३० लाख ५७ हजार ४७० संक्रमित पुगेका छन् । मृतक १ लाख १ हजार ८५७ पुगेका छन् ।

तोकियो जारको पानीको खुद्रा मूल्य

काठमाडौं : जारको पिउने पानीको खुद्रा मूल्य (एमआरपी) तोकिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रशोधित पिउने पानीको अधिकतम खुद्रा मूल्य (एमआरपी) तोकेको हो । विभागले प्रशोधित पिउने पानी प्रतिजार ५० रुपैयाँ र प्रशोधित पिउने पानी प्रतिकार्टुन (१६ बोतल भएको) १५० रुपैयाँ तोकिएको हो । अब पानीको जार उत्पादक कम्पनीले २० रुपैयाँमा, डिस्ट्रीब्युटरले ३५ रुपैयाँमा र खुद्रा व्यापारीले ४० रुपैयाँसम्म बेच्न पाउने छन् । त्यस्तै, एमआरपी ५० रुपैयाँ तोकिएको छ ।

भदौ १६ देखि मात्र लामो दूरीका यातायात र हवाई उडान सञ्चालन गर्ने सरकारको निर्णय

काठमाडौं : अन्तर जिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान १६ भदौदेखि खोल्ने निर्णय गरिएको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) को सिफारिसअनुसार १ भदौबाट खुला गर्ने भनिएको क्षेत्र थप १५ दिन नखोल्ने निर्णय गरेको हो । ५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले ४ महिना लामो लकडाउन अन्त्य गर्दै अन्तर जिल्ला यातायात, बाह्य तथा अन्तरिक हवाई उडान तथा विद्यालय भर्ना लगायतका गतिविधि भदौ १ गतेदेखि निर्णय गरेको थियो । तर कोरोना संक्रमणको जोखिम बढेको भन्दै सीसीएमसीले छोटो, मध्य र लामो दुरीमा अन्तरजिल्ला निजी तथा सार्वजनिक यातायात, आन्तरिक तथा अन्तराष्ट्रिय व्यवसायिक उडान, खेलकुद प्रशिक्षण, विद्यार्थी भर्ना, शैक्षिक तथा अन्य परीक्षा जस्ता कार्य भदौ १५ सम्म स्थगित गर्न सिफारिस गरेको थियो ।

काठमाडौंको कोटेश्वरका थप ४ जनामा कोरोना पुष्टि

काठमाडौं : काठमाडौं महानगरपालिका-३२ कोटेश्वरको असर्फी टोलमा थप ४ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । १८ साउनमा किराना पसल सञ्चालक ४ जनामा संक्रमण देखिएपछि १ सय ४१ जनाको स्वाब संकलन गरिएको थियो । उनीहरूमध्ये १३ जनामा संक्रमण देखिएको रिपोर्ट आइतबार आएको थियो । वडा सदस्य हिरादेवी पोखरेलका अनुसार सोमबार २ बच्चासहित ४ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित बढ्न थालेपछि वडाले सोमबार बिहानैबाट यो क्षेत्र सिल गरेको छ ।

३० वर्षीया महिलाले जन्माइन् ५ किलोको बच्चा

चितवन : मकवानपुरकी १ महिलाले ५ किलोग्रामको बच्चा जन्माएकी छन् । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत मकवानपुरको चुरीयामाई-९ घर भएकी ३० वर्षीया सीता लोप्चनले आज ५ किलोग्रामकी छोरी जन्माएको अस्पतालले जनाएको छ । अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाका अनुसार उच्च रक्तचाप र बच्चा ठूलो भएका कारण हेटौँडा अस्पतालबाट उपचारका लागि आइतबार साँझ चितवन मेडिकल कलेज पठाइएको थियो । लोप्चनले आज बिहान ९ बजे छोरी जन्माएकी हुन् । आमा ११२ किलो भएका कारणसमेत शल्यक्रियामा समस्या आउनसक्ने भएकाले लोप्चनलाई चितवन पठाइएको उनले बताए । भरतपुर अस्पतालका स्त्री रोग विशेषज्ञ डा. रामप्रसाद सापकोटाले सामान्यतया बच्चाको तौल दुई किलो ५०० ग्रामदेखि तीन किलो ५०० ग्रामसम्म हुने बताए । ४ किलोभन्दा माथि तौल भएमा आमामा केही समस्या हुनसक्ने उनको भनाइ छ । लोप्चनको डा बन्दना खनाल, डा. प्रेक्षा सिंह, डा. वसन्त शर्मा, डा. इन्द्रनारायण श्रेष्ठ, डा. मेनुका ताम्राकारसहितको टोलीले शल्यक्रियामार्फत बच्चा निकालेको हो । अहिले आमा र बच्चा दुवैको अवस्था सामान्य रहेको कलेजले जनाएको छ ।

गोंगबु हत्या प्रकरण : १ महिला पक्राउ

काठमाडौं : काठमाडौंको गोंगबुस्थित गणेशस्थानमा १ पुरुषलाई हत्या गरेको आरोपमा प्रहरीले १ महिलालाई पक्राउ गरेको छ । प्रहरीका एक उच्च अधिकारीका अनुसार दाङका कृष्णबहादुर बोहराको हत्या आरोपमा चितवन टाँडीस्थित माधवपुरबाट कल्पना शाहीलाई पक्राउ गरिएको हो । ती अधिकारीका अनुसार पक्राउ परेकी ती युवतीलाई प्रहरीले काठमाडौं ल्याउँदैछ । आइतबार विहान बोहराको शरीरको मुख्य भाग सुटकेशमा तथा टाउको र खुट्टा जेब्रा झोलामा फेला परेको थियो । हत्या गरिएका बोहरा नयाँ बजारस्थित एक गार्मेन्टमा काम गर्थे । टोखा नगरपालिका–१० स्थित गोंगवु गणेशस्थानमा फेला परेको शव पहिचान गर्न प्रहरीलाई हम्मे परेको थियो । सोमबार बोहराको मामाले शवको सनाखत गरेपछि प्रहरीले हत्या गरेको घर पत्ता लगाएको थियो ।

मोबाइल अफ गरेर १२ कोरोना संक्रमित सम्पर्कविहीन

नेपालगञ्ज : बाँकेमा कोरोना सङ्क्रमण पुष्टि भएका १२ जना सङ्क्रमित सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन हुँदा समुदायमा झनै सङ्क्रमणको जोखिम बढ्दै गएको स्वास्थ्य कार्यालय बाँकेका स्रोत व्यक्ति नरेश श्रेष्ठले बताए । उनका अनुसार भेरी अस्पतालबाट स्वाब सङ्कलन गरी साउन २३ गते कोरोना सङ्क्रमण पुष्टि भएका नेपालगञ्ज उपमहानगरपालिका २ का ३४ वर्षीय पुरुष र नेपालगञ्ज ६ की २७ वर्षीया महिला, २४ गते सङ्क्रमण पुष्टि भएका नेपालगञ्ज १२ की २८ वर्षीया महिला र नेपालगञ्ज १८ का ३५ वर्षीय पुरुष सम्पर्कमा आएका छैनन् । यसैगरी साउन २४ गते सङ्क्रमित भएकी नेपालगञ्ज १९ की ११ वर्षीया बालिका, १९ कै २४ वर्षीय पुरुष, नेपालगञ्ज १६ की १२ वर्षीया बालिका सम्पर्कविहीन रहेकाले खोजी कार्य भइरहेको छ । उनीहरू महेन्द्र बहुमुखी क्याम्पसको क्वरेण्टीनमा बसेका हुन् तर स्वाब दिएपछि घर गएका थिए । साउन २२ गते वडा प्रहरी कार्यालयबाट स्वाब सङ्कलन गरी २५ गते सङ्क्रमण पुष्टि भएका ४७ वर्षीया महिला, २४ वर्षीया महिला, चार र २ वर्षका दुई बालक, ४२ वर्षीय पुरुष पनि सम्पर्कमा आएका छैनन् । नेपालगञ्ज ११ का २९ वर्षीया महिला पनि सम्पर्कमा नआएको स्रोत व्यक्ति पर्सन श्रेष्ठले बताए । पटकपटक सम्पर्क गर्दा आइसोलेशनमा आउन नचाहने र मोबाइल बन्द गर्ने गरेको पाइएको श्रेष्ठको दाबी छ । यीमध्ये कतिपयको मोबाइल बन्द भएको, कतिपयले नलाग्ने र नमिल्ने सम्पर्क नम्बर दिएको र दिएको नम्बरमा सम्पर्क गर्दा बालकका अभिभावकले हाम्रो बच्चा होइन भन्ने गरेको श्रेष्ठले जानकारी दिए । यसैबीच सोमबार बाँकेका थप १५ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा आज गरिएको परीक्षण रिपोर्टअनुसार दुई चिकित्सक र केही प्रहरीसहित १५ जनामा सङ्क्रमण पुष्टि भएको हो । भेरी अस्पतालले सोमबार मध्याह्न १२ बजे सार्वजनिक गरेको विवरणअनुसार नेपालगञ्ज मेडिकल कलेजका दुई चिकित्सक, वडा प्रहरी कार्यालय नेपालगञ्जमा कार्यरत चार प्रहरीसहित १५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए ।

हँसीमजाक गरी पछार्दा १ जनाको मृत्यु

बुटवल  : रूपन्देहीको सियारी गाउँपालिकामा हँसीमजाक गरी उचालेर पछार्दा १ जनाको निधन भएको छ । सियारी गाउँपालिका-३ सितापुर बस्ने ४० वर्षीय ओमप्रकाश यादवले स्थानीय ५५ वर्षीय जंगबहादुर बेलदारलाई मादक पदार्थ सेवन गरेको समयमा हँसीमजाक गर्दै उचालेर पछार्ने क्रममा गम्भीर घाइते भएका थिए । भुईंमा पछारिँदा ढाड र कम्मरमा गम्भीर चोट लागेका बेलदारको सोमबार दिउँसो मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिए। गम्भीर अवस्था रहे पनि आर्थिक अवस्था कमजोर रहेका कारण उपचारको लागि सुविधायुक्त अस्पतालमा लैजान नसक्दा उनको घरमै मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले घटनामा संलग्न यादवलाई नियन्त्रणमा लिएको जनाएको छ ।

विप्लवका जिल्ला सेक्रेटरीसहित ३ कार्यकर्ता पक्राउ

सुर्खेत : कर्णालीमा नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वका जिल्ला सेक्रेटरीसहित ३ जना कार्यकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको टोलीले चन्दका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको हो । मुगुका सोरु गाउँपालिका-६ का जिल्ला सेक्रेटरी उदय भनिने राजबहादुर भाम र कार्यकर्ताहरु जुम्लाको हिमा गाउँपालिकाका नन्दबहादुर तिरुवा र सपना बुढा पक्राउ परेको प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए । उनका अनुसार पक्राउ परेका चन्दका नेता कार्यकर्ताबाट चन्दा असुल गरेका ठेलीसँगै विभिन्न जनप्रतिनिधिको नामावली, सदस्यता फारम, पार्टीका किताबसमेत बरामद गरिएको थियो ।

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु, महत्वपूर्ण निर्णय हुने सम्भावना

काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । साढे ६ बजेपछि सुरु भएको बैठकले कोरोना सम्बन्धि केही महत्वपूर्ण निर्णय गर्न सक्ने अनुमान गरिएको छ । यसअघि सरकारले भदौ १ गतेदेखि विद्यालय भर्ना, लामो दूरीका सवारीसाधन र आन्तरिक एवं बाह्य उडान खुला गर्ने निर्णय गरेको थियो । तर, आजको बैठकले उक्त समयावधि थपका विषयमा निर्णय गर्न सक्ने एक मन्त्रीले बताए । पछिल्लो पटक कोरोेना भाइरस संक्रमण बढ्दै गएपछि आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले विद्यालय भर्ना, लामो दूरीका सवारीसाधन र आन्तरिक एवं बाह्य उडान शुरू गर्ने निर्णय १५ दिन पछि सार्न प्रस्ताव गरेको छ ।

नेपालमा थप १ कोरोना संक्रमितको मृत्यु

काठमाडौंः कोरोना भाइरस संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । ललितपुरको ग्वार्खोस्थित किष्ट अस्पतालमा उपचाररत ५० वर्षीय महिलाको कोरोनाबाट मृत्यु भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले रातोपाटीलाई जानकारी दिए । काभ्रे निवासी ती महिला साउन २५ गते अस्पतालमा भर्ना भएकी थिइन् भने उनको आज बिहान ९ बजे मृत्यु भएको थियो । मृतकमा निमोनियका साथै छातीको समस्या देखिएको थियो भने उनको आज दिउँसो ४ बजेतिरमात्रै पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । नेपाली सेनाले उनको शव व्यवस्थापनको तयारी थालेको अस्पतालले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८० पुगेको छ । आजै स्वास्थ्य मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा थप ४ जनाको मृत्यु भएको जानकारी गराइएको थियो ।  

आज कहाँ-कहाँ थपिए कोरोना संक्रमित? (विवरणसहित)

काठमाडौं : सोमबार देशभर नेपालमा ३ सय ३८ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । योसँगै नेपालमा संक्रमितको संख्या २३ हजार ३ सय १० पुगेको छ । सोमबार झापाका १, खोटाङका २, मोरङका १४, धनुषाका १३, महोत्तरीका ३, बाराका ३, पर्साका २२, काठमाडौँका ३६, ललितपुरका ४, नुवाकोटका ४, रौतहटका ३१, सर्लाहीका २१ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै, सिन्धुपाल्चोकका १, मोरङका १, मकवानपुरका २३, सिन्धुलीका ६, अछामका १, अर्घाखाँचीका १, बागलुङका १, भक्तपुरका ४, चितवनका १, गोर्खाका ३, पाल्पाका १, रामेछापका १, स्याङजाका १, तनहुँका २, नवलपरासीका २ जना रहेका मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए । यस्तै प्युठानका १५, रुपन्देहीका १, कपिलवस्तुका ११, बाँकेका ६३, बर्दियाका २, दाङका ५, कैलालीका ७, सल्यानका १, रोल्पाका १, सल्यानका ६, सुर्खेतका १, दैलेखका १७, बैतडीका १ तथा बझाङका १ जना संक्रमित थपिएका हुन्। त्यस्तै, गत २४ घण्टामा देशभर कोरोना संक्रमणबाट १ सय ४० संक्रमित मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना जित्नेको कूल संख्या १६ हजार ७९३ पुगेको छ । कोरोना संक्रमण रोक्न फेरि कडाई, खुल्ला नाका पूर्ण बन्द नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ पुग्यो

कोरोना संक्रमण रोक्न फेरि कडाई, खुल्ला नाका पूर्ण बन्द

बुटवल : कोरोनामुक्त हुने अन्तिम चरणमा पुगेर पनि फेरि जोखिम देखिएको प्रदेश-५ का विभिन्न जिल्लामा फेरि कडाई गर्न थालिएको छ । लकडाउन खुकुलोसँगै फेरि उच्च चोखिममा परेका बाँके, रुपन्देही लगायतका जिल्लामा जिल्ला प्रशासन र स्थानीय सरकारले कडाई गर्दै उच्च सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरेका छन् । समुदायस्तरमै सङ्क्रमण देखिन थालेपछि रुपन्देहीमा जिल्ला संकट व्यवस्थापन केन्द्रले बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म पसल खुल्ला गर्ने निर्णय गरेको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थका अनुसार जिल्लामा बेलहिया बाहेकका सबै नाकाहरुमा आवतजावतमा पूर्ण रोक लगाइएको छ । केन्द्रको बैठकले शंकास्पद व्यक्तिलाई राख्न प्रत्येक पालिकामा क्वारेन्टाईन व्यवस्थापन गर्न निर्देशन दिएको छ । यस्तै जिल्लाका कुनै पनि स्थानमा हाट बजार सञ्चालन गर्न रोक लगाईएको छ । प्रजिअ पन्थले बढी भिडभाड हुने, भेला, सम्मेलन, भोज भतेरलगायतका कार्य नगर्न नगराउन पनि संकट व्यवस्थापन केन्द्रले निर्णय गरेको बताए ।

प्यूठानमा १४ सेनासहित २३ मा कोरोना पुष्टि

प्यूठान : प्यूठानमा नेपाली सेनाका १४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । जिल्लास्थित इन्द्रध्वज गणमा कार्यरत १४ जना सैनिकलाई सङ्क्रमण देखिएको हो । त्यसैगरी जिल्ला प्रहरी कार्यालय प्यूठानको हिरासतमा रहेका एक जना थुनुवालाई समेत सङ्क्रमण भएको छ । त्यसबाहेक स्वर्गद्धारी नगरपालिकामा ६ जना, मल्लरानी गाउँपालिकाका एक जना व्यक्तिमा कोरोना देखिएको छ । एक जनाको ठेगाना खुल्न बाँकी रहेको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले बताए । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा एकै दिन २३ जनामा कोरोना सङ्क्रमण देखिएको हो । ३ जना महिला र २० जना पुरुष रहेका छन् । उनीहरूको उमेर १२ देखि ४६ वर्षसम्मको रहेको छ ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ पुग्यो

काठमाडौं  : गत २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौंका २ तथा बाँके र पर्सामा १/१ जना रहेका छन् । काठमाडौं महानगरपालिका-१० मध्यबानेश्वर बस्ने ७६ वर्षीय पुरुषको मेडिकेयर अस्पतालमा र काठमाडौंको कीर्तिपुर ट्याङ्लाफाट बस्ने ६४ वर्षीय पुरुषको आज मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यस्तै, बाँकेको कोहलपुर नगरपालिका-२ का ७० वर्षिया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहपुरमा उपचारका क्रममा आइतबार निधन भएको उनले बताए । २३ गते अस्पताल भर्ना भएकी महिला उच्च रक्तचापकी विरामी थिइन् । यस्तै, पर्साको देवयानी-१५ का ४५ वर्षीया महिलाको साउन २५ गते नारायणी अस्थायी कोभिड अस्पतालमा निधन भएको उनले बताए । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।

थप ३३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २३ हजार ३ सय नाघ्यो

काठमाडौं : नेपालमा सोमबार थप ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुल संक्रमितको संख्या २३ हजार ३ सय १० पुगेको छ । नेपालमा अहिले संक्रिय संक्रमितको ६ हजार ७ सय ३८ जना रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ सय ४० जना डिस्चार्ज भएका छन्। कुल डिस्चार्ज हुनेको संख्या भने १६ हजार ४ सय ९३ पुगेको छ । अहिले क्वारेन्टाइनमा १० हजार ७ सय ५९ जना रहेका छन् । मन्त्रालयका अनुसार नेपालमा ५ सय बढी संक्रमित हुने जिल्ला पर्सा, रौतहट, महोत्तरी र काठमाडौं हुन् । अहिले कोरोना संक्रमण शून्य हुने जिल्लाको संख्या भने ६ पुगेको छ ।