३६ सङ्क्रमितले जिते कोरोना

वीरगञ्जः पर्साको वीरगञ्जमा उपचाररत ३६ जना कोरोना सङ्क्रमित निको भएर शुक्रबार साँझ डिस्चार्ज भएका छन् ।

वीरगञ्जको नारायणी अस्पताल अन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालमा उपचाररत ८ जना र वीरगञ्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा उपचाररत २८ जना गरी ३६ सङ्क्रमित डिस्चार्ज भएका हुन् ।

जिल्ला प्रशासन कार्यालय पर्साले उपलब्ध गराएको तथ्यांकअनुसार शुक्रबार साँझसम्म पर्सामा एक हजार एक सय ६८ जनामा कोरोना सङ्क्रमित पुष्टि भएको छ ।  तीमध्ये २६ जनाको मृत्यु भइसकेको छ ।

त्रिभुवन राजपथ सञ्चालनमा

टिस्टुङ: पहिराेका कारण अवरुद्ध त्रिभुवन राजपथ शुक्रबार साँझबाट पुनः सञ्चालनमा आएको छ । सडक विभागको डोजरले पहिरो हटाएपछि राजमार्ग पुनःसञ्चालनमा आएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले जानकारी दिए । सडक पुनः सञ्चालन भएपछि राजपथमा अलपत्र भएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् । मकवानपुरको थाहा नगरपालिका–१२ गैरीगाउँस्थित ढुङ्गाखानीमा पहिरो खसेपछि एक जनाको मृत्यु हुनुको साथै एक्साभेटरसहित चार गाडी पुरिएका थिए । पहिरोले सडक अवरुद्ध भएको थियो ।

भारतमा कोरोनाको नयाँ रेकर्ड

काठमाडौंः पछिल्लो २४ घण्टामा भारतमा विश्वकै सबैभन्दा बढी संक्रमित थपिएका छन् । त्यहाँ शुक्रबार ६५ हजार ६१० जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन् । साथै उक्त अवधिमा भारतमा ९९० जनाको मृत्यु हुँदा ५६ हजार ९२० जना निको भएका छन् । योसँगै यो समाचार तयार पार्दासम्म भारतमा संक्रमितको संख्या २५ लाख २५ हजार २२२ पुगेको छ भने ४९ हजार १३४ जनाको मृत्यु भएको छ । १८ लाख सात हजार ५५६ जना निको हुँदा संक्रमित संक्रमित संख्या छ लाख ६८ हजार ४४ रहेको छ । शुक्रबार अमेरिकामा ६० हजार ६ सय जनाको संक्रमित थपिँदा एक हजार एक सय २० जनाको मृत्यु भयो र योसँगै त्यहाँ संक्रमितको संख्या ५४ लाख ७६ हजार २६६ पुग्दा एक लाख ७१ हजार ५३५ जनाको मृत्यु भएको छ । त्यस्तै, शुक्रबार ब्राजिलमा ४९ हजार २४७ जना संक्रमित थपिँदा एक हजार सात जनाको मृत्यु भएको छ । योसँगै त्यहाँ संक्रमितको संख्या ३२ लाख ७८ हजार ८९५ पुग्दा एक लाख छ हजार ५७१ जनाको मृत्यु भएको छ ।

यी हुन् आजदेखि काठमाडौं उपत्यकामा गर्न नपाइने ११ गतिविधि (सूचीसहित)

काठमाडौंः काठमाडौं उपत्यकामा भेला हुन, प्रदर्शन गर्न र पारिवारिक जमघटमा पनि रोक लगाउने निर्णय गरिएको छ । शुक्रबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले खुला स्थानमा भेला हुने, भिडभाड गर्ने र सभाजुलुस गर्न निषेध गर्ने निर्णय गरेको हो । शुक्रबार राति १२ बजेदेखि भदौ १५ गते राति १२ बजेसम्मको लागि सो प्रतिबन्ध लगाइएको तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले शुक्रबार साँझ जारी गरेको छुट्टाछुट्टै आदेशमा उल्लेख गरिएको छ । ‘कोभिड १९ को संक्रमण नियन्त्रण तथा रोकथामका लागि तत्काल थप सतर्कता अपनाउनका साथै नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्नेरगराउने सन्दर्भमा मिति २०७७/०४/३० गते राति १२ बजेदेखि मिति २०७७/०५/१५ राति १२ बजेसम्मका लागि काठमाडौं जिल्लाभरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम देहायबमोजिमका गतिविधिहरू गर्ने निषेध गर्ने गरी आदेश गरिएको छ,’ तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेशमा भनिएको छ ।

काठमाडौंको मनमैजुमा छुरा प्रहार गरी युवकको हत्या

काठमाडौं : मनमैजुको मितेरी पुल नजिक छुरा प्रहार गरेर १ युवकको हत्या भएको छ। महानगरीय प्रहरी अपराध महाशाखा स्रोतका अनुसार छुरा प्रहारबाट लक्ष्मण तामाङको मृत्यु भएको हो। छुरा प्रहारबाट गम्भीर घाइते भएका लक्ष्मणको उपचारका लागि ग्रिनसिटी अस्पताल लैजाँदैे गर्दा मृत्यु भएको हो। महाशाखाका अनुसार लक्ष्मण र दोर्जे शेर्पाका समूहका तीन तीन जना युवाहरु मादक पदार्थ पिउँदै थिए। मादक पदार्थ पिउने क्रममा उनीहरुबीच विवाद हुँदा छुरा प्रहार भएपछि गम्भीर घाइते भएका लक्ष्मणको मृत्यु भएको हो। छुरा प्रहार गर्ने दार्जेलगायतका व्यक्ति फरार भएको र उनीहरुको खोजी सुरु गरिएको महाशाखा स्रोतले नेपाल लाइभलाई जानकारी दिएको छ।

सर्वोच्च अदालतको सेवामा कटौती गर्ने निर्णय

काठमाडौं : सर्वोच्च अदालतले कोभिड-१९ को सङ्क्रमण बढ्दै गएर न्यायाधीशका निजी सुरक्षाकर्मीमा समेत सङ्क्रमण देखिएपछि आगामी भदौ १५ गतेसम्मका लागि सेवा कटौती गर्ने भएकोे छ । अदालतले आज सूचना जारी गरी बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता र सुनुवाइ, संवेदनशील विषय, तत्काल सुनुवाइ हुनुपर्ने रिटको दर्ता तथा सुनुवाइ एवं मुद्दा फिर्ता र मिलापत्रका काम मात्र गर्ने जनाएको हो । सूचनामा भनिएको छ, ‘काठमाडौं उपत्यकामा समेत सङ्क्रमण बढ्दै गएको र परीक्षणबाट यस अदालतका कर्मचारी, न्यायाधीशका निजी सुरक्षाकर्मी समेतमा सङ्क्रमण देखिई माननीय न्यायाधीशहरू नै होम क्वारेन्टाइनमा रहनु परेको अवस्था छ,’ सूचनामा भनिएको छ, ‘यस परिस्थितिमा सेवाप्रवाहमा संकुचन ल्याउन आवश्यक रहेको विषयमा नेपाल बार एशोसिएसन तथा सर्वोच्च अदालत बार एशोसिएसनबाट समेत अनुरोध भई आएको छ ।’ काठमाडौं उपत्यकाका हकमा भने यही ८ साउनदेखि सुरु भएको हदम्याद, म्याद र तारिखमा उपस्थित हुने व्यवस्था मिलाइएको सूचनामा उल्लेख छ ।

अख्तियार प्रमुख घिमिरेलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नविन घिमिरेलाई कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । स्रोतका घिमिरेलाई मंगलबार कोरोना पोजिटिभ देखिएको हो । केही सातायता अख्तियार केन्द्रीय कार्यालय, टंगालमा काम गर्ने तीन दर्जन सुरक्षाकर्मी र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतबाट श्रम गर्न नेपाल प्रवेश गर्न नपाइने

काठमाडौं : अब भारतबाट श्रम गर्न नेपाल प्रवेश गर्न नपाइने भएको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको जानकारी दिए । कोरोना जोखिमकै बेलामा सीमा क्षेत्रमा मानवीय आवाजावत बढ्दा संक्रमण फैलिएकाले यस्तो निर्णय गरिएको प्रवक्ता खतिवडाले बताए । भारतसँग सीमा जोडिएको जिल्लामा बढ्दो आवाजावतले जोखिम बढेको सरकारको दाबी छ ।

भारतबाट अब १० सीमा नाकाबाट मात्रै नेपाल प्रवेश गर्न पाइने

काठमाडौं : भारतबाट नेपाल प्रवेश गर्न चाहने नेपालीका लागि १० वटा सीमा नाका मात्रै खुला गरिने भएको छ । यसअघि १२ जेठको मन्त्रिपरिषद्का बैठकले २० वटा सीमा नाकाबाट प्रवेश अनुमति दिएकोमा अहिले घटाएर १० वटा सीमा नाका कायम गरिएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए । झापाको काँडडभिट्टा, मोरङको रानी, सिरहाको मार्डर नाका, रौतहटको गौर नाका, पर्साको वीरगन्ज, रुपन्दहीको बेहलिया, कपिलवस्तुको कृष्णनर, बाँके जमुनाहा, कैलालीको गौरिफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट मात्रै नेपाल प्रवेश गर्न दिइने निर्णय भएको प्रवक्ता खतिवडाले जानकारी दिए । कोरोना संक्रमणको जोखिमका कारण अन्य नाकाबाट भने नेपाल प्रवेश गर्न नदिने सरकारको निर्णय छ ।

काठमाडौं उपत्यकामा थपिए एकैदिन १३४ कोरोना संक्रमित

काठमाडौं : काठमाडौं उपत्यकामा आज १ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकामा यो संख्या २४ घण्टामा देखिएको अहिलसम्मकै बढी हो । उपत्यकामा सोमबार जम्मा ४२ जना संक्रमित थपिएकोमा मंगलबार उपत्यकमा तीन गुणाभन्दा बढी संक्रमित थपिएका हुन् । आज देशभर ६ सय ३८ जनामा कोरोना पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभर ६३८ जनामा संक्रमण पुष्टि भएको बताए । पछिल्लो २४ घण्टामा १७१ संक्रमणमुक्त भएका छन् भने कुल निको हुनेको संख्या १६ हजार ६६४ पुगेको छ । हाल देशभर ७ हजार २०१ सक्रिय संक्रमित छन् भने कुल संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ ।

नेपालमा आज ६३८ जनामा कोरोना संक्रमण

काठमाडौं : नेपालमा मंगलबार थप ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुल संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको छ । अहिले देशभर ७ हजार २ सय १ जना संक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ सय ७१ जना डिस्चार्ज भएका छन्। कुल डिस्चार्ज हुनेको संख्या भने १६ हजार ६ सय ६४ पुगेको छ ।

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई यी संस्थामा मिल्छ छुट

काठमाडौंः मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरुलाई अझ उत्कृष्ट सेवा प्रदान गर्नका लागि विभिन्न व्यवसायिक संस्थाहरुसँग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । मुक्तिनाथ बैंकले विभिन्न प्रतिष्ठित व्यवसायिक संस्थाहरुसँग सहकार्य गरेको छ, जसअन्तर्गत, नेपमेड्स अनलाइन फार्मेसी, इजी केयर अनलाइन फार्मेसी, अल्मा आर्टस्, बाजेको सेकुवा रहेका छन् । यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्ड वाहक तथा मोवाईल बैंङ्किङ प्रयोगकर्ता ग्राहकहरूले उल्लेखित कम्पनीहरुबाट सेवा सुविधा लिदा १ सय ५५ सम्मको छुट पाउने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

सांसद यादवले १२ दिनमै जिते कोरोना

काठमाडौंः पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सांसद प्रदीप यादव कोरोनामुक्त भएका छन् । १२ दिनपछि उनी कोरोनामुक्त भएका हुन् । आफूले शारीरिक व्यायाम र घरेलु उपचार गरेकाले चाँडै कोरोनामुक्त भएको र अझैं एक हप्तासम्म घरमै बस्ने उनले बताएका छन् । यादवसँगै संक्रमण पुष्टि भएका उनका पिएसओ र चालकको भने दोस्रो रिपोर्ट पनि पोजिटिभ आएको छ ।

गोंगबु हत्या प्रकरणः यस्तो छ नालीबेली !

काठमाडौंः गोंगबुमा भएको विभत्स हत्यामा संलग्न एक महिलालाई प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका–७ घर भई हाल काठमाडौंको टोखा नगरपालिका वडा–१० नवज्योति मार्ग बस्दै आएकी ३७ वर्षीया कल्पना मुडभरी पौडेल रहेकी छन् । उनले केही केही टेलिशृंखलामा अभिनय समेत गरेकी थिइन् । उनलाई रोल्पा रून्तीगढी गाउँपालिका वडा नं. ७ घर भई हाल गोंगबुस्थित एक होटलमा बस्दै आएका बर्ष ४५ का कृष्ण बहादुर बोहोराको हत्या आरोपमा सोमबार बेलुका चितवनबाट पक्राउ गरिएको थियो । राति नै काठमाडौं ल्याएर प्रहरीले मंगलबार बिहान पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । सम्बन्धित समाचारः गोंगबुमा कृष्णबहादुरको किन र कसरी भयो विभत्स हत्या ? सोमबार बिहान काठमाडौंको गोंगबुमा सुटकेसभित्र टाउको र खुट्टाविनाको बोहोराको शव भेटिएको थियो । त्यसको केही मिटर पर जेब्रा झोलाभित्र टाउको र खुट्टा फेला परेको थियो । यस्तो छ नालीबेली – मिति २०७७।०४।२५ गते बिहान अन्दाजी ०७:०० बजेको समयमा टोखा न.पा. वडा नं. १० नवज्योति मार्गमा रातो प्लाष्टीकले बेरेको, बोराको नाम्लो सहित कालो रंगको सुटकेश भित्र टाउको र खुट्टा बिनाको पुरुषको शव फेला परेको । – तत्काल तालिम प्राप्त जो जो नामको Tracking Dog परिचालन गर्दा टाउको र खुट्टा पोको पारी फालेको अवस्थामा अन्दाजी ३०० मिटर पूर्व उत्तर रहेको स्वर्गद्वारी मार्गको खाली जमीनको कुनामा फेला परेको । – मृतक पहिचानका लागि मिति २०७७।०४।२६ गते मृतकको फोटो सामाजिक संजाल तथा मिडिया मार्फत सार्वजनिक गरिएको । – मिति २०७७।०४।२६ गते मृतकको मामा नाता पर्ने ब्यक्ति आई मृतकको सनाखत गरेको । – मृतक जिल्ला रोल्पा रून्तीगढी गाउँपालिका वडा नं. ७ घर भई हाल गोंगबु स्थित एक होटलमा बस्दै आएका बर्ष ४५ का कृष्ण बहादुर बोहोरा भन्ने यकीन भएको । – निज मृतक बिगत ८ महिना देखि उक्त होटलमा बस्दै आएको । – मृतक र अभियुक्त बीच करिव ३।४ बर्ष देखि फेसबुक मार्फत चिनाजानी भई सम्पर्कमा रहेको । – मृतक कृष्ण बहादुर बोहोरा अभियुक्तको कोठामा बेला बेलामा आई भेट्ने गरेको । – मृतकले अभियुक्तको फोटो राखी फेक फेसबुक आई.डी. खोली चलाउने गरेको भन्ने बुझिएको र आफु अनुकुल चल्नको लागि दबाब दिने गरेको । – मृतक घटनाको दिन आफु बसेको होटलबाट बा ७२ प ५६४४ नं. को स्कुटी प्रयोग गरी अभियुक्तको कोठामा आएको । – मृतकलाई अभियुक्तले दही, चिउरा, मासु र भोड्का खान दिएको । – अभियुक्तले दहीमा ५ वटा निन्द्राको औषधी (sleeping tablet- Triad 10 mg) मिसाई खान दिएको । उक्त खानेकुरा खाएपछि मृतक लठ्ठ परी सुतेको मौकामा फलामको मारतोल (ह्याम्मर) ले मृतकको अण्डकोषमा प्रहार गरेको । तत्पश्चात मृतकलाई सलको प्रयोग गरी घाटीमा थिचेको र मरेको यकीन गरेको । – धारिलो हतियार प्रयोग गरी टाउको र खुट्टा छिनाई झोलामा राखी आफैले फालेको । शवको बाँकी भाग कालो रंगको सुटकेशमा राखी पश्चिम बाटोको छेउमा फाली कोठामा फर्की आई बसेको । – मिति २०७७।०४।२५ गते बेलुकी बिरामी लिएर काठमाण्डौ आई फर्कन लागेको चिनेजानेको एम्बुलेन्स ड्राईभरलाई फोन गरी भाडा तिरी सोही एम्बुलेन्सबाट चितवन तर्फ गएको । – अनुसन्धानको क्रममा निज कल्पना मुडभरी (पौडेल) घटनामा संलग्न भएको र निजको छोरी शव ब्यबस्थापनमा संलग्न रहेको खुल्न आएकोले पक्राउको लागि प्रहरी परिचालन भएको । – निजहरुलाई खोजतलाशको क्रममा जिल्ला प्रहरी चितवनको समन्वयमा पक्राउ गरिएको । हालसम्मको प्रारम्भिक अनुसन्धानमा Crime Scene, Victim & Suspect को बीचमा Technically & Physically सम्बन्ध स्थापना भएको । थप अनुसन्धान कार्य भईरहेको । घटनास्थलबाट बरामद भएका सामानहरु – घटनामा प्रयोग भएको धारिलो हतियार – हिर्काउन प्रयोग भएको ह्याम्मर – रगत लतपतिएको पञ्जा, म्याट्रेसको टुक्रा – घाँटी कस्न प्रयोग गरेको कालो रंगको सल – सुटकेशको ह्याण्डल, नाम्लोमा प्रयोग भएको डोरीको टुक्रा – मृतकले लगाएका तथा झोलामा रहेका मृतकका कपडाहरु – स्लिपीङ ट्यावलेटको खोल – मोबाईल सेटहरु

गोंगबुमा कृष्णबहादुरको किन र कसरी भयो विभत्स हत्या ?

काठमाडौंः गोंगबुमा भएको विभत्स हत्यामा संलग्न महिलालाई प्रहरीले सार्वजनिक गरेको छ । चितवनबाट सोमबार बेलुका पक्राउ परेकी कल्पना मुडभरी पौडेललाई प्रहरीले मंगलबार बिहान काठमाडौं ल्याएर पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । ३७ वर्षीया कल्पना चितवनको कालिका नगरपालिका–७ घर भई हाल काठमाडौंको टोखा नगरपालिका वडा–१० नवज्योति मार्ग बस्दै आएकी थिइन् । उनले केही केही टेलिशृंखलामा अभिनय समेत गरेकी थिइन् । प्रहरीलाई दिएको बयानमा कल्पनाले रोल्पाका कृष्णबहादुर बोहोराको हत्या गरेको स्वीकार गरेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए । कृष्णबहादुरले फेसबुकमा नांगो फोटो राखेपछि रक्सीमा हालेर स्लिपिङ ट्याबेलट खुवाएको र बोहोराको अण्डकोषमा हानेर हत्या गरेको खुलेको ज्ञवालीले बताए । महानगरीय अपराध महाशाखा महाशाखाका एसएसपी दीपक थापाका अनुसार हत्यापछि शव व्यवस्थापन गर्न भण्डारीले टाउको र खुट्टा काटेकी थिइन् । हत्याको मुख्य कारण यौन शोषण र नांगो तस्बिर फेसबुकमा हालेको भन्ने नै देखिएको उनले बताए । कल्पना र कृष्णबहादुरबीच चार वर्षअघि फेसबुकबाट चिनजान भएपछि नजिक भएका थिए । सोमबार बिहान काठमाडौंको गोंगबुमा सुटकेसभित्र टाउको र खुट्टाविनाको शव भेटिएको थियो । त्यसको केही मिटर पर जेब्रा झोलाभित्र टाउको र खुट्टा फेला परेको थियो ।

यी हुन् काठमाडौंमा सिल गरिएका क्षेत्र (सूचीसहित)

काठमाडौंः लकडाउन खुलेसँगै देशका मुख्य शहरमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । काठमाडौं उपत्यकामा कोरोना संक्रमित बढेपछि मानिसको अत्याधिक भीड हुने क्षेत्रहरु सिल गरिएको छ । शुक्रबार मध्यरातिदेखि उपत्यकाको पहिलो व्यापारीक केन्द्र असन, इन्द्रचोक, टेकु र न्यूरोड क्षेत्र सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार शुक्रबार राति १२ बजेदेखि यी व्यापारिक क्षेत्रहरु सिल गरिएका छन् । शुक्रबार काठमाडौं जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले कोरोना संक्रमित भेटिएका तथा अति जोखिम क्षेत्रहरु सिल गर्ने निर्णय गरेको थियो । त्यस्तै, काठमाडौंको महानगरपालिका–५ स्थित कोटाल टोलमा कोरोना सङ्क्रमण बढेपछि त्यस क्षेत्रलाई शनिबारदेखि सिल गरिएको छ । गहनापोखरीबाट पूर्वतर्फ पर्ने हाँडीगाउँको कोटाल टोलमा कोरोना संक्रमितहरु फेलापरेपछि गहनापोखरी–हाँडीगाउँ क्षेत्र पनि शनिबार ‘सिल’ गरिएको छ । महानगरपालिका वडा नम्बर ५ का अध्यक्ष रमेश डङ्गोलका अनुसार प्रहरीसहित स्थानीयवासीमा कोरोना सङ्क्रमण देखिएपछि टोललाई नै सिल गरिएको हो । प्रहरी टोली नै तैनाथ गरी अहिले सो क्षेत्रमा आवागमनसमेत बन्द गरिएको छ । काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित असर्फी टोलमा कोरोना भाइरस संक्रमित बढेपछि उक्त टोल सिल गरिएको छ । साउन १८ गते किराना पसल सञ्चालक चार जनामा कोरोना पुष्टि भएपछि आसपासका घरमा बस्नेको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्दा थप १३ जनामा कोरोना देखिएको थियो । संक्रमण थप नफैलियोस् भनेर एउटा गल्ली पूर्ण रूपमा सिल गरिएको र अरू गल्लीमा पनि आवागमन नगर्न भनिएका छ । कोरोना देखिएका अधिकांश मानिस कोठा भाडामा लिएर बस्नेहरू हुन् । उनीहरूमध्ये कतिपय मजदुरी गर्छन् । एभरेस्ट बैंकका दुई कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि बैंक सिल गरिएको छ। हालसम्म काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ११७९ पुगेको छ । सबैभन्दा बढी काठमाडौंमा छन् । लकडाउन खुकुलो भएसंगै उपत्यकामा ह्वात्तै बढेको छ । संक्रमण बढेको भन्दै गृह मन्त्रालयले बिहीबारदेखि उपत्यकामा तीनवटै जिल्लामा सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गरेको छ । राति ७ बजेदेखि बिहान ७ बजेसम्म उपत्यका प्रवेशका रोक लगाइएको छ । उपत्यकाका विभिन्न क्षेत्र सिल गरिएका छने भने आइतबारदेखि सटलकडाउन लागू भएको छ ।