वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका परिमार्जन गरिन्छ : शिक्षामन्त्री पोखरेल

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राप्त सुझावका आधारमा वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका-२०७७ लाई परिमार्जन गरिने जनाएका छन् । अनलाइन, रेडियो, टेलिभिजन र अफलाइन शिक्षाका लागि गत जेठ १८ गते सो निर्देशिका जारी गरिएको थियो ।

वैकल्पिक सिकाइबारे मन्त्रालयले आज आयोजना गरेको प्रदेश-१, २, वाग्मती प्रदेश र प्रदेश-५ अन्तर्गतका सामाजिक विकास मन्त्रालयका प्रतिनिधि, स्थानीय तहका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, स्थानीय तहका शिक्षा शाखा प्रमुख, शिक्षा विकास तथा समन्वय एकाइका प्रमुखसँगको भर्चुअल संवाद कार्यक्रममा मन्त्री पोखरेलले आपत्कालका नाममा बालबालिकाको विकास र सिकाइमा सम्झौता गर्न नसकिने भएकाले सिकाइ निरन्तरता दिन आग्रह गरे ।

मन्त्री पोखरेलले पाठ्यक्रमले निर्धारण गरेको समयावधिलाई सङ्कुचनमा ल्याएर भए पनि शैक्षिकसत्रलाई खेर जान नदिइने उल्लेख गर्दै संविधानतः विद्यालय शिक्षाको जिम्मेवारी स्थानीय तहको भएकाले यसको व्यवस्थापनमा पनि स्थानीय तहको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे ।

छलफलमा शैक्षिकसत्र २०७७ लाई जुनसुकै विकल्प खोजी गरेर भए पनि खेर जान नदिन, विभिन्न स्थानीय तहले वैकल्पिक सिकाइ सहजीकरणका लागि गरेका असल अभ्यासको अर्को स्थानीय तहले अनुशरण गराउन सुझाव दिइएको मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले जानकारी दिए ।

गणेश रथयात्रा स्थगित, घरमै गणेशको पूजा आराधना

काठमाडौं : गणेश चतुर्थीका अवसरमा विसं २०६६ देखि राष्ट्रिय धर्मसभा नेपालले गणेश रथयात्रा गर्दै आएकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण स्थगन गरिएको छ । गणेश चतुर्थीका दिन उपत्यकाका चार गणेशलगायत अन्य गणेशस्थानमा पूजा आराधना गरी रथयात्रा भने भाद्र शुक्ल पञ्चमीका दिन गर्ने गरिएको थियो । यस वर्ष भदौ ७ गते आइतबार ऋषिपञ्चमीका दिन गरिने रथयात्रा कोरोनाबाट बच्न काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञाका कारण स्थगन गरिएको धर्मसभाका अध्यक्ष प्रा डा माधवप्रसाद भट्टराईले राससलाई जानकारी दिए । धर्मसभाले सुरु गरेपछि उपत्यकालगायत देशभरका गणेश मन्दिरमा रथयात्रा हुन थालेको छ । धर्मसभाले शुरु गरेपछि विसं २०६५ देखि भाद्र शुक्ल चतुर्थीका दिन राजधानीलगायत देशभर गणेश भगवान्को बृहत्रुपमा पूजा आराधना शुरु भएको छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिएकामा यस वर्ष काठमाडौं उपत्यकामा कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण भक्तजनले घर घरमै पूजा आराधना गरेका छन । शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ । आज हरितालिका ९तीज० को व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा. रामचन्द्र गौतमले जानकारी दिए । भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका बर्तालुले चतुर्थीका दिन जीवनमा विघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ । बिहान हरितालिका (तीज) को व्रत समापनका लागि पारायण गरी मध्याह्नकालमा गणेशको पूजा आराधना गरी अघ्र्य दिनुपर्ने विधि घर घरमै यो कर्म गरिएको हो । यस अवसरमा केही मानिसले भने गणेश चतुर्थीको व्रत समेत गर्छन् । मङ्गल चतुर्थीसमेत भनिने आजका दिन नेवार समुदायले चथा पर्वका रूपमा मनाउँछन् । यस दिन बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने चलन रहेको छ । आजका दिन विधिपूर्वक भगवान् गणेशको पूजा आरधना गरेमा वषैभर कुनै विघ्नबाधा पर्दैन भन्ने धार्मिक विश्वास छ ।

लिदी पहिरो : मृतकको संख्या २९ पुग्यो, ११ जना अझै बेपत्ता

सिन्धुपाल्चोक : जिल्लाको जुगल गाउँपालिका-२ लिदीमा शुक्रबार गएको पहिरामा पुरिएर मृत्यु हुनेको सङ्ख्या २९ पुगेको छ । आज १८ वर्षीया ललिता दोङ, ४२ वर्षीया बिबीरानी दोङ, ५ वर्षीय सानुकान्छा दोङ र ४४ वर्षीय हीराबहादुर दोङको शव भेटिएपछि मृतकको सङ्ख्या बढेको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिनुभयो । पहिरामा बेपत्ता १० जनाको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा खोजी भइरहेको प्रहरीले जनाएको छ ।

खरिपाटीको क्वारेन्टिन बन्यो २०० शैय्याको आइसोलेशन

भक्तपुरः सरकारले कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानबाट उद्धार गरेर ल्याएका नेपालीलाई राख्न गत फागुनमा तयार पारेको भक्तपुरको खरिपाटीस्थित क्वारेन्टिनलाई आइसोलेशनमा परिणत गरिएको छ । चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टिनलाई २०० शैय्याको आइसोलेशन बनाएर सञ्चालनमा ल्याएको हो । सरकारले कोरोना हब अस्पतालको रुपमा राखेको भक्तपुर अस्पताललाई ५०० शैय्याको आइसोलेशन तयार पार्न भनेपछि प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको नेतृत्वमा बीरदल गण सूर्यविनायकको सहयोगमा खरिपाटी क्वारेन्टिन भवनलाई आइसोलेशनका रुपमा परिणत गरेकोे भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. सुमित्रा गौतमले बताए । हाल २०० शैय्याको आइसोलेशन तयार भएपनि तत्काल १०० शैय्या सञ्चालनमा ल्याएको जानकारी दिँदै मेसु डा. गौतमले भनिन्, ‘सङ्घीय सरकार र बाग्गती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र मन्त्री युवराज दुलालको अगुवाइमा खरिपाटीस्थित क्वारेन्टिनलाई आईसोलेशन सञ्चालन गरेका हांै, उहाँबाट जनशक्ति पनि पठाईदिने आश्वासन प्राप्त भएको छ ।’ आईसोलेशनमा रहेको ८ शैय्या स्वास्थ्यकर्मीलाई छुट्याइएको छ भने २०० शैय्या कोरोना भाइरस सङ्क्रमितलाई राखिनेछ । भक्तपुर अस्पताल, शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पतालको समन्वयमा चिकित्सकसहित ७ जनाको स्वास्थ्य टोली त्यहाँ खटाइएको डा.गौतमले जानकारी दिइन् । भक्तपुर अस्पताल, राष्ट्रिय प्रत्यारोपण केन्द्र र क्यान्सर अस्पतालले पाँचदेखि सातजनाको संयुक्त तीनवटा स्वास्थ्यकर्मीको टिम बनाएर भक्तपुर अस्पताल, यहाँको आईसियू तथा आईसोलेशन र खरिपाटीस्थित आइसोलेशनमा टोली परिचालन गरिएको छ । तीन अस्पतालले एक विशेषज्ञ चिकित्सक, अरु दुई चिकित्सक, दुई नर्स, एक ल्याब टेक्निसियन र एक हेल्परसहित एक टिममा सातजना रहने गरी तीनवटा टिम तयार पारेको छ । भक्तपुर अस्पतालमा तालिम प्राप्त जनशक्तिको अभाव भएकाले राष्ट्रिय प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पतालसँग तालिम प्राप्त जनशक्ति राखेर टिम बनाएको हो । खरिपाटीस्थित आइसोलेशनमा लक्षण नभएका सङ्क्रमितलाई राखिने जानकारी दिदै डा. गौतमले लक्षण भएका र जटिल खालका सङ्क्रमितलाई अन्य अस्पताल पठाईने भएको छ । वीर दल गण सूर्यविनायकबाट खटिएको सेनाले आइसोलेशनको सुरक्षा गरेको छ । नेपाली सेना, स्वास्थ्यकर्मी सहितको ‘कन्ट्रोल रुम’ बाट आइसोलेसनमा बसेकाहरुको निगरानी गर्ने गरिएको छ । गतसोमबार १ जना कोरोना सङ्क्रमित पुरुषलाई राखेर आइसोलेशन शुरु गरिएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भक्तपुर अस्पतालको मेसुको नेतृत्वमा खरिपाटीस्थित आइसोलेशनमा सङ्क्रमितको व्यवस्था गर्ने, शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका प्रमुखको नेतृत्वमा स्वास्थ्यकर्मीको टिम परिचालन गर्ने गरी जिम्मेवारी दिएको जानकारी दिइन् । तत्काल २०० शैय्याको आइसोलेशनको क्षमता रहेपनि सङ्क्रमितको सङ्ख्या बढ्दै गए १०० शैय्या थप गरेर ३०० शैय्यामा विस्तार गर्न सकिने उनले बताइन् । रासस

उपत्यकामा निषेधाज्ञा, के गर्न हुने र के गर्नु नहुने ?

काठमाडौँ: तीन जिल्लामा आजदेखि अत्यावश्यक बाहेकका सबै गतिविधिमा निषेध गरिएको छ । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा प्रमुखको मङ्गलबार बसेको बैठकको निर्णयअनुसार गएराति १२ बजेबाट लागू हुनेगरी अत्यावश्यक बाहेकका गतिविधि निषेध गर्ने गरी आदेश जारी भएको थियो । सोही निर्णय अनुसार रातिदेखि नै आदेश कार्यान्वयनमा आइसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उक्त आदेश भदौ १० गते राति १२ बजेसम्म कायम हुने छ । यो समयमा अत्यावश्यक बाहेक हिंडडुलमा समेत रोक लगाइएको छ । कोभिड–१९ सङ्क्रमणको उच्च बृद्धिका कारण जोखिम बढेको निष्कर्ष निकाल्दै उक्त आदेश जारी गरिएको काठमाडौँका प्रमखु जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो । सङ्क्रामक रोग ऐन २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम आदेश जारी भएको हो । जिल्ला प्रशासन कार्याल काठमाडौँका अनुसार औषधी तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको कामबाहेक कुनै पनि व्यक्ति घरबाट निस्किन पाउने छैनन् । अत्यावश्यक सेवा तथा वस्तुबाहेकका अन्य सबै प्रकारका व्यापार, व्यवसाय सञ्चालन गर्नसमेत निषेध गरिएको छ । अत्यावश्यक सामग्री लगायतका मालबाहक ढुवानीका सवारी साधान, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारीबाहेक काठमाडौँ उपत्यकाभित्र सवारी प्रवेशमा समेत निशेष गरिएको छ । जिल्ला भित्रका सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधनसमेत सञ्चालन गर्न पाइने छैन । के गर्न हुने र के गर्नु नहुने ? कोभिड-­१९ को सङ्क्रमण जोखिम नियन्त्रण तथा त्यसको रोकथाम, उपचार तथा व्यवस्थापनसम्बन्धी कार्यमा खटिने र अत्यावश्यक सेवा भनि नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने अन्य कार्यालयमा आउन र जानुपर्ने राष्ट्रसेवक कर्मचारीको हकमा सम्बन्धित कार्यालय वा निकायले न्यूनतम कर्मचारी सङ्ख्या निर्धारण गरी कार्यालयले जारी गरेको फोटोसहितको परिचयपत्रको आधारमा बिहान ९ बजेदेखि १०ः३० सम्म र बेलुका ३ बजेदेखि ५ः३० सम्म आवागमन गर्न पाउने छन् । त्यसबाहेकका अन्य सवारी सञ्चालन गर्न पाइने छैन । सवारी साधन सञ्चालनका लागि पूर्व अनुमति आवश्यक नपर्ने भनि तोकिएका अत्यावश्यक वस्तु वा सेवाअन्तरगत पर्ने औषधी, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी फलफूल दुध, विद्युत्, दुरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टिन, आइसोलेसन, फोहरमैला व्यवस्थापन, अस्पताल जानेआउने बिरामी, मृत्यु संस्कारका लागि अनिवार्यरुपमा सहभागि हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारी साधन भने सञ्चालन गर्न पाइने छ । कुनै पनि मेला महोत्सव, जात्रा सञ्चालन गर्न, मानिसहरु भेलाहुन भिडभाड गर्न, सभा जुलुस गर्नसमेत निषेध गरिएको छ । परम्परागत र दैनिक रुपमा भइ आएका र दैनिक हुने आन्तरिक नित्य पूजाबाहेकका सम्पूर्ण धार्मिक साँस्कृतिक गतिविधि सञ्चालन तथा जमघट, सबै प्रकारका सभा गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल शैलुन, व्यूटी पार्लर, स्पा, स्वीममिङ्पुल, जीमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, सङ्ग्रहालय तथा चिडियाखाना सञ्चालन गर्न पाइने छैन । शैक्षिक संस्थाहरु, प्रशिक्षण केन्द्रहरु, ट्यूसन सेन्टर, भाषा कक्षालगायत जमघट हुने गतिविधि समेत सञ्चालन गर्न पाईदैन । फुटपाथ वा खुला ठाउँमा र ठेलागाडा वा साइकलमा सञ्चालन हुने व्यवसाय तथा कवाडी सङ्कलन, होटल रेष्टुराँ, बैंकिङ सेवालगायत विभिन्न निकायले भर्चुअल वा विद्युतीय माध्यामबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउने र सो सम्भव नभएमा न्यून कर्मचारी राखी स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी अत्यावश्यक सेवा प्रवाह गर्नुपर्नेछ । अत्यावश्यक कामका लागि घर बाहिर निस्कनु परेमा अनिवार्य रुपमा मास्कको प्रयोग र न्युनतम भौतिक दूरी कायम गर्नुपर्ने छ । हवाई उडानबाट विदेश जानेहरुको हकमा पासपोर्ट, भिसा, कन्फम हवाई टिकट हुनेहरु सिधै विमानस्लथ जाने सवारी साधनको हकमा भने सहजीकरण गरिने जनाइएको छ । अत्यावश्यक उपभोग्य वस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मुल्यबृद्धि गर्ने, जम्माखोरी गर्ने वा लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेहरु उपर कडा कारवाही गरिनेछ । उक्त आदेशको उल्लघन भएमा आदेशको पालना गर्ने गराउने काममा अबरोध भएमा जोसुकैलाई पनि प्रचलित कानुन अनुसार कारवाही गरिने जनाइएको छ । रासस निषेधाज्ञामा कडाइ, यस्तो छ उपत्यकाको पछिल्लो अवस्था

लिदी पहिरोः थप ३ शव भेटियो, ११ जना अझै बेपत्ता

सिन्धुपाल्चोक: गएको शुक्रबार बिहान सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदीमा गएको पहिराेमा बेपत्ता भएकामध्ये थप तीन जनाको शव भेटिएको छ । योसँगै लिदी पहिरोमा बेपत्ता भएकामध्ये २८ जनाको शव फेला परेको छ। पहिरोमा ११ जना अझै बेपत्ता छन्। पहिरामा परेर ३९ जना बेपत्ता भएका थिए । पछिल्लो पटक एक बालक र दुई महिलाको शव फेला परेको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए । पाँच वर्षीय सानुकान्छा दोङ, ४२ वर्षीया जिबिरानी दोङ र १८ वर्षीया ललिता दोङको शव फेला परेको हो। हालसम्म शव फेला परेकामध्ये १५ पुरूष र १३ महिला छन्। तीमध्ये १४ बालबालिका छन्। पहिराेमा हराइरहेकाहरूको खोजीमा नेपाली सेना र नेपाल प्रहरीका ६६ जना र स्थानीयवासी जुटेका छन्। एक्साभेटर ल्याउन सकिने अवस्था नरहेकाले पिक, साबेल र कोदालाका भरमा बेपत्ताको खोजी भइरहेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।

काठमाडौंमा पाँच हजार क्षमताको आइसोलेसन कक्ष निर्माण गरिने

काठमाडौंः सङ्घ, प्रदेश र काठमाडौं उपत्यकाका स्थानीय तहको सहकार्यमा आगामी एक हप्ताभित्र पाँच हजार क्षमताको आइसोलेसन कक्ष निर्माण गरिने भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढिरहेको भन्दै त्यसको व्यवस्थापनका लागि आइसोलेसन निर्माण गर्ने तयारी गरेको जानकारी दिए । प्रमुख शाक्यले नागरिककै साथ र सहयोहको कारण यस अघि गरिएको लकडाउन पूर्ण रुपमा सफल भएको भन्दै अबको समय थप जटिल बन्दै गएकाले भीडभाड नगरी पुनः सहयोग गर्न पनि आग्रह गरे । भीडभाडबाट नै कोरोना भाइरसको सङ्क्रणम बढ्ने हुनाले अत्यावश्यक कामका लागि मात्रै बाहिर निश्कन पनि अपिल गरिएको छ ।

सवारी साधनको नम्बर प्लेटमा देवनागरी लिपिको प्रयोग गराइन्छ : प्रधानमन्त्री ओली

काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीले सवारी साधनका नम्बर प्लेटमा देवनागरी लिपिको प्रयोग गराउन आफू गम्भीर रहेको बताएका छन् । नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले आज सो विषयमा ध्यानाकर्षण गराएपछि प्रधानमन्त्री ओलीले आफू यसबारे सम्बन्धित मन्त्रालय र निकायसँग परामर्श गरी अङ्ग्रेजी भाषाको प्रयोग हुन लागेका भएमा रोक्ने विश्वास दिलाए । प्रधानमन्त्री ओलीलाई कुलपति उप्रेतीले हाई सेक्युरिटी इम्बोस्ड भेहिकल नम्बर प्लेटमा देवनागरी लिपिको प्रयोगले नेपाली भाषा, राष्ट्रिय सुरक्षा, राष्ट्रियता, संविधान र मौलिकताको संरक्षण गर्ने अवगत गराएका थिए । नेपाल सरकारको निर्णयानुसार २०७४ भदौ ५ गतेदेखि सवारी साधनमा अङ्ग्रेजी भाषामा इम्बोस्ड नं प्लेट राख्न शुरु गरिएकामा सोविरुद्ध सर्वोच्च अदालतबाट गत २०७६ मङ्सिर २७ गते अन्तरिम आदेश जारी भइसकेको छ । नेपालको संविधानको धारा ७ को उपधारा (१) मा देवनागरी लिपिमा लेखिने नेपाली भाषा सरकारी कामकाजको भाषा हुने छ भनी प्रष्ट उल्लेख गरिएको छ । हालसम्म नेपालमा कूटनीतिक नियोगका सवारी साधनबाहेक सरकारी, संस्थान, सार्वजनिक र निजी सवारी साधनमा राखिने नम्बर प्लेट देवनागरी लिपिमा नै लेखाएर राख्ने गरिएको कुलपति उप्रेतीले स्पष्ट गरे । कतिपय हहरी र ग्रामीण क्षेत्रमा समेत अङ्ग्रेजी भाषिक साक्षरताको प्रतिशत अत्यन्त न्यून रहेका अवस्थामा सवारी साधनमा राखिने इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपिको प्रयोग नगरी अङ्ग्रेजी लिपिको मात्र प्रयोग गर्दा सर्वसाधारणलाई नम्बर प्लेटको अङ्क र अक्षर पढ्न र बुझ्न कठिन हुन जाने, दुर्घटना हुँदा दुर्घटना गराउने सम्बद्ध चालक र सवारी साधनले सहजै उन्मुक्ति पाउन सक्ने र पीडित नागरिकले सहजै न्याय नपाउने सम्भावना बढी हुने प्रतिष्ठानको धारणा छ । देवकोटा सङ्ग्रहालयको प्रस्ताव प्रतिष्ठानका प्राज्ञ शशी लुमुम्बुका अनुसार सो अवसरमा प्रमुख संरक्षक प्रधानमन्त्री ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटाका नाममा उनको जन्मघरमा स्थापना हुने सङ्ग्रहालयको विस्तृत परियोजना प्रस्ताव ल्याउन आग्रह गरेका थिए । कोभिड-१९ का कारण तत्काल बजेट अभाव भए पनि आगामी दिनमा सो कार्यक्रममा आवश्यक बजेट उपलब्ध हुने प्रधानमन्त्री ओलीले आश्वासन दिएका थिए । रासस

प्रचण्डद्वारा अछामका बाढी पीडितलाई क्षतिपूर्ति र व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष प्रचण्डले अछामको रामारोशन गाउँपालिका-५ कैलाश खोलामा आएको बाढीले निम्याएको घटनाले आफूलाई स्तब्ध बनाएको बताएका छन् । मंगलबार राति परेको अविरल वर्षाका कारण कैलाश खोलामा आएको बाढीले बगाएर ६ जनाको मृत्यु र १७ जना बेपत्ता भएको छन् भने दर्जनौं परिवार विस्थापित भएका छन् । ‘मंगलवार राति परेको अविरल वर्षाका कारण अछाम जिल्लाको रामारोसन गाउँपालिका-५ कैलाश खोलामा आएको बाढीले बगाएर ६ जनाको मृत्यु र १७ जना बेपत्ता भएको घटनाले मलाई स्तब्ध बनाएको छ । उक्त दुखद् घटनामा निधन हुनुभएकाहरुमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु,’ उक्त घटनाबारे बुधबार साझा अध्यक्ष प्रचण्डले सामाजिक सञ्चालमा लेखेका छन् । बाढीमा बेपत्ता भएकाहरुको खोजी र उद्दार कार्यमा जुट्न स्थानीय जनप्रतिनिधि, पार्टीका नेता तथा कार्यकर्ता, सुरक्षा निकाय, स्वयम्सेवी लगायत सबैमा उनले आव्हान गरे । मृतक, बेपत्ता र बाढीबाट विस्थापित परिवारजनको उचित क्षतिपूर्ति र व्यवस्थापनको निम्ति पहल गर्न अध्यक्ष प्रचण्डले सरकारको ध्यानाकर्षण गराएका छन् । कैलास खोलाको बाढीले छेउछाउका घर, पसल र खेत बगाइदिएको छ । मंगलबार आएको बाढीपछि दर्नाको सबैभन्दा बढी धान उत्पादन हुने नगरर्नाको कोसेडा खेत बगर बनेको छ ।

सकियो सीसीएमसीको बैठक, के विषयमा भयो छलफल?

काठमाडौं : कोरोना भाइरस नियन्त्रण तथा रोकथामका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको बैठक सकिएको छ । आजको बैठकमा माघ ९ गते पहिलो कोरोना संक्रमण देखिएदेखि हालसम्म भएको संक्रमणको अवस्था, रोकथामका लागि चालिएका कदमहरूको बारेमा प्रधानमन्त्री ओलीलाई ब्रिफिङ गरिएको सिसिएमसीका प्रवक्ता महेन्द्र गुरागाँईले जानकारी दिए । आजको बैठकमा प्रधानमन्त्रीसँग दोहोरो छलफल नभएको र ब्रिफिङ सुनिसकेपछि प्रधानमन्त्रीले धन्यवाद दिएको उनले बताए । सिसिएमसीले भोलिदेखि उपत्यकामा गरिने निषेधाज्ञाको बारेमा पनि प्रधानमन्त्रीलाई जानकारी गराएको छ । बैठकमा प्रधानमन्त्री ओलीका साथै अन्य मन्त्रीहरू पनि सहभागी भएका थिए ।

ठाँटीकाँध र नौमूलेः ३ जनाको निधन

दैलेखः लगातार परेको वर्षात्सँगै आएको बाढीपहिरोसँगै दैलेखमा एकै दिन ३ जनाले ज्यान गुमाएका छन् । प्राकृतिक विपत्तिमा परेर एक जना बेपत्ता भएका छन् । ठाँटीकाँध गाउँपालिका वडा नं ४ गैरागाउँमा मङ्गलबार राति आएको पहिराले घर पुरिँदा ११ वर्षीय जनक कठायतको मृत्यु भएको छ भने अन्दाजी १२ वर्षीय लोकेश कठायत बेपत्ता भएका छन् । यस्तै भगवतीमाई गाउँपालिका-५ कट्टीमा लगातारको वर्षात्सँगै घर भत्किँदा बलबहादुर रावतको मृत्यु भएको छ । अन्य परिवार अलग घरमा सुतेको र बलबहादुर मात्रै सुतेको घर पहिराले पूरै पुरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिए। नौमूले गाउँपालिका वडा नं ५ भित्रीखोला छेउमा खोलाले बगाएर मृत्यु भएका एक पुरुषको शव फेला परेको छ । मृत्यु हुनेमा नौमूले-४ बस्ने २१ वर्षीय भविलाल बुढा रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख हरिबहादुर ओलीले जानकारी दिए । बुढाको मृत्यु खोलाले बगाएर नभई हत्या गरिएको हुन सक्ने जनाउँदै आफन्तले घटनाको विस्तृत छानबिन गरिदिन माग गरेका छन् । कालिका बजारबाट घर जान्छु भनेर जानुभएका उहाँको घरभन्दा करीब २ घण्टा तल खोला किनारमा शरीरमा कपडा नभएका अवस्थामा शव भेटिएको थियो । टाउको र अन्य भागमा चोट देखिएको छ । घटनास्थल मुचुल्का गरिएको छ । शव परीक्षणका लागि स्वास्थ्य कार्यालय दैलेख ल्याउँदै गरिएको छ । नौमूले प्रहरीले घटनाको विस्तृत अनुसन्धान गर्ने बताएको छ ।  

आगामी १ हप्तामा ५ हजार क्षमताको आइसोलेसन कक्ष

काठमाडौंः सङ्घ, प्रदेश र काठमाडौं उपत्यका स्थानीय तहको सहकार्यमा आगामी १ हप्ताभित्र ५ हजार क्षमताको आइसोलेसन कक्ष निर्माण गरिने भएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले आज एक अपिल जारी गर्दै पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढिरहेको भन्दै त्यसको व्यवस्थापनका लागि आइसोलेसन निर्माण गर्ने तयारी गरेको जानकारी दिए । अपिलमार्फत नागरिकलाई अनुरोध गर्दै प्रमुख शाक्यले नागरिककै साथ र सहयोहको कारण यस अघि गरिएको लकडान पूर्ण रुपमा सफल भएको भन्दै अबको समय थप जटील बन्दै गएकाले भीडभाड नगरी पुनः सहयोग गर्न पनि आग्रह गर्नुभएको छ । भीडभाडबाट नै कोरोना भाइरसको सङ्क्रणम बढ्ने हुनाले अत्यावश्यक कामका लागि मात्रै बाहीर निश्कन पनि अपिल गरिएको छ ।

स्रोत नखुलेको साढे ६ लाखसहित २ महिला पक्राउ

रौतहट : लाखौंँ रुपैयाँसहित २ महिला पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा कार्यालय मातहत अस्थायी प्रहरीचौकी महादेवपट्टीबाट असई मनोजकुमार सिंहको नेतृत्वमा खटिएको प्रहरी टोलीले गौर नगरपालिका-३ दशगजा क्षेत्रमा घाँस काट्न भनी आएका २ भारतीय महिलाका साथबाट स्रोत नखुलेको ६ लाख ४० हजार बरामद गरेको रौतहट प्रहरी प्रमुख एसपी रबिराज खड्काले बताए । रकमसहित पक्राउ पर्नेमा भारत विहार राज्य जिल्ला सीतामढी बैरगनियाँ ग्राम पञ्चायत वडा नं १ सिन्दुरिया बस्ने ४५ वर्षीया शान्ति देवी र ४५ वर्षीया मीना देवी छन् । निजहरूलाई नियन्त्रणमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

निषेधाज्ञामा ‘मर्निङ वाक’ निस्किए पनि कारबाही

काठमाडौं  : काठमाडौँ उपत्यकामा तपाईँ बिहिबारदेखि मर्निङ वाक या अरु कुनै अत्यावश्यक नभएको काममा निस्कँदै हुनुहुन्छ? एकै छिन त हो, त्यहीँ पर पुगेर आईहाल्छु नि भन्ने सोचमा निस्कने सोच बनाउनुभएको छ? यदी त्यसो गर्नुभयो भने तपाईँ कारवाहीमा पर्न सक्नुहुन्छ। रातिदेखि लागु हुने निषेधाज्ञाको आदेशानुसार यसपाली भने प्रहरीले अत्यावश्यक बाहेकका गतिविधिमा खुबै कडाई गर्नेछ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने, ‘मर्निङ वा इभिनिङ वाक जान्छु भन्ने सोचेर ननिस्किनुहोस्, सङ्क्रामक रोग ऐन २०२० अनुसार कारवाही हुन्छ।’ उक्त ऐनमा आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर एक महिनासम्म कैद वा रु १०० सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ। त्यस्तै यो ऐनअन्तर्गत अधिकृत व्यक्तिलाई काममा बाधा पुर्‍याउनेलाई ६ महिनासम्म कैद वा रु ६०० सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ। कोभिड-१९ को सङ्क्रमण फैलिँदै गएकाले यसअघि बनदाबन्दीमा अपनाइएको सहजीकरणसमेत यसपाली हुनेछैन। कुनै सवारी पाससमेत जारी गरिने छैन। त्यसैले बन्दाबन्दीभन्दा आज राति १२ः०० बजेदेखि लागु हुने निषेधाज्ञाको आदेश थप कडा हुनेछ। यसअघि उपत्यकामा कुनै दिन पनि बढी जोखिम भएको थिएन। यसपटक दैनिक एकसय भन्दा बढी सङ्क्रमित देखिन थालेको र अस्पतालमा श्ययाको समेत अभाव हुन थालेपछि उपत्यकामा महामारीको अवस्था रहेकाले कडाइ गर्नुपर्ने अवस्था आएको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले प्रशासनको निर्णयअनुसार महानगरीय प्रहरी कार्यालयमार्फत आवश्यक ड्युटी खटाउनेदेखि तयारीका सबै व्यवस्थापन गरिएको जानकारी दिए। आदेश पालनामा कुनै कसर बाँकी नराख्ने उनले बताए। उपत्यकाका तीन जिल्लाका प्रजिअको मंगलबारको बैठकले आज रातिदेखि लागू हुने गरी अत्यावश्यकबाहेकका सबै गतिविधिमा निषेधको आदेश जारी गरेको छ। राति १२ः०० बजेदेखि अत्यावश्यक बाहेकका गतिविधि गर्न पाइने छैन। उक्त आदेश यही भदौ १० गतेसम्म लागू हुनेछ। सङ्क्रामक रोग ऐन २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम काठमाडौँ उपत्यकामा लागु हुने गरी उक्त निर्णय गरिएको हो। अनावश्यक रुपमा मानिस घरबाट निस्किए कारवाही हुनेछ। सार्वजनिक तथा निजी सवारीसाधनसमेत निस्कन पाउने छैनन्। यसपाली खाद्यान्न, औषधीजन्यबाहेकका ढुवानीसमेत रोकेको प्रजिअ दाहालले बताए। अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका व्यापार, व्यवसाय सञ्चालनमा रोक लगाइएको छ। अत्यावश्यक सामग्री लगायतका मालबाहक ढुवानीका सवारीसाधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी मात्रै सञ्चालन हुनेछन् । काठमाडौँ उपत्यकाभित्र सवारी प्रवेशमा पनि निषेध गरिएको छ। जिल्लाभित्रका सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधनसमेत सञ्चालन गर्न पाइने छैन। कोभिड १९ को सङ्क्रमण जोखिम नियन्त्रण तथा त्यसको रोकथाम, उपचार तथा व्यवस्थापन सम्बन्धी कार्यमा खटिने व्यक्तिले आधिकारिक परिचयपत्रको आधारमा आवतजावत गर्नुपर्नेछ। अत्यावश्यक सेवा भनी नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने अन्य कार्यालयमा आउन र जानुपर्ने राष्ट्रसेवक कर्मचारीका हकमा सम्बन्धित कार्यालय वा निकायले न्यूनतम कर्मचारी संख्या निर्धारण गरी कार्यालयले जारी गरेको फोटोसहितको परिचयपत्रको आधारमा विहान ९ः०० देखि १०ः३० बजेसम्म र बेलुका ३ः०० देखि ५ः३० बजेसम्म आवागमन गर्न पाउने व्यवस्था गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए। त्यसबाहेकका अन्य सवारीसाधन सञ्चालन गर्न पाइने छैन। सवारीसाधन सञ्चालनका लागि पूर्व अनुमति आवश्यक नपर्ने भनि तोकिएका अत्यावश्यक वस्तु वा सेवाअन्तरगत पर्ने औषधी, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दुध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टिन, आईसोलेसन, फोहरमैला व्यवस्थापन, अस्पताल जानेआउने विरामी, मृत्यु संस्कारका लागि अनिवार्य रुपमा सहभागी हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारी साधन भने सञ्चालन गर्न पाइने छ। पत्रकारका लागि के व्यवस्था छ भन्ने जिज्ञासामा सकेसम्म न्यून सङ्ख्या हुने गरी आफ्नो परिचयपत्रका आधारमा सहजीकरण गरिने काठमाडौँका प्रजिअ दाहालले बताए। अत्यावश्यक उपभोग्य वस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मुल्यवृद्धि गर्ने, जम्माखोरी गर्ने वा लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेहरु उपर कडा कारवाही गरिने छ। आदेश उल्लंघन गरे कडा कारवाही हुने चेतावनी दिइएको छ। रासस

काठमाडौंमा थप १ कोरोना संक्रमितको मृत्यु

काठमाडौं : कोरोना संक्रमणबाट काठमाडौंमा थप जनाको मृत्यु भएको छ । मृत्यु हुने व्यक्ति काठमाडौं महानगरपालिका असनका हुन् । ९४ वर्षका ती वृद्धको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो । उनको भदौ १ गते राति १० बजे मृत्यु भएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार ती पुरुष निमोनियाको बिरामी थिए भने छाती सम्बन्धी पुरानो रोग थियो। भदौ २ गते स्वाब संकलन गरेर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको अधिकारीले जानकारी दिए ।

भोलि मध्यरातिदेखि कैलालीमा निषेधाज्ञा

धनगढी : कैलालीमा बिहीबार राति १२ बजेदेखि १४ गतेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । यो अवधिमा औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदको कामका लागि बाहेक बाहिर निस्कन पाइने छैन । अत्यावश्यक कामका लागि पनि बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्नेछ । अत्यावश्यकीय सामग्री ढुवानी, स्वास्थ्यकर्मी र सुरक्षा निकायका बाहेक अन्य नीजि तथा सार्वजनिक सवारी सञ्चालनमा समेत रोक लगाइएको छ । सम्पुर्ण व्यापारव्यवसाय समेत सञ्चालनमा रोक लगाईने जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।