सचिवालय बैठकको पूर्वसन्ध्यामा ओली-प्रचण्डबीच छलफल

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड अर्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । पार्टी केन्द्रीय सचिवालय बैठकको पूर्वसन्ध्यामा प्रचण्ड ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगेका हुन् ।

नेकपाको सचिवालय बैठक भोलि बिहान ११ बजे बस्दैछ । उक्त बैठकमा विवाद समाधान गर्न गठित कार्यदलले दिएको प्रतिवेदनका बारेमा छलफल हुने एजेण्डा तय भएको छ । तर, भोलिको बैठकमा उपाध्यक्ष बामदेव गौतम राष्ट्रिय सभामा जान तयार रहेको समाचार सार्वजनिक भएकाले त्यसबारे समेत छलफल हुनेछ ।

यसअघि राष्ट्रिय सभामा जान अस्वीकार गरेका गौतमले सोमबार पुनः आफू राष्ट्रिय सभामा जाने इच्छा प्रकट गरेपछि रिक्त एक पदमा कसलाई पठाउने भन्ने नेकपामा मत बाझिएको छ ।

काठमाडौंमा फेरि थपियो निषेधाज्ञा, यस्तो बन्यो नयाँ मोडालिटी

काठमाडौंः काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा एक साता लम्ब्याइएको छ । गृह मन्त्रालयको निर्देशनपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुरका नारायणप्रसाद भट्ट र भक्तपुरकी हुमकला पाण्डेले निषेधाज्ञा एक साता लम्ब्याउने निर्णय गरेका हुन् । निषेधाज्ञालाई खुकुलो बनाउँदै होम डेलिभरी, टेकअवे सेवा खुला, निर्माणका सामान र भन्सारबाट आउने सामग्रीलाई सहजीकरण गर्ने नयाँ मोडालिटी बनेको छ । होटल, रेष्टुरेन्ट, फुटपाथ पसल अझै बन्द हुनेछन् । बैंक लगायतका निकायले न्यूनतम कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सेवा दिन सक्नेछन् । यसबारेमा केहीबेरमा तीनवटै प्रशासन कार्यालयले छुट्टाछुट्टै सूचना निकाल्दैछन् । यसअघि औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदमा यसअघि पनि रोक लगाइएको थिएन । नियमित सेवा प्रदान गर्नुपर्ने कार्यालय जाने कर्मचारी विहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुका ३ देखि साढे ५ बजेसम्म आउजाउ गर्न सक्ने भनिएको थियो । उपत्यकामा दैनिक कोरोना संक्रमण बढदै गइरहेको र भयावह स्वरुप लिन सक्ने भएकोले गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालयहरुले निषेधाज्ञाको घोषण गरेका थिए । शुरुमा भदौ ९ गतेसम्म लागु गरिएको निषेधाज्ञ पुनः थपिएर १७ गतेसम्म लागु हुने निर्देशन प्रशासन कार्यालयले जारी गरेका थिए । यसअघि जारी गरिएको निषेधाज्ञा बुधबार मध्यरातिबाट सकिँदैछ । पछिल्लो समय काठमाडौं उपत्यकामा संक्रमित र मृतक संख्या बढिरहेको छ । आज मात्रै देशभर थप ११२० जनामा कोरोना पुष्टि हुँदा उपत्यकामा मात्रै ३८८ संक्रमित थपिएका छन ।

थप ११२० जनामा कोरोना पुष्टि, १२ जनाको मृत्यु, १११२ निको भए

काठमाडौंः पछिल्लो २४ घण्टामा देशभर ११२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ४२६४९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २५१ पुगेको छ । मृतक दर ०.६ हो । पछिल्लो २४ घण्टामा १११२ जना निको भएका छन् । योसँगै निको हुनेको संख्या २३२९० छ । निको हुने दर ५६ प्रतिशत हो । नेपालमा १८१०८ सक्रिय संक्रमित संख्या रहेको छ । मंगलबार नेपालमा १०६९ जनामा कोरोना संक्रमण पुष्टि र ११ जनाको मृत्यु भएको थियो । आज काठमाडौं उपत्यकामा आज ३८८ संक्रमित थपिएका छन् । उपत्यकामा थपिए ३८८ संक्रमित

उपत्यकामा थपिए ३८८ संक्रमित

काठमाडौंः काठमाडौं उपत्यकामा आज ३८८ कोरोना संक्रमित थपिएका छन् । बुधबार काठमाडौंमा ३५०, ललितपुर २९ र भक्तपुर ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार काठमाडौं उपत्यकामा ४८१ नया संक्रमित थपिँदै नयाँ रेकर्ड कायम गरेको थियो ।

जनता खाद्य सङ्कटमा, जहाज मदिरा ढुवानीमा !

बाजुराः जिल्लाको पूर्वीउत्तरी भेगको कोल्टी क्षेत्रमा खाद्य सङ्कट भएको दुई महिना वितिसक्दा पनि चामल ढुवानी हुन सकिरहेको छैन । खाद्य सङ्कट समाधानका लागि चामल ढुवानी गर्नुपर्नेमा जहाज चार्टर गरेर मदिरा ढुवानी भइरहेको छ । कोराना सङ्कटको समयमा मदिरा तथा सूर्तिजन्य पदार्थ ढुवानीमा रोक लगाएको भए पनि कोल्टी एयरपोर्टमा भने खुलमखुल्ला मदिरा ढुवानी भइरहेको छ । कोल्टी विमानस्थलमा दैनिक सात वटा जहाजले उडान भर्ने गरेका छन् । तीमध्ये तीन/चार उडानमा मदिरा नै आउने गरेको बाजुरा नागरिक उडड्यन कार्यालयका निमित्त प्रमुख प्रसाद पौडेलले बताए । सङ्कटको यो बेलामा मदिरा नआउनुपर्ने हो तर, नेपालगञ्ज सुर्खेतबाट जहाज चार्टर गरेर मदिरा आउने गरेको उनको भनाइ छ । प्रतिकेजी रु ७५ देखि एक सयसम्म तिरेर व्यापारीले जहाजमार्फत मदिरालगायत चाउचाउ, विस्कुट ढुवानी गरेर बाजुराको कोल्टीमा ल्याउने गरेको समिट एयरका कोल्टी स्टेशन प्रमुख विनोदकुमार सिंहले बताए । नेपालगञ्ज, सुर्खेतबाट सिता, समिट र तारा एयरले दैनिक बाजुरामा उडान भरिरहेका छन् । जहाजबाट कोल्टि चार्टर गरेर मदिरा आउने गरेको छ । यहाँ आएको मदिरालगायतका सामग्री विशेषगरी पूर्वीउत्तरी भेगको चार वटा स्थानीय तह, कर्णाली प्रदेशका हुम्ला र मुगु जिल्लाको स्थानीय बजारमा जाने गरेको उनले बताए । कोल्टी बजारमा मदिरा पसल गरिरहेका मङ्गल थापाले गाडीबाट मदिरा ल्याउन बाटो विग्रेको हुँदा त्यो सम्भव नभएपछि आफूहरुले जहाजबाटै मदिरा ढुवानी गर्ने गरेको बताए । यहाँका स्थानीय बजारमा खाद्यन्न अभाव रहेको लामो समय भएपनि समयमा चामल ढुवानी हुन सकिरहेको छैन । मदिरा भने जताततै पाइने गरेको बुढीनन्दा नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामदत्त न्यौपानेले बताए । नगरपालिकाले पटक–पटक मदिरा जहाजमा नल्याउन भनेको भएपनि निजी जहाजले नेपालगञ्ज सुर्खेतबाट मदिरा ल्याउने गरेको उनको भनाइ छ । यसबारे जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराउँदा पनि अहिलेसम्म मदिरा ढुवानी नरोकिएको उनको भनाइ छ । नागरिक उडड्यन कार्यालय कोल्टीका अनुसार एक महिनामा यहाँ एक सय ६० उडान भएका छन् । तीमध्ये ६० प्रतिशतभन्दा बढी उडानमा मदिरा नै ढुवानी भएको कार्यालयले जनाएको छ । ती उडानबाट ९७ हजार ३ सय ४ केजी सामान ढुवानी भएको र तीमध्ये धेरै मदिरा रहेको कार्यालयको दाबी छ । बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले मदिरा ढुवानीलाई निरुत्साहित गर्न बाँके र सुर्खेतका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गर्ने बताए ।

सर्प पाल्न ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’लाई ७२ करोड अनुदान

सर्लाहीः लालबन्दी नगरपालिका–६ मा स्थापना भएको ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ले यहाँका साढे ८ विघा जमिनमा विषालु सर्प पाल्ने भएको छ । प्रतिष्ठानको सर्प पालन एवं एन्टी स्नेक भेनम उत्पादन परियोजनाका लागि सङ्घीय सरकार, प्रदेश नं २ सरकार र लालबन्दी नगरपालिकाले रु ७२ करोड अनुदान उपलब्ध गराउने भएको छ । यसका लागि प्रतिष्ठानले तीन वटै तहको सरकारसँग सम्झौता गरिसकेको प्रतिष्ठानका अध्यक्ष रेवती पन्तले बताए । सर्पको विष उत्पादन गरेर शुरुमा भारत सप्लाई गर्ने र पछि स्वदेशमै ल्याब स्थापना गर्ने प्रतिष्ठानको योजना छ । विषालु सर्पले टोकेर नेपालको तराई क्षेत्रमा वर्षेनी धेरै मानिसको ज्यान जाने गरेको छ । सर्पले टोकेको बिरामीलाई बचाउन प्रयोग गरिने ‘एन्टी स्नेक भेनम’ सर्पकै विषबाट बनाइन्छ । अहिलेसम्म नेपालले ‘एन्टी स्नेक भेनम’ उत्पादन गर्न सकेको छैन र सर्पदंशको उपचारमा भारतसँग निर्भर हुनु परिरहेको छ । नेकपाका वरिष्ठ नेता झलनाथ खनालका नाममा खुलेको सो प्रतिष्ठानले सर्लाहीको लालबन्दी नगरपालिका–१ मा साढे ८ विघा जग्गा खरीद गरेर त्यहाँ विषालु सर्प पाल्ने तयारी अगाडि बढाएको अध्यक्ष पन्तले जानकारी दिए । उनका अनुसार सर्प पाल्नका लागि प्रतिकठ्ठा रु साढे ३ लाखका दरले टेण्डरमार्फत खरिद गरिएको उक्त जग्गामा तीनै तहका सरकारको लगानी छ । सम्झौताबमोजिम ‘एन्टी स्नेक भेनम’ उत्पादनका लागि जग्गा खरिद गरी भवनसमेत बनाउन लागिएको अध्यक्ष पन्तले बताए । असोज अन्तिमसम्म भवन निर्माणको ठेक्का लागिसक्ने उनको भनाइ छ । उनका अनुसार अबको दुई वर्षभित्र भवन लगायतका सबै संरचनाहरु बनिसक्ने र सर्पको विष उत्पादन हुन थाल्ने छ । शुरुमा उत्पादित विष भारतको ल्याबमा पठाएर ‘एन्टी स्नेक भेनम’ बनाइने र त्यसपछि नेपालमै ल्याब बनाइने योजना रहेको अध्यक्ष पन्तले बताए । पूर्वप्रधानमन्त्री झलनाथ खनालले २०७० सालको संविधानसभाको चुनाव सर्लाहीबाट पनि लडेका थिए । नेता खनालको चुनावी प्रचारप्रसारका क्रममा विषालु सर्पले टोकेर उपचार नपाई एकजनाको मृत्यु भएको थियो । नेता खनालले सर्लाहीको चुनाव प्रचारका क्रममा उक्त घटना बारे थाहा पाएका थिए । त्यही घटनाबाट उत्प्रेरित भई नेपालमा सर्प पालन गर्ने र ‘एन्डी स्नेक भेनम’ बनाउने मुख्य उद्देश्य राखेर २०७१ सालमा ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’को स्थापना भयो । अहिले नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्तलाई प्रतिष्ठानको अध्यक्षको जिम्मेवारी दिइएको छ । रासस

आमा विदेशमा, ७ वर्षीया छोरीमाथि पटक–पटक बलात्कार, यसरी खुल्यो रहस्य

काठमाडौंः आफ्नै ७ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा काठमाडौं महानगरपालिका–३१ शंखमुल बस्ने ४० वर्षीय पुरुषलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । आफ्नै छोरीलाई पटक–पटक बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी वृत्त बानेश्वरले उनलाई पक्राउ गरेको हो । अहिले उनलाई पक्राउ गरी प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । प्रहरीका अनुसार छोरीकी आमा विदेशमा बस्ने गर्थिन् । केही समयअघि उनी नेपाल आएकी थिइन् । पिसाब गर्दा दुख्ने समस्या भएपछि ती बालिकालाई आमाले अस्पताल लिएकी थिइन् । अस्पतालमा जाँच गर्दा उक्त रहस्य खुलेको हो । बुबाले बालिकालाई बलात्कारबारे कसलाई नभन्न दवाव दिँदै धम्क्याउने गरेका थिए ।

यी हुन् घरैबाट परीक्षा दिँदा पालना गर्नुपर्ने १६ नियम (सूचीसहित)

काठमाडौंः पूर्वाञ्चल विश्वविद्यालय (पूवि)ले ‘टाइम बाउन्ड होम एक्जाम’ परीक्षा सञ्चालन गर्दा क्याम्पस/कलेज र परीक्षार्थीले पालना गर्नुपर्ने नियम तयार पारेको छ । पूविले परीक्षाका क्रममा क्याम्पस÷कलेजले पालना गर्नुपर्ने ७ र परीक्षार्थीले पालना गर्नुपर्ने १६ बुँदे नियम बनाएको हो । नोवेल कोरोना भाइरस (कोभिड–१९)ले गर्दा विद्यार्थीहरू केन्द्रमा उपस्थित भएर परीक्षा दिन नसक्ने भएपछि पूविले वैकल्पिक विधि अर्थात् ‘टाइम बाउन्ड होम एक्जाम’ लिन लागेको हो । सेमेस्टर प्रणाली अन्तर्गत स्नातक र स्नातकोत्तर तहको परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्न लागेको परीक्षा नियन्त्रक प्रा.डा. सूर्यप्रसाद संग्रौलाले जानकारी दिए । क्याम्पस/कलेजले पालना गर्नुपर्ने ७ नियम: परीक्षार्थीले पालना गर्नुपर्ने १६ नियम:  

अख्तियारले पत्र काटेपछि विजय मिश्रले निकाले विज्ञप्ती, भने–भागेको छैन, जापान गएको थिएँ

काठमाडौंः सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा तत्कालीन सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड घुस ‘बार्गेनिङ’ गरेको अडियो बाहिर ल्याएका विजयप्रकाश मिश्रले आफू नभागेको बताएका छन् । उनले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आफू भागेको भनई रेकर्डिङ डिभाइस लिन जापान गएको उल्लेख गरेका छन् । उनले उक्त प्रकरणबारे अनुसन्धान अधिकृत र आफूबीचमा बेलाबेलामा कुराकानी भएको र छानबिनलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । तत्कालीन सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई लक्षित गर्दै उनले कुनै पनि राजनीतिक व्यक्ति भष्टाचारजस्तो राज्यविरुद्धको अपराधबाट बञ्न नसक्ने जिकिर गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार उक सूचना जारी गर्दै मिश्रलाई सात दिनभित्र अख्तियारमा उपस्थित हुन निर्देशन दिएको छ । गत जेठमा बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड घुस मागेको अडियो सार्वजनिक भएको थियो । अडियो सार्वजनिक भएसँगै बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिएका थिए । मिश्रको प्रेस विज्ञप्ति सेक्युरिटी प्रिन्टिङ्ग प्रेसको बारेमा २, ३ दिनदेखि केही समाजिक सञ्जाल, राष्ट्रिय दैनिक र केही अनलाइनहरुमा मेरो नाम राखी अतिरन्जित गरिएको कुरामा मेरो ध्यानाकर्षण भएकोकुनै पनि व्यक्ति राज्यभन्दा ठूलो हुन नसक्ने र राजनीतिको खोल ओढेर भ्रष्टाचारमा जघन्य अपराधमा संलग्न जो कोही व्यक्ति पनि राज्यका निर्देशित सिद्धान्त र विद्यारकार कानूनबाट सजायँको भागिदार हुनुपर्ने कुरा प्रजातान्त्रिक मूल्य र मान्यतामा आधारित मानवीय सत्य हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट चलानी नं. ८२२९ को आवश्यक सहयोगको लागि भनी अनुरोध गरिएको पत्र मेरो हात परेको कुरामा दुईमत छैन। त्यसै पत्रको आधारमा रेकर्डिङ डिभाइस मैले अख्तियारलाई बुझाउनुपर्ने र त्यो डिभाइस जापानमा भएको हुँदा डिभाइस लिन म जापान आएको हुँ मेरो नेपाल फर्कने फ्लाइट निश्चित भैसकेको अवस्थामा भागेर जापान गयो भन्ने केही पत्रकार साथीहरुले अतिरन्जित गरी समाचार सम्प्रेषण गर्नु भनेको आफूले गरेको पत्रकारितामाथी बिश्वास नगर्नु हो। अझ यसलाई भन्नू पर्दा जुन थालमा खायो तेहि थालमा छेदन गर्नु हो। अख्तियारी प्राप्त अनुसन्धान अधिकृत र मेरोबीचमा बेलाबेलामा कुराकानी भएको र मैले दर्ता गरेको निवेदनबाट यो कुरा प्रष्ट हुन्छ । कोरोनाको महामारीको विषयले विश्वव्यापीरुपमा असर गरेको र नेपालमा पनि त्यसको प्रभाव परेको कुरा तपाई हामीमा जानकारी भएकै कुरा हो । हाल यस प्रकरण हेर्ने अधिकृत सरुवा भई नयाँ अनुसन्धान अधिकृतको पदस्थापना भएको कुरा पत्रपित्रकाबाट मैले जानकारी पाएको हुँ । मलाई आशा छ उहाँहरूले मलाई सम्पर्क गर्नुहुने छ वा म आफैले पनि उहाँहरुसँग सम्पर्क गरी यस राजनीतिक खोल ओढेको सेक्युरिटी प्रेस खरिद प्रकरणकोछानबिनलाई आवश्यक सहयोग गर्ने नै छु । साथै यस महामारीको विषम परिस्थितिका बाबजुद अनुसन्धान कार्य अघि बढ्ने छ भन्ने मैले विश्वास लिएको छु। कुनै पनि राजनीतिक व्यक्ति होस् वा सर्वसाधारण, अष्टाचारजस्तो राज्यविरुद्धको जघन्य अपराधबाट उम्कन सक्दैन । र, प्रतिपक्षबाट जति पनि सामाजिक सञ्जाल र पत्रपत्रिकामार्फत मलाई आक्रमण गरी आफू पबित्र बन्न खोज्नु नेपाली राजनीतिमा देखिएको कालरात्रीन चरित्र नै हो । आफूले गरेको सबै ठिक, अर्काले गरेको सबै बेठीक भन्नेले आफ्नो आङमा हात्ती नदेख्ने र अर्काको आङमा जुम्रा देख्ने प्रवृत्तिबाट चोखो रहन नसकेको अवस्था छ । त्यस्ता प्रवृत्तिका घटनाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्मानित अदालतलाई समेत अनुसन्धानको दायरामा रहेको घटनालाई बिचलित गर्न पत्रकारिताभित्रको चाटुकारिता जुर्मुराएको मात्र हो । शक्ति र पैसाको आडमा गरिने चाटुकारिता क्षणिक हुने र अन्तमा सत्यको नै जित हुने कुरामा विश्वस्त छु । यो त केबल न्यायलाई बिचलित पार्न र अनुसन्धानलाई फितलो पार्न तथा न्यायप्रेमी, राष्ट्रप्रेमी जनताको ध्यान अर्कैतिर मोइन गरिएको प्रोपोगन्डा हो । मसानघाटबाट कात्रो छुट्याई मुर्दा जिवित गर्न खोज्ने काम भएकोछ । यस्को म घोर भर्त्सना गर्दछु । यस प्रकरणमा बाहिर आउन बाँकी कुराहरु अझै गर्भमा दबिएर बसेका छन् । यी सबै प्रमाणहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष पेश गरिनेछ र तपाई शुभेच्छुक, राष्ट्रप्रेमी, नेपाली दाजुभाइ तथा दिदीबहिनीले पनि भविष्यमा राम्रोसँग बुझ्नुहुनेछ भन्ने विश्वास लिएको छु । समाजिक सञ्जालको सन्दर्भमा म के भन्न चाहन्छु भने कसैको पक्षमा बोल्नुभन्दा पनि राज्यको पक्षमा बोल्ने गर्नुहोस् । यसमा राज्यको जीत हुनुपर्छ र जनताको हित हुनुपर्छ । कसैको गुणगान गाएर र १० जना फेसबुकमा साथीहरु बनाएर म्यासेज गर्दैमा कोही चोखिन सक्दैन । गुणगानकै आधारमा राज्यले नियुक्ति दिएको कुरा तपाई हामीबीच छर्लङ्ग छ । यो राजनीतिक भ्रष्टाचार हो । चाहे राजनीतिक होस् वा आर्थिक, कुनै पनि भ्रष्टाचारिले उन्मुक्ति पाउनुहुन्न भन्ने कुरामा म विश्वास राख्दछु र तपाईंहरुको सहयोग रहने कुरामा आशावादी छु । साथै न्यायाप्रेमी, राष्ट्रप्रेमी हामी सबै नेपालीले हाम्रो समाजमा मुख्यरुपमा राजनीतिमा गाँसिएको राजनीतिक भ्रष्टाचार, नीतिगत भ्रष्टाचार उन्मुलन गर्न सबैले आ–आफ्नै ठाँउबाट निरन्तरुपमा सहयोग गरिरहनुहुनेछ र विचलित हुनुहुने छैन भन्ने कुरामा आशावादी र विश्वस्त छु । अन्तमा, म विजयप्रकाश मिश्र कसैको दवाब वा कसैको कुरा सुनेर बहकिने व्यक्ति हैन । एक सच्चा नागरिकले राज्यप्रति बहन गर्नुपर्ने जिम्मेवारी पुर्णरुपमा निर्वाह गर्नुपर्ने कुरामलाई राम्ररी थाहा छ । साथै जस्तोसुकै दुःख कष्टमा पनि बाटो नबिराइ आफ्नो कर्तव्यपालना गर्ने छु भन्ने विश्वास दिलाउन चाहन्छु । साथै, नेपालको सञ्चार क्षेत्रमा आफ्नो महत्वपूर्ण छवि बनाइराख्न सक्षम तपाईहरुको दैनिक पत्रिका वा अनलाइन पोर्टलले चाटुकारितालाई टाढै राखी सञ्चार जगतमा देखिएको आफ्नो उत्कृष्ट छविलाई अक्षुण राख्न भगवन वुद्धको दिव्य उपदेश र राष्ट्रप्रेमबाट प्रभावित भएर प्रमाणका आधारमा सूचना सम्प्रेषण गर्नुहुनेछ भन्ने विश्वास लिएको छु र यसका लागि तपाईहरुलाई हार्दिक अनुरोध पनि गर्दछु । धन्यवाद । विजयप्रकाश मिश्र सम्बन्धित समाचारः बाँस्कोटालाई ‘उन्मुक्ति दिँदै’ अख्तियार

सभामुखको पहलमा लिदीका अभिभावक गुमाएका बालबालिकालाई संरक्षण र शिक्षा

काठमाडौंः सभामुख अग्निप्रसाद सापकोटाको पहलमा लिदी पहिरोमा अभिभावक गुमाएका बालबालिकाको संरक्षण, शिक्षा र बसोबासको व्यवस्था हुने भएको छ । सभामुखको आग्रहमा एसओएस बालग्राम काभ्रे पनौतीका निर्देशक सुरेन्द्र अमगाईँसहितको टोली मङ्गलबार सिन्धुपाल्चोकको बाँसखर्क पुगेर वडाध्यक्ष प्रताप लामासँग समन्वय गरी बालबालिकाको जानकारी लिएको थियो । एसओएसले हिजैदेखि बालबालिकाको शिक्षा र संरक्षणका लागि आवश्यक प्रक्रिया थालेको छ । लिदीका अभिभावक गुमाएका १२ वर्षमुनिका पाँच बालबालिकालाई तत्काल काभ्रेको पनौतीस्थित एसओएस बालग्राम ल्याएर पठनपाठन शुरु गर्ने निर्देशक अमगाईँले जानकारी दिए । बाँकी १२ वर्षमाथिका सात बालबालिकाको शिक्षा र संरक्षणका लागि बसोबासस्थलमै संरक्षकमार्फत सहयोग गरिने अमगाईँले जानकारी दिए । उनीहरुका लागि अस्थायी बसोबासस्थलमै शिक्षा र सहयोेग हुने उनको भनाइ छ । यही भदौ १० गते सभामुख सापकोटाले लिदीबाट अस्थायी स्थानान्तरण भएर जुगल गाउँपालिकाको बाँसखर्कमा आएका विस्थापितसँगको छलफलमा अभिभावक गुमाएका बालबालिकाको संरक्षण र शिक्षाको आफूले जिम्मेवारी लिने बताएका थिए । त्यसलगत्तै काठमाडौं फर्केर सभामुख सापकोटाले एसओएस बालग्रामका अधिकारीहरुसँग छलफल गरी पहिरोमा अभिभावक गुमाएका बालबालिकालाई संरक्षण र शिक्षाको प्रबन्ध मिलाइदिन आग्रह गरेका थिए । गत साउन ३० गते बिहान जुगल गाउँपालिकाको लिदीमा गएको भीषण पहिरोमा परी ३७ घर पुरिँदा घरसँगै पुरिएर बेपत्ता भएका ३७ जनाको शव फेला परेको छ भने दुई अझै बेपत्ता छन् । पहिरोले बस्ती नै जोखिममा परेपछि लिदीबासीलाई हाल बाँसखर्कमा अस्थायी बसोबासको व्यवस्था मिलाइएको छ ।

काठमाडौंको मैतीदेवीका पुरुषको कोरोनाका कारण मृत्यु

काठमाडौंः काठमाडौंको मैतीदेवीका पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । मैतीदेवीका ७५ वर्षीय पुरुषको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मंगलबार साँझ मृत्यु भएको अस्पतालका कोभिड फोकल पर्सन डाक्टर सविन थपलियाले जानकारी दिए । सुगर र प्रेसरको बिरामी रहेका काठमाडौंका पुरुषमा भदौ १५ गते कोरोना पुष्टि भएको थियो । पछिल्लो समय काठमाडौंमा तीव्र रुपमा संक्रमित र मृतक संख्या बढ्दै गइरहेको छ ।

बिहानै थपिए १७४ जना संक्रमित, कहाँ-कहाँ ?

काठमाडौं: बुधबार बिहानै नेपालमा १ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित प्रदेश-२, प्रदेश-५, कर्णाली, गण्डकी, बागमती प्रदेशका व्यक्ति हुन् । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । तीमध्ये १३ जना पर्सा र ५० जना बाराका हुन् । ४ सय ९० जनाको स्वाब परीक्षण गर्दा २८ महिलासहित ५ वर्षदेखि ७० वर्ष उमेर समूहका ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए । पर्साको बहुदरमाई नगरपालिकामा थप ८ जना संक्रमित थपिएका छन् । बहुदरमाई–४ मा ५ जना, ६ मा २ जना र वडा नं ५ मा एक जनामा संक्रमण देखिएको हो । वीरगन्ज महानगरपालिका–४ बिर्तामा २ जना, मुर्लीमा एक जना र वडा १८ मा एक जनामा कोरोना पोजिटिभ देखिएको छ । यसै गरि कलैया उपमहानगरपालिकाका ४५ जनामा कोरोना पुष्टि भएको छ । कलैया–१ मा ५ जना, ७ मा ५ जना, २३ मा ३ जना, २ मा ६ जना, ४ मा ६ जना, ६ मा एक जना, ९ मा एक जना, २० मा ४ जना, ८ मा एक जना, ५ मा ७ जना, ३ मा एक जना, २० मा ४ जना र वडा २१ मा एक जनामा कोरोना पुष्टि भएको हो । ३ संक्रमितको वडा नखुलेको डा. चौरसियाले जनाए । एक संक्रमित गण्डक अस्पतालका छन् । त्यस्तै, गण्डकी प्रदेशमा थप ३५ जनामा कोरोना पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा, भरतपुर अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप ३५ जनामा कोरोना पुष्टि भएको हो । संक्रमितमा कास्कीका २३, तनहुँका १, लमजुङका ४, नवलपरासी पूर्वका ७ जना रहेका छन् । योसँगै गण्डकीमा संक्रमितको संख्या २ हजार २ सय ४५ पुगेको छ । त्यस्तै, कर्णाली प्रदेशको जुम्लाका ४० जनालाई कोरोना संक्रमण भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले परीक्षण गरेको रिपोर्टमा जुम्लाका ४० जनालाई पोजिटिभ देखिएको प्रतिष्ठानका अस्पताल निर्देशक डा.मंगल रावलले बताए । चन्दननाथ नगरपालिकामा १६ जना, जुम्ला कारागारका १० जना, नेपाल विद्युत प्राधिकरणका कर्मचारी ४ जना , अदालतका एक जना, तिला गाउँपालिकामा २ जना, तातोपानी गाउँपालिकाका २ जना, सिञ्जा गाउँपालिकाका १ जना, पातारासी गाउँपालिकाका १ जना, कनकासुन्दरी गाउँपालिका १ जनामा कोरोना पोजिटिभ देखिएको हो । त्यस्तै, पेश नेपालका कर्मचारी एक जना, कृषि कार्यालयका १ जना गरी ४० जनामा संक्रमण देखिएको हो। जुम्लाका चन्दननाथ स्थायी ठेगाना र बसोबास गरिरहेका व्यक्तिहरु रहेकाले जुम्ला सदरमुकाम उच्च जोखिममा रहेकोले त्रास थपिएको अस्पताल निर्देशक रावलले बताए । स्थानीय प्रशासनले संक्रमण फैलिन नदिन भन्दै लामो समय देखी निषेधाज्ञा गरेर आधा दिन खुकुलो भएको दुई दिन नपुग्दै पुन संक्रमण बढेपछि थप त्रास फैलिएको छ। १४ गते संकलन गरिएको स्वाबका धेरैको पोजेटिभ देखिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसोलेसनमा रहेका ११ जना, र हिमा गाउँपालिकाको आईसोलेसनमा रहेका २१ जना डिस्चार्ज भएका छन् । संक्रमण देखिएका सबैलाई आईसोलेशनमा राख्न तयारी भईरहेको जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी ओम प्रकाश देवकोटाले बताए । उनका अनुसार बुधबार बिहान सुरक्षा समितिको बैठक तथा कोभिड व्यवस्थापन समितिको बैठक बोलाइएको छ । त्यस्तै, चितवनको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २८ जना चितवन जिल्लाका छन् । अन्य ७ जना नवलपरासी, धनुषा, रूपन्देही, सिरहा र बाराका रहेका प्रयोगशाला प्रमुख डा. नीतु अधिकारीले जानकारी दिइन् । चितवनका २८ जनामध्ये भरतपुर महानगरपालिकामा १६ पुरुष र १० महिला गरी २६ जना संक्रमित थपिएका छन् । भरतपुर महानगरपालिका–२, ३, ७, ९, १०, ११, १२, १५, १६, १७, २० र २६ मा संक्रमित थपिएका हुन् । उनीहरु २१ देखि ५८ वर्ष उमेर समूहका छन् । यसैगरी चितवनकै रत्ननगर नगरपालिका–१० मा २७ वर्षीया १ महिला र राप्ती नगरपालिका–९ मा ३५ वर्षीया एक महिलामा पनि कोरोना पुष्टि भएको डा. अधिकारीले जानकारी दिइन् । यस्तै नवलपरासीका २ पुरुष र १ महिलामा कोरोना संक्रमण देखिएको छ । अन्य संक्रमित धनुषा, रुपन्देही, सिरहा र बाराका हुन् ।

ह्वात्तै घट्यो सुनचाँदीको मूल्य

काठमाडौं: नेपाली बजारमा लगातार बढिरहेको सुनको मूल्य बुधबार भने घटेको छ । आज छापावाल सुन एकैदिन १२ सय रुपैयाँले घटेको हो । मंगलबार ९८ हजार ४ सयमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबा ९७ हजार ९ सय निर्धारण गरिएको तेजावी सुनको मूल्य आज प्रतितोला ९६ हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार १ हजार ३ सय ५५ मा कारोबार भएको चाँदीको मूल्य आज १ हजार ३ सय ६५ रुपैयाँ निर्धारण गरिएको छ ।

एतिहाद एयरलाइन्सले युएइबाट ११ सय नेपालीलाइ निशुल्क ल्याउन खोज्दा पनि अनुमति दिएन मन्त्रालयले

काठमाडौं । कोरोना संक्रमणका कारण विचल्लीमा परेका मजदूरहरु घर फर्किने समस्याले चिन्तित छन् । सरकारले घोषण गरेको नियमित उडानमा अति महंगो टिकट काट्न सक्ने अवस्था उनीहरुको छैन । तर बिडम्बना, सरकारले आफैले श्रमिकहरुको उद्दार गर्नुपर्ने बेलामा नीजि कम्पनीले निशुल्क ल्याउन अघि सारेको प्रस्ताव समेत अनुमति दिएको छैन । युएईमा अलपत्र परेका ११ सय नेपालीलाई निःशुल्क चार्टर उडानमार्फत ल्याउन इत्तेहाद एयरलाइन्सले अनुमति मागेको नयाँ पत्रिका दैनिकले खुलासा गरेको छ । एयरलाइन्सले नेपालस्थित युएई दूतावासमार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा १४ भदौमा निवेदन दिएको पत्रिकामा प्रकाशित समाचारमा उल्लेख छ । तर मन्त्रालयले भने अहिलेसम्म उक्त प्रस्तावबारे कुनै निर्णय भने गरेका छैन । युइए र अन्य देशहरुमा हजारौं नेपाली श्रमिकहरु अलपत्र अवस्थामा परेका छन् । नियमित भाडा दरभन्दा दशौं गुणा महंगो भाडा बनाइएपछि उनीहरु घर फर्किन पाएका छैनन । यही अवस्थाका बीच इत्तेहाद एयरलाइन्सले सेप्टेम्बर ४ देखि ८ वटा उडानमार्फत ११ सय २० नेपाली निःशुल्क ल्याउने प्रस्ताव गरेकोहो । दूतावासले सिसिएमसीले जारी गरेका नियमअनुसार ७२ घन्टाको पिसिआर परीक्षणसमेत निःशुल्क गराएर नेपालीलाई ल्याउने प्रस्ताव गरेको छ । एयरलाइन्सले युएईको रोजगारदाता कम्पनीसँग सहकार्य गरेर नेपाली श्रमिकहरूलाई निःशुल्क ल्याइदिने प्रस्ताव गरेको हो । तर, एयरलाइन्सको प्रस्तावको विषयमा आफूलाई केही जानकारी नभएको पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीको भनाई पत्रिकाले उद्दृत गरेको छ । उडानमा आउने कुनै पनि नेपालीले पिसिआर परीक्षण र टिकटको शुल्क तिर्नु नपर्ने प्रस्तावमा उल्लेख छ । युएईस्थित नेपाली दूतावासले सिफारिस गरेका नेपालीलाई मात्र ल्याउनेछ । प्रत्येक चार्टर उडानमा १ सय ४० जना नेपाली कामदार मात्रै ल्याइनेछ । भिसा अवधि सकिएकाहरूका लागि सेप्टेम्बर ११ पछि अतिरिक्त शुल्क लाग्ने भएकाले पनि अनुमति दिन माग गरिएको हो । सरकारले भने १७ भदौदेखि नियमित उडान खुला गरेको छ ।  

५० हजार टन युरिया मल पठाउन बंगलादेश सहमत

काठमाडौँ, भदौ १७ गते । नेपालमा देखिएकाे रसायनिक मलकाे संकट टार्न बंगलादेशले सहयाेग गर्ने भएकाे छ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका बङ्गलादेशी समकक्षी शेख हसिना वाजेदबीच मङ्गलबार दुई देशका अत्यावश्यक विषयमा थप सहकार्य गर्ने सहमति भएको हो । प्रधानमन्त्री ओली र वाजेदबीच भएको टेलिफोन वार्तामा दुई देश बीचको सम्बन्धका विभिन्न पक्षमा छलफल भएको थियो । प्रधानमन्त्री ओलीले हामीले दुई देशबीच व्यापार, ऊर्जा, पारवहन लगायत अन्य आवश्यकीय क्षेत्रलाई प्राथमिकता दिँदै सहकार्य वृद्धि गर्ने विषयमा जोड दियौँ भन्दै टेलिफोन वार्तामा भएका कुराकानीबारे उल्लेख गर्नुभएको छ । विद्युत् उत्पादनमा सहयोग, ग्रिड कनेक्टिभिटी र नेपालबाट बङ्गलादेशलाई बिजुली आपूर्ति गर्नका साथै दुई देशबीच अवरोधरहित सन्तुलित व्यापारको प्रवद्र्धन, बङ्गलादेशको पारवहन सुविधामा सुधार, पर्यटन प्रवद्र्धन र अन्य विषयमा समेत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओलीले रोहनपुर हुँदै बङ्गलादेश पुग्ने रेल्वे मार्ग विस्तार गर्न अनुमति दिएकोमा धन्यवाद व्यक्त गर्नुभयो । वार्ता फलदायी रहेको जानकारी दिँदै प्रधानमन्त्री ओलीले नेपालको कृषि बालीका लागि अत्यावश्यक वस्तुका रूपमा रहेको युरिया मल पठाउन नेपालले गरेको आग्रहलाई सकारात्मक रूपमा लिनुभएको बताउनुभयो । साथै यस विषयमा बङ्गलादेशले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता प्राप्त भएको छ । नेपालमा भइरहेको कोरोना नियन्त्रणको प्रयास प्रभावकारी रहेको भन्दै बङ्गलादेशका प्रधानमन्त्री हसिनाले प्रशंसा गर्नुभयो । उहाँले बङ्गलादेशको कृषि क्षेत्रको सफलताको कथाबाट फाइदा लिनसक्ने औँल्याउनुभयो । वार्ताका क्रममा पछि फिर्ता गर्ने शर्तका आधारमा ५० हजार टन युरिया मल पठाउन सहमति भएको छ । मल ढिला आउँदा नेपालको धान बालीलाई प्रतिकूल असर परिरहेको बेला नेपालका लागि यो ठूलो सहयोग हुनेछ । भारत लगायत सार्क मुलुकबाट आउने गरेको युरियासहित मलको आयात यसपटक कोरोना सङ्कटका कारण प्रभावित बनिरहेको छ । यसका कारण प्रधानमन्त्री ओलीले फोन गरेरै मित्रराष्ट्र बङ्गलादेशलाई तत्काल मल पठाइदिन आग्रह गर्नुभएको हो । यस सिजनमा हुर्कदै गरेको धान बालीका लागि मल अत्यावश्यक पोषण हो । प्रधानमन्त्री ओलीले बङ्गबन्धु शेख मुजिबुर रहमानको जन्म शताब्दीको अवसरमा बङ्गलादेशी समकक्षी, त्यहाँको सरकार र बङ्गलादेशका जनतालाई बधाईसमेत दिनुभयो । कोभिड–१९ महामारीविरुद्ध आफ्ना सरकारले गरेको प्रयासका अनुभव साटासाट गर्दै यो खतरा रोक्न सहयोग गर्ने विषयमा पनि दुई देशबीच सहमति भएको छ । सो क्रममा बङ्गलादेशले अपनाएको कदमको सराहना गर्दै कठिन घडीमा नेपाललाई औषधिसहित मेडिकल सामग्री सहयोग गरेकोमा प्रधानमन्त्री ओलीले कृतज्ञता व्यक्त गर्नुभयो । त्यस्तै नेपालमा सम्पन्न चौथो बिम्स्टेक शिखर सम्मेलनको स्मरण दुवै प्रधानमन्त्रीले गर्नुभयो । त्यस्तै बङ्गलादेशका राष्ट्रपतिको भ्रमणपछि सम्बन्ध अझ प्रगाढ बनाउन, प्रवद्र्धन गर्न र सुखद बनाउन उच्च स्तरीय भ्रमणलाई महìव दिएको धारणा दुवै प्रधानमन्त्रीले व्यक्त गर्नुभयो । गाेर्खापत्रबाट

दिदीको घर हिँडेकी किशोरीमाथि बाटैमा सामूहिक बलात्कार

जनकपुरधाम : धनुषामा दिदीको घरबाट फर्किँर्दै गरेकी १ किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जिल्लाको धनुषाधाम नगरपालिका- ५ नौसय बिघामा भएको दिदीको घरबाट दाजुभाइसहित घर जान निस्किएकी किशोरीमाथि सामूहिक बलात्कार भएको हो । बलात्कारीले गत भदौ १ गते सोमबार साँझ दिदीको गाउँबाट निस्किएकी किशोरीलाई पछ्याउँदै सुनसान स्थानमा पुगेपछि उनीसँगै रहेका दाजु-भाइलाई कुटपिट गरेर भगाएका थिए । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार किशोरीको दाजुभाइलाई भगाइ किशोरीलाई जबरजस्ती मोटरसाइकलमा बसाएर सुनसान स्थानमा लगी सामूहिक बलात्कार गरेको हो । पीडितको जाहेरी तथा बयानको आधारमा प्रहरीले अनुसन्धान गर्दै जाँदा घटनामा संलग्न १ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।