सुटकेश र जेब्रा झोलाभित्र भेटिएको शवको सनाखत

काठमाडौं :  काठमाडौंको गोंगबुस्थित गणेशस्थान नजिकै हत्या गरेर आइतबार बिहान भेटिएको सुटकेश र जेब्रा झोलामा राखिएको श’वको सनाखत भएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार सुटेकेशमा टाउको र खुट्टा काटेर निकालिएको अवस्थामा राखिएको शव रोल्पाका कृष्णबहादुर बोहरा भएको खुलेको हो ।

हत्‍या गरिएको शव सनाखत भइसकेको र बाँकी अनुसन्धान जारी रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।

उनले यसबारेमा थप विस्तृतमा भन्‍न सक्‍ने अवस्थामा नरहेको भन्‍दै चाँडै उक्त घटनाको विवरण विस्तरणमा सार्वजनकि गरिने बताए।

सुटकेश र जेब्रा झोला राखिएका ठाउँ सिसिटिभीको कभरेजमा छैन ।

उपत्यकामा ह्वात्तै बढ्यो कोरोना, ठूलो ‘डिजास्टर’ हुने चिन्ता

काठमाडौंः काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ । शनिबार थप ६२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एक हजार ४३ पुगेको छ । योसँगै उपत्यकाको काठमाडौंमा संक्रमितको संख्या ८२१ जना, ललितपुरमा १४८ जना र भक्तपुरमा ८५ जना कोरोना पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । लकडाउन खुकुलो भएसंगै उपत्यकामा ह्वात्तै बढेको छ । संक्रमण बढेको भन्दै गृह मन्त्रालयले बिहीबारदेखि उपत्यकामा तीनवटै जिल्लामा सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गरेको छ । राति ७ बजेदेखि बिहान ७ बजेसम्म उपत्यका प्रवेशका रोक लगाइएको छ । उपत्यकाका विभिन्न क्षेत्र सिल गरिएका छने भने आइतबारदेखि सटलकडाउन लागू भएको छ । भारत, विदेश र कोरोना संक्रमण फैलिएको जिल्लाहरूबाट आएकाहरूमा कोरोना पुष्टि भइरहेको छ । जसका कारण संक्रमित र जोखिम बढेको छ । प्रहरी स्रोतका अनुसार लकडाउन खुकुलो भएको समय असार दोस्रो सातादेखि हालसम्म करिब २ लाख व्यक्ति विभिन्न नाका हुँदै राजधानी काठमाडौं भित्रिएका छन् । राजधानी भित्रनेको संख्या बढ्दै गएपछि कोरोना संक्रमणको जोखिमसमेत बढ्दै गएको छ । काठमाडौं उपत्यकामा संक्रमण अझै बढ्दै गयो भने उपत्यकामा कुनै पनि बेला भयावह स्थिति आउने विज्ञहरूले चेतावनी दिएका छन् । संक्रमण बढ्दै जाँदा कोभिड अस्पताल भरिन थालेका छन् । उपत्यकाका ६ कोभिड अस्पतालमा चार सय २८ बेडमध्ये तीन सय ८२ मा संक्रमित छन् । मन्त्रालयका प्रवक्ता गौतमले काठमाडौं उपत्यका संक्रमणको उच्च जोखिममा रहेको बताए । ‘बाहिरका सहरभन्दा उपत्यकामा जोखिम बढेको छ । संक्रमण अहिले युवामा बढी देखिएको छ,’ उनले भने, ‘एक स्टेप अघि बढेर संक्रमण फैलियो भने काठमाडौंमा ठूलो डिजास्टर हुन्छ । उपत्यकामा करिब ४० लाखको बसोवास रहेको अनुमान छ । संक्रमित भेटिएका ठाउँ मन्त्रालयका अनुसार उपत्यकाका १३६ बढी ठाउँमा संक्रमित भेटिएका छन् । बूढानीलकण्ठ, धुम्बाराही, घट्टेकुलो, कोटेश्वर, माछापोखरी, नक्साल, पुतलीसडक, सीतापाइला, ताल्छीखेल, बालुवाटार, काठमाडौं महानगरपालिकाको कार्यालय, कुपन्डोल, टोखा, थानकोट । अनामनगर, बल्खु, बालुवाखानी, बौद्ध, भंगाल, चाबहिल, दक्षिणढोका, इमाडोल, जोरपाटी, कलंकी, कीर्तिपुर, सोह्रखुट्टे । बाफल, बसुन्धरा, भोटाहिटी, भोटेबहाल, च्यासल, क्षेत्रपाटी, दुवाकोट, धापासी, डल्लु, डिल्लीबजार, गोठाटार, गहनापोखरी, कपन, खुमलटार, कुलेश्वर, लगनखेल, महाबौद्ध, न्युरोड, नयाँबजार, पेप्सीकोला, रातोपुल, सुनाकोठी, ठैंब । आजदेखि उपत्यकामा सटडाउन लागू, यी हुन् बन्द हुने सेवाहरू (सूचीसहित)

कोरोनाका बिरामी राखिएको होटलमा आगलागी, ७ जनाको मृत्यु

काठमाडौंः भारतको आन्ध्र प्रदेशको विजयवाडामा रहेको स्वर्ण प्यालेस नामको होटलमा आगो लागेको छ । यो होटलमा कोरोना संक्रमितको उपचार गरिँदै आइएको थियो । केही दिन पहिले त्यहाँ नजिकै रहेको रमेश अस्पतालले उक्त होटललाई कोरोना संक्रमितको उपचारका लागि भाडामा लिएकाे थियो । विजयवाडा प्रहरी आयुक्तले दमकल विभागलाई उदृत गर्दै दिएको जानकारी अनुसार त्यहाँ हालसम्म ७ जनाको मृत्यु भएको छ । आगजनी हुँदा करिब ५० जना होटलमा थिए । आगोबाट बच्न चार जना अस्पतालको भवनबाट हामफालेका थिए । घाइतेहरूलाई नजिकैको रमेश अस्पताल लगिएको छ । आन्ध्र प्रदेशका गृह राज्य राज्यमंत्री मेकाथोटी सुचारितालेसर्ट सर्किटको कारण आलो लागेको हुन सक्न बताएका छन् । आन्ध्र प्रदेश सरकारका सल्लाहकार एस राजीव कृष्णले ट्वीट गरेर मुख्यमन्त्रीले दुर्घटनामा परी प्रभावित व्यक्तिहरूलाई उपचार र सहयोग गर्ने वाचा गरेको जानकारी दिएका छन् । आन्ध्र प्रदेश सरकारले दुर्घटनाको कारणको बारेमा छानबिनको आदेश दिएको छ ।

कोरोनाबाट थप १ जनाको मृत्यु, मृतक संख्या ७४ पुग्यो

काठमाडौंः नेपालमा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ । मृतक पोखरा महानगरपालिका–१९ निवासी ६२ वर्षीय पुरुष हुन् । डायबिटिजबाट पीडित उनको गएराति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो । साउन १७ गते अस्पताल भर्ना उनको आईसीयूमा राखेर उनको उपचार हुँदै आएको थियो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमितको मृत्यु भएको यो तेस्रो घटना हो । नेपालभर कोरोना संक्रमणबाट मृत्यु हुनेहरूको संख्या ७४ पुगेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७३ पुग्यो

आजदेखि उपत्यकामा सटडाउन लागू, यी हुन् बन्द हुने सेवाहरू (सूचीसहित)

काठमाडौंः काठमाडौं उपत्यकामा आजदेखि सटडाउन लागू भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को बैठकले शुक्रबार सो निर्णय गरेको हो । तीनै सीडीओ कार्यालयले साउन २५ गतेदेखि भदौ ८ गतेसम्म लागू हुनेगरी अत्यावश्यकबाहेकका सेवा स्थगित गर्ने निर्णय गरेका हुन् । नियमित सञ्चालन हुने सेवाहरूः – शान्ति सुरक्षा सम्बन्धी सेवा, – ठाडो निवेदन र उजुरी सेवा, – मुद्दा सम्बन्धी कार्य – अत्यावश्यक कामको लागि सवारी पास सम्बन्धी कार्य र – विपद् व्यवस्थापन सम्बन्धी कार्य स्थगित गरिएका सेवाहरू – नयाँ नेपाली नागरिकता वितरण, – नागरिकता प्रतिलिपि वितरण, – हातहतियार दर्ता र नविकरण – संस्था दर्ता, पत्रपत्रिका दर्ता साथै नविकरण सम्बन्धी कार्य, – निजी सुरक्षा कम्पनी नविकरण – राहदानी वितरण, – नाबालिग परिचयपत्र वितरण र – अन्य अत्यावश्यक नभएका सेवाहरू । अनावश्यक भीडभाड नगरी सामाजिक तथा भौतिक दूरी कायम राखी गफगाफ तथा आवतजावत गर्न र कोरोना सङ्क्रमणको शङ्का लागेमा स्वास्थ्य संस्थामा गएर परीक्षण गराउन अपिल गरिएको छ । स्वास्थ्य सतर्कता नअपनाउनेलाई सङ्क्रामक रोग ऐन, २०२० अनुसार कानुनी कारबाहीको चेतावनी दिइएको छ । गृह मन्त्रालयद्वारा जारी गरिएको बन्दाबन्दी व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड, २०७७ अनुसार आवतजावत गर्दा, कार्यस्थलमा कार्यरत रहँदा न्यूनतम दुई मिटरको सामाजिक दूरी कायम राख्न, आवतजावत गर्दा तथा कार्यस्थलमा रहँदा मास्क र सेनिटाइजर प्रयोग गर्ने जस्ता मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरिएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारी र उपत्यकामा तैनाथ सुरक्षा अधिकारीसहितको बैठकले सङ्क्रामक रोग ऐन, २०२० अनुसार सङ्क्रामक रोग सम्बन्धी स्वास्थ्य मापदण्ड नअपनाउनेलाई कारबाहीको चेतावनी दिइएको छ । यसका लागि सुरक्षा निकाय सँंगको समन्वयमा बजार, पसल, रेस्टुराँ, सपिङ मल, सरकारी तथा गैरसरकारी कार्यालय, सैलुन पसल ब्युटीपार्लर, स्पा, बर्थ डे पार्टी, भोज, समूहगत भेटघाट लगायत नागरिकको बाक्लो भीडभाड हुने स्थानको निरीक्षण तथा मापदण्ड पूरा गरे नगरेको अनुगमनको तयारी गरिएको छ ।

भारतमा फेरि कोरोनाको नयाँ रेकर्ड, मोदीको ध्यान भने मन्दिरमा !

नयाँ दिल्लीः भारतीय सत्ताले मन्दिर निर्माणलाई प्राथमिकता दिएको बेला कोरोनाले भने छलाङ मारेको छ । शनिवार एकैदिन ६५ हजार भन्दा बढी संक्रमित बनेका छन् । देशमा कोरोना संक्रमण रोकिने कुनै सम्भावना देखिँदैन । हरेक दिन संक्रमणको संख्या बढ्दै गइरहेको छ ।  कोरोनाले विकराल रुप लिएको बेला भारतीय सरकार भने अयोध्यामा राम मन्दिर निर्माण गर्ने विषयमा जुटेको छ । गत साता मात्रै प्रधानमन्त्री नरेन्द्र मोदीले निकै तामझामका साथ अयोध्यामा राम मन्दिर निर्माणका लागि भूमि पूजन गरेका छन् । भारतीय मिडिया र सत्ता निकट बुद्धिजीविहरुका लागि कोरोना भन्दा मन्दिर निर्माणको विषयले चर्चा पाएको छ । भारतमा कूल संक्रमितको संख्या २१ लाख नाघेको छ । शनिवार २४ घण्टामा ६५ हजार १ सय ५६ जना कोरोना संक्रमित बनेका छन् । महाराष्ट्रमा मात्रै १५६ जना संक्रमित भएका छन् । पछिल्लो जानकारी अनुसार, भारतका कृषि राज्यमन्त्री कैलीश चौधरी र मन्त्री अर्जुन मेघवालमा समेत कोरोना देखिएको छ । भारतले कोरोना रोकथामका लागि तीन चरणसम्म लकडाउनको घोषणा गरेको थियो । तर सरकारका प्रयासले कोरोना रोकथाम हुनुको साटा झन बढेर गएको छ । भारतमा रहेको चरम बेरोजगारी, अस्तव्यस्त स्वास्थ्य प्रणाली र जनउत्तरदायी शासन व्यवस्थाको अभावका कारण कोरोनाले विकराल रुप लिएको कतिपयले टिप्पणी गरेका छन् । पछिल्लो २४ घण्टामा भारतपछि सबैभन्दा धेरै कोरोना संक्रमण अमेरिकामा देखिएको छ। त्यहाँ एकै दिन ५३ हजार सात सय ६१ जनामा संक्रमण पुष्टि भएको छ भने ब्राजिलमा ४६ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा विश्वभर दुई लाख ६१ हजार दुई सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने पाँच हजार ६ सय १ जनाले ज्यान गुमाएका छन् ।

विदेशमा कोरोनाबाट १९१ जना नेपालीको मृत्यु

लन्डन:विश्वभर महामारीका रुपमा फैसिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण विदेशमा मात्र १ सय ९१ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार भारतमा यो साता थप २ जनाको कोरोनाका कारणले मृत्यु भएसँगै विदेशमा मृत्यु हुने नेपालीको संख्यामा वृद्धि भएको हो । शनिवार साँझसम्म नेपालसहित विश्वभर २ सय ६४ जना नेपालीको कोरोना भाइरसले ज्यान लिएको गैरआवासीय नेपाली संघले जनाएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा संजीव सापकोटाका अनुसार यो साता प्राप्त तथ्यांक अनुसार यो साता भारत, अष्ट्रेलिया, बेल्जियम, पोल्याण्ड, फ्रान्स, कतार, साउदी अरेवियामा रहेका नेपालीहरुमा थप नयाँ संक्रमण देखिएको छ । संघका अनुसार गत हप्ताको तुलनामा मध्यपूर्वका देशहरु कतार, युएई, साउदी अरब लगायतका देशमा कोरोना संक्रमणको दरमा कमी आएको छ । यो साता अष्ट्रेलिया रहेका १४६ जना नेपालीमा नयाँ संक्रमण थपिएको समितिले जनाएको छ । समितिका अनुसार गत साता लग्जेम्वर्गमा रहेका नेपालीहरुमा सामूहिक रुपमा देखिएको कोरोना संक्रमितहरु संक्रमणमुक्त हुँदै गएका छन् । संघका अनुसार लग्जेम्वर्गमा करिब दुई दर्जन नेपालीमा कोरोना संक्रमण रहेको र बाँकी आइसोलेसनमा रहेका छन् । लग्जेम्वर्गमा थप संक्रमण देखिएको छैन। विश्वमा ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएको संघले जनाएको छ । ती मध्य १६ देशमा रहेका नेपालीको कोरोनाका कारणले निधन भएको छ । कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेन, भारत, नेपाल, साउथअफ्रीका लगायतका देशमा रहेका नेपालीहरुको ज्यान गएको थियो । हाल सम्म नेपाल सहित ५५ हजार ९ सय २५ जनामा कोरोना संक्रमण देखिएको छ । ती मध्ये ४७ हजार ४ सय ३७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । विदेशमा अलपत्र परेका ४६ हजार ३१२ जनाको उद्धार कोरोना भाइरसका कारण जारी लकडाउनका कारण विदेशमा अलपत्र नेपालीको गैरआवासीय नेपाली संघ, नेपाली राजदूतावास र कूटनीतिक नियोगबीचको सहकार्यमा ५८ देशबाट हालसम्म उनीहरुको उद्धार गरिएको हो । विदेशमा अलपत्र परेका ४६ हजार ३१२ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्सबाट १२ हजार ५ सय १ जनाको उद्धार गरिएको छ । साउदी अरेबियाबाट ६ हजार ९ सय ९७, मलेसियाबाट ६ हजार ७९४, कुवेतबाट ६ हजार ३२९ र कतारबाट ५ हजार २५१ जनाको उद्धार भएको छ । अफगानिस्तानबाट ३३, ओमानबाट ६ सय ३६, म्यानमारबाट २६, थाइल्याण्डबाट ३ सय २६, दक्षिण कोरियाबाट ७ सय २०, बंगलादेशबाट ८ सय ४१, माल्दिभ्सबाट ७ सय ९,सिंगापुरबाट २ सय ९७, हंङकंङबाट ८९, पाकिस्तानबाट ७२, बहराइनबाट ९ सय ८०, अमेरिकाबाट ४ सय २३, बेलायतबाट २ सय २९, इजरायलबाट १ सय २७, चीनबाट २ सय आठ, टर्कीबाट १ सय १० जना स्वदेश फर्किएका छन् । फिलिपिन्सबाट २ सय १ जना, स्वीट्जरल्याण्डबाट १० जना, इराकबाट ३९ जना, दक्षिण सुडानबाट २ सय ५० जना, सेन्ट्रल अफ्रिकन रिपब्लिकबाट ६८ जना, श्रीलंकाबाट ५ जना जापानबाट १ हजार २३ जना स्वदेश फर्किएका छन् । भारतबाट हवाई उडान मार्फत ८५ जना स्वदेश फर्किएका छन् । तर स्थलमार्ग हुँदै भारतबाट आएकाहरूको तथ्यांक एकिन छैन । २४६ जनाको शव नेपाल ल्याइयो विदेशमा विविध कारण मृत्यु भएका २४६ जनाको शव नेपाल ल्याई परिवारलाई बुझाइएको छ । १७२ जनाको गन्तव्य मुलुकमै अत्येष्टीका लागि सहमति प्राप्त भएको छ । विदेशमा मृत्यु भएका ४९४ जनाको मध्ये अझै ७६ जनाको शव नेपाल ल्याउन बाँकी छ ।

कैलालीमा २ समूहबीच झडप, ५ जना घाइते

धनगढी : कैलालीमा २ समूहबीच झडप हुँदा ५ जना घाइते भएका छन् । जिल्लाको टीकापुर नगरपालिका-९ र वडा नम्बर ६ का युवाहरुबीच झडप भएको हो । टीकापुर प्रहरीका अनुसार उनीहरुबीच खक्रौलास्थित बालुवाटारमा झडप भएको थियो। २ समूहले एक–अर्कालाई धारीलो हतियारले प्रहार गरेका छन्। टीकापुर नगरपालिका वडा नम्बर ६ प्रसेनीका दिनेश साउँद, किरण रावल, र सुरज चौधरी तथा अर्को समुह वडा नम्बर ९ बैदिका तपेन्द्र साउँद र भुवन साउँद घाइते भएका हुन्। उनीहरुको टीकापुर अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरीले कार्यालय टीकापुरले जनाएको छ। घटना स्थलबाट प्रहरीले टिकापुर ६ प्रसेनीका रवन साउँद र लोकेन्द्र कडायतलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरुले आफूहरु १० जनाको समूहमा आएको प्रहरीलाई बयान दिएका ईलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ। उनीहरुकाे पहिले पनि झडप भएको खुलेको छ।

सोलु खोलामा पानीको सतह बढ्याे, सेतो पोखरी फुटेको आशङ्का

सोलुखुम्बु : सोलु दूधकुण्ड नगरपालिका–१ र २ को सिमानामा रहेको शेर्पा भाषामा चोकर्मा भनिने सेतो पोखरी फुटेकाे आशङ्कामा खोला किनारमा बस्ने स्थानीय त्रसित बनेका छन् । शुक्रबार बिहानैदेखि अचानक सोलु खोलामा पानीको सतह बढेपछि नुम्बुर हिमालको काखमा रहेको दूधकुण्ड पोखरी फुटेको अनुमान गर्दै खोला किनारमा रहेका बस्तीमा सावधानी अपनाउन अपिल गरिएको थियो । खोलामा पानीको सतह बढेपछि अवस्था पहिचानका लागि दावा शेर्पासहितको एक टोली दूधकुण्ड क्षेत्रमा गएपछि चोकर्मा फुटेको बताएको सोलुदूधकुण्ड नगरपालिकाका मेयर जाम्गेलजाङबु शेर्पाले जानकारी दिए । ‘चोकर्मा क्षेत्रमा रहेको ताल फुटेको खबर छ । फुटेको तालको आधा पानी बाहिरिँदा सोलुखोलामा पानीको सतह बढेको हो,’ मेयर शेर्पाले भने । दूधकुण्डकै आकारमा रहेको सो पोखरी पुरै फुटे खोला किनारमा रहेको बस्ती प्रभावित बन्न सक्ने जोखिम कायमै रहेको उनको भनाइ छ । मौसम अनकूल हुनासाथ तालको अवस्थाबारे बुझ्नका लागि हेलिकोप्टरमार्फत जाने तयारी गरेको मेयर शेर्पाले बताए । लेदोसहितको पानीको सतह बढेपछि माथिल्लो क्षेत्रमा ताल फुटेको हुन सक्ने आकलन गरिएको थियो ।

जोर-बिजोर अटेर गर्ने ७९७ सवारी कारबाहीमा

काठमाडौं : काठमाडौं उपत्यकामा विभिन्न स्थानबाट जोर गतेका दिन विजोर नम्बरका सवारी चलाउने ७९७ ओटा विजोर नम्बरका सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । जसमध्ये ५५६ ओटा दुई पाङग्रे र २४१ ओटा चार पाङग्रे सवारी साधन रहेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । आज सार्वजनिक विदाको दिन भएको र सडकमा सवारी साधनको संख्या न्युन रहेका कारण आवागमन सामान्य रहेको महाशाखाले जनाएको छ ।

काठमाडौंको कोटाल टोल सिल

काठमाडौं : काठमाडौंको महानगरपालिका–५ स्थित कोटाल टोलमा कोरोना सङ्क्रमण बढेपछि त्यस क्षेत्रलाई आज सिल गरिएको छ। महानगरपालिका वडा नम्बर ५ का अध्यक्ष रमेश डङ्गोलका अनुसार प्रहरीसहित स्थानीयवासीमा कोरोना सङ्क्रमण देखिएपछि टोललाई नै सिल गरिएको हो। प्रहरी टोली नै तैनाथ गरी अहिले सो क्षेत्रमा आवागमनसमेत बन्द गरिएको छ। केही दिनअघिको परीक्षणमा यहाँ प्रहरीसहित उनको परिवारका पाँच जनामा कोभिड–१९ देखिएको थियो। त्यसपछि परीक्षण गर्दा घरभेटीलाई कोरोना पोजेटिभ देखियो। समुदायका २५ जनाको परीक्षणमा अन्य थप छ जनालाई समेत कोभिड–१९ पुष्टि भएपछि टोललाई सिल गर्नु परेको उनले बताए।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७३ पुग्यो

काठमाडौं : नेपालमा कोराना भाइरसको संक्रमणबाट शनिबार ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, पर्सा र मोरङमा गरी ३ जनाको मृत्यु भएको हो। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंको टोखा नगरपालिका ६ बस्ने ४१ वर्षीय महिलाको शुक्रबार कोरोनाबाट मृत्यु भएको हो। उनको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। यस्तै पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका-३ छप्कैयाका ७४ वर्षिय वृद्धको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ। मधुमेह र दमबाट पीडित ती वृद्धको गण्डक अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। यसगरी मोरङको विराटनगर महानगरपालिका ९ का ५८ वर्षका पुरुषको पनि साउन शुक्रबार नै उपचारका क्रममा कोशी अस्पतालमा मृत्यु भएको थियो। उनी उच्च रक्तचाप र निमोनियाका विरामी थिए। यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ।

काठमाडौंमा थप ६२ जनामा देखियो कोरोना

काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६२ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६२ संक्रमित थपिएका हुन् । जसमध्ये काठमााडौंमा मात्र ५६ संक्रमित थपिएका छन् भने ललितपुर र भक्तपुरमा ३/३ संक्रमित थपिएका छन् । योसंगै काठमाडौं उपत्यकामा संक्रमितको संख्या एक हजार ४४ पुगेको छ । देशभर आज ३७८ जनामा कोरोना संक्रमण देखिएको छ ।

आज ३७८ जनामा कोरोन संक्रमण, ४९९ जना डिस्चार्ज

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ३७८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुल संक्रमितको संख्या २२ हजार ५९२ पुगेको छ । नेपालमा अहिले संक्रिय संक्रमितको ६ हजार दुई सय रहेका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४९९ डिस्चार्ज भएका छन्। कुल डिस्चार्ज हुनेको संख्या भने १६ हजार ३१३ पुगेको छ। अहिले क्वारेन्टाइनमा १० हजार ७९२ जना रहेका छन्। मन्त्रालयका अनुसार नेपालमा पाँच सय बढी संक्रमित हुने जिल्ला पर्सा, रौतहट, महोत्तरी र काठमाडौं हुन्। अहिले कोरोना संक्रमण शून्य हुने जिल्लाको संख्या भने सात पुगेको छ। प्रवक्ता गौतमका अनुसार खोटाङ, धनकुटा, संखुवासभा, रुकुम पश्चिम, मनाङ र मुस्ताङमा कोरोना संक्रमण शून्यमा झरेको हो।

गृहमन्त्री थापाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

काठमाडौं : गृहमन्त्री रामबहादुर थापासहित उनका सुरक्षा र राजनीतिक सल्लाहकारको कोभिड–१९ परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कोभिड–१९ सङक्रमित प्रदेश २ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्रकुमार यादवको नजीकको सम्पर्कमा परेपछि बिहीबार स्वाब संकलन गरिएको थियो । उनको रिपोर्ट नेगेटिभ आएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए । साउन १४ गते प्रधानमन्त्री केपी शर्मा ओली सहभागी एउटा कार्यक्रममा गृहमन्त्री थापासहित प्रदेशमन्त्री यादव सहभागी भएका थिए त्यसको पाँच दिनपछि मन्त्री यादवलाई कोभिड–१९ पुष्टि भएपछि ‘क्लोज कन्ट्याक’मा रहनुभएका गृहमन्त्रीसहित सहभागी टोलीको परीक्षण भएको थियो । परीक्षणमा गृहमन्त्री थापा, सुरक्षा सल्लाहकार डा इन्द्रजीत राई, र राजनीतिक सल्लाहकार सूर्य सुवेदीको रिपोर्ट नेगेटिभ आएको छ । प्रधानमन्त्री ओलीसहित कार्यक्रममा सहभागी उच्चपदस्थ व्यक्तिको परीक्षण रिपोर्टसमेत नेगेटिभ आएको थियो ।

कस्तो छ आगामी ३ दिनको मौसम?

काठमाडौं : नेपालमा फेरि आगामी तीन दिन मनसुन सक्रिय हुने भएको छ। आज रातिदेखि मनसुन न्यूनचापीय रेखा नेपालको तराई भू-भाग नजिक सर्ने सम्भावना देखिएकाले दुई/तीन दिनसम्म देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको मौसमविद् शान्ति कँडेलले बताइन्। ‘केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको छ’, मौसमविद् कँडेलले भनिन्। मौसमविद्का अनुसार यस वर्ष मनसुन बढी सक्रिय भएको छ। मनसुनी रेखा नेपालमा धेरै दिनसम्म रही रहेकाले वर्षा बढी भएको बताइएको छ। आज रातिदेखि दुई/तीन दिनसम्म नेपालमा मनसुन सक्रिय भई देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन अनुरोध गरिएको छ। हाल प्रदेश नं २ मा र प्रदेश नं ५ का केही भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ। त्यस्तै, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५, कणाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव चार र अधिकतम तापक्रम ३० दशमलव छ डिग्री सेल्सियस रहेको छ। त्यस्तै, आज सबभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १७ दशमलव तीन डिग्री र सबभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३६ दशमलव आठ डिग्री सेल्सियस रहेको छ। साउन २४ गते (शनिबार) दिउँसो : देशभर सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश,गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ । राति : देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण वदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै-थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ। साउन २५ गते (आइतबार) दिउँसो : देशभर सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ । राति : देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण वदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, गण्डकी प्रदेश, प्रदेश नं ५ , कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरु साथै प्रदेश नं २ र बागमती प्रदेश का एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ । साउन २६ गते (सोमबार) दिउँसो : देशभर सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ । राति : देशका अधिकांश भू-भागमा सामान्य वदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश, र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरु साथै बागमती प्रदेश का एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।