नयाँ मन्त्रिपरिषद् आजै पुनर्गठन हुने

काठमाडौं । गठबन्धन भत्किएसँगै नयाँ मन्त्रिपरिषद आजै गठन हुने भएको छ । 
नेपाली काङ्ग्रेस सँगको गठबन्धन भत्किएसँगै माओवादी केन्द्र, एमाले, स्वतन्त्र पार्टी सहितको नयाँ गठबन्धन सरकार आजै गठन हुने भएको हो । 
त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्का सबै मन्त्रीलाई हटाउँदै छन् ।

स्रोतका अनुसार, अहिलेका सबै मन्त्री हटाउने र सानो आकारको मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी भएको छ ।

नयाँ मन्त्रिपरिषदमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बाट एक एक जना मन्त्री बन्दैछन् ।

आज धेरै स्थानमा हुनेछ भारी वर्षा

काठमाडौं । केही प्रदेशमा बिहानैदेखि वर्षा भइरहेको छ। कोसी, मधेस र वाग्मती प्रदेशका एकदुई स्थानमा वर्षा भइरहेको छ। बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग पूवानूमान महाशाखाले जनाएको छ । देशभर साधारणदेखि पूर्ण बदली रहेको छ ।   जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।  विभागले राति देशभर साधारणदेखि पूर्णतया बदली रहनेछ । सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  कोसी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।  हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानको उत्तरमा रहेको विभागले जनाएको छ । जसका कारण भारी र धेरै भारी वर्षाको सम्भावना रहेको हो । 

कोसीदेखि लुम्बिनीसम्म वर्षा, गण्डकीमा मुसलधारे वर्षाको सम्भावना

काठमाडौं । देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । मनसुन प्रणाली सक्रिय भएका स्थानका केही भू–भागमा वर्षा भइरहेको हो । गण्डकी प्रदेशको थोरै तथा कोसी, मधेस र वाग्मती प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । कोसी प्रदेशमा आंशिकदेखि साधारणतया बदली छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सफा छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ ।  कोसी, वाग्मती र गण्डकी प्रदेशका केही, मधेस र लुम्बिनी प्रदेशका थोरै तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  विभागले जनाए अनुसार राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्ण बदली रहनेछ । लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली हुनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।  गण्डकी प्रदेशका केही स्थान, कोसी, मधेस, वाग्मती र लुम्बिनी प्रदेशका थोरै तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  गण्डकी प्रदेशका एकदुई स्थानमा मुसलधारे वर्षाको सम्भावना रहेको विभागले जनाएको  छ । हाल मनसुन प्रणालीको प्रभाव कोसी, मधेस, वाग्मती, गण्डकी प्रदेशका सबै भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा रहेको विभागको भनाइ छ ।

परराष्ट्र मन्त्री श्रेष्ठसँग बिमस्टेकका महासचिव पाण्डेको भेट

काठमाडौँ । उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठलाई नेपाल भ्रमणमा आएका बिमस्टेकका महासचिव इन्द्र मणि पाण्डेले भेट गरेका छन् । मंगलबार मन्त्रालयमा भएको भेटमा बिमस्टेकलाई कसरी बलियो र सशक्त बनाएर अगाडि बढ्ने विषयमा उनीहरुबिच छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री श्रेष्ठले नेपाल र बिमस्टेक सहयोगलाई अझै प्रगाढ कसरी बनाउने भन्ने विषयमा आफ्नो धारणा राखेका थिए । नेपालले प्रतिनिधि सभाबाट बिमस्टेक बडापत्र पारित गरेकोमा महासचिव पाण्डेले धन्यवाद पनि दिए । महासचिव पाण्डेले सोमबार परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालसँग पनि भेटवार्ता गरेका थिए । उनीहरुको भेटमा पनि क्षेत्रीय साझेदारीलाई अगाडि बढाउने विषयमा छलफल भएको थियो ।   बिम्स्टेकको प्रबुुद्ध समूह बैठकको तयारी चरणमा पाण्डेको नेपाल भ्रमण भएको हो । आगामी जुन २३ देखि २५ सम्म थाइल्याण्डमा बिम्स्टेक प्रबुद्ध समूहको बैठक हुँदैछ । बिमस्टेकमा नेपाल, भारत, भुटान, बङ्लादेश, म्यानमार, थाइल्याण्ड र श्रीलङका जस्ता सात देशका सदस्य रहेका छन् । सन् २०२२ मा श्रीलङ्कामा भएको पाँचौँ शिखर सम्मेलनमा नेपालसहित सबै सदस्य राष्ट्रले बडापत्रमा हस्ताक्षर गरेका थिए । 

यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल वैशाख २५ गते मंगलबार सन् २०२४ मे ७ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २९ पैसा र बिक्री दर १३३ रुपैयाँ ८९ पैसा पुगेको छ।युरो एकको खरिद दर १४३ रुपैयाँ ६१ पैसा र बिक्री दर १४४ रुपैयाँ २५ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ६४ पैसा र बिक्री दर १६८ रुपैयाँ ३९ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल वैशाख १० गते सोमबार सन् २०२४ अप्रिल २२ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २६ पैसा र बिक्री दर १३३ रुपैयाँ ८६ पैसा पुगेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ शून्य पैसा र बिक्री दर १४२ रुपैयाँ ६३ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ८८ पैसा र बिक्री दर १६५ रुपैयाँ ६२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५३ पैसा र बिक्री दर ३६ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर 

बाढीपहिरोको प्रभावित स्थलमा सरकारको पहल पुगेन : अध्यक्ष प्रचण्ड

असोज । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढीपहिरो प्रभावित क्षेत्रमा योजनाबद्ध पहल नपुगेकाले उद्धार, राहत र पुनर्स्थापनाको प्याकेज कार्यक्रम तत्काल अघि सार्न सरकारको ध्यानार्षण गराउनुभएको छ ।  काभ्रे जिल्लाका विभिन्न बाढीपहिरो प्रभावितस्थलको निरीक्षण अवलोकनपछि उहाँले यस्तो ध्यानाकर्षण गराउनुभएको हो ।  प्रभावित क्षेत्रको स्थिति भयावह रहेको उल्लेख गर्दै उहाँले अझै पनि केही नागरिक वेपत्ता रहेको, केही नागरिक प्रभावित क्षेत्रमा फसेको र प्रभावित क्षेत्रमा खाद्यवस्तुलगायत आधारभूत मानवीय आवश्यकता परिपूर्ति हुन नसकेको बताउनुभयो । स्थानीय प्रशासन, सुरक्षा संयन्त्र, राजनीतिक दल र सामाजिक संघसंगठन उद्वार र राहतमा खटेको भए पनि केन्द्रको योजनाबद्ध काम अझै पर्याप्त रुपमा प्रभावितस्थलमा पुग्न नसकेको उहाँले स्पष्ट गर्नुभयो । अध्यक्ष प्रचण्डले बेपत्ताको खोजी, पीडितलाई राहत र ढाडस, घाइतेको निःशुल्क उपचार,आवासविहीनलाई आवास र पुनर्वासको व्यवस्था, सडक पूर्वाधारको पुनर्निर्माण, विद्युत आपूर्ति, सञ्चार सम्पर्कलगायतका अत्यावश्यकीय विषयमा सरकारको ध्यान पुग्न नसकेको भन्दै यी कामका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । उहाँले उद्धार, राहत र पुनर्स्थापनामा खटिरहेका स्थानीय अधिकारी र नेता कार्यकर्ताहरुलाई धन्यवाद दिंदै आफूले प्रमुख प्रतिपक्षी दलका नेताको तर्फबाट सरकारलाई निरन्तर खबरदारी गरिरहेको बताउनुभयो । उहाँले मौसम पूर्वानुमानपछि सरकारलाई पूर्वतयारीका लागि लगातार सचेत गराए पनि सरकार गम्भीर हुन नसकाले क्षति बढेको औल्याउँदै अब सरकारको आलोचना गरेर बस्नुभन्दा पनि मुलुकलाई एकताबद्ध गरेर राहत र पुनर्निर्माणमा जुट्न आह्वान गर्दै आफूले प्रभावितस्थलमै पुगेर यथार्थ जानकारी लिने प्रक्रिया सुरु गरेको बताउनुभयो । सोहीअनुसार हिजो आफूले काठमाडौं, ललितपुर र भक्तपुरका प्रभावितस्थलको अवलोकन गर्नुका साथै आज काभ्रे आएको पनि स्थानीयवासीलाई जानकारी दिनुभयो। अध्यक्ष प्रचण्डले आफ्नो पार्टीका नेता कार्यकर्तालाई पीडामा रहेका जनतालाई साथ दिनु पार्टीको प्रमुख अभिष्ट रहेकाले यसलाई सेवा गर्ने अवसरको रुपमा उपयोग गर्न निर्देशन दिनुभयो । जनता पीडामा रहेको बेला उनीहरुलाई आशा र भरोसा दिंदै हरेक समस्या समाधानका लागि अगुवाई गर्नु साँचो अर्थमा राजनीतिक दलका नेता कार्यकर्ताको कर्तव्य भएकाले निरन्तर जनताको साथमा रहेर सहयोग गर्न र कम्तीमा पनि दशैंअघि पीडितलाई राहतको महसुस गर्ने वातावरण बनाउन आग्रह गर्नुभयो । अध्यक्ष प्रचण्डले बाढीपहिरो र डुबानका कारण सबैभन्दा बढी प्रभावित जिल्ला काभ्रेको स्थलगत अनुगमनका क्रममा धुलिखेलमा काभ्रेका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुखसहित कार्यालय प्रमुखहरुबाट बाढी पहिरोपछिको जिल्लाको अवस्था, पीडितहरुको उद्वार, राहत तथा पुनस्र्थापनाका बारेमा भएका कामको जानकारी लिनुभएको थियो ।  त्यस्तै उहाँले धुलिखेल अस्पतालमा घाइतेहरुलाई भेटेर उपचारबारे जानकारी लिनुका साथै बनेपा १२ पनौतीमा पुगेर ठूलो क्षति व्यहोरेको पलाती भूमिडाडाको अवस्थाको अवलोकन गर्नुभएको थियो ।

तनहुँ दुर्घटनाप्रति पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौं ।  पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तनहुँमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको उद्धार र उपचारलाई प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले दुःख व्यक्त गर्दै भन्नुभएको छ– ‘तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा यात्रुवाहक बस खस्दा भएको ठूलो मानवीय क्षतिले स्तब्ध बनाएको छ। घटनाप्रति दुःख व्यक्त गर्दै थप मानवीय क्षति हुन नदिन घाइतेहरुको शीघ्र उद्वार र प्रभावकारी उपचारका लागि सरकारसहित सबै पक्षको ध्यानाकर्षण गराउन चाहन्छु।’ मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँले पछिल्लो समय बढिरहेका सवारी दुर्घटना न्यूनीकरणका लागि लाग्न सबै पक्षलाई आग्रह पनि गर्नुभएको छ । तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा १४ जनाको मृत्यु भएको छ । घटनास्थलबाट १६ जना घाइतेको उद्धार गरिएको प्रहरीले जनाएको छ । शुक्रबार बिहान पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको हो । बस नदी किनारमा अड्किएको छ ।

प्राविधिक परिक्षण गर्न आफ्नै कर्मचारी र इन्जिनियर बोकेर पोखरा जाँदै थियो सौर्यको जहाज

काठमाडौं । पोखरा विमानस्थलका लागि परीक्षण उडानमा निस्किएको जहाज त्रिभुवन विमानस्थलको रनवे छाड्नेबित्तिकै दुर्घटनामा परेको खुलेको छ । सौर्य एयरलाइन्सको ८ एन एएमई (सीआरजे २००) जहाज बिहान ११ बजे पोखरा विमानस्थलमा परीक्षण उडानका लागि निस्किनेबित्तिकै दुर्घटनामा परेको हो। प्राविधिक परीक्षणका लागि पोखरा विमानस्थलतर्फ जाने क्रममा यो जहाज दुर्घटनामा परेको हो। पोखरामा सौर्यको नियमित उडान थिए । परीक्षण उडानमा रहेकाले यो जहाजमा टिकट काटेका सर्वसाधारण यात्रु थिएनन् । पोखरामा नियमित उडान नभएको सौर्यको यो जहाजले उसकै कर्मचारी र इन्जिनियरसहित १९ जनालाई बोकेको थियो । आफ्नै कम्पनीका इन्जिनियर र कर्मचारी लिएर ०२ रनवेबाट २० तर्फ उड्ने क्रममा दुर्घटनामा परेको हो ।विमानस्थल स्रोतका अनुसार जहाजमा चालक दलका दुईजना सदस्य, सौर्यका कर्मचारी र इन्जियनियर सवार थिए ।

यस्तो छ बागलुङ दुर्घटनामा घाइते हुनेहरूको विवरण (नामावलिसहित)

वाग्लुङ । बागलुङको निसीखोला दुर्घटनामा परी घाइते भएका २५ जनालाई धौलागिरि अस्पताल बागलुङमा पठाइएको छ । पश्चिम रुकुमदेखि काठमाडौंका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस आज साँझ सवा ५ बजे बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो ।दुर्घटना हुँदा घटनास्थलमै सात जनाको मृत्यु भएकाे र अर्का एकजनाको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएकाे प्रहरीले जनाएको छ । ३२ जना सवार भएको सो गाडिका घाइतेको विवरण तल उल्लेख गरेका छौं । घाइतेहरुको विवरण १. जिल्ला रुकुम पश्चिम मुसिकोट-१ बस्ने बर्ष ५२ को दसरथ नेपाली २. जिल्ला गुल्मी मदाने गापा १ बस्ने बर्ष २४ को गोबिन्द बोहरा (सहचालक) ३. जिल्ला रुकुम पश्चिम मुसिकोट नपा ३ बस्ने बर्ष ६५ को हर्क बहादुर केसी ४. जिल्ला रूकुम बोतलिवाङ गापा ७ बस्ने बर्ष ३५ को हिमबहादुर पाण्डे ५. जिल्ला गुल्मी मालिका गापा १ बस्ने बर्ष ५० को बलबहादुर पुन ६. जिल्ला सुर्खेत पञ्चपुरी नपा ८ बस्ने बर्ष २६ को लक्ष्मण बोगटी ७. जिल्ला रुकुम पश्चिम बस्ने बर्ष २२ को टिकाराम बिक ८. जिल्ला रूकुमकाे बर्ष नखुलेकाे शोभा थापा ९. जिल्ला रुकुम पश्चिम बोतलिवाङ गापा ११ बस्ने बर्ष २२ की सबिनापुन मगर १०. जिल्ला रूकुम मुसिकोट नपा ३ बस्ने बर्ष २४ को गणेश खड्का ११ जिल्ला काठमाण्डौ टोखा नपा ३ बर्ष २३ कि श्रीष्टी गैरे १२. जिल्ला डोल्पा त्रिपुरासुन्दरी नपा ३ बस्ने बर्ष २८ को आविस्कार धराला १३. जिल्ला रुकुम पश्चिम मुसिकोट नपा ३ बस्ने बर्ष २७ कि सरिता खड्का १४. ऐ बस्ने महिना ३ कि ज्ञानु ढकाल १५. जिल्ला ललितपुर महानगरपालिका १४ बस्ने बर्ष २४ कि अनुज्ञा भट्टराई १६. जिल्ला रुकुम पश्चिम मुसिकोट नपा ४ बस्ने बर्ष ४६ कि बिना शर्मा १७. ऐ बस्ने बर्ष ४४ कि कमला केसी १८ ऐऐ बस्ने बर्ष २० कि लक्ष्मी पुन मगर १९. ऐऐ ०३ बस्ने बर्ष ५५ को लिला केसी २०. ऐऐ बस्ने बर्ष ३० को ससिराम खड्का २१. जिल्ला रुकुम पश्चिम तलाखेत नपा ४ बस्ने बर्ष १८ कि सपना वली २२. ऐ सानोभेरी गापा १ बस्ने बर्ष २६ को दिनेश खड्का २३. ऐ. त्रिवेणी गा.पा१ बस्ने बर्ष २८ को हेमराज केसी २४. जिल्ला सिन्धुपाल्चोक जुगाल गापा २ बस्ने बर्ष २६ को देवेन्द्र रिजाल

आगामी निर्वाचनमा माओवादी एक्लै चुनाव लड्ने

काठमाडौं, १६ फागुन । नेकपा माओवादी केन्द्रले आउँदो निर्वाचनमा एक्लै चुनाव लड्ने भएको छ।  बुधबार काठमाडौंको पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको स्थायी कमिटी बैठकमा माओवादीले अब आउने निर्वाचनमा एक्लै निर्वाचन लड्ने निर्णय गरेको उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।  नेपाली कांग्रेसको फागुन ७ देखि १० गतेसम्म भएको महासमिति बैठकले गठबन्धन नगरी चुनाव लड्ने निर्णय गरेको विषय पनि स्थायी कमिटी बैठकमा छलफल भएको थियो।  त्यसबारे उनले अब आउने निर्वाचनमा एक्लै लड्ने तयारी भइरहेको बताएका हुन्। ‘अब आउने चुनावमा पार्टीले स्वतन्त्र रूपमा एक्लै प्रतिस्पर्धा गर्ने भनेर भनेका छौं,’ उनले भने, ‘यो विषय कार्यनीतिक विषय हो, रणनीतिक होइन। तर हाम्रो पार्टीले एक्लै प्रतिस्पर्धा गर्नेगरी तयारी गर्नुपर्छ भनेर भनिएको छ।’  यस्तै बैठकले राष्ट्रिय सभा अध्यक्षमा पार्टीबाट उम्मेदवारी दिने निर्णय पनि भएको छ ।   

गण्डकीमा मनसुनजन्य विपद्मा परी ३८ जनाको मृत्यु

गण्डकी । यही असार १ गतेदेखि हालसम्म भएका मनसुनजन्य विपद्का घटनामा परी गण्डकी प्रदेशमा ३८ जनाको मृत्यु भएको छ। बाढी पहिरोलगायत घटनामा ज्यान गुमाउनेमा २१ महिला र १७ जना पुरुष रहेका गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका अनुसार उक्त अवधिमा ८२ वटा मनसुनजन्य विपद्का घटना भएका छन्। सबैभन्दा बढी कास्कीमा पहिरोमा परी १४ जनाको मृत्यु भएको कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए। उनका अनुसार मनसुनी विपद्मा परी स्याङ्जामा सात, लजमुङमा पाँच, तनहुँमा चार, बागलुङमा तीन, म्याग्दीमा दुई, पर्वतमा दुई र नवलपुरमा एक जनाको मृत्यु भएको हो। गए राति मात्र पहिरोका घटना परी कास्कीमा ११ र म्याग्दीमा दुई जनाको मृत्यु भएको थियो। मनसुनजन्य विपद्का घटनामा आठ महिला र १७ पुरुष गरी २५ जना घाइते र ७६ जना विस्थापित भएका प्रहरी वरिष्ठ उपरीक्षक रेग्मीले जानकारी दिए। ‘एकानब्बे पशुचौपाया र छ सय ९० पक्षीको मृत्यु भएको छ। विपद्का कारण झण्डै दुई करोड बराबरको भौतिक क्षति भएको छ’, उनले भने। सबैभन्दा बढी कास्कीमा २३ मनसुनजन्य विपद्का घटना भएका प्रहरी प्रवक्ता रेग्मीले बताए। सो अवधिमा गोरखा र मुस्ताङमा विपद्का घटना भएका छैनन्। उनका अनुसार स्याङ्जामा १२, पर्वतमा १०, नवलपुरमा छ, बागलुङमा चार, लमजुङ आठ, मनाङमा एक, म्याग्दीमा आठ र तनहुँमा आठ विपद्का घटना भएका छन्। यसैबीच, केही दिनयता निरन्तर वर्षा भइरहेकाले सतर्कता अपनाउन प्रहरीले सर्वसाधारणमा अनुरोध गरेको छ।

प्रधानमन्त्री ‘प्रचण्ड’र माधव नेपालबीच भेट

काठमाडौँ । नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न सिंहदरबार पुगेका छन्। महाधिवेशनमा केन्द्रीय कमिटी घोषणा लगत्तै नेपाल र प्रधानमन्त्रीबीच भेट भएको हो । नेकपा एसले भने प्रधानमन्त्रीको पक्षमा उभिने भन्दै आफूहरू सरकारबाट नहट्ने प्रष्टीकरण दिइसकेको छ ।

रास्वपा महामन्त्री ढकाल पदबाट निलम्बन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवं प्रवक्ता मुकुल ढकाल पदबाट निलम्बन भएका छन् ।  बुधबार बसेको केन्द्रीय समितिको बैठकमा अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै रास्वपाले उनलाई सात दिनका लागि निलम्बन गरेको हो । केन्द्रीय अनुशासन आयोगका प्रमुख भरतमणि देवकोटासँग परामर्श गरेर ढकाललाई सात दिनका लागि निलम्बन गरिएको सहप्रवक्ता मनिष झाले बताए । केन्द्रीय समितिले सहमहामन्त्री कबीन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र आफुलाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी समेत दिएको झाले बताए । साथै, ढकालको गतिविधिका सम्बन्धमा यथोचित कारवाहीको सिफारिससहितको प्रतिवेदन केन्द्रीय समितिमा पेस गर्न केन्द्रीय अनुशासन आयोगलाई निर्देशन समेत दिइएको उनको भनाई छ । बुधबारको केन्द्रीय समिति बैठकमा बोल्न नपाएको भन्दै मुखमा कालो टेप लगाएर बसेका ढकालले आफूलाई ‘ह्यारेसमेन्ट’ गरिएको भन्दै बैठक बहिस्कार गरेका थिए । पत्रकारहरुसँग उनले पार्टी सभापति रवि लामिछानेको कार्यशैलीमाथि प्रश्न उठाएका थिए । लामिछानेले हिजो गोर्खा मिडियामा भएको गलत कामको दोष जीबी राईलाई लगाएको र अहिले पार्टीमा आफूलाई दोष थुपारेर उम्किन खोजेको ढकालले बताएका थिए । उनले भनेका थिए, ‘मैले चाहिँ कहिल्यै गल्ती गर्दिन भन्ने व्यवहार सभापतिले देखाउनुभएको छ ।’ उनले अगाडि भनेका थिए, ‘जब उहाँ पत्रकार हुनुहुन्थ्यो तब नेता दोषी, जब नेता हुुनुहुन्थ्यो, तब पत्रकार दोषी, जब उहाँ प्रतिपक्ष हुनुहुन्थ्यो, तब सत्तापक्ष दोषी, जब सत्तापक्ष हुनुहुन्थ्यो, तब प्रतिपक्ष दोषी यो प्रकारको व्यवहार चित्तबुझ्दो भएन ।’

यस्तो छ बिहीबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं  । आज २०८१ साल जेठ ३१ गते बिहीबार सन् २०२४ जुन १३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। बिहीबार बेलायती पाउण्ड र युरोको विदेशी विनिमयदर बढ्दा अमेरिकी डलर र कतारी रियालको विनिमय दर झिनो अंकमा घटेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३८ पैसा र बिक्री दर १३३ रुपैयाँ ९८ पैसा पुगेको छ।युरो एकको खरिद दर १४३ रुपैयाँ ५२ पैसा र बिक्री दर १४४ रुपैयाँ १६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ १६ पैसा र बिक्री दर १७० रुपैयाँ ९२ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५८ पैसा र बिक्री दर ३६ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

अहिलेकै अवस्थामा जीबी राईको पासपोर्ट रद्द गर्न मिलेन : राहदानी विभाग

काठमाडौं । गितेन्द्रबाबु राई (जीबी)को राहदानी (पासपोर्ट) रद्द गर्न नमिल्ने भएको छ । पोखराको सूर्यदर्शन सहकारी तथा विभिन्न चार सहकारीको अर्बौं ठगीको आरोपपछि फरार जीबीको राहदानी रद्दको माग गर्दै कास्की प्रहरीले राहदानी विभागलाई पत्रचार गरेको थियो । तर, राहदानी विभागले कानुनी परामर्शपछि पासपोर्ट रद्द गर्न अदालतको आदेशबाहेक अन्य अवस्थामा गर्न मिल्ने नदेखिँदा अहिलेकै अवस्थामा रद्द गर्न नमिल्ने जनाएको हो ।  प्रहरीले जीबी मलेसियामा रहेको आशंका गरेको छ । त्यहाँबाट समेत अन्य देश भाग्न सक्ने भन्दै प्रहरीले उनको पासपोर्ट रोक्काको लागि वैशाखको अन्तिम साता राहदानी विभागलाई पत्राचार गरेको थियो । अनुसन्धान अधिकारीका अनुसार अनुसन्धानका क्रममा रोक्का गर्न सक्ने प्रावधान कानुनले दिए पनि पासपोर्ट नै बरामद नभएको अवस्थामा रद्द गर्न नमिल्लने भएको हो। जीबी राईमाथि सूर्यदर्शन सहकारी, रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी, काठमाडौैको स्वर्णलक्ष्मी सहकारीको अर्बौं रकम हिनामिना गरेको आरोप छ । सूर्यदर्शन र सुप्रिम सहकारीको मुद्दा अदालत नै पुगिसकेको छ। सोही अभियोगमा आरोपी ओखलढुंगाका जीबीमाथि प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन (इन्टरपोल)ले रेड नोटिस समेत जारी गरेको छ । तर, उनी भने पक्राउ परेका छैनन् ।