मदिरा उत्पादन गर्ने भट्टीको खाल्डोमा डुबेर ५ जनाको मृत्यु

सिमरा । बाराको फेटा गाउँपालिका–४ बतरास्थित मदिरा उत्पादन गर्ने भट्टीको खाल्डोमा डुबेर ५ जनाको मृत्यु भएको छ । मदिरा भट्टी सञ्चालक करिब ४० वर्षीय जोगा मुखिया बिन, उनकी १२ वर्षीया छोरी सुमनकुमारी, उनका भाइ ३५ वर्षीय महेन्द्र मुखिया, महेन्द्रकी पत्नी ३० वर्षीया लालमुनी देवी र ५० वर्षीय एक भारतीय नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक विकासराज खनालले बताए । भारतीय नागरिक लालमुनीका बुबा हुन् ।

प्रहरीका अनुसार उनीहरू बुधबार बेलुकी करिब ८ बजे एउटै खाल्डोमा डुबेका हुन् । ‘पाँचै जनाको घटनास्थलमै मृत्यु भएको हो,’ एसपी खनालले भने, ‘मृतकहरूको शरीरमा चोटपटक वा रगत देखिँदैन ।’ उनीहरूको मृत्यु कसरी भयो भन्ने खुल्न नसकेको उनले बताए ।

मदिरा उत्पादन गर्न घरभित्रै बनाइएका २ वटा खाल्डामध्ये पानी रहेको खाल्डामा उनीहरू डुबेका हुन् । एउटा खाल्डो (ट्यांकी) मदिरा बनाउने गुडले भरिएको छ । बिजुलीको पोलबाट हुक लगाएर बत्ती बाल्ने गरेको देखिएकाले करेन्ट लागेको पनि हुनसक्ने प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलले बताए । जोगा परिवारले लामो समयदेखि घरमै मदिरा भट्टी सञ्चालन गर्दै आएको थियो । १५ दिनअघि प्रहरीले भट्टी भत्काई कच्चा पदार्थ नष्ट गरे पनि उनीहरूले फेरि मदिरा बनाउन भट्टी र कच्चा पदार्थ तयार गरेको देखिएको छ । यो समाचार आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।

नेता पौडेलद्वारा उपनिर्वाचनमा भाग नलिने घोषणा

घोराही । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मंसिरमा हुने उपनिर्वाचनमा भाग नलिने  बताएका छन् । नेपाल प्रेस युनियन दाङले बुधबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेसले सरकारको विकल्प नखोजेको तर सरकारलाई सही मार्गमा डोर्‍याउनुपर्ने आवश्यकता रहेको समेत औंल्याए । सरकार बरालिँदै गएको भन्दै उनले कांग्रेसले सच्याउनमात्र खोजेको उल्लेख गरे । नागरिकका समस्या सम्बोधन गर्न सरकार असक्षम भएको आरोपसमेत उनले लगाए । सरकारका कारण नागरिकमा चरम निराशा उत्पन्न भएको उनको भनाइ छ । हरेक परिवर्तनमा नेपाली कांग्रेसले अगुवाइ गरेको स्मरण गर्दै नेता पौडेलले कांग्रेसलेमात्रै नागरिकका मुद्दा हल गर्ने जिकिर गरे । कांग्रेसको जागरण अभियानले कार्यकर्ताको मन जोड्न सफल भएको दाबी पनि उनले गरे । त्यसक्रममा तराईमा भएका छिटपुट घटनालाई उनले ‘सामान्य’ भने । उनले आफू मंसिरमा हुने उपनिर्वाचनमा भाग नलिने भन्दै पार्टी बलियो बनाउनमात्रै आफ्नो ध्यानकेन्द्रित रहेको बताए ।

टी–२० क्रिकेट सिरिजः दक्षिण अफ्रिकाविरुद्ध भारतले टस जित्यो

काठमाडौंः दक्षिण अफ्रिका विरुद्धको टि–२० क्रिकेट सिरिजको अन्तिम खेलमा भारतले टस जितेर ब्याटिङ रोजेको छ । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ ७ः१५ बजेदेखि बैंग्लोरमा सुरु हुँदैछ । ३ खेलको सिरिजमा भारत १–० ले अगाडि छ । एक खेल वर्षाका कारण रद्द भएको थियो । भारतले आज अघिल्लो खेलमै खेलाएको प्ललेइङ ११ लाई उतारेको छ । दक्षिण अफ्रिकाले भने एक खेलाडी पविर्तन गरेको छ । हेर्नुस् दुवै टिमको प्लेइङ ११ः भारतीय टिमको प्लेइङ–११ः रोहित शर्मा, शिखर धवन, विराट कोहली (कप्तान), ऋषभ पन्त, श्रेयस अय्यर, हार्दिक पाण्ड्या, कुणाल पाण्ड्या, वाशिंगङन सुन्दर, रवीन्द्र जडेजा, दीपक चहर र नवदीप सैनी। साउथ अफ्रीका टिमको प्लेइङ–११ः क्विंटन डिकक (कप्तान), रीजा हेड्रिक्स, टेम्बा बवूमा, भान डुर ड्यसन, डेविड मिलर, ड्वेन प्रिटोरियस, फेहलुक्वायो, बिजोर्न फोर्टिन, ब्यूरन हेन्ड्रिक्स, तरबिज शम्मी र कागिसो रबाडा ।

कञ्चनपुरको महेन्द्रनगरमा क्रिकेट प्रतियोगिता हुँदै

महेन्द्रनगरः कञ्चनपुरको महेन्द्रनगर स्थित कबर्डहलमा सुदूरपश्चिम क्रिकेट कप २०१९ हुने भएको छ । सुदूरपश्चिम कानुनी विद्यार्थी समाजको आयोजना असोज १५ गतेबाट प्रतियोगिता हुन लागेको हो । लिग कम नकआउट पद्धतिमा सञ्चालन हुने उक्त प्रतियोगितामा १६ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक पुरूषोत्तम जोशीले जानकारी दिए । खेल टेनिस बलले खेलाइने संयोजक जोशीले बताए । उक्त प्रतियोगिताको विजेता टिमले नगद ४० हजार, ट्रफी, प्रमाणपत्र प्रदान पाउने छ । यस्तै द्धितिय हुने टिमले नगद २० हजार ट्रफीसहित प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई नगदसहित सम्मान गरिने आयोजकले जनाएको छ ।

चिन्नास्वामीमा भिड्दै भारत र दक्षिण अफ्रिका, ऋषभ पन्तका लागि अन्तिम मौका !

खेल डेस्क । भारत र दक्षिण अफ्रिकाबीच तीन टी–२० सिरिजको तेश्रो खेल आज हुँदैछ । नेपाली समय अनुसार साँझ ७ बजेर १५ मिनेटदेखि हुने खेल बैंगलोरको चिन्नास्वामी स्टेडियममा हुने छ । भारतले यो मैदानमा यसअघि चारपटक टी–२० खेलेर दुईपटक मात्र जीत हासिल पारेको छ । दक्षिण अफ्रिका र भारतबीच भने यो मैदानमा यो पहिलो प्रतिष्पर्धा हो । यो सिरिजको पहिलो खेल रद्द भएको थियो । दोश्रो खेलमा भारतले अफ्रिकालाई ७ विकेटले हराएको थियो । भारतीय टीम र अफ्रिकाबीच यो छैठौं टी २० सिरिज हो । गत वर्षको दक्षिण अफ्रिकामा खेलिएको सिरिज भने भारतले २–१ ले जितेको थियो । आज मौसमले साथ दिने अनुमान गरिएको छ । साँझ स्टेडियम क्षेत्रको तापक्रम २०–२६ डिग्री सेल्सियस रहने बताइएको छ । यो मैदानको पिचमा बलरलाई फाइदा मिल्छ । शुरुमा ब्याटिङ गर्नेको औसत स्कोर १४७ रन रहेको छ । आइपिएलको बेला भने यो १८० थियो । रन चेजको औसत स्कोर भने १४७ रहेको छ भने आइपिएलमा यो १६५ थियो । सिरिजको दोश्रो खेल भारतले जितेपनि आज भने भारतलाई जित्नका लागि कठिन संघर्ष गर्नुपर्ने अनुमान कतिपयले गरेका छन् । भारतसँग उत्कृष्ट ब्याट्सम्यान र बलर भएपनि अफ्रिकाले सिरिज बराबरीमा रोक्न विशेष रणनीति अपनाउन सक्ने बताइएको छ । भारतका ओपनर र शुरुको क्रमका ब्याट्सम्यान आउन गर्न सके जीत अफ्रिकाको पोल्टामा हुने छ । आज सम्भवतः ऋषभ पन्तलाई छैठौं स्थानमा ल्याइने छ । यसअघि उनले खराब प्रदर्शन गरेका थिए ।ऋषभ पन्तका पछिल्ला १० वटा टी–२० खेल हेर्दा उनले ७ वटा खेलमा १० भन्दा कम रन बनाएका छन् । उनले ०, ४, ४०, २८, ३, १, ०, ४, ६५ र ४ रन बनाएका छन् । यसरी हेर्दा उनले २ चाटी मात्रै ३० भन्दाबढी रन बनाउन सकेका छन् । अर्कोतर्फ घरेलु क्रिकेट र ईण्डिया ‘ए’का लागि खेलिरहेका सञ्जु श्यामसम र इसान किसन भने उत्कृष्ट खेलिरहेका छन् । यो स्थितिमा यदि पन्तले आज राम्रो खेल्न सकेनन् भने यो टी–२० मा उनका लागि खतराको रुपमा हुने देखिएको छ । भारतले विगत दुई वर्षमा १२ वटा सिरिजमा भाग लिएको थियो । यसमा उसले ८ सिरिज जितेको थियो । दक्षिण अफ्रिकाले भने विगत दुई वर्षमा ७ सिरिज खेल्दै ५ मा सफलता पाएको छ । दुबै देशका टीम भारत विराट कोहली (कप्तान), रोहित शर्मा उप–कप्तान, शिखर धवन, केएल राहुल, श्रेयस अय्यर, मनीष पांडेय, ऋषभ पंत, हार्दिक पंड्या, क्रुणाल पांड्या, रवींद्र जडेजा, वॉशिंगटन सुंदर, राहुल चहर, खलील अहमद, दीपक चहर, नवदीप सैनी। दक्षिण अफ्रीका  क्विंटन डीकॉक (कप्तान), तेम्बा बवुमा, जुनियर डाला, बोर्न फोर्चुन, ब्यूरेन हैंड्रिक्स, रीजा हैंड्रिक्स, डेविड मिलर, एनरिच नोर्त्जे, एंडिले फेहलुकवायो, ड्वेन प्रिटोरियस, कगिसो रबाडा, तबरेज शम्सी, जेजे स्मट्स, रसी वान डर डुसेन।

बालकोटमा रहेको कपास उद्योगमा आगलागी

भक्तपुर — सूर्यविनायक नगरपालिका २ बालकोट सागबारीमा रहेको कपास उद्योगमा आगलागी भएको छ । आइतबार बिहान करिब ५ बजे सुरू भएको आगो स्थानीय, प्रहरीले करिब पौने ३ घण्टामा निभाएका भक्तपुर प्रहरी प्रमुख सविन प्रधानले बताए । उनका अनुसार भोजपुर सडान्नद नगरपालिका-४ दिङ्लाकी सरिता चौंलागाईंले ४ वर्षदेखि सञ्चालन गरेको मनकामना कपास उधोगमा आगलागी भएको हो। आगलागीबाट उद्योग पू्र्णरुपमा क्षति भएको छ। प्रहरी प्रमुख प्रधानले आगलागीबाट करिब २५ लाख क्षति भएको अनुमान गरिएको बताए। आगो निभाउन भक्तपुर, ललितपुर र काठमाडौंका दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना खटिएका थिए । आगो निभाउने क्रममा प्रहरी जवान श्यामप्रसाद त्रिपाठी घाइते भएका छन्। घाइते त्रिपाठीको समिट अस्पताल लोकन्थलीमा उपचार भइरहेको प्रहरी प्रमुख प्रधानले बताए।

यी हुन् बैंकिङ क्षेत्रबाट पदक पाउने ५ व्यक्ति

काठमाडौं । सरकारले बैंक बित्तिय क्षेत्रमा उत्कृष्ट सेवा पुर्याए बापत बैंक क्षेत्रमा उच्च योगदान पुर्याएका ब्यक्ती बिशेषलाई सम्मान गर्ने भएको छ । बैंक बित्तिय क्षेत्रमा लामो समय लगाएर आम नागरिकको हितमा पुर्याएको योगदानको कदर गर्दै सरकारले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष विभिन्न मान पदवी सहित सम्मानका लागि सिफारिस गरेको हो । २०७६ असोज ३ गते संबिधान दिवसको बिशेष समारोहमा बैंक बित्तियबाट पाँच भाईले राष्ट्रपतिबाट मान पदवी पाउने भएका हुन् । बैंक वित्तिय क्षेत्रबाट  मानपदवी पाउने हस्तीहरुमा ग्लोबल आइएमई बैंकका अध्यक्ष एबं चर्चित उधोगपति चन्द्र ढकाल, नेपाल बैंक लि.का अध्यक्ष वासुदेव अधिकारी, एनआईसी एसिया बैंकका कार्यकारी प्रमुख अर्थात सिइयो रोशन कुमार न्यौपाने, सेञ्चुरी बैंकका प्रमुख बजार अधिकृत रञ्जन खड्का, एभरेष्ट बैंकका नायव प्रबन्धक रामराजा उप्रेती रहेका छन् ।

विदेशमा रहेका नेपालीहरुलाई मतदानको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण

अमेरिकाः विदेशमा रहेका नेपालीहरुलाई मतदानको व्यवस्था गर्न नेपाली जनसम्पर्क समिति अमेरिकाले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । सर्वोच्च अदालतले एक वर्ष पहिले नै यस्तो व्यवस्था गर्न सरकारका नाममा आदेशसमेत जारी गरिसकेको छ । तर सर्वोच्च अदालतको आदेशलाई समेत वर्तमान सरकारले गम्भीरतापूर्वक नलिएको भन्दै जनसम्पर्क समितिले अब कुनै विलम्ब तुरुन्त आवश्यक पहल गर्न सरकारसमक्ष ज्ञापनपत्र पेश गर्दै आग्रह समेत गरेको छ । समितिले सम्बन्धित मुलुकका दूतावास वा कन्सुलेट अफिसमार्फत यस्तो ज्ञापन पत्र बुझाउन निर्देशन जारी गरेको छ । सोही निर्देशनअनुसार बिहीवार नेपाली जनसम्पर्क समिति अमेरिकाले वासिंगटन डिसीस्थित नेपाली राजदूतावास मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको छ । सोही ज्ञापनपत्रमा सर्वोच्चको आदेशअनुसार तत्काल मतदानको प्रबन्ध मिलाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइएको समितिको तर्फबाट नेतृत्व गर्दै दूतावास पुगेका समितिका केन्द्रीय सभापति आनन्द विष्टले जानकारी दिए । कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यसमेत रहेका सभापति विष्ट नेतृत्वको एक प्रतिनिधि मण्डलले राजदूत डा.अर्जुन कुमार कार्कीलाई भेटेर ज्ञापन पत्र बुझाएको हो । सभापति विष्टले ज्ञापनपत्र बुझाएपछि राजदूत डाक्टर कार्कीले समितिको तर्फबाट बुझाइएको ज्ञापन पत्र नेपाल सरकार समक्ष तत्काल पुर्याउने प्रतिवद्धता व्यक्त गरे । नेपाली जनसम्पर्क समिति अमेरिकाले बुझाएको ज्ञापन पत्र विषयमा गैर–आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाले समेत ऐक्यबद्धता जाहेर गरेको छ । एनआरएनले दोहोरो नागरिकताको मागलाई निरन्तर उठाई रहेको सन्दर्भ जोड्दै ज्ञापनपत्र बुझाउने प्रतिनिधि मण्डलमा सहभागी एनआरएन अमेरिकाका उपाध्यक्ष कृष्णजीवी पन्थले विदेशमा रहेका नेपालीहरुलाई मतदानको व्यवस्था मिलाउन सर्वोच्चको आदेश कार्यान्वयन गर्न सरकारलाई खबरदारी गर्ने गरी समितिले गरेको पहलको सह्राहना गर्दै समितिले उठान गरेको विषयमा ऐक्यबद्धता जाहेर गरेका थिए । यसैगरी एनआरएन अमेरिका मेरिल्याण्ड च्याप्टरका अध्यक्ष डोलनाथ घिमिरेले पनि जनसम्पर्क समितिले उठान गरेको एजेन्डामा ऐक्यबद्धता जाहेर गरे ।

एउटै म्याचमा १७ विकेट लिएर यी खेलाडीले रचे इतिहास

काठमाडौँ, दक्षिण अफ्रिकाका पूर्व फास्ट बलर काइल एबोटले काउन्टी च्याम्पियनसिपको एउटै खेलमा ८६ रन दिएर १७ विकेट लिएर सनसनी मचाएका छन्। ह्याम्पसायरको तर्फबाट खेल्दै ३२ वर्षीय एबोटले बनाएको यो रेकर्ड ६३ वर्ष यताकै प्रथम श्रेणी क्रिकेटको उत्कृष्ट बलिङ्ग प्रदर्शन हो। यस अघि १९५६ मा इङल्याण्डका अफ स्पिनर जिम लेकरले अस्ट्रेलियाविरुद्धको टेस्टमा ९० रन दिएर १९ विकेट लेइका थिए। आजसम्मकै आँकडा  हेर्दा भने एबोटको यो प्रदर्शन प्रथम श्रेणी क्रिकेटकै १० औं सर्वश्रेष्ठ प्रदर्शन हो। एबोट ले पहिलो इनिङमा ४० रङ खर्चेर ९ विकेट लिएका थिए।  यो प्रथम श्रेणी क्रिकेटको २२ औं सर्वश्रेष्ठ प्रदर्शन हो। दोसो पारीमा पनि निकै आक्रामक बनेका उनले ४६ रन दिएर ८ विकेट झारे।  एबोटको प्रदर्शनका कारण ह्याम्पसयरले समरसेटविरुद्ध १३६ रन्को जीत हात पारेको थियो।

युवा संघले ज्ञानेन्द्र शाहीलाई कहाँ–कहाँ गर्यो प्रवेश निषेध ?

काठमाडौंः सत्तारुढ दल नेकपाका युवा संगठन युवा संघ ज्ञानेन्द्र शाहीलाई बिभिन्न जिल्लामा प्रवेश निषेध गरेको छ । संघले शाहीलाई कास्की, दाङ, धनुषा, रुपन्देही र कैलालीमा प्रवेश निषेध गरेको विज्ञप्तिमार्फत जनाएको छ । गत शनिबार पर्यटनमन्त्री योगेश भट्टराईका कारण नेपालगञ्जमा प्लेन उडान ढिलाई भएको भन्दै शाहीलगायतका युवाहरुले भट्टराईमाथि दुव्र्यवहार गरेका थिए । त्यसपछि युवा संघका नेताहरु शाही विरुद्ध खनिएका हुन् ।

युरोपियन च्याम्पियन्स लिगको नयाँ सिजन सुरु हुँदै, आज आठ खेल हुने

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलको नयाँ सिजन आजबाट सुरु हुँदैछ । आज राति समूह चरणका आठ खेल हुनेछन् । आज इंग्लण्डको लिभरपुलले इटालीको नापोलीसँग उसैको मैदानमा खेल्दा अर्को इङ्गलिस क्लब चेल्सीले आफ्नै मैदानमा स्पेनको भ्यालेन्सियासँग खेल्नेछ । कम अनुभवी युवा खेलाडीहरुको जमात चेल्सीका प्रशिक्षक फ्राङ्क लाम्पार्डको लागि आजको खेल परिक्षाको रुपमा रहेको छ । आजै जर्मनीमा हुने खेलमा बोरुसिया डर्टमण्ड र बार्सिलोना भिड्नेछन। । यो खेलका लागि बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सी ‘फिट’ रहेको बताईएको छ । आज राती इटालीको ईन्टर मिलानले चेक गणतन्त्रको स्लाभिया प्रागसँग खेल्दा फ्रान्सको लियों र रुसको जेनिथ, अष्ट्रियाको साल्जबर्ग र बेल्जियको गेन्क, पोर्चुगलको बेनिफीका र जर्मनीको आरबी लेप्जीग तथा नेदरल्याण्ड्सको आयाक्स र फ्रान्सको लिल् भिड्नेछन् ।

रेडियो नेपालमा धर्ना बसेका ९ जना पत्रकार पक्राउ

काठमाडौंः रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलबाट निष्कासन गरिएका कर्मचारीलाई पुनर्बहाली गर्न माग गर्दै रेडियो नेपाल पुगेका ९ जना पत्रकार पक्राउ परेका छन् । उनीहरुलाई प्रहरीले सिंहदरबारमा रहेको रेडियो नेपाल अगाडिबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेपाल पत्रकार महासंघका सचिव रामप्रसाद दाहाल, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी, पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसी, यम बिरही, मीन बम, योगेन्द्र बलायर रहेका छन् । त्यस्तै, प्रदेश प्रसारण कार्यालय डोटीबाट निष्कासन पत्रकार प्रकाश बम, चक्र कुँवर र दिलिप पौडेल पनि पक्राम परेका छन् । उनीहरुले श्रमजीवी पत्रकार ऐन तथा न्यूनतम पारिश्रमिक कार्यान्वयनको मागसमेत राख्दै रेडियो नेपालमा नाराबाजी गरेका थिए । उनीहरुलाई प्रहरीले नेपाल पुलिस क्लवमा राखेको छ । रेडियो नेपालमा रावल १० वर्षदेखि तथा बम र कुँवर विगत तीन वर्षदेखि कार्यरत थिए । उनीहरुलाई रेडियो नेपालले विना कारण निष्कासन गरेको थियो ।

सीपीएलः तेस्रो खेलमा पनि सन्दीपलाई सफलता, तर टिम पराजित

काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत क्रिस गेल सम्मिलित जमैका तल्लावाहसविरुद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध बार्बाडोस ट्राईडेन्टस ४ विकेटले पराजित भएको छ । योसँगै बार्बाडोसले तीन खेलमा एकमा जीत र २ खेलमा हार बेहोरेको छ । यता जमैकाको भने जारी सीपीएलमा यो पहिलो जित हो । सन्दीपको टिमले दिएको १४१ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको जमैकाले १८।३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । उसका लागि कप्तान चाडविक वाल्टनले नटआउट ५१,क्रिस गेलले २२, ग्लेन फिलिप्सले २८ र जेवलिन ग्लेनले २७ रन बनाए । बलिङमा बार्बाडोसका लागि कप्तान जोसन होल्डर र हेडन वाल्शले २–२ विकेट लिए । सन्दीपले ४ ओभरमा १ मेडनसहित ३५ रन दिएर १ विकेट लिए । यसअघि टस हारेर ब्याटिङको मौका पाएको बार्बाडोसले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनायो । उसका लागि एश्ले नर्शले सर्बाधिक ३७, जेपी ड्युमिनीले ३१, जोसन चार्लश र एलेक्स हक्सले १२–१२ रन बनाए । सन्दीप ८ बलमा १ चौका सन्दीप १० रनमा अविजित रहे । बलिङमा जमैकाका जाहिर खानले ३, जर्ज वोक्र र रमाल लुईसले २–२ विकेट हात पारे । सन्दीपआवद्ध बार्बाडोसले आफ्नो तेस्रो खेल २१ सेप्टेम्बरमा सेन्ट लुसियाविरुद्ध खेल्ने छ ।

इटालियन सिरी ए फुटबलः सासुओलो रोमासँग ४-२ गोल अन्तरले पराजित

काठमाडौं । इटालियन सिरी ए फुटबलमा रोमाले सासुओलोलाई ४-२ गोल अन्तरले पराजित गरेको छ । रोमाका लागि हेनरिक माखेरिटियन, बार्यन क्रिस्टान्टे, इडिन जेको र जस्टिन क्लुइवर्टले गोल गरे । सासुओलोका लागि भने बेरार्डीले दुई गोल गरे । रोमाले सहज जित हात पार्ने क्रममा पहिलो हाफमा नै चार गोल गरेको थियो । तर दोस्रो हाफमा भने दुई गोल खायो । १२ औं मिनेटमा क्रिस्टान्टे र १९ औं मिनेटमा जेकोले गोल गरेपछि रोमा २-० गोलले अघि थियो । खेलको २२ औं मिनेटमा माखेरिटियन र जस्टिनले ३३ औं मिनेटमा गोल गर्दै रोमालाई ४-० गोलको फराकिलो अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा सासुओलोले दुई गोल फर्काउन सफल भयो । खेलको ५३औं मिनेटमा बेरार्डीले गोल गर्दै ४-१ को स्थितिमा ल्याए । खेलको ७२ औं मिनेटमा उनले अर्को गोल थपेका थिए ।

डा. केसी सत्याग्रहको तयारीमा

काठमाडौं । नागरिक अभियन्ताका रूपमा परिचित डा. गोविन्द केसीले सात बुँदे माग अघि सार्दै सरकारबाट यसको सम्बोधन नभए पुनः सत्याग्रहमा बस्ने चेतावनी दिएका छन् । प्राध्यापक केसीले आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै चिकित्सा शिक्षा ऐनको संशोधनलगायतका मागहरू पूरा नभए सत्याग्रहमा बस्नुको विकल्प नरहने बताएका छन् । उनका अन्य मागहरूमा निजी मेडिकल कलेजले अवैधरूपमा असुल गरेको सबै रकम फिर्ता गर्नुपर्ने, दोषी मेडिकल कलेजहरूलाई कानुनबमोजिम कडाभन्दा कडा कारबाही चलाउनुपर्ने, संसदीय उपसमितिबाट माफियाको प्रभावमा गरिएका शुल्क र सीट संख्यामा वृद्वि गर्नेसम्बन्धी निर्णय तत्काल खारेज गर्नुपर्ने, विश्वविद्यालय पदाधिकारी मापदण्ड निर्धारण समितिले दिएको सुझाबअनुरूप निष्पक्ष र पारदर्शी ढङगले पदाधिकारी नियुक्त गर्ने र सो प्रतिवेदनलाई अविलम्ब ऐनका रूपमा परिणत गर्नुपर्ने, पूर्व सम्झौताअनुसार इलाम, पाँचथर, उदयपुर, डोटी र डडेल्धुरालगायत प्रदेश २ र ४ मा पनि सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया तत्काल अघि बढाउनुपर्ने आदि छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र एमबीबीएसलगायतका कार्यक्रम शुरू गरिनुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडीजीपी कार्यक्रम सञ्चालन गर्ने अनुमति तुरुन्त फुकुवा गर्नुपर्ने, नेताहरूको उपचार खर्च पारदर्शी बनाइनुपर्ने, प्रधानमन्त्रीको स्वास्थ्य अवस्था यथार्थरूपमा सार्वजनिक गरिनुपर्ने, संक्रमणकालीन न्यायसम्बन्धी अयोगहरू प्रभावकारी बनाउनुपर्नेलगायतका माग केसीले राखेका छन् । ‘शिक्षा र स्वास्थ्य क्षेत्र सेवामूलक हुनुपर्नेमा चरम नाफामूलक र शहरमुखी बनाइएकाले आम विद्यार्थी र आम नेपालीको पहुँचबाट बाहिर छ भने गुणस्तर घट्दो छ।’ –उनले टिप्पणी गरेका छन् । सार्वजनिक शिक्षण संस्था– विश्वविद्यालय, प्रतिष्ठान तथा स्वास्थ्यसम्बन्धी शिक्षण संस्थालगायतलाई राजनीतिक दलका कार्यकर्ता भर्तीकेन्द्र बनाएर दोहन गर्ने माध्यम बनाइएको, राष्ट्रलाई चाहिने जनशक्ति नभएर पार्टीका कार्यकर्ताहरू र विदेशका लागि श्रमिक उत्पादन गर्ने केन्द्रका रूपमा परिणत गरिएको उनको धारणा छ। ‘नेपालका अधिकांश जनता बसोबास गर्ने ग्रामीण भेगमा न कुनै ठूला स्वास्थ्य संस्था छन् न त शिक्षण संस्थान नै’ केसीले विश्वविद्यालय, प्रतिष्ठान तथा संस्थाहरूमा मापदण्ड निर्धारण समितिले दिएका सुझावअनुसार पदाधिकारी नियुक्ति गर्नुको सट्टा राजनीतिक भागबन्डाका आधारमा कार्यकर्ताहरूलाई पदाधिकारी नियुक्त गर्ने चलखेल बन्द गर्न अपिल गरेका छन् । नेपाल समाचारपत्रबाट साभार

निकट भविष्यमै बीआरआईको रिजल्ट देख्नुहुन्छः परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौंः परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मा निकट भविष्यमै रिजल्ट देखिने दाबी गरेका छन् । ज्ञवालीले बीआरआईमा नेपालले धेरै प्रक्रिया पुरा गरिसकेको दाबी गरे । ललितपुरमा आइतबार नेपाल बुद्धिजीवी संगठनले आयोजना गरेको समाज ‘बेल्ट एण्ड रोड इनिसिएटिभ डाइलग’ विषयक विचार गोष्ठीमा परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘बीआरआईको कार्यान्वयन ढाँचाबारे धेरै छलफल भइसकेको छ । गर्नुपर्ने धेरै प्रक्रिया र काम पुरा गरिसकेका छौं । राष्ट्रको हितमा आयोजना अघि बढ्छन् र तपाईंहरुले निकट भविष्यमै रिजल्ट देख्नुहुन्छ ।’ विकास र सम्बृद्धिका लागि महत्वपूर्ण रहेको यो परियोजना नेपालको विकासमा कोसढुङ्गा सावित हुने मन्त्री ज्ञवालीको दाबी थियो । उनले यो परियोजनापछि नेपाली उत्पादनले विश्व बजारमा सहजै स्थान पाउने र व्यापार घाटामा कमि आउने बताए ।