अर्घाखाँचीमा बस दुर्घटना, २५ जना घाइते

सन्धिखर्क, जेठ ७ । अर्घाखाँचीको भुवनपाटामा आज (मंगलबार) साँझ बस दुर्घटना भएको छ । दुर्घटनामा परी २५ जना घाइते भएका छन् । घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

सुपादेउराली मन्दिर दर्शन गरेर गोरूसिङगेबाट आउँदै गरेको लु १ ख ७९४१ नम्बरको बस गोरूसिङगे सन्धिखर्क सडक खण्डको भुवनपाटाको पुलमा दुर्घटना भएको हो । घाइतेमध्ये ९ जनालाई थप उपचारका लागि मेडिकल कलेज भैरहवा रिफर गरिएको छ । अन्य १६ जनाको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार भइरहेको छ ।

बस पुलमाथि आउँदा एक्कासी ब्रेक फेल भई अनियन्त्रित भए पनि बस चालक निकै चनाखो भएर सडकको भित्तामा बस ठोक्काएर ठूलो दुर्घटना हुनबाट जोगाएका छन् । पुल करिव सीतखोलाबाट ४ सय मिटर अग्लो पडाडको खोचमा छ।

माथिल्लो त्रिशूली ‘थ्री ए’ को विद्युत उत्पादन सुरु

काठमाडौं, जेठ २ । रसुवा र नुवाकोटमा निर्माण भएको माथिल्लो त्रिशूली ‘थ्री ए’ आयोजनाले ३० मेगावाट विद्युत उत्पादन थालेको छ । कूल जडित क्षमता ६० मेगावाट भएको आयोजनाले पहिलो यूनिटबाट विद्युत उत्पादन थालेको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार बिहान स्वीच थिचेर आयोजनाको विद्युत उत्पादन सुरुवात गरेका हुन् । आयोजनाको दोस्रो यूनिटको काम असारभित्र सक्ने लक्ष्य छ । ९ वर्षअघि निर्माण सुरु भएको आयोजना भूकम्प, क्षमता बढाउने विवाद लगायतका कारणले ढिला भएको थियो । आयोजनाको विद्युत् सिम्लेमा रहेको विद्युत् गृहबाट २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत् काठमाडौंको मातातीर्थ स्थित सबस्टेसनमा जोडिएको छ । शुक्रबार साँझ ५ बजेबाट पहिलो युनिटबाट परीक्षणका रुपमा लगातार ७२ घण्टा विद्युत् उत्पादन गरिने छ । त्यसपछि उपकरण तथा सुरुङ, बाँध लगायतका संरचनाहरुको पुनः परीक्षण गरिने छ । यो परीक्षण सकिएपछि आयोजनाबाट नियमित विद्युत् उत्पादन सुरु हुने छ । कार्यकारी निर्देशक घिसिङले माथिल्लो त्रिशूली ३ ए संचालनमा आएपछि कुलेखानी जलाशयको पानी बच्ने र भारतबाट आयात भइरहेको विद्युत्को परिमाण घट्ने बताए ।

लिक भयो हाउसफुल–४ को कथा

एजेन्सी । हाउसफुल फ्रेन्चाइजीको चौथो फिल्म हाउसफुल–४ को कथा लिक भएको छ । भारतीय सञ्चारमाध्यममा आएको खबरअनुसार हाउसफुल–४ पुनर्जन्ममा आधारित छ । फिल्ममा अक्षय कुमार र बबी देओलको दुई जन्म देखाइएको छ ।  फिल्मको मध्यान्तरभन्दा पहिलेको कथा १६औँ शताब्दीको छ, जहाँ अक्षय त्यो समयमा राजा हुन्छन् । उनी फरक–फरक अनुहारमा देखिनेछन् । बबीलाई दरबारको भारदारको भूमिकामा देख्न सकिने बताइएको छ । त्यस्तै, नवाजुद्दिन सिद्दिकी बाबाको भूमिकामा छन् । नवाजको भूमिकाकै कारण फिल्म हाउसफुल–४ को कथामा ट्विस्ट आउनेछ । ‘मिटु अभियान’का क्रममा निर्देशक साजिद खान र अभिनेता नाना पाटेकरमाथि यौन दुर्व्यवहारको आरोप लागेका कारण उनीहरूलाई यो फिल्मबाट‘ ‘आउट’ गरियो । फिल्ममा नानालाई भनिएको भूमिकामा राणा दाग्गुबतीलाई अभिनय गराइएको छ । नयाँ पत्रिकाबाट

भियतनाममा प्रधानमन्त्री ओलीद्वारा लुम्बिनी भ्रमणको निम्तो

काठमाडौं, वैशाख २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व समुदायलाई नेपाल भ्रमण गर्न आह्वान गरेका छन् । भियतनामको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र सङ्घको वैशाख दिवसका अवसरमा भियतनाम सरकार तथा राष्ट्रिय भियतनाम बौद्ध सङ्घले हा नाम प्रान्तमा आइतबार आयोजना गरेको कार्यक्रममा गौतम बुद्धको जन्मस्थल नेपाल बौद्धदर्शनको पनि उत्पत्तिस्थल भएकाले सबै बौद्ध धर्मावलम्बीले आफ्नो जीवनमा एक पटक लुम्बिनीको भ्रमण गर्नुपर्नेमा जोड दिए । ‘बौद्ध धमावलम्बीको विश्व नेतृत्वतर्फ प्रयास र दिगो विकासका लागि जिम्मेवारी साझेदारी’ नाराका साथ उद्घाटन भएको तीनदिने सो कार्यक्रममा भियतनामका प्रधानमन्त्री न्गुएन सुआन फुकले विश्वमा शान्ति र समन्वय स्थापना गर्न सो कार्यक्रम भियतनामको महत्वपूर्ण प्रयास भएको बताए । आइसिडिभीका संस्थापक अध्यक्ष तथा आइएबीयुका अध्यक्ष प्रा। डा। फ्रा ब्रमापण्डितले अन्तर्राष्ट्रियस्तरमा समाजमा शान्ति र समन्वयको सन्देश दिने सो कार्यक्रमको महत्वमा प्रकाश पारे । म्यानमाका राष्ट्रपति युविन मिन्तले बौद्धधर्मका शिक्षा तथा दैनिक जीवनका यसको उपयोगका विषयमा चर्चा गरे । कार्यक्रममा प्रमुख वक्ता भारतका उपराष्ट्रपति वेन्काइ नाइडुले बौद्ध दर्शन व्यवहारमा लागु गरेपछि शान्ति तथा दिगो समाज प्राप्त गर्न सकिने बताए । उनले मानवता तथा भाइचारामा गहन समर्पण नगरेसम्म शान्ति प्राप्त गर्न नसकिने पनि स्पष्ट गरे । उनले बुद्धले आफ्नो उपदेशमा भनेका मध्यममार्ग अवलम्बन गरी प्राप्त गरिने प्रज्ञा, निर्वाण तथा चीर शान्तिका विषयमा प्रकाश पारे । राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले सो कार्यक्रमको सफलताको सन्देश पठाउँदै विश्वमा शान्ति र दिगो समाजका लागि शुभकामना व्यक्त गरेको पत्र पढेर सुनाइएको थियो । भियतनामले वैशाख दिवस बनाएको यो तेस्रो पटक हो । यसअघि सो मुलुकले सन् २००८–२०१४ मा यस्तै कार्यक्रम आयोजना गरेको थियो । विश्वका ११२ मुलुकबाट करीब १० हजार प्रतिनिधिले सो कार्यक्रममा भाग लिइरहेका छन् । रासस

आइपीएलः हैदरावाद विरुद्धको खेलमा पनि सन्दीप बेन्चमै

काठमाडौं, वैशाख २५ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) को इलिमिनेटर खेलमा सनराइजर्स हैदरावादविरुद्ध पनि नेपाली लेग स्पिनर सन्दीप लामिछानेले टिममा मौका पाउन असफल भएका छन् ।  दिल्ली क्यापिटल्समाआवद्ध सन्दीपले लगातार तेस्रो खेलमा टिममा पर्न असफल भएका हुन् । उनले अन्तिम खेल रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध खेलेका थिए । सो खेलमा सन्दीपले ३ ओभरमा बिनाविकेट ३६ रन खर्चिएका थिए । उक्त खेलमा महंगा सावित भएपछि उनले पछिल्ला तीन खेलमा मौका नपाएका हुन् । सन्दीपले जारी आइपीएलको ६ खेलमा ८ विकेट लिएका छन् ।   आज दिल्लीले एक खेलाडी मात्र परिवर्तन गरेको छ । उसले कोलिन इन्ग्रामको स्थानमा कोलिन मुनरोलाई मौका दिइएको छ । यता हैदरावादले पनि एक खेलाडी मात्र चेन्ज गरेको छ । उसले युसुफ पठानलाई विश्राम दिएर दिपक हुडालाई मौका दिएको छ । निकै महत्वपूर्ण खेलमा हैदरावादविरुद्ध दिल्लीले टस जितेर बलिङ रोजेको छ । 

यसरी सञ्चालनमा ल्याइँदै छ तातोपानी नाका

सिन्धुपाल्चोक, वैशाख १५ । चार वर्षदेखि बन्द चीन जोड्ने उत्तरको प्रमुख व्यापारिक नाका तातोपानी आगामी जेठभित्रै सञ्चालनमा ल्याउन सरकारले आन्तरिक तयारी तीव्र बनाएको छ । तातोपानीको लार्चामा निर्माणाधीन अत्याधुनिक सुख्खा बन्दरगाह हस्तान्तरण हुनासाथ नाका सञ्चालनमा आउने उद्योग तथा वाणिज्य मन्त्रालयले जनाएको छ । ‘बन्द नाका व्यापारिक रुपले सञ्चालनमा ल्याउन मन्त्रालयले तयारी थालिसकेको छ ।’ मन्त्रालयका प्रवक्ता सहसचिव नवराज ढकालले  भने, ‘बन्दरगाह नेपाललाई हस्तान्तरण हुनासाथ नाका सञ्चालनमा आउँछ ।’ यो समाचार आजको नागरिक दैनिकमा ध्रुव दंगालले लेखेका छन् ।

आइपीएलः विराटको टिमविरुद्ध आज सन्दीपले पाउलान् मौका?

काठमाडौं, वैशाख १५ । भारतमा भइरहेको इन्डियन प्रिमियर लिग (आइपीएल) मा आज हुने पहिलो खेल अन्तर्गत नेपाली क्रिकेटर सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंग्लोर भिड्दै छन् । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार दिउँसो ४ः१५ बजेदेखि दिल्लीमा शुरु हुँदैछ । ७ खेल जित्दै १४ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको दिल्ली आजको खेलमा विजयी हासिल गर्दै प्लेअफमा पुग्न चाहन्छ । यता विराट कोहली नेतृत्वको बैंग्लोर दिल्ली विरुद्धको खेलमा जीत दर्ता गर्दै प्लेअफमा पुग्ने सम्भावना जीवितै राख्ने लक्ष्यका साथ मैदान उत्रिदैं छ । जारी संस्करणको आइपीएलको बैंग्लोर विरुद्धको खेलमा दिल्ली ४ विकेटले विजयी भएको थियो । जुन खेलमा सन्दीपले पनि मौका पाएका थिए । बैंग्लोरमा भएको उक्त खेलमा सन्दीपले ४१ रन खर्चिदै १ विकेट हात पारेका थिए । बैंग्लोरविरुद्ध सन्दीपको सम्भावना कति? सन्दीपले आजको खेलमा मौका पाउने सम्भावना छ । राजस्थान विरुद्धको खेलमा क्रिस मोरिस, शेरफोन रेदरफोर्ड विदेशी खेलाडी बलिङमा महंगा सावित भएकाले सन्दीपले मौका पाउन सक्छन् । यद्यपि, उनी बैंग्लोरसँगको पहिलो खेलमा ४ ओभरमा ४१ रन खर्चिएर मात्र एक विकेट लिँदै महंगा भएकाले टिममा स्थान नपाउन पनि सक्छन् । सन्दीपले जारी आइपीएलमा ५ खेल खेल्दा ८ विकेट लिएका छन् । आजै हुने दोस्रो खेलमा कोलकाता नाइट राइडर्स र मुम्बई इन्डियन्स भिड्दै छन् । यी दुई टिमबीचको खेल साँझ ८ः१५ बजेदेखि कोलकातामा शुरु हुँदैछ । अंक तालिकामा मुम्बई १४ अंकसहित दोस्रो र कोलकाता सातौं स्थानमा छ ।

लोडसेडिङ घट्दा सेवाग्राहीलाई राहत

सिमकोट, वैशाख १३ । हिल्दुम जलविद्युत केन्द्रले सिमकोट र खार्पुनाथ गाउँपालिकामा लोडसेडिङ समय डेढ घण्टामा झरेको छ । पावर हाउसमा पानी आपूर्ति गर्ने पेनिस्टिक पाईप नचुहिनु र पानीको श्रोत बढेपछि लोडसेडिङ तालिका ह्वात्तै घटेको हो । दुई हप्ता अगाडिसम्म ९ घण्टाभन्दा बढी लोडसेडिङ खेप्नुपरेको भए पनि अहिले आएर डेढ घण्टामा झरेको सिमकोट पाँचका लोकेन्द्र रावतले बताए । पहिले खाना पकाउनेदेखि अन्य विद्युतबाट गर्ने कामका लागि पालो कुर्नुपर्ने अवस्थाको अहिले आएर अन्त्य भएको उनले बताए । दिनमा ८–९ घण्टा लोडसेडिङ हुँदा चौपट भएको व्यवसाय अहिले आएर केही सुधार भएको नन्द मोबाईल मर्मत सेन्टरका प्रोपाईटर नन्द सिंहले बताए । लोडसेडिङ तालिका नभएको कारण कतिखेर बत्ती जाने हो निश्चित नभएको अवस्थामा अहिले भने बिहान र बेलुका एकघण्टा बत्ती जाने भएको कारण व्यापारलाई सहज भएको उनले बताए । सिमकोटमा एक दर्जनभन्दा बढी विद्युतबाट कारोवार गर्ने व्यवसायहरु रहेका छन् । दिउँसो भरि लोडसेडिङ हुन थालेपनि कार्यालयको काममा कुनै समस्या खडा नभएको प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले बताए । पहिले नागरिकता लोडसेडिङ् हुँदा दुई दिनसम्म नागरिकता सेवाग्राहीलाई दिन नसकिएको भएपनि अहिले त्यो अवस्था नरहेको उनले बताए । यसले गर्दा केन्द्रबाट तान्नु पर्ने सबै परिपत्र, सुचनाका लागि पनि सहज भएको उनले बताए । लोडसेडिङ् समय एक घण्टामा झरेपछि अर्को काम गर्न जिल्ला अस्पतालमा सहज भएको छ । विद्युत नियमित हुँदा अस्पतालमा बिरामीको उपचारमा सहज भएको अस्पतालका डाक्टर टसी लामाले बताए । हिउँदमा हिमपात बाक्लो पर्दा अहिले विद्युत उत्पादन गर्ने हुमाने खोलामा पानीको श्रोत आवश्यकता भन्दा बढी भएकोले एउटा मेशिनले पूर्ण क्षमताको विद्युत उत्पादन गर्ने भएको कारण लोडसेडिङ् समय घटाउनु परेको हिल्दुम विद्युत वितरण केन्द्रका प्रशासन प्रमुख यमप्रकाश खड्काले बताए । हाल पावर हाउसमा रहेको मेशीनले दुई सय पचास किलोवाट विद्युत उत्पादन गर्ने गरेकोले लोडसेडिङ् समय घटाउन संभव भएको उनले बताए । यद्यपि अर्को मेशिन भने संचालनमा आउन सकेको छैन । पेनिष्टिक पाईप यसपाली नफुटेकोले पनि सहज भएको उनले बताए । पानीको श्रोतकै अभावले लोडसेडिङ गर्नुपरेको बताउँदै अब आगामी असोजसम्म पानीको श्रोतको कमी नहुने र लोडसेडिङ् नबढ्ने उनले बताए । हाल हिल्दुम वितरण केन्द्रबाट सिमकोट गाउँपालिकाका आठ वटै वडा र खार्पुनाथ गाउँपालिकाका वडा नम्बर ३, ४ र पाँचका गरी एक हजार छ सय ग्राहकलाई विद्युत वितरण गर्दै आएको छ । गोरखापत्रदैनिकबाट

श्रीलंकाका एक उच्च रक्षा अधिकारीले दिए राजीनामा

एजेन्सी । श्रीलङ्कामा भएको विनाशकारी विस्फोटनका घटनामा दोषी ठहर गर्दै राजीनामाका लागि राष्ट्रपतिले दिएको दवाबपछि उच्च सुरक्षा अधिकारीहरूले बिहीबार राजिनामा दिएका छन् । आत्मघाती हमलामा परी झण्डै ३६० जनाको ज्यान गएकोमा त्यसलाई नियन्त्रण गर्न सुरक्षा अधिकारीहरूले पर्याप्त प्रयास नगरेको उच्च सरकारी अधिकारीहरूको ठहर छ । बर्खास्त गर्ने निर्णय भएकाले तत्काल पदबाट राजीनामा दिन राष्ट्रपति मैत्रीपाला सिरिसेनाले केही उच्च सुरक्षा अधिकारीहरूलाई यसअघि नै निर्देशन दिएका थिए । उनको निर्देशन अनुसार नै सैन्य कर्मचारीतन्त्रका अति वरिष्ठ सरकारी अधिकारी हेमासिरि फेर्नान्डोले राष्ट्रपति सिरिसेनालाई राजिनामा पठाउनुभएको छ । नाम नबताउने शर्तमा राष्ट्रपति कार्यालयका एक अधिकारीले भने “हेमासिरिले घटनामा आफ्नो दोष रहेको स्वीकार गर्दै राष्ट्रपति सिरिसेनालाई राजीनामा बुझाउनु भएको छ ।” श्रोतका अनुसार अन्य केही उच्च अधिकारीहरू पनि राजीनामाको तयारीमा रहेका छन् ।

एएफसी महिला च्याम्पियनसिप छनोटः नेपाल पहिलो खेल अष्ट्रेलियासँग खेल्दै

काठमाडौं बैशाख १३ । एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले शुक्रबार अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ । म्यानमारको मण्डलेस्थित मण्डलर थिरी स्टेडियममा नेपाल र अष्ट्रेलियाबीचको खेल नेपाली समय अनुसार सवा तीन बजेदेखि सुरु हुनेछ । प्रतियोगिता कै सर्वाधिक बलियो टोली अष्ट्रेलियाविरुद्ध नेपालको लक्ष्य बराबरीमा रोक्नु नै हुनेछ । तर त्यो लक्ष्य नेपालका लागि सजिलो भने छैन । चीनमा एक साता अभ्यास गरेको नेपाली टोली उच्च मनोबलका साथ मैदान उत्रने छ । चीनको सिचुवानमा अभ्यास गरेको नेपालले चीनको यू-१५ महिला टोली र छन्दु प्रान्तको यू-१८ टोलीसंग अभ्यास खेल समेत खेलेको थियो । अष्ट्रेलिया नेपाललाई पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुवात गर्न चाहन्छ । यस समूहमा अष्ट्रेलियालाई उपाधि दाबेदार मानिएको छ । छनोटमा अष्ट्रेलियापछि नेपालले अप्रिल २८ मा उज्वेकिस्तान र ३० अप्रिलमा म्यानमारसँग खेल्नेछ । छनोटको शीर्ष टोलीले एएफसी यू-१९ च्याम्पियनसिपमा स्थान बनाउने छन् ।

आइपीएलः विराटको टिमलाई ठूलो झड्का

काठमाडौं, वैशाख १२ । इन्डियन प्रिमियर लिग (आइपीएल) मा लगातार तीन खेल जीतेर ‘प्लेअफ’ पुग्ने सम्भावना कायमै राखेको रोयल च्यालेन्जर्स बैंग्लोरलाई ठूलो झड्का लागेको छ । टिमका लागि महत्वपूर्ण खेलाडी मानिएका दक्षिण अफ्रिकी तीव्र गतिका बलर डेल स्टेन घाइते भएपछि बैंग्लोरलाई ठूलो झड्का लागेको हो । घुँडाको चोटका कारण उनी जारी आइपीएलबाट बाहिरिएका छन् । स्टेन २ वर्षपछि आइपीएलमा ‘कम ब्याक’ भएका थिए । यो संस्करणमा उनले उत्कृष्ट प्रदर्शन गरिरहेका थिए । स्टेनले यो आइपीएलमा २ खेलमा ४ विकेट लिएका छन् ।

एक महिनासम्म धनगढी विमानस्थल बन्द

कैलाली, वैशाख १२ । एक महिनाका लागि धनगढी विमानस्थल बन्द हुने भएको छ । धावन मार्ग जिर्ण भईसकेकाले स्तरोन्नतीका लागि वैशाख २२ गतेदेखि एक महिनासम्मका लागि विमानस्थल बन्द हुने भएको हो । विमानस्थलका प्रमुख तेज बहादुर थापाले झण्डै २२ करोडको लगानीमा धनगढी विमानस्थलमा धावनमार्ग र पार्किङ क्षेत्र विस्तारको कार्य हुने भएकाले एक महिनाका लागि विमानस्थल बन्द गर्ने निर्णय गरिएको जानकारी दिए । त्रिभुवन विमानस्थल पछिको ठूलो धावनमार्ग रहेको यो विमानस्थलमा धावन मार्ग र पार्किङ क्षेत्र विस्तारका लागि ठेक्का सम्झौता भएको छ।

राष्ट्रपतिद्वारा वैशाख २० गते सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिने

काठमाडौं : आगामी आर्थिक वर्षको बजेट निर्माणको पूर्वसन्ध्यामा सरकारले नीति तथा कार्यक्रम तयारी तीब्र पारेको छ । सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वैशाख २० गते प्रस्तुत गर्ने कार्यक्रम छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्वोधनमार्फत राष्ट्रपतिबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने गरिन्छ । चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति भण्डारी वैशाख १९ गते स्वदेश फर्कने कार्यक्रम छ। संसद्को वर्षे अधिवेशन वैशाख १६ बाट सुरु हुँदैछ। राष्ट्रपति फर्केकै भोलिपल्ट सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ। सरकारको वार्षिक नीति तथा कार्यक्रम पारितपछि बजेट प्रस्तुत गर्ने प्रचलन छ। तर बजेटका सिद्धान्त र प्राथमिकताबारे (प्रिबजेट ) छलफल भने वार्षिक नीति तथा कार्यक्रम अघि कि पछि भन्ने टुंगी नसकेको सभामुख कृष्णबहादुर महराले बताए। गत वर्ष नीति तथा कार्यक्रम अघि नै प्रिबजेट छलफल भएको थियो। तर त्यतिबेला प्रिबजेट छलफलको भावना विपरीत नीति तथा कार्यक्रम प्रस्तुत भएको भन्दै सांसदहरूले असन्तुष्टि जनाएका थिए। ‘प्रिबजेट छलफलबारे सरकारसँग कुराकानी भइरहेको छ’, सभामुख महराले भने, ‘यो विषयमा केही दिनमा टुंगो लाग्छ।’ संसदीय प्रणालीमा प्रिबजेट छलफलका आधारमा सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुने विश्वास गरिन्छ। पूर्वअर्थमन्त्री एवं कांग्रेस सांसद डा.नारायण खड्का भने प्रिबजेट छलफलमाथि परम्परा धान्ने र रित पुर्‍याउने उद्देश्यले मात्र संसद्मा छलफल हुने गरेको बताउँछन्। ‘जनताका प्रतिनिधि बसेर मुलुकको विकास र सम्वृद्धिको राष्ट्रिय आवश्यक्ता के हो भन्ने छलफल घनिभूत ढंगले हुनुपर्ने हो’, डा.खड्का भन्छन्, ‘तर प्रिबजेट छलफललाई सरकारले गम्भीर रूपमा नलिँदा यसको गरिमा घट्दै गएको आभाष भइरहेको छ।’ प्रतिनिधिसभा नियमावलीमा बजेट प्रस्तुत गर्नु १५ दिन अगावै प्रिबजेट छलफल गर्नुपर्ने व्यवस्था छ। नियमावलीको नियम १४२ को २ मा भनिएको छ, ‘विनियोजन विधेयक प्रस्तुत गर्नु पूर्व बैठकमा बजेट तयारीका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल गरियो भनी अर्थमन्त्रीले प्रस्ताव राख्नेछन्।’ सोही नियमको उपनियम ४ मा राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत हुनुभन्दा कम्तिमा १५ सदन अगावै छलफल भइसक्नुपर्ने व्यवस्था छ। संसदीय अभ्यासमा प्रिबजेट छलफलका आधारमा अर्थमन्त्रीबाट बजेट निर्माण गर्ने विश्वास गरिन्छ। अर्थमन्त्रीले जेठ १५ गते वार्षिक बजेट प्रस्तुत गर्नैपर्ने संवैधानिक व्यवस्था छ। संसद्को अर्थ समितिले बजेटका सिद्धान्त र प्राथमिकताबारे सातवटै प्रदेशमा छलफल गरिरहेको छ। जनताबाट आएका सुझाव समेटेर अर्थमन्त्रीलाई बुझाइने समिति सभापति कृष्ण दाहालले बताए। -File Photo

एनसेलविरुद्ध वाइसिएलदेखि क्रान्तिकारीसम्म, जारी गरे यस्तो विज्ञप्ती

काठमाडौं, वैशाख १२ । सत्तारुढ दल नेकपाका भातृ संगठनले एनसेलका सिमकार्ड नचलाउन अपिल गरेका छन् । सर्वोच्च अदालतको आदेशपछि ठूला करदाता कार्यालयले निर्धारण गरेको कर तिर्न एनसेलले आनाकानी र बहानाबाजी गर्न थालेको भन्दै एनसेलले कर नतिरेमा विरोधका विभिन्न कार्यक्रम सुरु गर्ने भन्दै वाइसिएल, युवा संघ, अखिल क्रान्तिकारी र अनेरास्ववियुले विज्ञप्ति जारी गरेका छन् । संगठनका अध्यक्षहरुले जारी गररेको विज्ञप्तिमा भनिएको छ, ‘एनसेललाई कर छुट दिने वा कुनै प्रकारका विषेश सहुलियत दिने जस्ता राष्ट्रघाती निर्णय नगर्न सम्बद्ध निकायहरुसँग आग्रह गर्दछौं । साथै, एनसेलले राज्यलाई तिर्नुपर्ने कर नतिर्दा एनसेलको सिमकार्ड प्रयोग नगर्न नगराउन मातहतका सबै साथीहरु र आम न्यायप्रेमी जनसमुदायमा हार्दिक अपिल गर्दछौं । २४ घण्टाभित्र एनसेलले कर नतिरेमा विभिन्न दबाबका कार्यक्रम घोषणा गरिने यसै विज्ञप्तिमार्फत जानकारी गराउन चाहन्छौं ।’ एनसेलले ठूला करदाता कार्यालयले निर्धारण गरेको कर कानून सम्मत नभएको भन्दै थोरै कर तिर्ने दाबीसहित सर्वोच्च अदालतमा रिट दायर गरिसकेको छ । यस्तो छ प्रेस विज्ञप्ती

विप्लव नेतृत्वको नेकपाका २ जना केन्द्रीय सदस्य पक्राउ

रोल्पा, बैशाख ०७ । सरकारले प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्यहरु चुडामणि वली ‘आदर्श’ र चन्द्रबहादुर खड्का ‘असल’लाई प्रहरीले पक्राउ गरेको छ । तुलसीपुरबाट शनिबार बिहानै सल्यानतर्फ जान लागेका उनीहरुलाई दाङको तुलसीपुर उपमहानगरपालिका–३, राम्री भन्ने ठाउँबाट बा १८ च ३१४२ नम्बरको जीपबाट गाडीसहित पक्राउ गरिएको हो । यस्तै नेकपाकै रोल्पा जिल्ला सदस्य लालबहादुर वली ‘विश्व’लाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय दाङमा राखिएको बताइएको छ । उज्यालोबाट साभार

कसले दियो वाइसिएल इन्चार्ज दीपशिखालाई ज्यान मार्ने धम्की ?

काठमाडाैं । युवा कम्युनिष्ट लिगका अध्यक्ष दीपशिखालाई ज्यान मार्ने धम्की दिइएको छ । साउदी अरबको एउटा नम्बरबाट बारम्बार फोन गरेर ज्यान मार्ने धम्की दिएको दिपशिखाले फेसबुकमार्फत उल्लेख गरेका छन् । बाट इमोमा फोन गरेर आफू रवि लामिछानेको समर्थक भएको भन्दै वाइसिएल अध्यक्ष दिपशिखालाई पटक पटक फोन गरेर ज्यान मार्ने धम्की आउने गरेको वाइसिएल महासचिव सुबोध सेर्पालीले जनाएका छन् । साउदी अरबबाट फोन गरेर दिपशिखालाई सागर हिन्दु नाम बताउने एक जना व्यक्तिले ज्यान मार्ने धम्की दिएपछि वाइसिएलले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । फेसबुकमा स्ट्याटस लेख्दै महासचिव सेर्पालीले संगठनको ध्यानाकर्षण भएको भन्दै हिम्मत भए खुला स्थानमा आउन समेत चेतावनी दिएका छन् । इमोमा रवि लामिछानेको फोटो र उनले चलाउने कार्यक्रमको फोटो राखेर धम्की आउन थालेपछि वाइसिएलले कारबाही गर्ने जनाएको छ । दिपशिखाको स्टाटस यस्तो छः यो +96650131833 नम्बरको इमोबाट १ जनाले मलाई बारम्बार मार्ने धम्की दिईरहेको छ । उसले आफु पत्रकार रवि लामिछानेको समर्थक भएको बताउने गरेको छ भने आफुलाई सागर हिन्दु नाम बताउने गरेको छ । कोही साथिहरुलाई यो नम्बर बारे जानकारी भए पाउँ ।