जनयुद्धका घाइतेको खुट्टामा गोलीका छर्रा

बागलुङ, पुष २२ । जनयुद्धका घाइते मनबहादुर घर्तीको खुट्टामा अहिले पनि गोलीका छर्रा छन् । गोली लागेको ठाउँ देखाउँदै ३३ वर्षीय घर्तीले उपचार खर्च नपाएको गुनासो गरे ।

ताराखोला गाउँपालिका– ५ का घर्ती विसं २०६० तिर दाङमा भएको सशस्त्र भीडन्तमा घाइते भएका थिए । उपचारपछि हिँडडुल गर्न सक्ने भए पनि उहाँमा दुखाइको समस्या ठिक भएको छैन । “सामान्य अवस्थामा जस्तो हिँड्न सहज छैन”, उनले भने, “चिकित्सकले छर्रा हड्डीमा मिलेर बसेको छ निकाल्दा झन् समस्या हुन्छ भनेपछि निकालिएको छैन ।” घाइते भएपछि तत्कालै माओवादी सेनाको स्वास्थ्य टोलीले उहाँको प्राथमिक उपचार गरेको थियो ।

पछि सीमापार भारतसम्म पुगेर थप उपचार गरेको घर्तीले बताए । उनले शरीरमा गोलीका छर्रा बोकेर हिँडेको १५ वर्ष भएको छ । जनयुद्धको नेतृत्व गर्ने तत्कालीन नेकपा (माओवादी) अहिले नेकपाको रुपमा सरकारमा हुँदा पनि आफू अन्यायमा परेको उनको गुनासो छ ।

पछिल्लो समय पार्टीका जिम्मेवार केही नेताले फोन गरेर काठमाडौं आउनुस् उपचार खर्च दिलाउँछौँ भनेर आश्वासन दिएको घर्तीले बताए । घाइते भएपछि जनमुक्ति सेनामा निष्क्रिय बन्नुभएका घर्ती शान्ति प्रक्रियासँगै पार्टी राजनीतिमा सक्रिय भएका थिए । अहिले उनी गाउँकै एक जलविद्युत् आयोजनामा व्यवस्थापकको रुपमा कार्यरत छन् ।

नेपालको अवस्था फेरिन्छ र जनजीविकामा आमूलपरिवर्तन हुन्छ, भन्ने विश्वासमा आफू जनयुद्धमा होमिएको घर्तीको भनाइ छ । द्वन्द्वपीडितको नाम भजाएर कतिपयले राज्यबाट सेवा सुविधा लिएको उनको आरोप छ । आर्थिक सहयोग पाएमा गोलीका छर्रा निकाल्ने उनको सोच छ ।

जनयुद्धले घर्तीको परिवारमा अर्को पनि पीडा दिएको छ । उनका माइला दाजु बाजेन्द्र विसं २०५८ देखि बेपत्ता छन् । आमा, जेठा दाइ र भाइसहित परिवारमा बस्दै आएका घर्तीले १२ कक्षासम्मको अध्ययन गरेका छन् । कक्षा ८ मै पढाइ छाडेर जनयुद्धमा होमिनुभएका उहाँले शान्ति प्रक्रियापछि पढाइ अघि बढाएका थिए ।

गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले उपचार खर्चको लागि गाउँपालिकाबाट प्रक्रिया अघि बढाइएको बताए । ‘गृह मन्त्रालयमा सिफारिस पठाएका छौँ”, उनले भने, “सबैले पाउँदा उहाँको कसरी छुट्यो हामी पनि अनविज्ञ छौं ।’ रासस

बिग ब्यास लिगः मेलबर्न स्टार्सले पायो १३६ रनको लक्ष्य

काठमाडौं, पुष २१ । अष्ट्रेलियामा जारी बिग ब्यास लिग (बीबीएल) अन्तर्गत आफ्ना पाँचौ खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध मेलबर्न स्टार्सले १३६ रनको लक्ष्य पाएको छ । सेन वाट्सनको कप्तानीमा रहेको सिड्नी थन्डरले टस जितेर ब्याटिङ रोजेको थियो । सिड्नीका लागि जोस बटलरले १८, कप्तान वाट्सनले १४, जो रुटले २६, डानियल साम्सले ४२, ग्रीन क्रीशले १४ रन बनाए । अन्य ब्याट्सम्यानले भने सम्झनलायक प्रदर्शन गर्न सकेनन् । बलिङमा स्टार्सका स्कोट बोलन्ड र एमपी स्टोनीसले समान दुई–दुई, एडम जाम्पा,  लैम पेलन्केट र बिजे ब्राबोले समान एक–एक विकेट लिए ।

जति भ्रम र षडयन्त्र भए पनि मेलम्चीकाे पानी ल्याएरै छाड्ने– मन्त्री मगर

काठमाडौं, पुष २० । खानेपानी मन्त्री मगरले केही तत्वहरुले भ्रम फैलाउन खोजे पनि मेलम्चीको पानी काठमाडौंमा ल्याएरै छाड्ने प्रतिबद्धता जनाएकी छन् । केही त्यस्ता तत्वहरुले मेलम्ची नआओस् भन्ने चाहेको बताउँदै उनले भनिन्, ‘मेलम्ची राष्ट्रिय गौरवको आयोजना भएकाले सरकारलाई बिफल बनाउन स्वार्थ बोकेर केही व्यक्ति लागेका छन् । सरकारप्रति जनताको अविश्वास पैदा गराउन केही व्यक्तिले भ्रम सिर्जना गरिरहेका छन् । तर सरकार कहीँ कतै विचलित हुने छैन । काममा दृढ संकल्पका साथ मन्त्रालय अघि बढेको छ ।’ काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) अन्तर्गतका कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन र स्वतन्त्र कर्मचारी संगठनको शुक्रबार भएको एकता भेलामा बोल्दै मन्त्री मगरले मेलम्चीको पानी काठमाडौं उपत्यकामा सहज ढंगले वितरण गर्न कर्मचारीहरुमा सामूहिक प्रतिबद्धता आवश्यक रहेको औंल्याइन् । उनले मेलम्ची आयोजना मात्रै नभई देशैभरि रहेका मुख्य मुख्य शहरहरुमा खानेपानीको आपूर्ति गर्न केही ठूला आयोजनाहरु सुरु गर्न लागिएको जानकारी दिइन् । खानेपानी तथा सरसफाईको क्षेत्रमा पहिलो पटक मन्त्रालयले साझा ऐन कानुन बनाउन लागिएको उनले स्पष्ट पारिन्। अहिलेको अवस्था र भोलिको आवश्यकतालाई ध्यानमा राखेर खानेपानीको क्षेत्रमा विधेयक बनाउन लागिएको उनको भनाई छ । यसैबीच, मेलम्चीको पानी काठमाडौं उपत्यकामा आपूर्ति गर्न आफूहरु सक्षम र तयार रहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का कर्मचारीहरुले बताएका छन् । शुक्रबार भएको एकता भेलामा कर्मचारीहरुले १८ घण्टासम्म खटेर भएपनि मेलम्चीको पानी काठमाडौं उपत्यकामा सहज ढंगले वितरण गर्न सक्षम रहेको बताएका हुन् । खानेपानी मन्त्री बीना मगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको भेलामा कर्मचारी युनियन एकीकरण कार्यदलका उपसंयोजक सुरेश कर्माचार्यले मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण गर्न आफूहरु १८ घण्टासम्म खट्न तयार रहेको बताए । कर्माचार्यले मेलम्चीको पानी उपत्यकाबासीलाई खुवाउन केयुकेएलका कर्मचारीहरु दिनरात खटिन तयार रहेको प्रतिबद्धता जनाए । भेलालाई सम्बोधन गर्दै उनले भने, “मेलम्ची आएपछि हामी पानीको आपूर्ति व्यवस्थापन गर्न सक्षम छौं । दिनरात नभनी काम गर्छौं । हामी आफैं सक्षम छौं ।” भेलामा अधिकांश कर्मचारीहरुले छिटो भन्दा छिटो मेलम्चीको पानी ल्याउन सरकारले कुनै कसर बाँकी राख्न नहुने बताएका थिए ।

हामीले घोषणापत्रमा लेखेको कुरा भुलेका छैनौंः मन्त्री अर्याल

काठमाडौं, पुस २० । भूमिसुधार तथा गरिबी निवारण मन्त्री पद्दामा अर्यालले चुनावको बेलामा आफूहरूले जनताको हात–हातमा धमाएको घोषणापत्रलाई नभुलेको बताएका छन् । आज स्याङ्जाको गल्याङ नगरपालिकाको जगत्रदेवी साना किसानको छैठौं साधारण सभालाई सम्बोधन गर्दै मन्त्री अर्यालले भने– ‘हामी चुनावको बेलामा तपाईंहरूलाई दिएको घोषणापत्र र हाम्रो प्रतिबद्धता भुलेका छैनौं, चुनावी घोषणापत्र अनुसार नै हामीले काम गरिरहेका छौं । उनले कुनै पनि कामको सम्मान नगरेसम्म देश नबन्ने पनि बताए । ‘हाम्रो दाजुभाइ विदेशमा गर्ने काम नेपालमै गर्ने लाज मान्नुहुन्छ, कामलाई ठूलो सानो ठान्ने हाम्रो प्रवृत्ति छ, जबसम्म कामको सम्मान हुँदैन देश बन्दैन’, उनले भने । मन्त्री अर्यालले सरकारले समृद्धि आधार सहकारीलाई लिएको भन्दै प्रत्येक घरबाट १ जना सहकारीमा जोडिन र उत्पादनमूलक काममा लाग्न आग्रह समेत गरे । ूसरकारले सहकारीलाई समृद्धिको आधारको रूपमा लिएको छ’, मन्त्री अर्यालले थपे, ‘प्रत्येक घरबाट एकजना सहकारीमा जोडिएर उत्पादनमूलक काममा लाग्नुपर्छ । प्रत्येक वडामा सहकारी बनाउने र युवा लक्षित कार्यक्रम ल्याउने तयारी छ ।’ मन्त्री अर्यालले सहकारीबाट उत्पादन भएका सामानलाई संकलन केन्द्र बनाउने योजननमा आफूहरू रहेको जानकारी पनि गराए । ‘सहकारीबाट उत्पादन भएका सामानलाई संकलन केन्द्र बनाउने हाम्रो योजना छ’, उनले भने– ‘ सामानको मुल्य सिधै किसानले पाउनुहुन्छ, संकलन केन्द्रको अधययन भइरहेको छ । आगामी वर्षसम्ममा लागू गर्ने हाम्रो उद्देश्य छ । त्यसैले हामीले अहिले शिक्षा, स्वास्थमा जनताको जीवनस्तर उकास्ने तरिकाले हामी लागि रहेका छौं ।’ उनले जनताको जीवनस्तर उकास्नको लागि यसै वर्षबाट स्याङ्जामा राष्ट्रिय परिचयपत्र दिने घोषणा गरे । आगामी आर्थिक वर्षको बजेटले परिवर्तनका लहरहरू आउने र सरकारले अझै जनताको मन जित्ने काम गर्ने उनको जोड थियो ।

गुणस्तरहीन भएपछि गाउँपालिका प्रमुखले नै भत्काए आफ्नो कार्यालय

खोटाङ, पुस २० । रावाबेंशी गाउँपालिकाको निर्माणाधीन कार्यालय भवन गुणस्तरहीन बनेको भन्दै गाउँपालिका प्रमुख लीलानाथ निरौलाले भत्काएका छन् । तीन महीनाभित्र सम्पन्न गर्नेगरी शुभ एण्ड ध्रुव कन्ट्रक्शन प्रालिले निर्माणको काम थालेको कार्यालय भवन गुणस्तरहीन बन्दै गएपछि सम्पन्न नहुँदै गाउँपालिका प्रमुख निरौलाले कोदालोले खनेर भत्काएका हुन् । भवन निर्माणका लागि बनाइएको मापदण्ड ख्याल नगरी ठेकेदारले आफूखुशी गुणस्तरहीन भवन बनाएकाले कोदालोले खनेर भत्काइएको प्रमुख निरौलाले बताए । “हामीले भवन निर्माणमा गुणस्तर निर्धारण गर्न र समयमा सम्पन्न गर्न ठेकेदारलाई पटकपटक आग्रह गर्यौँ ।” उनले भने “हामीले गरेको आग्रहलाई ठेकेदारले अटेर गर्दै गुणस्तरहीन बनाएपछि सोही खर्चमा पुनःनिर्माण गर्न लगाउन भत्काइएको हो ।” प्रमुख निरौलाले भवनको भित्री भागको भुइँमा गरिएको ढलान, भवनको गाह्रो, बाहिरपट्टी गरिएको प्लास्टरलगायत भत्काइ दिनुभएको स्थानीयले बताएका छन् । भवन निर्माणमा ठेकेदारले चरम लापरवाही गरेको सर्वत्र गुनासो आएपछि प्रमुख निरौलाले भत्काएर पुनःनिर्माण गर्न आग्रह गरेका छन् । भवनको भुइँतलामा ढुङ्गा बिछ्याएर ढलान गर्नुपर्ने सम्झौतामा उल्लेख भए पनि ठेकेदारले माटोमाथि ढलान गरेको पाइएको प्रमुख निरौलाले बताए । भुइँमा बिछ्याइएको ढुङ्गामाथि चार इञ्च ढलान गर्नुपर्नेमा माटोमाथि दुई इञ्चमात्र गरिएको र ढलानको सामग्रीसमेत गुणस्तरहीन भएको पाइएको प्राविधिकले जनाएको छ । गाउँपालिका प्रमुखले निर्माणाधीन भवन भत्काएपछि ठेकेदार कम्पनीले पुनःनिर्माणको काम थालेको स्थानीयवासीले बताएका छन् । ठेकेदारले पुनःनिर्माणको काम शुरु गरेपनि उक्त भवन गुणस्तरहीन नै हुने स्रोतको दाबी छ । निर्माणाधीन कार्यालय भवन छोटो समयमा सम्पन्न गर्नुपर्ने भएकाले केही कमजोरी भएको निर्माणको काम जिम्मा लिएको कम्पनीका उमेश राईले स्वीकारेका छन् । “हतारमा काम गर्दा केही कमजोरी भएकै हो”, उनले भने, “गाउँपालिकाको खबरदारीपछि पुनःभत्काएर गुणस्तर निर्धारण गर्ने काम भइरहेको छ ।” निर्माणमा समेत ढिलासुस्ती भएको उक्त कार्यालय भवन निर्माणका लागि दोस्रोपटक थपिएको अवधिसमेत गत मङ्सिर १५ गते सकिएको छ । ठेकेदार कम्पनीले रु ७६ लाखको लागतमा निर्माणको जिम्मा लिएको चार कोठा भएको एकतले भवन अहिलेसम्म पनि सम्पन्न भएको छैन । इँटाको गाह्रो लगाएर कोठा छुट्याइने कार्यालय भवनमा आल्मोनियम जडान गरेपछि १४ कोठा हुने जनाइएको छ । प्राविधिक मूल्याङ्कनभन्दा कम लागतमा निर्माण कार्य थालिएको भवनका लागि गाउँपालिकाले रु एक करोड, तीन लाखमा टेण्डर आह्वान गरेको थियो । ठेकेदार कम्पनी शुभ एण्ड ध्रुव कन्ट्रक्शन प्रालिले घटाघटमा उक्त भवन निर्माणको सम्पूर्ण जिम्मा लिएको गाउँपालिकाले जनाएको छ । रावाबेँशीसँगै निर्माण कार्य थालिएको दिप्रुङ चुइँचुम्मा गाउँपालिकाको भवन पाँच महीना अघिनै निर्माण सम्पन्न भएर सञ्चालनमा आएको छ । दिप्रुङ चुइँचुम्मा बाहेक जिल्लाका अधिकांश गाउँपालिका अहिलेसम्म भाडाकै भवनमा रहेको छ । रासस

काठमाडौंको सतुंगलमा भिषण आगलागी, निभाउने प्रयास जारी

काठमाडौं, पुष १९ । सतुंगलस्थित एक घरमा करिब डेढ घण्टादेखि आगलागी भइरहेको छ । साँझ साढे ७ बजेतिर आगलागी सुरु भएको प्रहरी परिसर काठमाडौंले जनाएको छ । आगो निभाउन ४ दमकलसहित प्रहरी, स्थानीय खटिएका छन् । डिएसपी होविन्द्र बोगटीका अनुसार उक्त घरमा कपास वा कपडा गोदाम भएको अनुमान छ।आगो अन्यत्र नफैलियोस् भनेर सतर्कता अपनाइएको छ।

सरकारले तोक्यो उखुको मूल्य, यस्तो छ नयाँ मूल्य

काठमाडौ‌, पुष १९ । सरकारले आर्थिक वर्ष २०७५÷०७६ का लागि उखुको मूल्य निर्धारण गरेको छ । मन्त्रिपरिषद् बैठकले यही पुस १३ र १६ गते गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले उखुको न्यूनतम खरीद मूल्य प्रतिक्विन्टल ५३६ रुपियाँ ५६ पैसा निर्धारण गरेको जानकारी दिए । उनका अनुसार सरकारले उखु किसानलाई प्रतिक्विन्टल ६५ रुपियाँ २८ पैसासमेत अनुदान दिने निर्णय गरेको छ । उखु उत्पादक कृषकले सीधै भुक्तानी पाउने गरी ‘उखु कृषकलाई अनुदान दिनेसम्बन्धी कार्यविधि २०७५’ बमोजिम प्रतिक्विन्टल ६५ रुपियाँ २८ पैसा अनुदान उपलब्ध गराउन अर्थ मन्त्रालयबाट कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई रकम निकास गरिने उनले जानकारी दिए । चिनी मिलले सम्बन्धित उखु कृषकलाई प्रतिक्विन्टल ४७१ रुपियाँ २८ पैसा नघटाई समयमै रकम भुक्तानी गर्नुपर्ने उनले बताए ।

सुरु भयो ट्रम्पको अग्निपरीक्षाको घडी

वासिङ्टन, पुस १९ । क्रिसमस र नयाँ वर्षको विदाका कारण रोकिएको अमेरिकी कङ्ग्रेसको तल्लो सदनको कार्यकाल बिहीबारदेखि सुचारु हुँदैछ । हाल अमेरिकी सरकारको कम आंशिक रूपमा बन्द अवस्थामा रहेको छ र विपक्षी डेमोक्र्याटिक पार्टीले तल्लो सदनमा बहुमत ल्याएका कारण ट्रम्पले यस पटक निकै अप्ठ्याराहरूको समना गर्ने पक्का-पक्की भइसकेको छ । अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा डेमोक्र्याट्सहरूको बहुमत भएपछि सभामुखमा चयन हुने सम्भावना रहेकी न्यान्सी पोलेसी प्रखर ट्रम्पविरोधी डेमोक्र्याट प्रवक्ता हुन् । उनले ट्रम्पका नीतिहरूलाई अवश्य पनि सहजीकरण गर्नेवाला छैनन् ।  क्यालिफोर्निया राज्यबाट डेमोक्रयाटिक पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने पेलोसी यसअघि पनि दुईपटक सभामुख भइसकेकी छन् । अमेरिकी तल्लो सदनको चार वर्षे कार्यकालका लागि गत नोभेम्बरमा चुनाव भएको थियो । उक्त चुनावमा रिपब्लिकन पार्टीले बहुमत गुमाएको थियो । विगत आठ वर्षदेखि अमेरिकी माथिल्लो सदन सिनेट र तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा रिपब्लीकन पार्टीको बहुमत थियो । तर, बिहीबार ट्रम्पको एक दलीय सत्ताको अन्त्य हुँदैछ । राष्ट्रपति ट्रम्पले सन् २०१६ को चुनावमा अप्रत्यासित विजय हासिल गरेपछि विलखबन्दमा परेका डेमोक्र्याटहरु अहिले उत्साहित भएका छन् । अमेरिकी राष्ट्रपतिले आफ्नो दुई वर्षे कार्यकालमा सत्ताको दुरुपयोग गरेको डेमोक्र्याटहरुको ठम्याइ छ । तर, अब डेमोक्र्याटको हातमा नयाँ शक्ति प्राप्त भएको छ जसले ट्रम्पको आयकर, महान्यायाधिवक्ता जेफ सेसनको बर्खास्ती र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग राष्ट्रपतिको सम्बन्धका बारेमा अनुसन्धान गर्ने सम्भावना छ । संसदका संसदीय समितिको अध्यक्षता गर्ने सम्भावना रहेका व्यक्तिहरुले राष्ट्रपतिका सम्बन्धमा अरु धेरैवटा अनुसन्धान शुरु गरिने बताउनुभएको छ । सन् २०१६ को राष्ट्रपतीय चुनावमा रुससँगको सम्बन्धका बारेमा अनुसन्धान गरिरहेका रोबर्ट मुलरको पहिल्यै चेपुवामा परेका राष्ट्रपतिमाथि संसदीय छानबिनले ट्रम्प प्रशासनमाथि थप दबाब सिर्जना गर्नेछ । अमेरिकी सदनको आजको कारवाहीमा डेमोक्र्याट सांसदहरूको प्रमुख एजेण्डा नै विनियोजन विधेयक पास गराउनु हुनेछ । यसो भएको खण्डमा उक्त विधेयकलाई प्रमाणीकरण गर्ने वा नगर्ने भन्ने कुरा राष्ट्रपतिको हातमा जानेछ । मेक्सिकोको सीमानामा पर्खाल लगाउन रकम नछुट्याउन्जेल बजेट नै पारित नगर्ने ट्रम्पको अडान रहेको पृष्ठभूमिमा सरकारको कामकाज ठप्प हुनुमा राष्ट्रपति नै जिम्मेवार देखिने छन् । स्पष्ट रूपमा हेर्दा २०१६ मा अप्रत्याशित विजय प्राप्त गरेका ट्रम्प पहिलो पटक संसदीय अप्ठ्यारोमा परेका छन् । रासस र एजेन्सीहरूको सहयोगमा  

चाहनाः पौडी खेल्न मिल्ने बागमतीको पानी– प्रधानमन्त्री ओली

काठमाडौं, पौष १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अब विकासको गतिले तिव्रता लिने बताएका छन् । बिहीबार खानेपानी मन्त्रालयले बालकुमारीमा स्थापना गर्न लागेको फोहोर पानी प्रशोधन केन्द्रको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भने, ‘देशमा विकास, सुशानका क्षेत्रमा तिव्रताका साथ काम अगाडि बढेको छ । २७ वर्ष चिप्ले किरा जस्तो हिड्यो, यो वर्ष जापानी कार चिल्लो बाटोमा हिडेको छ, तीब्र गतिमा काम भइरहेको छ ।’ यस्तै, प्रधानमन्त्री ओलीले खानेपानीको समस्यालाई समाधान गर्न काम तिव्ररुपमा भइरहेको बताए । उनले मेलम्चीमा समस्या देखिए पनि आयोजना कुनै पनि हालतमा अघि बढ्ने र त्यसले पूर्णता पाउने प्रतिवद्धता जनाए । प्रधानमन्त्री ओलीले दोस्रो चरणको यांग्रि खोलाबाट मेलम्चीको पानी थाप्ने काम गर्न अब २७ वर्ष कुर्नु नपर्ने बताउँदै २७ महिनामा नै त्यो काम सकिने बताए । यस्तै, उनले अब सबै खोलामा सफा पानी हुने बताए । प्रधानमन्त्रीले भने, ‘अब खोलामा सफा पानी हुन्छ । प्रकृतिमा स्वतः प्युरिफाई गर्ने प्रणाली हुन्छ । बाह्य आक्रमण भए प्रदूषित हुन्छ । पानी प्रयोग गरेपछि प्रदुषित हुने पानीलाई सफा नगरे वातावरण दुर्घन्धित हुन्छ । त्यसैले त्यसलाई प्रषोधन गर्नुपर्छ । सरकारले अहिले यहि पशोधन प्लान्ट अघि बढाएको छ ।’ प्रधानमन्त्री ओलीले काडमाडौं उपत्यकामा वातावरणीय स्वच्छता आफैमा चुनौति रहेको भए पनि स्वच्छ हावामा श्वास फेर्न सकिने वातावरण बनाउन सकिने बताए । साथै, उनले बाग्मतिको पानी पौडी खेल्न र नुहाउन मिल्ने बनाउर्नेमा जोड दिए ।

विपी प्रतिष्ठानमा विशेषज्ञ सेवाका लागि तीन विभाग थपिए

धरान, पुस १९ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको मेडिसिन विभाग अन्तर्गत रहेका अन्य तीन विभागलाई छुट्टै शुरु गरिएको छ । एउटै विभागबाट विभिन्न रोगको विशेषज्ञ सेवा तथा शिक्षा प्रदान गर्न असहज भएपछि मुटु, फोक्सो, पेटसम्बन्धी छुट्टै विभाग बनाइएको प्रतिष्ठानका अस्पताल निर्देशक डा गौरीशङ्कर साहले जानकारी दिए । इन्टर्नल मेडिसिनलाई अहिले विभाजन गरी मेडिसिन कार्डियोलोजी विभाग, मेडिसिन पल्मोलोजी विभाग, मेडिसिन ग्याष्ट्रोेलोजी विभाग छुट्टै बनाइएको छ । कार्डियोलोजी विभागको प्रमुखमा मुटुरोग विशेषज्ञ प्राडा प्रल्हाद कार्कीलाई जिम्मेवारी दिइएको छ । यस्तै फोक्सो सम्बन्धी विभाग पल्मोलोजीको जिम्मेवारी डा नरेन्द्र भट्टलाई दिइएको छ । पेटसम्बन्धी ग्याष्ट्रोेलोजी विभागको प्रमुखमा डा विक्रम श्रेष्ठ नियुक्त हुनुभएको छ । यसअघि सबै विभागको प्रमुखमा प्राडा सञ्जीवकुमार शर्मा रहेका थिए । उनलाई जनरल मेडिसिनको विभागीय प्रमुखमा यथावत राखिएको अस्पताल निर्देशक साहले जानकारी दिए । छ महीनाअघि नै कार्यकारिणी समितिमा विशेषज्ञ सेवाका लागि छुट्टै विभाग बनाउने सैद्धान्तिक निर्णय भएको तर जनशक्ति अभावले विभाग छुट्याइएको थिएन । सहज उपचार र शिक्षाका लागि मङ्गलबारदेखि छुट्टै विभाग सञ्चालनमा ल्याइएको प्रतिष्ठानका उपकुलपति प्राडा राजकुमार रौनियारले जानकारी दिए । “एकै स्थानबाट धेरै सेवा दिँदा समस्या थियो, अब भने बिरामीलाई पनि सहज हुनेछ”, उपकुलपति रौनियारले भने । प्रतिष्ठानमा बिरामीको चापलाई कम गर्न तथा मेडिकल शिक्षामा सबै विभागबाट सेवा सहजरूपमा उपलब्ध गराउन विभाग थप गरिएको प्रतिष्ठानका उपकुलपति प्राडा रौनियारको भनाइ छ । प्रतिष्ठानले चाँडै मुटु र क्यान्सरका बिरामीका लागि विशेषज्ञ सेवा विस्तारका लागि छुट्टै भवन बनाउने तयारी थालेको छ । क्यान्सर रोगको शल्यक्रिया, किमोथेरापी र रेडियसन थेरापी सञ्चालनका लागि अमेरिकास्थित विनय फाउण्डेशनसँग केही दिनअघि सम्झौतासमेत भएको छ । यो सेवा सञ्चालन भएपछि क्यान्सरका बिरामीले भरतपुर र काठमाडौ‌ जान नपर्ने अस्पतालले जनाएको छ । रासस

९ वर्षमा बनेन सय मिटरको पुल

काठमाडौँ — नौ वर्षअघि साबिकको धाइजन ४ (मेचीनगर १२) मा निर्माण सुरु भएको पुल अहिलेसम्म अधुरो छ । पुल अधकल्चो छाडेर ठेकेदार सम्पर्कविहीन भएको स्थानीयले बताए । सुरुमा पुलको ठेक्का लामा–मैनाचुलीले लिएको थियो । पुलको कुल लागत इस्टिमेट ५ करोड ८७ लाख ५३ हजार रुपैयाँ हो । निर्माणाधीन पुल आर्थिक वर्ष ०६५/६६ मा राष्ट्रिय योजना आयोगको रातो किताबमा परेको योजना हो । स्थानीय खगेन्द्र विष्टका अनुसार ठेकेदार मदन अधिकारीले बीचमा दुवै पुल निर्माणका लागि खगेन्द्र पौडेललाई ‘पेटी ठेक्का’ मा जिम्मा दिएर सम्पर्क बाहिर बसेका थिए । उनले ठेकेदार सम्पर्कमै आउन नचाहेको बताए । ठेकेदार अधिकारीले सय मिटर लामो पुलका चारमध्ये दुई पिलर, स्ल्याब र रेलिङको काम सकिइसकेका कारण यो वर्षभित्र काम सम्पन्न गर्ने दाबी गरेको पनि वर्ष दिन बितिसक्यो । केही समयअघि एउटा थोत्रो मेसिन निर्माणस्थलमा पुर्‍याइएको छ । तर, काम अघि बढेको छैन । एउटा पिलर भासिएको छ । मेसिनको सहयोगबाट भासिएको पिलरलाई व्यवस्थित गर्ने काम पनि भएको छैन । स्थानीय जितलाल मेचेले पुल बन्ने आशा विस्तारै हराउँदै गएको बताए । उनले गुनासो गरे, ‘पुल बन्ला र वर्षायाममा तर्न पाइएला भनेको पनि युग बित्न लागिसक्यो । तर, बनेको छैन ।’ मेचेले ९ वर्षमा पनि एउटा सानो पुल बन्न नसक्नु दु:खद रहेको सुनाए । पुल नहुँदा वर्षायाममा यहाँका सर्वसाधारण जोखिम मोलेर खोला तर्न बाध्य हुन्छन् । कामको सिलसिलामा वारिपारि गर्नुपर्ने बाध्यता स्थानीयको छ । डिभिजन सडक कार्यालय दमकका इन्जिनियर श्यामकुमार यादवले ठेकेदार सम्पर्कमा आइसकेको बताए । एक वर्षअघि अघिल्ला इन्जिनियर राजेश यादवले पनि त्यसै भनेका थिए । ठेकेदार सडकको सम्पर्कमा चाहिँ आइरहने, छलफलमा पनि भाग लिने । काम थालिहाल्छु भन्ने तर काम नगर्ने परिपाटी ठेकेदारको छ ।यादवले भने, ‘ठेकेदारसँग छलफल भएको छ, चाँडै काम सुरु गर्ने भनेका छन् ।’ उनले गत वर्ष पनि कात्तिकभित्र पुल सम्पन्न गर्ने आश्वासन दिएका थिए । Pic: Symbolic only Source: Kantipurdaily.com

श्रीमानको १३ दिने काजक्रिया सकेर पत्नीले गरिन आत्महत्या

मुगु, पौष १८ । छायाँनाथ रारा नगरपालिका–७ टोप्ला गाउँ निवासी एक युवाको मोटरसाईकल दुर्घटनामा मृत्यु भएपछि उनको १३ दिने काजक्रिया सकेकै दिन पत्नीले आत्महत्या गरेकी छन् । टोप्ला गाउँका २९ वर्षीय नवराज शाहीको गत पुस ७ गते सोरु गाउँपालिकाको तातोपानीबाट आउँदै गर्दा भे ८ प ७०७८ नम्बरको पल्सर मोटरसाईकल दुर्घटना हुँदा मृत्यु भएको थियो । नवराजकी पत्नी लालुमायाले १३ दिने काजक्रिया सकेकै दिन आत्महत्या गरेकी हुन् । लामो समयदेखि प्रेममा परेपछि लालुमाया केही हप्ताअघि मात्रै परिवारको इच्छा विपरित नवराजको घरमा श्रीमतिकै रुपमा बस्न थालेकी थिइन् । शाहीकी पत्नी ३० वर्षीया लालुमायाले गाईगोठमा दोपट्टा कसेर आत्महत्या गरेकी हुन् । सोरु गाँउपालिका जिमा गाउँको कर्णाली नदी किनारमा रहेको तातोपानी कुण्डमा नुहाउन आफन्तलाई पुर्याएर बिहीबार घर फर्कँदै गर्दा साँझ ५ बजे फूली गाउँस्थित गमगढी धौकोट धुलाचौर सडककोे भिरमा मोटरसाईकल दुर्घटनामा परी नवराजको मृत्यु भएको थियो । घटनापछि बुधबारै मृतकको लाशलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । अन्नपूर्ण पोष्टबाट साभार

विद्युत् र टेलिफोन नहुँदा गाउँपालिकाको काम प्रभावित

खोटाङ, पुस १८ । विकासको हरेक खुड्किला पार गर्न विद्युत् र टेलिफोन अति आवश्यक पूर्वाधार हुन् । विकासको मुख्य पूर्वाधार सडक हो तर, सँगै टेलिफोन र विद्युत् भएन भने विकास सार्थक हुँदैन भन्ने उदाहरण जन्तेढुङ्गा गाउँपालिकालाई हेरे पुग्छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने छ वटा वडा रहेको जन्ते ढुंगा गाउँपालिकामा विद्युत् र सञ्चारको विकास हुन सकेको छैन । स्थानीय तह गठन भएको डेढ वर्षको अवधिमा गाउँपालिकाले प्रत्येक वडा कार्यालयसम्म पुग्ने मोटरबाटो त बनायो, स्तरोन्नतिका लागि भने अझै पनि सडकलाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको छ तर, उक्त स्थानीय तहका अधिकांश ठाउँमा विद्युत् र टेलिफोनको सुविधा छैन । गाउँपालिकाका अध्यक्ष श‌ंकरबहादुर राईले आगामी तीन महीनाभित्र गाउँपालिका कार्यालय रहेको स्थान चिसापानीमा केन्द्रीय प्रसारणको विद्युत् बाली सक्ने बताएका छन् । “अहिले बजार क्षेत्रका प्रत्येक घरमा वायरिङ गरिसकिएको छ ।” उनले भने, “चाँडै नै विद्युत्को केन्द्रीय लाइन जोडिन्छ । त्यसपछि गाउँपालिकाको सबै वडा अन्धकार मुक्त बन्छ ।” गाउँपालिका उपाध्यक्ष विमला राईले विकासको हरेक गतिविधिलाई यिनै विद्युत् र सञ्चारले अवरोध गरेको बताए । विद्युत् र सञ्चारको कारण यहाँका विकास समेत ओझेलमा परेको उनको भनाइ छ । स्थानीय जनप्रतिनिधि र कर्मचारी निरन्तर गाउँपालिकाको समृद्धिको लागि लागिरहेका छन्, निरन्तर काम गरिरहेका छन् तर, गरेको गतिविधि सार्वजनिक नहुँदा यहाँको विकास ओझेलमा परेको उपाध्यक्ष राईको अनुभव छ । गाउँपालिकाका प्रत्येक वडासम्म विद्युत् विस्तार र सञ्चारको पहुँच स्थापित गर्न गाउँपालिकाले केही बजेटको समेत व्यवस्था गरेको पाइएको छ । प्रत्येक वडामा टेलिफोन सञ्चालन गर्ने गरी रिपिटर टावर राख्न नेपाल टेलिकमसमक्ष माग गरिएको जनाइएको छ । त्यसो त यस क्षेत्रमा सञ्चालन हुने सम्पूर्ण टेलिफोन, मोबाइल सोलारको भरमा सञ्चालन हुने गरेको छ । विद्युत् नहुँदा टेलिफोन मात्र होइन दैनिक कामकाजमा समेत सास्ती हुने गरेको पाइएको छ । स्थानीय तहले यसतर्फ गम्भीर भएर लाग्नुपर्ने जरुरी रहेको स्थानीयवासीले बताएका छन् । स्थानीय तह लागू भएको लामो समय बितिसक्दा पनि विद्युत् र टेलिफोन विस्तारमा जनप्रतिनिधिले चासो नदिएको उनीहरुको आरोप छ । रासस

गाउँपालिकामा घरेलु हिंसाका उजूरी बढी !

दाङ, पुस १८ । दाङको पहाडी क्षेत्रमा पर्ने बङ्गलाचुली गाउँपालिकाको न्यायिक समितिमा हालसम्ममा कूल ३४ वटा उजूरी दर्ता भैसके । न्यायिक समितिका उपाध्यक्ष यमुना थापामगरले गत असारसम्म २४ र साउनदेखि हालसम्म १० सहित ३४ उजुरी आएको बताए । न्यायिक समितिमा आएका उजुरीमध्ये असार मसान्तसम्म २३ मुद्दा मिलापत्र भएको र एउटालाई न्यायिक निरुपणका लागि जिल्ला अदालतमा पठाइएको छ । त्यसैगरी यस आर्थिक वर्षको हालसम्म परेका १० मुद्दामध्ये सातको मिलापत्र र एउटालाई न्यायिक निरुपणलाई अदालतमा पठाइएको छ भने दुई वटा मुद्दा प्रक्रियामा छन् । सो गाउँपालिकाका न्यायिक समितिमा आएकामध्ये सबैभन्दा धेरै १५ उजूरी घरेलु हिंसाका रहेको उपाध्यक्ष थापाले बताए । जग्गा विवाद बाटोघाटो, घरायसी झै–झगडा, कुलोपानी, खेतीपाती नोक्सानी लगायतका रहेको न्यायिक समितिले जनाएको छ । गाउँपालिका विकट पहाडी क्षेत्रमा रहेकोले सुचिकृत मेलमिलाप कर्ता सो क्षेत्रमा नहुँदा चार घण्टाको पैदल हिडेर वडा नं ८ बाट मेलमिलाप कर्तालाई बोलाउनु पर्ने वाध्यता रहेको उपाध्यक्ष थापाले बताए । आएका उजूरीलाई मेलमिलापको नीति अपनाएर मिलाउने गरिन्छ । छिट्टै गाउँपालिकाले मेलमिलापकर्तालाई तालीम दिने योजना ल्याएको छ । समितिमा आएका उजुरीमा महिला र पुरुषको सङ्ख्या बराबरी रहेको बताइएको छ । न्यायिक समितिमा विज्ञ कर्मचारी नहुँदा पनि काम गर्न असजिलो हुने गरेकोले विज्ञ कर्मचारीको व्यवस्थापनका लागि सहयोग गरिदिनहुन सरकारसँग माग गरिएको छ । स्थानीय तहको उपप्रमुख तथा उपाध्यक्षलाई न्यायिक समितिको संयोजकको गतवर्ष जिम्मेवारी तोकिएको थियो । रासस

सन्दिपले बिग बाश लिगका बाँकी खेल नखेल्ने

काठमाडौं, अष्ट्रेलियामा निकै चर्चा बटुलेका सन्दीपले बिग बासका बाँकी खेल भने नखेल्ने भएका छन् । सन्दीपले ट्विट गर्दै यसको जानकारी दिएका हुन । हिजो मेलबर्न स्टार्सको लागि चौथो खेल खेल्दै आठौं विकेट लिएका सन्दिप अब बिग बाश लिगमा फेब्रुअरीको दोस्रो साता मात्र फर्किनेछन् । उनी बिग बाश लिग छोडेर आज बिहान बंगलादेश प्रिमियर लिग खेल्न बंगलादेशतर्फ लागेका हुन् । सन्दिपले बिग बाश लिगमा खेलेका ४ खेलमा ४ वटै विपक्षी टिमका कप्तानको विकेट लिएका छन् । उनले मंगलवार मेलबर्न क्रिकेट ग्राउण्डमा स्टार्सका लागि १ विकेट लिएका थिए । उक्त खेलमा मेलबर्न स्टार्सले मेलबर्न रेनेगाड्सलाई ७ विकेटले पराजित गरेको थियो । बीबीएलको पहिलो सिजनमै शानदार प्रदर्शन गर्ने क्रममा सन्दीपले सुरुको ४ खेलमा ८ विकेट लिइकसकेका छन् । उनले सिड्नी थण्डर विरुद्धको डेब्यु म्याचमा २ विकेट लिएका थिए । सन्दीपले बीपीएलमा डेविड वार्नरको कप्तानीमा रहेको सिलेट सिक्सर्सबाट खेल्नेछन्। उनको टिमको पहिलो खेल जनवरी ६ (आउने आइतवार) तमिम इकबालको कप्तानीमा रहेको कमिला भिक्टरियन्ससँग रहेको छ। बीपीएलकै दौरान नेपालको युएईसँग वनडे र टि–२० खेल छ । यो सिरिजका लागि सन्दिप उतैबाट युएई जानेछन् । जनवरी २५ देखि फेब्रुअरी ३ सम्म नेपालले युएई विरुद्ध ३ ओडिआई र ३ टी–२० खेलको सिरिज खेल्नेछ। त्यसपछि आफ्नो टिम प्लेअफ पुगेमा सन्दिप बंगलादेश प्रिमियर लिग फर्कन सक्छन् । उनको टिम प्लेअफ नपुगे उनी सिधै बिग बाश लिगका अन्तिम खेल खेल्न अस्ट्रेलिया जानेछन् ।

माघे संक्रान्तिमा दुई दिन सार्वजनिक बिदा

रुपन्देही, पौष १७ । प्रदेश ५ सरकारले माघे सङ्क्रान्तिका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले माघ १ र २ गते दुई दिन बिदा दिने निर्णय गरेको हो । प्रदेशमा मगर र थारु जातिको बाहुल्यता रहेकाले माघे सङ्क्रान्तिका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले जानकारी दिए । माघीकै अवसरमा पुस ३० गते आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयोजनमा मुख्यमन्त्री शङ्कर पोखरेलको निवासमा शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रमसमेत आयोजना गर्ने निर्णय भएको छ । प्रदेशस्तरीय नेपाल मगर सङ्घ र थारु कल्याणकारी सभाका पदाधिकारी तथा सदस्यको सहभागिता रहने कार्यक्रममा मगर समुदायमा प्रचलित खानाका परिकार बटुक र बङ्गुर तथा थारु समुदायको प्रचलित खाना ढिकरी, माछा र घोगी खुवाइने प्रवक्ता चौधरीले बताए । मन्त्रिपरिषद् बैठकले प्रदेशअन्तर्गत रहेको अञ्चल अस्पतालको नामकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रदेशसभामा पेश गर्न सैद्धान्तिक सहमति दिएको छ । त्यो प्रस्ताव पारित भएपछि बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालको नाम प्रादेशिक लुम्बिनी अस्पताल, लुम्बिनी अञ्चल आयुर्वेद अस्पतालको नाम प्रादेशिक लुम्बिनी आयुर्वेद चिकित्सालय रहनेछ । त्यसैगरी बैठकले प्रदेश तथ्याङ्क सम्बन्धमा व्यवस्थित गर्न बनेको विधेयक, प्रदेश खानी व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश बालबालिकाको हकअधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ ।