हिँसा नियन्त्रण गर्न अचम्मको जुक्ति ; जनताका हतियार किन्दै प्रहरी !

वासिङटन, पुस ११ । हिंसात्मक घटनाहरू बढ्दै गएपछि संयुक्तराज्य अमेरिकाको बाल्टिमोर प्रहरीले अचम्मको जुक्ति निकालेको छ । प्रहरीले आमजनतासँग रहेका रकेट लन्चर समेतका झण्डै दुई हजार थान हातहतियार खरिद गरेको हो ।

गत साता सञ्चालित तीन दिने अभियानका क्रममा गैरकानुनी समेतका हातहतियार खरिद गरिएको प्रहरीले जनाएको छ । यस सहरमा लगातार चार वर्षदेखि बर्सेनि ३०० जनाभन्दा बढी व्यक्तिको एकअर्का विरुद्ध आक्रमणबाट मृत्यु भएको छ ।

एकजना प्रहरी प्रवक्ताले प्रहरी अधिकृतहरुले एक हजार ८६० वटा हातहतियार सङ्कलन गरेको जानकारी दिए । नगरका मेयरले ट्वीट गरी एउटा रकेट लन्चर समेत बरामद भएको जनाएका छन् ।

अधिकारीहरूले ठूलो म्यागजिन लाग्ने हतियारको २५ डलर, ह्यान्डगन र राइफलको १०० डलर, अर्ध स्वचालित राइफलको २०० डलर र स्वचालित राइफलको ५०० डलर दिने घोषणा गरेका थिए ।

बाल्टिमोर नगर परिषदका अनुसार यो अभियानका लागि दुई लाख ५० हजार डलर बजेट व्यवस्था गरिएको थियो । तर स्थानीय “बाल्टिमोर सन” अखबारले उक्त कार्यक्रम समय, रकम र स्रोतको बर्बादी भनी टिप्पणी गरेको छ ।

प्रहरी प्रमुख गेरी गटलले नगर निवासीसँग बन्दुक नै नभएको अवस्थामा बन्दुकको प्रयोगबाट हुने हत्या र हिंसात्मक घटनाहरुमा स्वतः कमी आउने बताए ।

स्वास्थ्य अधिकारीहरुका अनुसार, संयुक्तराज्य अमेरिकामा सन् २०१७ मा हातहतियारको प्रयोगबाट झण्डै ४० हजार मानिसको मृत्यु भएको थियो ।

अमेरिकी संविधानको दोस्रो संशोधनले मानिसलाई हतियार राख्न पाउने अधिकार दिएको छ, र अमेरिकी एक तिहाई घरपरिवारमा हातहतियार रहेको छ ।
पछिल्लो पल्ट विद्यालयलाई समेत बन्दूकधारीहरूले सजिलै निसाना बनाउन थालेपछि बन्दूक राख्न पाउने या नपाउने भन्ने बहस फेरी सुरु भएको छ । अमेरिकामा बन्दुक अधिकार पक्षधर राष्ट्रिय राइफल संघले हतियार राख्न पाउनु जनताको संविधान प्रदत्त अधिकार भएकाले यस माथि कुनै पनि प्रकारको रोक लाग्न नहुने जिकिर गर्दै आएको छ ।

स्वयम् राष्ट्रपति ट्रम्प हतियार राख्न पाउनुपर्ने विचारका समर्थक हुन् । एजेन्सी

‘ए’ डिभिजन लिगमा एघारौँ चरणका खेल आजदेखि

काठमाडौँ, ११ पुस (रासस)ः शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत ११औँ चरणका खेल आजदेखि हुुँदैछन् । चार दिनको विश्रामपछि ११औँ चरणका खेल हुन लागेका हुन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार बुधबार तीन तथा बिहीबार र शुक्रबार दुई–दुई खेल हुनेछन् । आज पहिलो खेल ब्रिगेड ब्वाइज क्लब र हिमालयन शेर्पाबीच तथा अर्को खेल जावलाखेल युथ क्लब र मछिन्द्र क्बलबीच हुनेछ । दुवै खेल एन्फा मैदान सातदोबाटोमा हुनेछन् । तेस्रो खेल न्युरोड टिम (एनआरटी) र फ्रेन्ड्स क्लबबीच हल्चोक मैदानमा हुनेछ । बिहीबार सशस्त्र प्रहरीको एपिएफ र च्यासल युथ क्लबबीच तथा सङ्कटा क्लब र मनाङ मस्र्याङ्दी क्लबबीच हुनेछ । मनाङ र सङ्कटाबीचको खेललाई उपाधि भिडन्तका रुपमा हेरिएको छ । सङ्कटासितको खेल मनाङले जिते दुई खेलअगावै उसले लिगको उपाधि जित्नेछ । एघारौँ चरणको अन्तिम खेल शुक्रबार सरस्वती युथ क्लब र त्रिभुवन आर्मीबीच तथा नेपाल पुलिस र थ्रीस्टार क्लबबीच एन्फा मैदान सातदोबाटोमा हुनेछ । दशौँ चरणका खेल सकिँदासम्म मनाङ शत प्रतिशत नतिजासहित ३० अङ्कसाथ शीर्ष स्थानमा छ । सङ्कटा २५ अङ्कसाथ दोस्रो, थ्री स्टार २३ अङ्कसाथ तेस्रो, १८ अङ्कका साथ त्रिभुवन आर्मी चौथो, १६ अङ्कसहित एपिएफ पाँचौँ, १५ अङ्कसहित नेपाल पुलिस छैटौँ, १४÷१४ अङ्कसहित च्यासल युथ क्लब र हिमालयन शेर्पा क्लब क्रमशः सातौँ र आठौँ, १० अङ्कसाथ सरस्वती नवौँ, आठ÷आठ अङ्कसहित जावलाखेल र फ्रेन्डस क्रमशः दशौँ र एघारौँ, छ÷छ अङ्कसहित ब्रिगेड ब्वाइज र मछिन्द्र बाह्रौँ र तेस्रौँ तथा न्युरोड टिम (एनआरटी) चार अङ्कका साथ तालिकाको अन्तिम स्थानमा छ ।

वाणिज्य बैंकले भारतीय वित्तीय संस्थाबाट ऋण लिन पाउने

काठमाडौं, पुष १० । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई पर्यटन, कृषि क्षेत्र र लघु वित्त क्षेत्रमा कर्जा प्रवाह गर्न भारतीय बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाउने व्यवस्था गरेको छ । केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आज एक सूचनामार्फत कर्जा प्रवाह गर्ने प्रयोजनका लागि वित्तीय साधनको प्रबन्ध गर्न भारतीय बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाउने व्यवस्था गरिएको जानकारी दिएको हो । भारतीय मुद्रामा ऋण लिँदा अन्य परिवत्र्य विदेशी मुद्रामा ऋण लिएको भए सो समेत गरी कूल आफ्नो प्राथमिक पूँजीको ५० प्रतिशतको सीमाभित्र रहनुपर्नेछ । तर वाणिज्य बैंकहरुले जलविद्युत्, सौर्य ऊर्जा, वायु ऊर्जा, प्रसारण लाइन, सुरुङ मार्ग निर्माण, विमानस्थल, केवलकार, पुल जस्ता भौतिक पूर्वाधारका क्षेत्रमा भने त्यस्तो रकम ऋणमा दिन पाउने छैनन् । राष्ट्र बैंकले तोकेबमोजिमको पूँजी कोष कायम गरेका बैंकले त्यस्तो ऋण लिन सञ्चालक समितिबाट निर्णय भएको भने हुनुपर्ने व्यवस्था गरिएको छ । बैंक तथा वित्तीय संस्थालाई अन्तर्राष्ट्रियरुपमा वित्तीय कारोवार गर्न कुनै प्रकारको रोक तथा प्रतिबन्ध लागेको हुन नहुने, त्यस्तो ऋणको भुक्तानी न्यूनतम एक वर्ष र अधिकतम पाँच वर्षको हुनुपर्नेछ । राष्ट्र बैंकले स्वीकृति दिएमा त्यस्तो ऋणको नवीकरण भने हुनेछ । ऋणदताले लगाउने अन्य शुल्कसमेत गरी ऋणको अधिकतम ब्याजदरमा अधिकृतम एक प्रतिशतभन्दा बढी हुन नहुने गरी तय भएको हुनुपर्ने र ब्याजदरबाहेक अन्य कुनै शुल्क तथा कमिसन दिन नपाइने व्यवस्था गरिएको छ । त्यस्तो ऋणका लागि कुनै पनि प्रकारको धितो, जमानत, बैंक ग्यारेन्टी दिन पाइने छैन । ऋण लिन केन्द्रीय बैंकको स्वीकृति चाहिनेछ । ऋण रकम आएपछि अनिवार्यरुपमा राष्ट्र बैंकमा लेखाङ्कन गराउनुपर्नेछ । बैंक ऋण ल्याउँदा सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी प्रचलित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनको पूर्ण पालना भएको हुनुपर्ने विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भीष्मराज ढुङ्गानाले जानकारी दिए । रासस

सरकार अझै सशक्त रुपमा अघि बढ्छः प्रवक्ता श्रेष्ठ

पोखरा, पुष १० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले पार्टीको जारी स्थायी कमिटीको बैठकपछि पार्टी र सरकार अझै सशक्त रुपमा अघि बढ्ने बताएका छन् । प्रेस सङ्गठन नेपाल कास्कीद्वारा मंगलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी एकिकरणपछिका बाँकी काम, पार्टी नेतृत्व र सरकारका गतिविधि लगायतमा बैठकमा गम्भीर छलफल भैरहेको बताए । साङ्गठनिक एकिकरणका बाँकी कामलाई सम्पन्न गर्दै पार्टीलाई अझै सशक्त बनाउने, पार्टी अध्यक्ष नेतृत्वको सरकारलाई प्रभावकारी बनाउने लगायतका विषयमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन सम्बन्धमा छलफल भैसकेको उनले जानकारी गराए । बैठकमा उठेका विषयमा दुवै अध्यक्षले कुरा राखिसकेपछि उपयुक्त निष्कर्ष तय गरिने उनले बताए । प्रवक्ता श्रेष्ठले समृद्ध नेपाल निर्माणका लागि स्वतन्त्र परराष्ट्र नीतिका आधारमा विदेशी राष्ट्रसँगको सम्बन्ध विस्तारका साथै दुवै छिमेकी राष्ट्रसँग समनिकटताका आधारमा अघि बढ्ने जानकारी दिए । उनले हालै सम्पन्न अन्तरप्रदेश समन्वय परिषद्को बैठकबाट केही महत्वपूर्ण सकारात्मक निर्णय गर्दै सङ्घीयता कार्यान्वयनलाई अघि बढाउन ठोस निर्णय गरिएको बताए । जन अपेक्षा अनुरुप सामाजिक न्यायसहितको समृद्धिका लागि सरकार कृयाशिल बनेको उनको भनाइ छ । रासस

कृषिका १३ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा, को–को परे फन्दामा ?

काठमाडौ‌, पुष १० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला कृषि विकास कार्यालय, दैलेखका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत डा. नरहरिप्रसाद घिमिरेसहित १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीहरुमाथि कृषि बीउ तथा बिजन वितरणमा अनियमितता गरेको, कृषि सामग्री खरीद नै नगरी खरीद गरेको देखाई ढुवानीसमेत गरेको नक्कली बिल भरपाई बनाई भ्रष्टाचार गरेको अभियोग लागेको छ । उक्त बिल भरपाई सदर गरी भुक्तानी लिनेदिने कार्य गरी प्राप्त नभएको सामान आम्दानी बाँधी खर्च देखाई, उक्त बीउ खरीद गर्ने र प्रयोग गर्ने प्रयोजनलाई कार्यालयका कर्मचारी तथा ठेकेदारसँग मिलेर भ्रष्टाचार गरेको पाइएकाले उहाँहरुविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ । आयोगले तत्कालीन कार्यालय प्रमुख डा घिमिरे रु १० लाख ५० हजार ९६१, वाग्वानी विकास अधिकृत सूर्यनाथ योगीविरुद्ध रु १८ लाख ३६ हजार ४००, कृषि प्रसार अधिकृत नरेन्द्रबहादुर थापा रु १० लाख तीन हजार २६३, लेखा अधिकृत ढालबहादुर हमाल रु १२ लाख ४६ हजार ४८१, प्राविधिक सहायक गमानसिंह थापा रु दुई लाख २४ हजार ४३१, वाग्वानी विकास अधिकृत भुवनबहादुर मल्ल र नायब सुब्बा नमराज थापाले रु आठ लाख १२ हजार १७८ भ्रष्टाचार गरेको अभियोग लगाएको छ । यस्तै लेखापाल रामकुमार शाह रु १६ लाख ९१ हजार ७१७, प्राविधिक सहायक मिमबहादुर शाही रु एक लाख ७५ हजार २६२, नायब प्राविधिक सहायक रङ्गबहादुर वपाल रु ३९ हजार ४५०, प्राविधिक सहायक पूर्णबहादुर थापा, सबइञ्जिनीयर रामप्रसाद शर्मा रु १० लाख २७ हजार ४०२ र ताजा तरकारी उत्पादन समूह दैलेखका अध्यक्ष प्रेमबहादुर शाहीलाई रु २२ हजार बराबरको भ्रष्टाचार गरेको अभियोग आयोगले लगाएको छ । उनीहरुविरुद्ध बिगो असुल गरी कैद सजायको समेत माग गरिएको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए । रासस

उद्धारका लागि गएको प्रहरी नै घाइते

धादिङ, पुस १० । दुर्घटनामा परेको कारका चालकको मंगलबार उद्धारका लागि गएको प्रहरी नै घाइते भएका छन् । काठमाडौंबाट बुटवलतर्फ जाँदै गरेको बा १४ च ९८०० नं को ट्याक्सी बेनीघाट रोराङ गाउँपालिका–५ भैँसेबाट ६० मिटर तल खसेको कारको चालक उद्वार गर्न जाँदा ट्राफिक प्रहरी पोष्ट बेनीघाटमा कार्यरत प्रहरी हबलदार सुरेशबहादुर चन्द गम्भीर घाइते भएको प्रहरी उपरीक्षक डम्बरबहादुर विकले जानकारी दिए। घटनास्थल जाँन लाग्दा घाइते भएका चन्दको टाउकोमा पाँच टाँका लगाइएको छ । दुर्घटनामा कार चालक बारा जिल्ला निजगढ निवासी ३० वर्षीय अमृत भण्डारी घाइते भएकाले गजुरी अस्पतालमा उपचार भइरहेको छ । रासस

पूर्व पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफलाई जेल सजाय

इस्लामाबाद, पुस ९ । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफलाई त्यहाँको भ्रष्टाचार निरोधी अदालतले भ्रस्टाचार गरेको आरोपमा ७ वर्षको सजाय सुनाएको छ । भ्रस्टाचार सम्बन्धी मुद्दा हेर्ने ‘नेसनल अकाउंटिबिलिटी ब्यूरो’ले सरिफलाई अल-अलिजिया स्टील मिल्स मुद्दामा उक्त सजाय सुनाएको हो । सरिफलाई त्यस्तै प्रकृतिको अर्को मुद्दा ‘फ्ल्यागशिप इन्भेस्टमेन्ट मामिलामा भने सफाई दिइएकोछ । यस अघि जुलाई महिनामा उनकी छोरी र ज्वाईंलाई अदालतले जेल सजाय सुनाइसकेको छ । नवाज गत निर्वाचन ताका पनि भ्रस्टाचार सम्बन्धि मुद्दामा हिरासतमा रहेका थिए । उनको अनुपस्थितिमा उनको दल पाकिस्तान मुस्लिम लीगले स्नावाज सरिफका भाई सहबाज सरिफको नेतृत्वमा निर्वाचन लडेको थियो जसमा इमरान खानको दल ‘तहरिक-ए-इन्साफ सबै भन्दा ठुलो दल भएर निस्केको थियो । अदालत्ले आयभन्दा बढी सम्पत्ति देखिएको भन्दै नवाजमाथि छानबिन गराएको थियो । उनलाई घोषित आयभन्दा बढी पैसा विदेशमा लगानी गरेको आरोपमा दोषी पाइएको हो । एजेन्सी  

दाङ बस दुर्घटनाः मृतकको संख्या १६ पुग्यो, ११ जना घाइते (अपडेट)

लमही, पुष ६ । सल्यानको कपुरकोटबाट तुलसीपुरतर्फ आउँदै गरेको बा४ख ९७६६ नंको बस तुलसीपुर–सल्यान सडकखण्डको तुलसीपुर– ३ राम्रीमा आज बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । प्रहरी सहायक निरीक्षक विष्णु श्रेष्ठका अनुसार मृतकको शव घटनास्थलमा सङ्कलन गरेर राखिएको छ । घाइतेलाई उपचारका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुर लगिएको छ । गम्भीर घाइते दुई जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ । घोराहीस्थित कृष्णसेन इच्छुक प्राविधिक शिक्षालयका शिक्षक र विद्यार्थी चढेको उक्त बस दुर्घटनामा परेको हो । बस झण्डै सात सय मिटर तल भीरमा खसेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभयो । शिक्षक र विद्यार्थी सल्यानको कपुरकोटस्थित मुलपानीमा रहेको वनस्पति उद्यानको अवलोकन भ्रमण गरेर तुलसीपुरतर्फ फर्किदै थिए । घटनाको थप विवरण आउन बाँकी छ । अहिले प्रहरी र स्थानीयवासी उद्धारमा जुटेका छन् । रासस

टेलिकम आमा जस्तै होः मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक, पुष १ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुकभर टेलिफोन सेवा विस्तार गर्न सरकारले तीव्ररुपमा काम भइरहेको बताएका छन् । बेथानचोक गाउँपालिका–२ गेल्दुङमा नेपाल टेलिकमले विस्तार गरेको ढुङ्खर्क टेलिफोन (पीएस्टिएन) एक्सचेन्जको आज उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले भने, “एक वर्षभित्र १५० गाउँपालिकामा पूर्णरुपमा र ६९ गाउँपालिकामा आंशिक रुपमा इन्टरनेट सेवा पुर्यानेछ ।” टेलिकम कुनाकन्दरामा बसेका नेपाली नागरिकसम्म पुग्ने र यो कार्य सरकारको दायित्वसमेत भएको मन्त्री बाँस्कोटाले बताए । आउँदो वर्ष नेपाल टेलिकमको ‘चित्र’ भिन्न रुपमा प्रस्तुत हुने भएकाले टेलिकमको सेवा लिएर मनोरञ्जन लिन उनले आग्रह गरे । “टेलिकमको महसुल सस्तो छ, सकारात्मक वेभसाइट खोल्नुस्, ज्ञानवद्र्धक कुरा लिनुस् र भरपुर मनोरञ्जन लिनुस्,” उनले भने । नेपाल टेलिकमलाई ‘आमा’ को संज्ञा दिँदै मन्त्री बाँस्कोटाले टेलिकमलाई एकछिन घुक्र्याए पनि त्यही चाहिने भइसकको बताउनुभयो । उनले भने, “टेलिकम आमा जस्तै हो, कहिलेकाहीँ मर्मत वा अन्य केहीले सेवा ढिलो वा बन्द हुँदा घुक्र्याउने हो, घुक्र्याएपछि आमा चाहिएजस्तै हो टेलिकम ।’ नेपाल टेलिकमका महाप्रबन्धक सूर्यभक्त पोखरेलले टेलिकमले स्मार्ट स्कूल बनाउने योजना बनाइरहेको बताए । टेलिकमको बनेपा शाखाअन्तर्गत बेथानचोकमा विस्तार गरिएको टेलिफोन एक्सचेन्ज काभे्रपलाञ्चोकको १७औँ हो । मन्त्री बाँस्कोटाले आजै बेथानचोक गाउँपालिका–३ महाँकालस्थित कृष्णगोपाल माध्यमिक विद्यालयको ५२औँ वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै सरकारले एक वर्षमा ९०० सामुदायिक विद्यालयमा इन्टरनेट सुविधासहित कम्प्युटर ल्यावको स्थापना गर्ने बताए ।

भुपेश बघेल छत्तीसगढका नयाँ मुख्यमन्त्री बन्ने

रायपुर, पुष १ । भारतमा सम्पन्न विधानसभा निर्वाचनमा बहुमत प्राप्त गरेको भारतीय कांग्रेसले छत्तीसगढको मुख्यमन्त्रीका रुपमा भूपेश बघेललाई अघि सारेको छ । आइतबार सम्पन्न विधायक दलको बैठकमा बघेललाई संसदीय दलको नेत ाचयन गरिएपछि उनी मुख्यमन्त्री बन्ने निश्चित भएको हो । बघेलले भोली पद तथा गोपनियताको शपथ लिने छन् । संसदीय दलको नेता चयन भएपछि मिडियासँग कुरा गर्दै बघेलले मन्त्रीहरु चयनबारे पछि निर्णय लिइने बताए । यसका साथै उनले झीरम घाटी काण्डका बारेमा जाँचबुझ समिति बनाउने घोषणा समेृत गरेका छन् । भोली हुने सपथ ग्रहण समारोहमा राहुल गान्धीदेखि कैयन अन्य शीर्ष नेता उपस्थित हुने कार्यक्रम छ । सन् २०१३ मा झीरम घाटीमा कांग्रेसका नेता नन्द कुमार पटेल, महेन्द्र कर्मा, विद्याचरण शुक्ल र उदय मुदलियार समेत २८ जनाको मृत्यु भएको थियो । बघेलले मन्त्रीपरिषद्को पहिलो बैठकबाट किसानहरुको ऋण माफी र बिजुलीको बिल आधा गर्ने विषयमा निर्णय हुने पनि बताए ।

इपीएलः पोखरा र ललितपुर भिड्दै, हेर्नुस् लाइभ

काठमाडौं, मंसिर २४ । कीर्तिपुर क्रिकेट मैदानमा जारी एभरेष्ट प्रिमियिर लिग (इपीएल) अन्तर्गत आज दोस्रो खेलमा पोखरा राइनोज र ललितपुर प्याट्रियट्सबीच भिडन्त भइरहेको छ । टस जितेर ब्याटिङ रोजेको पोखराले शानदार शुरुवात गरेको छ । अंक तालिकामा पोखरा पाँचौ स्थानमा र ललितपुर तेस्रो स्थानमा रहेको छ । ललितपुरले एक खेलमा हार र एक खेलमा जित निकालेको छ । यस्तै, पोखारले भने पहिलो खेलमा हार बेहोरेको थियो ।

बिक्रम पाण्डेसँगै तानिए २१ जना सरकारी कर्मचारी, प्रतिवेदन तयार गर्नलाई अख्तियारले उन्मुक्ति दिएकाे अाराेप

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगलले सिक्टा सिँचाइ आयोजनाको मूल नहर निर्माणमा अनियमितता गरेको आरोपमा २१ जना सरकारी कर्मचारी र ठेकेदार कम्पनीविरुद्ध मुद्दा दायर गरे पनि आयोजनाका लागि गलत प्रतिवेदन तयार पार्ने अधिकारी भने कारबाहीबाट बचेका छन्। अाजकाे नागरिक दैनिकले यसबारेमा बिस्तृत समाचार प्रकाशन गरेकाे छ । यसअघि को मूल नहर निर्माणमा लापरबाही भएको नागरिक दैनिकले समाचार सार्वजनिक गरेपछि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत साउन २३ मा विज्ञसहितको पाँच सदस्यीय समिति गठन गरेको थियो। मन्त्रीस्तरीय निर्णयबाट गठन भएको समितिलाई नहरबारे अध्ययन, निरीक्षण एवम् समस्या समाधानका रायसुझाव दिने जिम्मेवारी तोकिएको थियो। नागरिक दैनिक लेख्छ: ज्ञसहितको समितिले गत असोज २८ मा सिँचाइमन्त्री वर्षमान पुनलाई बुझाएको प्रतिवेदनमा सिक्टामा संलग्न सरकारी कर्मचारी र ठेकेदार कम्पनी दोषी देखिँदादेखिँदै उन्मुक्ति दिने काम गरेको थियो। सिक्टामा सरकारी कर्मचारी र ठेकेदार कम्पनीको अनियमितता देखेको अख्तियारले गलत प्रतिवेदन तयार पारेर आर्थिक अनियमितता ढाकछोप गरी सरकारी हानिनोक्सानी गर्ने समितिका सदस्यहरूलाई भने देखेको छैन। सहसचिव सुशीलचन्द्र तिवारीको संयोजकत्वमा बनेको समितिमा सिनियर डिभिजनल इन्जिनियरहरू योगेन्द्र मिश्र, कृष्ण बेल्वासे, दिनेश रजौरिया र विद्युत् प्राधिकरणका इन्जिनियर प्रकाशमान श्रेष्ठ थिए। अख्तियारले मुद्दा दायर गरेका २१ जनामध्ये मिश्र पनि परेका छन्। गलत प्रतिवेदन तयार गर्ने अन्य कर्मचारीहरू भने अख्तियारको नजरमा अहिलेसम्म पर्न सकेका छैनन्। मिश्र पनि गलत प्रतिवेदन तयार गरेको आरोपमा परेका छैनन्। समितिले नहरको घुलनशील माटोलाई कारण देखाएर सिक्टामा जोडिएका उच्च पदस्थ सरकारी कर्मचारीहरू र ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनलाई बचाउने गरी प्रतिवेदन तयार पारेको थियो। सिँचाइ मन्त्रालयका एक अधिकारीले प्रश्न गरे, ‘राज्यको ६–७ अर्ब रुपैयाँ डुबाउने खेलमा गलत प्रतिवेदन तयार गर्नेहरूले चाहिँ कारबाहीबाट किन उन्मुक्ति पाउने ?’ उनका अनुसार आयोजनाको सम्भाव्यता अध्ययन हुँदा घुलनशील माटोका कारण आयोजनाको नहरमा समस्या आउने जानकारी आएको थियो। सम्भाव्यता अध्ययन गरेको परामर्शदाताले मूल नहरको करिब ४५ किलोमिटर क्षेत्रमा नयाँ माटो हालेर मात्र नहर बनाउनुपर्ने वा अर्को क्षेत्रबाट नहर लैजानुपर्ने सुझाव दिएको थियो। अख्तियार प्रवक्ता रामेश्वर दंगालले अख्तियारको आफ्नै अनुुसन्धानले कमजोरी देखाएपछि मुद्दा दायर गरिएको बताए। ‘सरकारले प्रतिवेदनलाई अहिलेसम्म हेरेका छैनौं। आवश्यक परे अध्ययन गरी त्यसैगअनुसार अगाडि बढ्नेछ’, दंगालले भने। नयाँ माटो हालेर नहर बनाउँदा लागत धेरै पर्ने भन्दै तत्कालीन सिँचाइ सचिव र अन्य उच्च पदाधिकारीहरूले ‘समस्या आए पछि हेरौंला’ भन्दै ठेक्का लगाउने निर्णय गरेका थिए। अर्कोतिर नहर निर्माणको ठेक्का लिएको कालिकाकोे काम पनि गुणस्तरयुक्त छैन। समितिमा संलग्न अधिकारीहरू यी दुवै कुरामा जानकार थिए। तर प्रतिवेदनले भने ठेकेदार कम्पनी र सरकारी अधिकारीहरूको पूरै ढाकछोप गरेको छ। समितिले मूल नहरमा देखिएको प्रमुख समस्या घुलनशील माटो भएको किटानी गरे पनि घुलनशील माटो हुँदाहुँदै तत्कालीन अधिकारीहरूले लापरबाही गरी ठेक्का लगाएको विषयमा प्रतिवेदनमा केही उल्लेख छैन। प्रतिवेदनले उल्टै आयोजनासम्बन्धी सम्भाव्यता अध्ययन प्रतिवेदनमा माटोको घुलनशीलता सम्बन्धमा कुनै उल्लेख नभएको जनाएको छ। यस्तै अन्य आयोजनामा पनि यस किसिमको घुलनशील समस्या अहिलेसम्म नदेखिएको र यसको डिजाइन तथा निर्माण गर्दा अन्य आयोजनासरह माटोको अन्य पक्षको परीक्षण भए पनि घुलनशीलताबारे नभएको भन्दै ढाकछोप गरेको छ। प्रतिवेदनले सयौं ठाउँमा नहर भत्के पनि गुणस्तरहीन निर्माणबारे एक ठाउँमा पनि शंका गरिएको छैन। प्रतिवेदनले मूल नहर निर्माणमा सरकारी अधिकारीसँगै ठेकेदार कम्पनी कालिकाको गुणस्तरहीन कामलाई पनि उपेक्षा गरेको देखिन्छ। मूल नहरको धेरै भागमा घुलनशील माटो भए पनि कालिकाको काम गुणस्तरयुक्त नभएको सबै पक्षको आरोप छ। कालिकाले नहरको अधिकांश काम पेटी ठेक्काबाट गराएको थियो। स्थानीयवासी र राजनीतिक दलका नेताकार्यकर्ताले गुणस्तरीय काम नभएको आवाज उठाउन थालेपछि निर्माण कार्य रातको समयमा गरिएको थियो। माटो घुलनशील नभएका विभिन्न क्षेत्रमा समेत नहर भत्केका कारण निर्माण गुणस्तरको नभएको प्रस्ट छ। तर कालिका र नहर निर्माणको गुणस्तरबारे प्रतिवेदन मौन छ। ‘उच्च पदस्थ अधिकारीहरूको गैरजिम्मेवारी पूर्ण निर्णयका कारण राज्यको अर्बौंं रुपैयाँ गुमेको छ,’ मन्त्रालय स्रोतले भन्यो, ‘समितिको प्रतिवेदन सबैलाई बचाउने गरी आएको छ। आर्थिक चलखेलकै कारण यस्तो प्रतिवेदन बनाइएको हो। अख्तियारले पनि यसतर्फ हेर्नुपर्छ।’ सिक्टामा हेडवक्र्स निर्माणसहित पश्चिम खण्डको मूल नहर बनाउँदासम्म १४ अर्ब ७० करोड रुपैयाँ खर्च भइसकेको छ। आयोजना सम्पन्न हुँदा २५ अर्ब रुपैयाँभन्दा बढी रकम खर्च हुने अनुमान छ। आयोजनाको ठेक्का करिब १५ वर्षअघि लागेको थियो।

प्रधानमन्त्रीको कडा निर्देशन– भ्रष्टाचार गर्ने कसैलाई नछाड्नुहोस्

काठमाडौं, मंसिर २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार हुन नदिने अठोट गरेका छन् । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आयोजित कार्यक्रममा ओलीले आफू भ्रष्टाचार रोक्ने प्रयासमा रहेको दाबी गरे । ‘म भ्रष्टाचार गर्दिनँ, यसमा शतप्रतिशत प्रतिबद्ध छु,’ उनले भने, ‘भ्रष्टाचार हुन दिन्नँ भन्नेमा पनि उस्तै प्रतिबद्ध छु । तर त्यो सफल भएको छैन । प्रयास भइरहेको छ ।’ भ्रष्टाचार गर्ने कसैलाई पनि नछाड्न अख्तियारलाई आग्रह गर्दै उनले दबाबलाई वास्तै नगरी काम गर्न सुझाव दिए । कार्यक्रममा अख्तियारका प्रमुख आयुक्त नवीन घिमिरेले स्थानीय सरकारबारे उजुरीको संख्या बढेको भन्दै संक्रमणकालका नाममा त्यसलाई उन्मुक्ति नदिइने चेतावनी दिए । १० वर्षदेखिका ठेक्कापट्टा अपूरा रहेको उनले बताए । करिब ५ सय वटा त्यस्ता ठेक्कापट्टाको फाइल अनुसन्धानमा रहेको उनले जानकारी दिए । ‘रंगेहात अपरेसनबाट जोगिन घूस खाने तौरतरिकामा परिवर्तन आएको छ,’ उनले भने, ‘हामी पनि नयाँ तरिकाले उनीहरूसम्म पुग्ने कोसिस गरिरहेका छौं ।’ कान्तिपुर दैनिकबाट

मुलुककै लामा र अग्ला पुल हेर्न पर्यटक लालायित

पर्वत, मङ्सिर ४ । जिल्लामा रहेका मुलुककै लामा र अग्ला झोलुङ्गे पुलमा घुम्न आउने आन्तरिकसँगै बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ । अग्ला पुलका बारेमा स्वदेश तथा विदेशमा प्रचारप्रसार हुँदै गएपछि पुल हेर्न आउने पर्यटकको सङ्ख्यामा दिन प्रतिदिन वृद्धि हुँदै गएको हो । हिमालपारीको जिल्ला मुस्ताङ घुम्न जाने पर्यटक तथा अन्नपुर्ण पदमार्गमा जाने बाह्य पर्यटकको रोजाइमा यहाँका अग्ला पुल पर्न थालेका छन् । पुल हेर्न र तर्नका लागि यस वर्ष बाह्य पर्यटक पनि बाक्लै रुपमा आउन थालेको स्थानीयवलासी बताउँछन् । मुस्ताङ जान हिँडेका तथा मुस्ताङबाट फर्किने, कालीगण्डकीमा जलयात्रा गर्न आउने र राउण्ड अन्नपूर्ण पदमार्गमा जाने पर्यटक एक दिन समय लम्ब्याएर अग्ला पुल हेर्न आउन थालेको पर्यटन व्यावसायी बताउँछन् । यस वर्ष झण्डै पाँच सयभन्दा बढीको सङ्ख्यामा बाह्य पर्यटक अग्ला पुल हेर्न आएको पर्वत पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष शिव पौडेलले बताए । उनले भने, “जिल्लामा रहेका मुलुकका तीन अग्ला र लामा पुल पर्यटकको रोजाइमा पर्न थालेका छन् ।” मनाङ र मुस्ताङ पुगेर फर्किएका झण्डै ५० अष्ट्रेलियन नागरिकले सोमबार पुल अवलोकन गरेका थिए । अग्ला पुलमा मोटरसाइकल समेत सञ्चालन गर्न पाइने भएपछि पर्यटकले मोटरसाइकल चढेर पुलमा ओहरदोहर गरी आनन्द लिने गरेका छन् । “मुस्ताङबाट फर्किदा अग्ला पुल हेर्ने पर्यटकले इच्छा व्यक्त गर्ने गरेका छन्,” पर्यटक पथप्रदर्शक रमेश मोक्तानले भने । उनले भने, “पुल देखेपछि पर्यटक अचम्मित र आनन्दित हुने गरेका छन् ।” कुश्मामा सञ्चालनमा आएका तीन पुलमा अहिले आन्तरिक र बाह्य पर्यटकको बाक्लो उपस्थिति हुने गरेको छ । पर्वत आसपासका जिल्लाका बासिन्दाले बिदा मनाउन झोलुङ्गे पुल आउने गरेको पौडेलले बताउनुभयो । केही वर्षयता शैक्षिक भ्रमणको गन्तव्य नै अग्ला र लामा पुल, यान्त्रिक पुल र जिल्लामा रहेका दुई लामा गुफा भएका छन् । गुप्तेश्वर गुफा, अलपेश्वर गुफा र कुश्मा–बलेवा यान्त्रिक पुल पर्यटकको रोजाइ पर्न थालेको छ । अग्ला पुल भएका स्थल बिदाको दिन भरिभराउ हुन्छन् । कुश्मा–ज्ञादी पुल आठ वर्षअघि सञ्चालनमा आएको हो । कुश्मा–कैया पुल चार वर्ष अघि तथा कुश्मा–मुडिकुवा पुल गत मङ्सिरदेखि सञ्चालनमा आएको हो । अहिले यी तीनै अग्ला पुल अवलोकन गर्न दैनिक पाँच हजारभन्दा बढी नागरिक आउने गरेका छन् । “बिदाको दिन सात हजारभन्दा बढी जनाले अवलोकन गर्छन्,” पौडेलले भने । कालीगण्डकी, मोदीखोला र माछापुच्छ्रे सहितका आकर्षक हिमालको समेत दृश्यावलोकनका कारण पनि आन्तरिक तथा बाह्य पर्यटक पुल अवलोकन गर्न आउने गरेका छन् । पछिल्लो समय मुस्ताङ गएका अधिकांश पर्यटक कुश्माका अग्ला पुलको अवलोकन गरेर मात्रै फर्किने गरेको पौडेल बताउँछन् । पुल सर्वसाधारणलाई आवतजावत गर्न सहजताका लागि निर्माण गरिए पनि अवलोकनका लागि मात्र पर्यटक आउँदा पुल वरपरको व्यापार व्यवसाय फस्टाएको छ । अहिले तीनवटै पुल वरपर होटल तथा रेष्टुराँ सञ्चालनमा छन् । पुल निर्माणपछि त्यस क्षेत्रको जग्गाको मूल्यसमेत बढेको छ । कुश्मा–ज्ञादी पुलको उचाइ १३५ मिटर तथा लम्बाइ ३४४ मिटर रहेको छ । कुश्मा–कैया पुलको उचाइ १५५ मिटर तथा लम्बाइ ३५९ मिटर रहेको छ । सो पुलले दक्षिणी भेगका फलेवास नगरपालिका, महाशीला गाउँपालिका, पैयूँ गाउँपालिका र बिहादी गाउँपालिकाका बासिन्दालाई सदरमुकामसँग जोडेको छ । कुश्मा कैया पुलबाट बागलुङको दक्षिण भेगका बासिन्दा लाभान्वित भएका छन् । उनीहरुलाई बजारसम्मको पहुँच सहज भएको छ । पुलमा नियमितरूपमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि विभिन्न पूर्वाधार निर्माण गर्नुपर्नेमा स्थानीयवासीले जोड दिएका छन् । फलेवास क्षेत्रमा उत्पादन भएको दूध, तरकारी र फलफूल बजारसम्म पु¥याउन सहज बनाएको मुडिकुवाका युवनाथ रेग्मीले बताए । हिउँदयाम शुरु भएसँगै पुलमा आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको पर्यटन व्यावसायी पौडेलले बताए । होटलमा बास बस्न आउनेको सङ्ख्यामा समेत वृद्धि भएको स्थानीय होटल व्यवसायी कृष्णप्रसाद श्रेष्ठले बताए । रासस

एक लाख ८० हजारको लागतमा विद्यार्थीले बनाए रोबोट

भद्रपुर, मङ्सिर ४ । झापाको बिर्तामोडस्थित बाल्मिकी एजुकेसन फाउण्डेशनका विद्यार्थीले रोबोट, ड्रोन, सेन्सर कारलगायत सामग्री बनाएका छन् । कक्षा ८ मा अध्ययरत रोशनकुमार साहलगायत विद्यार्थीले रु एक लाख ८० हजारको लागतमा रोबोट बनाएका हुन् । निर्माण गरिएको रोबोट सोमबार विद्यालयको विज्ञान प्रर्दशनीमा राखिएको छ । सो प्रदर्शनीमा विद्यार्थीले सेन्सर कार र ड्रोन प्रयोग गरेर देखाएका थिए । कक्षा १० का अनिस दाहालले साथीसँग मिलेर ‘वाल्मिकी भर्सेस टेरोरिस्ट’ कम्प्युटर खेल प्रदर्शनीमा राखिएको छ । कक्षा ६ देखि १० सम्मका झण्डै २५० विद्यार्थीले बनाएका विज्ञान सामग्री प्रदर्शनीमा राखिएको विज्ञान शिक्षक निलम खरेलले बताए । रासस

कर्मचारीले स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्छः मन्त्री पण्डित

काठमाडौं, मंसिर ३ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारी कर्मचारीले देशको परिस्थितिअनुसार आफूलाई परिवर्तन गर्दै लानुपर्ने बताएका छन् । सोमबार ललितपुरस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले ‘नवनियुक्त शाखा अधिकृतहरुको सेवा प्रवेश प्रशिक्षण’ कार्यक्रममा उनले नवनियुक्त अधिकृतलाई मुलुक निर्माणमा सहभागि हुन आग्रह गरे । ‘राष्ट्रसेवक कर्मचारीले पहिला राष्ट्रलाई चिन्नुपर्छ’ उनले भने, ‘आफ्नो स्वार्थभन्दा माथि उठेर मुलुकको हितको लागि काम गर्नुपर्दछ ।’ उनले अधिकृतलाई जिम्मेवारीबाट पछि नहटी राष्ट्रप्रतिको समर्पण भावना, जनमुखी तथा सरल सेवाप्रतिको दृढता कायम राख्दै असल परिचालक बन्न समेत आग्रह गरे । कुनै बहाना नगरी राष्ट्र सेवामा समर्पित हुन सबै नवनियुक्त अधिकृतलाई उनले निर्देशनसमेत दिए । लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले नवनियुक्त अधिकृतले प्रशिक्षणबाट सिकेका ज्ञान तथा सीपबाट जनतालाई छिटोछरितो र चुस्तसेवा प्रवाह गर्नुपर्ने बताए । प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपानेले प्रतिष्ठानबाट सिकेका कुरालाई आत्मसाथ गदै कार्यसम्पादनका लागि तयार रहनुपर्ने बताए । आयोगबाट सिफारिस भएका सामान्य प्रशासन समूह, लेखा समूह, लेखा परीक्षण समूह, राजश्व समूह, न्याय सेवा समूह र परराष्ट्र समूहका ३६५ जना नवनियुक्त अधिकृतलाई तीन महिने प्रशिक्षण दिइएको थियो । -रासस