UPDATE : नुवाकोट बस दुर्घटनामा २ काे मृत्यु, ४४ जना घाइते

नुवाकोट, असोज २६ ।

नुवाकोटबाट काठमाडौं आउँदै गरेको  बा१ख ६३५६ नम्बरको यात्रुवहाक बस सूर्यगढी–५ फेदीबेशीमा दुर्घटना हुँदा २ जना मृत्यु भएको छ । मृतक एक जना महिला एक पुरुषा भएपनि सनाखत हुन सकेकाे छैन ।  बस दुर्घटनामा ४४ जना घाइते भएका छन् ।

घाइतेमध्ये गम्भीर रहेका १३ जनालाई उपचारका लागि काठमाडौं लगिएकाे छ । अन्य घाइतहरुको त्रिशुली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ । दुर्घटनाकाे थप विवरण आउनै बाँकी ।

नेपाल भर्सेस चीनः २६ रनमै समेटियो चीन, आठ खेलाडीले खाता खोल्न सकेनन् !

काठमाडौ, असोज २४ । मलेसियामा जारी आइसीसी ट्वान्टी-२० विश्वकप छनौट एसिया प्रतियोगिता अन्तर्गत नेपालले पाँचौ खेलमा २७ रनको विजयी लक्ष्य पाएको छ ।     आज टस हारेर ब्याटिङको निम्तो पाएको चीनले १३ ओभरमा सबै विकेट गुमाउँदै मात्र २६ रन बनाउन सक्यो । उसका लागि हाङ जिङ याङले ११ रन नबाउनु बाहेक अरुले सम्झनलायक प्रदर्शन गरेनन् ।     चीनका आठ खेलाडी शूल्य रनमा आउट भए । बलिङमा नेपालका सन्दिप लामिछाने, बसन्त रेग्मी र ललितनारायण राजवंशीले समान तीनतीन विकेट लिए । आज नेपालले टस जितेर फिल्डीङ रोजेको हो ।     खेल बिहान ७ः४५ देखि सुरु भएको हो । यसअघि ललित राजवंशीले पहहिलो विकेट लिएका थिए । उनले आफ्नो पहिलो ओभरको पाँचौ बलमा विकेट लिएका थिए ।   प्रतियोगिता अन्तर्गत नेपालले खेलेको चार वटै खेलमा म्यानमार, मलेसिया, थाइल्याण्ड र भुटानलाई पराजित गर्दै अंकतालिकाको शिर्ष स्थानमा रहेको छ।

बामदेवको प्रसंसा गर्दै मानन्धरले गरे राजीनामाको घोषणा !

काठमाडौं, असोज २३ । काठमाडौं ७ का नेकपाका सांसद रामवीर मानन्धरले पार्टीसमक्ष राजीनामा दिएको घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दैै मानन्धरले आफूले पार्टीसमक्ष राजीनामा पेश गरेको र पार्टी कमिटीले छिट्टै राजीनामा स्वीकृत गर्ने बताए । पत्रकारहरुको प्रश्नको उत्तर दिँदै सांसद मानन्धरले बामदेव गौतम पार्टीका लागि लामो त्याग गरेका र आफूजस्तो फुत्त राजनीतिमा आएको व्यक्ति नभएको भनी बामदेव गौतमको प्रशंसा गरे । देशमा शान्ति र समृद्धि आवश्यक भएकोले पार्टीले निर्णय गरे अनुसार आफू वामदेवका लागि निशर्त पद छोड्न तयार भएको उनले जिकिर गरे । काठमाडौं ७ बाट मानन्धर दोस्रो पटक सांसद निर्वाचित भएका हुन् । मानन्धर पछिल्लो निर्वाचनमा १८ हजार १ सय २ मत प्राप्त गरी विजयी भएका थिए ।

काठमाडौंको सुनारगाउँमा घर फोडेर ६० तोला सुन र नगद चोरी !

काठमाडौं, असोज २३ । काठमाडौं महानगरपालिका–१४ सुनारगाउँकी कमला सुवेदीको घर फोडेर ५९.५ तोला सुनका गहना र २० हजार नगद चोरी भएको छ । सोमबार घरमा कोही नभएको मौका पारेर सुवेदीको घरबाट करिब ३५ लाख ६७ हजार ५ सय रुपैयाँ बराबरको गहना र नगद चोरी भएको काठमाडौं प्रहरीले जनाएको छ । फरार चोरहरुको खोजी गर्नुका साथै घट्नाबारे अनुसन्धान भइरहेको बताइएको छ । यसैबीच, सुनको सिक्री लुटपाट गरेको अभियोगमा सोलुखुम्बु चौरीखर्क बस्ने २० वर्षीय सनम शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–२२ न्युरोडबाट ओमबहाल जाँदै गरेका सञ्जय मानन्धरले लगाएको अन्दाजी १.५ तोलाको सुनको सिक्री लुटी भाग्ने क्रममा महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरी टोलीले उक्त सिक्रीसहित शेर्पालाई पक्राउ गरेको हो ।

पाँच दिनभित्र उखु किसानलाई बक्यौता नदिए उद्योगीलाई कारवाही हुन्छः सरकार

काठमाडौं, असाेज २२ । उखु उत्पादक किसानले बक्यौताबापत पाउनुपर्ने रकम पाँच दिनभित्र भुक्तानी गर्न सरकारले  उद्योगीहरूलाई निर्देशन दिएको छ ।     अर्थ, कृषि तथा पशुपन्छी विकास, उद्योग तथा आपूर्ति, वन तथा वातावरण र सामान्य प्रशासनमन्त्री तथा विभिन्न मन्त्रालयका सचिवको सोमबार सिंहदरबारमा बसेको बैठकले सो निर्देशन दिएको कृषि तथा पशुपन्छीमन्त्री चक्रपाणि खनालले जानकारी दिए ।     उक्त अवधि भुक्तानी नदिने उद्योगीलाई कारवाही गर्ने चेतावनीसमेत सरकारले दिएको छ । चिनी मिलले भुक्तानी नदिएपछि नेपाल उखु उत्पादक किसान सङ्घ, नेपाल उखु उत्पादक महासङ्घ, किसान हकहित समितिलगायतले आइतबार पत्रकार सम्मेलन गरी संयुक्त रुपमा सडक आन्दोलन गर्ने चेतावनी दिएका थिए ।     उद्योगले किसानलाई अपूरो पैसा भुक्तानी गरेको र सरकारले अनुदानको रकम भुक्तानीमा आनाकानी गरिरहेको किसानको गुनासो छ ।कृषि मन्त्रालयको सिफारिशमा गत वैशाख ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले उखु किसानलाई उद्योगले ४७१ रुपैयाँ २८ पैसा र नेपाल सरकारले अनुदानबापत ६५ रुपैयाँ २८ पैसा गरी प्रतिक्विण्टल ५३६ रुपैयाँ ५६ पैसा दिने निर्णय गरेको थियो ।     निर्णय भएको ६ महीनासम्म पनि आफूहरुले भुक्तानी नपाएको भन्दै आन्दोलनको विकल्प नभएको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीको भनाइ छ ।     हालसम्म उद्योगीले रु दुई अर्ब र सरकारले अनुदानबापत रु एक अर्ब २८ करोड रकम उखु किसानलाई भुक्तानी गर्नुपर्ने महासङ्घको दाबी छ । उखु उत्पादक कृषक, चिनी उद्योग र उपभोक्ता संरक्षणलाई ध्यानमा राखी रणनीति तयार गर्नका लागि आइतबारको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका कृषि क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको थियो ।     यसैबीच सरकारले निर्धारण गरेकोभन्दा बढी मूल्यमा चिनी बेच्ने व्यापारीलाई कारवाही गर्ने तयारी गरेको छ । सरकारले चिनीको खुद्रा बिक्री मूल्य प्रतिकिलो रु ७० तोकेको छ । व्यवसायीले चिनीमा मनलाग्दो पैसा असुल्न थालेपछि सरकारले मूल्य तोकेर बढीमा बिक्री गर्नेलाई कारवाही गर्ने निर्णय गरेको हो ।     गत बुधबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव र सरोकारवाला मन्त्रालयका पदाधिकारीको संयुक्त बैठकले चिनीको खुद्रा मूल्य प्रतिकिलो रु ७० भन्दा बढी हुन नदिने निर्णय गरेको थियो ।     सरकारले चालू आवमा एक लाख मेट्रिक टनभन्दा बढी चिनी आयातमा परिमाणात्मक बन्देज लगाएको छ । सरकारको सो निर्णयपछि व्यापारीले चिनीको कालोबजारी गरी बढी मूल्यमा बिक्री वितरण गरिरहेको उपभोक्ताको गुनासो छ ।     गत आर्थिक वर्षमा भारत, पाकिस्तानलगायत मुलुकबाट सस्तो मूल्यमा चिनी आयात भएकाले स्वदेशी उत्पादन गोदाममा थन्काउनु परेको भन्दै नेपाली उद्योगीले गुनासो गरेपछि सरकारले चिनी आयातमा कोटा प्रणाली तोकेको थियो । -रासस

बामदेव गौतमको आरोप- पूर्व आइजिपी खरेलले झुटा कुरा लेखेर चरित्र हत्या गर्न खोजे

काठमाडौं, असाेज २२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमले नेपाल प्रहरीका पूर्व महानिरीक्षक अच्युतकृष्ण खरेलद्धारा प्रकाशित ‘आत्मकथा’मा आफ्नो चरित्र हत्या गर्न खोजिएको आरोप लगाएका छन् ।     सोमबार आफ्नै निवासमा पत्रकारसँग कुराकानी गर्दै पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका गौतमले खरेलले प्रकाशित गरेको ‘अच्युतकृष्ण खरेल आत्मकथा’मा आफूलाई इङ्गित गरी एक पत्रकारमार्फत २० लाख रुपैयाँको प्रस्ताव पठाउँदा अस्वीकार गरेको झुटा कुरा लेखेर चरित्र हत्या गर्न खोजेको बताए ।     ‘खरेलको आत्मकथामा मैले कुन पत्रकार पठाएर २० लाख रुपैयाँ प्रस्ताव गरे ? २० लाखको प्रस्ताव लिएर आउने त्यो पत्रकार को थियो ? त्यो खरेलले पुष्टि गर्नुपर्दछ’ नेता गौतमले भने ।     ‘आफ्नो आत्मकथामा मेराबारे तथानाम जे पायो त्यही झुटा असत्य कुरा लेखेर चरित्र हत्या गर्न खोज्ने ?’ खरेलले आइजिपीबाट हटाएको बदला आफ्नो आत्मकथामार्फत सार्वजनिक गरेको नेता गौतमको आरोप छ । खरेलले लेखेका कुरामा कुनै सत्यता नभएको उल्लेख गर्दै नेता गौतमले स्थानीय निर्वाचन गर्न नसक्ने भएपछि पार्टीको निर्देशनमा खरेललाई प्रहरी प्रमुखबाट हटाएको स्पष्ट पारे ।     ‘मलाई खरेललाई हटाउने चाहना थिएन । ‘म गृहमन्त्री भइसकेपछि तत्कालीन पार्टी अध्यक्ष मनमोहन अधिकारी र महासचिव माधव नेपालले पहिलो काम स्थानीय निर्वाचन गर्नुपर्दछ भनेका थिए, तर, खरेलबाट स्थानीय निर्वाचन हुने सम्भव देखिएन ।     अनि बाध्य भएर पार्टीकै निर्देशनमा तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सहमतिमा खरेललाई हटाएको हुँ ।’ नेता गौतमले भने । खरेललाई नहटाएको भए स्थानीय तहको निर्वाचन हुनै नसक्ने उनको दाबी छ । -रासस

आजदेखि नयाँ नोट पाइने, कुन-कुन बैंकमा साट्न पाइन्छ ?

काठमाडौं, असोज २१ । आउदैं गरेको दसैं र तिहारका लागि राष्ट्र बैंकले आइतबारदेखि नयाँ नोट साटिदिने भएको छ । विभिन्न दरका २७ हजार रुपैयाँसम्म नयाँ नोट सटही गर्न पाइने राष्ट्र बैंकले जनाएको छ ।     राष्ट्र बैंकले ५, १०, २० र ५० र एक सय दरका गरी प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म नोट सटही गर्ने भएको हो। बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले ११ गतेदेखि नयाँ नोट वितरण गरिसकेको छ। बैंक तथा वित्तीय संस्थालाई पहिले नयाँ नोट दिए पनि ती संस्थाले पनि आइतबारदेखि मात्र वितरण सुरु गर्दैछन् ।     नोट कोष सुविधा लिएका र सरकारी स्वामित्वका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकबाट पनि नयाँ नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । ‘ आइतबारदेखि २९ गतेसम्म ५, १०, २० र ५० का दुई, दुई र १ सय दरका एक पाकेट गरी प्रतिव्यक्ति अधिकतम २७ हजारका दरले सटही सुविधा उपलब्ध गराइने भएकाले आफूलाई पायक पर्ने नजिकको बैंकबाट सटही गर्न राष्ट्र बैंकले अनुरोध गरेको छ ।       काठमाडौं उपत्यकाभित्र नेपाल बैंकको न्युरोड, कीर्तिपुर, महाराजगन्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट नयाँ नोट सटही गर्न सकिनेछ। यस्तै राष्ट्रिय वाणिज्य बैंकको सिहदरबार, टेकु, नयाँ बानेश्वर, सानो थिमी, विशालबजार, नक्सान, कलंकी र बालाजु शाखाबाट र कृषि विकास बैंकको गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क, स्वयम्भू र मंगलबजार शाखाबाट नोट वितरण हुने राष्ट्र बैंकले जनाएको छ ।     यसैगरी उपत्यका बाहिरका उपभोक्ताले पनि असोज २१ देखि नै नयाँ नोट सटही सुविधा पाउनेछन् । मोफसलमा राष्ट्र बैंकका विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीस्थित क्षेत्रीय कार्यालयहरूबाट तथा राष्ट्र बैंकबाट नोट कोष सुविधा लिएका सरकारी स्वामित्वका बैंकहरूको शाखाबाट नयाँ नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । अनावश्यक रूपमा नयाँ नोट नलिन र लिएका नोटहरू पनि हिफाजत गर्न राष्ट्र बैंकले आग्रह गरेको छ।

नेपाली मूलका अमेरिकी नागरिकमाथि बालिका बलात्कारको अभियोग

अमेरिका असोज २१ । यहाँको एक अदालतले नेपाली मूलका अमेरिकी नागरिकले बालिकालाई वर्षौंसम्म पटक-पटक बलात्कार गरेको अभियोग लगाएको छ । प्रहरीले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।     उक्त मुद्दा हेर्ने सरकारी वकिलका अनुसार बोस्टनको एभरेट टाउनमा बस्ने ४६ वर्षीय अभियुक्त नवराज कोइरालाले एक बालिकालाई ९ देखि १४ वर्षको उमेरमा पटक–पटक बलात्कार गरी ज्यान मार्ने र यो कुरा अरुलाई भनेमा सबै परिवारलाई मारी आफू पनि मर्ने धम्की दिँदै आएका छन् ।     बोस्टनस्थित म्यासाच्युसेट्स सुपेरियर कोर्ट उबर्नमा बसेको तीनदिने ११ सदस्यीय जुरीले गत जुलाई ७ मा एक निर्णय गर्दै अभियुक्तलाई तुरुन्त कोर्टमा उपस्थित गराउन आदेश दिएको छ । तर यसअघि प्रहरीसँग आफ्नो कर्तुत पुगेको शंका पाउनासाथ अभियुक्त नेपाल भागेको बताइएको छ ।     अदालतबाट हालै जारी सार्वजनिक सूचना (जुन यहाँको समर्भिल विक्ली न्युज पपेरमा समेत प्रकाशित छ ) का अनुसार कोइरालाले बालिकालाई कठोर यातनासहित जबरजस्ती बलात्कार गरेको, १४ वर्षभन्दा कम उमेरकी बालिकालाई संघातिक आक्रमण र हमला गरेको, कोर्टको आदेश उल्लंघन गरेकोजस्ता संगीन आरोप लगाइएको छ ।     नेपालमा अवैध बसाइ नेपालमा अध्यागमन विभागका अनुसार उनी सन् २०१५ मा मात्र वैधानिक रुपमा नेपाल प्रवेश गरेको देखिन्छ । सन् २०१७ मा २ पटक नेपाल गए पनि स्थलमार्गबाट बिनाभिसा गएकाले कुनै अभिलेख देखिएको छैन ।     जबकि नेपाल जानासाथ एक हप्ताभित्र उनले धोकापूर्ण विवरण दिएर गत डिसेम्बरको पहिलो हप्ता आफूभन्दा २५ वर्ष कान्छी शर्मा थरकी एक महिलासँग मन्दिर गई विवाह गरेका थिए ।     उनको खोजी हुने र अवैध बसेको पाइए देशनिकाला हुने एक अध्यागमन अधिकारीले बताए । समाचार स्रोतका अनुसार न्युयोर्कस्थित एक वकिलले नेपाल सरकारसमक्ष निज कोइरालाको अध्यागमन र सुपुर्दगी प्रक्रियाका लागि दुवै देशका सरकारी निकायमा सम्पर्क गरी प्रक्रिया अगाडि बढाउन लागिएको छ । नेपाल समाचारपत्रमा खबर छ ।

नेपाली विद्यार्थीले पत्ता लगाए चुरोटका ठुटा कुहाउने प्रविधि

काठमाडौं, असोज २१ । चुरोटको ठुटालाई उपयोगी मानिँदैन। यसले पृथ्वीको माटो बिगारिदिने तथा उत्पादनशील क्षमतामा समेत ह्रास गराइदिन्छ। यो छिटो कुहिँदैन पनि। तर त्रिभुवन विश्वविद्यालय जैविक प्रविधि केन्द्रीय विभागमा अध्ययनरत रोजी रावत र गैह्रीधारास्थित सान इन्टरनेसनल कलेजमा अध्ययनरत सुदर्शन जीसीको समूहले यस्ता सामग्रीलाई सजिलै कुहाउन सघाउने प्रविधि पत्ता लगाएका छन्। यो नेपालमा पत्ता लागेको महत्वपूर्ण प्रविधि हो।   यसका लागि उनीहरूले राजधानीका आठ होटलमा एक महिनासम्म लगाएर चुरोटका ठुटा जम्मा गरे। त्यसबाट १५ किलो चुरोटका ठुटा जम्मा भए। ती ठुटालाई होटलले सहजै नदिएपछि त्यसबापत केही पैसासमेत दिएको जीसीको भनाइ छ।   उनीहरूले ग्राहकले पिएर फ्याँकेको चुरोटको ठुटाभित्र बाँकी सुर्तीलाई खाने एक किसिमको ब्याक्टेरिया बनाए, जुन ब्याक्टेरियालाई उनीहरूले ‘इकोलाई’ नाम दिएका छन्। यसले सुर्तीभित्र रहेको निकोटिन खाइदिन्छ। त्यसपछि सुर्तीलाई मलका रूपमा प्रयोग गर्न पनि सकिन्छ।     सुर्ती खाइसकेपछि ‘इकोलाई’ ब्याक्टेरियालाई चुरोटको फिल्टर कुहाउन पनि प्रयोग गरियो। यसरी प्रयोग गर्दा इकोलाई ब्याक्टेरियाले पृथ्वीको माटोमा असर गर्ने फिल्टरभित्रको पदार्थलाई आफ्नो खानाका रूपमा प्रयोग गर्छ। तर फिल्टर आफैंमा सडेर भने जाँदैन। ‘फिल्टर नकुहिए पनि यसभित्र रहेको पदार्थलाई ब्याक्टेरियाले खाएपछि यसले पृथ्वीमा कुनै असर गर्दैन’, उनले भने।     निकोटिनलाई ब्याक्टेरियाले खाएर बनेको मललाई कृषि उत्पादनमा समेत प्रयोग गर्न सकिने उनीहरूको भनाइ छ। विभिन्न अध्ययनका अनुसार सामान्यतया माटोमा फ्याँकिएको चुरोटको ठुटा पूर्ण रूपमा कुहिन १० देखि १२ वर्षसम्म लाग्छ। यो प्रविधिबाट अधिकतम एक साताभित्रमा कुहाउन सकिने उनीहरूको दाबी छ। यही अवधारणा प्रस्तुत गरेबापत उनीहरूले गत वर्ष काठमाडौं विश्वविद्यालयमा आयोजित जेनेटिक इन्जिनियरिङसम्बन्धी सम्मेलनमा दोस्रो स्थानसमेत हासिल गरेका थिए।     सान कलेजका सुपरभाइजर डा. सविन बसीले विद्यार्थीले पत्ता लगाएको प्रविधि नेपालका लागि नितान्त नौलो भएको बताए । ‘हेर्दा यो सामान्य लाग्न सक्छ। तर चुरोटको ठुटाले हाम्रो समाजमा कति असर पारिरहेको छ भन्ने हामी अनुमान पनि गर्न सक्दैनौं’, बसीले भने, ‘यो सानो स्केलको अनुसन्धान हो ।     यसलाई पर्याप्त लगानी गरेर थप अनुसन्धान गर्ने हो भने सबैलाई फलदायी हुन्छ।’ यस्ता विद्यार्थीलाई प्रोत्साहन गर्न सकियो भने नेपालले पनि अनुसन्धानमा फड्को मार्न सक्ने कलेजका जैविक प्रविधि कार्यक्रम संयोजक प्रा.डा. राजाराम प्रधानांगले बताए।   यसरी आयो आइडिया विद्यार्थीहरूले विदेशी च्यानलमार्फत अस्ट्रेलियाको एक कम्पनीले चुरोटको ठुटा जम्मा गरेर बेन्च बनाएको थाहा पाए। यसरी तयार भएको बेन्चलाई सार्वजनिक पार्कहरूमा बस्न प्रयोग गरिएको उनीहरूले अध्ययनबाट थाहा पाए। जीसीलगायतका विद्यार्थीले पनि उक्त कम्पनीलाई आफूहरूले नेपालमा यस्ता ठुटा जम्मा गरेर पठाइदिने र यसलाई पनि सोही काममा प्रयोग गर्न अनुरोध गर्दै इमेल लेखे।     तर उक्त कम्पनीले नेपालजस्तो अविकसित मुलुकमा आफूहरूको परियोजना सुरु गर्न नसक्ने जवाफ दियो। त्यसपछि विद्यार्थीहरूले पनि सुरुमा चुरोटको फिल्टरभित्र रहेको कपासलाई ‘किरिङ’ बनाउने काममा लगाए। यसका लागि उनीहरूले चुरोटको फिल्टरलाई कुकरजस्तै भाँडोमा राखेर उमाले। यसरी उमालिसकेपछि पहेलो रङमा देखिने फिल्टरलाई सेतो बनाउन एक प्रकारको केमिकल प्रयोग गरियो, जसले फिल्टरको कपासलाई सेतो बनाइदियो।     ‘ठूटो साइकल’ नाम दिइएको यो परियोजना सफल भएपछि विद्यार्थीहरू ठुटाभित्रको फिल्टरलाई कुहाउने प्रविधिको अध्ययनतर्फ आकर्षित भएका थिए। ‘नेपालबाट एक दिन जेनेटिक इन्जिनियरिङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिने जाने सपना थियो। तर आर्थिक अभावका कारण पूरा भएको छैन’, जीसीले भने। अन्नपूर्ण पोष्टमा खबर छ ।

लिटल फ्लावर प्रिमियर लिग यो वर्ष अझैं भव्य, देशभरिका १२ टोलीको सहभागिता

काठमाडौं, असोज २० । कैलालीको धनगढी ‘क्रिकेटको शहर’का रुपमा देशभर परिचीत भइसकेको छ । त्यहाँ समय-समयमा क्रिकेट गतिविधि भइरहेकै हुन्छन् ।     धनगढीमा उत्पादन भएका कयौं खेलाडीले राष्ट्रिय टिमबाट खेलिसकेका छन् । अझ भनौं धनगढी ‘क्रिकेटको नर्सरी’ नै हो भन्दा फरक नपर्ला । त्यहाँ उत्पादन भएका खेलाडीको प्रदर्शनले नेपालले कयौं समय सफलता हात पारेको छ ।   यसैबीच, खेलाडीको क्रिकेट प्रतिभालाई थप प्रस्फोटनका निम्ति तथा नयाँ प्रतिभालाई अवसरका लागि धनगढीमा भव्य क्रिकेट प्रतियोगिता हुने भएको छ ।     त्यो प्रतियोगिताको नाम हो- निष्ट कलेज लिटल फ्लावर प्रिमियर लिग । यो विद्यालय स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता हो । जसमा यो वर्ष देशभरीबाट विभिन्न १२ वटा विद्यालयले प्रतिस्पर्धा गर्ने छन् । शनिबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले विस्तृत बताएको छ ।     संस्कार क्रिकेट एकेडेमीको आयोजनामा धनगढीको संघिय इकाई प्रहरी कार्यालयको मैदानमा आगामी कार्तिक २७ देखि हुने प्रतियोगिताको तेस्रो संस्करणलाई यसपटकबाट राष्ट्रव्यापी बनाइएको आयोजकले बताएको छ ।     लिगकम नकआउट प्रतियोगितामा मुख्य सहयोगकर्ता लिटल फ्लावर बोर्डिङ हाई स्कुलसँगै धनगढीकै सिद्धार्थ शिशु सदन स्कुल, शारदा मावि, क्यास्पियन एकेडेमी, कैलाली मोडेल स्कुल, सरस्वती मावि गेटा, एवीसी बोर्डिङ स्कूल नेपालगञ्ज, विज्डम एकेडेमी, कञ्चनपुर, लिटलबुद्ध एकेडेमी, कञ्चनपुर तथा काठमाडौंका हिमालय ह्वाइट हाउस वल्र्ड स्कुल र मोक्षदा स्कुल तथा भक्तपुरको निष्ट स्कुलले सहभागिता जनाउने भएको छ।     प्रतियोगिताको विजेताको रकम दोस्रो संस्करणको भन्दा दोब्बर बढाउँदै विद्यालय स्तरमा देशकै सर्बाधिक पुरस्कार राशीको प्रतियोगिता बनाइएको संस्कार क्रिकेट एकेडेमीका अध्यक्ष रामचन्द्र शाहीले बताए । यस संस्करणको विजेताले १ लाख ११ हजार १ सय ११ तथा उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ पाउने भएका छन् ।     गतसंस्करणको विजेताले ५० हजार तथा उपविजेताले २५ हजार पाएका थिए। यस्तै विधागत तर्फ यस संस्करणको उत्कृष्ट खेलाडीले १० हजार, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले समान ५-५ हजार पाउने भएका छन्।     यस्तै लिगचरणको म्यान अफ द म्याचले १ हजार, नकआउट चरणमा १५ सय तथा फाइनलमा दुई हजार पुरस्कार दिइने काठमाडौंमा बिहीबार एक पत्रकार सम्मेलनकाबीच आयोजकले जनाएको छ ।     सुदूरपश्चिम प्रदेशको धनगढीले धनगढी प्रिमियर लिग जस्तो उदाहरणीय व्यवसायिक क्रिकेट प्रतियोगिता आयोजना गरेको र देशभरि हाल त्यसको सिको भइरहेको उदाहरण दिदैं आफूहरुले पनि अभियानका रुपमा यस लिगलाई अघि बढाएको बताए ।     ‘नेपाली क्रिकेटको भविष्य बलियो बनाउन विद्यालय उमेरदेखि नै बालबालिकाहरुलाई क्रिकेटमा सक्षम बनाउँदै लैजानुपर्छ,’ उनले भने, ‘पहिलो र दास्रो संस्करण भन्दा यस संस्करणलाई अझै व्यापक र विस्तारित रुपमा प्रस्तुत गरेका छौं । प्रतियोगिता विद्यालय स्तरका प्रतिभावान खेलाडीलाई पहिचान गर्न र भएका खेलाडीलाई एक्सोजर दिने माध्यम बन्ने विश्वास लिएको छु।’     प्रतियोगिताका मुख्य प्रायोजक निष्ट कलेज लैनचौर काठमाडौंका अध्यक्ष डा. माधवप्रसाद बरालले दोस्रो संस्करणदेखि आफूहरु प्रतियोगितासँग जोडिएकाले आगामी संस्करणमा पनि प्रायोजन सहयोगलाई निरन्तरता दिने बताए ।     ‘नेपाली क्रिकेटको सम्भावना उच्च छ,’ बरालले भने, ‘हाम्रो सहयोगले नेपाली क्रिकेटको प्रवद्र्धनमा सहयोग पुगेकोमा खुशी छौं । उहाँहरुको क्रिकेटको शहर बनाउने अभियानलाई पनि सहयोग पुगेको विश्वास लिएका छौं ।’

प्रदेश, जिल्ला र जनसंगठनको एकता बिना व्यवधान छिट्टै टुंगो लाग्छः प्रचण्ड

प्युठान, असोज १९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले प्रदेश, जिल्ला र जनसंगठनको एकता छिट्टै टुंगिने बताएका छन् । प्युठानमा आयोजित एक शुभकामना आदानप्रदान कार्यक्रमा उनले यस्तो बताएका हुन् । प्रचण्डले भने ‘आइतबार पार्टीको सचिवालय बैठक बस्दैछ, बैठकमा प्रदेश, जिल्ला र जनसंगठनको एकताबारे पनि छलफल हुनेछ । कुनै समस्याबीना छिट्टै एकता पक्रिया टुग्यान्छाैं ।’ अध्यक्ष प्रचण्डले प्रदेश, जिल्ला र जनसंगठनको एकता पक्रियामा कुनै बाधा नहुने बताए । साथै, उनले अहिले सबैको मुख्य एजेण्डा देशमा समृद्धि र सुशासन कायम गर्नु रहेकाले एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । अध्यक्ष प्रचण्डले सरकारले जनताले अनुभूति हुने गरि काम गरिरहेको बताए । साथै, उनले सरकारको प्रभावकारिताबारे पार्टीमा र विभिन्न पक्षसँग अन्तक्रिया गरेर अझ त्यसमा गति दिने जानकारी गराए ।

नेपाललाई चौंथो सफलता, सोमपालले लिए लगातार २ विकेट ! [अपडेट]

काठमाडौं, असोज २० । मलेसियामा भइरहेको आइसिसी विश्व टी-ट्वान्टी क्रिकेट अन्तर्गत एसिया छनोट समूह ‘बी’ मा नेपालले आज घरेलु टोलीसँग खेलिरहेको छ । पहिलो खेलमा म्यानमारलाई ८ विकेटले हराएको नेपालले आफ्नो दोस्रो खेलमा शनिबार मलेसियासँग खेलिरहेको हो ।   मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभलमा नेपाल र मलेसियाबीचको खेल नेपाली समय अनुसार बिहान ७ः४५ बजेबाट सुरु भएको छ । यसैबीच, मलेसियाको चौंथो विकेट पतन भएको छ ।     तेस्रो र चौंथो विकेट सोमपाल कामीले लिएका हुन् । उनले आफ्नो दोस्रो ओभरको पहिलो र दोस्रो बलमै २ विकेट लिन सफल भए । यसअघि सन्दिप लामिछानेले २ विकट लिएका थिए । आज मलेसियाले टस जितेर ब्याटिङ रोजेको थियो ।   खेलको लाइभ स्कोर हेर्न हयाँ क्लिक गर्नुस्–   नेपालले सन् २०१३ पछि पहिलोपटक नेपालले मलेसियासँग टी-ट्वान्टी फर्म्याटमा प्रतिस्पर्धा गर्न लागेको हो। टी-ट्वान्टीको पछिल्लो तीन भेटमा नेपालले मलेसियालाई दुई पटक हराएको छ भने एक खेल मलेसियाले जितेको छ।

बसमा पत्रकारलाई पनि आरक्षित सिट

काठमाडौं, असोज १९ । नेपालीको महान् चाड दशैं मनाउन काठमाडौं उपत्यका बाहिर जाने यात्रुले टिकट नपाएको गुनासो सुनिरहेकै बेला राजधानीभित्र चल्ने एउटा यातायात कम्पनीले भने पत्रकारलाई लक्षित गरी आरक्षित सिटको व्यवस्था गरेको छ ।     साँखुदेखि दक्षिणकालीसम्मको भर्खरै रुट अनुमति पाएको बाबा गोकर्णेश्वर यातायात अटो प्रालिका २५ वटै बसमा पत्रकारका लागि अग्रपङ्क्तिका दुई सिट आरक्षित कोटामा राखेको हो ।     उपत्यकाभित्र लामो दूरीको सञ्चालन अनुमति पाएको उक्त कम्पनीका ४० सिट क्षमताका सबै बसमा सिट नं. १ र २ पत्रकार लागि छुट्याइएको छ ।     उक्त कम्पनीले अन्य बसहरूमा जस्तै महिला, ज्येष्ठ नागरिक, असक्त, बच्चा–आमा र अपाङ्गता भएका व्यक्तिका लागि पनि प्राथमिकताका साथ दुई–दुई सिट छुट्याएको बा५ख ६३९३ का चालक लीलाबहादुर कार्कीले जानकारी दिए ।     दक्षिणकाली र साँखुबाट एकैसाथ बिहान ४ः३० देखि साँझ ५ः३० सम्म प्रत्येक १५ मिनेटमा छुट्ने उक्त कम्पनीले तीनवटा रुटमा बस सञ्चालनको अनमुति पाएको छ ।     पहिलो रुटमा साँखु, जोरपाटी, चावहिल, कोटेश्वर बल्खु हुँदै दक्षिणकाली, दोस्रो रुट साँखु, जोरपाटी, चक्रपथ, कलङ्की, बल्खु हुँदै दक्षिणकाली र तेस्रो रुट साँखु, जोरपाटी, चावहिल, रातोपुल, ज्ञानेश्वर डिल्लीबजार, रत्नपार्क, त्रिपुरेश्वर, बल्खु हुँदै दक्षिणकालीसम्म कायम गरिएको छ । साँखुदेखि दक्षिणकालीसम्मको भाडा रु ९८ तोकिएको छ । -रासस

मिसावट गर्नेलार्इ कडा कारवाही हुन्छ : राज्यमन्त्री चौधरी

काठमाडौं,असोज १८। कृषि तथा पशुपक्षी बिकास राज्य मन्त्री रामकुमारी चौधरीले यसपालिको चाडपर्वमा हरेक नेपालीले स्वस्थकर खाद्यपदार्थ खान पाउने वातावरण बनाउने बताएकी छन् । दुई वर्षभित्र हरेक खानेकुरालार्इ शुध्द, स्वस्थ र मिसावटरहित बनाउने सरकारको लक्ष्य रहेको हुँदा सोही अनुरुप काम भैरहेको उनले बताइन् । पशु सेवा बिभाग द्वारा पशु सेवा विभाग स्थापना दिवस तथा विश्व पशुपन्क्षी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री चौधरीले खाद्यय पदार्थमा मिसावट नरोकिए कडा भन्दा कडा कार्वाही हुन सक्ने चेतावनी दिइन् । अहिले देश व्यापीरुपमा सरकारले खाद्य स्वच्छता अभियान संचालनमा ल्याएको बताउदै मासु जन्य पदार्थमा शुध्दता कायम गर्न अनुगमन र नियमन गर्न विभागलाई कडा निर्देशन दिएको बताइन् । रोगी पशु, पन्छि र अन्य खाद्यय पदार्थहरु बाहिरबाट भित्रन सक्ने कुरालाई गम्भीरतापूर्वक लिन उनले सम्बन्धित निकायलार्इ निर्देशनसमेत दिइन् । खाद्य स्वच्छताको लागि सबै शक्ति प्रयोग गरेर अखाद्य बस्तु नियन्त्रणमा लिंदै गलत गर्नेलाई तत्काल कारबाही गर्ने बताउँदै यो अभियान सफल पार्न सबैको साथ दिनुपर्ने बताइन् ।

भारतबाट दशै‌ंका लागि घर फर्किनेहरुको घुइँचो

बाँके, असोज १८ । भारतको गुजरातबाट दशैँ मनाउन घर फर्किएका दैलेख सिङ्गौडीका लालबहादुर शाही बिहान झिसमिसेमै रुपैडिहा बसपार्कमा आइपुग्नुभयो । दुई दिनको यात्रा सकेर रुपैडिहासम्म पुग्दा उनी थकित देखिएका छन् । उहाँलाई एउटै कुराको चिन्ता थपिएको थियो कि सीमाना रुपैडिहामा बसेका भारतीय प्रहरीको गाली सहनुपर्छ भन्ने । “कमाएको पैसा घर आँगनमै पुगेको बेला लुटिने आशङ्कामा डरार्इडरार्इ जमुनाहासम्म आइपुगेँ”, शाहीले भने । तर, जब उहाँ जमुनाहा पुग्नुभयो ढुक्कसँग नेपाल प्रवेश गरे । दुई वर्षसम्म नेपाल नआएकोले उहाँ ढुक्कसँग घर पुग्नेमा आशावादी देखिएका छन् । उहाँजस्तै भारतको सिमलाबाट नेपाल फर्किदै गरेका जाजरकोट जगतीपुरका आइते विकलाई पनि उस्तै चिन्ता थियो । उनले भने, “सीमामा भारतीय प्रहरीले दुःख दिन्छ, सामान खोतलेर हैरान बनाउँछ भन्ने चिन्ता थियो तर त्यसो भएन ।” दशैँ नजिकिएसँगै भारतबाट घर फर्कने नेपालीलाई सुरक्षित गन्तव्यसम्म पुर्याउन नेपाल प्रहरीले राम्रै खटनपटन गरिरहेको छ । इलाका प्रहरी कार्यालय जमुनाहाका इञ्चार्ज प्रहरी निरीक्षक शिव वलीका अनुसार भारतीय प्रहरीसँगको समन्वयमा रुपैडिहा रेल्वे स्टेशन र बसपार्कमा नेपाल प्रहरी आफैँ पुगेर यात्रुलाई सुरक्षित साथ नेपाल भित्र्याउने गरेको छ । प्रहरी निरीक्षक वलीले भने, “रुपैडिहा रेल्वे स्टेशन र बसपार्कमा हुने ठगी, लुटपाट र अन्य घटना हुन नदिन नेपाल प्रहरी त्यहाँ पुग्ने गरेको छ ।” भारतबाट नेपाल आउने नेपाली यात्रुलाई सुरक्षित गन्तव्यमा पुर्याउन प्रहरीले सीमानाका जमुनाहामा यात्रु सहायता कक्षसमेत स्थापना गरेको छ । भारतबाट फर्किने नेपालीलाई लुटपाट, ठगी र अन्य अपराधजन्य घटना हुन नदिन यात्रु सहायता कक्षा स्थापना गरिएको प्रहरीले जनाएको छ । प्रहरीले भारतीय प्रहरी, एसएसबी र भारतीय भन्सारसँग समन्वय गरी नेपालीलाई जाँचका क्रममा बिना झण्झट सुरक्षित नेपाल आउने व्यवस्था मिलाइरहेको छ । नेपाली आफ्नो समूह बनाएर नेपाल फर्किरहेका छन् । जमुनाहा नाका भएर दैनिक हजारको हाराहारीमा नेपाली फर्किरहेको प्रहरीले जनाएको छ । जाजरकोट शिवालय–२ का खगेन्द्र विक चाडपर्व मनाउन नेपाल फर्किएको बताउँछन् । “घर परिवारसँगै चाडपर्व मनाउन घर फर्किएको हुँ”, उनले भने, “तिहारपछि फेरि उतै फर्कन्छु ।” कुशे गाउँपालिका–५ का हीरालाल टमाटा एक वर्षपछि चाडपर्व मनाउन आफू घर फर्किएको बताउँछन् । चाडपर्व मनाएर फेरि भारतनै जाने बताउँदै हीरालालले भन्नुभयो, “उता कमाइ ठीकठीकै छ । यता बसेर रोजगारी पाइँदैन, भारत नगई सुखै छैन ।” भारतबाट फर्किने नेपालीका कारण एक महीनायता नेपालगञ्जका होटल भरिभराउ भएर राम्रो व्यवसाय गर्न थालेका छन् । मध्यपश्चिमका पहाडी जिल्लाबाट वर्षेनी हजारौँ नेपाली रोजगारीलाई भारत जान्छन् । “अरु बेला आउन नसकेपछि दशैँको बेला बिदा मिलाएर टीका जमरा थाप्न घर आएका छौँ”, श्रीमान्सँग भारतको दिल्लीमा कमाउन गएको बताउँदै सुर्खेत चिङ्गाड गाउँपालिका–३ की जमुना विकले भने, “वर्षमा आउने ठूलो चाड घर त आउनु नै पर्यो नि ।” चिङ्गाडकै विवेक खड्का दशैँ तिहार मनाउन घर फर्किन पाउँदा खुशी भएको बताउनुहुन्छ । “चाडपर्वमा घर आउने भन्छौँ के के नमिल्ने यसपालि आउन पाउँदा धेरै खुशी छु । परदेशमा दशैँ मनाउनु र आफ्नै गाउँठाउँ र साथीसंगीसँग मनाउन पाउँदा कसलाई खुशी लाग्दैन र ?” आर्थिक स्थिति कमजोर भएका नेपाली भारतमा कमाइ गरेर दशैँ तिहार मनाउन भदौ महिनादेखि घर फर्किने गर्छन् । रासस

कैलालीमा बालिका बलात्कार आरोपमा एकजना पक्राउ

घोडाघोडी, असोज १५ । कैलालीको घोडाघोडी नगरपालिकामा १४ वर्षीया बालिका बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन् ।   नगरपालिकाका बालिकालाई घरमा कोही नभएको मौका पारी जबर्जस्ती बलात्कार गरेको आरोपमा कञ्चनपुरको पुर्नवास नगरपालिका–७ का किरण विकलाई प्रहरीले पक्राउ गरेको हो ।   बालिकालाई उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पताल पठाइएको र अभियुक्त किरण विकलाई अनुसन्धानका लागि जिल्ला चलान गरिएको इलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख यक्षराज जोशीले जानकारी दिए । -रासस