कैलालीमा बालिका बलात्कार आरोपमा एकजना पक्राउ

घोडाघोडी, असोज १५ । कैलालीको घोडाघोडी नगरपालिकामा १४ वर्षीया बालिका बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन् ।

 

नगरपालिकाका बालिकालाई घरमा कोही नभएको मौका पारी जबर्जस्ती बलात्कार गरेको आरोपमा कञ्चनपुरको पुर्नवास नगरपालिका–७ का किरण विकलाई प्रहरीले पक्राउ गरेको हो ।

 

बालिकालाई उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पताल पठाइएको र अभियुक्त किरण विकलाई अनुसन्धानका लागि जिल्ला चलान गरिएको इलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख यक्षराज जोशीले जानकारी दिए । -रासस

सांसदलाई मेयर वडको आग्रह- देश टुक्राउछु भन्नेलाई कारवाही गरेर देखाउ

धनगढी, असोज १२ । कैलालीको धनगढी उप-महानगरपालिकाका प्रमुख नृपबहादुर वडले आफू बिरुद्ध कार्वाहीका लागि प्रशासन गुहार्ने प्रदेश सांसदलाई संविधान जलाउने र देश टुक्राउछु भन्नेलाई कार्वाही गरेर देखाउन चुनौति दिएका छन् ।   प्रदेश नं ७ का २२ जना सांसदरुले बिहीबार उनि बिरुद्ध कार्वाहीका लागि उजुरी दिएपछि प्रतिकृया दिदै नगरप्रमुख वडले नगरवासीको अधिकारका लागि कार्वाही सहन त के ज्यान समेत दिन तयार भएको बताए।   संविधान दिवसको दिन संविधान जलाउने र मधेश प्रदेश नेपाल होइन भन्नेलाई पक्राउसम्म गर्न नसक्ने सरकार आफू बिरुद्ध खनिएको बताए । उनले निर्मला पन्तको हत्या अनुसन्धानलाई छायाँमा पार्नका लागि प्रदेश नं ७ का सांसदले दशैको मुखमा स्थायी राजधानी र नामाङ्कनको प्रस्ताव संसदमा पेश गरेको पनि आरोप लगाए ।   नगरप्रमुख बिरुद्ध प्रदेश सांसदले मुद्धा हाल्यो भनेर आन्दोलनलाई कमजोर हुन नदिन नगरवासीसँग अनुरोध पनि गरे । उनले शाही कुपछि राजाले आयोग बनाएर जनप्रतिनिधीलाई जेल हालेको बताउदै कम्युनिस्ट अहिले यही बाटोमा अघि बढीरहेको बताए । उनले भने,‘कम्यूनिस्ट सरकारका बिरुद्ध बोल्न पाउदैन, हाँस्नपाउदैन भनेको यही हो ।’ बुधवारको बिरोध प्रदर्शनमा नगरप्रमुख वडले धनगढी स्थायी राजधानी नभए चौबिस घण्टा भित्र धनगढी छोड्न सांसदहरुलाई चुनौती दिएका थिए । यो पनि पढ्नुस्- विचरा मेयरः पद ठूलो भएर के गर्नु, चित्त सानो भएपछि……..

एनजीओको २० अर्ब केमा खर्च ? राज्यलाई थाह छैन

काठमाडौं, असोज १२ । गैरसरकारी संस्था एनजीओले एक वर्षमा विदेशबाट २० अर्ब रुपैयाँभन्दा बढी भित्र्याए। त्यत्रो रकम कहाँ गयो, केमा खर्च भयो, राज्य बेखबर छ।   नेपालका ७ सय २३ एनजीओलाई २०७४-७५ मा उक्त रकम ल्याउन समाजकल्याण परिषद्ले अनुमति दिएको थियो। तिनको अनुगमन गर्ने काम पनि परिषद्कै हो। तर, ऊ चुपचाप बसेको छ।   ‘अर्बौं रकम विदेशवाट आइरहेको छ। त्यो कहाँ र कसरी खर्च भइरहेको छ भन्ने जानकारी नहुनु दुखद हो’, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव बुद्धिबहादुर खड्काले भने, ‘अब राज्यस्तरबाटै सशक्त संयन्त्र बनाएर एनजीओमार्फत आउने अर्बौं रकमको सदुपयोग सम्बन्धमा नियमित अनुगमन गर्न जरुरी छ।’ परिषद् उक्त मन्त्रालयअन्तर्गत पर्छ।   यसको अध्यक्ष मन्त्री हुन्छन् । एनजीओहरूले गएको आर्थिक वर्ष १ हजार १ सय ८१ योजना सञ्चालन गरेको कागज देखाएका छन्। त्यसका लागि विदेशबाट ल्याएको २० अर्ब २९ लाख ७४ हजार रुपैयाँ खर्चिएको दाबी गरेका छन्। अधिकांश गोष्ठी, सेमिनार र तिनको नक्कली तथ्यांक बनाएर बजेट सक्ने गरेको सरकारी अधिकारीहरू नै बताउँछन्। अन्नपूर्ण पोष्टमा खबर छ ।

‘मेरा देश डुब्न लाग्यो, कोही छौं कि माझी किनारा लगाइदेऊ’ : नेता नेपाल

काठमाडौं, असोज ११ । ‘मेरा देश डुब्न लाग्यो किनारा लगाइदेऊ कोही छौं कि माझी किनारा लगाइदेऊ’ संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको अन्तिम बैठकमा पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले निकै भावुक सम्बोधन गरेका छन् । उनले एउटा गीतबाट आफ्नो सम्बोधन सुरु गरे । उनले बलात्कारपछि हत्या गरिएकी कञ्चरपुरकी निर्मला पन्त र एसिड आक्रमणबाट ज्यान गुमाउन पुगेकी सम्झना दासको प्रसंग झिकेर देशमा दण्डहिनता मौलाएको, भ्रष्टाचारीले टाउको ठाडो गराएको र जनता झनै निराश हुँदै गएको बताए । नेता नेपालले अब जनताले भाषणमा नभई व्यवहारमा काम र परिणाम हेर्न चाहेको बताए । भरखरै आफुले पढेको ‘रजगज’ नामक उपन्यासको प्रसंग उठाउँदै उनले देश झनै कहाली लाग्दो अवस्थामा पुगेको बताए । भ्रष्टहरुनै उच्च तहमा पुगेको, कालाे सूचिमा परेका नै पुरस्कृत भएको अवस्थाले आफुहरुकाे शिर निहुरिएको बताए । उनेले प्रश्न गरे, ‘यो बेथिति देख्दा जनता के सोच्दा हुन् ?’ उनले राष्ट्रियतामाथि गम्भीर प्रश्न उठिरेहेको अवस्थामा, शान्ति र सुरक्षा कमजोर भएको अवस्था गृह प्रशासन मौन रहेकोमा चिन्ता व्यक्त गरे । उनले, ‘गृहमन्त्री कहाँ छन् थाहा छैन, गृह प्रशासन कहाँ छ थाहा छैन, खुलेआम देश टुक्राउनेलगायतका भिडियो सार्वजनिक भइरहदा, राष्ट्रियतामाथि गम्भीर प्रश्न उठिरहदा गृह प्रशासन किन मौन रह्यो जनता जान्न चाहान्छन् ।’ नेता नेपाल सरकारले गरेका राम्रा कामको प्रसंसा गर्दै यो बीचमा देखिएका जनताका असन्तुष्टी र सुशासनमा देखिएका समास्या हल गर्न आग्रह गरे ।

सुदूर तथा मध्यपश्चिममा अझै वर्षा हुने

काठमाडौँ, असोज ११ । मुलुकको सुदूर तथा मध्यपश्चिम क्षेत्रमा अझै केही दिन वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार वर्षा अझै पूर्णरुपमा नसकिएकाले नेपालको पश्चिमी भूभागमा अझै केही दिन वर्षा हुने सम्भावना रहेको हो । विभागका महानिर्देशक डा ऋषिराम शर्मा नेपालको पश्चिमी भागमा अझै पनि पानी परिरहेको बताउँछन् । “पश्चिमी भूभागमा पानी परिरहेको छ, पानी पर्ने क्रम अझै केही दिन जारी रहन्छ”, उनी भन्छन् । पछिल्लो समय सुदूरपश्चिम तथा मध्यपश्चिममा परेको वर्षाका कारण सोही क्षेत्रका विभिन्न भाग डुबानमा समेत परेका छन् । विगतका वर्षको तुलनामा यसवर्ष धेरै वर्षा भएको विभागले जनाएको छ । नेपालमा पाँच महीनाको अवधिमा भारी वर्षा, बाढी र पहिरोका कारण ११७ जनाको ज्यान गएको छ । नेपाल सरकार गृहमन्त्रालय राष्ट्रिय आपत्कालीन सञ्चालन केन्द्रले दिएको जानकारीअनुसार वैशाखदेखि भदौसम्म भारी वर्षा, बाढी र पहिरोका कारण उनीहरुको ज्यान गएको हो । जसमा पहिरोका कारण ८३, बाढीका कारण १७ र भारी वर्षाका कारण १७ को ज्यान गएको छ भने १८३ जना घाइते भएका छन् । ज्यान गुमाउनेमध्ये ५९ पुरुष र ५८ महिला रहेका छन् । केन्द्रका अनुसार ३१० पहिरो, ८० बाढी र २४७ पटक भारी वर्षा भएको छ । यस्तै, बाढीमा तीन र पहिरोमा दुई हराइरहेका छन् । बाढीका कारण एक हजार ७८ परिवार, पहिरोका कारण ७३५ र भारी वर्षाका कारण ३५३ घरपरिवार प्रभावित भएको केन्द्रले जानकारी दिएको छ । यसैबीच, गृहमन्त्री रामबहादुर थापाले मङ्गलबार राष्ट्रियसभाको बैठकमा वैशाखदेखि भदौ १७ सम्म मुलुकका विभिन्न भागमा एक हजार ५८४ दुःखका घटना भएको बताएका थिए । उनले सोही बैठकमै ४४५ घटना बाढी र पहिरोका कारणमात्र भएको संसद्लाई जानकारी गराएका थिए । सञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनाल नेपालको भू–धरातल कमजोर भएको कारण धेरै बाढी, पहिरो र भूक्षय हुने गरेको बताउँछन् । उनी बाढी पहिरोको जोखिम रहेका क्षेत्रमा आपत्कालीन उद्धार तथा राहतका लागि सबै जिल्ला प्रशासन कार्यालयलाई तयारी अवस्थामा राखिएको बताउँछन् । “मन्त्रालय पनि राहत र उद्धारका लागि तयारी अवस्थामा रहेको छ”, उनी भन्छन् । भूगर्भविद् डा कृष्ण देवकोटा पहाडी तथा महाभारत क्षेत्रमा मानवीय अतिक्रमणका कारण नेपालमा धेरै पहिरो जाने गरेको बताउँछन् । “बिना अध्ययन, प्राविधिक तयारी नगरी डोजरको प्रयोग गरेर सडक निर्माण गर्ने प्रवृत्तिका कारण पनि महाभारत तथा पहाडी क्षेत्रमा पहिरोको मात्रा बढेको हो”, उनी भन्छन् । चुरे तथा तराईका क्षेत्रमा पछिल्लो समय बढेको वन फँडानीका कारण पनि बाढी र पहिरोको सङ्ख्यामा वृद्धि भएको उनको भनाइ छ । वर्षात्को पानी रोक्ने रुख कटान हुँदा सोझै जमीनमा पर्ने र सोस्न नसक्दा समस्या बढेर गएको छ । रासस

नेपाल घरेलु मैदानमै म्यानमारसँग ११-१ गोलले पराजित !

काठमाडौं, असोज ६ । म्यानमारसँग भारी गोलअन्तरले पराजित भएसँगै नेपाल एएफसी यू-१६ महिला च्याम्पियनसिप छनोटबाट बाहिरिएको छ । समूह चरणको दोस्रो खेलअन्तर्गत शुक्रबार म्यानमारसँग भएको खेलमा नेपाल ११-१ गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो ।   हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा भएको खेलमा नेपालले पहिलो हाफमा १० गोल खाएको थियो । दोस्रो हाफमा भने केही सम्हालिएर खेलेको नेपालले एक मात्र गोल खायो । खेलको शुरुआती छ मिनेटमा तीन गोल गर्दै म्यानमारले नेपाललाई पहिलो हाफमा निकै दबाबमा राख्यो । ७४औँ मिनेटमा नेपालका लागि निकिता थोकरले एक गोल गर्न सफल भइन् ।   म्यानमारका लागि सुई और माङले एक्लैले पाँच गोल गरिन् । यस्तै म्यात नाउ हिनले ह्याट्रिक पूरा गर्न सफल भइन् । हिन मार तोई, ह्वाई पो इयान र पोन्ट पोन्टले एकरएक गोल गरे । समूह ‘इ’बाट फिलिपिन्स र म्यानमारले समान ६ अङ्क जोड्दै अघिल्लो चरण पुग्ने सम्भावना बलियो बनाएका छन् । नेपालले समूह चरणको अन्तिम खेलमा आइतबार मलेशियासँग प्रतिस्पर्धा गर्नेछ ।   समूहको शीर्ष दुई टोलीले अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी यू-१६ महिला च्याम्पियनसिपको यात्रा तय गर्नेछन् । फाइनल चरणमा आठ टोलीले खेल्नेछन् । आयोजक थाइल्याण्डसहित, जापान दक्षिण कोरिया र उत्तर कोरिया फाइनल चरणका लागि यसअघि नै छनोट भइसकेका छन् ।   समूह चरणको पहिलो खेलमा बुधबार फिलिपिन्ससँग ४-० ले पराजित भएको थियो । नेपालले समूह चरणको अन्तिम खेलमा आइतबार मलेशियासँग प्रतिस्पर्धा गर्नेछ । आइतबारको खेल नेपालका लागि प्रतिष्ठाको लडाइँ मात्र हुनेछ । -रासस

मुख्यमन्त्री राउतद्वारा राहत प्रदान

राजविराज, असोज ५ । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले बेमौसमी रुघाखोकी र ज्वरोबाट ज्यान गुमाएका परिवारलाई राहतस्वरुप जनही रु दुई लाख प्रदान गरेका छन् । रुघाखोकी र ज्वरोबाट ज्यान गुमाएका सप्तरी कञ्चनरुप नगरपालिकाका चार परिवारलाई उहाँले मुख्यमन्त्री राहत कोषबाट सो रकम प्रदान गरेका हुन् । कञ्चनरूप नगरपालिका–७ का १४ वर्षीय दिवस बस्नेत, वडा नं ३ का १४ वर्षीय किशोर राम, वडा नं ९ का १४ वर्षीय अमोदकुमार राम र वडा नं. ४ की ५० वर्षीया भालसर देवी सरदारको भाइरल ज्वरोका कारण मृत्य भएको थियो । ज्वरो र रुघाखोकीका बिरामी बढ्दै गएपछि कञ्चनरुप तथा हनुमाननगर कङ्कालनी नगरपालिका क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालनमा रहेको सङ्घीय समाजवादी फोरम नेपाल सप्तरीका अध्यक्ष दिनेशकुमार यादवले जानकारी दिए । यस्तै प्रकोप नियन्त्रणका लागि सामाजिक विकास मन्त्रालयले उपलब्ध गराइएको रु १५ लाखको चेकपनि पनि मुख्यमन्त्रीले हस्तान्तरण गर्नुभयो । त्यस्तै ज्वरो तथा रुघाखोकीकै कारण महादेवा गाउँपालिका–१ का ८ वर्षीय महफुल आलमकोे पनि ज्यान गएको छ । भदौ २४ देखि कञ्चनरुप र हनुमाननगर कङ्कालनी नगरपालिकामा सञ्चालित स्वास्थ्य शिविरमार्फत २४ जनाको रगत र र्याल परीक्षणका लागि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ । जनस्वास्थ्य कार्यालयका प्रमख निरञ्जन यादवका अनुसार उक्त परीक्षणपछि एक जनामा स्वाइन फ्लू र चार जनामा हङकङ फ्लूको भाइरस फेला परेको जानकारी दिए । स्वास्थ्य परीक्षणका क्रममा कञ्चनरुप नगरपालिका–७ का हरिलाल साहलाई स्वाइन फ्लूको सङ्क्रमण देखिएको बताइएको छ । यसैगरी मधेश आन्दोलनका घाइते सप्तरी राजविराज नगरपालिकाका भुवनेश्वर मण्डल बेलचनलाई पनि रु एक लाख ५० हजार बराबरको चेक औषधि उपचार खर्चबापत भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले प्रदान गरे । सो अवसरमा मुख्यमन्त्री राउतले स्वास्थ्य जाँचका लागि अस्पताल आउने बिरामीलाई कुनै किसिमको कमी हुन नदिन स्वास्थ्यकर्मीलाई निर्देशन दिए । “स्वास्थ्य जाँच गराउन अस्पतालमा आउने बिरामीलाई तपाईंहरुबाट कुनै किसिमको कमी नहोस्”, उनले भने, “यदि यस्तो भए ठीक हुँदैन् ।” कञ्चनरुपमा देखिएको सिजनल फ्लू नियन्त्रण गर्न सफल भएकामा स्वास्थ्यकर्मी, नागरिक समाजका अगुवा, नगरप्रमुख, प्रजिअ सुरक्षा निकायलगायत सबैलाई उनले धन्यवाद समेत व्यक्त गरे । रासस

संविधान दिवस : ३ वर्ष पूरा, राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं, असोज ३ । नेपालको संविधान २०७२ जारी भएको ३ वर्ष पूरा भएको छ । यसअघि असोज ३ गते संविधान दिवस मनाउने गरिएपनि सरकारले अब भने राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय गरेको छ । बिभिन्न समयमा भएका आन्दोलन संविधान जारी भएसँगै संस्थागत भएको भन्दै सरकारले असोज ३ गतेलाई राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय गरेको हो । पहिलो संविधानसभा संविधान नदिई विघटन भएपनि दोस्रोले मधेश केन्द्रित दलको असहमतिका बाबजुद २०७२ साल असोज ३ गते लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संविधान जारी गरेको थियो । दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको संविधान दिवस मूल समारोह समितिले बिहान सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिरहेको छ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, सभामुख, संवैधानिक नियकायका प्रमुख, मन्त्रिगण, विभिन्न राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, राष्ट्रसेवक कर्मचारीलगायतको उपस्थिति थियो । समारोहमा पुष्पवृष्टि, संविधान दिवस–२०७५ अंकित तुल प्रदर्शन, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटद्वारा कवाज प्रदर्शन, विभिन्न धार्मिक–सामाजिक संघसंस्थाबाट विभिन्न जातजातिको भेषभूषा झल्कने झाँकीँ प्रदर्शन, काठमाडौं र ललितपुर महानगरपालिकाबाट विशेष झाँकी प्रदर्शन गरेका थिए । त्यसैगरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले द्वारा रोचक कार्यक्रम प्रस्तुत गरिनाका साथै संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्रीद्वारा विशेष सम्बोधन गरिने छ । त्यस्तै, विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासमा संविधान दिवस एवं राष्ट्रिय दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिदैछ । सरकारले दिवसका अवसरमा हिजोबाट ३ दिन दीपावली गर्ने जनाएको छ । यसैबीच राष्ट्रिय दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा लोकतान्त्रिक राजनीतिक प्रणालीलाई समृद्ध तुल्याउन संवैधानिक मार्गचित्रले मूर्तरूप लिने वातावरण बन्नु सबैका लागि खुशीको विषय भएको बताएका छन् । राष्ट्रपति भण्डारीले संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गरेका छन् । संविधान जारी भएको आजको दिनले सबैलाई संवैधानिक मूल्य एवं मान्यताहरू कार्यान्वयन गर्न प्रेरणासहित अठोट जागृत गर्न सफलता प्राप्त हुने अपेक्षासमेत राष्ट्रपति भण्डारीले व्यक्त गरेका छन् । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै सात दशक लामो पर्खाइ र प्रयत्नबाट संविधानसभामार्फत निर्माण गरिएको नयाँ संविधानले नेपाली जनताको आकांक्षा र आशा मात्रै होइन मान्यता र सिद्धान्तलाई समेत समेटेको उल्लेख गरेका छन् । प्रधानमन्त्रीले संविधानले सबै नागरिकलाई बिना भेदभाव मौलिक हक र स्वतन्त्रता सुननिश्चित गरेको बताउँदै संविधानले हरेक नेपालीको मर्यादालाई स्वीकार गरेको उल्लेख गरेका छन् । संविधानमार्फत संवैधानिक सर्वोच्चता सहितको प्रतिस्पर्धात्मक बहुदलीय शासन प्रणाली स्थापना गरिएको बताउँदै उनले सन्देशमा आवधिक निर्वाचन, मानवधिकार, कानूनी राज, नियन्त्रण र सन्तुलनसहितको शक्ति पृथकीकरण र स्वतन्त्र न्यायपालिको व्यवस्था गरिएको उल्लेख गरेका छन् । उनले सन्देशमा भनेका छन्, ‘सुदृढ लोकतन्त्रमा प्रयोगमा आएका लोकतन्त्रका विश्वव्यापी सबै अवयवलाई हामीले वैधानिक रुपमा नै यस संविधानमा संस्थागत गरेका छौँ त्यसैले यो संविधान हामी नेपालीलाई सार्वभौमसत्ता सम्पन्न बनाउने सबैभन्दा प्रगतिशील दस्तावेज हो । यही संविधानले गरेका परिकल्पनाको आलोकमा यो सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य हासिल गर्न प्रतिबद्ध छ ।’ कान्तिपुरबाट

प्रचण्ड र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश प्रमुखबीच भेटवार्ता, यस्तो भयो सहमति

चीन । चीनको भ्रमणमा रहेका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्ड र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख (मन्त्री) सोङ ताओबीच मंगलबार भेटवार्ता भएको छ । चिनियाँ क्रान्तिको ऐतिहासिक नगरी येनान हुँदै अर्को सहर नान्जिङ आइपुग्नुभएका अध्यक्ष प्रचण्डलाई प्रमुख ताओले स्वागत गरेका थिए ।   भेटमा अध्यक्ष प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनले नयाँ बिचार सिजिङपिङ बिचारको विकास गरी चीनलाई नयाँ उचाईमा उठाएकोमा खुसी व्यक्त गरे । आफ्नो दुबै प्रधानमन्त्रीत्वकालमा भएको चीन भ्रमण र ती भ्रमणको क्रममा छलफल र समझदारीलाई स्मरण गर्दै अध्यक्षले ल्हासा–केरुङ–काठमाडौं–लुम्बिनी रेलमार्गलाई विशेष जोड दिए । उक्त अवसरमा ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ बिषयमा छलफल भएको र आफैंले उक्त प्रस्तावमा समर्थन जनाउँदै हस्ताक्षर गरेको बताए प्रचण्डले भने,‘पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको उपलब्धीमूलक चीन भ्रमण, भर्खरै नेपाल सरकार र चीन सरकारबीच भएको ‘ट्रेड एण्ड ट्रान्जिट’ सम्झौताले दुरगामी महत्व राख्दछ । चारवटा बन्दरगाह नेपालले प्रयोग गर्न पाउनु ठूलो निर्णय हो ।’ उनले नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टी बीचको सम्वन्धलाई अझै सुदृढ गर्ने र नेपाल सरकार र चीनियाँ सरकारबीच भएका सम्झौता र समझदारीलाई कार्यान्वयन गराउने आफ्नो भ्रमणको उद्देश्य बताए । भेटका अवसरमा विदेश विभाग प्रमुख ताओले चीन र नेपाल अनि चिनियाँ कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी बीचको सम्बन्ध बिकासमा अध्यक्ष प्रचण्डको योगदानको प्रशंसा गर्दै धन्यवाद दिए । दुई सरकार (चिनियाँ सरकार र नेपाल सरकार) र दुई पार्टी (चिनियाँ कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी) बीच भएको समझदारी र सम्झौताको शिघ्र कार्यान्वयनका साथै नेपालको आर्थिक समृद्धिका लागि चिनियाँ कम्युनिष्ट पार्टी र सरकार मद्दतको निम्ति तयार रहेको उनको भनाई थियो । विदेश विभाग प्रमुख ताओले भने,‘ तातोपानी नाका खोल्न मर्मतको काम भइरहेको छ र चिनियाँ रेल विभागले रेलमार्गका लागि अध्ययन गरिरहेको छ ।’

अछाममा ६ महिने बालकमाथि एसिड खन्याइयो, अवस्था गम्भीर

अछाम, असोज ३ । जिल्लाको तुर्माखाद गाउँपालिका-४ चिसिका ६ महिनाका बालक मुस्कान बयकलाई घरमा सुताइ राखेको अवस्थामा अपरिचित व्यक्तिले मंगलबार बिहान ११ बजेतिर एसिड जस्तै मानिने ‘कोरिसिभ’ केमिकल अनुहारमा फ्याँकेपछि बालकको अवस्था गम्भीर छ ।   घरमा छोरालाई छोडेको पाँच मिनेट मात्रै भएको थियो। अरु घरमा कोहि थिएन, आमा देवसरा बयकले भनिन्, म भैंसीलाई पानी खुवाउँदै थिएँ । छोरा रोएपछी घर आएँ । उसलाई निकै गाह्रो भैसकेको थियो। श्रीमान् पनि खेतबारीको काममा निस्केको मौकमा छोरामाथी आक्रमण भएको उनको भनाइ छ।   घरबाट नजिकको स्वास्थ्य संस्थामा लिँदा त्यताबाट कमलबजार रेफर गरेको र कमलबजारबाट जिल्ला अस्पतालमा पुर्‍याउँदा अवस्था गम्भीर भइसकेकाले नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा रेफर गरिएको अस्पतालका डा. मनोज बिष्टले बताए।   ‘यहाँ अक्सिजन दिने लगायतका सामान्य उपचारपछि तुरुन्त रेफर गरिसकेका छौँ’ डा. बिष्टले भने । बालकमाथि भएको घटना जिल्ला अस्पताल पुगेपछि थाहा पाउने बित्तिकै प्रहरी टोली घटनास्थल पुगिसकेको प्रहरी नायव निरीक्षक टेकबहादुर रावतले बताए। कान्तिपुरमा खबर छ ।

निर्मला हत्याकाण्ड : सेनामाथि आशंका, एसपी विष्टसहित १९ को सिमकार्ड जफत

काठमाडौं, असोज २ । कञ्चनपुरकी किशोरी निर्मला पन्त बलात्कार–हत्याकाण्डको अनुसन्धान गरिरहेको उच्चस्तरीय छानबिन समितिले आशंकाको सुई नेपाली सेनातिर तेर्स्याएको छ । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘‘निर्मलाको शव पाइएको स्थान नजिकै सेनाको ब्यारेक रहेछ, कतिपय सूचना सेनाबाटै घटना भएको हुनसक्छ भन्ने पनि आएका छन् ।’ तत्कालीन एसपी डिल्लीराज विष्ट भएकै बेला साउन १० गते बाहिर निस्किएका सेनाको विषयमा पनि अनुसन्धान गर्न सुझाव दिइएको थियो । एक प्रहरीका अनुसार सेनाका केही जवानको मोबाइल नम्बर पनि अनुसन्धानका लागि सिआइबीको टोलीलाई उपलब्ध गराइएको थियो । निर्मलाको बलात्कारपछि हत्या कसले गर्यो भन्ने अझै खुल्न सकेको छैन । घटनाको अनुसन्धानमा प्रहरीको गल्तीका कारण अनुसन्धान झन्झटिलो बनेको प्रहरी अधिकृतको भनाइ छ । झण्डै २ महिना पुग्न लाग्दा पनि प्रहरीले निर्मला हत्याको सुराक प्राप्त गर्न सकेको छैन । प्रहरी अधिकारीले अनुसन्धान जारी रहेको बताउँदै आएका छन् । प्रहरीले शंकास्पद विभिन्न व्यक्तिहरुको ‘कल डिटेल’ हेरिरहेको बताइएको छ । यसैबीच, हत्याकाण्डको अनुसन्धानमा विभिन्न तहबाट संलग्न प्रहरी अधिकारीको मोबाइल जफत गरिएको छ । घटनामा प्रहरी अधिकारीहरुको भूमिकाबारे अनुसन्धान गरिरहेको डीआईजी (प्रस्तावित एआईजी) धिरु बस्न्यातको टोलीले कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टसहित १९ जनाको मोबाइल जफत गरेको हो । टोलीले प्रहरी प्रधान कार्यालयमै बोलाएर तत्कालीन एसपी विष्टसहित कञ्चनपुर प्रहरीका १६ जना र सिआईबीका डिएसपी अंगुर जिसीसहित ३ जनाको मोबाइल तथा सिमकार्ड जफत गरेको हो । कञ्चनपुरबाट मुद्दा शाखामा कार्यरत प्रहरी, सिभिल टोलीमा खटिएका प्रहरी, मुचुल्का उठाउने कार्यमा रहेका प्रहरीलाई पनि काठमाडौं झिकाइएको छ । निर्मला हत्याकाण्डको अनुसन्धानमा संग्लन ६ जना प्रहरी यसअघि नै निलम्बनमा परिसकेका छन् । निर्मला बलात्कार र हत्या अभियोगमा प्रहरीले अभियुक्तका रुपमा सार्वजनिक गरेका दिलिपसिंह विष्ट नक्कली अभियुक्त भएको पुष्टि भएपछि प्रहरी अधिकारीहरु निलम्बनमा परेका थिए । गत साउन १० मा घरबाट साथीको घरमा निस्किएकी भीमदत्त नगरपालिका २ महुलियाकी १३ वर्षीय किशोरी निर्मला पन्त साउन ११ गते उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् । ‘प्रहरी अधिकारी र अन्य प्रहरीको मोबाइल कनेक्सनको अध्ययन, उनीहरुले केही डाटा मेटाएको भए त्यसको ‘रिकभरी’ गर्ने र कल डिटेलका लागि मोबाइल तथा सिमकार्ड जफत गरिएको हो,’ एक प्रहरी अधिकृतले भने । – १२खरीका लागि केशवराज जोशी

कतै कैटरिनाकै जस्तै अवस्था साम्राज्ञीको पनि त हुने होइन ?

काठमाडौं । बलिउड क्षेत्रका सुपरस्टार सलमान खानले चलचित्र ‘मैंने प्यार क्यूँ किया ?’ बाट अभिनेत्री कैटरीना कैफलाई लञ्च गरेका थिए । यसपछि यो जोडीले एकसाथ केही फिल्ममा काम गरे । ‘एक था टाइगर’ सम्म आइपुग्दा कैटरीना ‘सुपरस्टार’ बनिन् । उनलाई लाग्यो अब सलमानको साथ आवश्यक छैन । यसपछि केही वर्ष उनले विभिन्न अभिनेतासँग काम गरिन् । तर, फलिफाप रहेन । करिअर लगभग पाखा लाग्ने अवस्थामा पुगेपछि उनी पुनः सलमानको शरणमा परिन् । गएको वर्ष प्रदर्शनमा आएको ‘टाइगर जिन्दा हे’ ले फेरि कैटरीनालाई चम्कायो । अहिले सलमानसँग उनी अर्को नयाँ चलचित्र ‘भारत’ गरिरहेकी छन् । यो प्रसंग जोड्नुको कारण अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह हुन् । अभिनेत्री बन्ने तरखरमा रहेको बेला उनलाई सुपरस्टार अनमोल केसीको चलचित्र ‘ड्रिम्स’ चिठ्ठा परेको थियो । यो फिल्म बक्स अफिसमा सुपरहिट साबित भयो । अनमोलको औसत अभिनयमाथि साम्राज्ञी हाबी भइन् । ‘ड्रिम्स’ले उनको ड्रिम पुरा गर्‍यो । अहिले उनी नेपाली फिल्मकी सर्वाधिक डिमान्डेड अभिनेत्री हुन् । अधिकांश मेकर्स उनलाई लिएर फिल्म बनाउन लालयित छन् । साना हुन् वा ठूला ब्यानर, हरेकको नजरमा उनी छिन् । ुड्रिम्सु पछि रिलिज भएको दोस्रो फिल्म ‘ए मेरो हजुर २’ पनि सुपरहिट भएपछि उनले पारिश्रमिकमा पनि ‘लिड’ गर्न थालिन् । फिल्म ‘कायरा’ मा उनलाई आर्यन सिग्देलले १० लाख पारिश्रमिक दिए । रोचक कुरा त के भने उनका लागातार दुई फिल्म हिट भएपनि बाँकी दुई चलचित्रले अपेक्षाकृत व्यापार गरेनन् । अर्थात् ‘तिमीसँग’ र ‘कायरा’ ले बक्सअफिसमा सुनाउन लायक अंक जोड्न सकेनन् । अहिले उनको स्टारडम खस्किदै गएको चर्चा हुन थालेको छ । उनलाई हिट फिल्म दिन फेरि अनमोलसँगको पेयरिङ आवश्यक रहेको फिल्म पण्डितहरु बताउँछन् । तर, उनी यो मान्न तयार छैनन् । उनी आफू हिट हुन कुनै नायक र निर्माताको खाँचो नभएको बताउँछिन् । मंंगलवार पोखरामा असोज ५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ को विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा साम्राज्ञीमाथि प्रश्न उठ्यो, ‘तपाईलाई हिट हुन फेरि अनमोल नै चाहिएको हो ?’ पत्रकारको प्रश्नलाई गलत भन्दै उनले जवाफ दिइन्, ‘मलाई होइन, हिरो र निर्मातालाई चाहिँ म चाहिएको हो ।’ यो अभिव्यक्तिले अहिले उनको चर्को आलोचना भइरहेको छ । धेरैले उनको घमण्ड बोलेको भनेका छन् । जवाफ घुमाउरो शैलीमा दिएपनि उनले बुझ्ने गरी भनेकी थिइन्, ‘मलाई अनमोल होइन अनमोललाई म चाहिएको हो ।’ उनको यो आत्मविश्वास हो वा घमण्ड ? यो त समयले छर्लङ्ग पार्नेछ । ‘छक्का पञ्जा २’ र ‘३’, ‘जय भोले’, ‘लभ स्टेशन’, ‘भैरवी’ जस्ता बिग ब्यानरको पहिलो रोजाईमा आफूमात्र पर्दा उनले अचेल आफूलाई निर्विकल्प अभिनेत्री ठान्न थालेकी छन् । उनको अभिव्यक्तिले पनि यसलाई प्रस्टाउँछ । अब यो हेर्न बाँकी छ कि अनमोललाई साम्राज्ञी चाहिएको हो वा साम्राज्ञीलाई अनमोल ? माथि जोडिएको बलिउडको प्रसंगको अवस्था चाहिँ नआओस् साम्राज्ञीलाई शुभकामना ।

सप्त ऋषिको पूजा आराधना गरि ऋषिपञ्चमी मनाइँदै

काठमाडौं, भदौ २९ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।   महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् । रजस्वलाका समयमा छाइछुइलगायत कुनै त्रुटि भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले मुक्ति मिल्ने धार्मिक विश्वास छ ।   नारीलाई रजस्वलाको तीन दिनसम्म छुन नहुने तथा त्यस अवधिभर विभिन्न संज्ञा दिइने र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । यसैकारण आजको दिन दत्तिउन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछूतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा. रामचन्द्र गौतमले बताए ।   यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गरिने हुँदा यसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तऋषिको पूजा गर्ने पञ्चमीका दिन भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो ।   महिलाको रजस्वलासित जोडिएको ऋषि पञ्चमीका विषयमा एउटा किम्बदन्ती पनि प्रचलित छ । प्राचीन समयमा इन्द्रले विश्वरुपको शिरलाई तीन टुक्रा पारी हत्या गरेका कारण ब्रह्म हत्याको पाप भोग्नुपर्यो । यस हत्याबाट पिरोलिएका इन्द्रले आफ्नो दुःख ब्रह्मालाई सुनाए ।   यसैकारण उब्जनी नहुने उषरभूमि, वृक्षबाट निस्कने खोटो, पानीमा निस्कने बुदबुद फेन अर्थात् फिँज र स्त्रीमा रज देखिन थालेको धार्मिक विश्वास रहेको पण्डित मधुसुदन सुवेदीले जानकारी दिए ।   आज स्नान गरी पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाइ एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ । आज काठमाडौँको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिलाको भीड लाग्ने गर्दछ । -रासस

दश लाखको धनमाल लुट्ने तीन जना पक्राउ

बर्दिवास, भदौ २६ । चोरी डकैतीमा संलग्न तीन जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिवास नगरपालिका-१३ का अजमल अली शेष, इसुन घिसिङ र रमेश लामा रहेको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।   उनीहरुले गत शनिबार भङ्गाहा नगरपालिका-६ जमुनियाँका अर्जुन भुजेलको घरबाट १० लाख रुपैयाँ बराबरको धनमाल लुटपाट गरेका थिए । बन्दुक, खुँडा, खुकुरी, भाला र विष्फोटक पदार्थसहित पुगेका तीनै जनाले खुकुरी तथा गोली प्रहार गरी भुजेलसहित पाँच जनालाई घाइते बनाएका थिए ।   घाइतेको काठमाडौँमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ गरिएकाहरुको बयानका आधारमा अन्यको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । -रासस

प्रहरी चौकीमा आक्रमण, १३ प्रहरी र १० तालिबानको मृत्यु

अफगानिस्तान, भदौ २५ । अफगानितास्तानको उत्तरी कुन्दुज प्रान्तमा सोमबार बिहान एक प्रहरी चौकीमा यहाँका सशस्त्र तालिबानहरुले आक्रमण गरेका छन् । यस आक्रमणमा परी कम्तीमा पनि १३ जना प्रहरीको ज्यान गएको छ । अधिकारीहरुले उक्त चौकीमा रहेका प्रहरीहरुमध्ये १३ जनाको ज्यान गएको पुष्टि गरेका छन् । त्यसैगरी सो आक्रमणमा परी आक्रमणकारी तालिबानका १० जना लडाकू पनि मारिएका छन् । कुन्दुजका प्रहरी प्रमुखले सो जानकारी दिनुभएको छ । कुन्दुजको दासित इ आर्ची जिल्लामा रहेका सरकारी कार्यालयहरुनजिकै रहेको सो प्रहरी चौकीमा सोमबार बिहानी पख तालिबानहरुले शक्तिशाली बन्दुक र रकेट लञ्चरजस्ता अत्याधुनिक हतियारहरुले आक्रमण गरेका प्रहरीले जनाएका छन् । सो जिल्लामा रहेका सरकारी कार्यालयलाई यसअघि पनि तालिबानहरुले लक्षित गर्ने गरेका थिए । गत हप्तामात्र पनि सो जिल्लामा उनीहरुले हमला गरेका थिए । त्यसैगरी अफगानिस्तानको अर्को प्रान्त बाघलानमा पनि गत शुक्रबार भएको यस्तै हमलामा परी अफगानिस्तानका २० जना सैनिकको ज्यान गएको थियो । कुन्दुज र बाघलान अफगानिस्तानको पूर्वी क्षेत्रमा पर्दछन् । सो क्षेत्रमा तालिबानहरुको बढी नै प्रभाव रही आएको बताइएको छ । एएफपी

प्रचण्ड–ओली भेटः पार्टी एकता टुंगोमा पुर्याउन २७ गते सचिवालय बैठक बोलाउने निर्णय

काठमाडौ, भदौ २५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तल्ला कमिटीहरुको एकता सम्पन्न गर्न पर्सि २७ गते सचिवालयको बैठक बोलाइने भएको छ । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच सोमबार बिहान भएको छलफलमा एकतालाई भदौ मसान्तसम्म सम्पन्न गर्न छलफल भएको हो । भारत भ्रमणबाट फर्केपछि भ्रमण तथा समसामयिक विषयमा छलफल गर्न बालुवाटार पुगेका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीबीच पार्टी एकताको पछिल्लो प्रगति तथा बाँकी रहेका कामका बारेमा गहन छलफल भएको प्रचण्ड सचिवालयले जनाएको छ । ‘पर्सी सचिवालयको बैठक बोलाउने निर्णय भएको छ ।’ स्वकिय सचिव गंगा दाहालले भनिन्, ‘भारत भ्रमणका विषयमा समेत प्रधानमन्त्रीलाई जानकारी दिने काम भयो ।’ पार्टी एकताका लागि जिल्ला, प्रदेश र तल्ला तहको एकताका लागि गठित कार्यदलहरुले प्रतिवेदन बुझार्इसकेका छन । अध्यक्ष प्रचण्डले भारत भ्रमण सकारात्मक भएको र सरकारले अघि सारेको विकास र समृद्धिको यात्रामा भ्रमणबाट थप उपलब्धि मिलेको बताएका थिए ।