विप्लवसँग वार्ता गर्न तयार छौंः नेकपा प्रवक्ता

गोरखा, चैत ९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले विप्लव समूहसँग वार्ता गर्न सरकार तयार रहेको बताएका छन् । शनिबार गृहजिल्ला आएका श्रेष्ठले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

उनले सरकार वार्ता गर्न तयार भए पनि विप्लव समूह भने वार्तामा आउन नचाहेको आरोप लगाए । ‘विप्लव समूह एउटा राजनितिक शक्ति हो तर, उहाँहरुले गरेको क्रियाकलाप गलत छ’ नेकपा प्रवक्ता श्रेष्ठले भने, ‘उहाँहरु तयार भए हामी जुनसुकै वेला पनि वार्तामा बस्न तयार छौं ।’

नेता श्रेष्ठले संविधान कार्यान्वयनको प्रक्रियामा जान नदिन र देशमा अस्थिरता कायम गरी शान्ति सुरक्षामा खलल पुर्‍याउने गतिविधिलाई सरकारले प्रशासनिक कोणबाट नियन्त्रण गर्ने बताए ।

कोरियामा किन घट्यो विवाह दर?

एजेन्सी । दक्षिण कोरियामा अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा विवाह दरमा कमी आएको तथ्यांक सार्वजनिक भएको छ। आर्थिक अस्थिरता लगायतका कारण यहाँका युवायुवतीले विवाहलाई कम प्राथमिकता दिन थालेको समाचारमा उल्लेख छ। सन् २०१८ मा एक हजार युवायुवतीमा ५ प्रतिशतले विवाह गरेको पाइएको छ। यो तथ्यांक अहिलेसम्मकै सबैभन्दा न्यून हो। कोरियाको तथ्यांक विभागले वैवाहिक सम्बन्धको दर के कति रहन्छ भनेर सन् १९७० देखि तथ्यांक संकलन गर्ने गरेको छ। समाचारमा जनाइएअनुसार यो वैवाहिक दर सन् १९७० पछिकै सबैभन्दा कम हो। सन् १९८० मा यहाँका युवायुवतीमा विवाह दर प्रति एक हजारमा १०.६ प्रतिशत रहेको थियो। उक्त विभागले यो तथ्यांक शुरु गरेयताको सबैभन्दा बढी दर हो। यो तथ्यांकमा बर्सेनि कमी आउन थालेको हो। सन् १९९० यो दर घटेर मा ९.३, सन् २००० मा ६.५ र सन् २०१० मा ६.५ हुँदै आएको थियो। दक्षिण कोरियाली नागरिकमा पहिलो पटक विवाह गर्ने उमेर दर पुरुषमा ३३.२ वर्ष र महिलामा यो उमेर दर ३०.४ वर्ष छ।

वाशिङटनस्थित नेपाली दूतावासद्वारा प्रचण्डलाई स्वागत

काठमाडौं, चैत ६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डलाई अमेरिकास्थित नेपाली दूतावासले स्वागत गरेको छ । उनलाई वाशिङटनस्थित नेपाली दूतावासमा राजदूत अर्जुन कार्की र कर्मचारीले स्वागत तथा ब्रिफिङ गरेका हुन् । प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि अमेरिका गएका हुन् । अमेरिकाको जोन हकिन्स् आउटप्यासेन्ट सेन्टरमा सीताको उपचार हुनेछ ।

साफ च्याम्पियनसिपः श्रीलंकाविरुद्ध नेपालको दोस्रो गोल (LIVE )

काठमाडौं, चैत ४ । विराटनगरको शहीद रंगशालामा भइहेको महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा श्रीलंकाविरुद्ध नेपालले दोस्रो गोल गरेको छ । पहिलो हाफमा १-० ले अग्रता लिएको नेपालले अर्को गोल ७२ औं मिनेटमा अनिता बस्नेतले गरेकी छन् । नेपालका लागि पहिलो हाफको ४२ औं मिनेटमा पुनम जर्घामगरले गोल गर्दै अग्रता दिलाएकी थिइन् । गीता रानाले प्रहार गरेको फ्री किकलाई कप्तान निरु थापाले बाइसाईकल किक प्रहार गरेकी थिइन् । निरुको प्रहारलाई सावित्राले हेडर गरकी थिइन् । निरु र फरवार्ड सावित्रा भण्डारीमाथि ध्यान दिएका बेला अनमार्कमा रहेकी पुनमले गोल गरेकी हुन् । सुरु देखि नै आक्रमक फुटबल खेलेको नेपालले पहिलो हाफमा थुप्रै पटक पोस्ट चार्ज गरेको थियो ।

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज, के–के विषयमा हुँदैछ छलफल?

काठमाडौं, चैत ४ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टीको अनुशासन र निर्वाचन समिति गठनलगायत विषयमा निर्णय गर्न सोमबार बोलाइएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने बैठकमा उक्त विषयबाहेक पार्टीको विधानअनुसार नियमावली निर्माण, सरकारका कामकारवाही, समसामयिक राजनीतिलगायत विषयमा पनि छलफल हुने पार्टी कार्यालयले जनाएको छ । यसअघि गत फागुन १४ गते बोलाइएको बैठक सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच अनुशासन र निर्वाचन समिति गठनका विषयमा सहमति हुन नसक्दा बैठक बस्दै नबसी स्थगित गरिएको थियो । पार्टी कार्यालयले भने सहमतिका लागि थप छलफल आवश्यक रहेको भन्दै सो बैठक स्थगन गरिएको जनाएको थियो । आज पनि केन्द्रीय समिति बैठक बस्नुअघि दुवै पक्षबीच पदाधिकारीस्तरमा समिति गठन सम्बन्धमा सहमतिको प्रयास गरिने बताइएको छ । संयोजकसहित पाँच सदस्य रहने दुवै समितिलाई काङ्ग्रेसमा महत्वको रूपमा लिइन्छ । समिति गठनमा दुवै पक्षले आफू अनुकूल खोज्दा सहमतिमा ढिलाइ भएको बुझिएको छ ।

आगामी चैतदेखि चलचित्र ‘छक्का पञ्जा २’ पुनःप्रदर्शनमा

काठमाण्डौ, चैत ३ । २०७४ सालको दशैंमा रिलिज भएको सुपरहिट नेपाली कथानक चलचित्र ‘छक्का पञ्जा २’ पुनः हलमा लाग्ने भएको छ । दर्शकहरुको चाहना बमोजिम फिल्म रि–रिलिज गर्न लागिएको अभिनेता तथा निर्माता दीपकराज गिरीले बताएका छन् । अर्को वर्षको दोस्रो साता अर्थात् वैशाख १३ गतेबाट फिल्म देशभर पुनः एकपटक प्रदर्शनमा आउने तय भएको छ । यो मितिमा कुनै फिल्म प्रदर्शनमा आउँदै छैनन् । हलिउडको बहुप्रतिक्षीत फिल्म ‘एभेन्जरः इन्ड गेम’ आउन लागेका कारण यो मितिमा कुनै नेपाली फिल्म प्रदर्शनमा आउन नसकेका हुन् । यसअघि यो मितिमा प्रतिक्षीत फिल्म ‘दाल भात तरकारी’ आउने कन्फर्म भएको थियो । तर, शुक्रबारमात्र ‘एभेन्जर’ को डरले यो फिल्म एक हप्ता पछाडि सरेको छ । यसैको फाइदा उठाउँदै ‘छक्का पञ्जा २’ फेरि हलमा प्रदर्शन हुन लागेको हो । हलमा रिलिज भएको डेढ वर्ष बितिसकेपनि यो चलचित्र अझै युट्युबमा रिलिज भएको छैन । यो फिल्म युट्युबमा पर्खेर बस्ने दर्शक धेरै छन् । तर, निर्माण टिमले तत्काल युट्युबमा रिलिज गर्नेभन्दा पुनः हलमा फिल्म प्रदर्शन गर्ने निर्णय लिएको छ । वैशाख १३ मा कुनै नेपाली फिल्म नभएका कारण ‘छक्का पञ्जा २’ ले पुनः एकपटक सिंगल थिएटरमा दर्शक तान्न सक्ने फिल्म पण्डितहरुको आँकलन छ । यसअघि यो फिल्मलाई यही चैत अन्तिममा पुनः प्रदर्शन गर्ने तयारी थियो । तर, हरेक साता एकभन्दा बढी फिल्म प्रदर्शनमा आउन तमतयार रहेका कारण यो फिल्मले पुनः प्रदर्शनका लागि उपयूक्त मिति पाउन सकेको थिएन । अन्ततः बैशाख १३ बाट हलिउड फिल्मका कारण ‘दाल भात तरकारी’ ले हात झिकेपछि ‘छक्का पञ्जा २’ लाई लोट्री लागेको छ । नतिजा भने कस्तो आउने छ ? हेर्न बाँकी छ । दीपाश्री निरौला निर्देशित यस फिल्ममा प्रियंका कार्की, दीपकराज गिरी, जितु नेपाल, स्वरूपपुरुष ढकाल, बुद्दी तामाङ, स्वस्तिमा खड्का, केदार घिमिरे, वर्षा राउत लगायतका कलाकारले अभिनय गरेका छन् । यो फिल्मको तेस्रो पार्ट पनि प्रदर्शनमा आइसकेको छ । फिल्ममा समावेश ‘म त यता किनारामा’ र ‘नाइनलको साडीमा’ बोलको गीत अहिले पनि उतिक्कै लोकप्रिय छ । यस फिल्मको तेस्रो पार्ट समेत प्रदर्शनमा आइसकेको छ ।

पीएसएलः सन्दीपको टिमले टस जितेर बलिङ रोज्यो

काठमाडौं, फागुन २५ । पाकिस्तान सुपर लिग (पीएसएल) अन्तर्गत इश्लामाबाद युनाइटेड विरुद्धको खेलमा सन्दीप लामिछाने आवद्ध लाहोर कलन्दर्सले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि कराँचीमा शुरु हुँदैछ । प्लेअफमा पुग्नका लागि सन्दीपको टिमलाई आजको खेल जित्नै पर्ने दबाब छ । यदि इश्लामाबादसँगको खेल हारेमा लाहोरको अगाडिको यात्रा लगभग समाप्त हुनेछ । अहिले सन्दीपको टिम अंक तालिकामा पाँचौं स्थानमा छ । उसले ८ खेलमा ५ मा हार र ३ खेलमा मात्र जित निकाल्न सफल भएको छ । इश्लामावाद भने ९ खेलमा ४ मा जित र ५ मा हार बेहोर्दै अंक तालिकाकाे तेस्रो स्थानमा छ । यी दुई टिमबीच अहिलेसम्म ५ पटक भिडन्त भएको छ । जसमा २ मा लाहोर र २ खेलमै इश्लामाबाद विजयी भएको छ । एक खेल भने टाई भएको थियो । आजको खेलमा को–कोले पाए मौका? हेर्नुस्–

अष्ट्रेलियाविरुद्ध विराट कोहलीको लगातार शतक

काठमाडौं, फागुन २४ । अष्ट्रेलिया विरुद्धको एकदिवसीय सिरिजको तेस्रो खेलमा पनि भारतीय कप्तान विराट कोहलीले शतक प्रहार गरेका छन् । आज उनले १४ चौकाको मद्दतमा ८५ बलमा शतक प्रहार गरेका हुन् । विराटले आज संकटबाबीच शतक पूरा गरे । सस्तैमा ४ विकेट गुमाएको भारतका लागि विराट र केदार जाधवले इनिङ उकासे । तथापि, भारतले पाँचौ विकेटका रुपमा केदारलाई २६ रनमा गुमाएको छ । यो समाचार तयार पार्दासम्म क्रिजमा विराट र विजय शंकर छन् । यसअघि, टस हारेर ब्याटिङको मौका पाएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ११३ रन बनायो । उसका लागि आश्मान ख्वाजाले १०४, कप्तान आरोन फिंचले ९३, ग्लेन म्याक्सवेलले ४७, मार्कस स्टोइनिसले नटआउट ३१ र एलेक्स केरीले अविजित २१ रन बनाए । बलिङमा भारतका कुलदीप यादवले ३ र मोहम्मद सामीले १ विकेट लिए । पाँच खेलको सिरिजमा भारत २-० ले अगाडि छ । आजको खेल भारतले जितेमा २ खेल अगावै सिरिज आफ्नो पक्षमा पार्ने छ ।

दार्चुला जीप दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा समवेदना

काठमाडौं, फागुन १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार दार्चुलाको राताकाठामा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । उनले ट्वीटमार्फत दुर्घटनाका एकमात्र घाइते जिप चालकको शीघ्र स्वास्थ्य लाभको कामना र मृतकका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका हुन्। शुक्रबार राति दार्चुलाको राताकाठामा भएको सो जिप दुर्घटनामा सात पुरुष, तीन महिला र एक बालिका गरी ११ जनाको मृत्यु भएको थियो ।

गोदामचौर बलात्कार प्रकरणः संलग्न तीनै जनालाई १० वर्ष कैद

ललितपुर, फागुन १७ । गोदामचौरका सामूहिक बलात्कार घटनाका तीनै जनालाई दस वर्ष कैद सजाय तोकिएको छ । बलात्कारमा संलग्न गोदावरी नगरपालिका– १ का ३२ वर्षीय रधु सिलवाल, २० वर्षीय पवन कुँवर र विशालध्वज कार्कीलाई ललितपुर जिल्ला अदालतले दोषी ठहर गर्दै न्यायाधीश धनसिंह महराको एकल इजलासले शुक्रबार उक्त फैसला गरेको हो । अदालतका अनुसार दोषी तीनै जनालाई जबर्जस्ती करणी मुद्दाअन्तर्गत १० वर्ष कैद र जनही १ लाख रुपैयाँ क्षतिपूर्ति भराउने पनि फैसला गरेको छ।उनीहरुले०७४ मंसिर २ मा २१ वर्षीय युवतीमाथि सामूहिक बलात्कार गरेका थिए। ज्यान मार्ने उद्योग तर्फ पनि तीनै जनालाई १०-१० वर्ष कैद सजाय तोकेको छ। चोरीको बिगोबराबर ३ हजार रुपैयाँ तिराउने फैसला भएको छ। चोरीतर्फ ६० दिन कैद सजाय तोकेको छ।

मन्त्री अधिकारीको काजकिरिया सात दिनमै सकिने

पोखरा, फागुन, १७ । ताप्लेजुङको दारेभीरमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको काजकिरिया ७ दिनमा समापन गरिने भएको छ । पोखराको प्रदर्शनीस्थलस्थित श्रद्धाञ्जली सभामा बोल्दै अधिकारीका बालसखा धनराज आचार्यले उक्त कुरा बताएका हुन् । आचार्यले पोखराको मालेपाटनको जनप्रिय टोलस्थित निवासमा उनको काजकिरिया ७ दिनमा र्यले बताए । मन्त्री अधिकारीले धर्म संस्कार र परम्परालाई समय अनुसार परिवर्तन गर्दै जानुपर्छ भन्ने धारणा राख्दै आएको र काजकिरियालाई ७ दिन कायम गरेर देशभर लागू गर्नुपर्छ भन्ने सोच राखेको आचार्यले बताए । त्यसैले अधिकारीकी धर्मपत्नी विद्या, बुबा आमा, दुई भाइसँग सल्लाह गरेर काजकिरिया ७ दिन गर्ने निर्णय गरिएको उनले श्रद्धाञ्जली सभामा जानकारी दिए । उनका अनुसार अधिकारीको काजकिरिया फागुन २१ गते सकिनेछ । पोखरामा अहिले अधिकारीको शवयात्रा सुरु भएको छ । नयाँबजार, महेन्द्रपुल रानीपौवा, हस्पिटल चोक हुँदै रामघाटसम्म शवयात्रा हुनेछ । रामघाटमा उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ । अधिकारीलाई ठूलो छोरा विराजले दागवत्ती दिनेछन् ।

पीएसएलमा चम्किए सन्दीप, ४ ओभरमा लिए ४ विकेट !

काठमाडौं, फागुन १६ । यूएईमा भइरहेको पाकिस्तान सुपर लिग (पीएसल) मा लाहोर कलन्दर्समा आवद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछानेले क्वेटा ग्लेडियेटर्सविरुद्धको खेलमा शानदार प्रदर्शन गरेका छन् । उनले लगातार ओभरमा विकेट लिन सफल भएका छन्। सन्दीपले पहिलो ओभरमा शेन वाट्सन दोस्रो ओभरमा राइलि रौसाउ, उमर अकमल र तेस्रो ओभरमा डानिस आजिजलाई आउट गर्न सफल भए । लाहोरले टस जितेर बलिङ रोजेको छ । पहिलो खेलमा महत्वपूर्ण ३ र दोस्रो खेलमा एक विकेट लिएका सन्दीप आज पनि टिममा अटाएका छन् । ग्लेडियेटर्सले ५ खेल खेलकोमा ४ खेलमा जीत र एक खेलमा हार बेहोर्दै ८ अंकका साथ शीर्ष स्थानमा छ । सन्दीपको टोली भने ५ खेलमा ३ मा हार र दुई खेलमा जीत निकाल्दै ४ अंकका साथ पाँचौ स्थानमा छ । लाहोर कलन्दर्स टोलीः एवि डी विलियर्स, कोरी एण्डरसन, सन्दीप लामिछाने, फकर जमान, सोहिल अख्तर, शाहिन शाह अफ्रीदी, यासिर शाह, हरिश सोहेल, गौहार अलि, डेभिड वाइस र हरिश रौफ

भारत–पाकिस्तान तनावः नेपालको उडान प्रभावित

काठमाडौं, फागुन १५ । भारत र पाकिस्तानबीच बढिरहेको तनावका कारण नेपालको त्रिभुवन विमानस्थलबाट हुने उडान प्रभावित भएको छ । पाकिस्तानले भारतको बाटो हुँदै आफ्नो एयर रुटमा प्रवेश गर्न रोक लगाएपछि नेपालबाट भारत हुँदै पाकिस्तानको रुट प्रयोग गर्नुपर्ने विमानको उडान प्रभावित भएको हो । पाकिस्तानले भारतबाट प्रवेश गरेर आफ्नो रुट प्रयोग गर्न अनुमति नदिएपछि हाल नेपालबाट उड्नुपर्ने टर्किस एयरलाइन्स विमानस्थलमै रोकिएको छ । यस्तै कतार एयरलाइन्सको उडान पनि प्रभावित हुने अवस्था आएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ । टर्किस एयरलाइन्सलाई अब विकेड रुटबाट पठाउन लागिएको विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले बताए । उनले विमानस्थलहरुमा कुनै पनि समस्या नरहेको बताउँदै पाकिस्ताले आफ्नो रुट प्रयोग गर्न रोकेकाले वैकल्पिक रुट प्रयोग गरेर टर्किस एयरलाई उडाउन लागिएको जानकारी दिए ।

महाधिवेशनलाई पछाडि धकेलेर फाइदा हुँदैनः गगन थापा

गोरखा, माघ २७ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टी महाधिवेशनलाई पछाडी धकेलेर काङ्ग्रेसलाई फाइदा नहुने बताएका छन् । नेपाल प्रेस युनियन गोरखाले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता थापाले महाधिवेशनलाई दुई–अढार्इ वर्षपछाडि धकेल्दा यसले पार्टीलार्ई बलियो नबनाउने भन्दै तत्काल महाधिवेशनको काम शुरु गर्नुपर्नेमा जोड दिए । ‘नेपाली काङ्ग्रेसले अधिवेशन पछाडि लैजानुपर्ने कुनै कारण छैन”, उनले भने, ‘सरकारको जिम्मेवारीमा नभएको बेला पार्टीको महाधिवेशनलाई दुई वर्षका लागि म्याद थपेर फाइदा हुँदैन बरु महाअधिवेशनमा गएर सङ्गठन बनाउन लाग्नुपर्छ ।’ नेता थापाले पार्टीको आगामी महाधिवेशन पहिलो पुस्ताका नेताले विश्राम लिने महाधिवेशन बनाउनुपर्ने भन्दै त्यसका लागि आफू सभापति लड्न पनि तयार रहेको बताए । ‘अरु कसैले आँट गर्नुभएन भने म आँट गर्न तयार छु”, उनले भने, “तर आगामी महाधिवेशनलाई जसरी पनि पहिलो पुस्ताका नेताले विश्राम लिने महाधिवेशन बनाउनुपर्छ ।’ अब पार्टीका पुराना नेताले अभिभावकको जिम्मेवारी निर्वाह गर्नुपर्ने बेला आएको भन्दै नेता थापाले उहाँहरुबाट अबको पुस्ताको चाहना पूरा हुनै नसक्ने जिकिर गरे । ‘युवा अब पार्टीको मूल जिम्मेवारीमा आउनुपर्छ भन्नेमा म दृढ छु’, उनले भने, ‘अब पुराना नेतालाई बढो सम्मान दिएर राख्ने छौं ।’ नेता थापाले अहिलको काङ्ग्रेस जमेको पोखरी जस्तो भएको भन्दै अब पार्टीलाई बगेको नदी जस्तो जीवन्त बनाउने बेला आएको बताए । पार्टी सञ्चालनमा व्यक्तिगत सम्बन्धमा हावी भएकाले समस्या भएको उनको तर्क छ । ‘शीर्ष नेता मिलेका बेला विधान चाहिँदैन, जब सामान्य समस्या आउँछ अनि नेता विधान पल्टाउन थाल्नुहुन्छ’, उनले भने, ‘यही कारणले पार्टीभित्र समस्या उत्पन हुने गरेको हो ।’ रासस

बिग ब्यास लिगः सन्दीपको टोलीलाई दोसो सफलता

काठमाडौं, माघ २७ । अष्ट्रेलियामा जारी बिग ब्याश लिग (बीबीएल) अन्तर्गत नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध मेलबर्न स्टार्सलेले दिएको १६९ रनको लक्ष्य पछ्याउने क्रममा सिड्नी सिक्सर्सले दोस्रो विकेट गुमाएको छ । उसले ३ ओभरमा २५ रन बनाउँदे २ विकेट गुमाएको छ । यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको मेलबर्नले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनायो । उसका लागि सर्बाधिक कप्तान ग्लेन म्याक्सवलले ८२, पिटर ह्यान्सकम्बले ३५, मार्कस स्टोनिसले ३४, निक म्याठसनले १३ रन प्रहार गरे । बलिङमा सिड्नीका टोम कुरनले २, सीन अब्बोट र स्टीव ओ कीफेले समान एकएक विकेट लिए । सेमिफाइनल पुग्नका लागि सन्दीपको टोलीले आजको खेल जित्नैपर्ने हुन्छ।

फास्ट ट्रयाकअन्तर्गत निजगढतर्फको ८० प्रतिशत काम पूरा

पर्सा — बहुप्रतिक्षित काठमाडौं–निजगढ फास्ट ट्रयाकअन्तर्गत निजगढतर्फको ८० प्रतिशत काम पूरा भएको छ । नेपाली सेनाको सडक निर्माण कार्यदलले हालकै अवस्थामा निजगढतर्फ मात्र करिब ८० किमि प्रतिघण्टामा मोटर गुड्न सक्छ । ‘हालको अवस्थामा निजगढ कार्यदलले पाएको जिम्मेवारी मध्ये ७० देखि ८० प्रतिशत काम पूरा भएको छ,’ कार्यदलका प्रमुख मेजर राजेशकुमार देवले भने, ‘सडकको फरमेसन लेभल सकिन लाग्यो, अब सब–बेस र बेस गरिन्छ, त्यसपछि कालोपत्रे गर्न सकिन्छ ।’ ७६ किमिको फास्ट ट्रयाकमा निजगढ कार्यदलले अन्तिमविन्दु तर्फको (पूर्व-पश्चिम राजमार्गमा जोडिने) जिम्मेवारी पाएको छ । पूर्व–पश्चिम राजमार्गदेखि चुरे पहाडसम्म करिब १० किमि सडक निर्माणको जिम्मेवारी यो कार्यदलले पाएको हो । जसलाई प्राविधिक भाषामा ६६ जोड ३०० देखि ७५ जोड ४४७ च्यानेज भनिन्छ । सेनाले हाल अधिकतम ६४ मिटर चौडा सडक निर्माण गरिरहेको छ । अन्यत्र पनि यति नै चौडा सडक बनाइँदै छ । फास्ट ट्रयाक कालेपत्रे गरिएपछि तराईमा उक्त सडक २७ मिटर चौडा तथा ४ लेनको हुनेछ । पहाडमा भने २५ मिटर चौडा हुनेछ । निजगढ कार्यदलको जिम्मेवारीअन्तर्गतको सडकमा लालबकैया र बकैया गरी २ खोलाको पुल निर्माण गर्नुपर्नेछ । लालबकैयाको पुलको लम्बाई करिब ४ सय ५० मिटर र बकैयाको पुलको लम्बाई १ सय २० मिटर हुनेछ । फास्ट ट्रयाकमै जम्मा ९९ पुलमध्ये निजगढतर्फ २ वटा मात्र परेको छ । सरकारले पुलको टेन्डर आह्वान गरिसकेको छैन । एकै साथ ९९ वटा पुलको टेण्डर प्याकेजमै आह्वान हुनेछ । कार्यदलले उत्तरतर्फ चुरे पहाड क्षेत्रमा पहाड काट्ने र म्याग्नेट फिलिङको काम गरिरहेको मेजर देवको भनाइ छ । ‘हामी यस क्रममा चुरे पहाडको यस्तो भागमा पुगेका छौं, जहाँ सधैं सुक्खा पहिरो गइरहन्छ,’ उनले भने, ‘एकपटक ठूलो सुक्खा पहिरो गएर अवरोध आएको थियो, अहिले अवरोध पन्छाएर निर्माण तीव्र बनाएका छौं ।’ ललितपुरको खोकनादेखि बाराको निजगढसम्म फास्ट ट्रयाकलाई १० भागमा विभाजित गरी सेनाको १० कार्यदलले काम गरिरहेका छन् । निजगढ, बागदेव, राजदम्बार, बुदुने, लेनडाँडा, ढेड्रे, महादेवटार, सिस्नेरी, मख्खुबेंसी र खोकनामा गरी सेनाका कार्यदल खटिएका छन् । निजगढतर्फको करिब १० किमिमा करिब ८ हजार रुख काटिएका थिए । अब १ लाख वृक्षरोपणको तयारी भइरहेको देव बताउँछन् । ‘हामी वृक्षरोपणका लागि तयारी अवस्थामा छौं,’ उनले भने, ‘जिल्ला वन कार्यालयले जहाँ जमिन उपलब्ध गराउँछ, त्यहीं वृक्षरोपण गर्नेछौं ।’ तीव्र गतिको कामले सरोकारवालाहरू पनि सन्तुष्ट छन् । अभियन्ता रवि दंगालले सेनाले सन्तोषजनक रुपमा काम गरिरहेको बताए । ‘सेनाको १० वटै कार्यदलले आफ्नो जिम्मेवारी कुशलपूर्वक गरिरहेका छन्,’ उनले भने, ‘आशा गरौं यसै गतिमा काम भए वर्षाअघि कालोपत्रे र पुल निर्माणबाहेक अन्य काम पूरा हुनेछ ।’ होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछानेले फास्ट ट्रयाकको पुल तथा समग्र संरचना निर्माणलाई पनि सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने बताए । ‘यो मार्ग निर्माणको व्यग्र प्रतिक्षा गरेर हामी बसेका छौं,’ उनले भने, ‘राष्ट्रिय गौरवको यो आयोजना निर्माण गरी सरकारले जनतालाई उपहार दिने अवसर छ, आमनेपालीको चाहना बुझेर यसको निर्माण चाँडै गरिनुपर्छ ।’ व्यवसायी प्रमोद चौधरीले राजधानीलाई तराईसँग जोड्ने अत्यन्त छोटो यो मार्ग निर्माण भएपछि प्रदेश २ कै कायापलट हुने सम्भावना रहेको बताए । ‘फास्ट ट्रयाककै नजिक मुलुककै अर्को राष्ट्रिय गौरवको आयोजना निजगढ विमानस्थल पनि निर्माण हुने भएको छ,’ उनले भने, ‘यी दुबै आयोजनाले राजधानीको हवाईदेखि मानवीय चाप पनि घटाउनेछ ।’ निजगढ–काठमाडौं फास्ट ट्रयाकको निजगढतर्फको खण्ड । सेनाको निजगढ कार्यदलले करिब १० किमि सडक निर्माणमध्ये ८० प्रतिशत काम पूरा गरेको छ । -याे समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ