ओहो ! कति छिटो काटेको

कञ्चनपुरको शुक्लाफाँटा नगरपालीका–१० का किसान अत्याधुनिक रिवाइन्डर मेसिनद्वारा गहुँ काट्दै । इटलीबाट भित्र्याइएको यस मेसिनले मुठासमेत बाध्ने काम गर्दछ ।

तस्बिर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर

विश्व स्वास्थ्य मुख दिवस

इटहरी, चैत ७ । विश्व स्वास्थ्य मुख दिवसको अवसर पारेर सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रमा वृहत जनचेतना ¥याली निकालिएको छ । इटहरी उपमहानगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रबाट निकालिएको जनचेतना ¥यालीका सहभागिले मानिसको मुख तथा मुखजन्य क्षेत्रमा हुने रोग र त्यसबाट मानिसको स्वास्थ्यमा पुग्नसक्ने हानीनोक्सानी एवम् क्षतिका विषयमा सर्वसाधारणलाई जागृत गराई मुखमा हुने खराबीबाट जोगिनका लागि अपनाउनुपर्ने सावधानीका विषयमा लेखिएका ब्यानरसहित नगरको परिक्रमा गरेका थिए । स्वास्थ्य स्वयम्सेवी, चिकित्सकलगायतको सक्रिय सहभागितामा भएको सो कार्यक्रममा डा मना विक्रम, डा इन्द्रनारायण पाठक, इटहरी उपमहानगरपालिकाका कार्यकारी अधिकृत टीकादत्त राईलगायतले आफ्नो धारणा राखेका थिए ।

अब त्रिविको फारम अनलाइनबाट भर्न पाउने

काठमाडौं, चैत ७ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा अध्ययनरत विद्यार्थीका लागि खुसीको खबर छ । त्रिविको कुनै पनि फाराम भर्न घण्टौँ लाइनमा बस्नुपर्ने अवस्थाको अब अन्त्य हुने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले परीक्षा, रजिस्ट्रेसन र ट्रान्सक्रिप्ट लगायतका फाराम भर्न अनलाइन प्रविधि ल्याउन थालेको छ । त्यसमा पहिलो चरणमा त्रिविले उपत्यकाबाहिरका आङ्गिक क्याम्पसहरूबाट यो प्रविधि आरम्भ गर्न लागेको हो । उपत्यका बाहिरका विद्यार्थीलाई काठमाडौँ आउनुपर्ने झञ्झट हटाउन अनलाइनबाट फाराम भर्ने तयारी थालिएको त्यस कार्यालयले जनाएको छ । विगत ६ महिनादेखि अनलाइनबाट नै फाराम भर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको त्यस कार्यालयको कार्य तालिकाअनुसार यो अनलाइन प्रणाली अहिलेसम्म सुरु भइसक्नु पथ्र्यो तर प्राविधिक काम अझै बाँकी रहेकाले एक महिना थप गरिएको बताइएको छ । ‘उपत्यका बाहिरका विद्यार्र्थीलाई वार्षिक परीक्षा, रजिस्ट्रेसन र ट्रान्सक्रिप्ट लगायतका फारम भर्न काठमाडौँ आउनुपर्ने झञ्झटबाट मुक्ति दिन यो अनलाइन प्रणालीको विकास गर्न थालिएको हो, तर प्राविधिक काम समयमै नसिकिएकाले एक महिनाको समय थप गरेका हौँ, अब छिट्टै अनलाइन प्रक्रिया सञ्चालन गर्छौँ,’ परीक्षा नियन्त्रक केशवराज बास्तोलाले भने । कार्यालयले सञ्चालनमा ल्याउने अनलाइन वेबसाइटमा आधारित (वेब बेस्ड) सफ्टवेयर त्रिविले आफ्नै जनशक्तिबाट तयार गर्न लागेको हो । ‘हामी अहिले यो प्रणालीको परीक्षण चार विकास क्षेत्रका पाँचवटा आङ्गिक क्याम्पसबाट गर्दैछौँ । यसका लागि चाहिने इन्टरनेट र भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) नेपाल टेलिकमसँगको सहकार्यमा जोड्ने प्रक्रिया अगाडि बढेको छ’, उनले भने । परीक्षा नियन्त्रक बास्तोलाका अनुसार २०५४ सालअघिको विद्यार्थीका सबै तथ्याङ्क पुरानो सफ्टवेयरमा रहेकाले नयाँ सफ्टवेयरमा ती विद्यार्र्थीको तथ्याङ्क सार्ने कार्य भइरहेको छ । अनलाइन फाराम भरेको एक हप्ताभित्र केन्द्रीय कार्यालयबाट विद्यार्थीले ट्रान्सक्रिप्ट पाउनेछन् । पहिलो चरणमा इलाम, सिराहा, भरतपुर, बुटवल, धनगढीमा रहेका त्रिविका पाँचवटा आङ्गिक क्याम्पसमा परीक्षणको रूपमा अनलाइन फाराम भर्ने प्रविधि सञ्चालन गर्ने तयारीमा परीक्षा नियन्त्रक कार्यत्रलय जुटेको छ । ‘हामीले उपत्यकाबाहिरका विद्यार्र्थीलाई सजिलो होस् भनेर अनलाइन फाराम सञ्चालनमा ल्याउन लागेका हौँ, अनलाइनबाट फाराम भर्ने प्रणााली सुरु भएपछि विद्यार्थीले आफ्नो ठाँउबाट अनलाइनमा फाराम भरेर सिधै केन्द्रीय कार्यालयमा आएर ट्रान्सक्रिप्ट लिन पाउँछन्’, नियन्त्रक बास्तोलाले भने । त्यसो त केही वर्षयता त्रिविले निजी अनलाइनबाट सबै नतिजा प्रकाशन गदैँ आएकोमा अनलाइन फाराम सञ्चालनसँगै सबै नतिजा त्रिविकै वेब साइटमार्फत प्रकाशन गर्ने जनाएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

थप चार दलद्धारा समर्थन फिर्ता

काठमाडाैं,  चैत ४ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आवद्ध थप चार दलले पनि सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएका छन् । तमलोपा, सद्भावना, राष्ट्रिय मधेस समाजवादी पार्टी र फोरम गणतान्त्रिकले बिहीबार संसद् सचिवालयमा पत्र दर्ता गर्दै समर्थन फिर्ता लिएको जानकारी गराएका हुन् । यसअघि बुधबार संघीय समाजवादी फोरमले सभामुख ओनसरी घर्तीलाई भेटी समर्थन फिर्ता लिएको पत्र बुझाएको थियो । मोर्चा आवद्ध चार दलले बिहीबार सभामुखको अनुपस्थितिमा संसद् सचिवालयमा समर्थन फिर्ताको पत्र औपचारिक रूपमा दर्ता गराएका हुन् । समर्थन फिर्ता लिने मोर्चा आवद्ध पाँच दलका ३५ सांसद छन् । संघीय समाजवादी फोरमका १५, तमलोपाका ११, सद्भावनाका पाँच, राष्ट्रिय मधेस समाजवादीका तीन र फोरम गणतान्त्रिकका एक सांसद छन् । मोर्चामा सात दल आवद्ध छन् । तराई मधेस सद्भावना पार्टी र नेपाल सद्भावना पार्टीले भने संसद् सचिवालयमा औपचारिक रूपमा पत्र दर्ता गराएको छैन । तर, उनीहरूले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने मोर्चाको निर्णयमा सहमति जनाएका छन् । यो खबर अाजको नयाँ पत्रिकामा छ ।

प्रधानमन्त्रीको चीन भ्रमण राजकीय हुने

काठमाडौं, चैत ४  ।  प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण राजकीय हुने भएको छ । उनलाई बेइजिङमा राष्ट्रपति सी चिनफिङ भेटघाटको रेड कार्पेट ओछ्याइने भएको हो । उनले बेइजिङमा उच्चस्तरको भेटघाट गरेपछि मात्र बोआओ फोरममा सहभागी गराउने तयारी अघि बढेको परराष्ट्र स्रोतले बतायो । चैत १० मा प्रचण्ड चीन जानेगरी प्रत्रिया अघि बढेको छ । उनी सुरुमा बेइजिङ पुग्नेछन् त्यहाँ राष्ट्रपति सी चिफिङसँग भेट गरेर बोआओ फोरममा आउने तयारी छ । यसअघि बोआओबाट त्यसतर्फ जाने भनिएको थियो । बेइजिङमा राजनीतिक वार्ता गरेर मात्र वोआओ फोरममा आउने भएपछि त्यहीअनुरुप मिलाइने भएको हो । प्रचण्डको भ्रमणलाई लिएर चिनियाँ राजदूत यू होङसहितको टोलीले परराष्ट्रमन्त्री प्रशाशशरण महतसँग बिहीबार भेटेर तयारीबारे छलफल समेत गरेकी थिइन् । परराष्ट्रमन्त्रीसँग भएको छलफलमा दुईपक्षीय समझदारी र प्रधानमन्त्रीको भ्रमण मोडेलबारे छलफल भएको अधिकारीहरुले बताए । भ्रमणमा प्रधानमन्त्रलिे नेपालको पछिल्लो राजीतिक अवस्था र नेपाल एक चीन नीतिप्रतिको प्रतिबद्धतामा चीनलार्य आश्वस्त पार्ने काम हुनेछ । यो खबर आजको कान्तिपुरमा  छ ।

भारतका कारण पाँच दिनदेखि सवारी आवागमन ठप्प

काठमाडौं, चैत  २ ।  कञ्चनपुरको गड्डाचौकी–बनवासा नाकामा पाँच दिनदेखि सवारी आवागमन ठप्प छ । भारतीय पक्षले गत बिहीबार कञ्चनपुरको पुर्नवासमा भएको घटनापछि सवारीसाधन सञ्चालन रोकेको हो । घटना भएको पाँच दिन हुँदासम्म सवारीसाधन सञ्चालनमा लगाइएको अवरोध हटाइएको छैन । पाँच दिनदेखि सीमा क्षेत्रमा सवारीसाधन सञ्चालन नहुँदा दुवै देशका नागरिकलाई आवागमन गर्न असहज भएको छ । भारतबाट काम गरेर फर्किने नेपाली बनवासा पुलपारिदेखि नै हिँडेर यात्रा गर्न बाध्य छन् । तरकारी लगायत खाद्यान्न बोक्ने सवारीसाधनसमेत नेपाल भित्रिन सकेका छैनन् भने नेपालबाट समेत कुनै पनि सवारीसाधन भारततर्फ जान सकेका छैनन् । बिहीबार कञ्चनपुरको पुर्नवासमा भारतीय सुरक्षाकर्मीले चलाएको गोली लागी गोविन्द गौतमको ज्यान गएकपछि महेन्द्र नगरमा आक्रोशित युवाले भारतीय सवारीसाधन तोडफोड गरेका थिए । आफ्ना सवारी साधन तोडफोड हुनसक्ने भन्दै भारतीय पक्षले सवारी आवागमनमा रोक लगाएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायव निरिक्षक कृष्णराज पन्तले बताए । यो खबर आजको अन्नपूर्ण पोस्टमा  छ ।

लाइभः नेपाललार्इ पहिलो झड्का, धमला आउट

काठमाडौं, फागुन ३० । आइसिसी विश्व क्रिकेट लीग अन्तर्गत केन्याले दिएको १५६ रनको लक्ष्य पछ्याएर व्याटिङमा उत्रिएको नेपालको पहिलो विकेट पतन भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तीपुरमा जारी खेलको दोस्रो ओभरको दोस्रो बलमा ओपनर सुनिल धमला शून्य रनमा क्याच आउट भएका छन् । नेपालले व्याटिङ सुरु गरेको छ । आज पनि नेपालका लागि ओपनिङमा कप्तान ज्ञानेन्द्र मल्ल र सुनिल धमला छन् । केन्याले दिएको १५६ रनको चुनौति नेपालले पछ्याइरहेको हो । टस हारेर पहिले व्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा ४६ दशमलब एक बलमा अक आउट भएर १५५ रन बनायो । नेपालका लागि शरद भेष्वाकरले ४ विकेट लिए ।

लाइभः केन्याद्वारा नेपाललाई १५६ रनको चुनाैति, शरदले लिए ४ विकेट

बसन्तले लिए केन्याको नवौ विकेट काठमाडौं, फागुन ३० । आइसीसी विश्व क्रिकेट लीग च्याम्पियनशीप अन्तर्गत नेपालसँगको खेलमा केन्याले १५६ रनको चुनाैति पेश गरेको छ । त्रिवि क्रिकेट मैदान किर्तीपुरमा टस हारेर व्याटिङ गरिरहेको केन्याले निर्धारित ५० अोभरको खेलमा ४६ अोभर एक बलमा अलअाउट हुँदै १५५ रन मात्रै बनायो । नेपालका लागि शरद भेषवाकरले सर्वाधिक ४ विकेट लिए । पार्टटइम बलर शरद भेषावकरले ४ विकेट लिएपछि केन्याको इनिङ ध्वस्त भएको हो । उनले ७ ओभर १ बल बलिङ गर्दै २८ रन दिएर ४ विकेट लिए । खेलको चौथो ओभरमै भेट्रान अलराउण्डर मेहवुव आलमले दुई विकेट लिएर केन्याको विकेट पतन सुरुवात गरेका थिए । तर केन्याका इरफान करिम र कोलिन्स ओवायेले तेस्रो विकेटका लागि ७९ रनको ठोष शाझेदारी गरेपछि केन्याले रनरेट बढाउन सफल भयो । २७।२ ओभरमा सन्दीप लामिछानेले ओवायेलाई आउट गराएसागै केन्याको इनिङ ध्वस्त हुन सुरु भयो । ओवाये ४८ रनको व्यक्तिगत स्कोरमा आउट भएका थिए । यस्तै बसन्त रेग्मी र मेहबुब अालमले समान दुई दुई विकेट लिए । सन्दीप लामिछाने, बसन्त रेग्मी र सागर पुनले एक एक विकेट लिएका छन् । संदीलेपले बिहिबार केन्यासँगकै खेलमा दुई विकेट लिएका थिए । नेपालका अर्का बलर मेहबुब आलमले ७ ओभर बलिङ गरेर केन्याको दुई विकेट लिएका छन् । उनले पाँच ओभरमा कुनै पनि रन दिएनन् । जम्मा सात ओभरमा उनले जम्मा ११ रन मात्रै दिए ।

लाइभः केन्याको छ विकेट पतन, सागरले लिए विकेट

काठमाडौं, फागुन ३० । आइसीसी विश्व क्रिकेट लीग च्याम्पियनशीप अन्तर्गत नेपाल र केन्याबीचको खेलमा केन्याको छ विकेट पतन भएको हो । छैटौ विकेट नेपालका सागर पुनले लिएका हुन् । त्रिवि क्रिकेट मैदान किर्तीपुरमा टस हारेर व्याटिङ गरिरहेको केन्या ४२ अोभरमा १३५ रन बनाइ खेलिरहेको छ । नेपालका मेहबुब अालमले दुई,सन्दीप लामिछाने, बसन्त रेग्मी, सागर पुन र शरद भेषवाकरले समान एक एक विकेट लिएका छन् । संदीलेपले बिहिबार केन्यासँगकै खेलमा दुई विकेट लिएका थिए । नेपालका अर्का बलर मेहबुब आलमले ७ ओभर बलिङ गरेर केन्याको दुई विकेट लिएका छन् । उनले पाँच ओभरमा कुनै पनि रन दिएनन् । जम्मा सात ओभरमा उनले जम्मा ११ रन मात्रै दिए । यस्तै सागर पुनले पनि कसिलो बलिङ गरेका छन् । पाँच ओभर बलिङ गरेका सागरले जम्मा १२ रन दिएका छन् । जारी १९ ओभरको खेल चलिरहँदा केन्याले दुई विकेट गुमाएर ४४ रन जोडेको छ । नेपालका लागि मेहबुब आलमले केन्याको दुबै विकेट लिएका हुन् ।

नेपाल केन्यासँग ५ विकेटले पराजित

काठमाडौँ, फागुन २८ । विश्व क्रिकेट लिग च्याम्पियनसीपको केन्यासँगको खेलमा नेपाल पाँच विकेटले पराजित भएको छ । डिएल मेथडअनुसार केन्याले ९३ रनको लक्ष्य २४.१ ओभरमा ५ विकेट गुमाएर भेट्टाएको हो । बर्षाका कारण खेल प्रभावित भएपछि डिएल मेथडअनुसार केन्याले २९ ओभरमा १०४ रनको लक्ष्य पाएको थियो । फेरि बीचमा वर्षा भएपछि अब केन्याले २६ ओभरमा ९३ रन बनाउनुपर्ने थियो । केन्याका लागि कप्तान रकिप पटेलले सर्वाधिक ३४ रन बनाए । इर्फान करिमले कोलिन्स ओबुयाले २४ रन बनाए । वर्षाका कारण खेल ३६ ओभरमा पुग्दा रोकिएको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३६ ओभरमा पुरा ८ विकेट गुमाएर ११२ रन बनाएको थियो । तर, वर्षाका कारण लक्ष्य नयाँ लक्ष्य दिइएको थियो । वर्षाका कारण ३८ ओभरमा खेलाइएको खेलको पहिलो पारीमा नेपाली ब्याट्सम्यानले फितलो प्रदर्शन गरे । केन्याका बलरहरुले ओसिलो मैदानमा घरेलु टोलीलाई खुलेर खेल्न दिएनन् । अस्वस्थताका कारण कप्तान पारस खड्का नखेलेपछि आज ज्ञानेन्द्र मल्लले नेपालको कप्तानी सम्हालेका थिए । खेलमा ज्ञानेन्द्रले सर्वाधिक २७ रन बनाए । आजबाट राष्ट्रिय टिममा डेब्यू गरेका दिपेन्द्रसिंह ऐरीले १९ रन बनाए । ओपनर सुनिल धमला ३ रन मात्र बनाएर पेभिलियन फर्किए । सागर पुन १० रनमा आउट भए । शरद भेषावकरले पनि ३ रन मात्रै बनाउन सके । विनोद भण्डारी ४ रन बनाएर फर्किँदा मेहेबुब आलमले २ रन मात्रै जोडे । बसन्त रेग्मी ६ रनमा समेटिए । शक्ति गौचन र सोमपाल कामीले नवौं विकेटका लागि अविजित ३० रनको साझेदारी गरेका छन् । यो नेपालको इनिङमा सबैभन्दा धेरै रनको साझेदारी हो । पहिलो विकेटका लागि ज्ञानेन्द्र मल्ल र सुनिल धमलाले २१ रनको साझेदारी गरेका थिए । केन्याका लागि सेम नोङ्चे नेपालको ३ विकेट झारे । नेल्शन ओडिएम्बोले २ विकेट लिए । नेहिएम ओडिएम्बो, एलिज एन्टेनिओ र रकेप पटेलले एक(एक विकेट लिए ।

केन्याको चाैथाे विकेट पतन

काठमाडौं, फागुन २८ । आइसीसी वलर्ड क्रिकेट लीग च्याम्पियनशीपमा केन्याको चाैथाे विकेट पतन भएकाे छ । वर्षाका कारण खेल भइरहँदा बीचमै खेल रोकिएपछि डकविथ लुइस नियम अनुसार केन्याले १०४ रनको लक्ष्य पछ्याइँरहँदा सुरुवाती चार विकेट गुमाएको हो । शनिबार त्रिवि क्रिकेट मैदान किर्तीपुरमा टस हारेर व्याटिङ पाएको नेपालले निर्धारित ३८ ओभरमा झारिएको खेलमा ११२ रन बनाएको थियो । तर फेरि वर्षा भएपछि २९ ओभरमा घटाइएको थियो । नेपालका बसन्त रेग्मीले १, सागर पुनले २ र सन्दिप लामिछानेले १ विकेट लिएका हुन् ।  १६ ओभरको खेल जारी भइरहँदा केन्या ४ विकेट गुमाएर ६५ रन बनाइ खेलिरहेको छ ।

ज्ञानेन्द्र आउट, दश ओभरमा नेपालको ४३ रन

काठमाडौं, फागुन २८ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र केन्याबीचको खेलमा नेपालको कप्तान आउट भएका छन् । उनी व्यक्तिगत २७ रन बनाइ बोल्ड आउट भए । त्रिवि मैदान किर्तिपुरमा टस हारेर व्याटिङको निम्तो पाएको नेपालले दश ओभरको खेल सकिँदा दुई विकेट गुमाई ४३  रन जोडेको हो । ओपनिङ व्याट्स्म्यान सुनिल धमला व्यक्तिगत तीन रन बनाइ क्याच आउट भए ।

हार्ने डरले प्रेस चौतारी षडयन्त्र बुन्न लागेको आरोप

काठमाडौ, फाल्गुन २७ । चैत्र १ गते हुन गइरहेको ललितपुर पत्रकार महासंघको अधिवेशनको पूर्वसन्ध्यामा बिभिन्न राजनीतिक दल निकट पत्रकार संघहरुबीच चुनावमा जित हासिल गर्न छिनाझपटका घटनाहरु हुन थालेका छन् । यसैबीच प्रेस सेन्टर नेपाल, नेपाल प्रेस युनियन र प्रेस सोसाइटीले आज एक संयुक्त वक्तव्य निकाली एमाले निकट प्रेस चौतारी नेपालले चुनावमा आफूहरु हार्ने देखेपछि अमर्यादित षडयन्त्र गर्ने प्रयास गरेको आरोप लगाएका छन् । विज्ञप्तिमा हिजो मात्रै प्रेस चौतारीले विप्लव निकट क्रान्तिकारी पत्रकार संगठनसँग मिलेर प्रेस युनियन र प्रेस सोसाइटीका प्रतिनिधिहरुलाई झुक्याएर नेपाल पत्रकार महासंघ ललितपुरबिरुद्ध वक्तव्यवाजी गराएको उल्लेख छ । प्रेस चौतारीको अगुवाइमा जारी हिजोको वक्तव्यमा ललितपुर पत्रकार महासंघका अध्यक्ष लेखनाथ न्यौपानेले थुप्रैलाई कीर्ते सदस्यता प्रदान गरेको आरोप लगाइएको छ । महासंघको विधि विधान अनुसार नै ललितपुरमा सदस्यता वितरण तथा नवीकरण गर्ने काम भएको हुँदाहुँदै पनि त्यस्तो वक्तव्य जारी गर्नु र महासंघको कार्यालयमा तालाबन्दी गर्नु नितान्त अधिवेशन बिथोल्ने प्रयास मात्र भएको प्रेस सेन्टर, प्रेस युनियन र प्रेस सोसाइटीका पदाधिकारीहरु बताउँदछन् । हिजो जारी वक्तव्य षडयन्त्रमूलक भएको कुरा आज प्रेस युनियन र प्रेस सोसाइटीका आधिकारिक प्रतिनिधिहरुले प्रेस सेन्टरसँग अर्को संयुक्त प्रेस वक्तव्य जारी गर्नुले पुस्टि मिलेको पत्रकारहरु माझ चर्चाको विषय बनेको छ । प्रेस सोसाइटीका गणेश आचार्यले उनलाई हिजो झुक्याएर वक्तव्यमा हस्ताक्षर गराएको कुरा आज बाहिर प्रचारमा ल्याएका छन् । यस्तै गरी काठमाडौं पत्रकार महासंघको कार्यालयमा पनि विवादका कारणले भइरहेको तालाबन्दी अहिलेसम्म खुलेको छैन ।पत्रकारजस्तो राज्यको चौथो अङ्गका वौद्धिकहरुले देखाएको यस्तो हर्कतले गलत राजनीतिक संस्कारको प्रभावलाई प्रदर्शित गरेको छ ।

स्कुल अगाडि सकेट बम फेला, विद्यार्थी र स्थानियवासी आतंकित

राजविराज,  फागुन १९ ।  सदरमुकाम राजविराजमा बुधबार पुन अर्को सकेट बम फेला परेको छ । राजविराज ५ स्थित लक्ष्मी इङ्लिस बोर्डिङ स्कुल अगाडि बिहान सकेट बम फेला परेपछि विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । स्कुल अगाडि अखिल तराई जनतान्त्रिक मुक्ति मोर्चा (क्रान्तिकारी) को रातो पर्चासहित सकेट बम फेला परेपछि पढ्न गएका विद्यार्थी र स्थानियवासी आतंकित भएका थिए । बिहान उठेका स्कुलका कर्मचारीले पर्चासँगै कालो बट्टा देखिेपछि प्रहरीलाई खबर गरेका थिए । उक्त स्थानबाट जयकृष्ण गोइत नेतृत्वको मोर्चाको पर्चा बरामद गरेको प्रहरीले बताएको छ । श्रीकृष्ण दल गणबाट पुगेको सेनाको बम डिस्फोजल टोलीले बम निष्क्रिय पारेको हो । मंगलबार पनि यहाँ बम फेला परेको थियो । यो खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

सिन्धुपाल्चोकमा महेश श्रेष्ठ विजयी

मेलम्ची, फागुन १८ गते । नेपाल पत्रकार महासङ्घ सिन्धुपाल्चोक शाखाको दशौँ अधिवेशन हिजो राति अबेर सम्पन्न भएको छ । अधिवेशनमा भएको निर्वाचनमा सभापति पदमा महेश श्रेष्ठ ६० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँले सभापतिका प्रतिस्पर्धी युवराज पुरीलाई एक मत अन्तरले मात्र पराजित गर्नुभएको थियो । त्यसैगरी, खुला उपाध्यक्षमा ज्ञानेन्द्र तिमल्सिना ७१ मत, महिला उपाध्यक्षमा दुर्गा आचार्य ६५, सचिवमा दिनेश थापा ६५, खुला सहसचिवमा किशोर बुढाथोकी ७२, समावेशी सहसचिवमा केदार माझी ६८, खुला कोषाध्यक्षमा विदुर गिरी ६१ मतसहित निर्वाचित हुनु भएको छ । यस्तै, खुला सदस्यतर्फ आदित्य दाहाल ६०, सुरेश बुढाथोकी ६८, सुन्दर शिरिष ६१ तथा समावेशी सदस्यतर्फ सिर्जना बराल निर्विरोध, जनजातितर्फ नेत्र तामाङ ५७, महिला सदस्यतर्फ कमला तामाङ ५४ मतसहित निर्वाचित हुनु भएको जिल्ला निर्वाचन अधिकृत अमित घिमिरेले जानकारी दिनुभयो । रासस

बाह्र हप्तासम्मको निःशुल्क गर्भपतन सेवा सुरु

सिन्धुली, फागुन १६ । सिन्धुली अस्पतालमा १२ हप्तासम्मको निःशुल्क सुरक्षित गर्भपतन सेवा सुरु भएको छ । जथाभावी गर्भपतन गराउँदा महिलाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै अस्पतालमा नै निःशुल्क सुरक्षित गर्भपतन सेवा सुरु भएको हो । पहिला रु ९९९ शुल्क लिएर सुरक्षित गर्भपतन सेवा दिँदै आएको अस्पतालले फागुन १ बाट सिन्धुली अस्पतालमा निःशुल्क सुरक्षित गर्भपतन सेवा सुरु गरेको जनाएको छ । गर्भको अवस्था पहिचान नगरी जथाभावी औषधि प्रयोग गर्ने तथा प्राइभेट क्लिनिकमा अदक्ष चिकित्सकबाट जथाभावी गर्भपतन गराएमा महिलाको स्वास्थ्यमा गम्भीर असर पर्ने निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन डा सुमित्रा गौतमले जानकारी दिनुभयो । सिन्धुली अस्पतालमा यसअघि रु ९९९ शुल्क लिएर सुरक्षित गर्भपतन सेवा सञ्चालन गरे पनि दक्ष चिकित्सकको अभावमा प्रभाकारी रुपमा सञ्चालन हुन सकेको थिएन । गत वर्षबाट शुल्कमा सुरक्षित गर्भपतन सेवा सञ्चालन भएपश्चात् १४९ जनाले सो सेवा लिएका थिए । यस वर्षको माघ मसान्तसम्म करिब १५० जनाले सेवा लिएका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन गौतमले जानकारी दिनुभयो । निःशुल्क सेवा सुरु भएपछि दैनिक दुईदेखि तीनजना सेवा लिन आउने गरेको गौतमले बताउनुभयोे । उहाँले निःशुल्क र दक्ष डाक्टरबाट सुरक्षित गर्भपतन सेवा सिन्धुली अस्पतालमा सुरु भएकाले सेवा लिन आउन १२ हप्तासम्मका गर्भ भएका तर सन्तानका चाहना नभएका दम्पतीलाई आग्रह गर्नुभयो । सिन्धुली अस्पताल ५० श्ययाको भएपश्चात् आधुनिक ल्याब, एक्स–रे मेसिनद्वारा सेवा दिइरहेको निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन गौतमले बताउनुभयो ।