प्रतिनिधिसभाका उम्मेदवारले ३ वटा सम्पर्क कार्यालय खोल्न पाउने

काठमाडौं । प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरुले ३ वटासम्म सम्पर्क कार्यालय खोल्न पाउने भएका छन् ।

निर्वाचन आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै उम्मेदवारहरुले आफ्नो क्षेत्रमा प्रदेश निर्वाचन क्षेत्र समेट्ने गरी बढीमा तीन वटा सम्पर्क कार्यालय खोल्न सक्ने बताएको हो ।

प्रदेशसभा सदस्यका उम्मेदवारहरुले भने एउटा मात्र सम्पर्क कार्यालय खोल्न पाउनेछन् । आयोगका अनुसार प्रदेश र प्रतिनिधिसभाका समानुपातिक उम्मेदवारहरुले भने एउटा मात्र सम्पर्क कार्यालय खोल्न पाइने छ ।

हेर्नुहोस् निर्वाचन आयोको सूचना

बालेन विरुद्ध एमालेले उचाल्यो व्यवसायी, घेरे काठमाडौं महानगर

काठमाडौं । एमालेको मजदुर संगठनको अगुवाइमा फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग राख्दै फुटपाथ व्यवसायीहरुले काठमाडौं महानगरपालिका घेराउ गरेका छन् । जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघको अगुवाइमा फुटपाथ व्यवसायीहरुले महानगर घेराउ गरेका हुन् । केहि समयअघि अल्फाविटा कम्पेलेक्समा मेयर बालेनले डोजर चलाएपछि एमाले नेता महेश बस्नेतले आक्रामक अभिव्यक्ति दिदै आएका थिए ।उनले मेयर बालेनलाई भौतिक रुपमा सम्झाउनुपर्ने बताएका थिए । अहिले उनकै पार्टी एमालेको डिजाइनमा महानगरको अभियान विरुद्ध आन्दोलन सुरु गरिएको हो । फुटपाथ एवं साना व्यवसायीलाई विकल्प नदिई काठमाडौं महानगरले हटाएको भन्दै उनीहरले प्रदर्शन गर्दै महानगर घेराउ गरेका हुन् । साना व्यवसायीहरु सुन्धारामा जम्मा भएर भद्रकाली हुँदै महानगर कार्यालय पुगेका हुन् । फुटपाथ एवं साना व्यवसायीलाई गरीखाने वातावरण बनाउने कुरा जायज भएपनि डिजाइनमा भू–माफियाहरु जोगाउन एमाले लागि परेको कतिपयको बुझाई छ ।

हट्यो भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

दोधारा चाँदनी। कञ्चनपुरको दोधारा चाँदनीका बासिन्दालाई भारतीय बाटो भएर महेन्द्रनगर आउनुपर्ने बाध्यता हटेको छ । भीमदत्त नगरपालिका –१२ स्थित महाकाली नदीमा चार लेनको पक्की पुल बनेपछि यहाँका बासिन्दालाई भारतको शारदा ब्यारेज हुँदै महेन्द्रनगर आवतजावत गर्नुपर्ने बाध्यता हटेको हो । विसं २०७४ मा निर्माण सुरु गरिएको पुलको काम सम्पन्न भइसकेको छ, भने पुलसँगै पहुँच मार्ग पनि निर्माण भइरहेको छ । पुल सञ्चालनमा आएपछि हाल दोधारा चाँदनीका बासिन्दाले यही बाटो प्रयोग गरेर आवतजावत गर्ने गरेका छन् । यसअघि पैदलयात्रु र दुई पाङ्ग्रे सवारीसाधनको आवागमन झण्डै डेढ किलोमिटर लामो झोलुङ्गे पुलबाट हुने गरे पनि चारपाङ्ग्रे सवारीसाधन भारतको शारदा ब्यारेजबाट मात्र सम्भव थियो । महाकाली नदीमा पक्की पुल बनेपछि त्यो बाध्यता अन्त्य भएको छ । दोधारा चाँदनी नगरपालिका–३ का अध्यक्ष हरि सिंह धनाडीले महाकाली नदीमा बनेको मोटरेवल पुलले दोधारावासीलाई धेरै राहत मिलेको बताए । “हामीलाई सर–सामान ल्याउन धेरै समस्या हुन्थ्यो शारदा ब्यारेजमा भारतीयले ढोका नखोल्ने, घण्टौं कुर्नुपर्ने बाध्यता थियो ।” उनले भने,“सबैभन्दा ठूलो समस्या बिरामी अस्पताल लैजान हुन्थ्यो महेन्द्रनगर जान चारपाङ्ग्रे सवारी शारदा ब्यारेजबाट मात्रै सम्भव थियो ।” दोधारा–चाँदनी नगरपालिकालाई दुई दशकअघि बनेको एक हजार चार सय ९५ मिटर लामो झोलुङ्गे पुलले पनि निकै राहत दिएको थियो । मानिसको आवतजावत र दुई पाङ्ग्रे सवारी साधनले महाकाली तर्न यही झोलुङ्गे बनेपछि मात्र सम्भव भएको थियो । “शारदा ब्यारेजमा भारतीय पक्षको एकाधिकार भएका कारण यो बाटो आवतजावत गर्दा धेरै दुःख झेल्नुपरेको थियो ।” वडाध्यक्ष धनाडीले भने–“अहिले पुल बन्दा आफ्नै सवारीसाधन प्रयोग गरेर महेन्द्रनगर सदरमुकाम आउजाउ गर्न सहज भएको छ ।” महाकाली पारीको गाउँ भनेर समेत चिनिने दोधारा चाँदनी नगरपालिकामा ५४ हजार बढी जनसङ्ख्या छ । “महेन्द्रनगर सदरमुकाम आउन भारतको घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ ।” दोधारा चाँदनीवासी आकृति कसेराले भने–“अब भारतीय सुरक्षाकर्मीको अनावश्यक तनाव झेल्नुपर्ने छैन,महाकालीमा बनेको पुलले धेरै सजिलो भएको छ ।” उनले यसअघि महेन्द्रनगरबाट सर–सामान दोधारा चाँदनी ल्याउन निकै सकस हुने गरेको बताए । पुल निर्माण कम्पनी कुमार श्रेष्ठ सीएफईसी जेभीका इञ्जिनीयर किशोर पाण्डेयले पुलको काम सम्पन्न भइसकेको बताए । “अहिले पुलबाट अस्थायी रुपमा दोधाराचाँदनी आवतजावत भइरहेको छ ।” उनले भने,“पुलको पहुँच मार्ग र पोखरी निमार्ण गर्न बाकी छ ।” उनका अनुसार पुल निमार्णको ९० प्रतिशत भौतिक प्रगति भएको छ भने ८१ प्रतिशत वित्तीय प्रगति भएको छ । आठ सय मिटरको लम्बाइ र २३ दशमलव आठ मिटरको चौडाइ रहेको पुल निर्माणसँगै गड्डाचौकीसम्म जोड्ने छ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । दोधाराचाँदनी नगरपालिकाको चाँदनीतर्फ डेढ किलोमिटर चार लेनको सडक निर्माण अन्तिम चरणमा रहेको उहाँले बताउनुभयो । पुलसँगै पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न नदीका दुवै किनार तर्फको ६००/६०० मिटरसम्म ठूलो पोखरीसमेत निर्माण हुने महाकाली पुल आयोजना कार्यालयले जनाएको छ ।

केन्यामाथि नेपालको जित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु टोली केन्याविरुद्धको टी–ट्वान्टी सिरिज अन्तर्गत पहिलो खेलमा जित निकालेको छ । बिहीबार भएको खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको हो । नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले जितका लागि दिएको १३० रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर २ बलमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३३ रनको योगदान गरे । त्यस्तै ज्ञानेन्द्र मल्लले २३ रन बनाउँदा आसिफ शेखले १९ रनको योगदान गरे । नेपालका लागि आरिफ शेखले २४ रन बनाउँदा रोहित पौडेलले १३ रन जोडे । बलिङतर्फ केन्याका लागि लुकास ओउच र विराज पटेलले दुई–दुई विकेट लिए । त्यस्तै निहेमिहा ओडिआम्बोले एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा ८ विकेट गुमाएर १३० रन बनायो । केन्याका लागि इर्फान करिमले सर्वाधिक ३४ रनको योगदान गरे । त्यस्तै लुकास ओउचले ३० रन बनाउँदा नेल्सन ओडिम्बेले १९, सचिन बुढाइले १७ रन जोडे । बलिङतर्फ नेपालका लागि सोमपाल कामीले सर्वाधिक तीन विकेट लिए । त्यस्तै कप्तान सन्दीप लामिछानेले दुई विकेट लिँदा आदिल अन्सारी र दिपेन्द्र सिंह ऐरीले एक–एक विकेट लिए जितसँगै पाँच खेलको सिरिजमा नेपालले १–० को अग्रता बनाएको छ । नयाँ प्रशिक्षक मनोज प्रभाकरको पनि जितसँगै यात्रा सुरु गरेका छन् । दुई टोलीबीचको दोस्रो खेल भदौ १० गते हुनेछ ।

सभामुख सापकोटासँगको भेटमा जिसिटिपिले भन्यो – नेपालको शान्ति प्रक्रियाबाट सिक्न चाहन्छौं

भदौ ७ काठमाडौं । ग्लोबल काउन्सिल फर टोलरेन्स एण्ड पिस (जिसिटिपि) का उच्च अधिकारीहरुले सभामुख अग्निप्रसाद सापकोटासँग भेटेर नेपालको शान्ति प्रक्रियाबाट विश्वले सिक्न चाहेको बताएका छन् । जिसिटिपिका अधिकारीहरुले सोमबार सभामुख सापकोटासँग सिंहदरबारस्थित उहाँको कार्यकक्षमा भएको शिष्टाचार भेटमा नेपालबाट धेरै कुरा सिक्न चाहेको बताएका हुन् । भेटमा विश्व शान्ति र सहिष्णुता क्षेत्रमा काम गर्न विश्वका ९० बढि देश संलग्न जिसिटिपिका बर्तमान अध्यक्ष अहमद अल जरवानले भने – ‘शान्ति र सहिष्णुताको संस्कार सबैले अंगिकार गर्नु आवश्यक छ, यसका लागि हामीले नेपालको शान्ति प्रक्रियाबाट धेरै सिक्नु छ ।’ अध्यक्ष जरवानले नेपालको शान्ति स्थापनाको  राम्रो उदाहरण रहेको एवं विविधताबीच एकता कायम रहेको कुराले विश्वका धेरै देशका सांसदलाई नेपाल आउन प्रेरित गरेको बताए । प्रतिनिधि मण्डलका सदस्यहरुले विश्व शान्तिका लागि संयुक्त राष्ट्रसंघ मार्फत शान्ति सेना पठाएर गरेको सहयोग तथा बुद्धको जन्मथलोका रुपमा विश्वभर शान्तिको सन्देश दिएको देश नेपालमा निकट भविश्यमा ग्लोबल कन्फरेन्स गर्ने इच्छा व्यक्त गरेको थियो । भेटमा सभामुख सापकोटाले वर्तमान विश्व परिवेशमा शान्ति र सहिष्णुताको महत्व अझ बढेर गएको बताउँदै यसका लागि सबैबाट असिमित प्रयासको खाँचो औंल्याए । नेपालमा शान्ति प्रक्रियाका धेरै विषय टुंगिएको र केही बाँकि रहेको जानकारी गराउँदै सभामुख सापकोटाले यहाँको शान्ति स्थापनामा भएका उत्तम अभ्यासहरु विश्वका लागि महत्वपूर्ण हुन सक्ने धारणा राखे । सभामुख सापकोटाले विश्व शान्ति स्थापनार्थ काम गरिरहेका संस्थाहरुबीच ऐक्यवद्धता र सहकार्य जरुरी रहेकोमा जोड दिंदै आफू नेतृत्वको संघीय संसद सहकार्यका लागि सधैँ तयार रहेको बताए । सो भेटमा जिसिटिपिका फरक फरक देशका १३ सदस्यीय प्रतिनिधि मण्डलका सदस्यहरुले लैंगिक समानताका क्षेत्रमा नेपालले गरेका काम उदाहरणीय रहेको बताएका थिए । यसैबीच नेपालको संघीय संसद र ग्लोबल काउन्सिल फर टोलरेन्स एण्ड पिसबीच सोमबार समझदारी पत्रमा हस्ताक्षर भएको छ । सोमबार अपरान्ह संघीय संसद भवन नयाँ बानेश्वरस्थित लोत्से हलमा आयोजित  कार्यक्रममा सभामुख अग्निप्रसाद सापकोटाको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा नेपालका तर्फबाट प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी र जिसिटिपिका तर्फबाट जोरान इल्लियोभोस्कीले हस्ताक्षर गर्नु भएको हो । समझदारी पत्रमा विश्व शान्ति र सहिष्णुताका लागि सहकार्यका विषय समावेश छन् ।

प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान १० बजे बस्ने छ । आजको बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा ९कोइराला०ले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ बैठकमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । यसअघि हिजो बसेको बैठक काँग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थगित भएको थियो ।

बाह्र लाख भूमिहीनको निवेदन सङ्कलन

चितवन। राष्ट्रिय भूमि आयोगअन्तर्गतका कार्यालयमा १२ लाख भूमिहीनको निवेदन परेको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको निवेदन सङ्कलन भएको हो । यो सङ्ख्या १५ लाख हाराहारी पुग्ने अनुमान आयोगका पदाधिकारीले गरेका छन् । ती मध्ये भूमिहीन दलित १५ प्रतिशत, भूमिहीन सुकुम्बासी २० प्रतिशत र अव्यवस्थित बसोबासी ६५ प्रतिशत हाराहारी रहेको आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले जानकारी दिए। निवेदन सङ्कलन भएकामध्ये छ लाखको ‘कम्प्युटर इन्ट्री ’ भइसकेको छ भने दैनिक पाँच हजार हाराहारीमा ‘इन्ट्री’ को काम भइरहेको छ । निवेदन सङ्कलन भएकामध्ये छ लाखलाई निस्सा वितरण गरिसकिएको छ । कम्प्युटर इन्ट्री बाँकी रहेकालाई पनि निस्सा भने वितरण गरिएको छ । आयोगले पाँच सय ३० स्थानीय तहहरूसँग कार्य सहमतिपत्रमा हस्ताक्षर गरी काम अघि बढाएको छ । बाँकी स्थानीय तहमा यसअघि नै सहमति भई काम भइरहेको थियो । यही भदौ २ गतेबाट २४० स्थानीय तहमा लगत सङ्कलन फर्म भर्ने काम भइरहेको उनले जानकारी दिए । तीबाहेकका पालिकामा यो काम भइसकेको छ । पहिला फर्म भरेका पालिकामा छुटेकाका लागि दोस्रो पटक सूचना आह्वान गरिएको उपाध्यक्ष खड्काले बताए । ३३ स्थानीय तहमा लालपुर्जा वितरणको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । आयोगले २०७८ भदौमा काम थाल्दा निवेदन सङ्कलन गरिएको भए पनि कम्प्युटर इन्ट्री थोरै मात्र भएको खड्काले जानकारी दिए । आयोगले यसअघिका अधुरा कामसमेत गरिरहेको छ । यसअघिका आयोग, कार्यदल, जग्गा दर्ता समितिले काम गर्दा छुटेका र समस्या देखिएकालाई सम्बोधन गर्ने काम भइरहेको उनले जानकारी दिए। आयोगले सहरी र ग्रामीण क्षेत्रमा प्रयोजनका आधारमा एक सय ३० वर्ग मिटरदेखि एक बिघा १० कट्ठासम्म जग्गा दिने व्यवस्था गरेको छ । ठाउँअनुसार क्षेत्रफल धेरै र थोरै छ । चालु आर्थिक वर्षमा पाँच लाखलाई लालपुर्जा वितरण गर्ने गरी काम भइरहेको उनको भनाइ छ । बाँकीलाई आउँदो वर्ष लालपुर्जा वितरण गर्न सकिने खड्काले बताए । उनले भने, “हामीले लिएको लक्ष्यअनुसार काम सम्पन्न प्राविधिक र स्रोत साधन थप चाहिन्छ ।” स्थानीय तहहरुले समन्वय र सहयोग गरेका ठाउँमा काम छिटो अघि बढेको छ । उनका अनुसार भरतपुर महानगरपालिकामा आयोगको काम धेरै सम्पादन भएको छ । महानगरपालिकाले प्राविधिक जनशक्तिसँगै आवश्यक उपकरण खरिद गरेर कामलाई छिटो गर्न सहयोग गरेको छ । नापजाँचका लागि आयोगसँग न्यून उपकरण छन् । महानगरपालिकाले आफैँले खरिद गरेर ‘हाई रिजुलेसन सेटलाइट इमेज’ आयोगलाई उपलब्ध गराएको छ । उपाध्यक्ष खड्काले भने, “भरतपुर महानगरपालिकाले झैँ प्राथमिकता दिएमा छिट्टै भूमिहीनलाई पुर्जा वितरण गर्न सकिन्छ ।” अन्य पालिकाले पनि सहजीकरण गरिरहेको हुँदा काममा सहजता आएको उनको भनाइ छ । आयोगमा परेका निवेदन ९१ वर्ष उमेरसम्मका ज्येष्ठ नागरिकको समेत छ । उनीहरू पुस्तौँदेखि लालपुर्जाविहीन भएर बसेकासमेत छन् ।

प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्ने सांसदहरू कस्ले के बोले ?

काठमाडौं । प्रतिनिधि सभा सदस्य अमृता थापाले भिभिआइपी बस्ने काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको दीर्घकालीन उपाय खोज्न माग गरेकी छन्। बिहीबार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसद थापाले सरकारसँग यस्तो माग गरेकी हुन् । उनले राष्ट्रिय सभाको उपाध्यक्ष तत्काल निवार्चन गर्न समेत माग गरिन् । त्यस्तै सांसद थापाले राष्ट्रिय महत्व र आम नागरिकको चासोको नागरिकता विधेयक समानता र सहमतिको आधारमा अगाडि बढाउनुपर्ने बताइन् । सांसद इन्दुकुमारी शर्माले संविधान सभाबाट संविधान बनेको सात वर्षसम्म नागरिकतामा राजनीति भएको बताइन् । उनले राजनीतिक दलहरुले समेत नागरिकतामा गम्भिर नहुँदा लाखौं नागरिक नागरिकता विहीन भएको बताइन् । सांसद शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनले पास गरेर पठाएको नागरिकता विधेयक फिर्ता पठाएर लाखौं नागरिकको अधिकारमाथि कुठाराघात भएको बताइन्। उनले राष्ट्रपतिले जनताको संवेनशिलता भन्दा पनि राजनीतिक दल भन्दा माथि उठ्न नसकेको आरोप लगाइन् । सांसद उमाशंकर अरगरियाले मुलुक संघीयतामा गएकाले कर्मचारी सरुवा बढुवामा समस्या भएको बताए। उनले सरकारले संघीय निजामति ऐन तत्काल ल्याउन समेत माग गरे। सांसद कुमारीतुलसी थापाले राष्ट्रपतिबाट संसदमा फिर्ता पठाएको विधेयक सर्वसहमति बनाउनको सट्टा सत्ता गठबन्धनले जस्ताको तस्तै प्रमाणिकरणको लागि पठाउने निर्णयले राष्ट्रपतिको मानमर्दनमा अपमान गरेको बताइन्। सांसद कृष्णगोपाल श्रेष्ठले राष्ट्रपतिले सन्देशसहित संसदमा फिर्ता पठाएको नागरिकता विधेयकलाई अवसरको रुपमा लिनुपर्ने बताए । उनले नागरिकता विधेयकमा राष्ट्रिय सहमतिका आधारमा त्रुटी सच्याउनुपर्ने बताए । सांसद श्रेष्ठले सत्ता गठबन्धनले बलपूर्वक अगाडि बढाउने प्रयास नगर्न आग्रह गरे । त्यस्तै सांसद कृष्णप्रसाद दाहालले राष्ट्रपतिले सन्देशसहित संसदमा फिर्ता पठाएको नागरिकता विधेयक जबरजस्ति भन्दापनि राष्ट्रिय सहमतिको आधारमा अगाडि बढाउनुपर्ने बताए । उनले सरकारले तत्काल कोरोना बीमा बापतको रकम भुक्तानी गर्नपनि माग गरे । सांसद कृष्णबहादुर राईले फोहोर व्यवस्थापनमा काठमाडौंका मेयर र मन्त्रीले लाचारीपन देखाएका बेला धरानका मेयर आएपछि फोहोर व्यवस्थापन हुने भयो भनेर घोषणा गरेको बताए । उनले काठमाडौंका मेयर बालेन साह र धरानका मेयर हर्क राईबीच दोहोरी चलेको देखिएको बताए । फोहोर व्यवस्थापन गर्ने नाममा स्थानीय जनताको मागलाई सरकार र महानगरले नगरअन्दाज गरेको आरोप उनको छ । उनले फोहोर व्यवस्थापन महानगर वा सरकारले गर्ने भन्ने कुराको अन्योल रहेको बताए। सांसद राईले काठमाडौंको फोहोर व्यवस्थापनको लागि महानगर र सरकार दुवैले योजना अगाडि नबढाएको आरोप लगाए। सांसद खेमप्रसाद लोहनीले नागरिकताको प्रमाणपत्र जस्तो संवेदशील विषय उपहार दिए जस्तो तत्काल वितरण गर्न नहुने बताए । उनले सत्ता स्वार्थको लागि विवाह हुनासाथ नागरिकताको प्रमाणपत्र दिन नहुने बताए । उनले नागरिकता प्रमाणपत्र विवाह गरेर आएको सात वर्षपछि दिने व्यवस्था गर्नुपर्ने बताए । त्यस्तै सांसद गजेन्द्रबहादुर महतले राष्ट्रपति विद्यादेवी भण्डारीप्रति व्यङ्ग्य गरे । उनले सरकारले नागरिकता विधेयक पुनः प्रमाणिकरणको लागि राष्ट्रपतिकोमा दिउँसो नभइ राति पठाउनुपर्ने बताए । उनले अफ्ठ्यारा कामहरु राति नै फत्ते हुने बताए। उनले प्रतिपक्षले बारम्बार लेखा समितिको सभापति माग गरेको भन्दै अन्य चारवटा समितिको सभापति फिता गर्नुपर्ने बताए । त्यस्तै सांसद घनश्याम खतिवडाले स्वास्थ्य बीमाप्रति सरकारले गैरजिम्मेवारीपन देखाएको बताए। उनले काठमाडौंको फोहोर व्यवस्थापन अस्तव्यस्त, विकास निर्माण अस्तव्यस्त लगायत सबैतिर अस्तव्यस्त रहेकाले सत्ता गठबन्धन मंसिर चारसम्म बस्न नहुने बताए । उनले मंसिर ४ गते भन्दा अगाडि नै सरकार छोड्नुपर्ने बताए ।

काबुलस्थित मस्जिदमा शक्तिशाली विस्फोट, ठूलो संख्यामा मृत्यु भएको आशंका

अफगानिस्तानको राजधानी काबुलस्थित एक मस्जिदमा शक्तिशाली विस्फोट भएकाे छ । बुधबार साँझको प्रार्थनाका क्रममा भएकाे विस्फोटमा धेरै मानिस हताहत भएकाे बताइन्छ । यद्दपी कति जनाकाे निधन भयाे भन्न् कुरा आधिकारिकरुपमा सार्वजनिक भएकाे छैन । एक गैरसरकारी संस्थाका अनुसार विस्फोटमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी घाइते भएका छन् । बीबीसीको पश्तो सेवाका अनुसार केही अपुष्ट रिपोर्टहरूले उक्त विस्फोटमा २० जनाको मृत्यु भएको र ४० भन्दा बढी घाइते भएको दाबी गरेको छ । यद्यपी यो संख्याको आधिकारिक पुष्टि भने भइसकेको छैन । काबुलमा, तालिबान प्रहरी प्रवक्ता खालिद जाद्रानलाई उद्धृत गर्दै स्थानीय मिडियाले विस्फोट सहरको उत्तर(पश्चिममा भएको जानकारी दिएको थियो ।

वडा जिताउन नसकेको भन्दै कांग्रेस बैठकमा राठौर र दहितबीच घोचपेच, देउवाले सम्झाए

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा सहमहामन्त्री किशोरसिंह राठौर र सदस्य गोपाल दहितबीच घोचपेच भएको छ । दहितले अघिल्लो बैठकमा राठौरले पार्टीलाई उनकै वडामा पनि जिताउन नसकेको भन्दै आलोचना गरेका थिए । उनले आफूले वडामा कांग्रेसलाई जिताए पनि राठौरले जिताउन नसकेको भन्दै व्यंग्य गरेका थिए । सानेपामा जारी बैठकमा शनिबार राठौरले दहितलाई जवाफ फर्काए । “१० वटा पार्टी चहार्दै आएको मान्छेले मेरो डिग्नेटीमाथि प्रश्न उठाउने रु मेरो वडाको चुनावी समीकरण र वस्तुगत स्थिति फरक थियो, जुन तपाईंलाई थाहा छैन । पार्टी फेर्दै हिँड्नेले मेरो बारेमा प्रश्न उठाउने रु,” राठौरले भने । त्यसपछि सभापति शेरबहादुर देउवाले राठौरलाई सम्झाएका थिए । “तपाईं पदाधिकारी हो, केन्द्रीय सदस्यलाई त्यसो भन्न हुँदैन,” बैठकमा देउवाको भनाइ उद्धृत गर्दै एक सदस्यले भने । राठौर र दहित दुवै बर्दियाका हुन् । उनीहरूको निर्वाचन क्षेत्र पनि एउटै हो ।

गठबन्धनको समर्थनमा उपसभामुख बनिन् पुष्पा भुसाल

काठमाडौं । कांग्रेस सांसद पुष्पा भुसाल उपसभामुख निर्वाचित भएकी छन् । आज भएको प्रतिनिधि सभा उपसभामुखमा उनी निर्वाचित भएकी हुन् । आज भएको निर्वाचनमा २४२ जना सांसदले संसदमा उपस्थित भएर निर्वाचन प्रक्रियामा भाग लिएका थिए । जसमा काग्रेस सांसद पुष्पा भुसालको पक्षमा १४८ जना सांसद रहे भने एमाले सांसद विद्या भट्टराईको पक्षमा ९३ जना सांसद मात्रै रहे । नेमोकिपाका सांसद प्रेम सुवालले भने मतदान प्रक्रियामा मत दिन्न भनेका थिए । २०७४ सालमा भएको प्रतिनिधिसभाको उपसभामुख निर्वाचनमा तत्कालीन वाम गठबन्धनकी एमाले उम्मेदवार शिवमाया तुम्बाहाङ्फेबाट पराजित भुसाल अहिले वाम–लोकतान्त्रिक गठबन्धनमा रहेको माओवादी केन्द्र र तत्कालीन एमालेबाट छुट्टिएर बनेको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को भोटको बलमा उपसभामुखमा निर्वाचित भएकी हुन् । भुसाललाई जनता समाजवादी पार्टीका साथै लोकतान्त्रिक समाजवादी पार्टीले पनि भोट दिएको छ । कांग्रेसको सचेतक रहेर संसदीय गतिविधिमा संलग्न रहेकी भुसाल २०१७ साल फागुन १ मा अर्घाखाँचीको पोखराथोकमा जन्मिएकी हुन् । उनका बुबा काशीनाथ गौतम राजनीतिमा सक्रिय थिए । पञ्चायतविरुद्ध कांग्रेसमा रहेर राजनीति गर्ने काशीनाथ सपरिवार १४ वर्ष भारतमा निर्वासित हुँदा पुष्पा पनि साथमै थिइन् । काशीनाथ २०१५ सालमा बीपी कोइरालाको मन्त्रिपरिषद्मा स्वास्थ्यमन्त्री थिए । राजनीतिक परिवारमा जन्मिएका भुसाल २०२८ सालदेखि सक्रिय राजनीतिमा लागेकी थिइन् । भुसालले नेपाली कांग्रेसको महिला र कानुन विभागका विभिन्न पदमा रहेर काम गरेकी थिइन् । कांग्रेसको १४ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भुसालले कांग्रेसको महिला विभाग, कानुन विभागमा लामो समय गरिसकेकी छन् । उनी नेपाल महिला संघको महासचिवका रुपमा पनि रहिसकेकी छन् । भुसाल वरिष्ठ अधिवक्ता पनि हुन् । उनी प्रजातान्त्रिक आन्दोलनका क्रममा पटक(पटक राज्यद्वारा गिरफ्तारमा परेकी थिइन्। उनले विगतमा नेपाल बार एशोसिएसनको केन्द्रीय सदस्य रहेर पनि काम गरेकी थिइन् ।

अर्थमन्त्रीमाथि छानविनः सीसीटिभी फुटेज डिलिट हुनै सक्दैन – सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले अर्थमन्त्री जनार्दन शर्मामाथि बजेट निर्माणका क्रममा असम्बन्धीत व्यक्तिलाई संलग्न गराएको भन्ने आरोपका विषयमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । अदालतले अर्थमन्त्रालयका साथै सिंहदरबार परिसरका सीसीटीभी फुटेजका डेटा डिलिट भएको अनुमानसमेत गर्न नसकिने बताएको हो। अधिवक्ता बाबुराम अर्यालले दायर गरेको रिटमा शुक्रबार न्यायाधीश कुमार रेग्मीको एकले इजलासले अग्राधिकार दिने फैसला गरेको हो। अर्थ मन्त्रालय तथा अन्य मन्त्रालयसमेत रहेको सिंहदरबार परिसर भित्रको सुरक्षा संवेदनशील सीसीटीभी क्यामेरा तथा त्यस क्यामेरामा कैद भएका सम्बन्धित डेटाहरु नमेटिने गरी सुरक्षित तबरले सञ्चय गरी राख्न अन्तरिम आदेश जारी गर्न माग गरिएको थियो। उक्त मागमा भनिएको छ, “सिंहदरबार देशको केन्द्रीय प्रमुख प्रशासकीय परिसर भित्रको सुरक्षासमेतलाई दृष्टिगत गर्दा सम्बन्धित निकायहरुले सिंहदरबार भित्रको अर्थ मन्त्रालय लगायत अन्य मन्त्रालयहरुको सीसीटीभी क्यामेराले कैद गरेका डेटाहरु सुरक्षित राखेका छैनन् भन्ने अनुमानसमेत गर्न नसकिने हुँदा सो सम्बन्धमा तत्काल अन्तरिम आदेश जारी गरिरहन परेन।” यसैगरी रिट निवेदन राष्ट्रिय बजेट निर्माणको गोपनियता र संवेदनशीलतासँग जोडिएको सार्वजनिक महत्वको विषय रहेको हुँदा चाँडो निर्णय हुन आवश्यक रहेको उक्त फैसलामा उल्लेख छ। सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ७३ बमोजिम अग्राधिकार प्रदान गरिएको आदेशमा बताइएको छ। रिट निवेदकहरु सरोजकृष्ण घिमिरे र बाबुराम अर्याल लगायतले अर्थ मन्त्रालय र अन्य मन्त्रालय समेत सीसीटीभी फुटेज सुरक्षित राख्न माग राखी रिट निवेदन पेश गरेका थिए । सर्वोच्चले सिंहदरवारको सुरक्षा संवेदनशीलताका कारण पनि यी दृश्य मेटिए होलान भनी अनुमान गर्न नसकिने भन्दै अन्तरिम आदेश आवश्यक नभएको औल्याएको हो । सर्वोच्च अदालतले बजेट निर्माणको गोपनियता र संवेदनशिलता जोडिएको विषयसँग सम्बन्धित निवेदन भएकाले चाडो टुंगोमा पुर्‍याउनुपर्ने भन्दै प्राथमिकता दिन अग्राधिकारको आदेश दिएको हो ।  

सबै उपाय अवलम्बन गरी मल उपलब्ध गराउन सरकारलाई सभामुखको निर्देशन

काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाका प्रमुख सभामुखले किसानलाई रासायनिक मल उपलब्ध गराउन सम्भाव्य सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएका छन् । सोमबारको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पेस गरेको सार्वजनिक जरुरी महत्वको प्रस्तावमाथिको छलफलपछि सभामुख अग्नि सापकोटाले विशेष प्रस्ताव पेश गरेका हुन् । सो प्रस्ताव बैठकमा सर्वसम्मतिले पास भएको हो । जरुरी महत्वको प्रस्तावमा ४८ जना सांसदहरुले विचार राखेका थिए । त्यसपछि कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र रायले जवाफ दिए। उक्त जवाफ समेतका आधारमा समान किसिमको धारणा आएकाले सभामुख सापकोटाले विशेष प्रस्ताव पेश गरे । पारित विशेष प्रस्तावमा सम्भाव्य सवै विकल्प अपनाएर किसानलाई सहज रुपमा मल उपलव्ध गराउन भनिएको छ ।

जनउत्तरदायी गणतन्त्रात्मक शासन व्यवस्थालाई थप सुदृढ गर्न प्रतिबद्ध छौं : प्रधानमन्त्री देउवा

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले यसैवर्ष प्रतिनिधिसभा र राष्ट्रियसभाको चुनावसमेत सफलताका साथ सम्पन्न गरी मुलुकमा जनउत्तरदायी गणतन्त्रात्मक शासन व्यवस्थालाई थप सुदृढ गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । पन्ध्रौँ गणतन्त्र दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा दिवसको मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै स्थानीय तहको निर्वाचन निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न भएको र आम जनताबाट चुनिएका जनप्रतिनिधिहरूबाट मुलुकको शासन प्रणाली सञ्चालित भइरहेको छ बताए । उनले भने, “जन चाहनाअनुसार नागरिकको घरदैलोमा सेवा प्रदान गर्ने स्थानीय तहको दोस्रो निर्वाचनबाट मुलुकमा प्रतिस्पर्धात्मक, बहुदलीय, लोकतान्त्रिक एवं गणतन्त्रात्मक शासन व्यवस्था मजबुत भएको छ ।” प्रधानमन्त्री देउवाले मुलुकले २००७ सालको राजनीतिक क्रान्ति र विभिन्न आन्दोलनको बलमा राजनीतिकरुपमा ठूलो फड्को मारेको, सङ्घीय शासन प्रणालीसहितको गणतन्त्रात्मक व्यवस्था अङ्गीकार गरेको र नेपालीहरू स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न एवं गणतान्त्रिक देशका नागरिक भएको उल्लेख गर्दै नेपाललाई एक समुन्नत र समृद्ध मुलुकका रुपमा अघि बढाउनुपर्ने दायित्वलाई सबै मिलेर पूरा गर्नुपर्ने खाँचो औँल्याए । “समृद्ध मुलुक निर्माणका लागि सबै राजनीतिक दल र नेपाली जनताबीच एकता र सहकार्य हुनु जरुरी छ । लोकतन्त्रमा राजनीतिक दलका फरक धारणा र विचारहरू हुनु स्वभाविक हो तापनि महत्त्वपूर्ण राष्ट्रिय मुद्दाहरूमा सबै राजनीतिक दल र आम नेपाली जनताको समान र अविचलित धारणा हुनसके मात्र मुलुकको विकासको पथमा अघि बढाउन र राष्ट्रिय एकताको जगलाई थप मजबुत बनाउन सकिन्छ ।” प्रधानमन्त्री देउवाले भने, “हामीले जुन अपेक्षा र उद्देश्यका साथ लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको स्थापना गरेका थियौँ, व्यवहारमा त्यो लागू भएको छ । नागरिक हक अधिकारको पूर्ण सुनिश्चितता गर्दै मुलुकलाई आर्थिक सामाजिकरुपमा सबल र सम्मुनत राष्ट्र बनाई जनताको जीवनस्तरमा उल्लेखनीय सुधार ल्याउने हाम्रो प्रयासले अपेक्षित परिणाम दिन थालिसकेको छ । मुलुकको आर्थिक सामाजिक रूपान्तरणको अभियानमा हामी सबैको योगदान उत्तिकै आवश्यक छ ।” प्रधानमन्त्री देउवाले जनताका प्रतिनिधिले लेखेको संविधान जारी भई संविधानअनुसार शासन प्रणालीमा समावेशीता र समानुपातिक प्रतिनिधित्वका आधारमा सबै जनताको अर्थपूर्ण सहभागिता, स्वामित्व र अपनत्व स्थापित भएकाले नागरिकहरू बिनाकुनै बन्देज राजनीतिक, आर्थिक र सामाजिक क्रियाकलापमा स्वतन्त्ररुपमा सहभागी हुने अवसर पाएको बताए । उनले बिनाभेदभाव सबै नागरिकलाई समान हक, अवसर र हैसियत प्रदान गर्ने यस बहुदलीय प्रतिस्पर्धामा आधारित शासन व्यवस्था संसारकै उत्तम शासन व्यवस्थामध्ये भएकाले यस शासन प्रणालीको स्थापनापछि मुलुकमा राजनीतिक स्थिरता कायम भई देश आर्थिक समृद्धिको यात्रा अघि बढेको बताए । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसहित विशिष्ट पदाधिकारी र अधिकारीको उपस्थिति रहेको थियो ।

स्थानीय तह निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी (अपडेट)

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तरगत जारी मत गणनामा अन्तिम परिणाम सार्वजनिक हुने क्रम जारी रहेको छ । निर्वाचन आयोगले जारी गरेको हालसम्म प्राप्त नतिजाको विवरण अनुसार नेपाली काँग्रेसले पहिलो स्थानमा छ भने नेकपा एमाले दोस्रो स्थानमा रहेको छ । त्यस्तै, नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । निर्वाचन आयोगले जारी गरेको नतिजाका लागि तलको लिङ्कमा क्लिक गरेर हेर्न सक्नुहुनेछ । निर्वाचन आयोगद्वारा जारी बिवरणका लागि यहाँ क्लिक गर्नुहोस:

मकवानपुरमा भ्यान दुर्घटना, ४ जनाको मृत्यु

काठमाडौं – मकवानपुरमा शनिबार साँझ भएको पिकअप भ्यान दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४ जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएकामध्ये ३ जनाको हेटौंडा अस्पतालमा र १ जनाको उपचारको क्रममा मृत्यु भएको हो । उनीहरूको अहिलेसम्म पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइतेमध्ये चालकसहित ३ जनाको हेटौंडा र एक जनाको काठमाडौंमा उपचार भइरहेको छ । हेटौंडाबाट काठमाडौं आउँदै गरेको ना ४ च २३१५ नम्बरको गाडी शनिबार साँझ इन्द्रसरोवर गाउँपालिका वडा नम्बर-२ सिमखोलामा पुलको बारमा ठोक्किएको थियो ।