पार्टी व्यवहारवाद र संशोधनवादमा फस्ने खतरा, सचेत हुनु जरुरी– प्रचण्ड

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले पार्टीलाई संसदवादमा फस्नबाट जोगाउनुपर्नेमा जोड दिनु भएको छ ।

पार्टीभित्र मौलाएको गुटबन्दीतर्फ संकेत गदै अध्यक्ष प्रचण्डले पार्टीलाई जनताले अपेक्षा गरे अनुरुप अघि बढाउन विशेष सतर्कता आवश्यक भएको बताएका हुन ।

पार्टी स्थायी कमिटिमा बोल्दै अध्यक्ष प्रचण्डले पार्टी एकता गर्नुपर्ने बस्तुगत तथा आत्मगत आधारबारे बोलेका थिए ।

प्रचण्डले पार्टीमा दुई अध्यक्ष हुँदा फरक नपरेको समेत बताए ।

ओलीसँग असमझदारी बढाउने पक्षमा आफू नरहेको उनको स्पष्ट भनाई थियो , पार्टी एकता सुरु भएदेखि नै त्यसो हुन नदिन विभिन्न प्रलोभन, धाकधम्की आएको प्रसंग पनि उनले सुनाए। तर यसमा आफू सचेत रहेको उनको भनाइ थियो। ‘कहिलेकाहीं प्रधानमन्त्री भएका अध्यक्षलाई अर्कोले चलाउनु पर्ने हुन सक्छ। यसमा म एकदमै सचेत छु,’ उनले भने, ‘कहिलेकाहीं नखाएको विष लाग्छ, सहनुपर्छ।’

उनले पार्टी र आन्दोलन व्यवहारवाद र संशोधनवादमा फस्ने खतरा औँल्याए। ‘हामीकहाँ अहिले संसदीय राजनीति हावी छ। संसद्मा सत्ता र प्रतिपक्ष भएकोले होला, पार्टी राजनीतिभित्र पनि त्यसको प्रतिबिम्ब देखिएको छ। हामी त्यसवाट सचेत बन्न आवश्यक छ,’ उनले भने, ‘व्यवहारवाद र संसोधनवादमा फस्ने खतराबाट जोगिनु आवश्यक छ।’

अध्यक्ष प्रचण्डले पार्टीभित्र आलोचना र फरक मत स्वभाविक भएकोले पार्टी एकता तथा सरकार सञ्चालन सम्बन्धी मध्यबिन्दुको खोजी गरेका थिए ।

स्थायी कमिटिमा उठेका विषयहरुको संश्लेषण गर्दै अध्यक्ष प्रचण्डले तीन वटा प्रस्ताव छलफलका लागि राखेका थिए ।

उनले राखेका प्रस्तावः
१) एक महिनामा एकीकरण टुंग्याउनेः केन्द्रीय विभाग, आयोगहरु, प्रतिनिधि परिषद, जिल्लादेखि गाउँ कमिटी र जनवर्गीय संगठन० पूरा गर्न स्थायी समिति सदस्य समेत रहेको छुट्टै कार्यदल बनाई एक सातासम्म गृहकार्य गर्ने। त्यसपछि स्थायी समितिबाट अनुमोदन गराएर एक महिनाभित्र एकीकरण सम्पन्न गर्ने।

२) प्रतिवेदन परिमार्जन गर्ने ः राजनीतिक प्रतिवेदनमा नेताहरुले उठाएका सुझाव, टिप्पणी र आलोचनालाई समेटेर प्रतिवेदन परिमार्जन गर्ने जिम्मा दुई अध्यक्षले नै लिने।

३) सरकार चलाउने संयन्त्र बनाउने ः पार्टी र सरकारलाई अलग होइन, द्वन्द्वात्मक सम्बन्धका आधार चलाउने। केन्द्रदेखि स्थानीय तहसम्मै सामूहिक नेतृत्वमा जाने र सरकार सञ्चालन गर्न पार्टीले सस्थागत संन्यत्र निर्माण गर्ने।

गाउँपालिकाले नै प्रयोग गर्छ एउटै नम्बरका मोटरसाइकल

झापा, पुष १० । झापाको बाह्रदशी गाउँपालिकाले एउटै नम्बर प्लेटका दुईवटा मोटरसाइकल प्रयोग गरिरहेको छ । गाउँपालिकाले यातायात व्यवस्था तथा ट्राफिक नियमविपरीत एउटै नम्बरका दुईवटा मोटरसाइकल प्रयोग गरेको हो । दुवै मोटरसाइकलमा सेतो प्लेटमा मे.१ब ७४९ लेखिएको छ । दुवै मोटरसाइकल बजाज कम्पनीको १५० सिसीको पल्सर हुन् । एउटा मोटरसाइकल लेखा अधिकृत सेवकविक्रम राई र अर्को इन्जिनियर नरेन्द्र श्रेष्ठ चढ्ने गरेका छन् । एउटा मोटरसाइकलको वास्तविक नम्बर मे.१ ब७५६ रहेको पाइएको छ । २९ असोज ०७५ मा यातायात व्यवस्था कार्यालय मेचीमा दर्ता भएको सो मोटरसाइकलको वास्तविक नम्बर ब्लुबुकबाट खुलेको हो । अर्को मोटरसाइकलको ब्लुबुक गाउँपालिकाका कर्मचारीले देखाउन मानेनन् । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

विवाह प्रस्ताव अस्वीकार गर्दा छुरा प्रहार

पर्सा, पुस ९ । पर्सागढी नगरपालिका– १ भटनीका जयकिशोरप्रसाद चौधरीले छुरा प्रहार गर्दा स्थानीयवासी १८ वर्षीया सकुन्ताला चौधरी गम्भीर घाइते भएका छन् । घाइते सकुन्तलाको वीरगञ्जस्थित नेशनल मेडिकल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए । जयकिशोरप्रसाद र सकुन्तला नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय बढनियारमा कक्षा ११ मा अध्ययनरत छन् । पटक-पटक राखेको विवाह प्रताव सुकन्तलाले अस्वीकार गरेको भन्दै जयकिशोरले उनीमाथि छुरा प्रहार गरेको राईले बताए । जयकिशोरप्रसादलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

मौनताको लेखनमा चलचित्र ‘मेरो आफ्नो’, हाल पोष्ट प्रोडक्सनको काम हुँदै

मौनता श्रेष्ठको लेखनमा तयार नेपाली कथानक चलचित्र ‘मेरो आफ्नो’ को हाल धमाधम पोष्ट प्रोडक्सनको काम भइरहेको छ । २०५२ सालबाट चलचित्र लेखनमा लागेका श्रेष्ठले सयभन्दा बढी चलचित्र लेखिसकेका छन् । यो पटक लेखकीय हिसाबमा समेत फिल्म अब्बल बनेको उनको तर्क छ । चलचित्रको बारेमा कुराकानी गर्दै उनले फिल्मीकुरासँग भने, ‘जिन्दगीमा थुप्रै चलचित्र लेखे । तर, यो पटक मेरो आफ्नो भन्ने फिल्मले धेरैलाई आफ्नो बनाउन सक्छ भन्ने लागेको छ । यो विसुद्ध पारिवारिक तथा प्रेमकथामा आधारित छ । सम्भावना बोकेका नयाँ कलाकारले फिल्ममा खेलेका छन्।’ ओम साई भक्त मिडिया प्रालिका लागि श्रीराम बराल प्रस्तुत यो चलचित्रमा केवलजंग कुँवर, सुजता थापा, रिया श्रेष्ठ, रुपा राना, नरेश पौडेल, सुन्दर श्रेष्ठ, शंकर आचार्य लगायतका कलाकारको मुख्य भूमिका छ । चितवन, पोखरा र मुस्ताङमा छायांकन गरिएको फिल्मको रिलिज मिति भने हाल तोकिएको छैन । छिट्टै फिल्मको क्रमिक रुपमा प्रचार सामाग्री सार्वजनिक गरिँदै जाने लेखक मौनताले जानकारी दिएका छन् । चलचित्र चल्नको लागि कथा नै राम्रो हुनुपर्ने कुरामा उनले जोड समेत दिए । यो फिल्ममा उनको समेत लगानी रहेको छ । राजु अधिकारीले चलचित्रको निर्देशन गरेका हुन् । रामकृष्ण बजिमया कार्यकारी निर्माता रहेको फिल्ममा बसन्त शर्मा, निलबहादुर केसी र बिना देवी श्रेष्ठको पनि लगानी साझेदारी रहेको छ । चलचित्रमा पवन गौतमको छायांकन, हिमाल केसीको द्धन्द तथा ताराप्रकाश लिम्बु र प्रतिक पौडेलको संगीत रहेको छ । चलचित्रको गीतमा कमल राई, रामजी लामिछाने र किरणको कोरियोग्राफी हेर्न सकिन्छ ।

आगलागीमा ६ घर नष्ट, १० लाख बराबरको क्षति

आगलागीमा ६ घर नष्ट, १० लाख बराबरको क्षति लहान, पुस १ गते । गाईगोठबाट सल्केको आगो फैलिएर सप्तरीको बोदे बर्साइन नगरपालिका–७ बगबिरा टोलमा गए राति भएको आगलागीमा ६ वटा घर जलेर खरानी भएको छ । आगलागीबाट करीब रु १० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । स्थानीयवासी गेनी दासको गाईगोठमा लामखुट्टे धपाउन बालिएको घुरबाट राति १२ बजेतिर अचानक सल्किएको आगो तत्काल नियन्त्रणको उपाय हुन नसक्दा फैलिएर निजको दुई घरका साथै छिमेकी कारी दासको दुई घर, देवेन्द्र दासको एक घर र जोगेन्द्र दासको घुम्टी किराना पसल जलेर नष्ट भएको हो । आगो निभाउने क्रममा गेनी दासकी ४१ वर्षीया श्रीमति देवकुमारी दास घाइते भएको र उहाँको लहानस्थित सप्तऋषि नरसिंह होममा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बोदे बर्साइनका प्रहरी नायब निरीक्षक प्रदीप सिंहले जानकारी दिनुभयो । आगलागीमा परी गेनी दासको गाई, भैँसी, बाख्रासमेत आठ वटा पशुचौपाया जलेर मरेका छन् भने घरमा रहेका अन्नपात, लत्ताकपडा, फर्निचरलगायत सम्पूर्ण समान जलेर नष्ट भएको पीडितलाई उद्धृत गर्दै प्रहरी नायब निरीक्षक सिंहले बताउनुभयो । घटनाको खबर पाएपछि पुगेको प्रहरी र स्थानीयवासीको मद्दतले एक घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिइएको थियो । सामान बरामद प्रहरीको टोलीले सदरमुकाम सिरहाबाट गए राति करीब दुई लाखभन्दा बढी मूल्य बराबरको अवैध सामान बरामद् गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले सिरहा बजारबाट भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा दूधको पाउडर, खाने तेल, भुजिया, बिस्कुट, विभिन्न मसला, अगरबत्तीलगायत करीब दुई लाख मूल्य बराबरको सामान बरामद गरेको जनाएको छ । बरामद भएको सामान आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय खैरटोका माडर सिरहामा बुझाइने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो ।

८ गुनाले बढ्यो हवाई यात्रुको दुर्घटना बिमा रकम

काठमाडौं, मंसिर २८ । नेपालमा दर्ता भएका वायुसेवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने यात्रुले दुर्घटनामा ज्यान गुमाएमा अब १ करोड ७९ लाख रूपैयाँ बिमाबापत क्षतिपूर्ति पाउने छन् । यसअघिको क्षतिपूर्ति रकमको तुलनामा ८ गुनाले बढेको हो । पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेका अनुसार यसअघि यात्रुहरुले २० हजार डलर (२२ लाख ९८ हजार) हाराहारी दिइन्थ्यो । एक दशकदेखि चर्चामा रहेको मन्ट्रियल महासन्धी अनुसार यो दायित्व वृद्धि भएको हो । यो महासन्धिबारे नेपालमा पहिलोपटक २०६५ सालमा औपचारिक रुपमा चर्चा सुरु भएको थियो । भदौ पहिलो साता नेपालले मन्ट्रियल महासन्धि अर्थात् अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियमहरु एकिकरण गर्ने सम्बन्धमा भएको महासन्धि अनुमोदन गरेको थियो । त्यसपछि पर्यटन मन्त्रालयले यो नियमलाई अन्तर्राष्ट्रिय उड्डयन संगठनमा असोज ३० गते जानकारी गराएको थियो । ‘आइकाओमा जानकारी गराइएको ६० दिनपछि लागू हुने भएकाले भोली (शनिबार) देखि यो नियम लागू हुन्छ,’ सहसचिव लामिछानेले भने । आइकाओमा दर्ता गरिएपछी उक्त संस्थाले आफ्ना १ सय ९२ वटा सदस्य मुलुकहरुलाई जानकारी गराउनुपर्ने भएकाले ६० दिन लगाउने गरेको छ । मन्ट्रियल महासन्धि अनुमोदन गरी लागू गर्ने नेपाल १ सय ३५ औं मुलुक भएको छ । यो महासन्धि लागू भएका देशमा यात्रुको सामान डेलिभरी गर्न हवाई कार्गोले ढिला गरे वा ओसार्ने क्रममा सामानको नोक्सानी भए प्रतिकिलो १९ एसडीआर (स्पेसल ड्रइङ राइट्स) तिर्नुपर्छ । एसडीआर भनेको अन्तर्राष्ट्रिय मुद्रा कोषले तय गरेको मानक मुद्रा हो, जो हाल एक एसडीआर बराबर १.३८ अमेरिकी डलर (१५८.७३ नेपाली रुपैयाँ) हुन आउँछ । त्यस्तै ब्यागेजको नोक्सानी हुँदा १ हजार १ सय ३१ एसडीआर र यात्रु समयमा गन्तव्यमा पुग्न नसक्दा विमान कम्पनीले प्रतियात्रु ४ हजार ६ सय ९४ एसडीआरका दरले क्षतिपूर्ति तिर्नुपर्छ । उडानका दौरान भएको दुर्घटनाबाट यात्रुको मृत्यु भएमा वा चोटपटक लागेमा चाहिँ प्रतियात्रु एक लाख एसडीआर ९करिब १ करोड ७४ लाख नेपाली रुपैयाँ० क्षतिपूर्ति तिर्नुपर्नेछ । यो समाचार कान्तिपुर दैनिकबाट साभार

एभरेष्ट प्रिमियर लिगः चितवन दोस्रो खेलमा पनि पराजित

काठमाडौं, मंसिर २४ । शनिबारदेखि सुरु भएको एभरेष्ट प्रिमियर लिग (एपिएल) मा चितवन टाइर्गसले लगातार दुई खेलमा हार बेहोरेको छ । चितवनले आफ्नो दोस्रो खेलमा आज काठमाडौं किंग्ससँग ६ विकेटले हार बेहोरेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले १९.५ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १६० रन बनायो । १६१ रनको लक्ष्य पछ्याउन मैदान उत्रेको काठमाडौंले १८.५ ओभरमै लक्ष्य भेट्टाउन सफल भयो । यस्तै, आजको दोस्रो खेलमा ललितपुर र पोखरा भिड्दै छन् । खेल कीर्तिपुर क्रिकेट मैदानमा भइरहेको छ ।

विश्व बैङ्कसँग १८ अर्बको सम्झौता

काठमाडौँ, कात्तिक २८ । पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा पोषण परियोजना कार्यान्वयन गर्न सरकारले विश्व बैंकसँग रु १८ अर्बको सम्झौता गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडा र विश्व बैंकका उपाध्यक्ष हार्टविग साफेरको उपस्थितिमा बुधबार अर्थ मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा अर्थ सचिव राजन खनाल र नेपाल, बङ्गलादेश र भूटानका लागि बैंकका देशीय निर्देशक चिम्याओ फ्यानले हस्ताक्षर गरे । दोस्रो पुल सुधार तथा मर्मतसम्भार परियोजना कार्यान्वयन गर्ने सिलसिलामा यातायात क्षेत्र सुधारका निम्ति निर्माण गरिने पुलमा लगानी गर्न बैङ्कले रु १३ अर्ब ३० करोडभन्दा बढी रकम ऋणस्वरुप उपलब्ध गराउनेछ । उक्त रकमबाट ४७७ बढी पुल निर्माण गरिने छ । नेपालको रणनीतिक सडक सञ्जालका ४३३ पुलका निम्ति प्रदान गरिने उक्त ऋणबाट ९० वटा पुलको मर्मतसम्भार, दुर्घटनाका जोखिम कम गर्न १८० वटाको स्तरोन्नतिका साथै ८० वटा दुईलेनका नयाँ पुल र ३५ वटा चार लेनका पुलको मर्मतसम्भार एवं पुनःस्थापनामा खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ । त्यसैगरी समावेशी विकास तथा महिलालाई केन्द्रमा राखेर खाद्य तथा पोषण सुदृढीकरणका लागि बैंकले रु चार अर्ब ७० करोड अनुदान प्रदान गर्ने भएको छ । उक्त परियोजनाबाट ६५ हजार घरपरिवार प्रत्यक्षरूपमा लाभान्वित हुनेछन् । त्यस अवसरमा मन्त्री खतिवडाले सडक र पुल भौतिक पूर्वाधार विकासका पूर्वशर्त भएका बताउँदै नेपालको सामाजिक–आर्थिक विकासमा बैंकले निरन्तर सहयोग गरेकामा हार्दिक आभार प्रकट गरे । हरितगृह ग्यास उत्सर्जनमा नेपालको कुनै भूमिका नभए पनि जलवायु परिवर्तनका कारण नेपालको खाद्य सुरक्षाको क्षेत्र चुनौतिपूर्ण बन्दै गएकामा उनले चिन्ता व्यक्त गरे । अर्थमन्त्रीले त्यस्ता चुनौतीलाई परास्त गर्न बैङ्कबाट थप सहायताको अपेक्षा नेपालले गरेको बताए । उपाध्यक्ष साफेरले नेपाल सरकार र बैकका पदाधिकारीको अथक प्रयासबाट एउटा परियोजनामा ऋण लगानी र अर्कोलाई अनुदान प्रदान गर्न सम्भव भएको भन्दै सडक र पुल विकासका मेरुदण्ड भएकाले त्यसमा लगानी गर्नु अपरिहार्य भएको बताए । गरीबी घटाउन र समावेशी विकासको बाटोमा नेपाललाई अग्रसर तुल्याउन दुवै परियोजना प्रभावकारी हुने विश्वास उनले व्यक्त गरे । रासस

पार्टीको बहानामा दुई किशोरीको सामुहिक बलात्कार

लहान, कार्तिक २५ । सिरहाको लहानमा जन्मदिनको पार्टीको बहानामा बोलाइएका १५ वर्षीया बालिका र २० वर्षीया युवती सामूहिक बलात्कारको शिकार भएका छन् । इलाका प्रहरी कार्यालय लहानका अनुसार तिहारको भाइटीकाको दिन कार्तिक २३ गते राति जन्मदिनको पार्टीको बहानामा घरबाट ल्याएर लहानको भोटिया टोलमा सामूहिक बलात्कार भएको थियो । सिरहाको सिसवनीकी युवती र लक्ष्मीपुर पतारीकी बालिकालाई भोटिया टोलमा ल्याएर सात जना युवकको समूहले बलात्कार गरेको प्रहरीले जनाएको छ । पीडित बालिका र युवतीको बयान अनुसार लहान ११ का हरि चौधरीले ‘मेरो बर्थडे परेकाले घरमा जाऔं’ भन्दै मोटरसाइकलमा लगेको प्रहरीले जनाएको छ । हरि चौधरीकै घरमा सात जना युवा मिलेर सामुहिक बलात्कार गरेको पीडितलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । खोजीका लागि विशेष टोली इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक राजेश थापाका अनुसार सामूहिक बलात्कारमा संलग्न भई फरार भएकाहरुको खोजीका लागि प्रहरीको विशेष टोली परिचालन गरिएको छ । प्रहरीका अनुसार सामूहिक बलात्कारमा लहान ११ का २३ वर्षीय हरि चौधरी, २१ वर्षीय अनिल चौधरी र २१ वर्षीय सुनिल चौधरीको नाम खुलेको र अन्य चार जनाको नाम खुल्न बाँकी रहेपनि हुलियाको आधारमा खोजी भइरहेको छ । पीडित बालिका र युवतीको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा गरिएको छ । नयाँपत्रिकाबाट

एआर रहमानद्वारा आत्महत्या गर्न खोजेको खुलासा

मुम्बई । ओस्कार अवार्ड विजेता प्रख्यात संगीतकार ए आर रहमानले आफूले कुनैबेला आत्महत्या गर्न खोजेको बताए । एउटा अन्तर्वार्तामा रहमानले २५ वर्षको उमेरसम्म आफू निकै निराशावादी भएको बताएका हुन । बुवाको मृत्युपछि निकै घटनाहरु घटिरहने र सधैंजसो मर्न चाहेको उनले बताए । तर यही आत्महत्या गर्ने विचारले नै आफूलाई झन निडर बनाएको उनले बनाए । मैले मृत्यु साश्वत सत्य हो र शरीरले मर्नु नै छ भने कुनै कुरासँग किन डराउने भन्ने सोचेर संघर्ष गर्न शुरु गरेको उनले खुलासा गरे । “ब्वाको मृत्युपछि मानिसहरुले मलाई अब कसरी गुजारा चलाउँछस् भन्थे” उनले भने, “जताबाट पनि निराशा देखेपछि मभित्र आत्महत्या गर्ने सोच आउँथ्यो ।” बलिउड संगीतको परम्परागत धारलाई ब्रेक गरेको क्रेडिट पाएका रहमानको जीवनमा यही संघर्षले परिवर्तन पनि ल्यायो । उनले आफ्नै घरको पछाडि पन्चथन रेकर्ड स्थापना गरे । बुवाको मृत्युपछि उनलाई केही सामान्य काम नपाइएको होइन । उनले ३५ वटा फिल्ममा काम पाएपछ २ वटामा मात्रै काम गरे । यसरी काम छोडेको देखेपछि मानिसहरुले उनलाई कसरी बाँच्छस भन्न थालेका थिए । सबै कुरा हुँदाहुँदै पनि किन लय पक्रिन सक्दैनस भनेर मानिसहरुले भन्ने गरेको उनले बताए । रहमानका बुवा आर के शेखको मुत्यु हुँदा उनी ९ वर्षका थिए । यसपछि निकै कम उमेरमा नै उनले संगीत सिके । मणिरत्नमको रोजाबाट भने उनले नयाँपन दिए बलिउड संगीतमा । यही बीचमा उनले दिलिप कुमारबाट एआर रहमान नाम परिवर्तन गरे । धर्म परिवर्तन गरे । एआर रहमानको बायोग्राफी– नोटस अफ ए ड्रीमः द अथोराइज्ड बायोग्राफी शनिबार सार्वजनिक भएको छ ।

प्रियंका कार्कीको कार्तिकमै बज्यो बाजा !

काठमाडौ,कार्तिक १७।बिबाहकाे महिना मंसिर आउदैछ तर चर्चित नायिका प्रियंका कार्किकाे बाजा भने कात्तिकमै बजेकाे छ । यो बाजा कार्कीको बिबाहकाे नभइ चर्चित गायक हिमाल सागरकाे स्वरमा सजिएकाे गित “बाजा´´ बजेकाे हाे । जुन गितमा मोडल सुनिल क्षत्री संगै प्रियंका कार्किलाई छमछमि नाचेको देख्न सकिन्छ । गित बाग्लुङ घर भै हाल अमेरिकामा बस्दै अाएका कलाकार अमर थापाले ह्वाइट प्राेडक्सन मार्फत बजारमा ल्याएका हुन । अमर थापाकाे शब्द रहेको गितमा अर्जुन पाेखरेलकाे संगित भरेका छ्न । महराज थापाले एरेन्ज गरेको गितलाई सुब्रत अाचार्यले निर्देशन गरेका हुन भने उत्सब दाहालले छायांकन । चर्चित नायिका कार्किकाे साथमा मोडल सुनिल क्षेत्रीको नृत्यले उत्कृष्ट बनेको गितमा मोडल क्षत्री र नेपाली ठिटोजको आकर्षक कोरियोग्राफि देख्न सकिन्छ । गितको  भिडियो

सबै जिल्लामा प्रादेशिक जनस्वास्थ्य कार्यालयको प्रस्ताव तयार

काठमाडौं, कार्तिक ४ । मुलुकभरका ७७ वटै जिल्लामा प्रादेशिक जनस्वास्थ्य कार्यालय रहने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका निकायमा नयाँ संरचनाका साथै दरबन्दीको मस्यौदा तयार पारेको छ ।   संघीयता कार्यान्वयन भएपछि मन्त्रालयले स्थानीय तह, प्रदेश र संघको नयाँ संरचना तथा त्यसलाई आवश्यक पर्ने जनशक्तिको खाका तयार पारेको हो । मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल संयोजक रहनुभएको संघीय व्यवस्थापन समितिले तयार पारेको मस्यौदामा स्वास्थ्य सेवाको पहुँचलाई अझ सर्वसुलभ बनाउन प्रदेश अन्तर्गतका सबै जिल्लामा रहने गरी प्रदेश जनस्वास्थ्य शाखा कार्यालयको प्रस्ताव गरिएको हो ।   सातवटै प्रदेशमा स्वास्थ्य प्रवद्र्धन तथा तालीम केन्द्र, स्वास्थ्य सामग्री तथा औषधि व्यवस्थापन केन्द्र र जनस्वास्थ्य प्रयोगशाला रहने व्यवस्था गरिएको छ । ती निकायमा ११औँ तहको दरबन्दी रहने प्रस्ताव गरिएको छ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले गत भदौ २८ गते प्रमुख विशेषज्ञ डा. प्याकुरेलको संयोजकत्वमा सो समिति गठन गरेका थिए ।   प्रमुख विशेषज्ञ डा. प्याकुरेलले भने, ‘नयाँ संरचनामा देखिएका केही प्राविधिक समस्यालाई सम्बोधन गरी दरवन्दीका लागि पनि मस्यौदा तयार पारिएको हो ।’ मन्त्रालयले स्वास्थ्य सेवाको संघीयता कार्यान्वयनका लागि नयाँ संरचना साउन १ गतेदेखि लागू गरेको थियो ।सो मस्यौदा बमोजिम अव सातवटै प्रदेश अन्तर्गत ७७ वटै जिल्लामा प्रादेशिक जनस्वास्थ्य कार्यालय रहनेछन् ।संघीय व्यवस्थापन समितिले स्थानीय तह, प्रदेश तथा सघंको संरचना तथा दरवन्दी पुनरावलोकन समेत गरेको छ ।   यस अघि बनाइएको संरचनामा सातवटा प्रदेशमा ३५ वटा मात्र प्रदेश स्वास्थ्य कार्यालय रहने व्यवस्था थियो । उक्त प्रावधानमा कर्मचारीबाट व्यापक गुनासो आउनाका साथै मन्त्रालयले समेत स्वास्थ्य सेवाको पहुँच पु¥याउन कठिन महशुस गरी सबै जिल्लामा प्रादेशिक जनस्वास्थ्य कार्यालयको प्रावधान अघि सारेको हो ।   तयार पारेको नयाँ संरचनाको खाका कार्यान्वयन भएमा स्वास्थ्य सेवाका सबै कर्मचारीको व्यवस्थापन हुने संयोजक डा प्याकुरेलले दाबी गर्नुभयो । स्वास्थ्य सेवातर्फका ११औं तहका १३, ९ र १०औं तहका ३२, सातौँ तहका करिब ४ सय कर्मचारी जिम्मेवारीबिहीन रहेका बताइको छ ।   यसअघि जिल्ला जनस्वास्थ्य कार्यालयका एक हजार ३५६ स्वास्थ्य सेवाका कर्मचारी विभिन्न स्थानीय निकायमा मिलान भएका थिए । अझै पनि कयौं स्थानीय निकायमा स्वास्थ्य सेवामा दरबन्दी अनुसार पदपूर्ति गर्न समस्या परिरहेको छ । -रासस

दशैँको टीका थाप्ने क्रम जारी, सरकारी कार्यालय आजबाट खुल्दै, राजधानी फर्किंदै सर्वसाधारण

काठमाडौं, कार्तिक ४ । विजयादशमीको बिदा सकिएपछि सरकारी कार्यालयहरू आजबाट खुल्ने भएका छन् । सरकारले द्वादशीको बिदा कटौती गरेपछि फूलपातीदेखि बन्द कार्यालयहरू आजबाट खुल्ने भएका हुन् । यसका साथै आज टीकाको तेस्रो दिन पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिने क्रम जारी छ । विजयादशमीको टीका लगाउन नपाएका वा नभ्याएकाहरुले कोजाग्रत पूर्णिमाको दिनसम्म पनि मान्यजनको हातबाट टीका, जमरा र आशिर्वाद लिने गर्दछन् । कतिपयकोमा भने विजयादशमीको दिन घरमा र त्यसपछि कोजाग्रत पूर्णिमाको दिनसम्म आफन्तकोमा गएर टिका लगाउने चलन रहेको छ । घटस्थापनाका दिन दशैंघरमा विधिपूर्वक स्थापना गरी नौ दिनसम्म दुर्गा भवानीको पूजा आराधना गरिएको टीका, जमरा र प्रसाद कोजाग्रत पूर्णिमाका दिनसम्म आफूभन्दा अग्रजको हातबाट थापेर आर्शिवाद लिइने परम्परा छ । यसका साथै टीका थाप्न उपत्यका बाहिर जानेहरू समेत राजधानी भित्रिन थालेकाले राजधानी आउने सवारी साधनहरूमा यात्रीहरू घुइंचो छ साथै यहाँका सडक बजारहरूमा क्रमशः चहलपहल बढ्दै गइरहेको छ । दशैँको समय लगभग २४ लाख मानिस उपत्यकाबाट बाहिरिएको अनुमान रहेको छ ।  

रेल दुर्घटनाः रावणको भूमिका निभाएका सिंहकोसमेत मृत्यु

बीबीसी । भारत पञ्जावको अमृतसरमा रेलले किच्दा रामलिलामा रावणको भूमिका निभाएका स्थानीय दलविर सिंहकोसमेत मृत्यु भएको छ।   विगतमा सँधै रामको भूमिमा खेल्दै आएका सिंहले यो वर्ष पहिलो पटक रावण बनेर अभिनय गरेका थिए। साथीहरुको आग्रहमा यस वर्ष उनी रावण बनेका थिए तर त्यसलगत्तै उनले जीवन गुमाउन पुगेको बीबीसीले जनाएको छ।   रामलिलाको आफ्नो भूमिका सकिएपछि सिंह पनि रावणको पुत्ला दहन हेर्न भिडमा सामेल थिए। साथीहरुको आग्रहमा उनी मैदान झरेका थिए मञ्चबाट। तर उनको यस वर्षको रावणको भूमिका उनको जीवनकै अन्तिम अभिनय बन्न पुगेको छ।   रामलिलाको मञ्च रेल पट्रिबाट २५ मिटर मात्रै टाढा बनाइएको थियो। शुक्रबार दसहराको अवसरमा ‘अमृतसर रेल वे स्टेशन’ बाट दुई किलोमिटर दुरीमा रहेको धोवीघाट मैदानमा रेलको पट्रिमै उभिएर रावणको पुत्ला दहन हेरिरहेका दर्शकहरुलाई रेलले किचेको थियो ।   धोपिघाटमा पुत्ला दहन हेर्न करिव दुई सय जना भेला भएका थिए। जरुवा फाटक क्रसिगको ढाको बन्द भएपनि रावण दहन राम्रोसँग हेर्न र मोबाइलमा भिडियो तथा तस्बिर खिच्न दर्शकहरु रेलको पट्रिमै उभिएका थिए। लगत्तै आएको जालन्धर-अमृतसर डिएमयु रेलले हान्दा ७० जना मृत्यु भएको थियो।

‘छक्का पञ्जा–३’ ले २ दिनमै २ करोड कमाउन सफल

काठमाडौं । घटस्थापनाको दिन नै मुलुकका सबै हलहरुमा प्रदर्शनमा अाएको दिपक-दिपाश्रीको  निर्देशनमा बनेको नेपाली चलचित्र छक्का पञ्जा ३ ले २ दिनमै करोडौंमा खेल्न सफल भएको छ । फिल्मको इनिसियल बक्सअफिस बम्पर देखिएको छ । फिल्मको ओपनिङलाई कमेडी जनरा, टिम र हिट चलचित्रको सिक्वेलले भरपुर साथ दिएको छ । वितरक र निर्माताका जानकारी अनुसार चलचित्रले प्रदर्शनको दुई दिनमा २ करोड ग्रस कलेक्सन गरेको छ । फिल्मले प्रदर्शनको पहिलो दिन १ करोड ३० लाख र दोस्रो दिन ८० लाख ग्रस कलेक्सन गरेको हो । बिना विदामा फिल्मले गरेको यो कलेक्सनलाई बम्पर मान्न सकिन्छ । देशभरका अधिकांश सिंगल स्कृनमा वर्चश्व र मल्टिप्लेक्समा सर्वाधिक सोज पाएका कारण फिल्मको इनिसियल बक्सअफिस बम्पर भएको हो । वितरक मनोज राठी भन्छन्, ुबिना विदामा नेपाली फिल्मले करोडमाथि कलेक्सन गर्नु सानोतिनो कुरा होइन । हरेक दिन हलमा दर्शकको संख्यामा वृद्धि भइरहेको छ ।ु निर्माता तथा कलाकार दीपकराज गिरीले सिंगल स्कृनभन्दा मल्टिप्लेक्समा फिल्मको कलेक्सन उच्च रहेको बताए । उनले भने, ‘फूलपातीबाट लगातार बिदा छ । अहिले सबैलाई घर जाने चटारोले सिंगल स्कृनमा अपेक्षाकृत दर्शक आएका छैनन् । फूलपातीबाट दर्शककोे भीड बढ्छ ।’ उनी फिल्मको कलेक्सनभन्दा ‘गूड वर्ड अफ माउथ’ बाट खुसी भएको बताउँछन् । अब विस्तारै फिल्मको कलेक्सन मोफसलतर्फ बढ्न थालेको छ । राजधानी बाहिरका मेजर स्टेशन नारायणगढ, पोखरा, हेटौँडा, बुटवल, बिर्तामोड सबैतिर हरेक दिन फिल्मले हाउसफुल दर्शक पाएको वितरक कम्पनी एफडीले जानकारी दिएको छ । फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । पाँचदिने विकेन्ड पाएको फिल्ममा दीपकराज गिरी, दीपिका प्रसाईँ, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, शिवहरि पौडेलको हाँस्य कलाकारको जम्बो टोलीसहित दीपिका प्रसाईँ, प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउत, संजोग कोइरालालगायतको अभिनय रहेको छ । फिल्मले शिक्षा क्षेत्रमा हुने बेथितीलाई उदाङ्गो पारेको छ ।

मोटरसाइकलले ठक्कर दिदा ७ जना घाइते !

कञ्चनपुर, असोज २६ । जिल्लाको कृष्णपुर-५ लालझाडी जंगलको अमखौया खोला नजिक पूर्व-पश्चिम राजमार्गमा गए राति मोटरसाइकलले ठक्कर दिँदा ६ मजदुरसहित सात जना घाइते भएका छन् ।   से४प ४३१ नं को मोटरसाइकलले साइकललाई पछाडिबाट ठक्कर दिँदा गुलरियाबाट काम गरी घर फर्कने क्रममा कृष्णपुर-२ वाणी मुक्त कमैया शिविरका २९ वर्षीया रामकुमारी चौधरी, ३० वर्षीय सन्तोष चौधरी, २२ वर्षीय भगवानदास चौधरी, २० वर्षीय मुकेश चौधरी, २० वर्षीया मञ्जु चौधरी र सीता चौधरी घाइते भएको इलाका प्रहरी कार्यालय गुलरियाका प्रहरी नायब निरीक्षक भरत धामीले जानकारी दिए ।   घाइतेको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ । घाइते मोटरसाइकल चालक राजेन्द्र पालको बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ ।   सरसफाइ अभियान कृष्णपुर नगरपालिकाले नगर सरसफाइ अभियान थालेको छ । ‘नगर सफा राखौँ, जीवन स्वस्थ रहौं, कृष्णपुर नगरवासीको ऐक्यवद्धता, सरसफाइमा हामी सबैको प्रतिबद्धता’ नाराका साथ नगरपालिकाले सरसफाइ अभियान सञ्चालन गरेको हो ।     नगरपालिकाका प्रमुख कर्णबहादुर हमाल, उपप्रमुख रमिता वडायक, प्रमुख प्रशासकीय अधिकृत मेघनाथ रिजाललगायतको टोली गुलरिया बजार सफाइमा जुटेको छ । -रासस