स्थानीय तह निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी (अपडेट)

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तरगत जारी मत गणनामा अन्तिम परिणाम सार्वजनिक हुने क्रम जारी रहेको छ ।

निर्वाचन आयोगले जारी गरेको हालसम्म प्राप्त नतिजाको विवरण अनुसार नेपाली काँग्रेसले पहिलो स्थानमा छ भने नेकपा एमाले दोस्रो स्थानमा रहेको छ । त्यस्तै, नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ ।

निर्वाचन आयोगले जारी गरेको नतिजाका लागि तलको लिङ्कमा क्लिक गरेर हेर्न सक्नुहुनेछ ।

निर्वाचन आयोगद्वारा जारी बिवरणका लागि यहाँ क्लिक गर्नुहोस:

भरतपुर महानगरमा रेनुले लिइन ३ हजार बढीकाे अग्रता

चितवन, भरतपुर नगरपालिकामा नगर प्रमुखमा माओवादी केन्द्रबाट उम्मेदवार रेनु दाहालले तीन हजार बढीकाे अग्रता कायम गरेकी छिन् । अहिले बिहान ७ बजेसम्मकाे गणना अनुसार नतिजा यस्ताे छ । मेयर ११७६५ विजय सुवेदी (एमाले) १४७६६ रेनु दाहाल (माओवादी) ६०९० जगन्नाथ पौडेल ( स्वतन्त्र ) उपमेयर १७०९६ चित्रसेन अधिकारी ( काङ्ग्रेस ) ९५०१ हिमला गुरुङ्ग (राप्रपा )

सुनिता डंगोल तेब्बर बढी मतले अगाडि

काठमाडौं ।  काठमाडौं महानगरपालिकाको उपमेयर पदकी उम्मेदवार सुनिता डंगोलले २८८४ मत प्राप्त गरेकी छन् । आइतबार अपराह्न ४ बजेसम्मको मत परिणाम अनुसार डंगोल अग्रस्थानमा रहेकी हुन् । यसैगरी एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठले ८२३ मत प्राप्त गरेका छन् । श्रेष्ठ सत्ता गठबन्धनको उम्मेदवार भएपनि शाक्यले उनले भन्दा तेब्बर बढी मत पाएकी हुन् ।  यसैगरी विवेकशील साझा पार्टीका उम्मेदवारले १२९, राप्रपाका उम्मेदवारले ६७० मत प्राप्त गरेकी छन् ।

जेठ १ गतेदेखि विद्यालय पनि दुई दिन बिदा हुने

काठमाडौं । शिक्षा मन्त्रालयले जेठ १ गतेदेखि निजी र सार्वजनिक विद्यालयमा सातामा दुई दिन विदा दिने औपचारिक निर्णय गरेको छ । आज बुधबार बसेको मन्त्रालयको बैठकले जेठ १ गतेदेखि शनिबार र आइतबार विद्यालयमा बिदा दिने औपचारिक निर्णय गरेको हो । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार अब शनिवारबाहेक आइतबार पनि विद्यालय बन्द रहने छ । हाल रहेको विद्यालय समयलाई यथावत राखी शुक्रबार आधा छुट्टीको व्यवस्था भने हटाइएको छ । त्यसैगरी हिउँदे बिदा, वर्षे विदा, स्थानीय बिदा वा पर्व बिदाहरुलाई कटौती गरी अब वर्षमा अधिकतम ३० दिन मात्रै बिदा दिन पाइने भएको छ । पाठ्यभार पुराउनका लागि बिदा अवधि छोट्याइएको प्रवक्ता शर्माले रातोपाटीलाई बताए । यसअघि सरकारी विद्यालयहरुमा हिउँदे र वर्षे विदा गरी कुल ४५ दिन र स्थानीय पर्व बिदा ५ दिन गरी कुल ५० दिन बिदा पाउने व्यवस्था थियो । अब यी सबै विदालार्य कटौती गरी वार्षिक ३० दिन मात्रै विदा दिने व्यवस्था मिलाउन सर्कुलर जारी गरिएको छ ।​

टी–२० खेलमा जिम्बावे ‘ए’ विरुद्ध नेपाल भिड्दै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (सोमबार) जिम्बावे ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्दै छ । दिउँसो १ बजे कीर्तिपुरस्थित क्रिकेट मैदानमा हुने खेलमा नेपालले दोस्रो टी–२० अन्तर्गत सोमबार जिम्बावे ‘ए’ विरुद्ध खेल्न लागेको हो । यसअघि आइतबार भएको पहिलो टी–२० सिरिजमा नेपाल पाहुना टोली जिम्बावे ‘ए’ सँग पराजित भएको छ । नेपाललाई जिम्बावे ‘ए’ ले ६ विकेटले पराजित गरेको हो । नेपालले दिएको १ सय ८२ रनको लक्ष्य जिम्बावे ‘ए’ ले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर १ सय ८५ रन बनायो । जिम्बावेका लागि तडिवानाशे मरुमानीले सर्वाधिक ५६ रनको अर्धशतकीय इनिङ खेलेका छन । त्यस्तै कप्तान टोनी मुनयोङ्गाले ५० रनको इनिङ खेलेका छन । इनोसेन्ट कैयाले ४७ रन जोडेका छन । नेपालका बसिर अहमदले २ तथा कप्तान सन्दीप लामिछाने र करण केसीले १(१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो । नेपालका लागि आदील आलमले अविजित रहदै सर्वाधिक ४७ रन बनाएका छन । त्यस्तै कुशल भुर्तेलले ४६ रन जोडेका थिए । रोहित पौडेलले ३९ रन जोड्दा दिपेन्द्र सिंह ऐरीले २८ रन बनाएका थिए । आसिफ शेख ९ रनमा आउट हुँदा आरिफ शेख २ रनमा आउट भएका छन । साथै करण केसी ४ रनमा अविजित रहेका थिए । जितसँगै जिम्बावे ‘ए’ ले ३ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । सिरिज अन्तर्गत नेपालले पाहुना टोलीसँग तेस्रो खेल बुधबार खेल्नेछ । टी–२० पछि नेपालले एकदिवसीय सिरिज खेल्नेछ ।

मेयरमा चुनाव लड्न मन्त्रीसहित २ सांसदले दिए राजीनामा

मेयरमा चुनाव लड्न मन्त्रीसहित मधेस प्रदेशका दुई जना प्रदेशसभा सदस्यले राजीनामा दिएका छन्। सरकारका कानुन, न्याय तथा प्रदेशसभा मामिलामन्त्री प्रमोद यादव र शेख अबुल कलाम आजादले राजीनामा बुझाइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ। दुबै जनाले आजै प्रदेशसभामा राजीनामा दिएको प्रदेशसभाका निमित्त सचिव रंजित यादवले जानकारी दिए। तत्कालीन नेकपा एमालेबाट मन्त्री यादव सिरहा निर्वाचन क्षेत्र नम्बर ३ को (ख) बाट निर्वाचित भएका थिए भने स्वतन्त्रबाट आजाद रौतहट निर्वाचन क्षेत्र नम्बर ४ ‘ख’ बाट विजयी भएका थिए। मन्त्री पदबाट समेत राजीनामा दिन कागजी प्रक्रिया पूरा गरिरहेको मन्त्री यादवले बताए। उनी सिरहा नगरपालिकाको मेयरमा उठ्ने तयारीमा छन्। नेकपा एकीकृत समाजवादी पार्टीबाट उनी मेयरका लागि सिफारिस भएका हुन्। नगरपालिकामा कुनै दलबीच तालमेलको सम्भावना नरहेकाले एक्लै चुनाव लड्न लागेको उनले बताए। त्यसैगरी सांसद अजाद स्वतन्त्र निर्वाचित भए पनिपछि जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका थिए। उनी गढीमाई नगरपालिकाबाट मेयर उठ्ने तयारीमा छन्। जसपाले उनलाई मेयरका लागि सिफारिस गरेको छ। गढीमाई नगरपालिकामा समेत गठबन्धन गर्ने प्रयास जारी रहे पनि हालसम्म हुन सकेको छैन। धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य परमेश्वर साह पनि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट जनकपुरधाम उपमहानगरपालिकाबाट टिकटका लागि प्रयास गरिरहेका छन्। पार्टीले टिकट निश्चित गरेपछि आफूले पनि राजीनामा दिने उनले बताए।

चितवनमा गठबन्धन बाहिर नजान कांग्रेस सभापतिको निर्देशन

चितवन। नेपाली कांग्रेस चितवनले गठबन्धनको सहमतिअनुसार केन्द्रीय परिपत्रभन्दा बाहिर गएर कसैले पनि कुनै काम नगर्न निर्देशन दिएको छ। जिल्ला सभापति राजेश्वर खनालले आज (शुक्रबार) एक विज्ञप्ति निकालेर केन्द्रीय परिपत्रभन्दा बाहिर गएर भेला, छलफल, गोष्ठी नगर्न र नगराउन पार्टीका सबै तह र तप्काका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन्। चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रको प्रमुख पदमा उम्मेदवार रहने गरी गठबन्धनको केन्द्रीय संयन्त्रले निर्णय गरेपछि केही कार्यकर्ताले त्यसलाई नमान्ने भनि गरेका प्रतिक्रियामाथि सभापति खनालले उक्त निर्देशन दिनुभएको हो। विज्ञप्तिमा भनिएको छ, ‘यस प्रक्रियालाई नकारात्मक प्रभाव पर्ने गरी केन्द्रीय परिपत्रभन्दा बाहिर गएर भेला, छलफल, गोष्ठी नगर्न र नगराउनका लागि पार्टीका सबै नेता तथा कार्यकर्तासँग विनम्रताका साथ आग्रह गर्दछु।’ ‘आसन्न पालिका चुनावमा सबै पार्टी होमिएको अवस्था र कांग्रेसले गठबन्धनलाई आत्मसात् गरी अगाडि बढ्ने कुरालाई ध्यानाकर्षण गर्दै केन्द्रीय परिपत्रअनुसार गठबन्धनलाई पूर्णपालना गरी अगाडि बढ्ने कुराको समेत जानकारी गराउन चाहन्छु’, विज्ञप्तिमा भनिएको छ ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा.टेड्रोस नेपालमा

काठमाडौं । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एडहानोम गेहब्रेयसस तीन दिने भ्रमणका लागि बिहीबार दिउँसो काठमाडौं आइपुगेका छन् । उनी तीन दिने भारत भ्रमण सकाएर नेपाल आएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमन्त्रणामा नेपाल आएका संगठनका महानिर्देशक डा. ट्रेडोसले राष्ट्रपति, प्रधानमन्त्री, स्वास्थ्यमन्त्रीलगायतसँग शिष्टाचार भेट गर्ने छन् । स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलका अनुसार नेपालमा रहँदा उनलाई नेपालले कोभिड महामारी नियन्त्रणका लागि अप्‍नाएका उपायहरुका बारेमा जानकारी दिइने छ भने टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालको पनि भ्रमण गर्ने छन् । उनले नेपाल रहदाँ राष्ट्रपति, प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीसँग भेट गर्ने छन् । यस्तै कोभिड महामारीमा उल्लेखनीय काम गरेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र एउटा कुनै प्राथमिक स्वास्थ्य केन्द्रको पनि भ्रमण गर्नुहुने छ । नेपालले कोभिड नियन्त्रणका लागि गरेका अन्य कामका साथै खोप कार्यक्रमबारे पनि उनले जानाकारी लिने छन् । महानिर्देशक डा. ट्रेडोससँगै विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एसिया क्षेत्रकी निर्देशक डा. पुनम क्षेत्रपाल सिंह पनि नेपाल भ्रमणामा छिन् । उनीहरु भारतको भ्रमण गरेर नेपाल आउन  लागकी हुन् । डा. ट्रेडोसले आगामी मे महिनामा हुने विश्व स्वास्थ्य स‌ंगठनको ७५ औं महासभामा महानिर्देशक पदमा नियुक्तिका लागि फेरि पनि मनोनयन दिएका छन् । इथियोपियाका नागरिक टेड्रोस महानिर्देशक चयन हुनु अघि त्यहाँका परराष्ट्र मन्त्री थिए । उनलाई दोस्रो कार्यकालका लागि यूरोपियन राष्ट्रहरु र केही अफ्रिकी राष्ट्रले समर्थन गरेपनि आफ्नै देशले भने समर्थन गरेको छैन । महानिर्देशक पदका लागि टेड्रोस बाहेक अन्यले मनोनयन पनि दिएका छैनन् ।

शशांक कोइरालालाई गत निर्वाचनको खर्च विवरण माग्यो निर्वाचन आयोगले

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन खर्चबारे दिएको अभिव्यक्तिलाई लिएर नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालासँग जवाफ मागेको छ । आयोगले सोमबार आयोजना गरेको नियमित प्रत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले गत निर्वाचनमा गरेको खर्चको यथार्थसहित सात दिनभित्र जवाफ पेश गर्न उनीलाई ध्यानाकर्षण गराइएको बताए । उनले निर्वाचन खर्चसम्बन्धी विवरणमा डा. कोइरालाको अभिव्यक्तिले आयोगको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराए । विभिन्न सञ्चार माध्याममार्फत नेता कोइरालाले दिनुभएको अभिव्यक्तिअनुसार ६ करोड रुपैयाँ खर्च भएको भन्ने आएकाले आयोगको गम्भीर ध्यानाकर्षण भएको छ । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

एमालेको चुनाव चिन्ह लिएर निर्वाचनमा जान इच्छुक राप्रपा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी स्थानीय तहको निर्वाचनमा नेकपा एमालेकै चुनाव चिन्ह लिएर पार्टी निर्वाचनमा सहभागी हुन इच्छुक रहेको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित स्थानीय तह निर्वाचन घोषणापत्र तथा चुनाव चिन्ह सार्वजनिकीकरण समारोहमा बोल्दै अध्यक्ष थापाले यस्तो बताए ।   उनले स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेसँग सहकार्य गर्ने कुरा प्रारम्भिक चरणमा सम्पन्न भएको पनि बताए । अध्यक्ष थापाले आफ्नो पार्टीका स्थानीय तहमा उठ्ने नेता तथा कार्यकर्ताहरूले नेकपा एमलेसँग मिलेर सहकार्य र तालमेल गरेर अघि बढ्न पनि आग्रह गरे । उनले नेकपा एमालेसँग स्थानीय तहको निर्वाचनमा तालमेल हुँदा एमालेकै चुनाव चिन्ह लिएर उठ्ने धारणा पार्टीको भएको बताए । अध्यक्ष थापाले नेपाललाई हिन्दुराष्ट्र कायम गर्ने बारेमा राष्ट्रिय सहमति हुनुपर्ने बताए । उनले हिन्दुराष्ट्र कायम गर्ने बारेमा राष्ट्रिय सहमति नभएमा धर्म निरपेक्षता राख्ने वा हिन्दुराष्ट्र कायम गर्ने भन्ने बारेमा जनताको प्रत्यक्ष अभिमत बुझ्न आगामी संसदीय चुनाव सँगसँगै राष्ट्रिय जनमत संग्रह गर्न पनि माग गरे ।

चितवनमा दुईवटा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

चितवन । चितवनको कालिका नगरपालिका–६ मा हिजो साँझ दुईवटा मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ । खोलेसिमलबाट मिलिजुली चोक तर्फ जाँदै गरेको बा ७१ प ९५९५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउदै गरेको ना ३२ प ६५ ३३ नम्बरको मोटरसाइकल आइतबार साँझ पौने ६ बजे ठोकिएका हुन् । दुर्घटनामा गम्भीर घाइते भएका बा ७१ प ९५९५ नम्बरको मोटरसाइकल चालक चितवनको रत्ननगर नगरपालिका–१२ का १९ वर्षीय प्रविन परियारको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको छ । दुवै मोटरसाइकल सहित अर्का मोटरसाइकल चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धा गरिरहेको छ ।

स्थानीय चुनावमा १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनका लागि मतदाताको अन्तिम नामावलि प्रकाशन गरेको छ । अहिलेको निर्वाचनमा १ करोड ७७ लाख बढी मतदाता हुने भएका छन् । वैशाख ३० को निर्वाचनका लागि आज बसेको आयोगको बैठकले अन्तिम मतदाताको नामावली टुङ्गो लगाएको हो । जसमा ८९ लाख ९२ हजार १० जना पुरुष मतदाता छन् भने महिला मतदाताको संख्या ८७ लाख ४१ हजार ५ सय ३० जना रहेको छ । त्यस्तै अन्यमा १८३ जना मतदाता छन् । सबैभन्दा बढी मतदाता मोरङमा ७ लाख १५ हजार २ सय २३ जना छन् भने सबैभन्दा कम मनाङमा ६ हजार ४ सय ९६ मतदाता रहेको आयोगले जनाएको छ ।

पीएनजीविरुद्धको दोस्रो खेलमा पनि हार, नेपालले गुमायो शृंखला

काठमाडौं । नेपालविरुद्धको दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय(ओडिआई)क्रिकेट शृंखलामा पपुवा न्यूगिनी(पीएनजी)ले क्लिनस्विप गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको दोस्रो ओडिआईमा नेपालविरुद्ध ३ विकेटको जित हात पार्दै पीएनजीले शृंखला २–० ले आफ्नो पक्षमा पारेको हो। नेपालले दिएको २७९ रनको लक्ष्य पीएनजीले ८ बल बाँकी रहँदै ७ विकेट गुमाएर भेटायो। पीएनजीका ओपनर लुगा साइकाले सर्वाधिक ९० रन जोडे। १०२ बलमा उनले १२ चौका र एक छक्का प्रहार गरे। यस्तै रिले हिकारेले ४५ बलमा ३ चौका र २ छक्को मद्दतमा ४७ रन थपे। त्यसबाहेक सिसी बाउले ३८, चाल्र्स अमिनीले ३५, हिरी हिरीले १३, नर्मन भानाउले ११ रन थपेका थिए। नेपालका सोमपा कामीले ३ तथा पवन सर्राफले २ विकेट लिए। यस्तै सन्दीप लामिछाने र आरिफ सेखले समान १–१ विकेट लिए। त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी शृंखलाको दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २७८ रन बनाएको थियो। खेल सकिन ११ बल बाँकी हुँदा क्रिजमा रहेका कप्तान सन्दीप लामिछाने र सोमपाल कामीको २७ रनको साझेदारी गर्दै नेपाललाई उक्त स्कोरमा पुर्‍याएका हुन। अन्तिम ओभरमा सन्दीपले १६ रन प्रहार गरेका थिए। आक्रामक ब्याटिङ गरेका सन्दीपले ९ बलमा २ चौका र एक छक्काको मद्दतमा नटआउट २४ रनको पारी खेले। त्यसअघि नेपालका लागि दीपेन्द्रसिंह ऐरीले १०५ रनको शतकीय पारी खेले। उनले १४० बलमा ७ चौका प्रहार गरे। नेपाली ओडीआई खेलको इतिहासमा शतक प्रहार गर्ने उनी तेस्रो खेलाडी बने। यसअघि शुक्रबारमात्रै पीएसजीविरुद्ध नेपालका रोहित पौडेलले १२६ रनको शतकीय इनिङ्स खेलेका थिए। त्यसअघि पूर्वकप्तान पारस खड्काले २०१९ जनवरीमा यूएईविरुद्ध ११५ रनको शतकीय पाली खेलेका थिए। यस्तै दोस्रो ओडिआई खेल खेलेका देव खनालले ७२ रन जोडे। ८६ बलमा उनले ४ चौका र ३ छक्का प्रहार गरेका थिए। पाँच रनको स्कोर हुँदा दुवै ओपनरलाई गुमाएपछि नेपाली पारी दीपेन्द्र र देवले सम्हालेका थिए। तेस्रो विकेटको लागि उनीहरुबीच १२९ रनको साझेदारी भएसँगै नेपालले इनिङ्ग अघि बढाएको थियो। यो नेपालको ओडीआई खेलको इतिहासमा अहिलेसम्म भएको सर्वाधिक रनको साझेदारी पनि हो। यसअघि शुक्रबारबाटै पीएनजीविरुद्धको पहिलो खेलमा पाँचौं विकेटका लागि रोहित पौडेल र आरिफ सेखबीच १०४ रनको साझेदारी भएको थियो। अघिल्लो खेलमा शतक प्रहार गरेका रोहित पौडेल ३५ रनमा आउट भए। ३६ बलमा उनले ३ चौका प्रहार गरे। त्यसबाहेक भीम सार्कीले २६ रन जोडे। पवन सर्राफ र कुशल भुर्तेलले खाता नै खोल्न सकेनन्। आरिफ सेख ४ र अनिल साह १ रनमै आउट भए।

तेल ट्यांकरमा आगलागी हुँदा सहचालकको मृत्यु

सिमरा । बारामा तेल ट्यांकरमा आगलागी हुँदा ट्यांकर सहचालकको मृत्यु भएको छ। बिहीबार जितपुर सिमरा उपमहानगरपालिका–२१ अमलेखगन्जस्थित आयल निगमभित्र एक ट्यांकरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । ना ४ ख २६५६ नम्बरको पेट्रोल ट्यांकरबाट अनलोड गर्न पार्किङ गरी राखेको गाडीमा आगलागी भएको हो। ब्याट्रीको तार सर्ट भएर आगलागी भएको प्रहरीले बताएको छ। प्रहरी, सेना र दमकलले आगो नियन्त्रणमा लिएको थियो। ट्यांकर सहचालक ३० वर्षीय लक्ष्मण श्रेष्ठ गम्भीर घाइते भएका थिए। भारत गोरखपुर घर भई आयल निगममा इलेक्ट्रिसियनको काम गर्ने २५ वर्षीय रामलखन प्रजापती सामान्य घाइते छन्। उनीहरूको सुरूमा अल्पाइन अस्पताल सिमरामा उपचार गरिएको थियो। थप उपचारको लागि श्रेष्ठलाई काठमाडौं ल्याइएको थियो। सहचालक लक्ष्मण श्रेष्ठको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान ८ बजे मृत्यु भएको हो।

९ बजे कांग्रेस संसदीय दलकाे बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बिहान ९ बजे बैठक बस्नेछ । बैठकमा विशेषगरी अमेरिकी अनुदानसम्बन्धी सम्झौता (एमसीसी) संसदमा अघि बढाउने विषयमा छलफल हुने नेताहरूले बताएका छन् । संसद् बैठक भोलिका लागि आह्वान गरिएको छ । भोलिको संसद् बैठकमा एमसीसीलाई अघि बढाउने र पारित गर्ने विषयमा संसदीय दलले निर्णय गर्ने बुझिएको छ । यस्तै, सत्ता गठबन्धनमा आबद्ध तीन दलका तर्फबाट दर्ता गराइएको महाअभियोग प्रस्तावका विषयमा पनि बैठकमा छलफल हुनेछ । संसदमा विचाराधीन विभिन्न विधेयकमा पार्टीले खेल्ने भूमिकालगायत विषयमा बैठकमा छलफल हुने बताइएको छ ।

स्याङ्जामा जिप दुर्घटना दुई जनाको मृत्यु

स्याङ्जा । स्याङ्जा जिल्ला बिरुवा गाउँपालिका–३ धोवादीमा शुक्रबार राती जिप दुर्घटना भएको छ ।बिरूवा ३ धोवादीको भिर बाट जिप दुर्घटाना भई करिव ५ सय मिटर तल खसेको बताईएको छ । धोवादीस्थित भित्री सडक खण्डमा विरूवाबाट खाली तर्फ जाँदै गरेको ग१ज५९३९ नम्बरको जीप सडकदेखि अन्दाजी ५०० मिटर तल खसेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा बिरुवा ३ खाली बस्ने २६ वर्षीय जीप चालक बेल बहादुर थापा र जिपमा सवार यात्रु सोही ठाँउका ३२ वर्षीय भेष बहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । दुर्घटनाको खबर पाएपछि पुगेको प्रहरी अधिकृत सहितको टोलीले घटनास्थलमा उनीहरुलाई मृत अवस्थामा उद्दार गरेको हो । मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल स्याङ्जा पठाइएको छ ।