वनमन्त्री बस्नेत न्यूयोर्क प्रस्थान

काठमाडौंः वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत संयुक्त राष्ट्रसङ्घको आयोजनामा हुने जलवायु कार्यशिखर सम्मेलनमा सहभागी हुन संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् ।

सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी गएराति त्यसतर्फ प्रस्थान गरेका हुन् । सम्मेलन आगामी २३ सेप्टेम्बर (सोमबार) देखि अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा शुरु हुँदैछ ।

मन्त्री बस्नेतले सम्मेलनका दुई सत्रलाई सम्बोधन गर्ने कार्यसूची रहेको उहाँका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए । उनले ‘अ कल फर एक्सनः रेजिङ एम्बीसन फर क्लाइमेट एडप्टेशन एण्ड रेजिलियन्स र ‘कम्युनिटी रेजिलियन्स पार्टनरसिप प्रोगाम’ विषयमा सम्बोधन गर्ने छन् ।

यसैगरी उनले आगामी मङ्गलबार संयुक्त राष्ट्रसङ्घको दिगो विकाससम्बन्धी विशेषसभामा सहभागी हुने कार्यक्रम छ । न्यूयोर्क प्रस्थान गर्नुअघि मन्त्री बस्नेतले जलवायु परिवर्तन अनुकूलनका दिगो र प्रभावकारी कार्यक्रम तय गर्न विश्व समुदायलाई अपिल गरिने जानकारी दिए ।

मन्त्री बस्नेतले नेपालका तर्फबाट जलवायु परिवर्तनको नकारात्मक प्रभावका कारण विश्व भयाबह सङ्कटको नजिक पुगेकाले यसको समाधान नियमित प्रयासबाट मात्र सम्भव नहुने भएकाले विश्वस्तरबाटै साझा पहल हुनुपर्ने विषय उठाइने जानकारी दिए ।

नेपालले यसपटक लजवायु परिवर्तनमा न्यून भूमिका रहेका तर असरबाट अतिप्रभावित नेपालजस्ता मुलुकको अनुकूलन क्षमता बढाउन आवश्यक स्रोतको व्यवस्था गर्न अपिल गर्ने भएको छ । त्यस्तै नेपालले जलवायु परिवर्तनका कारण तीव्र गतिमा हिमाल पग्लनेक्रम बढेको र त्यसको प्रभावबाट विश्व नै प्रभावित भएको विषयमा समेत विश्व समुदायको ध्यानाकर्षण गराउने छ । आगामी नोभेम्बरमा चिलीमा हुने जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रको सम्मेलन (कोप) को तयारी स्वरुप सो सम्मेलन हुन लागेको हो ।

काभ्रेमा ७ हेलिकोप्टर आकस्मिक अवतरण, सबै यात्रु सकुशल

काभ्रे । मौसम खराबका कारण काठमाडौं जान नसकेपछि सात वटा हेलिकप्टर काभ्रेमा आकस्मिक अवतरण भएका छन । लुक्लाबाट काठमाडौ उडेका चार वटा हेलिकप्टर काभ्रेको पाँचखालमा आकस्मिक अवतरण गरेका छन् । भने काभ्रे र सिन्धुलीको सिमाना नेपालथोकमा तीन वटा हेलिकप्टर आकस्मिक अवतरण गरेका छन् । अवतरण भएका सात वटै हेलिकप्टरका यात्रु सकुशल रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभे्रका प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक गिरीले लुक्लाबाट विदेशी पाहुना लिएर काठमाडौ आउँदै गरेका चारवटै हेलिकप्टरमा विदेशी पर्यटक रहेको बताए । गिरीका अनुसार काभ्रेको पाँचखाल नगरपालिका वडा नम्वर २ जोरपाटीमा तीन वटा हेलिकप्टर आकस्मिक अवतरण गरेका छन् भने पाँचखाल नगरपालिका २ कै हर्सेमा एक वटा हेलिकप्टर अवतरण गरेको छ । अविरल परेको पानी र हुस्सुका कारण लुक्लाबाट उडेका हेलिकप्टर राजधानी जान नसकेका हुन् । मनाङ्ग एयरका दुई वटा, सिम्रिक, कैलाश एयरका एक÷एक वटा हेलिकप्टर पाँचखाल २ जोरपाटी र हर्सेमा आकस्मिक अवतरण गरेका हुन् । चार चालक सहित विदेशी पर्यटक २१ जना सकुशल रहेको प्रहरीले जानकारी दिएको छ । त्यस्तै नेपालथोकमा अवतरण गरिएका सबै हेलिकप्टरमा पर्यटक रहेको प्रहरीले जानकारी दिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकबाट लिइएको हो ।

क्रिकेट संघको चुनाव असोज १० र ११ गते हुने

काठमाडौंः नेपाल क्रिकेट संघ (क्यान)को असोज १० र ११ गते हुने भएको छ । अन्तर्राट्रिय क्रिकेट काउन्सिल (आईसीसी) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बीच असोज १० र ११ मा चुनाव गर्ने सहमति भएको हो । आईसीसीका ईमरान ख्वाजा र अमर शेख सहितको टोलीले सोमबार बिहान राखेप सदस्य सचिव रमेश सिलवाल र स्वतन्त्र कमिटिका कानूनी परामर्शदाता राजेश्वर श्रेष्ठसंग छलफल गरेपछि सहमति जुटेको हो । यसअघि स्वतन्त्र टोलीले ३ र ४ गतेका लागि विशेष साधारणसभा बोलाएको थियो ।

मुक्तिनाथ जाँदै गरेको भारतीय बस दुर्घटना, २७ यात्रु घाइते

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा सोमबार बिहान भारतीय बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । मुक्तिनाथतर्फ जाँदै गरेको युपिबीपी ४९९५ नं को बस अनियन्त्रित भई राजमार्ग छेउ पल्टिँदा बसमा सवार २७ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा घाइतेमध्ये १२ जनालाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको र बाँकी सबै डिस्चार्ज भइसकेका छन् । घाइतेमध्ये छ जनाको अवस्था मध्यम रहेको छ । तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । रासस

असोज ५ अघि नै राजमार्गका खाल्डाखुल्डी मर्मत गरिने

काठमाडौं । वर्षामा भत्किएका राजमार्गका खाल्डाखुल्डी असोज १० गतेसम्म मर्मत गरिसकिने भएको छ । असोज ५ गतेबाट दशैँ, तिहार र छठ पर्वका लागि बसको अग्रिम टिकट बुकिङ खुलाएका यातायात व्यवसायीले सडक मर्मत गरिदिन आग्रह गरेपछि सडक विभागले तत्काल मर्मत गर्न लागेको हो । विभागका प्रवक्ता शिवहरि सापकोटाले भने “वर्षाले भत्किएका राजमार्गको मर्मत तथा खाल्डाखुल्डी पुर्ने काम सुरु भएको छ, असोज १० गतेभित्रै सम्पन्न गर्ने गरी काम थालिएको छ ।” यातायात व्यवसायीले सडकको अवस्था कमजोर रहेकाले तत्कालका लागि पहिरो हटाउने र खाल्डाखुल्डी पुर्ने काम गर्न माग गरेका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले भने “दशैँमा सवारी साधनको चाप हुन्छ, तोकिएको समयमा गन्तव्यमा पुग्नैपर्ने हुन्छ । त्यस्ता सडक सरकारले छिटो मर्मत गरोस् ।” दशैँका अवसरमा ट्राफिक व्यवस्थापन चुुस्त राख्नुपर्ने पनि व्यवसायीको माग छ । महासङ्घका अनुसार राजमार्गहरूमा ट्राफिक जाम बढी हुने गरेको छ । काठमाडौंको नागढुङ्गामै घण्टौँ जाममा पर्नुपर्ने समस्याको समाधान हुनुपर्छ । जाँचका नाममा सवारी साधन र यात्रुलाई अनावश्यक दुःख दिने काम नगर्न महासङ्घले आग्रह गरेको छ । नागढुङ्गा चेकपोस्टमै घण्टौँ जाममा बस्नुपर्ने बाध्यता रहेको महासचिव सिटौलाको भनाइ छ । सरकारले सात वर्षदेखि वैज्ञानिक भाडा समायोजन नगरेकाले व्यवसायीहरू मर्कामा परेको महासङ्घले जनाएको छ । सिटौलाको भनाइ छ “विगत सात वर्षदेखि वैज्ञानिक भाडा समायोजन भएको छैन तर हामी दशैँको अवसरमा यात्रुको समस्यालाई ध्यानमा राखेर बुकिङ खुला गर्दैछौँ । यो सरकारले बुझ्नुपर्ने कुरा हो ।” यातायात व्यवस्था विभागले भने तत्काल भाडा वृद्धि नहुने जनाएको छ । विभागले गत असार १ देखि भाडा समायोजन गरे पनि तत्काल निर्णय फिर्ता लिएको थियो । गत असोजमा सरकारले भाडा वद्धि गरेको थियो । लामो तथा मध्यम दूरीका लागि अग्रिम टिकट बुकिङ खुल्ने महासङ्घले जनाएको छ । महासङ्घका अनुसार काठमाडौंको नयाँ बसपार्क, सुन्धारा, पुरानो बसपार्क, कलङ्की, गौशाला, कोटेश्वरलगायतका स्थानबाट अग्रिम टिकट बुकिङ गर्न सकिने छ । भीडमा ठगिने तथा समस्यामा पर्न सकिने भएकाले तोकिएकै काउन्टरबाटै टिकट लिन महासङ्घले अनुरोध गरेको छ । कसैले सस्तो टिकट मिलाइदिन्छु भन्दैमा प्रलोभनमा नपर्न पनि सिटौलाले अनुरोध गरे । साथै शङ्कास्पद व्यक्तिलाई बसमा प्रवेश नदिइने उनको भनाइ छ । क्षमताभन्दा बढी यात्रु बसमा नराखिने महासङ्घले जनाएको छ । बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म अग्रिम टिकट बिक्री गरिने भएको छ । टिकट अनलाइनबाट पनि बुक गर्नसकिने छ । केही निजी कम्पनीले अनलाइनबाटै टिकट बुक गरिरहेको सिटौलाको भनाइ छ । बससेवा डटकमले अनलाइनबाट टिकट काट्न सक्ने व्यवस्था गरेको छ । बससेवा डटकम नेपालले नेपालभरका एसी, डिलक्स, हाइसलगायतका बस टिकट उपलब्ध गराउनुका साथै बस रिजर्भसमेत अनलाइनबाटै गर्दै आएको छ । ईसेवा एकाउन्ट भएका ग्राहकले ईसेवामार्फत र एकाउन्ट नभएको अवस्थामा नजिकको ईसेवा, जोन, पोइन्ट, अनलाइन पेमेन्ट तथा अन्य साइबर कम्युनिकेसनबाट टिकट लिन सकिनेछ । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

एएफसी यू–१६ च्याम्पियनसिपः जोर्डनसँग नेपालको फराकिलो हार

काठमाडौं । जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिपमा नेपाली किशोर टिम फराकिलो हार ब्योहोरेको छ। शनिबार भएको खेलमा नेपाल घरेलु टोली जोर्डनसँग ७–० ले पराजित भयो। अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा नेपालले पहिलो हाफमानै ५ गोल खान पुग्यो भने दोस्रो हाफमा २ गोल खाँदै समग्रमा ७ गोल खान पुग्यो। जोर्डनले खेलको १६ औं मिनेटमा अहमद अब्दुल्लाहले गोल गर्दै जोर्डनलाई सुरुवाती अग्रता दिलाएका थिए। १९ औं मिनेटमा अली अहमद हाजाबीले जोर्डनको अग्रता दोब्बर बनाएका थिए। २० औं मिनेटमा अब्देल काडेर अलालेमले जोर्डनको अग्रतालाई ३–० मा पुर्‍याएका थिए। पहिलो हाफमानै रवाफिलो प्रदर्शन देखाउँने क्रममा ४२ औं मिनेटमा मोहमद खालेद अबिडाटले गोल गर्दै जोर्डनको अग्रता ४–० मा पुर्याएका थिए। खेलको ४४ औं मिनेटमा अब्देलले व्यक्तिगत दोस्रो गोल गर्दा जोर्डनले पहिलो हाफमा ५–० को अग्रता बनायो। दोस्रो हाफमा नेपाल केहि समालिए पनि गोल थप दुई गोल खान पुग्यो। खेलको ४७ औं मिनेटमा अब्देलले ह्याट्रिक पुरा गर्दा जोर्डनले नेपालको पोस्टमा आधा दर्जन गोल गरेको थियो। त्यसपछि खेलको ८० औं मिनेटमा सराज मुनिरले गोल गर्दा नेपाल ७–० ले पराजित हुन पुग्यो। २०२० मा आयोजना हुने यू–१६ च्याम्पियनसिपको छनोट अन्तर्गत समूहु ए मा रहेको नेपालले अब दोस्रो खेलमा सोमबार कुवेतसँग खेल्नेछ। प्रतियोगिताको तेस्रो खेमला ३ असोजमा ताजकिस्तानको सामना गर्दा अन्तिम खेलमा ५ असोजमा श्रीलंकासँग खेल्नेछ। प्रतियोगिताको शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउने छन्।

सिद्धबाबामा फेरि पहिरो, सिद्धार्थ राजमार्ग अवरुद्ध

बुटवल । बुटवल पाल्पा सडक खण्ड अन्तरगत पर्ने सिद्धबाबा मन्दिर नजिकै पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । शनिबार बिहान सवा ९ बजे माथिबाट खसेको पहिरोका कारण पाल्पा, गुल्मी अर्घाखाँची, पोखरा बाग्लुङ जाने गाडी बुटवलमा रोकिएका छन् । त्यस्तै बुटवल आउदै गरेका गाडी पाल्पाको दोभारमा रोकिएका छन् । अहिले यस क्षेत्रमा भीषण वर्षा भइरहेको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख भीमलाल भट्टराईले पाल्पाको टोलीसँग समन्वय गरेर सडक खुुलाउने प्रयास भइरहेको बताए । भारी वर्षा भइरहेकोले सचेत भएर हिड्न यात्रुहरुलाई प्रहरीले आग्रह गरेको छ । सिद्धबाबा सडक जोखिमपूर्ण छ ।

कप्तान अंशुमानले अब हङकङबाट क्रिकेट नखेल्ने

काठमाडौंः  हङकङ क्रिकेट टिमका कप्तान अंशुमान रथले अब हङकङबाट क्रिकेट खेल नखेल्ने भएका छन् । २१ वर्षीय रथ २०२० मा आयोजना हुने टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटको लागि हङकङले टिममासमेत परेका छैनन् । इमार्जिङ क्रिकेटका अनुसार अंशुमानले भारतको राष्ट्रिय टिममा पर्ने लक्ष्य बनाएर हङकङ क्रिकेट छाडेका हुन् । भारतीय मुलका खेलाडी अंशुमान रथले अबको सपना भारतीय क्रिकेटर भएर खेल्नु रहेको बताएका छन् । त्यस्तै, आफुलाई यो स्थानसम्म हङकङ क्रिकेट ल्याएको भन्दै खेलाडी, टिम, स्टाफ सबैलाई धन्यवाद दिएका छन् । हङकङ क्रिकेटमा अंशुमान कप्तान मात्र नभइ अनुभवि खेलाडी पनि हुन् । उनले १८ एक दिवसीय खेल खेलेका छन् । जसमा एक शतक र सात अर्धशतक सहित ८२८ रन बनाएका छन् । त्यस्तै, टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भने उनले २० खेल खेलेका छन् भने ३२१ रन बनाएका छन् ।

ओजेटी गर्ने किशोरीलाई बलात्कार गरेको आरोपमा इन्जिनियर पक्राउ

बैतडीः बलात्कारको आरोपमा एक इन्जिनियर पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेलौली नगरपालिकामा कार्यरत २७ वर्षीय इन्जिनियर रोशन चन्द रहेका छन् । बैतडी प्रहरीका अनुसार चन्दले नगरपालिकामा प्रशिक्षार्थी (ओजेटी) १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ । ती किशोरी सब इन्जिनियर पढ्दै थिइन् । घटना डडेल्धुरामा भएको हो । किशोरीको स्वाथ्य परीक्षण गरिएको र अनुसन्धानका लागि चन्दलाई डडेल्धुरा पठाउन लागिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

अमेरिका बस्दै आएकी प्रेम गीत–३ की नायिका क्रिष्टिनाको यस्तो खुलासा

काठमाडौं । लामो समयदेखि अमेरिकामा पढाई गर्दै आएकी मोडेल क्रिष्टिना गुरुङ अहिले चर्चामा छिन् । प्रेम गीत ३ को नायिकामा उनको नाम निश्चित भएपछि क्रिष्टिनाले पढाई पनि सँगै लगेर जाने बताएकी छिन् । छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गर्ने यो फिल्ममा प्रदीप खड्का, मनिष राउत, सुनील थापा, शिव श्रेष्ठ लगायतका कलाकारको समेत भूमिका रहनेछ । २७ सय प्रतिस्पर्धीलाई उछिन्दै नायिकामा चुनिएकी क्रिष्टिनाले अमेरिकाको बाल्टीमोरमा ‘इन्फरमेसन सिस्टम’ विषय लिएर अध्ययन गरिरहेकी थिइन् । प्लस २ पछि थप अध्ययनका लागि अमेरिका गएकी क्रिष्टिना आमा बिरामी परेका कारण नेपाल आउने जाने गरिरहन्थिन् । अमेरिकामा रहे पनि नेपालमै भविष्यको खोजी गरेकी क्रिष्टिनाले अब नायिकाको परिचय बनाउँदै छिन् । सानैदेखि नेपाली चलचित्र क्षेत्रमा चासो राख्ने क्रिष्टिना विदेशमा हुँदा झनै बढी नेपाली चलचित्र क्षेत्रप्रति चासो बढेको धारणा राख्छिन् । ‘प्रेम गीत ३’ की ‘गीत’ तपाईंलाई छनोटमा पर्छु भन्नेमा कत्तिको विश्वास थियो ? म नै छानिन्छु झैँ त लागेको थिएन तर यो चलचित्रमा अभिनय गर्न पाए हुन्थ्यो भन्ने लागेको थियो । अचानक फिल्ममा छानिँदा कस्तो महसुस गर्नुभएको छ ? एकदमै खुशी छु । खुशीको सीमा छैन । पहिलेदेखि नै यो क्षेत्रमा । केही गर्न पाए हुन्थ्यो भन्ने लागेको थियो । यो ब्यानरका बारेमा पहिलेदेखि नै थाहा थियो । अमेरिकादेखि नेपाल आउनुभएको छ, नेपाली फिल्मको अवस्थाबारे कत्तिको जानकार हुनुहुन्छ ? खासमा म व्यक्तिगत कारणले अमेरिकाबाट नेपाल आएकी थिएँ । फिल्मको अडिसन हुँदैछ भन्ने थाहा पाएपछि यतै अडिसन दिने सोचेँ । नेपालमै केही गर्नु छ भनेर मौका खोजिरहेकी थिएँ । विदेशमा हुँदा नेपाली फिल्म र नेपालबारे अझै चासो हुने रहेछ । नेपालबारे अपडेटमा रहन्थेँ ।

फेरि देखाए पारसले उग्र रुप, एयरपाेर्टका प्रहरीमाथि हातपात

काठमाडौंः  पूर्व युवराज पारस शाहले सुरक्षाकर्मीमाथि हातपात गरेका छन् । समर्थकहरुसँगै त्रिभुवन विमानस्थल पुगेका पारसले राजपरिवारका सदस्यमाथि प्रहरीले अपमान गरेकाे भन्दै सुरक्षामा रहेका प्रहरीलाई धकेलेकाे भिडियाे अहिले भाईरल बनेकाे छ । उग्र र सनकी व्यवहारका कारण चर्चामा आइरहने पारस विमानस्थल पुग्दा समर्थकहरुले राजा आउ देश बचाउको नारा लगाएका थिए । पारसका बुवा पूर्व राजा ज्ञानेन्द्र शाह र पत्नी हिमानी यतिखेर बैंककमा रहेका छन् ।

व्यवसायीको दबाबसामु झुक्यो मन्त्रालय, दूधको मूल्य बढ्ने, कार्यदल गठन

काठमाडौं । व्यवसायीको चर्को दबाबपछि सरकारले दुधको मूल्य बढाउने भएको छ । नेपाल दुग्ध संस्थानका कार्यकारी अध्यक्ष बाबुकाजी पन्तको संयोजकत्वमा दूधको नयाँ मूल्य निर्धारण गर्न कार्यदल गठनसँगै मूल्य बढने निश्चित भएको हो । सरकारले यसविषयमा अध्ययन गरी सिफारिस गर्न ८ सदस्यीय कार्यदल गठन गरेको छ । गठित समितिले मूल्य निर्धारणको आधार विश्लेषण, क्षेत्रगत रुपमा दूधको उत्पादन लागत विश्लेषण, दूध ढुवानी र चिस्यान खर्च तथा दूध उत्पादनमा मौसमी प्रभावलगायतका बिभिन्न नौ वटा क्षेत्रमा सिफारिस गर्ने छ । यसका अलवा दूधको गुणस्तर, आन्तरिक तथा बाह्य बजारसँग प्रतिस्पर्धा, मुद्रास्फीति दर र विगत २ वर्षको बजार मूल्यबृद्धि, विगतका ५ वर्षमा दूधको मूल्यको ट्रेन्ड र दूधको मूल्य समायोजनमा उपभोक्तामा असर विश्लेषणबारे पनि कार्यदलले अध्ययन विश्लेषण गर्नुपर्ने कार्यदेश छ । कतिपयले यो कार्यदलले बहुराष्ट्रिय कम्पनीका पाउडर दूधलाई भित्र्याउने कसरतका रुपमा समेत लिएका छन् । यद्यपी मन्त्री खनालले भने विदेशी कम्पनीको दूध कुनै पनि हालतमा भित्रिन नदिने बताउँदै आएका छन् । कार्यदलमा नेपाल डेरी एसोसिएसन, डेरी उद्योग एसोसिएसन, मन्त्रालयका प्रतिनिधि, दुग्ध विकास सहकारीका प्रतिनिधि, दुग्ध विकास कम्पनीका प्रतिनिधि सहभागी छन् । कार्यदलको समय सीमा नतोकिए पनि भदौ एक गतेदेखि नै लागू हुने गरी प्रतिलिटर ६ देखि ८ रुपैयाँसम्म दूधको मूल्य बढ्न सक्ने देखिन्छ । नेपालमा पर्याप्त सम्भावना हुँदाहुँदै पनि दुग्ध विकास संस्थानको नेतृत्व प्रभावकारी नहुँदा यसले अपेक्षित सफलता प्राप्त गर्न सकेको छैन । बिभिन्न बहुराष्ट्रिय कम्पनीहरु भने नेपालमा दूध उत्पादन र बजार बिस्तारका लागि दबाब दिँदै आएका छन् । अहिले बजारमा दूधको मुल्य बढने र भविष्यमा विदेशी कम्पनीले कम मूल्यमा उत्पादन गर्ने प्रस्ताव ल्याएमा के हुने भन्ने प्रश्न भने अझै अनुत्तरित नै छ ।

श्रीलंका र न्यूजिल्यान्डबीच भइरहेकाे खेल वर्षाका कारण राेकियाे

काठमाडौं, आइसीसी विश्व टेस्ट च्याम्पियनसिप क्रिकेट प्रतियोगिता अन्तर्गत श्रीलंका र न्यूजिल्यान्डबीच भइरहेकाे खेला वर्षाका कारण राेकिएकाे छ । न्यूजिल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्दैै खराब मौसमका कारण खेल रोकिनुपूर्व ६८ ओभर खेल्दै ५ विकेटको नोक्सानीमा २०३ रन बनाएको छ । रोस टेलरले अविजित रहँदै ८६ रन जोडेका छन् । हेन्री निकोलस ४२ रन बनाएर ‘आउट’ भए । पाँचओटै विकेट श्रीलंकाका २५ वर्षे बलर अकिला दनञ्जयले लिएका हुन् । यसअघि, इंग्ल्यान्ड र अष्ट्रेलियाले च्याम्पियनसिपअन्तर्गत्को पहिलो खेल खेलेका थिए । सो खेलमा अष्ट्रेलिया विजयी भएको थियो । दुवैबीचको ‘एसेज’ शृंखलाअन्तर्गत्को दोस्रो खेल बुधबारैदेखि लर्ड्समा सुरु हुनुपर्ने भएपनि वर्षाले गर्दा खेल हुन सकेको छैन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले टेस्ट खेल्ने ९ टिमबीच प्रतियोगिता आयोजना गरेको हो । इंग्ल्यान्ड र अष्ट्रेलिया तथा श्रीलंका र न्यूजिल्यान्डसँगै भारत, पाकिस्तान, बंगलादेश, दक्षिण अफ्रिका र वेस्ट इन्डिजले भाग लिने सो च्याम्पियनसिपको लिग चरणका शीर्ष दुई टिमले उपाधिका लागि सन् २०२१ को जुन महिनामा इंग्ल्यान्डमा फाइनल खेल खेल्नेछन् । दुई वर्षको अवधिमा २७ शृंखला हुनेछन् । सबै टिमले ६/६ ओटा शृंखला खेल्नेछन् । यसमा तीन घरेलु मैदानमा र तीन विदेशी मैदानमा हुनेछन् । एक शृंखलामा कम्तीमा दुई र बढीमा पाँचओटासम्म टेस्ट खेल खेलिनेछन् । अंकका आधारमा शीर्ष दुई टिम फाइनलमा पुग्नेछन् । फाइनल खेल बराबरी वा ‘टाइ’ भएमा लिग चरणको अंकका आधारमा विजेता घोषित गरिने आइसीसीले जनाएको छ ।

पोखराका वडा कार्यालयमा लुट मच्चाउने समातिए

पोखरा । पोखरा महानगरको वडा कार्यालयमा लुट मच्चाउने पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले बुधबार पत्रकार सम्मेलन गरेर वडा कार्यालयमा चोरी कार्यमा संलग्नलाई सार्वजनिक गरेको हो । वडा कार्यालयमा चोरी गर्ने ४१ वर्षीय किशोर थापा रहेको प्रहरीले खुलाएको छ । थापा यसअघि पनि काठमाडौं केन्द्रीय कारागारमा दुई पटकसम्म थुनिएको व्यक्ति भएको प्रहरीले जनाएको छ । पहिलो पटक ५ वर्ष र दोस्रो पटक ३ वर्ष सजाय भोगेको प्रहरी अनुसन्धानबाट खुलेको छ । थापाले वडा कार्यालयमा सुरक्षा गार्ड नहुँदा चोरी गर्न सजिलो हुने बयान दिएको प्रहरीले बताएको छ । काठमाडौं महानगरपालिका ११ स्थायी ठेगाना भएका थापा पोखरा महानगरपालिका १० कालिकाचोकमा डेरा गरी बस्दै आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार थापाले चोरी गरेका सामान डेरा नजिकैको निमार्णाधीन भवनमा लुकाउँथे । थापाले चोरी गरेका सामान बिहानको समयमा काठमाडौं पुर्याउँदै आएका थिए । गाउँमा सवारीसाधनको पहुँच नहुने साथै चोरी गर्न पनि गाह्रो पर्ने भएकाले सहरलाई चोरले निशाना बनाउँदै आएको प्रहरीले जनाएको छ । थापाले चोरीका सामान काठमाडौं महानगरपालिका १४ कंलकी स्थित ‘कम्प्युटर सोलुसन’मा बेच्ने गरेको खुल्न आएको प्रहरीको अनुसन्धानको क्रममा खुलेको छ । उक्त कम्प्युटर पसलका सञ्चालक थाहा नगरपालिका १२ मकवानपुरका ३६ वर्षिय रुपचन्द्र गोपालीलाई समेत प्रहरीले समातेको छ । थापाले चोरी गरेर कोठामा लुकाइ राखेको अवस्थामा टोसिबा कम्पनीको ल्यापटप र चार्जर १ थान, सोनी कम्पनीको क्यामेरा १ थान, फलामको रड २ थान, कालो पंजा २ जोर, कालो माक्स १ थान, सेतो रंगको ट्रयाक २ थान, निलो ज्याकेट २ थान, निलो टिसर्ट १ थान, टोपी २ थान समेत बरामद गरेको छ । प्रहरीले गोपालीले सञ्चालन गर्दै आएको कम्प्युटर सोलुसनबाट विभिन्न कम्पनीका ल्यापटप ३ थान, सिपियु ९ थान र मोनिटर १७ थान चोरिका सामान बरामद गरेको छ । प्रहरी अनुसन्धानले उक्त कम्प्युटर सोलुसनमा चोरीका सामान बिक्री हुने गरेको खुल्न आएको प्रहरीले जनाएको छ । थापाले १ वर्षको अवधिमा पोखराका ११ वडामा चोरी गरेका थिए । थापालाई जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरि चोरी तथा डाँका सम्बन्धी डाँकासम्बन्धी मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए । रातो पाटीबाट

चलचित्र ‘हजार जुनीसम्म’ साउन ३० गते प्रदर्शनमा

काठमाडौं । चलचित्र ‘किस्मत’ डेब्यू नायक आर्यन सिग्देल अहिले फेरि दर्शकको पुरानै माया पाउने प्रतिक्षामा छन्, जुन उनले केही वर्ष अघिसम्म असीमित पाएका थिए । सिंगल र मल्टिप्लेक्स दुवै हलमा दर्शकले दिएको मायालाई आर्यन फेरि पनि फर्काउने धुनमा छन् । उनी अभिनित चलचित्र ‘हजार जुनीसम्म’ भोलि अर्थात साउन ३० गतेबाट रिलिज हुँदैछ । आर्यन यसपटक दर्शकको पूर्णसाथको अपेक्षामा छन् । किनकी, उनको चलचित्रले बक्स अफिसमा राम्रो कमाई गर्न छाडेको केही वर्ष भयो । चलचित्र ‘रुद्रप्रिया’ले बक्स अफिसमा राम्रो कमाई नगर्दा आर्यन हच्किएका थिए । चलचित्र ‘हजार जुनीसम्म’लाई आर्यनले काँधमा बोकेका छन् । यसैले, पनि चलचित्र चल्दा आर्यनलाई फाइदा धेरै हुन्छ । आर्यन आफूलाई स्टारडम र नम्बर १ को लोभ भन्दा पनि दर्शकको लोभ रहेको बताउँछन् । दर्शकले राम्रो चलचित्रमा राम्रो काम गरेछ भनेर आफूलाई भनिदिएको खण्डमा आफू खुशी हुने आर्यन बताउँछन् । निर्देशक विकासराज आचार्य र आर्यनले यसअघि ‘नाई नभन्नु ल’को सिरिजमा काम गरेका थिए । चलचित्रभित्र आर्यन ‘माया’ नामक गरेकी पात्रको खोजीमा भौतारिएको देख्न सकिन्छ । चलचित्रमा उनलाई नायिका स्वस्तिमा खड्का, सलोन बस्नेत, संचिता लुइटेल लगायतले साथ दिएका छन् ।

यस्तो छ कारण अनलाइन सपिङमा अविश्वास

विगत केही वर्षदेखि नेपालमा पनि अनलाइन सपिङ गर्ने चलन बढेको छ । तर, अहिलेसम्म पनि अनलाइन सपिङले उपभोक्ताको खासै विश्वास जित्न सकेको देखिँदैन । किन त ? कारण धेरै होलान् । तीमध्ये केही खोतल्ने प्रयास गर्दैछु्र विगत केही दिनदेखि फेसबुकमा एउटा फोटोले धेरै चर्चा बटुलेको छ। माथिको यही फोटो हेरेर यो ब्लग लेख्न मन लाग्यो । अनलाइन सपिङ्गको वेबसाइट बनाएरै अमेजोन डट कमले गरेको प्रगति त तपाइँले सुन्दै–पढ्दै आउनु भएकै होला । तर, नेपालमा चाहिँ किन फस्टाउन सकिरहेका छैनन् अनलाइन सपिङ ? प्रत्येक अनलाइन सपिङ्ग साइटमा एकै सामानको भिन्दाभिन्दै मूल्य हुन्छ । त्यो पनि धेरै फरक । आफ्नो मनपरी अंकित मूल्य राखेर धेरै छुट दिएको देखाउने गरेको पाइन्छ । मैले यहाँ एउटा सामानलाई उदाहरणको रुपमा लिएको छु, (K18S Smart Heart Rate Monitor watch) यो घडीको वास्तविक मूल्य कति ? यही एउटा घडीको अंकित मूल्य २९९९ देखि ७९९९ सम्म राखेर छुट दिएको देखियो । आखिर यसको वास्तविक मूल्य कति ? कहिलेकाहीँ त एउटै साइटमा पनि एउटै सामान बेच्नेहरुले फरक फरक मूल्य राखेको देखिन्छ । पसलमा त अंकित मूल्य राख्ने पनि नियम हुन्छ । के अनलाइन सपिङ्गमा कुनै नियम छैन ? यो हाम्रो चिरपरिचित हङकङ बजार भनिने भृकुटीमण्डप भन्दा उग्र भएनरु कि के नियम छ जान्नेहरुको उत्तरको प्रतीक्षा गर्दछु । अनलाइन सपिङ्गमा मान्छेको विश्वास नहुने मुख्य कारण मलाई चाहिँ यही लाग्छ । अरु पनि तल लेख्ने कोसिस गरेको छु । २) फोटोमा हेर्दा एउटा सामान, डेलिभरी आउँदा त्यस्तै तर भिन्न (जो अहिले सामाजिक संजालमा धेरै चर्चित छ) ३) पसलमै गएर मोलमोलाइ (बार्गेनिङ) गरी गरी किन्ने बानी छ। अनलाइन सपिङ्गमा एक मूल्य हुन्छ जहाँ बार्गेनिङ गर्न पाइन्न । ४) धेरै पहिलादेखि हातैले छामेर सामान किन्ने बानी परेका नेपालीलाई फोटो हेरेर किन्ने बानी लगाउन गाह्रो छ। त्यहाँमाथि यी अनलाइन सपिङवालाहरुले फोटोमा एउटा भिडाउने अर्को समेत गर्छन् । ५) विदेशमा मानिसहरुसँग समयको अभाव छ। नेपालीहरुसँग जति पनि समय छ । एउटा पसलमा गयो, बार्गेनिङ गर्‍यो, चित्त बुझेन, फेरि अर्को पसल गयो । कसैले त एउटा सामान किन्न २, ३ दिन पनि घुम्ने गर्छन् ।