देशभरीका सरकारी डाक्टरलाई काठमाडौं बाेलायाे सरकारले

काठमाडौं।  देशभरका सरकारी चिकित्सकलाई काठमाडौं डाकिएको छ । सरकारी चिकित्सक संघले विगतमा सरकारसँग गरिएको सहमतिविपरीत समायोजन गर्न थालेको भन्दै त्यसको विरोधमा काठमाडौं आउन आह्वान गरेको हो ।
देशभर १ हजार ४ सय चिकित्सक सरकारी सेवामा कार्यरत छन् । समायोजनको सन्दर्भमा भएको सहमति कार्यान्वयनमा सरकारले कुनै चासो नदिएको भन्दै संघले दबाबका लागि केन्द्रमा भेला हुन आह्वान गरेको हो ।

संघ र स्वास्थ्य मन्त्रालयबीच गत २९ पुसमा सहमति भए पनि सरकारले कार्यान्वयनमा वास्ता नगरेको संघका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले बताए ।  समायोजनको प्रक्रिया अघि बढ्ने तर चिकित्सकसँग भएको सहमतिको कार्यान्वयनमा सरकार मौन देखिएको भन्दै देशभरका स्वास्थ्य संस्थामा कार्यरत सरकारी चिकित्सलाई काठमाडौं आउन आग्रह गरिएको संघका अध्यक्ष पाण्डेले बताए ।

सहमति कार्यान्वयन हुन नसके प्रदेश तथा स्थानीय तहमा समायोजन भएका चिकित्सकको उच्च अध्ययन, तालिम, वृत्ति विकासमा असर पर्ने संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ । यस्तै, चिकित्सकलाई माथिल्लो स्तरको अस्पतालमा सरुवा तथा बढुवामा गम्भीर असर पर्ने सरकारी चिकित्सक संघले जनाएको छ ।

याे समाचार अाजकाे राजधानी दैनिकमा प्रकाशित छ ।

सुन काण्डमा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश भुर्तेल पनि तानिए

काठमाडौँ — सुन तस्करीसम्बन्धी मुद्दा पेशी व्यवस्थापनमा ‘कैफियत’ भेटेपछि न्यायपरिषद्ले उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश कुलरत्न भुर्तेललाई समेत कारबाही स्वरूप काठमाडौँ तानेको छ । परिषद् बैठकले सोमवार भुर्तेललाई न्यायपरिषद सचिवालयमा ‘काज’ सरुवा गरेको हो । कान्तिपुर दैनिकका अनुसार, साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डका आरोपीवारे जिल्ला अदालतले गरेको ‘थुनछेक आदेश’ विरुद्धको निवेदन व्यवस्थापन क्रममा भुर्तेलको भूमिका शंकास्पद देखिएको स्रोतको भनाइ छ । ‘यस्ता निवेदनहरू उहाँले सुरुमा एकसाथ राख्नुभयो, पछि अलग अलग गरेर इजलास बाँडेको भेटियो’ परिषद् स्रोतले भन्यो, ‘पेशी व्यवस्थापन लगायत कतिपय कार्यविधिका विषयवस्तुमा गम्भीर प्रश्न उठेपछि झिकाइएको हो ।’ न्यायपरिषदले उच्च अदालत विराटनगरको घटनाबारे छानबिन गर्न सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडालाई जिम्मेवारी दिएको छ । उनले १५ दिनभित्र छानबिन प्रतिवेदन बुझाउनेछन् । यसअघि विराटनगर उच्च अदालतका न्यायाधीशहरू नागेन्द्रलाभ कर्ण, थीरबहादुर कार्की, सारंगा सुवेदी, उमेशकुमार सिंह र उमेशराज पौडेल काठमाडौँ झिकाइएका थिए । जिल्ला अदालत ललितपुरका न्यायाधीश विश्वमंगल आत्रेयका बारेमा छानबिन गर्न पनि परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईलाई जिम्मेवारी दिएको छ । भिसा प्रोसेसिङ र स्वास्थ्य परीक्षणका नाममा मलेसिया जाने नेपाली कामदारलाई ठगी गर्दै आएका भीएलएनका सञ्चालक रामकुमार श्रेष्ठलाई सफाइ दिएकोलगायत आत्रेयका फैसलामा गम्भीर प्रश्न उठाउँदै उजुरी परेकाले परिषद्ले सचिवालयमा तानेको हो । परिषद्ले सोमवारै सर्वोच्चका मुख्य रजिस्ट्रार राजनकुमार भट्टराईलाई उच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको छ । उनी सरकारी वकिल समूहबाट सचिव भई सर्वोच्चको मुख्य रजिस्ट्रारसम्म बनेका थिए । राष्ट्रिय न्यायिक प्रतिष्ठानको कार्यकारी निर्देशकमा सर्वोच्चका पूर्व न्यायाधीश तपबहादुर मगरको नाम सिफारिस भएको छ । सेवा अवधि पुगेका कारण प्रतिष्ठानको कार्यकारी निर्देशकबाट केशरीराज पण्डितले अवकाश पाएका थिए ।

एकदिवसीय र टी–२० क्रिकेटः यूएईको टिम घोषणा, को–को छन् टोलीमा ?

काठमाडौं, पुष २६ । नेपालविरुद्धको तीन एकदिवसीयका लागि संयुक्त अरब इमिरेट्स (यूएई) को क्रिकेट टोली घोषणा गरिएको छ । मोहम्मद नाभिदको कप्तानीमा यूएईले टोली घोषणा गरेको हो । यूएई क्रिकेट बोर्डले १६ सदस्यीय टोली घोषणा गर्दै नाभिदलाई यो पटक कप्तान चयन गरेको छ । नियमित कप्तान रोहन मुस्तफा निलम्बनमा परेका बेला नाभिदले नेपालविरुद्ध कप्तानी गर्ने भएका हुन् । मुस्तफा, अहमद राजा र रमीजशहजादलाई ८ साताको प्रतिबन्ध लगाइएको छ । उनीहरूलाई यूएईको बोर्डविरुद्ध बोलेको भन्दै निलम्बन गरिएको हो । जसका कारण तीनै खेलाडीले नेपालविरुद्धको सिरीज गुमाउने भएका छन् । नेपालले २५ जनवरीमा पहिलो, २६ मा दोस्रो र २८ जनवरीमा तेस्रो एकदिवसीय खेल खेल्दैछ । त्यसपछि ३१ जनवरी देखि ३ फेब्रुअरीसम्म तीनवटा टी–२० खेल खेल्ने तय भइसकेको छ । जसका लागि नेपाली क्रिकेट टिमले तयारी सुरू गरिसकेको छ भने यूएईले क्याम्पमा राखिसकेको छ । यूएई टिममा को-को छन् ? हेर्नुस् मोहम्मद नाविद (कप्तान),मोहम्मद उस्मान (उपकप्तान),जहूर खान, कदीर अहमद, फहद नवाज, अब्दुल शकूर, सुल्तान अहमद, सीपीरिजवान, चिराग सुरी, मोहम्मद बुटा, शमन अनवार, गुलाम शब्बर, इमरान हैदर, ताहिर मुगल, अमिर हयात

एक दिवसीय र टी–ट्वान्टी सिरिजः बन्द प्रशिक्षण शुरु, को–को खेलाडी प्रशिक्षणमा ?

काठमाडौं, पुष २५ । संयुक्त अरब इमिरेट्स (युएई) सँग एक दिवसीय र टी ट्वान्टी सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण आजदेखि शुरु भएको छ । कीर्तिपुरको त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुरु भएको बन्द प्रशिक्षणमा २० खेलाडी छन् । बन्द प्रशिक्षणमा कप्तान पारस खड्कासहित वसन्त रेग्मी, भीम सार्की, अविनाश बोहरा, विक्रम सोब, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल र करण केसी छन् । त्यसैगरी ललित भण्डारी, ललित नारायण राजवंशी, आरिफ शेख, पवन सर्राफ, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषावकर, सोमपाल कामी, सन्दीप जोरा र सुशन भारी छन् । बुधबार पहिलो दिनको बन्द प्रशिक्षणमा भने १६ खेलाडीले मात्र सहभागिता जनाएको राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षक जगत टमाटाले जानकारी दिए । उनले केही खेलाडी बाहिर जिल्लामा र केही विदेश भएकाले सबै खेलाडीको उपस्थिति हुन नसकेका बताए । कप्तान पारस खड्का र दीपेन्द्र सिंह ऐरी भने अष्ट्रेलियामा छन् । केही दिनपछि सबै खेलाडी बन्द प्रशिक्षण सहभागी हुने प्रशिक्षक टमाटाको भनाइ छ । युएईमा नै हुने उक्त प्रतियोगिता आगामी माघ ११ देखि २० गतेसम्म हुनेछ । युएइसँगको पहिलो एक दिवसीय खेल आगामी माघ ११ गते हुनेछ । दोस्रो खेल माघ १२ र तेस्रो खेल माघ १४ गतेका लागि तय भएको छ । यस्तै टी ट्वान्टीतर्फ पहिलो खेल माघ १७, दोस्रो माघ १८ र तेस्रो खेल माघ २० गते हुनेछ । नेपालले गत वर्ष जिम्बाबेमा भएको विश्वकप छनोटबाट एक दिवसीय मान्यता पाएको थियो ।

हुम्लामा अत्याधिक हिमपात हुन थालेपछि जनजीवन प्रभावित

हुम्ला, पुस २५ । जिल्लामा अत्यधिक हिमपात भएको छ । सदरमुकाम सिमकोटमा एक फिट हिउँ जमेको छ । हिमपातपछि यहाँको जनजीवन प्रभावित बनेको छ । विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । मङ्गलबार रातिदेखि हिउँ पर्न थालेको हो । हवाई सेवा अवरुद्ध भएको छ । हवाई सेवा अवरुद्ध हुँदा खाद्यान्न तथा दैनिक उपभोग्य सामानको अभाव भएको छ। हिमपातका कारण पशु चौपाया गोठभित्रै थन्किएका छन् । माथिल्लो हुम्लामा चार फिटसम्म हिउँ जमेकोे छ । हिमपातपछि तापक्रम घट्दै गएको छ । सबैभन्दा उत्तरी नाम्खा गाउँपालिकाको जनजीवन कष्टकर बनेको छ । ‘एक गाउँबाट अर्को गाउँ आवतजावत गर्न सकिएको छैन,’ स्थानीयवासी पासाङ लामाले भने । रासस

आज जापानी विदेशमन्त्री आउँदै, राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट हुने

काठमाडौंँ, पुस २५ गते । जापानी विदेशमन्त्री तारो कोनो दुई दिने नेपाल भ्रमणका लागि बुधबार काठमाडौं आउँदै हुनुहुन्छ । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा तारोले नेपालको भ्रमण गर्न लाग्नुभएको हो । नेपाल भ्रमणका क्रममा तारोले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुहुने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । उहाँ सोही दिन स्वदेश फर्कने कार्यक्रम छ । त्यस्तै, बुधबार परराष्ट्र मन्त्री ज्ञवाली नेतृत्वको नेपाली प्रतिनिधि मण्डल र तारो नेतृत्वको जापानी प्रतिनिधि मण्डलबीच द्विपक्षीय भेटवर्ता हुने तय भएको छ । भेटपछि दुबै देशका परराष्ट्र मन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यकम छ । परराष्ट्र मन्त्री ज्ञवालीले दुई महिना अघि जापानको औपचारिक भ्रमण गर्नु भएको थियो । यस अघि नेपालका तत्कालीन परराष्ट मन्त्री महेन्द्रबहादुर पाण्डेले सन् २०१४ को अक्टोबर ५ तारिखमा जापानको भ्रमण गर्नुभएको थियो भने परराष्ट्र सचिव शंकरदास वैरागीले सन् २०१५ को मार्च महिनामा जापानको भ्रमण गर्नुभएको थियो । यस्तै, सन् २००२ मा तत्कालीन जापानी प्रधानमन्त्री योसिहिरो मोरीले दुई दिने नेपाल भ्रमण गर्नुभएको थियो । यसैगरी, जापानी विदेश राज्यमन्त्री नोबु कासीले सन् २०१६ को अगस्टमा र जापानी संसदीय उपमन्त्री कियोसी वडावराले सन् २०१७ को जुलाइमा नेपालको भ्रमण गर्नु भएको थियो । सन् २०१७ को जुनमा जापानी वतावरण राज्यमन्त्री टाडाहिको इटोले नेपालको भ्रमण गर्नु भएको थियो । नेपाल जापान सम्बन्ध १८ औं शताब्दीको अन्त्यतिरबाट शुरु भएको भए पनि कूटनीतिक सम्बन्ध भने सन् १९५६ को सेप्टेम्बरबाट स्थापना भएको थियो । सन् १९६५ मा जापानको टोकियोमा नेपाली दूतावासको स्थापना भएको थियो भने जापानले सन् १९६७ मा काठमाडौंमा आफ्नो दूतावास स्थापना गरेको थियो ।

बंगलादेशमा सन्दीपको चमत्कार, अन्तिम ओभरमा पनि विकेट लिए

काठमाडौं, पुष २२ । शनिबारदेखि शुरु भएको बंगलादेश प्रिमियर लिग (बिपीएल) मा स्यालेट सिक्सर्सबाट खेलिरहेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले शानदार शुरुवात गरेका छन् । उनले आफ्नो तेस्रो र अन्तिम ओभरमा विकेट लिएका छन् । उनले कोमिल्ला भिक्टोरियन्सका सोयब मलिकलाई तेस्रो ओभरको अन्तिम बलमा आउट गरे । यस्तै, अन्तिम ओभरको दोस्रो बलमा पनि विकेट लिन सफल भए । ४ ओभर बलिङ गर्दै सन्दीपले १४ रन खर्चिए । यसअघि सिक्सर्सले ब्याटिङ गर्दै १२८ रनको लक्ष्य प्रस्तुत गरेको छ । यो लिगमा सन्दीपको डेब्यू खेल हो । केही दिनअघि मात्र सन्दीपले अष्ट्रेलियामा जारी बिग ब्यास लिगमा शानदार प्रदर्शन गरेका थिए । त्यहाँ उनले ४ खेलमा ८ विकेट लिएका थिए । बीबीएलमा सन्दीप मेलबर्न स्टार्समा आवद्ध छन् ।

बीबीएलः सन्दीप नहुँदा मेलबर्न स्टार्सलाई जित निकाल्न कति कठिन ?

काठमाडौं, पुष २२ । अष्ट्रेलियामा जारी बिग ब्यास लिग (बीबीएल) मा आज नेपाली क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने आवद्ध मेलबर्न स्टार्सले पाँचौ खेल खेल्दै छ । खेल नेपाली समयअनुसार १ बजे शुरु हुँदैछ । आज मेलबर्न स्टार्सले टस हारेर बलिङको निम्तो पाएको छ । यो खेलमा सन्दीप भने छैनन् । उनी आजदेखि शुरु भएको बंगलादेश प्रिमियर लिग (बीपीएल) मा छन् । उनको खेल भोलि (आइतबार) हुँदैछ । बिग ब्यास लिगमा चार खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आठ विकेट लिएका सन्दीप बिनाको खेल आज मेलबर्नले जित्न सक्छ या सक्दैन हेर्न लायक हुनेछ । आज बेलर्बनले सेन वाट्सनको कप्तानीमा रहेको सिड्नी थन्डरसँग खेल्दैछ । सन्दीपको टिमले पहिलो खेल सिड्नीसँग खेलेको थियो । उक्त खेलमा सन्दीपले २ विकेट लिए पनि टिमले भने जित्न सकेको थिएन । त्यो खेलमा लामिछानेले सिड्नीका कप्तान वाट्सनको विकेट लिएका थिए । मेलबर्न स्टार्स अंक तालिकामा पाँचौ र सिड्नी चौथो स्थानमा छन् ।

बिराेधका बीच १५ हजारले भरे समायाेजन फारम

काठमाडौँ — निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन र अन्य संगठनले आफ्ना सम्पूर्ण माग पूरा नभएको भन्दै कर्मचारी अध्यादेशको विरोध गरिरहे पनि सोमबारसम्म देशभरबाट १४ हजार ८ सय ४० जनाले समायोजनमा जान फाराम भरेका छन् । याे समाचार अाजकाे कान्तिपुर दैनिकमा प्रकाशित छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव सुरेश अधिकारीले संघ, प्रदेश र स्थानीय तहका निजामती कर्मचारीले फारम भरिरहेकाले समायोजनको माहोल बन्दै गएको बताए । सरकारले गत बुधबार समायोजनमा जान २१ दिने सूचना जारी गरेको थियो । कर्मचारी समायोजनसम्बन्धी अध्यादेशमा समायोजन भएको २१ दिनभित्र खटाएको स्थानमा हाजिर नहुनेलाई स्पष्टीकरणको अवसर दिएर बर्खास्त गर्न सक्ने व्यवस्था छ । अध्यादेशले निजामती कर्मचारीको वृत्ति विकास रोकेको भन्दै ट्रेड युनियनहरूले सच्याउन दबाब दिएपछि सरकारले संघीय निजामती सेवा ऐनमार्फत् वृत्ति विकास खुला गर्ने आश्वासन दिएको छ । ट्रेड युनियनका पदाधिकारीले प्रदेश र स्थानीय तहमा खटिएका कर्मचारीको संघसम्मै सरुवा र बढुवा खुला गर्ने व्यवस्था लिखित रूपमै हुनुपर्ने माग राखेका छन् । आइतबार सामान्य प्रशासन मन्त्रालयसहितको टोली र ट्रेड युनियनका पदाधिकारीबीच वार्ता भएको थियो । मंगलबार निर्णायक वार्ता गरी कर्मचारीले उठाएका माग सम्बोधन गरिने प्रवक्ता अधिकारीले बताए । सोमबार निजामती कर्मचारीले अध्यादेशको विरोधस्वरूप सिंहदरबारभित्रै कालोपट्टी बाँधेर काम गरेका थिए । ‘प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारी पनि संघमा सरुवा भई माथिल्लो तह (मुख्य सचिव) सम्म पुग्न खुला गर्नुपर्छ भन्ने उहाँहरूको मागलाई ऐनमा सम्बोधन गरेर गाँठो फुकाइनेछ,’ प्रवक्ता अधिकारीले कान्तिपुरसँग भने, ‘सम्भवत: आज (मंगलबार) यसमा सहमति भएपछि समायोजनका लागि बाटो खुला हुनेछ ।’ संघीय निजामती ऐनको मस्यौदा मन्त्रिपरिषदबाट सामान्य प्रशासन मन्त्रालयमा फिर्ता भएको छ । त्यही मस्यौदामा समायोजन भएर प्रदेश र स्थानीय तहमा खटिएका कर्मचारीलाई संघको माथिल्लो तहसम्म बढुवा हुन सक्ने व्यवस्था गर्न लागिएको हो । मन्त्रालयले अनलाइनमार्फत कर्मचारीले समायोजन आवेदन भर्न सक्ने व्यवस्था मिलाएको छ । त्यस अलावा ७७ वटै जिल्ला प्रशासन कार्यालय र स्थानीय तहमा समेत समायोजन फाराम भर्न सहयोग पुर्‍याउन ‘सहयोगी डेस्क’ राखिएको छ । मन्त्रालयले १ लाख ३८ हजार १ सय ७८ कर्मचारीलाई समायोजनका लागि आवेदन खुला गरेको हो । संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजनका लागि सरकारले मंसिर २३ मा कर्मचारी समायोजन अध्यादेश ल्याएको थियो । संघमा ४७ हजार ९ सय २०, प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ जना कर्मचारीको दरबन्दी कायम गरिएको छ । अध्यादेशको विरोध निजामती कर्मचारीहरूले सरकारद्वारा जारी समायोजन अध्यादेश विभेदकारी रहेको दाबी गर्दै सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् । अध्यादेश खारेज गर्न उनीहरूको माग छ । विभेदपूर्ण तरिकाले सरकारले जबर्जस्ती समायोजनमा पठाउन लागेको भन्दै निजामती कर्मचारी आन्दोलित भइरहेका बेला प्रमुख प्रतिपक्षी कांग्रेसनिकट निजामती कर्मचारी युनियनको अगुवाइमा प्रदर्शन भएको हो । अध्यादेशमा एउटै प्रक्रियाबाट भर्ना भएका कर्मचारी कोही मुख्यसचिवसम्म हुन पाउनेछन् भने कोही बढीमा प्रदेश सहससचिव भएर अवकाश हुने विभेदपूर्ण व्यवस्था गरिएको दाबी युनियनको छ । युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले अध्यादेशका कतिपय व्यवस्था विभेदकारी रहेकाले त्यसलाई खारेज गर्न माग गर्दै आन्दोलनमा उत्रनुपरेको बताए । ‘सरकारले सरोकारवालासित छलफल नगरी लोकसेवा आयोगको सुझावसमेत बेवास्ता गर्दै एकलौटी रूपमा अध्यादेश ल्याएको अध्यादेश हो । यसले कर्मचारीको वृत्ति विकास रोक्ने हुनाले हामी मान्दैनौं,’ अध्यक्ष पोखरेलले भने । उनले अध्यादेशले कर्मचारीलाई संविधानले दिएको अधिकारसमेत कटौती गरेको बताए ।

युएईसँग सिरिज खेल्ने नेपाली टोलीको घोषणा, को–को अटाए टिममा ?

काठमाडौं, पुष १६ । आगामी माघमा हुने यूएईसँगको एकदिवसीय र टी–ट्वान्टी सिरिजका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । पहिलो चरणमा २० खेलाडी छनोट गरिएको छ । आईसीसीका प्रतिनिधि इमिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्कासम्मलित छनोट समितिले प्रारम्भिक टोलीबाट केही दिनको क्लोज क्याम्पपछि अन्तिम नामावली सार्वजनिक हुनेछ । नेपालले माघ ११ देखि माघ २० सम्म यूएईसँग खेल्नेछ । पहिले एकदिवसीय सिरिज हुनेछ । त्यसपछि टी-ट्वान्टी सिरिज हुनेछ । सिरिज दुबईमा हुनेछ । नेपालले यूएईसँग तीन खेलको एकदिवसीय र तीन खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ । नेपालले माघ ११ देखि माघ २० सम्म यूएईसँग खेल्नेछ । प्रारम्भिक टोलीमा पर्न सफल खेलाडी पारस खड्का अभिनाश बोहरा बसन्त रेग्मी भीम सार्की विक्रम शोब विनोद भण्डारी दीपेन्द्र सिंह ऐरी ज्ञानेन्द्र मल्ल करन केसी ललित भण्डारी ललित नारायण राजवंशी आरिफ शेख पवन सराफ प्रदीप ऐरी रोहित कुमार पौडेल सन्दीप लामिछाने शरद भेषवाकर सोमपाल कामी सुदीप जोरा सुशान भारी

उपत्यका चेकजाँचमा कडाई, दोहोरो चेकिङ प्रणाली सुरु

काठमाडौं उपत्यकामा नेपाल प्रहरीको दोहोरो चेकिङ प्रणाली सुरु भएको छ। उपत्यकाका तीनवटै प्रहरी परिसरको चेकिङ प्रणालीको अनुगमन गर्ने नाममा महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले विभिन्न स्थानमा आफ्नो युनिट खटाएर चेकजाँच गर्ने गरेको छ। महानगरीय प्रहरी कार्यालयमातहतका तीनवटै परिसरले प्रत्येक दिन आफ्ना युनिटमार्फत चेकजाँच गरिरहेका हुन्छन्। काठमाडौं, ललितपुर र भक्तपुरमा गरी परिसरका करिब एक हजार चार सय प्रहरीलाई चेकिङका लागि खटाइएको हुन्छ। उनीहरूको अनुगमनका लागि महानगरीय प्रहरी कार्यालय थप चेकजाँच गरिरहेको हुन्छ। काठमाडौ परिसरको मात्रै प्रत्येक दिन ४२ स्थानमा परिसरको युनिटले चेकिङ गरिरहेको हुन्छ तर त्यसलाई अविश्वास गर्दै आयुक्तको कार्यालयले पनि २० स्थानमा आफ्नो युनिट खटाएर चेकजाँच गरिरहेको हुन्छ। आयुक्त कार्यालयकी प्रवक्ता एसएसपी पूजा सिंहले काठमाडौंमा मात्रै आयुक्त कार्यालयका २० युनिटले सिआरबीसहित थप चेकजाँच गरिरहेको बताइन्। ‘परिसरहरूले गर्ने काम गरिरहेका छन्, हाम्रो कार्यालयबाट पनि २० युनिटले रातको समयमा चेकजाँच गरिरहेका हुन्छन्,’ उनले भनिन्, ‘परिसरलाई विश्वास नगरेर भन्दा पनि आयुक्त कार्यालयको यो नियमित कार्य हो।�’ प्रवक्ता सिंहका अनुसार काठमाडौंलाई शान्त र सुरक्षित बनाउन परिसरको भन्दा छुट्टै चेकिङ आवश्यक रहेको बताइन्। काठमाडौंको सुरक्षा प्रणालीलाई अझ व्यवस्थित बनाउन देखिएका कमजोरीहरूलाई सच्याउन अनुगमन गरिएको उनले बताइन्। महानगरीय प्रहरी परिसर ललितपुरका एसपी शेखर खनालका अनुसार ललितपुरका २० स्थानमा चेकिङ हुने गरेको छ। त्यसका लागि करिब एक सय २० जनशक्ति परिचालन हुने गरेको छ। सो युनिटलाई पनि छुट्टै अनुगमन गर्न ललितपुर परिसरकै डिएसपीको टोली खटिएको हुन्छ। ‘हरेक रात हाम्रा २० युनिट चेकिङका लागि परिचालित हुन्छ, त्यसलाई अनुगमन गर्न डिएसपीको टोली निस्कन्छ,’ एसपी खनालले भने। अहिले काठमाडौंका विभिन्न स्थानमा चेकिङ सुरु हुँदा भक्तपुर, ललितपुरमा पनि सोही प्रकृतिको चेकिङ हुने गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले प्रत्येक रात पाँच सय प्रहरी चेकिङमा खटिने र त्यसको अनुगमनका लागि डिएसपीको कमान्डमा छुट्टै टोली खटिने जानकारी दिए। ‘चेकिङमा खटिएका टोलीहरूले कहाँ कसरी चेकजाँच गरिरहेका छन् भनी अनुगमनका लागि डिएसपीकै टोलीले अनुगमन गरिरहेको हुन्छ,’ डिएसपी बोगटीले भने। उनका अनुसार प्रत्येक वृत्तबाट दुईवटा टोली अनिवार्य रूपमा खटिएका हुन्छन्। त्यसमा आयुक्त कार्यालयको टोली पनि खटिएको हुन्छ। भक्तपुरमा पनि परिसरको टोलीलाई अनुगमन गर्न आयुक्ता कार्यालयको टोली पुग्ने गरेको छ। भक्तपुरका हरेक युनिटले राजमार्ग र भित्री सडकहरूमा चेकजाँच गरिरहेका बेला आयुक्त कार्यालयको टोली जाने गरेको छ। -नागरिक दैनिकबाट

मेयर जेलमुक्त भएको खुसीयालीमा सार्वजनिक बिदा

रौतहट — कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद सजाय पाएका कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहा सर्वोच्च अदालतबाट सफाइ पाएपछि हेलिकप्टर चार्टर गरी शनिबार गृहनगर रौतहट आएका छन् । उनी जेलमुक्त भएको खुसियालीमा नगरपालिका, वडा कार्यालय र नगर क्षेत्रका सबै विद्यालयमा आइतबार सार्वजनिक बिदा दिइएको छ । अदालतको सफाइले जेलबाट छुटेलगत्तै उनी नेकपा अध्यक्ष पुष्पकमल दाहाल निवास पुगेका थिए । शनिबार भने उनी हेलिकप्टरबाट कटहरियास्थित जनता माविको प्रांगणमा उत्रिए । उनलाई नगरवासीले फूलमाला, खादा र दोसल्ला ओढाएर स्वागत गरे । उनका साथमा नेकपा नेता तथा सांसद प्रभु साह, प्रदेश सांसद कुन्दन कुशवाहालगायत नेता आएका थिए । त्यसपछि मेयर कुशवाहा कटहरिया डुमरिया र जमुनियामा राखिएको स्वागत सभामा पनि हेलिकप्टर लिएरै पुगेका थिए । उनलाई गाउँमा भव्य स्वागत गरिएको थियो । गत वैशाख २७ गते राजधानीबाट पक्राउ परेका कुशवाहालाई सर्वोच्चका न्यायाधीशद्वय शारदा घिमिरे र डम्बर शाहीको इजलासले सफाइ दिएको हो । उनी शुक्रबार ५ बजे डिल्लीबजार कारागारबाट रिहा भएका थिए । झन्डै ९ महिना लामो कारागार बसाइपछि रिहा भएका कुशवाहा शनिबार आफ्नो गाउँ कटहरिया आएका हुन् । ‘न्यायालयले ममाथि न्याय गरेको छ,’ उनले भने, ‘यो जनताको जित हो ।’ आफू निर्दोष भएको र राजनीतिको सिकार बनेको उनले दाबी गरे । विश्व हिन्दु युवासंघ पर्साका संस्थापक अध्यक्ष काशी तिवारीको वीरगन्जमा भएको हत्या मुद्दामा कुशवाहा जेल परेका हुन् । वीरगन्जको अशोकबाटिकास्थित शिव–पार्वती मन्दिर परिसरमा तिवारीलाई मोटरसाइकलमा आएकाले २०६७ असार १२ गते गोली हानी हत्या गरेका थिए । मोटरसाइकल चालक बाराको हरैयाका अमन कुशवाहा पक्राउ परेपछि उनकै बयान आधारमा कुशवाहाको संलग्नता खुलेको प्रहरीले जनाएको थियो । घटनापछि फरार कुशवाहालाई ३ वर्षपछि २०७० पुस १ गते चितवनको भण्डाराबाट पक्राउ गरी जिल्ला अदालत पर्सामा पेस गरिएको थियो । हत्यामा उनको संलग्नता नरहेको भन्दै अदालतले सफाइ दिएको थियो ।जिल्ला अदालत बाराको फैसला उल्टाउँदै उच्च अदालत जनकपुरको इजलास वीरगन्जले कुशवाहलाई सर्वस्वसहित जन्मकैद सजाय सुनायो । न्यायाधीशद्वय नारायणप्रसाद श्रेष्ठ र लेखनाथ घिमिरेको संयुक्त इजलासले तिवारी हत्यामा दोषी ठहर गर्दै मेयर कुशवाहलाई गत फागुन २८ गते जन्मकैद फैसला गरेको हो । त्यतिबेला उनी मेयर भइसकेका थिए । स्थानीय तह निर्वाचनमा कांग्रेसका अजयप्रकाश जैसवाललाई ५ सय ५१ मतले पराजित गर्दै तत्कालीन माओवादी केन्द्रबाट कुशवाह कटहरिया नगरपालिकाको मेयरमा विजयी भएका थिए । फैसलापछि पनि कुशवाहा नगरपालिकाको गतिविधिमा सक्रिय हुँदै आएका थिए । फैसलाको झन्डै डेढ महिनापछि उनलाई पक्राउ गरी बुझाउन उच्च अदालतले प्रहरीलाई पत्राचार गरेको थियो । पक्राउ पुर्जी जारी भएपछि उनी सुटुक्क राजधानी गए । त्यही क्रममा प्रहरीको अनुसन्धान ब्युरोले काठमाडौंको शान्तिनगरबाट पक्राउ गरेको थियो । मेयर कुशवाहालाई सर्वोच्चले निर्दोष सावित गरेको खुसियालीमा आइतबार नगरपालिका, वडा कार्यालय र नगर क्षेत्रका विद्यालयमा सार्वजनिक बिदा हुनेबारे नगरपालिकाले शनिबार सूचना नै जारी गरेको छ । कान्तिपुर दैनिकबाट

सामान्य मर्मतका लागि पठाइएको निगमको बोइङ विमान २ महिनादेखि मलेशियामा

काठमाडौँ — सामान्य मर्मतका लागि मलेसिया पठाइएको नेपाल वायुसेवा निगमको बोइङ विमान काठमाडौं नफर्केको बुधबार दुई महिना नाध्यो । अझै मर्मत गरेर ल्याइने टुंगो लागिसकेको छैन । निगम व्यवस्थापनले बेलैमा मर्मत गर्न सामान झिकाउन नसकेपछि दुई महिना मलेसियामा अलपत्र परेको हो । ‘इन्जिनको सी डक्ट उपकरण अमेरिकाबाट आइसक्यो मर्मत हुँदै छ,’ निगमका एक अधिकारीले भने, ‘उता न्यु इयर, क्रिसमस चलेकाले जहाज काठमाडौं कहिले आउँछ टुंगो लागिसकेको छैन ।’ ती अधिकारीका अनुसार यस पटक त्यहाँ मर्मतको जिम्मा पाएको इन्जिनियरिङ कम्पनी डेभिएसनले सोमबारसम्म मर्मत गरिसक्ने भाका दिएको छ । यो विमान लिलाम गर्ने निर्णय पनि निगमले गरिसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निगमले पुस पहिलो साता यो विमान बिक्री गर्ने प्रक्रिया थालिसकेको विवरण पठाइसकेको छ । ‘विमान नै लिलाम गर्ने प्रक्रिया थालिसकिएकाले मर्मत गर्ने कि नगर्ने भन्ने अलमल देखिएको छ,’ निगमका एक अर्का निर्देशकले भने, ‘फेरि दुई महिनापछि यसको सी–चेकको मिति छ ।’ विमानलाई हरेक २० देखि २४ महिनामा सम्पूर्ण उपकरणको विस्तृत निरीक्षण एवं चेकजाँच गर्नुपर्छ । यो विमानको सी चेकका लागि कम्तीमा पनि १४ करोड खर्च लाग्ने अनुमान गरिएको छ । याे समाचार अाजकाे कान्तिपुर दैनिकमा प्रकाशित छ । समाचारमा अगाडि उल्लेख छ: नेपाली नाम गण्डकी दिइएको यो ३१ वर्ष पुरानो बोइङको इन्जिन एक्सरे गराउनुपर्ने भएपछि कात्तिक ११ गते क्याप्टेन ओबी गुरुङ र दिपाल शेरचनले विमान काठमाडौंबाट क्वाललमपुर पुर्‍याएका थिए । त्यसबेला इन्जिनियरले ‘दुई दिनमा मर्मत सकेर काठमाडौं ल्याइने’ भनेका थिए । क्लालालमपुरस्थित निगमले ट्रान्जिट प्वाइन्टमा विमान मर्मत गराउने जिम्मा दिएको डेभिएसन कम्पनीले यस विमानको दायाँ इन्जिन एक्सरे गर्दा गडबडी देखाएको थियो । उक्त इन्जिनमा रहेको सी डक्ट जाँच्दा थुप्रै ‘स्टक्चरल डयामेज’ देखिएको निगमका एक इन्जिनियरले बताए । सी डक्टले विमान अवतरण गराउँदा हावा छलेर ब्रेक लगाउन मद्दत गर्छ । ‘अमेरिकाबाट झिकाइएको सी डक्टको मूल्य २ करोड हाराहारी पुगेको छ, यसको भन्सार महसुल मात्रै मलेसियामा २० लाख नेपाली रुपैयाँ परेको छ,’ स्रोतले भन्यो । १ सय ९० यात्रु सिट क्षमता भएको विमान बेलैमा नल्याइँदा उता पार्किङ शुल्कलगायतको बिलले निगमको व्ययभार बढाएको छ । ‘छ जना नेपाली इन्जिनियर पनि मलेसियामा दुई सातादेखि छन्,’ निगमका ती अधिकारीले भने, ‘उनीहरूको दैनिक भत्ता, मलेसियन कम्पनीको ज्यालालगायतको खर्च कति पुग्ने हो, अहिल्यै आकलन गर्न सकिन्न ।’ यो विमान पछिल्लो पटक ‘ब्याकअप’ का रूपमा प्रयोग हुँदै आएको थियो । अहिले उडानमा रहेका चार वटा एयर बसमध्ये कुनै ग्राउन्डेड हुँदा वा कुनै विमान ढिला हुँदा यसलाई उडानमा पठाइन्थ्यो । यसबाहेक यो बोइङलाई निगमले हङकङ र दुबईबाहेक प्राय: सातामा ३/३ दिन भारतको बैंगलोर र थाइल्यान्डको बैंकक उडाउँथ्यो । बैंगलोरको दुईतर्फी उडानमा यसले ३७ लाख हाराहारी र बैंककको उडानमा ५० लाख हाराहारीको आम्दानी गर्थ्यो। यो विमान मलेसियामा थन्किएपछि अहिले एयर बसका न्यारो र वाइडबडीमार्फत ती रुटमा उडान मिलाइएको छ । दिल्लीबाट मंगलबार बिहान काठमाडौं फर्किंदै गरेको निगमको पहिलो वाइड बडी विमान (अन्नपूर्ण) को पखेटामा डेन्ट देखिएपछि ग्राउन्डेड गरिएको छ । त्यो विमान पनि ग्राउन्डेड भएपछि तीन वटा एयर बसले ८ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भरिरहेका छन् । अहिले निगमले ३ घण्टासम्म डिले गरेर सेवा दिनुपरेको निगमको एयर बसका एक पाइलटले बताए । निगमले ३० वर्ष पहिले दुइटा बोइङ विमान अमेरिकाबाट खरिद गरेको थियो । यीमध्ये नेपाली नाम कर्णाली दिइएको बोइङ बीबी एयरवेजले एक वर्षअघि लिलामी प्रक्रियामार्फत खरिद गरिसकेको छ । एक मात्र बोइङका लागि निगमसँग हाल छ जना वरिष्ठ पाइलट छन् । जहाज नै नभएपछि उनीहरू पनि उडानमा छैनन् । जहाज नउडदा निगमले कम्तीमा ४५ उडान घण्टा बराबरको पारिश्रमिक दिने ग्यारेन्टी गरेको छ ।

सफलताः नेपालकाे बिजुली किन्न भारत सहमत

काठमाडौं : बर्खायाममा धेरै बिजुली उत्पादन हुने । तर हिउँदमा कम । बर्खायाममा छेलोखेलो तर हिउँदमा अभाव । आयात नै गर्नुपर्ने । विद्युत् प्राधिकरणले बर्खायाममा उत्पादन हुने तर उपयोग गर्न नसकी खेर जाने बिजुलीको आँकडा तयार गरेको थियो— ४ हजार ७ सय ५० मेगावाट । अर्थात् एक खर्ब ७९ अर्ब रुपैयाँ बराबरको बिजुली खेर जानेमा प्राधिकरण चिन्तित थियो । त्यही भएर उसले बर्खायामको बिजुली किन्ने सम्झौतै (पीपीए) गर्न छाडेको थियो । अब प्राधिकरण खेर जाने बिजुलीको तनावबाट मुक्त भएको छ । प्राधिकरण मात्र होइन, नेपालका नदी नालाबाट उत्पादन हुने बिजुलीको पूर्ण उपयोग हुने भएको छ । सुन्दै असम्भव लाग्ने यो कसरी सम्भव भयो ? नेपाल र भारतका अधिकारीबीच वस्तु विनिमयझैं बिजुली पनि आदान–प्रदान गर्ने सहमति भएको छ । अब नेपालमा बर्खायाममा खेर जाने बिजुली भारतले लिनेछ । नेपालमा उत्पादन कम भएर लोडसेडिङ गर्नुपरेका बेला उसले दिनेछ । यो बन्दोबस्तलाई ऊर्जाको भाषामा ऊर्जा बैंकिङ भन्छन् । बुधबार नयाँ दिल्लीमा भएको बैठकमा नेपालले एक दशकभन्दा अघिदेखि माग गर्र्र्दै आएको ऊर्जा बंैकिङ गर्न भारत सहमत भएको हो । प्राधिकरणको विद्युत् व्यापार विभागका प्रमुख प्रबल अधिकारीले भने, ‘अब हामी (प्राधिकरण) ठूलो तनावबाट मुक्त हुने भयौँ ।’ इनर्जी बैंकिङ सहमतिअनुसार अब नेपालमा बर्खायाममा खेर जाने बिजुली भारतले लिनेछ भने हिउँदमा त्यति नै बिजुली दिनेछ । आगामी माघ ९ र १० गते पोखरामा हुने नेपाल भारत जलस्रोत सचिवस्तरीय बैठकले नयाँ दिल्लीमा बुधबार भएको सहमतिलाई अनुमोदन गर्ने अधिकारीले बताए । सहमतिअनुसार सचिवस्तरीय बैठकले अनुमोदन गरेपछि निर्माण सम्पन्न भई चालू रहेको ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनबाट इनर्जी बंैकिङ आरम्भ हुनेछ । त्यसबाहेक महेन्द्रनगर–टनकपुर खण्डमा पनि यो सहमति लागू हुनेछ । यी दुई सीमापार अन्तर्देशीय प्रसारण लाइनबाहेक दुई देशबीच निर्माणका लागि प्रस्तावित सबै खण्डमा लागू हुने प्राधिकरणका प्रवक्ता समेत रहेका अधिकारीको भनाइ छ । ऊर्जा बैंकिङअनुसार नेपालले बर्खायाममा उत्पादन भएको बिजुली दिएर निर्यात गरिएको बराबर परिणाम हिउँदयाममा लिनेछ । ‘यो भनेको हिउँदयाममा हामीले यहीं उत्पादन गरेसरह हो,’ अधिकारीले भने, ‘उदाहरणका लागि सय युनिट दिएर एक सय २ युनिट लियौं भने दुई युनिटको व्यापारिक हिसाब हुनेछ ।’ प्राधिकरणले हालसम्म विद्युत् खरिद सम्झौता (पीपीए) गरेका आयोजनाअन्तर्गत दुई हजार दुई सय ५० मेगावाट नदीप्रवाही (रन अफ रिभर) र दुई हजार पाँच सय मेगावाट अर्धजलाशययुक्त (पिकिङ आरओआर) बिजुली बर्खायाममा खेर जानेछ । नदीप्रवाहीबाट मात्रै प्राधिकरणलाई वर्षको ८४ अर्ब र अर्धजलाशययुक्तबाट वर्षको ९५ अर्ब रुपैयाँ घाटा पर्ने तथ्यांक छ । ‘यो दुवै तनाव अब अन्त्य हुनेछ,’ उनले भने । भारतले अर्काे नयाँ सहमति पनि गरेको उनले बताए । विगतमा भारतले तोकेको एउटा कम्पनी (सरकारी वा अर्धसरकारी) बाट मात्रै बिजुली कारोबार हुने गरेकोमा नयाँ सहमति अनुसार भारतका जुनसुकै स्वतन्त्र ऊर्जा व्यापार कम्पनीले दुई देशको बिजुली कारोबार गर्न पाउनेछन् । पछिल्लो समय भारतले नेपालको विद्युत्का सन्दर्भमा एकपछि अर्काे सकारात्मक निर्णय गरेको छ । यही महिनामा उसले नेपालमा उसका बहुमत स्वामित्व (५१ प्रतिशतभन्दा बढी) भएका कम्पनीले उत्पादन गरेका बिजुली मात्र आयात गर्ने नीतिलाई परिवर्तन गरेको थियो । यसबाट नेपालमा जसले लगानी गरेर उत्पादन गरेको बिजुली पनि उसकोमा निर्बाध निर्यात हुने ढोका खुलेको छ । भारतले विद्युत् आयातमा लगाउँदै आएको अंकुश हटाएको छ । ‘इनर्जी बैकिङ सहमतिबाट नेपाललाई ठूलो सफलता हासिल भएको छ, यो नेपालको ऊर्जा क्षेत्रको ठूलो कोसेढुंगा हो,’ बैठकमा नेपाली पक्षको नेतृत्व गरेका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने । अाजकाे अन्नपूर्ण पाेष्टमा प्रकाशित समाचार

सशस्त्र प्रहरीका ८ एसपी एसएसपीमा बढुवा (नामसहित)

काठमाडौं, पुष १२ । सशस्त्र प्रहरी बलका ८ जना सशस्त्र प्रहरी उपरीक्षकलाई सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षमा बढुवा गर्ने निर्णय गरिएको छ । गृह मन्त्रालयका सचिव प्रेमकुमार राईको अध्यक्षतामा बसेको बैठकले ८ जना एसपीलाई एसएसपीमा बढुवा गर्ने निर्णय गरिएको हो । बढुवाको सूचीमा परेका एसपीमा भगवान मल्ल, भीमबहादुर थापा, कालिदास धौवजी, इन्द्रराज कार्की, प्रेमराज पोखरेल, दमन थापा, कुमार न्यौपाने र फडिन्द्र पौडेल रहेका छन् ।

टीम हार्ने देखेपछि मैदानमा छिरे रोनाल्डो, गोल ठोके पछि युभेन्टस बराबरीमा

काठमाडौं । क्रिस्टियानो रोनाल्डोले इटालियन सिरि ए फुटबल क्लब युभेन्टसलाई हारबाट जोगाएका छन् । उनी बुधबार राति एटलान्टा विरुद्धको नखेल्ने जस्तो भइरहेको थियो । प्रशिक्षकले मैदानमा नउतार्ने भनिरहेका थिए । तर २–१ ले पछि परेपछि रोनाल्डोले धैर्य गर्न सकेनन् । मैदानमा छिरे र ७८ औं मिनेटमा गोल ठोके । खेल २–२ को बराबरीमा सकियो । २ मिनेटमै युभेन्टसले आत्मघाती उपहार पाएको थियो । २४ औं मिनेटमा जापाटाले गोल गर्दैै एटलान्टालाई बराबरीमा ल्याए । ५३ औं मिनेटमा रोड्रिगोले दोहोरो पहेंलो कार्ड खाएपछि युभेन्टस १० जनामा समेटियो । जापाटाले फेरि अर्को गोल थपे । तर रोनाल्डोले युभेन्टसको उद्दार गरे । यो खेलपछि १८ खेलबाट ५० अंकको युभेन्टस अपराजित छ । उसले २ खेलमा बराबरी गरेको छ । दोस्रो स्थानको नापोलीको ४१ अंक छ ।