नेपाललाई अर्काे सफलता, सोमपाल कामीले फेरि झारे अर्काे विकेट
काठमाडौं । आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत पहिलो खेलमा नेपालले अहिले आयोजक नामिबियासँग प्रतिस्पर्धा गरिरहेको छ। टस जितेर पहिले फिल्डिङ गरिरहेको नेपालले २ विकेट हात पारिसकेको छ। दुवै विकेट सोमपाल कामीले लिएका छन्।
सोमपालले पहिलो ओभरमा भान डेरलाई शून्य रनमा बोल्ड गरेका थिए। यस्तै उनले पाँचौ ओभरमा स्टेफन बार्डलाई १८ रनमा आउट गरे। नामिबियाले ५ ओभरमा २ विकेट गुमाएर २७रन जोडेको छ।
खेलमा रोहितकुमार पौडेलले सिनियर टिममा डेब्यु गरेका छन्।
नेपाली टिम – पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, सोमपाल कामी, रोहितकुमार पौडेल, करण केसी, आरिफ शेख, सन्दीप लामिछाने ,दिपेन्द्रसिंह ऐरी ।
डिभिजन–२ को शीर्ष दुईमा रहने लक्ष्यमा रहेका सवै टिमका लागि पहिलो खेल महत्वपूर्ण छ। डिभिजन–२ को शीर्ष २ भित्र पर्ने टिमले एकदिवसीय विश्वकप छनोट प्रतियोगिता र इन्टरकन्टिनेन्टल कप खेल्ने अवसर पाउनेछन्। एकदिवसीय टिम मान्यताको समेत ढोका खुल्ने भएकाले डिभिजन–२ लाई महत्वपूर्ण प्रतियोगिताका रुपमा हेरिएको छ।
नेपाललाइभबाट साभार
‘पद्मावत’ले कमायो २०० करोड, बन्यो चार जनाको क्यारियरकै उत्कृष्ट फिल्म
काठमाडौँ- बलिउडको विवादित चलचित्र ‘पद्मावत’ले घरेलु बक्स अफिसमा कमाइले दुई सय करोड भारतीय रुपैयाँ नाघेको छ । दोस्रो सप्ताहान्तमा ४६ करोड भारतीय रुपैयाँ कमाएको यस फिल्मको आइतबारसम्मको कमाइ दुई सय १२ करोड ५० लाख रहेको छ । बलिउड ट्रेड एनालिस्ट कोमल नाहटाले सोमबार ट्विट गर्दै फिल्मले दोस्रो आइतबार २० करोडको कमाई गरेर दुई सय करोड क्लबमा प्रवेश गरेको जानकारी दिए । भारी विरोध र होहल्लाबीच गत २५ जनवरीमा रिलिज भएको यस फिल्मले सुरुको दिन जम्मा १९ करोड भारतीय रुपैयाँ कमाएको थियो भने चौथो दिन सय करोडको आँकडा पार गरेको थियो र पहिलो हप्ता एक सय ९२ करोड पचास लाख भारुको कारोबार गरेको थियो । यसका साथै फिल्मले संसारभरीबाट तीन सय करोड भारुभन्दा बढी कमाइसकेको छ । ‘पद्मावत’ निर्देशक संजय लीला भंसाली र यसका मुख्य कलाकार दीपिका पादुकोण, रणवीर सिंह र शहिद कपुर चारै जनाको क्यारियरको सर्वाधिक कमाइ गर्ने चलचित्र भएको छ । संजय लीला भंसालीद्वारा निर्देशित यो फिल्म सुरुदेखि नै विवादमा थियो । अहिले पनि भारतका चार राज्यहरूमा फिल्म प्रतिबंधित रहेको छ । कवि मालिक मोहम्मद जायसी रचित महाकाव्य ‘पद्मावत’मा आधारित यस चलचित्रमा दीपिकाले रानी पद्मावतीको भूमिका निर्वाह गरेकी छिन् । यस फिल्ममा अलाउद्दीन खिल्जीको भूमिका निर्वाह गरेका रणवीर सिहंको अभिनयको अचेल बलिउडमा विशेष चर्चा रहेको छ । जम्मा दुई सय १५ करोडको लागतमा निर्मित यो फिल्म हिन्दी भाषामा बनेको सबैभन्दा महँगो फिल्म मानिएको छ ।
प्रदेश १ र ४ को पहिलो बैठक आज बस्दै
काठमाडौ, माघ २२ । प्रदेश १ र ४ को पहिलो प्रदेशसभा बैठक आज बस्दैछ । १ को विराटनगर र ४ को पोखरामा बैठक बस्न लागेको हो । दुवै प्रदेशको बैठक बिहान ११ बजेबाट सुरु हुनेछ । ७ प्रदेशमध्ये ५ वटाको पहिलो बैठक यसअघि नै सम्पन्न भइसकेको छ । प्रदेश ३ को पहिलो बैठक माघ १८ मा भएको हो भने २, ५, ६ र ७ को आइतबार बसेको छ । प्रदेशसभाको पहिलो बैठक बस्ने भएपछि विराटनगर र पोखराको बैठक स्थल वरपर चहल पहल बढेको छ । केही सांसद् सभास्थल पुगिसकेका छन् भने केही पुग्ने क्रममा छन् । प्रदेश १ को विराटनगरमा बस्ने बैठकको सबै तयारी पूरा भएको बताइएको छ । यो प्रदेशको पहिलो बैठकको अध्यक्षता जेष्ठ सदस्य ओमप्रकाश सरावगीले गर्दैछन् । सभामुख छनोट नहुँदासम्म जेष्ठ सदस्यले अध्यक्षता गर्ने प्रावधानअनुसार सरावगीले बैठक सञ्चालन गर्न लागेका हुन् । आजैको बैठकले सभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने बताइएको छ । यद्यपि, प्रदेश १ मा सभाुमखको निर्वाचन माघ २९ मा गर्न दलहरु यसअघि नै सहमत भइसकेका छन् । प्रदेश ४ ले पनि आज बस्ने बैठकको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रदेश ४ को अस्थायी मुकाम पोखरामा पहिलो बैठक बस्न लागेको हो । प्रदेशसभाको पहिलो बैठकमा भाग लिन प्रदेश ४ का सबै जिल्लाका सांसद् पोखरा आइपुगेका छन् । बैठक ११ बजे पोखरा नगर विकास प्रशिक्षण केन्द्रमा बस्दैछ । प्रदेश बैठक सञ्चालनको अन्तिम व्यवस्थापन मिलाउन कर्मचारी बिहानैदेखि खटिइसकेका छन् । पुरुष सांसद् दौरा सुरुवाल, कोट, पाइन्ट र आफ्नो सांस्कृतिक पोषाकमा ठाँटिएर प्रदेश सभा छिर्दैछन् भने महिला सांसद् चौबन्दी चोली, साडी, कोट र साँस्कृतिक पोषाक लगाएर संसद भवन छिर्ने तयारीमा छन् । आजको बैठक सञ्चालन गर्न सबै सांसदलाई अनिवार्य उपस्थित गराउन सबै दलको सहमतिमा कार्य व्यवस्थापन समिति गठन भएको छ । प्रदेश सभामा प्रतिनिधित्व गर्ने पाँचै दलबाट एकएक जना सदस्य रहने गरी कार्य व्यवस्थापन समिति गठन गरिएको हो ।
नेपाली सेनामा जागिरको अवसर (बिज्ञापनसहित)
काठमाडौ, माघ २२ । नेपाली सेनामा ठुलो संख्यामा जागिरको अवसर खुलेकाे छ । बिज्ञापन हेराैँ
सात प्रदेशमा ६ सय कर्मचारी खटाइयाे
काठमाडौं, माघ २१ । सरकारले करिब ६ सय कर्मचारीलाई प्रादेशिक संरचनाका कार्यालयमा काजमा खटाएको छ । सामान्य प्रशासन मन्त्रालयले शुक्रबारसम्म सातवटै प्रदेशका लागि कर्मचारी खटाएको जनाएको छ । प्रदेशमा पठाइएका कर्मचारीमा सहसचिव, उपसचिव, अधिकृतदेखि राजपत्रअनंकित तहका कर्मचारीसमेत छन् । उनीहरूलाई आवश्यकताअनुसार प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र विभिन्न मन्त्रालयमा खटाइएको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले जानकारी दिए । सामान्यले प्रदेशमा तत्कालका लागि स्थापना भएका प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालयसहित सात मन्त्रालय र प्रदेश सभा सचिवालयका लागि करिब २२ सय कर्मचारी आवश्यक पर्ने जनाएको छ । ती कार्यालयका लागि हरेक दिन कर्मचारी खटाउने काम भइरहेको मन्त्रालयले जनाएको छ । प्रवक्ता न्यौपानेले प्रदेशमा मुख्यमन्त्री नियुक्त हुनुअघि नै सबै मन्त्रालयमा कर्मचारी व्यवस्थापन गरिसक्ने गरी तयारी भएको बताए । ‘अहिलेसम्म सातवटै प्रदेश प्रमुखको कार्यालय, मुुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा कर्मचारी खटाइसकेका छौँ,’ उनले भने, ‘अन्य मन्त्रालयमा पनि क्रमशः आंशिक कर्मचारी खटिएका छन्, चाँडै पूर्णता दिन्छौँ ।’ प्रशासन समूहबाहेकका कर्मचारी खटाउने जिम्मेवारी सम्बन्धित मन्त्रालयलाई दिएकाले प्रदेशमा खटिने कर्मचारीको संख्या त्यसभन्दा बढी हुनसक्ने उनको भनाइ छ । अन्य मन्त्रालयको प्रगति विवरण नआएकाले यकिन विवरण दिन नसकिएको प्रवक्ता न्यौपानेले बताए । कानुन मन्त्रालयले न्याय सेवाका ३५ कर्मचारी खटायो कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले प्रदेशका विभिन्न कार्यालयमा कामकाजका लागि न्याय सेवाअन्तर्गतका ३५ कर्मचारी खटाइएको छ । मन्त्रालयले सातवटै प्रदेशमा सहसचिव, उपसचिव र अधिकृत तहका पाँच-पाँचजना कर्मचारी खटाएको हो । सामान्य प्रशासन मन्त्रालयले न्याय, स्वास्थ्य, लेखा, प्राविधिक र राजस्व सेवाका कर्मचारीलाई पनि प्रदेश मन्त्रालयमा तोकिएको दरबन्दीअनुसार खटाउन पत्र पठाएको थियो । त्यसमध्ये कानुन मन्त्रालयले सबैभन्दा पहिले न्याय सेवाअन्तगर्तको कर्मचारी खटाएको हो । मन्त्रालयले गत आइतबार सातजना सहसचिवलाई सातवटै प्रदेशको मुख्यमन्त्रीको कार्यालयमा कानुन सचिवका रूपमा खटाएको थियो । यस्तै, सबै प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा एक-एकजना गरी सातजना उपसचिव खटाएको छ । प्रदेशमा महत्वपूर्ण कानुनहरू बनाउनुपर्ने भएकाले उपसचिव तहको कर्मचारी खटाएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले सबै प्रदेशको प्रदेश प्रमुखको कार्यालय, प्रदेशसभाको सचिवालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा एक-एकजना गरी २१ जना न्याय सेवाका अधिकृत खटाएको थियो । न्याय सेवाबाट खटाउन बाँकी कर्मचारी पनि क्रमशः चाँडै खटाउने जनाइएको छ । मन्त्रालयले संघीयता कार्यान्वयनलाई उच्च प्राथमिकता दिएर कर्मचारी खटाइएको जनाएको छ । प्रदेशको कुन कार्यालयमा कति कर्मचारी ? मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय : सचिवसहित २१ जना आन्तरिक मामिला तथा कानुन मन्त्रालय : सचिवसहित ४१ जना आर्थिक मामिला तथा योजना मन्त्रालय : सचिवसहित १८ जना भौतिक पूर्वाधार विकास मन्त्रालय : सचिवसहित २४ जना सामाजिक विकास मन्त्रालय : सचिवसहित ३० जना उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय : सचिवसहित २९ जना भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय : सचिवसहित २९ जना प्रदेश सभा सचिवालय : एकजना सचिवसहित २७ जना प्रदेश राजधानी हेटौँडा : आउनै मान्दैनन् कर्मचारी सरकारले खटाएका कर्मचारी प्रदेश कार्यालयमा नआउँदा कामकाज प्रभावित भएको छ । प्रदेश ३ को अस्थायी राजधानी हेटौँडामा धमाधम प्रदेश कार्यालय सञ्चालनमा आइरहेका छन् । सामान्य प्रशासन मन्त्रालयलले सरुवा गरेको एक साताभन्दा बढी भइसके पनि अनेक बहानामा कर्मचारी केन्द्रमै बस्न खोजेपछि प्रदेशमा कर्मचारीको समस्या हुन थालेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव रेश्मिराज पाण्डेले २० जनाभन्दा धेरै कर्मचारी हेटौँडा नआएको बताए । ‘प्रदेश कार्यालयका लागि सहसचिवसहित २० भन्दा धेरै कर्मचारी सरुवाको सूची प्राप्त भएको छ,’ उनले भने, ‘तर, अहिलेसम्म कर्मचारी प्रदेश राजधानीमा उपस्थित भएका छैनन् ।’ २४ माघमा हुन गइरहेको राष्ट्रिय सभा निर्वाचनको आचार—संहिताका कारण कर्मचारी नआएको हुनसक्ने बताएको छ । काजमा आएका कर्मचारीले प्रदेश सभाको पहिलो अधिवेशन चलाए शिक्षा मन्त्रालयबाट काजमा आएका कर्मचारीले १८ माघमा प्रदेश सभाको पहिलो अधिवेशन चलाएका थिए । शिक्षा मन्त्रालयका सहसचिव डा.रोजनाथ पाण्डे, उपसचिव अधिराज राई, अधिकृत विनोद पौडेल, अधिकृत रामहरि पोखरेल काजमा आएका छन् । काजमा आएका धेरैजसो कर्मचारी माघ अन्तिममा फर्किने भएकाले समस्या हुन सक्ने सहसचिव डा. पाण्डेले बताए । दरबन्दीसहित आउने कर्मचारी संख्या एकदमै न्यून देखिएको उनको भनाइ छ । अहिले दरबन्दीसहित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव पाण्डे, मुुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रमेश सिवाकोटी, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव बलदेव जोशीसहित केही नासु, खरिदार र कार्यालय सहयोगी मात्र आएका छन् । सामान्यले पठाएका कर्मचारी नआए जिल्ला र क्षेत्रीय कार्यालयका कर्मचारीले चलाउने सामान्य प्रशासन कार्यालयबाट समयमै कर्मचारी नआए जिल्ला कार्यालय र क्षेत्रीय कार्यालयमा कार्यरत कर्मचारीलाई काजमा तानेर कामकाज चलाउने प्रमुख सचिव पाण्डेले बताए । ‘मैले प्रदेशको कामलाई नियमित सञ्चालन गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘सामान्य प्रशासन मन्त्रालयबाट कर्मचारी नआए जिल्ला र क्षेत्रीय कार्यालयका कर्मचारी प्रयोग गरी चलाउँछु ।’ -नयाँ पत्रिकाबाट ।
प्रचण्ड र ओलीबीचको निर्णायक वार्ता सकियो, यस्तो भयो सहमति
काठमाडौं । एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बीचको निर्णायक भनिएको छलफल सकियो। आइतबार बिहान १० बजेदेखि ललितपुरको मानभवनमा भएको भेटमा राष्ट्रिय सभामा बामपन्थीका उम्मेद्वारलाई जिताउने र नयाँ सरकार गठन र पार्टी एकताबारे गम्भीर छलफल भएको बताइएको छ । आजको अध्यक्षद्वयबीचको छलफल निकै सकारात्मक भएका बताइएको छ । धेरै विषयमा मोटामोटी सहमति भएको र वाँकी विषयमा छलफल चलाउँदै एकतालाई निष्कर्षमा पुर्याउन पथ गृहकार्य गरेर अन्तिम निर्णयमा पुग्ने समहति भएको छलफलपछि एक नेताले जानकारी दिए । शुक्रबार साँझ ओली निवास बालकोटमा भएको गोप्य वार्तामा छ वटा प्रदेशको मुख्यमन्त्रीमा ओली र प्रचण्डबीच सहमति भएको बताइएको छ । प्रदेश सभामुख र अन्य महत्वपूृर्ण पदहरुमा पनि दुई नेताहरुबीच समझदारी भइसकेको उच्च स्रोतले बताएको छ । आज कुन–कुन विषयमा सहमति भयो भन्ने कुरा नखुलाइए पनि यसअधिका बार्तामा सबै विषयमा समझदारी भइसकेको र त्यसलाई दुबै पार्टीमा आन्तरिक छलफल गर्ने तयारी रहेको बताइएको छ । दबै पार्टीमा आन्तरिक छलफल पछि संयुक्त कार्यदलमा समझदारी भएका विषयलाई विस्तृत कार्ययोजना सहित खाका तयार पार्ने र पार्टी एकता संयोजन समितिबाट अन्तिम निर्णय गरिने जनाइएको छ ।
कृषिप्रधान देशमा ३० प्रतिशत माछा भारतबाट आयात हुनु दुःखद्
कैलाली । कैलालीमा अहिले पनि ठूलो संख्यामा माछा आयात हुने गरेको छ । जिल्ला माछामा आत्मनिर्भर नहुँदा भारतबाट ठूलो मात्रामा माछा आयात हुने गरेको हो । सरकारले माछा पालक कृषकलाई प्रोत्साहन गर्ने किसिमका कार्यक्रम ल्याउन नसक्दा कृषकको आकर्षण पनि यसतर्फ खासै बढ्न सकेको छैन । जसले गर्दा, अहिले पनि माछाको लागि भारतकै भर पर्नु परिरहेको छ। निजीस्तरबाट हृयाचरी वृद्धि नहुनु, दाना तथा प्रविधि अभावलगायत कारणले गर्दा अझै पनि भारतबाट यस क्षेत्रमा ठूलो संख्यामा माछा आयात भइरहेका हो । प्रदेश नं.७ मा सबैभन्दा बढी कैलाली–कञ्चनपुरमा माछा उत्पादन हुन्छ । तर, यी दुई जिल्लामा उत्पादन भएको माछा यो प्रदेशका लागि पर्याप्त छैन । अहिले कैलाली–कञ्चनपुरमा निजी तथा सरकारी गरी जम्मा ६ वटामात्रै हृयाचरी छन् । यति थोरै संख्यामा हृयाचरी हुँदा ठूलो संख्यामा भारतबाट यस क्षेत्रमा माछा आयात भइरहेको छ । अहिले कैलालीमा ५० प्रतिशत मत्स्य विकास केन्द्रले र २५ प्रतिशत माछा निजीस्तरबाट उत्पादन भइरहेको छ । अझै बाँकी २५ प्रतिशत माछा भारतबाट आयात भइरहेको मत्स्य विकास केन्द्र कैलालीका मत्स्य विकास अधिकृत सूर्यबहादुर शाहीले बताए । अहिले केन्द्रले हृयाचलिङ, फिङ्गरलिङ र फ्राइ साइजका माछाका भुरा उत्पादन गरिरहेको छ । उभोक्ता तथा व्यापारीको मागअनुसार भने भुरा उत्पादन हुन सकिएको छैन । सरकारले माछापालन गर्ने किसानलाई दिने अनुदान न्यून हुँदा यो क्षेत्रका लागि पर्याप्त माछा उत्पादन गर्न नसकिएको हो । माछामा आत्म निर्भर हुनका लागि दक्ष जनशक्ति, कृषकलाई पर्याप्त अनुदान तथा आधुनिक प्रविधि हुन आवश्यक रहेको मत्स्य विकास अधिकृत शाहीको भनाई छ । कैलालीको गोदावरी नगरपालिकास्थित मत्स्य विकास केन्द्रले यस क्षेत्रका लागि माछाका भूरा उत्पादन गर्दै आएपनि उपभोक्ताको माग धान्न सकेको छैन । जसले गर्दा, यहाँका व्यवसायी तथा उपभोक्ताले भारतबाट आयातित माछामा भर पर्नुपरेको छ ।
सेल्टा भिगोलाई हराउँदै बार्सिलोना कोपा डेल रे फुटबलको क्वाटरफाईनलमा प्रवेश
काठमाडौं, पुस २८ । सेल्टा भिगोलाई हराउँदै बार्सिलोना स्पेसिन कोपा डेल रे फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा पुगेको छ । अर्जेन्टाईनी स्ट्राईकर लियोनल मेस्सीले पहिलो हाफको १५ मिनेटभित्रै दुई गोल गरेपछि सेल्टा भिगोविरुद्धको दोस्रो लेगको खेल बार्सिलोनाले ५-० ले जित्यो । बार्साका लागि योर्डी अल्बा, लुईस सुवारेज र ईभाँ राकिटिचले एक एक गोल थपे । पहिलो लेगमा १-१ गोलको बराबरी खेलेको बार्सिलोना गएरातिको जितसँगै समग्रमा ६-० को परिणामका साथ क्वाटरफाईनलमा पुगेको हो । गएरातिका अरु खेलहरुमा लेभान्तेलाई हराउँदै ईस्पानियोल तथा काडिजलाई हराउँदै सेभािया पनि अन्तिम आठमा पुगेका छन् । स्पेनिस किङ्स कपसमेत भनिने कोपा डेल रे फुटबलमा रियाल मड्रिड, एथ्लेटिको मड्रिड, भ्यालेन्सिया, लेगानेज र आलाभेज पनि क्वाटरफाईनलमा पुगिसकेका छन् ।
विनोदले गीता राईलाई मस्याङ्दी तार्ने तयारी गर्दै, भिडियोसहित
काठमाडौं, पुस २६ । पछिल्लो समयमा लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा मौलिकता हराउंदै गैरहेको अवस्थामा कलाकार आफ्नै कला संस्कृति र मौलिक परम्पराको जगेर्ना आफैले गर्नु पर्छ भन्ने मूल उद्देश्य लिइ संचालित बिहानी डिजिटल प्रालिले पछिल्लो पटक पन्चेबाजाद्वारा सुसजित लोक दोहोरी गीत ‘जन्म ठाउँ तिर’ लाई भर्खरै बजारमा ल्याएको छ । राम गगन र दिलु फगामी को सुमधुर स्वरले सजिएको यस गीतलाई लय राम गगन र शब्द अमित बिस्वकर्माले तयार पारेका छन् । आफ्नै गाउँ वस्ती र कुना कन्दराको झझल्को दिने गरेर यस गीतको म्युजिक भिडियो पनि तयार पारिएको छ । भिडियोमा बिनोद श्रेष्ठ र गीता राइको मौलिक अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन उमेश गुरुङले गरेका हुन् भने छायांकन मधुर बस्नेत र शम्भु चालिसे, त्यसैगरी सम्पादन सुजन शाहीले गरेका छन् । हेर्नुहोस भिडियो
बलिउड क्षेत्रमा १६ वर्षपछि फर्किदैं अभिनेत्री रिना
मुम्बई, पुस २३ । आइतबार बलिउड क्षेत्रकी अभिनेत्री रिना राय आफ्नो ६० औं जन्मदिन सेलिब्रेट गरेकी छिन् । उनले कालीचरण, विश्वनाथ र अपनापन जस्ता बलिउड चलचित्रबाट चर्चामा अाएकी रिना कुनै जमानाको एक फेमस अभिनेत्रीको नाम परिचित थिइन् । उनले १६ वर्षसम्म ठूलो पर्दाबाट टाढा भएकी थिइन् तर रिना अब विकास गुप्ताको शोबाट सानो पर्दामा फर्किने भएकी छिन् । चाँडै यस शोमा काम सुरु गर्ने भएको छ । आफ्नो जन्मदिनको अवसरमा रिना आरजे अनमोलको शोमा ‘मे बाते कहीं अनकही में’ आउने भएकी छिन् । यसै बेला उनले आफ्नो व्यक्तिगत र प्रोफेशलन जीवनबाट जोडेका धेरै प्रश्नको जवाफ दिए । रिनाले भने, यतिका समयसम्म चलचित्र क्षेत्रबाट टाढा रहेकी थिइन् । आर जे अनमोलले रिनालाई सोधे कि उनी यतिका समयसम्म यो क्षेत्रबाट किन टाढा रहेकी थिइन् । उनले बताइन्, छोरीको हेरचाह र घरको जिम्मेवारीको सम्हाल्नका लागि यो इण्डष्ट्रीमा टाढा भएकी थिए । उनी टिभीमा फर्किनुका साथै रिनाले बताइन् कि, उनी आफ्नो मनै छुने खालेका भूमिकाको प्रतिक्षा गरिरहेकी छु । आफ्नो करियर सुरुवातको बेलाको समय याद गर्दै भनिन्, त्यो कम उमेरमा एक सिरियस भूमिका निर्वाह गर्न त्यति सजिलो थिएन । त्यो समय अभिनेत्री रिना स्वर्गीय राजेश खन्ना र मनोज कुमार क्रस हुने गर्दथे । यतिमात्र होइन कि रिना त्यो समयमा राजेश खन्नाकी एक झलक पाउनका लागि सधैंजसो उनको बंगलाको अगाडि साइकल लिएर आउने गर्दथिन् । तर, त्यहाँ पहिला नै राजेश खन्नाकी फिमेल फ्यानहरुको भीड लाग्ने गर्दथ्यो । १९८३ मा रिनाले पाकिस्तानी क्रिकेटर मोहसिन खानसँग विवाह गरेकी थिइन् । तर १९९० मा उनका सम्बन्धविच्छेद हुन पुग्यो । यिनीहरुको एक छोरी थियो सनम, जसको कस्टडी रिनाको साथमा छ ।
सर्वदलीय बैठक सकाएर प्रचण्ड आज चितवन जाँदै
काठमाडौं, पुस २० । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज गृहजिल्ला चितवन जाँदैछन् । बिहान ९ बजे बालुवाटारमा प्रधानमन्त्रीले आह्वान गरेको सर्वदलीय बैठकमा सहभागि भएर उनी दिउँसो साढे २ बजे चितवनका लागि प्रस्थान गर्ने उनका प्रेस संयोजक मनहरि तिमल्सिनाले जानकारी दिए । पार्टी एकीकरणका लागि प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच छलफल हुँदै आएपछि ठोस सहमति बन्न सकेको छैन । सहमति बन्न नसकेकै कारण एकता संयोजन समितिको बैठक बस्न सकेको छैन ।
शतिलहर र चिसोले अक्रान्त दलित बस्तीमा न्यायो ब्ल्यांकेट लिएर धुर्मुस पुगेपछि…
धनुषा, पुस १९ । तराईमा चिसो र शीतलहरले जनजीवन कष्टकर बनाई रहेको समयमा जनकपुर उप महानगरपालिका १ स्थित दलित बस्तीमा कलाकार सिताराम कट्टेल (धुर्मुस) ले न्यानो कपडा बाँडेका छन् । शीतलहरले जनजीवन कष्टकर बनेको दलित बस्तीका मुसहर, डोम, मेस्तर र चमार समुदालाई न्यानो ब्ल्यांकेट वितरण गरेको हो । धुर्मसले विभिन्न सञ्चार माध्यममा आएका खबरबाट चिसोले प्रभावित भएको जानकारी पाएपछि न्यानो लिएर आएको कलाकार उनले बताए । दलित बस्तीका वृद्धदृद्धा र बालवालिका चिसोले कामिरहेको बेला न्यानो ब्ल्यांकेट दिएर सेवा गर्ने अवसर प्राप्त भएको उनले बताए । बिहानै शीतलहरले ढाकिएको बेला दलित बस्तीमा ब्ल्यांकेट लिएर पुगेका धुर्मुसलाई स्थानीयले स्वागत गरेका थिए । भूकम्प पछि पुनर्निमाणम प्रंशसनीय काम गरेर सामाजिक क्षेत्रमा चर्चा पाएका धुर्मुसले डुवानमा परेको बेला चामल, च्युरा र चिसोले थलिएको बेला न्यानो ब्ल्यांकेट लिएर आएका कट्टेललाई स्थानीयले घरको व्यवस्था गरिदिन आग्रह गरेका थिए । कलाकार कंट्टेलले जनकपुर ८ स्थित बविर अनाथ आश्रममा बालबालिकाका लागि समेत न्यानो ब्ल्यांकेट वितरण गरेका थिए ।
इण्डो–नेपाल महोत्सव देहरादुनमा
काठमाडौं, पुस १२ । दोस्रो इण्डो नेपाल व्यापार मेला तथा पर्यटन महोत्सव भारतको देहरादुनमा हुने भएको छ । उद्योग वाणिज्य संघ कञ्चनपुर र उत्तराखण्ड उद्योग एशोसिएसनको समन्वयमा आउँदो माघ १९ गतेदेखि २५ गतेसम्म उक्त महोत्सव आयोजना गरिएको छ । नेपालमा उत्पादित वस्तु तथा सेवाको बजार प्रवद्र्धन गर्नका लागि महोत्सव आयोजना गर्न लागिएको उद्योग वाणिज्य संघ कञ्चनपुरका अध्यक्ष सुरेश रावलले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराए । उनले महोत्सवबाट व्यापार घाटा कम गर्न र नेपाली उत्पादनको भारतमा प्रचार प्रसार गर्न सहयोग पुग्ने बताए । उत्तराखण्ड प्रदेशको राजधानी देहरादुनको परेड मैदानमा हुने उक्त महोत्सवमा नेपाल र भारतका १५० भन्दा बढी कक्ष रहने छन् । पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष भवानी राणाले भारतमा महोत्सव आयोजना गर्दा नेपालको वस्तु र पर्यटनलाई प्रचारप्रसार गर्न सजिलो हुने बताइन । “नेपालका वस्तु विदेशमा खपत हुँदा मुलुकको आर्थिक विकासमा टेवा पुग्छ,” उनले भनिन् । संघको आयोजनामा यसअघि २०७३ फागुनमा पहिलो इण्डो–नेपाल महोत्सव आयोजना गरिएको थियो ।
जानिराखौं महले बढाउँछ यौन क्षमता
महमा जुनसुकै औषधिसँंग मिलेर काम गर्न सक्ने गुण हुन्छ । यसको प्रयोग विभिन्न रोगमा प्रभावकारी मानिन्छ । यौन क्षमतामा बढाउने यो अचुक उपाय नै हो । मह सेवन गर्दा घटेको यौन क्षमता पुन जाग्रित भएर आउँछ । यौन क्षमतालाई बचार्इ राख्न पनि मह खानुपर्छ । यसका अलावा महले व्यक्तिको स्मरण शक्ति बढाउँछ । खानामा रुची बढाउन होस वा खोकी कब्जियत जस्ता रोग निको पार्न पनि यो उत्तिकै उपयोगी मानिन्छ । अल्सरका रोगीका लागि मह प्रभावकारी औषधि नै मानिन्छ । आयुर्वेदमा मात्र नभएर एलोपेथिक उपचार पदतिमा समेत महलाई गुणकारी औषधिका रुपमा मान्यता दिइएको छ । तर हामीले खाने मह भने मिसावट युक्त हुनुहुँदैन । माहुरीले बनाएको शुद मह हुनुपर्छ । गाउँंघरमा पाइने विका मिसावटको शुद महले औषधिको काम गर्छ । महले थकान मन गर्छ । अत्यधिक गर्मीको बेला मह खाएपछि तातोपानी, दही वा चिनी कफी खानु हुदैन। दैनिक एकदेखि दुई चम्चा मह मनातातो पानीमा वा दूधमा मिसाएर खानु राम्रो मानिन्छ । एजेन्सीको सहयोगमा
काठमाडौंमा मात्रै ३१३ उम्मेदवारको जमानत जफत
काठमाडौं, पुस ४ । गत मंसिर २१ गते भएको प्रतिनिधि र प्रदेशसभामा काठमाडौँ जिल्लामा मात्रै ३१३ उम्मेदवारको जमानत जफत भएको छ । प्रतिनिधिसभातर्फ १४४ र प्रदेशसभातर्फ १६९ उम्मेदवारको धरौटी जमानत जफत भएको क्षेत्रीय निर्वाचन अधिकारी विनोदकुमार दाहालले जानकारी दिए । प्रतिनिधिसभामा १७१ र प्रदेशसभामा २२२ जना उम्मेदवार रहेका थिए । उहाँले सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको घरौती जफत हुने व्यवस्थाअनुसार नै उनीहरुको धरौटी जफत भएको बताए । प्रतिनिधिसभातर्फ रु १० हजार र प्रदेशसभाका उम्मेदवारले रु पाँच हजार उम्मेदवार दर्ता गराउँदा शुल्क बुझाउनुपर्ने हुन्छ । काठमाडौँ जिल्लामा १० निर्वाचन क्षेत्र रहेको छ । प्रायः सबै जिल्लामा विजयपछिको निकटतम प्रतिद्वन्द्वी उम्मेदवारबाहेक सबैको धरौटी जफत भएका छन् ।
पर्वतको एउटै गाउँमा तीन करोड रुपैयाँको सुन्तला उत्पादन
पर्वत, पुस ३ । पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा यो वर्ष झन्डै तीन करोड रुपैयाँको सुन्तला उत्पादन भएको छ । किसानले सुन्तला बगैंचा विस्तार गरेसँगै उत्पादन वृद्धि भएको हो । यो गाउँमा गतवर्ष दुई करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको थियो । यहाँका २ सय ६१ घरधुरी मध्ये २ सयभन्दा बढीले व्यावसायिक सुन्तला खेती गर्दै आएका छन् । परम्परागत अन्नवाली लगाउन छाडेर सुन्तला खेती गर्न थालेपछि यहाँका किसानको प्रमुख आयस्रोत नै सुन्तला भएको छ । यहाँका अधिकांश किसानले सुन्तलाको आम्दानीबाट बेनी, बाग्लुङ, कुस्मा, पोखरा, चितवन, काठमाडौंलगायतका शहरमा घरजग्गा खरिद गरेका छन् । सुन्तलाको व्यवस्थित बजारीकरण गर्न किसानकै अग्रसरतामा सहकारी समेत स्थापना गरिएको छ । गाउँभरिका सुन्तलाको बिक्री सहकारी मार्फत नै गर्ने गरिएको छ । २०६९ सालमा स्थापना भएको सहकारीले यहाँ उत्पादित सुन्तला राजधानी काठमाडौंदेखि चितवन, पोखरासम्मका बजार पुर्याउने गरेको छ ।