राष्ट्रपति निर्वाचनका बेला सबै प्रदेश मन्त्री र सांसदविहीन हुने
काठमाडौं । भर्खरै प्रदेश सरकार गठन भएर काम सञ्चालन हुन थालेको बेला आगामी एक महिनाभित्र सबै प्रदेशहरू कम्तीमा दुई दिन मुख्यमन्त्री, मन्त्री र प्रदेशसभा सदस्यविहीन हुने भएका छन्।
निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन राजधानी काठमाण्डूमा नै गर्ने निर्णय गरेकाले यस्तो अवस्था आउन लागेको हो।
संघीय संसद् र सबै प्रदेशसभाका सदस्यहरू भिन्न मितिमा गरिने राष्ट्रपति र उपराष्ट्रपतिका निर्वाचनमा मतदाता हुन्छन्।
राष्ट्रपतिको निर्वाचन फागुन २९ गते हुने भएको छ। संवैधानिक प्रावधानअनुसार राष्ट्रपतिको निर्वाचनको परिणाम घोषणा भएको सात दिनभित्र उपराष्ट्रपतिको निर्वाचनको मिति तोकिनुपर्छ।
उपराष्ट्रपतिको निर्वाचनमा पनि मतदान गर्न सात वटै प्रदेशसभाका सदस्यहरू पुनस् राजधानी आउनेछन्।
असन्तुष्टि
ती दुई पदका लागि काठमाण्डूमै मतदान गराउने आयोगको निर्णयप्रति मुख्यमन्त्रीहरूले असन्तुष्टि व्यक्त गरेका छन्।
छोटो समयमै दुई पटक मतदान गर्न काठमाण्डू जाँदा सांसदहरूलाई आर्थिक भार पनि पर्ने बताउँदै प्रदेश नम्बर ६ का मुख्यमन्त्री महेन्द्र शाहीले भने, ‘प्रदेशको व्यवस्थापनका लागि रातदिन काम गर्नुपर्ने बेला सबैले प्रदेश नै छोडेर जानु राम्रो होइन।’
उनका अनुसार प्रदेशमै मतदान गरेर केन्द्रमा पठाउने व्यवस्था गरिनु उपयुक्त हुन्छ।
शाहीको जस्तै धारणा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईको पनि छ।
उनले भने, ‘कुनै निर्वाचनका कारण प्रदेश खाली हुने अवस्था आउनु राम्रो होइन। अझै समय छ, निर्वाचन आयोगले प्रदेशमै निर्वाचन गर्ने व्यवस्था गर्नु राम्रो हुन्छ।’
राष्ट्रिय सभा सदस्यको निर्वाचन प्रदेशमै गरेको निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको हालको योजनामा परिवर्तनको सम्भावना नरहेको जनाएको छ।
आयोगका प्रवक्ता नवराज ढकालले भने, ‘प्रदेशमै निर्वाचन गर्ने बारेमा छलफल भएको हो। तर मतदाताको संख्या न्यून भएका कारण सुरक्षा र प्रविधिका हिसाबले प्रदेशमा निर्वाचन गर्नु अव्यावहारिक हुने भएकाले केन्द्रमै गर्न लागिएको हो।’
फागुन २९ गतेका लागि राष्ट्रपतिको निर्वाचनको मिति तोकिएको छ भने त्यसको एक सातामै उपराष्ट्रपतिको पनि निर्वाचन हुने बताइएको छ।बीबीसी
आर्सनल, बोरुसिया डर्टमण्ड, एसी मिलान र एथ्लेटिको मड्रिड विजयी
काठमाडौं, फागुन ४ । युरोपा लिग फुटबलमा गएराति आर्सनल, बोरुसिया डर्टमण्ड, एसी मिलान र एथ्लेटिको मड्रिड विजयी भएका छन् । राउण्ड अफ ३२ अन्तर्गत पहिलो लेगको खेलमा इंग्लिश क्लव आर्सनलले स्विडेनको ओएफकेलाई ३–० ले हराउँदा जर्मनीको बोरुसिया डर्टमण्डले ईटालीको एटालान्टालाई ३–२ ले पराजित गर्यो । पहिलो लेगकै अर्को खेलमा ईटालीको एसी मिलानले बुल्गेरियाको लुदोगोरेट्स राज्गार्डलाई ३–० ले तथा पोर्चुगलको स्पोर्टिङ्ले काजखस्तानको एफसी अस्टानालाई ३–१ ले हरायो । यसैगरी स्पेनिस क्लवहरु एथ्लेटिको मड्रिडले डेनमार्कको एफसी कोपनहेगनलाई ४–१ ले हराउँदा एथ्लेटिक बिल्बाओले रुसको स्पार्टा मस्कोलाई ३–१ ले पाखा लगायो । फ्रेन्च क्लवहरु मार्सेले पोर्चुगलको ब्रागालाई ३–० ले तथा लियोंले स्पेनको भियारियाललाई ३–१ ले पराजित गरे । युरोपा लिगकै अन्य खेलहरुमा स्कटल्याण्डको सेल्टिकले रुसको जेनिथलाई १–० ले, जर्मनीको आरबी लेप्जीगले ईटालीको नापोलीलाई ३–१ ले तथा रोमानियाको स्टावा बुकारेष्टले ईटालीको लाजियोलाई १–० ले पराजित गरे ।
सन्तको हत्या
भीमदत्तनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ वनदेवी मन्दिरमा सन्तहरूबीच झगडा हुँदा एक सन्तको आज मृत्यु भएको छ । साँझ सन्तनारायण चौधरीले आपसी विवादमा दाउराको चिर्पटले हिर्काएर अर्का सन्त ४० वर्षीय चन्द्र गिरीको हत्या गरेको इलाका प्रहरी कार्यालय गुलरियाले जनाएको छ । हत्याको कारण खुलेको छैन । गिरीको हत्यापछि चौधरी फरार छन् ।
नेपाल ओमानसँग ६ विकेटले पराजित
काठमाडौं । आइसिसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत आज ओमानसँग भएको दोस्रो खेलमा ६ विकेटले पराजित भएको छ । कमजोर ब्याटिङ गरेको नेपाललाई ओमानले ६ विकेटले हराएको हो। नेपालले दिएको १ सय ३९ रनको सामान्य लक्ष्य ओमानले ३५.१ ओभरमा ४ विकेटको क्षतिमा पार गर्यो । ओमानका लागि अकिस इलायसले सबैभन्दा बढी ४६ रनको योगदान दिए। यस्तै बैभव वाटेगावङ्करले नटआउट ३७ र सुल्तान अहमेदले नटआउट १६ रनको योगदान गरे। बलिङतर्फ नेपालका सन्दीप लामिछानेले २ विकेट लिए। उनले १० ओभरमा २९ रन दिए। बसन्त रेग्मी र सोमपाल कामीले १–१ विकेट लिए पनि टोलीको जितका लागि प्रयाप्त भएन । सोमपालले ओपनिङ ब्याट्सम्यान स्वपनिल खाडयेलाई १ रनमा एलबिडब्लूको धरापमा पारेर आक्रमक सुरुवात गरे भने सन्दीपले जितेन्दर सिंहलाई २४ रनमा खेलिरहँदा बोल्ड गरे। बसन्तले ४६ रन बनाएर खेलिरहेका अकिस इलयासलाई बोल्ड गरेका थिए। लगत्तै सन्दीपले खवार अलीलाई ११ रनमा बोल्ड गरे।
साथीको हत्या आरोपमा पक्राउ
काठमाडौं । आफ्नो साथीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई आज पक्राउ गरेको छ । सिन्धुलीको सिन्धुलीगढी घर बताउने ‘मोटे’ भन्ने सानु मगर नाम गरेका एक व्यक्ति आज बिहान कागेश्वरी मनोहरा नपा, मूलपानी क्रिकेट ग्राउण्ड नजिकैको सडक छेउमा रगताम्मे अवस्थामा मृत फेला परेका थिए । सो घटनामा संलग्न भएको आरोपमा महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले खोटाङ, चिसापानी घर भई राजधानीमा बस्दै आएका प्रेम खड्का भन्ने राजन कटुवाललाई पक्राउ गरेको हो । मृतक र आरोपित कटुवालबीच करिब एक महिना अगाडि चिनजान भई साँखुमा साथै ज्यामी काम गर्ने गरेका र कामको सिलसिलामा दुईबीच मनमुटाव भएको खुलेको छ । गएराति ११ बजेतिर मृतक सानु मगर कटुवाल सुत्ने गरेको कोठामा आएको र उनीहरुबीच विवाद भएको प्रहरीले जनाएको छ । विवाद हुँदै गएपछि मृतक मगरलाई लखेटी सडक छेउमा कटुवालले चिर्पट तथा ढुंगा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ ।
‘पद्मावत’ले कमायो २०० करोड, बन्यो चार जनाको क्यारियरकै उत्कृष्ट फिल्म
काठमाडौँ- बलिउडको विवादित चलचित्र ‘पद्मावत’ले घरेलु बक्स अफिसमा कमाइले दुई सय करोड भारतीय रुपैयाँ नाघेको छ । दोस्रो सप्ताहान्तमा ४६ करोड भारतीय रुपैयाँ कमाएको यस फिल्मको आइतबारसम्मको कमाइ दुई सय १२ करोड ५० लाख रहेको छ । बलिउड ट्रेड एनालिस्ट कोमल नाहटाले सोमबार ट्विट गर्दै फिल्मले दोस्रो आइतबार २० करोडको कमाई गरेर दुई सय करोड क्लबमा प्रवेश गरेको जानकारी दिए । भारी विरोध र होहल्लाबीच गत २५ जनवरीमा रिलिज भएको यस फिल्मले सुरुको दिन जम्मा १९ करोड भारतीय रुपैयाँ कमाएको थियो भने चौथो दिन सय करोडको आँकडा पार गरेको थियो र पहिलो हप्ता एक सय ९२ करोड पचास लाख भारुको कारोबार गरेको थियो । यसका साथै फिल्मले संसारभरीबाट तीन सय करोड भारुभन्दा बढी कमाइसकेको छ । ‘पद्मावत’ निर्देशक संजय लीला भंसाली र यसका मुख्य कलाकार दीपिका पादुकोण, रणवीर सिंह र शहिद कपुर चारै जनाको क्यारियरको सर्वाधिक कमाइ गर्ने चलचित्र भएको छ । संजय लीला भंसालीद्वारा निर्देशित यो फिल्म सुरुदेखि नै विवादमा थियो । अहिले पनि भारतका चार राज्यहरूमा फिल्म प्रतिबंधित रहेको छ । कवि मालिक मोहम्मद जायसी रचित महाकाव्य ‘पद्मावत’मा आधारित यस चलचित्रमा दीपिकाले रानी पद्मावतीको भूमिका निर्वाह गरेकी छिन् । यस फिल्ममा अलाउद्दीन खिल्जीको भूमिका निर्वाह गरेका रणवीर सिहंको अभिनयको अचेल बलिउडमा विशेष चर्चा रहेको छ । जम्मा दुई सय १५ करोडको लागतमा निर्मित यो फिल्म हिन्दी भाषामा बनेको सबैभन्दा महँगो फिल्म मानिएको छ ।
४ वर्षीय बालिका बलात्कारको आरोपमा पक्राउ
भक्तपुर — भक्तपुरमा चारवर्षीय बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । यसैगरी अर्की ४५ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा समेत भक्तपुर प्रहरीले एक अन्य पुरुषलाई पक्राउ गरेको जानकारी दिएको छ । चाँगुनारायण नगरपालिका–४ की पाँच वर्षीया बालिकाको बलात्कार भएको थियो । बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ललितपुर बुङ्मती स्थायी घर भई भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने १८ वर्षीय वसन्त तामाङलाई पक्राउ गरेको जनाएको छ । बालिकाका परिवारबाट प्रहरीमा जाहेरी दिएपछि तामाङलाई पक्राउ गरिएको हो । यसैगरी ४५ वर्षीया महिलामाथि बलात्कार गरेको अभियोगमा प्रहरीले सुर्खेत घर भई हाल श्री भट्टामा काम गर्ने ३८ वर्षीया कर्णबहादुर पुनलाई पक्राउ गरेको हो । तीन दिनअघि बलात्कारमा परेकी पीडितले जाहेरी दिएपछि फरार रहेका पुनलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।
सर्वोच्च अदालतको आदेशः महिलाले बलात्कार गर्न सक्दैनन्
महिलालाई जस्तै पुरुषलाई पनि यौन उत्पीडन हुने र त्यसमा महिलालाई पनि सजाय हुनु पर्ने माग गरी सर्वोच्च अदालतमा दायर गरिएको रिट खारेज भएको छ । भारतीय सर्वोच्च अदालतले पुरुष बलात्कार सम्बन्धी सो रिटलाई खारेज गरेको हो । रिटमा महिलालाई पनि सजाय हुनु पर्ने दावी गरिएको थियो । त्यसमा भनिएको थियो, महिलाले पनि पुरुषलाई बलात्कार गर्छन् । उनीहरुलाई पनि बलात्कारमा सजाय हुनुपर्छ । तर, प्रधानन्यायाधीश दीपक मिश्राले भनेका कानून बनाउने काम अदालतको होइन, संसदको हो । महिलाको संरक्षणका लागि बनाएका कानून पुरुषका लागि लागु हुदैनन् ।
कसरी घट्यो एनआईसी एशियाको खुद नाफा ?
वाणिज्य बैंकहरुमध्ये कर्जा लगानी र शाखा विस्तारमा हौसिएको एनआईसी एशिया बैंकको दोस्रो त्रैमासिक प्रतिवेदन भने उल्लासमय आउन सकेन । आम्दानी अनुसारको नै खर्च बढेपछि बैंकको नाफा गत आर्थिक गत बर्षको भन्दा घट्न पुगेको हो । बैंकको खुद नाफा अघिल्लो आर्थिक बर्षको यसै अवधिको तुलनामा १४ करोड ९६ लाख अर्थात २०.७३ प्रतिशतले घटेर ५७ करोड १७ लाखमा खुम्चिएको छ । बैंकको कर्जा विस्तार ५२ प्रतिशत र निक्षेप संकलन ५१ प्रतिशतले बढेको छ । यस अवधिमा बैंकले एक खर्ब २० अर्ब ४६ करोड रुपैयाँ निक्षेप संकलन गरेर एक खर्ब दुई अर्ब २० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले पाँच अर्ब ५५ करोड व्याज आम्दानी गर्दा निक्षेप अभावले चर्को व्याजदर तिर्नुपर्दा चार अर्ब रुपैयाँ त व्याज खर्च गरेको छ । यसबाट बैंकले खुद व्याज आम्दानी ३८ करोडले बढाएर एक अर्ब ५४ करोड रुपैयाँ पुर्याएको छ । यस अवधिमा बैंकको निक्षेप लागत ३.११ प्रतिशत बढेर ७.६० प्रतिशतमा पुगेको छ । बैंकको निष्कृय कर्जा अनुपात ०.२६ प्रतिशत मात्रै रहेको छ । यस अवधिमा बैंकले ३६ करोड आठ लाख कर्जा नोक्सानी व्यवस्था गर्दा १० करोड २६ लाख रुपैयाँ नोक्सानीबाट फिर्ता गरेको छ । बैंकको अन्य सञ्चालन खर्च १९ करोड र कर्मचारी खर्च १० करोड रुपैयाँले बढेको छ । यस अवधिमा बैंकको कर्जा निक्षेप ७८.१९ प्रतिशत र पूँजी कोष अनुपात १३.८२ प्रतिशत रहेकाले आगामी दिनमा बैंकलाई पूँजी कोषमा थप सुधार जरुरी देखिन्छ । बैंकको आम्दानी फराकिलो भएपनि खर्च कटौतीमा ध्यान दिन नसकेर नै नाफा बढ्न नसकेकाले खर्च बढेकाले यसमा नियन्त्रण गर्दा नाफा बढ्न सहयोग पुग्ने देखिन्छ । १५ प्रतिशत हकप्रद र २० प्रतिशत बोसबाट आठ अर्ब तीन करोड चुक्ता पूँजी रहेका एनआईसीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ २४ पैसा, प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ७ पैसा, तरलता अनुपात २०.३५ प्रतिशत रहेको छ । मेरोलगानीबाट साभार
दीपिकाले घोषणा गरिन् अबदेखि ऐतिहासिक फिल्म खेल्दिनँ
बलिउड चलचित्र पद्मावतलाई लिएर भइरहेको विरोधका कारण चलचित्रका अधिकांश स्टारहरु हैरानीमा परेका छन् । करणी सेनाले विरोधमा प्रदर्शन गरेपछि फिल्मको रिलिज मिति १ डिसेम्बरबाट धकेलिएर २५ जनवरी पुगेको थियो । त्यसबीच पनि पद्मावतको विरोधमा हलहरुमा आगजनीसमेत भएको थियो । यति हंगामा भएपछि अब फिल्मकी हिरोइन दीपिका पादुकोणले कुनै पनि ऐतिहासिक फिल्ममा नखेल्ने बताएकी छिन् । एक कार्यक्रममा जब उनलाई अब यस्तै खालका फिल्म खेल्नुहुन्छ ? भन्ने प्रश्नमा उनले भनिन्, ‘यस्तो भएपछि त अब कहिल्यै खेल्दिन ।’ उनले एतिहासिक पात्रका विषयमा विवाद हुने भन्दै त्यस्ता फिल्म नखेल्ने घोषणा गरेकी भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । जब फिल्मको सवैभन्दा मनपरेको सीनबारे प्रश्न गरियो तब उनले भनिन्,‘मलाई खिलाजी र रावलबीच भएको लडाइ मन परेको छ । मैले दुई मुख्य स्टार बीचको यस्तो एक्शन पहिले कहिल्यै देखेको थिइन ।’ दीपिकाले पद्मावतमाथि आफ्ना अविभावकको प्रतिक्रियाबारे पनि बताएकी छिन् । उनले भनिन्, ‘स्पेशल स्क्रीनिङपछि जब सुत्न गइरहेको थिए तव भिडियो कलमार्फत बामा ममीले भने, हामीलाई तिमीमाथि गर्व छ ।’ करणी सेनाको धम्की तथा विरोधपछि आफ्ना अविभावकलाले म सम्हालिने विश्वास गरेका थिए । एजेन्सीको सहयोगबाट
बैंकिङ कसुरका दोषी खड्का पक्राउ
चितवन, माघ १५ । बैंकिङ कसुर मुद्दामा अदालतले दोषी ठहर गरी करोडौँ जरिवाना तोकिएका फरार व्यक्ति विमल खड्कालाई चितवन प्रहरीले पक्राउ गरेको छ । चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार काठमाडौँको साविक गागलफेदी गाविस–५ घर भएका ३४ वर्षीय खड्का पक्राउ परेका हुन् । उनलाई भरतपुर महानगरपालिका–९ गोन्द्राङबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक ढकालले आज जानकारी दिए । चितवन प्रहरी र केन्द्रीय अनुसन्धान ब्यूरोको संयुक्त टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई बैंकिङ कसुर मुद्दाद्वारा २०७१ साल असोज १ गते पुनरावेदन अदालत पाटनले तीन वर्ष कैद र रु पाँच करोड ७५ लाख जरिवाना तोकेको थियो । त्यसपछि फरार हुँदै आएका उनलाई फैसला कार्यान्वयन गर्ने सिलसिलामा खोजी अभियानका क्रममा पक्राउ गरेको हो । यसैगरी फुटबल खेलिरहेका बेला भरतपुरका सञ्जय कार्कीलाई आक्रमण गरी फरार भएका चितवन भरतपुरका अमृत गुरुङ र सिजे लामालाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई काठमाडौँको नीलबारहीबाट पक्राउ गरी सार्वजनिक अपराध ऐनअन्तर्गत म्याद थप गरी चितवनमा अनुसन्धान अघि बढाइएको छ ।
सलमानको दबंग–३ बन्ने, अप्रिलमा सुटिङ र डिसेम्बरमा रिलिज
सलमान खान एक पटक फेरी धमाका मच्चाउने भएका छन् । यहि डिसेम्बरमा उनको अर्को फिल्म ‘दबंग–३’ आउने भएको छ । दबंग–३ को तयारी पुरा भएको जनाएको छ । यहि अप्रिलबाट सुटिङ शुरु जानकारी गराइएको छ । बिग बोस सिरिजबाट फुर्सद पाउने बितिक्कै दबंग–३ काममा लाग्ने सलमानले बताएका छन् । उनले भने, “मैले दबंग–३ को स्क्रीप्ट पढेको छु । यसमा मस्ती, ड्रामा, इमोशन र एक्सन सबै छ ।” यसमा सलमानसँगै अनिल कपुर, ज्याकलिन, डेजी शाह र बबी देवलको मुख्य भूमिका रहनेछ ।
बालिका बलात्कारीलाई फाँसी दिने कानून ल्याइने
हरियाणा, माघ ६ । नेपालमा मात्रै होइन, पछिल्लो समय छिमेकी भारत लगायत बिभिन्न देशमा बलात्कार घट्ना बढ्दै गएका छन् । भारतको हरियाणामा यो विकराल समस्याका रुपमा आएको छ । हरियाणाका कतिपय शहरमा स–साना बालिकालाई समेत बलात्कार गरेका घटना बाहिर आएका छन् । चर्को आलोचना हुन थालेपछि हरियाणा सरकार कडा कदम चाल्न तयार भएको छ । हरियाणाका मुख्यमन्त्रि मनोहर लाल खट्टरले कडा कानून ल्याउने तयारी भइरहेको बताएका छन् । उनले भने, “१२ वर्षसम्मकी बालिकालाई बलात्कार गर्ने अपराधिलाई फाँसी दिने कानून ल्याउदैछौं ।” यसका साथै बलात्कार घट्नामा पीडितलाई छिटो न्याय दिन र दोषीलाई कारवाही गर्न फास्ट ट्रयाक कोर्ट गठन गर्ने विषयमा पनि तयारी भइरहेको उनले बताएका छन् । उनले ‘बलात्कारका लागि कठोर सजाय’ को व्यवस्था गर्न लागिएको जनाएका छन् । हरियाणामा ७५ प्रतिशत घटनामा पीडितका नातेदार तथा नजिक व्यक्तिहरु नै संलग्न हुने गरेको पाइएको बताए । यसमा प्रहरी काम गरिरहेको र प्रहरीलाई काम गर्न सजिलो हुने गरी कानून बनाइने बताए । एजेन्सीहरु
फिल्म फेयर अवार्डको घोषणा, विद्या बालन भइन उत्कृष्ट अभिनेत्री
६३ औं फिल्म फेयर अवार्डको घोषणा गरिएको छ । शनिबार अबेर राती आयोजित विषेश कार्यक्रममा उत्कृष्ट अभिनेत्रीको अवार्ड विद्या बालनले जितेकी छन् । फिल्म फेयर अवार्डको सूचिः उत्कृष्ट फिल्म (पपुलर): हिन्दी मिडियम उत्कृष्ट फिल्म (क्रिटिक्स): न्यूटन उत्कृष्ट अभिनेत्री (पपुलर): विद्या बालन (तुम्हारी सुलु) उत्कृष्ट अभिनेता (पपुलर): इरफान खान (हिन्दी मिडियम) उत्कृष्ट अभिनेत्री (क्रिटिक्स): जायरा बसीम (सिक्रेट सुपरस्टार) उत्कृष्ट अभिनेता (क्रिटिक्स): राजकुमार राव (ट्रेप्ड) उत्कृष्ट निर्देशक (पपुलर): अश्विनी अय्यर तिवारी (बरेली कि बर्फी) उत्कृष्ट डेब्यू निर्देशक : कोकणा सेनशर्मा (डेथ इ द गञ्ज) उत्कृष्ट सहायक अभिनेत्रीः मेहर विज (सिक्रेट सुपरस्टार) उत्कृष्ट सहायक अभिनेताः राजकुमार राव (बरेली कि बर्फी) उत्कृष्ट ओरिजनल स्टोरीः अमित मसुरकर (न्यूटन) उत्कृष्ट म्यूजिक अल्बमः प्रितम (जग्गा जासूस) उत्कृष्ट गीतकारः (अमिताभ भट्टाचार्य (उल्लू का पट्ठा–जग्गा जासूस) उत्कृष्ट गायिकाः मेघना मिश्रा (नचदी फिरा–सिक्रेट सुपरस्टार) उत्कृष्ट गायकः अरिजित सिंह (रोके ना रुके नैना–बदरीनाथ कि दुल्हनिया) उत्कृष्ट डायलगः हितेश केवल्या (शुभ मंगल सावधान) उत्कृष्ट स्क्रीनप्लेः शुभाशीष भुटियानी (मुक्ति भवन) लाईफटाइम अचिभमन्ट अवार्डः बप्पी लहरी, माला सिन्हा
बालिकाको मुखमा ३०० ग्रामको ट्यूमर, ७ घण्टा लगाएर शल्यक्रिया
मुम्बइ, माघ ३ । भारतको मुम्बैस्थित बम्बइ अस्पतालमा न्यूरो सर्जन सहितको पाँच जना चिकित्सकको टोलीले ७ घण्टा लगाएर बालिकाको मुखमा भएको ट्यूमरको शल्यक्रिया गरेका छन् । भारतको सिंगरौलीकी १५ वर्षीया बालिकको मुखमा भएको ट्यूमर ३०० ग्रामको रहेको थियो । मुखमा ट्यूमर भएपछि परिवारले छोडेका थिए । मन्दिरमा गएर दिन बिताउने ति बालिका बाल सखा आश्रममा बस्दै आएकी थिइन् । शल्यक्रिया सकेको केही घण्टापछि होस आएकी बालिका रुन थालेकी थिइन् । “अब तिमी असाध्यै सुन्दर देखिएकी छौं” अस्पतालमै रहेकी आश्रमकी काउन्सलर बबीता खरारेले भनिन् । उनले यस्तो भन्दा बालिका शान्त रहेकी थिइन् । उनको अनुहारमा पट्टी बाँधिएको छ । पट्टीको छेउबाट एक आँखाले सबैलाई हेरेर बालिका हास्न थालिन् । उनलाई हाँसेको देखेपछि चिकित्सक, अस्पताल कर्मचारी र आश्रमका व्यक्तिले खुशी साँटे । बम्बइ अस्पतालका न्यूरोसर्जन डा.राघवन अयंगर र डा.प्रशान्त निवारकर, प्लास्टिक सर्जरी विशेषज्ञ डा.योेगेश तंदवाडे, नाक, कान तथा घाटी रोग विशेषज्ञ डा. अनिल ग्वालियरकर सहितको टोलीले माघ २ गते बिहान १० देखि साँझ ५ बजेसम्म शल्यक्रिया गरेका थिए ।
रक्सीका कारण मर्ने र कुटिने घटना बढे रोल्पामा
उमा केसी/रासस रोल्पामा मादक पदार्थ सेवनले वर्षेनी थुप्रै मानिसको ज्यान जानुका साथै घरेलु हिंसाका घटना समेत बढिरहेका छन् । जिल्लामा मादकपदार्थ सेवनपश्चात लडेर मर्नेको संख्यामा दिनानुदिन वृद्धि भइरहेको छ । २०७२ सालमा यसरी मृत्यु हुनेको संख्या ३४ जना रहेको थियो । मादक पदार्थ सेवनकै कारण विभिन्न घटनामा परी २०७३ सालमा २९ जनाको मृत्युभएको थियो । चालु वर्षको मंसिर मसान्तसम्म यो संख्या १५ जना रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । जिल्लामा भवितव्यअन्तर्गत सूचीकृत हुने अधिकांश घटना मदिरा सेवनकै कारण हुने देखिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ । मदिरा सेवनले लैंगिक हिंसाका घटनासमेत बढिरहेको देखिएको छ । कर्तव्य ज्यानदेखि जबर्जस्ती करणीसम्मका घटनाको कारकसमेत मादकपदार्थ सेवन देखिएको जिल्ला प्रहरी कार्यालय, रोल्पाले जानकारी दिएको छ । मादक पदार्थ न्यूनीकरणका लागि आमा समूहको सक्रियतामा विभिन्न अभियान सञ्चालन गरिएपनि सार्थकता पाउन नसकेको आमा समूहकी गौमाया केसीले बताउनुभयो । प्रहरीको सहयोगमा मादक पदार्थ न्यूनीकरणका अभियान सञ्चालन गरे पनि अभियानले सार्थकता पाउन सकेन केसीले भन्नुभयो । परिवार विखण्डन, मृत्यु, हत्या तथा लैंगिक हिंसाको कारक मादक पदार्थ भए पनि यसको न्यूनीकरण हुन नसक्नु दुःखद् रहेको केसीको भनाइ छ । आमा समूहको सक्रियतामा महिलाको सहभागितामा घरघर पुगेर घरेलु मादक पदार्थ नष्ट गर्ने अभियान चलाउँदा विभिन्न आरोप खेप्न परेको केसीले दुखेसो पोख्नुभयो । जिल्लामा घट्ने लैंगिक हिंसाका शतप्रतिशत घटना मादक पदार्थ सेवनकै कारण हुने गरेकाले यसको न्यूनीकरणका लागि आफूहरुले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको लैंगिक हिंसा न्यूनीकरणविरुद्धको जिल्ला कार्यकारी सञ्जालका अध्यक्ष श्रीकुमारी रोकाले बताउनुभयो । मादक पदार्थ सेवनको मात्रा जिल्लामा अत्यधिक मात्रामा बढिरहेको देखिएकाले यसको न्यूनीकरणका लागि सडक नाटकलगायतका चेतनामूलक कार्यक्रम चलाएका छौँ, रोकाले भन्नुभयो । प्रहरीसँगको समन्वयमा जिल्लाका विभिन्न स्थानमा कार्यक्रम गरिरहेको भए पनि परिणाम अपेक्षाकृत उपलब्धिमूलक हुन नसकेको रोकाको भनाइ छ । अभियान आक्रामक नहुँदासम्म उपलब्धि हासिल गर्न नसकिने उहाँको सुझाव छ । जिल्लामा धर्म, जाति र संस्कारका नाममा मादक पदार्थ सेवनमा छुट दिँदा विकृति बढिरहेको महिला मानव अधिकार रक्षक सञ्जाल, रोल्पाका अध्यक्ष तीर्था आचार्यले बताउनुभयो । मादक पदार्थ सेवन गरेर सार्वजनिक स्थलमा हिँडडुल गर्ने तथा घरेलु मादक पदार्थ उत्पादन गर्ने सबैलाई हदैसम्मको कारबाही नहँुदासम्म यसको न्यूनीकरण हुन नसक्ने आचार्यको भनाइ छ । आमा समूहहरुले स्वतःस्फूर्त रुपमा सञ्चालन गरेको मादक पदार्थविरुद्धको अभियानलाई सहयोग गर्नुपर्ने आचार्यको भनाइ छ । अन्य सामाजिक अभियानजस्तै मादक पदार्थ सेवनविरुद्धको अभियानलाई समेत राज्यले प्राथमिकता दिनुपर्ने आचार्यले सुझाव दिनुभयो । मादक पदार्थ सेवनलाई लागुऔषधको रुपमा लिइएकाले यसको न्यूनीकरणका विभिन्न उपाय चालिएको जिल्ला प्रहरी कार्यालय, रोल्पाका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकारी दिनुभयो । लागुऔषध नियन्त्रण जिल्ला कार्यकारी सञ्जालमार्फत यसको न्यूनीकरणको कार्ययोजना तयार गरी काम थालनी गर्न लागिएको फुयाँलले बताउनुभयो । जिल्लामा हुने अधिकांश घटनाको कारक तत्व मदिरा नै भएको आफूहरुले पहिचान गरिसकेको हुँदा नियन्त्रणका लागि विशेष अभियान चाल्ने उहाँको भनाइ छ । जिल्लामा मादक पदार्थ सेवन संस्कारकै अभिन्न अंग रहेको फुयाँलले बताउनुभयो । सामुदायिक प्रहरी सेवा समितिमार्फत अभियानलाई सशक्त बनाउने पनि फुयाँलले जानकारी दिनुभयो ।