जुवातास खेलिरहेको अवस्थामा ४ जना पक्राउ
कास्की । कास्कीको पोखरा महानगरपालिका १७ बिरौटास्थित स्टार कार वासको छाप्रोमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३८ वर्षीय भिम बहादुर बिक समेत ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरिले उनीहरूलाई नगद ४८ हजार ९५ रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । आज २०८० साल पुस २८ गते शनिबार तदनुसार सन् २०२४ जनवरी १३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा पुगेको छ। युरो एकको खरिद दर १४५ रुपैयाँ ०१ पैसा र बिक्री दर १४५ रुपैयाँ ६७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६९ पैसा र बिक्री दर १६९ रुपैयाँ ४५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
कांग्रेस पदाधिकारी बैठक आज बस्दै
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् । बैठक देउवा निवास धुमबाराहीमा आज दिउँसो ४ बजेका लागि बोलाइएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । यही साउन २ गतेदेखि जारी केन्द्रीय समिति बैठका निर्णय तयार पार्नका लागि बैठक बोलाइएको हो । पदाधिकारी बैठक अघि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफल गर्ने छन् । आज तयार पारिने निर्णयका आधारमा सभापति देउवाले भोलि बस्ने केन्द्रीय समिति बैठकमा आफूमाथि उठाइएका प्रश्नको जवाफसहित सम्बोधन गर्नेछन् । केन्द्रीय समिति बैठक भोलि दिउँसो ४ बजेका लागि बोलाइएको छ । विभिन्न निर्णय गर्दै भोलि बैठक समापन गर्ने तयारी छ ।
सुनको मूल्य बढ्यो, हेर्नुस कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुुसार सुनको मूल्य आज दुई सय रुपैयाँले बढेको हो । आज छापावाल सुनको मूल्य तोलाको एक लाख १२ हजार दुई सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ६५० रुपैयाँ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । सोमवार चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ६० रुपैयाँमा कारोबार भएकोमा आज घटेर एक हजार ४५५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।
टर्की र ग्रीसको सीमा नजिकै चिसोले १९ आप्रवासीको मृत्यु, नेपाली पनि हुन सक्ने आशंका
काठमाडौं । टर्की र ग्रीसको सीमानजिकै चिसोले कठ्यांग्रिएर मृत्यु हुने आप्रवासीको संख्या १९ पुगेको छ। टर्की सरकारका एक मन्त्रीले टर्कीबाट ग्रीसतर्फ प्रवेश गर्न खोजिरहेका आप्रवासीहरुको चिसोले कठ्यांग्रिएर मृत्यु भएको बताएका हुन्। टर्कीका आन्तरिक मामिलामन्त्री सुलेमान सोयुलुले ट्वीटरमा मृतक कुन देशका हुन् भन्ने नखुलेको तर ग्रीसको सीमानजिकै चिसोले उनीहरुको मृत्यु भएको लेखेका छन्। चिसोले मरेका ती व्यक्तिहरुको बुधबार १२ जना र बिहीबार ७ जनाको शव भेटिएको टर्कीका अधिकारीहरुले बताएका छन्। कतिपय आप्रवासी जुत्ता/चप्पल नलगाएको र शरीरमा जाडो छल्ने कपडासमेत नभएको अवस्थामा भेटिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। अवैधानिक रूपमा युरोप जान खोज्ने आप्रवासी कामदार टर्की हुँदै ग्रीस प्रवेश गर्ने गरेको बताइन्छ। यस घटनापछि टर्कीका मन्त्री सोयुलुले युरोपेली युनियनले मानवीय व्यवहार नदेखाएको आरोप समेत लगाएका छन्। उता ग्रीसले भने आफ्ना कारण आप्रवासीको मृत्यु नभएको भन्दै उक्त आरोपको खण्डन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले लेखेका छन्। ग्रीसका आप्रवासन मन्त्री नोटिस मिटाराचीले ट्विटरमा भनेका छन्, ‘टर्कीनजिकै इप्साला सीमामा १२ आप्रवासीको मृत्यु भएको कुरा निकै दुःखद हो। उनीहरू ग्रीस छिर्न खोजेका थिएनन्।’ उनले टर्कीका आन्तरिक मामिलामन्त्रीको आरोप ‘प्रचारबाजी’ मात्र भएको पनि बताएका छन्। टर्कीका राष्ट्रपति रेचेप तय्यप एर्दोआनले पनि बिहीबार आप्रवासीलाई ग्रीसले जबरजस्ती फिर्ता पठाउने गरेको उल्लेख गर्दै उसको ‘वास्तविक तस्बिर’ उजागर गर्ने बताएका छन् । Tarih: 2.2 2022 Yer: İpsala Yunanistan Sınırı Ayakkabıları çıkarılmış, elbiseleri soyulmuş Yunan sınır birlikleri tarafından geri itilmiş 22 göçmenden 12’si dondu AB çaresiz, cılız ve insanlıktan yoksun. Yunan sınır birlikleri, mağdura cani, FETÖ’ye müşfik Allah rahmet eylesin pic.twitter.com/yBFObmdSxk — Süleyman Soylu (@suleymansoylu) February 2, 2022 पछिल्लो समय नेपालबाट पनि टर्की हुँदै अवैध तरिकाले युरोप जानेहरूको संख्या बढिरहेको छ। ग्रीसको राजधानी एथेन्सबाट ५ सय २ किलोमिटर पूर्वमा गत कात्तिक २५ मा भएको गाडी दुर्घटनामा चार नेपालीको मृत्युसमेत भएको थियो। पछिल्लो घटनामा नेपाली नागरिक परे/नपरेकोबारे बुझ्ने काम भइरहेको टर्की मामिलासमेत हेरिरहेका पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले बताए। टर्कीको राजधानी इस्तानबुलमा रहेका गैरआवासीय नेपाली संघका अध्यक्ष उज्ज्वल घिसिङले उक्त घटनामा नेपाली र बंगाली नागरिक पनि परेको हुन सक्ने बताएका छन्। एक जना नेपाली चार दिनदेखि ग्रीसको सीमा नजिकै पुगेपछि हराइरहेको भनेर नेपालबाट आफन्तले सन्देश पठाएको उल्लेख गर्दै घिसिङले घटनाका बारेमा बुझ्ने प्रयास गरिरहेको बताए। वैदेशिक रोजगारीका लागि टर्की पुगेका कञ्चनपुरको कृष्णपुर-२ बंकका ३० वर्षीय दिव्यदेव अवस्थी सम्पर्कविहीन भएपछि परिवारले सोधखोजका लागि हारगुहार गरेका छन्। इस्तानबुलबाट ग्रिसतर्फ जाने क्रममा सीमा क्षेत्रमा पुगेपछि हिमपातमा परेर सम्पर्कविहीन भएको उनका आफन्तले बताएका छन्।
पछिल्लो २४ घण्टामा कोरोनाले लियो १६ को ज्यान
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमित थप १६ जनाको मृत्यु भएको छ भने २ हजार ५२६ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ११ हजार ७३ नमुना परीक्षण गरिएकोमा ६ हजार ६५५ नमुनाको पीसीआर टेष्ट गर्दा एक हजार ६०२ र चार हजार ४१८ नमुनाको एन्टीजेन टेष्ट गर्दा ९२४ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा आठ हजार ४२५ जन संक्रमणमुक्त भएका छन्। हाल देशभर ५६ हजार ४५७ संक्रिय संक्रमित छन्। ५५ हजार ९० संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने एक हजार ३६७ जना संस्थागत आइसोलेसनमा छन्। उनीहरुमध्ये २४३ जनाको आईसीयू र ५१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।
१२औँ लोकनृत्य प्रतियोगिता सम्पन्न
पोखरा, पुस २ । पोखराको प्रदर्शनी केन्द्रमा सञ्चालित दोस्रो बृहत् शैक्षिक प्रदर्शनी तथा १२औँ लोकनृत्य प्रतियोगिता आज सकिएको छ । ‘एन प्याब्सन कास्कीको पहिचान, विद्यालय शिक्षामा व्यावहारिक ज्ञान’ मूल नाराका साथ नेशनल प्याब्सन कास्कीको आयोजनामा भएको तीनदिने सो कार्यक्रममा जिल्लाका ४४ विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो । विद्यार्थीको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउनाका साथै उनीहरुले हासिल गरेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्ने उद्देश्यले बृहत् शैक्षिक प्रदर्शनी आयोजना गरिएको थियो । विद्यार्थीको शिक्षण क्रियाकलापमा सहयोग पु¥याउने गरी विद्यार्थीबाटै विद्यालय शिक्षामा आधारित विषयगत पाठ्यक्रमअन्तर्गत स्थानीय स्रोत र साधनको प्रयोग गरी जीवनपयोगी निर्माण तथा आविष्कारका सामग्री शैक्षिक प्रदर्शनीमा राखिएको थियो । प्रदर्शनीमा विभिन्न विद्यालयका विद्यार्थी तथा अभिभावक गरी करिब ५० हजार दर्शकले प्रदर्शनी अवलोकन गरेको नेशनल प्याब्सन कास्कीका द्वितीय उपाध्यक्ष केशवशरण उपाध्यायले जानकारी दिए । प्रदर्शनी समापनका अवसरमा नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटाले उत्कृष्ट शैक्षिक प्रदर्शन गर्ने तथा लोकनृत्यमा प्रथम, द्वितीय र तृतीय हुने छात्रछात्रालाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै यस प्रकारको प्रदर्शनीले विद्यार्थीको अन्तरनिहित प्रतिभा प्रस्फुटनमा सघाउ पु¥याउने विश्वास व्यक्त गरे । नेशनल प्याब्सन कास्कीका अध्यक्ष रामबहादुर मोचीको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला शिक्षा अधिकारी नरेन्द्र पौडेललगायतका वक्ताले शैक्षिक प्रदर्शनीको महत्वमाथि प्रकाश पार्नुभएको थियो ।
भारत उत्तर प्रदेशको मुख्यमन्त्री योगी आदित्यनाथ
चैत ५ । भारतको उत्तर प्रदेशको मुख्य मन्त्री योगी आदित्यनाथ बन्ने निश्चित भएको छ । भारती जनता पार्टी (बिजेपी) विधायक दलको शनिबारको बैठकले उनलाई उत्तर प्रदेशको मुख्यमन्त्री बनाउने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। गोखरपुरका सांसद् समेत रहेका आदित्यनाथ गोरखनाथ मन्दिरको पीठाधीश हुन् । यसअघि चुनावको नतिजा आएपछि मुख्यमन्त्री बन्ने दौडमा राजनाथ सिंह, मनोज सिन्हा, केशव प्रसाद र सिद्धार्थनाथ सिंह रहेका थिए । तर, सात दिनपछि आदित्यनाथको पल्ला भारी भएपछि उनी मुख्यमन्त्री बन्ने निश्चित भएको हो। यसअघि बीजेपी प्रदेश अध्यक्ष केशव प्रसाद मौर्यलाई उत्तर प्रदेशको मुख्यमन्त्री पदमा विजयी गराउन मनोज सिन्हा दिल्ली पुगेर प्रदर्शन गरेका थिए। यस्तै उत्तर प्रदेशको मुख्यमन्त्रीको विवादलाई लिएर विजेपी अध्यक्ष अमित शाहले सांसद आदिनाथलाई चार्टर प्लेनबाट दिल्ली पुर्याएका थिए ।
बागमतीलगायत चार प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायुको प्रभावसँगै बंगलादेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भूभागमा मौसम आंशिकदेखि मुख्यतया सफा छ । आज दिउँसो कोशी प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । आज सूर्योदय बिहान ५ बजेर ९ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५४ मिनेटमा हुनेछ ।
कांग्रेसले गृहमन्त्रीलाई दोषी करार गर्यो : रास्वपा सांसद
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले सहकारीको बचत अपचलन प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने दोषी भएजसरी नेपाली कांग्रेसले प्रस्ताव ल्याएको बताएका छन् । उक्त प्रकरण छानबिनका निम्ति बनाउने भनिएको संसदीय समितिको ‘टीओआर’ तयार पार्न आइतबार दिउँसो सिंहदरबारमा बसेको कार्यदलको बैठकपछि उनले यस्तो बताएका हुन् । समितिको कार्यादेश बनाउँदा नै व्यक्तिलाई दोषी मान्न नसकिने उनले उल्लेख गरे । “समितिले कसलाई दोषी करार गर्छ, त्यो एउटा कुरा हो । आजको दिनमा नै एउटा व्यक्तिलाई दोषी करार गरेर छानबिन गर्नुपर्छ भन्ने न्यायसंगत हुँदैन,” उनले भने । उनले सबै सहकारीपीडितलाई न्याय दिने गरी छानबिन गरिनुपर्ने आफूहरूको भनाइ रहेको स्पष्ट पारे । आजको संसद् बैठकमा गृहमन्त्री लामिछानेले जवाफ दिने र त्यसपछि फेरि कार्यदलको बैठक बस्ने उनले जानकारी दिए ।
नेपाल र चीनबीचको टिपताला नाकामा नेपालतर्फबाट गाडी पुग्यो
काठमाडौं । नेपाल र चीनबीचको टिपताला नाकासम्म नेपालतर्फबाट पनि गाडी पुगेका छन्। टिपताला नाका पाँच हजार एक सय मिटरको उचाइमा रहेको ताप्लेजुङस्थित नेपाल र चीनको सीमाक्षेत्र हो। फक्ताङलुङ गाउँपालिका– ७ ओलाङचुङगोलामा रहेको टिपताला नाकासम्मको सडक चौडा गरिएपछि शुक्रबार एक्स्काभेटर र ट्रयाक्टरनाकासम्म पुर्याइएको छ। चीनतर्फबाट भने पाँच वर्षअघि नै टिपताला नाकासम्म गाडी आउने गरेका थिए। फक्ताङलुङ गाउँपालिका– ७ का वडाध्यक्ष छेतेन शेर्पाले भने पहिले नाकाबाट बोकेर सामान ल्याइन्थ्यो । यहाँको सामान पनि बोकेर पठाउनुपर्दथ्यो । अब त गाडीमा ल्याउन पाइने भयो । त्यसका लागि सरकारले नाका खोल्न पहल गरोस् । गत चैतमा सदरमुकाम फुङलिङबाट ओलाङचुङगोलासम्म गाडी पुगेपछि तमोर करिडोर आयोजनाले टिपताला नाकासम्मको २४ किलोमिटर सडक स्तरोन्नति (पहिरो हटाउने, सडक चौडा गर्ने) काम गरेको हो। सडक स्तरोन्नति गरिरहेको एलाइट जेभी कम्पनीका साइट इन्चार्ज राजीव लामिछानेका अनुसार तमोरको किनार भएर टिपताला गाडी पुगेका हुन्। ओलाङचुङगोलादेखि टिपताला नाकासम्मको २४ किलोमिटर सडक तीन करोड खर्चेर चार वर्ष घि नै ट्र्याक खुलेको थियो। नाका बन्द हुनु (कोभिड)अघि तिब्बतको रिगुबाट गाडीमा ल्याएको खाद्यान्नलगायतका सामग्री टिपताला नाका झारिन्थ्यो। त्यसपछि भने चौँरी र भरियामार्फत बोकेर ओलाङचुङगोलासम्म ल्याएर स्थानीयले उपभोग गर्दथे। तर, अहिले गाडी टिपताला नाकासम्मै पुगे पनि नाका भने खुलेको छैन। अब चीनसँगको नाका खुलेपछि स्थानीयलाई सहज हुने फक्ताङलुङ गाउँपालिका– ७ का वडाध्यक्ष छेतेन शेर्पाले बताए। ‘पहिलो नाकाबाट बोकेर सामान ल्याइन्थ्यो। यहाँको सामान पनि बोकेर पठाउनुपर्दथ्यो,’ उनले भने, ‘अब त गाडीमा ल्याउन पाइने भयो। त्यसका लागि सरकारले नाका खोल्न पहल गरोस्।’ चीन र भारतसँग जोड्ने तमोर करिडोरअन्तर्गतको टिपताला नाका रणनीतिक महत्वको नाका हो। टिपतालाबाट विराटनगरस्थित रानी भन्सारको दूरी करिब दुई सय ९२ किलोमिटर छ।
संसद अवरोध रोक्न सभामुखद्धारा प्रधानमन्त्री र प्रमुख सचेतकसँग छलफल
काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका छन् । प्रतिनिधि सभाको आज बस्ने बैठक सञ्चालनमा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले अवरोध जारी राख्ने घोषणा गरेको सन्दर्भमा सभामुखले छलफल गरेका हुन् । सभामुखले प्रधानमन्त्री प्रचण्डसँग फोनमा कुरा गरेका थिए भने प्रमुख सचेतकहरुसँग सामूहिक छलफल गरेका हुन् । सभामुख सचिवालयका अनुसार, बैठक सहज बनाउन सभामुखले नेताहरुसँग पनि संवाद जारी राखेका छन् ।नेपाली काँग्रेस, एमाले, माओवादी देखि राप्रपासम्मका संसदमा रहेका दलका प्रमुख सचेतक सभामुखसँगको छलफलमा सहभागी थिए ।
जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा अपराह्न ४ बजे बस्ने बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचनको निर्देशिकाका विषयमा छलफल हुने बताइएको छ । हिजोको बैठकमा विभिन्न तहगत समिति, निकाय, भ्रातृ सङ्गठन, पेसागत सङ्घ सङ्गठनबाट महाधिवेशन प्रतिनिधि निर्वाचित गर्ने प्रस्ताव गरिएको निर्देशिका प्रस्तुत भएको थियो । निर्देशिकामा करिब एक हजार महाधिवेशन प्रतिनिधि निर्वाचित हुने प्रस्ताव गरिएको छ ।
कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा पक्राउ
सल्यान । सल्यानको कुमाख गाउँपालिका ६ बस्ने वर्ष २१ को बिकास वलीको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ११ जना पक्राउ परेका छन् । कुमाख गाउँपालिका ५ कौचे बस्ने मानसिंह कुमाई लगायत ११ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । सोही नगरपालिका ५ कौचेस्थित मंगलबार राति विवाहको भोज खाई फर्कने क्रममा मानसिंह लगायतका व्यक्तिहरूको समुहले बिकास वली समेत ३ जनालाई कुटपिट गर्दा गम्भीर घाइते भएका वलीको मिशन अस्पताल चौरजहारी हुँदै नर्सिङ होम नेपालगंज बाँकेमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साथै कुटपिटबाट घाइते भएका १ जना मिशन अस्पताल चौरजहारीमा उपचार पश्चात डिस्चार्ज भएका छन् भने १ जनाको नर्सिङ होममा उपचार भइरहेको प्रहरीको भनाई छ ।
२९औँ वन्यजन्तु सप्ताह : बूढीराप्ती सरसफाइ
नारायणगढ। चितवनमा जारीे २९औँ वन्यजन्तु सप्ताहअन्तर्गत बुधबार रत्ननगरको सौराहस्थित बूढीराप्ती नदी क्षेत्र सरसफाइ गरिएको छ। बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा नदीको चित्रसारी पुलदेखि डुङ्गाघाटसम्म सरसफाइ गरिएको हो। नदी सफा गरेपछि बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जीतु तामाङले नदीमा मानवीय चाप घटाउनुपर्ने बताए। वातावरण र प्रकृति संरक्षण हामी सबैको दायित्व हो भन्दै उनले नदी प्रदूषण रोक्न एकताबद्ध हुनुपर्नेमा जोड दिए। मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले संरक्षणका दृष्टिले महत्वपूर्ण मानिएको वन्यजन्तु सप्ताहमा सरोकारवालाको उल्लेख्य सहभागिता नहुनु दुःखद भएको बताए। वर्ड एजुकेसन सोसाइटीका अध्यक्ष टीकाराम गिरीले निकुञ्ज आसपासका नदीमा मानव बस्ती वृद्धिका कारण जलचर सङ्कटमा परेका बताए। सफाइका निम्ति चित्रसेन मध्यवर्ती सामुदायिक वन, सौराहा लेडी जेसीज, लियो क्लब अफ चितवन सौराहा, मैनहा युवा क्लबलले सहयोग गरेका थिए। सप्ताहअन्तर्गत आज वन, वन्यजन्तु र वातावरण संरक्षणमूलक सचेतना ¥याली, सप्ताहको अन्तिम दिन भोलि वन, वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा सम्भावना र चुनौती विषयमा छलफल र संरक्षणमा योगदान गरेकालाई सम्मान गर्ने कार्यक्रम छ। मृगकुञ्जको अगुवाइमा जारी वन्यजन्तु सप्ताहमा स्थानीय सरकार, राष्ट्रिय प्रकृति संरक्षण कोषसहित सामुदायिक वन, सौराहाको पर्यटनसँग सम्बन्धित सङ्घसंस्था गरी २६ वटा सङ्घसंस्था संलग्न छन्।रासस
चीन भ्रमणबारे संसद्मा पराराष्ट्रमन्त्री श्रेष्ठ -'परम्परागत १४ नाका सञ्चालन हुने भएको छ'
काठमाडौँ ।परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल चीन सिमानामा रहेका १४ वटा परम्परागत सीमा नाका खोल्न चीन सहमत रहेको बताएका छन्।बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणमा चैत ११ गतेदेखि १९ गतेसम्म भएको चीन भ्रमण सफल भएको जानकारी गराए । उनले चीनसँग दुई पक्षीय मैत्रीपूर्ण सम्बन्धलाई बलियो बनाउने आर्थिक विकास र समृद्धिलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर छलफल गरेको र आर्थिक कूटनीतिलाई ध्यानमा राखेर छलफल गरेको उनले बताए । आर्थिक सहयोगात्मक सम्बन्धलाई केन्द्रमा राखेर छलफल गरेको उल्लेख गरे । भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीका विभिन्न तहका नेताहरूसँग छलफल गरेको बताउँदै मन्त्री श्रेष्ठले नेपाल चीन विविध आयामबारे चिनियाँ नेताहरूसँग छलफल गरेको बताउँदै द्विपक्षीय हितका विषयमा गहन छलफल भएको उल्लेख गरे । रसुवागढी नाका, तातोपानी नाका, कोराला नाका यसअघि नै सञ्चालनमा आएका र कोभिड अगाडि सञ्चालनमा रहेको १४ वटा परम्परागत नाका खोल्न चीन तयार भएको मन्त्री श्रेष्ठले जानकारी दिए। यसबाट चीनको सीमानजिक बस्ने नेपालीहरूको दैनिक जीवन तथा व्यापार व्यवसाय सहज हुने अपेक्षा गरेको बताए । प्रधानमन्त्री चीन भ्रमणमा गएका बेला पनि क्रमशः सिमानाका क्रमशः खोल्दै जाने सहमति भएको श्रेष्ठले बताए । ती नाका नखुलेको सन्दर्भमा गम्भीर छलफल गरेर खुल्न नसकेका १४ वटा नाका सहमति भएको र तत्काल व्यवहारमा देखिनेमा आफू विश्वस्त रहेको बताए । मन्त्री श्रेष्ठले भने– ‘नेपाल चीनबिच विद्यमान मैत्री सम्बन्धका विविध आयामहरूमा नियमित रूपमा उच्चस्तरमा छलफल गर्न नेपाल चीन बीचमा परराष्ट्र मन्त्री स्तरमा एउटा संयुक्त आयोग गठन गर्न दुवै पक्ष सकारात्मक भएका छौँ । यस्तै मन्त्रीस्तरको यस्तो आयोग भारतसँग पनि रहेको छ । बीआरआई परियोजनालाई अन्तिम रूप दिनेबारे छलफल भएको छ ।’ मन्त्री श्रेष्ठले सन् २०१६ देखि नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकलाई भिसा निःशुल्क गरेको र चीन भ्रमणमा जान चाहने नेपालीलाई पनि भिसा निःशुल्क गर्न माग गरेको उल्लेख गरे । यसमा चिनियाँ पक्षले सकारात्मक प्रतिक्रिया दिएको बताए । साथै चीनले नेपाललाई आगामी दिनमा गुणात्मक सहयोग गर्न प्रतिबद्धता जनाएको बताए ।