महिलाहरु पुरुष डाक्टरसँग उपचारका लागि खुल्दैनन्

हेमन्त के सी

जाजरकोट, फागुन ११ । यहाँका ग्रामीण क्षेत्रका अधिकांश महिला पाठेघर खस्ने समस्याबाट पीडित भएको पाइएको छ । जिल्लाका विभिन्न ठाउँमा हुने शिविरमा उपचारका लागि आउने महिला बिरामीहरुको उपचार गर्दा ७० प्रतिशतभन्दा बढी पाठेघर खस्ने रोग भएका महिला रहेको पाइएको छ ।

केही दिन अघि स्वास्थ्य चौकी लहँमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट सेवा लिएका महिलाहरुको ठूलो संख्याका महिलाले पाठेघर खस्ने समस्या भएका महिलाको सहभागिता रहेको चिकित्सक डा जानुका गैरेले जानकारी दिए ।

शिविरमा पाठेघरका बिरामी, रगत बग्ने, मुत्रनलीमा समस्या भएका, सेतोपानी बग्ने, इमिग्यास्टिक, महिनावारी नहुनेजस्ता बिरामी महिलाको संख्या धेरै भेटियो, डा.गैरेले भने– ‘यो डरलाग्दो अवस्था हो, यस्तो अवस्था अहिलेसम्म अन्य ठाउँमा देखिएको छैन ।’

जनचेतना अभावका कारण गरिने बालविवाह, कम उमेरमा बच्चाको आमा बन्ने, कम जन्मान्तरमा बच्चा जन्माउनुले महिलाहरुमा यस्तो डरलाग्दो समस्या देखा परेको डा.जानुका गैरेको भनाई रहेको छ । गरिबीका कारण गर्भवती तथा सुत्केरी अवस्थामा गह्रौँ भारी बोक्नुुपर्ने बाध्यताले पनि यस्ता रोग लाग्ने डा गैरेले जानकारी दिए ।

नेपाल रेडक्रस सोसाइटी, जाजरकोट शाखाको सामुुदायिक स्वास्थ्य र खानेपानी, सरसफाई तथा स्वच्छता कार्यक्रमको आर्थिक सहयोग र क्षेत्रीय स्वास्थ्य कार्यालय, सुर्खेत तथा प्राथमिक स्वास्थ्य केन्द्र दल्लीको प्राविधिक सहयोगमा उक्त शिविर सञ्चालन गरिएको थियो ।

स्वास्थ्य शिविरबाट २२५ जना महिलाले स्वास्थ्य जाँच गराएर निःशुल्क सेवा लिएको नेपाल रेडक्रस सोसाइटी, जाजरकोटको सामुुदायिक स्वास्थ्य र खानेपानी, सरसफाई तथा स्वच्छता कार्यक्रम जिल्ला संयोजक छवि पन्तले जानकारी दिए ।

सेवा लिएका महिलाहरुमा लहँ–२ की ६६ वर्षीया तस्बीरा रावल, लहँ–४ की ६१ वर्षीया भक्की वली, लहँ–६ की ४५ वर्षीया नानकली वली र लहँकै ५२ वर्षीया मगी रावलको पाठेघरको शल्यक्रिया नै गर्नुपर्ने अन्तिम अवस्थाका बिरामी फेला परेको संयोजक पन्तले बताए ।

पन्तले दिएको जानकारीअनुसार ती चारजना महिलालाई नेपाल रेडक्रस सोसाइटी, जाजरकोटकै पहलमा यही फागुन १५ गतेदेखि रुकुमको चौरजहारीमा सञ्चालन हुन गइरहेको पाठेघरसम्बन्धी शल्यक्रिया शिविरमा शल्यक्रिया गरिने भएको छ ।

गत माघ २२ गते लहँ स्वास्थ्य चौकीमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा यौनाङगबाट रगत बग्ने चारजना, मुत्रनलिमा समस्या भएका ३२ जना तथा सेतोपानी बग्ने ३२ जना, इमिग्यास्टिक ४७ जना, महिनावारी नहुुने तीनजना, लुुतो ३० जना, तल्लो पेट दुुख्ने १० जना, आरइएमका नौजना, पेट दुुख्ने ३६ जना बिरामी फेला परेको संयोजक पन्तले जानकारी दिए ।

दुईसय २५ जना महिलाले निःशुल्क सेवा लिएको उक्त स्वास्थ्य शिविरमा २०७ जना महिला विभिन्न रोगका बिरामी रहेको नेपाल रेडक्रस सोसाइटी, जाजरकोट शाखाले जनाएको छ ।

गाउँका अधिकांश महिला पुरुष डाक्टरसँग खुलेर कुरा गर्न हिचकिचाउँदा रोगको उपचार गर्न समस्या हुने गरेको छ । ग्रामीण भेगमा स्वास्थ्य संस्थामा समेत एक्लै आउन लजाउने महिलाहरुले खुलेर आफ्नो समस्या स्वास्थ्यकर्मीसँग राख्न सकेका छैनन् ।

रोटरीले दियो मनिहर्सलाई ९ करोड बराबरको स्क्यानर

माघ २० । रोटरी क्लब अफ राजधानीले मनिहर्स डाइग्नोस्टिक सेन्टरलाई नौ करोड बराबरको अत्याधुनिक जीएसआई सीटी स्क्यान मेसिन प्रदान गरेको छ । क्लब र मन्हिर्ष डाइग्नोस्टिक सेन्टरको पहलमा अत्याधुनिक स्क्यानर भित्र्याएको जनाइएको छ । विहीबार राजधानीमा एक कार्यक्रमबीच स्वास्थ्यमन्त्री गगनकुमार थापाले स्क्यानरको उद्घाटन गरेका हुन् । रोटरी फाउन्डेसनकोसमेत सहयोग रहेको क्लबले जनाएको छ । अमेरिकामा निर्मित यस अत्याधुनिक सीटी स्क्यानर ९ लाख डलर अर्थात् ९ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको रहेको छ । यो स्क्यानरपछि नेपालमै मुटुसम्बन्धी रोगको उपचारमा थप सहजता आउने विश्वास व्यक्त गरिएको छ । यस प्रविधिले सुक्ष्मरुपमा मुटु र रक्तनलीलाई प्रस्ट देखाउने, बिरामीमा हुनसक्ने मुटुरोगको उत्कृष्टताका साथ निदान गर्नसक्ने जनाइएको छ ।

नगद दुईलाख सहित सम्मानित भए धावक पण्डित

काठमाडौँ, माघ १८ । अल्ट्रा धावक सञ्जय पण्डित सम्मानित भएका छन् । सोमबार आयोजित कार्यक्रममा कोसी समूहले रु.दुई लाख १० हजारसहित उनलाई सम्मान गरेको हो । पण्डितले अन्टार्टिकाको माउन्ट रजम्यानलगायत शिखर आरोहण गरी देशको प्रतिष्ठा बढाएकाले सो सम्मान गरेको अायोजकले बताए । सो समूहका अध्यक्ष गोविन्द थपलियाले उक्त रकम बराबर चेक तथा सम्मानपत्र प्रदान गर्दै नेपाललाई विश्वमा आरोहणको माध्यमबाट चिनाउन पण्डितले अहम भूमिका निर्वाह गरेकाले त्यसको सराहना गर्नुभयो । उहाँको साहसलाई उच्च मूल्याङ्कन गरी आफ्नो समूहले सम्मान गरेको उनले बताए । सगरमाथा मनास्लुसहित विश्वका १० अग्ला शिखर आरोहण गर्नुभएका पण्डितले अफ्रिकाको सिखर किलिमान्जारो र अस्ट्रेलियाको सिखर कोजियस्कोमा उल्टो हिँडेर आरोहण गरेका थिए । पण्डित उल्टो हिँडेर हिमाल आरोहण गर्ने नेपालका पहिलो विश्व पर्वतारोही हुन् ।

ऋण काढेर जलविद्युतमा सेयर लगानी

सोलुखुम्बु, माघ १६ । स्वदेशी निजी क्षेत्रको लगानीबाट निर्माण गर्न लागिएको मुलुककै सबैभन्दा ठूलो आयोजना सोलुखोला दूधकोसी जलविद्युत् आयोजनामा मानिसहरुले ऋण गरेर सेयरमा लगानी गरेका छन् । पञ्चनका राजन राईले यस अायाेजनाकाे २०० कित्ता सेयर किन्न रु २० हजार सल्लेरीस्थित एनएमबी बैंकमा बुझाए । शुक्रबार बैंकमा रकम जम्मा गर्दै गर्दा राईले आफूसँग रकम नभएकाले ऋण काढेर सेयरमा लगानी गरेको बताए । सेयरका लागि रकम बुझाउन बैंकको लाइनमा भेटिएकी सल्यानकी सरिता प्रधानले पनि ऋण काढेरै सेयरमा लगानी गर्न आएको बताइन् । निजी क्षेत्रबाट सोलुखुम्बुमा निर्माण गर्न लागिएको सबैभन्दा ठूलो ८६ मेगावाटको सो आयोजनामा प्रभावित पाँच गाविसका बासिन्दालाई प्रतिकित्ता रु एक सयका दरले कम्तीमा एक सयदेखि बढीमा २०० कित्तासम्म सेयरमा (१० हजारदेखि २० हजारसम्म) लगानी गर्न पाउने गरी माघ १ देखि १४ गतेसम्मको समय दिएर खुल्ला गरिएको थियो । सो समयमा प्रभावित गाविसहरु तिङ्ला, सल्यान, पञ्चन, काँगेल र नेचाबेतघारीका बासिन्दाको उत्साहजनक सहभागिता रहेको हाइड्रो भेन्चर प्रालिका प्रशासन अधिकृत सुरज ढुङ्गेलले जानकारी दिए । ढुङ्गेलका अनुसार अति प्रभावित पञ्चन गाविसबाट अति विपन्न दुई घर दलितबाहेक सबैले सेयरमा लगानी गरेका छन् । यस्तै अन्य गाविसबाट पनि उत्साहजनक सहभागिता रहेको छ । एनएमबी बैंकको सल्लेरी शाखा र काठमाडौँको हात्तीसारबाट फारम भर्न तोकिएको थियो । सल्लेरीमा मात्र एक हजार ९०० घरधुरीले रु तीन करोड ८० लाखभन्दा बढीको फाराम भरेका अधिकृत ढुङ्गेलले बताए । यस्तै काठमाडौँबाट २०० भन्दा बढीले रु दुई करोड बराबरको सेयर फाराम भरेका साहस ऊर्जा लिमिटेडका अध्यक्ष, हेमप्रसाद पाठकले जानकारी दिए । पहिलोपटक स्थानीयवासीलाई संस्थापक सेयर खुलाएकामा सोचेभन्दा धेरैको उत्साहजनक सहभागिता रहेको पाठकले बताए । आयोजनाका लागि नेपाल इन्भेष्टमेन्ट बैंकको नेतृत्वमा ११ बैंक तथा वित्तीय संस्थाले रु आठ अर्ब ६५ करोड ९७३ प्रतिशत ऋण लगानी सम्झौता भइसकेको पाठकले जानकारी दिए । आयोजनामा सेयरधनीबाट २७ प्रतिशत अर्थात् रु तीन अर्ब २१ करोड लगानी हुने आयोजनाले जनाएको छ । जसमा ६० प्रतिशत संस्थापक र बाँकी साधारण सेयर वितरण गरिने छ ।

यी महिलालाई देख्ने बित्तिकै पछाडि दौडिन्छन् सर्प, टोकिसके ५ पटक

बैतडी, सर्पका बारेमा अनेकन् किंवदन्ती सुनिन्छन् । तर नेपालको सीमावर्ती जिल्ला बैतडीसँग जोडिएको भारतको पौडीमा बस्ने एकजना महिलाको जीवनमा भने सर्पले निकै समस्या निम्त्याएको छ । अचम्म के छ भने यी महिलालाई देख्ने बित्तिकै सर्प पछि पर्ने गर्छन् । गाउँमा सर्प रिसाएकी महिला भनेर चिनिन्छन् संगीता नाम गरेकी यी महिला । आजसम्म संगीतालाई ५ पटक सर्पले टोकिसकेका छन् । समयमा नै उपचार पाएको कारण उनको जीवन त जोगियो तर त्रासले भने छोडेको छैन । संगीतालाई सर्पले किन यसो गर्छन् त भन्ने जवाफमा गाउँलेहरुले भने एउटा घटना सुनाउँछन् । एकदिन उनको परिवारले गोठमा पसेको सर्पलाई मारेपछि सर्पहरुले पछ्याउन छोडेपछि उनीहरु बताउँछन् । गाउँलेहरुले सर्पको त्रासबाट छुटकारा पाउन गाउँमा नै शिव मन्दिर समेत बनाएका छन् । तर सर्पहरुले भने संगीतालाई पछ्याउन छोडेका छैनन् ।

मन्त्रिपरिषद्द्वारा विश्व बैंकको १६ अर्ब ३७ करोड ऋण सहायता स्वीकार्ने निर्णय

काठमाडौँ, माघ ६ । सरकारले सामाजिक संरक्षण र व्यक्तिगत घटना दर्ता कार्यक्रमको सवलीकरणका लागि विश्व बैंकले प्रदान गरेको रु.१६ अर्ब ३७ करोड ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले रेडियो नेपालको रिक्त कार्यकारी निर्देशक पदमा सुरेशकुमार कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले जानकारी दिए। कार्की यसअघि पनि रेडियो नेपालमा सोही पदमा कार्यरत रहेको थियो । बैठकले राष्ट्रिय किसान आयोग गठन गर्ने निर्णय गर्नुका साथै २०७१ सालको बाढीबाट प्रभावित बाँके, बर्दिया, दाङ, सुर्खेत र सिन्धुपलाञ्चोकमा निजी आवास पुनःनिर्माण गर्न तयार पारिएको अनुदान वितरणसम्बन्धी कार्यविधि, २०७३ लाई स्वीकृत गरेको छ । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणमा रिक्त दुई सदस्य पदमा नियुक्तिका लागि सञ्चार सचिवको संयोजकत्वमा एक समिति पनि गठन गरेको छ । मितिको सदस्यमा मन्त्रालयका प्रशासन महाशाखाका सहसचिव र विज्ञ डा.भेषराज कँडेल रहेको छ । त्यस्तै, बैठकले प्राविधिक प्रमुख सेनानी खुमबहादुर कुँवरलाई प्राविधिक महासेनानीमा पदोन्नति गर्नुका साथै सचिवमा पदोन्नति भएका सहन्यायाधिवक्ता किरण पौडेललाई नायब महान्यायाधिवक्तामा नियुक्त गरेको छ । सरकारले सहरजिस्ट्रार नकुल सुवेदीलाई न्यायपरिषद्को सचिवमा नियुक्त गर्नुका साथै सहरजिस्ट्रार नृपध्वज निरौलालाई सर्वोच्च अदालतको रजिस्ट्रारमा नियुक्त गरेको छ । सह–रजिस्ट्रार राजीव गौतमलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवमा पदोन्नति गरिएको छ । त्यस्तै, सह–न्यायाधिवक्ता राजनप्रसाद भट्टराईलाई बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको सचिवमा पदोन्नति गरिएको पनि उनले जानकारी दिए । सरकारले काभ्रेपलाञ्चोकमा केही दिनअघि वीभत्स हत्या गरिएका अजित मिजार र लक्ष्मी परियारको शव सद्गत गर्न, उनीहरुका परिवारलाई सहयोग गर्न र ती मुद्दालाई अदालतमा लैजान युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीको नेतृत्वमा समिति गठन गरेको छ । उनीहरु दुवैको शव हाल त्रिवि शिक्षण अस्पतालमा रहेका छन् ।

नेपाल एकीकरण कि गोर्खा साम्राज्य बिस्तार ?

हाम्रो इतिहासमा कान्तिपुरका राजा जयप्रकाश मल्लले भारतमा रहेका बेलायती सैनिकहरुसित सैनिक सहयोग मागेको र त्यसै कारण मेजर किनलोकको नेतृत्वमा आएको विदेशी सेनालाई पृथ्वीनारायण शाहले बाटैमा आक्रमण गरी विदेशी प्रभावले मुक्त गरेको भनी लेखिएको छ। तर, पृथ्वीनारायण शाहलाई युरोपले सामरिक स्रोत साधन दिएर सहयोग गरेका थिए। ब्रिटिस कम्पनी सरकारले गोरखाका राजालाई अनुशासनको महत्व सिकाएर युरोपेली व्यापारीमार्फत् हातहतियार दिएर सहयोग गरेका हुन्। त्यही हतियारको सहयोगबाट तीन पटकको आक्रमणमा धोका दिएर उनले कीर्तिपुर जितेका हुन्। ललितपुरका पाँच प्रधान (मन्त्री)हरुले पृथ्वीनारायण शाहलाई राजा बन्न आमन्त्रण गरेका थिए। पृथ्वीनारायण शाह राजा भइसकेपछि र प्रधानहरु कान्तिपुर नगई बाटैमा विदा हुन लागेका बेला उनले उनीहरुलाई त्यहीँ मारेर उनीहरुको सर्वस्व हरण गरेका थिए। अर्थात् पृथ्वीनारायण शाहको नियत भनेको आफू सत्तामा आइसकेपछि त्यहाँकाहरुलाई सफाया गर्ने थियो, चाहे ती उनलाई सहयोग गर्ने हुन् वा प्रतिरोध गर्ने। १ हजार अमूल्य ग्रन्थ ध्वस्त गोरखालीहरुको यस्तो सन्काहा कामकारबाहीले गर्दा नै चिनियाँ सम्राट किएन लोङ (सन् १७३६-१७९६) ले आफ्ना उत्तराधिकारीहरुलाई यसो भनेका थिए- “अति नभएसम्म गोरखाको मामलामा हस्तक्षेप नगर्नू” भक्तपुर पनि जितिसकेपछि पृथ्वीनारायण शाहले यहाँ निकै लुटपाट मच्चाएका थिए। इतिहासकार पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार त्यतिबेला जंगबहादुरले लखनउ विद्रोह दबाएपछि जति लुटपाट गरेका थिए, त्योभन्दा चर्को रुपमा यहाँ उनले लुटपाट मच्चाएका थिए। उनका सेनाले हस्तलिखित १ हजार अमूल्य ग्रन्थ पनि खात लगाई जलाइदिएका थिए। त्यसमा तन्त्रशास्त्र, रसायनशास्त्र, ज्योतिषशास्त्र, आयुर्वेद ग्रन्थ, शब्द विद्याशास्त्र (ध्वनिसम्बन्धि पुस्तक) आदि रहेका थिए। नेपालमा क्रिश्चियन धर्म प्रचार गर्नका लागि आएका कयापुचिनहरुले ६० वर्षसम्म नेपालमा बसेका बेला हजारौँ हस्तलिखित पुस्तक जलाएर गर्व गरेका थिए। मल्लकालमा हिन्दु धर्म प्रचार गर्नका लागि भारतबाट आएका शंकराचार्यले बुध्द धर्मसम्बन्धी ७०० ग्रन्थ जलाइदिएका थिए। त्यसैले पृथ्वीनारायण शाह र विदेशीमा के भिन्नता भयो ? पृथ्वीनारायण शाहले उपत्यका विजय गरेपछि विदेशी क्रिश्चियनहरुलाई मात्र हैन, ललितपुरका १२ स्थानीय बासिन्दा क्रिश्चियनहरुलाई समेत देश निकाला गरेका थिए, अनि बौध्दमार्गीहरुलाई हेला गर्ने क्रम सुरु गरेका थिए। जबकि उपत्यकाका आदिवासी भनेका बौध्दमार्गीहरु पनि हुन्। राज्य जसले जिते पनि ग्रन्थ भनेको सबैको साझा हुन्। तर विजयको नशामा पागल भएका शासकले यस्तो कुरालाई विचार गरेनन्। त्यति पुस्तक जलाइसकेपछि पनि बाँकी भएका पुस्तकहरु मात्र वीर शमशेरको पालामा पुस्तकालय बनाएर राष्ट्रिय अभिलेखालयमा राखिएका हुन्। यहाँ के कुरा पनि भन्न जरुरी छ भने राज्यस्तरबाट पुरातात्विक सामान नष्ट गर्ने अभियान आधुनिक कालसम्म पनि जारी नै थियो। पुरातात्विक सामान, मूर्ति आदि चोरेर, चोर्न लगाएर विदेशमा निर्यात भइरह्यो। नत्रभने भक्तपुरको तलेजु मन्दिर भित्र रहेको मूलढोकाबाट भित्र नछिर्ने दुई वटा गजुर हराउने थिएनन्, २४ घण्टा सेनाको पहरा भएको ठाउँमा भएको सुन्धारामा रहेको मकर चोरेर लगिँदैन थियो। नत्र भने कसको तागत थियो क्रेन लिएर भूपतिन्द्र मल्लको शालिक चोर्न जाने ? मल्लकालमा अ‍ौद्योगिक क्रान्तिको वातावरण तयार भइसकेको थियो, तर पृथ्वीनारायण शाहले गरेर आजसम्म हुन सकेन भन्ने तथ्यलाई यसबाट पनि पुष्टि हुन्छ कि मल्लहरुले राम्राराम्रा नक्साहरु समेत बनाएर विकास गरिसकेका थिए, जसको सुरुवात जयस्थिति मल्लले गरेका थिए। त्यस्तो नक्साहरुलाई अंग्रेजहरुले समेत प्रशंसा गरेका थिए। त्यही नक्साका आधारमा गोरखालीहरुलाई अरु ठाउँहरुमा हमला गर्न पनि निकै काम आयो। त्यसैगरी थ्यासफूमा कोरिएको भक्तपुरको न्यातपोल मन्दिरको चित्र, जुन जर्मन नागरिक बर्नहार्ड कोल्भरको हातमा पुगिसकेको छ, आजभोलि युरोपमा प्रयोग भइरहेको मोडुल स्केलमा कोरिएको हो। त्यतिबेलै भवनको नक्सा बनाउने बेलामा यस्तो स्केल राम्रोसित प्रयोग भइसकेको यसले देखाउँछ। यसबाट प्रष्ट हुन्छ कि नेपालको वास्तुकलाको विकास चरण कति माथि पुगिसकेको थियो भनी। सबै व्यापारी भागाभाग यहाँ पुनः स्मरण गराउँ कि त्यतिबेला नेपाल (उपत्यका) ले तिब्बतका लागि मुद्रा छापेर त्यता पठाउने र त्यस वापत् नेपाललाई राजस्व आउने गर्थ्यो। तर पृथ्वीनारायण शाहले त्यसलाई निरन्तरता दिन सकेनन्, साथसाथै व्यापारमा पनि धेरै कर बढाए। हिन्दुस्तान र तिब्बतबीच व्यापार गर्ने व्यापारीहरुलाई पनि देशनिकाला गरिदिए। अनि ठूल्ठूला व्यापारीहरु पनि व्यापार गर्नका लागि अरु देशमा गए। सन् १७७४ मा नेपालमा तिब्बतसित कारोबार गर्ने दुई वटा मात्र कश्मिरी पसल बाँकी रहेको थियो। पृथ्वीनारायण शाहको कानुन, नियम पालना नगर्ने व्यापारीहरुको कान काटेर देश निकाला गरिन्थ्यो। ता-सि-लुन-पोया तेसु लामा (दलाई लामापछिका दोस्रा लामा) ले नेपालका राजालाई पत्र समेत पठाएका थिए यसो भनेर-“हिन्दू होस् वा मुसलमान, सबै व्यापारी तपाईँदेखि डराउँछन्, कोही पनि तपाईँको देशमा बस्न राजी छैनन्।” भक्तपुर जितिसकेपछि पनि नरसंहार जारी राखेकोले बचेका पुरुषहरु भाग्नुपरेको कृषि कार्य गर्ने पुरुषहरुको अभावमा अनिकाल समेत भएको थियो। तत्कालीन राज्यका काजी (मन्त्री) हरु (धौकाजी, ध्वँकाजी, भौकाजी, तिमिलाकाजी) मध्य प्रमाणका रुपमा अगाडि आएका तिमिलाकाजीका बारेमा तथ्य यस प्रकार रहेको छ। भक्तपुर जितेपछि यहाँ यति दमन बढ्यो कि मानिसहरु बस्न नसकेर आफ्नो ठाउँ छाडेर भाग्नु पर्‍यो। आजभोलि नेपालका विभिन्न जिल्लामा रहेका बहुसंख्यक उपत्यकावासीहरु पृथ्वीनारायण शाहको कोपभाजनबाट जोगिनका लागि भागेकाहरु हुन्। आजभोलि पनि वृध्दवृध्दाहरु सुनाउने गर्छन् छलफलका लागि भनेर राजाले भोजमा बोलाएर त्यहाँबाट फर्किएकाहरुलाई गल्लीगल्लीमा पहरा राखिएका सेनाले धमाधम काटेर नरसंहार गरेका थिए। दोस्रो पटकको कीर्तिपुर हमला असफल भएपछि भक्तपुर वरपर रहेको गौकोटमा पृथ्वीनारायण शाहले हमला गरेको बेलामा त्यो ठाउँमा सशक्त प्रतिकार भएको थियो। १५ दिनसम्म भएको त्यो युध्दमा ३३२ जना गोरखा सैनिकको मृत्यु भएको थियो। पछि उनीहरुले जितिसकेपछि त्यो सिङ्गो गाउँलाई जलाइदिए। त्यतिबेला चौकोट युध्दको नेतृत्व गर्ने महिन्द्र सिंहले वीरगति प्राप्त गरेका थिए। त्यसैको बदला लिन पृथ्वीनारायण शाहले त्यस्तो नरसंहार गरेको हुनुपर्छ। पृथ्वीनारायण शाहले भक्तपुर आक्रमण गर्नुअगाडि भित्र्याउने तयारीमा रहेको धानमा आगो लगाएर अन्न सबै जलाउन लगाएका थिए। अनि भक्तपुर जितिसकेपछि पनि नरसंहार जारी राखेकोले बचेका पुरुषहरु भाग्नुपरेको कृषि कार्य गर्ने पुरुषहरुको अभावमा अनिकाल समेत भएको थियो। तत्कालीन राज्यका काजी (मन्त्री) हरु (धौकाजी, ध्वँकाजी, भौकाजी, तिमिलाकाजी) मध्य प्रमाणका रुपमा अगाडि आएका तिमिलाकाजीका बारेमा तथ्य यस प्रकार रहेको छ। विक्रम संवत् १८२६ मा राजा रणजित मल्ललाई कैद गरिसकेपछि तिमिलाको चल अचल सम्पति बेच्न, किन्न, भोगचलन गर्न र व्यापारसमेत गर्न नमिल्ने गरी पृथ्वीनारायण शाहले घोषणा गरेका थिए। पछि राजाले तिमिला काजीसित १८ हजार यानी राष्ट्रिय आम्दानीको ०.७२ प्रतिशत सलामी लिएर त्यसलाई छाड्न आदेश दिएका थिए। पछि एक मध्यस्थकर्ताको सहयोगले बिन्तिभाव गरेर १८१ रुपैयाँ अर्थात् राष्ट्रिय आम्दानीको ०.००६ प्रतिशत जरिवाना तिरेर बिना अपराध क्षमा माग्न लगाएर पृथ्वीनारायण शाहले अरु पैसा माफी गरिदिएको व्यहोराको पंजाछाप (लालमोहर) राखर फारखती गरिदिए, विसं १८२७ साल फागुन सुदी १३ रोज ४ दिनमा भक्तपुरमा बसेर। यो फारखतीको कागज अहिलेसम्म पनि भक्तपुरको दरबारक्षेत्र निवासी चक्रराज तिमिलासित छ। भक्तपुर तमारी न्यातपोल पश्चिम बस्ने भाजुमुनि तिमिलालाई पनि यसै गरिएको थियो। पछि १८ हजार रुपैयाँ सलामी लिएर छाडिदिन आदेश दिएका रहेछन्। उनलाई पनि एक मध्यस्थकर्ताको सहयोगमा ५१ रुपैयाँ जरिवाना तिराएर बाँकी सबै माफी गरेको भनी सम्पति फिर्ता दिए, विसं १८२७ साल अगहन सुदि १५ रोज १ मा काठमाडौंमा कागज गरेर। अर्थात् गल्ती नै नगरी गल्ती गरेको भनी बलजफ्ती स्वीकार गर्न लगाएर जरिवाना तिर्न लगाए। कर्क प्याट्रिकका अनुसार सन् १९७२ (विसं १८४९) मा नेपालको वार्षिक आम्दानी २५-३० लाख मानिएको छ। त्यो १५१ रुपैयाँको मूल्य त्यतिबेला कति थियो होला ? द्वैध चरित्रका शासक त्यसैले फ्रेञ्च इतिहासकार सिल्भाँ लेभीले भनेका यी गोरखाली भनेका समयभन्दा अति क्रुर अथवा दानीका रुपमा अगाडि आउनसक्ने द्वैध चरित्रका शासकहरु हुन्। उनीहरुको त्यस्तै जालझेल अनि शंकास्पद कामहरुका कारण नै ब्रिटिशहरुले दिक्क मानेर नेपालविरुध्द आक्रमण गरेका थिए। सन् १८१४ मा। (फ्रेञ्च र बेलायत त्यतिबेला आफ्नो राज्य सीमा विस्तार गर्ने क्रममा युध्द भएका देशहरु हुन्, जसका फ्रेञ्चहरु पराजित भएका थिए। त्यसैले फ्रेञ्चहरुले ब्रिटिशहरुको पक्ष लिएर इतिहास लेख्दैनन्) यसका कारण दुई वर्षसम्म नेपाल इस्ट इन्डिया कम्पनीसित लड्नु परेको थियो भने नेपालको तीन भागको एक भाग भूभाग समेत गुमाउनु पर्‍यो। नेपालको भूभाग गुम्नुको गल्ती पनि उनीहरुकै थियो। त्यसैले सिल्भाँ लेभीले भनेको- गोरखा भनेका स्पष्ट वक्ता बोल्नका लागि, तर बेइमान जाति हुन्। धोका दिने काममा निकै माथि। आधुनिक नेपालका निर्माता भनिएका पृथ्वीनारायण शाहको राज्य गोरखाका बारेमा एक पटक विचार गरेर हेरौँ- इतिहासकार सूर्यविक्रम ज्ञवालीका अनुसार गोरखा एकदम सानो र आर्थिक रुपले एकदम कमजोर राज्य थियो। यस्तो ठाउँका राजाले एकीकरण अभियान सुरु गर्ने परिकल्पना गर्नु नै असंभव छ। त्यतिबेला भुटानका देवाधर्मका एक लामा भिक्षुलाई गोरखाका राजा नरभुपाल शाहले मेरो काममा सहायता गरिदिनु, तिमीलाई जग्गाजमिन दिन्छु भन्दाखेरी उनले “तिम्रो राज्य कति ठूलो छ भनेर मलाई जमिन दिन्छु भन्यौ” भनेर भनेको यहाँ स्मरणीय हुन आउँछ। आफ्नो राज्य सानो भएर सीमा विस्तारका लागि नरभुपाल शाहले धेरै पटक नजिकका राज्यहरुमा हमला गर्दा पनि जित्न नसकेपछि बहुलाएर आफ्नो घरको बाहिरको पिँढीमा बसेर त्यहीँ प्राणत्याग गरेका थिए। पृथ्वीनारायण शाहले दिएको उपदेश भनिएको पुस्तकमा लेखिएको छ कि पृथ्वीनारायण शाह आफ्नो ससुराली मकवानपुरमा साढुदाइ दिगबन्ध सेनसित कचकच भएपछि उनीसित युध्द गर्ने चुनौति दिएर फर्केका थिए। फर्कने क्रममा राप्ती नदी किनार हुँदै मल्ल राजाहरुले चिन्लान् भन्ने डरले घुम अ‍ोढ्दै चन्द्रागिरी पर्वत पुगेका थिए। त्यहाँ पुगेपछि आफूसँगै आएका भानु जैसी, कुलानन्द जैसीलाई उनले सोधेका थिए- नेपाल भनेको कुन हो ? अनि उनीहरुले त्यो भादगाउँ, त्यो ललितपुर र त्यो कान्तिपुर भनी देखाइदिएका थिए। यहाँको वैभव, अन्न प्रशस्त फल्ने समथर भूमि देखेर उनमा लोभलालच जन्मिएको थियो। त्यतिबेला नै उनले विचार गरेका थिए कि म यो उपत्यकाको राजा हुन पाएको भए कति हुन्थ्यो ? यहाँको कला कौशलले भरिपूर्ण दरबार, घर, मन्दिर, तिब्बतसँगको राम्रो व्यापारिक सम्बन्धका कारण राम्रो आर्थिक समृध्दिले भरिएको ठाउँमा पृथ्वीनारायण शाहको गिध्ददृष्टि परेको यसले पुष्टि हुन्छ। त्यतिबेला यहाँको कलाकौशल यति उच्चस्तरमा थियो कि यहाँ जति घर थिए, त्यति नै मन्दिर थिए र जति मानिस थिए, त्यति नै मूर्ति थिए। बहाः, ननि, चुकका रुपमा विकास गरिएका व्यवस्थित बस्ती, त्यहाँभित्र आवश्यक पर्ने पानी (इनार वा ढुंगेधारा) , पूजा गर्नलाई मन्दिर/ देवदेवी, अन्न, लुगा सुकाउन फराकिलो ठाउँ- सबैको व्यवस्था गरिएको थियो। यस्तो शहरी विकासलाई आज पनि वास्तुकलाको उत्कृष्ट नमूनाका रुपमा अन्तर्राष्ट्रिय क्षेत्रले प्रशंसा गर्दै आएको छ। शाहले उपत्यका आक्रमण एकीकरणका लागि नभएर आर्थिक लाभका लागि गरेका थिए, टुक्राटुक्रा अवस्थामा रहेको ‘नेपाल’ लाई एउटै राज्य बनाउने उद्देश्यले हैन। यो ठाउँ कति राम्रो थियो भनी पृथ्वीनारायण शाहको उपदेश पुस्तकमा लेखिएका यी वाक्यले पनि प्रष्ट पार्छ- “त्यो तीन सहरको कालिगढीका विभिन्न काम हेर्दा मानिसहरु त्यसै लठ्ठ हुन्छन्” त्यस्तो ठाउँ चन्द्रागिरी पर्वतबाट हेर्दै जुंगा मुसार्दै गरेका बेला उनीसित रहेका दुई जैसी ब्राम्हणले “महाराज, तपाईँको नेपाल खाल्डोको राजा हुने इच्छा अवश्य पूरा हुनेछ” भनेका र पृथ्वीनारायण शाहले “तिमीहरुलाई कसरी थाहा भयो?” भनेर सोध्दा उनीहरुले “हजुरको अनुहारले भनिरहेको छ” भनी भनेको कुरा त्यही पुस्तकमा लेखिएको छ। त्यसपछि नै उनले आफ्ना अन्तपाल (सीमारक्षक) रणजित बस्न्यात, वीरभद्र पाठक, मानसिंह रोकाहालाई “नेपालमा प्रहार गर्ने विचार गरेको छु, के विचार छ ?” भनी सोधेका थिए। त्यतिबेला उनीहरुले मनासिब विचार भनी सल्लाह दिएका थिए। त्यसैगरी पृथ्वीनारायण शाहले आफ्ना मामासित पनि यसबारेमा छलफल गर्दा उनले पनि नेपालमा हमला गर भनेर सल्लाह दिएका थिए, एकीकरण गर भनेर हैन। यो ठाउँ कृषि उत्पादनका लागि पनि महत्त्वपूर्ण थियो। यसले पनि प्रमाणित गर्छ कि पृथ्वीनारायण शाहले उपत्यका आक्रमण एकीकरणका लागि नभएर आर्थिक लाभका लागि गरेका थिए, टुक्राटुक्रा अवस्थामा रहेको ‘नेपाल’ लाई एउटै राज्य बनाउने उद्देश्यले हैन। नेपालका बारे फ्रेञ्च इतिहासकार सिल्भाँ लेभीले प्रमाणहरु सहित राखेर “नेपाल” पुस्तक लेखेका छन्। सिल्भाँ लेभीका अनुसार तिब्बतका विभिन्न गुम्बामा रहेका धनको लोभमा धर्मको नारा दिँदै त्यहाँ पनि गोरखा सैनिकहरु हमला गर्न गएका थिए। तर चिनियाँ फौजले नराम्रोसित लखेटेपछि सम्झौता गर्न बाध्य भएका थिए। त्यसपछि हरेक पाँच वर्षमा एक पटक चिनिया बादशाहलाई देव मञ्जुश्रीका अवतार भन्दै कर तिर्न जानु परेको कुरा यहाँ उल्लेखनीय हुन आउँछ। पृथ्वीनारायण शाहले सिमाना विस्तार गर्नका लागि सैनिक गठन गरेका बेला सेनामा लिन सकिने, मिल्ने भएभरका मानिसहरु जम्मा गर्दा पनि १३०० भन्दा बढी संख्या पुर्‍याउन सकेका थिएनन्। पहिलो पटकको कीर्तिपुर हमलामा शक्ति बल्लभ सरदारले भारतको मैदानबाट ल्याएका १२०० जवान फौज प्रयोग गरेका थिए। यसले पनि गोरखाको हैसियत के थियो भनी देखाउँछ। त्यतिबेला इटालीका शासक मेजिनीले सन् १८७१ मा घोषणा गरेरै अरु राज्यसित मिलेर एकीकरणको पाइला अगाडि बढाएका थिए, तर यहाँ त्यसो भएको हैन। पृथ्वीनारायण शाहको उपदेश पुस्तकमा कतै पनि एकीकरण गर्नुपर्छ भन्ने उल्लेख गरिएको छैन। इतिहास सँधै तरवारले लेखिन्छ। जित्नेको नाममा रामायण लेखिन्छ, हार्ने रावणलाई राक्षस घोषणा गरिन्छ। सीतालाई जंगलमा पठाउने राम नै मर्यादापुरुषोत्तम हुन्छन्। पृथ्वीनारायण शाहलाई त्यसैले वडा महाराजधिराज भनाइएको हो। यदि एकीकरण नै गर्ने भनी पाइला चालेका नै भए हारेको ठाउँका सेनालाई शत्रुका सैनिकलाई पनि नगरिने व्यवहार नगर्नु पर्ने हो। तर पृथ्वीनारायण शाह अति नै क्रुर, तानाशाह भएर निस्के। अति नै सन्काहा पृथ्वीनारायण शाहको आँखा नुवाकोट जितेपछि बेलकोटमा परेछ। अनि त्यहाँका प्रमुख जयन्त राना भनेर थाहा पाउनासाथ तुरुन्तै त्यहाँ आक्रमण गर्ने भन्दै उनी एक्लै जोस्सिएर गएका थिए। यो कुरा थाहा पाएपछि अरु सैनिक पनि पछाडि-पछाडि दौड्दै गएका थिए। तर उनका धेरै योध्दाको मृत्यु भएपछि उनी खाली हात फर्केका थिए। तर साहसी कालु पाण्डेले पृथ्वीनारायण शाहलाई फकाएर फेरि युध्द गरेर जयन्त रानालाई पराजित गरेका थिए। त्यसपछि त जयन्त रानालाई उनले गर्नुनगर्नु सास्ती गरे। जयन्तको छाला काढेर दिनुसम्मको सास्ती दिएर मारिएको थियो। जयन्त रानालाई छाला काढेर मारेको त्यो घटनाले पृथ्वीनारायण शाहको अति नै क्रुर, तानाशाह, निरंकुश शासकको तस्वीर प्रस्तुत गर्न सफल भएको छ। त्यसैले त होला, पृथ्वीनारायण शाहको सालिकमा तरवार पनि राखिएको ! एकीकरण हैन, सिमाना विस्तार पृथ्वीनारायण शाहले एकीकरण गरेका हैनन्, राज्यको सिमाना विस्तार गरेका हुन्। त्यसैले आफूले जितेको स्थानमा उनले अत्याचार र अमानवीय यातना दिनसमेत पछि परेका थिएनन्। खोज्दै जाने हो भने काठमाडौँ लगायत अन्य विभिन्न स्थानमा आतयायी यातना दिएको प्रमाण भेटिनेछ। वास्तवमा एकीकरण गरेको भए त्यहाँका जनताको भावना पनि जितिन्थ्यो, दुश्मनलाई पनि नगर्ने व्यवहार गरिँदैनथ्यो। यदि वास्तविक एकीकरण गरिएको भए देशका सबै जनजातिलाई पनि अवसर दिएर देश निर्माणका कार्यमा योगदान दिने अवसर दिइन्थ्यो। तर सेना र पुलिसमा बाहुन, क्षेत्री र शाह र राणाहरुको मात्र बोलवाला रहेको छ। खै गुरुङ, तामाङ, यादव, थारुहरुलाई अवसर दिइएको ? इतिहासकार सिल्भाँ लेभीले पुष्टि गरेका छन् कि पृथ्वीनारायण शाहका पुस्ता द्रव्य शाहले वर्षको एक पटक विजया दशमीका दिन हुने दौड प्रतियोगितामा अगाडि दौड्ने सबैलाई छुरा प्रहार गरी हत्या गरेर आफू पहिलो भई राज्य हडपिएका थिए। द्रव्य शाहले आफू राजा भइसकेपछि फेरि यो दौडको आयोजना गरेनन्। बरु आफ्नो वंशबाट राजा हुने परम्परा कायम गरे। हार्नेको वाहवाही, जित्नेको इतिहास खोई? नेपाललाई विदेशी (अंग्रेजी) प्रभावबाट मुक्त गरेको भन्ने गरिन्छ। तर इतिहासकार नयनराज पन्तका अनुसार अंग्रेज र नेपालबीच भएको युद्धका क्रममा पाँच स्थानमा युद्ध भएको थियो। त्यसमा तीन ठाउँमा नेपाल पराजित भएको थियो भने दुई स्थानमा विजयी भएको थियो। तर नेपाल हारेका तीन युद्ध मोर्चा सम्हालेका कमाण्डरहरुलाई शत्रु सेनाले वीर, बहादुर भनेकाले भक्ति थापा, अमरसिंह थापा र बलभद्र कुँवरलाई निकै सम्मान गरियो। पछि उनीहरुलाई राष्ट्रिय विभूतिसमेत घोषणा गरियो। तर बाँकी दुई मोर्चा, जहाँ नेपाल विजयी भएको थियो, त्यहाँका कमाण्डरहरुको नामसमेत इतिहासबाट मेटाइसकिएको छ। के उनीहरु अराष्ट्रिय तत्त्व हुन् ? यसबाट पनि प्रष्ट हुन्छ यहाँका शासकहरु आफै अंग्रेजको प्रभावमा कति परेका छन् भनेर। शाह वंशको कलाकौशलमा योगदान हेर्ने हो भने शून्य देखिन्छ। उनीहरुले नयाँ त केही बनाएनन् बनाएनन्, उल्टो पहिला बनाइसकिएका स्मारकहरुप्रति प्रशस्त इर्ष्या गर्ने काम गरे। त्यसैले त्यस्ता स्मारकहरुमा पत्तो नदिई आफ्नो नाम राखेर आफूले बनाएको भन्ने भ्रम फैलाउन खोजे। उदाहरणका लागि बालाजुमा भएका २२ धारा रणबहादुर शाहले बनाएको भनेर हामीले स्कूलमा पढ्ने गरेका थियौँ। तर राजा जयप्रकाश मल्लले त्यहाँ पहिले नै २१ वटा ढुंगेधारा बनाइसकेका थिए। नेवार वास्तुकलाको दर्शनशास्त्रमा ढोका, झ्याल आदि राख्दा बिजोडा राखिन्छ। त्यसैले भक्तपुरको दरबारमा पनि ५५ वटा झ्याल राखिएका हुन्। जयप्रकाश मल्लले पहिले नै बनाइसकेको २१ वटा धारामा एउटा धारा थपेर रणबहादुर शाहले बनाएको भन्ने गलत इतिहास लेखाउने प्रयत्न भयो। भक्तपुरको न्यातपोल मन्दिर भूपतिन्द्र मल्लले बनाएको भनी इतिहासमा मात्र लेखिएको छ तर न्यातपोलमा कतै लेखिएको छैन। राजा महेन्द्रको पालामा न्यातपोल मन्दिर भवन विभागबाट जिर्णोद्धार गर्न लगाइएको थियो। त्यतिबेला उनले यति खर्च भयो भनी खस भाषा र अंग्रेजी भाषामा शिलापत्र राख्न लगाए, भित्ता नै फोडेर। महेन्द्रको नामको संकेत पनि राख्न लगाइयो। वास्तुकलाको मर्ममा आघात पुग्ने गरी त्यहाँ फलामको बार र ढोका पनि राख्न लगाइयो। (धेरैपछि मात्रै त्यहाँको फलामको बार हटाइएको थियो) त्यति मात्र हैन, पुराना इँटालाई फुटाएर त्यसमा सिमेन्ट प्रयोग गरी प्वाइटिङ्ग गर्न लगाइयो। पानी पस्न नदिनका लागि पुरानै प्रविधि छ, तर त्यसलाई वास्ता गरिएन। मन्दिरका टुँडालमा पनि पहिला कालो र सेतो रंग लगाइएको हुन्थ्यो तर राजा वीरेन्द्रको राज्याभिषेकको बेला त्यसमा रंगीचंगी रंग पोतियो। ५५ झ्यालमा अझै पनि कालो रंग नै लगाइएको छ। आर्थिक, राजनैतिक, धार्मिक, भाषिक जुनसुकै दृष्टिकोणले हेरे पनि पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेका हैनन्, उनको विस्तारवादी नीति अन्तर्गत राज्यको सिमाना विस्तार मात्र गरेका हुन्। जसलाई पछि राज्य एकीकरणको जलप लगाएर उनको बदमाशीलाई छोप्ने प्रयास मात्र गरिएको हो। माइसन्सारडटकमबाट साभार Feature image: अनलाइनचौतारीडटकम

सुरक्षा कारबाहीमा अफगानमा चौवालिस आतङ्ककारी मारिए

काबुल, पुस ७। अफगान सेना, प्रहरी र गुप्तचर निकायको अधिकारीको सहभागीतामा तालिवानी आतङ्ककारीविरुद्ध गरेको कारबाहीका क्रममा करिब ४४ आतङ्ककारी मारिएका छन् । गत २४ घण्टाभित्र तालिवान आतङ्ककारी लुकेर बसेका इलाका लक्षित यस कारबाहीमा ४४ आतङ्ककारी मारिएको अफगान रक्षा मन्त्रालयले बुधबार जानकारी दिएको छ । अफगानिस्तनको ३४ वटा प्रान्तमध्ये नौ वटा प्रान्तमा गरिएको यस कारबाहीको क्रममा अन्य ४३ जनाभन्दा बढी आतङ्ककारी घाइते भएका छन् । अफगानिस्तानको दक्षिणी प्रान्त हेलमान्डको प्रान्तीय राजधानी लसकार घामा गरिएको संयुक्त कारबाहीका १९ तालिवान आतङ्ककारी मारिनुका साथै अन्य १५ घाइते भएका थिए । त्यसैगरी उरुज्गान प्रान्तमा भएको सैनिक कारबाहीको क्रममा १० आतङ्ककारी मारिनुका साथै अन्य १२ जना घाइते भएका थिए । अफगान सरकारसँग लडाई गरिरेहका तालिवान आतङ्ककारी समूहले यस कारबाहीको विषयमा केही टिप्पणी गरेका छैनन् । रासस÷सिन्ह्वा

सुबिसुले ल्यायो नयाँ अफर

काठमाडौं, टेलिभिजन नेटवर्क र इन्टरनेट सेवा प्रदान गरिरहेको सुबिसु केबल नेटले उपभोक्ताहरुका लागि विशेष सुविधासहितको प्याकेज घोषणा गरेको छ । संस्था स्थापनाको १६ औं वार्षिकोत्सवका अवसरमा सुबिसुले “आशा गरेभन्दा बढी” प्याकेज घोषणा गरेको हो । उक्त सुविधा अफरमा ग्राहकहरुलाई इन्टरनेट र टेलिभिजन सेवामा ५० प्रतिशत भन्दा छूट दिने घोषणा गरिएको छ । यसैगरी ग्राहकहरुले क्लियर टिभी सेट टप बक्स, मोडेम, वाईफाई राउटर र जडान खर्च सित्तैमा पाउने समेत कम्पनीले जनाएको छ । यो योजना अन्तर्गत ग्राहकहरुले क्लियर टिभी प्याकेज २,९९९ मा इन्टरनेट तथा क्लियर टिभी कम्बो प्याकेज .७,९९९ मा प्राप्त गर्न सक्ने छन् । यो योजना सिमित अबधिका लागि लागू गरिएको छ भने योजनामा सर्तहरु लागू हुने कम्पनीले जनाएको छ । सुबिसु नेपालको पहिलो कम्पनी हो जसले एउटै तारबाट ग्राहकहरुलाई ईन्टरनेट र टिभि सेवा प्रदान गर्दछ ।

राजालाई दाम राख्ने धनुष्टंकारेहरु अझैपनि प्रतिगमनको बाटोमा : अध्यक्ष न्यौपाने

रुकुम, मंसिर २२ । अखिल(क्रान्तिकारी)का अध्यक्ष नरेन्द्र न्यौपानले हिजो राजालाई दाम राख्ने धनुष्टंकारेहरुलाई अझै पनि लोकतन्त्र र संघीयता मन नपरेकाले उनीहरु प्रतिगमनतर्फ लागेको बताए । अखिल(क्रान्तिकारी) रुकुमको २५ औं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै न्यौपानेले त्यस्ता धनुष्टंकारेहरुले अझै पनि गणतन्त्र र संघीयता स्विकार नगरिसकाले तिनीहरु अझैपनि मौका पर्नसाथ प्रतिगमन तर्फ फर्कन उद्धत रहेको आरोप लगाएका छन्। एमाले अध्यक्ष ओलीलाई लक्षित गर्दै न्यौपानेले प्रश्न गरे, ‘राजाविरुद्ध आन्दोलन गर्नु भनेको गोरुगाडा चढेर अमेरिका जानू जस्तै हो भन्नेहरुलाई गणतन्त्र र संघीयता कसरी मनपर्छ र ।’ फरक प्रसङ्गमा न्यौपानेले सामुदायिक विद्यालय र संस्थागत विद्यालयहरु विचको खाडल अन्त्य हुनुपर्ने वताए। स्थानीय तहको निर्वाचन गराएर मात्र संविधान कार्यान्वयन नहुने भन्दै न्यौपानेले थपे ‘संविधानले व्यवस्था गरेको माध्यामिक तहसम्मको निशुल्क शिक्षा लगायतका व्यवस्था व्यवहारमा लागु नभएसम्म संविधान कार्यान्वयन हुंदैन ।’ रुकुमको मुसिकोट स्थित खलंगा वहुमुखी क्याम्पसमा आयोजित सम्मेलनमा माओवादी केन्द्रका नेता गोपाल शर्मा, क्रान्तिकारी उपाध्यक्ष पञ्चा सिंह, ६ नं. प्रदेश इन्चार्ज खेम सिंह, ५ नं. प्रदेश इन्चार्ज ध्रुवविक्रम वली, ५ नं. प्रदेश संयोजक सुन्दर वली, दुर्गा बुढाथोकी,केशव रावल लगायतका विद्यार्थी नेताहरुहरुले संविधान कार्यान्वयनमा जुट्न अपिल गरेका थिए।

तमिलनाडुकी मुख्यमन्त्री जयललितालाई हृदयघात, स्वास्थ्य अवस्था गम्भिर

एजेन्सी । तमिलनाडुकी मुख्यमन्त्री जयललितालाई हृदयघात भएको छ । आइतबार साँझ उनलाई हृदयघात भएको र उनको स्वास्थ्य निकै गम्भिर रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनलाई चेन्नइको अपोलो अस्पतालको आइसीयुमा राखेर उपचार गराइएको छ । उनको स्वास्थ्य लाभको कामना गर्दै लाखौं समर्थकले अस्पताल अगाडी भिड जमाएका छन् । सरकारले अस्पताल सुरक्षा व्यवस्था कडा पारेको छ ।

‘मेरो कामलाई भावी पुस्ताले समेत स्मरण गर्नेछन्’ : प्रधानमन्त्री

काठमाडौं, मंसीर १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अपांगहरुको सवालमा भावी पुस्ताले समेत स्मरण गर्न योग्य खाले काम गर्ने बताएका छन् । २५ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका अवसरमा बालुवाटारमा विभिन्न संगठनहरुद्वारा संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘हामीले विश्वका विकसित भनिएका देशका संविधान पनि हेरेका छौं । हाम्रो संविधान अपाङ्गहरुको अधिकार र सहज जीवनयापनका लागि पूर्ण छैन । तर, अपाङ्गमैत्री छ । यसको सफल कार्यान्वयन गर्न सक्दा धेरै अधिकारहरु प्राप्त हुनेछन् ।’ नेपालको संविधान अपाङ्गमैत्री रहेको बताउँदै उनले भने, ‘संविधानले राष्ट्रिय सभामा अपाङ्गहरुको प्रतिनिधित्वको सुनिश्चितता गरेको छ । अब हामीले स्थानीय तहदेखि नै नीति निर्माणमा अपाङ्गहरुको प्रतिनिधित्व गराउनेतिर बल गर्नुपर्छ । संविधानले जति व्यवस्था गरेको छ, अब कानुन बनाएर त्यसको प्रभावकारी कार्यान्वयन गर्ने चुनौति हाम्रासामू छ । मैले अपाङ्गहरुका पक्षमा भावी पुस्ताले समेत स्मरण गर्ने गरी काम गर्न खोजेको छु ।’ कार्यक्रममा प्रचण्डको नेतृत्वमा रहेको अपाङ्गता अधिकार सम्बन्धी डेक्सलाई तुरुन्तै सक्रिय पारेर काम अघि बढाउने बताए । अपाङ्गहरुको जीवन निर्वाह भत्ता ज्यादै न्यून भएको र यसलाई बढाउन आफूले पहल गर्ने पनि उनले बताए । निजामति र सरकारी सेवामा रहेका अपाङ्ग कर्मचारीहरुले स्वास्थ्यका कारण काम गर्न नसकेमा निश्चित मापदण्ड बनाएर पेन्सनको व्यवस्था गर्ने व्यवस्थाका लागि पनि उनले पहल गर्ने बताएका छन् । प्रधानमन्त्रीले संविधान कार्यान्वयन गरी निर्वाचनमा जानु सरकारको प्राथमिकता रहेको जानकारी दिँदै छिटै राजनीतिक दलहरुबीच सहमति जुट्ने बताए । कार्यक्रममा अपाङ्गका प्रतिनिधिहरुले संविधानमा अपाङ्ग अधिकारको सुनिश्चितता, सहज जीवन यापन, अपाङ्गमैत्री संरचना, रोजगारी लगायतका विषयलाई गम्भीरतापूर्वक लिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

संघीयताको अवरोध यात्रा

रूद्र प्रसाद भट्टराई पछिल्लो समय राजनीतिक बृत्तमा लोकमान प्रकरण र संविधान संसोधनले प्रमुखता पाएको हामी सबै जानकार नै छौँ । पाउने कारणपनि यो छ की यही दुई मुद्धामा देशको अधिक समय खेर गएको छ । फाइल पल्टाएकै कारण अख्तियार प्रमुखको महाअभियोग र जानाजान उब्जाइएको नयाँ प्रदेश प्रकरणले नयाँ सरकारलाई नै चुनौति थपिदिएको छ । नयाँ संविधान जारी भएको १४ महिना पुगेपनि लागू भएको छैन भन्दा हुन्छ । संविधान जारी हुनु अनि लागू नहुनुले अनेकन अवरोधहरु सृजना गरेको अवस्था छ । देश अझै अक्रान्त नै छ, सोही विषयमा । नयाँ संविधान लागू नहुनु तर संविधान संशोधनको हुँन्डरीमा जाकिनुले कतै हतारोमा संविधान जारी गरेका रहेनछौँ त ! भन्ने जनताको मत सही बनेको छ । नेताको मनोमानीलाई यो लागू नभै संशोधनको हतारोले अझ थप खुलस्त पारेको स्वीकार्नैै पर्छ । बिगतका पाना पल्टाएर हिँड्ने हो भने सबै पक्षहरुमा हतारो भएकै देखिन्छ । राजसँस्था फाल्न हतारो भएकै हो, सरकार लिने र छाड्नेमा पनि हतारो देखिएकै हो । हुँदा—हुँदा संविधान जारी गर्नपनि हतारो । यही कारण बन्यो राजनैतिक अस्थिरता त्यो पनि यतिविघ्न भद्दा । हुन त निर्णय नगर्नुभन्दा निर्णय गरेर पछुताउनु अर्थात सुधारको लागि लाग्नु राम्रो मानिएपनि देशका संवेदनशील पक्षहरुमा हतारोले धेरै बिकारलाई स्थापीत गर्नु ठुलो गल्ति देखिएको छ । हुन त दलहरूको खडेरी नलागेको ठाउँ हो हाम्रो देश । यतिविघ्न स्वतन्त्रता छ की दलिय पहुँचमा १३० बढी सक्रिय छन् । अन्य नामाकरण भएका तर दर्ता नभएका समूहको कुरै नगरौँ, टोलैपिच्छे आ—आफ्ना स्वर्थमा जन्मिएका छन् । थ्रेसहोल्डमा संकुचन नगरेकै कारण जन्मिएका दलहरूकै कारण अब देशमा दुइतिहाइ सम्भव बनेको छैन, देखिँदैन । सबैको दिशा देश विकास भन्दापनि व्यक्ति विकासमा लाग्नाले ०७२ का भूकम्पपीडित सम्मले न्याय पाउन सकेका छैनन् । मिलाउनेलाई पनि अधिक गाह्रो भएको छ, एउटा दुलो टाल्यो अर्को जन्मिहाल्छ । फेरी प्वाल टाल्ने भन्दापनि मुद्धा मोड्नलाई नै जानाजान नविन प्रयोग गर्न उद्यत रहेको समकालिन घटनाहरुले देखाउँछ । मुख्य दलहरू नमिलेकै कारण आज यो अवस्थाको आगमन् भएको छ । काँग्रेस र एमाले यसका प्रमुख कारक तत्वहरु हुन जसले अन्य दलहरुलाई लिएर भएपनि दुइ नमिल्ने गर्छन् । यी दुइदलहरूको अस्वभाविक चलायमानले नेपाली राजनीति र समग्र प्रणालीमा हलचल ल्याइदिएको छ । एक पछि अर्को सरकारको नेतृत्वमा बढी हक जमाउन सकेपनि समग्र देशका महत्वपूर्ण मुद्धाहरुमा एकढिक्का हुन नसक्नुलाई गत्तिलो उदाहरणको रुपमा राख्न सकिन्छ । लोकमान प्रकरणमा काँग्रेसको अझैपनि निर्णय आएको छैन । केही यूवा नेताबाहेक अन्यको व्यक्तिगत् मुखराविन्दबाट कोरकुरा निस्केको छैन । यो ढिलाइको सहज अनुमान लगाउन सकिन्छ, दोधारमा छ काँग्रेस । हतारोमै एमाले र माओवादीका केहि साँसदले प्रस्ताव सँसदमा लगेपछि केहीसमय हँगामा नै मच्चिएको थियो । भ्रष्टाचार नियन्त्रण गर्ने निकाय प्रमुखको महाअभियोग विषयमा बहसनै नचलाई प्रस्ताव लानुलाई धेरैले नराम्रै भनेका थिए । यो प्रशंग नटुँगिदै संविधिान संशोधनको विषयले चर्का नाराहरु स्वयँ नेताहरुले नै ल्याउन थालेका छन् । सोहीअनुरुप संशोधन प्रस्ताव दर्तासँगै पक्ष र विपक्षमा आवजहरु घन्किरहेकै छन् । संशोधन मात्र होइन नयाँ प्रदेशको लफडापनि यतिबेलै उब्जाइएको छ जसले एकवर्ष अगाडिको घाउलाई पूनः दोहो¥याइदिएको छ । नागरिकताको प्रशंग त नाटक मात्र हो । जनता लडाउने अनि नबोल्ने बनाउने । पछिल्ला गतिविधिहरु जनता केन्द्रित भन्दापनि स्वाद लिने भएका छन् । सबै दलहरू आफैँ जश लिने गलत कार्य परम्परा बन्दा जारी भएको संविधान लागू नहुने अवस्था बिकराल बनेको छ । देश संघीयतामा नजाने अवस्थाले मत वृद्धि गर्दै गएको छ । सीमांकनमा गरिएको प्रयोगका कारण असहज बनेको देशमा अब आउने दिनमा झन कत्ति झमेला र नोक्सानी बेहोर्नुपर्ने हो थाहा छैन । सरकारले कोशिष गरेपनि कार्यहरु व्यर्थ बन्दै गएका छन् । यसै अवस्थामा राष्ट्रिय प्रजातन्त्र पार्टी एकिकरण भएको छ । यसको मतलव् थोरैले मात्र अनुमान गरेका छन् अबको दिन कसरी अगाडि बढ्छ भनेर । धेरै दलहरुले टुट्नु र जुट्नुको स्वच्छ आँखाले मात्र हेरेका छन् जुन कदापी सत्य छैन । राजनीतिक आँगनमा ०६४ मा माओवादीलाई बहुमत दिए, ०७० मा काँग्रेसलाई हुँदा हुँदा त्यो मत हिन्दुराज्य र संघीयता थाँती राख्नेलाई नजालापनि भन्न सकिन्न । यसकारण ठुला दलहरू यसरी नै ध्रुविकृत भैरहने हो भने सम्झनुस् फेरी कुनै रणसंग्राम हाम्रै पुस्तामा छ । तसर्थ, संघीयतालाई गन्तब्यमा पु¥याउन ठुला दलहरू मिल्नुको बिकल्प छैन । मात्र सरकार र सत्तामात्र हेर्ने हो भने यो संभवपनि देखिँदैन । अकाट्य चिज केही छैन, फेरी संविधान लचिलो भएपछि अकाट्य भन्ने शब्द हराएर जान्छ । यसकारण प्रदेश र सीमांकनमा अबैज्ञानिकता भए नयाँ ढंगबाट उत्तर दक्षिण राखेरै संघ बनाउनु अपरिहार्य देखिन्छ । नत्र बनेको र बनाइएको संघमा पनि थपघट गर्नुपरे स्थानीय जनमत बुझेर मात्र मैदानमा जानु जरुरी छ । मुद्धा एउटा भएपनि अर्कोतिरको अल्झनले महत्व पाउनु हुँदैन । जनताले चाहेको पनि यहि नै हो । यसकारण उच्च नेता मिल, काम गरेर देखाऊ, इतिहास रच हचुवाको भरमा निर्णय नगर । कीनकी तिमीहरु मिलेमात्र देश विकास नत्र विनास । अस्तित्व राख्नलाई भएपनि सबै मिलेकै राम्रो । नमिल्ने बुँदा भए जनतामा लैजानैपर्छ, त्यो हो जनमतसंग्रह ।

शहिद दिवस क्रान्तिका बाँकी कार्यभारहरू पूरा गर्न सङ्कल्प गर्ने दिन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको दिन शहिदहरूले देखेका सपना र उहाँहरूले गर्नुभएको अठोटलाई शीरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभारहरू पूरा गर्न सङ्कल्प गर्ने दिन भएको बताएका छन् । शहिद स्मारक लैनचौरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्रीले भने, “नेपाली समाजको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण र समावेशी लोकतन्त्र स्थापनाका निम्ति महान् शहिदहरूले उच्च बलिदान गर्नुभएको छ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने शहिदहरू विगत, वर्तमान र भविष्यका निम्ति हामी सबैका लागि प्रेरणाका स्रोत र पथप्रदर्शक रहिरहनेछन् ।” शहिदका सपना पूरा गर्नका निम्ति मन, वचन र कर्मले सबै क्रियाशील रहनुपर्ने बताउँदै प्रधानमन्त्रीले शहिदहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गरे। उनले जहानीया राणाशासनको अन्त्य र प्रजातन्त्रको स्थापनाका निम्ति विसं १९९७ सालमा आफ्नो जीवनको बलिदान गर्नुहुने महान् शहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ लगायतका शहिदको स्मरण र सम्मान गरे। सम्पूर्ण बेपत्ता योद्धाहरूको उच्च सम्मानपूर्वक स्मरण गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “घाइते योद्धाहरूको शीघ्र स्वास्थ्यलाभसहित दीर्घजीवनको कामना गर्दछु ।” प्रत्येक वर्ष माघ १६ गतेलाई शहिद दिवसको रूपमा मनाउँदै आएको छ ।

काठमाडौंका यी स्थानमा हुनेछैन ७ देखि १३ गतेसम्म विद्युत् आपूर्ति (तालिकासहित)

काठमाडौं । काठमाडौंमा आइतबार (भोलि) देखि विभिन्न स्थानमा सात दिन विद्युत् सेवा आपूर्ति नहुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको हो । नेपाल विद्युत प्राधिकरण, महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । बिहान ९ देखि दिउँसो १ बजेसम्म विद्युत आपूर्ति बन्द हुनेछ । माघ ७ गते महाराजगञ्ज मिनिसोदेखि पञ्चकन्या स्कुलसम्मको क्षेत्र, ८ गते चपली घुम्ती चोकदेखि बूढानीलकण्ठसम्मको क्षेत्र, ९ गते गणेश चोकदेखि स्पेसल चोकसम्मको क्षेत्र १० गते चपली घुम्ती चोक, पासीकोट क्षेत्रहरूमा विद्युत् आपूर्ति हुने छैन । ११ गते चपली भंगाल, चपली घुम्ती चोकदेखि भद्रकाली स्कुलसम्मको क्षेत्र १२ गते गोल्फुटारदेखि ह्याम्स हस्पिटलसम्म १३ गते गणेश चोकदेखि स्पेसल चोकसम्मको क्षेत्रसम्म विद्युत् सेवा बन्द हुनेछ ।

त्रिविका शैक्षिक प्रमाणपत्र अब अनलाइनबाटै

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका कुनै पनि शैक्षिक प्रमाणपत्र लिन परीक्षा नियन्त्रण कार्यालय (पनिका) पुग्नु नपर्ने भएको छ । पनिकाले यही माघ १५ गतेदेखि सबै शैक्षिक प्रमाणपत्रको काम अनलाइनमार्फत गर्ने र सम्बन्धित पनिकाका क्षेत्रीय कार्यालयमा पठाउने भएकाले अब विद्यार्थीलाई बल्खुस्थित पनिका कार्यालयमा पुग्न नपर्ने परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । यही माघ १५ गतेदेखि विद्यार्थीले ट्रान्सक्रिष्ट, प्रोविजन सर्टिफिकेट, पुनर्योग, कुनै पनि प्रमाणपत्रको प्रतिलिपि तथा सच्चाउनुपर्नेजस्ता काम अनलाइनबाट गर्न थालिएको नियन्त्रक जोशीले बताए । नियन्त्रक जोशीका अनुसार अहिले शैक्षिक प्रमाणपत्र क्षेत्रीय कार्यालयमा पठाउने र वैशाखदेखि विद्यार्थी पढेको क्याम्पसमा नै पाँच दिनमा पाउने गरी पठाइनेछ । पनिकामा दैनिक एक हजारदेखि दुई हजार विद्यार्थी शैक्षिक प्रमाणपत्रका लागि आउने गरेको उनको भनाइ छ । यही माघ १५ गतेदेखि अनलाइन सेवा सञ्चालन गर्न कर्मचारीलाई तालिम दिई तयार पारिनेछ । विराटनगर, पोखरा, नेपालगञ्ज र अत्तरियामा त्रिविका क्षेत्रीय कार्यालय छन् ।