हेर्नुहोस्, सरकारी जागिरका लागि परिक्षार्थीहरुले दिएको परीक्षाको नतिजा प्रकाशित

काठमाडौं, कार्तिक २५

लोकसेवा आयोगको नतिजा प्रकाशित–

नेपाल विद्युत प्राधिकरणको लिखित नतिजा प्रकाशित–

नेपाल विद्युत प्राधिकरणको अन्तर्वार्ताको नतिजा प्रकाशित–

नेपाल कृषि अनुसन्धान परिषदको नतिजा प्रकाशित सम्बन्धि सूचना

नेपाल पर्यटन बोर्डको अन्तिम नतिजा


पूर्वाञ्चल विश्वविद्यालयको पदपूर्ति सम्बन्धि सूचना

 

कसरी बन्दैछ जिल्ला समन्वय समिति, कुन जिल्लामा कसको कति मत ?

काठमाडौं, असार  २४ । दोस्रो चरणको स्थानीय तह निर्वाचन परिणामसँगै दलहरूले जिल्ला समन्वय समिति (जिसस) गठनको गृहकार्य सुरु गरेका छन् । शुक्रबार मात्रै दाङमा एमाले र माओवादी केन्द्रले समन्वय समिति गठनका लागि तालमेलको घोषणा गरेका छन् । दलहरूले एकल वर्चश्व कायम गरेकाबाहेक अन्य जिल्लामा आफूअनुकूल तालमेलको गृहकार्य थालेका हुन् । नेपालको संविधानको धारा २२० मा नगरसभा र गाउँसभा गठन भएको ३० दिनभित्र सम्बन्धित जिल्लामा जिसस गठन गरिसक्नुपर्ने प्रावधान छ । गाउँ, नगरका प्रमुख तथा उपप्रमुखले मात्र मतदान गर्न पाउने व्यवस्थासहित त्यस्तो समिति गठन गर्ने व्यवस्था संविधानमा छ । ‘हामीले जिल्ला समन्वय समिति गठनको गृहकार्य थालिसकेका छौं, त्यसका लागि एमालेसँग चुनावी तालमेल गर्ने गरी पदको बाँडफाँट पनि गरिसकेका छौं’, माओवादी दाङका इन्चार्ज जीवन गौतमले भने, ‘एमालेलाई सभापतिसहित चार सदस्य, माओवादीलाई उपसभापतिसहित तीन सदस्य लिने गरी जिल्ला समन्वय समितिको निर्वाचनमा तालमेल गरेका छौं ।’ एक सभापति, एक उपसभापति, कम्तीमा तीन महिला सदस्य र कम्तीमा एक दलित वा अल्पसंख्यक रहने गरी बढीमा ६ देखि ९ सदस्यसम्मको समन्वय समिति रहने व्यवस्था छ । जिल्लाभित्रका गाउँपालिका, नगरपालिकाबीच समन्वय गर्ने, विकास निर्माणका कामको अनुगमन तथा संघ र प्रदेशअन्र्तगतका सरकारी कार्यालयको अनुगमन गर्नेजस्ता काम समितिले गर्न पाउँछ । त्यस्तो समितिका लागि गाउँ, नगर, उपमहानगर र महानगरका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउँछन् । उम्मेदवार बन्नका लागि भने गाउँ वा नगरसभाको सदस्य निर्वाचित भएकै हुनुपर्ने व्यवस्था संविधानमा छ ।,अन्नपूर्ण पोस्टमा खबर छ । २० जिल्लामा एकल वर्चश्व दोस्रो चरणमा निर्वाचन भएका ३५ जिल्लामध्ये २० वटामा जिल्ला समन्वय समिति गठन गर्दा एकै पार्टीको वर्चश्व हुने देखिएको छ । एमालेको १३, कांग्रेस पाँच र माओवादीको दुई जिल्लामा एकल वर्चश्वमा जिसस गठन हुने निर्वाचन परिणामले देखाएको छ । एमालेले रूपन्देही, पाल्पा, गुल्मी, कञ्चनपुर, डोटी, बझाङ, इलाम, उदयपुर, खोटाङ, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, संखुवासभामा एक्लै जिसस गठन गर्न सक्ने गरी गाउँ/नगरका प्रमुख तथा उपप्रमुख पदमा विजय हासिल गरेको छ । कांग्रेसले अछाम, डडेलधुरा, दार्चुला, बाजुरा र ओखलढुंगामा एकल जिसस गठन गर्नेे देखिएको छ । रोल्पा र रूकुममा माओवादीको एकल वर्चश्व देखिएको छ । पहिलो चरणको निर्वाचनमा एमालेले दैलेख, मुगु, डोल्पा, स्याङ्जा, लमजुङ, कास्की, पर्वत, रसुवा, धादिङ, चितवन, मकवानपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर र काठमाडौंमा एक्लै जिसस गठन गर्न सक्ने गरी बहुमत ल्याएको थियो । कांग्रेसले सुर्खेत, गोरखा, तनहुँ, पूर्वी नवलपरासी, नुवाकोट तथा माओवादीले रुकुम र कालिकोटमा बहुमत हासिल गरेका थिए । कुन जिल्लामा कसको कति मत ? रोल्पा माओवादी १४, कांग्रेस २ र एमाले ४ रूपन्देही एमाले १७, संघीय समाजवादी ८, कांग्रेस ४, माओवादी २, लोकतान्त्रिक फोरम १, स्वतन्त्र (राजपा) १ रूकुम माओवादी ६, अन्य दल शून्य बाँके एमाले ७, कांग्रेस ६, संघीय समाजवादी २, राप्रपा १ बर्दिया एमाले ७, माओवादी ७, कांग्रेस ४ प्युठान एमाले ६, माओवादी ४, कांग्रेस ४, जनमोर्चा ४ पाल्पा एमाले १३, कांग्रेस ७ नवलपरासी कांग्रेस ७, एमाले ५, माओवादी १, लोकतान्त्रिक फोरम १ दाङ एमाले १०, कांग्रेस ८, माओवादी २ गुल्मी एमाले १७, कांग्रेस ६, माओवादी १ कपिलवस्तु कांग्रेस १०, एमाले ५, माओवादी १, संघीय समाजवादी २, स्वतन्त्र (राजपा) २ अर्घाखाँची कांग्रेस ६, एमाले ३, माओवादी ३ बैतडी कांग्रेस १०, एमाले ८, माओवादी २ सुनसरी कांग्रेस ११, एमाले ५, लोकतान्त्रिक फोरम ४, संघीय समाजवादी २ (धरान उपमहानगरपालिका परिणाम बाँकी) सोलुखुम्बु एमाले ८, कांग्रेस ४, माओवादी ४ अछाम कांग्रेस १२, एमाले ४, माओवादी ४ कञ्चनपुर एमाले १०, माओवादी ३, कांग्रेस ३ कैलाली एमाले १३, माओवादी ५, कांग्रेस ४, लोकतान्त्रिक फोरम २ (धनगढी उपमहानगरपालिका परिणाम बाँकी) डडेलधुरा कांग्रेस ९, एमाले ३, माओवादी २ डोटी एमाले ११, कांग्रेस ६, माओवादी १ दार्चुला कांग्रेस ११, एमाले ५, माओवादी २ बझाङ एमाले १७, कांग्रेस ७ बाजुरा कांग्रेस ११, एमाले ७ इलाम एमाले १६, कांग्रेस ४ उदयपुर एमाले १०, कांग्रेस ५, माआवादी १ ओखलढुंगा कांग्रेस ९, एमाले ६, माओवादी १ खोटाङ एमाले १२, कांग्रेस ७, माओवादी १ झापा एमाले १४, कांग्रेस ६, राप्रपा ४ (अर्जुनधारा, दमक र मेची नगरनगरपालिकाको परिणाम बाँकी) ताप्लेजुङ एमाले १०, कांग्रेस ६, माओवादी २ तेह्रथुम एमाले ९, कांग्रेस ३ धनकुटा एमाले १४, अन्य दल शून्य पाँचथर एमाले ८, कांग्रेस ७, माओवादी १ भोजपुर एमाले ९, कांग्रेस ५, माओवादी ४ मोरङ कांग्रेस ८, एमाले ८, माओवादी २, लोकतान्त्रिक फोरम २, संघीय समाजवादी २ (धनपाल गाउँपालिका र विराटनगर महानगरपालिकाको नतिजा बाँकी) संखुवासभा एमाले १३ कांग्रेस ९

दोलखा भिमेश्वरमा पहिरो खस्दा ४ वेपत्ता

दोलखाको भीमेश्वर नगरपालिका—९ लाँकुरीडाँडास्थित डाडाँगाउँमा गएराती पहिरो खस्दा चारजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा डाडाँगाउस्थित कुतकुतेका  मंगले थामीकी श्रीमती शान्ती, छोरीहरु १२ बर्षिया सन्तोषी, १० बर्षिया रोशनी  र सोही स्थानकी ७९ बर्षकी लाटी थामी रहेको प्रहरीलाई उद्धृत गर्दै हाम्रा सहकर्मी राजेन्द्र मानन्धरले जनाएका छन् । लगातारको वर्षाले वडा— ९ का विभिन्न स्थानमा दोलखा जिल्ला जोड्ने लामोसाँघु जिरी सडक अवरुद्ध भएको छ ।  पहिरोले पतले वन क्षेत्रसमेत बगाएको छ । विभिन्न स्थानको पहिरोले एकदर्जन बढी घरका वासिन्दाहरुले बसाई छाडेर सरेका छन् । भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले राती नै सुरक्षार्मीलाई परिचालन गर्न प्रहरी र सम्बन्धित सबैलाई जानकारी गराएको बताउनुभयो । कान्तिपुर दैनिकबाट

कथा व्यथा फेसबुके शेयरको

बहिनीको कोठाको चाबी हरायो । यताउता खोजी गर्दा पनि नभेटिएपछि ज्वाईंले ठट्टा गर्दै भने, “ह्या, के टेन्सन लि’रा भन्या, गूगलमा खोज न, भेट्टिहाल्छ” बहिनीको रिस भरिएको मुहारमा एकछिन मुस्कान छरियो । गुगल, संसारको सबैभन्दा ठूलो सर्च इन्जिन । जे का लागि पनि गुगल । जे खोज्न पनि गुगल । हुँदाहुँदा अहिले डाक्टरले कुनै औषधी प्रिस्क्राइब गरेपनि यसले कस्तो औषधी दिएको रहेछ भनेर गुगल खोज्न थाल्छन् केही मान्छेहरु । त्यहाँ राखिएका सबै कुरा सही नै हुन्छन् भन्ने पत्यार गर्नेहरुको संख्या पनि कम्ती छैन । र, गलत होस् या सही सूचना फैलाउने र जानकारी दिने सवालमा अझ थपिएका छन्, जुकरबर्ग अर्थात् फेसबुक । लेखकः समिर नेपाल शनिबारको दिन, आज छुट्टी, बिहान १० बजे खाना खाएर कोठामा बसिरहेको थिएँ, श्रीमतीज्युको डिउटी परेकाले कोठामा अरु कोही थिएन । सोचेँ– इन्टरनेट चलाउनु पर्यो । केही नयाँ कुरा पक्कै हेर्न र देख्न सकिन्छ भन्ने मनमा थियो नै । तर फेरी सोचेँ–चलाउने त चलाउने तर के चलाउने । गुगलमा खोजौं न त–मनले जवाफ फर्कायो । ट्याबको स्क्रीनमा टाइप गरें Fake News in Facebook । यती टाइप के गरेको थिए, गूगल आफ्नो परिक्षामा पुन अब्बल ठहरियो,एक पछी अर्को खात लाग्यो समाचारको । एउटा लिंक खोले– स्क्रीनमा लेखेको देखे, Pope Francis Shocks World, Endorses Trump for President, Release statement- ABC news.com , र शेयर गरेको देखिन्थ्यो लाखौंले । लाखौंमा हुने यस्ता शेयरले दुई कुरा प्रस्ट पार्छन । पहिलो हामी समाचारको शीर्षकमा चित्त बुझ्नै बित्तिकै त्यसभित्र नगईकन नै शेयर गरिदिन्छौं । कुनै पनि समाचारमा समाचारहरुको स्रोतको खुलाईएकै भरमा, सामाजिक सन्जालमा देखिने जस्तो सुकै खबरको सत्यता पुष्टी गर्दछौ । कुनै पनि समाचार पढ्दा, त्यसमा उदृत संस्था स्वयमले उक्त खबरलाई छापेकै हो कि होईन भन्ने जाँचसम्म पनि गर्दैनौ हामी । यस्ता समाचारको प्रचारले झन बिकराल स्थिती निम्त्याउछ्, जब यसमा लेखिएका समाचार केबल ब्यक्तिबाजी सोचबाट प्रेरित भएका हुन्छन । हामी मध्य कती त ति समाचार बिस्तृत्त रुपमा पढ्ने जाँगरसम्म गर्दैनौ, बस शेयर गर्दिन्छौ– एक क्लीक मै । समाचार प्रेषक गर्ने सञ्चार मध्यमले पनि, अन्तराष्ट्रीय समाचार संस्थाको नामको आडमा खुलेआम भ्रामक र गलत सुचना फैलाई रहेका छन् । अनि हामी सर्बसाधरण त्यसको बैधानिकता प्रति ख्याल नै नगरी शेयर गर्न लालायित हुन्छाै‌ं । लाग्छ , ‘First share , first service’ को कुनै प्रतियोगिता भइरहेछ । अर्कोतर्फ हामीले स्रोत नहेरी, त्यसको विषयबस्तु नहेरी जसरी लाइक र शेयर गर्छौ, यस्ता समाचारले आमरुपमा कस्तो असर पर्ला त भन्ने सोचका हुँदैनौं । कुनै शीर्षक मात्रै हेरेर या त्यो भित्रको कन्टेन्ट नहेरीकन शेयर गर्दा त्यो समाचार प्रकाशित हुनुका पछाडिको गलत नियतलाई हामीले प्रश्रय दिएका हुन्छौं । यसले दैनिक रुपमा रास्ट्रिय, अन्तराष्ट्रिय, जतीय तथा राजनैतिक घटनाहरुलाई गलत रुपले प्रेषित गरिदै छ । यि खबरहरु एक पछी अर्को गर्दै शेयर भई रहेका हुन्छन । यस्ता समाचारहरुबाट पर्न सक्ने नकरात्मक असरहरुको परिणाम निकै नै डर लाग्दा हुन सक्छन, भयावह हुन सक्छन । १८६ करोड उपभोक्ताले बिश्वब्यापी रुपमा फेसबुक प्रयोग गर्दै आएका छन । एक तथ्यांकले के देखाउछ भने औसतमा कुल प्रयोगकर्ता मध्ये ६३५ ले मासिक रुपमा १५ दिन भन्दा बढी दिन फेसबुकको प्रयोग गर्छन । साथै कारीब ८५५ (१८-२९) बर्षका युवा युबतीको प्रिय बनेको फेसबुकमा शेयर हुने माथी उल्लेखित आधारहिन समाचारहरुले युवायुवतीहरु माझ बिभिन्न मानसिक, सामाजिक, धार्मिक, राजनैतिक र बैचारिक समस्या ल्याउने प्रस्ट छ । यसरी अन्तरास्ट्रीय चौतारिको रुपमा बिकास भएका सामाजिक सञ्जालहरुबाट गलत कुराहरु सम्प्रेषण गरी रहदा हामिले सोच्नै पर्ने कुरा चाहीँ के हो भने, हामिले शेयर गरेका खबर कहिले पनि आफ्नो हुँदैनन् , यो अब बिल्कुल अर्काको लागी हो । ‘अरु’ मा तपाईका आमा–बुवा, दिदि–बहिनि, दाजु–भाई र अन्य प्रिय सबै हुन्छन । तपाईले प्रेषित गरेका यि तथ्यहिन समाचारहरुले हाम्रा प्रियहरुलाई दिग्भ्रमित गर्न सक्छन । त्यसबाट हुन सक्ने क्षतिहरु निकै गम्भिर र पिडादायक हुन सक्छन । भ्रममा रमाउन र त्यसलाई संसारको आकार दिन चाहनेहरुको च्यानलको संख्या अवश्य बढला तर यसले पुर्याउन सक्ने दिर्घकालिन असर र त्यसको तरङगित असरहरु धेरै समय सम्म हाम्रै वरिपरी देख्न सकिने छ । करिब एक घण्टा जति गूगलमा गरिएको झुठो अध्ययन पछी ट्याबलाई छेउमा राखें र एक छिन पल्टिने निधो गरे । दिउसोको समय, त्यस माथि भक्खर पढेका तथ्यांकहरु पुन मन मस्तिष्कमा घुमी रहे । निदाउन सक्ने कुरै भएन, फेरी ट्याब खोले, अनि क्लिक गरे । यस्तै गलत समाचारहरु निर्बाध रुपले प्रचार हुने एउटा एप्स हो फेसबुक । सदा झै गृह पृष्ठमा बिभिन्न बस्तुस्थिति, परिस्थिति र उपस्थितिको खबर राख्दै अगाडी बढे‌ं । कोही आफ्नी छोरीको जन्ममा श्रीमान–श्रीमती बिच माया आदानप्रदान गरी रहेका, कोही आफ्नो दाई बर्षौं पछी स्वदेश फर्केकाले एयरपोर्ट गेटैमा स्वागत तस्विर प्रेषित गरी रहेका, कोही परीक्षाको अन्त्य संगै रारा घुम्न जाने योजनको जनकारी र निमन्त्रणा प्रेषित गर्दै गरेका थिए । अझै तल बढ्दै गर्दा देखे, सबैमा को भन्दाको भाग्यमानि, को भन्दा को बढी खुशी अनि को भन्दा को बढी श्रेष्ठ भन्ने होडबाजी नै चलिरहेछ । अझै तल एउटा समाचारको शिर्षकमा आएर म रोकिए, लेखिएको थियो, ‘ FacebookÚs Mark Zuckerberg fake news worry  as rumours resurface of 2020 presidential run.’ उक्त समाचारलाई बिस्तृत रुपमा पढ्ने निधो गरें । पढ्दै जाँदा गलत र आधारहिन समाचारहरु फेसबुक लगायतका सामाजिक सन्जालमा बढ्दै गएको प्रयोग देख्दा जुकरबगर्ले र यसका रोकथाममा चालिएका कदम अझै अपर्याप्त रहेको र आउने दिनहरुमा यस्ता गतिविधि माथि झन् सजग हुने अभिब्यक्ति दिएको देखें । बिभिन्न अन्तराष्ट्रिय सन्धिहरुले यसरी सम्प्रेषित हुने खबरहरुलाई सन्चालकाहरुद्वारा नै हटाइदा आउन सक्ने कानुनी ब्यवधानलाई मध्यनजर गर्दै कडा कारबाही गरीहाल्न न सके पनि यसमा राखिएका रिर्पोट व्लक गर्ने फिचरहरुलाई अझै सबल गर्ने सके आगामी दिनमा यस्ता खबर भाइरल हुनबाट रोक्न र गलत समाचारहरुबाट पर्ने सक्ने असरहरु कम गर्न निकै नै प्रभावकारी हुनेमा कुनै शंका छैन । यो लेख पढी रहँदा एक जमात मित्रहरुलाई लाग्ला, यहाँ सामाजिक सञ्जालका दुर्बल पक्ष माथी मात्र चर्चा भई रहकोेछ । हो त्यसमा आशिंक सत्यता छ । यो भन्न म डराउदिन । तर, बेला बखत फैलिने यस्ता हल्लाहरुको पछाडिको सत्यतालाई बुझ्न छोडि, हल्लालाई नै सत्य मानेर अगाडी बढ्नु भनेको सत्यताबाट भाग्नु सरह हो । मुलतः हामी युवाहरु यो कुराबाट टाढा रहन सके र हाम्रा समकालिन युवा पंक्तीहरुमा यस्ता सतहि हल्लाका पछाडी नलाग्न वा सत्य र बैधानिक समाचारलाई मात्र प्रबद्र्धन गर्ने संस्कार बिकास हुन सक्ने हो भने मात्र पनि आधा नेपाल दैनिक जसो पुलिस चौकीमा पर्ने रिट निबेदनमा कमी आउन सक्छ । यसैगरि सामाजिक सद्भाव र सकरात्मक सोचको बिकास भई समाजले अग्रगामी सोच भएका युवा जमात पाउने छ । सामाजिक सञ्जालका केहि नकरात्मक पक्षहरुलाई निष्कृय पार्न जुकरवर्गले त प्राविधिक रुपमा केहि सबलीकरणका उपाय पक्कै निकाल्ने छन तर हामी सक्षम एवम जिम्मेवार नागरिकका हिसाबले पनि यस्ता नकरात्मक समाचारहरुबाट पर्न सक्ने तत्कालिन एवम दीर्घकालिन असरहरुलाई बेलैमा न्युनिकरण गर्नतर्फ लाग्नुपर्छ । सकारात्मक सोच र सही समाचारहरु चयन गर्नु नै हामी युवा हुनुको पर्याय बनोस र यसमा नै हामी गर्व गर्न सकौं । लेखक रोट्र्याक्ट नेपालका युवा सामाजिक अभियान्ता हुन् ।

सार्वजनिक शिक्षामा स्थानीय तहले लगानी बढाउनु पर्ने

काठमाडौँ, चैत २ । सार्वजनिक शिक्षा सुदृढीकरणका लागि देशभित्रबाटै स्थानीय स्रोत जुटाई बढाउनुपर्ने निष्कर्षसहित नागरिक शिक्षा सम्मेलन सम्पन्न भएको छ । सामुदायिक विद्यालयप्रति अभिभावकको आकर्षण बढाउन शिक्षामा कार्यरत विभिन्न संस्थाहरुको सञ्जाल शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको आयोजनामा भएको सम्मेलन उद्घाटन गर्दै शिक्षामन्त्री धनीराम पौडेलले संविधानतः शिक्षा मौलिक अधिकार भएपनि बजेट अभावका कारण सो हकको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताए । शिक्षाका लागि अधिकारका रुपमा स्थापित गर्न नयाँ ढङ्गले नक्साङ्कन र योजना तर्जुमा गर्नुपर्ने बताउँदै उहाँले शिक्षामा लगानी बढाउन अर्थ मन्त्रालय उदार नभएकाको टिप्पणी गरे । शिक्षाविद् केदारभक्त माथेमाले सार्वजनिक शिक्षामा पर्याप्त बजेट नहुँदा र शिक्षकहरुमा उत्तरदायित्व कम हुँदा गुणस्तर खस्किएको बताए । शिक्षाविद् प्रा.डा.मनप्रसाद वाग्लेले मुलुक सङ्घीयतामा गइसकेकाले स्थानीय निकायको अधिकारअन्तर्गत माध्यमिक शिक्षा परेकाले स्थानीय स्रोट जुटाई तथा विभिन्न प्रगतिशील कर लगाएर शिक्षामा लगानी बढाउनुपर्ने सुझाव दिए । सांसद्हरु डा गणेशमान गुरुङ र बद्री पाण्डेले संविधानः मौलिक हक बनेको माविसम्मको निःशुल्क शिक्षाका लागि सरकार तयार हुनुपर्नेमा जोड दिए । कार्यक्रममा एक्सन एड र स्विस संस्था नोराडको अध्ययनमा आधारित नागरिक शिक्षासम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको थियो । डोटी र कैलालीका विभिन्न २५ सामुदायिक विद्यालयमा भएको शिक्षकको सुविधान कम हुँदा पनि उनीहरुले राम्रोसँग नपढाएको उल्लेख छ ।

साउदीमा ३३ नेपाली अलपत्र, उद्दारका लागि अाग्रह

फागुन १३ । साउदीको एक कम्पनीमा ३३ जना नेपाली अलपत्र परेका छन् । साउदीको अल अलवन कन्ट्रयाक्टिङ एण्ड मेन्टिनेन्स कम्पनीमा कार्यरत नेपालीले ६ महिनादेखि काम र तलव पाएका छैनन् । शुक्रबार जिल्ला विकास समिति उदयपुरले सञ्चालन गरेको सुरक्षित आप्रवास सूचना तथा परामर्श केन्द्रमा फोन गरेर आफूहरुलाई उद्धार गर्न उनीहरुले आग्रह गरेका छन् । अलपत्र हुनेमा भलायडाँडा ४ उदयपुरका टेक बहादुर तामाङ, धादिङ निलकण्ठ नगरपालिका २ का बलबहादुर गुरुङ लगायत ५ जना, काभ्रेपलान्चोकका जगतमान तामाङ, कन्चनपुरको कृष्णपुर नगरपालिका २ का दिपेन्द्र खड्का लगायत ३३ जना रहेको जानकारी गराएका छन् । लटुस ह्युमन रिसोर्स म्यानपावर कम्पनीबाट २०७२ सालको असोजमा गएका उनीहरुले पहिले–पहिले काम गरेकोको तलव पनि पाएको र पछि हुँदै भएपछि ६ महिनादेखि नपाएको गुनासो गरेका छन् । पछिल्लो ६ महिनादेखि उनीहरुलाई मासिक ५० रियाल मात्रै दिँदै आएको बताएका छन् । अकामा कार्डको म्यादपनि सकियोले आफूहरु जोखिम रहेको भन्दै दूतावासलाई गुहारेका छन् ।

ट्रम्पलाई पद दुरुपयोग गरेको आरोप

वासिङटन,माघ २८ ।  संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पारिवारिक कारोवार बढाउन राष्ट्रपति पदको दुरुपयोग गरेको आरोप लागेको छ।आफ्नी छोरीको कपडा पसललाई लिएर उनले ट्विट गरेपछि डेमोक्र्याट सभासद्ले यस्तो आरोप लगाएका हुन् । अमेरिकी राष्ट्रपति ट्रम्पकी छोरी इभांकाले कपडाको ब्रान्ड चलाउँछिन्। हालै नोर्डस्ट्रामले ट्रम्पपुत्री इभांकाको ब्रान्डलाई आफूले बिक्री गर्न हटाएको थियो। यसै विषयलाई लिएर राष्ट्रपति ट्रम्पले नोर्डस्ट्रामको आलोचना गर्दै ट्विट गरे। डेमोक्र्याटिक पार्टीका सांसद बब केसीले राष्ट्रपतिले पदीय गरिमा उल्लंघन गरेको आरोप लगाएका छन्। ट्रम्पको कार्यलाई ‘फेडरल एथिक्स अफिस’ले छानबिन गर्नुपर्ने माग गरेका छन्। पारिवारिक कारोबार बढाउन राष्ट्रपति पदको दुरुपयोग भएको भन्दै उनका विरुद्ध आवाज उठ्न थालेका छन्। सिनेटर केसीले अमेरिकन अफिस अफ गभर्मेन्ट एथिक्सको ध्यान आकर्षण गराएका छन्। ट्रम्पले ट्विटमा लेखेका छन्, ‘मेरी पुत्री इभांकासँग नोडस्ट्रामले दुव्र्यवहार गरेको छ। उनी निकै असल मानव हुन्। उनले सधैं असल काम गर्छिन्।’ इभांकासँग भएको व्यवहार निकै अभद्र भएको ट्रम्पको जिकिर छ। ट्रम्पले उक्त ट्विटलाई केही समयपछि अमेरिकी राष्ट्रपतिको आधिकारिक ट्विटर ह्यान्डलबाट पनि ट्विट गरिएको थियो। डेमोक्र्याटिक पार्टीका नेतृ नान्सी पलोसीले पनि यसै विषयलाई लिएर सिनेटमा ट्रम्पको आलोचना गरेकी छन्। उनले भनिन्, ‘मेरो विचारमा यो अनुचित काम हो। ट्रम्प पूर्ण रूपमा एक अनुचित राष्ट्रपति हुन्। उनले आफूले जे गर्न सक्छन्, त्यही नै गरेका छन्।’ नोर्डस्ट्रामले गत साता इभांकाको ब्रान्डलाई बिक्री नगर्ने घोषणा गरेको थियो। यो ब्रान्डको बिक्री निकै कम भएको भन्दै उसले बिक्री नगर्ने बताएको थियो। नोर्डस्ट्रामले भनेको थियो, ‘हामीले पटक पटक भन्दै आएका छौं। हामीले बिक्री र प्रदर्शनको आधारमा निर्णय गर्छौं। हामीसँग हजारौं ब्रान्ड छन्।’ समय समयमा गरिएको बजार विश्लेषणअनुसार यस्तो निर्णय गर्नुपरेको उसको भनाइ छ। यसअघि ट्रम्पको विरोध गर्दै आएको ‘ग्रयाब योर वालेट’ले हप्तौंसम्म इभांका ब्रान्डको बहिष्कार अभियान चलाएको थियो। उक्त संगठनले नोर्डस्ट्रामसँग ट्रम्प परिवारसँगको कारोबार बन्द गर्न चेतावनी दिएको थियो। इभांकाको बिक्री हटाउनुभन्दा ३ दिनअघि नोर्डस्ट्रामले डोनाल्ड ट्रम्पको ‘मुस्लिम र शरणार्थी प्रवेश प्रतिबन्ध’को कडा विरोध गरेको थियो। अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका प्रेस सचिव सिन स्पाइसरले ट्रम्पको ट्विट अनुचित नभएको दाबी गरे। उनले भने, ‘राष्ट्रपतिलाई आफ्नो परिवारको कारोबार र सफलताको प्रशंसा गर्ने पूरा अधिकार छ। कसैले राष्ट्रपतिको नीतिलाई लिएर उनका परिवारका सदस्यलाई निसाना बनाउँछ भने त्यो अस्वीकार्य छ।’ कुनै पनि बाबुले राष्ट्रपति भए पनि परिवारलाई साथ दिने पूरा अधिकार भएको उनले बताए। नार्डस्ट्रामले भने जनवरीको सुरुदेखि नै आफूले यस्तो निर्णयको तयारी गरेको बताएको छ। यो खबर आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

यसरी लाग्यो औषधि व्यवसायीलाई चुनाव

विर्तामोड, माघ १५ । नेपाल औषधि व्यवसायी सङ्घ मेची अञ्चलको आसन्न अधिवेशनसँगै त्यहाँ चुनावी सरगर्मी बढेको छ । फागुन ७ गते झापाको दमकमा सङ्घको ११ औं अधिवेशन हुने निश्चित भएपछि औषधि व्यवसायीबीच चुनावी चर्चा सुरु भएको हो । चुनावी चर्चासँगै व्यवसायीले आ–आफ्नो तरिकाबाट उम्मेदवारी घोषणा गर्न थालेका छन् । विर्तामोडका औषधि व्यवसायी नरेन्द्रप्रसाद बरालले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले औषधि व्यवसायीको हकहितका लागि आफू्ले उम्मेद्वारी दिन लागेको बताएका छन् । बराल विर्तामोडका ओसिएन फर्माका सञ्चालक हुन् । सङ्घको अधिवेशनले १७ सदस्यीय नयाँ अञ्चल समिति चयन गर्नेछ । नयाँ समितिको कार्यकाल तीन वर्षको हुनेछ । मेची अञ्चलभर चारसय ५० औषधि व्यवसायी रहेका छन् । त्यसमध्ये चारसय २२ जना सङ्घमा आवद्ध रहेको जनाइएको छ ।

“विद्युत चोर” जोगाउन प्राधिकरणमा आन्दोलनको नाटक, कर्मचारी यूनियनका पदाधिकारी नै शक्ति केन्द्र धाउँदै

काठमाडौं, माघ १२ । करिब १३ अर्ब बराबरको विद्युत् चोरीमा संलग्न भएको पाइएपछि महानगरिय प्रहरी अपराध महाशाखाले नेपाली काँग्रेस र नेकपा (एमाले) निकटका कर्मचारी संगठनका केन्द्रीय कोषाध्यक्ष र केन्द्रीय सदस्य नै पक्राउ परेपछि त्यसलाई नै निहु बनाएर उनीहरुले आन्दोलनको नाटक सुरु गरेका छन् । प्राधिकरणले विगत २२ वर्षदेखि एकै स्थानमा रहेका कर्मचारीलाई पछिल्लो पटक सरुवा गरेपछि विद्युत् चोरीको जालो भत्किएपछि उनीहरु आन्दोलनको धम्की दिदै बुधबार प्राधिकरणको केन्द्रीय कार्यालय र क्षेत्रीय कार्यालयहरुमा घेराउ गरेका छन् । विद्युत् चोरीमा संगठित गिरोह नै रहेको भन्ने सूचनाका आधारमा उक्त गिरोह भत्काउन पहिलो चरणमा प्राधिकरणले दुई हजार ४८० कर्मचारी सरुवा गरेका थियो । कर्मचारी सरुवा भएपछि विद्युत् चोरीमा संलग्न गिरोहको जालो भत्किएको भन्दै उनीहरुले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिड, उपकार्यकारी निर्देशक गोपालबाबु भट्टराईको कार्यकक्ष समेत घेराउ गर्दै चोरीमा संलग्नलाई कारवाही नगराउन धम्की दिएका थिए । प्राधिकरणले विराटनगर क्षेत्रीय कार्यालयमा ३२९, जनकपुर क्षेत्रीय कार्यालयमा ३५४, हेटौडा क्षेत्रीइ कार्यालयमा २९२, काठमाडौँ क्षेत्रीय कार्यालयमा ७८१, पोखरा क्षेत्रीय कार्यालयमा १६६, बुटवल क्षेत्रीय कायाृलयमा २६५ , नेपालगन्ज क्षेत्रीय कार्यालयमा १६१, अत्तरिया क्षेत्रीय कार्यालयमा १३२ जना कर्मचारी गरि दुई हजार ४८० जना कर्मचारीको नेपाल विद्युत् प्राधिकरण विनियमन अनुसार नै सरुवा गरिएको थियो । नेपाल विद्युत् प्राधिकरणलाई टाट पल्टाउन उद्यत मानिएका नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघ र नेपाल विद्युत् प्राधिकरण कर्मचारी यूनियनका पदाधिकारी नै पछिल्लो पटक विद्युत् चोरीमा संलग्नलाई जोगाउन आन्दाोलनको बाहाना निकालेका छन । आन्दोलनको बाहाना उनीहरुले त्यो निकालेका छन् कि जसमा प्राधिकरणले पछिल्लो पटक सरुवा गरेका कर्मचारीको प्रसंगलाई लिएर निकालेका छन् । विद्युत् चोरीमा संलग्नलाई कारवाही हुने र त्यसमा आफूहरुको समेत संलग्नता रहेको पुष्टि हुने भएपछि कर्मचारी संघ र युनियनका पदाधिकारी नै आन्दोलनको नाटक रच्न लागेका हुन् । प्राधिकरणलाई घाटामा लैजाने र चोरीमा संलग्न हुने कर्मचारीले नैतिक रुपमा पदमा बसीरहन मिल्दैन । तर चोरीमा संलग्नलाई जोगाउन कर्मचारी संघका अध्यक्ष जनार्दन भट्टराई, सहअध्यक्ष प्रमिला ढुंगाना, कर्मचारी यूनियनका अध्यक्ष रामेश्वर पौडेल र पूर्व अध्यक्ष रामप्रसाद रिमाललगायतका व्यक्तिहरु शक्तिकेन्द्र धाउन सुरु गरेका छन् । चोरीलाई संलग्नलाई कानुनअनुसार हदैसम्मको कारवाही गराउनुपर्नेमा उनीहरुलाई जोगाउन कर्मचारी यूनियनका पदाधिकारी नै शक्ति केन्द्र धाउन थाल्नुले प्राधिकरणलाई असफल बनाउने योजनाले काम गरेको छ । व्यापारीसँग मिलेर लोडसेडिङ बढाउन मद्दत गरेको र बिजुलीको मिटर बिगारेर चुहावट गरेको भन्दै प्रहरीले नेपाल विद्युत प्राधिकरणका सुपरभाइजरसहित १६ जनालाई पक्राउ गरेको थियो । ऊर्जा मन्त्रालयले सुरु गरेको सुधार अभियान मन नपराएका केही सिमित व्यक्तिले जसरी भएपनि सुधार अभियानलाई असफल बनाउने चोरीमा संलग्नलाई कारवाही हुनबाट रोक्ने तथा आगामी दिनमा समेत थप चोरी गराउन उक्साउने, दण्डहिनता बढाउने तथा भ्रष्टाचारलाई संस्थागत गराउने योजना बनाएका छन् । उद्योगसँग मिलेर राज्यलाई नोक्सान पुर्याएको आरोप, पक्राउ पर्नेमा ९ जना बहालवाला कर्मचारी, ४ जना ब्यापारीलाई केही दिन पहिले प्रहरीको अपराध महाशाखाले पक्राउ गरेको थियो । यस्तै व्यापारीसँग मिलेर लोडसेडिङ बढाउन मद्दत गरेको र बिजुलीको मिटर बिगारेर चुहावट गरेको भन्दै प्रहरीले नेपाल विद्युत प्राधिकरणका सुपरभाइजरसहित १६ जनालाई पक्राउ गरेको थियो । महानगरीय अपराध महाशाखाको टोलीले आइतबार पक्राउ गरेकामा बालाजु प्राधिकरणका सुपरभाइजर सुमन श्रेष्ठ,पूर्व मेन्टिनेन्स तलबहादुर कार्की, विद्युत प्राधिकरण हेटौंडाका कर्मचारी महादेव प्रधान लगायत छन्। पक्राउ पर्नेमा प्राधिकरणका ९ जना बहालवाला कर्मचारी छन् भने बाँकी अवकाशप्राप्त कर्मचारी र व्यापारी छन्। त्यस्तै प्रहरीले बानेश्वरमा कार्यरत प्राधिकरणका कर्मचारी अच्युत खड्का, दिलबहादुर साउद, ओम ढुंगाना, श्याम बस्नेत, प्रदीप शर्मा, सुर्यबहादुर थापा, ठाकुर महर्जन, मनिज श्रेष्ठ र भगवान पाण्डेलाई पनि पक्राउ गरेको छ । प्रहरीले ब्यापारी कुमार लामा, तपन घोष, परवेज आलम र रमेश चुडाँललाइ पनि पक्राउ गरेको छ। ‘लोडसेडिङलाई मलजल गर्ने र घुस लिएर उद्योगहरूलाई बिजुली दिएको थाहा पायौं,’ महानगरीय अपराध महाशाखाका प्रमुख सर्वेन्द्र खनालले भने, ‘त्यही अभियोगमा उनीहरूलाई पक्राउ गरेका हौं।’ उनीहरुलाई चोरी र ठगी मुद्दा चलाइएको छ । दस वर्षदेखि मिटर बिगारेर राज्यलाई अर्बौं रकम घाटा पारेको देखिएकाले ठगी मुद्दा दायर गर्न लागेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरूले मिटर बिगारेर उद्योगसँग प्रतिमहिना कम्तीमा २५ हजारदेखि ३ लाख रुपैयाँसम्म उठाउने गरेका थिए। उनीहरूले १० वर्षभन्दा बढी समयदेखि पानी कारखाना, कपास कारखाना, चक्लेट कारखाना, बिस्कुट कारखाना लगायत उद्योग र राजधानीका मिठाइ पसलको मिटर बिगारेर मासिक रूपमा रकम उठाइरहेको प्रहरीले जनाएको छ। हेटौंडा कार्यालयका कर्मचारी प्रधानले हेटौंडाको हटियामा सिभम् सिमेन्टको मिटर बिगारेर मासिक रूपमा रकम उठाएको आरोप छ । यसअघि प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक मुकेशराज काफ्लेले दुई दिन अगाडि सिवम् सिमेन्टको लाइन काटेको र दुई दिन पछाडि २५ लाख घुस लिएर लाइन जोडिदिएका थिए । त्यतिखेर समेत प्रधानको संलग्ननता रहेको थियो । उनीहरूले गौशालामा रहेको रामेश्वरम स्विट, बेजान मिष्ठान भण्डार, जोरपाटीस्थित लिक्वेन्स वाटर कारखानामा पनि मिटर बिगारेर रकम असुली गरेको भेटिएको छ। सिभम सिमेन्टलाई दिइएको डेडिकेडेट फिडर बाट २० घन्टा विद्युत् दिदा प्राधिकरणले रु १३ करोड आम्दानी गर्दथ्यो । तर सो उद्योगलाई १९ घन्टाके फाइल स्वीकृत गराएर २४ घन्टा नै विद्युत् दिई बिल भने रु ६ करोडको मात्रै उठ्ने बनाएका थिए । त्यसमा प्रधानको योजनाले काम गरेको बताइन्छ । पेट्रोल पम्पको मिटर बिगार्ने पनि विद्युत् चोरीमा महाशाखा प्रमुख खनालका अनुसार यसरी बिजुलीको मिटर बिगार्दा सबैभन्दा पहिला प्राधिकरण कर्मचारी र उद्योगीबीच ‘सेटिङ’ गरिन्छ । मिटरमा पाँच सय युनिट उठेको छ भने पहिला बिलिङमा ५० युनिट बनाइन्छ । त्यसपछि मिटर रिडिङ गर्नेले सिल तोडेर उल्टो घुम्ने गरी जडान गरिन्छ । यसो गर्दा ४ महिनामा २ हजार युनिट उठेको छ भने २ सयमात्र उठ्ने बनाइन्छ । सुपरभाइजर श्रेष्ठको साथबाट प्रहरीले मेसिन बिगार्ने उपकरणसमेत बरामद गरेको छ । यसअघि महाशाखाले डेढ वर्षअघि राजधानीमा पेट्रोल पम्प बिगारेर ठगी गर्ने पम्प सञ्चालकहरूलाई पनि पक्राउ गरेको थियो । सुपरभाइजर श्रेष्ठ पम्पको सिल बिर्गान विद्युत् चोरीमा छुट्टा छुट्टै गिरोह नेपाल प्रहरीले पक्राउ गरेका विद्युत् प्राधिकरणका कर्मचारीहरु मध्ये नेपाली काँग्रेस र नेकपा(एमाले) निकटका कर्मचारीहरुको संगठित गिरोह नै रहेको पाइएको छ । प्रहरीकाअनुसार पक्राउ परेकामा सूर्यबहादुर थापा लगनखेल वितरण केन्द्रका मिटर रिडिड सुपरभाइजर हुन् । उनी नेकपा(एमाले) निकटको कर्मचारी यूनियनका कर्मचारी यूनियनका इकाइ अध्यक्ष हुन् । यस्तै महादेव प्रधान कर्मचारी यूनियनका केन्द्रीय सल्लाहकार हुन् । यस्तै पक्राउ परेका मनिष श्रेष्ठ मिटर रिडर सुपरभाइजर हुन् । उनी रत्नपार्क वितरण केन्द्रमा कार्यरत छन् । उनी नेपाली काँग्रेस निकट कर्मचारी संघका केन्द्रीय कोषाध्यक्ष हुन् । अर्का इलेक्टिकल सुपरभाइजर सुमन श्रेष्ठ कर्मचारी संघका केन्द्रीय सदस्य रहेको भन्दै गृह मन्त्रालयमा पुगेर विद्युत् चोरीमा संलग्नलाई छुटाउन दबाव दिएका छन् । विद्युत् चोरीमा संलग्नलाई तत्काल छाड्न कर्मचारी संघ र युनियनका पदाधिकारीले यही माघ गते प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिड, उपकार्यकारी निर्देशक गोपालबाबु भट्टराईलाई समेत घेर्न पुगेका थिए । विद्युत्चोरीमा संलग्नलाई धमाधम कारवाही हुन थालेपछि उनीहरुलाई कारवाहीबाट जोगाउन कर्मचारी सरुवाको विषयलाई लिएर आन्दोलन सुरु गरिएको भन्दै प्राधिकरणका उच्च अधिकारी पनि आश्चर्यमा परेका छन् ।

अमेरिकामा शक्तिशाली आँधीका कारण १८ जनाको मृत्यु

माघ १० । अमेरिकामा आएको शक्तिशाली आँधीबेहेरीका कारण कम्तीमा १८ जनाको मृत्यु भएको छ । खराब मौसमसँगै आएको आँधीबेहरीका कारणका अमेरिकाको दक्षिणी क्षेत्र जर्जिया र मिसिसिपी राज्यमा बढी क्षति भएको अधिकारीहरुले जनाएका छन् । जर्जियामा मात्रै १४ जनाको मृत्यु भएको आपतकालीन विभागका अधिकारीहरुले जानकारी दिएका छन् । यस्तै मिसिसिपीमा पनि चार जनाको मृत्यु भएको छ । आँधी बेहेरीमा परी कयौं घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । फ्लोरिडाको उत्तरी क्षेत्र तथा जर्जियाको दक्षिणी क्षेत्रमा अझै आँधीबेहरी आउन सक्ने चेतावनी त्यहाँको मौसम विभागले दिएको छ । आँधीले जर्जियाको दक्षिण मध्य क्षेत्रमा बढी प्रभाव परेको छ । त्यसक्षेत्रका धेरै घर भत्किएका छन् । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाप्रति दुःख व्यक्त गर्दै तत्काल राहत प्रदान गर्ने बताएका छन् ।

जुटेन सहमति, सभामुखले दिएको ३ दिनको समयसीमा समाप्त

काठमाडौं, पुष १७ । सदनमा जारी गतिरोध अन्त्य गरी संसद सुचारु गर्न सहमति जुटाउन आग्रह गर्दै सभामुख ओनसरी घर्तीमगरले दिएको समयसीमा आज सकिँदैछ । प्रतिपक्षी दलहरुले संशोधन प्रस्ताव दर्ता गर्न नदिने र सरकारले प्याकेजमा सहमति खोज्ने अडान लिएका कारण लामो समयदेखि व्यवस्थापिका संसद अवरुद्ध छ । संसद अवरुद्ध भएका कारण संशोधन, निर्वाचन, महाअभियोगलगायतका विधेयक र प्रस्तावहरुमाथि छलफल हुन सकेको छैन । सभामुख घर्तीले प्रदान गरेको समयसीमाभित्र प्रतिपक्षी दल र सत्तापक्षबीच सहमति जुटेको छैन । एमालेले आफ्नो अडान छोडेको छैन । बरु उसले शक्ति प्रदर्शनको तयारी गरिरहेको छ । यता सरकारले भने सदनलाई लामो समयसम्म अवरुद्ध पार्न नसकिने भन्दै सोमबारको बैठकमा संशोधन प्रस्ताव टेबल गर्ने निर्णय गरेको छ । प्रतिपक्षले अवरुद्ध गर्ने र सरकारले टेबल गराई छाड्ने अवस्थामा संसदको वातावरण कस्तो हुने हो भन्ने आशंका यसले सिर्जना गरेको छ । याे पनि पढ्नुस सभामुखले दिएको समयसीमाको अन्तिम दिनः सहमति नभए के होला संसदमा ? सत्तारुढ नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले सरकारले भोलिको संसद बैठकमा संविधान संशोधन विद्येयक टेबुल गर्ने स्पष्ट पारेकी छिन् । प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायतका विपक्षी ८ दललाई सहमतिमा ल्याएर अघि खोजिरहेको र टेबल गर्नु अघि अधिकतम सहमतिको प्रयास भने जारी रहने उनले बताइन । “प्रधानमन्त्री अहिले पनि मिलेर अगाडि बढ्ने अन्तिम प्रयत्नमा हुनुहुन्छ, त्यसैको लागि अहिले उहाँ आन्तरिक छलफलमा हुनुहुन्छ।” नेतृ भुसालले आफ्नो पार्टी प्रतिपक्षी दल र आन्दोलनकारी पक्ष दुवैलाई चिढ्याउने पक्षमा नभएको जिकिर गर्दै भनिन्, “हिजो हामीले मिलेर संविधान जारी गरेकाले कार्यान्वयन पनि मिलेर गर्नुपर्छ भन्ने हाम्रो चाहना हो, त्यसो नभए प्रक्रियामै सहमति गरेर भएपनि अघि बढ्ने प्रधानमन्त्रीको चाहना छ ।” यद्यपी नेकपा एमालेका अध्यक्ष केपी ओलीको पछिल्लो अभिव्यक्ति र प्रस्तुती हेर्दा सत्ता संरचनामा एमालेले हिस्सेदारी खोजेको देखिन्छ । एमालेले सोझै सरकारमा सहभागी नभएपनि सत्ताका कतिपय संरचनामा आफ्नो अंश खोजेको कारण त्यो विषयमा सहमति हुन सके सदनमा मुठभेडको सम्भावना नहुन पनि सक्छ । तर यो त्यति सजिलो विषय भने देखिँदैन ।

बाढी पीडितलाई झापाली समाज अष्ट्रेलियाको सहयोग

पुस १४ । झापाली समाज अष्ट्रेलियाले झापामा रहेका बाढीपडितहरुलाई नगद सहयोग गरेको छ । गत वर्ष वर्षातको समयमा आएको वाढीका कारण ज्यान गुमाएकाहरुको आफन्तलाई सो समाजले राहतस्वरुप साढे तीन लाख रुपैयाँ सहयोग गरेको हो । एक कार्यक्रमबीच समाजका संस्थापक अध्यक्ष दिनेशकुमार पोखरेलले उक्त रकम बराबरको चेक नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडका सभापति सजेश शिवाकोटीलाई हस्तान्तरण गरेका हुन् । मृतकका परिवारलाई सो रकम दामासाही तरिकाले वितरण गर्नका लागि रेडक्रसलाई हस्तान्तरण गरिएको झापाली समाज अष्ट्रेलियाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । झापाली समाज अष्ट्रेलियाको अगुवाईमा संकलित राहत रकमका लागि अष्ट्रेलियामा बस्ने ४२ जनाले सहयोग प्रदान गरेका थिए ।

अज्ञात समूहद्वारा स्कुलमा आगजनी

फलेवास (पर्वत), १० पुस । दक्षिण पर्वतको शालिग्राम गाविसस्थित सेतीवेणीबजारमा रहेको शालिग्राम माविमा अज्ञात व्यक्तिको समूहले गएराति आगजनी गरेका छन् । राति १२ बजेको समयमा विद्यालयमा आगजनी गरिएको हो । आगजनीबाट विद्यालयका महत्वपूर्ण कागजात र लाखौँ मूल्यका फर्निचर नष्ट भएका छन् । सेतीबेनी बजारका रेशम न्यौपानेको पसलमा प्रवेश गरी चोरीको प्रयास गर्दा स्थानीयवासीले थाहा पाएपछि विद्यालयमा पुगेको उक्त चोरको समूहले नै आगजनी गरेर भागेको स्थानीय प्रहरी चौकीले जनाएको छ । आगलागीबाट २०२८ देखि २०६० साल सम्मका महत्वपूर्ण आर्थिक तथा अन्य कागजात जलेर नष्ट भएको स्थानीयवासी प्रेम भुसालले जानकारी दिनुभयो । सिम्बॉलिक फ़ोटो

कोइरालेमा पजेरो दुर्घटना, तीनको मृत्यु

मलेखु (धादिङ), पुस १ । पश्चिम नेपालबाट काठमाडौँतर्फ जाँदै गरेको पजेरो आज बिहान पृथ्वी राजमार्गको भूमेस्थान–६ कोइरालेमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । ग २ च ४५७२ न.ं को पजेरो गाडी पल्टिएर भएको दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक एक महिला र दुई पुरुष रहेको र मृतकहरुको सनाखत नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

विजयपुरमा टिप्पर खस्यो, एकको मृत्यु

पोखरा,  मङ्सिर २९। पोखराबाट लेखनाथतर्फ जाँदै गरेको ग १ ख ३७१८ नंको टिप्पर गएराति विजयपुर खोलामा खस्दा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी टिप्पर चालक तनहुँ शुक्लागण्डकी–१ राईपुरका २७ वर्षीय टुकबहादुर क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । गाडीको चालकका सहयोगी प्रेम नेपालीको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । तीव्रगतिका कारण अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ । रासस

सरकारलाई सफल बनाउन लाग्नुपर्छ  : महासचिव पोखरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले सरकारलाई सफल बनाउन लाग्नुपर्ने बताएका छन्। ललितपुर, च्यासलस्थित एमाले मुख्यालयमा आज जनसङ्गठन समन्वय संयन्त्रको बैठकलाई सम्बोधन गर्दै उनले सरकारलाई राष्ट्रिय हित, विकास, सुशासन र सामाजिक न्यायका पक्षमा प्रभावकारी बनाउने ढङ्गले लाग्नुपर्ने बताए। उनले देशको विकास र जनतामा देखिएको निराशालाई आशामा बदल्नका लागि नयाँ सत्तासमीकरण बनाइएको बताए। नयाँ सत्ता साझेदारीसँगै देशलाई नयाँ गति दिनुपर्छ भन्ने नीतिका साथ सबैलाई विश्वासमा लिएर अगाडि बढ्न चाहेको उल्लेख गर्दै उनले पार्टीका जनवर्गीय सङ्गठनले पनि सरकारलाई जनतासँग जोड्ने काममा योजनाबद्ध रुपमा काम गर्नुपर्ने बताए । महासचिव पोखरेलले सत्ता समीकरण, सत्ता गठबन्धन नभई दलहरुबीचको सहकार्य भएको उल्लेख गरे। “देश परिवर्तनका लागि काम गर्न चाहने पाँच राजनीतिक दलबीच सत्ता साझेदारीको सहयात्रा भएको हो,” उनले भने, “हामीले यसलाई गठबन्धन भन्दा पनि नयाँ सत्ता समीकरण भनेका छौँ।” बैठकमा पार्टीका स्थायी समिति सदस्य तथा जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले जनसङ्गठनलाई नयाँ ढङ्गबाट लैजानुपर्नेमा जोड दिए। बैठकमा पार्टीका सबै जनसङ्गठनका इञ्चार्ज तथा अध्यक्षको सहभागिता रहेको थियो।