बुद्ध मण्डला निर्माणार्थ एक करोड १८ लाख सङ्कलन
पोखरा, १३ फागुन । पोखरा उपमहानगरपालिका–२१ काहुँकोटमा निर्माण गर्न लागेको यशोधरा वाटिका एवम् विश्वकै अग्लो बुद्ध मुर्तिका लागि एक सय ८९ रोपनी जग्गा र रु एक करोड १८ लाख नगद सङ्कलन भएको छ ।
धर्मकाया बुद्ध मण्डला विकास एवम् व्यवस्थापन समितिद्धारा आज काहुँकोटमा आयोजित बुद्ध मण्डला निर्माणार्थ भूमिदान कार्यक्रममा धारापानी सामुदायिक वन उपभोक्ता समूहले १७० रोपनी जग्गाको स्वामित्व हस्तान्तरण गरेको हो ।
त्यस्तै सो कार्यका लागि रु सात करोडको लागतमा छ रोपनी जग्गा खरिद गरी सकिएको छ भने स्थानीय समाजसेवी गमबहादुर गुरुङ, खिमबहादुर गुरुङ र इन्द्रबहादुर गुरुङको परिवारले आफ्ना पुर्खाको स्मृतिमा एक÷एक रोपनी जग्गा समितिलाई निःशुल्क प्रदान गर्ने घोषणा गरे ।
सो स्थानमा लगभग पाँच अर्बको लागतमा ८० मि उचाइको विश्वकै अग्लो बुद्ध मुर्तिसहित सङ्गहालय, पार्क, ध्यान केन्द, अध्ययन केन्द्रलगायत विभिन्न भौतिक संरचना निर्माण गरिने लक्ष्य रहेको धर्मकाया बुद्ध मण्डला विकास एवम् व्यवस्थापन समितिका अध्यक्ष रुद्रकुमारी गुरुङले जानकारी दिए ।
धर्मकाया बुद्ध मण्डल विकास एवम् व्यवस्थापन समितिका संरक्षक तथा लामा गुरु साङ्पा रिम्पोछेले सो कार्यक्रमको उद्घाटन गर्दै जग्गादाता र नगद प्रदान गर्नु हुने दानवीरलाई खादा ओढाएर सम्मान गरेका थिए ।
पोखराको जुनसुकै स्थानबाट पनि स्पष्ट देख्न सकिने गरी भगवान् बुद्धको मूर्ति निर्माण गरिने बताउँदै उहाँले विश्वका मासिनलाई यस क्षेत्रमा आउने वातावरण तयार हुनुका साथै काहुँकोटको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुग्ने बताए ।
उक्त बुद्धकाया निर्माणका लागि उहाँले आफ्नो व्यक्तिगततर्फबाट दश लाख र विभिन्न मुलुकका अनुयायीबाट सङ्कलन भएको रु दश लाखसहित कुल २० लाखको चेक समितिका अध्यक्ष रुद्र कुमारी गुरुङलाई हस्तान्तरण गरेका थिए ।
धारापानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कुमार क्षेत्रीले बुद्धकाया मण्डला निर्माणले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै वन समूहले निःस्वार्थ जग्गाको स्वामित्व समितिलाई हस्तान्तरण गरेको बताए ।
समुन्द्री सतहबाट एक हजार ४२८ मिटरको उचाइमा रहेको सो रमणीय कोटबाट माछापुच्छे्र्र, अन्नपूर्ण, धौलागिरि, मनासलुलगायत विभिन्न हिमशृङ्खलासहित पोखरा बजारको स्पष्ट दृश्यावलोक गर्न सकिन्छ ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, समितिका महासचिव राजबहादुर गुरुङ समितिका सल्लाहकार अशोक पालिखेलगायत जग्गा तथा नगद प्रदान गर्नुहुने सामाजिक एवम् धार्मिक व्यक्तित्वले बुद्धधर्मको माध्यमबाट विश्वशान्तिमा महत्वपूर्ण योगदान पुगेको बताउँदै काहुँकोटमा निर्माण गरिने बुद्ध मण्डलाले आन्तरिक तथा बाह्रय पर्यटक प्रवद्र्धनमा सहयोग पुग्ने जानकारी दिए ।
ओछ्यान मात्रै तताएर लाखौं कमाउँछिन् यी युवती
मास्को, म्याक्सिम गोर्की जीवित भएको भए सम्भवतः यी युवतीका बारेमा आफ्ना कृतिमा कतै न कतै उल्लेख गर्थे होलान् । कारण हो, यी युवतीको अनौठो पेशा । रुसकी २१ वर्षीय भिक्टोरिया इभाचोयाको पेशाका बारेमा अहिले अन्तर्राष्ट्रिय मिडियामा चर्चा चलेको छ । त्यसो त उनको पेशा नै अचम्मको छ– अर्काको ओछ्यान तताउने ? तर अश्लील अर्थमा चाहिँ होइन नि । हामीकहाँ ‘ओछ्याउन तताउने’ भन्दो सेक्स गर्ने भन्ने बुझ्छन अधिकांशले । तर भिक्टोरियाले भने यौन पेशा गर्दिनन् । बरु उनले अत्यधिक चिसो हुने रुसमा चिसोको मौसममा ओछ्यान तताउने काम गर्छिन् । उनी एकघण्टा ओछ्यानमा पल्टेर तातो बनाउने गरेको बताउँछिन् । उनी एक घण्टा सुतेपछि ओछ्यान तातो हुने र महिनाको डेढलाख रुपैयाँ पाउने समाचारमा उल्लेख छ । प्रायजसोः एकल पुरुषहरुको ओछ्यान उनले तताउँछिन् । कहिलेकाहिँ महिलाहरुले अर्डर गरे उनीहरुको ओछ्यानमा समेत एक घण्टा पल्टिएर तताइदिने उनले बताइन । अचम्म त के छ भने यति मंहगो सेवाका लागि समेत उनलाई भ्याइ नभ्याई भएको छ । सम्भवतः उनी संसारकै पहिलो व्यवसायिक बडी वार्मर हुन । अर्काको ओछ्यानमा पल्टिँदा कसैले सेक्स गर्न खोजे नि ? यसका लागि पनि भिक्टोरिया धधध।भखभचभकतमबष्लष्प।अयm तयार छिन् । उनले जहिले पनि आफूसँग एउटा पेनिक बटन राख्ने गर्छिन् । केही अप्ठ्यारो परे या कुनै युवकले यौन हिंसा गर्न खोजे उनले तत्काले त्यो बटन थिच्छिन् र क्षणभरमैं आइपुग्छन उनको सेक्युरिटी टिम । उनले यो व्यवसायका लागि एउटा पुस्तकबाट प्रेरणा लिएको बताइन । तपाई यो समाचार एभरेष्टदैनिकडटकममा पढ्दै हुनुहुन्छ । पुस्तकमा एकजना पात्र हुन्छन् कवि, उनले आफ्नी महिला टाइपिष्टलाई ओछ्यान तताएवापत अतिरिक्त पैसा दिन्छन् । यसबाट उनले यो नयाँ व्यवसाय गर्ने सोचेको बताइन ।
चलचित्र काबिलः बलात्कारीले कहिलेसम्म उन्मुक्त्ति पाउने यो समाजमा ?
शक्ति र पैशाको आडमा अनैतिक काम गर्ने र न्यायको लागि आवाज उठाउने वर्गबीच यो समाजमा सधैं द्न्द चलिरहन्छ । जोसंग शक्ति छ, उसले निर्वल र असहायमाथि थिचोमिचो गरिरहन्छ । एक महिला त्यो पनि दृष्टिबिहिन, उनी माथि बलत्कार हुन्छ । बलात्कारको पिडा सहन नसकेर उनले मृत्युको बाटो रोज्छिन् । प्रहरी प्रशासनले बलात्कारीलाई सजाय दिन केही गर्न सक्दैन । बलात्कारिलाई सजाय दिन राज्यको नियमले त रोक्दैन तर शक्ति र पहुँचवालाले कानुन र नियमलाई नै किनिदिन्छ । अन्यायको बिरुद्ध राज्यले केही गर्न सक्दैन भने एक असहाय मानिसले न्याय पाउनको लागि के गर्ने ? को संग न्यायको भिख माग्ने ? वा आँफैले कानुनलाई हातमा लिएर दोषीलाई सजाय दिने ? यो हाम्रो समाजको यथार्थ हो । जो पिडित छ उसले मात्र अन्यायको पिडा महसुस गर्छ । यस्तै कथा बोकेको चलचित्र हो ‘काबिल’ । कथाः चलचित्रको कथा रोहन भटनाकर (ऋतिक रोशन) र सुप्रिया शर्मा (यामी गौतम)को हो । सुप्रिया आँखा देख्न सक्दिनन् । उनीहरुको भेट हुन्छ र एकअर्कासंग प्रेममा परेपछि बिवाह गर्छन् । यी दुइको बैवाहिक जीवन राम्रै चलिरहेको हुन्छ अचानक प्रेम कहानीमा हलचल आउँछ । आँखा नदेख्ने सुप्रियाको दुइ जना खलनायक अमित शेलार (रोहित रॉय) र साथी वसीम (सहीदुर रहमान) मिलेर सामुहिक बलात्कार गर्छन् । न्यायको लागि उनीहरु प्रहरीको जान्छन तर प्रहरीले पनि केही मद्त गर्न सक्दैनन् । किनकी बलात्कारीहरु निकै शक्तिशाली र पैशावाला हुन्छन् । बलात्कारपछि सुप्रिया भित्रैबाट टुट्छिन् र उनले आत्महत्या गर्छिन् । सुप्रियाले आत्महत्या गरेपछि कथाले मोड लिन्छ । यस घटनापछि रोहनले सबैसंग बदला लिन खोज्छन् । कानुनलाई आफ्नो हातमा लिँदै रोहनले सबैसंग बदला लिन्छन् । जुन तरिकाबाट रोहनले सबैलाई सजाय दिन्छन् त्यो साँच्चै नै तारिफयोग्य छ । बदलाको भावनाले कसरी रोहनले दोषीलाई सजाय दिन्छन त्यो हेर्न चलचित्र काबिल हेर्नैपर्छ । अभिनय ऋतिक रोसनको अभिनयको कुरा गर्ने हो भने उनले यो चलचित्रमा निकै राम्रो अभिनय गरेका छन् । चलचित्रमा उनको अभिनयको प्रसंसा गर्नैपर्छ । उनले आफ्नो भुमिकालाई न्याय दिएका छन् । उनको यो चलचित्रको अभिनयले दर्शकले उनलाई लामो समयसम्म याद गर्नेछन् । चलचित्रकी अभिनेत्री यामी गौतमले पनि ऋतिकसंग अभिनयमा टक्कर दिएकी छिन् । नकरात्मक भुमिकामा रहेका रोहित और रॉनित रायले पनि दमदार अभिनय गरेका छन् । किन हेर्नेः यो चलचित्र हेर्ने कारण धेरै छन् । चलचित्रमा ऋतिक रोशनको अभिनय निकै दमदार र मन छुने छ । यामी गौतमले एक दृष्टिबिहिनको भुमिका निकै राम्रोसंग निभाएकी छिन् । यो चलचित्रको गीतसंगित पनि निकै कर्णप्रिय र कथा अनुरुप छ । चलिचत्रको सिनेमाटोग्राफी निकै आकर्षक छ । चलचित्रले भरपुर मनोरन्जन र सन्देश दिएको छ । चलचित्रः काबिल निर्माताः राकेश रोशन निर्देशमः संजय गुप्ता संगीतकारः राजेश रोशन कलाकार : रितिक रोशन, यामी गौतम, रोनित रॉय, रोहित रॉय, उर्वशी रौटेला (आइटम नंबर )
नगद दुईलाख सहित सम्मानित भए धावक पण्डित
काठमाडौँ, माघ १८ । अल्ट्रा धावक सञ्जय पण्डित सम्मानित भएका छन् । सोमबार आयोजित कार्यक्रममा कोसी समूहले रु.दुई लाख १० हजारसहित उनलाई सम्मान गरेको हो । पण्डितले अन्टार्टिकाको माउन्ट रजम्यानलगायत शिखर आरोहण गरी देशको प्रतिष्ठा बढाएकाले सो सम्मान गरेको अायोजकले बताए । सो समूहका अध्यक्ष गोविन्द थपलियाले उक्त रकम बराबर चेक तथा सम्मानपत्र प्रदान गर्दै नेपाललाई विश्वमा आरोहणको माध्यमबाट चिनाउन पण्डितले अहम भूमिका निर्वाह गरेकाले त्यसको सराहना गर्नुभयो । उहाँको साहसलाई उच्च मूल्याङ्कन गरी आफ्नो समूहले सम्मान गरेको उनले बताए । सगरमाथा मनास्लुसहित विश्वका १० अग्ला शिखर आरोहण गर्नुभएका पण्डितले अफ्रिकाको सिखर किलिमान्जारो र अस्ट्रेलियाको सिखर कोजियस्कोमा उल्टो हिँडेर आरोहण गरेका थिए । पण्डित उल्टो हिँडेर हिमाल आरोहण गर्ने नेपालका पहिलो विश्व पर्वतारोही हुन् ।
स्ववियु निर्वाचन विद्यार्थीको उपलब्धि हो : अध्यक्ष महर
पोखरा, पुस २८। नेपाल विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष नैनसिंह महरले आगामी फागुन १४ गते नै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले विगत आठ वर्षयता स्ववियु निर्वाचन हुन नसकेको बताउँदै नेपाली विद्यार्थी आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धिका रुपमा रहेको यो निर्वाचन जुनसुकै हालतमा हुनुपर्ने बताए । नैतिकतामा आधारित मानवतावादी शिक्षा वर्तमानको आवश्यकता भएकोमा जोड दिँदै उनले आर्थिक रुपमा विपन्न विद्यार्थीले पैसाको अभावमा गुणस्तरीय एवम् प्राविधिक शिक्षाको अभाव भोग्न नपर्ने अवस्था सिर्जना गर्नु राज्यको दायित्व भएको बताए ।
चर्चित पप सुपरस्टार जर्ज माइकलको निधन
काठमाडौं, ११ पुस । ब्रिटिस पप सुपरस्टार जर्ज माइकलको निधन भएको छ । ५३ वर्षीय सुपरस्टार माइकलको अक्सफोर्डशायरस्थित आफ्नै निवासमा निधन भएको बीबीसीले जनाएको छ । उनको मृत्युको कारण भने हालसम्म खुलेको छैन । सन् १९६३ जुन २५ मा जन्मिएका माइकललले सन् १९८० को दशकमा सांगीतिक यात्रा सुरु गरेका थिए । माइकलको सिंगल एल्बम ‘केयरलेस व्हिस्पर’को विश्वकै मानिसले प्रशंसा गरेका थिए । उक्त एल्वम विश्वभर करिब ६० लाख प्रति बिक्री भएको थियो । जर्ज एक्लै गायन तथा गीतकारको रुपमा काम गर्ने गरेका थिए । सन् २००४ मा रेडियो अकाडेमीले जर्ज माइकलको १९८४–२००४ सम्मको अवधिमा ब्रिटिस रेडियोमा सबै भन्दा बढी गीत बज्ने कलाकारको उपमा दिएको थियो । उनको निजी जीवन तथा पेशेवर जीवनमा आधारित डकुमेन्ट्री ‘अ डिफरेन्ट स्टोरी’ २००५ मा रिलिज भएको थियो । जर्जको लोकप्रिय एल्वमको रुपमा फेथ, लिसन विथ आउट प्रिज्यूडाइस, ओल्डर, सौंग्स, फर्म द लास्ट सेन्चुरी तथा पेशेन्स छन् ।
चुनावमा ‘भोट क्यास’ गर्न प्रतिगमनको बाटो रोज्दै एमाले ?
काठमाडौं, पुस १०। ब्यवस्थापिका संसदको दोस्रो ठूलो दल नेकपा एमाले अहिले पुनः पुरानै बाटोमा फर्किने संकेत गरेको छ । संविधानसभाबाट घोषणा गरिएको संविधानमा उल्लेख भएका संघीयता, धर्म निरपेक्षताबाट पछाडि फर्किनुपर्ने संकेत एमाले नेतृत्वले नै गर्दै आएका छन् । केही दिनअघि मात्रै एक टेलिभिजन अन्तरर्वार्ता दिँदै ओलीले संघीयता कतैबाट आयातित भन्दै जनताको माग नभएको बताएका थिए । ओलीले एकपछि अर्को गरी सार्वजनिक कार्यक्रमहरुमा नै संघीयताविरुद्धमा अभिब्यक्ति दिन थालेका छन् । बुधबार भक्तपुर बालकोटस्थित आफ्नै निवासमा पूर्व सांसद मञ्चका प्रतिनिधिसँगको छलफलमा संघीयताबाट पछाडि फर्किनुपर्ने निश्कर्ष नै सुनाए । उनले पाँच विकाश क्षेत्रकै अवधारणा जायज भएको तर्क गरे । एमाले अध्यक्ष ओली मात्र होइन, एमाले अन्य बरिष्ठ नेताहरु पनि परिवर्तनका उपलब्धीबाट पछि हट्नुपर्ने सार्वजनिक अभिब्यक्ति दिइरहेका छन् । एमाले उपाध्यक्ष बामदेव गौतमले संघीयता मात्र होइन, माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनु नै भूल भएको अभिब्यक्ति दिएका छन् । आगामी २०७४ माघ ७ भित्र संघीय, प्रादेशिक र स्थानीय निर्वाचन गरिसक्नुपर्ने बाध्यता हुँदा हुँदै एमाले अहिले सविधान संशोधन नै हुनुहुँदैन भनेर मधेसी तथा जनजाति समुदायलाई चिढाउने काम मात्र गरेको छैन, निर्वाचनको रटान लगाउने तर तोकिएको समयमा निर्वाचन हुन नदिएर मुलुकलाई प्रतिगमनतिर धकेल्ने बाटो रोजिरहेको छ । एमाले यस्तो पार्टी हो, जसले विगतमा परिवर्तनको एजेण्डामा बाधक बनेर परिवर्तनकारी शक्तिको समेत धज्जी उडाउने काम गरेको थियो । एमाले एउटा कम्युनिष्ट पार्टी भएर पनि दरबार हत्याकाण्डपछि नयाँ राजा बनेका ज्ञानेन्द्रलाई दाम चढाएर एमाले तत्कालिन महासचिव माधव नेपाल आलोचित भए । कांग्रेस लगायतका पार्टीहरुसमेत पूर्वराजा ज्ञानेन्द्रको कदमलाई प्रतिगमन भनेर सडकमा आएकाबेला प्रतिगमन आधा सच्चिएको भनेर एमाले फेरि पनि आलोचित बनेको थियो । ज्ञानेन्द्रले आह्वान गरेको प्रधानमन्त्रीको विज्ञापनमा एमाले नेता नेपालले आवेदन दिन पुगेका थिए । २०५८ सालमा नारायणहिटी दरबार हत्याकाण्ड हुँदै शाही ‘कू’ विरुद्ध मुलुकमा गणतन्त्रको नारा घन्किँदा बयलगाडा चढेर अमेरिका पुगिदैन भनेर गणतन्त्रविरोधी अभिब्यक्ति दिने नेता केपी शर्मा ओली अहिले एमालेका अध्यक्ष हुन् । संविधान अस्वीकार गर्दै आन्दोलनमा उत्रिएका मधेसवादी दलको माग समेट्न भन्दै यिनै ओलीले आफू प्रधानमन्त्री भएकाबेला संविधान जारी भएको चार महिनामै संशोधन गराए । तर मधेसीहरु अहिलेसम्म पनि आन्दोलित नै छन् । त्यसैले मधेसीलाई समेत साथमा लिएर सहमतिमा अघि बढ्ने प्रयासलाई भाँजो हाल्दै एमाले यतिबेला राष्ट्रियताको दुहाइ दिएर प्रतिगमनको बाटो रोजिरहेको छ । प्रमुख प्रतिपक्ष दलको भूमिकामा रहेको एमालेले पुरानै संरचनाअन्तर्गत स्थानीय निर्वाचन गर्नेदेखि धर्मनिरपेक्षताको बारेमा जनमत संग्रहमा जानुपर्नेतिर बाटो सोझ्याउँदै छ । पूर्व पञ्च तथा राजावादी शक्तिहरु एक भइरहेकाबेला तीनै शक्तिलाई प्रश्रय दिँदै एमालेले चालेको पछिल्लो कदमकै कारण पूर्वराजा ज्ञानेन्द्रसमेत यहि मौका भन्दै सडकमा आउने उद्घोष गरेका छन् । यहिमौकामा सत्तासिन दलहरुलाई बाह्य प्रभावको अस्थायी सरकारको उपमा दिएर नेपालाको राजनीतिमा खुल्ला चुनौति दिएका छन् । खबरडबलीमा प्रकाशित टिप्पणी साभार
सभामुखद्वारा सदन खुलाउन पहल
काठमाडौँ, मङ्सिर २४ । अवरुद्ध संसद् खुलाउने सम्बन्धमा सभामुख ओनसरी घर्तीले सत्तारुढ दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग हिजो छलफल गरेकि छिन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बोलाएर सभामुख घर्तीले प्रमुख राजनीतिक दलले सहमति गरेर सदन पुनःसञ्चालन गर्न आग्रह गरिन् । छलफलपछि पत्रकारसँग कुरा गर्दै काँग्रेस सभापति देउवाले भने, “व्यवस्थापिका–संसद्मा दर्ता भएको विधेयकमा सहमति गरेर अगाडि बढ्नुपर्छ भन्ने विषयमा छलफल भयो ।” सरकारले एक साता अगाडि दर्ता गराएको संशोधन प्रस्ताव दर्ता गराएपछि प्रतिपक्षले सदन अवरोध गर्दै आएका छन् । छलफलबारे प्रतिक्रिया दिँदै एमाले अध्यक्ष ओलीले दर्ता भएको संशोधन प्रस्ताव फिर्ता भए मात्र सहमति हुने बताए । रासस
फ्रान्समा नयाँ प्रधानमन्त्री नियुक्त
पेरिस, मङ्सिर २२ । फ्रान्सका राष्ट्रपति फ्राँस्वा अलान्दले मङ्गलबार नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् । यस अघिका प्रधानमन्त्रीले म्यानुएल भल्जले आगामी बर्ष हुन गइरहेको राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने निश्चयकासाथ प्रधानमन्त्रीबाट राजिनामा दिएका हुन् । राष्ट्रपतिले वर्तमान गृहमन्त्री बर्नार्ड काजेनुभलाई निवर्तमान प्रधानमन्त्री म्यानुएल भल्जको ठाउँमा प्रतिस्थापन गरेका छन् । यससँगै नयाँ प्रधानमन्त्री काजेनुभलाई आगामी जुनमा हुने संसदीय निर्वाचन गराउने मुख्य जिम्मेबारी आएको छ । रासस
कङ्गोमा झडप हुँदा तेइसको मृत्यु
किन्सासा (कङ्गो), मङ्सिर २१ । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा भएका पछिल्ला केही दिनका प्रहरी र स्थानीय मिलिसियाबीच भएका झडपमा २३ जनाको मृत्यु भएको कासाई प्रान्तका उप–गभर्नरले बताएका छन् । मध्य कङ्गोमा शुक्रबारदेखि सुरु भई आइतबारसम्म भएको झडपमा प्रहरीतर्फ १३ जनाको मृत्यु भएको र १४ जना घाइते भएको उप–गभर्नर हुवर्ट विङ्घो नोवलाले सोमबार सरकारी टेलिभिजनलाई बताएका छन् । त्यसैगरी झडपमा १० जना मिलिसिया (लडाकू) को मृत्यु भएको पनि उनले जानकारी गराए । रासस
संसोधनले सत्ता समिकरण झन बलियाे : देउवा
सुनसरी, मंसिर १८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रसँगको सत्ता गठबन्धन लामो समय टिक्ने बताएका छन् । कांग्रेस सुनसरी क्षेत्र नम्बर ५ को क्षेत्रीय अधिवेशनमा सहभागी हुन आएका देउवाले प्रेस यूनियन सुनसरीले शनिबार गरेको पत्रकार भेटघाटमा संविधान संसोधन प्रस्ताव जे भएपनि सत्ता गठबन्धनमा कुनै असर नपर्ने बताएका हुन् । उनले भने–‘संविधान संशोधन सफल या विफल जे भए पनि सत्ता समिकरणमा कुनै फरक पर्दैन र सरकार पनि परिवर्तन हुँदैन ।’ उनले मधेसवादीको मागकै आधारमा संविधान संशोधन दर्ता भएकोले संसोधन प्रस्ताव दुईतिहाइले पास हुनेमा आफू आशावादी भएको बताए । उनले भने– ‘अहिलेको सीमाङ्कन एमाले र कांग्रेसबीच पहिल नै सहमति भइसकेको विषय हो ।’ मधेसवादी जनताको माग सम्बोधनका लागि संविधान संशोधन विधेयक दर्ता भएकाले दुईतिहाइ बहुमतले पास हुने देउवाले बताए । देउवाले भने– ‘मधेसवादीका लागि होइन, मधेसी जनताका लागि संशोधन गर्ने हो, खै त मधेसी जनता सडकमा छन् ?’ तर एमालेले अहिले किन रडाको गरिरहेको आफूले बुझ्न नसकेको देउवाले बताए । एमाले पनि अन्तिम अवस्थामा संशोधनको पक्षमा आउनेमा आफू आशावादी रहेको उनले बताए । सुनसरी जिल्लाको सदरमुकाम इनरुवालाई दुई नम्बर प्रदेशमा नगाभिने उनले स्पष्ट पारे ।‘ झापा, मोरङ र सुनसरी कुनै प्रदेशमा गाभिदैन ।’उनले भने, ‘झापा, मोरङ र सुनसरी एक नम्बर प्रदेशमै रहन्छन् कुनै प्रदेशमा जाँदैनन् ।’
६ विद्यार्थी संगठनले भने–‘सडकमा तमासा देखाउने होइन संसदवाट हल खोज’
काठमाडौं, मंसिर १७ । सयुक्त विद्यार्थी संगठनले एमाले लगायतका दललाई सडकमा अस्थिरता मच्चाउन छोडेर संसदबाट समाधान गर्न आग्रह गरेको छ । मंसिर १६ र १७ गते अखिल (क्रान्तिकारी)को केन्द्रीय कार्यालय वागवजारमा वसेको काङ्ग्रेस,माओवादी केन्द्र,मधेसी सहितका ६ विद्यार्थी संगठनहरुको वैठकले सडकमा अस्थिरता मच्चाउन छाडेर संसदमा आई हल खोज्न आग्रह गरेका हुन्। वैठकपछि जारी विज्ञप्तिमा मुलुकमा संविधान संशोधनको विरोधका नाममा केही ठाउँमा अस्थिर,अशोभनीय र अराजनीतिक गतिविधि देखिन थालेको आरोप लगाईएको छ। विज्ञप्तिमा भनिएको छ– ‘संविधान कार्यान्वयनको चुनौतीपूर्ण संक्रमणकालमा न्युनतम लोकतान्त्रिक मान्यता विपरित असहज परिस्थिति ननिम्त्याउन जिम्मेवार राजनीतिक दल एवं पक्षलाई अपिल गर्न चाहन्छौं।’ वैठकमा सहभागी अखिल (क्रान्तिकारी)का अध्यक्ष नरेन्द्र न्यौपानेले भने‘ संविधान संशोधनको प्रस्ताव उपर सडकमा हैन सार्वभौम संसदमा आई व्यापक छलफल,वहस र सहमति गरेर निकास खोज्न जिम्मेवार राजनीतिक शक्तिहरुलाई आह्वान गर्न चाहन्छौं ।’ एमाले निकट अनेरास्ववियु भने बैठकमा उपस्थित भएको थिएन । वैठकमा न्यौपाने सहित नेविसंघ अध्यक्ष नैनसिंह महर,राप्रविसं महासचिव महेश सिंह, मविफो(लोकतान्त्रिक) उपाध्यक्ष पारस चौधरी,तमवि फ्रन्टका संयोजक हरेराम मिश्र,नेराविफेका अध्यक्ष दिपक जोशी लगायतको सहभागीता रहेको थियोे ।
भूकम्पले भत्काएका साढे १५ हजार घरहरु अनुदान रकमबाट बनाइँदै
काठमाडौँ, मंसिर १७ । भूकम्पबाट क्षति भएका घरमध्ये अनुदान रकम प्राप्त गरी १५ हजार ८६१ घर पुनःनिर्माण सुरु भएको सहरी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाइका अनुसार मुंसिर १५ सम्ममा भूकम्प अति प्रभावित ११ जिल्लामध्ये सिन्धुपाल्चोकमा एक हजार ६२३, धादिङमा दुई हजार १६५, काभ्रेमा एक हजार चार, नुवाकोटमा चार हजार ३३०, गोरखामा एक हजार २७१, दोलखामा दुई हजार ८९० घर पुनःनिर्माण सुरु गरिएको हो । यस्तै रामेछापमा ८५१, सिन्धुलीमा १२६, मकवानपुरमा ६१२, ओखलढुङ्गामा ४७३ र रसुवामा ५१६ घर पुनःनिर्माण भइरहेको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाइका अनुसार मंसिर १६ सम्म पाँच लाख २७ हजार ४६६ घरधनीसँग अनुदान सम्झौता भएको छ । उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरमा गरी ५३ हजार ४२५ घरधनीसँग अनुदान सम्झौता भएको छ । अनुदान सम्झौता भएका उपत्यका बाहिरका ११ जिल्लामा चार लाख ४४ हजार ४५२ घरधनीको बैंक खातामा पहिलो किस्ता बापत रु ५० हजार जम्मा गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको केन्द्रीय कार्यालयमा एक लाख आठ हजार ७७ गुनासो दर्ता भएकामा व्यवस्थापन सूचना प्रणालीमा ८३ हजार ७१० वटाको गुनासो प्रविष्टि भएको छ । जसमध्ये ५४ हजार ३३६ जनाको गुनासो जाँच गरीे वर्गीकरण गरिएको प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए । निजी आवास पुनःनिर्माण प्राविधिक निरीक्षण कार्यविधि, २०७३ स्वीकृत भएर कार्यान्वयनमा आइसकेको छ । त्यस्तै सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले मङ्सिर ८ गते सबै जिल्लाका स्थानीय विकास अधिकारी र नगरपालिकाका कार्यकारी अधिकृतलाई सामुदायिक समिति गठन, निरीक्षण कार्यविधि, गुनासो सुनुवाइसम्बन्धी विधि, प्रक्रिया र जिम्मेवारीबारे जानकारी गराएको छ । प्राधिकरण निर्देशक समितिको बैठकले पुनःनिर्माणमा खटिने प्राविधिकसहितका कर्मचारीलाई ७५ प्रतिशतसम्म प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ । “बैठकबाट पुनःनिर्माण कार्यमा विभिन्न गाविस एवम् नगरपालिकामा खटिएका जनशक्तिलाई उत्साहित बनाउन कार्यसम्पादन नतिजासमेतका आधारमा बढीमा ७५ प्रतिशतसम्मको कार्यसम्पादन प्रोत्साहन भत्ता उपलब्ध गराउन प्राधिकरणले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा अर्थमन्त्रालयसंग समन्वय गरी मापदण्ड निर्धारण गर्ने निर्णय भएको छ” – उनले भने । सेवा सुविधाको माग गर्दै इन्जिनियरले काम गर्न छोडेपछि गत असोज ८ गते प्राधिकरण, सहरी विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ र इन्जिनियर प्रतिनिधिबीचको वार्ताले सकारात्मकरुप लिएपछि इन्जिनियर आ–आफ्नो कार्य क्षेत्रमा फर्किएका थिए । सेवा सुविधाको विषयलाई लिएर आफ्नो जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई प्रचलित कानुनअनुसार कारबाही गरिने प्राधिकरणको भनाइ छ ।
‘मेरो कामलाई भावी पुस्ताले समेत स्मरण गर्नेछन्’ : प्रधानमन्त्री
काठमाडौं, मंसीर १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अपांगहरुको सवालमा भावी पुस्ताले समेत स्मरण गर्न योग्य खाले काम गर्ने बताएका छन् । २५ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका अवसरमा बालुवाटारमा विभिन्न संगठनहरुद्वारा संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘हामीले विश्वका विकसित भनिएका देशका संविधान पनि हेरेका छौं । हाम्रो संविधान अपाङ्गहरुको अधिकार र सहज जीवनयापनका लागि पूर्ण छैन । तर, अपाङ्गमैत्री छ । यसको सफल कार्यान्वयन गर्न सक्दा धेरै अधिकारहरु प्राप्त हुनेछन् ।’ नेपालको संविधान अपाङ्गमैत्री रहेको बताउँदै उनले भने, ‘संविधानले राष्ट्रिय सभामा अपाङ्गहरुको प्रतिनिधित्वको सुनिश्चितता गरेको छ । अब हामीले स्थानीय तहदेखि नै नीति निर्माणमा अपाङ्गहरुको प्रतिनिधित्व गराउनेतिर बल गर्नुपर्छ । संविधानले जति व्यवस्था गरेको छ, अब कानुन बनाएर त्यसको प्रभावकारी कार्यान्वयन गर्ने चुनौति हाम्रासामू छ । मैले अपाङ्गहरुका पक्षमा भावी पुस्ताले समेत स्मरण गर्ने गरी काम गर्न खोजेको छु ।’ कार्यक्रममा प्रचण्डको नेतृत्वमा रहेको अपाङ्गता अधिकार सम्बन्धी डेक्सलाई तुरुन्तै सक्रिय पारेर काम अघि बढाउने बताए । अपाङ्गहरुको जीवन निर्वाह भत्ता ज्यादै न्यून भएको र यसलाई बढाउन आफूले पहल गर्ने पनि उनले बताए । निजामति र सरकारी सेवामा रहेका अपाङ्ग कर्मचारीहरुले स्वास्थ्यका कारण काम गर्न नसकेमा निश्चित मापदण्ड बनाएर पेन्सनको व्यवस्था गर्ने व्यवस्थाका लागि पनि उनले पहल गर्ने बताएका छन् । प्रधानमन्त्रीले संविधान कार्यान्वयन गरी निर्वाचनमा जानु सरकारको प्राथमिकता रहेको जानकारी दिँदै छिटै राजनीतिक दलहरुबीच सहमति जुट्ने बताए । कार्यक्रममा अपाङ्गका प्रतिनिधिहरुले संविधानमा अपाङ्ग अधिकारको सुनिश्चितता, सहज जीवन यापन, अपाङ्गमैत्री संरचना, रोजगारी लगायतका विषयलाई गम्भीरतापूर्वक लिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
एसीसी महिला एसिया कप टि–ट्वेन्टी क्रिकेटको पाँचवटै खेलमा नेपाल पराजित
काठमाडौं, मंसिर १७ । थाइल्याण्डमा जारी एसीसी महिला एसिया कप टि–ट्वेन्टी क्रिकेटको पाँच वटै खेलमा नेपाल पराजित भएको छ । आज भएको भारतसँगको खेलमा ९९ रनको विशाल अन्तरले पराजित हुँदै नेपालले पाँचवटै प्रतियोगितामा पराजय व्यहोर्नु परेको हो । भारतले प्रस्तुत गरेको १ सय २१ रनको बिजयी लक्ष्य पछ्याएको नेपाल १६ दशमलब ३ ओभरमा २१ रनमै अलआउट भयो । भारतबिरुद्धको यो स्कोर नेपाली महिला क्रिकेटकै इतिहासमा अहिलेसम्म बनाएकोे सबैभन्दा न्युन स्कोर हो । आयोजक थाइल्याण्ड बाहेक सबै टेष्ट मान्यता प्राप्त राष्ट्रहरु पाकिस्तान, श्रीलंका, बंगलादेश र भारतसँग प्रतिष्पर्धा गरेको नेपालले सबै खेलमा पराजित भएसँगै अंक तालिकामा खाता नखोली पुछारमा रहँदै प्रतियोगिता टुङ्ग्याएको छ ।
खनियाँ र सिंहलाई बर्खास्त गरी डा. केसीको अनसन तोडाइने
काठमाडौं, मंसिर १७ । चिकित्सा क्षेत्रका विकृति र विसङ्गतिको अन्त्यको माग गर्दै २० दिनदेखि अनसनरत प्रा.डा. गोविन्द केसीको अनसन तोडाउन सरकारले सक्रियता बढाएको छ । त्रिभुवन विश्वविद्यालयले डा. केसीसँगका पूर्व सम्झौता लत्याउँदै चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) डिनमा वरिष्ठता मापदण्ड मिचेर डा. केपी सिंहलाई नियुक्त गरेपछि केसी दसौं पटक अनसन बसिरहेका छन्। त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खँनिया र आइओएम डिन डा. केपी सिंहको बर्खास्तगी सहित दश बुँदे माग राखेर कात्तिक २९ गतेदेखि आमरण अनसन बसेका डा. केसीको विग्रदो स्वास्थ्य अबस्थाको ख्याल गरेर सरकारले वार्ता समिति बनाएको थियो । सरकारले उपकुलपति र डिन दुवैलाई बखास्तगी गर्न लागेको स्वास्थ्यमन्त्री गगनकुमार थापा निकट स्रोतले एभरेष्टदैनिक डटकमलाई बतायो । सरकारले शिक्षासचिव शान्तबहादुर श्रेष्ठ र स्वास्थ्य सचिव डा. सेनेन्द्र उप्रेतीलाई वार्ता गर्ने जिम्मेवारी दिएको थियो । एक रेडियो अन्तर्वार्तामा शिक्षा सचिब श्रेष्ठले बिहिबार डा. केसीले अनसन तोड्ने बताएका थिए । तर, आइओमएम डिन सिंह र उपकुलपति खँनियाँलाई बर्खास्तगी नगरी उनले अनसन नतोड्ने अडान दोहोर्याएपछि सरकारसँगको बिहिबार राती ११ बजेसम्म भएको वार्ता सहमतिमा पुग्न सकेकाे थिएन । वार्ता निष्कर्षमा पुग्न नसकेपछि डा.केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । स्वास्थ्यमन्त्री थापाले डिन सिंह र उपकुलपति खनियाँलाई राजीनामा गर्न सुझाव दिएपनि उनीहरुले नमानेपछि सरकारले बर्खास्ती गर्न लागेको स्रोतको दावी छ । त्यसो त डा. गोविन्द केसीको विग्रदो स्वास्थ्य स्थितिबारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले पनि गम्भीर चासो लिएका छन् । प्रधानमन्त्री प्रचण्डले बिहिबार स्वास्थ्य मन्त्री थापा र शिक्षामन्त्री धनीराम पौडेललाई भेटगरी डा. केसीको जीवनरक्षामा ध्यान दिन र अनसन तोडाउन निर्देशन दिएका थिए । आज विहानै पनि प्रधानमन्त्री प्रचण्डले डा. केसीको माग सम्बोधन गर्न तत्काल पहल थाल्न निर्देशन दिएका थिए । स्वास्थ्यमन्त्री थापाले दुबैलाई राजीनामा दिएर समस्याको समाधान गरिदिन अनुरोध गरेपनि उनीहरु तयार नभएपछि स्वास्थ्यमन्त्रीकै प्रस्तावमा सरकारले बर्खास्तगीको प्रस्ताव मन्त्रीपरिषद्मा लाने गरी तयारी गरेको स्रोतले जानकारी दिएको छ । स्रोतले भन्यो– ‘दुबैको नियुक्ति मन्त्रीपरिषद्बाट भएकोले स्वास्थ्यमन्त्री थापाको अनुरोधमा प्रधानमन्त्रीले मन्त्रीपरिषद्को बैठक बोलाउने र त्यहीबाट बर्खास्तगी गर्ने सम्भावना रहेको छ ।’ डा. केसीको समर्थनमा आज सरकारी चिकित्सक संघ ९गोदन०को आह्वानमा देशभरमा सरकारी अस्पतालमा आकस्मिक बाहेकका सेवामा चिकित्सकहरु सामेल भएका छैनन् । यस्तै नेपाल चिकित्सक संघको आह्वानमा सम्पूर्ण निजी अस्पतालमा पनि बिहान १० बजेदेखि १२ बजेसम्म ओपिडी सेवा बन्द गरिएको छ ।