मोहनबिक्रम सिंह कोरोना संक्रमित, निवासमैं होम आइसोलेसनमा
काठमाडौं । नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहमा कोरोना देखिएको छ ।
ज्वरो आएपछि पीसीआर परीक्षण गरेपछि गत वैशाख २६ गते सिंहमा कोरोना संक्रमण पुष्टि भएको थियो।
संक्रमित भएपछि ८६ वर्षीय सिंह निवासमै होम आइसोलेसनमा रहेका छन् ।
नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरीका अनुसार दुई दिनअघि अक्सिजनको मात्रा घटेको देखिएपनि अहिले पनि अवस्था सुधारोन्मुख रहेको छ ।
राजनीतिक तथा सामाजिक क्षेत्रबाट वैचारिक तथा लेखनका क्षेत्रमा सक्रिय सिंहको स्वास्थ्यलाभको कामना गरिएको छ ।
सुनको मूल्य २०११ यताकै उच्च
एजेन्सीः न्यूयोक–वाल स्ट्रिटमा यो अनौठो समय भएको छ । सम्भावित आर्थिक सुधारको आशाबीच धितोपत्र बजार उकालो लागिरहेको छ । लगानीकर्ताहरु अझै पनि अमेरिकामा कोभिड–१९ फैलन सक्नेप्रति नर्भसको अवस्थामा छन् । यसैबीच सुनको मूल्य २०११ को सेप्टेम्बरदेखिकै उच्च विन्दुमा पुगेको छ । यो १९०० भन्दा बढीमा पुग्ने देखिएको छ । २०२० को हालसम्मको अवस्थामा सुनको मूल्य झन्डै १९ प्रतिशतले वृद्धि भएको छ । २००८ मा लेहम्यान ब्रदर्स टाट पल्टिएपछिको अवस्थामा केही कमी आएपछि सुनको मूल्यमा केही वृद्धि भएको थियो । त्यसपछि सुनको मूल्य २०११ मा सबै समयको उच्च भएको थियो । स्ट्यान्डर्ड एन्ड पुअरले अमेरिकाको क्रेडिट रेटिङ घटाएपछिको अवस्थामा सुनको मूल्य बढेको हो ।
पत्रकार निष्काशन गर्ने मिडिया मालिकविरुद्ध पत्रकार महासंघ आन्दोलित
काठमाडौं : श्रमजीवी पत्रकारलाई कोरोना महामारी र त्यसले निम्त्याएको आर्थिक संकटको कारण देखाउँदै विभिन्न सञ्चार गृहहरूले कामबाट निकाल्ने, बेतलबी बिदामा बस्न लगाउने, पारिश्रमिक नदिने, मानसिक तनाव बढाउने खालको अमान्य गतिविधि बढाएकोप्रति विरोध गर्दै पत्रकार आन्दोलित भएका छन । श्रमजीवी पत्रकार ऐन, न्यूनतम पारिश्रमिक कार्यान्वयन सम्बन्धी कानुन, अन्तर्राष्ट्रिय श्रम कानुन तथा पत्रकार हक, हित तथा अधिकार सम्बन्धी तमाम कानुनी व्यवस्थाको मर्मविरुद्ध मिडिया मालिकहरूले गरिरहेको गतिविधिको विरोधमा पत्रकार आन्दोलनमा उत्रिएका हुन् । कोरोना संकटले विश्व मानव समूदायलाई नै प्रभाव पारेको अवस्थामा मुलुकको नामि र आर्थिकरूपमा समेत सक्षम देखिने मिडिया हाउने नै श्रमजीवी कामदारलाई हटाउने हर्कत पत्रकारको काम गरेर बाँच्न पाउने अधिकारका विरुद्ध रहेको भन्दै पत्रकारले त्यस्ता मिडिया मालिकलाई आन्दोलनको माध्यमबाट तह लगाउने बताए । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजना तथा प्रेस संगठन नेपाल, नेपाल प्रेस युनियन, क्रान्तिकारी पत्रकार संगठन नेपाल, क्रान्तिकारी पत्रकार महासंघ, प्रेस सेन्टर नेपाल, प्रगतिशिल पत्रकार संघ, जनपत्रकार संगठन लगायतका विभिन्न संघ संगठनहरुको ऐेक्यबद्धतामा अघि बढेको आन्दोलन समस्याको हल नहुँदासम्म निरन्तर अघि बढ्ने महासंघले बताएको छ । गत शुक्रबार दिउँसो काठमाडौंको बबरमहलमा विरोध प्रदर्शन गर्दै मिडिया मालिकलाई श्रमजीवी पत्रकारलाई अपमानजनक ढंगले कामबाट निकाल्ने काम बन्द गर्न माग गर्दै त्यसप्रति राज्यलाई समेत सचेत गराइएकोमा मिडिया मालिकले मागको सुनुवाई नगरेकाले आजबाट पुनः आन्दोलन अघि बढाइएको हो । मिडिया हाउससँग श्रमजीवी पत्रकारको हक, हित र अधिकारको ग्यारेन्टी गर भन्दै महासंघको टिमले गरेको छलफलको पहिचो चरणको प्रयासबाट समाधानको संकेत नदेखिएको कारण आज पुर्न पत्रकार मिडियामा हाउसको गेटमै पुगेर कालो ब्यानर टासेर माग कार्यान्वयनको लागि चेतावनी दिएका छन । श्रमजीवी पत्रकारको पक्षमा लामो समयदेखि संघर्षको नेतृत्व गर्दै आएका पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीको नेतृत्वमा विभिन्न पत्रकार संघ संगठनको ऐक्यवद्धतासहित नागरिक दैनिक, एपि १ टेलिभिजन लगायतका मिडियाहरुको गेटमा मागपुरा नगरेमा कडा आन्दोलनमा उत्रिने चेतावनी सहित कालो ब्यान टाँसिएको छ । ‘श्रमजीवी पत्रकार ऐन पूर्ण रुपमा कार्यान्वयन गर । पेशागत सुरक्षाको ग्यारेण्टी गर ।’ लेखिएको कालो ब्यानरमा आयोजना गरिएको उक्त विरोध कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघकाे श्रमजीवी हित प्रवर्द्धन समिति सह-संयाेजकसमेत रहेका जैसीले कुनै पनि हालतमा श्रमजीवी पत्रकारलाई काममा फकाउँने र स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण गराउन राज्य र सम्बन्धीत पक्षलाई चेतावनी दिए । उनले कोरोनाको कारण देखाउँदै पत्रकार तथा सञ्चारमाध्यममा काम गर्ने कामदारलाई मनमर्जि निकाल्ने हर्कत महासंघलाई अमान्य हुने र त्यसका विरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिने बताए । उनले समयमै पत्रकारहरुका जायज मागको सम्बोधन नभएमा महासंघ मिडिया हाउसले कल्पना नगेको ढंगको आन्दोलन अघि बढाउने भन्दै उनले कडा चेतावनी दिएका थिए । उक्त कार्यक्रममा बोल्दै क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउतले महासंघको विरोध कार्यक्रममा आफ्नो संगठनको एक्यवद्धता जाहेर गर्दै श्रमजीवी पत्रकारको पेशागत सुरक्षाको लागि राज्यले समेत जिम्मेवार बन्नुपर्ने धारणा राखे । अध्यक्ष राउतले महासंघको आन्दोलनमा पेशागत संघ, संगठनहरुलार्य पनि जोड्दै माग पूरा गराउन व्यापक दवावमूलक कार्यक्रम गर्नु पर्नेमा जोड दिएका थिए । उक्त कार्यक्रममा क्रान्तिकरी पत्रकार संगठनका नेता कमल बुढाले मिडिया हाउसले सृजना गरेको श्रमजीवी पत्रकारको समस्यालाई तत्काल हल गर्न स्वयम मिडिया मालिक तयार हुनुपर्ने र त्यसो नभएमा आन्दोलनको स्वरुप बदलिने भन्दै कडा चेतावनी दिएका थिए । उनले पत्रकार महासंघको विरोध कार्यक्रममा आफ्नो संगठनको तर्फबाट एक्यवद्धता जाहेर गर्दै पत्रकारहरुलाई बिनासर्त काममा फर्कने वातावरण नबन्दासम्म चरणबद्ध आन्दोलनको घोषणा गरेर अघि बढ्नुपर्ने विचारसमेत राखे । प्रेस सेन्टर नेपालका अध्यक्ष लाेकराज जैसीले मिडिया मालिकहरुले आफुलाई आवश्यक पर्दै विभिन्न सेवा, सुविधा सहितको नियुक्ति पत्र दिएर पत्रकारलाई भित्र्याउने र मन नलागेमा आफैले दिएको नियुक्तिपत्रको अपमान गरेर पत्रकारहरुलाई हटाउने काम गैह्र जिम्मेवार तथा अमान्य रहेको भन्दै त्यस्ता मिडिया मालिकलाई कारबाही गर्नुपर्ने तर्क गरे । अध्यक्ष जैसीले श्रमजीवी पत्रकार ऐन, न्यूनतम पारिश्रमिक समितिको निर्णय, अन्तराष्ट्रि श्रम संगठन, श्रम कानुन र राज्यका अन्य कानुनहरुको खिलाफमा मुलुककै ठूला भनिएका मिडिया हाउसहरु उभिनुले कानुनी राज्यको समेत अपमान गरेको छ । कार्यक्रममा पत्रकार महासंघ काठमाडौंका अध्यक्ष शान्तराम बिडारीले मिडिया मालिकको प्रेस कानुन विरुद्धको रबैया कुनै पनि हालतमा स्विकार्य नहुने भन्दै त्यसका विरुद्ध संगठित र कडा आन्दोलनमा जानुपर्ने धारणा राखेका थिए । त्यसैगरी महासंघको उपत्यका प्रदेश समितिका कोषाध्यक्ष टेनिस रोकाले श्रमजीवी पत्रकारको पेटमा लात हान्ने ढंगले मिडिया मालिकहरू जसरी आफ्नो नियत उजागर गर्दैछन् त्यसले श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनमा उनीहरूको वास्तविक प्रतिवद्धता देखिएको बताए । कार्यक्रममा कान्तिपुर दैनिक मिडियामा कार्यरत पत्रकारद्धारा गठित संघर्ष समितिका सदस्य श्रीराम वाग्लेले समेत आफ्नो कुरा राख्दै पत्रकारमाथि गरिएको अपमानजनक व्यवहार तुरुन्त सच्याउन खबदारी गरे ।
बीपीएलः नेपालमा खेलिसकेका शान्तोले प्रहार गरे शानदार शतक
काठमाडौंः बंगलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत ढाका प्लाटूनविरुद्ध खुल्ना टाइगर्सका ब्याट्सम्यान नाजमुल होसेन शान्तोले शानदार शतक बनाएका छन् । उनले ५१ बलमा ६ छक्का र ७ चौका प्रहार गर्दै शतक बनाएका हुन् । शान्ताेकै शतकमा प्लाटूनविरुद्ध खुल्ना टाइगर्स ८ विकेटले विजयी हुन सफल भयाे । उनले आज ५७ बलमा ७ छक्का र ८ चौकाको मद्दतमा अविजित १ सय १५ रनको योगदान दिए । टी–२० क्रिकेटमा नाजमुलको यो पहिलो शतक हो । शान्तोले हालै नेपालमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग)समेत खेलेका थिए । टियू स्थित कीर्तिपुर क्रिकेट मैदानमा भएको खेलमा उनले नेपालविरुद्ध ६० बलमा अविजित ७५ रन बनाउँदै टिमलाई जित दिलाएका थिए । सागमा कप्तासमेत रहेका बंगलादेश–२३ ले स्वर्ण पदकसमेत जितेको थियो । पछिल्लो समय शान्तो शानदार ब्याटिङ गरिरहेका छन् । उनले २०१९ मा जिम्बाब्बेविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए ।
डोल्पामा २ लाख खर्चेर तुइनबाट तारियो सरकारी गाडी
डोल्पाः डोल्पामा पहिलो पटक तुइन तारेर सरकारी जीप भित्र्याइएको छ । कर्णाली प्रदेश भौतिक पूर्वाधार कार्यालय डोल्पाले ‘कर्णाली प्रदेश ०२, ००१ झ’ नम्बरको सरकारी बोलेरो जीप भित्र्याइएको हो । कार्यालयले २७ लाखमा खरिद गरेर उक्त गाडी डोल्पा ल्याएको हो । भौतिक पूर्वाधार विकास कार्यालय डोल्पाका प्रमुख योगेन्द्र धरालाका अनुसार सुर्खेतबाट तल्लु, खदाङ, त्रिपुराकोटको भेरी नदीमा तुइनमा तारेर जिप ल्याइएको हो । जाजरकोट र रुकुमको तल्लुमा ५० हजार, डोल्पाको खदाङमा ४० हजार र त्रिपुराकोट बगरमा ६० हजार गरेर झण्डै दुई लाख बराबर रकम खर्च गरेर कार्यालयको गाडी डोल्पा ल्याएको धरालाले बताए । डोल्पामा सडक जोडिएपछि जिल्लामा स्थापना भएको भौतिक पूर्वाधार कार्यालयले आफ्नै गाडी ल्याएको हो । उक्त गाडी जिल्लामा पुगेसँगै अन्य सरकारी कार्यालयले समेत गाडी ल्याउने तयारी थालेका छन् । यद्यपि, डोल्पाका सरकारी कार्यालयले खरिद गरेका गाडी मोटरसाइकल भने जिल्ला नपुर्याएर अहिले पनि नेपालगञ्ज, सुर्खेतलगायतका सहरमा चलिरहेको पाइन्छ । अघिल्लो मंसिरमा औपचारिक रूपमा डोल्पामा सडक जोडिएको घोषणा गरेको सरकारले बीचबीचमा पुल नहालिदिँदा यात्रुले सास्ती भोग्नु परेको छ ।
त्रिभुवन विश्वविद्यालयमा जागिरको अवसर (सूचनासहित)
काठमाडौंः त्रिभुवन विश्वविद्यालयले विद्यावारिधि गरेका पाँच प्राध्यापक र २६ जना सहप्राध्यापक माग गरेको छ। त्रिविले बिहीबार सूचना जारी गरी अनुसन्धानात्मक विशिष्टता आधारमा यसअन्तर्गतका विभिन्न निकायहरुका लागि ३१ जना प्राध्यापक र सहप्राध्यापक माग गरेको हो। यसअन्तर्गत त्रिविले फरेष्ट्री, सिभिल इन्जिनियरिङ, अंग्रेजी शिक्षा, व्यावस्थापन र अंग्रेजी विषयका लागि एक–एक प्राध्यापक माग गरेको छ। यसैगरी २३ वटा विषयका लागि २६ जना सह–प्रध्यापक माग गरिएको छ। सो पदका लागि ५० वर्ष उमेर ननाघेका सम्बन्धित विषयमा स्नातकोत्तर गरी तोकिएको विषयमा विद्यावारीधि उपाधि प्राप्त गरिएको हुनु पर्नेछ। प्राध्यापक पदका लागि ३५ सय रुपैयाँ र सहप्राध्यापक पदका लागि ३२ सय रुपैयाँ आवेदन दस्तुर तिर्नु पर्नेछ। माग १३ देखि माघ १५ गते सम्म दोब्बर दस्तुर तिरेर पनि दरखास्त भर्न सकिने बताइएको छ।
धनुषा बम विष्फोट, घाइते प्रहरी इन्सपेक्टर दाहालको मृत्यु
जनकपुरधामः धनुषाको छिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बजार नजिक बम विष्फोट हुँदा घाइते भएका प्रहरी निरीक्षक (इन्सपेक्टर) अमिर कुमार दाहालको पनि मृत्यु भएको छ । कोखामा छर्रा लागेर गम्भीर घाइते भएका दाहालको मृत्यु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । महेन्द्रनगर बजारबाट उत्तरपूर्वतर्फ पर्ने कुचाइ टोलमा राजेश साहको घर बाहिर पोलमा राखिएको बम गएराति विष्फोट हुँदा राजेश र उनको छोरा आनन्दको मृत्यु भएको थियो । सो घटनामा प्रहरी निरीक्षक दाहाल र प्रहरी जवान रिजनाथ कुमार महतो घाइते भएका थिए । दाहाललाई शनिबार बिहान ६ः४० मा डाक्टरहरुले मृत घोषणा गरेका हुन् ।
बढ्यो नेपालीको औसत आयु
काठमाडौं: मानव विकास सूचकांकमा नेपाल १४७ औं स्थानमा आउन सफल भएको छ। नेपाल गत वर्षभन्दा दुई स्थान माथि उक्लन सफल भएको हो। गत वर्ष नेपाल १४९औं स्थानमा रहेको थियो भने यसको अघिल्लो वर्ष १४८औं स्थानमा रहेको थियो। संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी)ले मंगलबार सार्वजनिक गरेको विश्व मानव विकास प्रतिवेदन–२०१९ ले नेपालले बर्सेनि आफ्नो अवस्था सुधार गर्दै लगेको औँल्याएको छ। प्रतिवेदनअनुसार नेपालको स्थिति अफ्रिकी मुलुक केन्याको समान रहेको छ। खासगरी प्रतिव्यक्ति आय, शिक्षाको अवस्था र औसत आयुलाई आधार मानेर मानव विकास सूचकांक निकाल्ने गरिन्छ। यसमा मुलुकले गरिबी निवारण, भोकमरीबाट उम्कन गरेका प्रयास र खतरनाक रोगबाट मुक्त हुन गरेका प्रयासलाई अध्ययनमा राखिएको हुन्छ। शिक्षा, स्वास्थ्य एंव रोजगारीका क्षेत्रमा भएको सकारात्मक प्रयासले पछिल्ला २८ वर्षमा नेपालको प्रतिव्यक्ति कुल राष्ट्रिय आय १३०.५ प्रतिशतले वृद्धि भएको प्रतिवेदनले औंल्याएको समाचार राजधानी दैनिकमा छ। मानव विकास सूचकांकका आधारमा नेपाल मध्यमस्तरको देशका रूपमा रहेको छ। प्रतिवेदनमा विश्वभरका देशलाई १८९ स्थानसम्म वर्गीकरण गरिएको छ। त्यसमध्ये नेपाल अतिकम मानव विकास सूचकांक भएका मुलुकभन्दा एक कदम मात्र माथि छ। सूचीअनुसार १५३औं स्थानसम्म रहेका मुलुकलाई मध्यमस्तर मानिएको छ भने त्योभन्दा तल रहेका मुलुक कमजोर मानव विकास भएका छन्। १५३औं स्थानमा सोलोमन आइल्यान्ड रहेको छ। मानव विकास सूचकांकमा सबैभन्दा अग्रस्थानमा भने नर्वे रहेको छ । स्वीट्जरल्यान्ड, आयरल्यान्ड, जर्मनी, हङकङ, अस्ट्रेलिया, आइसल्यान्ड, स्विडेन र सिंगापुर पहिलो १० नम्बरमा रहेका छन्। नेपालको मानव विकास सूचकांक मूल्य सन् १९९० देखि २०१८ सम्ममा न्यूनतम ०.३८० देखि ०.५७९ अर्थात् औसत ०.५२६ ले वृद्धि भएको छ। सन् १९९० देखि २०१८ सम्म नेपालको जन्मदरको औसत आयुमा १६.१ वर्षको वृद्धि भएको छ। विद्यालय शिक्षाको मध्यम वर्ष २.८ वर्षले वृद्धि भएको छ भने विद्यालय शिक्षाको अपेक्षित वर्ष ४.७ वर्षले वृद्धि भएको छ । नेपालको औसत आयु वढेर अहिले ७०.५ वर्ष पुगेको छ।
कुखुरा मारेको भन्दै छिमेकीविरुद्ध मुद्दा दर्ता !
काठमाडौंः आफ्नो छिमेकीले कुखुरा मारेकाे भन्दै भारतको विहारमा मुद्दा दर्ता भएको छ । दुर्गावती थाना क्षेत्रको तिरोजपुर गाउँ निवासी कमलादेवीको छिमेकीसँग कुनै अन्य विषयमा विवाद भएको थियो । दुई दिनदेखि विवाद चलिरहेपछि रिसै रिसमा कमलादेवीको एउटा कुखुरालाई उनको छिमेकीले समातेर मारिदिए । त्यसपछि कमलादेवी प्रहरी चौकीमा उजुरी गर्न पुगिन् । उनले आफ्नो छोराको पनि कुटपिट भएको जाहेरी दिएकी छन् । प्रहरीले दुवै पक्षलाई मिलाउने कोशिस गरिरहेको थानाका इन्चार्जले स्थानीय सञ्चारमाध्यमलाई बताएका छन् । दुवै पक्ष नमिलेपछि प्रहरीले मुद्दालाई अदालत लैजाने तयारी गरिरहेको छ ।
नेपालको छैठौं विकेट पतन, विनाेद सस्तैमा आउट
काठमाडौंः बंगलादेशमा जारी इमर्जिङ एसिया कप अन्तर्गत हङकङ विरुद्धको खेलमा नेपालले ६ विकेट गुमाएको छ । नेपालले छैठौं विकेटका रुपमा विनोद भण्डारीलाई १५ रनमा गुमाएको हो । यसअघि नेपालले आरिफ शेखलाई ४२, कुशल भुर्तेललाई १, दीपेन्द्रसिंह ऐरीलाई ३७, कप्तान ज्ञोनेन्द्र मल्ल र पवन सरार्फलाई शून्य रनमा गुमायो । यो समाचार तयार पार्दासम्म नेपालले ४३ ओभरमा ६ विकेट गुमाएर १ सय ८६ रन बनाएको छ । स्कोर हेर्न यहाँ क्लिक गर्नुस् हङकङविरुद्ध नेपाली टिमका तिव्र गतिका बलर सोमपाल कामीलाई प्लेइङ ११ मा समावेश गरिएको छैन । भारतसँगको खेलमा सामान्य चोटका कारण उनल आज नखेल्ने भएका हुन् । सोमपालको स्थानमा अभिनाष बोहराले प्लेइङ ११ मा स्थान बनाएका छन् । नेपाल–हङकङ दुवै टोली पहिलो जितको खोजिमा छन् । पहिलो खेलमा नेपाल भारतसँग ७ विकेटले पराजित हुँदा हङकङ बंगलादेशसँग ९ विकेटले पराजित गरेको थियो । नेपालको प्लेइङ ११ ज्ञानेन्द्र मल्ल (कप्तान) कुशल भुर्तेल शरद भेषावकर आरिफ शेख दीपेन्द्रसिंह ऐरी विनोद भण्डारी पवन सर्राफले करण केसी अभिनाश बोहरा ललित नारायण राजवंशी सुशन भारी
कोरिया गरेको २ हप्तामै नेपाली युवकको मृत्यु
काठमाडौंः नेपालीहरुको रोजगारको आकर्षक केन्द्र बनेको दक्षिण कोरियामा एक नेपाली युवाले ज्यान गुमाएका छन्। यही शिलशिलामा भर्खर मात्र पञ्चपुरी नगरपालिका पलैटे सुर्खेत निवासी २३ बर्षीय थिरबहादुर दर्लामीले कोरिया प्रवेश गरेको १४ दिनमै ज्यान गुमाएका छन्। उनले काम गर्ने कम्पनीमा फर्मा तान्ने क्रममा सबै फर्मा उनको ज्यान माथि खसेर च्यापिन गई उनको मृत्यु भएको हो। कम्पनीमा काम गर्ने कामदारहरु आ–आफ्नो काममा व्यस्त हुन्छन् सबैले आफ्नो सतर्कता आफैले अपानाउनु पर्छ। हर्रे, सुर्खेत निवासी हाल दक्षिण कोरियामा कार्यरत ज्ञानु केसी र रवि मगरले नेपाल पब्लिकलाई जानकारी दिएका छन्। यस्ता घटना यहाँ काम गर्नेहरुका लागि कुनै नौलो कुरा त होईन तर अहिले हाम्रै जिल्ला निवासीलाई प¥यो भनी साथै यो घटनाले कोरियामा काम गर्ने सबैलाई मर्माहित बनाएको छ। त्यसैले यहाँ काम गर्नेहरु सबैको ज्यान ठूलो जोखिमा छ, दक्षिण कोरिया नेपालीहरुको रोजगारीको लागि आकर्षणको केन्द्र मात्र होईन त्यो भन्दा अझ हाम्रो ज्यान जोखिममा छ। धेरै सतर्कता अपनाउनु पर्छ, के नयाँ के पुराना सबैलाई गाह्रो हुन्छ, मेरो पनि हातको दुवै औला काटिएको छ, त्यसैले सबैजना होशियारी हुनु जरुरी छ ज्ञानु केसीले थपे। कोरिया प्रवेश गर्न साथ सबै कुरा कम्पनीले व्यहोर्ने भएतापनि स्वास्थ्य विमा कार्ड लगायतका केही कुरा प्राप्त गर्न केही समय पर्खनु पर्ने भएकोले थिर बहादुरको लासलाई नेपाल ल्याउन केही दिन लाग्ने साथै घटनास्थल सम्म पुगेर लास नेपाल पठाउने प्रक्रियामा जुटेकाहरुलाई कठिनाई भएको बताईएको छ। स्रोतः नेपाली पब्लिक
शिक्षक लाइसेन्स प्राथमिक तहको परीक्षा केन्द्र सार्वजनिक (सूचिसहित)
काठमाडौंः शिक्षक सेवा आयोगले शिक्षक लाइसेन्स परीक्षाको प्राथमिक तहको विद्यालयगत परीक्षा केन्द्र सार्वजनिक गरेको छ। ५२ जिल्लाका दुई सय ५९ परीक्षा केन्द्रमा झन्डै ७७ हजार परीक्षार्थीले परीक्षा दिने आयोगले जनाएको छ शिक्षक सेवा आयोगले गत असार २ गते प्रावि, निमावि र माविको विभिन्न पाँच किसिमको विज्ञापन खुलाएको थियो । आयोगले माध्यमिक तहको विभिन्न तीन, निमाविको एक र प्राविको एक गरी विभिन्न पाँच किसिमको विज्ञापन गरेको हो । आयोगका अनुसार २ लाख ५० हजार बढीले लाइसेन्स परीक्षाका लागि आवेदन दिएका छन् । जसमा सबैभन्दा बढी निमावि तहको नेपाली विषयका लागि ५० हजार बढी आवेदन परेको छ । यस्तै कानुन, इन्जिनियरिङलगायतका प्राविधिक विषयमा सबैभन्दा कम आवेदन परेको छ । असोज ९ गते प्रावि, १० गते मावि र ११ गते निमावि तहको परीक्षा हुँदैछ । आयोगका प्रशासकीय प्रमुख डा. तुलसीप्रसाद थपलियाले मंगबालर बेलुकीसम्म निमावि र मावि तहको परीक्षा केन्द्र पनि सार्वजनिक गरिसक्ने जानकारी दिए। पुरा नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
उपमेयर चढ्ने गाडीलाई लक्षित गरेर बम विष्फोट
भोजपुरः भोजपुरको षडानन्द नगरपालिकाकी उपमेयर मेरिका राई चढ्ने गाडीलाई लक्षित गरि कुकर बम विस्फोट भएको छ । गयराति अज्ञात समूहले उपमेयर राई चढ्ने गाडी नजिकै बम राखेको इलाका प्रहरी कार्यालय दिङ्लाले जनाएको छ । बम पूर्ण रुपमा विस्फोट नभएकाले ठूलो क्षति हुन नपाएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए । घटनास्थल नजिकै चन्द समूहको पर्चा भेटिएको प्रहरीले जनाएको छ ।
डा. सन्दुक रुइतलाई पनि डेंगु, परिवारका अरु २ जनालाई पनि संक्रमण
काठमाडौं । नेत्र विशेषज्ञ प्राडा सन्दुक रुइत तीन दिनयता अस्पतामा छन् । अघिपछि पनि काम गर्ने र पढाउने अस्प्तामामा भने होइन । डेंगुको संक्रमणले आफै बिरामी परेर थापाथलीको नर्भिक अस्पतालमा उनी भर्ना भएका हुन् । उनलाई डेंगु पनि अस्पतालमै रहँदा भएको होइन । घरैमा उनीसहित रुइत परिवारका तीनजलाई डेंगुको संक्रमण भएको हो । ‘डेंगुको अवस्था भयावह भएर आयो’ उनले भने, ‘डेंगु फैल्याउने लामखुट्टे मास्ने अभियान प्रभावकारी रुपमा चलाउन ढिला गरे झन गाह्रो हुन्छ ।’ सञ्चारमाध्यममा आएका डेंगु संक्रमितको संख्याभन्दा दोब्बर बिरामी हुन सक्ने उनले बताए । पछिल्लो समय देशव्यापी रुपमै डेंगु बढेको अवस्थामा बिरामी पर्नेमा सन्दुक एक्ला स्वास्थ्यकर्मी होइनन् । कान्तिपुर दैनिकबाट
विदेशी यौनकर्मीको अखडा बन्दै काठमाडौं
काठमाडौंः पर्यटन भिसामा आएका कतिपय विदेशीहरू वेश्यावृत्तिमा समेत संलग्न रहेको प्रहरीले जनाएको छ । जसमा चिनियाँ, रसियनदेखि उज्वेकिस्तान युवतीहरू छन् । दुई–तीन वर्षदेखि नेपालमा अवैध रूपमा बस्ने उज्वेकिस्तानका युवतीको संख्या ठूलो रहेको र उनीहरू वेश्यावृत्तिमा संलग्न रहेको अनुगमनबाट खुलेको अध्यागमन विभागका एक अधिकारीले बताए । विगतमा वेश्यावृत्ति धन्दा चलाएको आरोपमा १० चिनियाँ युवतीलाई पक्राउ गरी निष्कासन गरिएको थियो । अफ्रिकी देशका केही युवतीसमेत नेपालमा यस्तो धन्दामा संलग्न रहेको प्रहरीको आकलन छ । आर्थिक सहयोगको आवरणमा भित्रिँदै बालयौन दुराचारी बाल यौन दुराचारका लागि समेत नेपाल विश्वको प्रमुख गन्तव्य बन्न पुगेको छ । त्यसविरुद्ध प्रहरीले विशेष अभियान नै चलाएको छ । पछिल्लोपटक अस्ट्रेलियाका ६३ वर्षीय बेरीम्यान थोमस अल्फर्डलाई प्रहरीले पोखराबाट पक्राउ गरेको थियो । आर्थिक सहयोगको आवरणमा धेरैले नेपाली बालकलाई यौन दुराचार गर्ने प्रवृत्ति देखिएको सिआइबीका डिआइजी नीरज शाही बताउँछन् । समूह नै बनाएर बाल यौन दुराचारी नेपाल आउने गरेको सिआइबीको अनुसन्धानमा खुलेको थियो । राष्ट्रसंघका पूर्वअधिकारीसमेत रहेका क्यानेडियन नागरिक पिटर जन डाल्ग्लिससहित २० भन्दा बढी विदेशी हाल बाल यौन दुराचार मुद्दामा नेपालका जेलमा छन् । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।
के हो ओमिबायोसिस? जान्नुस् लक्षण, कारण र जोगिने उपाय
काठमाडौं । ओमिबायोसिस शरीरको ठूलो आन्द्रामा प्रोटोजोवाको संक्रमणबाट हुने रोग हो । विभिन्न माध्यमबाट इन्टामोका टिस्टोलिटीका नामक प्रोटोजोवा शरीरमा प्रवेश गरेपछि ओमिबायोसिस हुने गर्छ । खासगरी वर्षायाममा ओमिबायोसिस बढी देखिने गर्छ । फोहोर वातावरण, खानेकुरा छिट्टै सड्ने, जथाभावी पानी जम्ने र फोहोर हुने भएकाले यो मौसममा बढी जोखिम रहने गर्छ । ओमिबायोसिस संसारभर देखिए पनि दक्षिण एसियामा बढी समस्या छ । प्रोटोजोवा एकदेखि चार हप्तामा पूर्ण रूपमा विकसित भइसकेको हुन्छ । लक्षण –कुनै पनि माध्यमबाट एन्टोमिबा हिस्टोलिटीका नामक प्रोटोजोवा मुखको सम्पर्कमा आएपछि खाद्यनली हुँदै ठूलो आन्द्रामा गएर बस्छ । जसले बिस्तारै ठूलो आन्द्राको भित्तामा असर गर्न थाल्छ । ओमिबायोसिसको संक्रमण बढ्दै गएपछि आन्द्रामा अल्सर, खकार उत्पादनमा वृद्धि, रक्रश्राव र पखाला लाग्नेजस्ता समस्या देखिन थाल्छन् । –बिस्तारै बिरामीमा बान्ता हुने, ज्वरो आउने र कडा खालको डायरिया अर्थात् दिशासँगै रगतसमेत देखापर्न थाल्छ । पेटमा ग्यास भरिने, तौल घट्दै जाने र छालामा समस्यासमेत हुन सक्छ । कतिपयमा अत्यधिक पेट दुख्ने समस्या पनि हुने गर्छ । –कतिपय अवस्थामा अमिबा विकसित भएर दिमागमा पनि जान सक्छ । जुन निकै घातक हुन्छ । अमिबा दिमागमा पुगेमा स्वाद र बास्ना महसुस गर्ने क्षमतामा परिवर्तन हुने, ज्वरो आउने, एक्कासि टाउको दुख्ने, भ्रम हुने, बान्ता हुने, ह्याल्युसनेसन हुने, शरीर ब्यालेन्स नहुने आदि लक्षण देखिन थाल्छन् । –यस्ता लक्षण एकदमै छोटो समयमै देखिन थाल्छन् । शरीरमा अमिबा छिटो फैलिने भएकाले पनि जोखिमपूर्ण हुने गर्छ । कारण –फोहोर पानी र खानेकुराबाट अमिबाको संक्रमण हुने गर्छ । खासगरी दूषित पानीको सम्पर्कले अर्थात् जमेको पोखरी वा तलाउमा पौडी खेल्दा, फोहोर पानी चलाउँदा, दूषित पानी पिउँदा अमिबाको संक्रमण हुन सक्छ । –फोहोर खानेकुरा, बासी, भुइँबाट टिपेर खाँदा, काँचै खाइने खानेकुरा सफा नगरी खाँदासमेत अमिबाको संक्रमण हुन्छ । यसबाट रोगप्रतिरोधी क्षमता कम भएका व्यक्ति बढी प्रभावित हुने गर्छन् । –संक्रमित व्यक्तिसँगको सम्पर्क, चुम्बनबाट पनि अमिबा सर्न सक्छ । कसरी बच्ने? –काँचै खाइने खानेकुरा राम्ररी सफा गरेर मात्र प्रयोगमा ल्याउनुपर्छ । – दूषित पानी र खानेकुरा खानुहुँदैन । बाहिरबाट आएपछि राम्ररी हातमुख धोएर मात्र खानेकुरा खान सकिन्छ । दूषित पानीको सम्पर्कमा सकेसम्म जानुहुँदैन । –लक्षण देखापरेमा चिकित्सकको सल्लाह लिनुपर्छ । अमिबाको प्रोटोजोवा शरीरमा एकदमै छोटो समयमा फैलिनसक्ने भएकाले घातक हुने गर्छ । तसर्थ, छिटो उपचार गर्नुपर्ने हुन्छ । –ओमिबायोसिस भएमा औषधिको सेवनबाट निको पार्न सकिन्छ । ग्यास्ट्रोइन्टेस्टनल भइसकेको अवस्थामा शल्यक्रियाबाट पनि उपचार गर्न सकिन्छ । यो जानकारी नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।