प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका ३ सचिवसहित ४० कर्मचारी संक्रमित

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको फैलावट देशको प्रमुख प्रशासनिक क्षेत्र सिंहदरबारमै व्यापक बनेको छ। संसद सचिवालय, मन्त्रालयका साथै पछिल्लो समय प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका कर्मचारीहरु नै कोभिड–१९ को संक्रमणबाट पीडित बनेका छन्।

आइतबार बेलुकीसम्मको तथ्यांकअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका ३ सचिवसहित ४० जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। दुई दिनमा २ सय जना कर्मचारीको पीसीआर परीक्षण गर्दा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

कोभिड १९ बाट संक्रमित हुनेहरुमा आर्थिक तथा पूर्वाधार विकास हेर्ने सचिव शिशिरकुमार ढुंगाना, सीसीएमसीसीका प्रमुख रहेका प्रादेशिक समन्वय र सामाजिक विकास हेर्ने सचिवहरु रामप्रसाद थपलिया र कृष्णबहादुर रावत रहेका छन्। त्यसैगरी प्रधानमन्त्री कार्यालयमा रहेका ४० जना कर्मचारीमा कोरोना पुष्टि भएको कार्यालयका प्रवक्तासमेत रहेका सहसचिव महादेव पन्थले जानकारी दिनुभयो।

प्रवक्ता पन्थका अनुसार कार्यालयका २ सचिवमा कोरोना संक्रमण पुष्टि भएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टोली बोलाएर कार्यालयमा नै पीसीआर परीक्षण गराएको थियो। उहाँका अनुसार थप केही कर्मचारीको आइतबार परीक्षण गरिएकाले उनीहरुको रिपोर्ट आउन बाँकी छ।

 

दलहरुबीच समझदारी हुन्छः सभामुख

चितवन । सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गरेका छन् । संसद्को आह्वानका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको भन्दै उनले अब पहिले जसरी नै संसद् चल्ने विश्वास व्यक्त गरे । शनिबार चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘पहिले जसरी संसद् चलेको थियो, त्यही अनुसार संसद् चल्छ । अब दलहरुबीच छलफल र समझदारी हुन्छ ।’ राष्ट्रपतिबाट संसद् आह्वान भएसँगै कार्यव्यवस्था समितिको बैठकबाट परामर्श गरी पुरानै तवरले संसद् पुनः सञ्चालन गर्ने उनको भनाइ छ । राजनैतिक दलको विवादले संसदीय प्रक्रियालाई कुनै असर नगर्ने उनबको भनाइ थियो । सभामुख सापकोटाले भने, मैले सहजीकरण गर्ने छु । राजनैतिक दलको विवादले संसदीय प्रक्रिया रोकिँदैन ।’ संवैधानिक निकायहरूमा भएको नियुक्तिबारे सोधिएको प्रश्नमा उनले अदालतमा बहस भइरहेको विषयमा टीकाटिप्पणी गर्नु उचित नहुने बताए ।

सुनको मूल्य २०११ यताकै उच्च

एजेन्सीः न्यूयोक–वाल स्ट्रिटमा यो अनौठो समय भएको छ । सम्भावित आर्थिक सुधारको आशाबीच धितोपत्र बजार उकालो लागिरहेको छ । लगानीकर्ताहरु अझै पनि अमेरिकामा कोभिड–१९ फैलन सक्नेप्रति नर्भसको अवस्थामा छन् । यसैबीच सुनको मूल्य २०११ को सेप्टेम्बरदेखिकै उच्च विन्दुमा पुगेको छ । यो १९०० भन्दा बढीमा पुग्ने देखिएको छ । २०२० को हालसम्मको अवस्थामा सुनको मूल्य झन्डै १९ प्रतिशतले वृद्धि भएको छ । २००८ मा लेहम्यान ब्रदर्स टाट पल्टिएपछिको अवस्थामा केही कमी आएपछि सुनको मूल्यमा केही वृद्धि भएको थियो । त्यसपछि सुनको मूल्य २०११ मा सबै समयको उच्च भएको थियो । स्ट्यान्डर्ड एन्ड पुअरले अमेरिकाको क्रेडिट रेटिङ घटाएपछिको अवस्थामा सुनको मूल्य बढेको हो ।

लोकेश बमको विस्फोटक ब्याटिङ, ३७ बलमा ९० रन!

काठमाडौंः रुपन्देहीको भैरहवामा जारी अन्तरदेशीय एसियन च्यालेन्जर ट्रफी (क्लब) क्रिकेट प्रतियोगिताको उपाधिका लागि राइनो क्रिकेट क्लब र शंकरनगर क्रीकेट क्लब नेपाल खेल्ने भएका छन् । आज भएको पहिलो सेमिफाइनल खेलमा विजयी भएसँगै उपाधिका लागि राइनो र शंकरनगर क्रिकेट क्लब बुधबार उपाधिका लागि खेल्ने भएका हुन् । असरक क्रिकेट क्लब बंगलादेशविद्ध राइनो क्रिकेट क्लब नेपाल ९ विकेटले तथा दोस्रो सेमिफाइनलमा वेस्टर्न क्रिकेट क्लब नेपालविरुद्ध शंकरनगर क्रिकेट क्लब ४४ रनले विजयी हुँदै फाइनलमा स्थान बनाउन सफल भए । पहिलो सेमिफाइनल असरक स्पोर्ट्स क्लब बंगलादेशविरुद्ध राइनो क्रिकेट क्लब नेपाल टस जितेर पहिला ब्याटिङ गर्दै असरक क्रिकेट क्लबले २० ओभरमा सबै विकेट गुमाउँदै ११७ रन बनायो । उसका लागि दान रोबर्टले २४, अलि सामाद र ओस्कर कोलकले समान ३०–३० र एम्बिए चौधरीले १४ रन बनाए । बलिङमा राइनो क्रिकेट क्लब नेपालका कमलसिंह ऐरि, सूर्य तामाङ र गजेन्द्र बोहराले ३–३ विकेट लिए । एक सय १८ रनको विजय लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको राइनो क्रिकेट क्लब नेपालले १० ओभरमा १ विकेट गुमाउँदै भेट्टायो । राइनो क्रिकेट क्लबका अनुसार लोकेश बमले विस्फोटक ब्याटिङ गरे । उनले ३७ बलमा १२ छक्का र ३ चौका हिर्काउँदै नटआउट ९० रन बनाए । यस्तै राइनोको जितमा रोहितकुमार पौडेल र गजेन्द्र बोहराले ११–११ रनको योगदान दिए । दोस्रो सेमिफाइनलः वेस्टर्न क्रिकेट क्लब नेपालविरुद्ध शंकरनगर क्रिकेट क्लब टस जिते पहिला ब्याटिङ गरेको शंकरनगर क्लबले २० ओभरमा ७ विकेट गुमाउँदै १३५ रन बनायो । उसका लागि सौरभ खनालले सर्बाधिक ५९ रन बनाए । बलिङमा वेस्टर्न क्रिकेट क्लबका बिक्रम सोबले सर्बाधिक ३ विकेट लिए । एक सय ३६ रनको विजय लक्ष्यका साथ मैदान उत्रिएको वेस्टर्न क्रिकेट क्लबले १९ ओभरमा सबै विकेट गुमाएर ९१ रन मात्र बनाउन सक्यो । उसका लागि कुसल भूर्तेलले सर्बाधिक २३ रन बनाए । बलिङमा शंकरनगर क्रिकेट क्लबका साहब आलमले सर्बाधिक ४ विकेट हात पारे । (फाइल फोटो)

थरुहट बन्दः दोश्रो दिन, कैलालीमा यस्तो छ प्रभाव

धनगढीः थरुहट/थारुवान राष्ट्रिय मोर्चाले आज पनि तराईका जिल्लामा आमहड्तालको घोषणा गरेको छ। सरकारसँग १४ बुँदे माग राख्दै आन्दोलनरत मोर्चाले सरकारलाई दबाब दिन हिजो र आज कैलाली, कञ्चनपुर सहित तराईका जिल्लामा आमहड्तालको घोषणा गरिएको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अहिले बन्दको आशिंका प्रभाव देखिएको छ। छोटो दुरीका सवारी साधन केही सङख्यामा सञ्चालन भईरहेका छन् भने लामो दुरीका सवारी साधन भने अहिले चल्न सकेका छैनन्। यस्तै धनगढी सहित विभिन्न क्षेत्रमा बजार आशिंक रुपमा खुलेका छन्। मोर्चाका कैलाली प्रवक्ता चुन्नुराम चौधरीले अत्यावश्यक सेवा बाहेक यातायात, बजार, विद्यालय सबै बन्द गरिएको दिनेश खवरलाई बताए। उनले भने, ‘आमहड्तालको क्रममा कलकारखाना, उद्योगधन्दा, व्यापार व्यवसाय, शिक्षण संस्था लगायत यातायातका साधन पूर्ण रुपमा बन्द गरेका छौँ। आमहड्ताल अवज्ञागरी सवारी साधन चलाएमा उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार र स्वयमले लिनुपर्नेछ।’ आम हड्तालको समयावधिमा अतिआवश्यक सवारी साधनहरु, दमकल, एम्बुलेन्स, शव बाहन, सुरक्षा निकाय, दुध बोक्ने साधन, औषधीजन्य सवारी, रेडक्रस, मानव अधिकारकर्मी, पर्यटक, पत्रकार, कुटनीतिक नियोगका सवारी साधनहरु भने निर्वाध रुपमा सञ्चालन हुन पाउने बताइएको छ। रेशम चौधरीसहित ११ जना जेलबन्दीको रिहाइ गर्नुपर्ने, टीकापुर घटनाबारे सत्यतथ्य छानबिन गर्न पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समिति, गृह मन्त्रालयद्वारा गठित अनुसन्धान विभागका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदन र सर्वदलीय संसदीय समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायत माग राख्दै मोर्चा फागुन १ देखि आन्दोलनमा छ। आन्दोलनमा आदिवासी जनजाति महासंघ, मिसन अम्बेडकर नेपाल, खसान संघर्ष समिति, खम्बुवान राष्ट्रिय मोर्चा, संघीय लोकतान्त्रिक मञ्च, नेपाल राष्ट्रिय पार्टी, संयुक्त खस क्षेत्री नेपाललगायत संघ संस्थाले ऐक्यबद्धता जनाएका छन्।

त्रिभुवन विश्वविद्यालयमा जागिरको अवसर (सूचनासहित)

काठमाडौंः त्रिभुवन विश्वविद्यालयले विद्यावारिधि गरेका पाँच प्राध्यापक र २६ जना सहप्राध्यापक माग गरेको छ। त्रिविले बिहीबार सूचना जारी गरी अनुसन्धानात्मक विशिष्टता आधारमा यसअन्तर्गतका विभिन्न निकायहरुका लागि ३१ जना प्राध्यापक र सहप्राध्यापक माग गरेको हो। यसअन्तर्गत त्रिविले फरेष्ट्री, सिभिल इन्जिनियरिङ, अंग्रेजी शिक्षा, व्यावस्थापन र अंग्रेजी विषयका लागि एक–एक प्राध्यापक माग गरेको छ। यसैगरी २३ वटा विषयका लागि २६ जना सह–प्रध्यापक माग गरिएको छ। सो पदका लागि ५० वर्ष उमेर ननाघेका सम्बन्धित विषयमा स्नातकोत्तर गरी तोकिएको विषयमा विद्यावारीधि उपाधि प्राप्त गरिएको हुनु पर्नेछ। प्राध्यापक पदका लागि ३५ सय रुपैयाँ र सहप्राध्यापक पदका लागि ३२ सय रुपैयाँ आवेदन दस्तुर तिर्नु पर्नेछ। माग १३ देखि माघ १५ गते सम्म दोब्बर दस्तुर तिरेर पनि दरखास्त भर्न सकिने बताइएको छ।

‘गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला’को निर्माण कार्य धमाधम, आर्थिक सहयोगी थपिँदै

काठमाडौंः जनस्तरबाट निर्माण भइरहेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानका लागि आर्थिक सहयोग गर्ने क्रम दिनहुँ बढ्दै गएको छ । रंगशाला निर्माण कार्यलाई अगाडि बढाउन देश तथा विदेशमा रहेका नेपालीले आर्थिक सहयोग गरिरहेका हुन् । यसैबीच चितवनको भरतपुरमहानगरपालिका–१० का सुनिल–साबित्री रिजालले रंगशाला निर्माणका लागि ५ हजार ५ सय ५ रुपैंया सहयोग गरेका छन् । उनीहरुले सो रकम रंगशाला निर्माण अभियानका लागि धुर्मुस–सुन्तली फाउण्डेशनलाई प्रदान गरेका छन् । यस्तै ‘सक्किगोनी’ हास्य टेलिश्रंखलाका धतुरे तथा चर्चित कलाकार चिरञ्जिवी प्रसाद पुडाशैनी (सि.पी. पुडासैनी) ले पनि रंगशाला निर्माणका लागि १० हजार र उनका दाई  मुरारी प्रसाद पुडासैनीले ५ हजार रुपैंया सहयोग गरेका छन् ।  त्यस्तै तिनपाटन ११, सिन्धुली घर भई हाल डाँछी बसोवास गर्ने इश्वरा लामिछानेले पनि रंगशाला निर्माण अभियानलाई १० हजार १ सय रुपैंया सहयोग गरेकी छन् । अभियानमा जोडिने सबैलाई धुर्मुस–सुन्तली फाउण्डेशनले धन्यवाद दिएको छ । ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ चितवनको भरतपुरमा निर्माण भइरहेको छ ।

नेपालको लिम्पियाधुरा समेटेर भारतद्वारा दोस्रो पटक नक्सा सार्वजनिक

काठमाडौंः भारतले नेपालको लिम्पियाधुरा क्षेत्रको भूभाग समेटेर दोस्रो पटक आफ्नो नक्सा सार्वजनिक गरेको भन्दै विरोध सुरु भएको छ । यसअघि सार्वजनिक गरेको नक्सामा रहेको काली नदी शब्द मेटेर उसले त्यही नक्सा सार्वजनिक गरेको हो । नदीको नाम नै मेटेर भारतले त्यो भूभागमा नेपालको कुनै क्षेत्रको नाम नराखी सार्वजनिक गरेको छ । भारतद्वारा सार्वजनिक नक्साप्रति नेपालका नागरिक अगुवाहरूले विरोध गरेका छन् । सन् १८१६ मा भएको सुगौली सन्धिको धारा ५ अनुसार काली नदी नेपाल र भारतको सिमाना हो । जसअनुसार नदीवारि पर्ने नावी, गुञ्जी र गब्रयाङ गाउँ नेपालमा पर्छ । सुगौली सन्धिपश्चात् भारतस्थित ब्रिटिस अफिसर जे आदमले नेपालस्थित ब्रिटिस रेजिडेन्ट एवं तत्कालीन अधिकारी एडवार्ड गार्डनरलाई सन् १८१७ फेबु्रअरी ४ मा एक पत्र लेखे । तत्कालीन कुमाउ प्रान्त ब्रिटिस इन्डिया मातहतको नभई नेपालको भएको पत्रमा उल्लेख छ । त्यस पत्रमा सुगौली सन्धिअनुसार काली नदीको पूर्वमा पर्ने व्यास प्रगन्नाअन्तर्गतको त्यो ठाउँ नेपाल सरकारका अधिकारीहरूलाई सुपुर्द गरिदिनू भन्ने उल्लेख छ । सन् १८१७ मार्च २२ मा उही जे आदमले ब्रिटिस इन्डियाका तर्फबाट तत्कालीन कुमाउका कार्यवाहक कमिस्नर जी डब्लू ट्रललाई लेखेको पत्रमा पनि त्यही तथ्य रहेको विज्ञहरू बताउँछन् । पत्रमा काली नदीको पूर्वमा अवस्थित प्रगन्ना व्यासका गाउँ र त्यहाँका भोटिया जमिनदारहरूलाई नेपाल मातहत रहेर काम गर्न भनिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

चर्चामा स्मिता, फेरि ल्याइन् यस्ताे गीत (भिडियोसहित)

काठमाडौंः ‘मायालु तिमी कता छौ’को सफलतापछि गायिका स्मिता दाहालले नयाँ गीत ‘कल्लाई थाछैन’ बोलको नयाँ गीत ल्याएकी छन् । अर्जुन पोखरेलको संगीत तथा यादव लम्सालले लेखेको गीतलाई सोमबार सार्वजनिक गरिएको छ । स्मिता र हिमाल सागरको स्वर रहेको भिडियोमा पुष्प खड्का र रेश्मा घिमिरेको अभिनय देख्न पाइन्छ । भिडियोलाई सुब्रतराज आचार्यले निर्देशन गरेका छन् । यसअघि दाहालको ‘मायालु तिमी कता छौ’ गीत एक करोडभन्दा बढी पटक हेरिएको छ ।

रानुका बारेमा कुरा गर्दा रुन थाले हिमेश, यसरी दिए लतालाई जवाफ

मुम्बई । हिमेश रेशमियाको फिल्म ‘हैप्पी हार्डी एण्ड हीर” को गीत ‘तेरी मेरी कहानी’ रिलिज भएको छ । शुरुआतदेखि नै यो गीत निकै लोकपिैय हुँदै आएको छ । यसको कारण हो सोशल मिडिया स्टार रानु मण्डल । अवस्था यतिसम्म भयो कि यो गीत लन्चको बेला एकपटक त हिमेश साँच्चिकै रुन समेत थालेका थिए । लन्चिङ कार्यक्रममा रानु मण्डल, हिमेश रेशमिया र उनकी श्रीमती सोनियका कपूर उपस्थित थिए । मिडियासँग हिमेशले गीत, चलचित्र र रानु मण्डलका बारेमा कुरा गरिरहेका थिए । तर कुराकानीकै क्रममा हिमेश यति भावुक भए कि रुन थाले । भावुक हुँदै रुन थालेका हिमेशलाई उनकी श्रीमती सोनियाले आँसु पुछेर सान्त्वना दिइन । अहिले यो तस्वीर सामाजिक सञ्जालमा भाइरल हुन पुगेको छ । लता मंगेशकरले रानुका बारेमा नकारात्मक टिप्पणी गरेपछि यसको जवाफ रेशमले कार्यक्रममार्फत दिएका हुन । रानुको प्रतिभा लताको गीतको लय चोरी गरेर मात्रै नभएको उनले बताए ।

मलेसियामा रोजगारी विवादबारे बैठक: भोलि ‘डेडलक’ खुल्ने सम्भावना

काठमाडौं, मलेसियामा नेपाली कामदार पठाउने विषयमा १५ महिनादेखि जारी डेडलक खुल्ने संकेत देखिएको छ । आज बसेको दुई देशबीचका श्रम अधिकारीहरुको बैठक भोली बस्ने गरी टुंगिएको छ । आज सहमति जुटन नसकेको विषयहरुमा भोली सहमति जुटनसक्ने एक अधिकारीले जनाए । आजको बैठकमा मलेसिया जाने कामदारको बायोमेडिकल प्रणालीअनुसार स्वास्थ्य परीक्षण गर्ने संस्थाका विषयमा कुरा मिल्न सकेन । श्रम सम्झौतालाई कार्यान्वयन गर्न दुवै देशका उच्च अधिकारीहरु संलग्न संयुक्त कार्यदल बैठक मलेसियामा बसेको हो। बैठकमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेको नेतृत्वमा टोलीसहभागी छ। घिमिरेले दुई पक्षबीच सम्झौतालाई कार्यान्वयन गर्ने विषय सकारात्मक रुपमा अघि बढेको बताए। उनले सकारात्मक र सौहार्दपूर्ण हिसाबले बैठक भइरहेकोले बैठकमा उठेका विषयहरु बताउँदा हतार हुने बताए। ‘दुवै पक्षबीच सहमतिको नजिक पुगेका छौं,’ उनले भने, ‘भोलिसम्म टुंगिनेछ।’ मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले संयुक्त प्राबिधिक समितिको बैठ्क गतिरोध तोड्ने तर्फ अगाडि बढेको वताए। ‘दुई दिनसम्म बिषयमाथि निकै गहन र विस्तुतरुपमा छलफल भयो,’ उनले भने। नेपालले मलेसिया सरकारको स्वास्थ्य मापदण्ड र प्रक्रिया पूरा गर्ने स्वास्थ्य संस्थालाई यथाशीघ्रअनुगमन गरी बायोमेडिकल प्रक्रियामा समावेश गर्न प्रस्ताव राखेको छ। नेपालले गत साउन २१ गते नै स्वास्थ्य मापदण्ड पूरा गरेको भन्दै ३६ वटा पुराना स्वास्थ्य संस्थासहित १ सय २२ वटा संस्थाको प्रस्तावित सूची पठाएको थियो। नेपालले पठाएको स्वास्थ्य संस्थाको पत्रको जवाफ दिँदै एक साताअघि मलेसिया नयाँ स्वास्थ्य संस्था थप्न तयार भएको जनाएको थियो। मेडिकल संस्थाको छनोट विषयमा दुई देशबीच सहमति भएलगत्तै मलेसियाको रोजगारी खुल्नेछ। ‘मलेसिया र नेपाल दुवैको संयुक्त प्रयासबाट कामदारको हित, अधिकार र सुरक्षालाई संरक्षण गर्न सकिन्छ,’ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले भने,‘यसैमा हामी केन्द्रित भएका छौं। यो बैठकबाट सबै बिषयहरु टुंगिने आशा राखेको छु। यसतर्फ मलेसिया पनि सकारात्मक छ।’

२० वर्ष पहिला भारतमा अपहरण भएका छोरा फेला परे अमेरिकामा, पूरा भएन आमासँग धित मारेर कुरा गर्ने धोको

काठमाडौँ, भारतमा २० वर्षअघि अपहरणमा परेको एक बालकलाई अमेरिकामा फेला पारिएको छ। दक्षिण भारतीय राज्य तमिलनाडुको राजधानी चेन्नई निवासी नागेश्वर राव र शिवगामीका दुई वर्षका छोरा अविनाशलाई सन् १९९९ मा एक जना अटो रिक्सा चालकले अपहरण गरेर मलेसियन सोसल सर्भिस नामक सामाजिक संस्थालाई बेचिदिएका थिए। उक्त संस्थाले त्यसै वर्ष चेन्नईका तीन सय भन्दा बढी असहाय बालबालिकालाई अमेरिका, अस्ट्रेलिया र नेदरल्यान्ड्स जस्ता देशहरूमा पठाएको थियो। सीबीआईको छानबिनबाट अविनाशलाई एउटा अमेरिकी दम्पत्तिले धर्मपुत्र बनाएर पालेको खुलेको छ। अविनाशको अपहरण लगत्तैदेखि खोजबिन गरिएपनि सीबीआईले भने यस मामिलामा पहिलोपल्ट २००९मा अविनाशको डीएनए परीक्षण गरेको थियो। उक्त परीक्षणबाट उनी नागेश्वर राव र शिवगमी का छोरा भएको पत्ता लागेको थियो। छोराको पत्ता दश वर्ष पहिले नै लागे पनि अमेरिकी कानुनमा यसरी धर्मपुत्र पालिएका बच्चालाई उनका वास्तविक मातापितासँग भेट्न नपाइने प्रावधान रहेकाले राव दम्पत्तिले आफ्ना छोरालाई दश वर्षसम्म भेट्न पाएका थिएनन्। अविनाश यसै महिना २२ वर्षका भएकाले उनका वास्तविक मातापिताले उनलाई भेट्न पाएका थिए। गत सेप्टेम्बर ५ मा आफ्ना असली मातापितालाई भेटेका अविनाश निकै भावुक भएको बताइन्छ। २० वर्षपछि आमा र छोराको भेट भएपनि दुवैका बीच भाषा तगारो बनेको छ। अविनाशलाई अंग्रेजी मात्र आउँछ भने उनकी आमा तमिल भाषा बोल्ने गर्दछिन्। एक अर्काको भाषा नबुझेपनि आमा छोरा एकअर्कालाई भेटेर निकै खुसी भएको समाचार भारतीय मिडियाले लेखेका छन्। अहिले दुवै आमाछोराले दोभाषेको मध्यमले कुराकानी गर्ने गरेको बताइन्छ। आफ्ना वास्तविक आमाबुवालाई भेट्न चेन्नई आएका अविनाशले आफू अमेरिकामै बस्न चाहेको बताए। उनले भने, “मा धेरै खुसी छु, म वहाँसँग धेरै कुरा गर्न चाहन्छु तर हाल मैले फर्किनु पर्ने भएको छ। म छिट्टै फर्किने छु। ” अविनाशले अर्को पटक आउँदा तमिल भाषा सिकेर आउने र आमासँग धित मारेर कुरा गर्ने बताए। उनले भने, “म मेरी आमालाई बाताउन चाहन्छु कि मलाई उनलाई भेटेर कस्तो महसुस भैराखेको छ भन्ने कुरो बताउन चाहन्छु। ” उनले भने, “म कुनै अनुवादक बिना नै आमासँग कुरा गर्न चाहन्छु र आफ्नो मनमा लागेका कुरा वहाँसंग साझा गर्न चाहन्छु।”

हङकङेली नेपालीको दुःख देखेर भावेश बिदाइमा धरधरी रोए

काठमाडौंः नेपाली साहित्यमा विगत लामो समयदेखि कलम चलाउँदै आएका भावेश भुमरीलाई साब्लाबुङ प्रकाशनद्वारा सेप्टेम्बर २ का दिन एक बिदाइ कार्यक्रम आयोजना गरी हङकङबाट बिदा गरिएको छ । भावेश भुमरी एकल सिर्जना साँझ २०१९, हङकङका लागि अगस्त १७ तारिख हङकङ पुगेका भुमरी सबै कार्यक्रम सफल पारी सेप्टेम्बर ३ का दिन नेपाल फर्किसकेका छन् । मगर संघ हङकङको कार्यालयमा आयोजित बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै भावेश भुमरीले हङकङेली नेपाली मान्यजन, दाजुभाइ, दिदीबहिनी र साथीहरूले दिएको मायालाई अन्तर्मनदेखि सम्झे । बाहिरबाट हेर्दा सुकिला देखिने हङकङेली नेपालीहरूको दैनिकीबाट आफू अत्यन्त प्रभावित भएको भन्दै गम्भीर बने र धरधरी रोए । आफूले विगतमा कल्पना गरेको भन्दा नितान्त फरक पाएको हङकङको गतिशील विकास र हङकङेली नेपालीले हङकङ निर्माणमा खेलेको भूमिकाको सन्दर्भ उठाए । यता नेपाली हङकङ निर्माणमा १४ घन्टा काममा खटिन्छन्, उता नेपाली दिनभरि चिया गफमा नेपाल निर्माणका फजुल कुरा गर्छन् । देश निर्माण चिया गफले होइन, योजना र काम गर्नुपर्ने कुरा हङकङले सिकाएको छ भन्दै भुमरीले हरेक दिन दक्ष जनशक्तिले विदेश निर्माणमा देश छाडिरहेको वास्तविकता कोट्याए । भुमरीले विदेशमा पसिनाका धारा बगाएर पैसा आर्जन गरेको वास्तविकता खोतल्दै हङहङेली नेपालीले पाँच छपटक आफ्नो शरीरको कपडाबाट पसिना निचोरेको वास्तविताले आफूलाई द्रविभूत बनाएको कुरा राखे । त्यसरी कमाएको पैसा भए पनि नेपाल र नेपालीका दुखहरूमा मन फुकाएर सहयोग गर्ने सहयोगी नेपाली वास्तविक भगवान् हुन् भन्दै भुमरीले अनावश्यक सहयोग र खर्च गर्नबाट पैसा बचाएर आफ्ना बालबच्चाको राम्रो शिक्षामा जोड दिन पनि अनुरोध गरे । आफूलाई हङकङसम्म ल्याएर बस्ने, खाने र घुम्नेसहति एकल कार्यक्रम आयोजनाको व्यवस्थापनमा सहयोग गर्नुहुने सबैप्रति आभार प्रकट गरे । बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै साब्लाबुङ प्रकाशनका अध्यक्ष तथा साहित्यकार राजकुमार राईले भावेश भुमरीलाई हङकङमा निम्त्याएर कार्यक्रम गर्दा बौद्धिक तरङ्ग मात्र नआएर नेपालको पूर्व र पश्चिमलाई जोड्ने काम पनि भएको कुरा राखे । आफू पूर्व संखुवासभाको साहित्यकारले मध्य पश्चिम प्यूठानका साहित्यकार भावेशलाई हङकङमा बोलाएर कार्यक्रम गर्नुको उद्देश्य नै पूर्व र पश्चिमको सम्बन्धलाई फराकिलो बनाउनु हो भने । मध्य पश्चिम र पश्चिमबाट हङकङ आई बसोबास गर्दै आउनुभएका दाजुभाइ दिदीबहिनीहरू बढीभन्दा बढी लोकदोहोरी र नाचमै रमाउँदा बौद्धिक गतिविधि हुन नसकेको भन्दै राईले अबका दिनमा बौद्धिक गतिविधिका कार्यक्रमहरू गर्न पनि सुझाव दिए । हामी मगर भवनभित्र पसेका थिएनौँ, भावेशकै कारण मगर भवनमा एउटै परिवारका सदस्यजस्ता भएका छौँ भन्दै राईले आउँदा दिनमा पनि यस्तै कार्यक्रम गर्न एकजुट हुनुपर्ने विचार राखे । एउटा साहित्यकार अर्थात् भावेश हङकङ आउँदा भावेशले हङकङेली नेपालीहरूका दैनिकी, दुःख र वास्तविक जीवन देखेको र भित्रैदेखि अनुभूत गरेको कुराले आफ्नो लक्ष्यमा सफल भएको कुरा राख्दै राईले विगतमा कलाकारहरू ल्याउँदा बौद्धिक कार्यमा खासै केही हुन सकेन भने । उनले थपे, एउटा कलाकार आएको भए हाम्रा सुख मात्र देख्थे, रमाइलो मात्र देख्थे, हामीलाई तिनै सुख र रमाइलोमा रमाएको मात्रै देख्थे र त्यहीअनुसारका व्यवहार गर्थे तर साहित्यकार भावेश आउँदा हाम्रा सुख कहीँ पनि देखेनन् । बिहान पाँच बजे कोठाबाट निस्केर राति नौ बजे कोठा पसेको समय देखे, निर्माण क्षेत्रमा चौध घन्टा पसिनाका धारा बगाएका, पसिनाले निथ्रुक्क भिजेका कपडा चारपाँचचोटि निचोरेको वास्तकिता देखे । चारपाँच घन्टा आफ्नो कोठामा सुतेर या बिताएर खाजा भोलामा राखी काममा कुदेका नेपालीले पसिना पुच्दै भुइँमा बसेर खाजा खाएका वास्तविक जीवनहरूलाई बुझे । तिनै बुझाइलाई आफ्नो सम्झे र आँसु बर्साए । साहित्यकारले हेर्ने दृष्टि र खोज्ने विषय फरक हुन्छन् । यी कुरा मैले भावेशमा पाएको छु । भावेशले हङकङेली नेपालीहरूको वास्तविक जीवनबोध गराउने छन् पाठकहरूलाई । यस्तै कारण अबका दिनमा भावेशजस्ता साहित्यकारहरूलाई ल्याउनुपर्छ र बौद्धिक विकासमा ध्यान दिनुपर्छ । राईले भावेश साब्लाबुङ पुस्तकालय अभियानका एक सक्रिय सदस्य भएकाले सामाजिक कार्यमा पनि भावेशको हङकङ यात्राले महत्वपूर्ण भूमिका खेल्ने विश्वाससमेत राखे । बिदाइ कार्यक्रम साहित्यकार जीतकर्ण राईले सञ्चालन गरेका थिए भने साहित्यकार किराती जेबी राई, सुशिला राई, विशु सम, मगर संघ हङकङकी अध्यक्ष युगमाया राना, सोही संघका सचिव नन्द राना, महिला मगर संघ हङकङकी अध्यक्ष कुमारी थापा, पुनमगर समाज हङकङकी अध्यक्ष गोमा पुन, समाजसेवी मनोज सूर्यवंशी, शिला राना, झलक पल्ली, जगत् अम्बु, मातृदीप राई, विनोद सुनारीलगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो । भावेश राजकुमार राई, विशु सम, युगमाया राना, जीतकर्ण राई, जयप्रकाश गुरुङ, नेत्र पहराई, मेख आले आदिको आर्थिक प्रायोजनमा हङकङ पुगेका थिए । गत अगस्त २४ का दिन साब्लाबुङ प्रकाशन हङकङको आयोजनामा भावेश भुमरी एकल सिर्जना साँझ २०१९, हङकङ आयोजना गरिएको थियो । सो कार्यक्रममा गत साल बेलायत भ्रमणका विषवस्तुलाई अनुभूतिमय तरिकाले नियात्रामा उतारेको भावेशको भिसाको रङ नियात्रासङ्ग्रहको विमोचन पनि गरिएको थियो । स्थायी रूपले नेपालमा बस्दै आएका भावेशको बेलायत भ्रमणको नियात्रासङ्ग्रह हङकङमा विमोचन हुनु एउटा अनौठौ संयोगमात्र नभएर फरक रेकर्ड पनि हो । सो एकल साँझ अत्यन्त सफल र भव्य भएको थियो ।

मार्क्सले भारतबारे किन र के लेखे ?

फकरुल अलाम गएको अक्टोबरमा दिल्लीस्थित एक किताब पसलमा मैले ‘भारतबारे कार्ल मार्क्स’(कार्ल मार्क्स अन इन्डिया) नामको पुस्तक भेट्टाए“। जुन पुस्तक सम्पादन अलिगढ मुस्लिम विश्वविद्यालयका पूर्वप्राध्यापक इक्बाल हुसेनले गरेका हुन्। अलिगढ इतिहासकार समाजको संरक्षकत्वमा टुलिका बुक्सले सन् २००६ मा सो पुस्तक प्रकाशन गरेको रहेछ। अलिगढका विख्यात इतिहासकार प्राध्यापक इरफान हबिबको लामो भूमिका भएकाले पनि मलाई त्यो पुस्तकले तान्यो। पाना पल्टाउ“दै गर्दा मेरो दिमागमा इडवार्ड सेइडको पुस्तक ‘ओरियन्टालिज्म’ मा रहेको एउटा प्रसंग खेलिरहेको थियो। सेइडले पुस्तकमा मार्क्समा ‘पूर्वीयतावादी’(ओरियन्टालिस्ट) दृष्टिकोण रहेको दाबी गरेका छन्। मैले उक्त पुस्तक सन् १९८० मा पहिलोपटक पढेको थिए“। त्यसले ममा गहिरो प्रभाव पारेको थियो। मार्क्सले भारतबारे लेखेका लेख र भारतसम्बन्धी उनको बुझाइ केलाएर सेइडले मार्क्सबारे गरेको दाबी कति सही हो वा होइन भनी बुझ्ने विचार गरें। मार्क्सले भारतबारे किन, कसरी र के लेखे ? प्राध्यापक हुसेनले लेखेको भूमिकामा मार्क्सले सन् १८५३ देखि ‘द न्यु योर्क डेली त्रिब्युन’ मा भारतबारे लेख्न थालेको कुरा उल्लेख गरिएको छ। मार्क्सका लेखहरू सामान्यतया भारतको इतिहासस“ग जोडिएका छैनन्। न त उनलाई अंग्रेजी भाषामा लेख्ने लेखककै रूपमा मात्र हेर्न मिल्छ। तथापि उनले हरेक वर्ष पाठक बढ्दै गएको अंग्रेजी भाषामा भारतीय उपमहाद्विपबारे लेखका थिए। हुसेनका अनुसार मार्क्सका लागि त्रिब्युनमा ती लेख लेख्न उति रुचि भने लागेको थिएन। त्रिब्युनका लागि ती लेख लेख्नुपर्दा उनी आफ्ना अरू महŒवपूर्ण काममा ध्यान दिन सक्दैनथे। जस्तै, उनी त्यही समयमा क्रनड्रिसा (१८५७) र अर्थराजनीतिक आलोचनामा योगदान (१८५६) नामका कृति लेख्दै थिए। त्यतिबेला मार्क्सको आर्थिक अवस्था निकै गएगुज्रेको थियो। भारत र अरू समसामयिक घटनाक्रमबारे ‘त्रिब्युन’मा लेखेबापत प्राप्त हुने पैसा र एंगेल्सले पठाउने सहयोगबाहेक परिवारको खर्च धान्न मार्क्सस“ग अरू कुनै आर्थिक स्रोत थिएन। अर्को शब्दमा, उनले भारतबारे जति लेख लेखे ती सबै लेख्नैपर्ने (जीविकाका लागि) भएर लेखे। ‘भारतबारे कार्ल माक्र्स’ पुस्तक पढ्दा म सबभन्दा चकित भएको पक्ष– अंग्रेजी लेखनमा माक्र्सको सिद्धहस्तता हो। सन् १८५० को दशकमा भारतमा भइरहेका घटनाबारे जुन शक्ति र स्पष्टताका साथ उनले व्याख्या गरेका छन्, त्यसले मलाई चकित तुल्यायो। ‘भारतबारे कार्ल मार्क्स’ पुस्तकमा संकलित ५९ लेख सन् १८५० को दशकमा भारतीय उपमहाद्विपमा भइरहेका घटना र तिनका गम्भीर प्रभावबारे गहिरो जानकारी भएको मानिसले नै लेखेको प्रस्ट बुझिन्छ। पु“जीवाद र ऐतिहासिक परिवर्तनबारे मार्क्सका विचार निर्माणका निम्ति भारतका ती घटनाक्रम कच्चा पदार्थसरह थिए। विशेषतः भारतमा बेलायती शासनले पु-याएको हानि र त्यसले भारतीय उपमहाद्विपका जनताबीच भित्रभित्रै सल्काएको असन्तोषको आगोप्रति मार्क्सको विशेष चासो थियो। भित्रभित्रै सल्किरहेको त्यो असन्तोषको आगोले सन् १८५७ मा विस्फोटको रूप धारण ग¥यो। त्यस वर्ष भारतमा भएको सैनिक विद्रोहबारे जानकारी लिन र तिनका कारण तथा प्रभाव विश्लेषण गर्न मार्क्सले निकै जा“गर चलाएका थिए। त्यतिबेला अंग्रेजहरूले मच्चाएको हत्याकाण्डको पनि मार्क्सले विश्लेषण गरेका थिए। कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सले भारतबारे ‘त्रिब्युन’ पत्रिकामा लेखेका सामग्री ‘भारतबारे कार्ल मार्क्स’ पुस्तकमा संकलित छन्। त्यसमा संग्रहित लेख–रचना कुनै लामा र कुनै छोटा छन् भने तिनले समेटेका विषयवस्तुका आधार पनि भिन्न–भिन्न छन्। कुनै लेख सामान्य टिपोटमा सीमित छन् भने केही सामग्री लामो र गहिराइसम्म पुगेर लेखिएका छन्। कुनै रचना तत्कालीन समयमा भइरहेका घटना वा युद्धको संक्षिप्त विवरण मात्र हुन् भने कतिपय लेखमा भारतीय उपमहाद्विपमा भइरहेका उथलपुथलको विश्लेषणात्मक टिप्पणी गर्दै तिनका प्रभावबारे निष्कर्ष निकालिएका छन्। तर जे विषयमा जसरी लेखे पनि मार्क्सले आफ्नो मूल तर्क प्रमाणित गर्न मनग्य तथ्य–तथ्यांक प्रस्तुत गर्ने गरेका छन्। भारतबाट इस्ट इन्डिया कम्पनीले संकलन गर्ने ठूलो मात्राको राजस्व होस् वा भारतीयका लागि तिनीहरूले गर्ने खर्चको चर्चा गर्दा होस् अथवा भारतीय उपमहाद्विपका जनताको हितको कुनै ख्याल नगरी सौखिन जीवनयापन गर्ने लोभी मनसायका बेलायती प्रशासकको कुरा गर्दा होस्, मार्क्स प्रशस्त तथ्यकै आधारमा निष्कर्षमा पुगेका हुन्छन्। उनले तत्कालीन भारतमा भएका विद्रोह र तिनले निम्त्याएका विपत्तिबारे विस्तृत रूपमा लेखेका छन्। बेलायत र भारतबीचको व्यापारबारे उनले प्रशस्त तथ्यांक प्रस्तुत गरेका छन्। भारत र चीनबीच हुने अफिमको व्यापारिक कारोबारबारे पनि उनले तथ्य–तथ्यांकसहित प्रस्तुत गरेका छन्। चीन र भारतबीचको अफिम कारोबारको सबभन्दा बढी फाइदा अं्ग्रेजहरूले उठाउँथे। भारतमा अफिमको खेती गरी चीनमा व्यापार बेलायतीहरूले गर्थे। भारतमा भएको सिपाहीं विद्रोहबारेको लेखमा मार्क्सले सैनिक कोणबाट निकै राम्रो विश्लेषण गरेका छन्। सिपाहीं विद्रोहका विभिन्न चरणबारे उनले आफ्ना टिप्पणीसहित व्याख्या गरेका छन्। विद्रोह दबाउन अंग्रेजहरूले लिएका रणनीतिको उनले प्रस्ट चित्रण गरेका छन्। उनले सो लेखमा सिपाहीं विद्रोहको आर्थिक पक्षबारे जोडका साथ लखेका छन् भने तत्कालीन परिस्थितिमा प्राप्त सबै तथ्यांकका आधारमा सो विद्रोह चालु रहे अंग्रेजले भोग्नुपर्ने आर्थिक प्रभावबारे चर्चा गरेका छन्। अंग्रेज शासकका हरेक दाबीको रौँ चिरा केलाएर उनले उनीहरूको लोभ र क्रुरताको पर्दा उघारिदिएका छन्। सन् १८५३ सम्म लेखिएका लेखहरूमा मार्क्सले अंग्रेज शासनका विध्वंसकारी र हानिकारक प्रभावबारे चर्चा गरेका छन्। सो संकलनको अन्तिम लेखमा उनले सिपाहीं विद्रोहलाई दबाए पनि र भारतमा ‘शान्ति’ कायम गरे पनि भारतीय जनताको बैचेनी कायम रहेको उल्लेख गरेका छन्। इस्ट इन्डिया कम्पनीले गरेको दमनबाट वाक्कदिक्क भारतीय जनताबीच विद्रोहको मनग्य संकेत रहेको मार्क्सले लेखेका छन्। अंग्रेजी भाषाका सिद्धहस्त लेखक ‘भारतबारे कार्ल मार्क्स’ पुस्तक पढ्दा म सबभन्दा चकित भएको पक्ष– अंग्रेजी लेखनमा मार्क्सको सिद्धहस्तता हो। सन् १८५० को दशकमा भारतमा भइरहेका घटनाबारे जुन शक्ति र स्पष्टताका साथ उनले व्याख्या गरेका छन्, त्यस कुराले मलाई चकित तुल्यायो। उदाहरणका लागि बेलायतको अनुदार पार्टीका नेता लर्ड स्टान्लेले ‘विपरीत विचारहरूलाई एकै ठाउ“मा ल्याउने सूत्र फेला पारी’ गरेको संसदीय तिकडमलाई मार्क्सले ‘समय सम्मिलन’ को सूचक भन्ने शब्दावली प्रयोग गरेका छन्। यो शब्दावली निकै रोचक छैन त ? आज हामी बा“चिरहेको बंगलादेशको सन्दर्भमा र विशेषतः चुनावी वर्षहरूमा यो शब्दावली प्रयोग सान्दर्भिक हुने गर्दैन र ! ‘भारत’ शीर्षकमा सन् १८५३ को जुलाई १ मा लेखेको लेखमा मार्क्सले यो शब्दावली प्रयोग गरेका छन्। मार्क्सले ‘बेलायतका विभिन्न पार्टीले भारतबारे राख्ने धारणा र ती कुलीन, पैसातन्त्री र मिल मालिक(उद्योगपति)बीच भारतको प्रगतिबारे रहेको झगडाको फाइदा विचरा हिन्दू (भारतीय जनता) ले कसरी उठाउन सक्छन्’ भन्नेबारे एउटा अर्को लेख लेख्ने तयारी गरिरहेको जानकारी पाठकसमक्ष राखेर व्यंग्यपूर्वक सो लेखको अन्त्य गरेका छन्। आजको समयमा उभिएर हेर्दा अहिले समाजमा कुलीन(राजा–महाराजा) वर्ग त नहुन सक्छ तर ‘पैसातन्त्री’ र ‘मिल मालिक’ शब्दहरू आज हामी बा“चिरहेको समयका लागि पनि उत्तिकै सान्दर्भिक छैन र ! वास्तवमा यहा“ चर्चा गरेको लेख भारतबारे मार्क्सले लेखेको एउटा लामो प्रभावशाली लेख हो। सन् १८५३ को जुलाई ११ मा सो लेख ‘त्रिब्युन’मा प्रकाशन भएको थियो। यो तुलनात्मक रूपमा लामो लेख हो। ‘इस्ट इन्डिया कम्पनी–इतिहास र परिणाम’ शीर्षकको सो लेख व्यंग्यात्मक टिप्पणीले भरिपूर्ण छ। त्यसपछि लेखिएका अन्य धेरै लेख पनि व्यंग्यपूर्ण नै हुने गरेका थिए। मार्क्सले तिनमा निकै तिक्ततापूर्वक इस्ट इन्डिया कम्पनीको ‘तीखो मानवतावाद’ बारे टिप्पणी गरेका छन्। अर्कातिर उनले आफूले भन्ने गरेको ‘पाखण्डपूर्ण शान्तिकामी’ को वास्तविकता उजागर गरिदिएका छन्। त्यसो गरेर उनी वास्तवमा भारतीय जनतामाथि कसरी कम्पनीले शोषण गरिरहेको छ भन्ने देखाउन चाहन्थे। बेलायती राजनीतिका पाखण्डीको सहयोगमा कम्पनीका आत्मकेन्द्रित अधिकारीहरूले नंग्याएको बेलायतको वास्तविकता देखाउन चाहन्थे। ‘भारतको प्रश्न’ शीर्षकको लेखमा प्रखरवक्ता र सिद्धान्तनिष्ठ राजनीतिक व्यक्तिका रूपमा चित्रण गरिएका बेन्जामिन डिजरायलबारे मार्क्सले गरेको बुद्धिमत्तापूर्ण चरित्र चित्रण हेरौँ ः ‘कुनै समय उनी सूक्तिहरूमा छाउन सफल भए। तर अहिले उनी औपचारिक सम्मानको निरसताभित्र ती सूक्ति गाड्ने प्रयासमा लागेका छन्।’ बेलायती उपनिवेशको विरोध मार्क्स बेलायती उपनिवेशवादका स्थायी विरोधी थिए। बेलायतीहरू ‘भारतमा लुटपाट मच्चाउने सुविधा’ चाहिरहेकामा मार्क्स विश्वस्त थिए। त्यो निष्कर्षमा पुग्न उनलाई इस्ट इन्डिया कम्पनीको कुनै नया“ घोषणापत्र आवश्यक पर्दैन्थ्यो। मार्क्सले सन् १७९० देखि भएको स्थायी बसोबासको विरोध गरेका थिए। जमिन्दारी र जोताहास“ग कर उठाउने ¥योत्वारी प्रणालीको विरोध गरेका थिए। मार्क्सले ती सबै प्रणालीलाई भारतका जनताको आर्थिक शोषण गर्ने कम्पनीका विभिन्न जालसाँझीका रूपमा व्याख्या गरेका थिए। मार्क्सको विचारमा भारतमा सरकारको नीतिको विरोध गर्ने र स्वतन्त्र व्यापारका पक्षमा वकालत गर्ने म्यान्चेस्टरका नेता जोन ब्राइटजस्ता राजनीतिज्ञहरूसमेत राम्रो मनसायका थिएनन्। उनीहरू पनि भारत ध्वस्त बनाउन सरकारजत्तिकै दोषी थिए किनभने बेलायती कपडा भारतजस्तै कब्जामा लिइएका बजारमा विस्तार गर्नुपर्छ भन्ने पक्षमा गरेको वकालतबाट पनि उनीहरूको वास्तविक मनसाय प्रस्ट हुन्छ। बेलायती कम्पनीको ध्वंसकारी नीतिको प्रमाणका रूपमा उनले बंगालका कपडा बुन्ने जनताको अवस्थाबारे प्रकाश पारेका थिए। बेलायती शासकहरूले बंगालका कृषि र कपडा उद्योगलाई ध्वस्त बनाइदिएका थिए। युरोपले कुनै बेला कसरी भारतीय कपडाको उल्लेख्य उपभोग गरेको थियो भन्ने चर्चास“गै मार्क्सले बेलायती उपनिवेशवादीहरूले भारतका घरेलु कपडा र घरमै कपडा बुन्ने चर्खा विस्थापन कसरी गरेका थिए भन्नेबारे लेखेका छन्। भारतकै स्थानीय कपडा उत्पादन प्रणाली ध्वस्त बनाएर बेलायती उपनिवेशवादीहरू युरोपेली बजारबाट भारतीय कपडा विस्थापन गर्न सफल भएका थिए। (फकरुल अलाम बंगलादेशका प्राज्ञ, लेखक र अनुवादकर्ता हुन्। उनी हाल इस्ट–वेस्ट युनिभर्सिटीका प्रो–भिसी छन्।) स्रोतः मन्थ्ली रिभ्यु/ नेपाली अनुवादः नीरज लवजू नागरिक दैनिकमा आइतबार, २२ बैशाख २०७६ प्रकाशित आलेख सान्दर्भिक देखिएकोले यहाँ साभार गरिएको छ ।

डा. सन्दुक रुइतलाई पनि डेंगु, परिवारका अरु २ जनालाई पनि संक्रमण

काठमाडौं । नेत्र विशेषज्ञ प्राडा सन्दुक रुइत तीन दिनयता अस्पतामा छन् । अघिपछि पनि काम गर्ने र पढाउने अस्प्तामामा भने होइन । डेंगुको संक्रमणले आफै बिरामी परेर थापाथलीको नर्भिक अस्पतालमा उनी भर्ना भएका हुन् । उनलाई डेंगु पनि अस्पतालमै रहँदा भएको होइन । घरैमा उनीसहित रुइत परिवारका तीनजलाई डेंगुको संक्रमण भएको हो । ‘डेंगुको अवस्था भयावह भएर आयो’ उनले भने, ‘डेंगु फैल्याउने लामखुट्टे मास्ने अभियान प्रभावकारी रुपमा चलाउन ढिला गरे झन गाह्रो हुन्छ ।’ सञ्चारमाध्यममा आएका डेंगु संक्रमितको संख्याभन्दा दोब्बर बिरामी हुन सक्ने उनले बताए । पछिल्लो समय देशव्यापी रुपमै डेंगु बढेको अवस्थामा बिरामी पर्नेमा सन्दुक एक्ला स्वास्थ्यकर्मी होइनन् । कान्तिपुर दैनिकबाट

गायिका कोपिला गौतमको मौलिक तीज गीत ‘आमाले पकाएको दर राम्रो’ सार्वजनिक

पछिल्लो समय नेपाली सांगितिक बजार तीज गीतले छोएको छ । दिनप्रतिदिन नयाँ¬–नयाँ तीज गीतहरु सार्वजनिक भएका छन् । त्यसैक्रममा पुरानी गायिका कोपिला गौतमको पनि मौलिक तीज गीत सार्वजनिक भएको छ । गौतमको नयाँ तीज गीतको बोल हो ‘आमाले पकाएको दर राम्रो’ । वास्तवमा भेलिलाई तीजमा माईती नै प्यारो हुन्छ । भनिन्छ ‘भेलीलाई माईतीको कुकुर पनि प्यारो लाग्छ ।’ त्यसैअनुसार तयार परिएको गीत ‘आमाले पकाएको दर राम्रो’ हो । पछिल्लो समय पुरानो गायिका कोपिला गौतमको गीतहरु त्यति बजारमा आएका छैनन् । तर, तीज गीत भने उनले प्रत्यक बर्ष बजारमा ल्याईरहेकी छन् । पूर्वको ईलाममा जन्मिएकी गौतमलाई पश्चि गीत गाउन त्यति सजिलो त थिएन । तर यनले त्यसलाई सामना गरी लाईभ दोहोरी गाउँछिन् । पूर्वेली भाकाहरु देखि पश्चिमको दोहोरी गीतसम्म गाउँदै आएकी छन् । उनको स्वर करिब एक डेड दर्जन गीतहरु बजारमा आएका छन् । केही वर्षअघि गायक पशुपति शर्मासँगको सहकार्यमा गौतमको ‘पोखरा फेवाताल’ सुपरडुपर हिट भएको थियो । आजका दिनमा पनि यो गीत त्यतिकै हिट छ । त्यस्तै चन्द्र शर्मा र प्रचण्ड जिसीसँग गाएको तीज गीत ‘चौतारी ताकेर’ले गत बर्ष चर्चा बटुल्न सफल भएको थियो । ‘आमाले पकाएको दर राम्रो–आफैंले रोजेको वर राम्रो’ गीतमा गीतकार तथा पत्रकार लोकराज अधिकारीको शब्द रहेको छ । जसमा गोविन्दमधुर आचार्यले संगीत दिएका छन् भने उनकै संगीत संयोजन रहेको छ । स्वर कोपिला गौतमको रहेको छ । यस गीतको म्यूजिक भिडियोलर्फ स्मृति तिमिल्सिना ‘गुरुआमा’ले निर्देशन गरेकी छन् । भिडियोमा भने कोपिला गौतम आफैं देखिएकी छन् जसमा चाहना राना मगरको अभिनय रहेको छ । सुरेश श्रेष्ठको छायाँकन रहेको यस भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका छन् । गीतलाई शुभकामना मिडियाले बजार व्यवस्थापन गरेको हो । अडियो भिडियो दुवै पक्षमा मौलिकता झल्किएको ‘आमाले पकाएको दर राम्रो’ गीतलाई म्यूजिक खबरको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ । भिडियो हेर्नुहोस्