उडिशाको बालासोरमा भएको रेल दुर्घटनाको अनुसन्धान सीबीआईले गर्ने
एजेन्सी । उडिशाको बालासोरमा गत शुक्रबार भएको रेल दुर्घटनाको अनुसन्धान केन्द्रीय जाँच ब्युरो (सीबीआई) ले गर्ने भएको छ ।
एउटा मालबाहक र दुईवटा यात्री बाहक रेलसहित तीनवटा रेल एकैपटक दुर्घटना हुँदा ज्यान गुमाएका यात्रीका परिवारजन तथा घाइते यात्रीलाई हालसम्म रु १६ करोड क्षतिपूर्ति उपलव्ध गराइएको छ ।
दक्षिण पूर्वी रेलवेका एक अधिकारीका अनुसार आजसम्ममा क्षतिपूर्ति पाएका पाँच सय ३१ जनामध्ये सामान्य घाइते भएका तीन सय तीन जना, गम्भीर घाइते भएका एक सय नौ जना र मृत्यु भएका एक सय १९ जनालाई रु १५ करोड ६० लाख क्षतिपूर्ति प्रदान गरिएको छ ।
आफ्नो परिवारका सदस्य गुमाएका र क्षतिपूर्ति लिन चाहने परिवारलाई कटक, मिदनापुर, भुवनेश्वर र बालासोरमा स्थापना गरिएका सहयोग केन्द्रमा सम्पर्क गर्न दक्षिणपूर्वी रेलवेका आदित्य कुमार चौधरीले बताएका छन् ।
यसैबीच पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले दुर्घटनाग्रस्त कोरोमण्डल एक्सप्रेसमा सवार आफ्नो राज्यका ३१ जना यात्री अझै बेपत्ता रहेका बताएका छन् । दुर्घटनामा दुई सय ७८ जनाको ज्यान गएको छ भने एक हजार एक सय जना घाइते भएका छन् । करिब तीन दशकयता भारतमा यति भीषण सार्वजनिक यातायात दुर्घटना भएको थिएन ।
५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ५० वर्षीय पुरुष पक्राउ
दाङ । दाङमा ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले लमही नगरपालिका–८ सतबरिया संघर्ष टोलका ५० वर्षीय जनकु चौधरीलाई पक्राउ गरेको हो । जनकुले गत पुस ११ गते दिउँसो सोही ठाउँस्थित खोल्सामा लगि ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
कर्नाटकमा कांग्रेसलाई स्पष्ट बहुमत, सत्तारुढ भाजपालाई झड्का
एजेन्सी । कर्नाटक विधानसभा चुनावमा भारतीय काङग्रेस (काङ्ग्रेस–आई) ले २२४ सिटमध्ये १३६ सिट प्राप्त गरी बहुमत प्राप्त गरेको छ । निर्वाचन आयोगले दिएको जानकारीअनुसार कर्नाटक बिधानसभामा विजेपीले ६५ सीटमा खुम्चिएको छ । भारतको कर्नाटक राज्यमा भारतीय राष्ट्रिय कांग्रेस पार्टीले बहुमत प्राप्त गरेको छ । कर्नाटक विधानसभाका लागि भएको निर्वाचनको मतपरिणामअनुसार कांग्रेसले १३६ सीट जितेको छ । २२४ सदस्यीय विधानसभामा बहुमतका लागि ११३ सीट आवश्यक पर्छ । त्यस्तै, सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले नराम्रोसँग हार बेहोर्नु परेको छ । उसले ६५ सीट मात्रै जितेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अगाडि सारेर चुनावमा होमिएको भाजपाले सत्ता गुमाएको छ । गत निर्वाचनमा १०४ सीट जितेको थियो । तेस्रो स्थानमा रहेको क्षेत्रीय दल जनता दलले १९ सीट जितेको छ भने अन्य साना दल र स्वतन्त्रले चार सिटमा जितेका छन् । भारी समर्थन देखिएपछि काङ्ग्रेसले पार्टीको दिल्लीस्थित केन्द्रीय कार्यालय र कर्नाटकस्थित क्षेत्रिय कार्यालयमा पटाका पड्काएर खुशी मनाएका छन् । कर्नाटक विधानसधाको २२४ सदस्यका लागि यही मे १० मा सम्पन्न भएको निर्वाचनको मत गणना शनिबार बिहान ८ बजेदेखि शुरू भएको थियो । राजनीतिक दलहरूको चर्को प्रचार–प्रसार भएको यो चुनाव भाजपा र काङ्ग्रेस दुवैका लागि महत्वपूर्ण छ ।
पत्रकारिता क्षेत्रका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री शर्मा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भएका कानुनको प्रभावकारी कार्यान्वयन, असान्दर्भिक कानुनको पुनरावलोकन, आवश्यक कानुन निर्माण र सोहीअनुरुप कार्यक्रम तर्जुमा गरी पत्रकारिता क्षेत्रका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्। आठौँ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री शर्माले आमसञ्चारका माध्यमहरुलाई राष्ट्रिय उद्योग सरह मान्यता दिने, विज्ञापन नियमन गर्ने ऐनले निर्दिष्ट गरेका एकद्वार र समानुपातिक प्रणालीलाई व्यवस्थित गर्न नियमावली बनाउनेलगायत काम भइरहेको र अन्य केही महत्वपूर्ण कानुन निर्माणको चरणमा रहेको जानकारीसमेत दिइन् । सरकारका प्रवक्ता शर्माले भनिन्, “पत्रकारिता क्षेत्रको विकासका लागि सरकारले धेरै काम गर्नु पर्नेछ, भूकम्प, कोरोनाजस्ता शृङ्खलाबद्ध प्रकोपका कारण सिर्जित आर्थिक समस्याले मिडिया क्षेत्र प्रभावित छ, सञ्चार संस्थाको सवलीकरण र श्रमजीवी पत्रकारको भौतिक तथा पेशागत सुरक्षाप्रति सरकार गम्भीर छ । नेपाली पत्रकारिता क्षेत्रले ठूलो फड्को मारेको छ ।” संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चित गरिएपछि पत्रकारिताको विकास र प्रेस स्वतन्त्रता हक कसैले खोस्न नसक्ने गरी स्थापित भइसकेको बताउँदै मन्त्री शर्माले कानुन निर्माण वा अन्य कुनै पनि सवालमा प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने गतिविधि हुन नदिन सरकार प्रतिबद्ध रहेको प्रष्ट पारिन्। उनले भनिन्, “यो हाम्रा लागि गौरवको दिन हो । झण्डै सवा सय वर्ष लामो नेपाली पत्रकारिताको समीक्षा गर्दै आजको दायित्वबारे छलफल गर्ने यो महत्वपूर्ण अवसर पनि हो ।” राजनीतिक उपलब्धिलाई संस्थागत गर्ने र यसमार्फत जनताको जीवनस्तरमा रुपान्तरण ल्याउनु राजनीति र पत्रकारिता दुवै क्षेत्रको साझा दायित्व बन्न पुगेको उनको भनाइ छ । मन्त्री शर्माले समाजमा बढ्दै गएको नकारात्मकताको प्रवृत्तिलाई न्यून गर्न सहीलाई सही र गलतलाई गलत भन्ने समाचालोचनात्मक चेतको विकास गर्दै विभिन्न क्षेत्रमा भइरहेका सकारात्मक प्रयासलाई रोडमोडलका रुपमा प्रस्तुत गरी नकारात्मक पक्षलाई सुधार्ने र सकारात्मक पक्षलाई समाजको मूल धार बनाउने प्रवृत्तिको विकास गर्न पत्रकारिता क्षेत्रले थप योगदान गर्ने अपेक्षासमेत गरिन्। उनले भनिन्, “पत्रकारिताका माध्यमबाट समाज रुपान्तरणको अभियानमा लाग्दै गर्दा आफ्नो अमूल्य जीवन बलिदान गर्नुभएका सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइते, अपाङ्गलगायत पत्रकारिता क्षेत्रको विकासमा योगदान गर्नेप्रति उच्च सम्मान प्रकट गर्दछु, आठौँ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा पत्रकारिता क्षेत्रलगायत सबैमा पुनःशुभकामना दिन चाहन्छु ।”
मेक्सिकोमा भएको सवारी दुर्घटनामा १८ जनाको मृत्यु ३३ घाइते
एजेन्सी । मेक्सिकोको पश्चिमी राज्य नायरिटमा एक पर्यटक बस राजमार्गमा पल्टिँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने अन्य ३३ जना घाइते भएका छन् । नायरित राज्यका महान्यायाधिवक्ताको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “शनिबार राति १५ मिटर गहिरो खाल्डोमा गाडी खस्दा त्यसमा सवार ११ महिला र सात पुरुषको मृत्यु भएको छ भने घाइतेलाई राज्यका तीन वटा अस्पतालमा उपचारका लागि पठाइएको छ ।” पर्यटक बस मध्य जालिस्कोको ट्लाजोमुल्कोबाट नायरिटको समुद्री किनारको गन्तव्य ग्वायाबिटोसतर्फ प्रस्थान गरिरहेको समय दुर्घटनामा परेको जलिस्को राज्यका गभर्नर एनरिक अल्फारोले पुष्टि गरे ।
मलेसियामा एक नेपाली म्यानपावर व्यवसायीको संकास्पद मृत्यु
दोहा । मलेसियामा एक नेपाली म्यानपावर व्यवसायीको मृत्यु भएको छ । सोलुखुम्बु नेचा सल्यान गाउँपालिका वडा न.५ निवासी रिन्जि सागर राईले मलेसियामा झुन्डिएर आत्महत्या गरेको अवस्थामा शव फेला परेको छ । काठमाडौँको शान्तिनगरस्थित मार्भलस इम्प्लोईमेन्ट म्यानपावरका सञ्चालक रहेका केही दिनअघि मात्र मलेसिया पुगेका उनी निलाई भन्ने स्थानमा डोरीले पासो लगाएको अवस्थामा भेटिएका हुन् । यद्यपि उनको खुट्टा भुईँमै टेकिएर अडिएको र डोरी समेत कमजोर क्लिपमा अड्काइएको देखिन्छ । परिवारले आत्महत्या नभई हत्या हुन सक्ने शंका गरेका छन् । मृतक राईले मृत्यु हुनु अघि श्रीमती इन्द्रसुबा राईसँग फोनमा कुराकानी गरेका बताइएको छ । उनी पछिल्लो केही वर्षदेखि मनोरोग (डिप्रेसन) को सिकार भएको बताइएको छ । मलेसियन प्रहरीको समन्वयमा मृतकको शव अनुसन्धान र पोष्टमार्टमको लागि अस्पतालमा लगिएको छ। पोस्टमार्टमको रिपोर्ट आएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरेर नेपाल पठाउने नेपाली दूतावासले जनाएको छ।
नेपाल पूर्व प्रहरी संगठन दाङको दशै तिहार छठ बिशेष कार्यक्रम सम्पन्न
अनुशा महरा ,दाङ्ग। पूर्व प्रहरी संगठन दाङले एक कार्यक्रमका बिच दशै तिहार तथा बिशेष कार्यक्रम मनाएको छ । शनिबार घोराहीमा सम्पन्न दशै तिहार छठ विशेष कार्यक्रममा सुभकामना व्यक्त गर्दै जिल्ला प्रहरी कार्यलय दाङ्गका प्रहरी उपरीक्षक एबम कार्यक्रमका प्रमुख अतिथि वीर बहादुर ओलिले पूर्व प्रहरी संगठनले स्थापना देखी नै रार्ष्ट्रिय चाड पर्बहरु मनाउदै गरेको भन्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए । जिल्ला प्रहरी प्रमुख समेत रहेका ओलिले कठिन परिस्थितिमा स्थापना गरेको संगठनले निरन्तर पूर्व प्रहरी र बर्तमान प्रहरीको सम्बन्धमा समन्वय भुमिका सक्रिय भएको बताए।कार्यक्रममा घोराही उपमहानगरपालिका -१३ का वडा अध्यक्ष डुल्लुराम पोख्रेल नेपाल पूर्व प्रहरी संगठनका केन्द्रिय सदस्य भुपेन्द्र सुवेदी नरेश डागी चिरञ्जीवी रिजाल निर्मला थापा खुशल बहादुर आले लगाएतले शुभकामना मन्तव्य राखेका थिए । नेपाल पूर्व प्रहरी संगठन दाङ्गका कार्यबाहक अध्यक्ष रेशम बहादुर खडकाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागतमन्तव्य पूर्व प्रहरी संगठन दाङका पूर्व अध्यक्ष कुल बहादुर रावतले व्यक्त गरेका थिए। कार्यक्रम सहजीकरण होम बहादुर शेरचनले गरेका थिए ।
स्थानीय तह निर्वाचन : भरतपुर महानगरको मतगणनास्थलमा फलामको तारजाली लगाइयो
काठमाडौं । स्थानीय तह निर्वाचनको भोलि शुक्रबार ३० गते देशभर एकैसाथ हुँदैछ । भोलि हुने निर्वाचनको तयारी पुरा भइसकेको छ । मतदानमा आवश्यक सामग्रीसहित कर्मचारीहरु पनि मतदानस्थल पुगिसकेका छन् । निर्वाचनमा काठमाडौं पछि चासोको केन्द्र बनेको चितवनको भरतपुर महानगरपालिकाको मतगणनास्थलमा फलामको तारजाली लगाइएको छ । निर्वाचको मतगणना गर्ने ठाउँमा मतको सुरक्षाका लागि फलामको तारजाली लगाइएको निर्वाचन आयोगले जनाएको छ । भरतपुर महानगरपालिकामा सत्तारुढ गठबन्धन र विपक्षी दलले प्रतिष्ठाको विषय बनाएका छन् । चितवन उद्योग संघभित्र रहेको औद्योगिक प्रदर्शनी केन्द्रमा यसपटक मतगणना गर्ने व्यवस्था मिलाइएको छ । प्रदर्शनी केन्द्रको ‘सी’ ब्लकमा मतगणना गर्ने ठाउँ बनाइएको छ । मतगणना स्थलमा सिसी क्यामरा र फलामको तारजालीको व्यवस्था गरिएको मुख्य निर्वाचन कार्यालयका सूचना अधिकारी पुरूषोत्तम पौडेलले जानकारी दिए । ०७४ सालमा भरतपुर कभर्ड हलमा गरिएको मतगणनालाई आयोगले यसपटक प्रदर्शनी केन्द्रमा सारेको हो । उम्मेदवारका प्रतिनिधिले मतगणना गरेको हेर्न मिल्ने गरी फलामको बारमा जाली हालिने सूचना अधिकारी पौडेलले जानकारी दिए । मतगणना स्थलमा आठवटा सिसी क्यामरा जडान गरिसकिएको उनले बताए । उनका अनुसार गणनास्थलमा चौविसै घण्टा विद्युत र इन्टरनेटको सुविधा उपलब्ध हुनेछ । मतगणना हुने ब्लकको उत्तरतर्फको प्यासेजमा मतपत्र ल्याएर राखिनेछ । मतपत्र राखिएको प्यासेजको पछाडिपट्टि शौचालय छ । मतगणना गर्ने कर्मचारीले मात्रै उक्त शौचालय प्रयोग गर्ने पौडेलले जानकारी दिए । ०७४ सालको मतगणनामा तत्कालिन मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपाने पिसाब गर्न शौचालय गएको बेला मतपत्र च्यातिएको थियो । दलका प्रतिनिधिका लागि मतगणना स्थलबाहिर छुट्टै शौचालयको व्यवस्था गरिएको छ । मतगणना हुने ब्लकको पश्चिमतिरको एउटा कोठामा पत्रकार बस्ने व्यवस्था गरिएको छ । पत्रकारले मुख्य गेटबाट फोटो र भिडियो लिनसक्ने सूचना अधिकारी पौडेलले बताए । मतगणना स्थलको सुरक्षाका लागि तीन तहको सुरक्षा व्यवस्था गरिएको र पर्याप्त सुरक्षाकर्मी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताए । भरतपुरको मतगणनाको नतिजा जेठ ५ गतेसम्म आउने अनुमान छ । २९ वटा वडा रहेको भरतपुर महानगरपालिकामा एक लाख ८५ हजार ७५२ मतदाता छन् । महानगरमा ६५ मतदानस्थल र २०२ वटा मतदान केन्द्र रहेका छन् ।
उत्तर कोरियामा कोरोना फैलिएपछि देशव्यापी लकडाउन
काठमाडौं । उत्तर कोरियामा कोरोना महामारी फैलिएपछि देशव्यापी लकडाउन गरिएकाे छ । विश्वमा कोरोना भाईरस संक्रमण भएको साढे २ वर्षपछि उत्तर कोरियामा पहिलो पटक काेराेना संक्रमण फैलिएको हाे । उत्तर कोरियाको सरकारी न्यूज एजेन्सी केसीएनएले राजधानी प्योङ्याङमा संक्रमण फैलिएको समाचार दिंदै देशव्यापी लकडाउन गरिएको जनाएको हो । अहिलेसम्म पनि कोरोनाको खोप नलगाएको उत्तर कोरियामा यसै महिना फैलिएको संक्रमणले त्यहाँ मानवीय संकट ल्याउने खतरा औंल्याइएको छ । तीब्र रुपमा फैलिने ओमिक्रोन भेरियन्टकै संक्रमण भएको बताएपनि समाचार एजेन्सीले कति संख्यामा संक्रमित छन् र उनीहरुको अवस्था कस्तो छ भन्ने खुलाएको छैन । विगत २ वर्ष ३ महिनासम्म सुरक्षित रहेको देश ठूलो आकस्मिक अवस्थामा पुगेको भन्दै संक्रमण नियन्त्रणका लागि प्योङ्याङमा सक्दाे प्रयास गरिएको जनाइएको छ । सर्वोच्च नेता किम जोङ उनले घातक भाइरसलाई विस्तार हुन नदिन सिंगो देशलाई लकडाउनमा राख्न भन्दै कारखानानाहरु, व्यापारिक क्षेत्र, निजी आवासहरुमा अचुक लकडाउन लागू गर्न आदेश दिएको पनि समाचारमा जनाइएको छ । उत्तर कोरियाको सत्तारुढ वर्कर्स पार्टीको पोलिटब्यूरो बैठकले संक्रामक रोग नियन्त्रण विभागको लापरबाही र अक्षमताले कोरोना संक्रमण फैलिएको आरोप लगाएको छ ।
सुनचाँदीको मूल्यमा वृद्धि
काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार १ लाख १ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार ८ सय रुपैयाँले बढेर १ लाख ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि मंगलबार १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
१५ सय शिक्षकका लागि ३६ हजारको आवेदन
काठमाडौं । माध्यमिक तहको शिक्षक पदमा साढे ३६ हजारभन्दा बढी आवेदन परेको शिक्षक सेवा आयोगले जनाएको छ। एक हजार ५४२ रिक्त शिक्षक पदपूर्तिका लागि खुला गरेको विज्ञापनमा ३६ हजार ५८२ जनाले आवेदन दिएको आयोगले जनाएको छ। माघ ८ गतेसम्म मावि तहको शिक्षक पदको लागि आवेदन समयावधि तोकेको थियो। आयोगको अनुसार मावि तहका शिक्षण सेवाका लागि एक लाख ४४ हजार ३८१ जनाले लाइसेन्स लिएका छन्। निमावि तहको पुस ७ गते खुलाएको दरबन्दीमा ८७ हजारभन्दा बढी र प्रावि तहमा आयोगले ९८ हजार बढीले आवेदन दिएका छन्। निमावि तहमा दोब्बर दस्तुरसहित १५ गतेसम्म आवेदन भर्न सकिने छ। प्राविको लागि यही १३ गतेसम्म नियमित र १४ गतेदेखि २० गतेसम्म दोब्बर शुल्क तिरेर फारम भर्न सकिनेछ। निमाविमा तहको शिक्षण सेवाका लागि तीन लाख ७० हजार १२ जनाले र प्रावि तहको शिक्षण सेवाका लागि दुई लाख दुई हजार ७१२ जनाले लाइसेन्स लिएको आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले जानकारी दिनुभयो। आयोगले मावितर्फको शिक्षक पदको चैत १५ गते, निमावि तहको चैत १७ गते र प्रावि तहको चैत १९ गते परीक्षा लिने मिति तोकेको छ।
आगो तापेर सुत्दा निसासिएर शिशुको मृत्यु
भक्तपुर । कोठाभित्र आगो तापेर सुत्दा यहाँ आज एक शिशुको मृत्यु भएको छ भने दुई जना अचेत भएका छन्। सूर्यविनायक नगरपालिका–४ दधिकोट गाम्चास्थित भावना थापाको जस्ताले छाएको घरमा डेरा गरी बस्दै आएका रामेछापको मन्थली नगरपालिका घर भएका ३० वर्षीय अभिषेक रम्तेलका तीन महिनाका छोराको मृत्यु भएको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले जानकारी दिनुभयो। जाडो बढेपछि शनिबार बेलुका खाना खाएर आगो बलिरहेको कोइला कोठामै राखेर सुतेकामा बिहान अबेरसम्म पनि नउठेपछि स्थानीय र प्रहरीले ढोका फुटाएर अचेत अवस्थामा तीन जनालाई उपचारका लागि मध्यपुर अस्पताल लगेको उहाँले जानकारी दिनुभयो। शिशुको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको र अभिषेक तथा उहाँकी श्रीमती २८ वर्षीया पसुना तामाङको उपचार भइरहेको र उनीहरुको अवस्था गम्भीर रहेको चिकित्सकले बताएको उहाँले जानकारी दिनुभयो। प्रहरी नायब उपरीक्षक रेग्मीले भन्नुभयो, “गाउँको घर जस्तो होइन, सहरका घरमा ढोका र झ्याल लगाएपछि बाहिरबाट हावा ओहोरदोहोर गर्ने ठाउँ नै हुँदैन, यस्तो अवस्थामा आगो तापेर कोठामा सुत्दा अक्सिजन सकिएर स्वास फेर्न नसकेर ज्यान जान्छ, यस्तो मामिलामा सबैले सचेत भएर कोठाभित्र रातभरि आगो र हिटर बालेर सुत्नु हँुदैन, यो घटना पनि यसैको परिणाम हो।” त्यसैगरी आजै चाँगुनारायण नगरपालिका–१ दुवाकोट बेँसीस्थित रमेश बुढाथोकीको जस्ताको टहरामा झुण्डिएर मृत्यु भएको अवस्थामा एक पूर्वसैनिक भेटिएका छन्। सोलुखुम्बु लिखुपिके गाउँपालिका घर भई हाल दुवाकोटमा बस्दै आएका ३५ वर्षीय मोहन बस्नेतको मृत्यु भएको र दुवै घटनाको अनुसन्धान टोली बनाएर प्रहरीले अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिनुभयो।
युएईको आबुधाबी एयरपोर्ट नजिक ड्रोन आक्रमण
आबुधाबी । यूनाइटेड अरब इमिरातको आबुधाबी एयरपोर्ट नजिक ड्रोन आक्रमण भएको छ । यमनको हुती विद्रोही समूहले हमलाको जिम्मेवारी लिएको छ । ड्रो विष्फोटपछि सबै उडान रद्द गरिएका छन् । अबुधाबी प्रहरीका अनुसार मुसाफा इण्डस्ट्रियल क्षेत्रमा ३ वटा तेलका ट्यांकरमा विष्फोट भएको थियो । त्यसलगत्तै आबुधाबी अन्तर्राष्ट्रिय एयरपोर्टको निर्माण साइटमा पनि आगो लागेको छ । यसअघि ती क्षेत्रमा केही ड्रोन देखिएका थिए । साउदी अरब र युइएले हुती विद्रोहीहरुविरुद्ध सैन्य गठबन्धनमार्फत हस्तक्षेप गरेको बिरोधमा हुती विद्रोहीहरुले आक्रमण गरेको बताइन्छ । यमन
नवनिर्वाचित कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक बस्दै
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नवनिर्वाचित उपसभापति र महामन्त्रीहरूसँग छलफल गर्नुभएको छ । सभापति देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार पार्टी पदाधिकारीसँग छलफल गर्नुभएको हो । काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापासँग छलफल गर्नुभएको हो । मुख्यसचिव पौडेलले भन्नुभयो, “सभापति र पदाधिकारीहरूको छलफलमा शनिबार हुने प्रमाणपत्र वितरण कार्यक्रम र त्यसपछि बस्ने केन्द्रीय कार्यसमिति बैठकबारे विमर्श भएको छ ।” उहाँका अनुसार काँग्रेसले शनिबार नै निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिने तयारीबारे पनि छलफल भएको छ । शनिबार पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरेपछि काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक केहीबेर बस्ने तयारी भइरहेको छ । केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले काँग्रेस केन्द्रीय कार्यालयमा ‘निर्वाचित भएको प्रमाणपत्र’ वितरण गर्ने कार्यक्रम शनिबार बिहान ११ बजे रहेको बताउनुभयो । मङ्सिर २४ देखि २८ गतेसम्म चलेको १४औँ महाधिवेशनबाट काँग्रेस सभापतिमा दोस्रो कार्यकालका लागि प्रधानमन्त्री देउवा निर्वाचित हुनुभएको छ । उपसभापतिमा खड्का र गुरुङ, महामन्त्रीमा थापा र शर्मा निर्वाचन हुनुभएको छ । सहमहामन्त्रीमा डिना (महालक्ष्मी) उपाध्याय, जीवन परियार, फरमुल्लाह मन्सुर, भीष्मराज आङदेम्बे, बद्री पाण्डे, महेन्द्र यादव, किशोरसिंह राठौर र उमाकान्त चौधरी निर्वाचित हुनुभएको छ । साथै विभिन्न क्षेत्रबाट दुई निर्विरोधसहित १२१ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।
नेकपा माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) विजयी
काठमाडौं । नेकपा (माओवादी केन्द्र) प्रदेश १ कमिटीको अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) विजयी हुनु भएको छ । अर्का प्रत्याशी मुक्सामहाङ सुब्बा लिम्बु (मुकेश) लाई पराजित गर्दै उहाँ विजयी हुनु भएको हो । नेम्वाङले १६९ मत पाउनु भएको थियो भने मेन्याङ्बोले ६४ मत पाउनु भयो । निर्वाचन समितिका अनुसार तीनजना उपाध्यक्षका लागि ८ जनाले उम्मेदवारी दिएका थिए । जसमा देवान चाम्लिङ (१२०), शिवकुमार डाँगी (११३) र मणिकुमार साम्पाङ (१११) विजयी हुनु भएको छ । यस्तै, सचिवमा गणेश उप्रेती (सुशील) विजयी हुनु भएको छ । उहाँले १४८ मत ल्याएर विजयी हुनु भएको हो भने उहाँका प्रतिद्वन्द्वी सिपी कडरियाले ८३ मत मात्र पाउनु भयो । ३ जना सहसचिवमा कुमारी राई (११४), ऋषिराम ढुंगाना (९५) र सागर किराँती (७३) विजयी हुनु भएका छन् । सहसचिवका लागि १३ जनाले उम्मेद्वारी दिएका थिए । कोषाध्यक्षमा भने ९३ मतका साथ रेवतराज पुरी (गगन) विजयी हुनु भएको छ । कोषाध्यक्षका लागि ४ जनाले उम्मेदवारी दिएका थिए । ९ जना पदाधिकारीका २९ जनाले उम्मेदवारी दिनु भएको थियो । निर्वाचनमा २४० जनाले मतदान गरेका थिए ।
राष्ट्रिय जनमोर्चा सरकारमा नजाने
काठमाडौं । कांग्रेस–माओवादी गठबन्धनमा सहभागी दल राष्ट्रिय जनमोर्चा सरकारमा नजाने भएको छ । बुधबार बसेको राष्ट्रिय जनमोर्चाको केन्द्रीय कमिटी बैठकले सरकारमा सहभागी नहुने निर्णय गरेको जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बताइन् । पौडेलले भनिन्, ‘हाम्रो पार्टीले सरकारमा सहभागी नहुने निर्णय गरेको छ । तर, बाहिरैबाट देउवा सरकारलाई हाम्रो समर्थन रहनेछ ।’ प्रतिनिधिसभामा राष्ट्रिय जनमोर्चाको एक सिट छ । एकमात्र सांसद दुर्गा पौडेलले गठबन्धनमा सहभागी हुँदै आएकी थिइन् ।