हामी कुखुरा होइन, चील बन्‍नुपर्छ : प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी कुखुराजस्तो खोर्सिने नभइ चीलजस्तो उडान भर्ने हुनुपर्ने बताएका छन्। स्थायी समिति बैठकमा शनिबार नेताको प्रश्नको जवाफ दिने क्रममा प्रचण्डले यस्तो बताएका हुन्। प्रचण्डले क्रान्तिको बाँकी कार्यभार पूरा गर्न चीलजस्तै उडान भर्नुपर्ने बताएका हुन्।

‘हामी कुखुरा होइन, चील बन्नुपर्छ। हरेक विषयवस्तुलाई कुखुराले जसरी खर्सिएर हेर्ने होइन, चीलले जसरी माथिबाट हेर्नुपर्छ’, प्रचण्डले भने, ‘त्यसो गरे मात्र हामी क्रान्तिको बाँकी कार्यभार पूरा गरेर जान सक्छौँ।’  नेताले गरेका प्रश्नको जवाफ दिने क्रममा प्रचण्डले पार्टी महाधिवेशन हुन बाँकी नै भएकाले विचारको बहस खुला नगरेको बताए। उनले पार्टीका आधिकारिक राजनीतिक प्रतिवेदनमा उल्लेखित राजनीतिक कार्यदिशाबाहेक अन्य विषयमा बहस खुला नभएको प्रष्ट पारे।

 

‘अहिले जुन राजनीतिक प्रतिवेदन र विधान पार्टीको छ, त्यो बाहेक अरु विषय छलफलमा लान पाइदैन। जतिबेला महाधिवशेनका लागि विचार खुला भयो भनेर पार्टीले भन्छ, त्यसपछि मात्र हामीले आ– आफना कुरा बहसमा लैजान सकिन्छ,’ दाहालले भने, ‘अहिले हामी राष्ट्रिय/अन्तराष्ट्रिय सबै शक्ति केन्द्रको केन्द्रबिन्दुमा छौं। सबैले हामीलाई हेरेका छन्, यो बेला हाम्रो प्रथम दायित्व भनेको, एकतावद्ध भएर जाने, पार्टीका काम पूरा गरेर जाने र पार्टी चलायमान बनाउने नै हुनेछ।’ पार्टीको नीति तथा कार्यक्रमको विषयमा उठेका प्रश्नको जवाफ दिँदै प्रचण्डले सामान्तवादका अवशेष अझै बाँकी रहेको भन्दै अहिले समाजवाद उन्मुख जनताको जनवादको राजनीतिक कार्यक्रम पार्टीको नीति कार्यक्रम भएको स्पष्ट पारे।

नेताका कतिपय प्रस्तावले पार्टीलाई अझ भद्रगोल बनाउने भन्दै प्रचण्डले सचिवालय विस्तार, महिला प्रतिनिधित्व, केन्द्रमा उपाध्यक्ष र अन्य कमिटिमा उपाध्यक्ष पद सिर्जना गर्न नसकिने प्रष्ट पारे। विभिन्न प्रस्ताव अस्वीकार गरेका प्रचण्डले नेता वामदेव गौतमलाई उपाध्यक्ष बनाउने गरी सचिवालयले अघि सारेको विधान संशोधन प्रस्ताव भने पारित गरेर अगाडि जाने संकेत गरेका छन्। त्यसका लागि १५ दिनपछि केन्द्रीय समिति बैठक बोलाएर अगाडि बढ्ने उनको भनाइ छ। अन्नपूर्ण

सर्वोच्चले सबै सूचना नदिने, संवेदनशील सूचनामा बन्देज लगाउने तयारी

सर्वोच्च अदालत न्याय सम्पादन कार्यमा अति संवेदनशील सूचनाको वर्गीकरण गर्दै त्यस्ता सूचना दिन बाध्यकारी नहुने सञ्चार नीति ल्याउने तयारीमा छ। न्यायपालिकाका काम कारबाहीसम्बद्ध सूचनालाई व्यवस्थित गरी कानुनी शासनलाई मूर्तरूप दिन यस्तो नीति ल्याउन थालिएको भनाइ सर्वोच्चको छ। प्रसारणमा बन्देज लगाइएका सूचना – व्यक्तिगत गोपनीयता र व्यक्तिको जीवन – स्वास्थ्य तथा सुरक्षामा खतरा – अपराधको अनुसन्धान, तहकिकात र अभियोजनमा प्रत्यक्ष असर पार्ने – आर्थिक, व्यापारिक, मौद्रिक हित वा बौद्धिक सम्पत्तिको संरक्षण – बैंकिङ वा व्यापारिक गोपनीयतामा गम्भीर असर पर्ने विषय – जातजाति वा सम्प्रदायबीचको सुसम्बन्धमा खलल – सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा, सार्वजनिक शान्ति सुव्यवस्था – अन्तर्राष्ट्रिय सम्बन्धमा असर पार्ने सूचना – इजलासबाट सुनुवाइ हुने भनी तोकिएका वा व्यक्तिगत परिचयात्मक विवरण वा गोप्यता राख्नुपर्ने मुद्दा।

रूखको छहारीमा भविष्य खोज्दै बालबालिका

काठमाडौं । दुई ठूला पीपलका रूख, पानी पर्दा ओत्दैन, हावा चल्दा छेक्दैन । तर, यिनै रूखको छहारीमा ३० बालबालिका भविष्य खोज्दै छन् । यिनै रूखको फेद उनीहरूको पाठशाला हो । र, यो हो गुल्मीको सत्यवती गाउँपालिका–३ ठूलोलम्पेक सिङ्दीस्थित सिद्ध आधारभूत प्रावि । गत ६ साउनमा अविरल वर्षासँगै आएको पहिरोले सिद्ध आधारभूत प्राविको एउटा चारकोठे भवन बगायो । अर्को भवन क्षतिग्रस्त छ । खेलमैदानसमेत माटोले पुरिएको छ । ५ कक्षासम्मको विद्यालयमा पठनपाठन सम्भव नभएपछि बालबालिकालाई चौतारोमा प्लास्टिकका म्याट ओछ्याएर पढाउन थालिएको प्रधानाध्यापक ज्ञानमाया तरामूले बताइन् । ‘२७ साउनमा बर्खे बिदा सकियो, २८ गतेदेखि विद्यालय सञ्चालन गर्नुपर्ने भयो । तर, विद्यालय भवन नै नभएपछि के गर्ने समस्या भयो,’ प्रअ तरामूले भनिन्, ‘केटाकेटीको पढाइ नै प्रभावित पार्नुभन्दा बरु रूखकै छहारीमा भएपनि पढाउने भनेर लागेको हो ।’ सत्यवति–३ मा सिद्ध आधारभूत विद्यालयमात्रै होइन, सो वडाका ६१ घर परिवारकै उठिवास लाग्यो । सिद्ध प्राविमै कक्षा ३ मा अध्ययन गर्ने गंगा विक र गगन विकको घरसँगै किताव कापी पहिरोमा पुरिए । कक्षा ५ मा पढ्ने कल्पना पसिंजाली र शैलेस विकको पनि घरबारी पहिरोमा मिल्यो । पहिरो प्रभावित कयौं परिवारलाई सत्यवति–१ अस्लेवाको देउडाँडामा अस्थायी आवास बनाएर व्यवस्थापन गरिएको छ । केही विस्थापित परिवारले बालबालिका अन्यत्र लगेर पढाएका छन् । बिद्यालय व्यावस्थापन समिति अध्यक्ष अर्जुन तरामुले आफुहरूको पहुँचमा बिद्यालय पुर्निमाण नभएकाले बाध्य भएर अस्थायी शिविरमा पढाउनु परेको बताए । अहिले बस्ती स्थानान्तरण र क्षतिको विवरण मात्रै संकलनको काम भएकाले बालबालिका बिचल्लीमा परेको उनको भनाई छ । पहिरोले छेक्यो विद्यार्थी पढ्न आउने बाटो रूखमुनी पढ्न आउन पनि पहिरोले बाटो छेकेपछि सात विद्यार्थीलाई सिङ्दीमै टेण्ट टाँगेर पढाइएको छ । ठूलो पहिरो तरेर आउन जोखिम भएकाले उनीहरूलाई उतै टेण्ट टाँगेर व्यवस्थापन गरिएको र विषय शिक्षक पालैपालो गएर पढाउने गरेको शिक्षक दुर्गाबहादुर तरामुले बताए । पहिले ५१ विद्यार्थी रहेको यो विद्यालयमा ४० जनामात्रै आउने गरेको शिक्षक तरामुले बताए । विद्यार्थी बिरामी पर्न थाले विद्यालय भवन पहिरोमा परेपछि शैक्षिक सामग्रि केही पनि बाँकी रहेन । डेस्क, बेञ्च, ब्याकबोर्ड केही छैन । बालबालिका खुला आकाशमुनी पढ्छन् । आकाशमा बादल मडारिन थाले शिक्षकहरू टेण्ट लगाउँछन् । प्लास्टिकको म्याटले भुईंको चिसो छेक्न सक्दैन । विद्यार्थीहरू विरामी पर्न थालेको शिक्षक टेकबहादुर सिंजालीले बताए । ‘खुल्ला चौरमा पढाउन पनि समस्या, टेण्ट नै टाँगे पनि झन् गर्मीले सताउँछ, भुईंमा बस्नुपर्दा चिसो हुन्छ,’ शिक्षक सिंजाली भन्छन्, ‘हामी स्टाफहरूलाई पनि समस्या नै छ ।’ अभावै अभावले बालबालिकामा मनोबैज्ञानिक असरसमेत पर्न थालेको शिक्षकहरू बताउँछन् । विद्यालय व्यवस्थापन समिति अध्यक्ष अर्जुन तरामुले विद्यालय पुनर्निर्माण आफूहरूको पहुँचमा नभएकाले रूखमुनी पढाउनुको विकल्प नभएको बताए । बालबालिकालाई दिवा खाजाः चिउरा र चाउचाउ सरकारले प्रावि तहका विद्यार्थीलाई दिवा खाजाको व्यावस्था गरेको छ । हरेक बार विद्यालयले नै फरक–फरक परिकार बनाएर खुवाउनेपर्ने नियम छ । तिर, सिद्ध प्राविका विद्यार्थीलाई खाजा व्यवस्थापन गर्न चुनौती देखिएको छ । ‘पकाउने भाँडा र सामग्री नै छैनन्, टेण्टमा खाजा व्यावस्था गर्न चुनौति छ,’ प्रध्यानाध्यापक ज्ञानमाया तरामुले भनिन्, ‘अहिले राहतकै चिउरा र चाउचाउ खुवाएका छौ ।’ यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

यूएईमा रानाभाट तथा भाट समाज गठन

यूएई । गत शुक्रबार वर दुबईको नेपाली ट्राभल एन्ड टुरिजममा सम्पन्न रानाभाट तथा भाट बन्धुहरुको भेलाले यूएईमा रानाभाट तथा भाट समाज गठन गर्ने निर्णय गर्दै तदर्थ समिति गठन गरेको छ । होम रानाभाटको अध्यक्ष्यतामा बसेको भेलाले थमन सिङ्ग रानाभाटको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति र ५ सदस्यीय विधान मस्यौदा समिति गठन गरेको छ । युएईमा छरिएर रहेका सम्पूर्ण रानाभाट तथा भाट बन्धुहरुलाई समेट्ने हेतुले गठन भएको तदर्थ समितिले आगामी ६ महिनाभित्र सबै काम कारबाही पूरा गरी संस्थाको अधिवेशन मार्फत कार्यसमिति चयन गर्ने संयोजक थम्मन सिंह रानाभाटले बताए । त्यस्तै, तदर्थ समितिको महासचिवमा बुद्धी बहादुर रानाभाट, कोषाध्यक्षमा मोहन रानाभाट रहेका छन् भने सदस्यहरुमा विष्णु रानाभाट, मिन भाट, नवराज रानाभाट, सरला रानाभाट, सन्दिप रानाभाट, धिरज रानाभाट रहेका छन् भने संस्थाको संरक्षकमा होम रानाभाट र सल्लाहकार राजकुमार रानाभाट रहेका छन् । त्यस्तै, ६ महिनाभित्र अधिवेशन सम्पन्न गर्ने अधिकार पाएको तदर्थ समितिले विधान मस्यौदा समिति बनाएको छ । जसमा लालबहादुर रानाभाट, श्रीराम रानाभाट, अमर रानाभाट, नारायण रानाभाट, मिन रानाभाट रहेका छन् ।

इन्टरनेटको मूल्य आजदेखि १३ प्रतिशतले बढ्यो

काठमाडौं, साउन १ । इन्टरनेट सेवा प्रदायकहरुले आजदेखि इन्टरनेटको १३ प्रतिशत मूल्य बृद्धि गरेका छन्। इन्टरनेट सेवा प्रदायकहरुको संस्था (आइस्पान) नेपालको निर्णयमा सबै सेवा प्रदायकले उपभोक्ताबाट १३ प्रतिशत दूरसञ्चार शुल्क उठाउन सुरु गर्ने अध्यक्ष भोजराज भट्टले जानकारी दिए। आइतबार बसेको आइस्पानको बैठकले सरकारले थपेको १३ प्रतिशत शुल्क उपभोक्ताबाट उठाउँने निर्णय गरेको भट्टले बताए । सञ्चारमन्त्री गोकुल बाँस्कोटाले भने इन्टरनेटको शुल्क बढाए सेवा प्रदायकहरुका लागि दुर्भाग्य हुने चेतावनी दिएका छन्।

हामी लगानी गर्छौं सुरक्षाको ग्यारेन्टी सरकारले लिनुपर्छः गण्डकी प्रदेश समन्वय परिषद कतार

दोहा, असार १५ । वैदेशिक रोजगारीको क्रममा कतारमा रहेका गण्डकीबासीले स्वदेशमा लागानी गर्न इच्छुक रहेको भन्दै त्यसको सुरक्षा सुनिश्चित हुनुपर्ने बताएका छन् । गण्डकी प्रदेश समन्वय परिषद कतारले शुक्रबार आयोजना गरेको अन्तरक्रीया कार्यक्रम बोल्दै सहभागीले जलविद्युतसँगै थुप्रै क्षेत्रमा लगानी गर्न सकिने भए पनि आफनो गरेको लागानिको ग्यारेन्टी सरकारले लिनुपर्ने बताएका छन् । कार्यक्रममा हाम्रो अभिभारा–समृद्ध गण्डकी प्रदेश भन्ने मुल नारा सहित स्थापित परिषदको लगानी बोर्ड बारेमा लगानी बोर्डका संयोजक समेत रहेका परिषद अध्यक्ष हंसराज ढकाल क्षत्रीले जानकारी दिएका थिए । अध्यक्ष ढकालले गण्डकी प्रदेश अन्तरगतका जिल्लाहरुमा लगानीका संभावना र चुनौतितीबारे जानकारी गराउँदै जलविद्युतको लगानी पहिलो रोजाइ रहेको भएपनि पर्यटन तथा कृषि उत्पादनमा पनि थुप्रै संभावना रहेको बताएका छन् । कार्यक्रममा सहभागीले उपयुक्त योजना छनोट गरेर कम्पनी तयार गरि सामुहिक लगानी गर्न सकिने भन्दै त्यसको आवश्यक तयारी गर्न सुझाव दिएका थिए । कार्यक्रममा संस्थाका महासचिव रामजी खत्रीले परिषदको २०१९–२० कार्यकालको लागि तयार पारिएको कार्यपत्र बारे जानकारी गराएका थिए । कार्यक्रममा प्रमुख सल्लाहकार आश बहादुर गुरुङ, सल्लाहकार भुपती भट्टराई, विधान मस्यौदा समितिका निवर्तमान संयोजक बिल गुरुङ, परिषद सदस्य एवं एनआरएन ए कतारका महासचिव बुधवल गुरुङ, मोना कतारका अध्यक्ष तिलु शर्मा पौडेल, गोर्खा सेवा समाजका अध्यक्ष राजेश्वर ढकाल, लमजुङ सेवा समाजका प्रमुख सल्लाहकार बिष्णुलाल श्रेष्ठ, व्यवसायी लक्षण चौलागाईं लगायतले आफ्नो सुझाव राखेका थिए । गण्डकी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष हंसराज ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष प्रेमबहादुर विश्वकर्माले स्वागत र महासचिव रामजी खत्रीले संचालन गरेका थिए भने कार्यक्रमको सहजीकरण सल्लाहकार होमनाथ शर्मा र कार्यपत्र तयारी समितिका सदस्य सन्तोष क्षत्रीले गरेका थिए ।

१५ वर्षकी आमाले जिउँदै पुरिन् शिशु, माटो हटाएर कुकुरले बचायो ज्यान

एजेन्सी । थाइल्याण्डमा एक नवजात शिशुको ज्यान बचाउने कुकुरलाई हिरोको संज्ञा दिइएको छ । ती नवजात शिशुलाई एउटा खेतमा पुरिएको थियो । यसबारे जानकारी पाएपछि १५ वर्षकी किशोरीलाई आफ्नो जिउँदो बच्चा पुरेको आरोपमा पक्राउ गरिएको छ । गत बुधबार बिहान उत्तर–पूर्व थाइल्याण्डको कोराटमा जब ४१ वर्षका उस्सा निसिका खेत पुगे तब उनको कुकुर पिंगपंग केही टाढा गएर खेतको माटो खोतलिरहेको भेटियो । कुकुरले के खोतलिरहेको होला भनेर हेर्न पुग्दा उनले त्यहाँ शिशुको खुट्टा देखे । उनले तत्काल बच्चालाई माटो मुनीबाट निकालेर अस्पताल पुर्याए । बच्चालाई खासै ठूलो चोट लागेको छैन । यसबारे उनदले पुलिसलाई समेत जानकारी दिए । सबैको हिरो बन्यो पिंगपंगः निसिकालाई कुकुरबारे प्रश्न सोध्दा उनले पिंगपंग जन्मिएदेखि नै आफूसँगै भएको जानकारी दिए । आफ्नो आफ्नो कुकुर निकै वफादारसमेत भएको बताए । उनले भने, ‘उसको तीनवटा खुट्टाले मात्र काम गर्छ किनभने कार दुर्घटनामा उसको पछाडिको खुट्टा भाँच्चिएको थियो । यस्तो अवस्थामा हुँदा पनि पिंगपंगले मलाई निकै मद्दत गरेको छ । ऊ मसँगै भएपछि मैले गाइहरुलाई राम्रोसँग पाल्न सकिरहेको छु । अब अहिले उसले बच्चाको ज्यान बचाएको छ, उसको काम देखेर सबै चकित छन् । ऊ अब सबैको हिरो बनेको छ ।’ डरका कारण बच्चालाई गाडेकोः उजुरीपछि पुलिसले सुरुवाती सोधपुछमा स्थानीयसँगको सोधपुछमा खासै जानकारी पाउन सकेनन् । त्यसपछि एक पसलेले एक किशोरीले अत्यधिक स्यानिटरी टावेल खरिद गरेको जानकारी दिए । उक्त जानकारीपश्चात् बिहिबार किशोरीलाई पक्राउ गरियो । किशोरीले छोरा जन्माएको केही बेरपछि नै गाडेको जानकारी दिइन् । किशोरीले पुसिललाई दिएको जानकारी अनुसार आमा–बुवासँग डर लागेका कारण बच्चालाई गाडेकी थिइन् ।

शहिद गोविन्द गौतमको परिवारलाई झापामा सम्मान

कञ्चनपुर, जेठ ५ । कञ्चनपुरको आनन्द बजार घटनामा देशको सीमारक्षार्थ प्राण आहुती दिने सहीद गोविन्द गौतमको परिवारलाई पुरस्कार राशीसहित झापामा अभिनन्दन गरिएको छ । झापामा स्थापना गरिएको यस वर्षको भवानीपद्म पुरस्कारबाट शहिद गौतमका पिता खेमलाल गौतम तथा धर्मपत्नी लक्ष्मी गौतमलाई शनिबार सम्मानित गरिएको गौतम कुलवंश प्रतिष्ठानका संयोजक तोया गौतमले जानकारी दिए । आयोजकले शहिद परिवारलाई झापा आउन आग्रह गरेपछि पिता खेमलाल गौतम शुक्रबार झापा पुगेका हुन्, भने काठमाडौं बस्दै आएका शहिद गौतमकी धर्मपत्नी लक्ष्मी गौतम पनि झापा पुगेकी थिइन् । दमक नगरपालिका वडा न १० नलबारी स्थित गौतम कुलवंश प्रतिष्ठानमा आयोजना गरिएको समारोहमा पुरस्कार शहिद गौतमका पिता तथा पत्नीलाई संयुक्त रूपमा प्रदान गरिएको थियो । कार्यक्रममा दस हजार रुपैया पुरस्कार सहित राखिएको सम्मान प्रदान गरिएको हो । सो पुरस्कार तथा सम्मानपत्र पत्रकार तथा ८७ वर्षीय अनुसन्धाता भवानीप्रसाद गौतम तथा उनकी धर्मपत्नी पद्मकुमारी गौतमका हातबाट शहीद गोविन्द गौतमका पिता खेमलाल गौतम तथा धर्मपत्नी लक्ष्मी गौतमलाई हस्तान्तरण गरिएको थियो ।

कक्षा १२ र ११ को परीक्षाको तयारी पूरा, परीक्षा केन्द्रमा सिसी क्यामरा

भक्तपुर, वैशाख १४ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ र कक्षा ११ को वार्षिक परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ । देशभर एकैसाथ १५ गते आइतबार बिहान ७ बजेदेखि शुरु हुने कक्षा १२ र वैशाख २९ गतेबाट शुरु हुने कक्षा ११ को परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । कक्षा १२ को परीक्षामा चार लाख २८ हजार ५२ र कक्षा ११ को परीक्षामा पाँच लाख आठ हजार ४९४ परीक्षार्थी गरी कूल नौ लाख ३६ हजार ५४६ परीक्षार्थीको सहभागिता रहने बताउँदै उहाँले कक्षा १२ र कक्षा ११ को परीक्षामा चार लाख ४२ हजार, ९९७ छात्र र चार लाख, ९३ हजार ५४९ छात्राको सहभागिता रहने बताए । आगामी २६ गते सम्पन्न हुने कक्षा १२ को परीक्षातर्फ साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीको सहभागिता रहनेछ । यसैगरी वैशाख २९ गते शुरु भई जेठ ८ गते सम्पन्न हुने कक्षा ११ को परीक्षामा साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीको सहभागिता रहनेछ । सबभन्दा कम मनाङ जिल्लाबाट कक्षा ११ को परीक्षामा ५१ र कक्षा १२ मा ५९ तथा सबैभन्दा धेरै काठमाडौं जिल्लाबाट कक्षा ११ मा ७१ हजार ५२७ र कक्षा १२ मा ६२ हजार ५८८ परीक्षार्थी सहभागी हुँदैछन् । बोर्डले परीक्षाका लागि देशभर एक हजार १०७ परीक्षा केन्द्र निर्धारण गरेकामा सबभन्दा बढी परीक्षा केन्द्र काठमाडौंमा १२२ वटा र सबैभन्दा कम मनाङ÷मुस्ताङमा एक÷एक परीक्षा केन्द्र निर्धारण गरेको बोर्डका सदस्यसचिव दुर्गा अर्यालले जानकारी दिए । परीक्षामा कम श्रवणशक्ति भएका, दृष्टिविहीन वा सुस्त मनस्थिति वा अन्य प्रकृतिको अपाङ्गता भएका परीक्षार्थीका लागि परीक्षामा विशेष व्यवस्था गरिएको छ । कारागार वा बालसुधार गृहमा रहेका परीक्षार्थीलाई पनि परीक्षा दिने व्यवस्था मिलाइएको उनले जानकारी दिए । परीक्षा केन्द्रमा सिसी क्यामराः गत चैतमा सम्पन्न एसइई परीक्षामा प्रश्न पत्र बाहिरिएपछि कक्षा ११ र १२ को परीक्षामा त्यस्तो त्रुटी नहोस् भनेर परीक्षा बोर्डले सबै प्रश्नपत्रको सुरक्षाका लागि सिसी क्यामरा जडान गरेको छ । बोर्डले केन्द्र नजिकै सिसीटिभीसहितको सुरक्षा घेराभित्र रहेको कक्षबाट प्रश्नपत्र लैजाँदा केन्द्राध्यक्षलाई मोबाइलसमेत बोक्न निषेध गरेको जानकारी दिँदै उनले बोर्डको मुख्यालयमा रहेको नियन्त्रण कक्षबाटै देशैभरको परीक्षाबारे जानकारी लिने व्यवस्था गरिएको बताए । परीक्षामा जिल्ला परीक्षा समन्वय समिति, केन्द्राध्यक्ष, बोर्डका अधिकारी, मन्त्रालयका अधिकारी, प्रदेशस्थित सामाजिक विकास मन्त्रालय, शिक्षा तथा मानव स्रोत केन्द्र, प्रदेश शिक्षा निर्देशनालयबाहेक अन्यलाई मोबाइल फोन लैजान निषेध गरिएको छ । परीक्षामा प्रश्नपत्रमा समस्या आए वा प्रश्नपत्र गलत भए तत्काल केन्द्राध्यक्षसँग सूचना पुग्ने गरी ‘बल्क एसएमएस’ को व्यवस्था गरेको छ भने कुनै त्रुटि देखिए बोर्डको मुख्यालयमा रहेको विज्ञ समूहले त्रुटि सच्याएर बोर्डलाई जानकारी गराउँदै यसबारे सबै केन्द्रमा जानकारी गराउने व्यवस्था गरेको छ ।

३०० प्रतिशतले बढ्यो, विश्वभर दादुराका बिरामीको संख्या

जेनेभा, बैशाख ०३ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अघिल्लो वर्षको तुलनामा सन् २०१९ को तीन महिनामा विश्वभर दादुराका बिरामीको संख्या ३०० प्रतिशतले वृद्धि भएको जनाएको छ । दादुराको दुई वटा खोप लगाउँदा यस रोगलाई पूर्ण रूपमा नियन्त्रण गर्न सकिन्छ । तर खोपको दरमा कमी भएपछि दादुराका बिरामीको संख्या एकाएक वृद्धि भएको डब्लुएचओको भनाइ छ । विश्वभरबाट संकलित प्रारम्भिक तथ्यांक विश्लेषण गर्दा सन् २०१९ को पहिलो तीन महिनामा दादुराका बिरामी ३०० प्रतिशतले बढेको पाइयो, डब्लुएचओले भनेको छ । विगत दुई वर्षदेखि नै दादुराका बिरामीको संख्या बढ्दै गएको पाइएको थियो र त्यसैको निरन्तरता अहिले पनि देखिएको छ । डब्लुएचओको वक्तव्यमा भनिएको छ, संकलित तथ्यांक प्रारम्भिक विवरण हो, तर यसले बढ्दो प्रवृत्तिलाई संकेत गरेको छ । धेरै देशमा दादुराका बिरामी निकै ठूलो संख्यामा देखिएका छन् । विश्वका सबैजसो क्षेत्रमा दादुराका बिरामी पाइएको छ । यस वर्ष विश्वका १७० देशबाट संकलित तथ्यांकमा एक लाख १२ हजार १६३ जनामा दादुरा पाइएको छ । गत वर्ष १६३ देशको तथ्यांकमा २८ हजार १२४ जनामा दादुरा देखिएको थियो । हावाबाट सङ्क्रमण हुने दादुराबाट मानिसमा ज्वरो आउने, खोकी लाग्ने र शरीरमा राता फोकाहरू उठ्ने गर्छ । कतिपय अवस्थामा समयमै उपचार नभए घातक हुने गर्छ । धेरै विकसित देशमा दादुरा रोग उन्मूलन भइसकेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार दादुरा विरुद्धको पहिलो खोप ८५ प्रतिशतले कमी भएको छ भने करीब ६७ प्रतिशतले मात्र दोस्रो खोप लिने गरेका छन् । यो समाचार लोकान्तरबाट लिइएको हो ।

लिविया युद्द : वार्ता असफल भएलगत्तै विद्राेहीकाे आक्रमकमा २१ जनाकाे मृत्यु, नेपाली शान्ति सेना सुरक्षित

लिवियाको राजधानीमा चर्किएको संघर्षमा शान्ति स्थापनार्थ रहेका नेपाली सेना सुरक्षित रहेको नेपाली सेनाले जनाएकाे छ । सोमबार अपरान्ह सैनिक जनसम्पर्क निर्देशनालयले एक विज्ञप्ति जारी गरी त्यहाँ कार्यरत २ सय ३१ जना नेपाली शान्ति सेना सुरक्षित रहेको जानकारी दिएको हो। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेससँग २२ चैत्रमा भएको वार्ता असफल भएलगत्तै राजधानी त्रिपोली कब्जा गर्न विद्रोही समूहका नेता खलिफा हप्तरले आफ्ना लडाकूलाई निर्देशन दिएका थिए। त्यस यता भएको संघर्षमा सोमबार अपरान्हसम्म २१ जनाको मृत्यु भइसकेको छ भने २७ जना घाइते भएका छन्। सेनाका अनुसार, विद्रोही समूह लिवियन नेसनल आर्मीले ‘नो फ्लाई जोन’ घोषणा गरेको छ। यसको अर्थ विमानस्थल विद्रोहीको कब्जामा छ। ‘तर, त्रिपोलीबाट ट्युनिसिया जाने सडकमार्ग चालु अवस्थामा नै छ’ सेनाको विज्ञप्तीमा भनिएको छ, त्यहाँ त्यहा तैनाथ युनाइटेड नेसन्स सपोर्ट मिसन इन लिविया मिसनमा कार्यरत केही स्टाफहरुलाई उक्त मिसनले सडकमार्ग प्रयोग गरी छिमेकी राष्ट्र ट्युनिसिया पठाउने कार्य सुरु गरेको छ।’ नेपाली सेनाका अनुसार, संयुक्त राष्ट्रसंघका महासचिवका विशेष प्रतिनिधि तथा उक्त मिशनका प्रमुख घासन सलामे लगायत मिशनका उच्च पदस्थ पदाधिकारीहरु हालसम्म पनि राजधानी त्रिपोलीस्थित मिशन हेडक्वार्टरमा नै रहेका छन्। यद्यपी, विद्रोही समूह एलएनएले आक्रामक गतिविधि तीब्र पार्दै लगेपनि त्यहाँको सुरक्षास्थिति तनावपूर्ण बन्दै गइरहेको नेपाली सेनाले जनाएको छ।

नयाँ पुस्ताका आलुको बीउ उत्पादन

काभ्रेपलाञ्चोक, चैत ११ । पाँचखालस्थित मसला बाली विकास केन्द्रले विभिन्न जातका आलुको बीउ उत्पादन गरिरहेको छ । वर्षौंदेखि एउटै जात पुस्तान्तरण गरी आलुखेती गर्दा कम उत्पादन हुने भएपछि नयाँ पुस्ताका बीउ उत्पादन गरिएको केन्द्रप्रमुख युवराज पाण्डेले बताए । उनले केन्द्रमा आलुको पूर्व मूलबीउ र मूल बीउ उत्पादन गरिरहेको जानकारी दिए। आलुको बीउ उत्पादनका लागि कुनै प्रकारका किरा छिर्न नसक्ने दुईवटा ‘स्क्रिन हाउस’भित्र ल्याबमा टिस्यु कल्चर गरिएका बिरुवा रोपिएको छ । पाण्डेले भने, “रोपिएको बिरुवाबाट फलेको आलु पूर्व मूल बीउ बन्दछ, त्यसलाई पनि रोपेर फलाइएपछिको मूल बीउ हो ।” यो मौसममा रोपिएको तीन हजार ४४० बिरुवाबाट करीब २५ हजार दाना आलुको बीउ उत्पादन गर्ने लक्ष्य लिइएको केन्द्रप्रमुख पाण्डेले बताए । उनका अनुसार अहिले जनकदेव र कार्डिनल जातको आलुको बीउ उत्पादन भइरहेको छ । एउटा बिरुवामा सातदेखि १० दानासम्म फल्ने गर्दछ । यहाँ उत्पादन गरिएको आलुको नयाँ बीउ किसान तथा बीउ बिक्रेतालाई दिइनेछ । उत्पादित प्रिबेसिक नयाँ आलुको बीउ दानाको गन्तीमा बिक्री गरिने पाण्डेले बताए । केन्द्रले पाँच खाल उपत्यकामा विस्तारै आलुको बीउ परिवर्तन गर्दै जाने योजना बनाएको छ । रासस

लिङ्ग घुमाउँदै फागूको बिदाई

भक्तपुर, चैत ६ । भीमसेनको लिङ्गको प्रतीकका रुपमा रहेको काठको लिङ्गलाई काँधमा बोकेर ब्रह्मायणी पुर्‍याई फागुन शुक्ल अष्टमीको दिनदेखि भक्तपुरमा शुरु भएको फागु अर्थात् होली पर्व बुधबार साँझबाट सम्पन्न भएको छ। भीमसेन गुठीका गायजुले भीमसेन मन्दिरको पाटीमा बसेर अष्टमीदेखि आज पूर्णिमासम्म ‘भीमसेन देया लज खङ्गलो वानला ल्यासे, बिस्यूवाने म्वायक सो झायला’ अर्थात् ‘भीमसेनको लिङ्गले मन लोभियो कि, भाग्नु नपर्ने गरी हेर्न आउनुभयो कि’ जस्ता यौनसँग सम्बन्धित गीत गाएर होलीलाई बिदाइ गरेका छन। भक्तपुरको दत्तात्रय मन्दिरअगाडि रहेको प्रसिद्ध भीमसेन मन्दिरको पाटीमा गुञ्जने नेवारी भाषाको गीतसँगै व्यापारका देवताका रुपमा भीमसेनलाई पुज्दै होली पर्व मनाएको हो। सङ्गीतमा रमाउँदै यौन पर्वका रूपमा भक्तपुरका बासिन्दाले एक सातासम्म होली मनाएका हुन। भीमसेन मन्दिरमा भीमसेनको लिङ्ग र द्रौपतीको योनीको प्रतीकलाई झुण्ड्याएर यौन समागमका रूपमा एक सातासम्म प्रदर्शनमा राखिएको काठबाट निर्मित लिङ्गलाई आज साँझ मन्दिरबाट स्थानीयवासीले काँधमा बोकेर ब्रह्मायणी मन्दिर नजीकै हनुमन्ते खोलामा लगेर पखालेपछि होली पर्व विधिवत् रूपमा विसर्जन भएको हो। काठबाट निर्मित भीमसेनको लिङ्गलाई फागुन शुक्ल अष्टमीको दिन बिहान दुईजनाले काँधमा बोकेर भक्तपुरको इनाचो, बाचुटोल, जेला, जगाती, ब्रह्मायणी, च्यामासिंह हुँदै तचपालस्थित दत्तात्रय मन्दिर वरिपरि रहेको घर, पसलपिच्छे दर्शन एवं पूजा गरी साँझ मन्दिरको पाटीमा झुण्ड्याएको थियो। भक्तपुरका संस्कृतिविद् ओम धौभडेल नेवारी परम्पराअनुसार यसलाई चीर स्वायगू भनिने बताउछन। चीर स्वायगू अर्थात् लिङ्ग घुमाएपछि फागु शुरु परम्परा रहेको छ। घुमाएको लिङ्गलाई स्थानीयवासीले ढोग्ने र दान दक्षिणा दिने परम्परा छ। यसो गरेमा व्यापार फस्टाउने विश्वास रहिआएको छ। बजार घुमाएपछि भीमसेन मन्दिरमा ल्याएको लिङ्ग र योनी आकारको प्वाल भएको रातो कपडासमेत भीमसेनको मन्दिरमा झुण्ड्याइन्छ। झुण्ड्याएको लिङ्ग हल्लाउँदा योनी आकारको कपडाको प्वालभित्र छिर्ने गर्दछ भने यसलाई विकृतिका रुपमा नभई सांस्कृतिक महत्वको मान्दै भीमसेन र द्रौपतीको यौन समागमका रूपमा संरक्षण गरिँदै आएको स्थानीयवासीको भनाइ छ। दक्षिण एशियामै कतै कृष्णसँग र कतै प्रल्हादसँग सम्बन्धित रहने होली पर्व यहाँ भने भीमसेनसँग सम्बन्धित रहने गरेको संस्कृतकर्मीको भनाइ छ। चीर स्वायगू अर्थात् लिङ्ग झुण्ड्याएपछि यहाँका नेवार समुदाय भीमसेन मन्दिरमा गई गुठी भोज खाने प्रचलनसमेत रहिआएको छ। फागु पूर्णिमाको दिन आज मन्दिरबाट लिङ्ग निकाली काँधमा बोकेर ब्रह्मायणी मन्दिरस्थित खोलामा लगेर पखाल्ने र पुनः मन्दिरमा राखेपछि विधिवत् रूपमा होली समापन भएको छ। छोरा जन्मन्छ भन्ने विश्वासका आधारमा लिङ्ग बोक्न चाहनेको प्रतिस्पर्धा चल्ने गर्दछ। रासस

निजी क्याम्पसमा भर्ना प्रक्रिया बन्द

काठमाडौं, पुष २७ । कृषि तथा वन विज्ञान विश्वविद्यालयले दिएको विवादित सम्वन्धनका विषयमा सर्वोच्च अदालतमा परेको मुद्धाको पेसी तीन महिना पर धकेलिएको छ । योसँगै विश्वविद्यालयको सम्बन्धन पाएका निजी कलेजले चालू शैक्षिक सत्रमा भर्ना गर्ने बाटो बन्द भएको छ । बिहीबारका लागि तोकिएको पेशीमा कुनै बहस नभई अदालतले चैत १८ गतेका लागि पेशी तोकेको छ । उक्त मुद्धाका लागि बिहीबार तोकिएको पेशीमा ‘आवश्यक बहसको तयारी नपुगेको’ महान्यायाधिवक्ताको कार्यालयले जनाएसँग मुद्दाको पेसी पर धकेलिएको श्रोतले जनाएको छ । विश्वविद्यालयले दिएको सम्बन्धन त्रुटिपूर्ण भन्दै मन्त्रीपरिषद्ले गरेको निर्णय विरुद्ध निजी कलेजका सञ्चालकहरु अदालत गएका थिए । सम्बन्धन पाएका निजी कलेजहरुले सरकारको निर्णय प्रति आपत्ति जनाउँदै सर्वोच्चमा दायर गरेको रिटमा सुनुवाई गर्दै अदालतले भदौै १ गते अन्तरिम आदेश दिएको थियो । साही आदेशलाई अपब्याख्या गर्दै निजी कलेज सञ्चालकहरुले भर्ना प्रकृया शुरु गरेका थिए । प्रा.डा. गोविन्द केसीको जारी १६ औं सत्याग्रहमा उनले पनि कृषि र वन विश्वविद्यालयको उक्त सम्बन्धनको विषय उठाएका छन् । ‘कृषि तथा वन विश्वविद्यालयमा सम्बन्धन रोक्ने मन्त्री परिषदको निर्णय बाबजुद चोर बाटोबाट दिन लागिएको सम्बन्धन तत्काल रोक्दै दोषी पदाधिकारीहरुलाई कारवाही गरियोस्’ उनको ६ बुँदे मागको दोश्रो बुँदामा उल्लेख छ । विश्वविद्यालयद्वारा २०७५ असार २० गते आठ निजी कलेजहरुलाई बिएस्सि एजि र फरेष्ट्रि अध्यापनको लागि दिएको सम्बन्धन त्रुटिपूर्ण भन्दै साउन १४ गतेको मन्त्रीपरिषद्ले खारेज गरेको थियो । मापदण्ड नपुगेका कलेजलाई दिएको सम्बन्धनका बारेमा खबर सार्वजनिक भएपछि शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले उक्त सम्बन्धन खारेज गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेका थिए । तै पनि निजी कलेजहरुले भर्नाको प्रकृया जारी राख्दै आएका थिए । सम्बन्धनकै विषय नटुङ्गिदै निजी कलेजले शुरु गरेको भर्ना अवैधानिक हुने भन्दै विश्वविद्यालयका पदाधिकारीले समेत पछिल्लो समय असहमती जनाउँदै आएका थिए । सम्बन्धन पाउनेमा कृषिको सात वटा सहित वनको एउटा कलेज छन् । झापाको पूर्वाञ्चल क्याम्पस, इटहरीको जिवीका कृषि क्याम्पस, ललितपुरको भ्याली कृषि क्याम्पस, नेपालगन्जको गोर्खा पोलिटेक्निकल कलेज, सुर्खेतको मध्यपश्चिम कृषि क्याम्पस, नवलपरासीको रामगनर टेक्निकल एन्ड म्यानेजमेन्ट र हिमछाया कृषि क्याम्पसलाई कृषि विषय पठनपाठनका लागि र नवलपरासीको गैंडाकोटमामा वन विषय पठनपाठन गराउन अस्थायी सम्बन्धन दिएको थियो । ति क्याम्पसहरुले गर्ने विद्यार्थी भर्ना अवैध हुने र विद्यार्थिको भविष्य वर्वाद हुने भन्दै सरोकारवालाहरुले चिन्ता जाहेर गर्दै आएका छन् । उनीहरुले त्यस्ता कलेजमा भर्ना प्रकृयामा सहभागी नहुन अभिभावकलाई समेत आह्वान गरिरहेका छन् । एडुखबरबाट साभार

तीन महिनापछि खुल्ला विज्ञापनको कापी परीक्षण, नतिजा कहिले आउने ?

भक्तपुर, पुष २३ । परीक्षा लिएको तीन महिनापछि बल्ल शिक्षक सेवा आयोगले सोमबारबाट खुल्ला विज्ञापनको कापी परीक्षणको काम शुरु गरेको छ । काठमाडौं उपत्यकाका छुट्टा छुट्टै तीन स्थानमा कापी परीक्षण शुरु गरेको आयोगका अध्यक्ष ताना गौतमले जानकारी दिए । काठमाडौंको विश्व निकेतन र रत्नराज्य विद्यालय तथा भक्तपुर स्थित आयोगकै कार्यालयमा सोमबारबाट कापी परीक्षणको काम शुरु भएको उनले बताए । नतिजा प्रकाशनको काम चाँडै सक्ने गरी आवश्यक परेमा अन्य स्थानमा पनि परीक्षणको ब्यवस्था गर्न सकिने उनको भनाई छ । यस अघि ताहाचल स्थित जनप्रभात माविमा परीक्षण गरिएको थियो । गत असारमा भएको खुल्ला विज्ञापनको परीक्षा असोजमा भएको थियो । माविको असोज ११ गते, निमाविको १२ र प्राविको १३ गते परीक्षा भएको थियो । यही बीचमा अस्थायी शिक्षकको परीक्षाको प्रकृयागत काम सक्नु पर्दा खुल्लाको काममा केही प्रभाव परेको आयोगका पदाधिकारीले बताउँदै आएका छन् । आईतबार काठमाडौं उपत्यकाको लिखित नतिजा प्रकाशन गरे सँगै अस्थायीको लिखितको नतिजा सार्वजनिक गर्ने काम सकिएको छ । त्यस पछि आयोगले खुल्लाको कापी परीक्षण शुरु गरेको हो । कूल १२ हजार ७ सय ३९ पदका लागि भएको विज्ञापनमा २ लाख ८२ हजारले आवेदन गरेका आयोगले जनाएको छ । प्राथमिक तहमा ९ हजार ९ सय ९६, निमावि तहमा १६ सय ३५ र मावि तहमा ११ सय ८ पदमा आयोगले विज्ञापन गरेको हो । इडियूखबरबाट

स्वस्थ स्वास्थ्यका लागि योगाका अपत्यारिला फाइदाहरु यस्ता छन्

मोटोपनाको कारण भद्दा भएको शरीरलाई फिट बनाउनको लागि धेरैले विभिन्न उपायहरु अपनाउँछन् । तीमध्ये सबैभन्दा सरल र प्रभावकारी उपाय हो– नियमित योगा र ध्यान गर्ने । नियमित योगा र ध्यान गर्नाले धेरै हाम्रो शरीर चुस्त–दुरुस्त त हुन्छ नै यसले शरीरको रोग प्रतिरोधी प्रणालीमा पनि सुधार गर्छ । योगा र ध्यानमा मानव शरीरका केही यस्ता राज लुकेका छन् जसले हाम्रो डिएनए परिवर्तन गरेर क्यान्सर जस्ता कैयौं घातक रोगहरुबाट टाढा राख्न सक्छ । यस्तोमा वैज्ञानिकहरुले एन्टी इन्फ्लेमेटरी जिन्स पत्ता लगाएका छन् जसले शरीरलाई सक्रिय र स्वस्थमात्रै राख्ने होइन बरु आयु पनि बढाउँछ ।