प्रभातफेरिमा पत्रकारहरु
नेपाल पत्रकार महांसघ जिल्ला शाखा रोल्पाको ११ औ स्थापना दिवसको अवसरमा आयोजित प्रभातफेरि कार्यक्रममा सहभागी पत्रकारहरु । तस्वीर : उमा केसीको फेसबुकबाट, रोल्पा
संशोधन प्रस्तावको भारतद्धारा स्वागत
काठमाडौँ , मंसिर १६ । भारतीय सरकारले मधेसवादी दलहरूको मागलाई सम्बोधन गर्न दर्ता भएको संविधान संशोधनको प्रस्तावलाई ‘सकारात्मक’ रूपमा लिएको छ । सरकारले मंगलबार संसदमा दोस्रो संशोधन प्रस्ताव दर्ता गराएपछि भारतीय विदेश मन्त्रालयका अधिकारीहरूले नेपाली राजदूत दीपकुमार उपाध्यायसँगको कुराकानीमा त्यस्तो धारणा व्यक्त गरेका हुन् । ’नेपालमा विकसित राजनीतिक घटनाक्रमबारे हामीलाई जानकारी छ, संविधान संशोधन प्रस्ताव दर्ता हुनु सकारात्मक हो,’ विदेश मन्त्रालयका अधिकारीहरूलाई उद्धृत गर्दै उपाध्यायले भने । उपाध्यायका अनुसार भारतीय अधिकारीहरूले संविधान संशोधनको विषय नेपालको आन्तरिक मामिला भएको र नेपालको संसद्ले टुंगो लगाउने विषय भएको समेत बताएका छन् । यस अगाडि मधेसवादी दलहरूको मागलाई सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले गरेको ढिलाइप्रति भारतले असन्तुष्टि व्यक्त गर्दै आइरहेको थियो । संशोधन प्रस्तावले मधेसवादी दलहरूले उठाइरहेका महत्त्वपूर्ण मागहरू सम्बोधन गर्ने भारतको बुझाइ छ । यस अगाडि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावले संविधान संशोधन ओझेलमा पर्ने भन्दै भारतले सरोकार व्यक्त गरेको थियो । प्रधानमन्त्री भएपछि दाहालले गरेको दुई पटकको भारत भ्रमण तथा कांग्रेस सभापति शेरबहादुर देउवाको भ्रमणको समयमा भारतले संविधान संशोधन प्रक्रियालाई गति दिन आग्रह गरेको थियो । भारतका राजनीतिक दलका नेताहरूले पनि संशोधन प्रस्तावको समर्थन गरेका छन् । दाहाल र देउवा दुवैले भारतीय पक्षलाई मधेस तथा जनजातिको मागलाई सम्बोधन गरेर अगाडि जाने भनी आश्वस्त पारेका थिए । नेसनलिस्ट कंग्रेस पार्टी अफ इन्डियाका महासचिव डीपी त्रिपाठीले संशोधन प्रस्ताव दाहालले मधेसवादी दलहरूलाई दिएको प्रतिबद्धताअनुसार नै दर्ता भएको बताए । ’म यसलाई स्वागत गर्छु। यसले नेपाललाई शान्ति तथा स्थिरतातर्फ लैजाने छ,’ उनले भने । आजको कान्तिपुर दैनिकमा खबर छ ।
देशका यी ठाउँमा हुनेछ हिमपात, यस्तो रहनेछ काठमाडौंको तापक्रम
काठमाडौं । देशका केही भू–भागमा आज हिमपातको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ । आज बिहान पौने ६ बजेको काठमाडौंको न्यूनतम तापक्रम ४.६ डिग्री सेल्सियस रहको छ । दिउँसो १८ देखि २० डिग्री सेल्सियससम्म पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हिजो काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस रहेको थियो । विभागका अनुसार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । विभागले राति कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
सुदूरपश्चिम माओवादी संसदीय दलको नेताबाट हटाइए खगराज भट्ट
काठमाडौँ । माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलको नेताबाट खगराज भट्ट हटाइएका छन् । माओवादी बहुमत प्रदेश सभा सदस्यहरूले भट्टलाई हटाएका हुन् । नयाँ संसदीय दलको नेतामा मानबहादुर धामी चयन भएको एक नेताले बताए । धामी यसअघि प्रमुख सचेतक थिए । सभामुखसहित ११ जना प्रदेशसभा सांसदमध्ये ६ जनाले खगराजलाई हटाएर धामीलाई दलको नेता बनाएका हुन् ।
छठको दोस्रो दिन आज खरना गरिँदै
काठमाडौं । छठको दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीअन्तर्गत शनिबार खरना गरिँदै छ । यस दिन पनि बिहानै घर आँगनको सफाइ गरी व्रत गरी बेलुकी सखरमा पकाएको खीर खाइन्छ । आजको दिन ठेकुवा, भुसुवाजस्ता परिकार पनि बनाइन्छ । चार दिने छठ पर्वका पहिलो दिन हिजो वर्तालुले बिहानै घर आँगनको सरसफाइ गरी स्नान गरेर चोखो खानेकुरा खाएका छन् । यसलाई छठ वर्तालुको भाषामा नहाय खाय भन्ने गरिएको छ । छठका वर्तालुले कोजाग्रत पूर्णिमा अर्थात् आश्विन शुक्ल पूर्णिमादेखि नै लसुन, प्याजलगायत तामसी खानेकुरा नखाई चोखो खाएर बस्ने व्रतविधि रहेको छ । छठमा बाँसका सामग्री, उखु, केरा, सुन्तला, स्याउआदिको बढी प्रयोग गरिन्छ । छठ पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीमा आइतबार नीराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ । कार्तिक शुक्ल सप्तमीका दिन बिहान सोमबार उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि चार दिन लामो सूर्य आराधनाको पर्व छठ समापन हुन्छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्य एवं छठी माताको पूजा आराधनासहित अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दान गरेमा मनले चिताएको पूरा हुने कुरा सूर्यपुराणलगायत ग्रन्थमा उल्लेख छ । महाभारतकालमा द्रोपदीसहित पञ्चपाण्डवले सूर्यको पूजा आराधना गरी एक वर्षे अज्ञातवास सफल भएको महाभारतलगायत विभिन्न धार्मिक ग्रन्थमा उल्लेख छ । सूर्यका दुई श्रीमती छाया र संज्ञा कार्तिक शुक्ल षष्ठी र सप्तमीका दिनमा अस्ताउँदो र उदाउँदो सूर्यसँगै आउने भएकाले छठी माताका रुपमा पूजा आराधना गर्ने परम्परा बसेको धार्मिक विश्वाससमेत छ । यस अवसरमा सूर्यलाई विधिपूर्वक पूजा, आराधना गरेर अर्घ्य दिएमा मनोकामना पूरा हुनाका साथै छालाजन्य रोग पनि निको हुने विश्वास गरिन्छ ।
गृहमन्त्री श्रेष्ठसित सीपीसी तिब्बतका सचिवको भेटवार्ता
काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) तिब्बतका सचिव वाङ छुङछेङले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेट गरेका छन् । शनिबार सिंहदरबारस्थित मन्त्रालयमा पुगेर उनले गृहमन्त्री श्रेष्ठसँग भेटवार्ता गरेका हुन् । यही कात्तिक २२ गते नेपाल भ्रमणमा आएका सचिव छुङछेङले यसअघि राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गरी आपसी हितका विविध विषयमा छलफल गरिसकेका छन् । उनले शिष्टाचार भेटवार्ताका क्रममा आफ्नो नेपाल भ्रमणको मुख्य उद्देश्य दुई मुलुकबीच भएका महत्त्वपूर्ण सहमति कार्यान्वयनमा जोड दिनु रहेको बताउँदै आएका छन् ।
प्रधानमन्त्री प्रचण्ड र कोरियाका मन्त्री चुङ ह्वाङ क्युनबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गणतन्त्र कोरियाका कृषि, खाद्य र ग्रामीण मामिला मन्त्री चुङ ह्वाङ क्युनबीच मा शिष्टाचार भेटवार्ता भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका अवसरमा कृषि सहयोग लगायत विभिन्न विषयमा छलफल भएको थियो ।
राष्ट्र संघबाट खटिएका एक नेपाली सैनिक लेबनानमा गोली लागेर घाइते
काठमाडौं । संयुक्त राष्ट्र संघको शान्ति मिसनमा खटिएका एकजना नेपाली सैनिक इजरायलसँगको सीमावर्ती दक्षिणी लेबनानमा गोली लागेर घाइते भएका छन्। घाइते हुने नेपाली सैनिकको नाम र ठेगाना भने खुलाइएको छैन। दक्षिणी लेबनानमा संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा खटिएका ती नेपाली शान्ति सैनिक घाइते भएका हुन्। त्यस क्षेत्रमा हिज्बुल्लाह सक्रिय छ। इरान समर्थित उक्त सिया इस्लामिस्ट राजनीतिक पार्टी तथा अर्धसैनिक संगठन इजरायलबीच ७ अक्टोबरयता कैयनपटक रकेट हानाहाना भएको छ। त्यहाँ विकसित हुन सक्ने तनावलाई लिएर अमेरिकासहितका पश्चिमा देशहरूले आफ्ना नागरिकलाई देश छाड्न भनिसकेका छन्।त्यहाँ झण्डै १० हजार नेपाली श्रमिकहरू समेत काम गर्छन्। संयुक्त राष्ट्र संघको अन्तरिम बल, लेबनानका प्रवक्ता एन्ड्रिया टेनेन्टीले गोली लागेर एकजना नेपाली सैनिक सामान्य घाइते भएको जानकारी दिएका छन्। लेबनानको आधिकारिक राष्ट्रिय समाचार संस्था नेशनल न्यूज एजेन्सी (एनएनए) ले पनि नेपाली शान्ति सैनिकको पेट र हातमा गोली लागेको जनाएको छ। गाजा क्षेत्रमा इजरायल र हमासबीच तनाव चलिरहेका बेला इजरायलसँगै सीमा जोडिएको लेबनानमा यो घटना भएको हो।
हमासद्धारा चार बन्धक रिहा
तेल अभिभ । इजरायल–हमासबीच जारी युद्धका बीच लडाकु समूह हमासले अहिलेसम्म चार बन्धकलाई रिहा गरेको छ । हमासले मंगलबार थप दुई बन्धकलाई रिहा गरेको दी टाइम्स अफ इजरायलले जनाएको छ । रिहा हुनेमा नुरिट कुपर र योचेभेद लिफ्शिट्ज छन् । मुक्त भएका दुई बन्धकलाई लिएर एउटा सैन्य हेलिकोप्टर तेल अभिभमा इचिलोभ अस्पतालको छतमा अवतरण गरेको थियो । अस्पतालका एक नर्सलाई उद्धृत गर्दै दी टाइम्स अफ इजरायलले गाजामा हमासको कैदबाट रिहा भएपछि सिधै मेडिकल सेन्टरमा पुर्याइएका दुवैको स्वास्थ्य राम्रो देखिएको जनाएको छ । नर्सका अनुसार दुवै बन्धकको आफ्नो परिवारसँग भावनात्मक पुनर्मिलन भएको छ । मुक्त भएका दुवै बन्धकले औषधि लिइरहेका थिए, तर उनीहरूले दुई साता कैदमा प्राप्त नगरेको हुनसक्छ । यसअघि, हमासको कासम ब्रिगेडले एउटा भिडियो जारी गरेको थियो । जसमा दुई बन्धकलाई अन्तर्राष्ट्रिय रेडक्रसका सदस्यलाई सुम्पँदै गरेको देखाइएको थियो । भिडियोमा दुई महिला नकाब लगाएका बन्दुकधारीको हात समातेर अस्थिर रूपमा हिँडिरहेको देखिन्छ । ती नकाबधारीले उनीहरूलाई नास्ता र पेयपदार्थ पनि दिइरहेका हुन्छन् । दी टाइम्स अफ इजरायलका अनुसार भिडियो फुटेजमा दुवै महिला डराएको देखिन्छ । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले वासिङ्टनले ती बन्धकको रिहाइको स्वागत गरेको र बाँकीको रिहाइका लागि काम जारी राखेको सामाजिक सञ्जाल एक्समा बताएका छन् । अझै २०० जना बन्धक रहेको बताइएको छ । सीएनएनका अनुसार यसअघि हमासले दुई अमेरिकी बन्धकलाई रिहा गरेको थियो । सिकागो बासिन्दा जुडिथ ताई रानन र उनकी १७ वर्षीया छोरी नताली राननलाई हमासले मुक्त गरेको बताइएको छ । रासस एएनआई
काठमाडौंको गैह्रीगाउँमा चार जनाको हत्या
काठमाडौं । काठमाडौँको तीनकुने स्थित गैह्रीगाउँमा एकै परिवारका तीन जनासहित चार जनाको हत्या भएको छ । धारिलो हतियार प्रहार गरेर हत्या गरेको अवस्थामा चार जनाको शव भेटिएको हो । हत्या हुनेमा २ महिला र दुई जना पुरुष रहेको जिल्ला प्रहरी परिसरका प्रवक्ता कुमोध ढुङ्गेलले बताए । ढुङ्गेलका अनुसार दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्र वाइवा र कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका करिब १९ वर्षीय नवीन राईको हत्या भएको हो । गैह्रीगाउँ स्थित दिव्य सः मिलमा चारै जना कार्यरत थिए । शुक्रबार राति १२ बजेतिर उक्त घटना भएको बताइएको छ । उनीहरूको शरीरका विभिन्न ठाउँमा धारिलो हतियार प्रहार भएको गहिरो चोट छ । घटनाको अनुसन्धानमा उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतहरू खटिएका छन् ।
पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा
काठमाडौं । साबिकको विजेता श्रीलंकाले एसीसी एसिया कप क्रिकेटको सुपर फोरको खेलमा पाकिस्तानलाई हराउँदै फाइनलमा स्थान बनाएको छ । श्रीलंकाको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा शुक्रबार बिहान सम्पन्न खेलमा श्रीलंका डकवर्थ लुईस पद्दती अनुसार २ विकेटले विजयी भएको हो । पाकिस्तानले दिएको २ सय ५२ रनको लक्ष्य श्रीलंकाले निर्धारित ४२ ओभरको अन्तिम बलमा पुरा गर्यो। श्रीलंकाका लागि कुसल मेन्डिसले ८७ बलमा ८ चौका र १ छक्काको सहयोगमा ९१ रन बनाए । सदिरा समराविक्रमाले ५१ बलमा ४ चौकाको सहयोगमा ४८ रन बनाए । मेन्डिस र सदिराले तेस्रो विकेटका लागि ९८ बलमा १ सय रनको महत्वपूर्ण साझेदारी गरेका थिए । चरिथ असलंका ४७ बलमा ३ छक्का र १ चौकाको सहयोगमा ४९ रनमा अविजित रहे । डेब्यु खेल खेलिरहेका जमान खान बलिङमा आए । खानले सुरुआती चार बलमा दुई रन मात्रै दिएर पाकिस्तानको जितको आधार बनाउँदै थिए । त्यसपछिको दुई बलमा जितको लागि ६ रन चाहिएको थियो । चरिथले पाँचौं बलमा चौका र अन्तिम बलमा दुई रन बटुल्दै श्रीलंकालाई फाइनल पुर्याएका हुन् । साबिकको विजेता श्रीलंकाले आइतबार भारतसँग उपाधिको लागि खेल्ने छ ।
यस्ता छन् सरकारका आठ निर्णय
काठमाडौं । सरकारले एमसीए–नेपालले निर्माण गर्ने विद्युत् प्रशारण लाइन तथा सबस्टेसनका लागि सिन्धुपाल्चोक, पाल्पा, नवलपरासी (बर्दघाट सुस्तापूर्व)का जिल्लाका जग्गा प्रदान गर्न स्वीकृति दिने निर्णय गरेको छ । असार १९ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णयसहित आठवटा निर्णय गरेको सूचना प्रविधि तथा सञ्चारमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । यस्तै, सरकारले भन्सार तथा लजिस्टिक्स सुधारअन्तर्गत एसियाली विकास बैंकबाट बजेटरी सहायताबाट प्राप्त हुने ५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । यस्ता छन् निर्णय
कालीगण्डकी करिडोर, सिद्धार्थराजमार्ग अवरुद्ध
पाल्पा । गए रातिदेखि परिरहेको अविरल वर्षाले कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ । करिडोरअन्तर्गत पाल्पाको रम्भा गाउँपालिका–२ र ३ को सिमानामा रहेको सहर्दीखोला पुल नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा करिडोर भएर आवतजावत गर्ने यात्रु तथा सवारीसाधन बीचबाटोमै अलपत्र परेका छन् । आज बिहान ५ः०० बजेदेखि सडक अवरुद्ध बनेको हो । तानसेन नगरपालिका–५ ढुङ्गाखानीमा पहिरो खसेकाले तानसेन रिडी सडकखण्ड पनि अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले जानकारी दिए । सिद्धार्थ राजमार्गअन्तर्गत आर्यभन्ज्याङ–राम्दी सडकखण्ड पनि अवरुद्ध बनेको छ । माथागढी गाउँपालिका–१ धैरेनीमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सो सडक अवरुद्ध हुँदा बुटवल–पोखरा चल्ने सवारीसाधन बीचमै लामबद्ध अवस्थामा रोकिएका छन् ।
प्रतिनिधिसभाको बैठकमा आज पनि बजेटमाथि छलफल जारी रहने
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । सङ्घीय संसद् भवन, बानेश्वरमा बिहान ११ बजे बैठक बस्नेछ । आजको बैठकमा पनि आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल जारी रहनेछ। प्रतिनिधिसभामा बजेटमाथिको छलफल सोमबारदेखि सुरु भएको हो। मंगलबार आगामी आर्थिक वर्षको बजेट निर्माणको प्रक्रियामा अनधिकृत व्यक्ति संलग्न भएको विषयमा अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिए पछि बजेट माथि छलफल सुरु भएको थियो।
आजको मौसम : गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशका पहाडी भू-भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशका पहाडी भू-भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ । रातीस् देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।