दोलखामा एमाले अखिलद्वारा आक्रमण
दोलखा, फागुन १८ । जारी स्ववियु निर्वाचन अनुसार प्रताप स्मृति कलेज सिंगटीमा मतदान शुरु हुनेबित्तिकै एमाले अखिलले मतदान स्थलमा आक्रमण गरेको छ ।
अखिलले आक्रमण गरेपश्चात अखिल क्रान्तिकारी र नेविसंघले प्रतिरोध गरेपश्चात दोहोरो झडप भएको छ । झडपमा झण्डै २ दर्जन विद्यार्थीहरु घाइते भएको बताइएको छ ।
प्रताप स्मृति कलेजमा अखिल क्रान्तिकारी प्रचण्ड र नेविसंघको संयुक्त प्यानल बनाएर चुनाव लडिरहेको छ भने एमाले अखिल र अन्य संगठनहरुको एउटा प्यानल बनेको बताइन्छ ।
नेकपा माओवादी केन्द्रका दोलखा संयोजक विशाल खड्काका अनुसार एमाले अखिलले पराजित हुने निश्चित भएपछि भाड्न खोजेको बताए ।
अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतका अनुसार प्रताप स्मृतिमा अखिल क्रान्तिकारीले जित्ने निश्चित भएपछि अखिलले चुनाव भाड्न खोजेको बताए ।
बार्यन म्युनिखसँग आर्सनलको लज्जास्पद हार
फागुन ५ । च्याम्पियन्स लिग फुटबलमा आर्सनलले बार्यन म्युनिखसँग लज्जास्पद हार व्यहारेको छ । नकआउट चरणको पहिलो लेगमा आर्सनल बार्यनसँग ५–१ ले पराजित भएको हो । यससँगै आर्सनलको च्याम्पियन्स लिगको यात्रा फेरि एक पटक अन्तिम १६ मै टुंगिने देखिएको छ । च्याम्पियन्स लिगअन्तर्गत विहिबार बिहान सम्पन्न पहिलो लेगको खेलमा म्युनिखले दोस्रो हाफमा ४ गोल गरेपछि आर्सनलले नसोचेको नतिजा भोग्नु पर्यो। यो हारसँगै सन् २०१० पछि क्वाटरफाइनल प्रवेश गर्ने इङ्लिस क्लबको योजनामा गम्भीर धक्का लागेको छ। गत सिजन पनि आर्सनल समूह चरणको खेलमा म्युनिखबाट ५–१ गोलले नै पराजित भएको थियो। म्युनिखको एलियान्ज एरिनामा ७० हजार दर्शक अगाडि अन्तिम २५ मिनेटको खेललाई नियन्त्रणमा राख्न नसक्दा आर्सनलले खेल गुमाउनु पर्यो। स्पेनिस मिडफिल्डर थियागो अलकान्टाराको दुई, अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका थोमस मुलर, रोबर्ट लेवान्डोस्की र आर्जेन रोबेनको गोलका कारण म्युनिखले खेलमा एक्लौटी दबाब बनायो। अनुभवी विङ्गर रोबेनले ११ मिनेटमै म्युनिखलाई अग्रता दिलाएका थिए। तर, एलेक्स सान्चेजले ३० मिनेटमा गोल फर्काएपछि पहिलो हाफको खेल १–१ को बराबरीमा रोकेको थियो। सान्चेजले पेनाल्टीमार्फत गोलको प्रयास गरे पनि उनको पेनाल्टीलाई जर्मनीका राष्ट्रिय गोलरक्षक नेउरले जोगाएका थिए। तर, नेउरले बललाई ‘क्लियर’ गर्न नसक्दा फर्किएर आएको बललाई पुनः गोलमा परिणत गर्दै सान्चेजले आर्सनललाई खेलमा फर्काएका थिए। तर, दोस्रो हाफमा आर्सनलले आफ्नो प्रभावलाई कायम राख्न सकेन्। अझ, प्रभावशाली डिफेन्डर कोसिल्नी चोटका कारण ४९ मिनेटमा मैदान छोड्न बाध्य भएपछि आर्सनलले त्यसको गम्भीर परिणाम भोग्यो। लेवान्डोस्कीले आर्सनलको डिफेन्सको क्रुटीको फाइदा उठाउदै ५३ मिनेटमा दोस्रो गोल गरे। अझ, १० मिनेट भित्र अलकान्टाराले ९५६ र ६३० दुई गोल गरेपछि इङ्लिस क्लब संकटमा परेको थियो। मुलरले ८८ मिनेटमा गोल गरे। आर्सनलले ७ मार्चमा म्युनिखलाई आफ्नो घरेलु मैदानमा आतिथ्य गर्नेछ। यो नतिजाका बीच खेलमा पुनः फर्किनु भनेको आर्सनलका लागि असम्भव झै मानिन्छ।
२८ नेपालीलाई क्षतिपूर्ति बापत पाँच करोड प्राप्त
काठमाडौँ, फागुन ४ गते । नेपाली दूतावास कुवेतले वैदेशिक रोजगारीका क्रममा मुत्यु भएका २८ नेपाली नागरिकको क्षतिपूर्तिबापत रु पाँच करोड पाँच लाख ९९ हजार ७११ रकम परराष्ट्र मन्त्रालयमा पठाएको छ । नेपाली दूतावास कुवेतले प्रेस विज्ञप्तिमार्फत आव २०७२/७३ र आव २०७३/७४ को हालसम्मको क्षतिपूर्ति रकम पठाएको जानकारी दिएको छ । कुवेतमा विगतका वर्षहरुमा मृत्यु भई क्षतिपूर्ति लिन बाँकी रहेका नेपाली नागरिकको क्षतिपूर्ति प्राप्तिका लागि दूतावासले कानुन व्यावसायीको मद्दत लिएर आवश्यक कार्य अगाडि बढाएको र सोही प्रयत्नको फलस्वरुप क्षतिपूर्ति, बिमा, बाँकी तलब, सेवापश्चात पाउने रकम सम्बन्धित कम्पनीमार्फत प्राप्त सहयोग जुटाएको जनाएको छ । दूतावासले दीपक श्रीमल, चन्द्रबोल राई जीतबहादुर कटुवाल, हिकमान तामाङ, जनकबहादुर बस्नेत, कामी सिंह गोले, यामबहादुर बस्नेत, गजेन्द्रकुमार विक, आइतराज तामाङ, सुकान चौधरी, चित्रबहादुर कुवर, नरबहादुर चेम्जोङ, दुर्गाबहादुर थापा, अमृतबहादुर बम्जन, ऋषिप्रसाद देवकोटा, सत्यनारायण साह, दिलबहादुर तामाङ, खड्गकुमार राई, वीरबहादुर गुरुङ, आइबहादुर दर्जी, रामपुकार भण्डारी, विजय विक, गोविन्द विक, सुताइ साह तेली, देवराज ओली, दुलार ठाकुर, केशरबहादुर नेम्वाङ र सुनिता गुरुङले पाउने क्षतिपूर्ति वापत ४० हजार ६७० कुवेती दिनारदेखि रु २५० कुवेती दिनारसम्मको क्षतिपूर्ति पठाएको दूतावासले जनाएको छ । रासस
एमालेको स्थायी कमिटिको बैठक सकियो, भनेकै मितिमा सबै चुनाव गर्न माग
फागुन ३ । नेकपा एमालेको स्थायी कमिटिको बैठक सकिएको छ । मंगलबार दिउँसो पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा बसेको स्थायी कमिटि बैठकले आउँदो माघ भित्रै तीन वटै तहका निर्वाचन सम्पन्न गर्न सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको हो । बैठकले स्थानीय तहको निर्वाचन बैशाख भित्रमा गर्ने वातावरण वनाउन सरकारलाई आग्रह गरेको छ । भनेकै समयमा तीनवटै निर्वाचन गराउन सबै राजनीतिक दलसँग छलफल गर्ने पनि निर्णय गरेको छ । मधेसी मोर्चालाई पनि सहमतिमा ल्याएर निर्वाचनको वतावरण निर्माण गर्न एमालेले पहल गर्ने भएको छ । बैठकले तोकिएकै समयमा निर्धारित मितिमा स्ववियु चुनाव सम्पन्न गर्न पनि सरकारसँग माग गरेको छ ।
हिमाल चढेका पण्डितलाई नगदले सम्मान
काठमाडौँ, माघ २७ । नेपाल पर्यटन बोर्डले अल्ट्रा धावक सञ्जय पण्डितलाई रु दुई लाख ७५ हजारसहित सम्मान गरेको छ । हालै अन्टार्टिकाको सर्वोच्च शिखर भिन्सन मासिफ आरोहण गरेका कीर्तिमानी विश्व पर्वतारोही पण्डितलाई बोर्डले कदरस्वरुप सम्मान गरेको हो । बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी तथा बोर्डका सदस्य कृष्ण अर्यालले उक्त रकम बराबरको चेक र सम्मानपत्र प्रदान गरेका हुन् । नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा साहसिक हिमाल आरोहणको माध्यमबाट चिनाउन भूमिका खेलेकाले पण्डितलाई सम्मान गरिएको बोर्डले जनाएको छ । पण्डितले सगरमाथा मनास्लुसहित विश्वका ११ विश्व शिखर सफलतापूर्वक आरोहण गरेका थिए । उनले अफ्रिकाको शिखर किलिमन्जारो र अस्ट्रेलियाको सर्वोच्च शिखर कोजियसको उल्टो हिँडेर आरोहण गरेका थिए । उल्टो हिँडेर हिमाल आरोहण गर्ने नेपालको पहिलो विश्व पर्वतारोही हुन् । पण्डितले अन्टार्टिकाकै अर्को चर्चित पर्वत माउन्ट रजम्यान पनि सफलतापूर्वक आरोहण गरेका थिए ।
बिमस्टेकप्रति सरकार गम्भिर छ : प्रधानमन्त्री
काठमाडौ, माघ २४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सन् २०१७ मा नेपालमा हुने बिमस्टेकप्रति सरकार गम्भिर रहेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको विमस्टेकका महासचिव सुमित नाकान्दालासँगको भेटमा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । प्रधानमन्त्री र नाकान्दालाबीच भएको भेटमा बिमस्टेक सम्मेलनको तयारीका विषयमा कुराकानी भएको बताइएको छ । प्रधानमन्त्री प्रचण्डले चौथों बिमस्टेक सम्मेलन सन् २०१७ मै नेपालमा सम्पन्न गर्नेबारे मन्त्रीपरिषदको बैठकबाटै तयारी गरिएको बताएका छन् । बिमस्टेकको अध्यक्ष राष्ट्रका नाताले सम्मेलनको आयोजनाका लागि सरकार गम्भीर भएर लागेको बताएका हुन् । प्रधानमन्त्रीले आगामी बिमस्टेक सम्मेलनमा कनेक्टिभिटी, उर्जा, आर्थिक विकासका एजेण्डामाथि छलफल केन्द्रित गरिने जानकारी दिएका छन् । महासचिव नाकान्दालाले पनि बिमस्टेकको महासचिवका नाताले सन् २०१७ मा नेपालमा हुने चौथों सम्मेलनका तयारीमा आफू पनि गम्भीरतापूर्वक लागेको बताए । नाकान्दालाले नेपालका प्रधानमन्त्रीले उठाएका एजेण्डाहरु बिमस्टेक र सदस्य राष्ट्रहरुको हितमा रहेको बताउँदै एजेण्डाहरु अगाडि बढाउने दृढता व्यक्त गरेका थिए । सो अवसरमा नाकान्दालाले लुम्बिनीको विकासका लागि व्यक्तिगत र संस्थागत रुपमा आफूले पहल गर्ने जानकारी दिए ।
अभिभावक गुमाएका बालबालिकालाई शैक्षिक सहयोग
रोल्पा, माघ २३ । जोखिम अवस्थामा रहेका बालबालिका एवम् सशस्त्र द्वन्द्वबाट पीडित परिवारका लागि शैक्षिक सहयोग, वैकल्पिक स्याहार र आयआर्जन क्रियाकलापमा सहयोग गरिएको छ । द्वन्द्व प्रभावित बालबालिकाको संरक्षण गर्ने उद्देश्यका साथ सञ्चालित परियोजनाबाट अप्ठेरो वा कठिन अवस्थामा रहेका बालबालिका र युवा तथा सशस्त्र द्वन्द्वबाट पीडित एवं आधारभूत आवश्यकता पूरा गर्न कठिन अवस्थाका बालबालिकाको परिवारलाई लक्ष्य गरी कार्यक्रम सञ्चालन गरिएको जिल्ला बालकल्याण समिति रोल्पाले बताएको छ । शान्ति तथा पुनःनिर्माण मन्त्रालय, शान्ति कोषको सचिवालयको सहयोगमा जिल्ला बालकल्याण समितिमार्फत जिल्लामा तीन सय ४४ बालबालिकालाई शैक्षिक सहयोग गरिएको हो । यसैगरी ५६ बालबालिकालाई वैकल्पिक स्याहार, दुई जनालाई उपचार खर्च र १५ अभिभावकलाई आयआर्जनमा सहयोग गरिएको जिल्ला बालकल्याण समितिका परियोजना अधिकृत इन्द्रा शाहीले जानकारी दिए । शैक्षिक सहयोगबापत प्रतिविद्यार्थी रु पाँच हजार उपलब्ध गराइँदै आएको तथा आयआर्जनका लागि प्रतिपरिवार रु १५ हजार र वैकल्पिक स्याहारबापत रु पाँच हजार पाँच सय सहयोग गरिएको छ । अघिल्लो वर्ष सोही परियोजनाबाट दुई सय ३२ बालबालिकालाई शैक्षिक सहयोग गरिएको बताइएको छ । सशस्त्र द्वन्द्वमा देशमै सबैभन्दा बढी मानवीय तथा भौतिक क्षति पुगेको रोल्पामा नौ सय ४६ को मृत्यु र ३३ जना अझै बेपत्ता रहेको स्थानीय शान्ति समितिका पूर्व संयोजक खेम बुढाले जानकारी दिए । द्वन्द्वका क्रममा जिल्लामा अभिभावक गुमाएका बालबालिका चार सय १६ जना रहेको बालकल्याण समितिले जनाएको छ ।
निर्वाचन जनताको अधिकार हो त्यो हुनुपर्छ : नेता विष्ट
नेपालगन्ज, माघ १८ । नेकपा (एमाले)का नेता गोकर्ण विष्टले निर्वाचन जनताको अधिकार भएको भन्दै तत्काल मिति घोषणा गरी निर्वाचन हुनुपर्ने बताएका छन् । एमाले बाँकेले कोहलपुरमा आयोजना गरेको कार्यकर्ता भेलामा बोल्दै नेता विष्टले निर्वाचन जनताको लोकतान्त्रिक अधिकार भएका र यसलाई कसैले रोक्छ भने त्यो कदापि स्वीकार्य नहुने बताएका छन् । उनले भने, ‘निर्वाचन हुनुपर्छ, जनताको सर्वोच्चतालाई चुनौती दिनेलाई पाखा लगाउनुपर्छ ।’ संविधान कार्यान्वयनका लागि निर्वाचनको विकल्प नभएको भन्दै उनले भने, ‘लोकतन्त्रमा आप्mनो माग राख्न पाउनु एउटा पक्ष हो, तर त्यसको निहुँमा जनताको अधिकारमाथि बन्देज लगाउन पाइँदैन ।” उनले नेकपा एमाले आफ्नाे दल निर्वाचनको पक्षमा भएको र सरकारले निर्वाचनको मिति तत्काल घोषणा गरी संविधान कार्यान्वयनको बाटो सहज बनाउनुपर्ने बताए ।
मझुवागढीका लागि ४२ लाख बजेट
खोटाङ, पुस २१। दिक्तेलको धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीको विकासका लागि रु ४२ लाख बजेट प्राप्त भएको छ । मझुवागढीको पर्यटन प्रवद्र्धनका लागि सहरी विकास मन्त्रालयबाट रु तेह्र लाख, पर्यटन मन्त्रालय नाम्चे शाखा, जल उत्पन्न प्रकोपबाट रु छ लाख तथा पुनःनिर्माण मन्त्रालय, पर्यटन मन्त्रालय र भूसंरक्षण कार्यालय दिक्तेलबाट रु पाँच÷पाँच लाख, र पुरातत्व विभागबाट रु तीन लाख बजेट प्राप्त भएको हो । आव २०७२/७३ मा विभिन्न शीर्षकमा रु ५७ लाख ३० हजार रकम उपलब्ध गराएका विभिन्न मन्त्रालयले आव २०७३/७४ का लागि पनि बजेट छुट्याएका छन् । प्राप्त बजेटले समुद्री सतहदेखि करिब दुई हजार मिटर अग्लो गढीमा पानी पुर्याउने, गढीस्थित कालिका भगवती मन्दिरमाथिको चौरमा पोखरी निर्माण, फलैँचा व्यवस्थापन, धारा, घेरबार, बगैँचा निर्माण गरिने झुवा कालिका भगवती संरक्षण विकास समितिका अध्यक्ष पदमप्रसाद आचार्यले जानकारी दिए । हलेसीमा आएका दर्शनार्थीले मझुवागढीको दर्शन गरेपछि मात्र धार्मिक यात्रा पूर्ण हुने जनविश्वास छ ।
‘मेरी छोरी बचाइदिनुस्’
पुष्पा महरा काठमाडौं, पुस १७ । छोरीको उपचारमा सहयोगका लागि रोल्पाका दुर्गा बहादुर पुनमगरले अपिल गरेका छन् । रोल्पा खुमेल गाविस– ५ निवासी ४० वर्षीया लक्ष्मी पुन मगरकको दुवै मृगौलाले काम गर्न छोडेपछि उनका बाबुले सहयोगका लागि अपिल गरेका हुन् । लामो समयदेखि लक्ष्मी काठमाडौको त्रिवि शिक्षण अस्पतालपछि हाल ललितपुरको सुमेरु अस्पतालमा डाइलोसिस (Dialysis) गराउँदै आइरहेकी छिन् । ‘डाक्टरले दुवै मृगौला फेर्नुपर्छ भनेका छन्, भएको सम्पत्ति पनि उपचारमै सकियो, अब कसैले सहयोग गरिदिए बाँच्थी कि छोरी’– लक्ष्मीका बुबा दुर्गा बहादुर पुनमगरले भने । श्रीमानले अर्कै श्रीमती लिएर हिँडेपछि माइतीमा बस्दै आएकी लक्ष्मीका दुई छोरा एक छोरी छन् । लक्ष्मीको उपचार खर्च हालसम्म बाबु दुर्गाले नै गर्दै आएका छन् । लक्ष्मीको मृगौला फेर्न आफूले नसक्ने भएपछि सहयोगी हातहरु खोज्दै भौतारिइरहेका छन् दुर्गा बहादुर पुन । उनलाई कोही दातृ संघ संस्था तथा स्वदेशी विदेशी मित्रहरुले सहयोग गर्न चाहेमा आफ्नो सम्पर्क ठेगाना तथा बैंक खाना नंम्बर पनि दिएका छन् । दुर्गा बहादुर पुनमगर ९७४८५०२८८१ नेपाल राष्ट्र बैंक लिमिटेड कान्तिपथ, काठमाडौं स्थित खाता नं। २१७०१०००१९४८११०००००१ मार्फत उनलाई सहयोग गर्न सकिनेछ ।
पटाका बजार विस्फोटमा २६ को मृत्यु
पुस ६ । मेक्सिकोको लोकप्रिय तथा व्यस्त पटाका बजारमा विस्फोट हुँदा कम्तिमा २६ जनाको ज्यान गएको छ । राजधानी मेक्सिको सिटीको बाहिरी क्षेत्रमा रहेको सान पाब्लिटो पटाका बजारमा विस्फोट भएको हो । विस्फोटमा परि ६० जना भन्दा धेरै घाइते भएका छन् । खुला आकाशमुनि रहेको बजारमा सुरुको पसलबाट विस्फोट तथा आगलागी सुरु भएको र त्यसले सम्पूर्ण बजार घेरेको तस्बिरमा देखिएको छ । प्रहरी तथा उद्धारकर्मीले उद्धार तथा राहतको काम गरिहेका छन् । यो बजारमा यसअघि सन् २००५ र २००६ मा पनि आगलागी भएको थियो ।
सातौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा
काठमाडौँ, मङ्सिर २५। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आगामी पुस ८ देखि १५ गतेसम्म पूर्वाञ्चलमा हुने सातौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । राष्ट्रिय खेलकुदमा पूर्व निर्धारित ३५ मध्ये चार खेल गल्फ, स्नुकर, आर्चरी र फेन्सिङ भने न्यूनतम टिम नपुगेका कारण हटाइएको छ । ती चार खेल राष्ट्रिय खेलकुदकै दौरान गरिने भए पनि पदक गणना भने गरिने छैन् । जसका कारण ३१ खेलका २९४ स्वर्ण र रजत तथा ४४७ कास्यपदकका लागि करिब दुई हजार ५०० खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । तीन खेल स्विमिङ, ट्रायथलन र बडिबिल्डिङ पनि यसअघि नै सम्पन्न भइसकेका छन् । त्यसका कारण पूर्वाञ्चलमा २८ खेल मात्र हुनेछन् । सुनसरी, मोरङ, झापा, धनकुटा, सिरहा र सप्तरीमा गरी पूर्वाञ्चलका छ जिल्लामा तथा स्वासका खेल भने स्थान अभावका कारण ललितपुरमै सञ्चालन हुनेछन् । केही खेल आगामी पुस २ गतेदेखि नै सुरु हुनेछन् । सरकारले चार किस्तामा निकासा गरेको रु २० लाख रकम पूर्वाधार सामान्य विकासका लागि प्रयोग गरिएको राखेपले जनाएको छ । राखेपले रु ११ करोड ६० लाखभन्दा कम दिए आयोजना गर्न कठिन हुने जनाएको छ । सातौँ राष्ट्रिय खेलकुदको उद्घाटन विराटनगरको सहिद रङ्गशालामा र समापन धरान रङ्गशालामा हुनेछ । राखेप सदस्य सचिव केशवकुमार विष्टले पदक जित्दै राष्ट्रिय टिममा रहेका खेलाडीलाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने बताउनु भएको छ । दक्षिण एसियाली खेलकुद(साग)मा रजत र काँस्य पदक विजेता खेलाडीलाई पनि मासिक प्रोत्साहन भत्ता दिइने विष्टले बताए । रासस
हवाई आक्रमणमा ‘दर्जनौँ’ इराकीको मृत्यु, सभामुखद्वारा सरकारको ध्यानाकर्षण
बग्दाद (इराक), मङ्सिर २४ । इराकी संसदका सभामुखले सिरियाको सीमा क्षेत्रमा अवस्थित इराकी सहर काइममा सरकारी सुरक्षाकर्मीद्वारा गरिएको हवाई आक्रमणमा ‘दर्जनौँ’ सर्वसाधारणको मृत्यु तथा केही घाइते भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । सभामुख सलिम अल जाबुरीले एक विज्ञप्ति जारी गर्दै निःशस्त्र नागरिकमाथि सरकारी सुरक्षाकर्मीले हवाई आक्रमण गर्दा निर्दोष नागरिकको मृत्यु भएको भन्दै घटनाको अनुसन्धान गरी दोषी उपर कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ । यसैबीच सरकारले लडाकू विमानले इस्लामिक स्टेट (आईएस) लडाकूलाई लक्षित गरी काइममा रहेका दुई घरमा आक्रमण गरेको स्वीकार्दै उक्त घटनामा सर्वसाधारण नभएको दाबी गरेको छ । अमेरिकी नेतृत्वको गठबन्धन सेनाका प्रवक्ता कर्नेल जोन डोरियनले भने उक्त समयमा आफ्नो गठबन्धनले सभामुखले बताएको क्षेत्रमा हवाई आक्रमण नगरेको बताउनुभएको छ । रासस÷
एमालेसँग यसकारण विच्कियो मधेसी मोर्चा, एमालेलाई सप्तरीमा कार्यक्रम गर्न रोक
सप्तरी, मंसिर २० । सप्तरीमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले एमालेलाई कार्यक्रम गर्न बन्देज गरेको छ । आइतबार बसेको मोर्चाको बैठकले यस्तो निर्णय गरेको मोर्चाका संयोजक अमरनाथ मण्डलले प्रेस विज्ञप्ती निकालेर जानकारी दिएका छन् । ‘एक–डेढ वर्ष यता एमाले अध्यक्ष केपी ओली लगायत शीर्ष नेताले मधेस आन्दोलन र मधेसका बारेमा नकारात्मक टिप्पणी गरेकाले एमालेको व्यवहार परिवर्तन नभएसम्म सप्तरीमा उसका कार्यक्रममा निषेध गरिएको उल्लेख छ ।’ । एमालेले मधेस आन्दोलनलाई बदनाम गरेको आरोप लगाइएको छ । एमालेको कार्यक्रम निषेध गर्न मोर्चा आवद्ध दलका नेता कार्यकर्तालाई विज्ञप्ती मार्फत आह्वान समेत गरिएको छ । फाइल तस्वीर
हजारौ क्युवाली जनताले दिए क्याष्ट्रोलाई अन्तिम श्रद्धाञ्जली
बिबिसी, स्यान्टियागो, मंसिर १९ । क्युबाका दिवंगत नेता फिडेल क्याष्ट्रोको अस्तु उनले क्रान्ति थालेको सहर स्यान्टियागोमा पुर्याइएको छ। सेलाउनलाई ल्याइएको सो अस्तु सहरमा आइपुगेपछि ठूलो भीडले ‘फिडेल अमर रहुन्’ भन्ने नारा लगाएका थिए। उनलाई अन्तिम श्रद्धाञ्जली चढाउने कार्यक्रममा हजारौं मानिस सहभागी हुने ठानिएको छ। झण्डा हल्लाइरहेका तथा फिडेल क्याष्ट्रोको तस्बिर बोकेका मानिसहरु अस्तुलाई राजधानी हभानाबाट चार दिने यात्रामा स्यान्टियागो सहर ल्याउने कार्यक्रम हेर्न आएका थिए। फिडेलका भाइ तथा राष्ट्रपति राउल क्याष्ट्रोले स्यान्टियागोमा हुने कार्यक्रमको नेतृत्व गर्दैछन्। भेनेजुएला, निकारागुआ तथा बोलिभियाका नेताहरुका साथै अर्जेन्टिनाका फुटबल खेलाडी डियगो म्याराडोना त्यहाँ उपस्थित हुँदैछन्। साथै ब्राजिलका पूर्व राष्ट्रपतिहरू लुइज इनासियो लुला डा सिल्भा तथा जिल्मा रुसेफ पनि सो कार्यक्रममा सामेल हुन क्युबा पुगेका छन्। सन् १९५३ को जुलाई २६ मा त्यहाँको ब्यारेकमा आक्रमण गर्ने क्रान्तिकारीहरुको सानो टोलीमा क्याष्ट्रो सहभागी थिए। त्यो हमला विफल भयो। तर सन् १९५९ को जनवरी १ मा अमेरिका समर्थित फुल्गेन्सियो बाटिस्टाको सरकार अपदस्थ गर्न सफल क्रान्तिको त्यो पहिलो कारबाही थियो। क्याष्ट्रोबारे भिन्न भिन्न मत पाइन्छन्। समर्थकहरुले उनलाई क्रान्तिनायक भन्छन् भने विरोधीहरुले उनी विपक्षीलाई देखिनसहने एक निरंकुश शासक भन्छन्। ९० वर्षको उमेरका नोभेम्बर २५ मा उनको निधन भएको थियो।
प्रभातफेरिमा पत्रकारहरु
नेपाल पत्रकार महांसघ जिल्ला शाखा रोल्पाको ११ औ स्थापना दिवसको अवसरमा आयोजित प्रभातफेरि कार्यक्रममा सहभागी पत्रकारहरु । तस्वीर : उमा केसीको फेसबुकबाट, रोल्पा