ब्राजिलमा एकैदिन १ लाख बढी कोरोना संक्रमित
ब्राजिलमा एकैदिन १ लाख बढी कोरोना संक्रमित थपिएका छन् । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार बिगत २४ घण्टामा २ हजार बढीको मृत्यु भएको छ ।
ब्राजिलमा बिगत केही महिना अघि मृत्युदर घटेपनि संक्रमितको संख्या दिनानुदिन उकालो लागिरहेको बताईएको छ । ब्राजिलको साओपालो शहरका ६० प्रतिशत बासिन्दा संक्रमित भएको त्यहाँको स्वास्थ्यमन्त्रालयले जनाएको छ ।
ब्राजिलमा केही महिनादेखि जारी लकडाउन खुकुलो भएपछी कोरोना संक्रमितको संख्यामा बृद्धी आएको हो । ब्राजिलमा खोप अभियान पनि प्रभावकारी नभएका कारण संक्रमितको संख्या बढिरहेको आंकलन गरिएको छ ।
ब्राजिल धेरै कोरोना संक्रमण हुने देशको सूचीमा तेश्रोे स्थानमा रहेको छ । ब्राजिलमा कोरोनाका कारण ५ लाख ४९ हजार ५ सय बढीको मृत्यु भइसकेको छ ।
१८ कम्पनीको पौने ६ अर्ब रुपैयाँको आईपीओ आउँदै
काठमाडौँ — प्राथमिक सेयर निष्कासन (आईपीओ) मा लगानी गरी राम्रो नाफा आर्जन गर्ने सोचमा हुनुहुन्छ भने पैसाको जोहो गर्नतिर लाग्नुस् । विभिन्न क्षेत्रका २० कम्पनीले सर्वसाधारणका लागि सेयर निष्कासन गर्दै छन् । तीमध्ये केहीले नियामक निकायबाट सेयर निष्कासन अनुमति पाइसकेका छन् । केही भने प्रक्रियामा छन् । २० कम्पनीमध्ये तेह्रथुम पावर कम्पनी र युनियन लाइफ इन्स्योरेन्सले धितोपत्र बोर्डबाट सञ्चालन अनुमति पाइसकेका छन् । तेह्रथुम पावर कम्पनीले स्थानीयका लागि १२ लाख कित्ता सेयर (१२ करोड रुपैयाँ) निष्कासन गर्न लागेको हो । युनियन लाइफले यही असार २४ देखि सर्वसाधारणका लागि ६४ लाख ५० हजार कित्ता (६४ करोड ५० लाख रुपैयाँ) सेयर निष्कासन गर्न लागेको हो । प्रतिकित्ता अंकित मूल्य १ सय रुपैयाँ रहेको यो कम्पनीको सेयरमा सर्वसाधारणले न्यूनतम १० देखि अधिकत ३२ हजार २ सय ५० कित्ता आवेदन दिन सक्छन् । बाँकी १८ कम्पनीले प्राथमिक सेयर निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिएका छन् । सामान्यतः बोर्डबाट अनुमति पाएको दुई महिनाभित्र सेयर निष्कासन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएका १८ कम्पनीले ५ अर्ब ७१ करोड ४० लाख रुपैयाँ बराबरको ५ करोड ७१ लाख ४० हजार कित्ता सेयर निष्कासन गर्न लागेका छन् । तीमध्ये १३ वटा जलविद्युत्, २ वटा लघुवित्त, २ वटा बिमा र एउटा अन्य समूहअन्तर्गतका कम्पनी छन् । जलविद्युत् कम्पनीमध्ये प्रायःले स्थानीय र बाँकीले सर्वसाधारणका लागि सेयर निष्कासन गर्न लागेको बोर्डले जनाएको छ । आवेदन दिएका जलविद्युत् समूहका कम्पनीमध्ये सयपत्री हाइड्रोपावर, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी, दोर्दी खोला जलविद्युत्, अपर हेवाखोला हाइड्रोपावर, ग्रिन भेन्चर, न्यादी हाइड्रोपावर, विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, सामलिङ पावर कम्पनी, हिमालयन हाइड्रोपावर लिमिटेड, बलेफी हाइड्रोपावर, बुद्धभूमि नेपाल हाइड्रोपावर र साहस ऊर्जा लिमिटेडले स्थानीय तथा सर्वसाधारणका लागि गरेर दुवै खाले सेयर निष्कासन गर्न अनुमति मागेका छन् । मैलुङ खोला जलविद्युत्ले सर्वसाधारणका लागि मात्र सेयर निष्कासन गर्न लागेको हो । यो कम्पनीले स्थानीयका लागि सेयर निष्कासन गरिसकेको छ । सानिमा लाइफ इन्स्योरेन्स र आईएमई लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि सेयर निष्कासन गर्दै छन् । मानुषी लघुवित्त वित्तीय संस्था र नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले पनि आईपीओ निष्कासन अनुमतिका लागि बोर्डमा आवेदन दिएका छन् । जलविद्युत्, बिमा र लघुवित्तबाहेक डिस मिडिया नेटवर्क पनि बोर्डबाट सेयर निष्कासन अनुमतिको पर्खाइमा छ । पछिल्ला दिनमा दोस्रो बजारमा सूचीकृत हुने नयाँ कम्पनीमा जलविद्युत् धेरै छन् । कम्पनी थपिएसँगै बजारमा जलविद्युत् क्षेत्रको बाहुल्य पनि बढ्दै गएको छ । हाल सेयर बजारमा ४० वटा जलविद्युत् कम्पनी सूचीकृत छन् । सेयर निष्कासनका लागि आवेदन दिएका संस्था जोड्दा ५३ हाराहारी पुग्ने देखिन्छ । सेयर निष्कासन गरिसके पनि सूचीकृत नभएका, निष्कासन तयारीमा रहेका र निष्कासन अनुमतिका लागि आवेदन दिएका कम्पनी संख्या हेर्दा आगामी एक दुई महिनाभित्रै सेयर बजारमा सूचीकृत कम्पनी पाँच दर्जनभन्दा बढी पुग्ने जानकारहरू बताउँछन् । निर्माणको चरणमा धेरै जलविद्युत् कम्पनी रहेकाले पनि पछिल्ला दिनमा सेयर जारी गर्नेमध्ये तिनै कम्पनी देखिएका छन् । सूचीकृत कम्पनी संख्या बढेपछि एकातिर कुल कारोबारमा जलविद्युत् समूहको हिस्सा थपिनेछ भने अर्कातिर लगानीकर्ताले लगानी विविधीकरण (पोर्टफोलियो म्यानेजमेन्ट) सुविधा पाउने बताइएको छ । जलविद्युत् कम्पनीले कम्तीमा १० प्रतिशत सेयर आयोजना प्रभावित स्थानीयलाई दिनुपर्ने कानुनी व्यवस्था छ । दोस्रो बजारमा सूचीकृत कम्पनीमध्ये बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६८.३ प्रतिशत छ । जलविद्युत् कम्पनीको हिस्सा ८.४, लगानी कम्पनीको ७.८, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.९, होटलको हिस्सा १.४, व्यापारिक संस्थाको हिस्सा ०.६ तथा अन्य समूहका कम्पनीको हिस्सा ९.६ प्रतिशत रहेको नेप्सेको तथ्यांक छ । गत वैशाखमा नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीको संख्या २ सय २० पुगेको छ । सूचीकृत कम्पनीमध्ये १ सय ४५ बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी छन् । ४० जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ५ होटल, ४ व्यापारिक संस्था, ४ लगानी कम्पनी र ३ अन्य समूहका कम्पनी सूचीकृत छन् । २०७७ असारमा सूचीकृत कम्पनी संख्या २ सय १२ थियो । गत वैशाखसम्ममा सूचीकृत ५ अर्ब ७० करोड सेयरको चुक्ता मूल्य ५ खर्ब ६० अर्ब ८८ करोड रुपैयाँ छ । चालु आर्थिक वर्षको १० महिनासम्ममा २ खर्ब १९ अर्ब ९५ करोड रुपैयाँ बराबरको विकास ऋणपत्र, ४१ अर्ब ३३ करोड रुपैयाँ बराबरको साधारण सेयर, ४३ अर्ब २० करोड रुपैयाँ बराबरको बोनस सेयर, १४ अर्ब ५५ करोड रुपैयाँ बराबरको डिबेन्चर, ५ अर्ब ५२ करोड रुपैयाँ बराबरको हकप्रद सेयर र २ अर्ब ८५ करोड रुपैयाँ बराबरको सामूहिक लगानी कोष गरी कुल ३ खर्ब २७ अर्ब ४० करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएको बताइएको छ । -कान्तिपुरबाट
माओवादी केन्द्रले सहिद ईन्द्र कोइरालाको परिवारलाई घर निर्माण गर्ने
सर्लाही। नेकपा माओवादी केन्द्र सर्लाही जिल्ला कार्यालयले जिल्लाको पहिलो सहिद ईन्द्र कोइरालाको परिवारलाई एक घर निर्माण गरेर हस्तान्तरण गर्ने भएको छ। शनिबार बसेको माओवादी केन्द्र सर्लाही जिल्ला कार्यालयको विस्तारित बैठकले यस्तो निर्णय गरेको हो। बागमती नगरपालिकाले उपलब्ध गरायको घडेरीमा आर्थिक अवस्था कमजोर रहेकोले चार कोठे पक्की भवन बनाएर सहिद कोइराला सहादत भएकै दिन पारेर उनको परिवारलाइ घर हस्तान्तरण गर्ने निर्णय गरेको माझी राष्ट्रिय मुक्ति मोर्चा, पूर्वनेपालका बाग्मती प्रदेश अध्यक्ष घनश्याम माझीले जानकारी दिए। सहिद इन्द्र कोइरालाको २०५५ कार्तिक १० गते निधन भएको थियो।घरको शिलान्यास यही असार २१ गते गरिने भएको छ। साथै माओवादी नेतृ माया बल घाटीको क्यान्सरले लडिरहेकी छन्। उनलाई उपचारमा सहयोग होस् भन्ने उद्देश्यले मासिक रु.५०,००० (पचास हजार रुपैयाँ) का दरले १ वर्षसम्म सहयोग गर्ने निर्णय पनि गरेको छ। पहिलो किस्ता स्वरुप शनिबार नै उक्त रकम हस्तान्तरण गरिएको सर्लाही जिल्ला पार्टी सचिव कमल बुढाथोकीले बताए।
अखिल क्रान्तिकारीले बाँड्यो हेलम्बुमा राहत सामग्री
हेलम्बु गाउँपालिकामा अखिल क्रान्तिकारीले राहत हस्तान्तरण कार्यक्रम गरेको छ। सिन्धुपाल्चोकको वाढी पहिरोग्रस्त क्षेत्रमा अध्यक्ष रञ्जित तामाङ नेतृत्वमा गएको टोलीले शुक्रबार सांझ हेलम्बु गाउँपालिका वडा नं २ का अध्यक्ष छिरिङ ग्याल्वु लामा र स्थानीय नेता भरत थापा सहितको टोलीलाई राहत हस्तान्तरण गरेको हाे । बाढी पीडितको निम्ति १३५ बोरा चामल, १०० केजी दाल , १०० थान ब्ल्यांकेट, १५० वटा सोलार लाइट, २ रोल म्याट्रेस, ७० थान टेन्ट र विभिन्न आधारभूत स्वास्थ्य सामग्री सहितको राहत हस्तान्तरण गरिएको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जनाए। राहत वितरण टोलीमा अध्यक्ष तामाङ , उपाध्यक्ष बस्नेत , अर्का उपाध्यक्ष तिलकराज भण्डारी , सचिव पवन कार्की , विद्यार्थी स्वयंसेवकका संयोजक संजय काल्धन सहितको केन्द्रीय टोली हेलम्बु पुगेको थियोे । यसैगरी अनेरास्ववियू (क्रान्तिकारी ) ले वाढिग्रस्त क्षेत्रमा संगठनका सम्पुर्ण नेता कार्यकर्तालाई राहत तथा उद्धार कार्यमा अहोरात्र खट्न निर्देशन गरिएको उपाध्यक्ष बस्नेतले वताए।
विश्वकप फुटबल छनोट खेल स्थगित
काठमाडौंः फिफा विश्वकप फुटबल २०२२ र एशियाली फुटबल प्रतियोगिता २०२३ को छनोट खेल स्थगित भएको छ । नेपालले छनोटको दोस्रो चरण अन्तगर्त दशरथ रङ्गशालामा चैत्त १७ गते अष्ट्रेलियाको सामना गर्ने तय भएको थियो । खेल तालिका अनुसार दोस्रो चरणमा नेपालले चाइनिज ताइपेई र अष्ट्रेलिया र जोर्डनको सामना गर्ने तय भएको थियो । तर एशियाली फुटबल संघले अद्यावधिक गरेको खेल तालिकामा खेल ‘भेन्यु’ दशरथ रङ्गशाला नै रहेपनि खेल स्थगित भएको उल्लेख गरिएको छ । त्यसअघि नेपालले १२ चैत्तमा चाइनिज ताइपेईको सामना गर्नेछ । उक्त खेल समेत स्थगित हुन पुगेको एएफसीको खेल तालिकामा उल्लेख गरिएको छ । नेपाल छनोट प्रतियोगिताको समूह बी मा रहेको छ । दोस्रो चरणको अन्तिम खेलमा नेपालले जोर्डनको सामना जुन ७ मा गर्ने तय गरिएको छ । तर उक्त खेल यथावत मितिमै हुने उल्लेख गरिएको छ । दोस्रो चरणकै खेलमा अष्ट्रेलियाले कुवेतको र कुवेतले जोर्डनको सामना गर्नेछ । उक्त खेल समेत स्थगित भएको छ । अष्ट्रेलिया र चाइनिज ताइपेईबीचको खेल यथावत तालिकामै हुने जनाइएको छ । नेपालले छनोट चरणमा ५ खेलमध्ये एकमा जित र चारमा हार बेहोरेर अङ्कतालिकाको चौथो स्थानमा छ । नेपाललको ३ अङ्क छ । शीर्ष स्थानमा रहेको अष्ट्रेलियाले चारमध्ये चारै खेलमा जित हात पार्दै १६ अङ्क बटुलेको छ । कुवेतले ५ खेलबाट १४ अङ्कसहित दोस्रो र जोर्डन ५ खेलबाट दश अङ्कसहित तेस्रो स्थानमा छ । कुवेतले पाँचमध्ये तीनमा जित र एउटा बराबरी खेलेको छ भने एउटामा हार बेहोरेको छ । जोर्डनले पाँचमध्ये तीनमा जित र एउटा बराबरी तथा अर्कोमा हार बेहोरेको छ । चाइनिज ताइपेईले भने ५ खेलमध्ये ५ वटैमा हार बेहोरेर अङ्कविहीन हुँदै पूछारमा छ । नेपालले छनोट अन्तगर्तको पहिलो खेलमा कुवेतसँग ७-० ले हार बेहोरेको थियो । दोस्रो खेलमा चाइनिज ताइपेईलाई २-० ले हराएको नेपालले तेस्रो खेलमा अष्ट्रेलियासँग ५-० को हार बेहोरेको थियो । जोर्डनसँग ३-० को हार बेहोरेको नेपालले आफ्नो पछिल्लो खेलमा कुवेत विरुद्ध भुटानको थिम्पुमा ०-१ को हार बेहोरेको थियो ।
बागमती नदी किनारमा फोहोर फाल्ने व्यवसायीसहित ३ जनालाई कारवाही
काठमाडौंः महानगरपालिका-३१ स्थित मीनभवन, आलोकनगर क्षेत्रको घर अगाडि सार्वजनिक सडकपेटीमा फोहर एवं सामान राखेकोमा अब्दुल अली खानलाई रु चार हजार, ध्रुव सिट हुड वर्कसलाई रु एक हजार र खगेन्द्र कुँवरलाई रु १ हजार गरी जम्मा रु ६ हजार जरिवाना गरिएको छ । जरिवाना रकम काठमाडौं महानगरपालिका वातावरण विभागको कोषमा दाखिला गरिएको वाग्मती सफाइ महाअभियानका अभियानकर्मी गोविन्द काफ्लेले जानकारी दिए । वाग्मती सफाइ महाअभियानको ४०५औँ हप्ताको सफाइ तीनकुने एवं मीनभवन क्षेत्रको वाग्मती किनारमा भएको थियो । आजको सफाइबाट १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको पनि उनले बताए । मीनभवन, आलोकनगर र तीनकुने सुविधानगरको बीचबाट बग्ने वाग्मती नदी भित्र र किनाराको फोहर व्यवस्थापन र सर्वसाधारणमा जनचेतना जगाउने काम पनि आज गरिएको सफाइ अभियानकर्मी प्रमिला पौडेलले जानकारी दिए । जनचेतनाकै सिलसिलामा काठमाडौं महानगरपालिकाले शहर स्वच्छ सफा राखौँ भन्ने आह्वानकासाथ माइकिङ समेत गरेको थियो । सफाइमा महान्यायाधिवक्ता अग्निप्रसाद खरेल, सरकारका पूर्वमुख्यसचिव एवं चीनका लागि नेपालका पूर्वराजदूत लीलामणि पौड्याल, नेपालको पहिलो कमेडियन च्याम्पियन हिमेश पन्त, अधिकार सम्पन्न वाग्ग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, सहयोगी नगर टोल सुधार समिति, आलोक नगर सफाइ समूह, आलोकनगर आमा सेवा नेपाल, फोहर मैला वातावरण वानेश्वर, पहिलो पाइला, एस ट्राभल्स, वाग्मती फोहर उन्मूलन नमूना उपभोक्ता समिति, नेपाली सेना, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत समितिका कर्मचारी, वाग्मती सफाइ अभियानकर्मी एवं स्थानीय सर्वसाधारण समेत सयौँको उपस्थिति रहेको थियो । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको सफाइ महाअभियान चिसो, गर्मी, वर्षाद्, चाडबाड, भूकम्प, कोभिडको महामारी जस्ता समयमा पनि निरन्तर चल्दै आएको छ । वाग्मती सफाइ महाअभियान शुरु भएपछि उपत्यकामा यसका सहायक नदीसमेत सफाइ हुन थालेको छ । उपत्यकामा गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, विष्णुमती माथिल्लो र तल्लो खण्ड, मनोहरा, चक्रपथका उत्तर र पश्चिम खण्डमा सफाइ गरिएको छ ।
अञ्जु पन्तले थीर कोइरालासँग बिहे गर्दै
काठमाडौं । चर्चित गायिका अञ्जु पन्तले दोस्रो विवाह गर्ने भएकीछिन् । पन्तले इलाम स्थायी घर भएका थिर कोइरालासँग बिवाह गर्ने भएकी हुन् । बिवाहबारे दुवैको परिवारमा कुराकानी भैरहेपनि मिति भने तय भएको छैन । गायककार मनोजसँग पहिलो विवाह गरेकी अन्जुको दाम्पत्य जीवन सफल भएको थिएन । क्रिश्चियन चर्चका पाष्टर समेत रहेको कोइराला सामाजिक क्षेत्रमा सक्रिय रहेका छन् । दुबै केही समय देखि प्रेम सम्बन्धमा थिए । थिर र अञ्जु दुबैले क्रिश्चियन धर्ममा आस्था राख्छन् । थिरसँगको एक अन्तरवार्ताको क्रममा अञ्जुको भेट भएको थियो ।यसपछि, भने उनीहरु नजिक भएका थिए । थिरले अञ्जुको आवाजमा समावेश केही गीतमा शब्द समेत कोरेका छन् । एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग सम्बन्ध विच्छेद गरेर एकल जीवन बिताइरहेकी थिइन् । मनोजराजले सोही वर्ष विवाह गरेपनि अन्जु भने छोरीसँग बस्दै आएकी थिइन् । अञ्जुकी छोरी परितोशिका पन्तले केही समयदेखि मिडियामा आमाले बिहे गर्नुपर्ने बताउँदै आएकी थिइन् । अञ्जुले पनि छोरीको दबाबका कारण बिहे गर्ने विषयमा सोचिरहेको बताएकी थिइन् ।
विप्लव नेकपाका नेता अनिल विरही रिहा
काठमाडौं : नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका नेता अनिल शर्मा विरही रिहा भएका छन् । जिल्ला अदालत मोरङले उनलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । शर्मा २३ वैशाखमा भरतपुर अस्पताल, चितवनमा उपचारकै क्रममा पक्राउ परेका थिए । त्यसयता उनलाई अदालतले छाड्ने र प्रहरीले पक्राउ गर्ने क्रम १३ पटकसम्म चलेको थियो । शुक्रबार काभ्रे जिल्ला अदालतबाट साधारण तारेखमा रिहा गरेपछि उनलाई दोस्रोपटक मोरङ पुर्याइएको थियो ।
संघर्षका कार्यक्रम थप प्रभावकारी बनाउने नेकपाको निर्णय, कार्यालय सचिवमा तुलाधर नियुक्त
काठमाडौं : नेकपा प्रचण्ड-नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध संयुक्त सङ्घर्षका कार्यक्रमलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी कमिटीको बैठकले संविधान विपरीत प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि सबै राजनीतिक दल, नागरिक समाजलगायत सरोकार वर्ग तथा क्षेत्र आन्दोलित भएको तथा पार्टीका तर्फबाट यसअघि सञ्चालित सङ्घर्षका कार्यक्रम र विशेष गरी यही माघ ९ गते काठमाडौंमा आयोजित जनसभा सफल भएको निष्कर्ष निकालेको छ । बैठकमा संयुक्त आन्दोलनका लागि अन्य राजनीतिक दल तथा नागरिक समाजसँग भएको छलफलका बारेमा पार्टी अध्यक्ष एवम् सो कामका लागि जिम्मेवारी पाउनुभएका नेताले जानकारी गराउनुभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । स्थायी कमिटीको बैठकमा सम्बन्धित प्रदेशका प्रमुख एवम् स्थायी कमिटी सदस्यले आ-आफ्ना प्रदेशको समग्र पार्टी, जनवर्गीय सङ्गठन एवम् पछिल्ला जनसङ्घर्षका कार्यक्रमका बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए । बैठकले केन्द्रीय कार्यालय सचिवमा नेता गङ्गालाल तुलाधार र उपसचिवमा मोहन गौतमलाई नियुक्त गर्ने निर्णय गरेको छ । अर्का एक उपसचिवसमेत नियुक्त गरिने जनाइएको छ । बैठकले सोमबार नै थप सङ्घर्षका कार्यक्रम सार्वजनिक गर्ने अख्तियारी सङ्घर्ष समितिलाई दिएको छ । त्यस्तै, प्रदेश र जिल्ला कमिटीका पदाधिकारीसहित साङ्गठनिक एकीकरणका बाँकी काम एकाध दिनभित्रै सम्पन्न गर्ने र रिक्त पदमा तत्काल पदपूर्ति गरिने भएको छ । सो कार्यका लागि पार्टी स्थायी कमिटीका सदस्यहरुको परामर्शमा सचिवालयले आवश्यक निर्णय गर्ने अख्तियारीसमेत बैठकले दिएको छ । पार्टीको अनुशासन तथा विधिलाई समेत प्रभावकारीरुपमा कार्यान्वयन गर्ने बैठकले निर्णय गरेको छ । नेकपाले यही माघ ३ गते प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण सोधेको जानकारी दिँदै प्रवक्ता श्रेष्ठले भने, ‘पार्टी, देश र जनताविरुद्ध गतिविधि गरेको पाइएकाले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई साधारण सदस्यसमेत नरहने गरी आजको बैठकले कारवाही गरेको छ ।’
तलब नपाएको भन्दै निजी विद्यालयका शिक्षक आन्दोलित
काठमाडौं : आफूहरूले तलब र सुविधा प्राप्त नभएको जनाउँदै निजी (संस्थागत) विद्यालय शिक्षक युनियन (इस्टु) ले १० बुँदे माग राखी चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । सो सङ्गठनले यही असोज ९ गतेसम्म सबै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र सम्भव भएसम्म सबै गाउँपािलकामा पुनः ज्ञापनपत्र बुझाउने र प्याब्सन, एनप्याब्सनलाई स्मरणपत्र पनि बुझाउने इस्टुका अध्यक्ष होमकुमार थापाले बताए । निजी विद्यालयमा काम गर्ने शिक्षक/कर्मचारीलाई अहिलेसम्मको खाइपाई आएको तलबसुविधा यथाशक्य चाँडो प्रदान गर्नुपर्ने तथा निश्कासित शिक्षक तथा कर्मचारीलाई पुनःबहाली गरी काम गर्ने वातावरण सिर्जना गरिनुपर्ने सङ्गठनको माग छ । नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले शिक्षक÷कर्मचारीका अधिकार सुनिश्चित गरिनुपर्ने र ऐननियम र कानूनमा भएका प्रावधान अक्षरशः पालना गरिनुपर्ने बताए ।
नेपालमा रेल यातायाततर्फको अर्काे यात्रा शुरू
काठमाडौंः धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि रेल सेट नेपाल आइपुगेसँगै नेपालमा रेल यातायाततर्फको अर्काे यात्रा शुरू भएको छ । नेपाली समयानुसार अपराह्न १२ बजे सो रेल नेपाली भूमिमा आइपुगेको हो । भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको सो रेलमार्गमा सञ्चालनका लागि दुई सेट डेमो ट्रेन आएको हो । सो रेलमा एक हजार २०० देखि एक हजार ३०० सम्म यात्रु बसेर र उभिएर गरी यात्रा गर्न सक्ने रेल विभागले जनाएको छ । यो यात्रुवाहक रेल भएकाले यात्रुको झोला र सामान्य सामान मात्रै राख्न सकिने विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । नेपालमा राणाकालमै विसं १९८४ तिर भारतको रक्सौलदेखि नेपालको अमलेखगञ्ज तथा विसं १९९४ तिर जयनगरदेखि जनकपुरसम्म रेलसेवा थियो । अहिले कुर्थाबाट जयनगरसम्मको रेलमार्गको निर्माण गत वर्ष नै सकिएको थियो । हाल ३५ किमी लम्बाइमा रेल सञ्चालन हुनेछ । कुर्थादेखि बिजुलपुरासम्म थप १७ किमी रेलमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । बिजलपुरासम्म गरी ५२ किमीमा छिट्टै रेल सञ्चालन हुने विभागले जनाएको छ । रेल सेट आइपुगे पनि अहिलेसम्म रेल सञ्चालनका लागि स्पष्ट कानून छैन । संसद्मा रेलसम्बन्धी विधेयक छलफका क्रममा रहेको विभागका महानिर्देशक मिश्रले जानकारी दिए । उनका अनुसार तत्काल सो विधेयक पारित नभएमा त्यसको विकल्प खोजेर पनि रेल सञ्चालन हुनेछ । उनले भने, ‘आवश्यक परेपछि अध्यादेशबाट सञ्चालन गरिने तयारी भएको छ ।’ सरकारले आगामी बडादशैँ–तिहारसम्म सो रेल सञ्चालनको योजना बनाएको छ । नेपाल आइपुगेपछि सबै परीक्षण गरी रेल सञ्चालनमा ल्याइनेछ । रेल पूर्णरुपमा सञ्चालन गर्नुभन्दा पहिले भारतीय निर्माण कम्पनीलाई बोलाएर एक पटक अन्तिम जाँच गराइने महानिर्देशक मिश्रले जानकारी दिए । सबै किसिमको तयारी पूरा भएपछि सकेसम्म चाँडो रेल सञ्चालन गर्ने तयारी छ । भारतको सरकारी कम्पनीमार्फत नै रेल सेट निर्माण भएको हो । दुई सरकारबीच सम्झौता भई (जिटुजी) रेल खरीद भएको हो । सो सेटमा एउटामा पाँच डिब्बा रहनेछ । दुई सेट खरीद गर्दा त्यसमा जम्मा १० डिब्बा रहन्छन् । लामो समयदेखि ठप्प रेल्वे कम्पनीलाई नै सरकारले रेल सञ्चालनका लागि ब्यँुताएको छ । सरकारले केही समय पहिले इञ्जिनीयर गुरु भट्टराईलाई कम्पनीको प्रमुखका रुपमा नियुक्त गरेको थियो । कम्पनीले रेल सञ्चालनका लागि दक्ष प्राविधिकसहित प्रशासनिकलगायत आवश्यक कर्मचारी भर्ना प्रक्रिया अघि बढाएको छ । रेलसम्बन्धी कानून नभइरहेका अवस्थामा रेल्वेसम्बन्धी विधेयक संसद्मा छलफलका क्रममा छ । विधेयकले रेल्वे बोर्ड र कार्यकारी समितिको समेत कल्पना गरेको छ । रेल र यात्रुको सुरक्षा, चालक र सहचालकको योग्यता, अन्तरदेशीय रेलमार्गलगायत विषय विधेयकमा समेटिएको छ । नेपालमा अहिलेसम्म रेलसम्बन्धी छुट्टै कानूनी व्यवस्था छैन । पहिले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अन्तर्गत नै सञ्चालन भएको थियो । देशभित्रै र अन्तरदेशीय रेल सञ्चालनका लागि कतिपयमा पूर्वाधार निर्माण त कतिमा अध्ययन भइरहे पनि त्यससम्बन्धी छुट्टै कानून थिएन । जनकपुर–कुर्था रेलमार्ग निर्माणका लागि सरकारले भारत सरकारसँग सन् २०१० मा सम्झौता गरेको थियो । त्यसको एक डेढ वर्ष पछिदेखि काम शुरु भएको थियो । भारत सरकारले सीमा क्षेत्रमा पाँच स्थानमा रेलमार्ग निर्माण गर्ने गरी सम्झौता भएको थियो । तीमध्ये जयनगर–कुर्था र विराटनगर–जोगबनीबाहेक अरु तीन स्थानमा निर्माणको काम शुरु हुनसकेको छैन । भारत सरकारसँगको सम्झौतानुसार नै विराटनगरबाट बथनाहासम्म १८ किलोमिटर रेलमार्गमा १० किलोमिटरको काम सम्पन्न भएको भौतिक योजना तथा यातायात मन्त्रालयले जनाएको छ । दश किलोमिटर रेलमार्ग सञ्चालनका लागि तयार भइसकेको छ । सीमा क्षेत्रमा निर्माण गर्ने भनिएको अरु तीन रेलमार्गमा जलपाइगुडी–काँकडभिट्टा, नौतनहवा–भैरहवा र नेपालगञ्जरोड–नेपालगञ्ज छन् । यी सबै रेलमार्ग भारत सरकारले नै निर्माण गर्ने गरी सम्झौता भएको थियो । भारतसँगको सहयोगमा निर्माण भएको रेल सञ्चालन हुन लाग्दा चीनले पनि रेलमार्ग निर्माणमा चासो देखाइरहेको छ । चीनको नेशनल रेल्वे अथोरिटीले केरुङ काठमाडौँ रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल सरकारलाई दुई वर्ष पहिले नै बुझाएको थियो । त्यसयता पनि अध्ययन अघि बढाउने विषयमा विभिन्न तहका छलफल भइरहेको थियो । चिनियाँ राष्ट्रपति सी चिनफिङको गत वर्ष असोजमा भएको नेपाल भ्रमणका क्रममा सो रेलमार्गको अध्ययनका लागि सम्झौता भएको थियो । त्यस समयमा भएको राजनीतिक सम्झौताकै आधारमा मङ्सिरमा काम गर्ने तह (वर्किङ लेभल) मा सम्झौता भएको थियो । सोही भ्रमणमा चिनियाँ टोलीले काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गको पूर्वसम्भाव्यता अध्ययनको प्रतिवेदन बुझाएको थियो । चीन सरकारले काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गमा चासो देखाएपछि पूर्वसम्भाव्यता अध्ययन गरेको थियो । चीन सरकारकै लगानीमा पूर्वसम्भाव्यता अध्ययन भएको थियो । सो अध्ययनमा काठमाडौँबाट पोखरा हुँदै लुम्बिनीसम्म रेलमार्ग सम्भव छ भन्ने देखिएको थियो । कोभिड–१९ का कारण काठमाडौँ–केरुङ रेलमार्गको अध्ययन अघि बढ्न नसके पनि चीन सरकारले आफ्नो देशभित्रको क्षेत्रमा अध्ययन अघि बढाएको छ । चीनले सिगात्सेबाट नेपालको सीमा नजीकैको केरुङसम्मको अध्ययन अघि बढाएको हो । रासस नेपाल आइपुग्यो रेल, हेर्नेको घुइँचो, यसरी गरियो स्वागत (भिडियो)
तिजको अघिल्लो दिन ह्वात्तै घट्यो सुनको मूल्य
काठमाडौंः बिहीबार सुनको मूल्य १६ सय रुपैयाँले घटेको छ । बिहीबार छापावाल सुन प्रतितोलाको ९८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको भने तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार र बुधबार छापावाल सुनको मूल्य तोलाको १ लाख ४ सयरुपैयाँ पुगेको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९९ हजार ९ सय रुपैयाँ निर्धारण भएको थियो । चाँदीको मूल्य प्रतितोला १३ सय ६० रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला १३ सय ८० रुपैयाँ रहेको थियो । शुक्रबार हरितालिका तीज हो । हरितालिका तीजको अघिल्लो दिन सुनको मूल्य घटेको हो ।
‘लकडाउन’काे चौथो दिन पनि सुनसान काठमाडौं (फोटो फिचर)
काठमाडौंः महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई नियन्त्रण गर्न सरकारले गरेको ‘लकडाउन’ काे चौथो दिन पनि काठमाडौं उपत्यका सुनसान बन्यो । हरेका चोकमा सुरक्षाकर्मीले कडा सुरक्षा दिइरहेका देखिन्थे । सुरक्षाकर्मीले ‘लकडाउन’ को अवज्ञा गर्दै हिँड्नेलाई नियन्त्रणमा लिएका देखिन्थे । अत्यावश्यकीय सामग्री बोकेका गाडीहरु भने छिटफुटरुपमा आज पनि चले । तस्बिरः गोरखापत्र अनलाइन
जन्मदिवसमा उद्योगमन्त्री भट्टको मार्मिक स्टाटस
काठमाडौंः उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले विश्वव्यापी रुपमा फैलिरहेको कोराना भाइरस (कोभिड–१९) को रोकथामका लागि सरकारले गरेको ‘लकडाउन’काे पालना गर्न सबैलाई अनुरोध गरेका छन् । आज आफूलाई जन्मदिनको शुभकामना दिने सम्पूर्णलाई धन्यवाद दिँदै मन्त्री भट्टले भनेका छन्, ‘आउनुस् सबै मिलिर कोरोना संक्रमणसँग लडौं । सबैले लकडाउनको नियम पालना गरौं । अप्ठ्यारो परे सम्बन्धित निकायमा खबर गरौं । हामी तपाईसँगै छौ ।’ उनले देशभर ‘लकडाउन’भए पनि उपभोग्य वस्तुको सहज आपूर्ति र पहुँचका लागि निरन्तर प्रयास गरिरहेकोसमेत बताएका छन् । मन्त्री भट्टले अप्ठ्यारो अवस्थाका बाबजुत आवश्यक वस्तुको आपूर्तिका लागि सहज व्यवस्थापनको संरचना तयार गर्न आफूहरु सफल भएको दावी गरेका छन् । जन्मदिनमा उद्योगमन्त्री भट्टको मार्मिक स्टाटस विभिन्न माध्यमबाट मलाई जन्मदिनको शुभकामना दिनुहुने सम्पूर्ण अग्रज, इष्टमित्र, दिदिबहिनी तथा दाजुभाइहरुमा हार्दिक आभारसहित धन्यवाद व्यक्त गर्दछु । आजकाे दिनमा म ईतिहासमा नै सबैभन्दा जटिल जिम्मेवारी बहन गरिरहेकाे छु । आम जनतामा काेराेना संक्रमणले फैलिएका त्रासका बीचमा आपूर्ति व्यवस्थापनकाे जटिल चुनाैति मेरा सामु छ । मेराे विचारमा कोरोना Covid-19 को प्रकोप विश्वभर फैलिरहेको अवस्थामा हामीले याे संक्रमणविरुद्ध सामूहिक प्रयास गर्नु जरुरी छ । नेपालमा पनि संक्रमणकाे राेकथामका लागि लकडाउन गर्ने घाेषणा सरकारले गरेकाे छ । तर पनि उपभाेग्य वस्तुकाे सहज आपूर्ति र पहुँचका लागि मैले सकेसम्म प्रयास गरेकाे छु । मैले आम जनतालाइ निराश हुन दिएकाे छैन । कतिपय अप्ठ्याराे हुँदा पनि आवश्यक वस्तुकाे आपूर्तिका लागि सहज व्यवस्थापनकाे संरचना तयारगर्न हामी सफल भएका छाैं । तर म एक्लाेकाे प्रयासले मात्र याे सम्भव हुँदैन । यसमा हामी सबैकाे पहल र साथ जरुरी छ । आउनुस् सबै मिलेर कोरोना संक्रमणसँग लडौं सबैले लकडाउनको नियम पालना गरौं । अप्ठ्याराे परे सम्बन्धित निकायमा खबर गराैं । हामी तपाईसँगै छाैँ । पुनः मलाई शुभकामना दिनुहुने सबैमा हार्दिक धन्यवाद छ !
इटलीमा एकैदिन १ सय ८९ जनाको मृत्यु, विश्वभर मृत्यु हुनेको संख्या पाँच हजार नजिक
काठमाडौंः चीनको वुहान शहरबाट सुरु भएर विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण इटलीमा एकैदिन १ सय ८९ जनाको मृत्यु भएको छ । इटलीमा बिहीबार मात्रै यति ठूलो संख्यामा मानिसहरुको मृत्यु भएको हो । इटली चीनपछि कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित देश हो। यहाँ हालसम्म १५ हजार १ सय १३ जनामा कोरोनाको संक्रमण भएको छ भने एक हजार १६ जनाले ज्यान गुमाएका छन् । इटलीमा बिहीबार मात्रै २ हजार ६ सय ५१ जना नयाँ संक्रमित भेटिएका छन् । यस्तै इरानमा पनि कोरोना संक्रमणका कारण बिहीबार ७५ जनाको मृत्यु भएको छ भने स्पेनमा ३१ जनाले ज्यान गुमाएका छन् । कोरानाका कारण चीनमा अहिलेसम्म तीन हजार एक सय ७० जनाको मृत्यु भएको छ । तर चीनमा नयाँ संक्रमित हुनेहरुको संख्या ह्वात्तै घटेको छ । बिहीबार चीनमा कोरोनाका कारण एकजनाको मृत्यु भएको छ भने चारजनामा नयाँ संक्रमण फेला परेको छ । हालसम्म विश्वभर कोरोनाको संक्रमणबाट ४ हजार ९ सय ७२ जनाले ज्यान गुमाएका छन् । जसमध्ये बिहीबार मात्रै ३ सय ४४ जनाको मृत्यु भएको छ । हालसम्म १ लाख ३४ हजार ५ सय ६० जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने ती मध्ये ८ हजार तीन सय ४६ नयाँ संक्रमित हुन् । झण्डै ६९ हजार व्यक्ति निको भएर घर फर्केका छन् । गत डिसेम्बरको अन्त्यतिर चीनको वुहान क्षेत्रमा पहिलो पटक देखिएको कोरोनाको संक्रमण १ सय १५ देशमा फैलिसकेको छ। चीनमा संक्रमण दर घटेपनि इटली, दक्षिण कोरिया, इरान, फान्स, स्पेन, जर्मनी, अमेरिका लगायतका देशहरुमा कोरोनाको संक्रमण दर निरन्तर रुपमा बढिरहेको छ।
काठमाडौंमा एक दिनमै ३३ सवारी दुर्घटना
काठमाडौंः काठमाडौं उपत्यकामा बितेको २४ घण्टाभित्र ३३ वटा सवारी दुर्घटना भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यी दुर्घटनामा परि एक जना गम्भीर र २५ जना सामान्य घाइते भएका छन्। ट्राफिक नियम उलंघन गर्ने दुई हजारभन्दा बढि चालकमाथि कारबाही भएको छ। गएको २४ घण्टामा २ सय जनाले सडकको फुटपाथमा सवारी पार्किङ गरेको, १ सय ३८ जनाले लेन मिचेर सवारी चलाएको, ९७ जनाले मादक पदार्थ सेवन गरी सवारी हाँकेको, ४३ जनाले अनावश्यक हर्न बजाएको र ३५ जना चालकले जेब्राक्रसमै सवारी रोकेको ट्राफिक प्रहरीले जानकारी दिएको छ।