सहिद दशरथचन्द स्वास्थ्यविज्ञान विश्वविद्यालय विधेयक संसदमा दर्ता

काठमाडौं । सुदूरपश्चिमको गेटामा सहिद दशरथचन्द स्वास्थ्यविज्ञान विश्वविद्यालय निर्माण गर्न बनेको विधेयक व्यवस्थापिका संसदमा दर्ता भएको छ ।हिजो बसेको संसद बैठकमा सो विधयेक सरकारले दर्ता गराएको हो ।

विधेयकबारे सदनमा दफावार छलफलको प्रक्रिया सुरु हुने छ ।

भुटानी शरणार्थी प्रकरण : आज पनि थुनछेक बहस जारी रहने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आज थुनछेक बहसको दोस्रो दिन। काठमाडौं जिल्ला अदालतमा आइतबारदेखि सुरु भएको थुनछेक बहस आज पनि जारी रहने भएको हो। न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सुरु भएको बहसको पहिलो दिन सरकारी वकिलका कार्यालयका दुई जना वकिलले मात्रै बहस गरेका थिए। पूर्व उपप्रधान मन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण, निलम्बित सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राईलगायतलाई अदालतमा उपस्थित गराएर सरकारी वकिलले थुनछेक बहस गरेका थिए। थुनछेक बहस जेठ ३१ गतेसम्म जारी रहने र यसपछि पुर्पक्षका लागि थुनामा पठाउने कि नपठाउने भन्नेबारेमा आदेश हुनेछ।

७१ देशमा थप वैदेशिक रोजगारी खुला गर्ने सरकारको तयारी

काठमाडौं । ७१ देशमा सरकारले थप वैदेशिक रोजगारी खुला गर्ने गृहकार्य गरेको छ । अहिले खुला रहेका १०८ देशमा थप ७१ देशमा पनि वैदेशिक रोजगारी खुला गर्ने तयारी सरकारले गरेको हो । मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले दौत्य सम्बन्ध भएका सबै मुलुकमा वैदेशिक रोजगारी खुला गर्ने तयारी भएको जानकारी दिए । उनका अनुसार प्रतिबन्धमा रहेको इराकमासमेत वैदेशिक रोजगारी खुला गर्न गृहकार्य सुरु भएको छ । मन्त्रालयको योजनाअनुसार नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध कायम रहेका सबै देश वैदेशिक रोजगारीका लागि खुला गर्ने सरकारको तयारी रहेको सचिव अर्यालले बताए । १७९ वटा देशमा नेपालीले रोजगारीका लागि जान पाउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगारीका लागि १११ देश खुला भए पनि अफगानिस्तान, लिबिया र इराक वैदेशिक रोजगारीमा जान नपाउने गरी कालोसूचीमा रहेका छन् । आन्तरिक गृहयुद्धमा फसेका यी देशमा पनि अब नेपाली श्रमिक पठाउने गृहकार्यमा सरकार लागेको हो । तीन वटा कालोसूचीमा रहेका देशसहित ७१ वटा देश वैदेशिक रोजगारीका लागि खुला भएका जम्मा रोजगारीका लागि खुला हुने देशको संख्या १७९ पुग्नेछ ।

आजको मौसम : कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू-भागको ‍एक-दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । राती भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका ‍एक-दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरण : सकियो ५ आरोपीको बयान, अझै १३ जना फरार

काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौँ असुली गरेको गिरोहमा संलग्न ५ जनाको थुनछेक बयान सकिएको छ। जिल्ला अदालत, काठमाडौँमा आज आरोपी टङ्क गुरुङ, लक्ष्मी महर्जन र सन्दीप महर्जनको बयान  सकिएको हो । यसअघि प्रकरणका आरोपी सागर राई र केशव दुलालको बयान सकिएको छ। राई मोरङको पथरीशनिश्चरेका पूर्व वडाध्यक्ष हुन्। मोरङका दुलाल काँग्रेस नेतृ सुजाता कोइराला परराष्ट्रमन्त्री हुँदा उनका स्वकीय सचिव थिए। महर्जनका प्रकरणका आरोपी केशव तुलाधरकी श्रीमती हुन्। ठगी गरिएको रकम उनको खातामा पनि जम्मा भएको पाइएपछि प्रहरीले उनलाई प्रतिवादी बनाएको थियो। अदालतमा बयान दिँदै उनले शरणार्थी बनाएर अमेरिका पठाउने विषयमा आफूलाई केही जानकारी नभएको बताएकी छन्। एक जना कानून व्यवसायीका अनुसार, आइतबार पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का तत्कालीन सुरक्षा सल्लाहकार डा। इन्द्रजित राईको बयान लिने तयारी थियो। तर, न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलाससामू उभिएर उनले आफूलाई विसञ्चो भएको बताउँदै बयान दिन मानेन्। सुरुमा ब्रेक समयपछि बयान दिने बताएका उनले त्यसपछि पनि बिरामी भएको भनेपछि मंगलबारलाई उनको बयान सरेको छ। पक्राउ परेका १७ जना प्रतिवादीहरूको थुनछेक बहस अघि अहिले बयान भइरहेको हो। बयानपछि बहस हुनेछ, त्यसपछि अदालतले पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छाड्ने वा साधारण तारेखमा छाड्ने तीन मध्ये एक निर्णय सुनाउनेछ। जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँले चार दिनअघि नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा दुई पूर्वमन्त्री, बहालवाला सचिव, पूर्वसभासदसहित ३० जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा चारवटा अभियोगमा मुद्दा दायर गरेको थियो। एमाले नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, काँग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डे, गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, पूर्वसभासद आङटावा शेर्पा, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल लगायत ३० जनाविरुद्ध जिल्ला प्रहरी परिसर, काठमाडौँले गरेको अनुसन्धानका आधारमा मुद्दा दायर भएको थियो। आरोपितहरुमध्ये १७ जना पक्राउ परेका छन् भने १३ जना फरार छन्। सबैविरुद्ध सङ्गठित ठगी, राष्ट्रहित प्रतिकूल हुने कसुर र कीर्ते गरेको अभियोग छ।

बङ्गलादेशले नेपालबाट ४० मेगावाट बिजुली खरिद गर्ने

काठमाडौं । बङ्गलादेशले नेपालबाट ४० मेगावाट बिजुली खरिद गर्ने भएको छ । दुई देशबीचका सचिवस्तरीय ‘जोइन्ट स्टेयरिङ कमिटी‘ बैठकले बंगलादेश ४० मेगावाट बिजुली खरिद गर्न सहमत भएको हो। नेपालको बिजुली भारत हुँदै लैजानुपर्ने भएकाले भारतसहित त्रिपक्षीय बैठक गर्नेबारे पनि दुई देश सहमत भएका छन्। नेपालबाट भारत हुँदै बंगलादेश विद्युत् निर्यात गरी आउँदो सिजनदेखि पावर ट्रेडिङ सुरु गरिनेछ। दुई देशबीच विद्युत् व्यापारका लागि डेडिकेटेड प्रसारण लाइन निर्माण गर्ने विषयमा पनि छलफल भएको छ। त्यसका लागि भारतलाई मनाउनुपर्ने भएकाले त्रिपक्षीय बैठक बस्ने तयारी छ।  

आज मदन आश्रित स्मृति दिवस मनाइँदै

काठमाडौं । आज मदन आश्रित स्मृति दिवस । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी तथा संगठन विभाग प्रमुख जीवराज आश्रितको देहान्त भएको दिन । २०५० जेठ ३ गते दासढुंगा, चितवनमा रहस्यमय जिप दुर्घटना परी दुवै नेताको निधन भएको दिनको सम्झनामा आज देशै भरी ‘मदन–आश्रित स्मृति दिवस’ मनाईदैछ । अबको शताब्दीमा ‘बुलेट’ बाट होइन, ‘ब्यालेट’ बाट सत्ता कब्जा गर्नुपर्छ भन्ने नयाँ कम्युनिस्ट मान्यता स्थापित गराउने नेतालाई सम्झना गर्ने दिनको रुपमा पनि आजको दिनलाई लिइन्छ । मुख्यतः नेकपा एमाले पार्टीको केन्द्रीय कार्यालय र मातहातका कमिटीसहित तीनका भातृ संगठनहरुले विभिन्न कार्यक्रम गरी मदन–आश्रितको सम्झनामा विभिन्न कार्यक्रम गरी दिवगंत नेताहरुको सम्झना गर्ने गर्दछन् । ‘बन्दुकको नालबाट मात्रै सत्ता कब्जा हुन्छ’ भन्ने परम्परागत कम्युनिस्ट मान्यतालाई चिर्दै ‘जनताको मतद्वारा नै सत्ता कब्जा हुन्छ’ भन्ने मान्यताका साथ ‘जनताको बहुदलीय जनवाद’ (जबज) सिद्धान्तका प्रतिपादक नेताको रुपमा मदन भण्डारीलाई कम्युनिस्ट आन्दोलनको इतिहासमा सम्झिन्छ । सो सिद्धान्त प्रतिवादन गरे पछि भण्डारीलाई पुँजीवादी मुलुकका अमेरिकन मिडियाहरूले जीवित ‘कार्ल मार्क्स’भनेर संसारभर चिनाउने प्रयास गरेका थिए । उनको सिद्धान्त पछि विश्वभरिका कम्युनिस्टहरू ‘बुलेट’ बाट होइन, ‘ब्यालेट’ वाट श्रमजीवि बर्गको सत्ता स्थापनाका लागि लाग्नु पर्छ भनेर प्रेरित हुन पुगेको राजनीतिक विश्लेषकहरूले बताउँदै आएका छन् ।

मुगु हिमपहिरो अपडेटः यार्सागुम्बा संकलन गर्न गएका जुम्लाका तीनजनाको मृत्यु

जुम्ला । मुगुको च्यार्खु लेकमा हिउँ पहिरामा परेर जुम्लाको पातारासी गाउँपालिकाका तीनजनाको ज्यान गएको छ । पातारासी–२ तल्फीगाउँका ४० वर्षीय तारासिंह सार्की, ३६ वर्षीय पुन्न सार्की र ३६ वर्षीय वीर बोहोराको निधन भएको पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिइन्। यार्सागुम्बा संकलनका लागि पातारासीबाट गएका १४ जनाको टोलीमध्ये तीन जनाको मृत्यु भएको उनले जानकारी दिइन्। उनका अनुसार अन्य सामान्य घाइते भएका छन् । दुई जना सकुशल छन्। उनीहरूको उद्धार गर्न मुगुको जिल्ला प्रशासन कार्यालय, प्रदेश सरकार र संघीय सरकारलाई जानकारी गराएको उपाध्यक्ष रोकायाले जानकारी दिइन्। शनिबार दिउँसो खबर आएसँगै इलाका प्रहरी चौकी मुगुबाट प्रहरीको टोली घटनास्थलतर्फ गइसकेकाले घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुका निमित्त प्रहरी नायब उपरीक्षक सुदर्शन पन्थीले जानकारी दिए। यार्सागुम्बा संकलनका लागि गाउँपालिकाले आगामी जेठ ४ गतेदेखि प्रवेश अनुमति खुला गर्ने भनिए पनि त्यो सूचनालाई छलेर अहिले सयौँ व्यक्ति अर्कै बाटो हुँदै मुगुको पाटनमा पुगेका छन्। बेपत्ता भएका तीन जनासहितको टोली पनि अर्कै बाटो भएर पाटनमा पुगेको थियो।

आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । त्यस्तै अमेरिकी डलर एकको नेपाली खरिद दर १३१ रुपैयाँ ५ पैसा र बिक्री दर १३१ रुपैयाँ ६५ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ १ पैसा र बिक्री दर १४४ रुपैयाँ ६७ पैसा रहेको छ । यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ९२ पैसा र बिक्री दर १६३ रुपैयाँ ६७ पैसा रहेको छ भने स्वीस फ्र्यांक एकको नेपाली खरिद दर १४६ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४६ पैसा रहेको छ । आज अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८७ रुपैयाँ ६९ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८६ पैसा र बिक्री दर ३६ रुपैयाँ २ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।  

अन्नपूर्ण हिमाल आरोहणका क्रममा एक आरोहीको मृत्यु, एकको जीवितै उद्धार

काठमाडौं । म्याग्दीस्थित अन्नपूर्ण हिमाल आरोहणका क्रममा एक जनाको मृत्यु भएको छ । प्राप्त जानकारी अनुसार एक जना बेपत्ता छन् भने अर्का एक जनाको जीवितै उद्धार गरिएको छ । काठमाडौंको पायोनिर ट्रेकिङ कम्पनीमार्फत अन्नपूर्ण आरोहणमा गएकी भारतीय आरोही बलजित कौरको सात हजार पाँच सय मिटर उचाइबाट कैलाश एयरको हेलिकप्टरमार्फत आज दिउँसो उद्धार गरिएको उद्धारमा खटिएका म्याग्दी दानाका इन्द्रसिंह शेरचनले जानकारी दिए । उनका अनुसार ‘सेभेन समिट ट्रेक्स’ बाट आरोहणमा गएकी आरोही नोयल हन्नाको मृत्यु भएको छ । उनको शव छ हजार मिटरको उचाइबाट आज दिउँसो आधार शिविरमा ल्याइएको छ । सेभेन समिट ट्रेक्सबाट आरोहणमा गएका भारत राजस्थान किसनगढका ३४ वर्षीय अनुराग मालु वेपत्ता भएका छन् । सेभेन समिट ट्रेक्सका प्रबन्धक थानेश्वर गुरागाईंका अनुसार सफलतापूर्वक आरोहण गरी आधार शिविर फर्कने क्रममा सोमबार दिउँसोदेखि सात हजार पाँच सय मिटरको उचाइबाट उनी बेपत्ता भएकी थिइन् । उद्धार गरिएका आरोही र मृतकको शवलाई आधार शिविरबाट काठमाडौँ लैजाने तयारी गरिएको छ । बेपत्ता मालुको खोजीमा निजी कम्पनीका चारवटा हेलिकोप्टर परिचालन गरिएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्छ ।

प्रहरी हिरासतमै पूर्वसांसदको गोली हानी हत्या

काठमाडौं । भारतको उत्तर प्रदेशका पूर्वसांसद अतीक अहमद र उनका भाई अशरफको प्रहरी हिरासतमा गोली हानेर हत्या गरिएको छ। प्रहरी हिरासतमा रहेका उनको उत्तर प्रदेशको प्रयागराजमा एक हत्याको मामिलामा सोधपुछका लागि लैजादै गर्दा दुवैमाथि गोली हानिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय संचारमाध्यमसँग कुराकानी गरिरहेका बेला दुवैमाथि पछाडीबाट गोली हानेको भिडिओ सार्वजनिक भएको छ। अतिक अहमदको छोरा असदको पनि बिहीबार झाँसीमा प्रहरीले इन्काउन्टरका नाममा हत्या गरेको थियो। अतीक र अशरफको हत्या कसरी भयो भन्ने प्रहरीले अझै स्पष्ट खुलाएको छैन। यद्यपी गाडीबाट उत्रिएर संचारमाध्यमसँग कुरा गरिरहेका बेला उनीहरुमाथि गोली प्रहार भएको देखिएको छ।

न्युरोडमा काठमाडौं महानगरको डोजर, व्यापारीको भागाभाग

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोडमा रहेको सुरज अर्केडमा निर्माण गरिएका अनधिकृत संरचना भत्काउ लागेको छ । अर्केडमा बनाएको अनधिकृत सरचना भत्काउन महानगरपालिले दुई वटा डोजर तयार गरिएको छ । डोजर लिएर केही समयमै पुग्ने महानगर प्रहरीले जनाएको छ । महानगरको डोजर आउने भएपछि व्यापारीहरुको भागाभाग भएको छ । महानगरले पछिल्लो समय अनधिकृत संरचना हटाउने अभियान चलाएको छ । मेयर बालेन्द्र साह (बालेन) आफैं पुगेर ठाउँका संरचनाहरू भत्काएका थिए ।

नेकपा माओवादी रोशी-१२ को कार्यलय स्थापना

प्रेम स्याङ्तान लामा,                                         नेकपा   माओवादी केन्द्र रोशी १२ को वडा कार्यालय उद्घाटन भएको छ । नेकपा माओवादे केन्द्र बागमती प्रदेश सदस्य एवं रोशी गाउँपालिका इन्चार्ज नवीन तामाङको प्रमुख आतिथ्यतामा उद्घाटन भएको उक्त उद्घाटन समारोहमा नेकपा माओवादी केन्द्र रोशी गाउँपालिकाको अध्यक्ष मानबिर लामा,सचिब फुर्साङ तामाङ, कोषाध्यक्ष भोला मैनाली , वडा अध्यक्ष राम लामा लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा प्रमुख अतिथी नवीन तामाङले स्थानिय निर्वाचन निर्वाचन मात्र नभएर यो स्थानिय सरकार निर्माण गर्ने प्रकृया पनि भएकोले जनमुखी सरकार निर्माण गर्न नेकपा माओवादीलाई विजय गराउनुको विकल्प नभएको बताउदै तामङले अहिले विभिन्न चरणको आन्दोलन र जनयुद्दको बलमा ब्यबस्था परिबर्तन भए पनि जनताको जीवन स्तर परिबर्तन नभएकोले अब ब्यबस्थासंगै अबस्था परिबर्तन गरेसी मात्र जनताको जिबन स्तर परिवर्तन हुने र समाज संमृद्ध हुने भएकोले त्यो माओवादीको नेतृत्वमा मात्र संभब भएको जिकिर गर्नु भयो ! चन्द्र स्यङतानले सन्चालन गरेको उक्त कार्यक्रम सुकलाल तामाङको सभापतित्वमा सम्पन्न भएको थियो भने पासाङ मोक्तानले स्वागत मन्तब्य राख्नु भएको थियो ।

माधव नेपालको खुलासाः ओलीले बालुवाटारको बंकरभित्र प्रधानसेनापति र राष्ट्रपतिसँग गोप्य वार्ता गरेका थिए

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री ओलीले प्रतिगमनलाई संस्थागत गर्न गम्भीर षडयन्त्र गरेको खुलासा गरेका छन् । नेपालले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बनाईएको बंकरभित्र बसेर तत्कालिन प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति र प्रधानसेनापतिसँग गोप्य वार्ता गरेको आरोप लगाएका हुन । बालुवाटारमा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासँग पनि भेटेर सेटिङमा संसद विघटन गरिएको नेपालको भनाई थियो । पार्टी निकट पत्रकारहरुलाई काठमाडौंमा सम्बोधन गर्दै नेपालले प्रधानसेनापति र राष्ट्रपतिसँग धेरै गोप्य बैठक गर्दै ओलीले मुलुकलाई बंगलादेश मोडलमा लैजान चाहेको आरोप समेत लगाए । तत्कालीन प्रधानन्यायाधीश राणासँग स्थानीय चुनावमा कुन न्यायाधीश र कुन प्रहरीलाई कहाँ खटाउने भन्नेसम्मको गृहकार्य गरेको नेपालले खुलासा गरे ।

नेपाल र चीनबीच नौ वटा समझदारी पत्रमा हस्ताक्षर, प्रधानमन्त्री देउवा भेट्न वाङ बालुवाटारमा

काठमाडौं । नेपाल र चीन सरकारबीच नौ वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा शनिबार सिंहदरबारमा परराष्ट्रमन्त्री नारायण खड्का र दुई देशका प्रतिनिधिमण्डलबीच भेटवार्तापछि नेपाल र चीन सरकारबीच नौ वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । जसमा नेपाल चीन अन्तर देशिय रेल निर्माणको संभाव्यता अध्ययन, नेपाल चीन अन्तरदेशीय विद्युत प्रशारण लाइन निर्माणको संभाव्यता अध्ययन, नेपालमा उत्पादित सामग्रीलाई भन्सार छुट दिनेसहितका सम्झौताहरु रहेका छन् । सिंहदरबारमा परराष्ट्रमन्त्री नारायण खड्का र नेपाली प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्तापछि विदेशमन्त्री वाङ प्रधानमन्त्री देउवालाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । तीन दिने नेपाल भ्रमणका लागि शुक्रबार अपरान्ह नेपाल आइपुगेका विदेशमन्त्री वाङले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसहित नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी ओलीलगायत नेतासँग भेटघाट गर्ने कार्यतालिका छ ।

चर्चित साहित्यकार तारानाथ शर्माको निधन

काठमाडौं । नेपाली साहित्यमा आत्मपरक निबन्धका लागि लोकप्रिय लेखक तथा साहित्यकार डा. तारानाथ शर्माको निधन भएको छ । शर्माको ८७ वर्षको उमेरमा आज मंगलबार बिहान निधन भएको हो । उनले लेखेको “घनघस्याको उकालो काटदा” भन्ने निबन्ध निकै चर्चित छ । झर्रोवादी लेखनका रुपमा समेत उनको विशिष्ट पहिचान कायम छ । इलामको बरबोटेमा जन्मेर संस्कृत शिक्षाबाट पठन सुरु गरेका शर्माले २०१३ सालमा बनारसमा पढ्दै गर्दा बल्लभमणि दाहाल, बालकृष्ण पोखरेललगायतका साथीभाइसँग मिलेर सुरु गरेको ‘झर्रोवादी आन्दोलन’ नेपाली साहित्यको आन्दोलनमा मानक बनेर उभिएको छ । तारानाथले बनारसमा पढ्दै गर्दा २०१३ सालमा बालकृष्ण पोखरेल, चुडामणि रेग्मी, कोषराज रेग्मी, बल्लभमणि दहालहरूसँग मिलेर झर्रोवादी अभियान थालेका थिए। उनीहरूले ‘नौलो पाइलो’ भन्ने पत्रिका निकाले र झर्रोवादबारे विभिन्न पत्रिकामा लेखे। नेपाली भाषामा हिन्दी, उर्दु, अङ्ग्रेजी भाषाको आन्दोलन गर्न झर्रोवादी अभियान चालेका थिए। ‘हाम्रो अभियानलाई अहिले पनि अरूले पछ्याउँदैछन्,’ उनी गर्व गर्छन्। संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले पनि झर्रोवादी अभियानबाट प्रभावित भएर नाम फेरे। उनले श र ष हटाएर दन्त्य स लेख्ने अभियान थाले। ‘सुवाषको सट्टा सुवास लेख्न थालेँ,’ नेम्वाङले भनेका थिए, ‘झर्रोवादको अर्थ बुझेपछि झर्रो शब्द खोज्न र प्रयोग गर्न थालेको हुँ।’