व्यवस्थापिका वैठक मंसिर २२ गते बस्ने
काठमाडौं, मंसिर १९ । आज बस्ने भनिएको व्यवस्थापिका संसदको बैठक पुनः सारिएको छ । संविधान संशोधन विधेयकविरुद्ध एमाले तथा विपक्षी दलका सांसदहरुले वैठक अवरुद्ध गरेपछि आगामी मंसिर २२ गतेसम्मका लागि वैठक स्थगित गरिएको हो ।
नेपाल मजदुर किसान पार्टीकी सांसद अनुराधा थापा मगरले बोलेलगत्तै विपक्षी दलका सांसदहरु आफ्नो सिटबाट उठेर वैठक अवरुद्ध पारेका थिए । सभामुख ओनसरी घर्तीले बारम्बार आफ्नो सिटमा बस्नका लागि पटक पटक अनुरोध गर्दा पनि सांसदहरुले अटेर गरेपछि आगामी बुधबारसम्मका लागि बैठक स्थगित गरिएको हो ।
संसदको अर्को बैठक २२ गते दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्कीको महाअभियोगको प्रस्तावमाथिको छलफल अघि बढाउन कार्यसूची थियो ।
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान ८ बजे नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने जनाइएको छ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेकका नेताहरुले बताएका छन् । यस्तै, सरकारले संसद्को चालु अधिवेशन आज रातिबाट अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सन्दर्भमा छलफल हुने बताइएको छ ।
अर्थमन्त्री पुन र कोरियाका राजदूत टेयोङबीच
काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्त र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क टेयोङबीच सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट भएको छ। भेटमा दुई देशबीचको आपसी हितका विषयमा छलफल भएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ ।
चितवन राष्ट्रिय निकुञ्जमा पाँच महिनामा एक लाख पर्यटक
काठमाडौं। चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनामा एक लाख बढी पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको अवलोकन गरेका छन् । निकुञ्जमा जङ्गल सफारीमार्फत एक लाख बढी आन्तरिक तथा बाह्य पर्यटकहरुले निकुञ्जको अवलोकन गरेका हुन् । विश्वको वन्यजन्तु जनजीवन अवलोकनका लागि प्रसिद्ध मानिने चितवन राष्ट्रिय निकुञ्ज विदेशी पर्यटकहरुका लागि बढी रुचाइने क्षेत्र पनि हो । यस निकुञ्जमा गैंडा, पाटे बाघ, सोंस, गौरीगाई, काठे भालु, चितुवा, रतुवा, चित्तल, लगुना, जरायो, चौसिंगे, बाँदर र लंगुर लगायत ६० भन्दा बढी किसिमका स्तनधारी जंगली जनावरहरू पाइन्छन् । यसैगरी, घडियाल गोही, मगर गोही, अजिङ्गर लगायत सरिश्रृप तथा उभयचर, बसार्इंसरी आएका र रैथाने गरी ५४६ भन्दा बढी जातका चराचुरुङ्गी र विभिन्न किसिमका कीरा फट्याङ्ग्राहरू रहने गर्दछन् । चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनामा एक लाख बढी पर्यटक निकुञ्ज अवलोकन भ्रमण गरेको बताए । वरिष्ठ संरक्षण अधिकृत पुर्जा पुनले पछिल्लो पाँच महिनामा निकुञ्ज भित्रिएका एक लाख बढी पर्यटकबाट निकुञ्जले १० करोडभन्दा बढी राजश्व सङ्कलन गरेको उल्लेख गरे । उनले चितवन राष्ट्रिय निकुञ्जमा गत वर्ष तीन लाख बढी विदेशी तथा स्वदेशी पर्यटक आएको बताए । वरिष्ठ संरक्षण अधिकृत पुर्जा पुनले गत वर्ष तीन लाख पर्यटकबाट ३० करोड रुपियाँ राजश्व सङ्कलन गरेको जानकारी दिए। गत वर्षको तुलनामा यो वर्ष पर्यटक आगमन वृद्धि हुने निकुञ्जको अपेक्षा छ । ‘‘चितवन राष्ट्रिय निकुञ्जको मङ्सिरसम्मको पर्यटन आगमनको तथ्याङ्क हेर्दा एक लाख बढी पर्यटक प्रवेश गरे। त्यसमा स्वदेशी तथा विदेशी पर्यटकहरु रहेका छन्। राजश्व आम्दानीको हिसावले चितवन राष्ट्रिय निकुञ्जले १० करोडभन्दा बढी राजश्व सङ्कलन भएको छ । गत वर्ष तीन लाख बढी पर्यटक चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गरेका थिए । जसबाट ३० करोड रुपियाँ राज्यलाई राजश्वको रुपमा आम्दानी भएको थियो । चितवन राष्ट्रिय निकुञ्ज विश्वमा जन्यजन्तु पर्यटकको लागि प्रसिद्ध छ । जैविक विविधता पनि राम्रो छ । प्रतिकिलोमिटरको क्षेत्रमा वन्यजन्तुहरु अवलोकन गर्नसक्ने अवस्था छ ।,’’ वरिष्ठ संरक्षण अधिकृत पुनले भने, ‘‘चितवन राष्ट्रिय निकुञ्ज गैडाँ, बाघ, अन्य वन्यजन्तु र जङ्गल सफारीमार्फत अवलोकनका लागि आउने गरेका छन् । चितवन राष्ट्रिय निकुञ्ज भित्र जङ्गली हात्तीहरुले आतङ्क मच्चाउने काम गर्छन् । तीनहरुबाट सजक सहज स्थानीयहरुलाई आग्रह गर्ने र हात्ती कुन क्षेत्रमा रहेको छ भन्ने जानकारी लिने यन्त्र नै जडान गरेर निकुञ्जले काम गरिरहेको छ । चितवन राष्ट्रिय निकुञ्जमा धुर्बे, रोनाल्डो, मकुना, यमगज र गोविन्दे लगायतका हात्तीहरु बाहिर देखिएका छन् ।’’ उनले निकुञ्जमा प्रतिकिलोमिटरको क्षेत्रमा वन्यजन्तुहरु अवलोकन गर्नसक्ने अवस्था रहेको बताए। उनले चितवन राष्ट्रिय निकुञ्ज गैँडा, बाघ, अन्य वन्यजन्तु र जङ्गल सफारीमार्फत अवलोकनका लागि आउने हात्ती कुन क्षेत्रमा छ भन्ने जानकारी लिने यन्त्र नै जडान गरेर निकुञ्जले काम गरिरहेको बताए । उनले चितवन राष्ट्रिय निकुञ्जमा धुर्बे, रोनाल्डो, मकुना, यमगज र गोविन्दे लगायतका हात्तीहरु बाहिर देखिएको बताए।
जसपाबाट राष्ट्रियसभा सदस्यको उमेदवार पूजा चौधरी
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले आफ्नो तर्फबाट राष्ट्रियसभा सदस्यको उमेदवार छानेको छ । आइतबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट एक उमेदवारको नाम टुंग्याइएको हो । पार्टीका तर्फबाट रौतहटकी पूजा चौधरीलाई उमेदवार बनाउने निर्णय गरिएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । आउँदो माघ ११ गते राष्ट्रियसभा सदस्यको निर्वाचन हुँदै छ । त्यसका निम्ति सोमबार (भोलि)भोलि उमेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम छ । सत्ता गठबन्धनमा आबद्ध दलबीच राष्ट्रियसभामा रिक्त हुन लागेका सिटमा भागबन्डा गरिएको छ । भागबन्डाअनुसार नेपाली कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले दुई र जनता समाजवादी पार्टी (जसपा)ले एक सिट पाउने उनीहरूबीच सहमति भएको छ ।
संस्कृतिमन्त्री किरातीले भन्छन्– ‘म सबैको अभिभावक हुँ, सबै अस्तित्वको सम्मान गरौँ’
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूले ‘अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गर्नुपर्नेमा’ जोड दिएको बताएका छन् । उनले आफू सबैको अस्तित्व स्वीकार गर्नुपर्ने पक्षमा रहेको पनि बताएका छन् । ‘फेरि पनि भन्छु, अहिले म सबैको अभिभावक हुँ त्यसैले सबै अस्तित्वको सम्मान गर्छु र सबैले गरौँ । अन्तमा अर्काको अस्तित्वलाई स्वीकार गर्नु भनेको आफ्नो अस्तित्व सम्मानित हुनु हो,’ बिहीबार सामाजिक सञ्जालमा उनले लेखेका छन् । ‘भन्नलाई त मलाईस पशुपतिनाथ सफा गर्दा हिन्दु भने, बौद्ध दर्शनको वकालत गर्दा बुद्धिस्ट भने, मुस्लिमको कार्यक्रममा जाँदा मुस्लिम भने, क्रिस्टियनको कार्यक्रममा जाँदा क्रिस्टियन भने,’ उनले भनेका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पर्यटनमन्त्री किरातीले नेपाल बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक देश भएकाले कसैको डरत्रासमा बस्न नहुने बताएपछि उनी विवादित बनेका छन् । ‘कसैको दायामायाले होइन, हजारौँ सहिदको बलिदानले लेखेको संविधानको बगैँचामा तपाईंहरू एकथरि फूल हो । तपाईंहरूबिना बगैँचाको शोभा हुँदैन । तीन करोड नेपालीमा लाखौँ क्रिश्चियन भइसकेका छन् । क्रिश्चियनलाई मान्दिनँ भन्नु संविधान मान्दिनँ भन्नु हो । संविधान मान्दिनँ भन्ने देशद्रोही हुन् । कसैले देशद्रोह गर्छ भने त्यसलाई हत्कडी लगाउने, जेलमा हाल्ने हो,’ उनले भनेका थिए ।
टिकटक बन्द नगर्ने ६० इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज गरिने
काठमाडौं । सरकारले आफ्नो नेटवर्कमा टिकटक बन्द नगर्ने सेवा प्रदायकको लाइसेन्स खारेज गर्ने चेतावनी दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले मन्त्रिपरिषद्को कात्तिक २७ गतेको निर्णय कार्यान्वयन गर्न सबै इन्टरनेट सेवा प्रदायक (आईएसपी) र मोबाइल सेवा प्रदायकलाई निर्देशन दिएको बताएको छ । तर, हालसम्म ग्रामीण इन्टरनेट सेवा प्रदायकसहित ६० इन्टरनेट सेवा प्रदायकले प्राधिकरणको निर्देशन कार्यान्वयन भए नभएको सम्बन्धमा कुनै पनि जानकारी नदिएको बताएको छ । यीमध्ये ५५ इमेलसहितका इन्टरनेट सेवा प्रदायकको नाम सार्वजनिक गर्दै प्राधिकरणले २४ घण्टे अल्टिमेटम दिएको छ । मंगलबार प्राधिकरणले एक सूचना जारी गर्दै ती कम्पनीले २४ घण्टा भित्र कुनै जवाफ नदिएमा दूरसंचार ऐन, २०५३ बमोजिम अनुमतिपत्र खारेजी लगायतको कारबाही प्रक्रिया अगाडि बढाइने बताएको हो । हालसम्म १३० वटा इन्टरनेट सेवा प्रदायक सञ्चालनमा रहेको र तीमध्ये ७० वटाले टिकटकको पहुँचमा रोक लगाएको भनेर जानकारी गराइसकेको प्राधिकरणले जनाएको छ ।
प्रसाईको आन्दोलन केटाकेटी खेल जस्तो : देवेन्द्र पौडेल
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का सचिव एवं पूर्वमन्त्री देवेन्द्र पौडेलले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अध्यक्ष दुर्गा प्रसाईंले एउटा स्कुलमा हुने विद्यार्थी जति मान्छे उतारेको टिप्पणी गरेका छन्। हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले दुर्गा प्रसाईले काठमाडौं उतारेजति मान्छे (७/८ हजार विद्यार्थी) बुटवलको कालिका माविमा नै रहेको बताएका हुन् । ‘मैले त धेरै मान्छे देखिन । एउटा स्कुलमा हुन्थे त्यति मान्छे त। बुटवलको कालिका माविमा ८/९ हजार छन्,’ उनले भने । प्रसाईले ल्याएका मान्छेको बलमा देशको व्यवस्था परिवर्तन हुन्छ भन्नु केवल भ्रमबाहेक अरु केही हुननसक्ने उनले बताए। आफूहरुले प्रसाईंले काठमाडौं उतारे जति मान्छे एउटा सानो लडाईं लड्न जाँदानै लिएर गएको विगत उनले स्मरण गराए। उनले जनताले संघर्ष र बलिदानी गरेर ल्याएको लोकतान्त्रिक गणतन्त्र ढाल्छु भनेर केही मान्छे सडकमा आउनु केटाकेटी खेलबाहेक केही हुननसक्ने बताए । ‘अढाई सय वर्षसम्म नेपाली जनताहरु सचेत भएर, दुख कष्ट गरेर, मेहनत गरेर एकात्मक, जहानिया, निरंकुश, सामन्ती राजतन्त्र नेपालका निम्ति ठीक छैन भनेर नेपाली जनताले त्यत्रो आन्दोन गरेको, अनि एक दुई जना मान्छेले सडकमा उभिएर म राजतन्त्र पर्काउँछु भनेर केटाकेटी खेलेजस्तो,’ उनले भने । अहिले दलबाट निर्वाचित जनप्रतिनिधिनै ३७ हजार रहेको बताउँदै उनले राजतन्त्रको नाममा चलखेल हुन थाले उनीहरु चुप लागेर नबस्ने समेत बताए । उनले निर्वाचित जनप्रतिनिधिहरु अहिले कोही पनि सडकमा नरहेको उनको भनाई छ। प्रसाईंले असम्भव कुरा गरेर चर्चामा आउन विभिन्न हर्कत गरेको उनले आरोप लगाए । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीमा दलको विकल्प दलनै र लोकतन्त्रको विकल्प लोकतन्त्रनै हुने उनको भनाई छ । पार्टीले राम्रो काम गरेनन् भन्ने कसैलाई लागेमा दल खोलेर जनताको विश्वास जितेर निर्वाचित भएर यो व्यवस्थामा शासन गर्ने छुट सबैलाई रहेको उनले बताए। यही व्यवस्थाको रसस्वादन गरेर केही सांसदहरुले संसद्म राजा भनेको भन्दै उनले आपत्ति जनाए । माओवादीले वंशीय शासन प्रणाली र एकात्मक व्यवस्थाको जहिले पनि खुलेर विरोध गर्ने उनले बताए । ुदलको विकल्प भनेको दलीय प्रणालीने हो। लोकतन्त्रको विकल्प लोकतन्त्रने हो। लोकतन्त्रमा अहिले बहाल भएका पार्टीहरुले कार्यसम्पान राम्रो गरेनन् भने दल खोलेर निर्वाचन आयोगमा दर्ता गराएर जनताको विश्वास जितेर आउनुपर्यो नि । उनले भने, ‘पुरानै प्रणाली ल्याउँछु भनेर बस्ने रु रसास्वादन गर्ने यही प्रणालीको, कतिपय एकदुई जना माननीय पनि हुनुहुन्छ। माननीयहरु अहिले पनि सदनमा राजा भनेर सम्बोधन गर्नुहुन्छ। राजा नेपालमा छैन। असंवैधानिक व्यवस्था किन बोलियो भनेर हामीले प्रतिवाद गरेका छौं।’ राजतन्त्रका नाममा राजावादीहरु सल्वलाई रहने हो भने राजतन्त्रको अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएका शक्तिहरु एक ठाउँमा हुन्को विकल्प नरहेको उनको भनाई छ। उनले बाहिर हल्ला गरेजस्तो राजतन्त्रको पक्षमा माहोल रहेको कुरामा कुनै सत्यता नरहेको बताए । राजा इतिहासदेखि नै विवादित रहेको उनले भनाई छ । कोत पर्व, भण्डारखाल पर्व, नारायणहिटी दरबार काण्ड जस्ता काण्ड गरेर राजाले शासनसत्ता हातमा लिने काम गरेको उनले बताए। विरेन्द्रको परिवारको वंश नाश बाहिरबाट हमला गरेर नभएर पारिवारिक रुपमै भएको उनले बताए । आफ्नो वंश, दाजुभाईको संरक्षण गर्न नसक्ने राजतन्त्रले देश र जनतालाई परिवर्तन देला भनेर कल्पना गर्न नसकिने उले बताए । प्रसाईंको विगत, वर्तमान र भविष्यको कुनै टुंगो नरहेको उनले बताए ।
कोप–२८ : यस्ता छन् नेपालको प्राथमिकता
काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन ९कोप–२८० मा नेपालले जलवायु वित्तदेखि हिमालका मुद्दासम्मका विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ। सम्मेलनमा नेपालले जलवायु अनुकूलनमा थप प्रतिबद्धता र कार्यान्वयन, जलवायु परिवर्तन न्यूनीकरण, जलवायु वित्त, हानी तथा नोक्सानी, पेरिस सम्झौताको विश्वव्यापी प्रगति समीक्षा, पर्वतीय राष्ट्रहरूका समस्याको पहिचान र सम्बोधनका विषयलाई महत्वका साथ उठाउने बताइएको छ। यसैगरी सम्मेलनमा लैङ्गिक, स्थानीय समुदाय, आदिवासी, युवाको चासो र सरोकार, प्रविधि हस्तान्तरण र क्षमता अभिवृद्धिलगायत विषयलाई समेत प्राथमिकताका साथ उठाउने वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले बताए। मन्त्रालयले सम्मेलनमा प्रस्तुत गर्नका लागि उक्त विषयलाई समेटेर ‘राष्ट्रिय स्थिति पत्र’ तयार गरेको छ। कोप–२८ सम्मेलन यही मङ्सिर १४ देखि २६ गते (नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिख) सम्म संयुक्त अरब इमिरेट्सको दुबईमा हुँदैछ। यस सम्मेलनलाई नेपालले निकै महत्वका साथ सोहीअनुसारको तयारी पनि गरेको छ। सम्मेलनमा नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर र वन तथा वातावरणमन्त्री महतोलगायत विज्ञसहतिको उच्चस्तरीय सहभागिता जनाउने छ। प्रधानमन्त्री प्रचण्ड सम्मेलनमा सहभागिताका लागि यही मङ्सिर १३ गते दुबई प्रस्थान गर्ने र मङ्सिर १७ गते स्वदेश फर्कने उनका विकास व्यवस्थापन विज्ञ तथा जलवायु सल्लाहकार डा पुपलर जेन्टलले जानकारी दिए। प्रधानमन्त्री दाहालले सम्मेलनका क्रममा मङ्सिर १६ गते आयोजना हुने ‘उच्चस्तरीय सत्र’लाई सम्बोधन गर्नुहुनेछ। यही मङ्सिर १५ र १६ गते (डिसेम्बर १ र २ तारिख)हुने ‘उच्चस्तरीय सत्र’मा विश्वभरबाट सम्मेलनमा सहभागी राज्यरसरकार प्रमुखहरूले सम्बोधन गर्ने कार्यतालिका छ। यसैगरी भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले विभिन्न साइडलाइन वार्ता र उच्चस्तरीय भेटवार्तासमेत गर्नुहुने विकास व्यवस्थापन विज्ञ तथा जलवायु सल्लाहकार डा जेन्टलले बताए। यसपटकको सम्मेलनमा नेपालले कार्यक्रम गर्नका लागि सम्मेलन परिसरमा पहिलोपटक आफ्नै ‘पेभिलियन’ (बृहत् मण्डला)स्थापना गरेको छ। मन्त्रालयको तालिकाअनुसार ‘पेभिलियन’मा डिसेम्बर ३ देखि ११ तारिखसम्म विभिन्न विषयका ३६ कार्यक्रम हुनेछन्। प्रधानमन्त्री प्रचण्डले पेभिलियनको उद्घाट्नमा समेत सम्बोधन गर्नुहुनेछ। पेभिलियनमा हुने कार्यक्रमले नेपालका मुद्दामा विभिन्न कार्यक्रम गर्न सकिने र आफ्ना मुद्दा प्रदर्शन गर्न ठूलो सहयोग पुग्ने यस क्षेत्रका जानकारको भनाइ छ। यो सम्मेलनमा उच्चस्तरीय सहभागिताका साथै अन्य दृष्टिकोणले पनि नेपालका लागि थप महत्त्वपूर्ण हुनेछ। सम्मेलनको पूर्वसन्ध्यामा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गत कात्तिक १२ गतेदेखि नेपालको चारदिने औपचारिक भ्रमण गर्नुभएको थियो। उहाँले सगरमाथा र अन्नपूर्ण आधारक्षेत्रको स्थलगत भ्रमण गरी जलवायु परिवर्तनको विषयलाई दिएको प्राथमिकताले पनि यस सम्मेलनमा नेपाललाई आफ्ना विषय उजागर गर्न सहज हुने बताइएको छ। जलवायु परिवर्तनबाट नेपालमा के–के असर परेको छ ? विश्वव्यापी जलवायु परिवर्तनका कारण नेपाल उच्च जोखिममा छ। जलवायु परिवर्तनको असर विशेषगरी हिमाली क्षेत्रमा हिमताल पग्लने र विस्फोट हुने, पहाडी क्षेत्रमा पहिरो र सुक्खा खडेरी र तराई मधेसमा बाढी पहिरोहरू देखिन थालेको छ। हिमाल, पहाड र तराई मधेसमा बसोबास गर्ने गरिब, साना किसान, सीमान्तकृत आदिवासी, महिला, बालबालिका, अशक्त तथा ज्येष्ठ नागरिक बढी प्रभावित बनेका छन्। जलवायु परिवर्तनले अर्थतन्त्रमा विशेष योगदान गर्ने विषयगत क्षेत्र जस्तै कृषि, जलस्रोत, पर्यटनलगायतका क्षेत्रमा, साथै खाद्यसुरक्षा, स्वास्थ्य, जलआपूर्ति, जीविकोपार्जन र सुरक्षामा व्यापक असर पारेको छ। आर्थिक एवं सामाजिक क्षेत्रमा हुने गिरावट र बढ्दो स्वास्थ्य र खाद्यसुरक्षाको समस्याका कारण भविष्यमा जलवायु सङ्कटासन्नता र जोखिम अझ बढ्ने अनुमान गरिएको छ। एक वैज्ञानिक अध्ययनअनुसार हिमाली क्षेत्रको तापक्रम वर्तमान तथा भविष्यमा विश्वको औसत तापक्रमको दाँजोमा शून्य दशमलव तीन डिग्री सेल्सियसदेखि शून्य दशमलव सात डिग्री सेल्सियसभन्दा बढी हुने अनुमान गरिएको छ। पेरिस सम्झौताअनुसार विश्व समुदायले यस शताब्दीको अन्त्यसम्ममा पृथ्वीको तापक्रम एक दशमलव पाँच डिग्री सेल्सियसभन्दा बढ्न नदिन सहमति गरेता पनि सन् २०५० भन्दा पहिले नै हिमाली क्षेत्रको तापक्रम सरदर एक दशमलव आठ डिग्री सेल्सियसभन्दा बढी हुने अनुमान गरिएको छ। उच्च तापक्रम वृद्धिले गर्दा यस क्षेत्रमा रहेका हिमालका दुईतिहाइ हिमभण्डार पग्लने अनुमान अध्ययनले गरेका छन्। जलवायु सम्बन्धमा नेपालले गरेका प्रतिबद्धता र कार्य नेपाल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि युएनएफसिसिसीको पक्षराष्ट्र हो। महासन्धिको प्रावधानअनुरूप नेपालले जलवायु उत्थानशीलता अभिवृद्धि गर्न उपयुक्त नीतिगत, कानुनी तथा संस्थागत संरचना एवं वित्तीय व्यवस्था र कार्यक्रम तर्जुमा तथा कार्यान्वयन गरेको वन मन्त्रालयका सचिव डा दीपककुमार खरालले जानकारी दिए। नेपालले राष्ट्रिय जलवायु परिवर्तन नीति, २०७६, वातावरण संरक्षण ऐन, २०७६ तथा नियमावली, २०७७, स्थानीय अनुकूलन कार्ययोजनाको राष्ट्रिय खाका, २०७६, जलवायु उत्थानशील योजना तथा बजेट तर्जुमा निर्देशिका, २०७७ र जलवायु परिवर्तनसम्बन्धी लैङ्गिक तथा सामाजिक समावेशीकरण रणनीति तथा कार्ययोजना, २०७७–२०८७ तर्जुमा गरी लागू गरेकोे वन सचिव डा खरालले बताउनुभयो। साथै पेरिस सम्झौताबमोजिम दोस्रो राष्ट्रियरूपमा निर्धारित योगदान ९एनडिसी० र राष्ट्रिय अनुकूलन योजना ९एनएपी० पेस गरेको छ। यसैगरी नेपालले २०७८ मा तेस्रो राष्ट्रिय सञ्चार प्रतिवेदन, राष्ट्रिय जलवायु सङ्कटासन्नता तथा जोखिम मूल्याङ्कन प्रतिवेदन, दीर्घकालीन न्यून उत्सर्जन विकास रणनीति र २०८० मा राष्ट्रियरूपमा निर्धारित योगदानको कार्यान्वयन योजना स्वीकृत गरी लागू गरिरहेको छ। यसैगरी तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले कोप–२६ मा सन् २०३० सम्ममा ४५ प्रतिशत वन क्षेत्र कायम गर्ने, जलवायु जोखिमबाट देश र जनतालाई सुरक्षित राख्ने र सन् २०४५ मा कार्बन उत्सर्जनलाई शून्यमा झार्नेजस्ता महत्वाकाङ्क्षी योजना प्रस्तुत गर्नुभएको थियो। कोप–२६ र कोप–२७ यता नेपालले अन्तर्राष्ट्रिय समुदायसामु हरित विकासतर्फ आफ्ना महत्वाकाङ¬्क्षी लक्ष्य हासिल गर्न जलवायु वित्तमा सहज एवं पर्याप्त पहुँच तथा सबै राष्ट्रको साथ र सहयोगको अपेक्षा गरेकोे छ। साथै संयुक्त राष्ट्रसङ्घको ७८ओँ महासभामा नेपाल र अतिकम बिकसित मुलुकहरूका तर्फबाट सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री दाहालले नेपालले राष्ट्रियरूपमा निर्धारित योगदानमा उल्लेखित योजनाको कार्यान्वयनको अवस्थाबारे जानकारी गराएका थिए। कोप–२८ सम्मेलनमा छलफल हुने विषय यस सम्मेलनले कार्बन उत्सर्जन घटाउने दायित्वबारे छलफल, जलवायु अनुकूलन र राष्ट्रिय अनुकूलन योजनाबारे छलफल, पेरिस सम्झौताको कार्यान्वयन अवस्थाबारे समीक्षा, जलवायुजन्य हानी र नोक्सानी साथै कोष कार्यान्वयन, जलवायु वित्तसम्बन्धी छलफल, प्रविधि विकास, विस्तार र कार्यान्वयनलगायत विषयमा छलफल अगाडि बढाउने योजना प्रस्तुत गरेको वन मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव डा बुद्धिसागर पौडेलले जानकारी दिए। यसैगरी महासन्धिअन्तर्गत रहेको क्षमता विकास, अल्पविकसित राष्ट्रहरूसँग सम्बन्धित विषय, जलवायु परिवर्तन र लैङ्गिक सम्बन्धमा, पेरिस सम्झौताको दफा ६ र कार्बन व्यापार, कार्यान्वयनका प्रावधानको प्रभाव, प्रशासनिक, वित्तीय र संस्थागत विषय, जलवायु परिवर्तन र पर्वतीय सवाललगायत विषयमा छलफल अगाडि बढाइने युएनएफसिसिसीको सचिवालयले जनाएको छ।
छठपर्वले आपसी सद्भाव बढाउने राष्ट्रपतिको विश्वास
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छठपर्वका अवसरमा देशविदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् । छठ पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले छठपर्वले नेपाली समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति एवं विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्न र आपसी सद्भाव थप सुदृढ पार्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । राष्ट्रपतिले प्रकृतिको पूजा गरिने छठपर्वले समाजमा विद्यमान सबै प्रकारका सामाजिक विभेद र विसङ्गतिलाई अन्त्य गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
उपप्रधानमन्त्री श्रेष्ठ र फ्रिडम फन्ड टोलीबीच भेटवार्ता
काठमाडौं। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा आएका विश्वका धनीहरूको संगठन फ्रिडम फन्डका पदाधिकारी तथा प्रतिनिधिबीच आज गृह मन्त्रालय, सिंहदरबारमा भेट तथा अन्तरक्रिया सम्पन्न भएको छ। भेटमा नेपाल सरकारका प्राथमिकता र फ्रिडम फन्डले गर्नसक्ने सहयोगका बारेमा छलफल भएको थियो। श्रमिक एवम् कामदारहरूमाथि हुने घरेलु , लैङ्गिक र आर्थिक हिंसाविरोधी अभियानमा सामाजिक संस्थामार्फत सहयोग पुर्याउँदै आएको फ्रिडम फन्डले नेपाल सरकारसँगसमेत सहकार्यको प्रस्ताव गरेको थियो। त्यसक्रममा टोली प्रमुख नताशा डोल्बी र प्रतिनिधिहरूले अनुचित लेनदेन (मिटरव्याज) नियन्त्रणसम्बन्धि कानुन निर्माण र लागु गरेकोमा उपप्रधानमन्त्री श्रेष्ठप्रति आभार व्यक्त गरे । उपप्रधानमन्त्री श्रेष्ठले कृषि, हाइड्रोपावर, पर्यटन र जडिबुटी गरी नेपालको विकासका मुख्य चार क्षेत्रमा सहकार्य जरुरी रहेको बताए। राजनीतिक परिवर्तनलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिमा एकाकार गर्ने मुल लक्ष्यमा वर्तमान सरकारको मुल जोड रहेको र सबै सहकार्य र सहयोगहरू त्यसैमा केन्द्रित होस् भन्ने चाहना आफुहरूको भएको उनले बताए । सन् २०२६ देखि नेपाल विकासशील देशमा स्तरोन्नति हुने भएकाले पनि भौतिक र सामाजिक विकासको रफ्तारलाई अघि बढाउन सहयोगको खाँचो रहेको उपप्रधानमन्त्री श्रेष्ठले बताए । टोली प्रमुख र प्रतिनिधिहरूले राजनीतिक परिवर्तन र भौतिक विकासलाई सामाजिक न्यायसहित अगाडि बढाउने सरकारको प्राथमिकताको प्रशंसा गरेका थिए नेपालमा वालविवाहको दर घट्दै गएकोमा समेत उहाँहरूले खुशी व्यक्त गरे । धेरै नेपालीहरू विदेश गइरहेको र त्यसले यहाँको विकास प्राथमिकतामा पर्नसक्ने असरबारेको उनीहरूको जिज्ञासामा उपप्रधानमन्त्री श्रेष्ठले वैदेशिक रोजगारीको माग पुरा गर्दा यस्तो देखिएको तर कमाउन जाने र कमाएर आउने क्रम उस्तै रहेको बताए ।
सहिद दशरथचन्द स्वास्थ्यविज्ञान विश्वविद्यालय विधेयक संसदमा दर्ता
काठमाडौं । सुदूरपश्चिमको गेटामा सहिद दशरथचन्द स्वास्थ्यविज्ञान विश्वविद्यालय निर्माण गर्न बनेको विधेयक व्यवस्थापिका संसदमा दर्ता भएको छ ।हिजो बसेको संसद बैठकमा सो विधयेक सरकारले दर्ता गराएको हो । विधेयकबारे सदनमा दफावार छलफलको प्रक्रिया सुरु हुने छ ।
‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’
काठमाडौं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ को मंगलबार अवलोकन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले कला र संस्कृतिको जर्गेनामा राज्यले विशेष पहल गर्नुपर्नेमा जोड दिएकी छन् । उनले प्रदर्शनीमा देशको संस्कृति, प्रकृति, जनजीवन, देशप्रेम लगायत विभेद र समानताको विषयसमेत कलात्मक ढंगले आएको बताइन् । प्रदर्शनीमा दैनिक १ हजारदेखि १२ सयले अवलोकन गरेको प्रतिष्ठानले जनाएको छ । प्रदर्शनी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान परिसर नाफा नक्साल र बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा चलिरहेको छ । प्रदर्शनीका क्युरेटर प्रदिप शाक्यले नेपाली कला र सभ्यताको महाउत्सवको रुपमा यो प्रदर्शनी भएको बताए । उनले म, मेरो देश र मेरो सिर्जना थिममा कलाकृतिलाई राखिएको जनाउँदै ती कलामा नेपालीपनको स्वाद लिन पाउने विश्वास व्यक्त गरे । ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ जेठ १५ गतेबाट सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री माननीय सुदन किरातीले उद्घाटन गर्नुभएको यस प्रदर्शनी ‘म, मेरो देश र मेरो सिर्जना’ अवधारणामा गरिएको छ । उद्घाटनपश्चात प्रदर्शनीलाई विभिन्न उच्च पदस्थ व्यक्ति, नेता, कलाकार, राजदूत, सेना, प्रहरी लगायतले अवलोकन गरिसकेका छन् । अवधिमा पुरस्कृत कलाकारहरुसँग अन्तक्र्रिया, ‘कलामा लैङ्गिक चुनौती’,Materiality and Mobilities in Contemporary Art, ‘हस्तकलाः चुनौती र अवसर’, ‘परम्परागत–समसामयिक मूर्तिकलाबिचको अन्तरसम्बन्ध’ लगायतका विषयमा समूहगत छलफलसमेत सम्पन्न भएको छ । प्रदर्शनीमा देशभरका लोककला, परम्परागत चित्रकला÷मूर्तिकला, समसामयिक चित्रकला÷मूर्तिकला, हस्तकला, वास्तुकला तथा अन्य सिर्जनात्मक कलाअन्तर्गतका फोटोग्राफी कला, प्रतिस्थापन कला, कार्टुन, भावभङ्गी कला, क्यारिकेचर र डिजिटल विधा अन्तर्गत ६०९ कलाकारका ६९५ कलाकृति राखिएको छ । यस वर्ष प्रतिष्ठानमा दर्ता भएका ६५३ कलाकारका ७५५ कलाकृतिमध्येबाट यी कलाकृतिको छनोट गरिएको हो । जसअन्तर्गत समसामयिक चित्रकला विधामा २३४ जना कलाकारका २६९ कलाकृति, परम्परागत चित्रकला विधामा १३० जना कलाकारका १३६ कलाकृति, समसामयिक मूर्तिकला विधामा ४२ जना कलाकारका ४६ कलाकृति, परम्परागत मूर्तिकला विधामा ३१ जना कलाकारका ३९ कलाकृति, हस्तकला विधामा ६३ जना कलाकारका ८५ कलाकृति, लोककला विधामा ४२ जना कलाकारका ४७ कलाकृति, वास्तुकला तथा अन्य सिर्जनात्मक कलाअन्तर्गत फोटोग्राफी विधामा १६ जना कलाकार २१ कलाकृति, प्रतिस्थापन कला विधामा १२ जना कलाकारका १२ कलाकृति, कार्टुन विधामा १७ जना कलाकारका १७ कलाकृति, भावभङ्गी विधामा १२ जना कलाकारका १२ कलाकृति, क्यारिकेचर विधामा ४ जना कलाकारका ४ कलाकृति र डिजिटल विधामा ६ जना कलाकारका ७ कलाकृति रहेका छन् । यी कलाकृतिमध्ये लोककला तथा परम्परागत चित्रकला विधाका कलाकृति नेपाल कला परिषद्, बबरमहल तथा समसामयिक चित्रकला, वास्तुकला तथा अन्य सिर्जनात्मक कला, हस्तकला, परम्परागत मूर्तिकला, आधुनिक मूर्तिकला विधाका कलाकृति नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान नक्सालमा राखिएको छ । प्रदर्शनीको क्युरेटिङ प्राज्ञसभा सदस्य प्रदिप शाक्यले गरे । प्रदर्शनीको उद्घाटनको दिन यसवर्षको अरनिको राष्ट्रिय ललितकला सम्मान क्रमशः मदन चित्रकार र मानबहादुर दोङलाई प्रदान गरियो । यसको राशी जनही १ लाख र ताम्रपत्र रहेको छ । राष्ट्रिय ललितकला लेखन पुरस्कार तथा राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार क्रमशः नगेन्द्रप्रसाद पौड्याल र नारायणप्रसाद ढुंगानालाई प्रदान गरियो । यसको राशी जनही २५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यसै वर्षदेखि प्रतिष्ठानले स्थापना गरेको कला प्रवद्र्धन सम्मान संगीता थापालाई प्रदान गरियो भने ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ को सद्भावनादूतको रुपमा अनिल चित्रकारलाई सम्मान गरियो । सासामयिक चित्रकला विधामा यसवर्षको राष्ट्रिय ललितकला पुरस्कार उद्धवराज रिमाललाई प्रदान गरियो । यस पुरस्कारको राशी ६० हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यसै विधामा ललितकला विशेष पुरस्कार रिता मानन्धर, टीशा श्रेष्ठ र रोशन प्रधानलाई प्रदान गरियो । यस पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यस विधाअन्तर्गत छनोट समितिमा रमेश कुँवर, टिकाराम राई र संगीता घिमिरे रहनुभएको थियो भने मूल्यांकन समितिमा मदन चित्रकार, रतनकुमार राई र एरिना ताम्राकार थिए । परम्परागत चित्रकला विधामा यसवर्षको राष्ट्रिय ललितकला पुरस्कार राज प्रकाशमान तुलाधरलाई प्रदान गरियो । यस पुरस्कारको राशी ६० हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यसै विधामा ललितकला विशेष पुरस्कार रविन्द्र महर्जन र तारामान भोम्जनलाई प्रदान गरियो । यस पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यस विधाअन्तर्गत छनोट समितिमा बुद्ध योञ्जन लामा, रामप्रकाश श्रेष्ठ र उजय बज्राचार्य रहेका छन् । मूल्यांकन समितिमा मानबहादुर दोङ, उदयचरण श्रेष्ठ र रत्नगोपाल सिंख्वाल रहेका छन् । वास्तुकला तथा अन्य सिर्जनात्मक कला विधामा यसवर्ष राष्ट्रिय ललितकला पुरस्कार प्रतिस्थापन कलाबाट विनय रिमाललाई प्रदान गरियो । यस पुरस्कारको राशि ६० हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यसै विधामा ललितकला विशेष पुरस्कार क्यारिकेचरबाट सुश्रिना शाक्य, भावभङ्गी कलाबाट सुशान्तश्री राजभण्डारी, कार्टुनबाट राजेश मानन्धर तथा फोटोग्राफीबाट सफल प्रकाश श्रेष्ठलाई प्रदान गरियो । यस पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यस विधाअन्तर्गत छनोट समितिमा अशोकमान सिं, सम्झना राजभण्डारी, सागर मानन्धर, विकास कार्की रहेका थिए भने मूल्यांकन समितिमा हरिवंश किराँत, कुमार आले, मनिषलाल श्रेष्ठ र अविन श्रेष्ठ थिए । हस्तकला विधामा यस वर्ष राष्ट्रिय ललितकला पुरस्कार ज्ञानीराज बज्राचार्यलाई प्रदान गरियो । यस पुरस्कारको राशि ६० हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यसै विधामा ललितकला विशेष पुरस्कार शेखमान महर्जन र सुमित्रा भुजेललाई प्रदान गरियो । यस पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यस विधाअन्तर्गत छनोट समितिमा उपेन्द्र बाराही, उसिना महर्जन र दिपेन्द्र शाक्य रहनुभएको थियो भने मूल्यांकन समितिमा रुद्रबहादुर बराइली, निलम ताम्राकार र धर्मराज शाक्य हुनुहुन्थ्यो । लोककला विधामा यसवर्ष राष्ट्रिय ललितकला पुरस्कार नम्रता सिंहलाई प्रदान गरियो । यस पुरस्कारको राशि ६० हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यसै विधामा ललितकला विशेष पुरस्कार राजु चित्रकार र ज्योति कुमारी सापकोटा कर्णलाई प्रदान गरियो । यस पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यस विधाअन्तर्गत छनोट समितिमा सरितादेवी मण्डल, कृष्णराज सर्वहारी र सुष्मा शाक्य रहनेका थिए भने मूल्यांकन समितिमा डा. गोपाल ठाकुर, सुवोधचन्द्र दास र मेरिना चित्रकार थिए । परम्परागत मूर्तिकला विधामा यस वर्ष राष्ट्रिय ललितकला पुरस्कार जेरोम महर्जनलाई प्रदान गरियो । यस पुरस्कारको राशि ६० हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यसै विधामा ललितकला विशेष पुरस्कार विष्णुप्रसाद लिवी र अनिल शाक्यलाई प्रदान गरियो । यस पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यस विधाअन्तर्गत छनोट समितिमा राकेश अवाले, उत्तम शाक्य र रामभक्त महर्जन रहनुभएको थियो भने मूल्यांकन समितिमा सिंहराज तुलाधार, चन्द्रश्याम डंगोल र सिद्धिरत्न शाक्य हुनुहुन्थ्यो । समसामयिक मूर्तिकला विधामा यस वर्ष राष्ट्रिय ललितकला पुरस्कार रिसिता खत्रीलाई प्रदान गरियो । यस पुरस्कारको राशि ६० हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यसै विधामा ललितकला विशेष पुरस्कार टिकाराम पौडेल (शशि किरण) र मिना कायस्थलाई प्रदान गरियो । यस पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । यस विधाअन्तर्गत छनोट समितिमा भुवन थापा बहुवी, पूर्णकाजी शाक्य र सुनिता राणा रहनुभएको थियो भने मूल्यांकन समितिमा गोपाल कलाप्रेमी, पुष्पा शेरचन र राजु पिठाकोटे हुनुहुन्थ्यो । ‘म, मेरो देश र मेरो सिर्जना’ थिममा हुने यस वर्षको कला प्रदर्शनीको लोगो निर्माण गर्नुहुने कलाकार प्रा. राधेश्याम मूल्मीलाई ताम्रपत्रबाट सम्मान गरियो । पुरस्कृतमध्ये राष्ट्रिय ललितकला पुरस्कार पाउनुहुने कलाकारलाई जनही ५० हजार विद्वतवृत्ति प्रदान गरिएको छ । यस वर्षको ललितकला प्रादेशिक पुरस्कार कोशी प्रदेशबाट सुमन राई, मधेश प्रदेशबाट श्वेता साह, बागमती प्रदेशबाट वाङ्छु मोक्तान (आरके), गण्डकी प्रदेशबाट विश्वम्भर बस्नेत, लुम्बिनी प्रदेशबाट रम्बा चौधरी, कर्णाली प्रदेशबाट सोनम लामा तथा सुदूरपश्चिम प्रदेशबाट चक्रबहादुर थापालाई प्रदान गरियो । यस पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ र ताम्रपत्र रहेको छ । त्यस्तै, उद्घाटन कार्यक्रममा प्रतिष्ठानमा उत्कृष्ट कर्मचारीको सम्मान सविना पोखरेल र सुरेन्द्र गौतमलाई प्रदान गरिएको थियो । प्रदर्शनीको उद्घाटनका दिन नेपाल आर्ट काउन्सिलमा विशाल भट्टराईको धु्रपद गायन र निमेश कपालीको ताल सङ्गत प्रस्तुतिमा ‘धु्रवपदः रागालाप’ सांगीतिक कार्यक्रम समेत राखिएको थियो । समापनका दिन अर्थात जेठ ३० प्रदर्शनीको बारेमा उत्कृष्ट रिपोर्टिङ गर्ने ५ जना पत्रकारलाई रु ५ हजार र सम्मान पत्र प्रदान गरिनेछ । त्यस्तै, बिएफए, एमएफए, एमफिल, पिएचडीमा अध्ययनरत् विद्यार्थीमध्ये प्रदर्शनीको समीक्षा लेख्नेहरुबाट पहिलो, दोस्रो, तेस्रो र विशेष गरी ४ लाई समेत पुरस्कृत गरिनेछ ।
प्रतिनिधिसभाको बैठकमा आज पनि बजेटमाथि छलफल जारी रहने
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । सङ्घीय संसद् भवन, बानेश्वरमा बिहान ११ बजे बैठक बस्नेछ । आजको बैठकमा पनि आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल जारी रहनेछ। प्रतिनिधिसभामा बजेटमाथिको छलफल सोमबारदेखि सुरु भएको हो। मंगलबार आगामी आर्थिक वर्षको बजेट निर्माणको प्रक्रियामा अनधिकृत व्यक्ति संलग्न भएको विषयमा अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिए पछि बजेट माथि छलफल सुरु भएको थियो।
थन्किएको विधेयकबारे राष्ट्रपतिलाई अनुरोध गरेका हौं : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्बाट दुई पटक पारित भएको विधेयक खारेज गर्नु सम्भव नरहेको बताएका छन् । उनले संसद्मा फेरि विधेयक ल्याउनु संसद्कै अपमान हुने भनेका छन् । नागरिकता विधेयकको विषयमा संसद्मा उठेका प्रश्नको सोमबारको प्रतिनिधसभा बैठकमा जवाफ दिने क्रममा प्रधानमन्त्री दाहाल प्रचण्डले संसद्बाट दुई पटक पारित भएको विधेयक फेरि ल्याउन सम्भव नभएकाले प्रमाणीकरणको प्रक्रियामा गएको बताएका हुन् । ‘संसद् पनि अविछिन्न उत्तराधिकारवाला संस्था हो । एउटा सदनले विधिसम्मत पारित गरेको विषयलाई अर्को सदनले मान्दैन भन्न मिल्दैन र पाउँदैन । मिचिएको संविधानलाई ट्य्राकमा ल्याउनुस्, हामीसँग सबैभन्दा वैधानिक उपाय के हो ? एउटा राष्ट्रपतिले संविधानको पालक र संरक्षकका हैसियतमा दायित्व पूरा नगरेर विधेयकलाई होल्डमा राखेको स्थिति खारेज गर्न सम्भव थिएन । फेरि फिर्ता पठाउन पनि सम्भव थिएन । दुई पटक पारित गरेको विधेयक हो, राष्ट्रपति कार्यालयको दराजमा थियो,’ उनले भने । नागरिकता विधेयक प्रमाणीकरणका विषयमा तत्कालीन राष्ट्रपतिले संविधानको उल्लंघन गरेको प्रधानमन्त्रीको भनाइ थियो । ‘नागरिकता विधेयक संसद्बाट दुई(दुई पटक पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा गएको थियो । राष्ट्रपतिले त्यसलाई प्रमाणीकरण नगरिकन होल्डमा राख्नुभयो । त्यतिबेला पनि कुरा उठेको हो, संविधानको मर्म र भावनाविपरीत राष्ट्रपतिले होल्ड गर्नुभयो । होल्ड गर्नुपर्थेन । संविधान मिचिएको थियो,’ उनले भने, ‘राष्ट्रपति संविधानको संरक्षक र पालक हो । राष्ट्रपतिबाट नै संविधानमा स्पष्ट राखिएको प्रावधान एक पटक सदनबाट पास भएको विधेयकलाई फिर्ता पठाउन सक्ने नोटसहित अर्को पटक पनि पारित भएर गएपछि अनिवार्य रूपमा प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था हो । त्यो संवैधानिक व्यवस्थाको हिजो उलंघन भयो । संविधानको मर्ममाथि बडो निर्मम ढंगले प्रहार भयो ।’ तत्कालीन राष्ट्रपतिले त्यसो गर्दा संविधान संकटमा परेको प्रधानमन्त्री दाहाल प्रचण्डको भनाइ थियो ।
भुटानी शरणार्थी प्रकरण : आज पनि थुनछेक बहस जारी रहने
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आज थुनछेक बहसको दोस्रो दिन। काठमाडौं जिल्ला अदालतमा आइतबारदेखि सुरु भएको थुनछेक बहस आज पनि जारी रहने भएको हो। न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सुरु भएको बहसको पहिलो दिन सरकारी वकिलका कार्यालयका दुई जना वकिलले मात्रै बहस गरेका थिए। पूर्व उपप्रधान मन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण, निलम्बित सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राईलगायतलाई अदालतमा उपस्थित गराएर सरकारी वकिलले थुनछेक बहस गरेका थिए। थुनछेक बहस जेठ ३१ गतेसम्म जारी रहने र यसपछि पुर्पक्षका लागि थुनामा पठाउने कि नपठाउने भन्नेबारेमा आदेश हुनेछ।