यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । आज २०८० साल माघ २४ गते बुधबार तदनुसार सन् २०२४ फेब्रुअरी ७ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।
अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६० पैसा र बिक्री दर १३३ रुपैयाँ २० पैसा पुगेको छ।युरो एकको खरिद दर १४२ रुपैयाँ ३३ पैसा र बिक्री दर १४२ रुपैयाँ ९८ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ३९ पैसा र बिक्री दर १६७ रुपैयाँ १४ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३७ पैसा र बिक्री दर ३६ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
हेर्नुहोस् आजको विनिमय दर
बिजुलीको उज्यालो अब देशकै उज्यालो बन्ने दिशामाः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिजुलीको उज्यालो अब देशकै उज्यालो बन्ने दिशामा अघि बढ्नु लोकतन्त्रको महत्वपूर्ण उपलब्धि भएको बताएका छन् । सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाली समाजमा अत्यन्त चिन्ताजनक रूपमा चारैतिर हीनताबोध र नकारात्मकताको डढेलो लगाइँदै गरेको उल्लेख गर्दै उर्जा क्षेत्रमा भएको क्रान्तिले मात्रै पनि लोकतन्त्रको भविष्यलाई थप उज्यालो बनाएको टिप्पणी गरे। ‘सकिन्नँ, बन्दैन, हुँदैन भन्ने नकारात्मकताले जरैदेखि समाजको सिर्जनात्मकता मारिरहेको छ। एकथरि तत्वले त नियोजित रूपमै यो मानसिकतालाई मलजल गरिरहेका छन्’– उनले प्रश्न गरे– ‘यस्तो वातावरण बनाउने प्रयास भइरहेको छ कि देशमा सबै नराम्रो मात्र भइरहेको छ । म आज यो प्रश्नबाट सम्बोधन सुरु गर्न चाहन्छु कि के देशमा साँच्चै केही नभएकै हो ? के देश पूर्णरूपमा सम्भावनाहीन बन्दै गएको हो ?’ आफू दोस्रोपटक प्रधानमन्त्री हुनु अघिसम्म देशमा १८ घन्टासम्मको लोडसेडिङलाई नियति मानिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आज लगभग सिङ्गो देशमा विद्युत्को पहुँच पुगेको स्पष्ट पारे । उनले भने– ‘वर्षायाममा पनि विद्युत् आयात गर्नुपर्ने अवस्थाबाट आज देश विद्युत् निर्यात गर्ने ठाउँमा पुगेको छ । विगत एक वर्षमा ७०० मेगावाटसम्म विद्युत् निर्यात गरी रु. १५ अर्ब २७ करोड बराबरको विदेशी मुद्रा आर्जन गरिएको छ जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३१.२८ प्रतिशतले बढी हो। पाँच वर्षअघि यो अवस्थाको धेरैबाट कल्पना पनि गरिएको थिएन ।’ विक्रम संवत् १९६८ मा फर्पिङ जलविद्युतबाट ५०० किलोवाट विद्युत उत्पादनबाट सुरु भएको नेपालको विद्युतीकरण यात्रामा त्यसपछिका १०४ वर्षमा जम्मा ८०० मेगावाटमात्र उत्पादन क्षमता पुगेको तर विगत ७ वर्षभित्र नेपालको विद्युत उत्पादन क्षमता बढेर २८९२ मेगावाट पुगेको छ र जसमध्ये करिव ५४१ मेगावाट यही एक वर्षमा मात्र थप भएको जानकारी दिंदै प्रधानमन्त्री प्रचण्डले भने– ‘विगतका हिसाबले यो एक वर्ष करिब असी वर्ष बराबर हो। तर, मैले यसमा सन्तोष मानेको छैन। मेरो विश्लेषणमा हामीसँग यस क्षेत्रमा भएको सम्भावनाको तुलनामा यो साह्रै सानो उपलब्धि हो। यसै वर्ष भएको मेरो भारत भ्रमणका क्रममा दश वर्षमा दश हजार मेगावाट बिजुली निर्यात गर्ने लक्ष्यका साथ दीर्घकालिन जलविद्युत् सम्झौताको प्रारम्भिक सहमतिमा हस्ताक्षर भएको छ ।’ यो नेपालकोसमृद्धिका लागि यो नेपाली इतिहासकै सबैभन्दा ठूलो र दूरगामी महत्वको सहमति भएको औल्याउँदै उनले भारतसँग मात्रै नभएर बङ्गलादेशसँग पनि हामी विद्युत् व्यापारको एकदमै नजिक पुगेको र नेपालबाट बङ्गलादेशमा ४० मेगावाटसम्म विद्युत् निर्यात गर्न त्रिदेशीय विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुन थालेको जानकारी पनि दिए । आफ्नो चीन भ्रमणको क्रममा नेपाल चीन जोड्ने चिलिमे–केरुङ २२० केभी प्रसारण लाइन अगाडि बढाउने सहमति भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यो प्रसारण लाइन बन्ने बित्तिकै चीनसँग पनि विद्युत व्यापारको ढोका खुल्ने जानकारी दिनुभयो । ‘देशभित्र पनि हामी उद्योग र चुलोदेखि यातायातसम्म विद्युत खपत बढाएर आत्मनिर्भरताको नयाँ युगतिर अगाडि बढ्दैछौं। गम्भीर भएर सोचौँ त, देशले हरेक वर्ष कम्तिमा रु. पाँच खर्बको बिजुली निर्यात गर्न र त्यति नै बराबरको आयात प्रतिस्थापन गर्न सक्दा अरु विकसित देशसरह हुन हामीलाई कति नै वर्ष लाग्ला र ?’– उनले प्रश्न गरे– ‘म निराशावादीहरूलाई सोध्न चाहन्छु, हाम्रो देश यति ठूलो आर्थिक सम्भावनाको नजिक इतिहासमै यसअघि कहिल्यै थियो र ? बिजुलीको उज्यालो अब देशकै उज्यालो बन्ने दिशामा छ। के यो लोकतन्त्रको उपलब्धि होइन र ?’
शिक्षामा राजनीतिक हस्तक्षेप अन्त्यको सुरुवात त्रिविबाट गर्ने प्रधानमन्त्री प्रचण्डको उद्धघोष
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेपको अन्त्यको सुरुवात त्रिविबाट गर्ने उद्धघोष गरेका छन् । सोमबार दिउँसो त्रिभुवन विश्वविद्यालयको उनन्चासौँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुराको उद्धघोष गरेका हुन् । सम्बोधनको क्रममा प्रधानमन्त्री प्रचण्डले त्रिविको उपकुलपति राजनीतिक आधारमा नभई प्रतिस्पर्धाका आधारमा नियुक्ति गरेर त्रिविबाटै राजनीतिक हस्तक्षेप अन्त्यको सुरुवात गर्ने बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले भने –’त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको नियुक्ति देश तथा विदेशमा रहेका प्राज्ञिक नेपाली व्यक्तित्वहरुको बीचबाट प्रतिस्पर्धाका आधारमा गरिनेछ। विश्वविद्यालयमा हुने राजनीतिक भागबन्डाको अन्त्य त्रिविबाटै सुरू गरिनेछ।’ प्रधानमन्त्री प्रचण्डले प्राज्ञिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूको भूमिका पनि प्राज्ञिक स्तरकै हुनुपर्ने बताए । दीक्षान्तलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘‘भूमण्डलीकृत विश्वको दवाव एकातर्फ छ, जुन तत्कालका निम्ति हाम्रो काबुबाहिर पनि देखिन्छ। तर, विश्वबजारका निम्ति प्रतिस्पर्धी जनशक्ति उत्पादनमा हामी कहाँ चुक्यौँ ? विगतमा विश्वविद्यालयहरूले आर्जन गरेको बलियो जनविश्वास र भरोसा किन कमजोर हुँदै गयो ? विश्वविद्यालयहरूमा क्रियाशील प्राज्ञहरूको भूमिका किन गुरूत्वपूर्ण हुन सकिरहेको छैन ? विश्वविद्यालयहरूमा शैक्षिक क्यालेण्डर लागू हुन नसक्नु, बेलाबेला पठनपाठनमा गत्यावरोध आइरहनुमा को दोषी छ ? एकातर्फ हामी विश्वविद्यालयहरूमा राजनीतिक भागबण्डा हुनुहुँदैन, विश्वविद्यालयहरू स्वायत्त प्राज्ञिक निकायहरू हुनुपर्दछ भनिरहेका छौँ, अर्कोतर्फ हामी आफै राजनीतिक भागबण्डा र दाउपेचका निम्ति दौडिरहेका हुन्छौँ।’’ यस्तो छ सम्बोधनको पूर्णपाठ सर्वप्रथम त्रिभुवन विश्वविद्यालयको निमन्त्रणालाई स्वीकार गरी दीक्षान्त समारोहको प्रमुख आतिथ्यता ग्रहण गर्नुका साथै आफ्नो जीवनको अमूल्य अनुभवबाट नवोदित स्नातकहरूलाई दीक्षित गर्न आउनुभएका सम्माननीय राष्ट्रपतिज्यूलाई कुलपतिका हैसियतले हार्दिक स्वागत गर्दछु। विश्वविद्यालयको दीक्षान्त समारोहका अवसरमा कुलपतिका हैसियतले उपस्थित भएर सम्बोधन गर्न पाउँदा मलाई अत्यन्तै खुसी लागेको छ। यस अवसरमा आज विश्वविद्यालयका विभिन्न विषय र तहका उपाधि प्राप्त गर्ने सम्पूर्ण विद्यार्थी एवम् आजको समारोहमा उपस्थित हुनुहुने सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाइसहित सुखद् र सफल भविष्यको शुभकामना व्यक्त गर्दछु। यस विश्वविद्यालयले नेपालको शैक्षिक जगतमा पुर्याएको योगदान अतुलनीय छ। ऐतिहासिक गरिमा बोकेको विश्वविद्यालयको दीक्षान्त समारोहमा राष्ट्रपतिज्यू उपस्थित हुनुभएकोमा विश्वविद्यालय परिवारको तर्पmबाट यहाँप्रति म हार्दिक आभार प्रकट गर्दछु। यस अवसरमा यस विश्वविद्यालयले नेपाली उच्च शिक्षाको क्षेत्रमा पुर्याएकोे महत्त्वपूर्ण योगदानको मुक्तकण्ठले प्रशंसा गर्दछु। यस अविछिन्न कार्यमा महत्त्वपूर्ण योगदान पुर्याउनुहुने सम्पूर्ण प्राध्यापक, कर्मचारी तथा विश्वविद्यालयको नेतृत्व लगायतमा हार्दिक धन्यवाद व्यक्त गर्दछु। त्रिभुवन विश्वविद्यालयले केही वर्षयता गरेका प्राज्ञिक, प्रशासनिक, व्यवस्थापकीय सुधारका प्रयास महत्त्वपूर्ण छन्, यद्यपि आंशिक सुधारका प्रयासले भूमण्डलीकृत विश्व र प्रतिस्पर्धाका चुनौतीहरू सम्बोधन गर्न सकिँदैन, त्यसका निम्ति गुणात्मक सुधारको इच्छाशक्ति र सङ्कल्प जरूरी छ। यस दिशामा विश्वविद्यालय परिवारले थप मेहेनत गर्नेछ भन्ने विश्वाससमेत व्यक्त गर्दछु। यस अवसरमा मुलुकको राजनीतिक र प्रशासनिक नेतृत्व सम्हाल्ने अधिकांश व्यक्तिहरू त्रिभुवन विश्वविद्यालयकै उत्पादन भएको स्मरण गराउँदै आगामी दिनमा समेत उक्त बिरासत कायम राख्दै थप सफलताका निम्ति क्रियाशील हुन निर्देशित पनि गर्दछु। शिक्षा व्यक्तिको जीवन, राष्ट्रको उन्नति र समग्र समाजको अग्रगतिका लागि हुनुपर्दछ र यस्तो शिक्षा प्राप्त गर्ने अवसर सबैलाई प्राप्त हुनुपर्दछ। त्यसै भएर कतिपय विकसित मुलुकमा आधारभूत शिक्षा मात्र निःशुल्क होइन, विश्वविद्यालय शिक्षा पनि सर्वसुलभ बनाइएको छ। हामी पनि सोही दिशामा अग्रसर भइरहेका छौँ। आर्थिक हैसियत भएकाहरूको मात्र उच्च शिक्षामा पहुँच हुनुहुँदैन भन्ने हाम्रो प्रष्ट दृष्टिकोण छ। विपन्न वर्गले शिक्षा प्राप्त गर्न नसक्ने परिस्थिति हटाई समतामूलक र सबै वर्ग, समुदायका निमित्त उच्च शिक्षा सर्वसुलभ हुनुपर्दछ भन्ने मेरो मान्यता छ। यसका लागि उच्च शिक्षा नीतिअनुरूप विश्वविद्यालय शिक्षामा पनि समयानुकुल सुधार गर्दै लैजानुपर्दछ। मुलुकको समृद्धिमा प्राविधिक जनशक्तिको महत्त्वपूर्ण योगदान रहन्छ। हाल त्रिभुवन विश्वविद्यालयले प्राविधिक शिक्षालाई जोड दिँदै उच्चस्तरीय जनशक्ति उत्पादन गरी देश विकासमा अग्रणी भूमिका खेलेको र आगामी दिनमा पनि प्राविधिक शिक्षाको भूमिका बढाउँदै लैजानुपर्दछ। विश्वविद्यालयबाट उपाधि हासिल गरेका आफ्ना विद्यार्थीहरूलाई विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी अब्बल प्रमाणित गर्नु त्रिभुवन विश्वविद्यालयको सामयिक चुनौती हो। सङ्ख्यात्मक वृद्धिबाट माथि उठेर गुणस्तरीय शिक्षा आजको अनिवार्य आवश्यकता हो। विश्वविद्यालयले यस यथार्थलाई केन्द्रमा राखेर काम गर्नेछ भन्नेमा म विश्वस्त छु। त्रि।वि।को नेतृत्वले विश्वविद्यालयभित्र भौतिक एवम् शैक्षिक सुधार गर्नुका साथै विद्यार्थी कल्याण सम्बन्धी धेरै कार्य गर्दै विश्वमा अन्य प्रतिष्ठित विश्वविद्यालय एवम् शैक्षिक संस्थासँग सहकार्य गरेर विश्वविद्यालयको स्तरोन्नतिमा सुधार ल्याउने प्रयास गरिरहेको छ। त्रिभुवन विश्वविद्यालयको स्तरवृद्धिमा संलग्न सम्पूर्ण प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूको अथक परिश्रम आवश्यक छ। यसका लागि अभिभावकत्व र सहयोगका निम्ति नेपाल सरकार सधै तत्पर रहेको कुरा यहाँ स्मरण गर्न चाहन्छु। एक्काइसौँ शताब्दीको भूमण्डलीकृत विश्वमा विश्वस्तरीय जनशक्ति उत्पादनको प्रतिस्पर्धामा त्रि।वि।ले झेलिरहेको समस्या र नेपाली नागरिकका अपेक्षाबीच असमञ्जस्यको धरातलीय यथार्थता मैले महसुस गरेको छु। भूमण्डलीकृत विश्वको दवाव एकातर्फ छ, जुन तत्कालका निम्ति हाम्रो काबुबाहिर पनि देखिन्छ। तर, विश्वबजारका निम्ति प्रतिस्पर्धी जनशक्ति उत्पादनमा हामी कहाँ चुक्यौँ रु विगतमा विश्वविद्यालयहरूले आर्जन गरेको बलियो जनविश्वास र भरोसा किन कमजोर हुँदै गयो रु विश्वविद्यालयहरूमा क्रियाशील प्राज्ञहरूको भूमिका किन गुरूत्वपूर्ण हुन सकिरहेको छैन रु विश्वविद्यालयहरूमा शैक्षिक क्यालेण्डर लागू हुन नसक्नु, बेलाबेला पठनपाठनमा गत्यावरोध आइरहनुमा को दोषी छ रु एकातर्फ हामी विश्वविद्यालयहरूमा राजनीतिक भागबण्डा हुनुहुँदैन, विश्वविद्यालयहरू स्वायत्त प्राज्ञिक निकायहरू हुनुपर्दछ भनिरहेका छौँ, अर्कोतर्फ हामी आफै राजनीतिक भागबण्डा र दाउपेचका निम्ति दौडिरहेका हुन्छौँ। यस्ता चुनौती र प्रश्नहरूबारे पनि हामीले गम्भीरतापूर्वक छलफल गर्ने र निर्णय लिने बेला आएको छ। विश्वविद्यालयहरूको वर्तमान अवस्थामा रूपान्तरण गर्न सरकार र राजनीतिक नेतृत्वको पनि महत्त्वपूर्ण भूमिका रहन्छ। प्राज्ञिक संस्थाहरूलाई आवश्यक साधनस्रोत र पर्याप्त प्राज्ञिक जनशक्तिको व्यवस्थामा राज्यले पनि आफ्नो भूमिका बढाउनैपर्दछ। यस सन्दर्भमा त्रिभुवन विश्वविद्यालयलाई विश्वस्तरीय उत्कृष्ट शैक्षिक केन्द्रमा रूपान्तरण गर्न सरकारले आफ्नो भूमिका बढाउने प्रतिबद्धतासमेत व्यक्त गर्दै अनगिन्ती चुनौतीका बीच पनि संस्थालाई निरन्तर गतिशील बनाउँदै आउनुभएकोमा त्रि।वि।को विगतदेखि वर्तमानसम्मका नेतृत्वसहित प्राज्ञ, कर्मचारी, विद्यार्थी, सम्पूर्ण शुभचिन्तकहरूमा विशेष धन्यवाद व्यक्त गर्दछु। प्रिय नवोदित प्राज्ञहरू, दीक्षित हुनुहुने तपाई विद्यार्थीहरूका निम्ति आज विशेष महत्त्वको दिन हो। आफ्नो जीवन र परिवारको भविष्य निर्माणका साथै देश र जनताको सेवा गर्न सुशिक्षित र सुयोग्य नागरिक बन्ने तपाईहरूको सपना आज साकार भएको छ र तपाईहरूले आफ्ना अभिभावकहरूको सपना पनि पूरा गर्नुभएको छ। तपाईहरूले आर्जन गर्नुभएको शिक्षा, ज्ञान र सीप समाजका लागि अझ धेरै उपयोगी बन्ने विश्वासका साथ तपाईहरूको उज्ज्वल भविष्यका निम्ति हार्दिक शुभकामना व्यक्त गर्दछु। दीक्षित विद्यार्थीहरूले आफूलाई सचेत र इमान्दार नागरिकका रूपमा स्थापित गर्दै आफ्नो राष्ट्रप्रतिको कर्तव्यलाई जिम्मेवारीका साथ निभाउनुहुनेछ भन्ने विश्वासका साथ त्रिभुवन विश्वविद्यालयलाई गुणस्तरीय शिक्षाको माध्यमद्वारा सक्षम जनशक्ति तयार पार्ने कार्यमा निखार ल्याई विश्वमै अगुवा विश्वविद्यालय बन्ने सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु। आज हामी संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ एवम् संविधानको प्रगतिशील कार्यान्वयनको चरणमा छौँ। यसका लागि संविधानले परिकल्पना गरेबमोजिमका संरचनाहरू तयार पार्ने र तिनलाई युक्तिसंगत हिसाबले गतिशील तुल्याउन आवश्यक छ, ती संरचनाहरूलाई देश र जनताको हित, अग्रगमनको पक्षमा सदुपयोग गर्दै अगाडि बढ्ने कार्यभार हामीसामु छ। यसै यथार्थलाई आत्मसात गर्दै सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित अगाडि बढिरहेको छ। यहाँहरूलाई विदितै छ– मेरो तेस्रो कार्यकाल देशमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न, अर्थतन्त्रमा देखिएका चुनौतीहरू सम्बोधन गर्दै देशलाई समृद्धिको मार्गतर्फ अग्रसर गराउन, बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्थामा परिवर्तन ल्याउन निरन्तर क्रियाशील छ। करिब १ वर्षको अनवरत मेहेनत र क्रियाशीलताको परिणाम आज अर्थतन्त्रका अधिकांश सूचकहरूमा सुधार हुँदै गएको छ, यद्यपि अपेक्षाकृत परिणाम हासिल गर्न अझै मेहेनत गर्नुपर्ने परिस्थिति हाम्रासामु छ। तसर्थ, सरकारको यस इमानदार प्रयासमा यहाँहरूजस्तो बौद्धिक युवा जनसमुदायको रचनात्मक साथ, सहयोग र ऐक्यबद्धता रहनेछ भन्ने मैले विश्वास लिएको छु। प्रिय दीक्षित विद्यार्थीहरू, विश्व परिवेशको पृष्ठभूमिमा देशको वर्तमान अवस्था तपाईहरूसामु प्रष्ट छ। आत्मकेन्द्रित हाम्रो चिन्तनलाई ‘‘बहुजन हिताय’’मा बदल्न नसकेसम्म समाज र देशको सामाजिक तथा आर्थिक रूपान्तरण असम्भवप्राय छ भन्ने कुरालाई आत्मसाथ गर्न म आज दीक्षित भई ज्ञान, विज्ञान र प्रविधियुक्त एक सर्जक, चिन्तक र साधकका रूपमा यस औपचारिक विशेष सभाबाट सामाजिक मान्यता पाउनुहुने तपाई नवयुवाहरूलाई अनुरोध गर्दछु र यस विशेष दिनमा फेरि पनि यहाँहरूमा सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु। अन्त्यमा, आजको दीक्षान्त समारोहको अवसरमा आफ्नो अमूल्य समय प्रदान गरी समुपस्थित हुनुभएकोमा प्रमुख अतिथिज्यू, त्रि।वि।का सहकुलपति एवम् माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीज्यू एवम् विश्वविद्यालयमा महत्त्वपूर्ण योगदान गर्ने नेतृत्व लगायत सम्पूर्ण अतिथिज्यूहरू, अभिभावकज्यूहरू, विद्यार्थीहरू, सञ्चारकर्मीहरू तथा अन्य सबै सहयोगीहरूप्रति हार्दिक आभार प्रकट गर्दै त्रिभुवन विश्वविद्यालयको उनन्चासौँ दीक्षान्त समारोह औपचारिक रूपमा यही समापन भएको घोषणा गर्दछु। धन्यवाद।
भारतमा पशुपतिनाथको मन्दिर बनाउन स्वीकृति दिइएको भन्ने समाचारप्रति कोषको आपत्ति
काठमाडौँ । भारतमा पशुपतिनाथको मन्दिर बनाउन स्वीकृति दिएको भन्ने समाचारप्रति पशुपति क्षेत्र विकास कोषले आपत्ति जनाएको छ । आज एक सन्देश जारी गर्दै कोषले पशुपतिनाथ मन्दिर अब उत्तराखण्डमा भन्ने समाचारमा कुनै सत्यता नभएको दाबी गरेको हो । “समग्र हिन्दुहरूको मूल आस्थाको धरोहर पशुपतिनाथका विषयमा र मन्दिरको संरक्षक पशुपति क्षेत्र विकास कोषका विषयमा भारत र नेपालका केही सञ्चार माध्यमहरूमा प्रसारित तथा प्रकाशित भ्रामक समाचारप्रति कोषको ध्यानाकर्षण भएको छ,” सन्देशमा भनिएको छ । भ्रामक समाचारहरूका कारण हिन्दु धर्म दर्शन एवं पाशुपत दर्शनप्रति आस्थावान् धार्मिक जनप्रति पारिएको आघात पुगेको भन्दै कोषले भारतको उत्तराखण्ड विपिन रावतको गाउँमा पशुपतिनाथ मन्दिर बनाउन स्वीकृति, सहमति दिने सम्बन्धमा कुनै स्वीकृति, सहमति, निर्णय नभएको जानकारी दिएको छ ।
जाजरकोटमा गयो भूकम्पको अर्को परकम्प
काठमाडौं । जाजरकोटमा भूकम्पको अर्को परकम्प मापन गरिएको छ । बुधबार साँझ ७ः५० बजे जाजरकोटको पइन्क आसपास ३.५ म्याग्निच्युडको परकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । गत शुक्रबार राति गएको जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि निरन्तर परकम्प गइरहेको छ । भूकम्प मापन केन्द्रका अनुसार बुधबारसम्म झन्डै ४६६ भन्दा धेरै परकम्प मापन गरिएको छ ।
एमालेले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दै
काठमाडौं । नेकपा एमालेले दसैँ, तिहार, छठलगायत पर्वको अवसरमा आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दै छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुने चियापान कार्यक्रमका लागि राजनीतिक दलका नेता, कूटनीतिज्ञ, पार्टीका विभिन्न कमिटीका नेता कार्यकर्तालाई निम्तो गरिएको केन्द्रीय कार्यालयले जनाएको छ । यसअघि एमालेले कात्तिक १४ गते चियापान कार्यक्रम आयोजना तयारी गरे पनि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणलाई मध्यनजर गर्दै कार्यक्रम एक दिन पछि सारिएको थियो ।
यी प्रदेशमा हल्का वर्षाको सम्भावना
काठमाडौं । नेपालमा हाल बंगलादेश र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। हाल कोसी, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ । कोसी, मधेस र गण्डकी प्रदेशका एक दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेस तथा लुम्बिनी प्रदेशको एक–दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया सफा मौसम रहनेछ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
उपप्रधानमन्त्री श्रेष्ठले दिए तीजको शुभकामना
काठमाडौं। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले पूर्वीय संस्कृतिमा मानव जीवनलाई सकारात्मक दिशा दिने कयौं पक्षहरू भएको र तीज पर्वलाई पनि पितृसत्तात्मक विकृतिबाट मुक्त गर्दै सांस्कृतिक उत्साह तथा उत्सवका रूपमा मनाउनुपर्ने बताएका छन्। शुक्रबार गृह मन्त्रालयमा आयोजित तीज शुभकामना आदानप्रदान कार्यक्रमलाई संक्षिप्त सम्बोधन गर्दै उनले महिला कर्मचारीहरूलाई तीजको शुभकामना समेत दिए। तीज एक सामाजिकसांस्कृतिक पर्व भैसकेकाले हिजो यसको उत्पत्ति कसरी भयो भन्नुभन्दा पनि आज यसलाई कसरी मनाउने भन्नेमा बढी सोच्नुपर्ने र खानपिन तथा लगाईखुवाईको अनावश्यक तडकभडक देखाएर यसलाई विकृत बनाउन नहुने उनले बताए। ‘उल्लास त गर्ने नै हो।’ उनले भने- ‘तर आफ्नो जिम्मेवारीमा सधैं प्रतिबद्ध भएर, खर्चमा मितव्ययी भएर।’ निरंकुश शासनकालमा राज्यको उत्पीडनविरुद्ध तीज पर्वलाई, तीजको गीत र नृत्यलाई उपयोग गर्ने गरिएको उनले स्मरण गरे। महिला कर्मचारीसहित एकैछिन नाच्नुभएका श्रेष्ठले शरीरसँगै मन पनि नाच्नुपर्ने र योगध्यानलाई पनि नियमित गर्नुपर्ने बताए।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको । राष्ट्र बैंकका अनुसार आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज डलरको खरिद दर १३१ रुपैयाँ ८८ पैसा र बिक्री दर १३२ रुपैयाँ ४८ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रुपैयाँ ०५ पैसा र बिक्री दर १४१ रुपैयाँ ६९ पैसा रहेको छ। यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ७१ पैसा र बिक्री दर १६४ रुपैयाँ ४५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १७ पैसा र बिक्री दर ३६ रुपैयाँ ३४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
महिला टी-२० क्रिकेटमा नेपाल र मलेसिया भिड्दै
काठमाडौं । महिला टी-२० क्रिकेट प्रतियोगितामा आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुँदैछ। महिला टी-२० को अन्तिम श्रृखंलामा आज पुनः नेपाल जीतका लागि मलेसियासँग भिड्न लागेको हो। यसअघि खेलमा नेपालले दुई खेलमा जीत तथा दुई खेलमा पराजय भोग्नु परेको थियो। पहिलो र चौथो खेलमा पराजय भोगेको नेपालले दोस्रो र तेस्रो श्रृंखलामा भने विजय हासिल गरेको थियो। मलेसियामा जारी द्विदेशीय श्रृङ्खलाको शनिबार बिहान भएको खेलमा नेपालले दिएको ९७ रनको लक्ष्य मलेसियाले ६ विकेटको क्षतिमा पूरा गरेर चौथो श्रृखंलामा विजेता बने पछि नेपाल–मलेसियाका जीत हार बराबर बन्न पुगेको छ। आज हुने खेलमा दुवै देश विजयका लागि मैदानमा उत्रने छन्।
यस्तो छ सोमवारका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तैगरी, आज डलरको खरिद दर १३१ रुपैयाँ १७ पैसा र बिक्री दर १३१ रुपैयाँ ७७ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ ३२ पैसा र बिक्री दर १४२ रुपैयाँ ९७ पैसा रहेको छ। यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ४२ पैसा र बिक्री दर १६४ रुपैयाँ १७ पैसा रहेको छ। यस्तैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ९८ पैसा र बिक्री दर ३५ रुपैयाँ १४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मेलम्चीको पानी वितरण सुरु भएको दुई वर्ष बितिसक्दा पनि विशिष्ट कार्यालयमा अझै पुगेन पानी
काठमाडौं । काठमाडौँमा मेलम्चीको पानी वितरण सुरु भएको दुई वर्ष बितिसक्दासमेत अति विशिष्ट कार्यालयमा मेलम्चीको पानी वितरण सुरु हुन सकेको छैन । राष्ट्रपतिको कार्यालय, सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलगायतका मन्त्रालय, विभिन्न सरकारी कार्यालय र सार्वजनिक संस्थानमा अहिलेसम्म मेलम्चीको पाइप जडान गरिएको छैन । यी कार्यालयमा ट्याङ्कर, जार र बोतलका पानी किनेर प्रयोग गर्ने गरिएको छ । २०७७ साल चैत २० गते पहिलो पटक काठमाडौँमा मेलम्चीको पानी वितरण सुरु भएको थियो । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता लीलाकान्त पौडेलले राष्ट्रपति कार्यालयमा अहिलेसम्म मेलम्चीको पानी वितरणका लागि पाइप जडान नगरिएको जानकारी दिए । उनले पाइप जडानका लागि मेलम्ची खानेपानी आयोजनासँग लामो समयदेखि पहल गरे पनि अहिलेसम्म जडान हुन नसकेको बताए । उनले राष्ट्रपति कार्यालयमा ट्याङ्कर, जार र बोतलका पानी किनेर प्रयोग गर्ने गरिएको जानकारी दिए । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टले यस कार्यालयमा पनि अहिलेसम्म मेलम्चीको पानी वितरणका लागि पाइप जडान हुन नसकेको बताए । उनले कार्यालयमा ट्याङ्कर, जार र बोतलको पानी किनेर प्रयोग गर्ने गरिएको जानकारी दिए । मेलम्ची खानेपानी आयोजना, कार्यान्वयन एकाइ कार्यालयका निर्देशक राजेन्द्र सापकोटाले राजधानीको अति विशिष्ट कार्यालय तथा निवासलगायत सरकारी कार्यालय र सार्वजनिक संस्थानमा अहिलेसम्म मेलम्चीको पानी वितरण हुन नसकेको र भविष्यमा पाइप जडान गरी पानी वितरण गर्ने लक्ष्य रहेको बताए । मेलम्ची खानेपानी आयोजना, कार्यान्वयन एकाइ कार्यालयले सरकारी कार्यालय र संस्थानलाई सिधै पाइप जडान गर्न नमिल्ने बताउँदै उनले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको ग्राहक बनेर आएको अवस्थामा मात्र यस एकाइले पाइप जडान गर्न सक्ने जानकारी दिए । यो गोरखापत्र दैनिकमा आज प्रकासित समाचार हो ।
पूर्वी चीनको कारखानामा आगलागी ११ जनाको मृत्यु
एजेन्सी । पूर्वी चीनको झेजियाङ प्रान्तको जिन्हुआ शहरमा रहेको एउटा कारखाना भवनमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार वुई काउन्टीको औद्योगिक क्षेत्रमा रहेको भवनको तेस्रो तल्लामा दिउँसो आगलगी भएको हो । आगलागीमा फसेकाहरुको उद्धार गर्ने क्रममा आज बिहान मृत्यु हुनेको पुष्टि भएको हो । दुर्घटनाबारे अनुसन्धान भैरहेको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् ।
एकल महिलाको माग र मुद्धा सम्बोधन गर्न सामाजिक चेतना र जागरण जरूरी छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले एकल महिलाका माग र मुद्धाहरू सम्वोधन गर्ने बताउँदै सामाजिक चेतना र जागरण जरूरी भएको बताएका छन्। आइतबार दिउँसो मानव अधिकारका लागि महिला एकल महिला समूहद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भने, “तपाईहरूको यो कार्यक्रम अरु कार्यभन्दा पृथक र मौलिक लाग्यो। यहाँ तपाईहरूले एकल महिलाका हकअधिकारका पक्षमा जे–जति मुद्दा उठाउनुभएको छ। त्यसलाई सम्वोधन गर्ने मेरो प्रयास हुनेछ।” प्रधानमन्त्रीले थपे, “संविधानमा नै व्यवस्था गरेर एकल महिलाका लागि कोटा छुट्टाउनुपर्ने माग तपाईहरूले राख्नुभएको छ। यो न्यायोचित माग नै हो। यसका लागि हामी छलफल गर्नेछौँ। एकल महिलाको सामाजिक सुरक्षाबारे तपाईहरूले जे–जति प्रश्न उठाउनुभएको छ, ती गम्भीर प्रकृतिका छन्। तिनीहरू सम्वोधन गरिनेछ।” २७ वर्षको अवधिमा एकल महिला समूहले प्राप्त गरेको उपलब्धि र ख्यातिको प्रधानमन्त्रीले प्रशंसा गरे। प्रधानमन्त्री प्रचण्डले भने, “२७ वर्षको अवधिमा तपाईहरूले प्राप्त गरेको उपलब्धि, एकल महिलाहरूको एकता र सहकार्यका निम्ति गरेको प्रयास र अन्तर्राष्ट्रियस्तरबाट प्राप्त गरेको ख्याति र सम्मानको म उच्च प्रशंसा गर्दछु।” “महिला अधिकारका लागि नेपालमा ठूलो बलिदानी भयो। हजारौं महिलाहरूले मुक्ति र परिवर्तनका निम्ति संघर्ष गर्नुभयो” प्रधानमन्त्रीले भने, “गरीब, पिछडिएका महिलाहरूले आफ्नो पहिचान, अधिकार र मुक्तिका निम्ति गरेको संघर्षकै कारण समाज र राजनीति यहाँसम्म आएको छ। उनीहरूले संघर्ष नगरेको भए, बलिदानीको उच्च कीर्तिमानी नराखेको भए, रगत नबगाएको भए हामी यहाँसम्म आउने थिएनौँ।” “महिलाहरूको सहभागीता र भूमिकाबिना संसारमा कहिँ पनि परिवर्तन भएको छैन” उनले भने, “महिलाहरूकै संघर्षका कारण आज राज्यका सबै अंगमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको छ। स्थानीय तहदेखि केन्द्रसम्म प्रतिनिधित्व छ। अझै यो पर्याप्त छैन। पुरूषसरह महिलाका हकअधिकार स्थापित गर्न थप प्रयत्न आवश्यक छ।” प्रधानमन्त्रीले भने “कानुनमा हामीले प्रगतिशील व्यवस्था गरेका छौँ। तर, त्यसको प्रभावकारी कार्यान्वयनमा अहिले पनि चुनौती छ। हाम्रो समाज र संस्कृतिमा रूपान्तरण ल्याएर मात्र यसको प्रभावकारी कार्यान्वयन गर्न सकिन्छ। त्यसका लागि सामाजिक जागरणको अभियान जरुरी छ।”
पहिलो क्वार्टरफाइनलको पहिलो हाफमा क्रोएसिया र ब्राजिल बराबरीमा
काठमाडौं । कतार विश्वकपको पहिलो क्वार्टरफाइनल खेलमा क्रोएसिया र ब्राजिलले बराबरी खेलेका छन्। दोहास्थित एजुकेशन सिटी स्टेडियममा खेलको पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी गरेका हुन्। पहिलो हाफमा ब्राजिलले ५१ प्रतिशत बल पोजेशन बनाएको छ भने साविक उपविजेता क्रोएशियाले ४९ प्रतिशत बलपोजिसन सहित रक्षापंक्ती मजभुत बनाएको छ । खेलको पाँचौ मिनेटमा ब्राजिलका भिनिसियस जुनियरको प्रहार क्रोएशियाका गोलरक्षक डोमिनिक लिभाकोभिचले बचाए। १३ औँ मिनेटमा इभान पेरिसिचको प्रहार गोलरक्षक एलिसनले रोक्दा ब्राजिलविरुद्ध अग्रता लिने सुन्दर मौका गुमायो।
यस्ता छन् उम्मेदवार छनौटका लागि कांग्रेसले तय गरेका ४ मापदण्ड
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले समानुपातिक उम्मेद्वार छान्न ४ वटा मापदण्ड तय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको केन्द्रीय संसदीय बोर्डको बैठकले समानुपातिकतर्फ उम्मेदवार चयन गर्ने मापदण्ड तय गरेको हो । पाँच दलीय गठबन्धनमा सिट बाँडफाँट चलिरहे पनि समानुपातिकतर्फ बन्दसूची बुझाउने म्याद नजिकिदाँ पार्टी सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार अपराह्न संसदीय बोर्डको बैठक बोलाएका थिए । महामन्त्री गगन थापाको अनुसार मापदण्डहरु यसप्रकार छन् । गत स्थानीय निर्वाचनमा उम्मेदवार भएकाहरूले समानुपातिकतर्फ उम्मेदवारीको दावी गर्न पाउने छैनन् । ०७४ मा समानुपातिकतर्फ उम्मेदवार भएका नेताहरूलाई समेत संघ वा प्रदेश दुवैतर्फ उम्मेदवार नबनाउने उच्च नैतिकता, योग्यता, क्षमता भएको र उमेरको सन्तुलनलाई आधार मानेर पार्टीलाई लोकप्रिय मत थप्न सक्ने व्यक्तिलाई समानुपातिकतर्फ उम्मेदवार बनाउने मापदण्ड बनाएको महामन्त्री थापाले जानकारी दिए । बैठकमा संसदीय समितिमा सदस्य नरहेका नेता शेखर कोइरालासहित केन्द्रीय सदस्यहरूलाई समेत आमन्त्रण गरिएको थियो । बुधबारको बैठकले उम्मेदवार चयनका मापदण्डमात्रै तय गरेको छ । उम्मेदवारबारे छलफल गर्न बिहीबार दिउँसो साढे १२ बजे पुनः बैठक बस्नेछ । कांग्रेसमा केन्द्रीय संसदीय बोर्डले उम्मेदवार चयन गर्ने विधानको व्यवस्था छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले असोज २ र ३ मा समानुपातिकतर्फको सूची बुझाउनुपर्ने कार्यतालिका तय गरेको छ । नेपाली कांग्रेसको विधानले २५ सदस्सीय केन्द्रीय संसदीय बोर्डको व्यवस्था गरेको छ । तर,अहिले सभापतिसहित १३ पदाधिकारी र नेता रामचन्द्र पौडेलमात्रै मनोनीत छन् । कांग्रेसको विधानअनुसार क्षेत्र,जिल्ला र प्रदेश कार्यसमितिहरूले उम्मेदवारका आकांक्षीको सूची केन्द्रीय समितिमा बुझाईसकेका छन् । उम्मेद्वार चयनमा संसदीय बोर्डको निर्णय नै अन्तिम हुने व्यवस्था कांग्रेसको विधानमा छ । बोर्डको निर्णयबमोजिम सभापति देउवाले उम्मेदवारलाई मनोनयन पत्र दिनुहुनेछ ।