अाजकाे संसद बैठकमा कसले के भने ?
काठमाडौं, वैशाख ३१ । संघीय संसद्, प्रतिनिधिसभाको सोमबारको बैठकमा आर्थिक वर्ष २०७५/७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथिको छलफल जारी रह्यो ।
नेकपा एमालेका घनश्याम भुसालले अर्थतन्त्रमा मानिसहरु गाउँबाट शहर र शहरबाट विदेश पस्नु ठूलो समस्या भएको बताउँदै परम्परागत कृषिमा टाँसिएको वा त्यसबाट भाग्न खोजेको स्थितिमा राष्ट्रिय पूँजीको विकासका लागि प्राथमिकता दिनुपर्छ भन्नुभयो ।
उहाँले भन्नुभयो, ‘सीमान्त श्रमजीवीलाई उद्योगमा ल्याउनुपर्छ । हरेक श्रम र पैसालाई मुलुकको उत्पादन क्षमतासँग जोडेर हेर्न सक्नुपर्छ ।’
नेपाली काँग्रेसका मानबहादुर विश्वकर्माले सन् २०२२ सम्म नेपाललाई अल्पविकसित राष्ट्रबाट स्तरोन्नति गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई ध्यान दिएर बजेट आउनुपर्ने बताउनुभयो ।
नेकपा माओवादी केन्द्रका टेकबहादुर बस्नेतले राष्ट्रिय गौरव र प्राथमिकता प्राप्त आयोजनालाई बजेटको अभाव हुन नदिन, आर्थिक समृद्धि हुने सडक, विद्युत् र सञ्चारमा ध्यान दिनुपर्ने बताउनुभयो ।
संघीय समाजवादी फोरम नेपालका सांसद प्रदीप यादवले केन्द्रीय सरकारले स्थानीय र प्रदेशलाई बलियो बनाउन आग्रह गर्दै प्रदेश नं २ का मानव सूचकाङ्कका दृष्टिले पछि परेको हुँदा आगामी बजेटले यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।
राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले सरकारको प्रमुख समस्या नीति तथा कार्यक्रम कार्यान्वयन नहुनु नै रहेको हुँदा आगामी नीति तथा कार्यक्रम कति कार्यान्वयन हुन्छन् भन्ने जिज्ञासा राख्नुभयो ।
नेकपा एमालेका छविलाल विश्वकर्माले भूकम्पले क्षति पु¥याएको पुरातात्विक सम्पदाको पुनः निर्माणका प्राथमिकता दिन आग्रह गर्दै बजेटले सीमान्तकृत वर्गको उत्थानमा ध्यानदिन सुझाव दिनुभयो ।
नेकपा एमालेका सांसद यज्ञबहादुर बोगटीले पहुँचका व्यक्तिका आधारमा योजना छनोट र विकास हुने प्रवृत्तिलाई अन्त्य गर्न माग गर्दै आगामी बजेटले सन्तुलित विकासमा ध्यान दिन माग गर्नुभयो ।
नेपाली काँग्रेसका डिला संग्रौला पन्तले नीति तथा कार्यक्रमले निजी क्षेत्रलाई माथि उठाउन, गरिबी निवारण, शिक्षा, यातायात, सञ्चार र स्वास्थ्यमा प्राथमिकता नदिएको, संघीयता कार्यान्वयनमा ध्यान नदिएको आरोप लगाउनुभयो ।
नेकपा माओवादी केन्द्रका पूर्णकुमारी सुवेदीले नीति तथा कार्यक्रमले भ्रष्टाचार नियन्त्रणमा प्राथमिकता, जाति, वर्गको दैनिकीलाई माथि उठाउनेखालको कार्यक्रम ल्याउन, मध्यपश्चिमलगायतका तराईमा बाढीपीडितलाई राहत हुनेखालका कार्यक्रम ल्याउन सुझाव दिनुभयो बैठक जारी रहेको छ ।
बाख्रालाई बचाउन बाघसँग भिड्ने महिलाले घाइते अवस्था मै लिइन् सेल्फी
भारतको महाराष्ट्र राज्यमा एक महिला बाख्रालाई बचाउन बाघसँग भिडेकी छिन् । बाघलाई लखेट्ने क्रममा नराम्रोसँग घाइते भएकी २१ वर्षीय रुपाली मेश्रामले आफ्नो घाइते अवस्थाको सेल्फी समेत लिएकी थिइन् । राज्यको पूर्वी विदर्भ क्षेत्रको भण्डारा जिल्लाको नागझिरा वन्य जन्तु आरक्ष नजिकैको गाउँमा पछिल्लो हप्ता एउटा घरको बाख्राखोरमा बाघ पसेको थियो । गाउँमा सधैं जसो हुने यस्तो घटनामा त्यसदिन नयाँ मोड आयो जब बाघले बख्रामथी आक्रमण गर्ना साथ वाणिज्यशास्त्रमा स्नातक रुपाली दाउराको भाटा लिएर बाघमाथि झम्टिइन् । त्यसपछि बाघ पनि प्रत्याक्रमणमा उत्रियो । कोलाहल सुनेर बाहिर आएकी उनकी आमा जिजाबाईलाई समेत बाघले घाइते तुल्याइदिएपछि रुपालीले बहादुरी पूर्वक लडेर बाघलाई लखेटिन् । त्यति मात्र होइन् उनले घाइते अवस्थामा नै आमासँग सेल्फी पनि खिच्न भ्याइन् । पछि स्थानीय अस्पतालमा उपचारपछि उनी घर फर्किएकी छिन् । पातलो बस्तीमा घर भएकाले तत्काल कुनै मानवीय सहायता प्राप्त गर्न नसके पनि रुपालीले आधा घण्टासम्म बाघको सामना गरेको बुझिएको छ । पछि केही स्थानीय र वनरक्षक आएर उनलाई अस्पताल लगिएको थियो । अहिले भारतीय मिडियामा उनको बहादुरीको खुबै चर्चा भइरहेको छ । मिडियाकर्मीहरूले उनलाई घर फर्किन कत्तिको डर लागेको छ भन्ने प्रश्नको उत्तरमा उनले आफू घर फर्किन व्यग्र रहेको बताइन्। बिबिसी
बजारमा यस्तो छ सुनचाँदीको मूल्य अवस्था ?
काठमाडौं । मंगलबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्यमा कुनै परिवर्तन आएको छैन । सोमबार सुनको मूल्य ५८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार पनि सुनको मूल्य यथावत नै रहेको नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएको छ । त्यस्तै, मंगलबार बजारमा चाँदीको मूल्य यथावत नै रहेको छ । साताको लगातारझै आज पनि चाँदीको मूल्य ७ सय ४५ रुपैयाँमै कारोबार भइरहेको जानकारी दिएको छ ।
चलचित्र ‘बागी २’ को टिजर सार्वजनिक (हेर्नुहोस् भिडियो)
मुम्बई । टाइगर श्राफ र दिशा पटानी अभिनित नयाँ चलचित्र ‘बागी २’ को ‘एक, दो, तीन’ गीतको रिमेक सार्वजनिक भएको छ । बलिउड क्षेत्रका सुपरहिट चलचित्र ‘तेजाब’ को बहुचर्चित गीतमा माधुरी दीक्षितको नृत्य रहेको थियो । नयाँ गीतमा भने श्रीलंकाली सुन्दरी ज्याकलिन फार्नाण्डेज आर्कषकरुपमा प्रस्तुत भएकी छिन् । साजिद नाडियावालाको निर्देशन रहेको बागी २ को उक्त गीतमा अहमद खान र गनेस आचार्यको कोरियोग्राफी रहेको छ । शुक्रबार उक्त गीतको टिजर सार्वजनिक भएको थियो । गीत रिलिज भएको पौने १ घण्टामै ३ लाखभन्दा बढीले हेरिसकेका छन्। यो फिल्म मार्च ३० मा रिलिज हुँदैछ । हेर्नुहोस् भिडियो- एजेन्सीको सहयोगबाट
राष्ट्रपतिमा विद्या र झलनाथको सम्भावना, सुवास आउट : लालबाबु पण्डित
काठमाडौं, फागुन २१ । जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले आजदेखि सुरु हुने संघीय संसदको पहिलो बैठकदेखि नै आवश्यक काम थालिने बताएका छन् । यो महिनाभित्र नै संसदबाट गर्नुपर्ने सबै निर्वाचन सकिने पण्डितले बताएका छन् । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखको निर्वाचन यही महिनाभित्र गरिने उनले बताए । राष्ट्रपति कसलाई बनाउने भन्ने विषयमा छलफल भइरहेको बताउँदै उनले अहिलेकै राष्ट्रपति विद्यादेवी भण्डारी दोहोरिने र नयाँ व्यक्ति राष्ट्रपति बन्ने दुवै सम्भावना रहेको बताए । “सम्भावनालाई नकार्न सकिदैन । झलनाथ खनालको राष्ट्रपति बन्ने चाहनालाई आश्चर्यको रुपमा लिनुपर्दैन । उहाँको पनि सम्भावना छ ।” पण्डितले भने । भण्डारी र खनालको सम्भावना बढि रहेको भन्दै उनले सुवास नेम्वाङको सम्भावना भने कम रहेको बताए । मन्त्री पण्डितले निर्वाचनको काम सकिएपछि प्रादेशिक र संघीय कानुन निर्माण गरिने बताए । “प्रादेशिक र संघीय कानुन नबन्दा स्थानीय स्तरमा समस्या भएको छ । त्यसकारण कानुन छिटो बनाउनुपर्छ ।” पण्डितले भने । फरक प्रसङ्गमा मन्त्री पण्डितले पाकिस्तानी प्रधानमन्त्री साहिद खाकान अब्बासी प्रधानमन्त्री केपी ओलीलाई बधाई दिन आउन लागेको जानकारी दिए ।
नेपालको सहमतिबिनै भारतले बनायो महाकालीमा पुल
दार्चुला । भारतीय पक्षले नेपाल सरकारको अनुमतिबिनै महाकाली नदीमा एकतर्फी पुल र नेपाली भूमिमा बाटो बनाएको छ। भारतीय पक्षले नेपालतिर मानव बस्ती नै नभएको व्यास गाउँपालिका–३ ताम्बाकु, घाटबगर र दोपखे क्षेत्रमा काठे पुल निर्माण गरेको हो । भारतीय पक्षले नेपाली पक्षलाई जानकारी नै नगराई महाकाली नदीमाथि तम्बाकु र लखनपुर, घाटबगर र माल्पा तथा दोपखे र लामारी जोड्ने पुल बनाएको स्थानीय मानसिंह कुँवरले बताए । तर, स्थानीय प्रशासनले भने भारतीय पक्षले एकतर्फी रुपमा दुई ठाउँमा त्यस्ता पुल निर्माण गरेको जानकारी आएको बताएको छ। त्यसैगरी, सोही क्षेत्रमा नेपाली भूमि भएर मेसिनहरु आफ्नो भूमिमा लैजान भारतीय पक्षले नेपाली भूमिमै बाटोसमेत बनाएको छ। हाल महाकाली नदी किनारको उत्तरतिर दुम्लिङ मात्रै नेपाल प्रहरीको उपस्थिति रहेको छ। पुल निर्माण गरिएको क्षेत्र प्रहरी चौकीबाट अढाई घण्टादेखि चार घण्टासम्मको दूरीमा पर्छ। व्यास गाउँपालिका–२ राप्लाको दुम्लिङभन्दा माथिको क्षेत्रमा भारतले दुईवटा काठेपुल र २ किलोमिटर लामो गोरेटो बाटो निर्माण गरेको जानकारी आफूले पाएको व्यास गाउँपालिका २ का वडाअध्यक्ष धीरनसिंह बुढाथोकीको भनार्इ छ । एउटा पुल भने भारतले पहिलेदेखि बनाउँदै आएको उनी बताउँछन् । दार्चुला प्रहरी प्रमुख डिएसपी जनकबहादुर शाहीले भारतीय पक्षले दुईवटा काठेपुल बनाएको पुष्टि गरेका छन् । पुल बनाएको खबर आएपछि दुम्लिङमा रहेको प्रहरी चौकीबाट गत फागुन १० गते प्रहरी टोली पुल बनाएको क्षेत्रमा पठाइएको उनले बताए । फागुन ११ गते जिल्ला सदरमुकामबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीसमेत पुल बनाएको क्षेत्रमा पुगेको डिएसपी शाहीले बताए। डोजर ढुवानीमा नेपाली भूमिको प्रयोग नेपालको स्थानीय प्रशासनसँग पत्राचार गरी भारतले सडक निर्माणका लागि डोजर लगायतका मेसिन ढुवानी गर्न महाकाली किनारको नेपाली भूमि प्रयोग गर्न अनुमति मागेको थियो । जिल्ला प्रशासन कार्यालय दार्चुलाले यसबारे गृह मन्त्रालयलाई पत्राचार समेत गरिसकेको छ । अन्तर्राष्ट्रिय सीमाको विषय भएकाले आफू यसबारे निर्णय गर्न नसक्ने भन्दै प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले गृह मन्त्रालयको अनुमति मागेका हुन् । गृहको अनुमति अहिलेसम्म प्राप्त नभएको उनको भनाइ छ। भारतले भने नेपाली पक्षलाई पत्राचार गर्ने र सडक निर्माणका लागि नेपाली भूमिको प्रयोग गरी डोजर ढुवानी गर्ने काम एकसाथ गरेको छ । केही हप्ता अगाडि नेपाली पक्षलाई पत्राचार गर्दै भारतीय प्रशासनले आफ्नो तर्फको सडक निर्माणका लागि नेपाली भूमि भएर डोजर ढुवानी गर्नका लागि अनुमति मागेको थियो । त्यसको केही दिनपछि महाकाली नदीमा दुई देश जोड्ने चार झोलुंगे पुल र नेपाली भूमिमा १२ किलोमिटर लामो गोरेटो बाटो निर्माण तथा मर्मत गर्न लागत विवरण मागेको थियो । वर्षातको समयसम्म चारवटा पुल र १२ किलोमिटर बाटो बनाउने तथा तत्काल दुईटा काठेपुल र २ किलोमिटर गोरेटो बाटो बनाउने भन्दै भारतले फेरि नेपाली पक्षसंग छलफल गरेको थियो । डोजर ढुवानीका लागि नेपाली भूमि प्रयोगको अनुमति मागेको केही दिनपछि भारतीय पक्षले अर्को पत्राचार नेपाली पक्षलाई गरेको थियो। लखनपुर, नजंग खोला, छंनकन र बुँदीको कौथलामा गरी चारवटा झोलुंगे पुल निर्माण र नेपाली भूमिमा १२ किलोमिटर गोरेटो बाटो निर्माण तथा मर्मतको लागत विवरण भारतले मागेको थियो । भारतले पुल र बाटो निर्माणको औपचारिक प्रस्ताव नगरेको र लागत विवरण मात्रै मागेको प्रमुख जिल्ला अधिकारी गौतमको भनार्इ छ । त्यसपछि भारतले नेपाली पक्षसँग सम्पर्क र भेटघाट गरी तत्काल दुईवटा काठेपुल र २ किलोमिटर सडक बनाउनेबारे छलफल गरेको छ। दार्चुलाको स्थानीय प्रशासनले यी कुनै पनि विषयमा भारतीय पक्षलाई सहमति वा अनुमति नदिएको प्रजिअ गौतमको भनार्इ छ। भारतले भने डोजर ढुवानी गर्ने, दुईवटा काठेपुल निर्माण गर्ने र नेपाली भूमिमा २ किलोमिटर गोरेटो बाटो निर्माण गर्ने कार्य सम्पन्न गरिसकेको छ। यसको पुष्टि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले स्थलगत भ्रमण गरेपछि भएको हो । भारतको धारचुलास्थित एसडिएम कार्यालयले हिजोमात्रै अर्को एउटा प्रस्ताव गरेको छ । आगामी फागुन २१ वा २२ गते पिथौरागढमा सीमा बैठक गर्ने प्रस्ताव गरिएको छ। नियमित एजेण्डाका साथै नेपाली भूमि भएर कैलाश मानसरोवर यात्राको नयाँ एजेण्डा पनि बैठकका लागि प्रस्ताव गरिएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताउनुभयो । भारतीय पक्षले नेपालसंग अनुमति वा सहमति माग्दै जाने र अनुमति मागेको विषयमा दुई देशबीच छलफल र निर्णय गर्नुअघि नै एकतर्फी काम पनि गरिरहेको छ । भारतीय पक्षबाट एकतर्फी पुल बनाइएको र नेपाली भूमि भएर डोजर ढुवानी भएको विषयमा प्रमुख जिल्ला अधिकारीमार्फत माथिल्लो निकायमा जानकारी गराइएको डिएसपी जनकबहादुर शाहीले बताए। प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले काठेपुल निर्माण भएको र नेपाली भूमि भएर डोजर ढुवानी भएको जानकारी आएपछि आफूले धारचुलास्थित एसडिएमलाई सम्पर्क गरी जानकारी मागेको बताए । धारचुलाका एसडिएम आरके पाण्डेले पुल निर्माण र डोजर ढुवानीबारे आफूलाई जानकारी नभएको जवाफ दिएको प्रजिअ गौतमले बताए। सीमाक्षेत्रको पछिल्लो यो घटनाबारे आफूले गृह मन्त्रालयमा जानकारी गराएको उनको भनाइ छ। भारततर्फ भइरहेको सडक निर्माणका कारण अहिले लखनपुरदेखि बुँदीसम्मको करिब २५ किलोमिटर लामो क्षेत्रमा पैदलमार्ग अवरुद्ध छ । भारतले नेपालतर्फको बाटो प्रयोग गर्न चार ठाँउमा पुल निर्माण गर्ने र १२ किलोमिटर लामो गोरेटो बाटो निर्माण तथा मर्मत गर्ने तयारी गरेको छ । केही दिनअगाडि लखनपुरमा महाकाली नदी पार गरी नेपाली भूमि भएर ३ वटा डोजर भारतले ढुवानी गरेको छ । डोजरले नदी किनारको नेपाली भूमिमा बाटोसमेत बनाएको छ। नेपालको तम्बाकुखोलादेखि थिईको भीरको फेदसम्म भारतीय पक्षले पैदलबाटो समेत निर्माण र मर्मत गरेको व्यास गाँउपालिका वडा नं. २ का वडाअध्यक्ष धिरनसिंह बुढथोकीले बताए । भारतले अनुमतिबिनै काम गर्यो प्रशासन भारतीय पक्षले महाकाली नदीमा काठको अस्थायी पुल राखेको र नेपाली भूमि भएर मेसिन आफ्नोतिर लगेको जानकारीमा आएको भए पनि यसका लागि भारतीय पक्षले अनुमति नलिएको नेपाली प्रशासनको भनाइ छ। सीमा नदीमा मान्छे ओहोरदोहोर हुने खालको अस्थायी पुल बनाएको भन्ने जानकारी आएको बताउँदै प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले पुल निर्माण गर्न भने अनुमति नलिएको बताए । केही दिनअगाडि भारतीय पक्षले चार ठाउँमा पुल राख्ने तथा नेपाली भूमि भएर मेसिन लैजान अनुमति मागेको बताउँदै प्रजिअ गौतमले यस सम्बन्धमा गृहमन्त्रालय बाट कुनै जानकारी नआइसकेको अवस्थामा भारतीय पक्षले अस्थायी पुल निर्माण गर्ने काम गरेको बताए । दुम्लिङमा पुल निर्माणको माग भारतले एकतर्फी रुपमा सीमा नदी महाकालीमा काठेपुल निर्माण गरी आवागमन गरिरहँदा राप्लाको दुम्लिङमा काठेपुल निर्माणको माग गरिएको छ । व्यास गाउँपालिका–२ का वडाअध्यक्ष एवं गाउँपालिका प्रवक्ता धिरनसिंह बुढाथोकीको नेतृत्वमा तत्काल काठेपुल निर्माण गर्न माग गरिएको हो । लामो समयदेखि तुइनको जोखिमपूर्ण यात्रा गर्दै आइरहेको स्थानीयवासीको सुविधाका लागि काठेपुल निर्माण गर्न जिल्ला प्रशासन कार्यालयमा आइतवार माग गरिएको प्रवक्ता बुढाथोकीले जानकारी दिए । भारतीय पक्षले दुम्लिङभन्दा माथिल्लो क्षेत्रमा दुइटा काठेपुल निर्माण गरी आवतजावत गरिरहेका छन् । नेपालतर्फ वस्ती नै नभएको क्षेत्रले भारतीय पक्षले पुल बनाएर आवतजावत गरिरहेको भन्दै दुम्लिङवासीले स्थानीयको सुविधाका लागि दुम्लिङमा पनि काठेपुल राख्न माग गरेका हुन् । स्थानीयको पुल निर्माणसम्बन्धी मागलाई भारतीय पक्षसंग छलफल गरी सम्बोधन गरिने प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए । अन्तर्राष्ट्रिय सीमाक्षेत्र भएकाले यसबारे गृह मन्त्रालयको अनुमति समेत आवश्यक पर्ने उहाँको भनाई छ। नेपालतर्फ तल्लो दुम्लिङ र भारततर्फको घटियाबगड क्षेत्र जोड्ने काठेपुल निर्माणको माग गरिएको वडाअध्यक्ष धिरनसिह बुढाथोकीले बताए । नेपाली भूमिमै जान भारतको अनुमति दार्चुलाको उत्तरी बस्ती व्याससम्म पुग्न नेपालीहरुले भारतीय बाटो मात्रै प्रयोग गर्नु पर्दैन भारत सरकारसँग अनुमति लिनु पर्दछ। नेपालीले भारतीय बाटो प्रयोग गर्दै नेपालमै जानु पर्दा भारतीय अनुमति लिनुपर्ने तर भारतले पुल र बाटो बनाउँदासमेत नेपालबाट अनुमतिसमेत नलिनुपर्ने अवस्थाले सबैलाई गम्भीर बनाएको हुनुपर्ने स्थानीय शिक्षक चमकसिह तिंकरीले बताए । ६ महिना सदरमुकाम र छ महिना व्यासमा बस्ने सौका समुदायले बसाई सर्दा (कुन्चा जाँदा) दुःख पाउने गरेको समेत स्थानीयको भनाइ छ। अहिले आएर पुल र बाटोका विरोध गर्दा चैत्रमा कुञ्चा सर्दा भारतीय पक्षले स्थानीयलाई दुख दिन सक्ने चिन्ता अहिलेदेखि नै भएको मोति महिला संघ आधारभूत विद्यालय तिंकरका प्रधानाध्यापक समेत रहेका चमकसिह तिंकरीले बताए। थाहाखबरबाट साभार
अव ६४ सदस्यीय मन्त्रिमण्डल बन्दैन : प्रधानमन्त्री ओली
काठमाडौं, फागुन ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक–दुई दिन मै मन्त्रिपरिषद विस्तार हुने बताएका छन् । बुधबार राजधानीको दहचोकस्थित कालु पाँडे समाधिस्थल पुगेका प्रधानमन्त्री ओलीले अबको मन्त्रिपरिषद संवैधानिक व्यवस्था र संघीयताका कारण सानो र छरितो हुन बताए । पत्रकारहरुको मन्त्रिमण्डल कत्रो हुन्छ भन्ने जिज्ञाषामा प्रधानमन्त्री ओलीले भने, ‘कम्तीमा ६४ जनाको बन्दैन ।’ यसअघिको शेरबहादुर देउवा नेतृत्वको सरकार इतिहासकै सबैभन्दा ठूलो ६४ सदस्यीय बनेको थियो । बुधबार कालुपाँडे समाधिस्थलमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै ओलीले गढीहरुको सुरक्षा गर्ने जिम्मा नेपाली सेनालाई दिने बताए । बुधबार काठमाडौंको चन्द्रागिरी नगरपालिकास्थित इन्द्रदह महोत्सवको उदघाटन गर्दै ओलीले मुलुकको समग्र विकासमा मात्रै आफू केन्द्रित हुने प्रतिवद्धता समेत व्यक्त गरे । प्रधानमन्त्री ओलीले स्थानीय जनताको उत्साहपूर्ण सहभागिताबाट मात्रै मुलुकमा विकास, निर्माणको कामले तीव्रता पाउने पनि स्मरण गराए । उनले एतिहासिक महत्वको इन्द्रदहमा वीर कालु पाण्डेको पूर्णकदको शालिक स्थापना गर्ने घोषणा पनि गरे । वीर कालु पाण्डेको समाधिस्थलको अवलोकनले आफूलाई मातृभूमिप्रतिको स्नेहको भाव जगाएको ओलीको प्रतिक्रिया थियो ।
पृथ्वीनारायण शाहको ‘अहिलेसम्मकै अग्लो’ शालिक
बैतडी, फागुन ८ । जिल्लामा पृथ्वीनारायण शाहको अहिलेसम्मकै अग्लो शालिकको शिलान्यास गरिएको छ । दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्र थापाले पृथ्वीनारायण शाहको २१ फिट अग्लो शालिकको शिलान्यास गर्नुभएको हो । शालिक निर्माणका लागि चार रोपनी जग्गा बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्दले दान गर्नुभएको ‘राष्ट्रियता संरक्षण अभियान’का अध्यक्ष तथा शालिक निर्माणका परिकल्पनाकार हेमबाबु लेखकले जानकारी दिनुभयो । दशरथचन्द नगरपालिका–५ सुन्दरखालीमा पृथ्वीबाटिकासहितको २१ फिट अग्लो शालिक र विशाल नेपालको नक्सा बनाइने लेखकले बताउनुभयो । निर्माणका लागि करिब रु एक करोड खर्च लाग्ने उहाँको भनाइ छ ।
फेरि पक्राउ परें विप्लव नेतृत्वका नेकपाका केन्द्रीय नेताहरु
विराटनगर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना केन्द्रीय नेतालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार सरकारले विना कारण आफ्ना केन्द्रीय नेता पक्राउ गरेको भन्दै मंगलबार नेपाल बन्दको आह्वान गरेरे बन्द गराउँदै हिडेका नेकपाका केन्द्रीय नेताहरु अखिल नेपाल क्रान्तिकारी महासंघ ट्रेडयुनियनका केन्द्रीय सदस्य हरि खड्का र सागर रायलाई प्रहरीले आज विराटनगरबाट पक्राउ गरेको जनाएको छ । यातायात बन्द गराउँदै हिड्ने क्रममा विराटनगरको ढाटबाट बन्दकर्ताहरुले मोरङको सुन्दर हरैचा नगरपालिकामा दुई वटा ट्रक र विराटनगरमा नागरिक यातायातको बसमा तोडफोड गरेको मोरङ प्रहरीले जनाएको छ । आइतबार नेकपाको युवाहरुको संगठन अखिल राष्ट्रिय स्वयंसवेकका कार्यक्रममा सहभागी हुन विराटनगर पुगेका पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदशृन’ र पोलिटव्युरो सदस्य पदम राई ‘विकास’सहित दर्जनौं लाई शान्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप गर्दै पक्राउ गरेको विरोधमा नेकपाले आज नेपाल बन्द गरेको छ । शहरमा बन्दका कारण आशिंक रुपमा बजार तथा यातायतका साधनका साथै उद्योग तथा शौक्षिक संस्थाहरु बन्द भएको छ । प्रहरीले आइतबार विराटनगर लगायत मोरङका विभिन्न स्थानबाट विप्लब समुहका दुई सय ९३ जना नेता कार्यकर्ता पक्राउ गरेको थियो । उनीहरुलार्इ सोहि दिन रिहा गरेको भएपनि पार्टीका स्थायी समिति सदस्य सुदर्शन, पोलिटब्युरो सदस्य विकास र राष्ट्रिय युवा जनस्वंयसेवकका मोरङ अध्यक्ष कुमार खतिवडालाइ हिरासतमै राखेकोले बन्द आव्हान गरिएको बताइएको छ ।
बिहीबार पनि सुनचाँदीको मूल्य घट्यो
काठमाडौं । बिहीबार सुनको मूल्यमा पाँच सय रुपैयाँले घटेको छ । बुधबार प्रतितोला ५७ हजार १ सय रुपैयाँमा कारोबार भएकोमा बिहीबार ५६ हजार ६ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै, बिहीबार चाँदीको मूल्य दश रुपैयाँले घटेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला ७ सय ४५ रुपैयाँ कारोबार भएको थियो भने बिहीबार ७ सय ३५ रुपैयाँमै कारोबार भएको छ ।
राष्ट्रियसभा सदस्य चयनका लागि मतदान सुरु
काठमाडौं, माघ २४ । राष्ट्रियसभा सदस्य चयनका लागि मतदान सुरु भएकाे छ । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने कार्यक्रम छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले चुनावका लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाएको जानकारी दिए । निर्वाचनको तयारीबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त यादवले भने, ‘विगतका निर्वाचनझैं राष्ट्रियसभा निर्वाचन पनि शान्तिपूर्ण र उल्लासमय वातावरणमा सम्पन्न हुनेमा आयोग विश्वस्त छ ।’ चुनाव सुरक्षाका लागि नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीसहितको तीन घेरे सुरक्षा प्रबन्ध गरिएको गृह मन्त्रालयले जनाएको छ । प्रदेश १, ३, ४, ५, ६ र ७ गरी ६ वटा प्रदेशमा मतदान हुनेछन् । प्रदेशका उच्च अदालत रहेका स्थानमा मतदान केन्द्र कायम गरिएको छ । ६ वटा प्रदेशका १२ वटा मतदान केन्द्रमा मतदान हुनेछ । राष्ट्रियसभा चुनावमा ३२ सिटमा नौ दलका ५२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रदेश २ मा आठै पदसहित २४ सिटमा निर्विरोध भइसकेको छ । निर्विरोध भएकालाई बुधबार नै प्रमाणपत्र प्रदान गरिनेछ । एकल संक्रमणीय मत प्रणालीबमोजिम प्रत्येक प्रदेशबाट आठ जनाका दरले राष्ट्रियसभामा कुल ५६ जना निर्वाचित हुने व्यवस्था संविधानमै छ । प्रत्येक प्रदेशबाट महिला तीन, दलित एक, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट एक र अन्य तीनजना निर्वाचित हुनेछन् । महिला तीन र अन्य तीन सदस्यका लागि एकल संक्रमणीय मत प्रणालीअनुसार मतदान हुनेछ भने दलित एक, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट एक गरी दुई सदस्यका लागि राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेशअनुसार सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार निर्वाचित हुनेछन् । प्रदेश १ मा महिला ३ र अन्य ३ गरी ६ जना उम्मेदवार निर्विरोध भएकाले दलित १ र अपांगता भएका वा अल्पसंख्यक समुदायबाट १ गरी २ सदस्यका लागि मतदान हुँदै छ । प्रदेश ३ मा ८ वटै पदमा मतदान हुनेछ । प्रदेश ४ मा अपांगता भएका वा अल्पसंख्यक समुदायबाट १ सदस्यमा उम्मेदवार निर्विरोध निर्वाचित भएकाले बाँकी सदस्य चयनका लागि निर्वाचन हुँदै छ । यसैगरी, प्रदेश ५ मा महिला ३ सदस्यमा उम्मेदवार निर्विरोध भइसकेकाले अन्य ३, दलित १ र अपांगता भएका वा अल्पसंख्यक समुदायबाट १ गरी ५ सदस्यका लागि निर्वाचन हुँदै छ । त्यस्तै, प्रदेश ६ मा सबै पदमा निर्वाचन हुँदै छ भने प्रदेश ७ मा महिला ३ र अन्य ३ गरी ६ सदस्य निर्विरोध भएकाले दलित १ र अपांगता भएका वा अल्पसंख्यक समुदायबाट १ गरी २ सदस्यमा निर्वाचन हुँदै छ । मतदान कसरी यो चुनावमा मतदान तरिका फरक छ । चुनावमा स्वस्तिक चिह्नको प्रयोग नगरीकनै मतदान हुनेछ । प्रदेशसभा सदस्यले हरियो रंगको मतपत्रबाट र स्थानीय तहका मतदाताले रातो रंगको मतपत्रमा मत संकेत गर्नुपर्नेछ । महिला, दलित, अपांग, अल्पसंख्यक र अन्य समूह गरी चार वटा मतपत्र प्रयोग गरिएको छ । तीन महिला र अन्य ३ सदस्यका लागि एकल संक्रमणीय मतका आधारमा मत संकेत गर्नुपर्ने भएकाले मतदाताले बढीमा तीन जना उम्मेदवारलाई १, २ र ३ भनी प्राथमिकता तोक्नुपर्ने छ । महिला र अपांगता भएका वा अल्पसंख्यक समुदायबाट निर्वाचित हुने सदस्यको मतपत्र पनि अलग–अलग तयार गरिएकाले हरेक मतपत्रमा बढीमा एक जना उम्मेदवारलाई तोकिएको स्थानमा ठीक चिह्न संकेत गर्नुपर्नेछ । स्थानीय तहका मतदाताले सही तरिकाले मत संकेत नगर्दा १८ मतभार र प्रदेशसभा सदस्यले सही तरिकाले मत संकेत नगर्दा ४८ मतभार फरक पर्ने हुनाले मत बदर नहुने गरी संकेत गर्न उम्मेदवार तथा मतदातासँग आयोगले आग्रह गरेको छ । मतदान सकिएलगत्तै मतगणना सुरु गरी छिटो सक्न सबै निर्वाचन अधिकृतलाई निर्देशन दिइएको प्रमुख निर्वाचन आयुक्त डा.यादवले बताए । दुई दिनमा आयोगले सातवटै प्रदेशको अन्तिम परिणाम सार्वजनिक गरी परिणाम राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी गरेको छ । मतगणनाका लागि आयोगले प्रत्येक प्रदेशमा तथ्यांक विभागका तालिमप्राप्त पाँच जना गणक खटाएको छ । सांसद्को पदावधि गोलाप्रथाद्वारा राष्ट्रियसभाबाट निर्वाचित सांसदहरू कति अवधिका लागि हुने भन्ने गोलाप्रथाद्वारा किटानी गरिनेछ । संविधानको धारा ८६ मा राष्ट्रियसभा सदस्यको पदावधिबारे उल्लेख छ । उक्त धारामा राष्ट्रियसभा सदस्यको पदावधि ६ वर्षको हुने उल्लेख भए पनि एकतिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने स्पष्ट गरेको छ । पहिलो पटक सदस्यको पदावधि कायम गर्दा गोलाप्रथाद्वारा एकतिहाइको दुई वर्ष, अर्को एकतिहाइको चार वर्ष र बाँकी एकतिहाइको ६ वर्षको हुने गरी पदावधि कायम हुनेछ । निर्वाचित सांसदहरूको अवधि गोलाप्रथाद्वारा निर्धारण गरिने भए पनि विधिमा आधारित हुने हुँदा त्यसको वैधता रहने वरिष्ठ अधिवक्ता अग्नि खरेल बताउँछन् । राष्ट्रियसभा सदस्यका लागि हरेक दुई–दुई वर्षमा मतदान हुनेछ । राष्ट्रियसभाको रिक्त स्थानको पूर्ति भने सदस्य मतदान वा मनोनीत जसरी आएको हो सोहीअनुसार गरिनेछ ।
सुनचाँदीको मूल्यमा स्थिर
काठमाडौं । आइतबार सुनचाँदीको मूल्य स्थिर नै रहेको छ । आइतबार प्रतितोला ५७ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा आज सोमबार पनि यही मूल्यमै कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै, चाँदीको मूल्य पनि स्थिर नै रहेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला ७ सय ४५ रुपैयाँ कारोबार भएको थियो भने आज सोमबार यही ७ सय ४५ रुपैयाँमा कारोबार भएको छ।
‘झरिसकेको जीवनलाई मैले थोपा थोपा गरी बटुलेँ’ – मनीषा कोइराला
पाँच वर्ष बितिसके । क्यान्सरपछिका यी वर्षहरूलाई फर्केर हेर्दा धेरै कुरा मनमा खेल्न थाल्छन् । क्यान्सरअघि जीवनप्रति मेरो दृष्टिकोण खासै उत्साहजनक थिएन । उदास फिक्का खैरो रंग जस्तो । म आफ्नो फिल्मी करिअरसँग विरक्त भइसकेकी थिएँ । आफ्ना सफलता, चमकधमक र पैसाले पनि मनको उत्साह बढाउन नसक्ने अवस्था थियो मेरो । निजी जीवनमा पनि केही सम्बन्धबाट गुज्रिसकेकी थिएँ । यो अर्थ नलागोस् कि म आफ्ना सफलता र सम्बन्धहरूलाई महत्वहीन ठान्थें । तर, बाहिरी सफलता र चमकधमकका माझ मेरो मनको एउटा कुना उदास रहन्थ्यो । मेरो छटपटाहटको कारण यही नै थियो भनेर ठ्याक्कै भन्न त सकिन्न । तर, सजिलै भन्न सकिन्छ- भित्र खुसी थिइनँ म । म एउटा खराब जीवनशैली बाँच्दै थिएँ । र, यस्तो बेलामा क्यान्सरले मलार्ई हान्यो, जब म मानसिक तवरले सबैभन्दा कमजोर थिएँ । म बाच्न चाहन्थेँ । म बाँच्नलाइ संघर्ष गर्न थालेँ । प्रार्थना गर्न थालेँ । सबैभन्दा राम्रो उपचार पाउने ठाउँमा पुर्याइए पनि अकल्पनीय पीडा भोगेँ मैले । त्यो पीडाको समुद्रमै डुब्छु कि जस्तो पनि नलागेको होइन । बाँच्छु भन्ने आशा नजागेको पनि होइन । मर्नु र बाँच्नुको दोसाँधमा समय बिताएँ । एक समय यस्तो आयो, जब म पूरै भत्किसकेकी थिएँ, भित्रबाटै । तर, बिस्तारै, स्थितिमा थोपाजत्रो परिवर्तन हँुदै गयो । मैले थोपा थोपा गरी आफ्नो झरिसकेको जीवनलाई बटुलेँ । अप्रेसनपछि म एकैपल्ट दौडेर पहिलाजस्तो हुन चाहन्थेँ । नसकिने रहेछ । त्यसपछि मैले दौडने बाटो छोडेँ । बिस्तारै घस्रने बाटो रोजेँ । सुरुमा म १० पाइला हिडेँ । त्यसपछि सय पाइला । यस्तै गरी गरी म दिनको दुई माइल हिँड्न सक्ने भएँ । समय लाग्यो । तर, मैले हार मानिनँ । बिस्तारै म सपना देख्न थाले । जीवनले दोस्रो मौका दियो भने कसरी बाँच्ने ? यस्तो सपना देख्न थालेँ । उपचारको सुरुवाती अवस्थामा छँदा मसँग खाना खाने शक्ति पनि थिएन । त्यति कमजोर थिएँ । भाइले मलार्ई एउटा उसिनेको अन्डा खुवाउन गर्नुपर्ने मिहिनेत म अझै झलझली सम्झन्छु । आफ्नो जवान छोरीलाई यो अवस्थामा देख्दा मेरा पिता र मातालाई परेको पीडा मेरो अनुमानभन्दा बाहिरको कुरा हो । मलार्ई लाग्छ, त्यसबखत मेरो अवस्थाले उहाँहरूलाई भित्रैबाट भत्काइसकेको होला । तर, यसबारे उहाँहरूले कहिलै कुरा गर्नुभएन । आमा मेरा लागि पोसिलो खाना बनाउनुहुन्थ्यो । चिनेका नचिनेका सबैलाई सोधेर उहाँले मलार्ई चाहिने पोसिलो खाना खुवाउनुभयो । मेरो उपचारले मभित्र रहेको क्यान्सरलाई मार्यो । तर, उपचारले क्यान्सरलाई मात्र मारेन । मेरो शरीरको प्रतिरोधात्मक शक्तिलाई समेत मार्यो । त्यो मेरो लागि भयकारी थियो । क्यान्सरको उपचारले रोगलाई मात्र मार्दैन, कुनै पनि कुरा जो छिटो बढ्छ, त्यसलाई पनि नष्ट गरिदिन्छ । मेरो कपाल, मेरा आँखीभौँ सबै नष्ट भए । अन्ततः एक लामो संघर्षपछि जब म क्यान्सरबाट पूर्णतः मुक्त भएँ, मैले आफूलाई सकारात्मक दृष्टिकोणबाट बाँधेर राखेँ । म जीवनलाई सकारात्मक आँखाबाट हेर्न थालें । दुई कुरामा म आफूलाइ धेरै भाग्यमानी मान्छु । मैले मद्दत माग्न सिकेँ । लिसा रेले भनिन्, ‘मनीषा, मद्दत माग । मान्छे छन् । मद्दत गर्छन् ।’ जब मैले मद्दत मागे, दयालु मानिस आए । कुनै दिन म ती मानिसहरूको नाम भन्नेछु, जसले आ-आफ्नो तरिकाबाट मलार्ई मद्दत गरे । मान्छेभित्र दयाको यो भावना देख्ने मौका मलाई क्यान्सरले दियो । मैले लुइस हेको ‘यु क्यान हिल योर लाइफ’ पढेको थिए । त्यसमा उनी लेख्छिन्, ‘पाठेघरले सिर्जनात्मकतालाई प्रतिनिधित्व गर्छ । यदि पाठेघरमा कुनै रोग छ भने जीवनमा सिर्जनात्मकताका अन्य गतिविधि अपनाऊ’ । म एउटा कलाकार हुँ । मलाई थाहा थियो सिर्जनात्मक हुनु मेरो जीवन तत्व हो । तर, पाठेघरको क्यान्सर भएपछि थाहा पाएँ, अब मेरो जीवन नै त्यसैमा निर्भर हुनेछ । त्यसपछि मैले जे सक्छु, त्यही गर्न थालेँ । मैले पेन्टिङ गर्न थालेँ । घर सजाउन थालेँ । बगैंचा गोड्न थालेँ । यी कामले मेरो निको हुने प्रक्रिया छिटो भयो। नियमित व्यायामबाट शरीर र मनलाई स्वस्थ राख्न जरुरी छ । क्यान्सर बिरामीका लागि त झनै । म हिँड्न थाले । खानपान, व्यायाम, योग, प्राणायाम अपनाएँ । आठ घन्टा नियमित सुत्नु राम्रो हुन्छ । आफूलाई भावनात्मक रूपमा सही राख्न पनि ज्यादै जरुरी छ । मैले त्यो सबै अभ्यास गरेँ । आज कुनै पनि कुराले म धेरैबेर डिस्टर्ब हुन्नँ । तिनको प्रभाव आफ्नो सोचाइमा पर्न दिन्नँ । आखिर म पनि मानिसै हुँ । कहिलेकाहीँ उदास हुन्छु । रिसाउँछु । रुन्छु । वा नकारात्मक प्रतिक्रिया देखाउँछु । तर यी सब भावनालाई आफूसित धेरैबेर बाँधेर राख्दिनँ । यी आउँछन्, अनि जान्छन् । मसित बस्दैनन् । यो मेरो आध्यात्मिक साधना पनि हो । उदासीलाई आफूसँग टाँसिइरहन नदिने साधना । कुनै पनि पीडादायक सोचलाई आफूसँग झुन्डिन नदिने साधना । पीडा आउँछ । म त्यसप्रति सचेत हुन्छु । जब म सचेत हुन्छु, त्यो धेरैबेर टिक्नै सक्दैन । अध्यात्मको शक्ति मैले अनुमान गरेभन्दा धेरै रहेछ । क्यान्सर कति दुःखदायी छ, मैले भोगेको कुरा हो । यसको उपचार गर्न सकिन्छ, त्यो पनि मैले भोगेको कुरा हो । क्यान्सरमुक्त भइसकेपछि त्यसका केही असर बाँकी रहन्छन्, मलाई थाह छ । तर, कुरा त्यतिमा सीमित छैन । क्यान्सरले मेरो जीवनमा कतिपय सकारात्मक बद्लाव पनि ल्याएको छ, जो सायद कहिल्यै आउने थिएनन् मेरो जीवनमा । म जीवनको महत्व धेरै बढ्ता महसुस गर्न थालेकी छु । क्यान्सर लाग्नुअघि, म जीवनलाई बाँचिरहेकी मात्र हुन्थे, आजभोलि मैले जिउन सिकेकी छु । बाँच्नु र जिउनुबीच ठूलो अन्तर छ । क्यान्सरले मलाई सिकाएको छ, हाम्रो वरिपरिका घटना र वातावरणले हामीलाई जतिसुकै असर गरिरहेको भएता पनि, सुरुवातचाहिँ क्यान्सर बिरामीले आफैंबाट गर्नुपर्छ । आफ्नै प्राथमिकताबाट गर्नुपर्छ । सबैभन्दा पहिला मैले आफ्नो हेरचार आफैं गर्नुपर्छ । मैले आफूलाइ आफैं माया गर्नुपर्छ । आफ्ना निम्ति म आफैं जिम्मेवार हुनुपर्छ । आफूलाई पहिला राख्नुपर्छ भनिरहँदा यो नठानियोस् कि यो एक्लै आफ्नो निम्ति मात्र बाँच्ने सोचाइ हो । आफ्नो निम्ति आफैं जिम्मेवार हुनुपर्छ । तर, साथै यो बोध पनि अनिवार्य छ, हामी सबै संसारमा कुनै न कुनै प्रकारले एकआपसमा जोडिएका छौं । एक्लै कोही छैनौं । एकअर्कामा पारस्परिक निर्भरता छ । जब म कुनै उदास मुहार देख्छु, उसको पीडा महसुस गर्ने कोसिस गर्छु । उसको निम्ति कुनै तरिकाले सहयोगी हुन सके मलाई खुसी लाग्छ । कुनै दिन मलाई कसैले सहयोग गरेका थिए, आज म कसैलाई सहयोग गर्न सके आफूलाई सार्थक महसुस गर्छु । आजभोलि म कुनै पनि कुराप्रति झ्वाट्टै प्रतिक्रिया व्यक्त गर्दिनँ, जसरी क्यान्सर लाग्नुअघि गर्थें । यो रोगले मलाई दुःख मात्र दिएको छैन, धेरै कुरा सिकाएको पनि छ । क्यान्सरको उपचार गराइरहेका मेरा साथीहरू वा भर्खरै आफ्नो शरीरमा क्यान्सर छ भन्ने सूचना पाएका साथीहरूलाई भन्न चाहन्छु, हाम्रो निम्ति जीवन सकिएको छैन । हामीले जीवनलाई अलि फरक दृष्टि राखेर हेर्नुपर्ने नयाँ स्थिति उत्पन्न भएको छ । हरेक मान्छेका निम्ति जीवन एक ठूलो अवसर हो । तर, जीवन जस्तोसुकै भए पनि एक दिन यो समाप्त हुनेछ । ढिलो वा चाँडो । क्यान्सर लागेर वा नलागेर । समाप्त अवश्य हुनेछ । त्यसैले मृत्युको भयलाई सकेसम्म टाढा राख्नुपर्छ । मलाई थाहा छ, यो लेख्न सजिलो छ, भन्न सजिलो तर गर्न गाह्रो छ । तर, मलाई यो पनि थाहा छ, हामीले कोसिस गरे, मनोभावलाई सकारात्मक राखे भयलाई टाढा राखेर पनि बाँच्न सकिन्छ । कोसिस गर्न त पक्कै सकिन्छ । हमेसा नसकिएला, तर सकिन्छ । रोग हाम्रो हातमा छैन तर रोगप्रति हामीले कसरी आफ्नो प्रतिक्रिया जनाउने भन्ने कुराचाहिँ हाम्रै हातमा छ । हामी आफ्नो ध्यान र कर्म सकारात्मक कुराहरूपट्टि लगाउन सक्छौं । मैले त्यसै गरें । सकारात्मक सोचमा हामीले अनुमान गरेभन्दा धेरै शक्ति छ । मैले जीवनका स-साना कुराहरूबाट खुसी लिन सिकेँ । मेरो जीवनमा त्यस्ता उपलब्धिको कमी छैन, जसलाई मान्छेहरू ठूला उपलब्धि भन्छन् । आज जोखेर हेर्ने हो भने, म भन्न सक्दिनँ, तराजु कतापट्टि भारी हुनेछ भनेर । क्यान्सर मेरो यस्तो शिक्षक बन्यो, जसबाट मैले जीवनका पाठहरू सिकें । मेरो भौतिक शरीर, मेरो मानसिक शरीर र मेरो भावनात्मक शरीर, तीनै थरीको मद्दतले म क्यान्सर रोगबाट मुक्त भएँ । आजकाल म क्यान्सर रोगबारे सचेतना अभियानहरूमा संलग्न छु । सबैलाई भन्न चाहन्छु कि उपचारभन्दा रोकथाम निको हो । बेलैमा परीक्षण गराए क्यान्सरबाट बच्न सजिलो हुन्छ । पाठेघरको क्यान्सर विषयमा सचेतना मात्र भए, धेरै कुरा नियन्त्रण हुन सक्छ । म आफ्नो जीवनप्रति धेरै अनुग्रहित छु । मेरो जीवनले मलाई आकाश छुने शिखर र अध्यारा खाडलहरू, दलदलहरू देखायो । मलाई सम्मान र अपमान दुवै यथेष्ठ दियो । म आफ्नो जीवनलाई समग्रमा अँगालो मार्न चाहन्छु । म मेरा सफलता र असफलता दुवैलाई अँगालो मार्न चाहन्छु । दुवैप्रति म कृतज्ञ छु । मलाई लाग्छ मैले जीवनमा शिखरमा हुँदा जति सिकें, खाल्डोमा भासिँदा त्योभन्दा धेरै सिकें । म आफ्नो परिवार, साथीहरू, शुभेच्छुकहरूप्रति कृतज्ञ छु, जो मैले जीवन गुमाउन लाग्दा मेरो साथ खडा रहे, जसले मेरो जीवन फर्काउन मलाई साथ दिए । क्यान्सरपछिको, मेरो जीवन तपाईंहरूको उदारताको परिणाम हो । क्यान्सर रोगबारे सचेतना जगाउने अभियानहरूमा मेरो साथ रहने छ । म सबैप्रति आभारी छु । क्यान्सरप्रति पनि, जो मेरो जीवनमा एक कठोर शिक्षक भएर आयो । केही पाठ सिकायो । र, गयो । आखिर जीवन पनि त्यही होइन र ? त्यो आउँछ अनि जान्छ । तर, त्यसलाई सकारात्मक आँखा राखेर हेर्न सके धेरै फरक पर्छ । अन्नपूर्णमा खबर छ ।
डाक्टरका कुरा- बालबालिका पेट दुखे के गर्ने ?
डा. सुमनराज ताम्राकार बालबालिकाहरुमा पटक–पटक भइरहने समस्याहरुमा पेट दुखाइ पनि एक हो । पेटभित्रका अङ्गहरु तथा पेटको भित्रि पत्र एवं बाह्य छाला एवम् मांसपेशीमा कुनै समस्या भएर पेट दुख्छ । कहिलेकाहीँ बिना कारण पनि पेट दुख्न सक्छ । कुनै कुनै बेला पेट दुखाइ एक ठाउँबाट सुरु भएर अर्को भागतिर सर्न सक्दछ । पेटको भित्रि अङ्गहरु तथा बाहिरको छाला एवं मांसपशीमा भएको पिडा मेरुदण्डमा रहेको स्नायु प्रणाली हुँदै गिदीमा पुग्दछ र पिडा महसुुस हुन्छ । पेटको कुन भागमा दुखेको छ त्यस अनुसार पनि पेट दुखाइको कारण बारे अनुमान लगाउन सकिन्छ । माथिल्लो पेट दुखेको भए आमाशय, पित्त थैली, कलेजो, फियोमा समस्या हुनसक्छ । दायाँ वा बायाँ साइडतिर पेट दुखेको भए मृगौला वा ठूलो आन्द्रामा समस्या हुनसक्छ । तल्लो पेटमा दुखेको भए मुत्रथैली, पाठेघर, डिम्बबाहिनी नलीमा समस्या भएको हुनसक्छ । जुका पर्दा, सानो आन्द्रामा समस्या हँदा वा एपेण्डिक्स सुन्निँदा नाइटो वरिपरि दुख्छ । मुत्र नलीमा पत्थरी हुँदा वा एपेण्डिस सुन्निँदा पेट दुखाइ एक ठाउँमा सर्दछ भने हर्नियाले गर्दा तल्लो पेटको छेउतिर भारी भहसुुस हुन्छ । झाडापखाला, आउँ, रगतमासी जस्ता रोग लाग्दा वा पित्त थैली, एपेन्डिक्स जस्तै भित्रि अङ्गहरु सुजन भई पेट दुख्दा उल्टी आउने, ज्वरो आउने हुनसक्छ । आन्द्राको भित्रि तहमा चिडचिडाहट हुँदा, कब्जियत हुँदा, ल्याक्टोजन नपच्ने बेथा लाग्दाको पेट दुखाइ छुट्टै खालको हुन्छ । कहिलेकाहीँ बिना कारण वा पेटमा हुने माइग्रेनको कारण पनि घरिघरि पेट दुख्छ । त्यसलाई गम्भीर रुपमा लिनु पर्दैन । जीर्ण प्रकारको पेट दुखाइ लामो समयदेखिको हुन्छ । बालबालिकाहरुको अभिभावकसंग राम्ररी सोधपुछ गरेर तथा विरामीको शारीरीक जाँच गरेर पेट दुख्नुको कारण पत्ता लगाउन सकिन्छ । त्यसपछि दिसा, पिसाबको सामान्य जाँच, रगतको जाँच, एक्सरे, इन्डोस्कोपी तथा अल्ट्रासाउन्डको मद्धतले ठ्याक्कै पेट दुख्नुको कारण पत्ता लगाउन सकिन्छ । पेट दुखाइको कारण अनुसार नै औषधी खुवाएर वा शल्यक्रिया गरेर पेट दुख्ने समस्याको निराकरण गर्नुपर्दछ । त्यसैले कारण पत्ता नलगाइकन दुखाइ कम हुने औषधी दिइहाल्नु हुँदैन । स्वास्थ्यख़बर डट कमबाट साभार
चीनले ४ तले दरबार हाइस्कूल बनाउने, नक्सा तत्काल पारित गर्न अनुरोध
काठमाडौं, नेपालको ऐतिहासिक स्कूलका रुपमा परिचित दरबार हाइस्कूल निर्माण कार्य थालनी गर्न चीन सरकारले सरकारसमक्ष अनुरोध गरेको छ । चिनियाँ दूतावासको टोलीले शिक्षा मन्त्रालयका पदाधिकारीसँग स्कूलको नक्सा तत्काल पारित गरि काम शुरु गर्ने वातावरण बनाउन आग्रह गरेको थियो । दरबार हाईस्कूलको नक्सा पुरातत्व विभागले फाइनल गरेको र पहिलाकै शैलीमा बनाउनु पर्ने बताएको छ । चीनले तयार गरेका डिजाइनअनुसार भने विद्यालय ४ तल्लाको हुनेछ। १२६ वर्षअघि यूरोपेली शैलीमा निर्माण भएको यो विद्यालयलाई रेट्रोफिट गरी बचाउनु पर्ने सम्पदाविद्हरूको माग रहेको छ।
पूर्व जनमुक्ति सेनाले गरे यस्तो पौरख, घरमै बसेर मासिक ५० हजार आम्दानी
रुकुम, पुस २३ । नेकपा माओवादीका तत्कालिन एक जनमुक्ति सेनाले अहिले व्यवसायिक ‘गरुवा’ निर्माण व्यवसाय गरिरहेका छन् । माओवादी शान्ति प्रक्रियामा आउनुअघि हातमा बन्दुक र बम लिएर हिँड्ने रुकुमको त्रिवेणी गाउँपालिका–१ का ३८ वर्षीय दलबहादुर घर्ती अहिले मयुरको प्वाँखबाट ‘गरुवा’ निर्माणमा लागेका हुन् । आफू मात्र होइन उनले श्रीमतीलाई पनि सोही व्यवसायमा लगाएका छन् । मयुरको प्वाँख र हातको सीपले दलबहादुरको जोडीलाई मनग्य आम्दानी दिलाएको छ । तत्कालीन माओवादीको सांस्कृतिक फाँटमा रहेर काम गरेका उनले राजनीतिमा माथी आउन नसकेपछि जिविकोपार्जनका लागि व्यवसाय रोजेका हुन् । मध्यपश्चिमतिर लोकप्रिय मानिने मयुर नाचका लागि कम्मरमा लगाएर नाचिने ‘गरुवा’ निर्माणबाट उनले मासिक ५० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । मध्यपश्चिमका रुकुम, सल्यान, जाजरकोट, रोल्पा र सुर्खेतलगायतका स्थानीय मेला, पर्व, दसैं तिहारजस्ता चाडपर्वमा नाचिने लोकप्रिय मयुर नाचमा प्रयोग हुने ‘गरुवा’ को माग धेरै हुने भएकाले उनको व्यवसाय फस्टाउँदै गएको छ । १६ वटा गरुवाको सेट निर्माण गर्न ३६ हजार रुपैयाँ लागत लाग्ने र त्यसलाई ६० हजारभन्दा बढीमा बिक्री गर्ने गरेको दलबहादुरले बताए ।