वाम एकताको विकल्प छैन, नेकपा एस छिट्टै सरकारमा समेटिन्छ : देव गुरुङ

रुपन्देही । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाउने प्रक्रियामा लाग्नुको विकल्प नभएको बताएका छन् ।

शुक्रबार रुपन्देहीको भैरहवामा पत्रकारहरूसँग कुराकानी गर्दै उनले दीर्घकालीनरूपमा वामपन्थी एक नभए प्राप्त उपलब्धि गुम्दै जाने बताए । सदनभित्र र बाहिर रहेका कम्युनिष्ट घटकहरूबीच सहमति, संवाद गरी एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानमा लाग्नुपर्नेमा गुरुङको जोड थियो ।

‘सबै कम्युनिष्ट घटकहरूबीच सहमति र सहकार्य हुनुपर्छ, नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानमा लागेका छौं ’, उनले भने ।

मुलुकको स्वाधीनताको रक्षा विगतका नेतृत्वबाट सम्भव नदेखिएकाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा सरकार गठन प्रक्रिया अगाडि बढाइएको उनको दाबी छ । पूर्वमन्त्रीसमेत रहेका गुरुङले विगतको नेतृत्वबाट संविधान, लोकतन्त्रको रक्षा र संसद्को पुनस्स्थापनामा सफल भए पनि राष्ट्रिय स्वाधीनतामाथि खतरा पर्दा र बाह्य शक्तिले चलखेल गर्दा नेतृत्वले ध्यान पुर्‍याउन नसकेको बताए ।

उनले भने, ‘विभिन्न ढंगले मुलुक संकटमा जानसक्ने अवस्था भएकाले नेतृत्व परिवर्तन गर्नुपर्छ भन्दा पाँच दलबीच सहमति जुट्न सकेन, मुलुकलाई सामान्य अवस्थामा लैजानुपर्ने आवश्यकता छ ।’

राष्ट्रियतासँग जोडिएका मुद्दामा सहमति जुटाउँदै अघि बढ्नुपर्ने नेता गुरुङको भनाइ थियो ।

‘प्रचण्डले धेरैलाई प्रधानमन्त्री बनाउन भूमिका खेल्नुभयो, यो संकटपूर्ण अवस्थामा सरकारको नेतृत्व गर्ने कार्य महत्वपूर्ण छ’, उनले भने, ‘माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई समेट्न सकिएन, विस्तारै समेट्ने प्रक्रियामा छौं ।’

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले गृहमन्त्री बन्ने प्रस्ताव राखेपछि अहिलेको अवस्थामा उहाँको मागदाबीअनुसार जिम्मेवारी दिँदा उपयुक्त हुन्छ भन्ने हिसाबले नै अगाडि बढिएको बताए ।

‘मन्त्रालयको जिम्मेवादी दिने कुरा प्रधानमन्त्रीले मात्र सोच्ने विषय होइन्, आपसी समझदारी खोज्ने प्रक्रियामा गृहमन्त्रीको जिम्मेवारी दिइएको हो, रवि लामिछानेलाई समेट्नु स्वाभाविक प्रक्रिया हो ’, महासचिव गुरुङले भने ।

निर्वाचनको प्रक्रियाबाट नयाँ घटक आएकाले राजनीतिक रूपमा कसैलाई निषेध गरी जान सक्ने स्थिति नभएको उनले प्रष्ट्याए ।

आजदेखि १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई कोरोना खोप लगाइने

काठमाडौं, सरकारले काठमाडौं उपत्यकाका १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै मंगलबारदेखि उपत्यकाका तीन वटै जिल्लाका विद्यालयहरूमा खोप लगाउने जानकारी दिएको हो । मन्त्रालयका अनुसार उपत्यकाका यी तीन जिल्लाका केही स्थानीय तहमा भने केही दिन अघिदेखि नै खोप कार्यक्रम सूरु भइसकेको छ। खोप कार्यक्रम सुरु नभएका स्थानमा भोलिबाट लगाइने मन्त्रालयले जनाएको छ। बालबालिकालाई फाइजर र मोडर्ना खोप लगाइने मन्त्रालयले जनाएको छ। बालबालिकाहरुलाई उमेर खुल्ने कागजात लिई तोकिएका खोप केन्द्रमा गई भीडभाड नगरी स्वास्थ्यका मापदण्ड पूरा गरी खोप लिन मन्त्रालयले आग्रह गरेको छ ।

राष्ट्रिय सभा निर्वाचनको चटारो, दल दर्ताको समय आजसम्म मात्रै

काठमाडौं । राष्ट्रिय सभामा रिक्त १९ सदस्यका लागि आगामी माघ १२ मा निर्वाचन हुने भएको छ । यसका लागि दुई हजार २५ मतदाता कायम रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा स्थानीय तहका एक हजार चार सय ९३ जना र प्रदेश सभामा पाँच सय ३२ जना मतदाता रहेको आयोगले जनाएको छ । मतदानको लागि आठ वटा मतदान स्थल र १४ वटा मतदान केन्द्रको व्यवस्था गरेको आयोगले जनाएको छ । निर्वाचनमा भाग लिन राजनीतिक दल दर्ताको समयावधि शनिबारसम्म तोकिएको छ । आयोगका अनुसार शुक्रबारसम्म माओवादी केन्द्र, एमाले, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी ९जसपा० र ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी दर्ताको लागि निवेदन दिएको छ । कांग्रेस, लोकतन्त्रिक समाजवादी पार्टी र राप्रपाले शनिबार दर्ताको लागि आउने आयोगमा जानकारी गराएको छ । पुस २० देखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली र निर्वाचन चिन्ह दिने कार्यक्रम तय गरिएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगले निर्वाचन अधिकृतमा नियुक्ति गरिसकेको छ ।

विवेकशील साझा पार्टी परित्याग गरिन रञ्जु दर्शनाले

काठमाडौं । विवेकशील साझा पार्टीकी बागमती प्रदेश संयोजक रञ्जु दर्शनाले पार्टी परित्याग गर्नु भएको छ । । रञ्जुले आज पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई पत्र लेख्दै साधारण सदस्यसमेत नरहने गरी विवेकशील साझाबाट अलग भएको घोषणा गर्नु भएको हो । उहाँले लेख्नु भएको पत्रमा भनिएको छ, ‘वि.सं. २०७० बाट सुरू भएको राजनीतिक यात्रामा कैयौं उताव–चढावहरू आए जसलाई पार गर्दै जीवन निरन्तर चलिरहेको छ। तर राजनीतिक यात्राको यो मोडमा वैकल्पिक राजनीति भनेर अघि बढिरहेको संगठन, मूल नेतृत्वमा मैले अधिकतम ढोंग पाएँ ।’ आफू राजनीतिमा सके सफा गर्छु, नसके फोहोर गर्दिनँ भनेर लागेको भन्दै उहाँले थप लेख्नुहुन्छ, ‘मेरो लागि यो भन्दा दुःख लाग्ने कुरा अन्य छैन । म राजनीतिमा सके सफा गर्छु नसके फोहोर गर्दिनँ भन्ने अठोटका साथ आएको व्यक्ति हुँ । वैकल्पिक राजनीतिक पार्टीको खोल मात्र ओढेको विवेकशील साझा पार्टीमा म आफ्नो समय, ऊर्जा, विद्धता, भावना, आर्थिक केही पनि कुरा प्रदान गर्न असमर्थ छु ।’ अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेबीच पार्टीले लिने विचारबारे तीव्र विवाद छ । अध्यक्ष मिश्र संघीयता खारेजी र धर्म निरपेक्षतामा जनमत संग्रह हुनुपर्ने विचारमा हुनुहुन्छ । रञ्जु तत्कालीन विवेकशील नेपाली दलको संस्थापक सदस्य हुनुहुन्थ्यो ।

आचार्य र शाक्यले एकीकृत समाजवादी रोजे प्रदेशसभामा विश्वासको मत दिने- रामकुमारी झाँक्री

विराटनगर — नेकपा एकिकृत समाजवादीकी नेता रामकुमारी झाँक्रीले प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्य र वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफ्नो पार्टी रोजे उनीहरुलाई नै प्रदेशसभामा विश्वासको मत दिने बताएकी छन् । ‘मुख्यमन्त्रीद्वय आचार्य र शाक्यले भदौ २२ गतेसम्ममा एकीकृत समाजवादी नरोजेको अवस्थामा अल्पमतमा पर्ने र त्यसपछि प्रदेशसभामा विश्वास गुमाउने बाटोबाटै प्रदेश सरकार गठनको प्रक्रिया सुरु हुन्छ,’ विराटनगरमा शनिबार पत्रकारसँगको कुराकानी गर्दै झाँक्रीले भनिन्, ‘तर अहिले नै कुन प्रदेशमा गठबन्धन दलभित्रका कुन पार्टीले प्रदेश सरकारको नेतृत्व गर्ने निर्णय भइसकेको छैन ।’ प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिहरुलाई भदौ २२ गतेसम्म दल रोज्ने अधिकार भएकोले त्यसपछि नै प्रदेश सरकार गठन र केन्द्र सरकार विस्तारको प्रक्रिया सुरु हुने झाँक्रीले बताइन् । उनले आफूहरुको दल अझै बन्ने क्रममा नै रहेकोले सरकारमा सहभागी हुन अझै निर्णय गरिनसकेको सुनाइन् । झाँक्रीले बजारमा चलेको हल्लाजस्तो गठबन्धन टुट्ने वा भत्किने अवस्था नरहेको बताइन् । ‘प्रतिनिधिसभाको पूरा कार्यकाल सञ्चालन गर्न, अहिलेसम्मका प्राप्त उपलब्धि संस्थागत गर्न, संविधान पूर्णरुपमा कार्यान्वयनका लागि अहिलेको गठबन्धन दलको सरकार गठन भएको छ,’ उनले भनिन्, ‘यो गठबन्धनको सरकार आउँदो निर्वाचन गराउनसम्मका लागि बनेकोले बजारमा चलेको गठबन्धन टुट्ने हल्ला निराधार हो ।’ प्रतिनिधिसभामा कतिपय बिजनेसहरु प्रतिपक्षीसँग पनि सहकार्य गरेर ल्याउनु पर्ने भएकोले प्रधानमन्त्री शेरबहादुर देउवाले त्यसका लागि प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग कुराकानी गर्दैमा गठबन्धन टुट्ने आशंका गर्नु व्यर्थ रहेको उनको भनाइ थियो । नेकपा एकीकृत समाजवादी पार्टी वैकल्पिक शक्तिका रूपमा उदाउने र मुलुकमा कम्युनिस्ट आन्दोलनको मुख्य शक्तिका रूपमा निर्माण हुने झाँक्रीको भनाइ थियो । ‘हिजो हामी सँगै को–को थियौं र को–को गए भन्ने विषयले पार्टी निर्माणमा खासै अर्थ राख्दैन,’ उनले भनिन्, ‘पार्टी निर्माणको आन्दोलनका क्रममा ट्रेनमा को–को चढ्नुभयो र को–को झर्नुभयो भन्ने कुराले महत्त्व राख्दैन ।’ उनले मुलुकमा रहेका बहुसंख्यक युवा शक्ति र आधा जनसंख्या रहेको महिलालाई लक्षित गरेर एकीकृत समाजवादी पार्टी निर्माण भएकोले उनीहरुलाई समेटेर अघि बढ्ने बताइन् । उनले युवा र महिलाको समस्या समाधानलाई केन्द्रमा राखेर एकीकृत समाजवादी अघि बढ्ने भएकोले पार्टीमा आबद्ध हुन आह्वान गरिन् । –कान्तिपुरबाट

वामदेव गौतमले दिए एमालेबाट राजीनामा (पत्रसहित)

काठमाडौँ — एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन् । उनले शुक्रबार कार्यालय सचिव शेरबहादुर तामा‌ङलाई राजीनामा बुझाएका हुन् । एमालेबाट विभाजित भएर नेकपा (एकीकृत समाजवादी) बनेपछि नयाँ दलमा सहभागी हुने गरी पार्टी छोडेका हुन् । उनी एमालेभित्र केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्ट थिए । राजीनामा पत्रमा एमाले अध्यक्ष केपीको कार्यशैलीको आलोचना गरिएको छ । राजीनामा पत्र बुझाउँदै गौतमले एमालेका नेताहरुसँग व्यक्तिगत सम्बन्ध रहे पनि राजनीतिक रुपमा एमालेमा अब रहन नसक्ने बताएको कार्यालय सचिव शेरबहादुर तामाङले बताए । राजीनामा पत्रमा गौतमले पटक-पटक दिइएका सुझावविपरीत ओली सुध्रिनु भन्दा अझ बढी व्यक्तिवादी र स्वेच्छाचारी बन्दै गएको उल्लेख गरेका छन् । उनले जनताको बहुदलीय जनवादले अबलम्बन गरेको संविधानको सर्वोच्चता र कानुनी राज्यको सिद्धान्तलाई परिपालना नगरेको आरोप लगाएका छन् । दुई–दुईपटक संविधानविपरीत प्रतिनिधिसभा भंग गरेको आरोप लगाएका छन् । ‘तपाईं पार्टी अध्यक्ष र प्रधानमन्त्री हुनुभएपछि पार्टीको राजनीतिक कार्यदिशा, पार्टीको विधान तथा पार्टीको संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता र सामूहिक नेतृत्व व्यक्तिगत जिम्मेवारीलाई पालना गर्नुभएन । पार्टीलाई लोकप्रिय बनाउन सरकार गठनको एक वर्षपछि मैले लिखित सुझाव दिएको थिए’, गौतमले भनेका छन्, ‘तपाईंको कार्यशैली जनमुखी बनाउन धेरैपटक व्यक्तिगत रुपमा सुझावहरू पनि दिए । तर तपाईं सुध्रिनुभन्दा अझ बढी व्यक्तिवादी र स्वेच्छाचारी बन्दै जानुभयो ।’

तालिबानको पुनर्उदयपछि बाबुराम भट्टराईको ट्विटः हामी पनि बेलैमा सतर्क बन्ने कि ?

काठमाडौं । जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्राईले प्रगतिशील शक्ति कमजोर भए अफगानिस्तानको अवस्था दोहोरिनेतर्फ सचेत तुल्याएका छन् । तालिबानले काबुल कब्जा गरेपछि सामाजिक सञ्जालमा लेख्दै नेता भट्टराईले सबल प्रगतिशील लोकतान्त्रिक विकल्पको अभावमा जनता कसरी कराइबाट उम्केर भुंग्रोमा पर्दारहेछन् भन्ने पुनः पुष्टि भएको टिप्पणी गरेका छन् । ‘भूराजनीतिक हिसाबले संवेदनशील अफगानिस्तानमा बाह्य शक्तिको सैनिक हस्तक्षेपको अन्त्यपछि सत्तामा धार्मिक कट्टरपन्थी समूहको पुनरागमनले देशमा सबल प्रगतिशील लोकतान्त्रिक विकल्प भएन भने जनता कसरी कराइबाट उम्केर भुंग्रोमा पर्दारहेछन् भन्ने पुनः पुष्टि भयो है,’ डा. भट्टराईले भनेका छन्, ‘हामी पनि वेलैमा सतर्क बन्ने कि?’

रौतहटमा बाढी र डुबानमा परी ४ जनाको मृत्यु, हजारौं विस्थापित

काठमाडौं । रौतहटमा नदी तथा खोलामा आएको बाढी तथा डुबानका कारण रौतहटमा ४ जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयले दिएको जानकारी अनुसार, २२ वटा घरमा वर्षा, बाढी तथा डुबानले क्षति पुगेको छ । असार १३ गते गरुडा नगरपालिका–८ मा आफ्नो घरछेउमै खेल्ने क्रममा खाल्डोमा डुबेर दुई वर्षीय हसिना खातुनको मृत्यु भएको थियो । सोही दिन माधवनारायण नगरपालिका–८ की तीन वर्षीय राजकुमारी महतोको बागमती नदीमा डुबेर मृत्यु हो । त्यसैगरी १६ गते बकैया नदीमा बगेर गौर नगरपालिका–४ का २५ वर्षीय प्रमोद चनउको मृत्यु भएको थियो भने सोही दिन अविरल वर्षाले घर भत्किँदा बौधीमाई नगरपालिका–४ की ७२ वर्षीय जितनी साहको मृत्यु भएको थियो । जिल्लाको पूर्वी भेगमा रहेको बागमती नदीको बाढीले राजदेवी नगरपालिका–५ स्थित दुई स्थानमा पाँच–पाँच मिटर र गढीमाई नगरपालिका–६ मा बाँधको केही हिस्सा कटान गरेको छ । शनिबार बागमती नदी र लालबकैयामा आएको बाढीका कारण ईशनाथ, दुर्गा भगवती र राजदेवीमा २८० परिवार विस्थापित भएका छन् । आइतबार पानी कम भए पनि उनीहरुको घर हिल्लामे भएकाले कोही आफन्तको घरमा, कोही बागमती नदीको बाँधमा बसिरहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । वर्षा र बाढीले सडक सञ्जालमा पुगेको क्षतिको विवरण आउन बाँकी रहेको डिभिजन सडक कार्यालय चन्द्रपुरका प्रमुख रामनरेस केसरीले जनाए ।

विद्यार्थी संगठनहरुले जलाए प्रधानमन्त्रीको पुत्ला

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनरत बिभिन्न विद्यार्थी संगठनहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् । प्रतिगमन भाग २ विरुद्ध आन्दोलन अभियानमा जोडिएका अखिल क्रान्तिकारी, नेपाल विद्यार्थी संघ, माधव नेपाल समूहको अनेरास्ववियू, जसपा निकट विद्यार्थी संगठन र अखिल छैठौंले संयुक्तरुपमा पुत्ला दहनमार्फत बिरोध प्रदर्शन गरेका हुन । राजधानीको रत्नराज्य क्याम्पस अगाडि भएको पुत्ला दहन कार्यक्रममा अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामांगलगायतको उपस्थिति रहेको थियो ।

आजकाे मौसम : प्रदेश-१, २ र लुम्बिनीका केही स्थानमा भारी वर्षाकाे सम्भावना

काठमाडौं । अहिले काठमाडौंसहित देशका केही ठाउँमा घाम लागेको छ । अहिले वाग्मती प्रदेश, प्रदेश–१ र गण्डकी प्रदेशका केही ठाउँको मौसम खुलेको छ । प्रदेश–१ का केही ठाउँमा घाम लागे पनि केही ठाउँमा पानी परिरहेको मौसमविद्ले बताएका छन् । मौसमविद् समिर श्रेष्ठका अनुसार प्रदेश–१ का केही ठाउँसँगै अहिले कर्णाली प्रदेशमा पनि पानी परिरहेको छ । मौसमविद्ले आज प्रदेश–१, २ र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको बताएका छन् । गएको २४ घण्टामा रुकुममा सबैभन्दा धेरै ८० मिलीमिटर पानी परेको छ । यस्तै, आज, भोलि र पर्सि केही ठाउँको मौसम सफा नै रहने अनुमान गरिएको छ । हिजोदेखि नै पानी पर्न कम भएपछि देशका धेरैजसो नली तथा खोलामा पानीको बहाव घटेको छ । यसले तत्कालका लागि बाढीको जोखिम घटेको छ । तर, यसअघिको लगातारको झरीले जमिन गलिसकेकाले सामान्य पानी पर्दा समेत पहिरोको जोखिम भने रहने मौसमविद्ले बताएका छन् । यस्तै, आउँदो विहीबारदेखि देशभर मौसम पूर्ण बद्ली भइ ठूलो पानी पर्ने सम्भावना रहेको पनि मौसमविद्ले बताएका छन् । यसपालिको बर्खामा औसतभन्दा धेरै पानी पर्ने सम्भावना रहेको बाढी पहिरोको जोखिम उच्च छ।

मन्त्रिपरिषद् बैठक बस्दै, संसद् बैठक आह्वानका लागि सिफारिस होला ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापना भएपछि आज पहिलो पटक मन्त्रिपरिषदको बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजे बस्ने तय भएको छ । गत फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापनाको फैसला गर्दै १३ दिनभित्र प्रतिनिधि सभाको बैठक बोलाउन आदेश दिएको थियो । आजको बैठकले प्रतिनिधि सभाको बैठक आह्वानका लागि राष्ट्रपति विद्या भण्डारीलाई सिफारिस गर्न सक्ने सम्भावना रहेको छ । कतिपयले संसद अधिवेशन बोलाउनुअघि प्रधानमन्त्री ओलीले दल विभाजनसम्बन्धी व्यवस्था खुकुलो बनाउन सजिलो हुने गरी अध्यादेश ल्याउन सक्ने आकलन पनि गरेका छन् ।  

राष्ट्रपतिद्धारा प्रदेश २ का प्रदेश प्रमुख पदमुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । परियार तत्कालीन नेकपामा माओवादीका नेता हुन् । २०६४ सालको संविधान सभा निर्वाचनमा उनी बाँकेबाट निर्वाचित सांसद थिए । बीचमा उनी मोहन वैद्यसँग गएका थिए। उनी केही समय नेत्रविक्रम चन्द विप्लवको समूहमा थिए । पछि उनी फेरि माओवादीमा फर्किएका थिए ।

भागरथी हत्याकाण्डः खोचलेकबाट फर्कियो डिआइजी सुवेदीसहितको अनुसन्धान टोली

काठमाडौं, भागरथी भट्टको बलात्कारपछि हत्याको अनुसन्धानका लागि घटनास्थलमा रहेको डिआईजी उत्तमराज सुवेदी नेतृत्वको टोली फर्केको छ । स्थानीयले फूलमाला लगाएर उनीहरुको विदाई गरेका हुन । घटनाको अनुसन्धानका लागि खोचलेक प्रहरी चौकीमा रहेका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदी, प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डे, केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुसहितका प्रहरीको स्थानीय फूलमाला सहित विदाइ गरेका हुन्। भागरथी प्रकरणको अनुसन्धानका लागि १० दिनदेखि दोगडाकेदार गाउँपालिकाकै खोचलेकमा रहेका डीआईजी सुवेदीले भागरथीको हत्या गर्ने अभियुक्तलाई कानूनी कठघरामा उभ्याउदै प्रहरी संगठनप्रतिको गुमेको साख एकपटक पुनः जिवित तुल्याउने अवसरको नेतृत्व गर्न पाएकोमा खुसी समेत व्यक्त गरेका छन्। बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्ट गत माघ २१ गते विद्यालयबाट फर्किने बेला बेपत्ता भएकी थिइन्।

फेसबुक ह्याक गरी ३० हजार रुपैयाँ ठगी गर्ने २ जना पक्राउ

सप्तरी : फेसबुक अकाउन्ट ह्याक गरी ३० हजार रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सितापुर गाउँपालिका-३ बस्ने ३१ वर्षीय रामदेव साह र सुनसरी ईटहरी उपमहानगरपालिका-४ बस्ने २३ वर्षीया मनिषा गिरी रहेका छन् । उनीहरुले फेसबुक अकाउन्ट ह्याक गरी नगद ३० हजार रुपैयाँ पठाउ नत्र अश्लील तस्बिरहरू सामाजिक संजालमा राखीदिन्छु भनी विभिन्न डरत्रास देखाउने गरेका थिए । उक्त रकम माग गरेको भन्ने जितपुर सिमरा उपमहानगरपालिका-२ बस्ने एक महिलाले दिएको सूचनाको आधारमा खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले अनुसन्धान गर्दै जाँदा सुनसरी ईटहरी उपमहानगरपालिका-६ ईटहरी बजार अन्तर्गत रहेको आइएमईबाट ठगी गरेको रकम झिकिरहेको अवस्थामा रकम सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

आईपीएल : दिल्लीको रोमाञ्चक जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं  : यूएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत राजस्थान रोयल्सविरुद्ध दिल्ली क्यापिटल्स १३ रनले विजयी भएको छ । दिल्लीको यो छैठौँ जित हो । उसले ८ म्याच खेल्दा ६ मा जित र दुई खेलमा मात्र हारको सामना गरेको छ । आज दुबई क्रिकेट मैदानमा दिल्लीले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४८ रन मात्र बनाउन सक्यो । उसका लागि बेन स्टोक्सले ४१, रोबिन उथप्पाले ३२, सञ्जु सामसनले २५, जोस बटलरले २२ र राहुल तेवटियाले अविजित १४ रन बनाए । बलिङमा दिल्लीका एनरिक नोर्खिया, तुषार देशपाण्डेले २/२, कागिसो रबाडा, अक्क्षर पटेल र रविचन्द्रन आश्विनले एक/एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रन बनायो । उसका लागि शिखर धवनले ५७, कप्तान श्रेयस अय्यरले ५३, मार्कस स्टोइनिसले १८ र एलेक्स क्यारीले १४ रन बनाए । बलिङमा राजस्थानका जोफ्रा आर्चरले ३, जयदेव उनादकटले २, श्रेयस गोपाल र कार्तिक त्यागीले एक/एक विकेट लिए । आजको जितसँगै दिल्ली शीर्ष स्थानमा उक्लिएको छ । दिल्ली १२ अंकका साथ शीर्ष स्थानमा उक्लिएको हो । आठौँ म्याचमा पनि बेन्चमै सन्दीप राजस्थानविरुद्ध पनि दिल्लीमा आवद्ध नेपाली लेगस्पिनर सन्दीप लामिछानेले मौका पाउन असफल भए । योसहित उनी लगातार आठौँ म्याचमा पनि प्लेइङ-११ मा मौका पाउन असफल भएका हुन् । आज पनि दिल्लीले मार्कस स्टोइनिस, कागिसो रबाडा, एनरिक नोर्खिया र एलेक्स क्यारीलाई अन्तिम-११ मा मौका दियो । राजस्थानविरुद्ध दिल्लीले एक खेलाडी परिवर्तन गरेको थियो। उसले हर्षल पटेलको स्थानमा तुषार देशपाण्डेलाई मौका दिएको थियो ।

अब सशस्त्र प्रहरी बाह्रै महिना कालापानी नजिक छांगरुमा बस्ने

काठमाडौं : सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म बाह्रैमास व्यास गाउँपालिका-१ छांगरुमै बस्ने भएको छ । स्थायीरूपमा संरचना निर्माण नभए पनि अहिलेलाई भाडाकै घरमा सशस्त्र प्रहरी बाह्रैमास छांगरुमै बस्ने भएको हो । सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरीको गुल्म नै व्यासको छांगरुमा स्थापना भइसकेकाले अब कुनै पनि हालतमा तल नझर्ने बताए । उनले भने, ‘हामीले सशस्त्र प्रहरीलाई बाह्रैमास बस्ने व्यवस्था मिलाउँदैछौं, गएको सशस्त्र प्रहरी तल फर्किदैन ।’ शुक्रबार गृहमन्त्री रामबहादुर थापा (बादल) र सशस्त्र प्रहरी प्रमुख खनालले सशस्त्र प्रहरीको भवनको शिलन्यास गरेका थिए । भवन समयमै सक्न ठेकेदारलाई निर्देशन भएको जनाउँदै उहाँले जे अवस्था रहे पनि सशस्त्र प्रहरीको व्यवस्थापन गरिने बताए । गत वैशाख ३१ गते व्यासको छांगरु गागामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट बसेको थियो । गत असार २८ गते बसेको मन्त्रिपरिषदको निर्णयअनुसार व्यासको छाङ्रुमा सशस्त्र प्रहरीको गुल्म स्थापना गर्ने निर्णय भएको थियो । सशस्त्र प्रहरी अहिले भारतले अतिक्रमण गरेको कालापानी क्षेत्रभन्दा झण्डै १४ किलोमिटर वरै बसेको छ । अहिले सशस्त्र प्रहरीले छांगरुको गागाबाटै कौवा र तिंकर क्षेत्रसम्म नियमित गस्ती गरिरहेको महानिरीक्षक खनालले बताए । सशस्त्र प्रहरीका लागि रु १० करोड बजेटमा सुविधासम्पन्न भवन बनाउने गरी ठेक्का लगाइएको छ । ठेक्का प्रक्रियाबाट निर्माण गरिने भवनको सशस्त्र प्रहरीले बाह्रैमास बस्ने गरी डिजाइन गरिएको छ । ढुङ्गा, माटो र काठबाट बन्ने भवनको छतमा जस्तापाता राखिने छ । बहुउपयोग हुने गरी भवनको संरचना बनाइन लागेको सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता राजु अर्यालले बताउनुभयो । १५ रोपनी क्षेत्रफल जमिनमा तीन दर्जन कोठा निर्माण गरिने छन् । तीन तलाको ब्यारेक भवन निर्माणको योजना रहेको उहाँले जानकारी दिनुभयो ।