मधेसलाई संविधानले सम्बोधन गरेको छ: नेता खनाल
चितवन, चैत १७ । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले स्थानीय निकायको निर्वाचन तोकिएको मितिमा नभए देशमा उथलपुथल हुने बताए ।
पत्रकारसँग आज यहाँ कुराकानी गर्दै उहाँले निर्वाचन समयमा हुन नदिन षड्यन्त्र भइरहेको विचार व्यक्त गरे ।
अहिलेको सरकारले निर्वाचन स्थगित गर्न कोसिस गरिरहेको आरोप लगाउँदै उनले निर्वाचन गर्ने आँट सरकारले गर्नुपर्छ भने ।
नेकपा एमालेले स्थानीय निर्वाचनका लागि उम्मेदवार चयनको काम सुरु गरिसकेको छ भन्दै महानगर र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख केन्द्र र अन्य निकायको प्रदेशले उम्मेदवारी चयन गर्ने र चाँडै नै सबै उम्मेदवारी तय हुने उहाँले जानकारी दिए ।
तराईमा फेरि एमालेले कार्यक्रम गर्ने भन्दै उनले यसअघि मधेसी मोर्चाको गैर जिम्मेवारीपूर्ण क्रियाकलापका कारण सप्तरी घटना भएको बताए ।
मधेसमा– मधेसी मोर्चाले जनता भड्काउने काम गरेको भन्दै उहाँले सबैलाई थाहा हुनेगरी कोही कसैबाट मधेसी मोर्चा परिचालित भएको खनालको आरोप थियो । उनले भने “सप्तरी र महाकालीमा घटना हुँदा पनि मधेसी मोर्चा बोलेनन् ।”
मधेसलाई संविधानले सम्बोधन गरेको भन्दै उनले हरेक मधेसी जनताका लागि संविधानमा अधिकारको व्यवस्था भएको बताए ।
आत्मघाती आक्रमण चारको मृत्यु
अबुजा, चैत ९ । नाइजेरियाको उत्तरी राज्य बोर्नो अज्ञात सङ्ख्यामा भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा चार व्यक्तिको मृत्यु भएको छ । यस आक्रमणमा परी अन्य १८ जना घाइते भएका छन् । बुधबार बिहान सबेरै भएको यस घटनाको स्थानीय समाज सम¥वय संस्थाले जानकारी दिएको छ । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् । गत सोमबार पनि नाइजेरियाको बेनु राज्यमा कृषिमा आश्रित समुदाय बसोबास गर्ने बस्तीमा प्रवेश गरी एक बन्दुकधारी समूहले आक्रमण गर्दा अधिकांश महिला र बालबालिकासहित १७ जनाको मृत्यु भएको थियो । रासस/सिन्ह्वा
कार्यालयमा कर्मचारी अभाव, सेवा प्रवाहमा कठिनार्इ
म्याग्दी, चैत ७ । म्याग्दीमा करिब ३३ प्रतिशत कर्मचारीको अभाव छन् । म्याग्दीका सरकारी कार्यालयमा विभिन्न तहका आठ सय नौ कर्मचारीको दरबन्दी रहेकोमा हाल पाँच सय ४६ जना कर्मचारी मात्र दरबन्दीमा कार्यरत रहेको देखिन्छ । जिल्ला निर्वाचन कार्यालयले सङ्कलन गरेको कर्मचारी विवरणअनुसार म्याग्दीमा विभिन्न तहका दुई सय ६३ पद रिक्त रहेका छन् । स्थानीय तह निर्वाचन प्रयोजनका लागि कार्यालयले हालै मात्र जिल्लास्थित सरकारी कार्यालयमा कार्यरत कर्मचारी विवरण सङ्कलन गरेको थियो । निर्वाचन कार्यालयका सूचना अधिकारी बलबहादुर खत्रीकाअनुसार रिक्त दरबन्दीमा खरिदार १००, कार्यालय सहयोगी ७८ र नायब सुब्बा ६२ छन् । १३ शाखा अधिकृत र १० उपसचिवस्तरको पदपूर्तिसमेत हुुन सकेको छैन् । जिल्लाभर उपसचिव, शाखा अधिकृत, नायब सुब्बा, खरिदार, मुखिया र कार्यालय सहयोगी पदमा क्रमश २७, ५४, २१३, २८३, १ र २३१ दरबन्दी रहेका छन् । हाल उपसचिवको १७, शाखा अधिकृतको ४१, नायब सुब्बाको एक सय ५१, खरिदारको एक सय ८३, मुखिया एक सय र कार्यालय सहयोगीको एक सय ५३ पद मात्रै पूर्ति भएको सूचना अधिकारी खत्रीले बताउनुभयो । स्वास्थ्य, शिक्षा, वन, कृषि विकास, पशुसेवा, सिँचाइ, मालपोत लगायतका कार्यालयमा प्राविधिक कर्मचारीको अभाव रहेका छन् । प्राविधिक र लेखा सम्बन्धी पदमा कर्मचारीको अभाव हुँदा सेवा प्रवाहमा समेत कठिनाइ भइरहेको जिल्ला स्थित विभिन्न कार्यालयका कार्यालय प्रमुखले बताएका छन् । कर्मचारीले म्याग्दी आउन नचाहने र यहाँ दरबन्दी भएका कर्मचारी अन्यत्र काजमा रहने समस्या देखिएको छ । बेनीमा संस्थान बाहेक ३० वटा सरकारी कार्यालय रहेका छन् । कर्मचारी अभाव हुँदा पूर्वाधार योजनाको बजेट कार्यान्वयन र अनुगमन प्रभावित भएको सिँचाइ विकास सव डिभिजन कार्यालयका प्रमुख इन्जिनियर रमेशराज शर्माले बताउनुभयो । विभिन्न तहका ११ जनाको दरबन्दी रहेको सो कार्यालयमा हाल पाँच जनामात्र कार्यरत छन् । त्यस्तै २१ जनाको दरबन्दी भएको मालपोत कार्यालयमा दश जना, ४५ जनाको दरबन्दी भएको पशु सेवामा २८, ४२ जनाको दरबन्दी भएको कृषि विकासमा २५ र ६१ जनाको दरबन्दी भएको वन कार्यालयमा ४८ जना कर्मचारीमात्र कार्यरत छन् । म्याग्दीलाई दुर्गम क्षेत्रको रुपमा बुझ्ने परिपाटीले गर्दा जिल्लास्थित कार्यालयमा कर्मचारी अभाव भएको निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका जिल्ला उपाध्यक्ष डिल्लीराम रेग्मीले बताउनुभयो । “अन्यत्र भन्दा यहाँ काम गर्ने वातावरण छ तर कर्मचारीमा दुर्गम भएको भ्रम पर्दा म्याग्दीलाई रोज्दैनन्” रेग्मीले भन्नुभयो “यहाँ सरुवा भएर आउन नमान्ने र आएपछि अन्यत्रै काजमा बस्ने अर्को समस्या हो ।” प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले दरबन्दी अनुसार कर्मचारीको पदपूर्तिका लागि सम्बन्धीत कार्यालयमार्फत माथिल्लो निकाय र लोकसेवा आयोगमा पहल गर्ने बताउनुभयो । नजिकिँदो निर्वाचनलाई लक्षित गरेर काज र बिदामा बसेका कर्मचारीलाई सम्बन्धित दरबन्दी भएकै कार्यालयमै फर्काउन पहल भइरहेको प्रजिअ पौडेलले बताउनुभयो ।
सर्वोच्चमा आईजिपी नियुक्तीसम्बन्धी मुद्दा भाेलि हेरिने
काठमाडौं, चैत ६ । नेपाल प्रहरीको महानिरिक्षक आइजिपीमा जयबहादुर चन्दलाई नियुक्त गर्ने सरकारी निर्णय बिरुद्ध परेका मुद्धामा सर्बोच्च अदालतको पूर्ण इजलासमा आज सुनुवाई शुरु भएको छ । इजलास भोली पुनः सुनुवाई हुनेगरी राखिएको छ । निवेदकका तर्फका कानुन व्यबसायीको बहस नसकिएपछि सो इजलासलाई भोलिसम्मका लागि राखिएको हो । आईजिपी नियुक्तिको बिरोधमा परेका दुईवटा रिट तथा एउटा निवेदन उपर प्रधानन्यायाधीश सुशीला कार्की सहितको पूर्ण इजलासमा सुनुवाइ भएको हो । इजलासमा रिट निवेदकका तर्फवाट आज कानुन व्यबसायीले बहस गर्दै पहिलो वरियताका नवराज सिलवाललाई नै महानिरिक्षक बनाउनुपर्ने तर्क गरेका छन् । प्रहरी महानिरिक्षकमा तेस्रो वरियताका चन्दलाई नियुक्त गरिएपछि दाबेदार डिआइजी सिलवाल लगायतले सरकारी निर्णय वदर गर्न माग गर्दै रिट दायर गरेका हुन् । निवेदक पक्षको बहस सकिएपछि सरकारका तर्फबाट सहन्यायधिवक्ता र उपमहान्याधिवक्ताले बहस गर्नेछन् । यसअघि चैत ३ गते इश्वर प्रसाद खतिवडा र तेजवहादुर केसीको संयुक्त इजलासले महानिरिक्षक सम्बन्धी मुद्दा अब पूर्ण इजलासमा लैजाने निर्णय गरेको थियो । यसअघि प्रधानन्यायाधीश कार्कीको इजलासले मुद्दाको प्रारम्भिक सुनुवाइपछि सरकारी निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरकालिन अन्तरिम आदेश जारी गरेको थियो ।
२४ वर्षीया आलिया भाटको बलिउड यात्रा
चैत २ । बलिउडमा सानो उमेरमा नै चर्चित बन्न सफल बलिउड नायिका आलिया भट्ट आजबाट २४ वर्ष पुगेकी छिन् । बलिउडमा कम उमेरमा चाँडो सफलता हासिल गर्न सफल नायिकाहरुमा आलिया पर्छिन् । बालकलाकारबाट डेब्यु गरेका आलियाको फिलिम ‘संघर्ष’ पश्चात करण जोहरको ‘स्टुडेन्ट अफ द इअर’बाट नायिकाको जिन्दगी सुरु गरेकी थिइन् । ‘स्टुडेन्ट अफ द इअर’मा आलियाले पहिलोपटक मुख्य नायिकाको रुपमा प्रस्तुत भएकी थिइन् । हालसम्म उनले अभिनय गरेकामध्ये अधिकांश फिलिम सफल नै भएका छन् । साहिद कपुरसँग खेलेको आलियाको फिल्म ‘उड्ता पन्जाब’ भने सबैभन्दा झुर सावित भएको थियो । अलियाले अहिलेसम्म संघर्ष, स्टुडेन्ट अफ द इअर, उड्ता पन्जाबसहित ‘हाइवे’, ‘टु स्टेट्स’, ‘हम्पी शर्माकी दुल्हनिया’, ‘अग्ली’, ‘सान्दार’, ‘कपुर एन्ड सन्स्’, ‘ए दिल हे मुस्किल’, ‘डियर जिन्दगी’ र ‘बद्रिनाथकी दुल्हनिया’ लगायत १२ ओटा फिल्म खेलिसकेकी छन् । त्यस्तै, ‘गोइङ होम’ नामक फिचर फिल्मचाँहि उनी आफैंले बनाएकी थिइन् । उनले हम्पी शर्माकी दुल्हनिया फिल्ममा गीतसमेत गाएर गयिकाको रुपमा आफूलाई उभ्याइसकेकी छन् । आलियाले अहिलेसम्म दुई दर्जनभन्दा बढी ‘फिल्मफेयर’मा मनोनीत भएर १० ओटा अर्वाड हात पारिसकेकी छन् । त्यस्तै, ‘टाइम्स अफ इन्डिया’को ‘मस्ट डिजायरवल वमेन’को सूचीमासमेत परिसकेकी छन् । उड्ता पन्जाब र हाइवेजस्ता फिल्ममा आलिया फरक भूमिकामा देखिएकी थिइन् । उनको यो भूमिकालाई सबैले प्रशंसा गरेका थिए । अचम्मको कुरा के भने उनी अहिलेसम्म आफ्ना बाबु बलिउडकै चर्चित फिल्म निर्देशक महेश भट्टको फिल्ममा भने काम गरेकी छैनन् । उनको अर्काे ‘सेक्रेट’ कुरा भनेको उनले बेलायतको नागरिकता लिएकी छन् । यसकारण उनी भारतीय नागरिक भने होइनन् । उनी अहिले अभिनेता सिद्धार्थ मल्होत्राको साथ ‘रिलेसनसिप’मा रहेको भारतीय सन्चारमाध्यमहरुले उल्लेख गरेका छन् । एजेन्सी
हात्तीपाइलेविरूद्द ‘औषधि सेवन गराउने अभियान’
काठमाडौ, फागुन ३० । विश्वमा अपाङ्ग बनाउने सबैभन्दा ठूलो रोगको रुपमा चिनिएको हात्तीपाइले रोगविरुद्धको औषधी सर्वसाधारणले सेवन नगरेपछि अव ‘औषधि सेवन गराउने अभियान’का रुपमा सञ्चालन गर्ने भएको छ । सरकारले निःशुल्क रुपमा वितरण गरेको हात्तीपाइले रोगविरुद्धको औषधी सेवन गरे मर्न सकिन्छ भन्ने गलत हल्ला फैलिएपछि स्थानीयले डरले सो औषधीको सेवन नगरेका हुन् । स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आज पत्रकार सम्मेलन गरी आगामी चैत ५, ६ र ७ गते पहिलो चरण तथा चैत १७, १८ र १९ गते दोस्रो चरणमा यो अभियान सञ्चालन गर्ने जानकारी दिएको हो । यसअघि फागुन २१, २२ र २३ गते सञ्चालन गर्ने भनिएको यो अभियान स्थागित भएको थियो । महाशाखाले ३० जिल्लाका दुई वर्ष माथिका एक करोड आठ लाखलाई यो अभियानमार्फत हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन लागेको हो । अभियानमा १० हजार ४४९ स्वास्थ्यकर्मी र ५४ हजार ६६६ स्वास्थ्य स्वयम्सेवक परिचालन हुने निर्देशक डा. आचार्यले बताए । दुई वर्ष मुनिका बालबालिका, गर्भवती, दीर्घरोगी, छारे रोगी, एकहप्ता नपुगेका सुत्केरी, सिकिस्त बिरामीले यो औषधि सेवन गर्न नहुने उनले बताए । सन् २०२० सम्म नेपालबाट पूर्णरूपमा यो रोग निवारण गर्ने उद्देश्यका साथ सन् २०१८ सम्म सबै जिल्लाका मानिसलाई औषधि खुवाइसक्ने लक्ष्य नेपाल सरकारले लिएको छ ।
स्ववियु चुनाव : उपत्यकाका बढी क्याम्पसमा अखिल क्रान्तिकारीको विजयी अग्रता
काठमाडौं, फागुन १९ । त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसमा बुधबार भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावकको ननिजा आउने क्रम जारी छ । उपत्यकामा रहेका तीन जिल्लामा रहेका क्याम्पसमा भएको स्ववियु चनावमा मचाओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीले बढी स्थान जितेको छ । क्रान्तिकारीले अहिलेसम्म उपत्यकाका चार ठूला क्याम्पसमा अध्यक्ष सहित प्यानलै जितेको छ । यस्तै नेविसंघले एक वटा र अनेरास्ववियुले दुई वटा क्याम्पस जितेका छन् । नेपाल मजदुर किसान पार्टी निकट नेक्राविसंघले एक क्याम्पस जितेका छन् । विवाद, आगजनी र तालाबन्दीका कारण कतिपय क्याम्पसमा चुनाव स्थगित भएको छ । सानोठिमी शिक्षा क्याम्पस भक्तपुर स्थित सानोठिमी शिक्षा क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारी संयुक्त प्यानल विजयी भएको छ । जसमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका रमेश खड्का अध्यक्षमा बिजयी भएका छन् । खड्काले कुल खसेको मत मध्ये चार सय ६६ मत प्राप्त गरेका थिए । खड्काका निकटतम प्रतिद्धन्द्धी अनेरास्ववियुका लालबहादुर रोकायाले तीन सय ११ मत प्राप्त गरेका छन् । त्यस्तै, सचिवमा नेविसंघका रामबहादुर केसी बिजयी भएका छन् । केसीले चार सय ३३ मत प्राप्त गरी बिजयी भएका हुन् । उनका प्रतिद्धन्दी अनेरास्ववियुका गोरख केसीले तीन सय ५३ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा अखिल क्रान्तिकारीकी पार्वती शर्मा बिजयी भएकी छिन् । शर्माले कुल खसेको मत मध्ये चार सय २५ मत प्राप्त गरेकी थिइन् । उनको प्रतिद्धन्दी अखिल क्रान्तिकारी विप्लवका मान बहादुर डाँगीले दुइ सय ५५ मत प्राप्त गरेका थिए । सो क्याम्पसमा सात सदस्य संयुक्त प्यानलबाट नै बिजयी भएका छन्। भक्तपुर बहुमुखी क्याम्पस भक्तपुर बहुमुखी क्याम्पसमा नेविसंघ र नेक्राविसंघको संयुक्त प्यानल बिजयी भएको छ । संयुक्त प्यानलबाट बिजयी अध्यक्ष दिनेश खड्गीले पाँच सय २३ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी अनेरास्ववियुका दिपकबहादुर विष्टले तीन सय ७ मत ल्याएका छन् । त्यस्तै, सचिवमा संयुक्त प्यानलको तर्फबाट बिजयी विवेक लामिछानेले पाँच सय १२ मत प्राप्त गरेका छन् । लामिछानेका प्रतिद्धन्दी अनेरास्ववियुका सन्तोष कार्कीले दुई सय ४५ मत प्राप्त गरेका थिए । कोषाध्यक्षमा संयुक्त प्यानलका मिलन गणेजुले चार सय ९९ मत प्राप्त गरि बिजय भएका छन् । उनका प्रतिद्धन्दी अनेरास्ववियुकी सुनिता रोकाले दुइसय ४१ मत प्राप्त गरेकी थिइन् । सो क्याम्पसमा ७ सदस्य निर्वाचित भएका छन् । जसमा सातै सदस्य संयुक्त प्यानलबाटै बिजयी भएको निर्वाचन अधिकृत शेरसिङ रैखोलाले बताए । उक्त क्याम्पसमा कुल नौ सय ८० मत खसेको थियो । महाराजगञ्ज मेडिकल क्याम्पस महाराजगञ्ज मेडिकल क्याम्पसमा अनेरास्ववियुका उम्मेदवार मिलन गैरे अध्यक्षमा बिजयी भएका छन् । गैरेले कुल खसेको मत मध्ये पाँचसय १३ मत प्राप्त गरी बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी नेविसंघका सन्तोष उपाध्यायले चार सय २२ मत प्राप्त गरेका छन् । प्रत्यक्ष तर्फको सचिव पदमा युथ ईक्वालिटिकी स्वेता महतो बिजयी भएकी छिन् । उनले चार सय ८३ मत प्राप्त गरेकी छन् । महतोका प्रतिद्धन्दी नेविसंघका नरेश प्रसाद जोशीले चार सय २३ मत ल्याएका थिए । त्यस्तै कोषाध्यक्षमा नेविसंघका केशव आचार्य बिजयी भएका छन् । उनले चार सय ७३ मत प्राप्त गरी विजय भएका हुन् । आचार्यका प्रतिद्धन्दी युथ फर इक्वालिटिका सञ्जिव शाहले चार सय ५८ मत प्राप्त गरेका छन् । त्यस्तै सो क्याम्पसमा आठ सदस्य निर्वाचित भएका छन् । सो क्याम्पसमा अनेरास्ववियु, अखिल (क्रान्तिकारी) र युथ फर इक्वालिटीले संयुक्त उम्मेदवारी दर्ता गरेका थिए । सो क्याम्पसमा कुल नौ सय ६६ मत खसेको थियो । महाराजगञ्ज नर्सिङ क्याम्पस महाराजगञ्ज नर्सिङ क्याम्पसमा अनेरास्ववियुको प्यानल बिजयी भएको छ । जसमा बिमला धमलाले कुल खुसेको मत मध्ये दुई सय २० मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएकी हुन् । साथै उनको प्रतिद्धन्दी नेविसंघकी उम्मेदवार समिक्षा सुवेदीले एक सय १४ मत ल्याएकी छिन् । सचिवमा पनि अनेरास्ववियुकि उम्मेदवार आचल रेग्मी बिजयी भएकी छिन् । उनले दुई सय पाँच मत ल्याएकी थिईन् भने प्रतिद्धन्दी माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीकी शुशिला पोखरेलले एक सय २७ मत ल्याएकी थिइन् । कोषाध्यक्षमा अनेरास्ववियुकी ऋचा घिमिरे विजयी भएकी छिन् । उनले कुल खसेको मतमध्ये दुईसय ११ मत ल्याएकी छिन् भने उनको प्रतिद्धन्दी नेविसंघकी पुजा पाण्डेले एकसय २० मत प्राप्त गरेकी छिन् । यसैगरी ६ सदस्य पनि अनेरास्ववियुकै उम्मेदवार बिजयी भएका छन् । सो क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारी संयुक्त प्यानलमा उम्मेदवारी दर्ता गरेका थिए । पुल्चोक इन्जिनियरिङ क्याम्पस त्रिभुवन विश्वविद्यालयको पुल्चोक इन्जिनिययिरङ क्याम्पसमा अनेरास्ववियु क्रान्तिकारी (प्रचण्ड)का उम्मेदवार रोशन थापामगर विजयी भएका छन् । थापामगरले चार सय ९७ मत प्राप्त गरी बिजयी भएका हुन् । थापामगरका प्रतिद्धन्द्धि अनेरास्ववियुका सुदीप चालीसेले चार सय ३५ मत प्राप्त गरेका छन् । प्रत्यक्ष तर्फको सचिव पदमा अनेरास्ववियुका ओमप्रकास अधिकारी बिजयी भएका छन् । सचिवमा अनेरास्ववियुका ओम अधिकारी र कोषाध्यक्षमा प्रतिक न्यौपाने निवाचित भए । सो क्याम्पसमा ७ सदस्य निर्वाचित भएका छन् । जसमा अदिती गजुरेल, नविन न्यौपाने, अस्मिता महरा (अखिल क्रान्तिकारी), सिर्जना भुसाल, अर्जुन खतिवडा, रमेश जोशी (अनेरास्ववियु), दिपक सापकोटा (नेविसंघ) निर्वाचित भएका छन् । जनप्रशासन क्याम्पस जनप्रशासन क्याम्पसमा नेविसंघका उम्मेदवार पंकज सुबेदी क्षेत्रि अध्यक्षमा बिजयी भएका छन् । श्रेत्रीले कुल खसेको मत मध्ये एकसय ८७ मत प्राप्त गरेका थिए । क्षेत्रीका प्रतिद्धन्दी अनेरास्ववियुका टिकाराम बस्नेतले एक सय ७७ मत प्राप्त गरेका छन् । त्यसैगरी सचिवमा नेविसंघकै सन्देश आचार्य बिजयी भएका छन् । उनले दुई सय ५८ पत प्राप्त गरेका छन् । आचार्यका प्रतिद्धन्दी अनेरास्ववियुका सन्तबहादुर तामाङले एकसय १३ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा अखिल क्रान्तिकारी (प्रचण्ड)का जगदीस जोशी बिजयी भएका छन् । उनले एक सय ९७ मत प्राप्त गरेका छन् । जोशीका निकटतम प्रतिद्धन्दी अनेरास्ववियुकी शारदा जोशीले एकसय ६० मत प्राप्त गरेकी छिन् । जसमा पाँच जना सदस्य पनि संयुक्त प्यानलबाट नै बिजयी भएका छन् । सो क्याम्पसमा नेविसंघ र क्रान्तिकारीको संयुक्त उम्मेदवारी दर्ता गरेका थिए । उपत्यकाभित्र त्रिविका सातओटा आंगिक क्याम्पसमा स्ववियु चुनाव भएका थिए । जसमध्ये थापाथली इन्जिनियरिङ क्याम्पसमा मतगणना जारी छ ।
हाफ म्याराथनमा कान्छीमायाको नयाँ राष्ट्रिय ‘कीर्तिमान’
काठमाडौं, फागुन १३ । राष्ट्रिय कीर्तिमान कायम गर्दै सशस्त्र प्रहरी बलकी कान्छीमाया कोजुले ‘पिंकाथन’ काठमाडौं हाफ म्याराथनको उपाधि जितेकी छिन् । शुक्रबार सम्पन्न प्रतियोगितामा निर्धारित् २१ किलोमिटरको दूरी १ घन्टा १८ मिनेट २८ सेकेन्डमा पूरा गर्दै कान्छीमायाले प्रतियोगिताको उपाधि जित्न सफल भएकी हुन् । कान्छीमायाले ५० हजार रुपैयाँका साथै मुम्बई म्याराथनमा प्रतिस्पर्धा गर्ने अवसर पाएकी छिन् । अघिल्लो साता सम्पन्न कान्तिपुर हाफ म्याराथनमा पनि महिलातर्फ कान्छीमाया नै विजयी बनेकी थिइन् । काठमाडौं पिंकाथनमा १ घन्टा २२ मिनेट ४५ सेकेन्डमा निर्धारित् दुरी पार गर्दै नेपाली सेनाकी रेशु बस्नेत दोस्रो भइन् । उनले २० हजार रुपैयाँका साथै मुम्बई म्याराथनमा सहभागी हुने अवसर पाइन् । तेस्रो भएकी सेनाकै पुष्पा भण्डारीले १ घन्टा २४ मिनेट ३४ सेकेन्डमा निर्धारित दुरी पूरा गरिन् । उनले १० हजार रुपैयाँ प्राप्त गरिन् । काठमाडौं पिंकाथनअन्तर्गत् १० किलोमिटर दौडको उपाधि नेपाली सेनाकी सरिता बासी, दोस्रोमा भएकी आर्मीकै लक्ष्मी पाण्डे र तेस्रोमा मध्यपश्चिमकी धाविका फूलमती रानाले उपाधी जितेका छन् । १० किलोमिटरतर्फ पहिलो हुनेले २० हजार, दोस्रोले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । नेपाल एथलेटिक्स संघ सागको सहकार्यमा मुम्बईको संस्था लेजर पोर्ट र नेपालको शिवम ग्रुप होलिडेजको आयोजानमा काठमाडौंमा पहिलोपटक पिंकाथन आयोजना गरिएको हो ।
मुलुकमा विद्युत क्रान्ति शुरु भयोः ऊर्जामन्त्री शर्मा
रुकुम, फागुन १३। ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले मुलुकमा बिद्युत क्रान्तिको शुरुवात भएको बताएका छन। विहीवार रुकुममा शुरु भएको मध्यपश्चिमाञ्चल रुकुम महोत्सवलाई सम्बोधन गर्दै मन्त्री शर्माले मुलुकमा बिद्युत क्रान्तिको युग शुरु भएको बताएका हुन् । “नेपालको पानी जनताको लगानी कार्यक्रम मार्फत नेपालमा विद्युत क्रान्तिको शुरुवात भएको छ, यो क्रान्तिले समृद्ध नेपालको निर्माणमा महत्वपूर्ण भूमिका खेल्नेछ ।” उनले भने “औद्योगिकरण र समृद्धिको पहिलो आधार भनेको बिद्युत हो ।” ऊर्जा मन्त्रालयबाट अहिले जेजति काम भएको छ त्यसको प्रेरणाको श्रोत आफुलाई चनाव जिताएर पठाउने रुकुमेली जनताको भागमा पर्ने भन्दै उनले प्रधानमन्त्रीको प्रत्यक्ष निर्देशनमा काम गरिरहेको जानकारी दिए । “रुकुम जिल्लाका जनताले भ्रष्टाचार अन्त्यको लागि मलाई मन्त्री बनाएका हुन, देशलाई उज्यालो बनाउन पठाएका हुन, मेरो पुरुषार्थ र बहादुरीले काम गरेको होइन कि जनताको अपार माया र प्रेरणाले मलाई काम गर्ने ऊर्जा दिएको हो ।” इतिहासमा पहिलो पटक ऊर्जामन्त्रालय र विद्युत प्राधिकरणका कर्मचारीलाई ठाँउ ठाँउमा अभिनन्दन गरिरहेको भन्दै उनले त्यस्तो परिस्थतिको निर्माण गर्न सकिएकोमा सन्तोष व्यक्त गरे । रुकुम जिल्लामा शुरु गरिएको रुकुम उज्यालो कार्यक्रमकै जगमा आफुले उज्यालो नेपाल अभियान शुरु गरेको प्रसंग उल्लेख गर्दै मन्त्री शर्माले उज्यालो नेपाल अभियान राष्ट्रलाई समृद्ध बनाउने अभियान भएको तर्क गरे । रुकुममा मात्र ३ हजार ६ सय गिगावाट विद्युत उत्पादन क्षमता रहेको भन्दै उनले सानीभेरी नदीमा उत्तरगंगा, भेरी वान र जगदुल्ला जलविद्युत आयोजना सरकारी स्तरबाटै अगाडि बढाइने प्रतिवद्धता व्यक्त गरे
महाकाली सन्धिमा तँपाईको मौसमी राष्ट्रवाद कहाँ थियो: नेता न्यौपाने
काठमाडौं, फागुन १२ । माओवादी केन्द्रका युवा नेता लेखनाथ न्यौपानेले महाकाली सन्धिमा उदाङ्गिएको ओली राष्ट्रवाद मौसमी भएको बताएका छन् । नेता न्यौपानेले ओलीको राष्ट्रवाद सत्ता गुमाउँदाको छट्पटीमात्र भएको जिकिर गरेका छन् । आज राजधानीको नेपाल कमर्स क्याम्पसमा अखिल क्रान्तिकारीको उम्मेदवारी घोषणा कार्यक्रममा न्यौपानेले प्रश्न– ‘हिजो महाकाली सन्धिमा राष्ट्रघात हुँदा ओलीको राष्ट्रवाद कहाँ थियो ?’ ओलीको राष्ट्रवाद सक्कली र टिकाउ नभएको न्यौपानेले दाबी गरे । कार्यक्रममा युवा नेता जागृत रायमाझीले ओलीले हाँस्य ब्यङग्य कलाकारहरुलाई माथ गर्न थालेको चर्चा गरे । कार्यक्रममा अखिल क्रान्तिकारी उपाध्यक्ष रञ्जित तामाङले आगामी फागुन १८ गते हुने स्ववियु निर्वाचनका लागि राजेस मैनाली अध्यक्ष र भुपेन्द्र कट्टेल सचिव रहेको टिम घोषणा भएको छ ।
बहिरा विद्यार्थीलाई उपाधि
बागलुङ, फागुन १२ । छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि धवलागिरि बहिरा आवसीय विद्यालयले जितेको छ । जिलाका ६६ विद्यालय सम्मिलित जिल्लास्तरीय प्रतियोगितामा पाँच स्वर्ण पदकसहित ११५ अङ्क प्राप्त गरी सो विद्यालयले उपाधि चुमेको हो । ‘रनिङ शिल्ड’ सँगै विद्यालयले रु ५५ हजार ५५५ पुरस्कार, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । तीनवटा निर्वाचन क्षेत्रमा भएका क्षेत्रीय छनोट प्रतियोगिताबाट छानिएर आएका एक हजार ३३८ प्रतिस्पर्धी विद्यार्थीलाई उछिन्दै बहिरा विद्यार्थीले उत्कृष्ट खेल प्रदर्शन गरेका हुन् । उक्त विद्यालयले युवा तथा खेलकुद मन्त्रालयबाट रु ५० हजार पुरस्कार प्राप्त गर्नेछ । छात्रछात्रा भलिबल, कबड्डी, एथलेटिक्सलगायत १५ विधामा भएको प्रतियोगितामा ११२ अङ्कका साथ कालिका कन्या माध्यमिक विद्यालय दोस्रो र बलेवा नारायणस्थानको जनताधन माध्यमिक विद्यालयले ९५ अङ्कका साथ तेस्रो स्थान प्राप्त गरेको समितिका सदस्य सचिव भीमसेन शाक्यले जानकारी दिए । दोस्रो र तेस्रो हुने विद्यालयले क्रमशः रु ३३ हजार ३३३ र रु २२ हजार २२२ पुरस्कार प्राप्त गरेका छन् । जिल्लाबाट छनोट भएका खेलाडीले अब पश्चिमाञ्चल क्षेत्रीयस्तरको छनोट खेलमा सहभागिता जनाउने छन् । एकल विधामा पहिलो हुने खेलाडीले सोझै क्षेत्रीय प्रतियोगितामा भाग लिन पाउनेछन् । बाङ्गेचौर खेलमैदानमा आयोजना गरिएको प्रतियोगितामा खेलाडीले कुल २२२ पदकको लागि प्रतिस्पर्धा गरेका थिए ।
अमेरिकाबाट फर्केपछि फेसबुकबाटै यौन धन्दा
काठमाडौं, ४ फागुन । सामाजिक सञ्जाल फेसबुकले टाढा रहेका एक अर्कालाई जोडेको छ । यसबाट धेरैले लाभ पनि लिएका छन् । तर, पछिल्ला दिन सम्बन्ध प्रगाढ बनाउने साधन सामाजिक सञ्जाल अपराध गर्ने साधन बन्दै गएको छ । पछिल्लो उदाहरण मंगलबार प्रहरीसमक्ष आइपुगेको सामाजिक सञ्जालमार्फत भएको एउटा आपराधिक घटना हो । २१ वर्षीया एक युवतीमाथि एक युवाले सामाजिक सञ्जालमार्फत दिएको यातना अनौठो मात्र छैन, प्रयोगकर्ताका लागि जिब्रो टोक्नुपर्ने पनि छ । आजको राजधानी दैनिकमा खबर छ– अपरिचित युवकले ती युवतीलाई फोनमार्फत बारम्बार यौनसम्बन्धको प्रस्ताव मात्र राखेनन्, अश्लील सन्देश पठाएर हैरान पारे । युवती प्रहरीकहाँ पुगिन् । प्रहरीले तुरुन्तै युवतीलाई यस्तो प्रस्ताव राखेको अभियोगमा ललितपुरको ग्वार्कोबाट सागर धिताललाई पक्राउ ग¥यो । सागरले कहिल्यै नचिनेकी केटीको फोन नम्बर एउटा फेसबुक अकाउन्टबाट पत्ता लगाएका रहेछन् । त्यसपछि प्रहरीको अनुसन्धानको सुई अश्लील नाम दिएर खोलिएको फेसबुक अकाउन्टतिर सोझियो । प्रहरी अनुसन्धानपछि खुल्यो, सो अश्लील अकाउन्ट दुई वर्ष अमेरिका बसेर फर्केपछि एक निजी कम्पनीका जागिरे सुरज बस्नेतले चलाइरहेका रहेछन् । अनौठो त के छ भने, सेक्स धन्दाको सञ्जाल फैलाउनकै लागि बस्नेतले सो फेसबुक अकाउन्ट चलाएका रहेछन् । प्रहरीको अहिलेसम्मको अनुसन्धान भन्छ, ‘संगठित यौध धन्धा चलाउने र आफ्ना पक्षमा नदेखिने महिलाको हुर्मत लिनकै लनगि केही व्यक्तिको संलग्नतामा संगठित धन्दा भएको देखिन्छ ।’ ती व्यक्तिले खोेलेको एकाउन्टमा २३ युवतीका टेलफोन नम्बर सार्वजनिक गरिएको छ । बस्नेतले नाम र फोन नम्बर सार्वजनिक गरेको फेसबुक अकाउन्टलाई यौनसम्बन्ध राख्नका निम्ति फोन गर्न सकिने सूचना पोस्ट गरिएको प्रहरीको भनाइ छ । सो एकाउन्ट बन्द गरेर अहिले प्रहरी थप ‘कनेक्सन’ को खोजीमा छ । प्रहरीका अनुसार बस्नेत आफैं पनि कैयन युवतीहरूसँग फोन वा फेसबुकमार्फत सम्पर्कमा पुग्ने, उनीहरूलाई यौनसम्बन्धका निम्ति बाध्य बनाउन धम्काउने र बाध्य बनाउने कार्यमा संलग्न छन् । प्रहरीले धिताललाई सार्वजनिक अपराध ऐन र बस्नेतलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत मुद्दा चलाएको छ । महाशाखाका साइबर पिलर सम्हालिरहेका डीएसपी पशुपति रायले फेसबुकमार्फत यौन धन्दाको सञ्जाल चलाउने यस्ता अभ्यास अत्यन्तै नौलो भएको बताए । उनले अश्लील सामग्री राख्ने अन्य केही फेसबुक पेज र अकाउन्टबारे पनि अध्ययन भइरहेको बताए ।
तामाङ समाज युएईको आयोजनामा ल्होछार पर्व सम्पन्न
युएई, १ फाल्गुन । मध्यपुर्वको विकसित शहर युएईको दुबईमा तामाङ समाज युएईको आयोजनामा “भाषा, लिपि, मौलिक संस्कृति तामाङको पहिचान, संसार भरिका सबै तामाङले ल्होछार मनाउन यो हाम्रो अभियान” भन्ने मुल नाराको साथ ल्होछार पर्व सम्पन्न भएको छ । २८५३ औं झ्या (चरा वर्ष) शुभारम्भको शुभ अवसरमा नेपालीहरुको संस्कृतिक पर्व सोनाम ल्होछारको औपचारिक कार्यक्रमको प्रमुख अतिथिका रूपमा माननीय संसद तीर्थ लामा र महामहिम कार्यबाहक राजदुत नेत्र बहादुर टन्डन, बिशेष अतिथिमा नेपाल आदिबासी जनजाति महासंघ युएईका अध्यक्ष डिआर गुरूङ तथा नेपाली समाज युएईका अध्यक्ष सिपी सापकोटा, अतिथिहरूमा नेपाल आदिबासी जनजाति महासंघ युएईसँग आबद्ध बिभिन्न जातिय संस्थाका प्रमुखहरू लगायत युएईमा स्थापित बिभिन्न संघ-संस्थाका प्रमुखहरू, प्रायोजकहरू तथा पत्रकारहरूको उपस्थिति भएको थियो । निर्धारित समय भन्दा केही समय ढिलो सुरु भएको उक्त कार्यक्रममा बौद्ध परम्परा अनुसार लामा गुरूबाट पुजापाठ गरी सुरू गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथिले छ्युमीमा दीप प्रज्वलन गरेका थिए । कार्यक्रमका सभापति तथा तामाङ समाज युएईका अध्यक्ष महेश मोक्तानले दुबै प्रमुख अतिथिहरूलाई तामाङ टोपी र फेङ्गा लगाई स्वागत गर्दै सोनाम ल्होछारको शुभकामना प्रदान गरेका थिए । तामाङ तथा अन्य समुदायका नेपालीहरुको बाक्लो उपस्थितिमा कलाकार जयनन्द लामा लगायतका स्थानिय कलाकारहरुको विजोड प्रस्तुति रहेको थियो। कलाकार जयनन्द लामाको मिठो हाँस्यव्यंग्य एवं तामाङ शेलो गीत उपस्थिति दर्शकहरु बिजोडले मनोरञ्जन लिइरहेका देखिन्थ्यो । जयनन्द लामाले सयौको संख्यामा उपस्थित दर्शकहरू माँझ कलकत्ते काईयो, चुई चुई चुई खाने जुत्ता, आँखाको रमझम लगायत आफ्ना आधा दर्जन चर्चित गीतहरू प्रस्तुत गर्दा गायक लामा संगै गीतहरू गाँउदै-नाच्दै दर्शकहरूले साथ दिएका थिए । कलाकार तथा सञ्चारकर्मी अन्जुली लोप्चन, तामाङ चलचित्रका नायक बिजय लामा र अन्य कलाकारहरु बिक्रम लामा, सन्दिप ग्यावक, बिमला बज्यू, सुष्मा तामाङ, निरू गोले, सोम लामा, ल्हामु शेर्पा, प्रदिप पुन मगर, रेबिका मगर, प्रख्यात मोक्तान, बिक्रम वाईबा, अन्जुली लोप्चन, सुब्बा बल तामाङ, लाक्पा योन्जनले तामाङ सेलोमा उत्कृष्ट गायन तथा नृत्य प्रस्तुतिहरू प्रस्तुत गर्दै दर्शकहरूलाई भरपुर मनोरन्जन गराएका थिए । उक्त कार्यक्रममा माननीय संसद तिर्था लामाले तामाङहरु संस्कृतिक रुपमा मात्रै नभई राजनैतीक रुपमा अगाडि आउने पर्ने बताउनु भयो । उहाँले तामाङ कबिता बाचन समेत गर्नु भएको थियो । यसै कार्यक्रमका बीच गायक चन्द्र वाईबा (प्राङबो) को गीति एल्बम “ह्याङला खाजिम” र गायिका सरस्वती लामाको गीति एल्बम “उर्बसी – २” लाई तामाङ समाज युएईका अध्यक्ष महेश मोक्तान, शेर्पा किदुङ युएईका अध्यक्ष पासाङ शेर्पा र काभ्रे सम्पर्क समिति यूएईका अध्यक्ष दिल वाईबाले सामुहिक रूपमा युएईमा बिमोचन गर्नु भएको थियो । कार्यक्रममा उत्कृष्ट भेषभुषा लगाउनेलाई सम्मान स्वरूप “मायाको चिनो” प्रदान गरिएको थियो । उत्कृष्ट भेषभुषा पुरुषमा शेर्पा किदुग युएईका अध्यक्ष पासाङ शेर्पालाई प्रदान गरिएको थियो भने महिलामा नानु गोले र अनिता लुङ्बालाई प्रदान गरियो । कार्यक्रम तामाङ समाज युएईका महासचिब सनिल घिसिङ र सचिब बसन्ति दोङले संचालन गरेका थिए ।
स्वास्थ्यमन्त्री थापाले यस्तो दिए केपी ओलीलाई सुझाव
पोखरा, माघ २९ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले संविधानको कार्यान्वयनमा काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको दाबी गरेका छन् । नेपाल विद्यार्थी सङ्घ इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्माञ्चल क्याम्पस, पोखरा इकाइ समितिद्वारा प्रकाशित ‘जय नेपाल’ स्मारिका तेस्रो अङ्कको शनिबार विमोचन गर्दै उनले कांग्रेसकै नेतृत्वमा जारी भएको संविधानको कार्यान्वयन गराउन लागिपर्ने बताए । लोकतन्त्र प्राप्तिका विभिन्न आन्दोलनको अगुवाई गर्ने कांग्रेसले नयाँ संविधानको कार्यान्वयनलाई प्राथमिकतामा राखेको उनले बताए । हिमाल, पहाड र तराईबीचको एकताले नै देशको राष्ट्रियता बलियो बन्ने उनले बताए । एमाले अध्यक्ष केपी ओलीको नामै नलिइ मन्त्री थापाले भने–‘केन्द्रमा बसेर चर्का राष्ट्रियताका नारा लगाउनुभन्दा हिमाल, पहाड र तराईमा रहने नेपाली जनताको भावना र मर्मलाई बुझ्नु आवश्यक छ ।’ नेपाली काँग्रेस कास्कीका उपसभापति हरि आचार्यले विद्यार्थीका सिर्जनात्मक भावनालाई समेट्नका लागि प्रकाशित स्मारिका बहुउपयोगी बन्ने अपेक्षा गरे । नेपाल विद्यार्थी सङ्घ इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसका अध्यक्ष आदर्श लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल विद्यार्थी सङ्घका केन्द्रीय उपाध्यक्ष डिल्लीराम सुवेदी, नेपाली काँग्रेस कास्कीकी कोषाध्यक्ष लक्ष्मी पाण्डेलगायतले धारणा राखेका थिए ।
आकस्मिक रुपमा बोलाइयो मन्त्रीपरिषद्को बैठक
काठमाडौं, माघ २७ । केही विषयमा महत्वपूर्ण निर्णयका लागि मन्त्रीपरिषद्को आकस्मिक बैठक डाकिएको छ । बिहीबार विहान बस्ने भनिएको मन्त्रिपरिषद् एक्कासी स्थगित गरिएको थियो । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक खोजवीनका लागि बेपत्ता आयोगको म्याद आज विहिबारदेखि सकिन लागेकोले त्यसको म्याद थप गर्न आकस्मिक रुपमा बैठक बोलाइएको हो । मन्त्रीपरिषद् बैठककै लागि नेकपा माओवादी केन्द्रको हेडक्वार्टर बैठक समेत स्थगित गरिएको छ । हेडक्वाटर बैठक बिहिबार दिउँसो तीन बजेको लागि बोलाइए पनि अन्तिममा स्थगित गरिएको हो । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चन्द्र खनालले प्रधानमन्त्रीको व्यस्तताको कारण हेडक्वाटरकाे बैठक स्थगित गरिएको जानकारी दिए । आजको बैठकमा चुनावको मिति, राज्य पुर्संरचना आयोगको प्रतिवेदन, सांगठनिक विषयलगायतका विषयमा छलफल हुने तय गरिएको थियो ।
प्राधिकरणको जिल्ला कार्यालयमा कर्मचारी अभाव, ७० दरबन्दीमध्ये ५८ पद रिक्त
काठमाडौँ, माघ २७ । भूकम्पपछिको पुनःनिर्माणलाई तीव्रता दिन गठन गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा दरबन्दीअनुसारका कर्मचारी पूर्ति हुन नसक्दा काम अघि बढ्न सकेको छैन । प्राधिकरण केन्द्रीय कार्यालयमा ७० जना कर्मचारीको दरबन्दी रहेकामा १२ पद मा मात्र कर्मचारी रहेको प्राधिकरणका सचिव डा. सञ्जय शर्माले लाई जानकारी दिए । “प्राधिकरणमा प्राविधिकतर्फको सहसचिव एक, प्राविधिक उपसचिव तीन, प्राविधिक शाखा अधिकृत १०, शाखा अधिकृत प्रशासन एक र प्राविधिक नायब सुब्बा छ पद रिक्त छ, दरबन्दीअनुसार कर्मचारी नहुँदा काममा प्रभाव परेको छ, जिल्ला कार्यालयमा उपसचिव भए अरु कर्मचारी करारमा लिएर काम गर्ने गरी सामान्य प्रशासन मन्त्रालयमा पत्राचार गरिएको छ, स्वीकृत भएर आएपछि कर्मचारी करारमा लिने प्रक्रिया सुरु हुन्छ” – उनले भने । जिल्ला समन्वय समितिको कार्यालयमा ७० दरबन्दी रहेकामा १२ जना कार्यरत छन् भने ५८ पद रिक्त छ । जिल्ला कार्यालयमा राजपत्राङ्कित द्वितीय श्रेणी नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूहका १४ उपसचिवमध्ये आठ पद पूर्ति छ भने छ पद रिक्त छ । राजपत्राङ्कित तृतीय श्रेणीका १४ इन्जिनियरको दरबन्दीमध्ये चार पदमात्र पूर्ति छ, १० पद खाली छ । पुनःनिर्माणमा प्राविधिक कर्मचारीको सङ्ख्या कम हुँदा काम गर्न समस्या भएको बुधबार सार्वजनिक लेखा समितिको बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा. डा. गोविन्दराज पोखरेलले बताएका थिए । प्राधिकरणमा आउँछु भनेका कर्मचारीलाई पनि मन्त्रालयले पठाउन ढिलाइ गरेको उनको गुनासो थियो । जिल्ला कार्यालयमा १४ लेखापाल र २८ सिभिल इन्जिनियरको दरबन्दीमध्ये सबै पद रिक्त छ । भूकम्प अति प्रभावित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, धादिङ, रसुवा, नुवाकोट, काठमाडौँ, ललितपुर र भक्तपुरमा जिल्ला कार्यालय सञ्चालनमा कर्मचारी अभाव भएको हो । जिल्ला कार्यालयमै कर्मचारीको अभाव हुँदा गाउँ गाउँमा खटिएका इन्जिनियरको समन्वयमा समस्या भएको छ । जसका कारण पीडितले गाउँमा इन्जिनियरलाई भेट्न नसकिएको गुनासो आइरहेको प्राधिकरणले जनाएको छ । पहिलो किस्ताको रु ५० हजार बुझेर पुनःनिर्माण सुरु गरेका पीडितले कर्मचारी अभावकै कारण समस्या खेप्नुपरेको छ ।