ठूलो संख्यामा विज्ञापन खोल्दै लोकसेवा
काठमाडौं, वैशाख २८ । लोकसेवा आयोगले स्थानीय तहका लागि विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी भर्नाको विज्ञापन गर्ने तयारी थालेको छ । लामो समयदेखि अवरुद्ध हुँदै आएको प्रशासनलगायतका विभिन्न सेवा समूहका पदमा लोकसेवाले भर्नाको गृहकार्य थालेको हो ।
आयोगले जेठको दोस्रो सातासम्म विभिन्न तहमा विज्ञापन गर्ने गरी गृहकार्य अघि बढाइएको जनाएको छ । आयोगका अनुसार आगामी ६ महिनाभित्रै स्थानीय तहका विभिन्न पदमा हजारौं कर्मचारी सिफारिस नै गर्नेगरी आवश्यक गृहकार्य अघि बढाइएको हो । लोकसेवाले स्थानीय स्तरका तह ४ देखि ९ सम्मको पदमा विज्ञापन गर्ने तयारी गरेको छ ।
आयोगले स्थानीय तहका लागि श्रेणीगत नभएर तहगत पदमा विज्ञापन गर्ने गृहकार्य थालेको छ । कर्मचारी समायोजन गर्दा स्थानीय र प्रदेश स्तरमा तहगत पदको व्यवस्था गरिएकाले आयोगले सोहीअनुसार स्थानीय तहमा रिक्त रहेका विभिन्न तहमा भर्ना गर्ने प्रक्रिया अगाडि बढाएको हो । आयोगले हालको श्रेणीगत पदको पाठ्यक्रमलाई नै तहगत पदको लागि पनि मिल्ने गरी आवश्यक व्यवस्थापन गर्ने भएको छ ।
लोकसेवा आयोगका सचिव महेन्द्रप्रसाद गुरागाईंले सरकारबाट स्थानीय तहमा रिक्त पदमा पदपूर्तिको माग भई आएकाले त्यससम्बन्धी गृहकार्य अघि बढाइएको जानकारी दिए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार लोकसेवालाई पत्र पठाउँदै ४३७ वटा स्थानीय तहमा ११ हजार ४९२ पदमा पदपूर्ति गर्ने व्यवस्था मिलाउन आग्रह गरेको थियो ।
मन्त्रालयले अझै केही स्थानीय तहबाट रिक्त पदको विवरण आउने क्रम रहेकाले केही पद थप गरेर पठाउन सकिने जानकारी आयोगलाई दिएको छ । सोहीअनुसार अयोगले थप भएका पदलाई समेत समेटेर विज्ञापन गर्ने तयारीमा जुटेको हो । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।
बुधबार फेरि तोलामा कतिले घट्यो सुनको भाऊ ?
काठमाडौं, वैशाख ११ । साताको चौथो दिन बुधबार फेरि नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले घटेको छ। मंगलबार छापावाला सुन प्रतितोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि घटेर सुन प्रतितोला ५९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै, मंगलबार तेजावी सुन ५९ हजार रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि घटेर सुन प्रतितोला ५८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै, बुधबार बजारमा चाँदीको मूल्य दश रुपैयाँले घटेको छ । मंगलबार चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर चाँदी ७२० रुपैयाँमै कारोबार भइरहेको छ।
कृषि पेशाबाटै वैदेशिक रोजगारीलाई टक्कर दिने मुनाफा (भिडियोसहित)
उमेश बन्जाडे, दाङ । राज्यले अझैसम्म असली कृषकहरुको पहिचान गर्न नसकेको गुनासो धेरै पहिलेदेखि बाहिर आइरहेको । देशका अन्य क्षेत्रमा जस्तै कृषिमा पनि टाठाबाठाहरुकै हालीमुहाली रहेको कुरा प्रष्ट छ । यदाकदा राज्यले ल्याउने कृषि अनुदान वा कृषिसँग जोडिएका कार्यक्रमहरु पनि चतुर सरदार र ठेकेदारकै मुठ्ठीमा कैद हुनेगरेको कृषकहरु बारम्बार दुखेसो पोखिरहन्छन्। प्रायः नेपाली युवाहरुले रोजगारीको गन्तव्यका रुपमा यतिबेला विदेशलाई छनोट गर्छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक बाहिरिने हजारौं युवाहरुमध्ये अधिकांशले अरब र खाँडीमा पैताला टेक्छन् भने केही युरोपतिर लाग्छन् । गाउँमा युवाहरूको खडेरी परेको छ । यद्यपि ‘गर्नसके स्वदेशकै माटोमा सुन फलाउन सकिन्छ’ भन्ने मान्यतालाई मनन गर्दै दाङ, देउखुरीका एक युवाले कृषि पेशा बाटै मनग्ये आमदानी गर्दै आइरहेका छन् । दाङको लमही नगरपालिका ४ भैंस्कोर्माका युवा कृषक रमाकान्त चौधरी २० वर्षदेखि कृषि पेसामा आवद्ध छन् । उसोत थारु समुदायको बाहुल्यता रहेको त्यो गाउँका रमाकान्त चौधरी मात्रै होइनन् । अन्य स्थानीयले पनि तरकारी लगायतका कृषिजन्य वस्तुको उत्पादन गर्छन् । दिनभर खेतिपातीमा व्यस्त रहने त्यहाँका कृषकहरु उत्पादित तरकारी निर्यातका लागि विहानै आसपासका गाउँ हुँदै बजारसम्म पुग्छन् । रमाकान्त चौधरीको पनि उसैगरी दैनिकी बितिरहेको छ। तुलनात्मक रुपमा रमाकान्त चौधरी अल्लि बढी मात्रामै कृषिमा निर्भर रहेको उनी स्वयं बताउँछन् । विदेशमा जत्तिको पसिना बगाए स्वदेशमै थुप्रै मुनाफा गर्न सकिनेमा उनी विश्वस्त छन् । बाँकी हेर्नुस् तलको भिडियोमा–
थला बसेको शक्तिशाली सत्ता
प्रधान सेनापित र पशुपतिको पुजारी काण्डको फेरो समाएर तत्कालीन एमाले र कांग्रेसले तत्कालीन शक्तिशाली माओवादीलाई थला पारे । युद्ध भूमिको जंगि स्वभाव सहित सबैलाई उछिट्याउने दाउ सहित जुँगाको ताउ मिलाएर सत्तामा पुगेका प्रचण्डले केही गर्ने छाँट त देखाएकै हुन्, तर उनको आवेग र झोकले मात्रै केही गरेन। देश तोड्छु भन्नेहरू र देश जोड्छु भन्नेहरू मिले । राजा ल्याउँछु भन्नेहरू र राजा फ्याँक्नेहरू पनि मिलेकै थिए । संविधान बनाउनेहरू र त्यही संविधान च्यात्नेहरू पनि मिले । तर यो देशबाट हराएको सुशासन र समृद्धि भन्नेकुरो प्रधानमन्त्री र मन्त्रीका ओठमा मात्रै भेटियो । आउँदा निर्वाचनका प्रतिबद्धताहरुमा देश बनाउने होइन, नेता बन्ने पंक्तिलाई केन्द्रविन्दुमा राखौं । ‘कमाउ र राजगरुको सिद्धान्तलाई निधारमा टाँसेर विकास र निकासका बुँदाहरु पुछारमा झुण्ड्याउँ। आखिर हुँदै आएको र भइरहेको यही त हो । सामान्य वडा सांसद (वडा सदस्यहरु)को निर्वाचन पश्चातको रहनसहन देखेर समाजले जिब्रो टोक्छ भने प्रदेश र प्रतिनिधि सभाका सांसदको के कुरो । गाउँ गाउँमा सिंहदरबारको घण्टी बजाएर ल्याइएको स्थानीय सरकारले मैमत्त भएर रजाइँ गरेको छ। ऊ आफै ठेक्कापट्टा, टेण्डर र कमिसनमा मस्त छ भने, गाउँहरु दलालहरुको कर्मकाण्डले ऐठन पार्दा मुर्झाएर घुँडा टेकेका छन् । दलाल तथा नोकरशाही व्यवस्थाका विरुद्ध जंग लडेर सत्तामा पुगेका कामरेडहरुको असलियतका बारेमा यी अक्षर पढिरहेका तपाइँ नै बर्ता जानकार हुनुहुन्छ । कम्युनिस्ट कार्यकर्ता द्वन्द्ववादी हुँदैन, प्रश्नशील हुँदैन र नेतृत्वलाई स्याबास् ! मात्रै भन्छ भने बुझ्नू( ऊ दास हो ।’ यो मान्यतालाई म उहिल्यैदेखि शिरोपर गर्दै आएको छु । अनर्थ नलागोस । सीधा कुरा यो हो कि ‘म कसैको शुभेच्छुक हुँला यद्यपि कार्यकर्ता वा दास होइन ।’ भन्दा मुटु बिझाउला । सुन्दा अप्रीय लाग्ला । र यथोचित मनन नगर्ने कामरेडहरु आफैलाई यो विचार भद्दा लाग्ला । देशभक्तको छेउलो ओढेर देशका हाडछाला लुछ्न तल्लीन मनुष्य रुपधारीलाई घोचोस् चाहे बिझावस मलाई मत्लब भएन । यतिखेर गणतन्त्रको साइनबोर्डमुनि शाहीकालीन चाकरीले पराकाष्ठा नाघेको छ । राष्ट्रियता र सुशासनको बियाँ केलाउँदै हिँडेको सरकार बाटोमै निदाएको छ । एकजना प्रसिद्ध दार्शनिकले भनेका छन् ुसगरमाथा चढ्ने कुरो महत्त्वपूर्ण होइन, बरु त्यो चुचुरोमा कतिन्जेल टिक्यो भन्नेकुरो नै महत्त्वपूर्ण हो ।’ नेपाली कम्युनिष्टहरुको हकमा अति सान्दर्भिक युक्ति हो यो । अझ नेपालको इतिहासमा त्यति ठूलो रक्तपातपुर्ण क्रान्ति हाँकेर यहाँसम्म आएको नेतृत्वसँग यो भनाइ हुवहु मेल खान्छ । प्रचण्डसँग मात्रै होईन, वैद्य, बाबुराम र विप्लवहरुका कार्यशैलीसँग पनि यो युक्ति ठ्याक्कै मिल्छ । किनकी यिनीहरु शिखरमा त पुगे, तर बाहदुरी ताका साथ त्यहाँ टिक्न सक्ने ल्याकत राखेनन् । समग्रमा यिनै भयंकर क्रान्तिकारीहरुको विभाजनले पुरातनका रैतिहरु बिउँझिए। फलस्वरूप अहिले ‘को अग्रगामी र को प्रतिगामी ?’ भन्ने कुरो तोरिमा तिल मिसाएझैँ भएको छ। म मान्छु, देशमा झाँगिदै गएको वर्तमान दुर्दशा यो सरकारले जन्माएको होइन । परन्तु यसमा जनसेवाको बर्को ओढेर यो सत्ताको नुनपानी हसुर्नेहरुको अहम भुमिका रहेको कुरो नकार्न सकिँदैन। जनताको अथक त्याग, बलिदान र पसिनाले आर्जेको यो व्यवस्थालाई नितान्त आफ्नै खोपीको दियो सम्झिनेहरु नै देशका शत्रु हुन् । जसरी रक्तरञ्जित सिंहासन ढल्दा राजतन्त्र भुइँमा घोप्टियो, त्यसरी नै आजसम्मका आंशिक उपलब्धिहरुलाई पनि यिनैले वाग्मतीमा दैनिक सेलाइ रहेका छन् । राजतन्त्रको रिक्त स्थान परिपुर्ति गर्न सत्ताको लिस्नो उक्लिने तत्कालीन भसक्कै क्रान्तिकारीहरुका स्वाभिमानी स्वरहरु सत्ताको भिरबाट गुल्ठिएपछि देश उँधो गति धकेलिएको सत्य हो । बाँकी पहिलेदेखि गन्हाएकाहरुको के कुरो । देशमा विगतका बेथिति विरुद्ध कुइरिपुत्योल जंगिनेहरुको शक्तिशाली सत्ता छ । त्यो शक्तिशाली सत्ता विगतका सपना र वर्तमानका विपनाको बोझले थलिएर आफ्नै मझेरिमा कुप्रो परेको छ। उसले छुट्याउनै सक्दैन, सहानुभूति दर्शाउने र उछितो काड्नेहरु बिचको फरक । सायद यो सत्ता सुखले प्रदान गर्ने मदहोशीको दोष हुनुपर्छ । बेलाबखत सवल प्रतिपक्षीको बर्को ओढेर संसद भवनमा भैलेनी भट्ट्याउनेहरु आफ्नै घर झगडाले घोसे मुन्टो लगाएर बसेका छन् । हुनत देश उत्तानो पार्ने अभियानमा उनीहरुको पनि कम्ती योगदान छैन । र पनि मक्किएर जिर्ण बनिसकेको कांग्रेसलाई अलिकति सुधारवादी धार समात्ने सुनौलो मौका थियो । प्रतिपक्षमा बस्दा नामी होला भन्ठानेको कांग्रेस झन् प्रश्चगामी निस्कने अब निश्चित जस्तै भो। पहिले देश डुव्नुको कारकतत्व राँणा, पञ्चे, राजा र काँग्रेसलाई मात्रै देखिन्थ्यो भने अब त्यहाँ अर्को पंक्ति पनि थपिने छ । र जपिने छ देश बिगार्नेहरुको कित्तामा त्यो नाम । हुन त मार्क्सको नाम बेची साम्राज्यवादको खेताला बनेर कमाई खाने क्रान्तिकारीहरूले एकपल्ट ऐना हेर्न जरुरी छ । र सत्यताको पुष्टि गर्न आफ्नै नाकको टुप्पोमा टाँसिएको कालो दाग मेट्न सक्नुपर्ने छ । गतिशीलताको नाममा आधुनिक गाडीको लावालस्कर र साइरनको हुंकार प्रदर्शन गर्दै चर्पी उद्घाटन गर्न कुँद्ने वर्तमान सरकार अझै २० वर्ष चलेपनि देश उमो लाग्दैन, यो पंक्तिकार स्वयंको ठोकुवा हो । हुन त यो व्यवस्थाले पनि धेरैको पेटमा माँड लगाएको छ । हिजोका शत्रुहरुबीच दरबारको पटांगिनिमा मोलमोलाइ चलिरहेको छ । पहुँचका भरमा दैलो कुचेर लोकाचार पार्नेहरुलाई फलिफाप पनि भएको छ। यद्यपि विभिन्न माध्यमबाट यि घिनलाग्दा दृश्य अवलोकन गर्नेहरु लाजले ठहरै परेका छन् । किनकी ? देश लुट्ने कुरामा यहाँ कोहि कसैको विरोधी देखिएन । बरु बनाउने सन्दर्भमा सधैं विमती देखियो। मुखले मनलाग्दि जोत्ने र व्यबहारले सिन्को समेत नभाँच्ने यो सरकारको शुद्धी कति रहेछ भन्नेकुरो विप्लव नेतृत्वको नेकपा प्रति आंगिकार गरिएको निशेधको नितिले प्रष्ट पार्छ । प्रतिबन्ध समाधान होइन द्वन्द्वको निमन्त्रणा हो। २१ औं शताब्दीमा राज्यले जनआवाज दमन गर्न सक्दैन। सत्ताको नेतृत्व गर्नेलाई हिंसा बमन गर्न केले उक्साउँदो हो ? अझ स्वयं प्रधानमन्त्रीलेनै सेना गुहारेको खबरसमेत सतहमै आए । आफैलाई मस्तै चतुर ठन्नेहरुले सिस्नाको आँठो समातेपछि पोल्यो भनेर स्वाङ् पो केलाई पार्नु ? अन्तमाः समृद्धि र सुशासनको ओछ्यानमा ढल्किएर थला बसेको सरकारको चिर निदरी छिट्टै खुलोस। साथसाथै देशले निकास र विकासको मार्ग पहिल्याएर उमो लाग्न नसके पनि उँदो नलागोस । समग्रमा, न त सदनमा चर्को प्रतिपक्षी छ, न त सरकार नै अल्पमतमा । र पनि यसको गतिशीलता झुसिलकिराको भन्दा मत्थर छ । अझ अजिवलाग्दो कुरो त यो छ कि, त्यतिधेरै उखान टुक्काको भकारी फस्टाएर देशलाई उहिल्यै समृद्धि पथमा हुँइक्याउछु भन्दै धर्ती उधिन्ने शक्तिशाली सत्ता किन आफै थला बसेको होला ? धत् !!
आज पनि ९ जिल्लाको नतिजा सार्वजनिक (नतिजासहित)
काठमाडौं, चैत ३ । शिक्षक सेवा आयोगले आइतबार कार्यरत अस्थायी शिक्षकको ९ जिल्लाको प्राथमिक तहको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै रोल्पा, रुकुम, धनुषा, सल्यान, दोलखा, रामेछाप, सर्लाही, सिन्धुली र महोत्तरी जिल्लाको नतिजा सार्वजनिक गरेको हो । हेर्नुस् नतिजा– सर्लाहीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सिन्धुलीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् महोत्तरीको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् रोल्पाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् धनुषाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सल्यानको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् दोलखाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् रामेछाप को नतिजा हेर्न यहाँ क्लिक गर्नुस् रुकुमको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
विप्लवका पोलिटब्यूरो सदस्य कार्की पक्राउ
काठमाडौं, चैत २ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पोलिटब्यूरो सदस्य मोहन कार्की ‘जीवन्त’ पक्राउ परेका छन् । उनलाई महानगरीय अपराध महाशाखाबाट खटेको टोलीले शुक्रबार साँझ ललितपुरस्थित उनको डेराबाट पक्राउ गरिएको हो । केही दिनअघि नेकपामाथि प्रतिबन्ध लगाएपछि सरकारले उक्त पार्टीका नेता कार्यकर्तालाई जहाँ देखे पनि पक्राउ गर्दै आएको छ ।
१८ किलो सुनको छाना लगाएपछि यस्तो देखियाे मनकामना मन्दिर
गोरखा, फागुन २५। भूकम्पले पूर्णरुपमा क्षति पुर्याएको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको पुनःनिर्माणका लागि रु १४ करोडभन्दा बढी रकम खर्च भएको छ । मन्दिर पुनःनिर्माणका लागि नेपाल सरकार पुरातत्व विभागमार्फत् रु ४ करोड र बाँकी रकम भक्तजनबाट सहयोग प्राप्त भएको मन्दिर जीर्णोद्धार समितिका कोषाध्यक्ष कृष्णबाबु श्रेष्ठले जानकारी दिए। “मन्दिर निर्माणका लागि कूल रु १४ करोड ६४ लाख खर्च भएको छ”, उनले भने, “सरकारले उपलब्ध गराएकोबाहेक सबै रकम भक्तजनबाट सहयोग सङ्कलन भएको हो ।” मन्दिर निर्माणका लागि सबैभन्दा धेरै खर्च सुनमा भएको कोषाध्यक्ष श्रेष्ठले जानकारी दिए । मन्दिरको छाना, गजुर, झ्यालढोकालगायतमा सुनको मलम्बा लगाउन १८ केजी सुन खर्च भएको छ । मन्दिर निर्माण गर्दा कर्मचारीतर्फ कूल रु ५५ लाख ६५ हजार र प्रशासनिकतर्फ रु ६२ लाख ४१ हजार खर्च भएको छ । त्यस्तै मन्दिर निर्माणको ज्याला, निर्माण सामग्री, सुनलगायत गरी रु १३ करोड ४६ लाख ८० हजार खर्च भएको कोषाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । मन्दिर जीर्णोद्धार समितिले चन्दा बाकस, बैंकमार्फत र विभिन्न रसिदमार्फत मन्दिर निर्माणका लागि सहयोग सङ्कलनको अभियान चलाएको थियो । अभियानबाट नगद तथा जिन्सी गरी रु १५ करोड २७ लाख २१ हजार ९२८ सङ्कलन भएको र बाँकी रकम रु एक करोड ४० लाख ४४ हजार ७०४ बैंक ब्याजबाट आम्दानी भएको थियो । मन्दिर जीर्णोद्धारपछि समितिको खातामा अहिले कूल रु पाँच करोड ८६ लाख मौज्जाद रहेको बताइएको छ । करीब ३०० वर्ष अघि निर्माण भएको मनकामना मन्दिर विसं १९९० को भूकम्पले दक्षिण पश्चिमतर्फ ६ इन्च ढल्किएपछि २०६८ सालमा मन्दिर जीर्णोद्धारका लागि छलफल चलेको थियो । विसं २०७२ को भूकम्पले मन्दिर पूर्णरुपमा क्षति पुर्याएपछि पुनःनिर्माण गरिएको हो । विसं २०७२ जेठ २५ गते शुभसाईत पारी मन्दिरको गजुर झिकेर साउन ६ गते जगपूजा गरी मन्दिर पुनःनिर्माणको काम अघि बढाइएको जीर्णोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले बताए । समितिले तत्कालीन अवस्थामा जीर्णोद्धारका लागि रु आठ करोड ४८ लाख लाग्ने प्रारम्भिक अनुमान तयार गरेको भए पनि निर्माणका क्रममा लागत बढेको हो । समितिले राष्ट्रिय पुरातत्व विभागले तोकेको मापदण्डअनुसार मन्दिर निर्माण गरेको संयोजक श्रेष्ठले जानकारी दिए । “यसअघि मन्दिरको छानामा तामाको जलप लगाइएको थियो, अहिले मन्दिरको गजुर, छाना, मूलढोकामा सुनको जलप लगाएर झकिझकाउ परिएको छ,” उन भने । मन्दिरको छानामा सुनको जलप लगाउँदा नाइट्रिक एसिड प्रयोग गरेर लगाउने गरेको भए पनि आफूहरुले सुनको जलप लगाउँदासमेत पुरानै प्रविधिअनुसार चुक, नुन, अमिलो र इँटाको ढुटो प्रयोग गरेर लगाइएको उनले जानकारी दिए । विसं २०७४ चैत महीनाभित्रै मन्दिर पुनःनिर्माण सम्पन्न गर्ने लक्ष्य भए पनि भूकम्पपछि नाकाबन्दी, मन्दिरलाई चाहिने आकारको काठको अभाव लगायतका कारण करीब आठ महीनापछि निर्माण सम्पन्न भएको हो । मनकामना मन्दिरमा नेपालसहित भारतलगायतका देशबाट समेत भक्तजन आउने गरेका छन् । मन्दिर दर्शन र पूजाआजाका लागि वार्षिक १२ लाखसम्म भक्तजन आउने गरेका छन् । यो समाचार राजधानी दैनिकबाट लिइएकाे हो ।
साढे ५३ हजार कर्मचारी समायोजन, निजामतीतर्फको समायोजनको काम सक्न अन्तिम तयारीमा
काठमाडौं, फागुन २४ । साढे ५३ हजार कर्मचारी समायोजन गरिसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयको कर्मचारी समायोजन महाशाखा प्रमुख केदारप्रसाद पनेरुले निजामति तर्फको समायोजनको काम सक्ने अन्तिम तयारीमा रहेको र निजामति तर्फको सकिएपछि स्वास्थ्य तर्फको सुरु गर्ने बताए । स्वास्थ्य तर्फको ८, ९ र १०औं तहको विवरण संकलनको काम भइरहेको र स्वास्थ्य सेवाकै अन्य तहको कामपछि सुरु गर्ने बताएय । स्वास्थ्य सेवातर्फ २४ हजार कार्मचारी छन् । कतिपय कर्मचारीले किताबखानामा विवरण अध्यावधिक नगराउँदा समायोजनको काममा केही ढिलाई भएको उनको भनाई छ । पनेरुले समायोजनका क्रममा अहिलेसम्म एक हजार ९४ जना फाजिलमा रहेको बताएका छन् । यस्तै समायोजनमा जान चाहेका संसद सेवाका दुई सय ३१ जनाको विवरण किताबखानाले उपलब्ध गराएको उनले जानकारी दिए । कान्तिपुरबाट
भुराभुरी भनेर अपमानित गरे, प्यारप्यार बोली भनेर बैठकमै हप्काएः रञ्जु दर्शना
काठमाडौं, फागुन १८ । अभियोग १ः विनाअध्ययन र विनादर्शन राजनीतिमा प्रवेश गर्नुभयो । त्यही भएर काठमाडौंको मेयरको उम्मेदवार बनेर जति चाँडो ‘राजनीतिक सेलेब्रिटी’ बन्नुभयो, अहिले त्यसरी गुमनाम हुनुभयो । स्थानीय तहको निर्वाचन ०७४ वैशाख ५ गते उम्मेदवारी दिएपछि मात्रै म राजनीतिमा लागेको होइन । ०७० को असोजरकात्तिकदेखि नै म सक्रिय राजनीतिमा छु । यो आरोप यहीँबाट क्लियर गर्दै जाऊँ । म राजनीतिमा लाग्नुको पछाडि केही सामान्य कारण छन् । मेरी हजुरआमाको पालामा पनि नेपाल विकासोन्मुख देश थियो, मेरी आमाको पालामा पनि विकासोन्मुख देश नै थियो । म सानो हुँदाखेरि सामाजिक शिक्षा पढ्दै गर्दाखेरि पनि नेपाल विकासोन्मुख देश हो भनेरै थाहा पाइयो । अहिले मेरा सहपाठीहरू जसले विवाह गरिसके, उनका नानीहरूले पनि त्यही कुरा पढ्दै छन् । मेरो एउटा प्रश्न थियो । हामीले कति पुस्तासम्म नेपाल विकासोन्मुख देश हो भनेर भनिरहने त ? त्यो प्रश्नको उत्तर खोज्दै जाँदा राजनीतिमा गएर ठोक्कियो । राजनीतिबाटै यसको समाधान छ भन्ने मेरो विश्वास हो । त्यो मात्रै नभइकन नेपाली समाज, त्यसमा पनि पितृसत्ताको जड कति छ भन्ने पनि मैले बुझेँ एकल आमा भएका कारणले । नागरिकता पाउन कति सकस छ भन्ने बुझेँ । बुझ्दै गर्दाखेरि फेरि पनि सबै कुरा ठोक्किने राजनीति र राजनीतिकर्मीमा । पछि गएर तिनै राजनीतिकर्मीहरूले समग्र देशलाई हेरेर बनाउने नीति–नियम रैछ । त्यसैले, म यही क्षेत्रमा लाग्नुपर्छ भन्ने बुझेर राजनीतिमा लागेकी हुँ । ०७४ को स्थानीय चुनाव म जन्मेपछि भएको दोस्रो स्थानीय निर्वाचन थियो । पहिलो निर्वाचनका वेला त म भर्खर बामे सर्दै थिएँ । २० वर्षसम्म स्थानीय चुनाव भएन, त्यसमा म र मेरो पुस्ताको गल्ती छैन । हामी हुर्किँदै गर्दाखेरि कहिले पनि ठेलमठेल नभएको गाडी पनि हुन सक्छ भनेर सपना पनि देख्न सकेका थिएनौँ । ट्राफिक जाम भनेको हाम्रो नियति नै हो, यसलाई भोग्नैपर्छ भनेर हुर्कियौँ । अहिलेसम्म धेरैजनाको दिमागमा त्यही छ । तर, यी सबै गलत कुरा हुन् । यस्ता कुराहरू त स्थानीय सरकारले गर्न सक्छ भन्ने मेरो विश्वास हो । स्थानीय सरकारका बारेमा अध्ययन नै नगरीकन पनि हामीहरू आएका होइनौँ । म र मेरा साथीहरू ‘स्थानीय सरकार भनेको कार्यकारी हो, यसले गर्न सक्ने धेरै कामहरू छन्, कमसेकम आफ्नो सहर–गाउँसम्म त बदल्न सकिन्छ’ भनेरै चुनावमा आएका हौँ । हो, सम्पूर्ण कुराहरू हामीले भनेका मात्रै ठीक छन् वा हामीले मात्रै बुझेका छौँ भनेरचाहिँ म ठोकुवा गर्दिनँ । हरेक दिन नयाँ अध्ययन गर्दैसिक्दै जानुपर्छ । यो समाग्री नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।
कोमललाई के प्यारो ?
काठमाडौं । गायिकाबाट राजनीतिज्ञ भएकी कोमल वलीले विगतमा गीत मात्र गाइनन् एउटा चलचित्रमा अभिनेत्रीका रुपमा अभिनयसमेत गरिन् । यद्यपि ‘राजनीति’ शीर्षकको उक्त चलचित्रमा अभिनय गरेपछि कोमलले अभिनयलाई निरन्तरता दिने हिम्मत गरिनन् । रमाइलो कुरा के रह्यो भने चलचित्र राजनितीमा अभिनय गरेलगत्तै कोमल वास्तविक जीवनमै राजनीतिमा हामफालिन् । यसबीच अघिल्लो साता कोमललाई चलचित्र अभिनेत्री बनाउने श्रेय पाएका निर्देशक वसन्त निरैलासँग उनको जम्काभेट भयो । निरौलाले अनामनगरमा सञ्चालनमा ल्याएको सिने इक्यिुपमेन्ट हाउसको रिबन काट्न कोमललाई नै निम्त्याएका थिए । उक्त अवसमा वलीले आफैंलाई अभिनेत्री बनाउने निर्देशकलाई व्यंग्य गरिदिइन् । हुन त म वसन्तकै हिरोइन हुँ, निर्देशक निरैलाप्रति इंगित गर्दै कोमलले भनिन् तर मैले पहिलो पटक अभिनय गरेको चलचित्र राजनीति यस्तो हिट भयो कि चार दिनमै सिनेमा हलबाट उत्रियो । कोमलको कुरा सुनेर निर्देशक निरैलाले समेत आफ्नो हाँसो थाम्न सकेनन् । आफ्नो भनाइले सबै जना हाँसेको देखेपछि गम्भीर हुँदै कोमलले भनिन् अब राजनितीबाटै नेपाली चलचित्रको विकासमा केहि गर्ने प्रण गर्छु । कान्तिपुर साप्ताहिकबाट
एउटै केटीको दिनमै १५० कल आए पछि निशान हैरान !
काठमाडौं । नेपाल आइडलबाट सांगीतिक क्षेत्रमा चर्चा कमाएका निशान भट्टराईको माग अहिले उच्च छ । मिठो स्वरका कारण नै उनको माग उच्च रहेको हो । आइडलको उपविजेता बनेपछि निशानलाई विभिन्न प्रकारका प्रस्ताव आइरहेका छन् । प्रस्ताव गीत गाउनका लागि त छदैछन् त्यो भन्दा बढी प्रेम प्रस्ताव आउने गरेका छन् । दिनमै एक सय ५० कल गर्ने पोखराकी युवती पोखारमा एक युवती मेरो डाइहार्ड फ्यान हुनुहुन्छ । मलाई उहाँको नाम चाहिँ याद भएन । उहाँ मलाई निरन्तर फोन गरिरहनुहुन्छ । यतिसम्म कि एक दिन उहाँले मलाई १ सय ५० पटकसम्म फोन गर्नुभएको छ । म फुर्सद भएका बेला फोन रिसिभ गर्थे । मैले फोन रिसिभ नगरे पनि उहाँ मलाई फोन गरिरहनुहुन्थ्यो । ज्याकेट च्यातिदिए केही समयअघि म गाईघाटको एउटा कार्यक्रममा सहभागि भएको थिएँ । त्यहाँ दर्शकहरुको ठूलो भीड थियो । त्यही भीडमा केटीहरुको अलग भीड पनि थियो । मलाई त्यो भीड छिचोल्न निकै गाह्रो भयो । त्यसपछि मलाई कार्यक्रम आयोजकले घेरेर स्टेजमा लाँदै हुनुहुन्थ्यो, त्यही केटी फ्यानहरुको समूहले मलाई पटाडिबाट तानेर ज्याकेट नै च्यातिदिए । मसँग विवाह गर्छु भन्छिन् इटहरीमा भएकी एक डाइहार्ड फ्यानले सामाजिक सञ्जालमा मलाई निरन्तर म्यासेज पठाइरहनुहुन्छ । यद्यपि उहाँसँग मेरो भट भएको छैन । उहाँ मसँग जसरी पनि विवाह गर्छु भन्नुहुन्छ । यतिसम्म कि उहाँ मसँग विवाह गर्न मेरो बुबाममीसँग कुरा गर्छुसम्म भन्नुहुन्छ । स्केच बनाएर दिने फ्यान केही दिनअघि म बसन्तपुरको एउटा कार्यक्रमा सहभागी भएको थिएँ । त्यहाँ एक जना फ्यानले पेन्सिल स्केच बनाएर मलाई गिफ्ट दिनुभएको थियो । त्यो स्केच यति राम्रो छ कि त्यसलाई मैले आफ्नो कोठमा सजाएर राखेको छु । बर्थ डे केक बोकेर आउने फ्यान मेरो जन्मदिन जेठ २९ गते हो । यसपालि म बिहानै घरमा जन्मदिन मनाएर बेलुका साथीहरुसँग बाहिर बसेको थिएँ । भोलिपल्ट घरमा आउँत त मेरा दुई जना फ्यान बर्थ डे केक र गिफ्ट बोकेर मेरो घरमा आउनुभएको रहेछ । त्यो देखेर म आश्चर्यचकित भएँ, किनभने मैले उहाँहरुलाई चिनेको थिइनँ र उहाँहरुले पनि मेरो घर देख्नुभएको थिएन । कसरी मेरो घर पत्ता लगाएर आउनुभयो पत्तो भएन । साप्ताहिकबाट
‘सालको पातको टपरी हुनी’ दुई करोड ‘भ्युअर्स’
बागलुङ, पुष २६ । लोकदोहोरी गीत ‘सालको पातको टपरी हुनी’ ‘म्युजिक भिडियो’ युट्युबमा दुई करोड पटक हेरिएको छ । गत असोजमा युट्युब च्यानलबाट सार्वजनिक भएको यो गीत दर्शकबीच लोकप्रिय भएर चार महीना नपुग्दै दुई करोड बढी दर्शक पाएको हो । नवराज पन्तको शब्द, वसन्त थापाको सङ्गीत रहेको गीतमा कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वर छ । यिनै चार सर्जक, कलाकार मिलेर विसं २०६८ मा ल्याएको लोकदोहोरी गीत ‘डाँडै फुर्के सल्लो’ पनि त्यसताका निकै चर्चित बनेको थियो । ‘सालको पातको टपरी हुनी’ छोटो अवधिमा युट्युबमा धेरै हेरिएको लोकदोहोरी गीत हो । युट्युब बाहिर पनि गीतको लोकप्रियता उत्तिकै बढेको छ । रचना, स्वर र सङ्गीत तीनै पक्ष स्रोताले निकै रुचाएका छन् । ‘म्युजिक भिडियो’ ले युट्युबमा दर्शक तानेको छ । सरल शब्द, मौलिक भाखा र सुरिलो स्वर गीतको विशेषता हो । “उत्साहित छौं, राम्रो प्रतिक्रिया आएको छ”, गायक विश्वकर्माले भने । गीत राम्रो बनेको लागे पनि यति धेरै चर्चा पाउला भनेर नसोचेको उनको भनाइ थियो । “शब्द, सङ्गीत, स्वरसँगै अभिनय र भिडियो निर्देशन पनि उत्कृष्ट रहेकोले दर्शक स्रोताको मन जितेको छ”, विश्वकर्माले भने । ‘भिडियो’ मा नायिका मरिष्का पोखरेलसँगै गायक विश्वकर्मा र सङ्गीतकार थापाको अभिनय छ । निर्देशन शिव विकले गरेका हुन् । “छोटो अवधिमै गीत करोड क्लबमा प्रवेश गर्यो ।’ सङ्गीतकार थापाले भने, “नेपाली लोकसङ्गीतका लागि यो सुखद् खबर हो, नेपाली दर्शक स्रोतको मायाले हामी उत्साहित बनेका छौ ।” हाल अमेरिकामा रहेका गीतकार नवराज पन्तका अनुसार मानवीय प्रेम र सम्बन्धमा आउने उतारचढाव गीतको रचनागर्भ हो । “गीतमा प्रेममा सिर्जित अविश्वास र त्यसको भोगाइको कथा छ” पन्तले भने, “सबैले शब्दलाई रुचाउनुभएको छ, खुशी छु ।” सङ्गीतकार थापाले आफू बेलायत भ्रमणमा हुँदा नयाँ गीत मागेपछि पन्तले ‘सालको पातको टपरी’ लेखेका थिए । “कम्पनीमा काम गर्दै थिएँ, एक्कासि गीत फुर्यो’ पन्तले भने, “कागजको चिर्कटोमा शब्द उतारेँ ।” झ्याउरे लयमा ठेट शब्द र मन छुने स्वरले गीतको लोकप्रियता बढेको हो । अभ्यास डिजिटल म्युजिक प्रालिद्वारा निर्मित गीत ‘वसन्त थापा’ नामको युट्युब च्यानलबाट सार्वजनिक भएको थियो । एक लाख ‘सबसक्राइबर’ (युट्युब च्यानलको समूह सदस्य) पुगेपछि उक्त च्यानलले ‘अर्वाड’ समेत पाएको छ । ‘युट्युबबाट च्यानल भेरिफाइड भएको छ”, सङ्गीतकार थापाले भने, “युट्युबको व्यावसायिक प्रक्रियामा छिरेका छौं ।” गीत हेर्ने, मनपराउने, टिप्पणी, आदानप्रदान र सबसक्राइब गर्नेको सङ्ख्याका आधारमा युट्युबमा गीतको चर्चा मापन हुन्छ । सोही आधारमा कलाकारले पैसा पाउँछन् । पैसा आउनका लागि तोकिएको सङ्ख्यामा हेरिनुपर्ने र सबसक्राइबर (युट्युब च्यानलको समूह सदस्य) पुग्नुपर्ने प्रावधान छ । शुरुमा युट्युब एकाउन्ट परीक्षणमा रहने र ‘मोनिटाइज’ भएपछि मात्र पैसा आउने गरेको छ । श्रव्य क्यासेट, सिडी, सिआरविटी हुँदै सङ्गीत व्यवसाय अहिले युट्युबमा केन्द्रित छ । प्रविधिको फड्कोले सङ्गीत बजारको स्वरुप बदलेको हो । रासस
कार्यकक्षमै लेखापालमाथि ‘मुक्का’ प्रहार
पोखरा, पौष १७ । लमजुङको सुन्दर बजार नगरपालिकाका लेखापाल कुटिएका छन् । नगरपालिकाका ४५ वर्षीय लेखापाल श्याम पराजुली कुटिएका हुन्। नगरपालिका वडा ६ स्थित कार्यकक्षमै काम गरिरहेको अवस्थामा सोही ठेगानाका ३५ वर्षीय नवीन श्रेष्ठले लेखापाल पराजुलीको अनुहारमा मुक्का प्रहार गरेको जिल्ला प्रहरी कार्यालय लमजुङले जानकारी दिएको छ। घाइते लेखापाल पराजुलीलाई उपचारको लागि तत्काल सामुदायिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ । के–कति कारणले लेखापाल पराजुलीमाथि जाइलागेको भन्ने खुल्न सकेको छैन। मुक्का प्रहार गर्ने नवीन श्रेष्ठको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
चन्द्रागिरि हिल्सले साधारण शेयर बिक्री गर्ने
काठमाडौँ, पुस १७ । चन्द्रागिरि केबलकार सञ्चालन गरिरहेको चन्द्रागिरि हिल्स प्रालिले रु १५ करोड बराबरको १५ लाख कित्ता साधारण शेयर बिक्री गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता रु १०० मा साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ । कम्पनीले यही पुस ३० गते वार्षिक साधारणसभा आयोजना गरेको छ । उक्त साधारणसभामा साधारण शेयर बिक्रीका लागि विशेष प्रस्ताव प्रस्तुत गरिने छ । चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्रप्रसाद ढकालले साधारण शेयर बिक्रीका लागि प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । कम्पनीले चुक्ता पूँजी रु एक अर्ब ५० करोडको १० प्रतिशतको दरले हुन आउने साधारण शेयर बिक्रीका लागि साधारणसभाले प्रस्ताव पारित गर्ने छ । विसं २०७३ देखि सञ्चालनमा आएको उक्त केबलकारले काठमाडौँ उपत्यकाको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुर्याएको छ । चालू आर्थिक वर्षको बजेट वक्तव्यमा समेत रु एक अर्बभन्दा बढी लगानी भएका निजी तथा व्यावसायिक संस्थालाई साधारण शेयर बिक्री गरी लिमिटेड कम्पनीमा परिवर्तन गर्न प्रोत्साहन गर्ने नीति लिइएको छ । केबलकारमा आइएमई समूहलगायत अन्य व्यावसायिक समूहले लगानी गरेका छन् । रासस
नक्कली प्रमाणपत्रधारी ३ विमान चालकसहित ५० कर्मचारी बर्खास्त
इस्लामावाद, पुस १७ । पाकिस्तानको राष्ट्रिय ध्वजाबाहक विमानका चालकसहित ५० जना कर्मचारीलाई बर्खास्त गरिएको छ । उनीहरुको शैक्षिक प्रमणपत्र नक्कली भेटिएकाले बर्खास्त गरिएको र बर्खास्त हुनेमध्ये तीन जना विमान चालक रहेको जनाइएको छ । पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाईन्स (पिआइए)ले आफ्ना ५० कर्मचारीको विद्यालय तहको शैक्षिक प्रमणपत्र नक्कली भएको अहिले पत्ता लगाएको हो । पिआइएका प्रवक्ता मसुद ताजवारले यसअघि पनि कम्तीमा छ जना विमान चालकलाई यही कारणले बर्खास्त गरिसकिएको सोमबार जानकारी दिए । नक्कली प्रमणपत्र ठूलो चुनौतीका रुपमा देखिएको उनको भनाई छ । एयरलाईन्सले नक्कली प्रमाणपत्रधारी विमान चालकहरुको चालक अनुमतीपत्र पनि रद्ध गरिदिएको प्रवक्ता ताजवारले बताए । रासस
नेपाली वाङ्मय साधना सम्मान २०७५ कवि राम विनयलाई
काठमाडौँ, पुस १४ । साहित्यको माध्यमबाट सामाजिक चेतना फैलाउने कार्यमा महत्वपूर्ण योगदान पुऱ्याए वापत नेपाली वाङ्मय साधना सम्मान कवि राम विनयलाई प्रदान गरेको छ । नेपाल वाङ्मय परिषद्द्वारा यहाँ आज आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उहाँलाई नगद रु १० हजार र कदरपत्रसहित सो सम्मान प्रदान गरेका हुन् । कवि विनयका ‘तातो बाफ’ कविता सङ्ग्रह विसं २०२१ मा प्रकाशित भएको थियो भने ‘म आएको छु’ २०४७, ‘जराको स्वर’ २०६०, ‘फेरिएको चित्र’ २०६८ कविता प्रकाशित छन् । त्यसैगरी उहाँको ‘टापुमा तैरिँदै’ यात्रा संस्मरण, ‘झझल्को’ नियात्रा, ‘घरविनाको घर’ कथासमेत प्रकाशित छन् । सो अवसरमा कुलपति उप्रेतीले साहित्यले समाजलाई दिशानिर्देश गर्नुपर्ने उल्लेख गर्दै अबका स्रष्टाले त्यसतर्फ कलम चलाउनुपर्नेमा जोड दिए । सम्मानित व्यक्तित्व रामविनयले जनता र समाजप्रति जिम्मेवार भई आफूले साहित्य सिर्जना गर्ने गरेको बताए । परिषद्का अध्यक्ष डा पुष्कराराज भट्टले समाजको विकासमा योगदान गर्ने स्रष्टालाई पुरस्कृत गर्ने संस्थाको नीति रहेको जानकारी दिए । कार्यक्रममा सम्मानित स्रस्टाको सम्मानमा रचनावचन समेत गरिएको थियो । नेपाल वाङ्मय परिषद धनगढीमा रहेको साहित्यिक संस्था हो जसले कैलाली, कंचनपुर लगायत राजधानीमा साहित्यिक गतिविधिहरू संचालन गर्दै आइरहेको छ । रासस