रौतहटमा बाढी र डुबानमा परी ४ जनाको मृत्यु, हजारौं विस्थापित
काठमाडौं । रौतहटमा नदी तथा खोलामा आएको बाढी तथा डुबानका कारण रौतहटमा ४ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रशासन कार्यालयले दिएको जानकारी अनुसार, २२ वटा घरमा वर्षा, बाढी तथा डुबानले क्षति पुगेको छ ।
असार १३ गते गरुडा नगरपालिका–८ मा आफ्नो घरछेउमै खेल्ने क्रममा खाल्डोमा डुबेर दुई वर्षीय हसिना खातुनको मृत्यु भएको थियो । सोही दिन माधवनारायण नगरपालिका–८ की तीन वर्षीय राजकुमारी महतोको बागमती नदीमा डुबेर मृत्यु हो ।
त्यसैगरी १६ गते बकैया नदीमा बगेर गौर नगरपालिका–४ का २५ वर्षीय प्रमोद चनउको मृत्यु भएको थियो भने सोही दिन अविरल वर्षाले घर भत्किँदा बौधीमाई नगरपालिका–४ की ७२ वर्षीय जितनी साहको मृत्यु भएको थियो ।
जिल्लाको पूर्वी भेगमा रहेको बागमती नदीको बाढीले राजदेवी नगरपालिका–५ स्थित दुई स्थानमा पाँच–पाँच मिटर र गढीमाई नगरपालिका–६ मा बाँधको केही हिस्सा कटान गरेको छ ।
शनिबार बागमती नदी र लालबकैयामा आएको बाढीका कारण ईशनाथ, दुर्गा भगवती र राजदेवीमा २८० परिवार विस्थापित भएका छन् ।
आइतबार पानी कम भए पनि उनीहरुको घर हिल्लामे भएकाले कोही आफन्तको घरमा, कोही बागमती नदीको बाँधमा बसिरहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
वर्षा र बाढीले सडक सञ्जालमा पुगेको क्षतिको विवरण आउन बाँकी रहेको डिभिजन सडक कार्यालय चन्द्रपुरका प्रमुख रामनरेस केसरीले जनाए ।
शेयर बजारमा करेक्सन, नेप्सेमा दोहोरो अङ्कको गिरावट
काठमाडौंः लगातार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले ओरालो लागेको छ । लगानीकर्ताले भने आजको गिरावटलाई करेक्सनका रुपमा लिएका छन् । हरेक दिन उचाइ कायम गर्दै नयाँ उचाइ बनाएको नेप्सेमा आज झण्डै २१.१६ बिन्दुले गिरावट आई दुई जार ५८६.५१ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.४१ ले घटेर ४६७.९४ मा ओर्लेको छ । कूल २०५ कम्पनीको एक करोड ७७ लाख १४ हजार ९१२ कित्ता शेयर रु आठ अर्ब ५६ करोड १५ लाख ३९ हजार ४२६ बराबरको कारोवार भयो । नेप्सेमा आएको गिरावटसँगै बजार पूँजीकरणसमेत घटेको छ । आज कूल ३५ खर्ब ६४ अर्ब १० करोड ४३ हजार बराबरको बजार पूँजीकरण कायम भएको छ । कारोवार भएका कूल १२ उपसमूहमध्ये आज व्यापार उपसमूहबाहेक अरु सबै उपसमूहको शेयर आरालो लागेको छ । व्यापार २६.७३ बिन्दुले उकालो लाग्दा बैंकिङ ७.७२, होटल ३१.५८, विकास बैंक ३०.२७, जलविद्युत् १२.४७, वित्त ७.०१, निर्जीवन बीमा ५२.०४, उत्पादन ९५.९९, अन्य ५१.११, लघुवित्त ६.३२, जीवन बीमा २०.२ र सामूहिक लगानी कोष ०.१६ ले ओरालो लागेको छ । केही दिन पहिले मात्रै कारोवारमा आएको नेपाल पूर्वाधार बैंकको शेयर आज शुरुवाती चरणमा १० प्रतिशतले सकारात्मक सर्किट लागेको थियो । पुनः सो कम्पनीको शेयरमा नकारात्मक सर्किट लाग्यो । सो कम्पनीको रु ७३ करोड ९४ लाख ५२ हजार ५१८ बराबरको कारोवार भई शीर्ष स्थानमा रह्यो । यस्तै माथिल्लो तामाकोशी रु ४३ करोड ३९ लाख एक हजार ७७, नबिल बैंक रु ३७ करोड ३५ लाख ५८ हजार ९६७, एनआइसी एशिया बैंक रु ३२ करोड ८० लाख ५० हजार ३८१, ग्लोबल आइएमई बैंक रु २९ करोड ६२ लाख ९२ हजार ५८, नेको इन्स्योरेन्स रु २७ करोड ४९ लाख ६२ हजार ४५९, नेपाल लाइफ इन्स्योरेन्स रु २६ करोड ५६ लाख सात हजार ८४५, नेपाल पुनरबीमा कम्पनी रु २५ करोड ५६ लाख दुई हजार २३२, नेपाल बैंक रु २४ करोड ६९ लाख ६७ हजार ८०५ र अपि पावर कम्पनी रु २३ करोड ४८ लाख १२ हजार ८०१ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । कारोवारका आधारमा आज नेपाल फाइनान्स ९.९३, अपि पावरक म्पनी ९.६७, लिवर्टी इनर्जी ९.६५, हिमालयन पावर पार्टनर ९.५९, एनएलजी इन्स्योरेन्स ५.८२, चन्द्रागिरि हिल्स ५.७६, उन्नति सहकार्य लघुवित्त ५.०७, अरुण भ्याली हाइड्रोपावर ४.९४, रैराङ हाइड्रोपावरका लगानीकर्ताले ३.५६ प्रतिशतले कमाए । त्यस्तै, पूर्वाधार बैंक १०, आँखु खोला जलविद्युत् कम्पनी ६.६७, युनिलिभर नेपाल ५.२८, एनएमबी ५० का लगानीकर्ताले ५.१८ प्रतिशतले गुमाउँदा पञ्चकन्या माई हाइड्रोपावर ४.६१, कर्पोरेट डेभलपमेन्ट बैंक ३.९८, खानीखोला हाइड्रोपावर ३.९१ र कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३.८३ प्रतिशतले गुमाए ।
प्रेस संगठन नेपालको पदाधिकारी र प्रदेश कमिटी विस्तार, कसलाई के जिम्मेवारी? (नामसहित)
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहको भ्रातृ सङ्गठन प्रेस सङ्गठन, नेपालको पदाधिकारी र प्रदेश कमिटी विस्तार गरिएको छ । गत पुस ६ मा सम्पन्न दोस्रो राष्ट्रिय भेलाको निर्देशनबमोजिम सङ्गठनको जिम्मेवारी हेरफेर गरिएको हो । सङ्गठनको संयोजकमा महेश्वर दाहाललाई जिम्मेवारी दिइएको छ भने सहसंयोजकमा विश्वमणि सुवेदी र विष्णु सापकोटा छन् । यस्तै, महासचिवमा राजेश राईले जिम्मेवारी पाउँदा कार्यालय सदस्यहरूमा अमृतनाथ तिम्सिना, कमल गिरी, गङ्गा बराल, चमिना भट्टराई, देवराम यादव, ध्रुव बुढाथोकी, नरेन्द्र साउँद, मनोज घर्तीमगर, मौसम रोकामगर, रामकुमार एलन, विवेक गौतम, सइन्द्र राई, सुरेशचन्द्र अधिकारी, सुरोजङ्ग पाण्डे, हेमकर्ण विक छन् । अनुशासन आयोगको संयोजकमा सन्तोष पौडेल र सहसंयोजकमा शिव ढुङ्गानालाई जिम्मेवारी दिइएको छ । लेखा आयोगमा संयोजक भवानी कार्की र सहसंयोजकमा नरेन्द्र केसीलाई तोकिएको छ । त्यस्तै प्रदेश नं १ को इन्चार्जमा राजन केडी, सहइन्चार्जद्वयमा तीर्थ सिग्देल र स्मिता निरौला, संयोजक देवेन्द्र कार्की, सहसंयोजकत्रयमा एक्सन राई, मुक्ति पौडेल र भीम राईले जिम्मेवारी पाउँदा सचिवमा सुजन तिम्सिना तोकिनुभएको छ । प्रदेश नं २ को इन्चार्जमा प्रकाश खतिवडा, सहइन्चार्जमा हीरालाल चौधरी, संयोजक किरण कर्ण, सहसंयोजकत्रयमा राघव शाह, विदुर खड्का र मदन ठाकुर, सचिवमा व्रिजलाल पासवान छन् । वाग्मती प्रदेशको इन्चार्जमा रामकुमार एलन, सहइन्चार्जहरूमा लक्ष्मण खड्का, शालिकराम नेपाल हुनुहुन्छ । यस्तै संयोजक सुनिल खड्का, सहसंयोजकत्रयमा रामकृष्ण थापा, नवीनकुमार खतिवडा र शान्ता अधिकारी तथा सचिवमा ध्रुव रायमाझीले जिम्मेवारी पाएका छन् । गण्डकी प्रदेशको इन्चार्जमा हरिनारायण गौतम, सहइन्चार्जत्रयमा त्रिभुवन पौडेल, श्रीराम सिग्देल र माधव पनेरु छन् । यस्तै, संयोजकमा अर्जुन काफ्ले र सहसंयोजकद्वयमा उर्मिला कुँवर र दीपक जलन तोकिँदा सचिवको जिम्मेवारी गणेश पौडेललाई दिइएको छ । लुम्बिनी प्रदेशको इन्चार्जमा विकास बन्जाडे, सहइन्चार्जद्वयमा सुशील पोखरेल, गोविन्द शर्माले जिम्मेवारी पाउँदा संयोजकमा मानसिंह विक, सहसंयोजकत्रयमा रुद्रहरि कुँवर, वीरेन्द्र मिश्र र मेनका थापा चौधरी छन् । सचिवमा भने नरेश केसीले जिम्मेवारी पाएका छन् । कर्णाली प्रदेशको इन्चार्जमा जीवन बिसी, सहइन्चार्जमा गोविन्ददेव भारती र देवीराम देवकोटा, संयोजकमा प्रतीक इच्छुक शर्मा, सहसंयोजकत्रयमा रमेश ऐडी, गणेशकञ्चन भारती र सुरजकुमार सिंह छन् भने सचिवमा दीपक बुढा चयन भएका छन् । सुदूरपश्चिम प्रदेशको इन्चार्जमा रामसिंह ठगुन्ना, सहइन्चार्ज धर्मराज पाध्याय, संयोजक नवराज भण्डारी, सहसंयोजकद्वयमा मीनेन्द्र शाही र लीलाजङ्ग शाही तथा सचिवमा स्रमाट सिंहलाई तोकिएको महासचिव राजेश राईले जानकारी दिए । उपत्यका प्रदेशको इन्चार्जमा सुरोजङ्ग पाण्डे, सहइन्चार्जमा उपेश मर्हजन, संयोजकमा नवराज दाहाल, सहसंयोजकद्वयमा उज्ज्वल पहाडी र सागर न्यौपाने, सचिवमा सविन शर्माले जिम्मेवारी पाएका छन् । त्यस्तै, प्रतिष्ठान प्रदेशको इन्चार्जमा विदुर खड्का सहइन्चार्जद्वयमा तेजप्रसाद वाग्ले र बुद्ध लोप्चन, संयोजक वीरेन्द्र ओली सहसंयोजकत्रयमा रघुनाथ बजगाईं, खेम बम र रामकुमार शाही तथा सचिवमा कृपा भण्डारीलाई तोकिएको छ । एसोसिएट प्रदेशतर्फ इन्चार्जमा ध्रुव लम्साल, सहइन्चार्जद्वयमा केशवराज खनाल र बबिन शर्मा, संयोजक डब्बु क्षेत्री, सहसंयोजक नरेश न्यौपाने र सचिवमा रोयल आचार्यलाई तोकिएको छ । सङ्गठनले संविधान विपरीत प्रतिनिधिसभाको विघटन गरिएको भन्दै आफ्नोतर्फबाट निरन्तर खबरदारी गर्नेसमेत जनाएको छ । यस्तै श्रमजीवी पत्रकारको हितका खातिर सङ्गठनले विभिन्न कार्यक्रम गर्नेसमेत जनाएको छ ।
सप्तरी प्रहरीद्वारा एकैवषमा ५०५ फरार अपराधी पक्राऊ
राजविराज, विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय पाएर फरार रहेका ५०५ अपराधीलाई पक्राउ गर्न सप्तरी प्रहरी सफल भएको छ । चालु आर्थिक वर्ष २०७७÷७८ को साउनदेखि माघ मसान्तसम्मको अवधिमा पछिल्लो पटक विगत पाँच महिनादेखि हालसम्म फरार रहेका अपराधीलाई प्रहरीले विभिन्न ठाउँबाट पक्राउ गर्न सफल भएको प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिनुभयो । जबरजस्ती करणीका फरार अभियुक्त सप्तरीको सुरुङ्गा नगरपालिका–५ बस्ने २० वर्षीय मो। सहादतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार फरार प्रतिवादीमा कुटपिट मुद्दाका सर्वाधिक छन् भने सवारी ज्यान, कर्तव्य ज्यान, गाली बेइजती, ठगी, जबरजस्ती करणी, लेनदेनलगायत मुद्दाका फरार प्रतिवादी पनि रहेको तथ्याङ्कमा उल्लेख छ । पक्राउ परेका फरार प्रतिवादीबाट ६५ वर्ष छ महिना २२ दिन कैद बक्यौता तथा जरिवानाको बक्यौता रु १२ लाख ७७ हजार ७२६ असुली गरिएको जिल्ला प्रहरी कार्यालय प्रनाउ साहको भनाइ छ । पक्राउ परेका सबैलाई अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि राजविराज कारागार चलान गरिएको उहाँले बताउनुभयो । त्यस्तै यस अवधिमा भन्सार छली गरी भित्र्याइएका ८८ मोटरसाइकल, आठ अटोरिक्सा, पाँच ट्र्याक्टर, तीन पिकअप तथा दुई टेम्पो नियन्त्रणमा लिई कारवाही प्रक्रिया अगाडि बढाइएको छ । सवारीसाधनको रु दुई करोड ३४ लाख १७ हजार ५७२ अनुमानित मूल्याङ्कन गरी भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस अवधिमा जिल्लामा विभिन्न अपराधका ४३७ मुद्दा दर्ता भएका छन् । यो आँकडा गत आवको तुलनामा कम रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसैगरी सप्तरी प्रहरीले भारतबाट मोटरसाइकलमा तस्करी गरी ल्याउँदै गरेको ६४१ थान विभिन्न तयारी कपडा नियन्त्रणमा लिएको छ । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कडोरबोनाको टोलीले पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिकास्थित बलान खोला पुलमा जाँच गर्ने क्रममा तयारी कपडा नियन्त्रणमा लिएको हो । प्रहरीले तस्करीका कपडा र तस्करीमा प्रयोग भएका तीन वटा मोटरसाइकसहित दुई तस्करलाई नियन्त्रणमा लिएको छ ।
गेल चम्किँदा सोमपालको टिमविरुद्ध आबुधाबीको फराकिलो जित
काठमाडौं : यूएईमा जारी टी-१० क्रिकेट लिगअन्तर्गत मराठा अरेबियन्सविरुद्ध टिम आबुधाबी ९ विकेटले विजयी भएको छ । मराठाले दिएको ९८ रनको लक्ष्य आबुधाबीले ५.३ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । उसका लागि क्रिस गेलले विस्फोटक ब्याटिङ गरे । उनले २२ बलमा ९ छक्का र ६ चौकासहित अविजित ८४ रन बनाए । गेलले आज १२ बलमै अर्धशतक बनाएका थिए । जारी प्रतियोगितामा गेलको ब्याट चलेको पहिलो पटक हो । यसअघि खेलमा उनी सस्तैमा आउट भइरहेका थिए । त्यस्तै, पउल स्टर्लिङले ११ र जो क्लार्कले नटआउट ५ रनको योगदान दिए । बलिङमा कप्तान मोसाद्देक हुसेनले एक विकेट लिए । सोमपाल कामी भने आज विकेटविहीन बन्न पुगे । खेलको दोस्रो ओभरमा बलिङमा आएका सोमपालले बिनाविकेट २७ रन दिए । उनले यो ओभरमा २ चौका र ३ छक्कासहित २७ रन दिए । सोमपालको यो ओभरमा पउल स्टर्लिङले लगातार दुई चौका र क्रिस गेलले तीन बलमा लगातार छक्का हिर्काए । जारी प्रतियोगितामा सोमपालको यो सबैभन्दा महँगो ओभर हो । त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको मराठाले १० ओभरमा ४ विकेट गुमाएर ९७ रन बनायो । उसका लागि आइसन सराफूले ३३, मोहम्मद अफीजले २०, मुक्तर अलिले १४, लौरी इभन्सले ८ र सोयब मलिकले अविजित १५ रन बनाए । बलिङमा ओबेद म्याकोयले दुई, नवीनउल हक र जिमी ओभरर्टनले एक/एक विकेट लिए । जारी प्रतियोगितामा आबुधाबीको यो दोस्रो जित हो । मराठाले भने ६ म्याच खेल्दा एक म्याचमा मात्र जित हासिल गरेको छ ।
बालिका बलात्कार गरी फरार रहेका भारतीय पक्राउ
वीरगंज । वीरगंजमा शनिवार बालिकालाई बलात्कार गरी फरार रहेका भारतीय नागरिकलाई पर्सा प्रहरीले आज पक्राउ गरेको छ । भारत विहार थाना पलनवा ग्राम पञ्चायत लौकरिया वडा नं.५ स्थायी घर भई वीरगंजमा साथीको घरमा डेरा खोज्ने बहानामा आइपुगेका ३५ वर्षीय नेहाल मियाँलाई शनिवार राति बालिकालाई बलात्कार गरी फरार रहेकोमा पर्सा प्रहरीले अभियुक्तलाई आज बिहान बीरगंजबाट पक्राउ गरेको छ । पक्राउ परेका मियाँविरुद्ध आज पर्सा जिल्ला अदालतमा जर्बजस्ती करणी मुद्दामा म्याद थप गरी थप अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता मनोजित कुँवरले जानकारी दिए । साथीका घरमा आएका अभियुक्त मियाँले रातको समयमा बालिकालाई बलात्कार गर्दा उनी चिच्याएपछि घर परिवारले थाहा पाएको र घटनापछि अभियुक्त फरार भएको कुँवरले जानकारी दिए । बालिकाका बुवा र अभियुक्त नेहाल मियाँ साथी भएको र उनी कोठा खोज्न भन्दै साथीको घरमा पाहुना भएर बसेका थिए । सोही क्रममा शनिबार राति बालिकालाई जर्बजस्ती करणी गरेको प्रहरीको भनाइ छ । सुरुमा जर्बजस्ती करणी प्रयास भएको भन्ने खबर प्रहरीलाई आएको भए पनि पछि बालिकाको स्वास्थ्य जाँच गराउँदा चिकित्सकले करणी नै भएको प्रारम्भिक जानकारी दिएको प्रवक्ता कुँवरले बताए ।
ग्यास सिलिण्डरको धरौटी मूल्य तोकियो
काठमाडौंः नेपाल एलपी ग्यास उद्योग संघले एलपी ग्यासको धरौटी मूल्य तोकेको छ । एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले एलपी ग्यासको धरौटी रकमलाई देशैभर एकरुपता ल्याउने उद्देश्यले प्रतिसिलिण्डर २ हजार १ सय रुपैयाँ मूल्य तोकिएको बताए । यो दर उच्च पहाडी र हिमाली क्षेत्र बाहेकका स्थानमा लागू हुने पनि उनले बताए । एकै प्रकारको सिलिण्डरको दर कति हो भन्ने विषयमा एकरुपता ल्याउनको लागि पनि प्रतिसिलिण्डर २ हजार १ सय रुपैयाँ तोकिनु उपभोक्ताका लागि ठिक भएको उनले बताए । संघले तोकेकोभन्दा बढी रकम लिएमा गैह्रकानूनी हुने पनि उनले बताए । अहिलेसम्म उपभोक्तासँग भएका सिलिण्डरको हकमा भने आफुले खरिद गरेको पसलबाट बिल लिनुपर्ने पनि अध्यक्ष भण्डारीले स्पष्ट पारे । उपभोक्ताकर्मी माधव तिमिल्सिनाले पनि विगतमा एकै प्रकारको सिलिण्डरको मूल्य फरक फरक तिर्नुपर्ने परिपाटीको अन्त्य गर्ने गरी सिलिण्डरको मूल्य तोकिनु उपभोक्ताको दृष्टिकोणले ठिक भएको बताए । तर विगतमा किनिएका करोडौंको संख्यामा रहेका सिलिण्डरको बिल उपभोक्तासँग नभएकाले न्यायोचित ढंगले बिल दिने व्यवस्था मिलाउनुपर्ने उनले बताए । अहिलेसम्म बिक्री भएका सिलिण्डरको बिल कसले दिने हो भन्ने सम्बन्धमा नेपाल एलपी ग्यास उद्योगसँगले समन्वयकारी भूमिका खेल्नुपर्ने तिमिल्सिनाले बताए । संघको गत शुक्रबार बसेको साधारणसभाले सिलिण्डरको धरौटी तोकेको हो । तर यसअघि उपभोक्ताको घरमा पुगेका सिलिण्डरको हकमा कसरी बिल जारी गर्ने भन्ने सम्बन्धमा भने कुनै निर्णय गरेन । यसबाट उद्योगको सम्पत्तिको रुपमा रहने सिलिण्डरको विभिन्न दायित्व आम उपभोक्ताले नै बेहोर्नुपर्ने स्थिति आउने सम्भावना देखिन्छ ।
भुवनेश्वर कुमारले आईपीएलका बाँकी खेल गुमाउने
काठमाडौं : सनराइजर्स हैदरबादका तीव्रगतिका बलर भुवनेश्वर कुमार इन्डियन प्रिमियर लिग आइपीएलबाट बाहिरिएका छन्। एएनआई एजेन्सीका अनुसार कुइनाको चोटका कारण उनले सिजनको बाँकी खेल गुमाउने भएका हुन् । चेन्नई सुपर किंग्सविरुद्धको खेलका क्रममा उनले चोट बोकेका थिए। टिमले शुक्रबार दुबईमा खेलेको त्यो खेल सीएसकेविरुद्ध जित्यो। तर भुवनेश्वर कुमारले आफ्नो कोटाको अन्तिम ओभर गर्न सकेन। कुमार बाहिरिनु यो प्रतियोगितामा हैदराबादका लागि दोस्रो ठूलो धक्का हो। यसअघि अलराउण्डर मिचेल मार्स चोटकै कारण टुर्नामेन्टबाट बाहिरिएका थिए। वेष्टइन्डिनका अलराउन्डर जेसन होल्डरलाई मार्शको ठाउँमा टीममा समावेश गरिएको छ।
६० जना रक्तदाताले गरे रक्तदान
काठमाडौंः सत्तारुढ नेकपा निकट अनेरास्ववियूको काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको खुला रक्तदान कार्यक्रममा ६० जना रक्तदाताले रक्तदान गरेका छन् । शनिबार विहान नेकपा मुख्यालय धुम्वाराहीको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा सामाजिक दूरी कायम गरी रक्तदान गरिएको आयोजकहरुले बताएका छन् । अनेरास्ववियूका पूर्व अध्यक्ष समेत रहेका नेकपा केन्द्रीय सदस्य हिमाल शर्माले रक्तदान गरेर कार्यक्रमको शुरुआत गरेका थिए । कोभिड(१९ को महामारीका कारण रक्तसञ्चार सेवामा रगतको अभाव महसुस गर्न थालिएकाले रक्तदान कार्यक्रम आयोजना गरिएको अनेरास्ववियूका काठमाडौं जिल्ला संयोजक कृष्ण थापाले जनाए । रक्तदान कार्यक्रममा अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङ , सुरेन्द्र बस्नेत , उत्तम अधिकारी , इन्द्र भुषाल, सुदेश पराजुली , आरती लामा , पवन कार्की लगायतका विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियोे ।
राष्ट्रिय कर्मचारी संगठन र स्वतन्त्र कर्मचारी मिलन केन्द्रबीच एकता
काठमाडौं : नेपाल राष्ट्रिय कर्मचारी संगठन र स्वतन्त्र कर्मचारी मिलन केन्द्र पर्साबीच एकता भएको छ । आज बसेको भेलाले दुबै संगठन एकता गरेर १७ सदस्यीय नेपाल राष्ट्रिय कर्मचारी संगठनसमेत गठन गरेको छ । संगठनको अध्यक्षमा सुनीलकुमार कुर्मी, उपाध्यक्षमा ज्ञानकिशोर चौधरी, भोला महतो, सचिवमा श्रवणकुमार चौधरी, सहसचिवमा धीरेन्द्र जैसवाल र कोषाध्यक्षमा सोमलाल श्रेष्ठलाई चयन गरिएको हो । त्यस्तै, संगठनको सदस्यहरूमा दिलिपखङ्ग खत्वे, सुलतानमिया धोवी, अनिल श्रीवास्तव, साधुप्रसाद चौरसीया, जोखन रावत कुर्मी, गुलजार राउत लगायत छन् । भेलाले आसन्न आधिकारीक ट्रेड युनियनको चुनावको प्रचारप्रसारका लागि १५ सदस्यीय प्रचारप्रसार तथा परिचालन समितिसमेत गठन गरेको छ । समितिको संयोजकमा श्रवणकुमार चौधरीलाई चयन गरिएको छ ।
काठमाडौंको मनमैजुमा छुरा प्रहार गरी युवकको हत्या
काठमाडौं : मनमैजुको मितेरी पुल नजिक छुरा प्रहार गरेर १ युवकको हत्या भएको छ। महानगरीय प्रहरी अपराध महाशाखा स्रोतका अनुसार छुरा प्रहारबाट लक्ष्मण तामाङको मृत्यु भएको हो। छुरा प्रहारबाट गम्भीर घाइते भएका लक्ष्मणको उपचारका लागि ग्रिनसिटी अस्पताल लैजाँदैे गर्दा मृत्यु भएको हो। महाशाखाका अनुसार लक्ष्मण र दोर्जे शेर्पाका समूहका तीन तीन जना युवाहरु मादक पदार्थ पिउँदै थिए। मादक पदार्थ पिउने क्रममा उनीहरुबीच विवाद हुँदा छुरा प्रहार भएपछि गम्भीर घाइते भएका लक्ष्मणको मृत्यु भएको हो। छुरा प्रहार गर्ने दार्जेलगायतका व्यक्ति फरार भएको र उनीहरुको खोजी सुरु गरिएको महाशाखा स्रोतले नेपाल लाइभलाई जानकारी दिएको छ।
आज कहाँ–कहाँ हुँदैछ भारी वर्षा ? (सूचीसहित)
काठमाडौंः आज प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर नजिकै कतै ठूलो पानी परे पनि नजिकै अर्को ठाउँमा नपर्ने संभावना रहेको महाशाखाले जनाएको छ । यस्तै अहिले बदली भएको धेरै ठाउँको मौसम विस्तारै खुलेपनि बेलुकातिर फेरि पानी पर्ने अनुमान गरिएको छ । भारी वर्षा हुने स्थानहरूका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक यातायात प्रभावित हुने तथा ढल–पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन विभागले अनुरोध गरेको छ । आगामी तीन दिनको मौसम पूर्वानुमान साउन २७ गते (मंगलबार) दिउँसो : देशका अधिकांश भू-भागमा सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । राती : देशभर सामान्य वदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश , गण्डकी प्रदेश, र प्रदेश नं ५ थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । साउन २८ गते (बुधबार) दिउँसो : देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं ५ , कर्णाली प्रदेश, गण्डकी प्रदेश, र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ । राती : देशभर सामान्य वदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं ५ , गण्डकी प्रदेश, र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ । साउन २९ गते (बिहीबार) दिउँसो : देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं ५ , कर्णाली प्रदेश, गण्डकी प्रदेश, र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ । राती : देशभर सामान्य वदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।बाग्मति प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ , र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
नेकपाभित्रको बहसः कम्युनिष्ट र गैरकम्युनिष्ट प्रवृतिबीचकाे संघर्ष
तिलक राज भण्डारी सामान्य आँखाबाट हेर्दा नेकपाभित्र अहिले चलिरहेको बहस र अन्तरसंघर्ष नेतृत्वको टक्कर र संगठनात्मक अन्तरविरोध जस्तो मात्र देखापर्दछ तर, नेकपाभित्रको विद्यमान अन्तरविरोधको पहलु र पात्र प्रवृत्तिको ऐतिहासिक विकासक्रमलाई अध्ययन गर्ने हो भने यो बहस र अन्तरसंघर्ष सारमा कम्युनिष्ट र गैरकम्युनिष्ट प्रवृत्तिविचको संघर्ष नै हो । यद्यपि अहिले यो चरम व्यक्तिवादी महत्वाकाङ्क्षाबाट पैदा भएको ढोंगी अहंकार र सामान्य विधि तथा पद्धतिको पहलुविचको संघर्षको रुपमा अभिव्यक्त भइरहेको छ । आजको सिंगो नेकपालाई बुझ्न र यसको अन्तरसंघर्ष बुझ्नको लागि हिजोको एमाले र माओवादीमा चलेको बहस र अन्तरसंघर्ष तथा उक्त संघर्षमा कुन–कुन पात्र प्रवृत्तिले के कस्तो भुमिका खेलेका छन् भन्ने कुरालाइ समेत आधारभूत रुपमा अध्ययन गर्न जरूरी हुन्छ । केपी शर्मा ओली र उनको समूह पार्टीभित्र लामो समयसम्म अल्पमतको गुटमा रहेकोले चर्काे गुटबन्दीको रबैया विद्यमान देखिन्छ । तत्कालिन एमाले निर्वाचन प्रणालीमार्फत नेतृत्व र संगठन निर्माण गर्दै आएको पार्टी हो । जसले गर्दा निर्वाचनको बेला प्यानल र समुहहरू निर्माण हुने अनि हारजितपछि पनि स्थायी रुपमा गुटबन्दीको सिकार हुने वस्तुगत स्थितिबाट एमाले अभ्यस्त हुँदै आएको देखिन्छ । पार्टीभित्र लामो समयसम्म माधव कुमार नेपाल नै पार्टीको नेतृत्वमा रहे । केपी शर्मा ओली र उनको समूह लामो समयसम्म माधव कुमार नेपाल समुहको डोमिनेशन र पेलानमा रहनु पर्याे । पार्टीभित्र प्रतिपक्ष र गुटबन्दीको दायरामा सिमित रहनुपर्याे । लामो समय पार्टीको नेतृत्वमा रहेकोले माधव कुमार नेपाल र उनको समुहसंग पार्टीको संस्थापन चरित्र र संस्कार अध्यावति देखिन्छ । उनीसंग पार्टीको विचार, एजेण्डा, निर्णय र विधि मान्ने संस्कारबाट प्रेरित नेता कार्यकर्ताहरूको समूह तुलनात्मक रुपमा बढी नै छ । अर्काेतर्फ केपी शर्मा ओली र उनको समूह पार्टीभित्र लामो समयसम्म अल्पमतको गुटमा रहेकोले चर्काे गुटबन्दीको रबैया विद्यमान देखिन्छ । अहिले पनि पार्टीको आधिकारिक निर्णय र राजनीतिक एजेण्डाहरू भन्दा पनि गुटको आधिकारिकता खोज्ने संस्कार नै हावी भइरहेको देखिन्छ । राष्ट्रपति र न्यायालयलाई समेत विवादमा तान्ने चेष्टा गर्ने कार्यशैली र संस्कारलाइ कम्युनिष्ट नेतृत्व र संस्कार किन ? कसले ? मान्ने बहसको केन्द्र यहीँ वरिपरि छ । लामो समयसम्म पार्टीभित्रको अल्पमतमा परेकोले बाह्य राजनीतिक परिचालनमा नेतृत्वदायी भुमिका खेल्ने अवसर पनि उनले प्राप्त गरेरनन् । परिणामस्वरुप आजको राजनीतिक परिवर्तनका एजेण्डाहरूमा पनि उनको भुमिका प्रतिक्रियात्मक र टिप्ण्नीमा मात्र सिमित रहन गयो । माधव कुमार नेपाल पार्टीको मूल नेतृत्वमा भएकोले सत्ताको नेतृत्व र राजनीतिक परिचालनमा सहभागी भए । राजतन्त्रको अन्त्य र गणतन्त्र प्राप्तिको आन्दोलन तथा शान्ति प्रक्रियालगायतका सन्दर्भमा माधव कुमार नेपालको भूमिका नै पार्टीको तर्फबाट नेतृत्वदायी रहन गयो र उक्त भुमिका इतिहासले पनि संस्थागत गर्याे । अर्कातर्फ केपी ओलीले गणतन्त्र प्राप्तिको आन्दोलनलाइ ‘बयलगाडा चढेर अमेरिका जाने यात्रा’को रुपमा चित्रित गरे । तर त्यहीँ आन्दोलनमार्फत गणतन्त्र स्थापना भयो । त्यतिमात्रै होइन पार्टीभित्र प्रतिपक्ष र र अल्पमतमा रहेका केपी शर्मा ओलीले बाह्य राजनीतिमा समेत पार्टीले लिने निर्णय र एजेण्डमा बखेडा झिक्ने र प्रतिक्रियात्मक भुमिकामा आफूलाइ अभ्यस्त तुल्याए । उनले अहिलेको परिवर्तन, राजनैतिक एजेण्डा र उपलब्धिहरूप्रति न कहिले सकारात्मक प्रतिक्रिया दिए न त कहिले स्वामित्व लिने अवसर नै प्राप्त गरे । छोटै समयमा वर्गसंघर्ष र अन्तरसंघर्षमा ठूला–ठूला उतारचढाव, युद्ध शान्ति, एकता, विभाजनलगायतका उत्साहप्रद र कठिन मोडहरूमा समेत आफ्नो परिपक्वता सावित गरेका छन् प्रचण्डले । राजनीतिमा जे पनि सम्भव हुन्छ भने झैं अहिलेको परिवर्तन, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी तथा समानुपातिक प्रणाली र समग्र शान्ति प्रक्रियाको वागि विचार र नेतृत्व नै यी उपलब्धिहरूको कार्यन्वयन गर्ने बढो अन्तरविरोधी भुमिका र संयोग बन्न गयो । तसर्थ औपचारिक रुपमा कम्युनिष्ट विचार, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशि तथा समानुपातिक प्रणालीको पक्षमा उभिए पनि व्यवहारिक र संस्कारित रुपमा प्रस्तुत हुन निकै कठिन भइरहेको देखिन्छ । लामो समयसम्म पार्टीभित्र प्रतिपक्ष गुटबन्दीको उतारचढावपछि सत्तासिन हुन सफल भएको नेतृत्व नै विगतमा अल्पमतमा पर्दाको पीडा सम्झिँदै इगो साध्न निर्मम रुपमा प्रस्तुत हुनु र सत्ताको अहंकारमा उभिएको चरम व्यक्तिवादी महत्वाकाङ्क्षाबाट पैदा भएको गैर–कम्युनिष्ट स्वभाव, प्रवृत्ति र संस्कारबाट नेकपा सञ्चालन गर्ने चेष्टा गर्नु नै नेकपाभित्र अहिले अन्तरसंघर्षको जड बन्न पुग्यो । माधव कुमार नेपाल र प्रचण्ड लामो समयसम्म पार्टीको नेतृत्वदायी भुमिकामा मात्रै होइन, ऐतिहासिक १२ बुँदे सहमति, जनआन्दोलन, शान्ति प्रक्रिया र गणतन्त्र स्थापना तथा अहिलेको राजनितिक परिवर्तनलाइ संस्थागत गर्ने सन्दर्भमा समेत सहकार्य गरेको नेतृत्वको परिपक्व टिम हो । कम्युनिष्ट विचार, कार्यशैली र संगठनात्मक पद्धतिलाइ नै आफ्नो दुश्मन देख्ने, आफैंले गरेका सहमति र हस्ताक्षर उलंघन गर्दै हिँड्ने अनि आफैंले गरेको पार्टी एकता, पार्टीको कार्यदिशा र विधान विपरित मनलाग्दी अभिव्यक्ति दिने नेतृत्वको कार्यशैलीले न त नेकपाको सेवा गर्याे नत मुलुक र जनतालाइ नै खुशी तुल्यायो । लामो समयसम्म पार्टीको आन्तरिक जीवनमा प्रतिपक्ष र वाह्य राजनीतिक परिचालनमा अवसर विनाको प्रतिक्रियात्मक भुमिकामा रहेको नेतृत्व र प्रवृत्ति नै अहिले नेकपा र नेकपा नेतृत्वको दुइतिहाइ सरकारको नेतृत्व गर्ने संयोग बन्न पुग्यो । गुट होइन एकतापछिको नेकपा निर्माण गर्ने मामलामा कमरेड प्रचण्डले देखाएको उदारता र सहजताको जगमा नै केपी शर्मा ओलीको अहंकारको जन्म हुन पुग्यो । यसले नत पार्टीको आन्तरिक जीवनलाई कम्युनिष्ट सिद्धान्त, पद्धति र संस्कारमा सञ्चालित गर्याे नत सरकारको नीति, कार्यक्रम र वजेट तथा राजनितिक नियुक्तिमा कम्युनिष्ट आचरण र वर्गीय पक्षधरता देखियो । बरू गैर कम्युनिष्ट प्रवृत्तिका छाडापन, अराजकता, सत्ताको मातमा चरम व्यक्तिवादी महत्वाकाँक्षा र अहंकारी स्वभावले पार्टी भित्र र आम जनतामा समेत निरासाको कुइरो मडारिन पुग्यो । यसो हेर्दा सर्वज्ञानी, डाक्टर, वैद्य, इतिहासकार, कलाकार, नाटककार सबैको चरित्र प्रस्तुत गर्न सक्ने तर, राजनीति संस्कार, कम्युनिष्ट आचरण, संगठनात्मक पद्धतिसहितको कम्युनिष्ट नेतृत्वको नाटक समेत गर्न नसक्ने । पार्टीको बैठकमा सहभागी नहुने, उल्टै पार्टी फुटको हवाला दिने, षड्यन्त्र र गुटबन्दी गर्न नेता कार्यकर्ताको घरदैलो चाहार्न सक्ने । त्यतिमात्र होइन राष्ट्रपति र न्यायालयलाई समेत विवादमा तान्ने चेष्टा गर्ने कार्यशैली र संस्कारलाइ कम्युनिष्ट नेतृत्व र संस्कार किन ? कसले ? मान्ने बहसको केन्द्र यहीँ वरिपरि छ । अर्काे तर्फ पूर्वमाओवादी र कमरेड प्रचण्ड क्रान्ति र राजनीतिक आवश्यकतामा प्राधिकारपूर्ण नेतृत्व र संगठन परिचालन गर्ने पद्धतिबाट अगाडि बढेको पार्टी र नेतृत्व हो । जनयुद्धको तयारीदेखि नै विचार, नेतृत्व र एजेण्डाको नेतृत्व गर्दै आएका प्रचण्डले पार्टीभित्र एउटा प्राधिकारपूर्ण नेतृत्वको रुपमा आफूलाइ उभ्याए । पार्टीलाइ युद्धमा होम्ने, शान्ति प्रक्रियामा ल्याउने, विचार र कार्यदिशाको विकास गर्ने, राजनीतिक परिवर्तनको एजेण्डाहरू संविधान सभा, गणतन्त्र, संघियता, धर्मनिरपेक्षता र समावेशी तथा समानुपातिक प्रणाली सहितको संविधान निर्माण र समग्र शान्तिप्रक्रिया तथा पार्टी एकता र नेकपा निर्माणसम्म प्राधिकारपूर्ण नेतृत्वको क्षमता प्रचण्डले प्रस्तुत गरेका छन् । यद्यपि छोटै समयमा वर्गसंघर्ष र अन्तरसंघर्षमा ठूला–ठूला उतारचढाव, युद्ध शान्ति, एकता, विभाजनलगायतका उत्साहप्रद र कठिन मोडहरूमा समेत आफ्नो परिपक्वता सावित गरेका छन् प्रचण्डले । आफुविरोधी गुट र समुहलाई पेल्ने र प्रतिसोध साध्ने इगोबाट केपी शर्मा ओलीलाई बचाउन सकिएन भने नेकपालाइ पनि दुर्घटनाबाट जोगाउन सकिने अवस्था देखिँदैन । उनले पार्टीभित्र ठुला, ठुला बैचारिक संघर्षहरु वेहोर्नुपर्याे तर कहिले पनि सानो समूह र गुट निर्माण गर्ने चेष्टा गरेनन् । प्रचण्ड निकटका भनिनेहरूले उनलाइ गर्ने आलोचना नै ‘तपाइको टिम भएन र, तपाइले टिम बनाउनु भएन र टिमको रक्षा गर्नु भएन’ भन्ने नै हो । अहिलेको संघर्षमा अभिव्यक्त भइरहेका प्रचण्डप्रतिका कतिपय असन्तुष्टि पनि यहीँ वरिपरिबाट सिर्जना भएका छन् । कमरेड प्रचण्डमा मात्रै होइन सिंगो माओवादीबाट आएका नेता कार्यकर्ताहरूमा समेत गुटबन्दीको अभ्यास र त्यसबाट पैदा हुने इगो र अहंकारको मात्रा निकै कमजोर छ । गुट होइन एकतापछिको नेकपा निर्माण गर्ने मामलामा कमरेड प्रचण्डले देखाएको उदारता र सहजताको जगमा नै केपी शर्मा ओलीको अहंकारको जन्म हुन पुग्यो । हो, यहि ऐतिहासिक पृष्ठभुमिबाट प्रेरित दुई भिन्न संस्कार र प्रवृतिहरूको अन्तर नै अहिले संघर्षको रुपमा आम्नेसाम्ने टक्राइरहेको छ । पार्टी र मुलुक निर्माण गर्ने प्रचण्डको यो महानता र उदारतामा राज गरेर आफुविरोधी गुट र समुहलाई पेल्ने र प्रतिसोध साध्ने इगोबाट केपी शर्मा ओलीलाई बचाउन सकिएन भने नेकपालाइ पनि दुर्घटनाबाट जोगाउन सकिने अवस्था देखिँदैन । माधव कुमार नेपाल र प्रचण्ड लामो समयसम्म पार्टीको नेतृत्वदायी भुमिकामा मात्रै होइन, ऐतिहासिक १२ बुँदे सहमति, जनआन्दोलन, शान्ति प्रक्रिया र गणतन्त्र स्थापना तथा अहिलेको राजनितिक परिवर्तनलाइ संस्थागत गर्ने सन्दर्भमा समेत सहकार्य गरेको नेतृत्वको परिपक्व टिम हो । र, अहिले पनि पार्टीभित्र र बाहिर राजनितिक संस्कारसहितको सहकार्यमा अगाडि बढेको देखिन्छ । मार्क्सवादी कोणबाट हेर्दा कोही व्यक्ति वा नेता समस्या रहित हुँदैन र नेकपामा पनि त्यो सम्भव छैन । यद्यपि विगतमा पार्टी सञ्चालन र मुलुकको नेतृत्व गर्दा भए गरेका कमजोरीहरुलाइ समेत सच्याएर यो नेकपा र मुलुकको नेतृत्व गर्ने तत्कालिन कार्यभार बन्न गएको छ । विचार, कार्यदिशा र संगठनात्मक पद्धति र विधिको स्पष्टतासहित सामुहिक नेतृत्वको टिमले नै आज नेकपाको आन्तरिक र बाह्य राजनीतिमा अनइपरेको जिम्मेवनरी निर्वाह गर्नुपर्ने ऐतिहासिक र तत्कालिक कार्यभार बन्न गएको छ । लेखक नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूका नेता हुन् ।
को हुन् ८० हजार प्रहरीको कमाण्ड सम्हाल्ने नयाँ आईजी थापा?
काठमाडौं : सरकारले नेपाल प्रहरीको २८ औँ प्रहरी महानिरीक्षकमा एआईजी शैलेश थापा क्षत्री नियुक्त भएका छन् । महानिरीक्षकको लागि एआईजीद्धय थापा र हरिबहादुर पाल दौडमा भएपनि सरकारले थापालाई नै आईजीपी बनाएको हो । मंगलवार बसेको मन्त्रिपरिषद्को वैठकले उनलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो । उनको कार्यकाल २२ महिनाको हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओली वरियतामा एक नम्बरमा रहेका थापालाई नै प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेका हुन् । को हुन् थापा ? वि.स २०२५ मंसिर २३ मा भक्तपुरको कटुन्जेमा जन्मिएका थापा २०४९ वैशाख १९ गते प्रहरी निरीक्षक (इन्स्पेक्टर)बाट प्रहरी सेवामा प्रवेश गरेका थिए। संयुक्त राष्ट्रसंघको शान्ति सेनाका रुपमा बोस्निया हर्जगोभिया, पूर्वी तमोर र डार्फर सुडानमा पनि काम गरेको अनुभव थापासँग रहेको छ। इन्स्पेक्टर हुँदा उनले सिन्धुपाल्चोक, सल्यान र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा काम गरेका थिए। उनी डीएसपीदेखि एआइजीसम्म नै एक नम्बरमा रहँदै आएका छन्। उनी प्रहरी नायव उपरिक्षक (डिएसपी) मा बढुवा भएपछि धादिङ र प्रहरी प्रशिक्षण प्रतिष्ठानमा काम गरेका थिए। एसपी हुँदा उनी कास्की, झापा पुगेका थिए। एसएसपी हुँदा महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत थिए भने नेपाल प्रहरीको प्रवक्ताको रुपमा कार्यरत थिए। २०७६ फागुन १५ गते क्रमशः दोस्रो नम्बरमा एआइजी बढुवा भएका उनी प्रहरीको तालिम तथा नीति निर्माणको तहमा लामो समय काम गरेका अनुभवी प्रहरी अधिकारीको रुपमा थापा मानिन्छन्। प्रहरी सेवाको लामो समय प्रहरी प्रधान कार्यालय र प्रहरी प्रशिक्षण प्रतिष्ठान(एकेडेमी) मा काम गरेका थापा नरम मिजासका प्रहरी अधिकारीका रूपमा हेरिन्छन्। नीतिगत निर्णय गर्न रुचाउने थापा शिष्ट, शालीन प्रहरी अधिकारीको पहिचान बनाएका व्यक्तित्व हुन्। एआइजी बढुवामा एक नम्बर रहेका थापासँग फिल्डमा कम काम गरेको, कमाण्ड कन्ट्रोलमा कमजोर क्षमता नभएको जस्ता आरोप भने उनले सामना गर्नुपरेको छ। हाल मानव स्रोत एवं प्रशासन विभागको नेतृत्व सम्हालेका थापामाथि पछिल्लो समय प्रहरी बढुवामा न्याय गर्न नसकेको आरोप समेत लाग्ने गरेको छ। प्रहरीको पछिल्लो बढुवामा रोल क्रम मिचेर कनिष्ठ तथा विवादास्पद प्रहरी अधिकारीको बढुवा निस्कनेसँगै आइजिपी ज्ञवाली र थापामाथि संगठनमा न्याय गर्न नसकेको पनि केहीको आरोप छ।
अन्ततः कोरोनालाई लिएर चिन्तित भए ट्रम्प, भने, ‘हमलाभन्दा घातक’
काठमाडौंः अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरसको सङ्क्रमण अमेरिकामाथि अहिलेसम्म भएका सबै खालका आक्रमणभन्दा घातक भएको बताएका छन्। उनले यो महामारीले यस्तो स्वरूप लिनुमा चीनको भूमिका भएको आरोप पुनः लगाए। ह्वाइट हाउसमा संवाददातालाई गर्दै आएको नियमित सम्बोधनमा राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसको प्रभावलाई लिएर गम्भीर चिन्ता व्यक्त गरेका हुन्। उनले दोस्रो विश्वयुद्धका बेला जापानी बमवर्षक विमानद्वारा पर्ल हार्बरमा गरिएको बमबारी र दुई दशकअघि न्यूयोर्कस्थित ट्विन टावरमा भएको आतङ्कवादी हमलाभन्दा पनि कोरोनाभाइरसको महामारी घातक देखिएको बताए। ट्रम्प प्रशासनले महामारी रोक्न समयमै आवश्यक कदम नउठाएको भन्दै चीनको आलोचना गरिरहेको छ। चीनमाथि निरन्तर हमला उनले भने, “चीनमा रहेको भाइरसको मुहानै यो रोकिनुपर्थ्यो तर त्यसो भएन।” ट्रम्पका भनाइमा यदि चीनले तत्काल कदम चालेको भए यसले विश्वव्यापी महामारीको रूप लिने थिएन। बीबीसी संवाददाता बारबरा प्लेट अशर भन्छिन्, “विदेशमन्त्री माइक पोम्पेओले पनि चीनविरुद्धको आफ्नो कठोर आलोचना दोहोर्याएका छन्। चीनको अपारदर्शी व्यवहारकै कारण भइरसले महामारी बन्न पुगेको उनको भनाइ छ।” उनले चीनको प्रयोगशालाबाट भाइरस फैलिएको भन्ने यथेष्ट प्रमाणहरू रहेको पनि दोहोर्याए। तर अमेरिकाले अहिलेसम्म कुनै प्रमाण भने प्रस्तुत गरेको छैन। चीनले उक्त आरोप अस्वीकार गर्दै आएको छ। उसले अमेरकामाथि भाइरसविरुद्ध प्रभावकारी कदम उठाउन नसकेको आरोप लगाउँदै मानिसहरूको ध्यान अन्तै मोड्न खोजिरहेको भनि प्रतिवाद गरेको छ। अमेरिकामा अहिलेसम्म ७३ हजार जनाको मृत्यु भएको छ भने १२ लाख जना सङ्क्रमित भएका छन्। अमेरिका विश्वमै सबैभन्दा प्रभावित देश हो।
चितुवा आक्रमणः तनहुँमा फेरि लियो अर्का बालकको ज्यान
तनहुँः तनहुँको आँबुखैरेनीमा चितुवाले फेरि एक बालकको ज्यान लिएको छ । आँबुखैरेनी गाउँपालिका–१, खरानी गाउँका ८ वर्षीय पुजन सिंजाली मगरको चितुवाको आक्रमणबाट मृत्यु भएको हो । घर नजिक रहेको मामा घरबाट फर्कंने फर्कंदै गरेका बालकको चितुवाको आक्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ । लामो समयसम्म घर नफर्किएपछि खोजतसाल गर्दै जाँदा घरदेखि पूर्व करिब २०० मिटर भीरमा उनी मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ । चितुवा आक्रमणबाट तनहुँमा हालसम्म सात बालबालिकाले ज्यान गुमाइसकेको डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले बताए ।