श्रम क्षेत्र सुधारमा प्रधानमन्त्रीको ध्यान : रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई दिए १६ बुँदे निर्देशन
काठमाडौं। प्रधानामन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग श्रम आप्रवासनका विविध विषयमा छलफल गरेका छन् ।छलफलमा प्रधानमन्त्री प्रचण्डले श्रमिकको हितमा केन्द्रीत भएर काम गर्न कर्मचारी र मन्त्रीलाई निर्देशन दिएका छन् ।
आज प्रधानमन्त्रीले आफ्नो कार्यकक्षमा गरेको छलफलमा ७५३ वटै स्थानीय तहबाट पुनः श्रमस्वीकृतिको व्यवस्था मिलाउनुपर्ने, वैदेशिक रोजगारीमा जाने युवाहरू मिटरब्याजीहरू र दलालहरूबाट ठगिएको भन्दै सरकारले नै सस्तो ब्याजमा ऋण दिने व्यवस्था मिलाउनुपर्ने, हाल श्रम तथा रोजगार मन्त्रालयले वृद्धि गरेको भनिएको शुल्क श्रमिकहरूबाट नलिई यथावत रुपमा हुने गरी कार्यान्वयनको व्यवस्था मिलाउनुपर्ने लगायतका विविध विषयमा मन्त्रालयलाई काम अगाडि बढाउन निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीले अहिले राज्यका हरेका निकाय नागरिक मैत्री हुनुपर्ने बताउँदै ती निकायलाई जिम्मेवार बनाउँन विभिन्न मन्त्रालय र विभागका कार्मचारी,मन्त्रीको काम ब्रिफिङ लिने र निर्देशन दिने कामको मुल्याङ्कन गर्दै आएका छन् । सोही क्रममा प्रधानमन्त्री प्रचण्डले आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ब्रिफिङ सुन्नुका साथै विविध निर्देशन दिएका हुन् ।
यस्तो छ प्रधानमन्त्री प्रचण्डले दिएको बुँदागत निर्देशन (पूर्णपाठ)
१.यस अवधिमा श्रम स्वीकृति र पुनः श्रम स्वीकृति प्रदान गर्ने कार्यलाई पूर्णरूपमा अनलाइन गर्ने, श्रम स्वीकृतिको २ वर्षे सीमालाई करार अवधि बमोजिम नै श्रम स्वीकृति दिने, विदेशस्थित नियोगबाटै पुनःश्रम स्वीकृति प्रदान गर्ने, टेलिमेडिसिन तथा कल सेन्टर सेवा उपलब्ध गराउने लगायतका केही कार्य त सम्पादन भए तर आम श्रमिकले अनुभुत हुने गरी सुधारका कार्य अझै सम्पन्न हुन सकेका छैनन्। मैले भनेको थिएँ– कि उत्पादनशील रोजगारी, मर्यादित र सुरक्षित वैदेशिक श्रम आप्रवासन, विप्रेषणको सदुपयोग र फर्केपछि सीपको सदुपयोगसहितको गुणस्तरीय जीवनका लागि धेरै कार्य गर्न आवश्यक छ, जुन अबको विशेष प्राथमिकतामा हुनुपर्दछ। यस सन्दर्भमा म तत्काल गर्नुपर्ने केही महत्वपूर्ण कार्यहरू उल्लेख गर्न चाहन्छु।
२.श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पहिलो प्राथमिकता आन्तरिक रोगजारी सिर्जना र मर्यादित रोजगारी केन्द्रित हुनुपर्दछ। यसतर्फ मन्त्रालयले विशेष योजना तयार गरी कार्यान्वयन गर्नुहोला।
३.वैदेशिक रोजगारीमा जाने श्रमिकलाई पूर्वप्रस्थान अभिमुखीकरण तालिम लगायत अन्य तालिमहरू निःशुल्क रूपमा वैदेशिक रोजगार बोर्ड वा सीप विकास तालिम प्रतिष्ठानबाट के कसरी उपलब्ध गराउन सकिन्छ, सोको विस्तृत अध्ययन गरी श्रमिकको अधिकतम हितलाई ध्यानमा राखी कार्यक्रम सञ्चालन गर्नुहोला।
४.हाल वृद्धि भएको भनिएको शुल्क श्रमिकहरूबाट नलिई यथावत रुपमा हुने गरी कार्यान्वयनको व्यवस्था मिलाउनुहोला। आन्तरिक वा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई थप सेवा शुल्क लगायत थप आर्थिक भार पर्ने कुनै प्रकारको काम नगर्ने नगराउने व्यवस्था गर्नुहोला।
५.हालै बैदेशिक रोजगार बोर्ड र मलेसियाको फरेन वर्कर्स वेलफेयर म्यानेजमेन्ट सेन्टर ९एफडब्लुडब्लुएमसी० बीच भएको वैदेशिक रोजगारका विषयमा भएको भनिएको सम्झौतालाई हाल कार्यान्वयन नगर्ने व्यवस्था मिलाई जानकारी गराउनुहोला।
६.जापान, बेलायत लगायत अन्य युरोपियन मुलुकमा वैदेशिक रोजगारीमा पठाउने प्रक्रियागत व्यवस्थालाई सरलीकृत गर्नुहोला। दक्षिण कोरियाली मुलुकमा हाल एपिएस प्रणालीबाट मात्र नेपाली श्रमिक पठाउने व्यवस्था भएकोमा ई–७ भिषालाई समेत सोही प्रणालीमा आवद्व गराउन कोरिया सरकारसँग भएका श्रम सम्झौता नवीकरणको कार्य प्रारम्भ गर्नुहोला।
७.प्रधानमन्त्री रोजगार कार्यक्रमलाई पुनरावलोकन गरी मागमा आधारित परियोजनाहरुमा काम लगाउने प्रणालीको विकास गर्नुपर्दछ। यसमा स्थानीय तहको आवश्यकता पहिचान गरी कार्यक्रम सञ्चालन गर्नुहोला। अन्य रोजगारी सिर्जना हुने कार्यक्रमलाई पनि एकीकृत गरी सीप र क्षमता अभिवृद्धि हुने किसिमको कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाउनुहोला।
८.रोजगारदाता र श्रमिकको एकीकृत विवरण तयार गरी माग र आपूर्तिबीच सन्तुलन कायम गर्नेतर्फ तत्काल कार्य गर्नुहोला। यसका लागि ७५३ स्थानीय तहहरूमा संयन्त्र निर्माण गर्न आवश्यक छ। यसका लागि नेपाल रोजगारी व्यवस्थापन सूचना प्रणाली ९एनइएमआइएस० लाई तत्काल कार्यान्वयनमा ल्याउनुहोला।
९.सामाजिक सुरक्षा कोषमा औपचारिक, अनौपचारिक र वैदेशिक रोजगारीमा गएका र स्वरोजगारमा रहेका श्रमिकलाई आवद्धता र विस्तारलाई प्राथमिकताका साथ कार्यान्वयन गर्नुहोला।
१०.सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकमलाई अधिकतम् लाभ हुने परियोजनामा लगानी गर्ने व्यवस्था मिलाउनुहोला। श्रमिकलाई उद्यमशील बनाउने र वैदेशिक रोजगारबाट फर्किएको नेपाली दाजुभाइ दिदीबहिनीहरूको ज्ञान सीप र पुँजीको पूर्ण उपयोग हुने क्षेत्रमा लगानी गर्ने वातावरण मिलाउनेतर्फ तत्काल परिणाम देखिने गरी कार्य गर्नुहोला।
११.अनौपचारिक श्रमिकहरूलाई औपचारिक क्षेत्रमा ल्याउन के–कस्ता विधि, मापदण्ड र कानुन बनाउनुपर्ने हो, मन्त्रालयबाट प्राथमिताका साथ प्रस्ताव ल्याउनुहोला।
१२.पुराना श्रम सम्झौताको समसामयिक नवीकरण र नयाँ गन्तव्य मुलुकसँग श्रम सम्झौता गर्ने कार्यलाई प्राथमिकतामा राख्नुहोला। श्रम सम्झौता गर्दा न्युनतम तलव, सामाजिक सुरक्षा, कार्यघण्टा, वीमा लगायतका सुविधालाई अधिकतम रूपमा प्रदान गर्नेतर्फ विशेष ध्यान दिनुहोला।
१३.वैदेशिक रोजगार सूचना प्रणाली ९एफइएमआइएस० लाई अद्यावधिक गरी विदेशस्थित नियोग, रोजगारदाता श्रमिक र ७५३ स्थानीय तहको पहुँच हुने गरी विस्तार गर्नुहोला। साथै, पुनः श्रम स्वीकृति दिने कार्य ७५३ स्थानीय तहबाटै दिने व्यवस्था तत्काल मिलाउनुहोला।
१४.कामको सिलसिलामा विदेशमा चोटपटक वा अङ्गभङ्ग तथा घाइते विरामीको उपचार तत्काल गराउने व्यवस्था मिलाउनुहोला। मृत्यु भएमा श्रमिकको शव समयमै परिवारसम्म पु¥याउने व्यवस्थालाई प्राथमिकताका साथ सम्पादन गर्नुहोला।
१५.आन्तरिक वा वैदेशिक रोजगारीमा गएका श्रमिकहरूको मृत्युदरमा कमी ल्याउन के गर्न सकिन्छ यस्ता उपायको खोजी गरी तत्काल लागू गर्नुहोला। साथै, वैदेशिक रोजगार ऐन, २०६४ पूरानो भएको भएकोले यसलाई श्रमिकमैत्री हुनेगरी आगामी हिउँदे अधिवेशनमा विधेयक पेश गर्ने गरी तयारी गर्नुहोला।
१६. आन्तरिक र वैदेशिक श्रम व्यवस्थापन अत्यन्त संवेदनशील विषय हो। यस क्षेत्रमा रहेका विकृति, जटिलता र विगतका घटनाले पनि यसलाई पुष्टि गर्दछ। तसर्थ, उत्पादनशील रोजगारी सिर्जना, मर्यादित र सुरक्षित श्रम आप्रवासन, सबैका लागि एकीकृत सामाजिक सुरक्षाको प्रत्याभूति, श्रमिकको हकहितको संरक्षण तथा जोखिम न्युनिकरणमा विशेष ध्यान दिई उल्लेखित विषयलाई तत्काल सुधारको कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याउनुहोला।
नेकपा एसमा राष्ट्रिय सभाको उम्मेदवार छान्ने जिम्मा तीन नेतालाई
काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार छान्ने जिम्मा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ । शनिबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए। उनले बैठकले राष्ट्रिय सभाको निर्वाचनका लागि पार्टीले कति सिट संख्या प्राप्त गर्ने, कुन प्रदेशमा प्राप्त गर्ने र कुन क्लस्टरमा प्राप्त गर्ने भन्ने सम्पूर्ण अधिकार पार्टी अध्यक्ष माधवकुमार नेपाल, पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डे र पार्टी महासचिव घनश्याम भुसाललाई दिएको बताए । पार्टीका तीन जना नेतालाई सर्वाधिकार दिइ गठबन्धनको बैठकमा पठाएको बताए । प्रवक्ता खतिवडाले बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सत्ता गठबन्धनसँग मागेर सिट प्राप्त गर्न खोज्नु नहुने र प्रतिपक्षकै हिसाबमा वस्नुपर्ने बारेमा पनि छलफल भएको बताए ।
यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (पुस १५ गते) आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८४ पैसा र बिक्री दर १३३ रुपैयाँ ४४ पैसा पुगेको छ। युरो एकको खरिद दर १४६ रुपैयाँ ९५ पैसा र बिक्री दर १४७ रुपैयाँ ६१ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ १० पैसा र बिक्री दर १६९ रुपैयाँ ८६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
सङ्घीय शिक्षा ऐन सरकारको उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विचाराधीन विद्यालय शिक्षा ऐन नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । शनिबार दिउँसो काठमाडौंको सीतापाइलामा एकीकृत अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले सो जानकारी दिए । कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘‘तपाईहरू धेरैलाई सङ्घीय शिक्षा ऐन के हुन्छ भन्ने जिज्ञासा छ। अहिले संसद अधिवेशन समापन भएको छ। नयाँ अधिवेशन बोलाएपछि पहिलो काम नै सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी ऐन र सङ्घीय शिक्षा ऐन संसदबाट पारित गराउन पहल हुन्छ। यो ऐन सरकारको उच्च प्राथमिकतामा छ।’’ ‘‘तपाई शिक्षकहरूले आफ्ना माग र मुद्दा सम्बोधन गर्न सडकबाट समेत दवाव दिए। यसले सरकारलाई सहयोग पुगेको छ’’ प्रधानमन्त्रीले भने, ‘‘तपाईहरूले अहिलेको मस्यौदामा जुन सुझावहरू दिनुभएको छ, त्यसमध्ये जायज र सम्भव मागहरू सम्बोधन गरिनेछ।’’
सुर्तीजन्य पदार्थ बिक्री बितरण रोक्ने महानगरको निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश
काठमाडौं । उच्च अदालत पाटनले सुर्तीजन्य पदार्थ बिक्री बितरणमा रोक लगाउने काठमाडौं महानगरको निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको छ । शुक्रबार न्यायाधीशहरू जनक पाण्डे र ब्रजेश प्याकुरेलको संयुक्त इजलासले रिटको अन्तिम टुंगो नलागेसम्म निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरेको हो । टोवागो उद्योग प्रालिको निवेदनमा अदालतले उक्त निर्णय गरेको हो । काठमाडौं महानगरपालिकाभित्र सुर्ती, खैनी, गुट्खालगायत सुर्तीजन्य पदार्थको बिक्री बितरण र प्रयोग गर्न नपाइने निर्णय गरेको थियो ।
यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंसिर २९ गते) शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०४ पैसा र बिक्री दर १३३ रुपैयाँ ६४ पैसा पुगेको छ। युरो एकको खरिद दर १४५ रुपैयाँ २८ पैसा र बिक्री दर १४५ रुपैयाँ ९३ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ५३ पैसा र बिक्री दर १६९ रुपैयाँ २९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३६ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आजको विनिमय दर
सुन्दर सुदूरपश्चिमको सपनाबाट देशका अन्य क्षेत्रले समेत प्रेरणा लिन सक्छन् : प्रधानमन्त्री
धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन्दर सुदूरपश्चिमको सपनाबाट नेपालका अन्य क्षेत्रले समेत प्रेरणा लिन सक्ने बताएका छन् । सुदूरपश्चिम महोत्सवको आज धनगढीमा उद्घाटन गर्दै उनले भने, “हामीले खोजेको समृद्ध संघीय समाजवाद्मदी नेपालको निर्माणमा समेत यसले निर्णायक भूमिका खेल्ने मैले विश्वास व्यक्त गर्न चाहन्छु । यसका लागि यहाँहरुको एकताबद्ध र योजनाबद्ध प्रयास आवश्यक छ ।” उनले आगामी दिनमा सुदूरपश्चिम प्रदेश सरकारले लगानी र विकास सम्मेलनको आयोजना गर्न बताउँदै उक्त सम्मेलनमा सुदूरपश्चिम क्षेत्रमा विकास तथा आर्थिक समृद्धिका सबै क्षेत्रको वास्तविक चित्रण गर्दै व्यवस्थित र लागतसहितको कार्ययोजना तयार गर्न आव्हान पनि गरे । प्रधानमन्त्रीले भने, “सोही बमोजिम लगानीका क्षेत्रहरु निर्धारण गर्ने, लगानीको वातावरणका लागि आवश्यक नीतिगत तथा संरचनागत व्यवस्था गर्ने काममा यहाँहरु सफल हुनुहुनेछ भन्ने विश्वास लिएको छु । संघ सरकारबाट आवश्यक पर्ने सबै सहयोगका लागि मेरो प्रतिबद्धता रहनेछ ।” उनले अहिले आफ्नै मौलिक विशिष्टतामा शासन प्रणाली रहेको उल्लेख गर्दै यसमा आफूहरु सफल भएको बताए । उनले भने, “हिजोका दिनमा केन्द्रीय सरकारसँग पूर्णरुपमा निर्भर हुनुपर्ने अवस्थाको अन्त्य भएको छ । स्थानीय तहहरु अधिकारसम्पन्न बनेका छन् । त्यसअर्थमा पनि लोकतान्त्रिक गणतन्त्र र त्यसको संघीय स्वरुपको सबैभन्दा बढी महत्व सुदूरपश्चिम र यहाँका जनताले अनुभूति गरेको हुनुपर्छ ।” हिजो राजा महाराजाहरुको जमानामा, सामन्ती राजतन्त्रको समयमा केही थान सीमित जमिन्दारहरुको मात्रै काठमाडौंसँग पहुँच हुने अवस्थाको अन्त्य भएर अहिले जनताका छोराछोरी प्रदेश र बिभिन्न स्थानीय तहको नेतृत्व गर्न सक्षम बनेका उनको धारणा थियो । प्रधानमन्त्रीद्वारा व्यक्त मन्तव्य यस्तो छ सुदूरपश्चिमको भूगोल र यहाँका जनतासँग, यहाँको विकास प्रक्रियासँग मेरो बेग्लै प्रकृतिको सम्बन्ध रही आएको छ । मेरो समग्र राजनीतिक जीवन अन्याय र विभेदविरुद्ध सक्रिय रहँदै आयो । सबै जाति, वर्ग, क्षेत्र, भूगोल र समुदायको अधिकार प्राप्ती भएमात्रै साँचो अर्थमा राष्ट्रियताको विकास हुन्छ भन्ने मान्यता अनुरुप ऐतिहासिकरुपमा केन्द्रीकृत राज्य प्रणालीबाट सुदूरपश्चिम प्रदेशले भोग्नुपरेको भौगौलिक, सामाजिक र सांस्कृतिक विभेदविरुद्ध हिजो संघर्षका क्रममा, शान्ति प्रक्रिया र संविधान जारी भएपछि पार्टी र सरकारको नेतृत्वमा रहँदा मैले विशेष भूमिका खेल्दै आएको छु । अहिले तेश्रोपटक प्रधानमन्त्री हुँदा सबैभन्दा धेरै भ्रमण र सरकारका तर्फबाट समेत निर्णायक प्रकृतिका कामहरु सुदूरपश्चिमका लागि नै गरिएका छन् । यसको गाम्भीर्यतालाई यहाँहरुले बुझ्नुहुनेछ भन्ने मेरो अपेक्षा छ । प्रधानमन्त्री भएलगत्तै सुदूरपश्चिमबाटै विकास आयोजनाहरुको अनुगमन तथा निरिक्षण गर्ने घोषण गरे अनुसार मैले दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको कार्यदेखि खप्तड क्षेत्रलाई सांस्कृतिक तथा प्राकृतिक पर्यटनको केन्द्र बनाउने घोषणाासहित त्यहाँ भ्रमण गरेको विदितै छ । आज यस क्षेत्रको समग्र विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको यो सुदूरपश्चिम महोत्सवमा समेत कतिपय महत्वपूर्ण कामहरु छोडेर म यहाँ उपस्थित भएको छु । यहाँहरु विदितै हुनुहुन्छ, विभेद र असमानताको अन्त्य, बिभिन्न जाति, वर्ग, क्षेत्र तथा समुदायको मुक्ति र अधिकारका लागि लामो लडाईपछि संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना सम्भव भएको हो, यसमा सुदूरपश्चिमका जनताको त्याग र बलिदान स्मरणीय छ । यही त्याग र बलिदानका कारण कुनै बेला केन्द्रीय राज्यसत्तासँग पूर्णरुपमा परनिर्भर रहेको सुदूरपश्चिमले आफ्नै सरकार निर्माण गर्ने परिस्थिति सिर्जना भएको छ भने विकासका अनगिन्ती सम्भावनाका ढोका खुलेका छन् । यहाँका जनताले आफ्नै प्रकृतिको मौलिक विकासको मोडेल पहिचान गर्ने अवसर प्राप्त गरेका छन् । सुदूरपश्चिमका जनताले आफ्नो अधिकार प्राप्ती र यस क्षेत्रको विकासका लागि मैले निरन्तर पहलकदमी लिँदै आएको विदितै छ । मेरो पहिलो र दोश्रो कार्यकालमा सुदूरपश्चिमलाई सुन्दरपश्चिम बनाउन, यहाँ रहेका प्राकृतिक सम्पदा, सांस्कृतिक विरासत, विकासका सम्भावनाहरुलाई पहिल्याउँदै यस क्षेत्रको समग्र विकासका लागि निर्णायक र रणनीतिक महत्वका काम अघि बढाएको म पुनः स्मरण गराउन चाहन्छु । सुदूरपश्चिम विकास आयोगको गठनदेखि सुदूरपश्चिम विश्वविद्यालयको स्थापना, सुदूरपश्चिम क्षेत्रमा रोजगारी र विकासका लागि उत्तर दक्षिण कनेक्टिभिटी जोडने महाकाली करिडोर, उत्तरतर्फ उरै भञ्ज्यांगदेखि दक्षिणतर्फ भारतको सीमाना जोडने सडक, कैलालीको हरैयामा विशेष आर्थिक क्षेत्र तथा वेदकोट नगरपालिकाको छेलामा औद्यौगिक क्षेत्र स्थापनाको घोषणा, महाकाली नदीमा मोटरेबल पुल, महाकाली सिँचाई आयोजनाको तेश्रो चरणको कामको शुरुवात मेरो यसअघिका कार्यकालका केही रणनीतिक महत्वका कामहरु रहेका थिए । एउटा संयोग नै भनौं, पहिलो र दोश्रो कार्यकालमा शुरु भएका यी कामहरुलाई पूर्णता दिने संयोग पनि मेरै तेश्रो कार्यकालमा भएको छ । गेटामा मेडिकल कलेजका लागि २०६६ सालमा पहिलोपटक बजेट विनियोजन गरिएको र बीचमा विवादित भइ रोकिएको काम म दोश्रोपटक प्रधानमन्त्री हुँदा पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरेपछि शुरु भएको थियो । सो अनुरुपका संरचना निर्माण करिब सम्पन्न हुने अवस्थामा छन् । अहिले मेरो तेश्रो कार्यकालमा गेटामा मेडिकल कलेज मात्र होइन, शिक्षण अस्पतालसहितको स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय भएको छ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय नेपालको पहिलो हेल्थ साइन्स युनिभर्सिटी बन्ने र त्यो यही सुपमा बन्ने सौभाग्य प्राप्त भएको छ । विश्वविद्यालय अन्तर्गत शिक्षण अस्पताल, अनुसन्धान केन्द्र, स्कूल अफ हेल्थ साइन्सेज, विश्वविद्यालयको आफ्नै शिक्षण अस्पताल र अन्य अस्पताललाई समेत शिक्षण अस्पतालको रुपमा विकास गर्ने प्रावधानसहितको विधेयक व्यवस्थापिका संसदमा प्रवेश गरेको छ । छिटै हामी विश्वविद्यालयको विधेयक पारित गरेर कक्षा र अस्पताल सञ्चालन गर्न सक्ने अवस्थामा हुनेछौं । यो विश्वविद्यालय स्थापना भएसँगै एकातिर प्राज्ञिकरुपमा विश्वमैं प्रतिष्पर्धा गर्ने किसिमले स्वास्थ्य बिज्ञान अध्ययनको हब सुदूरपश्चिम बन्ने छ भने अर्कोतर्फ विश्वविद्यालयभित्रै ६ सय बेडको अस्पताल र वरिपरिका अन्य सामुदायिक अस्पतालहरु पनि शिक्षण अस्पतालको रुपमा स्तरोन्नती हुनेछन् । मेरो तेश्रो कार्यकालमा भएको भारत भ्रमणका क्रममा समेत सुदूरपश्चिमलाई विशेष प्राथमिकता दिएर कतिपय आयोजनाहरु अघि बढेका छन् । भारतसँग प्रवासनका लागि ऐतिहासिक महत्व बोकेको बैतडीको झुलाघाट र सांस्कृतिक महत्व बोकेको डडेल्धुराको पर्शुराममा महाकाली नदीमा मोटरेबल पुल बनाउने सम्झौता अनुरुप भारतीय पक्षबाट काम अघि बढेको छ । नेपाल र सुदूरपश्चिमकै विकासमा निर्णायक भूमिका खेल्ने सुक्खा बन्दरगाह निर्माणका लागि कञ्चनपुरको दोधारा चाँदनीमा शुरु भएको बन्दरगाहको डिपिआरको काम करिब करिब सम्पन्न भएको छ । वर्षौदेखि रोकिएको पञ्चेश्वर जलविद्युत परियोजनाको डिपिआर निर्माणको कामले गति लिएको छ । यसैगरी यस क्षेत्रमा नेपालकै पहिलो इन्स्टिच्यूट टेक्नोलोजी निर्माणको प्रक्रिया अघि बढेको छ । फाप्लामा क्रिकेट मैदान बनाउने कुरा सरकारले नीति तथा कार्यक्रममा नै उल्लेख गर्दै त्यसको काम अघि बढेको छ । गौरी फण्टा नाकाको स्तरोन्नती, खप्तड रामारोशन पर्यटन क्षेत्र विकास, बन पैदाबारजन्य उद्योग स्थापना गर्ने, अतरियामा जडिबुटी प्रशोधन केन्द्र स्थापना जस्ता काम पनि मैले अघि बढाएको थिएँ । यी कामहरु समेत अहिलेको कार्यकालमा पुरा गरिनेछन् । चमेलिया, पश्चिम सेती लगायतका कतिपय जलविद्युत आयोजनाका लागि समेत मेरो पालामा निर्णायक कामहरु अघि बढेको यहाँलाई सर्वविदितै छ । यी विकास परियोजनाहरुलाई तीब्ररुपमा सम्पन्न गर्न सरकारका तर्फबाट मेरो पूर्ण प्रयास रहनेछ । यो कार्यकालमा उरै भज्यांग र टिंकर जोडने सडक खण्ड निर्माणलाई विशेष प्राथमिकताका साथ अघि बढाइने विश्वास व्यक्त गर्दछु । यसैगरी सुदूरपश्चिम र कर्णालीको समग्र विकासमा ऐतिहासिक महत्व राख्ने १० हजार ८ सय मेगावाट क्षमताको कर्णाली चिसापानी जलविद्युत परियोजना बनाउने घोषणा भएको छ । खप्तड क्षेत्रलाई सांस्कृतिक र पर्यावरणीय पर्यटनको केन्द्र निर्माणका लागि सरकारले पहल गरेको छ । प्रादेशिक बजेट विनियोजन गर्दा सुदूरपश्चिमलाई न्याय दिने काम भएको छ । हिजो बन्द समाजको रुपमा चित्रित हुने सुदूरपश्चिम अहिले राष्टिय आयामका सबै क्षेत्रमा आफ्नो विशिष्ट उपस्थिति जनाउन सफल बनेको छ । सरकारका तर्फबाट यस क्षेत्रको कृषि, वन, पर्यटन, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा अझै सहयोग गर्न तत्पर छ । सुन्दर सुदूरपश्चिमको सपना यहाँहरुको मात्रै होइन, यसबाट नेपालका अन्य क्षेत्रले समेत प्रेरणा लिन सक्ने र हामीले खोजेको समृद्ध संघीय समाजवाद्मदी नेपालको निर्माणमा समेत यसले निर्णायक भूमिका खेल्ने मैले विश्वास व्यक्त गर्न चाहन्छु । यसका लागि यहाँहरुको एकताबद्ध र योजनाबद्ध प्रयास आवश्यक छ । केही समयपछि सुदूरपश्चिम प्रदेश सरकारले लगानी र विकास सम्मेलनको आयोजना गर्न गइरहेको छ । उक्त सम्मेलनमा सुदूरपश्चिम क्षेत्रमा विकास तथा आर्थिक समृद्धिका सबै क्षेत्रको वास्तविक चित्रण गर्दै व्यवस्थित र लागतसहितको कार्ययोजना यहाँहरुले तयार गर्नु हुनेछ र सोही बमोजिम लगानीका क्षेत्रहरु निर्धारण गर्ने, लगानीको वातावरणका लागि आवश्यक नीतिगत तथा संरचनागत व्यवस्था गर्ने काममा यहाँहरु सफल हुनुहुनेछ भन्ने विश्वास लिएको छु । संघ सरकारबाट आवश्यक पर्ने सबै सहयोगका लागि मेरो प्रतिबद्धता रहनेछ । मैले शुरुमा नै भनेँ, हामी अहिले आफ्नै मौलिक विशिष्टतामा शासन गर्न सफल बनेका छौं । हिजोका दिनमा केन्द्रीय सरकारसँग पूर्णरुपमा निर्भर हुनुपर्ने अवस्थाको अन्त्य भएको छ । स्थानीय तहहरु अधिकारसम्पन्न बनेका छन् । त्यसअर्थमा पनि लोकतान्त्रिक गणतन्त्र र त्यसको संघीय स्वरुपको सबैभन्दा बढी महत्व सुदूरपश्चिम र यहाँका जनताले अनुभूति गरेको हुनुपर्छ । हिजो राजा महाराजाहरुको जमानामा, सामन्ती राजतन्त्रको समयमा केही थान सीमित जमिन्दारहरुको मात्रै काठमाडौंसँग पहुँच हुने अवस्थाको अन्त्य भएर अहिले जनताका छोराछोरी प्रदेश र बिभिन्न स्थानीय तहको नेतृत्व गर्न सक्ष मबनेका छन् । संघीय सरकारको बजेट हेर्ने हो भने तुलनात्मक रुपमा सुदूरपश्चिम प्रदेशले न्याय पाएको छ । माथि भनेजस्तो विकासका ठूलाठूला परियोजना अघि बढेका छन् । शैक्षिक, लैंगिक, स्वास्थ्य लगायतका सामाजिक, आर्थिक सूचकांकहरुमा गुणात्मक परिवर्तन भएको छ ।
नेप्से २१.३० अंकले बढ्यो, सबै उपसमूह हरियाली
काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । सोमबार नेप्से २१.३० अंकले बढेर १८४७.५४ को विन्दुमा पुगेको छ । यस दिन २८३ धितोपत्रको ३५ लाख ५५ हजार ६७० कित्ता सेयर ९३ करोड ८९ लाख २९ हजार ४० रुपैयाँमा किनबेच भएको छ । सेन्सेटिभ इन्डेक्स पनि ०।९४ प्रतिशतले बढेर ३५५.७३ को विन्दु कायम भएको छ । आज सबै उपसमूहको समूहगत सूचकमा हरियाली देखिएको छ । १३ वटा उपसमूहमध्ये सर्वाधिक होटेल तथा पर्यटन उपसमूहको समूहगत सूचक सर्वाधिक ३.७३ प्रतिशतले बढेको छ । हाथवे इन्भेसमेन्ट नेपालको सेयर मूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेको छ । लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ४.२८ प्रतिशतले घटेको छ ।
भूकम्पपीडितको उद्धार र राहतमा हातेमालो गर्न राजनीतिक दललाई प्रधानमन्त्रीको आह्वान
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पपीडितको उद्धार र राहतमा हातेमालो गर्न सबै राजनीतिक दललाई आह्वान गरेका छन् । “पीडितलाई राहत र घाइतेहरूको उपचारका लागि सरकार गम्भीर रहेको जानकारी गराउँदै यस कार्यमा सहकार्य र हातेमालोका लागि सम्पूर्ण राजनीतिक दल र नागरिक समाजमा अपिल गर्दछु,” प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जाल एक्समा लेखेका छन् । शुक्रबार राति जाजरकोट केन्द्रविन्दु भएर गएको विनासकारी भूकम्पको क्षति बुझ्न, घाइतेहरूको उद्धार र पीडितको राहतका निम्ति अहिले आफू प्रभावित क्षेत्रमा रहेको उनले जनाएका छन् । शुक्रबार राति जाजरकोटलाई केन्द्रविन्दु बनाई गएको ६४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम जिल्लामा १३६ जनाले ज्यान गुमाएका छन् । भूकम्पले ठूलो क्षति गरेपछि प्रधानमन्त्री प्रचण्ड शनिबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत प्रभावित क्षेत्रमा गएका थिए ।
माओवादी नेतृत्वप्रति नेपाली जनतामा भरोसा छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं। प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टी नेतृत्वप्रति नेपाली जनताले भरोसा गरेको बताएका छन् । शनिबार काठमाडौंको चन्द्रागिरिस्थित घट्टेडाँडाबाट ‘जनतासँग माओवादी विशेष अभियान’को शुभारम्भ गर्दै उनले अहिलेको सरकार र माओवादी नेतृत्वप्रति नेपाली जनताको र अरू पार्टीको पनि भरोसा रहेको बताएका हुन् । आफू पार्टीको इतिहास र राजनीतिक एजेण्डाको तागतमा पछिल्लो पटक प्रधानमन्त्री बन्न सफल भएको प्रधानमन्त्रीको भनाई छ ।माओवादी केन्द्र ३२ सिटको सानो पार्टी भए पनि पार्टीको इतिहास, राजनीतिक एजेण्डा र जनताको भरोसाको बलमा आफू तेस्रो पटक प्रधानमन्त्री बनेको उनले बताए । आफूले प्रधानमन्त्रीमा करिब शतप्रतिशत विश्वासको मत पाएबाट तथा आफ्नो पार्टीप्रति इतिहासको, नेपाली जनताको र अरू पार्टीको पनि भरोसा रहेको भन्ने प्रमाणित भएको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो। प्रधानमन्त्री प्रचण्डले भने- ‘विश्वासको मत लिँदा झन्डै शतप्रतिशत समर्थन नेपालको इतिहासमा हाम्रो पार्टीलाई र प्रधानमन्त्रीको हैसियतले मलाई प्राप्त भयो। यो अद्भुत परिघटना हो। नेपालको इतिहासमा यस्तो पहिला कहिल्यै भएको थिएन। यसबाट के देखिन्छ भने हाम्रो पार्टीप्रति इतिहासको, जनताको र अरू पार्टीहरूको पनि भरोसा छ। हाम्रो पार्टी र नेतृत्वलाई राष्ट्रले राम्रैसँग स्वीकार गरेको छ भन्ने कुराको यो प्रमाण हो’, प्रधानमन्त्री प्रचण्डले नेपाली जनताको भरोसा जगाउन र सिङ्गो पार्टी पङ्क्तिमा उत्साहको सञ्चार गराउन आफूले सुशासनको पक्षमा भ्रष्टाचार विरोधी अभियान चलाउनुपर्ने बताए। उनले प्रतिक्रियावादीले अहिले पनि सत्तारुढ गठबन्धन फुटाउनका लागि आफ्नो भ्रष्टाचार विरोधी अभियानबारे भ्रम फैल्याउने प्रयास गरिरहेको भन्दै त्यसप्रति आम जनतालाई माओवादी पार्टीले सचेत बनाउनुपर्ने बताए । प्रधानमन्त्री प्रचण्डले भने, ‘हिजो परास्त भएका तत्त्व फेरि टाउको उठाउन खोजेजस्तो देखेपछि मैले यो पटक हाम्रो सङ्ख्याको तागतको बलमा म प्रधानमन्त्री भएको त होइन। तपाई–हामी सबैलाई थाहा भएकै कुरा हो। ९० र ८० सिट भएका पार्टीका अगाडि ३२ सिटले प्रधानमन्त्री हुने तागत त राख्दैन। सजिलो कुरा त होइन यो। हाम्रो इतिहासको तागत, हाम्रा सहिदले बगाएको रगतको तागत, हाम्रो बेपत्ता हजारौँ योद्धाको त्याग र बलिदानको तागत र हाम्रो राजनीतिक एजेण्डाको तागत र नेपाली जनताले लामो सङ्घर्षबाट विकास गरेको नेतृत्वपंक्ति नेताहरूको, कार्यकर्ताहरूको र मूल नेताको हैसियतले ममा केन्द्रित भएको तागतको कारणले ३२ सिट भए पनि हामी प्रधानमन्त्री बन्ने र देशको नेतृत्व गर्ने अवसर हामीलाई प्राप्त भयो। ३२ सिटको पार्टी हुँदाहुँदै पनि देशको नेतृत्व गर्ने अवसर मात्रै हामीले प्राप्त गरेनौँ। बरु सदनमा भएका ८० र ९० वाला पार्टीको समर्थन पायौँ।’ आफूले सुरुवात गरेको भ्रष्टाचार विरोधी अभियानलाई पनि नयाँ खालको जनयुद्धको रूपमा लिनुपर्ने प्रधानमन्त्री प्रचण्डको भनाई थियो ।
‘सर्वोच्चको फैसला स्वीकार्छु’ : रेशम चौधरी
काठमाडौं । टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीले सर्वोच्च अदालतको फैसला स्वीकार्दै पुनरावलोकनको बाटो खुला रहेको बताएका छन् । ८ प्रहरी र एक नाबालक मारिएको टीकापुर घटनामा चौधरीलाई जन्मकैदको सजाय हुने गरी कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले गरेको फैसलालाई सर्वोच्च अदालतले सदर गरेसँगै आज विज्ञप्ति जारी गर्दै उनले सर्वोच्च न्यायालयप्रति भरोसा भएकाले आफूहरू अझै न्यायिक पर्खाइमा रहेको बताएका हुन् । ‘मलाई अझै सम्मानित सर्वोच्च न्यायालयप्रति भरोसा छ । हामी अझै न्यायिक पर्खाइमा छौं‚’ विज्ञप्तिमा उल्लेख गरिएको छ । सर्वोच्चको फैसला आफूप्रति न्यायिक नहुन सक्ने भए पनि त्यसलाई स्विकार्नुको विकल्प नभएको उनले उल्लेख गरेका छन् । मिति २०८० जेष्ठ २ गते सम्माननीय सर्वोच्च अदालतले गरेको फैसला मप्रति न्यायिक नहुन सक्छ, तर त्यसो भन्दैमा स्विकार्नुको विकल्प हुन्न । टीकापुर घटनालाई लक्षित बनाएर गरेको फैसला स्विकार्दै भोलि पुनरावलोकनको बाटो हाम्रा लागि खुल्ला छ‚’ उनले लेखेका छन्‚ ‘हामी सम्मानित अदालतलाई सदा सम्मान गर्छौं‚ साथै सम्मानीत अदालतलाई सबैले उत्तिकै सम्मान गर्नुपर्दछ ।’ हेर्नुस विज्ञप्ति
३.३४ अंकले घट्यो नेप्से ७२ करोड बराबरको कारोबार
काठमाडौं । नेप्से आज सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार ३.३४ अंकले घटेर एक हजार ८ सय १८ दशमलब ३१ विन्दुमा पुगेर बन्द भएको छ । आइतबार नेप्से १६.९६ अंकले घटेर एक हजार ८ सय २१ दशमलब ६४ विन्दुमा बन्द भएको थियो । नेप्से घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज ७२ करोड ४९ लाख ६९ हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । आइतबार नेप्सेमा ९० करोड ५ लाख ६३ हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको थियो । आज कारोबार भएका ९६ कम्पनीको शेयरमूल्य बढेको छ भने १०४ कम्पनीको शेयरमूल्य घटेको छ । यसका साथै १९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । घटेको बजारमा एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज एनआईबीएल ग्रोथ फण्डको शेयरमूल्य ९.८८ प्रतिशतले बढेर प्रतिकित्ता ८.३४ रुपैयाँ पुगेको छ । नेप्सेका अनुसार सगरमाथा लुम्बिनी इन्स्यारेन्सका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एनआईसी एशिया बैंक भएको छ । यस कम्पनीको आज तीन करोड ४ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
पाकिस्तानी आरोही नैला कैनी सगरमाथाको चुचुरोमा
काठमाडौं । दुई आरोही आज बिहान सगरमाथाको चुचुरोमा पुगेका छन् । आज बिहान ८ः०२ बजे नेपाली र पाकिस्तानी आरोही सगरमाथाको चुचुरोमा पुगेका हुन् । सन् २०२३ को सगरमाथा आरोहणमा पहिलो अन्तर्राष्ट्रिय पर्वतारोही पाकिस्तानकी नैला कैनीले सफल आरोहण गरेका हुन् । त्यस्तै नेपाली आरोही पासाङतेम्बा शेर्पाले सगरमाथा आरोहण गरेका छन् । दुवै आरोही इमेजिन नेपाल ट्रेक्स एण्ड एक्सपिडिसन कम्पनीबाट आरोहणमा गएका थिए । कम्पनीका कार्यकारी निर्देशक दावाग्याल्जे शेर्पाले यो यामको सगरमाथा आरोहणमा पहिलो आरोहण महिला अन्तर्राष्ट्रिय पर्वतारोहीबाट भएको बताए । उनका अनुसार अहिले कतिपय आरोही सगरमाथाको हिलारी स्टेप पुगिसकेका छन् भने धेरै आरोही साउथ कोल र आसपास छन् । आज साँझसम्म धेरै आरोही सगरमाथाको चुचुरोमा पुग्ने कार्यकारी निर्देशक शेर्पाले जानकारी दिए । वसन्त ऋतुको यो यामको सगरमाथा आरोहण शनिवारबाट सुरु भएको थियो । सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर) ले सगरमाथाको चुचुरोसम्म रोप फिक्सिङ (डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका खुलेको हो । यति बेला सगरमाथाको आधार शिविर र दोस्रो शिविर आसपास आरोहणका लागि सयौँ सङ्ख्यामा आरोही प्रतीक्षारत छन् । पर्यटन विभागका अनुसार वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४४ आरोही समूहका चार सय ६७ जनाले अनुमति लिएका छन् ।
नियमित खोप छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई आज खोप लगाइदैँ
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज पाँच वर्षमुनिका नियमित खोपबाट वञ्चित बालबालिकालाई खोप लगाउँदै छ । यसअघि वैशाख १५ गते नियमित खोप दिइएको थियो । छुटेका बालबालिकालाई खोप लगाउनका लागि मन्त्रालयले बृहत् खोज र खोप अभियान सञ्चालन गरेको हो । देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिका अनुसार १५ महिना भित्रमा लगाउनुपर्ने नियमित खोप छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई नियमित खोप लगाउँदै छ । मन्त्रालयले आज पाँच वर्ष मुनिका बालबालिकालाई १३ प्रकारको खोप दिँदै छ । रोग, अपाङ्गता र मृत्युबाट बचाउनका लागि जन्मिएको पाँच वर्षसम्मका उमेरका बालबालिकालाई सरकारले १३ प्रकारको खोप निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको छ । नेपालमा अहिले पनि ८० प्रतिशत बालबालिकाले पूर्ण मात्रा र २० प्रतिशत बालबालिकाले सबै खोप नलगाएको तथा चार प्रतिशत बालबालिकाले कुनै पनि खोप लगाएका छैनन् ।
आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । त्यस्तै अमेरिकी डलर एकको नेपाली खरिद दर १३१ रुपैयाँ ५ पैसा र बिक्री दर १३१ रुपैयाँ ६५ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ १ पैसा र बिक्री दर १४४ रुपैयाँ ६७ पैसा रहेको छ । यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ९२ पैसा र बिक्री दर १६३ रुपैयाँ ६७ पैसा रहेको छ भने स्वीस फ्र्यांक एकको नेपाली खरिद दर १४६ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४६ पैसा रहेको छ । आज अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८७ रुपैयाँ ६९ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८६ पैसा र बिक्री दर ३६ रुपैयाँ २ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
उत्कृष्ट नारा लेखेर पुरस्कार जित्ने अवसर, निबन्ध लेखन प्रतियोगिता पनि गरिने
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनसम्बन्धी खुला राष्ट्रव्यापी कविता लेखन प्रतियोगिता आयोजना गरेको छ । आयोगको ३२औँ स्थापना दिवसका अवसरमा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताका लागि प्राप्त हुने कवितामध्ये पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने प्रतियोगीलाई आउँदो माग २८ गते नगद र प्रमाणपत्रसहित पुरस्कृत गरिने आयोगले जनाएको छ । यस्तै, भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनसम्न्धी उत्कृष्ट नारालाई पुरस्कृत गरिनेछ । सोसम्बन्धी मौलिक र सन्देशमूलक नारा सिर्जना गरी माघ ६ गतेभित्र उपलब्ध गराउन आयोगको आग्रह छ । सोही अवसरमा निबन्ध लेखन प्रतियोगिता पनि आयोजना गरिएको छ । आयोग मातहतका सात कार्यालयमार्फत कक्षा–९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीबीच निबन्ध लेखन प्रतियोगिता गरिने अख्तियारले जनाएको छ । सूचना पढ्नोस्–