कुकुरले टोक्दा राष्ट्रपतिका छोराको मृत्यु

बान्जुल, एजेन्सी । जाम्बियाका नव निर्वाचित राष्ट्रपति अदामा ब्यारोका आठ वर्षीय छोराको कुकुरले टोकेर मृत्यु भएको छ । हाल सेनेगलमा रहेका ब्यारोले यही बिहिबार शपथ लिने कार्यक्रम छ ।

मिडियामा प्रकाशित समाचार अनुसार, आइतबार साँझ बालकको मृत्यु भएको थियो । ५१ वर्षीय राष्ट्रपतिका पाँच जना सन्तान रहेका छन् ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीसँग थप स्पष्टीकरण माग

काठमाडौँ, पुस २२ । सरकारले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसँग पुनः २४ घन्टे स्पष्टीकरणको माग गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक सचिवकाअनुसार प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतलाई आजै नहटाइएको र उनले बुधबार बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले थप स्पष्टीकरण सोधिएको जानकारी दिए । ती सचिवले थप स्पष्टीकरण आएपछि मात्रै सरकारले हटाउने वा राख्ने भन्ने विषयमा निर्णय लिने बताए । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीलाई सरकारले बर्खास्त गरेको भन्ने बारेको समाचारले आज दिनभर चर्चा पाएको थियो । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीलाई पदबाट बर्खास्त गर्ने सैद्धान्तिक सहमति आजको मन्त्रिपरिषद् बैठकले जनाएको तर, यस विषयमा निर्णय लिने जिम्मा प्रधानमन्त्रीलाई सुम्पेको बुझिएको छ । रासस

झापामा विद्युत् चोरेको अभियोगमा २३ जना पक्राउ

झापा, पुस २१ । नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रले विद्युत् चोरीमा संलग्न भएको भनिएका तीन महिलासहित २३ जनालाई बुधबार राति विद्युतीय उपकरणसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा शरणामती, टेक्रा र सुरुङ्गा क्षेत्रका बासिन्दा छन्। विद्युत् प्रसारण लाइनमा तार जोडेर मोटर चलाइरहेको र घरमा जोडिएको मिटरबाट विद्युत् बाइपास गरेको गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्राधिकरण अनारमनी केन्द्रका प्रमुख इ राजीवकुमार सिँहले जानकारी दिए। इलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी सहितको टोलीले उनीहरुका साथबाट दुई र तीन हर्स पावरका दुई दुई वटा पानी तान्न प्रयोग गरिएका ठूला मोटर र घरमा जडित केही थान मिटरसमेत बरामद गरेको छ । अभियुक्तलाई इलाका प्रहरी कार्यालय बिर्तामोडको नियन्त्रणमा राखिएको छ । रातको समयमा विद्युत् चोरी गरी मकै र गहुँमा सिँचाइ गर्दागर्दै उनीहरुलाई पक्राउ गरिएको बताइएको छ । पछिल्लो समय प्राधिकरणले विद्युत् चोरीमा संलग्न एक सय सात जनालाई पक्राउ गरी कारबाही गरेको छ । अभियुक्तलाई विद्युत् चुहावट नियन्त्रण ऐन, २०४९ अनुसार कारबाही गरिने बताइएको छ । उनका अनुसार विद्युत् चोरीमा संलग्नमध्ये खपतको अवस्था हेरेर तीन हजारदेखि दुई लाख पाँच हजारसम्म जरिवाना हुने व्यवस्था छ । यसअघि विद्युत् चोरी गरेर राइसमिल सञ्चालन गर्ने खुदुनाबारीका एक व्यक्तिलाई दुई लाख पाँच हजार जरिवाना गरिएको प्राधिकरण प्रमुख सिंहले जानकारी दिए। रासस सांकेतिक तस्वीर

नक्कली प्रमाणपत्र बनाउने साइबर सञ्चालक पक्राउ

काठमाडौँ, पुस २१। नक्कली प्रमाणपत्र बनाउने आरोपमा प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सामाखुसी रानीबारीस्थित ‘आइटी भेट टेक्नोलोजी’ नामक साइबरका सञ्चालक विकास रम्तेल र कामदार भगवान् भण्डारी रहेका छन् । वैदेशिक रोजागरीको ठगी उजुरी परेको ऐनबहादुर थापामगरलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गर्दा उनको साथबाट प्रवेशिका परिक्षाको नक्कली प्रमाणपत्र फेला पारेपछि सोधखोजका क्रममा सो साइबरबाट रु एक हजार तिरेर प्रमाणपत्र बनाएको खुलेको थियो । महाशाखाका प्रहरी टोलीले थापालाई साथै लिएर साइबरमा गई अर्को नक्कली प्रमाणपत्र बनाउन आग्रह गर्दा रु एक हजार लिई अर्को नक्कली प्रमाणपत्र बनाइदिएपछि प्रहरीले रङ्गेहात दुवैजनालाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानबाट उक्त कागजात वैदेशिक रोजगारीमा जान तथा अन्य प्रयोजनका लागि आउने व्यक्तिलाई आवश्यकताअनुसार प्रवेशिका, उच्च माध्यमिक र त्रिभुवन विश्वविद्यालयको स्नातकतहको मार्कसिट, ट्रान्सक्रिप्ट, चारित्रिक प्रमाणपत्र बनाउने गरेको खुलेको प्रहरीले जनाएको छ । साइवरबाट प्रहरीले उच्च माध्यमिक शिक्षा परिषद्को नक्कली चारित्रिक प्रमाणपत्र पाँच थान, त्रिविको ट्रान्सक्रिप्ट एक थान, नेपाल सरकारको लोगो भएको टोखा नगरपालिका लेटरप्याड एक थान, अधिकृतको छाप एक थान, विभिन्न दूतावासको लेटरप्याड बरामद गरेको छ । यसैबीच लागुऔषध नियन्त्रण ब्युरोको प्रहरी टोलीले लागुऔषध खैरो हेरोइन ५० ग्रामसहित कलङ्कीबाट आज तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा कलैया नगरपालिका बरगाछीका २८ वर्षीय मनिष साह सोनार, झापा जिल्ला मेची नगरपालिका–१० स्थायी ठेगाना भई हाल काठमाडौँ महानगरपालिका बाफल बस्ने २५ वर्षीय सुमेर विश्व पौडेल र काठमाडाँै चन्द्रागिरि नगरपालिकाका २७ वर्षीय दिलीप शाही रहेको प्रहरीले जनाएको छ । रासस

उन्नाइस हजार बढीले सम्पत्ति विवरण बुझाएनन्

काठमाडौँ, पुस २०। उन्नाइस हजार दुई सय १३ जनाले सम्पत्ति विवरण बुझाएका छैनन् । राष्ट्रिय सतर्कता केन्द्रका अनुसार सम्पति विवरण नबुझाउनेमा चार हजार चार सय १६ निजामती कर्मचारी, १० हजार दुई सय १५ शिक्षक, दुई हजार ६ सय १३ सेना, चार सय २९ प्रहरी र एक हजार चार सय ७७ अन्य रहेका छन् । नयाँ आर्थिक वर्ष सुरु भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने प्रावधान भए पनि कतिपय निकायका कर्मचारीले अटेर गरेको पाइएको केन्द्रले जनाएको छ । समयभित्रै चार लाख १२ हजार आठ सय एक र समय बितेपछि दुई हजार सात सय दुई जनाले सम्पति विवरण बुझाएको केन्द्रले जनाएको छ । यसरी समयमा सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई आवश्यक कारबाहीका लागि सिफारिस गरिने केन्द्रका प्रवक्ता विष्णुराम लामिछानेले जानकारी दिए। रासस

जंगलमा भेटिए चन्दननाथ मन्दिरको हराएका मूर्ति

जुम्ला, पुस १९ । जुम्लाको प्रशिद्ध चन्दननाथ मन्दिरबाट हराएको मूर्ति जंगलमा वेवारिसे अवस्थामा फेला परेको छ । गएको मंसिर ११ गते राति चोरी भएका १२ मूर्ति  मध्ये ११ वटा मूर्ति मंगलबार बिहान गज्र्यांकोट गाविसको जंगलमा अलपत्र अवस्थामा प्रहरीले फेला पारेको हो । दत्तात्रयको मूर्ति बाहेक सवै मूर्ति फेला परेको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले मूर्ति भेट्टाएको मध्यपश्मिम क्षेत्रीय प्रहरी प्रुमख डिआइजी माधव नेपालले जानकारी दिए । उनका अनुसार ११ वटा मूर्ति फेला परेका छन, हराएको । मूर्ति फेला परेपछि जिल्ला प्रहरी कार्यालय जुम्लाबाट थप प्रहरी टोली त्यसतर्फ खटाइएको छ । जंगलमा भेटिएका मूर्तिलाई धार्मीक परम्परा अनुसार खलंगा तिर ल्याउन लागिएको उनको भनाई छ । मूर्ति चोरी घटनाको केन्द्रीय अनुसन्धान व्युरो सिआइबीले एक महिना अघिदेखि अनुसन्धान गरिरहेको थियो । मूर्ति भेटिएपछि स्थानीय बासिन्दा खुशी भएका छन् । मूर्तिको पखाईमा चन्दननाथ मन्दिरमा भक्तजनको घुर्इँचो लागेको छ । स्थानीय परम्परा अनुसार बाजागाजासहित मूर्ति सदरमुकाम तर्फ ल्याइँदैछ ।

आज पनि संसद वैठक स्थगित

काठमाडौ, पुस १८ । प्रतिपक्षी दलहरुको अडानका कारण आज अपरान्ह ४ बजेका लागि बोलाइएको व्यवस्थापिका संसदको वैठक सूचना टाँस गरी स्थगित गरिएको छ । अपराह्न १ बजे बोलाइएको वैठकमा प्रतिपक्षी दलहरुले संसद अवरुद्ध गरेपछि सभामुख ओनसरी घर्तीमगले आज अपरान्ह ४ बजेका लागि वैठक पुनः बस्ने घोषणा गरेकी थिइन् । वैठक भोलि दिउँसो १ बजेबस्ने गरी स्थगित भएको हो ।

नयाँ वर्षमा नेपाली टोपी दिवस मनाउन आग्रह

काठमाडौं, पुष १६ । विगतका वर्षमा जस्तै यस वर्ष पनि नेपाली टोपी लगाएर नेपालीपनका साथ अङ्ग्रेजी नयाँ वर्ष मनाउन तेस्रो अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस आयोजकले आह्वान गरेका छन् । यसले अन्तर्राष्ट्रिय रुपमा नेपालीपनको प्रवद्र्धन हुने र देशभित्र पनि आफ्नो संस्कृतिको थप प्रवद्र्धन र प्रसार गर्न मद्दत पुग्ने सो अभियानका डा लेखनाथ काफ्ले र शङ्कर बन्जाडेले बताए । शताब्दीऔँदेखि प्रयोग भइरहेका विभिन्न प्रकारका नेपाली टोपीको प्रयोगलाई अझै व्यापक र विश्वमय बनाउने उद्देश्यले सन् २०१४ जनवरी १ देखि संसारभर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै आएको छ । रासस

‘संशोधन प्रस्तावमा तीनदिनभित्र सहमति नभए प्रक्रिया अघि बढाइने’

काठमाडौं, पुस १४ सभामुख ओनसरी घर्तीले एक महिनादेखि जारी गतिरोध अन्त्य गर्नलाई तीनदिनको समय दिएकी छिन । बिहिबार रिपोर्टस क्लबको तर्फबाट ज्ञापनपत्र बुझ्दै सभामुख घर्तीले तीन दिनभित्र अवरुद्ध संसद संचालन गर्ने सम्बन्धमा दलीय सहमति नजुटे प्रक्रियामा प्रवेश गरिने बताएकी छन्। आफूले पटक पटक राजनीतिक दलहरुलाई विषयमा सहमति गर्न र त्यसो हुन नसके प्रक्रियामा भए पनि सहमति जनाउन आग्रह गरेको स्मरण गर्दे सभामुख घर्तीले पछिल्लो पटक दलहरुलाई दिएको तीनदिनको समयसीमा भित्र पनि दलिय सहमति कायम हुन नसके संसद बैठकबाटै निकास निकाल्ने बताइन्। संविधानको सफल कार्यान्वयनका लागि सदनको कारबाही नियमित चल्नुपर्ने भन्दै उनले लामो समयसम्म संसद अनिर्णयको बन्दी बन्न नसक्ने उल्लेख गरिन्। प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ स्वयम्‌ले तीन दिनभित्र सहमतिमा पुग्ने आश्वासन दिएकाले दलीय सहमति जुटी अवरूद्ध सदन सञ्चालन हुनेमा आफू विश्वस्त भएको बताइन्। दलहरुसँग सहमति कायम गर्नलाई अाफूले दुईपटक दलहरुसँग छलफल गरेको उनले जानकारी दिइन । तर दुवै बैठकमा निस्कर्ष निश्किएन, दलहरु अा-आफ्ना अडानमा रहेकाले समस्या झन बल्झिएकोमा उनी असन्तुष्ट देखिइन । पछिल्लो पटक आफूले दिएको तीन दिनको समयमा सहमति नजुटे एकै दिन पटक पटक बैठक गरेर भए पनि दलहरुलाई सहमतिमा पुग्नका लागि दबाब दिने सहमति कार्यव्यवस्था समितिको बैठकमा नै भएको पनि उनले जानकारी गराइन्। बिहिबार स्थगित भएको व्यवस्थापिका बैठक १८ गते १ बजेका लागि बोलाईएको छ।

प्रम स्वकीय सचिव प्रकाशका बारेमा प्रकाशित समाचारविरुद्ध उजुरी

काठमाडौं, पौष १४ । प्रधानमन्त्री प्रचण्डका स्वीकीय सचिव प्रकाश दाहालका बारेमा प्रकाशित समाचारविरुद्ध नेपाल प्रेस काउन्सिलमा उजुरी परेको छ । राजधानीबाट प्रकाशित हुने ‘नेपाल समाचारपत्र’को ब्यानर समाचारका रुपम प्रकाशित “महतोको लगानी शंकाको घेरामा, प्रधामन्त्री पुत्रलाई रसरङ्गमा भुलाएर अवैध धन्दा चलाईंदै” भन्ने समाचारले दाहालको मानमर्दन भएको भन्दै उजुरी परेको नेपाल प्रेस काउन्सिलले जनाएको छ । प्रम कार्यालय स्वकीय सचिवालयमा कार्यरत् दल बहादुर बिकका तर्फबाट दर्ता भएको उजुरीमा प्रकाशित समाचार अत्यन्तै गलत, भ्रामक, कपोकल्पित र एकपक्षीय ढंगले प्रवाह भएको उल्लेख छ । “स्वकीय सचिव प्रकाश दाहालको चरित्र हत्या गर्ने तथा प्रधानमन्त्रीलाई बदनाम गराउने कुत्सित मनसाय र योजनामा उक्त समाचार प्रकाशित गरिएकोमा शंका छैन” उजुरीमा भनिएको छ । उजुरीमा सम्बन्धित व्यक्तिको प्रतिक्रियासम्म नराखि कुनै तथ्य, प्रमाण र पुष््ट्याइबिना कसैको बदनाम गराउने नियोजित उद्देश्यका साथ एकपक्षीय ढंगले प्रकाशति समाचार आचार संहिता २०७३ विपरित रहेकोले कडा कारवाही गर्नुका साथै प्रकाशित स्थानमा नै क्षमा याचनासहितको खण्डन तत्काल प्रकाशित गर्न अनुरोध गरिएको छ ।

१२ वर्षपछि चुनवाङमा प्रचण्ड, के फेरि राजनीतिक छलाङ मार्लान ? (फोटो फिचर)

सागर न्यौपाने चुनवाङ, रुकुम पुस ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड १२ वर्षपछि रुकुमको चुनवाङ पुगेका छन् । तत्कालीन नेकपा माओवादीले सुरु गरेको जनयुद्धको बेलामा पार्टीकाे दोस्रो विस्तारित केन्द्रीय कमिटिको बैठक बसेकाे घरमा उनी पुगेका हुन् । उनले घरकाे पुरै अवलाेकन गरे । बैठक बसेकाे घरमा उनी सुतेकाे खाट पनि थियाे । उनले त्यसलाई पनि नियाले । सायद साेचे होलान जसरी त्यही घरमा बसेकाे बैठकबाट माअाेवादीले छापामार शैलीकाे युद्ध छाेडेर शान्ति प्रक्रियामा अाउने निर्णय गरेको थियाे । प्रचण्ड चुनवाङ यस्तो अवस्थामा पुगेका थिए, हिजो राज्यसत्ता विरुद्ध लडेका उनी अाज अाफैँ देशको कार्यकारी प्रमुख बनेर पुगेका थिए । जसरी जनयुद्धकै क्रममा २०५७ सालमा उनले त्यो घरमा सेल्टर लिएका थिए उनले त्यही घरमा बसेर राजनीतिक छलाङको योजना बनाएका थिए, आज २०७३ साल पुस ९ गते देशमा समस्याको चुनौतिकाबीच प्रचण्ड चुनवाङ पुगेका थिए राज्यलाई अामूल परिवर्तन गराउँछु भन्ने उनले के सोचे होलान ? के विगतमा झै नयाँ राजनीतिक कोर्स बनाउन सक्लान । चुनवाङ पुग्नेमा अर्को संयोग थियो  । शनिबार प्रचण्डसँगै युद्ध लडेका बादल, अनन्त, अनिल र  उनकी जीवन संगीनी सीता दाहाल सहित माअोवादीका नेता कार्यकर्तासहित चुनवाङ पुगेका थिए । तत्कालीन माओवादीले  यही घरमा बसेकाे केन्द्रीय कमिटिको बैठकबाट शान्ति प्रक्रियाका बाटो लिने निर्णय गरेको थियो । जसका सुप्रिम कमाण्डर उनै प्रचण्ड थिए । १२ वर्षपछि चुनवाङमा प्रचण्ड १२ वर्षपछि चुनवाङमा प्रचण्ड प्रचण्ड सुतेको खाट, चुनवाङ, रुकुम १२ वर्षपछि चुनवाङमा प्रचण्ड १२ वर्षपछि चुनवाङमा प्रचण्ड १२ वर्षपछि चुनवाङमा प्रचण्ड १२ वर्षपछि चुनवाङमा प्रचण्ड १२ वर्षपछि चुनवाङमा प्रचण्ड १२ वर्षपछि चुनवाङमा प्रचण्ड १२ वर्षपछि चुनवाङमा प्रचण्ड १२ वर्षपछि चुनवाङमा प्रचण्ड १२ वर्षपछि चुनवाङमा प्रचण्ड १२ वर्षपछि चुनवाङमा प्रचण्ड पार्टीका नेताहरु रामबहादुर थापा, वर्षमान पुन, टोपबहादुर रायमाझी  र नारायणकाजी श्रेष्ठसँग उनी त्यहाँ पुगेका थिए । श्रेष्ठबाहेक सबै नेता प्रच्ण्डले नेतृत्व गरेको जनयुद्धमा सहभागी थिए । चुनवाङको उक्त ठाउँमा प्रधानमन्त्रीले १२ वर्ष अघि आफ्नै कमाण्डमा  बैठकमा प्रयोग गरिएको घरको अवलोकन गरे । उनी केही भावुक पनि बने–उनले भने १२ वर्षपछि यहाँ आउँदा बडो भावुक भएको छु, हामीले शान्तिपूर्ण राजनीतिको बाटो लिने निर्णय यही घरमा बसेको बैठकबाट गरेका थियौं । बैठक बसेको घर मक्किसकेकाे थियाे । हिजाे राज्यसत्ता विरुद्ध लडेका प्रचण्ड अाज अाफै राज्यकाे वागडोर समालेर त्यहाँ पुगेका छन् । उनका अगाडि संविधान संशाेधन गरेर मधेसी अादिवासी अल्पसंख्यक लगायत पछि पारिएकालाई राज्यकाे मूलधारमा ल्याउनुपर्ने चुनाैति वाँकी नै छ । ‘प्रचण्ड’ले रुकुमको चुनवाङदेखि म्याग्दीको बेनीसम्म जोडिने गुरिल्ला ट्रेल एवं जनयुद्धको ऐतिहसिकता झल्कने युद्ध संग्रहालयको उद्घाटन गरे । जनयुद्धको बेलामा उनको कमाण्डमा रहेको जनमुक्ति सेनाले प्रयोग गरेको थियो । ‘भर्खरै जस्तो लाग्छ, १२ वर्ष बितिसकेछ । यही घरमा केन्द्रीय समितिको पूर्ण बैठक बसेको थियो । चुनवाङ बैठकका नामले परिचित त्यो बैठक माओवादी पार्टीको जीवनमा मात्रै नभएर देशमै उथलपुथल ल्याउने युगान्तकारी बैठक बन्यो चुनवाङ बैठकको निर्णयबाट नै हामी १२ बुँदे  समझदारीमा पुग्यौं, जनआन्दोलन हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रमा पुग्यौं । आज १२ वर्षपछि जनमुक्ति सेनाले पैदल यात्रा गरेको स्मरणमा गुरिल्ला ट्रेल र जनयुद्धको ऐतिहासिक झल्कने युद्ध संग्रहालयको उद्घाटन गर्न पाउँदा हर्षित् र भावुक पनि भएको छु,’ प्रचण्डले विगत सम्झदै भने । पोखरादेखि बेनी हुँदै रोल्पा र रुकुमका रमणीय गाउँहरु पार गर्दै चुनवाङ आइपुग्न १५ दिनको समय लाग्नेछ ।

संसद् अवरुद्ध अन्त्य गरियोस : गृहमन्त्री निधी

काठमाडौँ, मंसिर २९ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधनको विषयलाई लिएर बारम्बार संसद् अवरुद्ध पार्ने काम उचित नभएको भन्दै यस्तो कार्य तत्काल बन्द गर्न प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)लगायतलाई आग्रह गरेका छन् । महिला, कानुन र विकास मञ्चले बुधबार आयोजना गरेको ‘नागरिकतासम्बन्धी नेपाली कानुनको विश्लेषण’ विषयक सार्वजनिक कार्यक्रममा गृहमन्त्री निधीले संविधान संशोधनको प्रस्ताव सही भएको भन्दै संसद्को गतिरोध अन्त्य गर्नुपर्ने बताए । उपप्रधानमन्त्री निधिले भने, “संविधान संशोधनको प्रस्ताव संसद्को प्रक्रियाबाटै पूरा गर्नुपर्छ, एमालेले संसद् अवरुद्ध नगर्दा राम्रो हुन्छ ।” गृहमन्त्री निधीले एमालेतर्फ लक्षित गर्दै भने, ‘सरकारमा रहँदा एमालेले त्यही कुरा उठाउँदा राष्ट्रवादी हुने अहिले अर्को सरकार आउँदा अराष्ट्रवादी कसरी हुन सक्छ’ त्यसैले सहमतिबाटै समस्याको निकास पर्छ भन्दै अनवश्यक संसद् अवरुद्ध पार्नु गलत रहेको औँल्याए । कुनै पनि नेपाली नागरिक नागरिकताबाट वञ्चित हुनु हुँदैन, नेपाली नागरिकलाई नागरिकबाट वञ्चित हुनेखालको कानुनको संशोधन गरेर जान सकिन्छ उनले भने ।

तराईमा शीतलहर, कठ्याङ्ग्रिएर दुईजनाको मृत्यु

वीरगन्ज, मङ्सिर २९  । विगत केही दिनयता मध्यतराईमा बढेको चिसोका कारण बारा र पर्सा जिल्लामा कठ्याङ्ग्रिएर दुईजनाको मृत्यु भएको छ भने जनजीवन कष्टकर बन्दै गएको छ । अत्यधिक चिसोका कारण कठ्याङ्ग्रिएर बारा जिल्लाका मनहरवा–८ बस्ने ४० वर्षीय सुकेश्वर माझी तथा पर्सा जिल्लाको सेढवा–१ का ४५ वर्षीय प्रभुराम चमारको कठ्याङ्ग्रिएर हालै मृत्यु भएको प्रहरीले जनाएको छ । निरन्तर हुस्सु लाग्नुका साथै शीतलहर चल्ने गरेकाले दैनिक ज्यालादारी गरी जीविका चलाउने रिक्सावाला, मजदुरहरु प्रभावित भएका छन् भने शीतलहरका कारण अन्नबालीसमेत नष्ट भएको छ । चिसोकै कारण विद्यालयमा पठनपाठनसमेत प्रभावित भएको छ । मानिस घरभित्रै बस्न बाध्य भएका छन् भने सबभन्दा बढी वृद्धवृद्धा र बालबच्चा प्रभावित भएका छन् । रासस

रामेछापमा ट्रिपर दुर्घटना, ४ जनाको मृत्यु

काठमाडौं, मंसिर २९ । रामेछापमा ट्रिपर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । गएराती रामेछापको खाँदादेवी धेरेणा खोपमा बा २ ख ६८८८ नम्बरको ट्रिपर सडकबाट ३ सय मिटर तल खस्दा ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्युहुनेहरुमा सर्लाहीका २९ वर्षिय विकास पौडेल, सिन्धुलीका २४ वर्षिय रुपेश भण्डारी, सिन्धुपाल्चोकका ३५ वर्षिय कुमार विक र ललितपुरका ३५ वर्षिय किरण डाँगी भएको रापेछाप प्रहरीले जनाएको छ । के कारणले दुर्घटना भएको प्रहरीले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

एमालेका केहीले सामाजिक सञ्जालमा हल्ला गर्दैमा संविधान संशोधन प्रक्रिया रोकिन्न !

काठमाडौं, २७ मंसिर । वन तथा भू–संरक्षणमन्त्री शंकर भण्डारीले सामाजिक सञ्जालमा एमालेका केही मानिसले हल्ला गर्दैमा संविधान संशोधन प्रक्रिया नरोकिने बताएका छन् । सोमबार रिपोर्टस् क्लवले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले एमालेले सस्तो लोकप्रियताको लागि गैरजिम्मेवारपूर्ण कुरा गरेको आरोप लगाए । उनले भने- ‘ ५/७ हजार मान्छेले सामाजिक सञ्जालमा अनावश्यक हल्ला गर्दैमा सबै त्यसकैको पछि लाग्नु हुँदैन, देशमा ३ करोड जनता छन् ।’ मन्त्री भण्डारीले संविधान संशोधन प्रस्ताव सदनमा प्रक्रियामा जान नदिएर निरन्तर संसद अवरुद्ध गरेर एमालेले गैरजिम्मेवारपूर्ण व्यवहार गरेको आरोप लगाए । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठनले नेपालका लागि भारतीय राजदुत रञ्जित रायलाई फिर्ता पठाउनुपर्छ भन्ने कुरा कुटनीतिक मर्यादा विपरित रहेको टिप्पणी गरे । भण्डारीले भने,‘एमालेले भन्दैमा कोही पनि राजदुत फिर्ता हुँदैनन्, एमालेले भनेर राजदुत फर्किने हो र ?’ उनले आफू सरकारमा हुँदा एमाले अध्यक्ष केपी ओलीले मधेशका समस्या समाधान गर्नको लागि वार्ता तथा छलफलको आह्वान गरेको र त्यसको लागि संसदमा आउन भनेको स्मरण गर्दै भने,‘हिजो सरकारमा हुँदा ओलीजीले दुई वटा विषयमा संशोधन गर्नुभयो, अरु विषयमा पनि संशोधन हुन्छ भनेर छलफलको लागि बोलाउने रु अनि वार्ता समिति पनि गठन गर्नुभएकै हो, अहिले आएर संशोधन प्रस्तावबारे छलफल गर्न नदिने रु यो कुरा उहाँको आफ्नै प्रतिबद्धता भन्दा बाहिर छ, त्यसैले सदन चल्न दिनुपर्छ ।’ उनले संशोधन प्रस्ताव अहिले प्रस्तावको रुपमै रहेको उल्लेख गर्दै भने,‘यो प्रस्ताव सदनबाट पारित हुनपनि सक्छ, संशोधन हुनपनि सक्छ, फेल पनि हुन सक्छ, तर प्रस्तावबारे छलफल गर्न दिनुपर्छ ।’ उनले संशोधन प्रस्तावको विरोध गर्नु भनेको आफ्नै घोषित प्रतिबद्धताको प्रतिकुल रहेको बताए । उनले सरकारले हाल ल्याएको संशोधन प्रस्तावको ५ नम्बर प्रदेशको सिमांकन हेरफेरमा आफ्नै पार्टी लगायत अन्य दलका केही नेताहरुको असन्तुष्टि रहेपनि यो प्रस्ताव विगतमा काँग्रेस र एमालेले नै संयुक्त रुपमा अघि बढाएको दाबी गरे । मन्त्री भण्डारीले संशोधन प्रस्तावमा एमालेले पनि सहयोग गर्नेमा आफू विश्वस्त रहेको बताउँदै एमालेले सहयोग गरे मुलुकले निकास पाउने स्पष्ट पारे । उनले भने,‘दलहरु मिल्नुको विकल्प छैन् ।’ यद्धपी उनले एमालेले प्रतिपक्षमै बसेको कारणले हो कि वा के कारणले यस्तो व्यवहार गरिरहेको छ भन्नेमा आफू अन्यौलमा परेको बताए । उनले सरकार संविधान कार्यान्वयनको लागि पूर्ण प्रतिबद्धत रहेको बताउँदै त्यसको लागि समयमै तीनवटै निकायको निर्वाचन गर्न लागिरहेको जनाए । भण्डारीले भने,‘आयोगले ऐन तथा कानूनहरु चाहियो भनिरहेको छ, त्यसलाई सरकारले गम्भिर रुपमा आत्मसात् गरेको छ, निर्वाचनको लागि सबै दलहरु मिल्नुपर्छ, यदि निर्वाचन भएन भने सबै दलको अस्तित्व नै खतरामा पर्न सक्छ ।’ उनले मुलुकको विकासको लागि नयाँ पुस्ताले पहलकदमी लिनुपर्नेमा जोड दिँदै अहिलेका ठूला नेताहरुको बोलीले देश नबन्ने ठोकुवा गरे । भण्डारीले अनशन बस्नेका मागका आधारमा आज देश चलाउने स्थिति आईसकेको बताउँदै भने,‘यसरी मुलुक बन्दैन् ।’ उनले भुकम्पपीडितलाई आवश्यक परे पूर्ननिर्माण प्राधिकरणले माग गरे बन मन्त्रालय पूर्ननिर्माणको लागि काठ उपलब्ध गराउन तयार रहेको बताए । उनले भने,‘प्राधिकरणले माग गर्छ भने हामी आवश्यक काठ उपलब्ध गराउन तयार छौं ।’ पुर्ननिर्माणलाई लिएर कहिले कर्मचारीले आन्दोलन गर्ने गरेको र कहिले ईन्जिनियरहरुले आन्दोलन गरिरहेको उल्लेख गर्दै उनले आवश्यक परे तिव्र गतिमा पूर्ननिर्माणको काम नेपाली सेनालाई जिम्मा दिने प्रस्ताव रक्षामन्त्री बालकृष्ण खाँडले अघि सारेको पनि खुलासा गरे ।

चिसोले कठ्याङ्गिएर एकको ज्यान गयो

पर्सा, मङ्सिर २६ । चिसोले कठ्याङ्गिरएर सेढवा गाविस–१ निवासी ४५ वर्षीय प्रभुराम चमारको गएराति मृत्यु भएको छ । गाउँ नजिकैको नालामा मदिरा सेवन गरी लडेका चमारलाई उपचारका लागि वीरगन्ज ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । कामबाट घर फर्किेने क्रममा मदिरा सेवन गरेका चमार नालामा लडेको एक घन्टापछि स्थानीयवासीदेखि बाहिर निकाली उपचारका लागि वीरगन्ज ल्याउँदै गर्दा बाटोमा उनको मृत्यु भएको उनले बताए । मृतक चमारको शव परीक्षणका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएकोे छ । रासस